`

चैत्र शुक्ल नवमी : भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, २४ चैत : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुहुन्छ ।

“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उहाँले भन्नुभयो ।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ ।

यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई

धनकुटा, २३ चैत (रासस): धनकुटामा भएको १७औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ । सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो ।

निर्धारित समयमा २÷२ गोलको बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा गाईघाटका धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेपछि सप्तरी विजयी भएको हो । पेनाल्टी सुटआउटमा नमोबुद्धको तर्फबाट विवेक राई, हेमन्त भूजेल, प्रवेश दनुवार, सनम धिमाल र आयुष मगरले गोल गरे । यस्तै, गाईघाटको तर्फबाट निश्चल मोक्तान, आकाश राई, प्रविन राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा राज भुषालले गोल गर्दै नमोबुद्धलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसलगत्तै ४१औँ मिनेटमा गाईघाटका आकाश राईले गोल गरेर खेललाई बराबरी बनाए । नमोबुद्धका क्षितिज भण्डारीले ४४औँ मिनेटमा एक गोल गरेपछि २–१ को अन्तर भएको खेल, दोस्रो हाफको ८३ औँ मिनेटमा उदयपुरका अशिम राईले गोल गरेपछि बरावरीमा टुङ्गिएको थियो ।

फाईनल खेलको म्यान अफ दी म्याच नमोबुद्धका गोल रक्षक रविन बस्नेत, सर्वोत्कृष्ट खेलाडी राज भुषाल, उत्कृष्ट डिफेन्डर आयुष मगर, उकृष्ट मिडफिल्डर विवेक राई, उत्कृष्ट प्रशिक्षक सुरेश लामा घोषित भए । यस्तै, उत्कृष्ट स्टाईकर गाईघाटबाट खेल्ने विदेशी खेलाडी फोफाना घोषित भए ।

उपाधि बिजेता नमोबुद्धले नगद रु चार लाख ९९ हजार नौ सय ९९ सहित ट्रफी र उपविजेता गाईघाटले नगद रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ तथा आयोजक सहिद भिमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विसं २०५५ देखि हुँदै आएको खेलको यस संस्करणमा आठवटा टोलीको सहभागिता रहेको थियो । तत्कालीन राजा बिरेन्द्रलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा हरेक प्रतिष्ठानले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१९ मा श्रीलङ्काको भ्रमण गर्नुभएको थियो । अनुरा कुमारा दिसानायकेले श्रीलङ्काको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि भारतीय उच्च अधिकारीको यो यो पहिलो श्रीलङ्का भ्रमण हो ।

प्रधानमन्त्री मोदीको यो भ्रमणका क्रममा दुई देशबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौता भएका छन् ।श्रीलङ्काका राष्ट्रपति दिसानायके तीन महिनाअघि भारत भ्रमणमा आएका समय सहमति भएका तर हस्ताक्षर हुन बाँकी सम्झौतामा शनिबार सहमति भएको हो ।

त्यतिबेला भारत र श्रीलङ्काबीच एउटा महत्वपूर्ण रक्षा सम्झौतामा सहमति भएको देखिएको थियो ।प्रधानमन्त्री मोदीको श्रीलङ्का भ्रमणका क्रममा दुई देशबीच भएको रक्षा सम्झौतालाई पछिल्लो समय भारत–श्रीलङ्का सम्बन्धको प्रमुख उपलब्धि मानिएको छ ।श्रीलङ्कामा चीनको बढ्दो सैन्य प्रभावलाई कम गर्न भारतले यस सम्झौतामा हस्ताक्षर गर्नु महत्वपूर्ण रहेको विश्लेषकहरूले पहिले नै बताउँदै आएका थिए।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार दुई देशले त्रिन्कोमालीलाई ऊर्जा क्षेत्रको रूपमा विकास गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति अनुरा दिसानायकेले पनि सम्पुर सौर्य ऊर्जा परियोजनाको भर्चुअल उद्घाटन गर्नुभएको छ ।

–मोदीलाई लङ्का मित्र विभूषणद्वारा सम्मानित–

भ्रमणका अवसरमा श्रीलङ्काका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीलाई ‘लङ्का मित्र विभूषण’ बाट पनि सम्मानित गर्नुभएको छ । यो श्रीलङ्काले अन्य देशका राष्ट्राध्यक्ष वा मित्र राष्ट्रका प्रमुखलाई प्रदान गर्ने उच्च सम्मान हो ।भारत र श्रीलङ्काबीच यसअघि पनि थुप्रै महत्वपूर्ण सम्झौता भएका छन् । यी दुईबीच अहिलेसम्म भएका विभिन्न सम्झौता र त्यसले पार्ने प्रभावबारे दुई देशका अधिकारीहरूले भ्रमणका क्रममा चर्चा गरेका छन् ।

‘कडा कदम चाल्नुहोस्, यो सजिलो हुनेछैन’: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

ट्रम्पको व्यापक कर वृद्धिले प्रतिशोधलाई बढावा दिन सक्ने, विश्वव्यापी अर्थव्यवस्थालाई अस्तव्यस्त पार्न सक्ने, व्यापार तनावलाई बढावा दिन सक्ने कदमको रूपमा प्रभाव पारेको बेला ट्रम्पको टिप्पणी आएको हो।

उहाँले भन्नुभयो , “हामी मूर्ख र असहाय भएका छौं, तर अब यस्तो हुने छैन । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ । हामी पहिले कहिल्यै नभएको रोजगारी र व्यवसाय फिर्ता ल्याउँदैछौं ।”

“यो आर्थिक क्रान्ति हो र हामी जित्छौं”, उहाँले भन्नुभयो, सजिलो हुनेछैन तर चुनौतीलाई सहनुहोस् अन्त्यमा परिणाम सुनौलो (ऐतिहासिक) हुनेछ।”

ट्रम्पले देशको व्यापार घाटाको समस्या समाधान गर्न आपतकालीन आर्थिक शक्तिको आह्वान गरेपछि मेक्सिको र क्यानडाका सामानबाहेक अधिकांश अमेरिकी आयातमा शनिबार मध्यरातपछि १० प्रतिशत करवृद्धि लागू भएको हो ।

ह्वाइट हाउसका अनुसार व्यापारमा देखिएको अन्तर सम्बन्ध र ‘अत्यधिक मूल्य वर्धित कर’ जस्ता अन्य नीतिका कारण भएको हो ।आगामी अप्रिल ९ देखि युरोपेली सङ्घ, जापान र चीनलगायत करिब ६० व्यापारिक साझेदारले हरेक अर्थतन्त्रका लागि उपयुक्त उच्च दरको सामना गर्नुपर्ने छ ।

यसअघि नै ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत कर वृद्धि गरेपछि बेइजिङले अप्रिल १० देखि अमेरिकी उत्पादनमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
बेइजिङले संयुक्त राज्य अमेरिकालाई विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) मा मुद्दा हाल्ने र उच्च स्तरीय चिकित्सा र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा प्रयोग हुने दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाउने पनि बताएको छ।

ट्रम्पले आफ्नो पोस्टमा लेख्नुभएको छ, “चीन अमेरिकाभन्दा धेरै बढी प्रभावित भएको छ, चानचुन होइन ।”तर अन्य प्रमुख व्यापारिक साझेदारहरूले मन्दीको डरका बीच तत्काल प्रतिशोधलाई रोकेका छन् र अन्तर्राष्ट्रिय गतिरोधलाई पचाएउने पहल गरिरहेका छन् ।

– बजार पतन –

एसिया र युरोपमा पनि कर वृद्धिको आर्थिक प्रभाव पर्ने डरले शुक्रबार वाल स्ट्रिटले कारोबारमा भारी गिरावटको सामना गरेको छ । कर वृद्धिले आर्थिक वृद्धिलाई कम गर्न सक्छ र मुद्रास्फीतिलाई बढावा दिन सक्छ भनी अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । यद्यपि, ट्रम्पको पछिल्लो करमा उल्लेखनीय बहिष्करणहरू छन्।

स्टिल, आल्मुनियम र अटोमोबाइलको आयातमा हालसालै लगाइएको २५ प्रतिशत करको भरमा उनी(अमेरिकी) हरूले बजार धान्न नसक्ने आँकलन पनि गरिएका छन् ।

ह्वाइट हाउसका अनुसार तामा, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र काठका साथै ‘केही महत्वपूर्ण खनिज’ र ऊर्जा उत्पादनहरू पनि अस्थायी रूपमा करवृद्धिको घोषणामा छुटेका छन् ।ट्रम्पले तामा र काठको अनुसन्धान गर्न आदेश दिनुभएको छ, जसले चाँडै नै थप कदमहरूलाई निम्त्याउन सक्छ।

उहाँले औषधि र सेमीकन्डक्टरजस्ता अन्य उद्योगहरूलाई पनि प्रभावित गर्ने चेतावनी दिनुभएको छ, जसको अर्थ कुनै पनि क्षेत्रले राहत महशुस गर्न नपाउन सक्छन् ।
क्यानडा र मेक्सिकोले उत्तर अमेरिकी व्यापार सम्झौताभन्दा बाहिर संयुक्त राज्य अमेरिका प्रवेश गर्ने सामानहरूमा २५ प्रतिशतसम्म अलग–अलग करको सामना गरिरहेका छन्।

– प्रतिशोध जोखिम –

अक्सफोर्ड इकोनोमिक्सले यसै साता दिएको चेतावनी भनिएको छ, “ट्रम्पको समयसीमाले देशहरूलाई वार्ता गर्न ठाउँ दिन्छ तर यदि उनीहरूले राहत पाउन सकेनन् भने उनीहरूले प्रतिकार गर्ने सम्भावना छ, जसरी चीनले पहिले नै गरिसकेको छ।”

इयूका व्यापार प्रमुख मारोस सेफकोभिकले २० प्रतिशत कर को सामना गरिरहेको समूहले ‘शान्त, सावधानीपूर्वक चरणबद्ध, एकीकृत तरिकाले’ काम गर्ने र वार्ताका लागि समय दिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “समूह चुप लागेर बस्ने छैन।”

फ्रान्स र जर्मनीले इयूले अमेरिकी प्रविधि कम्पनीमाथि कर लगाएर त्यसको जवाफ दिन सक्ने बताएका छन् ।ट्रम्पले जापानमा निर्मित सामानमा २४ प्रतिशत कर लगाएपछि जापानका प्रधानमन्त्रीले कठिन समयमा ‘शान्त प्रतिक्रिया’ अपनाउन आग्रह गर्नुभएको छ ।

यसैबीच, ट्रम्पले भियतनामका शीर्ष नेतासँग आफूले ‘निकै फलदायी’ कुराकानी गरेको बताउनुभएको छ । दक्षिणपूर्वी एशियाली उत्पादन केन्द्र भियतनामबाट अमेरिकी सामानको आयातमा ४६ प्रतिशत अमेरिकी कर लाग्ने गरेको बताउनुभएको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि ट्रम्पले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा कर लगाएर क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा थप २० प्रतिशत कर लगाउनुभएको थितयो ।

आगामी अप्रिल ९ देखि यस वर्ष चिनियाँ उत्पादनमा थपिएको कर ५४ प्रतिशत पुग्नेछ ।ट्रम्पको २५ प्रतिशत सवारी साधन (कार) मा कर वृद्धि पनि यसै हप्तादेखि लागू भएको छ यसका कारण विश्वविख्यात र जिप उद्योगका मालिक स्टेलेन्टिसले केही क्यानडेली र मेक्सिकोली एसेम्बली प्लान्टमा उत्पादन रोक्नुभएको छ ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसार ट्रम्पको नयाँ विश्वव्यापी कर वृद्धि सन् १९३० को विश्वव्यापी व्यापार युद्धलाई प्रोत्साहित गरी महामन्दीलाई गहिरो बनाउनका लागि सबैभन्दा बढी जिम्मेवार ‘स्मूट–हाउली ट्यारिफ एक्ट’ पछिको सबैभन्दा ठूलो कर वृद्धि हो । अक्सफोर्ड इकोनोमिक्सको अनुमानअनुसार यो कदमले औसत प्रभावकारी अमेरिकी कर दरलाई २४ प्रतिशतमा झर्नेछ, जुन सन् १९३० को दशकको तुलनामा बढी हो ।

‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’ : महामन्त्री थापा

काठमाडौँ २३ चैतः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताउनुभएको छ ।बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उहाँले सरकारले नीजि लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

सङ्घीय सांसदसमेत रहनुभएका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुनसक्नेमा जोड दिनुभयो । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा नीजि क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता थापाले आइटी, सफ्टवेयर, प्रोग्रामिङसँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने बताउनुभयो । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउने र यहाँ कमाएको बाहिर सहजै तरिकाले लैजान पाउने व्यवस्था गर्न सकिए लगानी भित्रने सांसद थापाले दाबी गर्नुभयो । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आमनागरिकको चासो रहेकाले योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्ने उहाँले बताउनुभयो ।

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी, २३ चैतः कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।

“रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ”, स्थानीय विश्क गुरुङले भन्नुभयो । तलको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उहाँको भनाइ छ ।

रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचिएको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवटा डोजरको सहायताले पनि जमिनमुनी लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको थियो । 

उक्त ठुटोबाट पानीका धारा झरिरहेको दृश्यले सबैलाई अचम्म पारेको गुरुङको भनाइ छ । सो स्थानमा अन्य रूखका ठुटोसमेत रहेकाले भुकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का कारण यहाँका वन, जङ्गल पुरिएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो । 

“उभिएको रूखको ठुटोको माथिल्लो भागको उत्तर र दक्षिणतर्फबाट पानीका धारा छुटेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि धार्मिक विश्वासका कारण दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ”, धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अहिले नेपालका अधिकांश जिल्लाका मानिसका साथै विदेशी पर्यटकसमेत अनौठो दृश्यावलोकन र धाराको पानीले स्नान गर्न आउने गरेका छन् ।”

सो स्थानमा यही चैत १९ गतेका दिन रुद्री पूजासहित विभिन्न क्षेत्रका धामी झाँक्री राखिएको बताउँदै माता काम्दा उहाँहरूले शिव भगवान्, नागदेवता र जलदेवीको बासस्थान बताउने गरेको उहाँले जानकारी दिनुभयो । दर्शक गर्न आउनेको घुइँचो बढ्न थालेपछि ठुटोको माथिल्लो धारामा पानी केही कम हुँदै गएको उहाँका भनाइ छ ।

यहाँ विभिन्न क्षेत्रका १५ जना भूगर्भविद् र संस्कृतिविज्ञ आएर स्थलगत अध्ययन गर्दा ठुटोबाट पानी आउनुको कारण रूखको प्रजाति र कति वर्ष पुरानो भन्ने तथ्यमा स्पष्ट हुने बताउनुभएको गुरुङले उल्लेख गर्नुभयो । 

स्थानीय ७६ वर्षीया सुनमाया परियारका अनुसार यस स्थानमा पहिला पानीको मूल थियो । “आसपासका बासिन्दा तथा गाईवस्तु चराउन आउँदा यहाँ पानी खाने गर्दथे । खेतको गरामा तलबाट भूलभूल गरेर पानी निस्कने गरेकाले कुवालाई गाउँरी मूल भन्ने गरिन्थ्यो”, उहाँले थप्नुभयो, “बाह्रै महिना पानी आउने सो कुवाको वरपर प्रशस्त नाग देखिने गर्दथ्ये । ती नागले कसैलाई पनि टोकेको जानकारी छैन ।”

ठुटोबाट निस्किएका पानीका धारामा प्रत्येक दश मिनेटको अन्तरालमा पानीको बहाव घट्ने र बढ्ने गरेको बताउँदै यसले ढोरवाराही लहरीको जस्तै झल्को दिने गरेको संरक्षण समितिका सचिव महेश थापाले राससलाई जानकारी दिनुभयो । 

आफूले ठुटोको माथिल्लो भागमा टेकेर झण्डा राख्दा दाहिने खुट्टा दुखेर रातभरि सुत्न नसकेको बताउँदै उहाँले भोलिपल्ट बिहान उक्त स्थानमा पुगेर क्षमा पूजा गरेपछि आराम भएकाले यस क्षेत्रमा दैविकशक्ति रहेको विश्वास गरिएको उहाँले अनुभव सुनाउनुभयो ।

थापाका अनुसार गत फागुन १४ गते शिवरात्रिका दिनेदेखि आजको दिनसम्म दर्शक आउने क्रम जारी छ । पछिल्लो समय दैनिक सात सयदेखि एक हजारसम्मले पानीको धाराको दर्शन गर्ने र ठुटोबाट निस्केको पानीले स्नान गर्ने गरेका उहाँले जानकारी दिनुभयो । “यहाँ आउने दर्शकमध्ये आजसम्म एक सयभन्दा बढीले आफूलाई देवदेवी चढेको भन्दै वर्षौँदेखि खोजेको स्थान पत्ता लागेको बताउने गरेका छन्”, उहाँले भन्नुभयो । 

यस क्षेत्रको संरक्षणका लागि रुपा गाउँपािलका र पोखरा–३१ ले चासो देखाएर उक्त ठुटोलाई तारवारले घेरिएको छ । दर्शनार्थीलाई जुत्ताचप्पल बाहिर राखेर भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको सचिव थापाले बताउनुभयो । उहाँका अनुसार यहाँ दानपेटीका राखिएको छभने दर्शकले चढाएको दानबाट हालसम्म रु ८५ हजार सङ्कलन भएको छ ।  

यस क्षेत्रको स्थलगत अध्ययन गरेका भूगर्भविद् र संस्कृतविज्ञको भनाइअनुसार उक्त रूख लगभग दुई सय वर्ष पुरानो जामुनको भएको अनुमान गरिएको छ । ठुटोबाट आएको धाराको पानी सिधैँ पिउन सकिने प्रयोगशालाको रिपोर्टले देखाएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राससलाई जानकारी दिनुभयो ।

आगामी वैशाखसम्म पानीको अवस्था हेरेर यसलाई ऐतिहासिक एवं धार्मिक क्षेत्रका रूपमा विकास गरिने बताउँदै उहाँले चिसापानी देवी, कोटकालीका, वेगनासकोट, हङ्सपुरकोट, हात्तिमैतालगायत धार्मिक क्षेत्रको सङ्गममा रहेको यो क्षेत्रलाई पूर्णमोक्ष जलदेवीको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

अध्यक्ष ओझाले गुरुयोजना बनाएर ऐतिहासिक, प्राचीन एवं धार्मिक क्षेत्रका रूपमा विकास गरेमा पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “तालमा पानीको सतह बढ्दा पनि रूखको ठुटो र यहाँबाट आउने पानीलाई सुरक्षित राख्नेगरी व्यवस्था मिलाउनु अपरिहार्य छ । यस्तै धार्मिक क्षेत्र भारतको हरिद्धारमा समेत देख्न सकिने भएको यसको विस्तृत अध्ययन गरी संरक्षण र प्रवर्द्धन गर्ने योजनामा छौँ”, उहाँले भननुभयो ।

रूखको ठुटोेमा भूमिगत पानीको मूल जोडिएको हुनसक्ने भएपनि ठुटोेको टुप्पाबाट पानीको धारा आउनु अनौठो भएको भूगोलविद् प्राडा कृष्ण केसीले धारणा राख्नुभयो । “यसको वास्तविकता पत्ता लगाउन थप स्थलगत अध्ययन तथा अनुसन्धान आवश्यक छ”, उहाँले भन्नुभयो ।

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

अछाम, २३ चैतः घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।

चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उहाँको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो । उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो ।

उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उहाँले बताउनुभयो ।

मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताउनुभएको छ ।

काँडाघरीस्थित किन्डल किड्स एकेडेमीको अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकलाई आत्मनिर्भर बनाउने गरी भूमि सुधार गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले स्थानीयदेखि अन्तरराष्ट्रिय बजारबीच समन्वय गर्ने काम पनि राज्यले नै गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा संविधान जारी भएपछि वामपन्थी शक्तिलाई सामाजिक तथा आर्थिक विकासको जनआकांक्षालाई पूरा गर्ने जिम्मेवारी र अवसर प्राप्त भए पनि त्यो पूरा गर्न नसकिएको धारणा राख्नुभयो । 

विगतदेखि नै सरकार यथास्थितिवादको बाटोमा हिडिरहेकाले पुनरुत्थानवादी जुर्मुराएको जिकिर गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टीले मुलुकमा राष्ट्रिय औद्योगिकरणका लागि आवाज उठाए पनि सरकारले त्यसतर्फ केही नगरेको आरोप लगाउनुभयो ।

राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

कास्की, २३ चैतः पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी सुरुआत गरेका छन् । आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्‍यो । खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा एक सय ६२ रन बनाएको थियो । पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो ।

स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुई/दुई विकेट लिए भने सुवाष बाँस्तोला र मार्सल बरालले समान एक/एक विकेट लिए ।

यसैगरी, दोस्रो खेलमा काठमाडौँले हेटौँडालाई ११ रनले पराजित गर्‍यो । एक सय ५२ रनको विजयी लक्ष्य पाएको हेटौँडा २० ओभरमा एक सय ४० रनमा ‘अलआउट’ भयो । हेटौँडाका लागि शुभ कङ्शाकरले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।  

पहिला टस जितेर ब्याटिङ गरेको सिइसी काठमाडौँले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । काठमाडौँका लागि पृथु बाँस्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो । 

आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेप्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यसैगरी ‘म्यान अफ दि सिरिज’ले रु ३० हजार, वेष्ट बलर, वेष्ट ब्याटरले जनही रु १० हजार र ‘म्यान अफ दि म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ । 

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द

गुल्मी, २३ चैतः मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार आजदेखि आगामी वैशाख २२ गतेसम्म सवारीसाधन पूर्णरूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिनुभयो । तम्घास-रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँ रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको इञ्जिनीयर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग आयोजना कार्यालयले सूचना सार्वजनिक गर्दै तम्घास-रिडी खण्डको प्रयोग नगर्न जानकारी दिएको हो ।

सडक नियमित सञ्चालन गरी काम गर्दा यात्रु र सवारीसाधनमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको मागअनुसार एक महिनाका लागि वैकल्पिक व्यवस्थासहित उक्त खण्ड पूर्णरूपमा बन्द गरिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । “आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय पालीका तथा अन्य सरोकार भएका निकायलाई आग्रह पनि गरेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले पनि सडक स्तरोन्नतिका लागि गुल्मीदरबार गाउँपालिका-२ अन्तर्गत झिरबाँसबाट काभ्रेपोखरीसम्मको खण्ड दुई साताका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ । उक्त खण्डअन्तर्गत झिरबाँस क्षेत्रमा आरसिसी ढलान गरी सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ । जुभुङ्-सिस्ने-भट्टेचौरबाट बिरबाँस सडक र मजुवा-बलिथुम-झिरबाँस खण्डको व्यवस्था मिलाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु

नवलपुर (नवलपरासी ब सू प), २३ चैत: यहाँ आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् । शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो । तामाङटोलस्थित नवीन पुनको दुईतले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे । आगलागीबाट भएको क्षतिको थप विवतरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

सोही दिन दिउँसो करिब तीन बजे जिल्लाकै हुप्सेकोट–४ शङ्खदेव गाउँका रनबहादुर राईको परालको टौवामा आगलागी भयो । बच्चाले सलाई खेलाउँदा भएको आगलागीबाट परालको टौवामा क्षति पुग्यो भन्ने तत्काल आगो नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन । यस्तै, बिहीबार दिउँसो तीन बजेतिर गैँडाकोट–१ को इँट्टाभट्टाचोकमा श्रीप्रसाद न्यौपानेको परालको टौवामा आगो सल्कियो । आगलागीबाट १२ कठ्ठाको परालमा क्षति पुग्यो भने गोठ जलेर खरानी भयो । पशुचौपाया एवम् मानवीय क्षति भने हुन पाएन ।

जिल्लामा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटना प्रायः दिउँसोकै समयमा हुने गरेका छन् । जिल्लामा भएका सबै घटनाका कारण नखुले पनि मानवीय त्रुटीले आगलागी धेरै घटना हुने गरेका प्रहरीले जनाएको छ । ।

जिल्लामा यस वर्षमात्रै आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार चालु आवमा ३८ वटा आगलागीका घटनामध्ये तीनवटा घटनामा परी तीन जनाको मृत्यु भएको हो । चैतमा मात्रै यहाँ १३ वटा घटना भएका छन्, जसमध्ये पाँचवटा व्यक्तिगत सम्पत्ति एवम् आठ वटा वनमा आगलागीका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले फागुन, माघ र साउनमा भएको आगलागीबाट तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । “आगलागीबाट जिल्लामा नौ महिनाको अवधिमा तीनजनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन्”, उहाँले भन्नुभयो, “आगलागीबाट रु ६१ लाख २१ हजार बजारको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । एक हजार ६०० कुखुरा, दुई भैँसी, तीन वटा बाख्रा मरेका छन् ।”

नेपालका अनुसार यहाँ आगलागीले पाँचवटा घरमा आंशिक क्षति भएको छ । सात गोठ र नौ परालको टौवामा पूर्ण क्षति पुगेको छ । यस्तै, एउटा विद्यालय र एउटा गोठमा आंशिक क्षति हुन पुगेको छ । गत पुस महिनामा भएको आगलागीमा एउटा कारमा समेत क्षति पुगेको सूचना अधिकारी नेपालले बताउनुभयो ।

जिल्लामा भएका साउन र असोजमा तीन÷तीन, कात्तिक र मङ्सिरमा पाँच÷पाँच, पुसमा सात, माघमा छ, फागुनमा चार, चैतमा पाँचवटा आगलागीका घटना भएका छन् । सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरे पनि नियन्त्रणका लागि वारुण यन्त्र (दमकल) नहुँदा समस्या हुने गरेको छ । यहाँका आठ पालिकामध्ये कावासोती र देवचुली गरी दुई नगरपालिकासँग मात्रै एक÷एक वटा दमकल रहेका छन् ।

चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई महामन्त्री शर्माको चुनौती

झापा, २३ चैतः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिनुभएको छ । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आपूmसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो,“चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईलाई आपूmसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाई ल्याएर जनता आपूmसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।”

संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उहाँले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताउनुभयो । “संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत् ढङ्गले संविधानको संशोधन हो । त्यसो गर्न चुनावमा दुई तिहाई बहुमत ल्याउनैपर्छ”, महामन्त्री शर्माको भनाइ थियो,“हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ । सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन ।”उहाँले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभइ कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राख्नुभयो ।

चैते दसैँ : देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, २३ चैत : चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ ।

नवरात्रभर साधना गर्नेले नौ दिनसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्छन् । अरु दिन पूजा नगर्नेले चैत्र शुक्ल अष्टमीका दिन शक्तिपीठमा गई पूजा आराधना गर्ने गरेका छन् । चैते दसैँसमेत भनिने चैत्र शुक्ल अष्टमीका अवसरमा आज शनिबार पनि परेकालेसमेत शक्तिपीठमा विशेष भीड देखिएको छ । सामान्य शनिबार पनि गुह्येश्वरीलगायत देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । गुह्येश्वरीमा चैते दसैँका अवसरमा आज बिहानैदेखि आउने भक्तजनको भीड बढेको स्थानीयवासीसमेत रहनुभएका ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिनुभयो ।

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

किमाथाङ्का (सङ्खुवासभा), २३ चैत : सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो ।

सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना गर्ने निर्यण गरिएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिनुभयो ।

त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई रु ५० हजार जरिवाना गर्ने निर्णय गरिएको उपाध्यक्ष चापागाईंले बताउनुभयो ।

गाउँपालिकाले प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई प्रकाउ गरी जरिवाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहानस्वरुप दिइने प्रमुख प्रशासकिय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयो ।

त्यसैगरी निषेधित क्षेत्रमा मार्ने व्यक्तिको बारेमा गोप्य सूचना दिनेलाई ५ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । जरिवाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम मुद्दा दर्ताको लागि सिफारिस गर्ने जनाएको छ ।

छैटौँं शिखर सम्मेलनमा भाग लिई प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक, २३ चैत : प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गर्नुभएको हो । उहाँलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गर्नुभयो ।

त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली आज मध्याह्न १२.३० बजे स्वदेश आइपुग्ने तालिका रहेकोे छ ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।

छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब दिन मुख्यमन्त्रीको निर्देशन

महेन्द्रनगर (धनुषा), २३ चैत : मधेश–प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल तथा स्थाय तहअन्तर्गत कार्यरत छात्रवृत्ति करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले लामो समयदेखि नपाएको तलब सुविधा तुरुन्त भुक्तानी गर्न निर्देशन दिनुभएको भएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिँदै सङ्घ सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेकाले प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र तलब वितरण सुनिश्चित गर्न निर्देशन दिनुभएको हो ।

साथै, उहाँले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब भुक्तानीमा ढिलाइ हुननदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन भन्नुभएको छ ।
मुख्यमन्त्रीको प्रतिबद्धताअनुसार अब करार स्वास्थ्यकर्मीको तलब समस्या समाधान हुने निश्चित भएकाले कार्यरत कर्मचारीलाई नियमित रूपमा सेवामा खटिन आग्रह गरिएको छ ।
नेपाल चिकित्सक सङ्घ, मधेश–प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधानका लागि गरेको पहलप्रति मुख्यमन्त्रीलाई धन्यवाद व्यक्त गरिएको छ ।

बारको २७ औंँ केन्द्रीय कार्यसमितिका लागि मतदात सुरु

काठमाडौँ, २३ चैत : नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ ।प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ, भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् ।

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण

त्रिवेणी ( नवलपरासी), २३ चैत : नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ । यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ ।

लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताउनुभयो । यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

दुई सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ । ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ ।

विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । “दुई सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौँ, उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौँ, ढिलोमा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।

विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी रहेको उहाँको भनाइ छ । त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताउनुभयो ।

उहाँका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुणखोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुनेछन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । यस अवधिमासमेत काम सकिने अवस्था लगभग टरेको छ ।

एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको ‘सर्भिस लेन’ हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।

ट्रम्पको कर कटौतीका लागि अमेरिकासँग वार्ता गर्दै इजरायल

इजरायलले आफ्नो मुख्य सहयोगी अमेरिकासँग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको विश्वव्यापी भन्सार शुल्क घटाउन वार्ता गरिरहेको त्यहाँका अर्थमन्त्रीले बताउनुभएको छ । इजरायलले अमेरिकी आयातमा बाँकी रहेका सबै भन्सार शुल्कहरू हटाएको एक दिनपछि ट्रम्पले यस हप्ता आफ्ना मित्र र शत्रुहरू दुवैलाई आफ्नो व्यापक ‘मुक्ति दिवस’ भन्सार शुल्कहरूद्वारा समान रूपमा प्रहार गरेको घोषणा गर्नुभएको छ ।

ट्रम्पले प्रमुख व्यापार साझेदारहरूका लागि केही कडा भन्सार शुल्कहरू आरक्षित गर्नुभयो भने अमेरिकी सैन्य सहायताको शीर्ष लाभार्थी इजरायलबाट आएका सामानहरूमा १७ प्रतिशत भन्सार शुल्क लगाउनुभयो ।

“अर्थ मन्त्रालयले अमेरिकी प्रशासनसँग भन्सार शुल्कको दायरा घटाउने र इजरायली उद्योगमा उनीहरूको प्रभाव कम गर्ने उद्देश्यले निरन्तर वार्ता गरिरहेको छ”, अर्थमन्त्री बेजलेल स्मोट्रिचले बिहीबार एक्समा लेख्नुभयो ।

स्मोट्रिचले मार्चमा वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग भेट गर्नुभएको थियो । मङ्गलबार उहाँले अमेरिकी आयातमा इजरायलको सबै बाँकी भन्सार शुल्क हटाउने घोषणा गर्नुभयो । यसले अझै पनि तिनीहरूको अधीनमा रहेका अमेरिकी सामानहरूको एक प्रतिशतलाई असर गरेको छ ।

ट्रम्पले आफ्नो भन्सार शुल्क घोषणा गरेपछि इजरायली कार्यकारीले आफ्नै भन्सार शुल्क हटाएकोमा कडा आलोचना सामना गर्नुपरेको छ । “स्मोट्रिच अमेरिकाबाट इजरायलमा आयातमा सबै भन्सार शुल्क हटाउन हतारिनुभयो र जवाफमा इजरायलबाट अमेरिकामा सामानहरूको आयातमा १७ प्रतिशत भन्सार शुल्क पाउनुभयो । प्रतिभाशाली”, मध्यमार्गी इजरायली सांसद भ्लादिमिर बेलिआकले एक्समा लेख्नुभयो ।

इजरायलको निर्माता सङ्घ (एमएआई) ले ट्रम्पको भन्सार शुल्क घोषणाले सङ्घलाई पूरै आश्चर्यमा पारेको बताएको छ । “भन्सार शुल्क लागु गर्नु सम्भवतः इजरायलसँगको अमेरिकी व्यापार घाटासँग सम्बन्धित छ जस्तो देखिन्छ”, एमएआईले एक विज्ञप्तिमा भन्यो ।

बिहीबार छुट्टै विज्ञप्तिमा एमएआईले यो निर्णयले इजरायलको अर्थतन्त्रका लागि ‘ठूलो चुनौती’ खडा गरेको बताएको छ ।एएमआईले ‘इजरायलको छूट सुनिश्चित गर्न र÷वा लगाइएको करहरू कम गर्न’ अमेरिकी र इजरायली अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि बताएको छ ।अमेरिकी वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकाको इजरायलसँग लगभग सात अर्ब डलरको व्यापार घाटा थियो ।

सङ्क्रमणकालबीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह

काठमाडौँ, २३ चैतः बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियाका बारेमा आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिको आजको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा लीली थापाले जानकारी दिनुभयो ।

समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको जनाएको छ । सो  मस्यौदा माथि यही चैत २६ गतेभित्र आफ्ना सुझाव पठाउन सकिने उल्लेख छ । 

बार अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

काठमाडौँ, २३ चैतः नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

बारको आज बिहान ८ बजेदेखि सुरु हुने कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभएको छ । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ ।

“न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने, व्यावसायिक सुरक्षा र समग्र न्यायालयको सुधारका लागि यो समूहको उम्मेदवारी हो”, अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले भन्नुभयो, “न्यायापालिकाको प्रत्येक गतिविधिलाई पारदर्शी बनाइ न्यायको उपभोक्तालाई सहज र सहज न्याय दिलाउनु साथै न्यायालयको छविलाई उच्च बनाउन काम गर्नेछौँ ।”

यो समूहको प्रतिबद्धतापत्रका बलियो बार, बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नबोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्न रहेको उल्लेख छ ।

त्यस्तै, कृत्रिम बैद्धिकताका अवसरलाई उपयोग गर्दै चुनौतीको सामना गर्न, प्राज्ञिक, व्यावसायिक र अनुसन्धानमूलक संस्थाको रुपमा नेपाल बारलाई विकसित गर्न र समग्र कानुन प्रणालीको सुधारका लागि दबावमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नलगायत रहेको छ ।

त्यस्तै बार निर्वाचनका अर्का अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ता डा श्रेष्ठले नेपाल बार एशोसिएशनको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमतमा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हाम्रो समूहको नेतृत्वलाई बारको नेतृत्व गर्ने अवसर मिलेमा नेपाल बारको संस्थागत सुधार गर्नुका साथै न्यायापालिकाको पुनःसंरचना गर्नेछौँ”, उहाँले भन्नुभयो, “कानुन व्यवसायीको दक्षता अभिवृद्धि गर्दै भ्रष्टाचारमुक्त न्यायालय बनाउन लाग्नेछाँै ।”

यो समूहले कानुन व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जवाफदेहीता न्यायापालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन् ।

बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जनागरी पाँचजनाको उम्मेदवारी परेको छ । बारको अध्यक्ष पदका लागि अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा मिश्र, वरिष्ठ अधिवक्ता र श्रेष्ठ समूह बनाएरै चुनावी मैदानमा हुनुहुन्छ । अन्य अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलको रहनुभएको छ । बारको २५ नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेका छन् । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्दै सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् । आज बिहान ८ बजेदेखि मतदान सुरु भएर ४ बजे सम्पन्न हुनेछ ।

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी,२३ चैत : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका –१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २३ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, चिचिण्डो प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १३०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

विशेषको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ, २३ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरेको थियो । उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो ।

त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो । जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परीमाण देखाई भुक्तानी गरेको पाइएको थियो ।

आयोगले रु १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दावी गरेको थियो । विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो । उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्वत नभएको दावी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी चैते दसैँ मनाइँदै

काठमाडौँ, २३ चैतः प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो ।

बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । 

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।

शान्तिपूर्ण मत राख्न र प्रदर्शन गर्न पाउने अधिकारको सम्मान हुनुपपर्छ : नेता राणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ नेता पशुपति शम्शेर जबराले बहुदलीय प्रजातन्त्र र मानव अधिकारका आधार शिलाका रूपमा रहेको शान्तिपूर्ण मत राख्न र प्रदर्शन गर्न पाउने अधिकारको हनन् नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।

आगामी नयाँ वर्ष विसं २०८२ को पूर्वसन्ध्यामा पत्रकारसँगको भेटघाट तथा शुभकामना आदानप्रदानमा उहाँले मानव अधिकार र प्रजातान्त्रिक मूल्यमान्यता प्रतिकूलका कार्यले देश आजकतातर्फ जानसक्ने पक्षलाई हेक्का राख्न आग्रह गर्नुभयो ।

संवैधानिक राजतन्त्र, सनातन हिन्दूराज्य, भ्रष्टाचार अन्त्यजस्ता माग राखेर चैत १५ गते तिनकुनेमा भएको प्रदर्शनीप्रति राप्रपाको समर्थन रहेको जनाउँदै पार्र्टीका संस्थापक एवं सांसद जबराले त्यस आन्दोलनका क्रममा पक्राउ परेको पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद डा धवल शम्शेर राणालगायतको निःर्शत रिहाइको माग गर्नुभयो ।

घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गर्दै उहाँले भन्नुभयो, “मैले पढेको र सोचेको थिएँ, बहुदलीय व्यवस्था एक उदार व्यवस्था हो, यहाँ सबैले आफ्नो फरक मत राख्न पाउँछ । सहिष्णुतासहित अल्पमतको कदर हुन्छ ।”

राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मार्गदर्शक सिद्धान्त मानेर राप्रपा गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वमन्त्री जबराले बहुदलीय व्यवस्थाको यही मर्मलाई स्वीकार गर्दै स्थापनाकालदेखि नै राप्रपा सोही मूल्यमान्यताभित्र रही राजनीतिक अभ्यास गरिरहेको उल्लेख गर्नुुभयो ।

मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन, सातवटा टिपर र दुईवटा स्काभेटर नियन्त्रणमा

महेन्द्रनगर (धनुषा)-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको मिथिला नगरपालिका–४ स्थित जलाद खोलाको अनुगमन गर्नुभएको छ ।अनुगमनका क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भइरहेको भेटिएपछि उत्खनन तथा ओसारपसारमा प्रयोग भएका सातवटा टिपर र दुईवटा स्काभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्ने भएकाले यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य पर्दछ । सो प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्ने व्यवस्था छ । बिनास्वीकृति अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भएको पाएपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

“वन मन्त्रालयको स्वीकृतिपश्चात् मात्र सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति जनाउँछ र त्यसपछि मात्र स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवा उत्खननको ठेक्का दिन पाउँछन्”, उहाँले भन्नुभयो, “मिथिला नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन आफैँले स्वीकृत गरेको देखिएको छ, जुन वैधानिक प्रक्रियाविपरीत हो ।”

वन तथा वातावरण मन्त्रालयले स्वीकृति नदिई खोलामा ठेक्का लगाएर उत्खनन कार्य अघि बढाएको पाइएपछि सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन मुख्यमन्त्री सिंहले निर्देशन दिनुभयो ।

अवैध उत्खननविरुद्ध कानुनी कारबाही गरिने बताउँदै उहाँले भन्नुभयो, “सरकारले वातावरणीय संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । नियमविपरीत गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने छौँ ।”

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

दमौली (तनहुँ), २३ चैत : तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो । सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन् । अरु सबै आइसक्यो ।”

जनक शिक्षा सामग्रीमार्फत् सबै पुस्तक जिल्लामा आइपुगेको उहाँले जानकारी दिनुभयो । विगतका वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्र अगावै जिल्लामा पाठ्यपुस्तक आएको उहाँको भनाइ छ । जिल्लाभर ६० पुस्तक व्यवसायी छन् । सबै व्यवसायीले केही दिनमै पाठ्यपुस्तक बिक्री वितरण थाल्ने उहाँले बताउनुभयो ।

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलको भनाइ छ । इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।

आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले आज विद्यालयमै पाठ्यपुस्तक आइपुग्ने जानकारी दिनुभयो । भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख २ गतेदेखि कक्षा सञ्चालन हुँदैछ । भोलिदेखि नै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिनेछ ।”

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले समयमै पाठ्यपुस्तक आएकाले सहज भएको बताउनुभयो ।

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

काठमाडौँ, २३ चैत : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १५ पैसा र बिक्रीदर २० रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँको तीनकुनेमा घटेको घटनाको छानविन जारी : आयोग

काठमाडौँ, २३ चैतः राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ ।
आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ ।

उक्त घटनाका सन्दर्भमा मानवअधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो ।  

घटना घटेको दिन र त्यसपछि पनि आयोगले  क्षति र मानवअधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको बताएको छ । घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन÷अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई शुक्रबार भेटेको छ । त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ ।    आयोगको छानविन एवम् अनुसन्धानकार्यलाई सहयोग पु¥याउनसम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो । 

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौँ, २३ चैतः राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको  सभालाई  शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

‘स्वास्थ्य बिमा बन्द होइन, थप प्रभावकारी बनाउँदैछौँ’ : मन्त्री पौडेल

तानसेन (पाल्पा), २२ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताउनुभएको छ । आजदेखि तानसेनको टँुडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बिमा बन्द गर्न लाग्नुभयो रे, यो बिमा चल्दैन भन्नुभयो रे, मैले भनेको यसरी चल्दैन, मैले डुब्न लागेको बिमालाई उठाउन खोजेको, अव्यवस्थित बिमालाई व्यवस्थित बनाउन खोजेको, अपूर्ण बिमालाई पूर्णतातिर लिएर जान खोजेको हो, कार्यान्वयन हुनेगरी हुनसक्ने गरी हामीले दृष्टिकोणहरू ल्याएका छौँ, केके गर्यौँ भने बिमा सुरक्षित गर्न सकिन्छ, केके गरे बिमामा नियमित आम्दानी गर्न सकिन्छ ? भन्ने कुराको परिकल्पना गरेका छौँ ।”

आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।”

उपचार कसरी गर्ने भन्नेबारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले बिरामी बढाउने नभइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

एकीकृत समाजवादीद्वारा राजनीतिक सम्मेलनको तयारी

काठमाडौँ, २२ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूको राजनीतिक सम्मेलनको तयारी गरेको छ ।

मुलुकमा गणतन्त्र विरोधीद्वारा विद्यमान गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रर्दशन सुरु गरेपछि गणतन्त्रका पक्षधरको साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक सम्मेलनको तयारी गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा रोजगारी र सुशासनका लागि नयाँ रुपरेखा तयार गरिनुका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा, राजनीतिक दलका नेतृत्वले गरेका कमीकमजोरी तथा समस्या समाधानका विकल्पलगायत विषयमा छलफल गरिने छ ।

पूर्वराजा समर्थक समूहले सुरु गरेको अराजक र हिंसात्मक आन्दोलनका विरुद्ध देशभरका जनतालाई सुसूचित गर्न आगामी दिनमा साझा मुद्दा बनाएर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची सम्मेलनले तय गर्ने महासचिव भुसालले बताउनुभयो । उहाँका अनुसार जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था, गरिबी निवारण, सुशासन, रोजगारीका सम्भावित क्षेत्र तथा अवसरबारे अन्तरक्रिया गरिने छ ।

जनताको भावना बुझ्न जागरण अभियान गरेका छौँ : अध्यक्ष दाहाल

ठाकुरबाबा (बर्दिया), २२ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र आज बढैयातालले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो । अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उहाँले भविष्यमा त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ ।” उहाँले जनयुद्ध तथा जनआन्दोलनका क्रममा बर्दिया जिल्लाबाट धेरै सहिद तथा बेपत्ता भएकाले उनीहरूको सम्मान राज्यले गर्नुपर्ने बताउनुभयो । पहिलो कार्यकालमै सहिदलाई राष्ट्रिय मान्यता दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “ऐतिहासिक बलिदानस्थलहरूमा पार्क बनाइने छ, पीडितपरिवारलाई राहत र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।” कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति थियो ।

भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा बाह्र जना घाइते

चितवन, २२ चैतः यहाँको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् । भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो ।

सो बसमा पच्चिस जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बस  अनियन्त्रित भई रुखमा ठोक्किएको हो । घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ । बस चालक फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।

एपिएफलाई हराउँदै गाईघाट फाइनलमा प्रवेश

धनकुटा, २२ चैतः धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई हराउँदै गाईघाट फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको खेलमा गाईघाटले एपिएफलाई एकका विरुद्ध दुई गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको १०औँ मिनेटमा एपिएफका खेलाडी युवराज खड्काले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निकै घम्साघम्सी भएको खेलमा पहिलो हाफमा उक्त एक गोलबाहेक दुवै टिमबाट कुनै गोल हुन सकेन । 

खेलको ६०औँ मिनेटमा गाईघाटका तर्फबाट किस्मत लिम्बूले एक गोल गरेर खेललाई बराबरी बनाएका थिए । त्यसलगत्तै गाईघाटका विदेशी खेलाडी फोफानाले खेलको ७०औँ मिनेटमा गरेको गोलले गाईघाटलाई जित दिलाएको हो ।

खेल अवधिको उत्कृष्ट खेलाडी गाईघाटका विदेशी खेलाडी फोफाना घोषित भएका छन् । खेल अवधिमा गाईघाटका विदेशी खेलाडी टाम्पी, निश्चल मोक्तान र एपिएफका मानबहादुर रानाले पहेँलो कार्ड पाएका थिए ।

शनिबार हुने फाइनल खेल आजको विजेता गाईघाट र सप्तरीको नवबुद्ध फुटबल क्लबबीच हुने आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिठानका खेल संयोजक शम्भु प्रधानले जनाएका छन् । यही चैत १७ देखि सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र पाउने छन् ।

अमेरिका–चीन व्यापार युद्धमा अवस्था कहाँ छ ?

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मुक्ति दिवस’ भन्सार शुल्कको विरोधमा अमेरिकी सामानको सबै आयातमा ३४ प्रतिशत कर लगाएको छ ।संयुक्त राज्य अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धले कसरी खेलिरहेको छ र यसले कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे यहाँ विश्लेषण गरिएको छ ।

– चीन किन भन्सार शुल्कका लागि यति संवेदनशील छ ? –

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको व्यापार विशाल छ । बेइजिङको भन्सार तथ्याङ्कअनुसार गत वर्ष संयुक्त राज्य अमेरिकामा चिनियाँ वस्तुहरूको बिक्री पाँच खर्ब अरब डलरभन्दा बढी थियो । यो चीनको देशको निर्यातको १६ दशमलव चार प्रतिशत हो ।

चीनले सन् २०२४ मा अमेरिकाबाट एक खर्ब ४३ अर्ब ५० अर्ब डलरको सामान आयात गरेको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जनाएको छ ।तर चीनले लामो समयदेखि ट्रम्पको रिसलाई संयुक्त राज्य अमेरिकासँगको व्यापार अधिशेषका साथ आकर्षित गरेको छ । अमेरिकी वाणिज्य मन्त्रालयको ब्युरो अफ इकोनोमिक एनालिसिसका अनुसार यो व्यापार अधिशेष गत वर्ष दुई खर्ब ९५ अर्ब ४० करोड डलर पुगेको छ ।

बेइजिङका नेताहरू आंशिक रूपमा यथास्थिति बिग्रन अनिच्छुक छन् किनभने चीनको निर्यात–प्रधान अर्थतन्त्र विशेष गरी अन्तर्राष्ट्रिय व्यापारका उतारचढावप्रति संवेदनशील छ । रियल स्टेट क्षेत्रमा लामो समयदेखि चलिरहेको ऋण सङ्कट र लगातार कम उपभोगसँग सङ्घर्ष गर्दा अमेरिकी भन्सार शुल्कले चीनको कमजोर आर्थिक सुधारलाई पनि हानि पु¥याउने खतरा छ ।

तर तीव्र व्यापार युद्धको अर्थ सम्भवतः चीनले यस वर्ष आफ्नो निर्यातमा बलियो आर्थिक वृद्धिको आशा राख्न सक्दैन, जुन सन् २०२४ मा रेकर्ड उचाइमा पुगेको थियो ।
“यस वर्ष अहिलेसम्म घोषणा गरिएको चिनियाँ आयातमा अमेरिकी भन्सार शुल्कले अहिलेसम्म घोषित वित्तीय प्रोत्साहन उपायहरूबाट प्राप्त लाभलाई पूर्ण रूपमा नष्ट गर्न सक्छ”, एचएसबिसीका प्रमुख एसिया अर्थशास्त्री फ्रेडरिक न्युमेनले भन्नुभयो ।

– नयाँ अमेरिकी भन्सार शुल्कको के प्रभाव पर्नेछ ? –

ट्रम्पको नयाँ भन्सार शुल्कले विश्वभरबाट आयात हुने वस्तुमा १० प्रतिशत कर लगाउने भएको छ ।

तर चीनलाई विशेष रूपमा कडा प्रहार गरिएको छ । पछिल्लो हमलाले गत महिना लगाइएको २० प्रतिशत दरमा ३४ प्रतिशत थपेको छ । ट्रम्प प्रशासनद्वारा एसियाली आर्थिक शक्ति केन्द्र चीनबाट आयातमा लगाइएको कुल अतिरिक्त भन्सार शुल्क ५४ प्रतिशत पुगेको छ ।

भन्सार शुल्कहरू चरणबद्ध रूपमा लागू हुन्छन् । बिहीबार १० प्रतिशत अङ्क वृद्धि, त्यसपछि अप्रिल ९ मा पूरा भन्सार शुल्क ।

चीन स्टिल, एल्युमिनियम र कार आयातमा क्षेत्र–विशिष्ट भन्सार शुल्कको अधीनमा पनि छ ।

विश्लेषकहरूले नयाँ करहरूले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) बाट महत्त्वपूर्ण हिस्सा लिने अपेक्षा गरेका छन् । यो बेइजिङको नेतृत्वले यस वर्ष पाँच प्रतिशतले बढ्ने आशा गरेको छ ।

क्यापिटल इकोनोमिक्सका चीन अर्थशास्त्रका प्रमुख जुलियन इभान्स–प्रिचार्डले एक नोटमा आर्थिक प्रभाव जिडिपीको शून्य दशमलव पाँचदेखि एक प्रतिशतसम्म हुने अपेक्षा गरिएको बताउनुभयो ।

पिटरसन इन्स्टिच्युट अफ इन्टरनेसनल इकोनोमिक्सका अनुसार संयुक्त राज्य अमेरिकामा चीनको शीर्ष निर्यातहरू सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ । चीन इलेक्ट्रोनिक्स र विद्युतीय मेसिनरीदेखि कपडा र तयारी पोशाकसम्मका सामानहरूको प्रमुख आपूर्तिकर्ता हो ।

विश्लेषकहरूले अमेरिकी फर्महरूलाई आपूर्ति गर्ने महत्त्वपूर्ण भूमिकाका कारण चिनियाँ वस्तुहरूमा भन्सार शुल्कले ठूलो नकारात्मक प्रभाव पार्न सक्ने पनि चेतावनी दिएका छन् ।“चीनबाट हुने अमेरिकी आयातमा उपभोक्ता वस्तुहरूको सट्टा पूँजीगत वस्तु र औद्योगिक सामग्रीको प्रभुत्व छ”, इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका चाइना रिसर्चका प्रमुख जिन मालाले भन्नुभयो, “भन्सार शुल्कले अमेरिकी उत्पादकहरूका साथै उपभोक्ताहरूलाई पनि नोक्सान पुर्‍याउनेछ ।”

“यो व्यापार युद्धले चीनमा मात्र नभई विश्व व्यापार प्रणालीमा पनि विनाशकारी प्रभाव पारेको छ”, बेइजिङस्थित चाइना सेन्टर फर इन्टरनेसनल इकोनोमिक एक्सचेन्जका प्रमुख अर्थशास्त्री चेन वेनलिङले भन्नुभयो ।

– बेइजिङले कसरी प्रतिक्रिया दिएको छ ? –

बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिका विरुद्ध ‘जवाफी कारबाही’ को आफ्नो प्रतिज्ञा पूरा गर्दै देशमा आउने सबै अमेरिकी उत्पादनहरूमा आगामी बिहीबारदेखि लागू हुनेगरी ३४ प्रतिशत कर लगाएको छ । चीनले चिकित्सा प्रविधि र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने केही दुर्लभ खनिज तत्वहरूमा निर्यात नियन्त्रण लगाउने पनि बताएको छ ।

युएस–चाइना बिजनेस काउन्सिलका अनुसार गत वर्ष चीनमा अमेरिकी निर्यातमा मुख्यतया तेलहन र अन्नबाली सहित कृषि उत्पादनहरू प्रमुख थिए । तेल र ग्यास त्यसपछि आउँछ । फर्मास्युटिकल्स र सेमीकन्डक्टरहरू पनि प्रमुख निर्यात मध्ये हुन् ।सन् २०२२ मा चीनमा सामान र सेवाहरूको अमेरिकी निर्यातले नौ लाखभन्दा बढी अमेरिकी रोजगारीलाई समर्थन गरेको काउन्सिलले जनाएको छ ।

गत महिना बेइजिङले अमेरिकाबाट कोइला र तरल प्राकृतिक ग्यासको आयातमा १५ प्रतिशत र कच्चा तेल, कृषि मेसिनरी, ठूला इन्जिन भएका सवारी साधन र पिकअप ट्रकमा १० प्रतिशत कर लगाएको थियो ।विश्लेषकहरूका अनुसार ती कदमहरू आफूलाई ह्वाइट हाउसमा पुनरागमन गर्न मतदान गरेका ग्रामीण अमेरिकी हार्टल्यान्ड जस्ता ट्रम्पको समर्थन आधारलाई प्रहार गर्न डिजाइन गरिएका छन् ।

बेइजिङले विवाद समाधानका लागि ‘संवाद’ को आह्वान गरेको छ, तर कुनै पनि सम्झौताले समय लिनेछ । “आगामी महिनाहरूमा दुई पक्षले वार्ता पुनः सुरु गर्ने अझै सम्भावनाहरू छन्”, अक्सफोर्ड इकोनोमिक्सकी बेट्टी वाङले भन्नुभयो, “तर ऐतिहासिक अनुभवले भन्सार शुल्कहरू सामान्यतया छिटो बढ्छन् र ढिलो घट्छन् भन्ने सुझाव दिन्छ ।”

‘गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण छ’ : मन्त्री भण्डारी

काठमाडौँ, २२ चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घको सातौँ वार्षिक साधारणसभामा तथा तेस्रो अधिवेशनमा मन्त्री भण्डारीले स्वदेशमा रोजगारी सिर्जना गर्ने र अर्बौं वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि मन्त्रालयकोतर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाली गलैँचा उद्योगले आर्थिक तथा रोजगारीका क्षेत्रमा पुर्‍याएको योगदानलाई बिर्सन सकिँदैन । उद्योगको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि मन्त्रालय सहयोग गर्न कटिबद्ध छ ।”

मन्त्री भण्डारीले लामो समयदेखि तेस्रो मुलुकमा निकासी सुरुआत गरेको लामो इतिहास भएको गलैँचा उद्योगले सरकारको विभिन्न लक्ष्यमा सहकार्य गर्दै आएको भन्दै खुसी व्यक्त गर्नुभयो । “उद्योगले वैदेशिक मुद्राआर्जन गरी नेपाली अर्थतन्त्र सवलीकरण, व्यापार सन्तुलन र स्वदेशमा रोजगारी सिर्जना गर्नेलगायत विषयमा योगदान गर्दै सरकारसँग निरन्तर सहकार्य गरिरहेकामा म उद्योगलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रले स्वदेशी उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले तर्जुमा गरेको नगद प्रोत्साहन व्यवस्थालाई गलैँचा उद्योगको हकमा सरल र सहज बनाउने कार्यमा मन्त्रालय तत्पर रहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । गलैँचा उद्योगसँग भएको पटकपटकको छलफलअनुसार निर्यात लोन, कर सम्बन्धमा सहजीकरण र मूल्य अभिवृद्धि करका कारणले उद्योगमा पर्न गएको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोन, कर सम्बन्धमा सहजीकरण र मूल्य अभिवृद्धि (सरकारबाट फिर्ता गर्ने प्रक्रिया झन्झटिलो र ढिला भएका) ले उद्योगलाई केही समस्या भएको बुझेका छौँ । उक्त विषयलाई सम्बन्धित निकायमा उठानगरी हरसम्भव परिणाममुखी बनाउन मन्त्रालय तत्पर छ ।”

मन्त्री भण्डारीले सङ्घको साधारणसभा तथा अधिवेशनको सफलताका साथै तेस्रो अधिवेशनबाट चुनिएर आउनुभएका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा नयाँ कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

‘भ्रष्टाचारका सम्बन्धमा प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएको छ’ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम, २२ चैतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताउनुभएको छ । जिल्ला समन्वय समिति कैलालीको आज घोडाघोडीमा आयोजित नवौँ सभामा उहाँले भ्रष्टाचारमा शून्य सहनशीलताका विषयमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता गर्नुभयो । मुख्यमन्त्रीले केही दिनअघि विवादित अडियो (श्रव्य सामग्री) सार्वजनिक भइसकेपछि सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको बताउनुभयो ।

विवादित श्रव्य सामग्रीका सम्बन्धमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्रीले भन्नुभयो, “यसमा प्रदेश सरकारको सहयोग रहन्छ, दोषी दण्डित हुनुपर्छ, उन्मुक्ति पाउनु हुँदैन ।”

अवरुद्ध भइरहेको प्रदेशसभाको बैठक सञ्चालन गराउन सर्वदलीय बैठक गरेर समस्याको सामाधान खोज्ने पहल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सदन अवरुद्ध गरेर समस्या समाधान हुँदैन, प्रतिपक्षीसँग संवाद र सहकार्य गरेर सदन सञ्चालन हुन्छ भन्नेमा म विश्वस्त छु ।”

प्रदेशसभाको अवरोध हटाउन केही दिनदेखि सत्तापक्ष र प्रतिपक्षी दलको बैठक बस्मे पनि सहमति जुट्न सकेको छैन । बैठकमा प्रतिपक्षीले अडियो प्रकरणका विषयमा घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

वनसम्बन्धी कार्यविधि बनाउँदा आर्थिक चलखेल भएको भन्ने श्रव्य सामग्री सार्वजनिक भएपछि नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएका लक्ष्मणकिशोर चौधरीले केही दिनअघि पदबाट राजीनामा दिनुभएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार मन्त्रालयका काजगात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।