चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै बढाउछौं – उपमहासचिव ज्ञवाली
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् । सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए ।
उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे । उनले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राखे ।
“फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ”, उपमहासचिव ज्ञवालीले भने ।
उनले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने बताए ।
