`

अमेरिकी सहायताको अचानक फिर्ताले लाखौँको जीवन जोखिममा : युएनएड्स प्रमुख

युएनएड्स प्रमुखले सोमबार अमेरिकी विदेशी सहायता कोषको अचानक रोकावट ‘विनाशकारी’ भएको बताउनुभएको छ । उहाँले थप कोष बिना लाखौँ मानिस मर्ने र विश्वव्यापी एड्स महामारी पुनः फैलिने चेतावनी दिनुभयो ।

संयुक्त राज्य अमेरिका ऐतिहासिक रूपमा मानवीय सहायताको विश्वकै सबैभन्दा ठूलो दाता रहेको तर राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाअघि ह्वाइट हाउस फर्केपछि अन्तर्राष्ट्रिय सहायता कटौती गर्नुभएको छ ।

“संयुक्त राज्य अमेरिकाले समय–समयमा आफ्नो कोष घटाउन चाहनु उचित छ तर जीवन बचाउने समर्थनको अचानक फिर्ताले विनाशकारी प्रभाव पारिरहेको छ”, युएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यान्यिमाले जेनेभामा पत्रकारहरूलाई भन्नुभयो, “हामी पुनर्विचार र जीवन रक्षा गर्ने सेवाहरूको आकस्मिक पुनःस्थापनाका लागि आग्रह गर्दछौँ ।”

उहाँले थप कोष बिना आगामी चार वर्षमा थप ६३ लाख एड्स–सम्बन्धित मृत्यु हुने चेतावनी दिनुभयो ।पछिल्लो गणनाअनुसार सन् २०२३ मा लगभग छ लाख एड्स–सम्बन्धित मृत्युहरू विश्वव्यापी रूपमा दर्ता गरिएको उहाँले बताउनुभयो ।

“त्यसोभए तपाईं १० गुणा वृद्धिको कुरा गर्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।त्यसै समयमा ब्यान्यिमाले उहाँको एजेन्सीले ‘थप ८७ लाख नयाँ सङ्क्रमण’ देख्ने अपेक्षा गरेको बताउनुभयो । “तपाईं पछिल्लो २५ वर्षमा हामीले हासिल गरेका लाभहरू गुमाउने कुरा गर्दै हुनुहुन्छ । यो धेरै गम्भीर छ”, उहाँले भन्नुभयो ।

“आगामी चार वर्षभन्दा पनि अघि हेर्दा यदि सहायता कोष पुनःस्थापित नभएमा लामो अवधिमा हामी एड्स महामारी पुनः फैलिएको र विश्वव्यापी रूपमा पुनः फैलिएको देख्नेछौँ”, ब्यान्यिमाले भन्नुभयो, “यो अहिले केन्द्रित भएका देशहरूमा मात्र होइन, अफ्रिकाका कम आय भएका देशहरूमा मात्र होइन, तर पूर्वी युरोप, ल्याटिन अमेरिकामा हामी मुख्य जनसङ्ख्या भन्ने समूहहरूमा पनि बढिरहेको छ । हामी यस रोगमा वास्तविक वृद्धि देख्नेछौँ । हामी यसलाई फिर्ता आएको देख्नेछौँ र हामीले मानिसहरूलाई सन् १९९० र २००० को दशकमा देखेको जस्तै मरेको देख्नेछौँ ।”

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ: मन्त्री गुरुङ

काठमाडौँ, ११ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभएको छ ।

आज यहाँ ‘आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’को समापन समारोहमा उहाँले पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री गुरुङले चलचित्र विकास बोर्डमार्फत चलचित्र क्षेत्रको विकासका लागि मन्त्रालयले पछिल्लो छ महिनामा विभिन्न महत्वपूर्ण पहल अघि सारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“विसं २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरी समसामयिक संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढाइएको छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने दिशामा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएको छु ।”

मन्त्री गुरुङले चलचित्र प्रदर्शनलाई व्यवस्थित गर्न बक्सअफिस प्रणालीलाई पारदर्शी रूपमा कार्यान्वयन गर्न केही महिनाभित्रै निर्माताहरूले चलचित्रको व्यापारिक रिपोर्ट आफ्नै मोबाइल वा कम्प्युटरमा पाउने बताउनुभयो । “चलचित्र क्षेत्रलाई प्रविधिसँग एकीकृत गर्दै निर्माण अनुमतिदेखि सेन्सरसम्मका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ किनकि नेपाली चलचित्र हाम्रो कला, सस्कृति र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनिसकेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले समाजको दर्पण, संस्कृतिको संवाहक र आर्थिक सामाजिक समृद्धिको आधारका रूपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत संरचना, लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा यही चैत ७ गतेदेखि सुरु भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम भएका थिए ।

क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ । शकिब स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुनुहुन्छ । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उहाँ हेलिकप्टरबाट छिमेकी भारत भाग्नुभएको थियो ।

हसिनासँगको उहाँको सम्बन्धले उहाँलाई जनताको आक्रोशको निशाना बनायो र विद्रोहको समयमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमनका लागि हत्या अनुसन्धानको सामना गरिरहेका दर्जनौँ व्यक्तिमध्ये एक उहाँ पनि हुनुहुन्थ्यो ।ती आरोपहरूमा उहाँमाथि आरोप लगाइएको छैन तर हाल उहाँमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।

अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार जफत गर्ने आदेश दिनुभयो । हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी–२० क्रिकेट प्रतियोगितामा खेलिरहनुभएको थियो र त्यसयता उहाँ बङ्गलादेश फर्कनुभएको छैन ।
बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी–२० खेल्नुभएको छ र कुल सात सय १२ विकेट लिनुभएको छ ।

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ: मन्त्री गुरुङ

काठमाडौँ, ११ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभएको छ ।

आज यहाँ ‘आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’को समापन समारोहमा उहाँले पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री गुरुङले चलचित्र विकास बोर्डमार्फत चलचित्र क्षेत्रको विकासका लागि मन्त्रालयले पछिल्लो छ महिनामा विभिन्न महत्वपूर्ण पहल अघि सारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“विसं २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरी समसामयिक संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढाइएको  छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने दिशामा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएको छु ।”

मन्त्री गुरुङले  चलचित्र प्रदर्शनलाई व्यवस्थित गर्न बक्सअफिस प्रणालीलाई पारदर्शी रूपमा कार्यान्वयन गर्न केही महिनाभित्रै निर्माताहरूले चलचित्रको व्यापारिक रिपोर्ट आफ्नै मोबाइल वा कम्प्युटरमा पाउने बताउनुभयो । “चलचित्र क्षेत्रलाई प्रविधिसँग एकीकृत गर्दै निर्माण अनुमतिदेखि सेन्सरसम्मका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ किनकि नेपाली चलचित्र हाम्रो कला, सस्कृति र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनिसकेको छ”, उहाँले भन्नुभयो । 

मन्त्री गुरुङले समाजको दर्पण, संस्कृतिको संवाहक र आर्थिक सामाजिक समृद्धिको आधारका रूपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत संरचना, लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैं प्रतिबद्ध रहेको बताउनुभयो । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा यही चैत ७ गतेदेखि सुरु भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम भएका थिए ।

जलस्रोत विधेयक, २०८१ पूर्वाधार विकास समितिबाट पारित

काठमाडौँ, ११ चैतः प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले जलस्रोत विधेयक, २०८१ लाई सर्वसम्मत पारित गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौसारियाको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको ४८औँ बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।बैठकमा ऊर्जामन्त्री खड्काले लामो छलफल र मेहनतकपछि विधेयक पारित भएको भन्दै समिति सदस्यलाई धन्यवाद दिनुभयो । विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

कानुनमन्त्री चौरासियाले लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिएको भन्दै सांसदले गरेको निर्णयलाई कानुन मन्त्रालयले स्वीकार गरेर अगाडि बढ्ने बताउनुभयो ।

विस २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । समितिमा नौ महिनाको छलफलपछि विधेयक आज सर्वसम्मत रूपमा पारित भएको हो ।

प्रतिनिधिसभाका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई समेत आधार मानेर विधेयकलाई सर्वसम्मत पारित गरिएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।

स्पोर्ट्स अवार्ड: महिला विधाको वर्ष खेलाडी मनोनयन सार्वजनिक

सुदूरपश्चिम, ११ चैत: धनगढीमा यही चैत १९ गते आयोजना हुने ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला विधाको मनोनयन आज सार्वजनिक गरिएको छ ।

खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । छनोट समितिका संयोजक सीताराम ओझाले खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी रहेको जानकारी दिनुभयो ।

उक्त विश्वकपमा उनी दुई खेलमा वेष्ट अट्याक, एकपटक वेष्ट प्लेयर र वेष्ट डिफेन्डरको उपाधि जित्ने खेलाडी हुन् । बक्सिङकी तिरुवा बहराइनमा भएको आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । कबड्डीकी विष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कास्य पदक जिताउने कप्तान हुन् । इरानमा भएको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनसिपमा उनले नेपाली महिला टोलीलाई दुई दशकपछि कास्य पदक दिलाएकी थिइन् ।

स्पोट्स अवार्डमा आठ विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेकी छन् ।

उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधाका विजेतालाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारले पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो ।

सुदूरपश्चिम आइकन महिला तथा पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफी प्रदान गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको स्पोट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) धनगढीले गरेको छ । मञ्चले बर्सेनि स्पोट्स अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गर्ने गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : आजको खेलमा गण्डकी र सशस्त्र विजयी

भैरहवा (रुपन्देही), ११ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन् ।
गण्डकीले मधेसलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको छ भने सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । गण्डकीले जिते पनि सबै खेलमा ४ अङ्क मात्र बटुल्दै बाहिरिएको छ भने अन्तिम खेल खेलेको लुम्बिनी पराजित हुँदै बाहिरिएको छ ।

जारी प्रतियोगितामा आज पहिलो सुपर ओभर खेलाइएको हो । मधेस प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो गर्न सुपर ओभर खेलाइएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीेले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन आवश्यक रहे पनि सन्दिप अर्याल रन आउट भए । तर त्यस अघि नै एम्पायर सञ्जय गुरुङ्गले बललाई वाईड दिइसकेकाले गण्डकीले १ अतिरिक्त रन पाउँदै खेल बराबरीमा टुङ्गिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै गण्डकीले २२ रन बनाएको थियो । २३ रनको लक्ष्य मधेसले भेट्टाउन सकेन । उसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो र अन्ततः गण्डकी प्रदेश सुपर ओभरमा विजयी भयो । यस अघि गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४० बलको सामना गर्दै १० चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । यसैगरी गण्डकीका लागि दिनेश बुढामगर र सुदिप अर्यालले ३४/३४ रन र सुभास भण्डारीले १३ रन बनाए ।

बलिङमा मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रञ्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले रोहन विक, हरिशङ्कर साह र रुपेश सिंहको अर्धशतकको सहयोगमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । मधेसका लागि रोहन बिकले ९८ बलको सामना गरी ६ चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाए । हरिशंकर साह र रुपेश सिंहले समान ५१/५१ रन बनाए भने पवन सर्राफले ३३ रन बनाए ।

बलिङमा गण्डकी प्रदेशका बिपिन खत्री र कमल परियारले समान २/२ विकेट लिँदा अमित गुरुङ र सन्दिप पराजुलीले १/१ विकेट लिए । प्रतियोगितामा ७ खेल खेलेको मधेस २ मा जित र ५ मा हार गरी ४ अंक हासिल गरेको छ भने ९ खेल खेलिसकेको गण्डकी मात्र २ मा जित हासिल गरी ४ अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य सशस्त्रले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा हासिल ग-यो । सशस्त्रका लागि कप्तान रोहित पौडेल र पुरन विकले अर्धशतक बनाए । पुरन विकले ११२ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा अविजित ७२ रन बनाए भने रोहित पौडेलले ९४ बल खेल्दै ७ चौकाको सहयोगमा ७१ रन जोडे । सशस्त्रका लागि सन्दिप जोराले अविजित २१ रन र लोकेश बमले २१ रन बनाए ।

रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले कप्तान देव खनाल र मृनाल गुरुङको अर्धशतकको सहयोगमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७९ बलको सामना गरी ४ चौकाको सहयोगमा ६३ रन बनाउँदा मुनाल गुरुङले ८७ बलको सामना गरी ४ चौकाको सहयोगमा ५५ रन बनाए । आकाश त्रिपाठीले २२ रन र प्रज्ज्वल थापाले २० रन बनाए ।

लुम्बिनी प्रदेशले ४ खेल जित र ५ मा हारसहित ८ अङ्क ल्याएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी ८ खेल खेलेको सशस्त्र प्रहरीले थप २ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना छ । सशस्त्रले ८ खेलमा ६ मा जितसहित १२ अङ्क ल्याएको छ । अझै एक खेल खेल्न बाँकी छ ।

प्रतियोगितामा हालसम्म सबै ७ वटा खेलमा अविजित रहँदै नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने ८ खेल खेलेको त्रिभुवन आर्मी क्लब ७ खेलमा जित निकाल्दै १४ अङ्कका साथ दोस्रो स्थानमा छ ।    प्रतियोगिताको शीर्ष २ टोलीले यही चैत १६ गते फाइनल खेल्नेछ । मङ्गलबारको खेल रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

‘रोजगारी सुनिश्चिताका लागि प्रदेश सरकारले यथोचित पहल गर्नेछ’ : मुख्यमन्त्री शाह

कैलाली ११, चैत: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विभिन्न सरकारी निकायमा लामो समयदेखि अस्थायी करार तथा ज्यालादारी (श्रेणीविहीन) पदमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चितका लागि सम्बन्धित निकायसँग छलफल गरी अगाडि बढ्ने बताउनुभएको छ ।

रोजगारी ग्यारेन्टीको मागसहित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी पुगेका अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घ प्रदेश समितिका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहले रोजगारी सुनिश्चितका लागि सङ्घ तथा अन्य प्रदेशका अभ्यास र कानुनी व्यवस्थाअनुसार सम्बन्धित निकायसँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो । 

उहाँले कर्मचारीको रोजगारी सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने भन्दै कानुनी व्यवस्थाअनुरुप प्रदेश सरकारले यथोचित पहल गर्ने बताउनुभयो ।

ज्ञापनपत्रमा २०५६/५७ सालदेखि लोकसेवा आयोगबाट स्थायी प्रक्रिया बन्द भएको श्रेणीविहीन पदमा निजामती सेवा ऐन संशोधन गरी प्रक्रिया पुर्‍याई सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरी एकपटकका लागि स्थायी व्यवस्था गर्ने वा सो हुन नसकेको हकमा राज्यको सेवा गरेवापत उपदानको व्यवस्था गर्ने, सर्वोच्च अदालतको मिति २०७०/१०/०९ को निर्देशानात्मक आदेश, मन्त्रिपरिषद्को मिति २०७४/०१/२१ को निर्णयबमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, कर्मचारीको सेवा सुविधाका साथै बिरामी बिदा र बिमाको विशेष व्यवस्था गर्नुपर्नेलगायत माग समावेश गरिएका छन् ।

जनमत पार्टीद्वारा राष्ट्रिय परिषद् समितिको बैठक आह्वान

काठमाडौँ, ११ चैत : जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ । यही चैत १५ गते शुक्रबार काठमाडौँमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ ।”

आँपमा ‘अफइयर’ : पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क

महोत्तरी, ११ चैत : अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ ।

यसवर्ष आँपका लागि अफइयर हो । तर अफइयरको प्रभाव पुराना बोटमा मात्र देखिएको छ । पाँच/छ वर्षका आँपका रुख मज्जाले फुलेका छन् । भङ्गाहा–४ रामनगरकी शान्तिदेवी साहका बारीमा आँप फुलेर बोटै ढाकेका छन् । बगैँचाका पुराना रुखमा फूल नफुले पनि नयाँ बोटमा पातै नदेखिने गरी फूल फुलेपछि साह आँप फल्ने आशामा हुनुहुन्छ ।

“यसवर्ष वरपर आँप खासै फूलेका छैनन् तर हाम्रोमा त फूलले पातै देखिँदैन”, साहले भन्नुभयो, “यो फूल २५ प्रतिशत मात्र टिक्यो भने पनि नयाँ रुखले फल थेग्न सक्दैन ।” साहले भने जस्तै जिल्लाका सबै भेगमा यसवर्ष पुराना बोटमा फुल कम फुलेको छ ।

जिल्लाको गौशाला, बर्दिवास, मटिहानी, पिपरा र मनराशिशवासहितका स्थानीय तह आँप उत्पादनका उर्बर क्षेत्र मानिन्छन् । सबैतिर पुराना रुखमा अफइयरको असर देखिए पनि नयाँ रुखमा फूल फुलेको गौशाला–१० का अरुण कुशवाहाले बताउनुभयो । “पुराना रुखमा त कमै फूल फुलेको छ, तर नयाँ रुखमा मज्जाले फुलेको छ”, उहाँले भन्नुभयो ।

यसवर्ष आँपलाई प्रतिकूल मौसम रहेको किसान बताउँछन् । पानी नपरी हिउँदयाम बित्नु सबैभन्दा ठूलो समस्या छ । गतवर्ष राम्रो फलेको आँप यसवर्ष कम फुलेको फलफूल विज्ञ बताउँछन् । “यो सामान्यतया अरु फलमा पनि हुन्छ, आँप, लिचीसहितका फलमा बढी देखिन्छ”, बागबानी विज्ञका रुपमा काम गरी सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्नुहुन्छ, “खासगरी स्थानीय जातका पुराना रुखमा यो असर हुन्छ ।’’ अफइयर सामान्यतया तेस्रो वर्षमा हुने उहाँको भनाइ छ । यसअघिका दुई वर्ष आँप निकै फलेका थिए ।

यसवर्ष पनि आँपका बोट मज्जाले फूल फुलेपछि बर्दिवास–९ पशुपतिनगरका किसान रामविनोद महतोलाई सन्तोष मिलेको छ । अब चैत/वैशाखको असिना र हुरीवतासमा जोगिए आँपबाट राम्रो कमाइ हुने महतोको आशा छ ।

अन्नबालीसहितका अरु फसल फेरिफेरि लगाए जस्तै फलफूल पनि १०/१५ वर्षमा ठाउँ फेरेर नयाँ बिरुवा लगाउँदै गए उत्पादन भइरहने फलफूल विज्ञ भुजेल बताउनुहुन्छ । कम फुलेको आँपलाई यसवर्ष मधुवा (मज्जरमा लाग्ने डढुवा रोग) को प्रकोप छ । मधुवाको प्रकोप पानी नपरेर बढेको किसान बताउँछन् । जिल्लामा पाँच÷छ वर्षयताका नयाँको तुलनामा पुराना रुख बढी हुँदा आँप कम उत्पादन हुने अनुमान गरिएको छ ।

“हिउँदे वर्षा नहुँदा आँप, लिची, रुखकटहरमा फूल फुल्न सकेन, अहिले आँपका फूलमा देखिएको मधुवा पनि पानी नपरेरै बढेको हो”, औरही–७ का ७० वर्षीय मोहन महतोले भन्नुभयो, “राम्रो वर्षा भएर रुखका पात, हाँगा सबै पखालिएर जरामा राम्रो चिस्यान भएमा अरु रोग कम लाग्छ ।”

जिल्लामा पछिल्लो एक दशकयता फुलफूल खेती बढ्दो छ । कृषि कार्यमा जनशक्ति पाउन छाडेपछि किसानले फलफूल खेती बढाएका हुन् । १० वर्षअघि पाँच हजार हेक्टरभन्दा कम क्षेत्रफलमा भएको फलफूल खेती वृद्धि हुँदै हाल १० हजार हेक्टर नाघेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजकिशोर यादव बताउनुहुन्छ ।

महोत्तरी आँप बढी उत्पादन हुने जिल्लामध्येको एक हो । मधेसको मुख्य फल र फलको राजा भनिने आँप कम फुलेपछि यसवर्ष आँपको मूल्य बढ्ने अनुमान गरिएको छ ।

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थप

काठमाडौँ, ११ चैत: नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहनुभएको उक्त सदस्यमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

  मनोनित हुनेहरूमा इन्जिनीयर उज्ज्वल कोइराला (सङ्खुवासभा), इन्जिनीयर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा मोहनजङ्ग शाह (बाँके), डा नीरञ्जन कोइराला (कास्की), कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की  (कञ्चनपुर) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन्ः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, ११ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पाँचौँ दीक्षान्त समारोहमा उहाँले नीतिसँगै राज्यको परिस्थिति पनि त्यसमा दोषी रहेको धारणा राख्नुभयो ।

मन्त्री पौडेलले नेपालमा चाहिने स्वास्थ्यतर्फका जनशक्ति उत्पादन भइरहेको पनि हरेक वर्ष एक हजार पाँच सयभन्दा बढी विदेशीने समस्या रहेको सुनाउनुभयो । उहाँले अब नीतिगत सुधारमार्फत समस्या समाधान गरिनुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभभो ।

न्याम्सका सहकुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले नेपालमा गुणस्तरीय र विश्वसनीय उत्पादनमा न्याम्सले पु¥याएको प्रशंसा गर्नुभयो । उहाँले न्याम्सले जनशक्ति उत्पादन बढाउँदै गए पनि अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने उपलब्ध हुन नसकेको बताउनुभयो । “उपत्यका बाहिर कतिपय स्वास्थ्य संस्थामा जनशक्ति शून्यताकै स्थिति छ । यहाँ दीक्षित भएका जनशक्ति उपत्यकाभन्दा बाहिर गएर सेवा गर्ने परिस्थिति र अठोट गर्नुपर्छ । सरकारले सङ्गठन एवं व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर चिकित्सक र नर्सको सङ्ख्या बढाउने र बाहिर जाने परिस्थितिलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे आवश्यक योजना बनाइरहेको छ”, मन्त्री पौडेलले भन्नुभयो ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न न्याम्सले योगदान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ७२ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस संस्थाले विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ, जो उच्चतम गुणस्तरको विशेष स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्् ।”

समारोहमा २०८० असार/साउनदेखि २०८१ वैशाख/जेठसम्ममा स्नातकोत्तर तह डिएम, एमडी, एमएस, एमडिएस, एमएन तथा स्नातक तह बिएनएस (क्रिटिकल केयर नर्सिङ), बिएमएस (मिडवाइफ्री साइनसेज), बिएससी एमआइटी र ब्याचलर अफ अप्टोमेट्री र भिजन साइन्समा उत्तीर्ण भएका दुई सयभन्दा बढी विद्यार्थीलाई दीक्षित गरिएको हो ।

सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रीत बजेट बनाउन मन्त्री गुरुङको जोड

काठमाडौँ, ११ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा सूचना प्रविधि (आइटी) पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।त्रिवर्षीय (आव २०८२/८३–२०८४/०५) बजेट सीमा तथा स्रोतमाथि केन्द्रीत रही मन्त्रालयअन्र्तगतका विभाग र निकायसँग बजेट योजना छलफल कार्यक्रममा उहाँले बृहत्तर उद्देश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखलाई ध्यानाकर्षण गराउनुभयो ।

सूचना प्रविधिको विकासले राजस्व वृद्धिमा निकै ठुलो टेवा पु¥याएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आइटी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदा यसबाट लाभ लिन नसकिने धारणा राख्नुभयो । “आइटी क्षेत्रमा पूर्वाधार नभई सोचे जस्तो लाभ लिन र उत्पादन गर्न कठिन छ । त्यसैले आइटीपार्क बनाउने जस्ता बृहत्तर योजना ल्याउनुहोस्”, उहाँले भन्नुभयो,“नेपाललाई प्रविधिमैत्री र इ—गभर्नेन्स प्रणालीमा लैजान पनि सरकारको लगानी आवश्यक छ । डेटा सेन्टर निर्माण गर्नु आजको अर्को अति आवश्यक विषय हो ।”

मन्त्री गुरुङले एकीकृत कार्यालय प्रणाली लागू गराउन, नागरिक एप प्रयोगका लागि अभियान चलाउन जरुरी रहेकामा जोड दिँदै यसका लागि आवश्यक बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । पुँजीगत खर्च गर्न नसक्ने समस्याले मन्त्रालयसमेत ग्रस्त रहेको भन्दै उहाँले यसका लागि कर्मचारीलाई इमान्दार र निडर भएर काम गर्न आग्रह गर्नुभयो । “कर्मचारीको परम्परागत कार्यशैली, नीतिगत व्यवस्थामा समस्यालगायत कारणले पुँजीगत खर्च हुन नसकेको हो । अब पुँजीगत खर्च बढाउन बनाउनतिर लागौँ । योजना बनाउदा नै तालिम जस्ता स–साना उपलब्धि नहुने खालका कार्यक्रम कटौती गरेर बृहत्तर प्रभाव पार्ने योजनामा बजेट निर्माण गर्न लागौँ”, मन्त्री गुरुङको भनाइ थियो ।

सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले सरकारी निकायले असार १५ सम्म बजेट स्वीकृत गरिसक्नुपर्ने भन्दै उत्पादन मुलक र नवीन उद्देश्य बोकेका जनमुखी योजनामा बजेट तर्जुमा गर्न आग्रह गर्नुभयो । उहाँले खर्च गर्न नसकिने योजनामा बजेट ल्याउनुभन्दा खर्च गर्न सकिने अतिआवश्यक कार्यक्रममा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । 

छलफलमा मन्त्रालयअन्तर्गतका विभागीय तथा विभिन्न निकायका प्रमुखले आ–आफ्नो कार्यालयको बजेटबारे जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई आत्मनिर्भर बनाउन सरकारी निकायले समाचार खरिद गर्नेगरी पहल आवश्यक रहेको बताउनुभयो । उहाँले रासस सङ्ग्रहालयलाई बृहत्तर बनाउन, भाषागत सेवा विस्तारमा बजेट विनियोजन गर्नसमेत मन्त्रीसमक्ष ध्यानार्कषण गराउनुभयो ।

पछिल्लो समय विज्ञापन बजार सङ्कटमा परेको बेला साना लगानीका सञ्चारमाध्यमले राससलाई निःशुल्क सेवा दिनुपर्ने आग्रह गरेकाले भन्दै उहाँले त्यसलाई सम्बोधन गर्न मन्त्रालयले अनुदान बढाएर सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “साना लगानीका मिडियालाई राससमार्फत निःशुल्क समाचार सेवा उपलब्ध गराउन सरकारको अनुदान आवश्यक छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “सरकारी निकायले पनि राससका समाचार खरिद गर्दा आत्मनिर्भरतामा टेवा पुग्छ । यसतर्फ सोच्न आवश्यक छ ।”

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण, नेपालका अध्यक्ष डा महेन्द्र विष्टले संस्थानको कार्य प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापन र भौतिक एवं प्राविधिक पूर्वाधार निर्माण अनिवार्य रहेको बताउनुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको नयाँ भवन निर्माण र डिजिटाइजेसन कार्यका लागि पर्याप्त बजेट आवश्यक रहेको जानकारी दिनुभयो । 

सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले प्रतिफल नदेखिने विभिन्न १० योजना बजेटबाट हटाइको जानकारी दिनुभयो । उहाँले पत्रकारितालाई थप प्रभावकारी बनाउने खालका नवीन योजनामा बजेट आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समृद्ध कर्णाली, सुखी कर्णाली बनाउने सपना छ : राष्ट्रियसभा सदस्य मल्ल

काठमाडौँ, ११ चैत : सङ्घीय संसद, राष्ट्रियसभाको सांसद भएको एक वर्ष भयो । नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । संविधानले नै खासगरी सीमान्तकृत, लोपोन्मुख समुदायको राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी तथा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभाको आवश्यकता औँल्याएको छ ।

मुख्यगरी राष्ट्रियसभाले प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्छ । एक वर्षको अवधिभरि संविधानअनुरुप कानुन बनाउने काममा केन्द्रित भएँ । त्योसँगै जनताका सवाललाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम भयो ।

संविधानअनुसार सबै कानुन बन्न सकेका छैनन् । यद्यपि, राष्ट्रियसभामा टेबुल भएका कुनै पनि विधेयकलाई रोक्ने काम भएको छैन । राष्ट्रियसभामा आएका विधेयकलाई हामीले गहिरोगरी अध्ययन गरेर र छलफल गरेर मात्र पारित गर्ने गरेका छौँ । ऐन÷कानुन वा नियमलाई सकेसम्म समावेशी कुरामा राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

म राष्ट्रियसभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिको सदस्यका रुपमा पनि काम गर्दै आएकी छु । यो समितिले नेपालको अर्थव्यवस्था, सार्वजनिक वित्त, पूर्वबजेट छलफल, शासकीय सुधार तथा सुशासन प्रवर्द्धन, सूचना प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विषयमा काम गर्दै आएको छ । समितिले विकास आयोजना, आयोजना, दिगो विकास, समन्यायिक एवं सन्तुलित विकास, लगानी र जनसङ्ख्या व्यवस्थापनको पनि काम गर्दै आएको छ ।

समितिमा विस्तृत रूपमा छलफल हुन्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच एकरुपता र समन्वय नभएका कारण संविधानको पूर्ण कार्यान्वयन हुनसकेको छैन । नेपालको संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हकअन्तर्गतका कतिपय कानुन बन्न बाँकी छ ।

संविधानलाई आवश्यकताका आधारमा संशोधन गरेर समय सान्दर्भिक बनाउनुपर्छ । जस्तो संविधानको धारा ७० को ‘राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने’ भनिएको छ । यसलाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपति एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ । यद्यपि हाम्रो पार्टीले संविधान संशोधन गर्नुपर्ने विषयका बारेमा नेता तथा सांसद प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ । कुनकुन विषयमा संशोधन गर्नुपर्ने भन्ने विषय पार्टीले छिट्टै टुङ्गो लगाउने छ ।

महिलाका सवालमा संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छैन । संविधानको धारा ३८ को ‘महिलाको हक’मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ’ भनिए पनि त्यसको पूर्ण रूपमा कार्यान्वयन हुनसकेको छैन । त्यसैगरी, प्रतिनिधिसभाको सवालमा धारा ८४ उपदफा ८ मा व्यवस्था गरिएको ‘सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ महिला हुनुपर्ने’ व्यवस्था कार्यान्वयन भएको छ । यी विषय मन्त्रिपरिषद् गठनको सवालमा हुनुपर्छ । संविधानको धारा ९१ र ९२ पनि संशोधन गरेर महिलामैत्री बनाउन जरुरी छ । महिला, दलित, मधेसी, आदिवासी, जनजातिलगायत उत्पीडित समुदायको सवालमा भएका संवैधानिक अधिकारको कार्यान्वयनसँगै थप अधिकारका निम्ति एकजुट भएर सङ्घर्ष गर्नुपर्ने बेला पनि आएको छ ।

सङ्घीयतालाई अझै सुदृढ बनाउन सदाचार नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । राजसंस्था अन्त्यका लागि नेपाली जनताले ठूलो बलिदान गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र यत्तिकै आएको होइन । राजसंस्थावादीहरूले भन्दैमा अहिलेको व्यवस्था फेरिँदैन । विसं २०६२÷६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै देशमा गणतन्त्र आएको हो । यो शासन जनता आफैँले ल्याएको शासन हो । यो शासन व्यवस्था भनेको सामान्य जनताको छोरा राष्ट्रप्रमुख हुने व्यवस्था हो । यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै परिमार्जन र बलियो बनाएर लैजानुपर्ने छ ।

देशमा रोजगारी सृजनाका लागि सरकारले योजना बनाएर अगाडि बढ्नुपर्छ । यत्तिकै हचुवाका भरमा सरकार अगाडि बढ्नु हुँदैन । जनताका लागि आवश्यकताका आधारमा काम गर्नुपर्छ । अहिले जनताले रोजगारी खोजिरहेका छन् । उनीहरूलाई रोजगारीको व्यवस्था गर्न बन्द भएका उद्योग सञ्चालन गर्नुपर्छ । बन्द हुने अवस्थामा पुगेका कलकारखानालाई सरकारले जोगाउन सक्नुपर्छ । सङ्घीय सरकारले पछाडि परेको कर्णाली प्रदेशलाई प्राथमिकता दिनुपर्छ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदले त्यो प्रदेशको विकासका लागि पहल गर्नुपर्छ । समृद्ध कर्णाली, सुखी कर्णाली बनाउने सपना छ ।

राष्ट्रियसभा सदस्य सावित्री मल्लको परिचय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य सावित्री मल्ल विगत एक वर्षदेखि कर्णाली (महिला) तर्फबाट सङ्घीय संसद्, राष्ट्रियसभाको सांसद हुनुहुन्छ । मल्लले नेकपा (एमाले) की नेतृ विमला शाहीलाई पराजित गर्नुभएको हो । उहाँले २०४२ सालदेखि महिला आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो

उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली

काठमाडौँ – गैर आवासीय नेपाली सङ्घ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्।

सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट (www.nrnahlc.com) खोलेर निःशुल्क सदस्यता वितरण सुरु गरेको छ।

“अहिलेको एमआइएस प्रणालीमा फेस भेरिफिकेशन जस्ता प्रावधानहरू राखिएको थियो। तर उच्चस्तरीय समितिले बनाएको वेबसाइट एकदमै सुरक्षित छ र आफ्नो परिचय तथा विदेशमा कम्तीमा दुई वर्ष बसेको प्रमाण खुलेको दस्ताबेज राखेर निवेदन दिन सकिन्छ,” इटालीको मिलान सहरमा डेटा वैज्ञानिकको रूपमा कार्यरत सिंहले भने।

“हामी एमआइएस प्रणालीमा आबद्ध छैनौँ। त्यसैले एनआरएनए इटालीले इटालीमा रहनु भएका सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर सदस्य बन्न वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेका छौँ,” सिंहले भने। उनले हाल उच्चस्तरीय समितिको वेबसाइटमा अपलोड गरिएको डेटा आगामी मे महिनामा महाधिवेशन सम्पन्न भए पछि सुरक्षित रूपमा एमआइएस प्रणालीमै मर्ज गरिने पनि जनाए।

एनआरएनए उच्चस्तरीय समितिका सदस्य तथा एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले पनि सबै एनसीसीहरुलाई उच्चस्तरीय समितिले बनाएको वेबसाइटमा गएर सदस्य बन्न वा सदस्यता नवीकरण गर्न सहजीकरण गरी दिन आग्रह गरेका छन्। “हाम्रो वेबसाइटमा अपलोड गरिएको सबै कागजातको गोपनीयताको जिम्मा हामी लिन्छौँ। ती कागजातको विवरण कानुन अनुसार गोप्य रहने छन्,” उनले भने। उनले संसारभरिका सबै एनआरएनहरूलाई ढुक्क भएर ३१ मार्च २०२५ भित्र सदस्यता लिन तथा नवीकरण गर्न अपिल पनि गरेका छन्।

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता

काठमाडौं ।  फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् ।

काठमाडौं उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् ।

पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए।

बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन् ।

आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबर्जस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

काठमाडौं उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताए । मधेश प्रदेशमा सात सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदुरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ ।

प्लाई उद्योग आगलागी घटना : ३० घर जोखिममा

घोराही (दाङ), ११ चैत : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ११ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १३० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, तितो करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० तथा कुरिलो प्रतिकिलो रु ७०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ४०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १६०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ३३०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा

बागमती, ११ चैत :मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । “आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ”, कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भन्नुभयो, “यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएका छन् ।” आवश्यकतानुसार विद्युत् उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीले बताउनुभयो ।

“वर्षात्को समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा हुन्छ”, सहायक इन्जिनियर बुढाथोकीले भन्नुभयो, “त्यतिबेला हामी ड्याममा पानी सञ्चित गरेर राख्छौँ र सुक्खायाम सुरु भएसँगै रनअफरिभरमा आधारित आयोजनाको विद्युत् उत्पादन घट्छ ।” सुक्खायाममा कुलेखानी जलविद्युत्का युनिटहरू सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

“विद्युत भार व्यवस्थापन केन्द्रको आवश्यकतानुसार हामीले पूर्ण क्षमतामा सञ्चालन गर्दै आएका छौँ”, बुढाथोकीले भन्नुभयो, “अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेका छौँ, आवश्यक पर्यो भने हामी चौबीसै घण्टा विद्युत् उत्पादन गछौँँ ।”

सहायक इन्जिनियर बुढाथोकीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०/८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा बासस्थानको समस्या

चितवन, ११ चैत : नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।”

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो ।

नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ, ११ चैतः अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गर्नुभयो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उहाँले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।”

त्यसो त उहाँले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गर्नुभयो । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उहाँको बुझाइ छ । उहाँले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गर्नुभयो । 

“मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भन्नुभयो । 

कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त ग¥यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गर्नुभएको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गर्नुभएको थियो ।

भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उहाँले बताउनुभयो । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गर्नुभयो । 

“मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उहाँले भन्नुभयो । 

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताउनुभयो । उहाँले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिनुभयो । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ ।

मौसम पूर्वानुमान : कोशीमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ । सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ ।

सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

अस्पतालपछि अब होटलहरुको अनुगमनमा मुख्यमन्त्री सिंह

जनकपुर । मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन् । यहाँका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासा तीव्र भएपछि मुख्यमन्त्री सिंहले होटल अनुगमन सुरु गरेका हुन् ।प्रदेशको भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन् ।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए । अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्विटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएका छन् ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेका चार होटलसहित आइतबार जनकपुरधाममा दस होटलको अनुगमन गरिएको जानकारी दिए । उनले अनुगमनमा रघुपति मिष्ठान भण्डारको अवस्था भने सन्तोषजनक रहेको पाइएको जानकारी दिए ।

नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा

काठमाडौँ, ११ चैत : यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् ।देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिनुभयो ।प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिनुभयो ।

नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गर्नुभयो ।

गोरखामा आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण

गोरखा, ११ चैत : गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१  तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ । 

 यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको थियो । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित

वीरगञ्ज (पर्सा), ११ चैत : वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो । पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, ११ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५६ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४५ , क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १९ पैसा र बिक्रीदर नौ रूपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९३ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा निर्धारण भएको छ । 

त्यसैगरी साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९० पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुल्लाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

बाढीपहिरोको छ महिना : स्थानीय तहद्वारा तथ्याङ्क पठाउन आलटाल

काभ्रेपलाञ्चोक, १० चैत : छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।
राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ ।

गत असोज १०–१२ मा परेको अविरल वर्षातले पु¥याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी  विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् ।  

काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् । क्षति भएका घरहरुको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरुलाई रु २५ हजार राहत दिने छ । विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरु पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् । 

जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्र्तगतको विपद् ब्यवस्थापन समितिलाई निकासा माग गरेको छ । निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ ।

धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । “तीव्र रुपमा वडागतरुपमा प्राप्त विवरण छानविन भइरहेको छ, अब केही दिनमै सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भन्नुभयो । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटकपटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताउनुभयो । “स्थानीय तहले ढिलाई गर्दा बाढीपहिरोपीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाई भइरहेको हो”, उहाँले भन्नुभयो । समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई पीडितको अपडेट र पूर्वतयारीका कार्यहरु यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णयसमेत गरेको छ । 

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । गत असोजको  वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ताको अवस्थामा छन् । कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ । 

दाङमा साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

 घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउन खटिएका छन् ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, ११ चैत : आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।

केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।

सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । 

अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१÷२२ देखि २०२५÷२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र (अनुमानित) उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो ।  

क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ ।

ग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ ।

चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् ।

रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ ।

मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुआत भएको छ ।

राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ ।

आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ ।

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।

तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल

काठमाडौँ, ११ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो ।

“गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत फहल गरिरहेका छौँ, “उहाँले भन्नुभयो, “विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागु गरिएका थिए ।”

महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य प्रवर्द्धनमा जोड दिइएको छ । साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल, तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ । उहाँले सबै पक्षबीच बलियो सहकार्य गरी ‘समर सेड्युल’लाई निरन्तरता दिने र विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सरकारले विमानस्थलको दिगो सञ्चालन सुनिश्चितताका लागि विभिन्न पहलकदमी लिएको छ । श्रम स्वीकृति तथा मेडिकल परीक्षण भैरहवाबाटै गरिने, भिसा सेन्टरको व्यवस्था गरिने, नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गर्नेलगायत मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । यसैबीच गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न यही चैत्र ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरोकारवालासँग छलफल गर्नुभएको छ ।

आरएनपी–एआर प्रणालीको कार्यान्वयन
विगतमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम(आइएलएस)को अभावमा खराब मौसमका कारण केही उडान स्थगित गर्नुपरेको थियो । उक्त समस्याको समाधानस्वरूप भू–उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स–अथोराइजेशन रिक्वार्ड’ (आरएनपी–एआर) अवतरण प्रणालीको प्रस्ताव गरिएको र हाल उक्त प्रणाली कार्यान्वयनमा आइसकेको विमानस्थलले जनाएको छ । अब यस प्रणालीलाई प्रयोग गर्न सक्ने जहाज तथा प्रशिक्षित चालक दल भएको एयरलाइन्सले अवतरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

विमानस्थलको तथ्याङ्कअनुसारअनुसार विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा कुल आठ हजार १५७ यात्रु, भने सन् २०२५ को मार्च २० सम्म मात्र १३ हजार १८१ यात्रुले यो विमानस्थल प्रयोग गरिसकेका छन् । यो सङ्ख्याले उडान सुधारको संकेत देखिएको विमानस्थलको विश्वास छ ।

युक्रेन–रुस वार्तामा ‘वास्तविक प्रगति’ हुने ट्रम्पका दूतको अपेक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफले सोमबार युक्रेन–रुस वार्तामा प्रगति हुने अपेक्षा गरेको बताउनुभएको छ । साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी समर्थक देशमा आफ्नो आक्रमण विस्तार गर्न चाहनुहुन्न भन्ने विश्वास रहेको बताउनुभएको छ ।

“मलाई लाग्छ विशेष गरी दुवै देशबीच जहाजहरूमा कृष्ण सागर युद्धविरामलाई प्रभावित गर्ने गरी सोमबार साउदी अरेबियामा तपाईंले केही वास्तविक प्रगति देख्नुहुनेछ र तपाईँ स्वाभाविक रूपमा पूर्ण गोलीबारी युद्धविराममा आकर्षित हुनुहुनेछ”, विटकफले फक्स न्युजलाई भन्नुभयो ।

“मलाई लाग्छ उहाँ शान्ति चाहनुहुन्छ”, विटकफले पुटिनका बारेमा भन्नुभयो, “गत हप्ता धेरै प्रगति भयो ।” पुटिनको सेनाले सन् २०१४ देखि युक्रेनको ठूलो भाग कब्जा गरेको छ र सन् २०२२ मा पूर्ण आक्रमण सुरु गरेको थियो ।

ट्रम्प सत्तामा आएपछि अमेरिकाले रुसप्रति आश्चर्यजनक दृष्टिकोण परिवर्तन गरेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वमा वासिङ्टनले मस्कोलाई आक्रमणकारीका रूपमा मान्यता दिएको थियो र क्रेमलिनमाथि दबाब दिन पश्चिमी गठबन्धनको नेतृत्व गरेको थियो ।

विटकफले अब अमेरिकाको मुख्य भूमिका दुवै पक्षलाई बुझ्ने र मध्यस्थता गर्ने रहेको बताउनुभयो । “कथाको दुई पक्ष नभएको अवस्था मैले कहिल्यै देखेको छैन । यो मानिसहरूले चित्रण गर्न चाहेको जस्तो कालो र सेतो कहिल्यै हुँदैन । त्यसैले, दुवै पक्षको गुनासो छ तर हाम्रो काम… मुद्दाहरूलाई सङ्कुचित गर्नु, पक्षहरूलाई एकसाथ ल्याउनु र हत्या रोक्नु हो”, उहाँले भन्नुभयो ।

रुसले युक्रेनको धेरै भाग कब्जा गर्न खोज्छ वा युरोपका अन्य भागहरूमा पनि जान खोज्छ कि भनेर सोधिएको प्रश्नमा विटकफले यो ‘शैक्षिक’ थियो भन्नुभयो ।

“उहाँ सम्पूर्ण युरोप लिन चाहनुहुन्छ भन्ने मैले देखेको छैन”, विटकफले फक्स न्युजलाई भन्नुभयो, “म उहाँको शब्दलाई यस अर्थमा विश्वास गर्छु, त्यसैले, र मलाई लाग्छ युरोपेलीहरू पनि त्यो विश्वासमा आउन थालेका छन् । तर यसले केही फरक पार्दैन । त्यो एक शैक्षिक मुद्दा हो…. एजेन्डा हो, हत्या रोक्नु, नरसंहार रोक्नु । यो कुरा समाप्त गरौँ ।”

युक्रेनमा रुसी कब्जाको अघिल्लो निन्दाबाट वासिङ्टन कति टाढा गएको छ भन्ने अर्को सङ्केतमा उहाँले भन्नुभयो, “रुसी देशभित्र यी रुसी क्षेत्रहरू हुन् भन्ने धारणा छ ।”

उहाँले मस्कोको शासनका लागि समर्थन देखाउन रुसले कब्जा गरेका क्षेत्रहरूमा गरेको जनमत सङ्ग्रहको शृङ्खलालाई उद्धृत गर्नुभयो । तर युक्रेन र धेरै अन्तर्राष्ट्रिय समुदायले यसलाई अवैध भन्दै निन्दा गरेका थिए ।“मस्कोको दृष्टिकोणमा ती मतहरूले उनीहरूको कार्यलाई ‘न्यायसङ्गत’ ठान्छन्”, उहाँले भन्नुभयो, “यो मेरो पक्ष लिने कुरा होइन । म केवल समस्याहरू के हुन् भनेर पहिचान गर्दैछु ।”

एसइई परीक्षामा अमर्यादित काम गरेको भन्दै एक विद्यालयका केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो

वीरगञ्ज (पर्सा) १० चैत : जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले महानगरस्थित सुरजीदेवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरबाही तथा उच्छृङ्खल क्रियाकलाप देखिएकाले केन्द्राध्यक्ष नन्द्रकिशोर राम, सहायक केन्द्राध्यक्षद्वय सविता चौधरी र चन्द्रशेखर झासहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो । 

प्रजिअ अर्यालले वैकल्पिक सूचीमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ब्रजमोहनप्रसाद कानुलाई उक्त परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । सोही परीक्षा केन्द्रका परीक्षार्थी ‘सिम्बल नम्बर’ ०३७०२४५६ ‘डि’ लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने निर्णय पनि गरिएको छ । 

वीरगञ्ज महानगरकै नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका केन्द्राध्यक्षलाई संदेहास्पद गतिविधि गरी उक्त केन्द्रको समग्र अनुशासनको पक्ष  फितलो बनाएको भन्दै थप सावधानी, सतर्कता र अनुशासित भएर परीक्षा सञ्चालन गर्न सचेत गराइएको छ ।

नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते

काठमाडौँ, १० चैत: काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् । चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५÷२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित

काठमाडौँ, १० चैतः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जित निकालेको छ । भारतको राजिव गान्धी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै हैदरावादले दुई अङ्क जोडेको छ ।

हैदरावादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए । हैदरावादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई दुई विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनाएको थियो । हैदरावादका लागि इशान किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतले अविजित एक सय छ रनको योगदान दिए । यसैगरी ट्रभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए । हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।राजस्थानका लागि तुषार देशपाण्डेले तीन विकेट लिए भने महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए ।

युक्रेनमा ‘कठिन वार्ताहरू’ आउने क्रेमलिनको भनाइ

क्रेमलिनले आइतबार युक्रेन द्वन्द्वको द्रुत समाधानको अपेक्षालाई कम आकलन गर्दै वार्ताहरू भरखर सुरु भएको र ‘कठिन वार्ताहरू’ आउने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षभन्दा बढीको लडाइँको द्रुत अन्त्यका लागि दबाब दिनुभएकाले रुस र युक्रेनका प्रतिनिधिमण्डलले आगामी ४८ घण्टामा साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गर्ने तयारी गरेका छन् ।

“हामी यस मार्गको सुरुआातमा मात्र छौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले रुसी सरकारी टेलिभिजनलाई भन्नुभयो ।सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा धेरै उल्लेखनीय ‘प्रश्न’ र ‘सूक्ष्मताहरू’ रहेको उहाँले बताउनुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण र तत्काल ३० दिने विरामका लागि अमेरिकी–युक्रेनी संयुक्त आह्वानलाई अस्वीकार गर्नुभएको छ । यसको सट्टा उहाँले ऊर्जा सुविधाहरूमा मात्र आक्रमण रोक्न प्रस्ताव गर्नुभएको छ ।

“आगाडि कठिन वार्ताहरू छन्”, पेसकोभले सामाजिक सञ्जालमा प्रकाशित अन्तर्वार्तामा भन्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिकासँगको वार्तामा रुसको ‘मुख्य’ ध्यान सन् २०२२ को कृष्ण सागर अनाज सम्झौताको सम्भावित पुनः सुरुआतका बारेमा छलफल गर्ने पनि हुने बताउनुभयो । उक्त सम्झौताले कृष्ण सागरमा युक्रेनी कृषि निर्यातका लागि सुरक्षित यातायात सुनिश्चित गरेको छ ।

“सोमबार हामी मुख्य रूपमा तथाकथित कृष्ण सागर पहल पुनः सुरु गर्ने राष्ट्रपति पुटिनको सम्झौतामा छलफल गर्न चाहन्छौँ र हाम्रा वार्ताकारहरू यस समस्या वरपरका सूक्ष्मताहरूबारे छलफल गर्न तयार हुनेछन्”, पेसकोभले भन्नुभयो ।

पश्चिममाथि रुसको आफ्नै कृषि उत्पादन र मलको निर्यातमा लगाइएको प्रतिबन्धलाई सहज बनाउन असफल भएको आरोप लगाउँदै सन् २०२३ मा टर्की र संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेको सम्झौताबाट मस्को बाहिरिएको थियो ।

अब भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने

बैतडी, १० चैतः बैतडीको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै महामारी रोग ‘पिपिआर’ फैलन नदिन भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित भएको हुनुपर्ने जनाएको हो । पञ्चेश्वरलगायत क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकाले त्यसबाट बच्न यस्तो गर्नुपरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर साउँदले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले महामारी फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न आग्रह गर्रिको बताउनुभयो । उहाँले भन्नुभयो, “महामारी रोग पिपिआर फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न भनेका हौँ । पालिकाभरिका सबै किसानलाई निरोगी प्रमाणित गरेर मात्र किनबेच गर्न आग्रह गर्दर्छौँं ।”

यसअघि पञ्चेश्वर गाउँपालिका–६ मा पर्ने बिजुल गाउँमा पिपिआरबाट ५७ बाख्रा मरेका थिए । यस रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि पञ्चेश्वर गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविरसमेत गरिएको थियो ।

शिविरका साथै हाल पनि बाख्रालाई पिपिआरविरुद्धको खोप दिने कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख गुमानी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा पशुस्वास्थ्य शिविरको आयोजना गरेका छौँ । यसबाहेक आसपासका गाउँमा नियमित खोप दिने कार्य भइरहेको छ ।”

जिल्लाका अन्य पालिकालाई पनि भेडाबाख्रा ओसारपसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्न विज्ञ केन्द्रले आग्रह गरेको छ । बाख्रामा कुनै लक्षण देखिएमा विज्ञ केन्द्र र पालिकाको पशुसेवा केन्द्रमा सम्पर्क गर्न सुझाइएको छ । पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायत लक्षण देखिन्छ । लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको जनाइएको छ ।

मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध

काभ्रेपलाञ्चोक, १० चैतः यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको छ ।

यसलाई अन्तिम रूप दिई कार्य प्रारम्भ गर्न आज फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरको औपचारिक भ्रमणपश्चात् भगिनी सम्बन्धको औपचारिक घोषणा गरिएको छ । नगरसभाको दोस्रो विशेष अधिवेशन–२०८१ आयोजना गरी मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवा र सुदोले सम्बन्धमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो । गभिनी सम्बन्धका लागि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीले विशेष समन्वय गरेको नगरप्रमुख वाइबाले जानकारी दिनुभयो ।

उहाँले विकसित देश जापानको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु गौरवको विषय भएको र यसले यहाँको कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदानका साथै यी क्षेत्रको विकासमा थप प्रगति हुने अपेक्षा रहेको बताउनुभयो । नगरप्रमुख वाइबाले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेकाले यो सम्बन्ध मण्डनदेउपुरको विकासमा समेत कोसेढुङ्गा सावित हुने विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सुदोले दुई नगरबीचको सम्बन्धको सुरुआतको क्षण ऐतिहासिक भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरको विविध आयामलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अब हामी दुई नगरको सम्बन्ध प्रगाढ हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

गत माघ दोस्रो साता मण्डनदेउपुरका जनप्रतिनिधिको टोलीले जापान भ्रमणका क्रममा फुजिनोमिया नगरसँग भएको भगिनीसम्बन्धको सम्झौतालाई आज औपचारिकता दिइएको हो ।

सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

सिरहा, १० चैत: सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आज सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो । शुक्रबार पक्राउ परेका दुवै जनालाई आज जिल्ला अदालतबाट आवश्यक अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानिसकेको छ । यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् । घटनामा सङ्लग्न बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल

काठमाडौँ, १० चैत: अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त हुनुभएको छ । परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आज अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ । पत्रअनुसार मल्लले काठमाडौँ उपत्यका हेर्ने जिम्मेवारी पाउनुभएको छ । मल्लको पदावधि २०८४ चैत ९ गतेसम्म हुनेछ ।

मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका सिलसिलामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । “अर्मेनिया गणतन्त्रका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा जारी मिति १२ मार्च २०२५ को समादेश–पत्रमार्फत काठमाडौँ उपत्यकामा रहनेगरी किरण मल्ललाई नेपालको अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावलीबमोजिम अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै यो पत्र जारी गरिएको छ”, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विसं २०१८ मा दाङमा जन्मिएका ऊर्जा व्यवसायी मल्ल बुटवल पावर कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक हुनुहुन्छ । उहाँले नर्वेबाट जलविद्युत् विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

नियुक्तिपश्चात् नेपालस्थित अर्मेतियाका अवैतनिक वाणिज्य दूत र परराष्ट्र मन्त्रालयका अधिकारीबीच द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।