`

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी

रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने प्रयास गरेको दावी गर्नुभएको छ । विदेशमन्त्री लाभरोभका अनुसार किएभको सहभागिताबिना नै छलफल गर्न खोजिएको थियो भन्ने दावी गलत भएको भनी खण्डन गरेको छ ।

अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनमा सहभागी मुलुकहरूले युक्रेनको समर्थनमा संयुक्त मोर्चाको आह्वान गरेका छन् र युक्रेनको सहमति बिना कुनै पनि निर्णय लिन नसकिने बताउँदै आएका छन्।

“धेरै पटक हाम्रा फ्रान्सेली सहकर्मीहरूले गोप्य च्यानलहरूमार्फत युक्रेन सन्दर्भमा उसको सहभागिता बिना वार्ता गरौँ भनी अपील गरेका छन्,” लाभरोभले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।उहाँले रूसी अधिकारीहरू धारणा सुन्न तयार रहेको बताउनुभयो ।

“लाभरोभले यी अपीलहरू कहिले भएको वा कथित सम्पर्कको बारेमा थप विवरणहरू दिनुभएन,” फ्रान्सेली कुटनीतिक स्रोतले एएफपीसँग बताएको छ ।

स्रोतले भन्यो, “रूसी अधिकारीहरू आक्रामक युद्धलाई निश्तेज पार्न फाइदा उठाउने उद्देश्यले असंयमित टिप्पणी गर्न अभ्यस्त छन्, जसको पूर्ण जिम्मेवारी उनीहरूले वहन गर्नुपर्छ ।”

“फ्रान्सले युद्धको सुरुवातदेखि नै वार्ता प्रक्रियामा प्रवेश गर्न चाहेको समय र परिस्थिति निर्धारण गर्ने जिम्मा युक्रेनको भएको बताउँदै आएको छ,” स्रोतले जनाएको छ ।

करिब तीन वर्ष लामो द्वन्द्वपछि अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अर्को महिना कार्यभार सम्हाल्ने तयारी गरिरहँदा शान्ति वार्ताको सम्भावनाबारे छलफल भइरहेको छ ।

ट्रम्पले पटक–पटक भन्नुभएको छ, “कसरी युद्ध अन्त्य गर्ने वस्तुगत व्याख्या नगरी आफूले युक्रेन युद्ध अन्त्य गर्ने लक्ष्य राखेको बताउनुभएको छ।” फ्रान्सले युक्रेनमा सम्भावित युद्धविरामको निगरानीका लागि पश्चिमी सेना पठाउने धारणा अघि सारेको छ ।

रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

नवलपरासी, १२ पुसः पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ । पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेलापरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्नेगरी बुद्धकालीन सहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन् । कोलीय गणराज्यको महत्त्वपूर्ण सहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले गरेको उत्खननले महत्त्वपूर्ण प्रमाणसहितका संरचना भेटिएका हुन् । यसअघि भएको जियोफिजिक्स सर्भे (भूभौतिक अध्ययन)का क्रममा देखिएको बुद्धकालीन सहरको संरचना उत्खननका क्रममा फेलापरेको छ । ती सामग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उहाँको भनाइ छ । पण्डितपुरमा उत्खनन टोलीले एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेर सो क्षेत्रको प्राचीन सांस्कृतिक अवस्थाका विषयमा पनि अध्ययन गरेको छ । बौद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताउनुभयो ।

यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्व विभागले जनाएको छ । उक्त स्थलको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । पुरातात्विक क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्न तारबार गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

पण्डितपुरमा गरिएको उत्खननका क्रममा जमिनको सतहबाट १० सेन्टिमिटर पुरातात्विक संरचना फेलापरेका छन् । सामान्य खनजोतका क्रममा पनि पुरातात्विक सामग्री भेटिने पण्डितपुर संवेदनशील पुरातात्विक क्षेत्रका रूपमा रहेको छ । केही सार्वजनिक र धेरै निजी स्वामित्वका जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । झण्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलिय गणराज्यको राजधानीको रूपमा दाबी गरिँदै आइएको छ ।

मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठ वटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।

 बिहीबार जनकपुरधाम पुगेको टोलीले भोलिदेखि ट्रफी परेड सुरु गर्ने भएको जनकपुर बोल्ट्सले जनाएको छ । रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुने जनाइएको छ ।

जनकपुर बोल्ट्सका अनुसार पहिलो दिन आज धनुषाको रामजानकी मन्दिरबाट ट्रफी परेड सुरु हुनेछ । आज रामजानकी मन्दिरबाट सुरु हुने परेड रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुने जनाइएको छ । 

दोस्रो दिन महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड आयोजना गरिने जनाइएको छ । बोल्ट्सका अनुसार चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा हुनेछ कार्यतालिका छ ।

जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै उपाधि चुमेको हो । जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो ।

अख्तियारले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान दु्रतगतिमा गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरूपयोेग अनुसन्धान आयोग कार्यालय इटहरीद्वारा विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरी कार्यक्रममा उहाँले अनुसन्धानका नाममा लामो समयसम्म काम लम्ब्याउन नहुने तर्क गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले कानुनले गर्न भनेका काम गलत ढङ्गले गर्ने र नगर्नुपर्ने काम गरेका विषयमा आयोगले थप जनशक्ति प्रयोग गरी समयमै फछ्र्याेट गर्नुपर्नेमा सुझाव दिनुभयो । उहाँले आयोगको अनुसन्धानका परिणामप्रति सरकार, जनता र सञ्चार जगत् सन्तुष्ट नभएको गुनासो व्यक्त गर्नुभयो । आयोगले बेनामे उजुरी नलिन आग्रह गर्दै उहाँले यसबाट भ्रष्टाचारजन्य अन्य मुद्दामा अनुसन्धानमा सहयोग पुग्ने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले सम्पूर्ण जनप्रतिनिधिले विधिको शासन र कानुनी प्रक्रिया मिलाएर कार्य गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुने बताउनुभयो ।

प्रदेशका प्रमुखसचिव केदारनाथ शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताउनुभयो । आयोगका आयुक्त डा हरि पौडेलले गलत प्रवृत्तिका उजुरीलाई तामेलीमा राख्ने गरेको जानकारी दिँदै बेनामे उजुरीबाट ठूला भ्रष्टचारजन्य कार्यको जानकारी प्राप्त हुने गरेको विचार राख्नुभयो ।

आयोगका सह न्यायायाधिवक्ता गङ्गाप्रसाद पौडेल र आयोगको इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले आयोगले गरेका कार्यका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

आयोगका उपसचिव नीरजकुमार देवले मुलुकमा भ्रष्टारचार नियन्त्रण र सुशासन कायम गर्न चेतना जगाउन प्रत्येक प्रदेशमा यस प्रकारको कार्यक्रमको आयोजना गर्ने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशका मन्त्री, महानगर, नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुखलगायत कर्मचारीको सहभागिता थियो ।

बाढीपहिरोका कारण बजेट खुम्च्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह, विनियोजितमध्ये ४६ करोड कटौती गरिने

काभ्रेपलाञ्चोक- असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्बासका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट खुम्च्याउन थालेका छन् । यसका लागि केहीले विशेष अधिवेशनसमेत आयोजना गरी चालु आव २०८१/८२ को योजना तथा बजेट संशोधन थालेका हुन् । आज सम्पन्न पनौती नगरपालिकाको १६औँ नगरसभाले चालु आवका लागि विनियोजित बजेटमध्ये रू ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।

चालु आवका लागि विनियोजित रू एक अर्ब ६० करोडको बजेटमा संशोधन गरी रू एक अर्ब १४ करोडमा खुम्च्याइएको हो । रू ४६ करोड बजेट योजनासहित कटौती गरिएको तथा केही विपत्तिका लागि नयाँ योजना थपिएको नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । उहाँका अनुसार सभाले सङ्घीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक स्रोत तथा जनसहभागिताका योजनामा विनियोजन गरिएको बजेट कटौती गरिएको छ । नगर उपप्रमुख गीता बञ्जाराले नगरसभामा आर्थिक ऐन, २०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार विपद् प्रतिकार्यका रू ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रम समावेश गरी रू एक अर्ब १४ करोडको संशोधित बजेट पास भएको हो । गत असोज १० देखि १२ गतेको वर्षापछिको बाढीपहिरोले पनौतीमा एक विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको थियो । उक्त घटनामा अझै एक जना बेपत्ता छन्भने पाँच सय ८६ घर पूर्ण क्षति तथा नौ सय ४४ घरमा आंशिक क्षति पुगेको नगरले जनाएको छ ।

यस्तै सडक, सिँचाइ, खानेपानी, पुललगायत पूर्वाधार एवं संरचनामा क्षति पुगेका छन् । यसैगरी यही पुस ४ गते धुलिखेल नगरले १६औँ अधिवेशनमा विशेषसभाको आयोजना गरी बाढीपहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनःनिर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालु आवको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार उक्त नगरसभाले कर्मचारी व्यवस्थापनसम्बन्धी (विशेष) विधेयक, जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८१, आर्थिक ऐन तथा राजस्वका दररेट संशोधन गर्ने निर्णय गरेको थियो । अब हुने कार्यपालिका बैठकमा संशोधित योजनाबारे बृहत् छलफल गरी आवश्यक बजेट संशोधन गर्दै लगिने ब्याञ्जूले बताउनुभयो ।

ब्याञ्जूका अनुसार धुलिखेललाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेसमेत निर्णय गरिएको छ । नगरसभाले नगरप्रमुखको संयोजकत्वमा विभिन्न क्षेत्रका व्यक्ति सदस्य रहनेगरी वडास्तरमा विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै सभाले पूर्वाधार, खानेपानी, भवन, आवास तथा सहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपूरक तथा साझेदारी सङ्घ र प्रदेशका योजनामा विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको जनाइएको छ । यसअघि विशेष अधिवेशनको आयोजना गरी जिल्लास्थित रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि चालु आर्थिक वर्षको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन् ।

जाडोयाम सुरू भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपहिरो प्रभावितलाई थप राहत प्रदान गर्न गाउँसभाको विशेष अधिवेशनले छुट्टै बजेट व्यवस्थापन गरेको जनाएको छ । बेथानचोक गाउँपालिकाले गत मङ्सिर १४ गते नै विशेष गाउँ अधिवेशनको आह्वान गरी चालु आवमा विनियोजित रू ६४ करोड १२ लाख बजेटमा रू नौ करोड ३१ लख ८७ हजार कटौती गरी विपद् व्यवस्थापन कोषका लागि छुट्याएको थियो । गाउँपालिकाले चालु आवका लागि १५औँ अधिवेशनद्वारा पारित महत्त्वपूर्ण योजनाबाहेकका योजना कटौती गरी विपद् व्यवस्थापन योजनाको प्रक्रियामा लागिएको अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । बाढीपहिरोले उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो ।

यस्तै रोशी गाउँपालिकाले बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएपछि १५औँ अधिवेशनले चालु आवको योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् व्यवस्थापन गर्न गत कात्तिक ३० गते नै विशेष सभामार्फत निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रू दुई करोड ८० लाखको बनाएको जनाएको छ ।

कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायतका विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि विनियोजित रू ६९ करोड २० लाख ९८ हजारमा रू तीन करोड ४३ लाख घटाएर रू ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरिएको छ ।

उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ पूर्ण रूपमा तथा आठ सय ८३ घरमा आंशिक रूपमा क्षति पुगेको थियो । बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो । घटनाको करिब तीन महिनामा जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले भने बाढीपहिरोले पुर्‍याएको जनधनको यकिन विवरण नबुझाएकाले सरकारद्वारा तत्कालीन राहत तथा पुनर्बासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन नसकिएको जनाएको छ ।

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

काठमाडौँ, १२ पुस : अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ ।

प्राविधिक रूपमा सहजता बढेसँगै पुराना चलचित्रकर्मीको उपस्थिति कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, नरेश पौड्याल, प्रदीप श्रेष्ठलगायत प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन सक्नुभएको छैन । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उहाँहरूको काम सङ्ख्यात्मक हिसाबमा कम भएको पाइन्छ ।

गत वर्ष २०८० साल पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताउनुभएको थियो । यद्यपि, उहाँले चलचित्र निर्देशनलाई निरन्तरता दिन सक्नुभएको छैन । “अहिले चलचित्र बनाउनभन्दा दर्शकसम्म पुर्याउन कठिनाइ भएको पाइन्छ”, उहाँले भन्नुभयो ।

निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘उपहार’ हो । उहाँले पछिल्लो समय केही नयाँ चलचित्रको काम गरिरहेको बताउनुभयो । “अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ । हामीले दशक आगाडिको शैलीमै काम गर्र्यौँ भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ । म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रूपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु”, निर्देशक देउजाले भन्नुभयो ।

उहाँले विसं २०७९ मा ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गर्नुभएको थियो । त्यसपछि उहाँ चलचित्रको कामलाई निरन्तरता दिने बताउनुहुन्छ । तर, उहाँका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ ।

‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’लगायत चलचित्र निर्देशन गर्नुभएका निर्देशक प्रदीप श्रेष्ठले नयाँ चलचित्रको तयारी गरे तापनि त्यसलाई पूर्णता दिन सक्नुभएको छैन । “अहिले चलचित्रको लागत बढेको छ । बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन । सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो”, निर्देशक श्रेष्ठले भन्नुभयो, “अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको ५० प्रतिशतभन्दा बढी हुन्छ । मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर काम सुरु गर्न विविध कारणले ढिलाइ भइरहेको छ ।”

डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायत समस्याले अहिले लगानी असुरक्षित हुने गरेको पुराना चलचित्रकर्मीहरूको निष्कर्ष थियो । यद्यपि, चलचित्र निर्माण गर्ने तयारी भने उनीहरूले छाडेका छैनन् ।

कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा, १२ पुसः कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो ।

“पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।”सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । सिंहआज घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।

उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उहाँलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।

“सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो, “ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिनुभएको थियो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो ।

उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उहाँलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।

प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो ।

उहाँले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो । उहाँ हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोड्नु भएको छ । संसद्मा उहाँको विचारशील हस्तक्षेप सधैं अविस्मरणीय रह्यो । प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो ।”

कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिनुभएको छ ।

उहाँले भन्नुभयो, “मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो। उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो।”

उहाँले भन्नुभयो, “उहाँको परिवारप्रतिे हार्दिक समवेदना प्रकट गर्दछु । मैले एक जना गुरु र मार्गदर्शक गुमाएको छु । हामीमध्ये लाखौं उहाँका शुभचिन्तक थियौं । हामी उहाँलाई गर्वका साथ सम्झनेछौं।”

उहाँले भन्नुभयो, “मनमोहन सिंहजी प्रधानमन्त्री हुँदा र म गुजरातको मुख्यमन्त्री हुँदा मसँग नियमित कुराकानी गर्नुहुन्थ्यो। हामीले शासनसँग सम्बन्धित धेरै विषयमा विस्तारमा छलफल गथ्र्यौं । उहाँको विद्वता र नम्रता सधैं सम्झिइनेछ ।“

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना

कटारी (उदयपुर), १२ पुसः कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो ।

पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । “अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ ।”

कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो । “घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य हो”, अधिकृत साहले यस क्षेत्रका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको बताउनुभयो ।

यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । “यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन ।”

पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो । वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ । सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो ।

यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ पुसः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको भाउ भने घटेको छ ।

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा कायम भएको छ ।

दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ १२ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

मकवानपुर, ११ पुसः बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा हालै बढुवा भएका एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सङ्घीय सरकारले सरुवा गरी पठाएका डा. सुमित्रा गौतम, वीरेन्द्रदेव भारती र रितेशकुमार शाक्यलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश निजामती ऐन अनुसार ११ औं तहमा बढुवा हुनुभएका खुविराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।

प्रदेश प्राविधिक तथा व्यावसायिक एवम् तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१, वार्षिक आयोजना छनोट कार्यविधि २०७८ संशोधन, तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ र प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम २०८१ लाई मन्त्रिपरिषद् अन्तर्गतको समितिमा छलफलका लागि पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री लामिछानेले बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालय सबलीकरण कार्यक्रमका लागि रु १० लाख र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई रु १० करोड अनुदानबापत निकासा गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

प्रदेश खानेपानी तथा सरसफाइ विधेयक तर्जुमा गर्न खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने, अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण कार्यक्रम कार्यान्वय कार्यविधि २०८१ स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

काठमाडौँ, ११ पुसः काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ । काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयमा सहकार्य गर्न सिसिटिभी जडान गराउने सम्झौता–पत्रमा उल्लेख छ ।

सिसिटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सिसिटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसारको हुनेछ । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन, ११ पुसः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताउनुभएको छ । पूर्वी चिवतनको सौराहामा आजदेखि सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशमा भएका साधनस्रोतलाई न्यायोचित तवरले देशको हित र अर्थतन्त्रलाई चलायमान गर्ने गरी बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।” स्थानीय उत्पादनलाई प्रोत्साहन दिँदै महोत्सवलाई भरपुर उपयोग गर्नुपर्ने मन्त्री सिंहले बताउनुभयो । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीको म्युजिकल वाक, हात्तीको स्वास्थ्यपरीक्षण गरिने महोत्सवका संयोजक रामकुमार अर्यालले बताउनुभयो ।

त्यसैगरी पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया जस्ता कार्यक्रमम गरिने जनाइएको छ । महोत्सवमा ८० वटा हात्ती सहभागी गराइने क्षेत्रीय होटल सङघ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो ।

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर, ११ पुसः नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परम्परागत रुपमा विभिन्न जात्रा, पर्व र मेलामा बजाइने भिमे बाजाको बागमती प्रदेशभरि नै संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।


नगरप्रमुख जीवन खत्रीले नगरपालिकाले एक वर्षभर आयोजना गर्न लागेको नगरकोट महोत्सव–२०८२ को प्रचारप्रसार एवं धिमे बाजाको सरक्षण गर्ने उद्देश्यले यही पुस २० गते चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने छ । द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान, सिछ्या एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान प्रदान गरिने भएको छ । 

सान्त्वना हुनेलाई रु पाँच हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमय् बाजा एक थान, उत्कृष्ट छैटौँदेखि १०औँ स्थानसम्मः भुछ्या एक–एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने जनाइएको छ । 

चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिता सफल पार्न वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको छ । 

प्रतियोगितामा सहभागी जनाउन बागमती प्रदेशभित्रका १३ जिल्लाका सबै पालिकामा पत्राचार गरिसकेको र प्रतियोगितामा सहभागी हुन चाहनेले नगरपालिका कार्यालयमा आफैँ उपस्थित भएर वा इमेलमार्फत फाराम भर्न नगर प्रमुख खत्रीले आग्रह गरेको बताउनुभयो । 

प्रतियोगिताका लागि रु ११ लाखको बजेटको व्यवस्थापन गरेको र काठमाडौँ उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङलगायतका जिल्ला तथा ती जिल्लाका नगरपालिका, गाउँपालिका १३ जिल्लाबाट करिब ५० वटा समूहको प्रतियोगितामा रहभागिता रहने उहाँले बताउनुभयो ।

यही पुस १५ गतेभित्र दर्ता भइसकेको समूहले प्रतियागितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा नेवारी खाजा तथा खाना महोत्सव पनि आयोजना हुनेछ । 

स्रोत नखुलेको ९२ लाखसहित पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर–४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते पक्राउ गरी आज सार्वजनिक गरेका छौँ ।” पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

सिचुवान एयरलाइन्सको विमानबाट आज प्रवद्र्धनात्मक उडान

कास्की, ११ पुसः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट आज प्रवद्र्धनात्मक उडान गरिएको छ ।

पोखराबाट प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित एक सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ काठमाडौँ अवतरण गरेको हो । 

यसअघि बिहान चीनको छेन्दुबाट एक सय २९ यात्रु बोकेर पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सले पोखराबाट यात्रु बोकेर काठमाडौँ उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक एयरबस पूर्ण क्षमतामा उडान र अतवरण भएको छ । 

प्रवद्र्धनात्मक उडानपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट विमानहरुलाई अन्तर्राष्ट्रिय उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो । 

विमानस्थलको धावनमार्ग र नजिकको डाँडाका कारणले ठूला आकारका जहाज सञ्चालनमा समस्या हुने दावीलाई प्रवद्र्धनात्मक उडानले गलत सावित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा एयरबस जुनसुकै राम्रोसँग उडान र अतवरण गर्न समस्या छैन भन्ने पुष्टि भएको छ । अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक छ ।” अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने  बताउनुभयो । 

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएशन (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । प्रवद्र्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो । पहारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

 यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् । विमानस्थलमा कहिलेकाँही चार्टर उडान भएपनि व्यावसायिक उडान हुन सकेको छैन ।

रास्वपाद्वारा सुदूरपश्चिमको नौै जिल्लामा जिल्ला समिति गठन

काठमाडौँ, ११ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाकोे सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिनुभयो ।

विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समिति गठन भएको उहाँले बताउनुभयो ।

 उहाँका अनुसार कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपाल सिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशब बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भिमनाथ, कञ्चनपुरमा पदमबहादुर विष्टको नेतृत्वमा जिल्ला समिति गठन भएका छन् । 

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ ।
दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताउनुभएको हो ।

खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्यधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताउनुभएको छ ।

अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मङ्गलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गर्नुभएको छ ।

“तीन दिनको शिशु र एक महिनाभन्दा कम उमेरका अर्को एक शिशु गरी अन्य दुई अत्यधिक तापक्रममा आएको गिरावटका कारण मृत्यु भएको छ,” उहाँले भन्नुभयो ।

गाजामा १४ महिनाभन्दा लामो युद्धका कारण विस्थापित भएका प्यालेस्टिनीहरूलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “उनीहरू टेन्टमा बस्छन् र जाडो यामसँगै पछिल्ला केही दिनमा चिसो बढेपछि उनीहरू विरामी परेका र यो नै उनीहरूको मृत्युको कारण बनेको छ।”

“टेन्टले चिसोबाट जोगाउँदैन, र रातको समयमा धेरै जाडो हुन्छ, न्यानो राख्ने कुनै उपाय छैन,” फाराले भन्नुभयो ।

नवजात शिशुका लागि जोखिम विशेष गरी तीव्र रहेको बताउँदै उहाँले अगाडी भन्नुभयो, “धेरै आमाहरू कुपोषणको सिकार हुन्छन् जसले गर्दा उनीहरूका बच्चाहरूले खाने दूधको गुणस्तरमा असर पार्छ ।”

मृत्यु भएकी तीन हप्ताकी बालिका सिला अल–फसीह खान युनिस नजिकै भूमध्यसागरीय तटमा रहेको अल–मावासी टेन्ट शहरमा बस्दै आउनुभएको छ ।

बालिकाका बुबा महमुद अल–फसीहले एएफपीसँग भन्नुभयो, छोरीले रातभर स्तनपान गरेकी थिइन् तर बिहान ‘जिब्रो काटेको र रगत बगेको’ देखिएको थियो ।”“हामीले उनलाई डाक्टरकहाँ लग्यौं, जसले हामीलाई चिसोका कारण यस्तो भएको बताए र यस्तै लक्षण भएका धेरै केसहरू देखिएका छन्।”

फासीहले भन्नुभयो, “अत्यधिक जाडो बढेको छ । बस्नका लागि पाल उपयुक्त छैन। बच्चाहरू सधैं बिरामी हुन्छन्।”

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीका क्रममा गाजा पट्टीका २४ लाख बासिन्दामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन् ।

इजरायलको मौसम सेवाका अनुसार हालैका दिनहरूमा गाजाको तापक्रम रातको समयमा आठ डिग्री सेल्सियससम्म झरेको र युद्धका कारण घरबास गुमाएका प्यालेष्टिनीले चिसोमा पनि पालमा बस्नुको विकल्प छैन ।

फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन । फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।
फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’ देखि ‘हिरो’का रुपमा अभिनय गरेका हुन् । निर्देशन न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

कांग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप

काठमाडौँ, ११ पुसः नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो ।

ती जिल्लाहरूले सहिद दिवसका दिन  माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा साङ्गठनिक रूपले गर्न÷गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन कांग्रेसले निर्देश गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम साङ्गठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

नेपालगञ्ज (बाँके), ११ पुसः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिनुभयो ।

निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उहाँले बताउनुभयो । उक्त सवारीमा बढीमा १० जनाले जङ्गल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि रु दुई हजार पाँच सय शुल्क बुझाउनुपर्ने हुन्छ ।

सूचना अधिकारी पङ्गेनीले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताउनुभयो । सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेललागायतका वन्यजन्तु अवलोकन गर्नसक्ने छन् । वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएको उहाँको भनाइ छ ।

उहाँले बाघको बासस्थान पत्ता लगाउन क्यामरामार्फत सर्वेक्षण भइरहेको जानकारी दिनुभयो । उक्त सर्वेक्षणले बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ ।

विसं २०६७ मा बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्न लागेको जानकारी गराएकी छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा उनले सगरमाथा संवादका लागि आवश्यक तयारी भइरहेको बताएकी हुन् । उनले जलवायु क्षेत्रमा नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता पूरा गरेको उल्लेख गरिन् ।

मन्त्री राणाले भनिन्, ‘पछिल्लो अध्ययनले यस शताब्दीको अन्त्यसम्म हिमालको ८० प्रतिशत हिउँ पग्लिने देखाएको छ, यही सोचेर जलवायु सङ्कट समाधानमा लाग्नुपर्छ, जलवायु न्यायको लक्ष्यसँगै पुग्ने बाटो पनि राम्रो हुनुपर्छ।’

कोप–२९ सम्मेलनमा विकसित मुलुकहरुले अति कम विकसित मुलुकलाई कार्बन उत्सर्जन गरेवापत वार्षिक तीन सय बिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको उल्लेख गर्दै उनले त्यसको थारै हिस्सा मात्र नेपालमा ल्याउन सके जलवायु परिवर्तनका असरबाट प्रभावितलाई न्याय प्रदान गर्न सकिने धारणा व्यक्त गरिन् ।

फरक प्रसङ्गमा मन्त्री राणाले भनिन्, ‘मुलुकमा सुशासन कायम गर्न र जनताका समृद्धिका आकांक्षा पूरा गर्नका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर वर्तमान सरकार गठन भएको हो, यही भावनाअनुसार कर्मचारीतन्त्रले पनि काम गर्नुपर्छ।’

साथै उनले केही हप्ताअघि नेदरल्याण्डको हेगमा सम्पन्न अन्तर्राष्ट्रिय अदालतमा भएको जलवायु परिवर्तनमा राष्ट्रहरुको दायित्वसम्बन्धी सुनुवाइमा नेपालको महत्वपूर्ण सहभागिता र सम्बोधनका बारेमा जानकारी गरेका थिइन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धिका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो। सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो। उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो।

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

काठमाडौँ, ११ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बुढाथोकीले सवारीसाधन आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २५ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

निज बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग दाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप–पत्रदायर गरिएको आयोगले जनाएको छ ।

भैरहवालाई सुरक्षित बनाउन विद्युतीय प्रणाली ‘एएनपिआर’ जडान

लुम्बिनी (मर्चवार), ११ पुसः सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो ।

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपिआर जडान गरिएको नगरपालिकाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताउनुभयो । उहाँले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपिआर जडान गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन लगाउँदा पनि पहिचान गर्न सकिने बताउनुभयो । उहाँका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

काठमाडौँ, ११ पुस : नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ ।

बौद्धस्थित ह्यात चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रम उहाँले ‘उकाली ओराली गर्दै’ गीत गुनगुनाउँदै प्रस्तुतीको आरम्भ गर्नुभयो । उहाँको पर्खाइमा रहेका दर्शकलाई नेपाली गीत सुन्दा आफ्नोपनको आभास भयो ।

भारतबाटै आएका आफ्नो २१ जना साङ्गीतिक समूहसँग गायक निगमले झन्डै साढे दुई घण्टा प्रस्तुति दिनुभयो । उहाँले आफू नेपाली गीत गाइरहेता पनि यसरी साक्षात्कार गर्ने मौका भने पहिलोपटक पाएको स्टेजबाटै बताउनुभयो । उहाँले नेपाली दर्शकले दिएको माया र साथको बेलाबेलामा प्रसंशा गरिरहनुभयो । “नेपाली सत्कारको लागि मात्र सुरका पनि धनी छन् । यहाँ मलाई गाएर साथ दिने स्वरहरू सुरिला सुनिएका छन् । यस्ता दर्शक देख्दा मलाई उर्जा प्राप्त हुन्छ । म निकै खुसी छु, यहाँ आएँ र गाईरहेको छु”, गायक निगमले भन्नुभयो । 

बाल्यकालदेखि नै व्यावसायिक रुपमा गायन यात्रा थाल्नु भएका निगमले आफूले स्टेजमा गाउँन थालेको ‘४७ वर्ष’ पुगेको बताउनुभयो । “यो वर्ष मैले गाएको ४७ औँ वर्ष हो । यसकारण पनि नेपाल आउँदा म निकै खुसी छु । नेपाली गीतमार्फत तपाईहरू (नेपाली) सँग साक्षात्कार भएको थियो, अहिले यस्तो भव्य रुपमा प्रस्तुती दिन पाएँ”, गायक निगमले भन्नुभयो । 

उहाँ गीत गाउँदागाउँदै बेलाबेलामा दर्शकलाई आफ्नो कुरा भन्ने गर्नुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा विशेष दखल भएका गायक निगमलाई सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ मा समावेश गीत ‘सन्देशे आती है’ ले पाश्र्वगायनमा स्थापित गरेको थियो । त्यसपछि उहाँको साङ्गीतिक यात्राले समातेको लय अहिलेसम्म कायम छ ।

यसैवर्ष गत तिहारमा प्रदर्शन भएको ‘भूल भुलैया ३’ मा उहाँले स्वर दिनुभएको ‘मेरे ढोलना सुन’ बोलको गीत अहिले गीतसङ्गीत प्रेमी माँझ लोकप्रिय छ । यसकारण पनि गायक निगम अघिल्लो मात्र नभई नयाँ पुस्ता माँझ पनि परिचित गायक हुनुहुन्छ । उहाँलाई नेपाल ल्याउनु कारण नै यही रहेको आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले बताउनुभयो । 

‘सुरज हुवा मधम’, ‘सोनियो ओ सोनियो’, ‘कहानी’ लगायतका गीतमा दर्शकले दिएको साथले उहाँलाई उर्जाशील बनायो । ‘मेरो सुन्ने गीतमै तपाइँहरूले गाएर र नाचेर साथ दिनुभयो । अब म तपाइँलाई नचाउँन आफ्ना डान्सिङ गीत प्रस्तुत गर्नेछु । म यसको लागि नै माहिर छु, जस्तो लाग्छ । आउनुस्, मस्ती गरौँ’ यति भनेपछि गायक निगमले आफ्ना ‘फास्ट नम्बर’ भनिने नृत्य गर्ने गीतहरू प्रस्तुत गर्नुभयो ।

उहाँले ‘दिल मागता है दिलदार सोनिए’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’ जस्ता गीत गाउँदा कार्यक्रम हेर्न पुगेका सबै समूहका दर्शक नाच्न बाध्य भएका थिए । विशेषत सन् १९९० देखि २०२४ सम्मका गीतलाई मिश्रण गरेर गाउँदा दुवै उमेर समूहका दर्शकले ‘इञ्जोय’ गरे । गायक निगमले नेपालको बारेमा आफूले बाहिर कार्यक्रम गर्दा धेरै सुनेको बताउनुभयो । “उहाँ (सोनु निगम) ले धेरै नेपाली गीत गाउनुभएको छ । तर, नेपालमा यस्तो कन्सर्ट भएको रहनेछ । सोही कारण हामीले उहाँलाई क्रिसमसमा नेपाली माँझ प्रस्तुत गरेका हौँ । हामीले अपेक्षा गरे झैँ उहाँलाई प्रत्यक्ष सुन्न सबै वर्ग र उमेरसमूहका दर्शक आउनुभयो । यो कमै गायकले गर्न सक्नुहुन्छ । उहाँलाई प्रत्यक्ष सुन्नुको अनुभव बेग्लै रह्यो”, निर्देशक घिमिरेले बताउनुभयो । 

गायक निगमलाई प्रत्यक्ष सुन्न गायक प्रमोद खरेल पनि ह्यात चौर पुग्नुभएको थियो । गायक निगमको गायकी प्रशंशकसँगै सङ्गीत प्रेमी माँझ पनि लोकप्रिय छ । उहाँले स्टेजमा गाउने गीतमा समेत सुर र ताल मिलेको प्रतिक्रिया आउने गरेको छ । साथै, गायक निगमले आफ्नै गीतलाई भिन्न तरिकाले प्रस्तुत गर्नुहुन्छ । 

कार्यक्रमको उतराद्र्धमा उहाँले आफ्ना सदाबहार गीतहरू ‘कल होना हो’ गाउनुभयो । यो गीतलाई उहाँले आफ्नो जीवनकै महत्वपूर्ण गीत भन्नुहुन्छ । “म कुनै दिन यो धर्तीमा रहिन् भन्ने खबर तपाइँ माँझ आइपुग्यो भने सँगै स्मरण हुने गीत हो, ‘कल होना हो’ । यो गीतको शब्द र सङ्गीतको म आफैँ पनि प्रसंशक हुँ । यस्ता गीतमा मेरो स्वर हुनु मेरो लागि जीवनकै ठूलो उपलब्धी हो”, गायक निगमले भन्ने गर्नुभएको छ । 

ह्यात चौरमा दर्शकबाट छुटिने समयमा गायक निगमले ‘अभि मुझ्मे कही’, ‘सन्देशे आते है’, ‘पापा मेरी जान’ गाउनुभयो । यी गीतसँगै गायक निगमलाई स्टेजबाट विदाई गर्न दर्शक तयार भए । उहाँले जादा जाँदै भन्नुभयो,“यहाँ आउन ढिलाई भयो तर यो सत्कारले अब मलाई पुनः छिटै यहाँ ल्याउने छ । हामी कलाकारलाई पनि माया गर्ने प्रसंशक चाहिन्छ, त्यो न्यानोपन यहाँ काठमाडौँ नेपालमा पाएँ । म धन्य छु, कृतज्ञ छु ।”

आयोजकमध्येका एक राजकुमार गोश्वामीले अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा कार्यक्रम गरिएको जानकारी दिदै आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने बताउनुभयो । उहाँका अनुसार आज गायक निगमले काठमाडौँ घुमघाम गरेर बेलुकी स्वदेश भारत फर्किनु हुनेछ । 

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ ।
राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नुभएपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गर्नुभएपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको छ ।

यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ । 

तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोक्नुभयो । 

त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।

“हामीले प्रस्ताव पेस गरेका छौँ... र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हान विरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भन्नुभयो, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ ।” 

“हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भन्नुभयो ।

यदि अदालतले थप तीन न्यायाधीश बिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एक मात्र असहमति मतले युनलाई पुनर्बहाली गर्नेछ ।

हानले उहाँको सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीले मनोनयनमा सम्झौता गरेमा मात्र न्यायाधीशहरूको नियुक्तिलाई प्रमाणित गर्ने बताउनुभएको छ । 

“हाम्रो संविधान र कानूनमा अन्तर्निहित सुसङ्गत सिद्धान्त भनेको संवैधानिक संस्थाहरूको नियुक्ति लगायत महत्त्वपूर्ण विशेष राष्ट्रपतिको अधिकारको प्रयोग गर्नबाट टाढा रहनु हो”, ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गर्नुभयो, “जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा सत्तारूढ र विपक्षी दलहरूबीच पहिले सहमति हुनुपर्छ ।” 

यदि विपक्षीले शुक्रबारको मतदानमा हान विरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लगाएको पहिलो पटक हुनेछ ।   त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । 

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ । यो इतिहासको सबैभन्दा ठूलो भेला हो ।

छ हप्ता लामो कुम्भ मेलाका क्रममा संयुक्त राज्य अमेरिका र क्यानाडाको संयुक्त जनसङ्ख्याभन्दा बढी ४० करोड तीर्थयात्रीका लागि भारतीय अधिकारीहरूले तयारी गरिरहेका बेला प्रयागराजका नदीहरूमा पन्टुन पुलहरूको लाइन पछि लाइन फैलिएको छ । 

पवित्र गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गम स्थलमा प्रत्येक १२ वर्षमा एक पटक धार्मिक श्रद्धा र अनुष्ठान स्नानको सहस्राब्दी पुरानो पवित्र कार्यक्रम आयोजना गरिन्छ । 

तर जनवरी १३ देखि फेब्रुअरी २६ सम्मको यो संस्करण एक मेगा आकर्षण हुने अपेक्षा गरिएको छ किनकि यो ग्रहहरूको विशेष पङ्क्तिबद्धतासँग मेल खानेछ । 

 चार हजार हेक्टर (१५ वर्ग माइल) मा फैलिएको स्थानमा दिन–रात मेहनत गर्ने मजदुरहरूको सेनामध्ये एक अन्त्यहीन विद्युतीय केबलहरूका लागि खाडल खन्ने क्रममा मजदुर बाबु चन्दको निधारमा पसिनाको मोती चम्कन्छ । 

“यति धेरै भक्तहरू आउँदैछन्”, मेलाका लागि महान कार्यको काम गरिरहेको बताउने ४८ वर्षीय चन्दले भन्नुभयो, “मलाई लाग्छ कि मैले मेरो योगदान गरिरहेको छु–– मैले जे गरिरहेको छु त्यो एउटा पवित्र कार्य जस्तो देखिन्छ ।” 

– शुद्ध विश्वास –

उत्तरी राज्य उत्तर प्रदेशको पहिले इलाहाबाद भनिने प्रयागराजको बाढी मैदानमा म्यानहट्टनको दुई तिहाइ क्षेत्रफल बराबरको विशाल तम्बु (पाल) सहर निर्माण भइरहेको छ । 

“करिब ३५ देखि ४० करोड भक्तजनले मेलाको भ्रमण गर्नेछन्, त्यसैले तपाईंले तयारीको स्तर कल्पना गर्न सक्नुहुन्छ”, महोत्सवका प्रवक्ता विवेक चतुर्वेदीले भन्नुभयो । 

कुम्भका लागि तयारी गर्नु भनेको नयाँ देश स्थापना गर्नु जस्तै हो । यसमा सडक, प्रकाश, आवास र ढलको आवश्यकता पर्छ । 

“यस कार्यक्रमलाई अद्वितीय बनाउने कुरा यसको आकार र कसैलाई निमन्त्रणा नपठाइने तथ्य हो... सबैजना आफ्नै इच्छाले आउँछन्, शुद्ध विश्वासले प्रेरित भएर”, चतुर्वेदीले भन्नुभयो, “विश्वमा कतै पनि तपाईंले यो आकारको जमघट देख्नुहुन्न, यसको एक–दशांश पनि ।”

साउदी अरेबियाको मक्कामा वार्षिक हज तीर्थयात्रामा करिब १८ लाख मुस्लिमले भाग लिन्छन् ।

चतुर्वेदीका अनुसार कुम्भका सङ्ख्याहरू अकल्पनीय छन् ।

करिब एक लाख ५० हजार शौचालय निर्माण गरिएका छन्, ६८ हजार एलइडी बत्तीका खम्बाहरू खडा गरिएका छन् र सामुदायिक भान्साघरहरूले एकै समयमा ५० हजार मानिसलाई खाना दिन सक्छन् । 

धार्मिक तयारीका साथसाथै प्रयागराजले ठूलो पूर्वाधार सुधार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको विशाल पोस्टरहरूले सहर ढाकेका छन् । 

दुवै सत्ताधारी हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का हुनुहुन्छ । उहाँहरूको राजनीति र धर्म गहिरो रूपमा जोडिएको छ । 

– अमरत्वको अमृत –

कुम्भ मेला एउटा प्राचीन उत्सव हो । यसको उत्पत्ति हिन्दू पौराणिक कथाहरूमा निहित छ । 

नदीहरूको सङ्गममा डुबुल्की लगाउनाले आफ्ना पापहरू पखालिने र ‘मोक्ष’ प्राप्त गर्न मद्दत गर्ने हिन्दूहरू विश्वास गर्छन् । यसले उनीहरूलाई जन्म र मृत्युको चक्रबाट मुक्त गर्नेछ ।


पौराणिक कथाहरूअनुसार अमरत्वको अमृत भएको घडा वा ‘कुम्भ’ लाई लिएर देवताहरू र राक्षसहरूले युद्ध गरे । युद्धको क्रममा चार थोपा अमृत पृथ्वीमा खस्यो । एक थोपा प्रयागराजमा खस्यो ।

अन्य थोपा हरिद्वार, नासिक र उज्जैनमा खसेका थिए । यी तीन सहरमा घुम्ती कुम्भ मेला अन्य वर्षहरूमा आयोजना गरिन्छ । तर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजित मेला सबैभन्दा ठूलो हो । 

आयोजक अधिकारीहरूले यसलाई महान् वा ‘महाकुम्भ’ मेला भनिरहेका छन् । 

अधिकारीहरूका अनुसार सन् २०१९ मा प्रयागराजमा भएको अन्तिम कुम्भ मेलामा २४ करोड भक्तजन देखिएका थिए । तर त्यो सानो ‘अर्ध’ वा आधा मेला थियो र यो मेला मुख्य कार्यक्रमको बीचमा हुन्छ । 

“जब तपाईं कुम्भको बारेमा कुरा गर्नुहुन्छ, तपाईंले खगोल विज्ञानको बारेमा कुरा गर्नुपर्छ”, ६९ वर्षीय इतिहासकार हेरम्ब चतुर्वेदीले भन्नुभयो, “बृहस्पतिले एक वर्षमा एउटा राशि चिह्न पार गर्छ, त्यसकारण जब यसले १२ राशि चिह्न पूरा गर्दछ, तब त्यो कुम्भ हुन्छ ।” 

उहाँका अनुसार उत्सवको मुख्य भाग ‘ज्ञानी र विद्वान, गरीब र असहायलाई’ दान दिनु हो ।

– नागा साधुहरू –

केही तीर्थयात्री पहिल्यै आइपुगेका छन् । यिनीहरूमा नागा साधुहरू छन् । यी घुमन्ते साधु दुर्गम पहाड र जङ्गलबाट हप्तौँसम्म हिँडेर आएका छन् । यिनीहरू प्रायः ध्यानमा समर्पित हुन्छन् । 

यिनीहरूले जनवरी १३ मा पहिलो दिनदेखि सुरु हुने छवटा सबैभन्दा शुभ स्नान मितिमा बिहानै चिसो नदीको पानीमा जाने नेतृत्व गर्नेछन् ।

“म जनतालाई आशीर्वाद दिन यहाँ आएको छु”, जटा बाँधेर नाङ्गै बसेका ९० वर्षीय नागा साधु दिगम्बर रमेश गिरीले भन्नुभयो, “तपाईंले आफ्नो हृदयमा जे चाहना गर्नुहुन्छ त्यो कुम्भमा प्राप्त गर्नुहुन्छ ।”

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

विभागले बिहीबार साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्नसक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ ।

“वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ”, विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

जनयुद्धमाथि हमला गर्ने काम भएको छ : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढंडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गरेका छन् । उनले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै ब्यङ्य गरे । बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले हाल नेपालमा विविध किसिमका पात्रहरुले चर्चा कमाइरहेको बताए । उनले भने, ‘आज नेपाल कस्तो ठाउँमा छ भन्दा अलिकति उदेक लाग्दो, अनौठो अनि रमाइलो जस्तो देखिन्छ । ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ भन्या जस्तो आज नेपाल पुग्या छ ।’ उनले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट व्यक्त गरे ।

उनले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भने, ‘नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेंडुहरुले पगरी गुथेका छन् । कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन् ।’

महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरु सक्रिय रहेको संकेत गरेका छन् । उनले अगाडि भने, ‘कसैको अनुहार रातो छ, कसैको कालो छ । कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन् । कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन् ।’

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौँ, ११ पुुसः सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ ।

आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई एवं शुभकामना दिँदै मन्त्री गुरुङले पत्रकारिता स्वतन्त्र र स्वनियम हुन आवश्यक रहेकोमा जोड दिनुभयो । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पत्रकारिता लोकतन्त्रमा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकाय रहेको उल्लेख गर्नुभयो । 

पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउन यससम्बन्धी विधेयक निर्माणको चरण रहेको जानकारी दिँदै मन्त्री गुरुङले पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएकाले थप व्यवस्थित गराउन आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यसैअवसरमा मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासङ्घका पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै महासङ्घसँग सहकार्यका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले आफू सधै पत्रकारिताको विकासको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेसागत चुनौती हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासङ्घ सधै उभिएको बताउनुभयो । पत्रकारको न्यूनतम पारिश्रमिकको समस्या, पेसागत चुनौती र शारीरिक एवं मानसिक समस्या रहेको उहाँको भनाइ थियो । 

नीतिगत निर्णयमा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड

काठमाडौँ, ११ पुस : सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड दिएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा सत्ता साझेदार दलका मुख्य सचेतक र प्रमुख सचेतकले नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीलाई ट्रेड युनियनको आबद्धताबाट टाढै राख्नु उचित हुने बताउनुभयो ।

नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारी ट्रेड युनियनको भूमिकाको सम्मान गर्दै आजका सन्दर्भमा ट्रेड युनियनको व्यवस्थामा फरक ढङ्गबाट सोच्नुपर्ने बताउनुभयो । “पेसागत हकहितसँग जोडिएका विषयमा उहाँहरु (कर्मचारी) लाई बन्देज लगाउनु उपयुक्त हुँदैन”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, “नीतिगत निर्णयको प्रक्रियामा सहभागी हुने शाखा अधिकृतलाई ट्रेड युनियनमा राख्ने कि नराख्ने बहस गरौँ ।”

उहाँले उपसचिव र सहसचिव बन्नका लागि शाखा अधिकृत सेवा प्रवाहको जिम्मेवारी कम भएका कार्यालय रोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । “शाखा अधिकृतबाट ‘डेलिभरी’को अपेक्षा गरिन्छ, उपसचिव र सहसचिवको खुल्ला प्रतिस्पर्धामा सामान्यतया निजामती सेवा बाहिरका उम्मेदवार कमै मात्र उत्तीर्ण भएका छन्”, उहाँले भन्नुभयो, “सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धालाई रोकौँ, व्यक्तिगत वृत्तिविकासमा मात्रै ध्यान दिने अवस्थाले नागरिकको सेवा प्रवाहमा असर गरिरहेको छ, अब ‘ब्याच’ सिष्टमबाट मात्रै बढुवा गरौँ ।”

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संवैधानिक आयोग, कूटनीतिक नियोगलगायत संस्था पूर्वकर्मचारीको ‘क्लब’ जस्तो देखिएको उल्लेख गर्दै अवकाश प्राप्त कर्मचारीको अन्य निकायमा पुनः नियुक्तिमा ‘कुलिङ पिरियड’ राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारीको सेवा अवधि वृद्धि गरेर ६० वर्षमाथि राख्नु उचित हुने बताउँदै नायब सुब्बा भन्दा मुनिका पदमा कर्मचारी भर्ना गर्न आवश्यक नरहेकाले त्यससम्बन्धी व्यवस्था हटाइनुपर्नेमा जोड दिनुभयो । 

“अवकाश प्राप्त कर्मचारीको पेन्सन राज्यलाई भार परिरहेको अवस्थामा अवकाशको उमेर बढाउनु उपयुक्त नै हुन्छ”, उहाँले भन्नुभयो, “अनुभवी कर्मचारीलाई अवकाश दिएर भन्दा सेवामा राखेर पारिश्रमिक दिनु उचित हुन्छ ।” दलगत आधारमा ट्रेड युनियन गठन गर्न दिन नहुनेमा जोड दिँदै उहाँले सरकारले घरै बनाइदिएर टे«ड युनियन राख्ने व्यवस्था तत्काल अन्त्य हुनुपर्ने बताउनुभयो । 

“राजनीतिक दलसँग आबद्धता भएका ट्रेड युनियन हटाऔँ, ट्रेड युनियनमा शाखा अधिकृतभन्दा तलका कर्मचारीलाई मात्र सहभागी हुन दिऔँ”, उहाँले भन्नुभयो, “नीतिगत निर्णयको तहमा सहभागी हुने शाखा अधिकृतलाई ट्रेड युनियनमा आबद्ध हुन दिन हुँदैन ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधानले परिकल्पना गरेअनुसारको समावेशिता नभएसम्म निजामती सेवामा आरक्षणको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “निजामती विधेयकमाथि छलफल हुँदै गर्दा समावेशिताको सवालमा गम्भीर होऔँ, राज्यको तत्तत् ठाउँमा उपस्थिति नभएमा राज्यसँग समुदाय र जनताको सम्बन्ध बलियो हुँदैन”, उहाँले भन्नुभयो, “राज्य बलियो बनाउन सबैको स्वामित्व हुनुपर्छ, सबै समुदायले राज्यमा आफूलाई पाउनुपर्छ, यसतर्फ ध्यान दिनुपर्छ ।”

नेकपा (माओवादी केन्द्र)का सचेतक रुपा शोशी चौधरीले निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन विधेयकमा कर्मचारीका दायित्वका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातका आधारमा मात्र नभइ वर्गका आधारमा कर्मचारीको आरक्षण व्यवस्था हुनुपर्ने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक रामप्रकाश चौधरीले आर्थिक रुपमा विपन्न वर्गलाई राज्य संयन्त्रमा आरक्षणको प्रत्याभूति गरिनुपर्नेमा जोड दिनुभयो । 

जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रित : वनमन्त्री शाही

काठमाडौँ, ११ पुस : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रायलको ध्यान केन्द्रित भएको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औं विश्व जलवायु सम्मेलनको समिक्षा कार्यक्रममा उहाँले उक्त उपलब्धि कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संस्थागत सुधारका लागि पहल गरिसकेको बताउनुभयो । मन्त्री शाहीले जलवायु सङ्कटसँग जुध्न कुनै एक देश वा समुदायले मात्र सम्भव नरहेको बताउनुभयो ।

“यस्तो अवस्थामा, जलवायु परिवर्तनले हामीलाई पारिरहेको गम्भीर असर र हाम्रो देशले लिन सक्ने लाभका बारेमा विश्वको ध्यान आकृष्ट गर्न कोप–२९ मा नेपाली प्रतिनिधीमण्डल सफल भएको हाम्रो बुझाई छ,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनमा पर्वतीय क्षेत्रका विषयहरु समेटिनु पर्दछ भन्ने छलफलको नेतृत्व गर्न हामी सफल भएका छौँ ।”

सम्मेलनको दौरानमा नेपालमा जलवायु अनुकुलनका लागि आवश्यक सहयोग जुटाउने प्रकृयाका लागि “राष्ट्रिय प्रकृति संरक्षण कोष” संयुक्त राष्ट्र संघअन्तर्गतको अनुकूलन कोषको कार्यान्वयन गर्ने संस्थाका रुपमा सूचिकृत हुनु अर्काे सफलता भएको उहाँले बताउनुभयो ।

मन्त्री शाहीले सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यहरुसहितका नयाँ ‘एनडिसी’ बनाउने प्रकृया मन्त्रालयले अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवाद आयोजनाको तयारी गरिरहेको जानकारी गराउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्िसर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिएको थियो ।

मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौंँ, ११ पुसः मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिनुभयो ।

उहाँले निजको अवस्था सामान्य रहेको बताउनुभयो । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिनुभयो ।

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।

पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि

भोजपुर, ११ पुस: जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद रु तीन लाख नगदसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई रु दुई लाख पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

प्रतियोगिता आयोजक समितिले प्रतिस्पर्धामा भाग लिन चाहने समूहलाई यही पुस २० गते भित्रमा आवेदन दर्ता गर्न आज एक सूचना निकालेर आह्वान गरेको छ ।

वीरगञ्ज नाकाबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज (पर्सा), ११ पुसः वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१÷८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आवको सोही अवधिमा भने रु ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।

चालु आवको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने रु १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताउनुभएको छ ।

अटोमोबाइल व्यवसाय धरापमा, पलायन हुँदै व्यवसायी

गण्डकी, ११ पुसः आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सङ्घमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् ।

सङ्घका अध्यक्ष शिवशङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर सङ्घ स्थापना गरिएकामा हाल ४८ फर्म मात्र सञ्चालनमा छन् । “अटोमोबाइलका १९ वटा व्यवसाय बन्द हुँदा प्राविधिक र श्रमिकले पनि रोजगारी गुमाएका छन्”, उहाँले भन्नुभयो, “पहिले करिब पाँच सय जना यस क्षेत्रमा कार्यरत थिए, अहिले जम्मा दुई सय २५ जनाले मात्र रोजगारी पाएका छन् ।” खस्कँदो व्यापारका कारण व्यवसायी पलाउन हुने क्रम अझै नरोकिएको अध्यक्ष शाहले बताउनुभयो । अटोमोबाइल क्षेत्रका व्यवसायीको संरक्षणका लागि राज्यले उपयुक्त नीति र कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ । 

व्यवसायी पलायन हुने अवस्था कायमै रहेका कुनै दिन अटोमोबाइल व्यवसाय नै सङ्कटमा पर्ने धेरैको भनाइ छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवा पलायनलाई कम गर्न थोरै भए पनि योगदान पु¥याइरहेका अटोमोबाइल व्यवसायीको हितमा स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ । “व्यवसायी पलायनको दर हेर्दा चिन्ताजनक अवस्था छ । सङ्घमा गाडी, मोटरसाइकललगायत अटो क्षेत्रका व्यवसायी आबद्ध छन् । अटोमोबाइल मात्र नभएर अन्य क्षेत्रमा पनि आर्थिक मन्दीले प्रत्यक्ष असर पु¥याएको छ । सटर भाडासमेत तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा कतिपय व्यवसायी पुगेका छन् । त्यसैले सरकारले सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएर व्यवसाय संरक्षण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।  

बुधबार सङ्घले सदरमुकाममा सञ्चालित ग्यारेज र वर्कशपहरूलाई सरसफाइका लागि डस्टबिन वितरण गर्ने कार्यक्रममा धेरैजसो व्यवसायीले यस्तै गुनासो गरेका थिए । त्यस अवसरमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले ‘सफा बागलुङ नगर’को अभियानलाई सघाउन नगरवासीसमक्ष आग्रह गर्नुभयो । उहाँले व्यवसायीका समस्याबारे आफूहरूको ध्यानाकर्षण भएको बताउनुभयो । 

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा,अब ७० मिटर मात्र खन्न बाँकी

दैलेख, ११ पुसः यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उहाँले बताउनुभयो ।

चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।

क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण

रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा प्रहार गरी क्रिसमसको बिहान युक्रेनीहरूलाई मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य बनायो ।

युक्रेनी इन्धन र ऊर्जा स्रोतहरूमा गरिएको आक्रमणमा ७८ वटा हवाई, भूमि र समुद्री प्रक्षेपण मिसाइलका साथै १०६ वटा साहेद र अन्य प्रकारका ड्रोनहरू समावेश रहेको युक्रेनको वायु सेनाले जनाएको छ । उसले ५९ मिसाइल र ५४ ड्रोन ध्वस्त पारेको र थप ५२ ड्रोनलाई जाम गरेको दाबी गरेको छ ।

“(रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले जानाजानी आक्रमणका लागि क्रिसमस रोज्नुभयो । यसभन्दा बढी अमानवीय के हुनसक्छ ?”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा भन्नुभयो, “उनीहरूले युक्रेनमा ब्ल्याकआउटका लागि लडाइँ जारी राखेका छन् ।” 

यसैबीच रुसको भ्लादिकाभ्काज सहरको एउटा सपिङ मलमा ड्रोनबाट खसेको भग्नावशेषबाट आगलागी हुँदा एक महिलाको मृत्यु भएको र तीन जना घाइते भएका छन् । रुसी गणतन्त्र उत्तर ओसेशिया–अलानियाका प्रमुख, गभर्नर सर्गेई मेनयेलोले सुरक्षा फुटेजले बुधबार बिहान अलानिया मलबाहिर विस्फोट भएको देखाएको बताउनुभयो । 

युक्रेनको डिनिप्रो क्षेत्रमा रुसले गरेको आक्रमणमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र १५५ आवासीय भवनको ताप अवरुद्ध भएको उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले टेलिग्राममा बताउनुभयो । उहाँले खार्किभ क्षेत्रका पाँच लाख मानिस तापविहीन भएको पनि जानकारी दिनुभयो ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाका अनुसार एउटा रुसी क्षेप्यास्त्रले मोल्डोभा र रोमानियाको हवाई क्षेत्र पार गरेको थियो । 

ऊर्जामन्त्री हर्मन हालुश्चेन्कोले रुसले फेरि ‘व्यापक रूपमा ऊर्जा पूर्वाधारमा आक्रमण’ गरेको बताउनुभयो । 

युक्रेनको वायु सेनाले देशको पूर्वमा रहेको खार्किभ, डिनिप्रो र पोल्टाभा क्षेत्रमा धेरै मिसाइल प्रहार गरिएको बताएको छ । 

हालुश्चेन्कोका अनुसार विद्युत् वितरकले उपभोग सीमित गर्न आवश्यक कदम चालेका छन् । “सुरक्षा स्थितिले अनुमति दिने बित्तिकै ऊर्जा कर्मचारीहरूले भएको क्षतिको मूल्याङ्कन गर्नेछन्”, उहाँले भन्नुभयो ।

राज्य ऊर्जा अपरेटर युक्रेनेर्गोले ‘व्यापक मिसाइल आक्रमण’ का कारण देशभरि पूर्व सावधानीका रूपमा विद्युत् कटौती लागु गरेको छ । यसबाट राजधानी किएभका केही जिल्ला विद्युत्विहीन भएका छन् ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेले रुसले बुधबार बिहान उनीहरूको एउटा थर्मल पावर प्लान्टमा आक्रमण गरेको र यो यस वर्षको युक्रेनको पावर ग्रिडमा १३ औँ आक्रमण भएको बताएको छ । 

“क्रिसमस मनाउँदै गर्दा लाखौँ शान्ति–प्रेमी मानिसलाई प्रकाश र न्यानोपन अस्वीकार गर्नु एउटा भ्रष्ट र दुष्ट कार्य हो । यसको जवाफ दिनुपर्छ”, डिटिइकेका सिइओ म्याक्सिम टिमचेन्कोले आफ्नो एक्स खातामा लेख्नुभएको छ । 

“कम्तीमा सात आक्रमणले खार्किभलाई लक्षित गरी शहरभर आगलागी फैलायो”, क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले टेलिग्राममा लेख्नुभयो । स्थानीय अधिकारीहरूका अनुसार कम्तीमा तीन जना घाइते भएका छन् ।

“खार्किभमा ठूलो क्षेप्यास्त्र प्रहार भएको छ । सहरमा श्रृङ्खलाबद्ध विस्फोटहरू भए र अझै पनि सहरतर्फ ब्यालिस्टिक मिसाइलहरू उडिरहेका छन् । सुरक्षित स्थानमा रहनुहोस्”, खार्किभका मेयर इहोर तेरेखोभले भन्नुभयो । 

रुसको रक्षा मन्त्रालयले बुधबार बिहानको रिपोर्टमा बेलगोरोड, भोरोनेज, कुर्स्क, ब्रायन्स्क र ताम्बोभ क्षेत्रहरूका साथै अजोभ सागरमा समेत ५९ युक्रेनी ड्रोन खसालिएको बताएको छ । यसमा उत्तरी ओसेटिया–अलानियाको घटनाबारे उल्लेख गरिएको छैन । 

कुर्स्क क्षेत्रको एलगोभ सहरमा युक्रेनी गोलाबारीका कारण चार जनाको मृत्यु भएको क्षेत्रीय प्रमुख अलेक्जान्डर खिन्स्टेनले बताउनुभयो । केही आवासीय ब्लक र ब्युटी सैलुनमा प्रहार भएपछि तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अर्को व्यक्तिको पछि अस्पतालमा मृत्यु भयो । 

इमरान खानलाई मुक्त गर : ट्रम्पका आगामी दूत रिचर्ड ग्रेनेल

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका विशेष मिसनका लागि नियुक्त दूत रिचर्ड ग्रेनेलले पाकिस्तानमा भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खानको रिहाइको माग गर्नुभएको छ ।

अमेरिकी समाचार आउटलेट न्युजम्याक्ससँगको अन्तर्वार्तामा ग्रेनेलले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अमेरिका र पाकिस्तानबीचको सम्बन्धबारे चर्चा गर्नुभयो र खान सत्तामा आएपछि पाकिस्तानसँगको सम्बन्ध सुधार भएको उल्लेख गर्नुभयो । 

उहाँले पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई जोड दिँदै खानलाई बाहिरी व्यक्ति तथा परम्परागत राजनीतिज्ञ कुनै पनि रूपमा नहेरिएको बताउनुभयो ।  

खानले पूर्व राष्ट्रपति ट्रम्पको जेल सजायको समान आरोपहरूको सामना गरिरहेको औँल्याउँदै ग्रेनेलले खानको अवस्थालाई राष्ट्रपति ट्रम्पको अवस्थासँग मिलाएर उहाँको रिहाइको माग गर्नुभयो । 

“ट्रम्प प्रशासनको समयमा इमरान खान पाकिस्तानको नेता हुँदा पाकिस्तानसँग हाम्रो धेरै राम्रो सम्बन्ध थियो  किनभने इमरान खान बाहिरी व्यक्ति हुनुहुन्थ्यो, उहाँ पूर्व क्रिकेट खेलाडी हुनुहुन्थ्यो र वास्तवमा पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुनुहुन्थ्यो, उहाँ राजनीतिज्ञ हुनुहुन्नथ्यो र उहाँ धेरै सामान्य ज्ञानको भाषामा बोल्नुहुन्थ्यो, उहाँ र डोनाल्ड ट्रम्पबीच निकै राम्रो सम्बन्ध थियो”, ग्रेनेलले भन्नुभयो, “म इमरान खानलाई जेलबाट रिहा भएको हेर्न चाहन्छु । उहाँ हाल जेलमा हुनुहुन्छ, राष्ट्रपति ट्रम्प जस्तै धेरै आरोपहरूको सामना गरिरहनुभएको छ, त्यहाँ सत्ताधारी पार्टीले उहाँलाई जेलमा राख्यो र कुनै प्रकारको भ्रष्टाचार र झुटा आरोपहरू सिर्जना गर्यो र उहाँ अहिले जेलमा हुनुहुन्छ ।” 

यसअघि मङ्गलबार ग्रेनेलले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरको एक्समा पोस्टको जवाफमा पिटिआई संस्थापकलाई रिहा गर्न आह्वान गर्नुभएको थियो । 

उहाँले विदेश मन्त्रालयका प्रवक्ताको आलोचना गर्दै भन्नुभयो, “सैन्य न्यायाधिकरणमा पाकिस्तानी नागरिकहरूको सजायबारे अमेरिकाको चिन्ता ढिलो थियो र प्रयास धेरै कम र कमजोर थियो ।”

यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर, ११ पुसः महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उहाँले बताउनुभयो ।

टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो । उहाँले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताउनुभयो ।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।