`

अरुण नदीको सतिघाटमा छ महिनापछि फेरी पुन:सञ्चालन

Nepal One HD ११ कार्तिक २०८२ ७:०८
अर्थ समाचार

भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुन:सञ्चालनमा ल्याइएको हो ।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयलले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुन:सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ ।

फेरी बन्द रहेका बेला स्थानीयले झोलुंगे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्य सामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ ।

फेरी बन्द हुँदा झोलुंगे पुलबाट आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सजता थपिएको स्थानीयवासी दिपेन्द्र श्रेष्ठले बताए ।“पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ”, उनले भने, “फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *