`

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७ चैत ः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

इन्डोनेशियामा मिनिबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ७ घाइते

इन्डोनेशियाको उत्तर सुमात्रा प्रान्तको लाङ्गकट जिल्लामा सोमबार राति एक मिनिबस खस्दा ३ जनाको मृत्यु भएको र ७ जना घाइते भएका छन् । यो दुर्घटना पामन सेमिलिर पर्यटक क्षेत्रबाट गुज्रँदै गर्दा भएको हो ।

प्रादेशिक आपतकालीन व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीकी अधिकारी श्री वाह्यनी पञ्चासिलावतीका अनुसार मिनिबसमा १० जना सवार थिए । उनीहरू सम्भवतः आफ्नो गृहनगरमा इस्लामिक पर्व मनाएर फर्किरहेका थिए । दुर्घटना भएको सडकमा पर्याप्त सडक बत्तीको व्यवस्था थिएन ।

प्रहरी प्रमुख स्याम्सुल अरिफिन बतुबाराले खराब सडक बत्ती र तीव्र मोडमा गाडीको नियन्त्रण गुमाउनु दुर्घटनाको मुख्य कारण रहेको बताउनुभयो । सडकको चाप र खराब दृश्यता कारण चालकले गाडीको नियन्त्रण गुमाएर मिनिबसलाई गहिरो खाडलमा खसाल्यो ।

घटनामा ३ जनाको मृत्यु भएको र ७ जना घाइते भएका छन् । घाइतेहरूलाई नजिकको क्लिनिक र अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरी अधिकारीहरूले यो दुर्घटनामा थप अनुसन्धान जारी राखेका छन् ।

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर (नवलपरासी), २६ चैतः नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताउनुभयो । “दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्”, उहाँले भन्नुभयो, “भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी आएको छ ।” बेपत्ता दुवै जनाको खोजी भइरहेको विष्टले जानकारी दिनुभयो ।

प्रहरीसँग गोताखोर नभएकाले आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानैदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : गण्डकी प्रदेशद्वारा सुदूरपश्चिम पराजित

टक्सार (भोजपुर), २६ चैतः यहाँको भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई लगातार तीन सेटले पछाडि पार्दै गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । गण्डकीले २५–१८, २५–२० र २५–१६ अङ्कले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।

आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले गण्डकी प्रदेशले पराजित गरेको थियो । खेलको पहिलो, दोस्रो र चौथो सेटमा लुम्बिनीलाई २५–२०, २५–१८ र २५–२१ अङ्कले गण्डकी प्रदेशले पराजित गरेको हो । तेश्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्बिनी प्रदेशले जितेको थियो ।

लिग आधारमा सञ्चालित खेलअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल गण्डकी र बागमती प्रदेशबीच हुनेछ भने दोस्रो कोशी र सुदूरपश्चिमका बीच हुने आयोजक भोजपुर जिल्ला भलिबल सङ्घका उपाध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो ।

यही चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत रु २० लाख सहयोग गरेको छ । प्रतियोगितामा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच विधामा विधागतरुपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति

काठमाडौँ, २६ चैत : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी पाँचवर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बिदा हुँदै हुनुहुन्छ । आफ्नो कार्यकालमा विभिन्न उतारचढावका बाबजुद प्रतिष्ठानमा सेवा स्तरोन्नति र सुदृढीकरण, लामो समयदेखि हुन नसकेको कर्मचारीको वृत्तिविकास र आर्थिक समस्यालाई हल गर्न सफल भएको उहाँले बताउनुभयो । उपकुलपतिका रुपमा डा गिरी २०७६ चैत २७ गते नियुक्त हुनुभएको थियो ।

नियुक्तिअघिदेखि नै प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको नियमावली र त्यसअनुसार विभिन्न विधाहरुमा पढ्ने विदेशी विद्यार्थीको सङ्ख्यामा भारी कटौतीका कारण आर्थिक समस्या खेप्दै आइरहेको उल्लेख गर्दै उपकुलपति डा गिरीले लामो प्रयासका बाबजुद त्यसलाई समाधान गर्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानको मुख्य आयस्रोत नागरिकलाई उपचार दिएबापतको रकम नभई दक्ष जनशक्ति उत्पादन गरेबापतको शुल्क भएको उहाँको भनाइ छ । प्रतिष्ठानले आमनागरिकलाई दिइने उपचार सेवाबापतको शुल्क मुनाफा लिने उद्देश्यले भन्दा पनि सेवाको उद्देश्य लिएको उहाँले उल्लेख गर्नुभयो ।

रासससँग कुरा गर्दै उपकुलपति डा गिरीले नियुक्तिको समयमा कोभिड–१९ को महामारीले सामान्य सेवा समेत कैयौँ दिनसम्म बन्द गर्नुपरेकाले प्रतिष्ठान थप आर्थिक भारको मारमा परेको बताउनुभयो । “त्यस्तो परिस्थितिमा समेत सबैको प्रयासले कोभिड अस्पताल सञ्चालन गर्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

उपकुलपति डा गिरी करिब १३ महिना आफ्नो कार्यभारबाट वञ्चित हुनुभएको थियो । न्यायालयको आदेशपछि १३ महिनापछि उहाँले २०८० फागुन १७ गतेदेखि पुनःआफ्नो पदभार ग्रहण गर्नुभएको थियो । दोस्रोपटक पदभार ग्रहण गरेपछि उहाँले लामो समयदेखि ठप्प भएका शिक्षक कर्मचारीको आन्तरिक बढुवा प्रक्रियालाई निष्कर्षमा पु¥याउनुभएको चियो । त्यसैगरी, आठ वर्षदेखि हुन नसकेको प्रतिष्ठानको दीक्षान्त समारोह पनि २०८१ कात्तिक २६ गते उहाँकै नेतृत्वमा आयोजना भएको थियो । आफ्नो कार्यकालमा ‘आइसियु’ बेड सङ्ख्या ३२ बाट ४२ थप गरी जम्मा ७४ बनाएको र ‘डायलासिस’ सेवाका लागि थप २० शैय्या सञ्चालनमा ल्याएको उपकुलपति डा गिरीले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा आपत्कालीन सेवा स्तरोन्नति गर्न थप ४० ‘जनरल’ शैय्या तथा आठ ‘आइसियु एचडियु’ शैय्या स्थापना गरिएको उहाँले बताउनुभयो ।

“पुराना थन्किएका उपकरणको मर्मतसम्भार गर्ने कार्यसँगै नयाँनयाँ उपकरण समेत खरिद गरी सेवालाई थप विस्तार एवं सुदृढ गर्न सफल भयौँ”, उपकुलपति डा गिरीेले भन्नुभयो ।

यसैगरी प्रतिष्ठानले एक विज्ञप्तिमार्फत डा गिरीको कार्यकालमा भए गरेका कामकारबाही बारेमा जानकारी गराउँदै नेपालकै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको सिटीस्क्यान मेसिन खरिद गरी जडान गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति डा गिरीकै कार्यकालमा २० हजार लिटरको लिक्विड अक्सिजन ट्याङ्क जडान भई हालसम्म सञ्चालनमा रहेको छ । प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीअन्तर्गतको ओरल मेडिसिन एण्ड रेडियोलोजी विभागमा लामो समयदेखि एक्स–रे मेसिन बिग्रिएर बन्न नसक्ने अवस्था भएपश्चात् २०८१ साउन २१ गते अत्याधुनिक नयाँ ‘ओपिजी एण्ड लेटरल केफ्लोग्राम मेसिन’ जडान गरिएको प्रतिष्ठानले जनाएको छ ।

उपकुलपति डा गिरीकै कार्यकालमा प्रतिष्ठानलाई प्रविधियुक्त बनाई पेपरलेस गर्ने उद्देश्यले आवश्यक पहलको थालनीदेखि लिएर प्रतिष्ठानलाई विपी कोइराला मेडिकल विश्वविद्यालयको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको विभिन्न उत्कृष्ट केन्द्रहरुसँग द्विपक्षीय सम्झौता गर्ने प्रक्रियाअघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता प्रा डा प्रधानका अनुसार उपकुलपति डा गिरीकै कार्यकालमा नेपाल सरकारको स्वास्थ्य नीतिअनुरुप प्रतिष्ठानले औषधि बिक्री वितरणका लागि छुट्टै भवन २०८१ माघ १० गते उद्घाटन भई फार्मेसी सेवा सञ्चालन गरिएको छ । सोही भवनबाट पूर्णरुपले क्यान्सर उपचारसम्बन्धी सेवा र जलेर आउने बिरामीको उपचार सेवा हाल आंशिकरुपले प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका अनुसार उपकुलपति डा गिरीले जिम्मेवारी सम्हालेको सुरुका दिनदेखि नै निर्माण कार्य स्थगन गरिएको मातृ शिशु भवनको निर्माण कार्यको पुनः थालनी गरी हाल निर्माण कार्य लगभग सम्पन्न अवस्थामा पुगेको छ । यथाशीघ्र सो भवनबाट स्त्री तथा प्रसूति रोग विभागको बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने कार्ययोजना रहेको प्रतिष्ठानले जनाएको छ ।

देशभरका स्वास्थ्य संस्थाले त्यहाँ उपचार गराउन आउने बिरामीलाई सहज तथा गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक वर्ष देशभरिका सबै स्वास्थ्य संस्थामा गई न्यूनतम सेवा मापदण्ड (एमएसएस) मापन गर्ने गरेको छ । उपकुलपति डा गिरीको कार्यकालमा प्रतिष्ठानको एमएसएस मापन ५३ बाट बढेर ७५ प्रतिशतसम्म पुगेको विज्ञप्तिमा उल्लेख छ ।

परिवर्तनको रक्षा एमालेले गर्नेछ – शङ्कर पोखरेल

काँक्रेविहार (सुर्खेत), २६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले ल्याएको परिवर्तनको रक्षा एमालेले गर्ने बताउनुभएको छ ।

नेकपा एमालेले आज यहाँ आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारी एमालेले सम्हाल्न सक्ने सन्देश दिनका लागि जनताको बीचमा आएको बताउनुभयो ।

“गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्न सक्नुपर्छ । दसैँमा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन्”, उहाँले भन्नुभयो ।

नेपालको राजनीतिमा अढाइ सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैँका लागि बिदा गरिसकेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

गण्डकी, २६ चैत : गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष आज सिफारिस गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले बुधबार राति १२ बजदेखि अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुख भट्टसमक्ष उक्त सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले जानकारी दिनुभयो ।

गत माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट ६ विधेयक पारित भएका र १० विधेयक प्रदेशसभामा पेस भएका प्रदेससभा सचिवालयले जनाएको छ । यस अधिवेशनबाट गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार, प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर असुलसम्बन्धी विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पारित भएका थिए ।

अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस भएको छ ।

यस्तै दलित अधिकार तथा सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार, खानी तथा खनिज, भवन निर्माण तथा बस्ती विकास, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवासम्बन्धी र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरिएको छ ।

ती विधेयकमाथि प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकारले थाल्यो गृहकार्य

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्स फोर्स–एफएटिएफ)को खैरो सूची (ग्रे लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न गृहकार्य सुरु गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए ।

मुख्यसचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्ययोजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउन सक्ने बताए ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजनाअनुसार सुरुदेखि काम गर्न आवश्यक भएको बताइन् ।

बैठकमा सहभागीहरुले जोखिम मूल्याङ्कन, अन्तर निकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायत क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै कानुनमाभन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल गत फागुनमा एफएटिएफ को ग्रे लिष्टमा परेको थियो ।

राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल

इटहरी (सुनसरी), २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताउनुभयो ।

अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताउनुभयो । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उहाँको आरोप थियो ।

अध्यक्ष नेपालले भन्नुभयो, “कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।”

नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै उहाँले सहिदको योगदानलाई सम्झिन आग्रह गर्नुभयो । “उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

पाल्पामा मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन (पाल्पा), २६ चैत : पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु भएको हो ।

कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो । खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । शनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विश्वकर्माले आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए । उनी खाना खान घर जाने क्रममा बाटोमा खागमौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताउनुभयो ।

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ, २६ चैत : पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।

यही चैत २८ देखि आगामी वैशाख १ गतेसम्म हुने उक्त प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको नाम ‘टिटुके रहेको छ ।

टोलीको प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा सङ्गीता गुरुङ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

टिकटकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो

टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ । यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ राम्रोसँग संलग्न हुने उपकरणहरू प्रदान गर्दछ ।

यो प्लेटफर्म कलाकारलाई विभिन्न अभियानहरू सञ्चालन गर्न मद्दत गर्दछ, जसमा उनीहरू आफ्नो आगामी कामहरूको प्रचार गर्न सक्छन् । कलाकारहरूले आफ्ना गीतहरूको प्री–आर्डर प्रचार गर्न र सामाजिक मिडिया प्लेटफर्महरूमा आफनो उपस्थितिलाई बलियो बनाउन अभियानहरू चलाउन सक्छन् । यसमा, कलाकारहरूले आफ्नो पोस्ट र गीतहरूको प्रदर्शन कस्तो भइरहेको छ भन्ने डेटा पनि प्राप्त गर्नेछन्, जसले उनीहरूलाई आफ्ना प्रयासहरू सुधार्न मद्दत गर्नेछ ।

हाल यो प्लेटफर्म अष्ट्रेलिया, न्युजील्याण्ड, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा परीक्षणको अवस्थामा छ । टिकटोकले भविष्यमा यसलाई थप बजारहरूमा उपलब्ध गराउने योजना बनाएको छ । यसलाई विश्वभरका कलाकारहरूका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ ।

म्यानमार सहयोग पठाउँदै सरकार

काठमाडौँ, २६ चैतः गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको आज साँझ निरीक्षण गर्नुभएको छ ।

गोदाघर निरिक्षण पश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ । गृह मन्त्रालयका अनुसार ती सामग्रीमा खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडालगायत छन् ।

यही चैत १५ गते म्यानमारमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । नेपाल सरकारले पठाउन लागेको राहत सामग्री रु दुई करोड ४७ लाख बराबरको ४१ टन रहेको गृह मन्त्रालयले जनाएको छ । यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध गराएको थियो ।

नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे

काठमाडौँ, २६ चैतः सभामुख देवराज घिमिरेले नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्व अनन्तकालसम्म विश्वास गर्ने देश भएको उल्लेख गर्नुभएको छ ।

उज्वेकिस्तानमा भएको अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १५०औँ सभाको ‘साइडलाइन’मा भएको अंसलग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलन, २०२५ मा ‘बान्डुङ भावनाको ७० वर्ष मनाउँदैः बान्डुङ सिद्धान्तहरूको संरक्षणमा संसद्हरूको भूमिका’ विषयमा आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य, संसारभरका मुलुकहरूबीचको शान्तिपूर्ण सहअस्तित्वको पक्षधर र समर्थक राष्ट्र हो ।”

उहाँले नेपालको संसद्ले उच्चतम संसदीय अभ्यासमार्फत नीति निर्माण र जनसरोकारका मुद्दाहरूको पैरवी गरिरहेको उल्लेख गर्दै असंलग्नता र शान्ति देशको संविधानमै व्यवस्था गरिएको बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ । नेपाल आफैँ एक दशकको आन्तरिक द्वन्द्वबाट शान्तिपूर्ण विधिका माध्यमबाट बाहिर आएको मुलुक भएको सभामुख घिमिरेको भनाइ छ । उहाँले भन्नुभएको छ, “हाम्रा सांसदहरू नागरिकहरूको आवाज प्रतिध्वनित हुने ठाउँ हुन्, सांसदहरूले लोकतन्त्रको रक्षा गर्छन्, शान्ति, न्याय र दिगो विकासका लागि नीतिहरू तर्जुमा गर्छन् । यी मूल्यहरूको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।”

उहाँले नेपाल बान्डुङ सिद्धान्तहरूप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दै सबै देशहरूलाई अझ न्यायपूर्ण, शान्तिपूर्ण र समृद्ध विश्व निर्माण गर्न एकजुट हुन आह्वान गर्नुभयो । “आउनुहोस्, हाम्रा कार्यलाई मार्गदर्शन गर्ने एवं भावी पुस्तालाई प्रेरित गर्ने सिद्धान्तहरू बोकेको बान्डुङ भावनामा अन्तरनिहित ज्योतिलाई अझै गाढा बनाऔँ, साझा प्रगतिका लागि सहकार्यमा अघि बढौँ, जहाँ बान्डुङ भावना सर्वोच्च रहन्छ”, उहाँले भन्नुभएको छ ।

सभामुख घिमिरेले एसियाली, अफ्रिकी र अन्य राष्ट्रका नेताहरू ७० वर्षअघि उपनिवेशवाद एवं शीतयुद्धको प्रतिस्पर्धाबाट स्वतन्त्र भविष्य निर्माण गर्ने साझा लक्ष्यका साथ बान्डुङमा भेला हुनुभएको उल्लेख गर्दै भन्नुभयो, “बान्डुङ भावना सार्वभौमिकता र स्वनिर्णयको अधिकार, आपसी सम्मान, अहस्तक्षेप र विवादहरूको शान्तिपूर्ण समाधानको लागि आह्वान हो ।”

उहाँले बान्डुङ सम्मेलनले प्रारम्भ गरेको असंलग्न आन्दोलनको स्मरण गर्दै अधिकांश देशहरूको राजनीतिक स्वतन्त्रता, स्वाधीनता, औपनिवेशीकरणबाट मुक्ति र सार्वभौमिकताको प्राप्तिमा असंलग्न आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

असंलग्न आन्दोलनले उन्नत भविष्यका लागि विखण्डित नभई एकजुट हुन प्रेरित गरेको सभामुख घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल बान्डुङ सिद्धान्तहरू शान्त अन्तरराष्ट्रिय समुदाय निर्माण गर्न सदैव उपयोगी छ र यसले सबै राष्ट्रलाई समानता र सम्मानका लागि सहकार्य गर्न अवसर प्रदान गर्दछ ।”

नेपाल हिमालय रहेका राष्ट्रहरूको पर्यावरणीय जोखिमप्रति सचेत रहेको बताउँदै उहाँले कुनै पनि देशमाथि यसको असर असमानरूपले नहोस् भन्ने हेतुका साथ सबै संसद्हरूलाई जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

रास्वपाको सचिवालय बैठक बुधबार

काठमाडौँ, २६ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक आह्वान गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार दिउँसो बस्ने गरी उक्त बैठक डाकिएको जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने यस बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ ।

बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उहाँले बताउनुभयो ।

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी, २६ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेस गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचिएर बस्न नसक्ने बताउनुभयो । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्ने तर त्यसको जिम्मेवारी कांग्रेसले नबोक्ने उहाँको भनाइ थियो ।

पछिल्लो समय आम नागरिकमा देखिएको असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको काँधमा आएको महामन्त्री थापाले बताउनुभयो । देशमा ठूला दलले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरण जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाई भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीलाई आग्रह गर्नुभयो । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको उल्लेख गर्दै उहाँले यस अवस्थामा थुप्रै सम्भावनाका ढोका खुलेका बताउनुभयो । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेकाले गणतन्त्र सबैको साझा भएको बताउनुभयो ।

जिल्ला सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारी, डा मीनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी र चन्द्र केसी, प्रदेश सभापति अमरसिंह पुनलगायतले आ–अफ्नो धारणा राख्नुभएको थियो ।

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताउनुभयो ।

“उनका कागजातहरू नक्कली भएको पाइएको छ… अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भन्नुभयो ।

पक्राउ परेका व्यक्तिले आफ्नो नाम ‘नरेन्द्र जोन क्याम’ भनेका छन् । यो नाम अस्पतालको वेबसाइटमा हिन्दीमा लेखिएको नामसँग मिल्दछ ।

स्थानीय मिडियामा प्रकाशित मुखाकृतिमा उनलाई पहेँलो फुस्रो कपालसहित देखाइएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले यस वर्ष मिसन अस्पतालमा सात जना बिरामीको मृत्युको अनुसन्धान सुरु गरेको केही दिनपछि यो गिरफ्तारी भएको हो ।

गिरफ्तार व्यक्तिद्वारा सबै सात जनाको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो ।

– अति चिन्ताजनक –

स्थानीय मिडियाका अनुसार उनले बेलायतमा रहेका वास्तविक हृदयरोग विशेषज्ञ जोन क्यामको छद्म वेश धारण गरेका थिए । जोन क्याम सेन्ट जर्जेज युनिभर्सिटी अफ लन्डनमा क्लिनिकल कार्डियोलोजीका एमेरिटस प्रोफेसर हुन् ।

बेलायतमा आधारित क्यामले कुनै गलत काम गरेको सङ्केत छैन । उहाँले एएफपीलाई यो घटना ‘अत्यन्त चिन्ताजनक’ भएको बताउनुभयो ।

ती व्यक्तिले “विभिन्न समयमा मेरो छद्म वेश धारण गरेको र लन्डनको सेन्ट जर्जेज अस्पतालमा मेरो प्रशिक्षण लिएको दावी गरेको’ क्यामले बताउनुभयो ।

क्यामले आफू र आफ्ना सहकर्मीहरूले गत पाँच वर्षदेखि ठगलाई रोक्न पटक–पटक प्रयास गरेको पनि बताउनुभयो ।

“मैले पत्ता लगाएँ कि मैले यसबारे केही पनि गर्न सक्दिनथेँ, तर मेरा कम उमेरका सहकर्मीहरू, जो इन्टरनेटमा सामाजिक सञ्जालमा सक्रिय थिए, उनीहरूले आफ्नो सकेसम्मको प्रयास गरे”, क्यामले लन्डनबाट लेख्नुभएको छ, “भारतीय चिकित्सक र हृदयरोग विशेषज्ञहरूले चाँडै नै यी व्यक्तिको मसँग कुनै सम्बन्ध छैन भन्ने कुरा पत्ता लगाए र उनलाई ‘बन्द गर्ने’ प्रयास गरे ।”

“ठगको बारेमा हालैका रिपोर्टहरू अपेक्षाकृत शान्त थिए र मैले सोचेँ कि उनीहरू सफल भएका थिए”, क्यामले भन्नुभयो, “पक्राउको खबर मेरो लागि दुःखद छ र सम्भवतः बिरामीहरूका आफन्तहरूको लागि अझ बढी, जो पीडित भएका हुन सक्छन् ।”

मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लाले दोषी ठहरिए पक्राउ व्यक्तिविरुद्ध कडा कारबाही गरिने बताउनुभयो ।यो घटना मृत्यु भएका बिरामीहरूको एक परिवारले उजुरी गर्न अगाडि आएपछि सार्वजनिक भएको हो ।

“मेरी आमाको मृत्यु हुनासाथ चिकित्सक हराए”, छोरा नबी कुरैशीले प्रसारक एनडीटीभीलाई भनेको उद्धृत गरिएको छ ।भारतमा विशेष गरी ठूलो जनसङ्ख्या निरक्षर रहेको ग्रामीण क्षेत्रमा व्यक्तिहरूले चिकित्सकको वेशमा काम गरेको रिपोर्टहरू व्यापक छन् ।

अधिकारीहरूले हालका वर्षहरूमा नक्कली चिकित्सकहरूमाथि कारबाही गरेका छन्, क्लिनिकहरूमा छापा मारेका छन् र पक्राउ गरेका छन् ।

चीनका संग्रहालयमा एआई सहायकको प्रयोग: नयाँ युगको शुरुवात

चीनका विज्ञान तथा प्रविधि संग्रहालय (सिएसटीएम) ले सन् २०२४ को नोभेम्बरमा चीनको पहिलो एआई संग्रहालय सहायक सुरू गरेको थियो। यसले संग्रहालयहरूको प्रदर्शनीमा एआई प्रविधिको प्रभावकारी उपयोगलाई बढावा दिएको छ।

यो सहायक विज्ञानका जानकारीलाई नयाँ प्रविधिसँग जोडेर आगन्तुकहरूलाई मार्गदर्शन र जानकारी दिन्छ। यसले प्रदर्शनीको बारेमा मात्र होइन, टाढाबाट वैज्ञानिक प्रश्नहरूको उत्तर पनि दिन्छ, जसले विशेषगरी युवाहरूलाई मद्दत पुर्‍याउँछ।

मार्च २०२५ देखि, सिएसटीएमले यो कार्यक्रमलाई थप विस्तार गर्दै १३ वटा प्रादेशिक संग्रहालयका टोलीलाई तालिम दिन थालेको छ। यस तालिमको माध्यमबाट ती टोलीहरूले आफ्ना संग्रहालयका लागि अनुकूलित एआई सहायकहरू तयार गरेका छन्। यसले प्रत्येक संग्रहालयको आवश्यकता अनुसार विशेष ज्ञान आधार तयार गर्न मद्दत पुर्‍याएको छ।

सिएसटीएमका प्रवक्ताले भन्नुभयो, “प्रविधिको विकाससँगै थप संग्रहालयहरू यसमा सामेल हुनेछन् । एआई प्रणालीको नेटवर्क अझ विस्तारित हुनेछ। यसले संग्रहालयहरूको बीचमा एक स्मार्ट र व्यापक नेटवर्क सिर्जना गर्नेछ, जसले विभिन्न कार्यहरूमा सहयोग पुर्‍याउनेछ।”

एआई सहायकहरूको प्रयोगले केवल आगन्तुकहरूको अनुभव सुधार्ने छैन । यसले देशभरका संग्रहालयहरूलाई स्मार्ट र डिजिटल-मैत्री स्थानमा परिणत गर्न मद्दत गर्नेछ।

‘कांग्रेसभित्र समीक्षा जरुरी छ’ – डा शेखर कोइराला

चितवन, २६ चैतः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामनासहित कांग्रेस नेता ‘भीमबहादुर श्रेष्ठको जीवन सङ्घर्ष र अनुभूतिहरु’ पुस्तक विमोचन तथा भित्तेपात्रो लोकार्पण गर्दै उहाँले कांग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विसं २०६२/०६३ को जनआन्दोलन पछिका वर्षहरुमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुराको समीक्षा जरुरी छ ।” उहाँले भन्नुभयो, “हामीले राम्रा काम पनि गरेका छौँ तर नराम्रा कामहरुको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिन्छ ।” कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको बताउँदै उहाँले कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ । पार्टीलाई बलियो बनाउने काम गरौँ ।”

अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नसकेमा मात्र सरकारमा भएको अनुभूति हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ, दिनेश कोइरालालगायतले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनालले भीमबहादुर श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् ।

मंगलबार सिरहा सदरमुकाममा पार्टीको ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा यही चैत १५ गतेको उनीहरुको क्रियाकलापले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताए ।

“राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरुको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो”, प्रधानमन्त्री ओलीले भने, “राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने नेपाली जनताले देखिसके । त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला ? तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।”

व्यक्तिको घरघरमा गएर आगो लगाउने, औषधि निर्माण कम्पनीमा आगो लगाउने, सञ्चारगृहमा आगो लगाउने, भित्र मान्छे थुनेर आगो लगाएर मार्ने, लुटपाट मञ्चाउनेजस्ता विध्वंसकारी तथा अराजक तत्वलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

सरकारको ध्यान सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा साकार पार्न आफू लागिपरेको बताए ।

‘निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यक’ : अध्यक्ष राजेन्द्र लिङ्देन

‘निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यक’ : अध्यक्ष राजेन्द्र लिङ्देन

कीर्तिपुर (काठमाडौँ), २६ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनीतिक व्यवस्था खोजेको बताउनुभएको छ । पार्टीद्वारा आज राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनीतिक समझदारी गर्नु रहेको बताउनुभयो ।

उहाँले यही चैत १५ गते गिरफ्तार भएका आफ्ना पार्टीका नेताहरुको रिहाइ गर्न माग गर्दै भृकुटीमण्डपमा खबरदारी सभा गर्न नदिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

सो पार्टीका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकका ठूला भनिएका राजनीतिक दलहरुले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै जनताले त्यसको हिसाब गर्ने बताउनुभयो ।

पार्टीका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले मुलुकका प्रमुख राजनीतिक दलहरुले पूर्वराजासँग गरेको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउनुभयो । पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।

कीर्तिपुर (काठमाडौँ), २६ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनीतिक व्यवस्था खोजेको बताउनुभएको छ । पार्टीद्वारा आज राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनीतिक समझदारी गर्नु रहेको बताउनुभयो ।

उहाँले यही चैत १५ गते गिरफ्तार भएका आफ्ना पार्टीका नेताहरुको रिहाइ गर्न माग गर्दै भृकुटीमण्डपमा खबरदारी सभा गर्न नदिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

सो पार्टीका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकका ठूला भनिएका राजनीतिक दलहरुले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै जनताले त्यसको हिसाब गर्ने बताउनुभयो ।

पार्टीका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले मुलुकका प्रमुख राजनीतिक दलहरुले पूर्वराजासँग गरेको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउनुभयो । पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा

काठमाडौँ, २६ चैतः बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउँदै हुनुहुन्छ ।

यसअघि सचिवस्तरीय बैठक काठमाडाँैमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी हुनुहुन्थ्यो ।

सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ । बिम्स्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरुले भर्चुअलरुपमा सहभागिता जनाउनुहुने मन्त्रालयले जनाएको छ ।

बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुहुनेछ । बैठकमा सहभागी हुन भारत र भुटानका कृषिमन्त्रीहरु आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

काठमाडौँ, २६ चैतः राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ । आज एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा छलफल गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाइँहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ ।”

सो क्रममा अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधा उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बिमालगायतको सुविधा उपलब्ध गराउनुपर्छ ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरताका साथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको महासचिव घनश्याम श्रेष्ठले बताउनुभयो । एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रुपमा सहभागी भई दिन राष्ट्रपतिलाई आग्रह गरेको छ ।

भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन्।

सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो महाधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी छ, उनले भने।

” एनआरएनएको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया नै हो। यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो। अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। कम्तीमा २ वर्ष विदेशमा बसिसकेका नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनए उच्चस्तरीय समितिले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा आह्वान गरेको एकता महाधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु,” उनले भने।

एनआरएनहरू एकजुट हुन नसके एनआरएन नागरिकता, सामाजिक सुरक्षा, श्रमिक हकहित जस्ता एनआरएनएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने पनि उनले बताए। उनले सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको पोर्टल मा गई सदस्यता लिएर डेलिगेट बन्न पनि आग्रह गरे।

“हामीले सकभर भौतिक अधिवेशनको पक्षमा आवाज उठाएका थियौँ, किनभने भौतिक रूपमा उपस्थित भएर नेपालसँगको सम्बन्ध अझ बलियो बनाउने अवसर मिल्छ। यद्यपि, केही साथीहरूले अनलाइन विधिको प्रस्ताव राखेपछि हामीले हाइब्रिड मोडेल अपनायौँ, तर त्यसले अपेक्षित परिणाम दिन सकेन।
अहिलेको अवस्थामा भौतिक रूपमा उपस्थित भएर अधिवेशन गर्नु नै उचित हुनेछ। यसले पारदर्शिता कायम गर्न मद्दत गर्छ र सबैको विश्वास जित्न सकिन्छ,” डा पौडेलले भने।

“आगामी एकता महाधिवेशनले सम्पूर्ण विषयमा ठोस समाधान ल्याउनेछ भनेँ हाम्रो विश्वास छ। अझै पनि प्रक्रिया बाहिर रहनुभएका साथीहरूलाई समेट्न हामी प्रतिबद्ध छौँ। अन्तिम दिनसम्म एकताको वातावरण बनाउन पनि म सबैलाई अपिल गर्दछु,” उनले भने।

एनआरएनए उच्चस्तरीय समितिले सोमबार, अप्रिल ७ (नेपाल समय राती १२ बजे अगावै) समितिको पोर्टल (www.nrnahlc.com) मा गएर नि:शुल्क सदस्य बन्न निवेदन दिन आग्रह अगरेको छ। साथै सोही वेबसाइटबाटै डेलिगेट्स बन्नको लागि निवेदन पनि खोली सकेको छ।

नेपालमा सङ्कलित कवाडजन्य वस्तु भारत निकासी हुँदा कच्चा पदार्थको अभाव

राँझा (बाँके), २६ चैत : नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ । करको दायरामा नपर्न व्यवसायीले कवाड (प्रयोग भएका कापी किताब, फलाम, टिन, प्लास्टिक, सिसीलगायतका वस्तु) सङ्कलन गरी अवैध रूपमा भारत निकासी गर्ने गरेकाले नेपाली उद्योग कच्चा पदार्थको अभावमा धरासायी बन्दै गएको बाँकेको बैजनाथ गाउँपालिका–१ मा सञ्चालित पश्चिमाञ्चल एग क्यारेट एण्ड फुड उद्योगका सञ्चालक पुनित शाहले बताउनुभयो ।

“उद्योगलाई आवश्यक कच्चा पदार्थ भारत तस्करी भएपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ, कच्चा पदार्थ अवैध रूपमा भारत गइरहे पनि नियामक निकायले चासो दिएको पाइएको छैन”, उहाँले भन्नुभयो, “कच्चा पदार्थको अभावमा उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसक्दा मजदुरले काम पाएका छैनन, उद्योग धरासायी बन्दै गएको छ ।”

रु पाँचदेखि रु १० प्रतिकेजी भन्सारदर रहेको कवाडजन्य वस्तु दैनिक अवैध रूपमा भारततर्फ निकासी हुँदा सम्बन्धित निकायले एकअर्कालाई देखाउँदै नियमनबाट पन्छिँदा त्यसको असर नेपाली उद्योगलाई परिरहेको उहाँको भनाइ छ ।

“मेरो उद्योगलाई महिनामा १२० टन कच्चा पदार्थ चाहिन्छ तर अहिले त्यसको आधामात्रै पाउने गरेको छु, त्यसैले उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने वातावरण हुनसकेको छैन”, सञ्चालक शाहले भन्नुभयो, “यो क्षेत्रमा सङ्कलन हुने कवाडजन्य वस्तु अवैध रूपमा भारत निर्यात नभए कच्चा पदार्थ पर्याप्त रूपमा उपलब्ध हुन्छ, तर यसमा राज्यका निकायले बेवास्ता गर्दै आएका छन् ।”

बाँकेलगायत जिल्लामा सङ्कलित कवाड वस्तु खरिद गरी राज्यलाई कर तिर्नुका साथै रोजगारीसमेत सृजना गरेका बाँकेलगायत विभिन्न जिल्लामा सञ्चालित उद्योग कच्चा पदार्थका रूपमा प्रयोग हुने कवाड सामान खरिद गर्न नपाएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको उहाँको गुनासो छ ।

प्रयोग भइसकेको कवाड फलाम नेपालमा नै खरिद हुने भए पनि अन्य कागजन्य कापीकिताब, डप्टी, प्लाष्टिकजन्य वस्तु, व्याट्री, आल्मुनियमलगायत वस्तु भारत तस्करी हुँदै आएको छ । कवाड वस्तु निकासीमा प्रतिकेजी रु १० भन्सार राजस्व शुल्क भए पनि व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारततर्फ निकासी गर्ने गरेको पाइएको छ ।

भारतीय उद्योगीले कवाड वस्तु केही महँगो दरमा खरिद गर्ने भएकाले नेपाली कवाड व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारत निकासी गर्ने गरेका छन् । दैनिक साइकलबाट कवाडजन्य वस्तु भारत निकासी हुने गरेको छ । सङ्कलित कवाडको ठूलो अंश बाहिरिने भएकाले यहाँका उद्योगले पुनः त्यही कवाड दोब्बर मूल्यमा आयात गर्नुपर्ने बाध्यता रहेको शाहको भनाइ छ । कवाडसम्बन्धी वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सय बढी छन् ।

बाँकेमा २० को हाराहारीमा कवाड व्यवसायी रहेका छन् । उनीहरूमध्ये कतिपयले बाँकेसँगै अन्य जिल्लाबाट कवाड सङ्कलन गरी भण्डारण गरेर भारत पठाउन थालेपछि कवाडसँग सम्बन्धित उद्योगले कच्चा पदार्थ पाउन छाडेको कवाड व्यवसायी सङ्घ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले बताउनुभयो ।

“फलामजन्य कवाड भारतीय व्यापारीले दिने मूल्यमै यहाँस्थित अम्बे स्टिलले खरिद गर्ने गरेकाले भारत निकासी हुँदैन, अन्य कागजजन्य र प्लााष्टिकजन्य कवाडको मूल्य भारतमा बढी मिल्ने भएकाले निकासी हुने गरेको छ”, उहाँले भन्नुभयो, “सबै व्यवसायी आफँैले भारत निकासी गर्दैनन्, भारतीय व्यापारीले कवाड सङ्कलन गर्नेहरूसँग मिलेमतो गरी खरिद गर्ने गरेका छन् ।”

रुपन्देहीको सियारी गाउँपालिका–४ मा प्लाष्टिकजन्य कवाड प्रशोधन गरी प्लाष्टिकको दाना बनाउने उद्योग अमुवा प्लाष्टिक इन्डस्ट्रिजका सञ्चालक हरिप्रसाद न्यौपानेले दैनिक आफ्नो उद्योगलाई सात टन कवाड आवश्यक रहे पनि अहिले एक टनमात्र पाउने गरेको बताउनुभयो ।

“पश्चिमको भरमा थियौँ, असोजपछि कवाड आउन छाडेको छ कुनै महिना एक ट्रकसम्म आयो होला, यो अवस्थामा १५ दिनमात्रै मुस्किलले उद्योग चलाउन सकेका छौँ”, उहाँले भन्नुभयो, “हामीले नै कवाड पाउनु पर्छ भन्ने होइन, तर भारत निकासी गर्ने हो भने कर तिरेर मात्र लैजानु पर्छ, खुलेआम तस्करी हुने प्रवृत्ति रोकिनुपर्छ ।”

भारतसँग ६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा कवाड वस्तुको निकासीले राजस्व गुम्नुका साथै कच्चा पदार्थको रूपमा प्रयोग गर्ने बाँकेसहित विभिन्न जिल्लामा रहेका उद्योग धरासायी भएका छन् । नेपाल–भारत सीमाअन्तर्गत बाँकेको खडैचा, हिरमिनीया कालाबन्जार, जमुनाह, जयसपुर, पचपोखरा, साईगाउँ, बढैया, सैनिकलगायत सहायक नाका चोरी तस्करीका लागि प्रमुख मानिन्छन् । यी ठाउँमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा खटिएको छ ।
सशस्त्र प्रहरी बल नं.३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले कबाडजन्य वस्तुको अवैध रुपमा हुने चोरी निकासी रोक्न सशस्त्र प्रहरी बल प्रयासरत रहेको बताउनुभयो । उहाँले मुख्य सीमा नाकाबाट निकासी नभएपनि ग्रामिण नाकाबाट चोरी निकासी हुनसक्ने भएकोले नियन्त्रणको लागि आवश्यक निर्देशन दिएको उल्लेख गर्नुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले कवाडजन्य वस्तु चोरी निकासी रोकथाम चुनौतीको विषय बनेको बताउनुभयो । मुख्य भन्सार नाकामा आउने कवाडजन्य वस्तु नियन्त्रणमा लिएर लिलाम गर्ने गरेको उल्लेख गर्दै भन्सार प्रमुख पौडेलले भन्नुभयो, “कवाडजन्य वस्तुको चोरी निकासी रोकथाम गर्न लाग्ने हो भने भन्सार कार्यालय नै कवाडखाना बन्ने स्थिति आउँछ, हामीले नियन्त्रणमा लिएको कवाडको लिलाम नेपाली उद्योगीले सकार्नुपर्छ, अन्यथा लिलाम नभएर कवाड भन्सारमा थन्किने र पुनः भारतीय व्यापारीले नै खरिद गर्ने स्थिति हुनुहुँदैन ।”

उहाँले नेपाली उद्योगीहरूको गुनासोलाई मध्यनजर गरेर कवाडजन्य वस्तुको चोरी निकासी रोकथामका लागि भन्सार कर्मचारीलाई आवश्यक निर्देशन दिएको उल्लेख गर्नुभयो ।

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित

काठमाडौँ, २६ चैत : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई सीमिततामा झारेको हो । यसका कारण अस्पतालमा पछिल्लो समय आँखा उपचार गराउने बिरामीको चाप बढेको छ । अस्पताललले दैनिक ६०० देखि ९०० जनासम्मलाई उपचार सेवा प्रदान गरिरहेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले भन्नुभयो,“अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित पारेको छ । दक्ष नेत्र विशेषज्ञसहित अन्य स्वास्थ्यकर्मी, आधुनिक प्रविधि, उच्च गुणस्तरका उपकररणबाट हाम्रा आँखा सेवा उपलब्ध भइराखेका छन् । यही कारणबाट पछिल्लो समय बिरामीको चाप वृद्धि भइराखको छ । ”

विसं २०३० चैत २६ गते त्रिपुरेश्वरमा जनसहयोगमा अग्रज समाजसेवी तथा नेत्र विशेषज्ञद्वारा सेवा सुुरु गरेको सो अस्पतालले आँखाको विशिष्ट सेवा मोतियाविन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दु, बाल आँखा सेवालगायत आरओपीको लागि अलग्गै विभागबाट १६ नेत्र विशेषज्ञ एवं १२५ कर्मचारीद्वारा सेवा प्रदान गर्दै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत गोसाईँका अनुसार आर्थिक वर्ष २०८१ /८२ को आठ महिनामा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ३१२, आकस्मिक २० हजार ९६, सर्जरी पाँच हजार ७९५, आँखा शिविरमा परीक्षण ४० हजार ६१५ र शिविरमा सर्जरी ८८३ जनालाई सेवा उपलब्ध गराएको थियो । अर्काेतर्फ अस्पतालले विद्यालयस्तरमा आँखा परीक्षण कार्यक्रम पनि सञ्चालन गरिराखेको छ । चालु आवको हालसम्म नौ हजार ३३९ विद्यार्थीको दृष्टि परीक्षण गरेर ४९७ जनालाई निःशुल्क चश्मा प्रदान गरेको छ ।

अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको छ । विशिष्ट सेवाका विभिन्न सेवामा छात्रवृत्ति तालिमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसमेत रहेको उहाँले जानकारी दिनुभयो । हाल अस्पतालमा एमडीमा १२, अप्टोमेट्रीमा २४ र नेत्र सहायकमा ३७ जना विद्यार्थी अध्ययनरत छन् । प्रमुख कार्यकारी गोसाईँले भन्नुभयो, “भविष्यमा अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । यसका लागि अस्पतालले अहिलेदेखि नै पूर्वतयारी गर्दै आएको छ । अस्पतालले प्रदान गर्ने सेवाको उच्च गुणस्तर कायम गर्दै विशेषगरी विपन्न र सीमान्तकृत वर्गको पहुँचका लागि सर्वसुलभ सेवा उपलब्ध गराइएको छ । ”

आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्कमा वा निःशुल्क सेवासमेत प्रदान गर्ने नीति लिएको छ । अस्पतालले आँखा जाँच तथा परीक्षणका लागि आवश्यक उपकरण प्रत्येक वर्ष अत्याधुनिक गर्दै लगेको छ । ज्येष्ठ नागरिकमध्येमा ८० वर्ष नाघेका व्यक्तिलाई गत वर्षदेखि मोतियाविन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत गरी सेवा उपलब्ध गराइरहेको छ ।

उहाँका अनुसार गत चार वर्षमा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष एक लाख ६२ हजार ९७६ बिरामीलाई सेवा प्रदान गरिएको छ । उक्त अवधिमा अस्पतालले प्रदान गर्ने शल्यक्रिया बिरामी सङ्ख्या दोब्बर वृद्धि भएको छ । गत वर्ष नौ हजार ९३ शल्यक्रिया गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत गोसाईँले भन्नुभयो, “आगामी चार वर्षभित्रमा शल्यक्रिया सेवा सङ्ख्या वार्षिक १५ हजार पुर्याउने लक्ष्य अस्पतालले लिएको छ । गत दुई वर्षदेखि कम तौल र प्रिम्याच्युर जन्मेका शिशुमा हुने दृष्टि पर्दाको रोगको उपचार (आरओपी) हालसम्म ९४५ बच्चाका आँखा परीक्षण गरिएको छ ।”

विस्तारित कार्यक्रमअन्तर्गत आँखा शिविरमार्फत गत वर्ष ८४५ जनाको आँखा शल्यक्रिया गरिएको छभने यस वर्ष करिब एक हजार ५०० शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत गत वर्ष ३१ विद्यालयमा आँखा जाँच कार्यक्रम, ३० आँखा जाँच शिविर तथा ११ आँखा शल्यक्रिया शिविरमार्फत ४० हजार ६१५ जनालाई सेवा प्रदान गरी दुई ८८४ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छभने यस वर्ष ५० हजार जनाको आँखा परीक्षण गरी तीन हजार ५०० निःशुल्क चश्मा वितरण गर्ने योजना रहेको उल्लेख छ ।

अस्पतालको व्यवस्थापनमा बाराको सिमरा र गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र तथा उपत्यकाभित्र सुन्दरीजल र खोकनामा भिजन सेन्टरको सेवालाई अझ प्रभावकारी बनाई अस्पतालको रेफरल प्रणालीलाई अझ बजबुत बनाइने अस्पतालले जनाएको छ ।

अस्पतालले सरकारको नीतिअनुरुप आँखा स्वास्थ्यमा सरकारी तथा गैरसरकारी साझेदारी नीतिलाई आत्मसात् गरी सेवा प्रवाह गर्ने नीति लिएको छ । प्रमुख कार्यकारी गोसाईँले बिरामीको सुविधाका लागि सरकारको स्वास्थ्य बिमा योजना लागू गर्ने कार्य अघि बढाइएको बताउनुभयो । आगामी चार वर्षको लक्षित बिरामी सङ्ख्या वृद्धिलाई मध्यनजर गरी थप भौतिक पूर्वाधारको निर्माण तथा हाल भइरहेको स्थानको अधिकतम सदुपयोगतर्फ ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले हाल छवटा शल्यक्रिया कक्षबाट सेवा प्रदान गर्दै आएको छ । यसैगरी अस्पतालमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको गुणस्तरलाई कायम राख्न आवश्यक व्यवस्था गरिने पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ , “आँखाको उपचार सेवाको पहुँच विस्तार गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालन गर्न एवं आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न सरकारका साथै अन्तर्राष्ट्रिय संघसंस्था एवं जनसहभागिताका लागि स्थानीय तहका सरकारहरुसँगे सहकार्य गर्दै लैजाने योजना रहेको छ ।”

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो ।

पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफल आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए ।

उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनले गुनासो गरे ।

“जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन हुँदैन ।”

विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरको छ ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ ।

यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ ।

त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ ।

जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।

कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।

ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल/पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि १५ लाख खर्च हुन्छ । “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री  ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा टेनिङ लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए ।

जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बीमा गर्नुपर्छ ।

काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ ।

हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ ।

हिमालको प्रवद्र्धन गर्न महोत्सव हुँदै

ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवद्र्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए ।

आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहारः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवद्र्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवद्र्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् ।

कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ ।

प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ ।

गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवद्र्धन गरिने जनाएको छ ।

विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ । चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइििक्लङलगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ ।

महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ ।

सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।

ताप्लेजुङको साहसिक पर्यटनमा ठूलो सम्भावना भए पनि सरकारी चासोको कमीले विकास सुस्त देखिन्छ । यहाँको हिमाली सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्त्वका कारण अन्तर्राष्ट्रिय पर्वतारोही आकर्षित हुने वातावरण भए पनि पर्यटन प्रवद्र्धनका नाममा गरिने मेला महोत्सवले खासै प्रभाव पार्न सकेका छैनन् ।

आवश्यक पूर्वाधार विकास, पदमार्ग सुधार, हिमाल आरोहण सहज बनाउन कानुनी प्रक्रिया सरलीकरण गर्न सके ताप्लेजुङलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिन्छ । नयाँ पिकहरूमा मानव पाइला पर्नु, पर्वतारोहण सम्भावनाको उजागर हुनु र पर्यटन गतिविधि बढ्नु सकारात्मक सङ्केत हुन् । सरकारी सहयोग र स्थानीय समुदायको संलग्नता बढाउन सकियो भने ताप्लेजुङ विश्वको महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्ने पर्यटन व्यवसायीको भनाइ छ ।

ताप्लेजुङका यी हिमालहरूको काखमा मानव पाइला पर्न थालेका छन् । पर्वतारोही, अनुसन्धानकर्ता र पर्यटकको चहलपहल बढ्दै गएको छ । अवलोकनका लागि मात्र नभई, नयाँ गन्तव्यका रूपमा यी हिमाली क्षेत्रलाई प्रचार गर्न थालिएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धनका लागि नयाँ हिमालको पहिचान र आरोहण सम्भावनालाई उजागर गर्दै, ताप्लेजुङ अब साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । हिमाली सौन्दर्य, संस्कृति र जैविक विविधताको सङ्गमका कारण यहाँको महत्व अझ बढ्दै गएको छ ।

विद्युतीय धरापमा परेर १३ वर्षीया बालिकाको मृत्यु

सिरहा, २६ चैत ः गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।

गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।

त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।

अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सांसद मल्ल

काठमाडौँ, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य सावित्री मल्ल विगत एक वर्षदेखि कर्णाली प्रदेश (महिलातर्फ)बाट सङ्घीय संसद, राष्ट्रियसभाको सांसद हुनुहुन्छ । तत्कालीन सत्तारुढ गठबन्धनको राष्ट्रियसभाको सदस्यमा उम्मेदार हुनुभएकी सांसद मल्लले नेकपा (एमाले)की नेत्री विमला शाहीलाई पराजित गर्नुभएको थियो । उहाँले विस २०४२ देखि महिला आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । (सांसद मल्लसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

महिलाका सवालमा संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छैन । संविधानको धारा ३८ को ‘महिलाको हक’मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ’ भनिए पनि त्यसको पूर्ण रूपमा कार्यान्वयन हुनसकेको छैन । त्यसैगरी प्रतिनिधिसभाको सवालमा धारा ८४ मा व्यवस्था गरिएको ‘सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ महिला हुनुपर्ने’ व्यवस्था भने कार्यान्वयन भएको छ । यी विषय मन्त्रिपरिषद् गठनको सवालमा पनि लागू हुनुपर्छ । धारा ९१ र ९२ पनि संशोधन गरेर महिलामैत्री बनाउन जरुरी छ । महिला, दलित, मधेसी, आदिवासी, जनजातिलगायत उत्पीडित समुदायको सवालमा भएका संवैधानिक अधिकारको कार्यान्वयनसँगै थप अधिकारको निम्ति एकजुट भएर सङ्घर्ष गर्नुपर्ने बेला पनि आएको छ ।

देशमा रोजगारी सृजनाका लागि सरकारले योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । हचुवाका भरमा सरकार अगाडि बढ्नु हुँदैन । जनताका काम आवश्यकताका आधारमा गर्नुपर्छ । अहिले जनताले रोजगारी खोजिरहेका छन्, उनीहरूलाई रोजगारीको व्यवस्था गर्नका निम्ति बन्द भएका उद्योग सञ्चालन गर्नुपर्छ । बन्द हुने अवस्थामा पुगेका कलकारखानालाई सरकारले जोगाउन सक्नुपर्छ । सङ्घीय सरकारले पछाडि पारेको कर्णाली प्रदेशलाई बजेटमा प्राथमिकता दिनुपर्छ । यो प्रदेशको विकासका लागि मेरो तर्फबाट पहल गरिरहेकी छु । यो प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै माननीयहरूले प्रदेशको विकासका लागि पहल गर्नुपर्छ । समृद्ध कर्णाली, सुखी कर्णाली बनाउने मेरो सपना छ ।

सांसद भएको एक वर्ष भयो । नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । संविधानले नै खासगरी सीमान्तकृत, लोपोन्मुख समुदायको राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभाको आवश्यकता औँल्याएको छ । हामी राष्ट्रियसभाका सांसद, प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको मतबाट सांसद बनेका हौँ । प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको निर्वाचनमण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित आठ जना गरी ५६ जना निर्वाचित गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिलासहित तीन जना गरी राष्ट्रियसभामा हामी ५९ सदस्य रहेका छौँ ।

मुख्य गरी राष्ट्रियसभाले प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलन समेतलाई सम्बोधन गर्छ । एक वर्षको अवधिभरि संविधानअनुरुप कानुन बनाउने काम केन्द्रित भएकी छु । त्योसँगै जनताका सवाललाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएकी छु । अस्थिर सरकार भएका कारण संविधानअनुसार सबै कानुन बन्न सकेका छैनन् । यद्यपि, राष्ट्रियसभामा टेबुल भएका कुनै पनि विधेयकलाई रोकिएको छैन । यो सभामा आएका विधेयकलाई हामीले गहिरो गरी अध्ययन गरेर, छलफल गरेर मात्र पारित गर्ने गरेका छौँ । ऐन, कानुन वा नियम बनाउँदा यो सभाले सकेसम्म समावेशिताको विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रियसभाको मुख्य विशेषता भनेको सभा समयमै सञ्चालन गर्नु हो ।

म राष्ट्रियसभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिको सदस्यमा रहेर काम गरिरहेकी छु । यो समितिले नेपालको अर्थव्यवस्था, सार्वजनिक वित्त, पूर्वबजेट छलफल, शासकीय सुधार तथा सुशासन प्रवर्द्धन, सूचना प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विषयमा काम गर्ने गरेको छ । समितिले विकास आयोजना, दिगो विकास, समन्वायिक एवं सन्तुलित विकास, लगानी र जनसङ्ख्या व्यवस्थापनमा पनि काम गर्दै आएको छ । समितिको पनि मुख्य विशेषता भनेको समयमै बैठक सुरु गर्नु हो । अहिलेसम्म गणपूरक नपुगेर बैठक स्थगन गर्नुपरेको छैन । कुनै पनि विषयमा विस्तृत रूपमा छलफल हुन्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच एकरुपता र समन्वय नभएका कारण संविधानको पूर्ण कार्यान्वयन हुनसकेको छैन । नेपालको संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हकअन्तर्गतका कतिपय कानुन बन्न बाँकी छ । संविधानलाई आवश्यकताका आधारमा संशोधन गरेर समय सान्दर्भिक बनाउनुपर्छ । जस्तो संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुने’ भनिएको छ । यसलाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ । यद्यपि हाम्रो पार्टीले संविधान संशोधन गर्नुपर्ने विषयका बारेमा नेता तथा सांसद प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको । कुन–कुन विषयमा संशोधन गर्नुपर्ने भन्ने विषय पार्टीले छिट्टै टुङ्गो लगाउने छ ।

सङ्घीयतालाई अझै सुदृढ र बलियो बनाउनका लागि सदाचार नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । राजसंस्था अन्त्यका लागि नेपाली जनताले ठूलो बलिदान गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र यत्तिकै आएको होइन । राजसंस्थावादीले सडकमा उर्फिँदैमा व्यवस्था परिवर्तन हुँदैन । विसं २०६२÷६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै देशमा गणतन्त्र आएको हो । यो शासन जनता आफैँले ल्याएको शासन हो । अहिलेको शासन व्यवस्था भनेको सामान्य जनताको छोरा राष्ट्रप्रमुख हुने व्यवस्था हो । राजसंस्था ल्याउन सहज छैन । आउँदा पनि आउँदैन । यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै परिमार्जन र बलियो बनाएर अगाडि बढ्नुको विकल्प छैन । यद्यपि लोकतन्त्रमा फरक मत राख्न पाइन्छ ।

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी, २६ चैतः गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बिमित हुनेको सङ्ख्या १२ लाख सात हजार १७२ पुगेको जानकारी दिइएको हो ।

कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको सङ्ख्या सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आमसर्वसाधारणलाई बिमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गर्नुभयो । विश्वव्यापी रूपमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै अघि बढेको उल्लेख गर्दै उहाँले नेपालमा पनि यसलाई समयसापेक्ष सुधार गर्दै लगिएको जानकारी दिनुभयो । 

नेपालमा स्वास्थ्य बिमाप्रति सकारात्मकभन्दा पनि नकारात्मक प्रचार गर्ने प्रवृत्ति कायम रहेको बताउँदै संयोजक खेरलले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवं गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य–सचिव डा रमेश केसीले विश्वमा १४२ वर्षअघिदेखि सुरु भएको स्वास्थ्य बिमा नेपालमा नौ वर्षयता सञ्चालनमा रहेको जानकारी दिनुभयो । शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बिमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक रहेको बताउँदै उहाँले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । उपचारमा आमसर्वसाधारणको सहज पहुँच पुर्‍याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उहाँको भनाइ छ ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विद्या बास्तोला, दृष्टि आई अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारीहरू गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी, गौतमसिंह धामीलगायतले स्वास्थ्य बिमाको विद्यमान अवस्था, चुनौतीलगायत विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।  

छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

अत्तरिया (कैलाली), २६ चैतः जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त सङ्ख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो ।

हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ । पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ । डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ । शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ ।”

कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाठ्यपुस्तक पर्याप्त छ । समयमा प्रदेशभरिका सबै जिल्लामा पु¥याउने छौँ ।”

कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रदेशभरि आगामी शैक्षिकसत्र २०८२ का लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ । उहाँले हाल कक्षा ३ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री भइरहेको बताउँदै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिनुभयो ।  

प्रदेशमा आगामी शैक्षिकसत्रमा रु २५ करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चालु शैक्षिकसत्रमा रु २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरिएको केन्द्रले जनाएको छ ।

केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती, कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।

कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक : महानगर प्रमुख आचार्य

लेखनाथ (कास्की), २६ चैतः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावनालाई बढाएको बताउनुभयो ।

पहिलो अन्तरराष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङ्छिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई अझै उजागर गरेको बताउँदै उहाँले सिचुवान एयरलायन्सको विश्वका धेरै देशमा रहेको सञ्जालको उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चीनले माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएको जनाउँदै महानगरप्रमुख आचार्यले त्यसले यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानका क्रममा नेपाल पर्यटन बोर्डले छेन्दु र छोङ्छिङमा आयोजना गरेको बिटुबी तथा सेल्स मिसनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा-चीनको सम्बन्धलाई थप उजागर गरेको बताउँदै उडानको निरन्तरताका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्नेमा जोड दिनुभयो । 

परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमले चीनका विभिन्न सहरसँग पोखराको सम्बन्धलाई प्रगाढ बनाएको धारणा राख्नुभयो ।

कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत पक्षलाई अनुकरण गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव

खोटाङ, २६ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ । राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको हो । नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यो नगरपालिकाको नाम यसअघि दुईपटक परिवर्तन गरिएको थियो । सुरुमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यो पालिका देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहको नामकरण गर्ने क्रममा रुपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो ।

अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवं बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नाम परिवर्तनको प्रस्ताव सार्वजनिक गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । “देश तथा विदेशबाट हाम्रो नगरपालिकाको नाम लामो भयो भन्ने गुनासो आएको छ । यो विषयमा कार्यपालिका बैठकमा छलफल भयो”, उहाँले भन्नुभयो, “बैठकमा राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नगरपालिकाको नाम परिवर्तन गर्नेगरी समझदारी भएको छ । यसलाई चाँडै सर्वपक्षीय बैठक राखेर टुङ्ग्याउँछौँ ।”

विसं २०७४ मा पहिलोपटक भएको स्थानीय तहको निर्वाचनपछि तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल नेतृत्वको जनप्रतिनिधिले रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थपेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाएको थियो ।

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

लुम्बिनी (मर्चवार), २६ चैतः रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 

घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । 

दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा  क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उहाँले उल्लेख गर्नुभयो । 

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ-नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै देशका सर्वोच्च अदालतबीच दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्न एक समझदारी पत्रमा आज हस्ताक्षर भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उक्त समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । दुई देश र जनताबीच रहेको सौहार्दपूर्ण, मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित हुँदै यस समझदारी पत्रले दुई देशका न्यायपालिकाहरूबीच सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य लिएको छ ।

यस समझदारी पत्रले कानुन र न्यायको क्षेत्रमा भएका पछिल्लो विकासका बारेमा पारस्परिक जानकारी आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै भ्रमणको आदानप्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम र शैक्षिक कार्यक्रम जस्ता कार्यक्रममार्फत न्यायपालिकाका न्यायाधीशहरू र अधिकारीहरूबीच अन्तरक्रियालाई प्रवर्द्धन गर्ने जनाइएको छ ।

अधुरा कार्यहरु पूरा गर्न, अदालती प्रक्रियालाई तीव्र पार्न र सरोकारवालाहरूलाई सेवा प्रदान गर्न प्रविधिको प्रयोगलाई आत्मसात गर्दै यस समझदारी पत्रले सम्बन्धित अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको बताइएको छ । समझदारी अनुसार न्यायिक सहयोगलाई प्रवर्द्धन र थप सुदृढीकरण गर्न, यसका लागि योजना र ढाँचा तयार गर्न दुई न्यायपालिकाका अधिकारीहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरिनेछ ।

भारत सरकार र भारतको सर्वोच्च अदालतले यसअघि नै इजरायलको सर्वोच्च अदालत, सिङ्गापुर गणराज्यको सर्वोच्च अदालत, बङ्गलादेशको सर्वोच्च अदालत, भुटानको सर्वोच्च अदालत, ट्युनिसिया सरकार, जाम्बिया सरकार, मोरोक्को सरकार, माल्दिभ्स सरकारलगायत देशका संस्थाहरूसँग न्यायिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २६ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १००, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

न्यूरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग

झापा, २६ चैतः एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा स्थानीय सरोकार भएकाहरूले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल गर्न माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धुलो नियन्त्रण नगरिएकाले आवतजावत कष्टकर र वातावरण प्रदूषित भएको बताउनुभयो ।

उहाँले सुक्खा र हावा चल्ने समय भएकाले सडकबाट फैलिने धुलोले वायु प्रदूषणको रुप लिएको भन्दै यसबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर आघात पुर्‍याइरहेको गुनासो गर्नुभयो । 

उपभोक्त जागरण अभियानका केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेले एसियाली राजमार्गको काँकडभिट्टाबाट दमकसम्म निर्माणाधीन खण्डमा धुलो अनियन्त्रित भएको जनगुनासो आएको विषयमा समितिको ध्यानाकर्षण गराउनुभयो ।  

राजमार्गका यात्रीले मात्र नभई सडक वरपरका बासिन्दालेसमेत धुलोको सास्ती खेप्नु परिरहेको जनाउँदै उहाँले सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनीलाई तत्काल धुलो नियन्त्रण गर्न निर्देशन दिनुपर्ने माग गर्नुभयो ।

राजमार्गमा दैनिक पाँच पटक पानी छ्यापेर धुलो नियन्त्रण गर्न सकिने धारणा राख्दै उहाँले गहिरो खाडलका रुपमा रहेका पुल र कल्भर्टको डाइभर्सन क्षेत्र सवारी आवागमनका दृष्टिले सुविधाजनक बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राजमार्ग निर्माण क्रममा फैलिएको धुलो प्रदूषणका बारेमा पटकपटक गुनासो आइरहेको जनाउँदै सम्बन्धित निर्माण व्यवसायी र सम्बद्ध सरकारी निकायलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमनमा आएको संसदीय समितिको टोलीका संयोजक एवं सांसद एलपी साँवाले सरोकार भएकाले औँल्याउनुभएको समस्या स्थानीय पहलमा समाधान गर्न सकिने धारणा व्यक्त गर्दै राजमार्ग निर्माणका क्रममा सर्वसाधारणले भोग्नुपरेको सास्ती हटाउन समितिकातर्फबाट सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

झापाको काँकडभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटर पूर्व-पश्चिम राजमार्गमा हाल एभ्रास्कन कालिका जेभीले राजमार्गको स्तरोन्नति कार्य ठेक्कामार्फत गरिरहेको छ ।

राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । यहाँ एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भइरहेको छ भने १८ मध्ये १७ वटाको काम सुरु गर्ने तयारी भइरहेको योजना कार्यालय दमकका आयोजना प्रमुख इञ्जिनियर सुनीलबाबु पन्तले जानकारी दिनुभयो ।  विसं २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यो आयोजना विसं २०८३ माघ १९ गते सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

तानसेन (पाल्पा), २६ चैतः लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।

यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताउनुभयो । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।  

यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । 

विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गर्नुभयो ।

केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका-३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका-२ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।  

निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जङ्गल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जङ्गल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन् । 

हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेका बताउनुभयो । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा ननिभ्दा हावाहुरीले पुनःसल्किने समस्या रहेको उहाँले बताउनुभयो । जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको उहाँले जानकारी दिनुभयो । 

अधिकांश डढेलो लागेको जङ्गल नजिकै बस्ती छन् । ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सक्दैँनन् । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताउनुभयो । “अघिल्लो वर्ष नजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्लबल्ल बस्ती जोगाउन सफल भए पनि पटकपटकको डढेलोले रातमा निन्द्रा लाग्दैन”, उहाँले भन्नुभयो । 

अहिले पनि यहाँ आगो लागेको छ भन्दै कार्कीले भन्नुभयो, “पहिले छिमेकीको घर जलेको थियो, कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ । के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेनछ ।” घरमा एक्लै बस्दै आउनुभएकी कार्कीले बढ्दै गएको डढेलोका कारण चिन्ता बढेको बताउनुभयो । दिनहुँ जस्तो भगवान्लाई सम्झिँदै बस्नु परेको उहाँको भनाइ छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको छ । सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू-बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ । 

दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।

डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको भट्टराईले जानकारी दिनुभयो । “गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै अग्निरेखा बनाउने कार्यलाई भने तीव्रता दिएको छ”, उहाँले भन्नुभयो । 

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २६ चैतः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ ३४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।