`

सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट

गोलबजार (सिरहा)- सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शत्प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।

सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, ११ पुसः हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बिहान तराई तथा काठमाडौँ उपत्यका केही स्थानमा कुहिरोको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

भरतपुर भ्रमण वर्षको अवसरमा शुक्रबारदेखि रैथाने खाना महोत्सव

चितवन, ११ पुसः भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो ।

जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव गर्न रु ६१ लख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन् ।  स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताउनुभयो । उहाँले महानगरपालिकाभित्र एक वर्षमा बाह्य पर्यटक दुई लाख र आन्तरिक १० लाख पर्यटकले यहाँ भ्रमण गरेका बताउनुभयो । “भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिमा टेवा पुगेको छ । दिगो पर्यटन पूर्वाधार विकास, होटल रेष्टुरेन्टमा सेवा वृद्वि भएकाले पर्यटकको सङ्ख्या, बसाइँ अवधि एवं आर्थिक क्रियाकलापमा समेत वृद्वि भएको छ”, महानगर प्रमुख दाहालले भन्नुभयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताउनुभयो । स्थानीय जनतामा खाना महोत्सवले थप ऊर्जा मिल्ने उहाँले बताउनुभयो ।

महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ । महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।

मेघौली पश्चिम चितवनको पर्यटकीय गन्तव्य हो । नारायणी र राप्ती नदी किनारमा पर्ने यो ठाउँ सूर्यास्त हेर्नका लागि उपयुक्त गन्तव्य मानिन्छ । पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बाक्लिँदै जाँदा पर्यटकहरू आकर्षित हुने गरेका छन् ।

माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै !

मन्थली (रामेछाप), ११ पुसः रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो । त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

पुछिघाटका अधिकांश मानिसहरूको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै  डुङ्गाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ । स्थानीयको दुःखमा सहारा बनेका डुङ्गा चालक भने यसबाट आफूहरूले कुनै सहुलियत नपाएको गुनासो गर्छन् । दिनभर डुङ्गा तार्ने तर साँझ घर फर्कंदा रित्तो हात हुने भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको डुङ्गा चालक हिराबहादुर माझीको गुनासो छ । 

उहाँ भन्नुहुन्छ, “दिनभर डुङ्गा तार्दा कसैले दया लागेर चिया खाऊ भनेर दिएको रु २०/५० भन्दाबाहेक अरू कुनै आम्दानी हुँदैन । जिल्ला प्रशासनले पनि पैसा लिन मिल्दैन भनेको छ न त हाम्रो जीविकोपार्जनका लागि कुनै निर्णय गरिएको छ । यस्तो अवस्थामा आफ्नो घरपरिवार कसरी चलाउनु ?”

पुछिघाटको पुलभन्दा करिब दुई किलोमिटरभन्दा माथिको नदी क्षेत्रमा यी डुङ्गा चलाउने गरिन्छन् ।  अर्का डुङ्गा चालक साइते माझी पनि आफ्नो पारिश्रमिकका बारेमा कुनै निर्णय नहुँदा समस्या भएको बताउनुहुन्छ । “कहीँ कतैबाट कुनै किसिमको सेवासुविधा नपाएपछि हामीले गाउँमा पालो लगाएर डुङ्गा तार्ने व्यवस्था गरेका छौँ तर त्यो पनि खासै प्रभाकारी भइराखेको छैन”, उहाँले भन्नुभयो । 

यसरी डुङ्गा तार्ने चालकलाई राज्यबाट कुनै सेवासुविधा नहुँदा मन लगाएर निश्चित समयमा काम नहुँदा बालबालिका तथा शिक्षकहरूलाई विद्यालय जानआउन समस्या भइरहेको स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले वा जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले समस्या समाधान गरिदिनुप¥यो । चालकलाई तलब दिनुप¥यो नभए डुङ्गा तर्नेसँग निश्चित रकम उठाउन पाउने व्यवस्था गर्नुप¥यो । नत्र डुङ्गा बन्द हुने अवस्था आउँछ ।”

यहाँको डुङ्गाबाट सुनकोशी नदी तरेर खाडाँदेवी गाउँपालिका–४ का करिब २६ जना विद्यार्थी र शिक्षक सुनकोशी गाउँपालिकाको खाल्टेमा रहेको श्री दीर्घ प्रदीप माध्यामिक विद्यालयमा अध्ययन अध्यापन गर्न र पचासभन्दा बढी कृषकहरू दैनिकजसो वारपार गर्छन् । माझीलाई सन्तुष्ट पार्न नसक्दा समस्या भइरहेको स्थानीय विन्दा नेपालीले बताउनुभयो ।    

स्थानीय विद्यार्थी विना माझीले विद्यार्थीले तालिमसमेत नदिएका डुङ्गा चालकसँग जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा अलिपर रहेको भत्केको झोलुङ्गे पुलमा झुन्डिएर थप जोखिमको सामना गर्दै दैनिकजसो आउजाउ गरिरहनुपरेको गुनासो गर्नुभयो । लामो समयसम्म कुर्दा पनि डुङ्गा चालक नआउने भएपछि विद्यालयमा ढिला पुग्नुपर्ने र शिक्षकहरूको गाली खानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले समस्याबारे आफूहरू जानकार रहे पनि समाधानका लागि पालिकामा बजेट नभएकाले चालकलाई तलब र जीर्ण पुलको मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले डुङ्गा चालकका समस्या सम्बोधनका लागि भने छलफल अगाडि बढाइएको जानकारी दिनुभयो । 

यहाँबाट दैनिक रूपमा आवतजावत गर्ने करिब दुई सयभन्दा बढी मानिस प्रभावित भइरहेकाले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको खाँडादेवी गाउँपालिका–६ का अध्यक्ष नारायण कार्कीको आग्रह छ । “हामीले समस्या समाधान गर्ने स्रोत छैन । स्रोत भएका निकायले पुल निर्माण नहुँदासम्म तत्कालका समस्या समाधानमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला, कृषकलाई बिक्री गर्न भ्याइनभ्याइ

पर्वत, ११ पुसः सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।

यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागार्इंले जानकारी दिनुभयो ।

सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउनुहुन्छ । “देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन । केही नारायणगढ, काठमाडाँै र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्”, उहाँले भन्नुभयो । 

यहाँका किसानमम्धये स्थानीय ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गर्नुहुन्छ । उहाँले गत वर्ष रु पाँच लाखको सुन्तला बिक्री गर्नुभएको थियो । एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उहाँको भनाइ छ । 

यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । त्यसमध्ये भोजकुमारी चापागार्इं, बाबुराम तिमिल्सिनासमेत हुनुहुन्छ । दैनिकजसो ट्रकहरू आएर सुन्तला टिपेर लैजाने गरेको स्थानीय प्रकाश चापागाईंले बताउनुभयो । 

यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री भएका थिए । यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन् । व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको कृषक दाताराम चापागार्इंले बताउनुभयो । 

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन् । यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ । 

सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रूपमा प्रत्येक परिवारले  रु दुई लाखदेखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईंले बताउनुभयो । “मकै, कोदो लगाउँदा रु २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाई हुन्छ,” उहाँले भन्नुभयो, “अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषकहरू धेरै छन् ।”

सुरुमा केहीले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै त्यसको विस्तार भएको हो । आम्दानी राम्रै छ तर जलवायु परिवर्तनको असरसँगै सुन्तलामा रोगकिराको प्रकोप बढ्ने र रूखहरु सुक्दै जान थालेपछि कृषक चिन्तित छन् । यस वर्ष पनि औँसा किराको प्रकोपले केही सुन्तला झरेर नष्ट भएका स्थानीयको गु्नासो छ । 

‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

पाटन (ललितपुर), ११ पुसः ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी)ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम भोलि शुक्रबारदेखि २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो ।

नामीका ‘एजुकेसन आउटरिच’ प्रमुख आलोक खत्रीले यस कार्यक्रमको पाँचौँ संस्करण ‘आर्टिफिसियल एन्टिलिजेन्स’को आधार र त्यसको कार्यान्वयनमा केन्द्रित रहने जानकारी दिनुभयो । कार्यक्रम संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै ठूलो र सबैभन्दा पृथक मञ्च भएको उहाँको भनाइ थियो । 

“यो कार्यक्रमले आधारभूतदेखि आधुनिक विचार र विधिहरू, तिनका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ । कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पिएचडी तहका दुई सय  विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने व्यक्तिहरू सहभागी हुन सक्नेछन्”, खत्रीले भन्नुभयो ।

ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा हुने कार्यक्रममा विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले एआईका विविध पक्ष र अवधारणाहरू प्रस्तुत गर्ने कार्यक्रम छ । 

नामीका संस्थापक निर्देशक एवम् अनुसन्धानकर्ता विशेष खनालले नामीले करिब सात÷आठ वर्षदेखि अनुसन्धान र विकासमा समर्पित भएर काम गरिरहेको बताउनुभयो । गुणस्तरीय जीवन र मानिसको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने प्रविधि र ज्ञान दिन सक्ने एआई प्रविधिको विकास गर्नुपर्छ भन्ने ध्येयले यसमा आफूहरूले काम गरिरहेको उहाँले बताउनुभयो ।

यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ पुसः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७० पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९  पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । 

दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८  पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

यसैगरी,  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

स्वास्थ्य सेवाको सुदृढीकरणका लागि आज र भोलि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ११ पुसः देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ ।

प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौँमा हुने ‘नेपाल हेल्थ कन्क्लेभ’मा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । यीमध्ये तीन सय जनाको भौतिक उपस्थिति र सात सयजना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

यस सम्मेलनले प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीबीच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने मन्त्रालयको विश्वास छ । यस्तै, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने एवं दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

प्रवासी संलग्नताको विश्वव्यापी अभ्यास, ‘इ–हेल्थ’ र उन्नत स्वास्थ्य, नीतिगत संवाद र दीर्घकालीन संलग्नता तथा अनुसन्धान, शिक्षा र नवीनतालगायत यस सम्मेलनका प्रमुख विषयवस्तु हुनेछन् । यी विषयमा सामूहिक छलफल र अनुभव आदानप्रदान हुने बताइएको छ ।

यस्तै, सम्मेलनले नेपाल मेडिकल प्रवासी संलग्नता रूपरेखा तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  स्वास्थ्य प्रणाली सुदृढ गर्न नीतिगत सिफारिस प्रस्तुतिदेखि स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मी एवं जनस्वास्थ्यकर्मीबीच दीर्घकालीन सहकार्यका लागि रणनीति तयार गर्न सम्मेलनका निष्कर्षले थप सहज हुने अपेक्षा रहेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।  

कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौँ, ११ पुसः जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने ?

विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण निकट विगत जति त्रासदीपूर्ण छ भविष्य थप जटिल बन्ने भनेर औँल्याइरहेका छन् । एसियाली विकास बैङ्क (एडिबी) ले हालै सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतभन्दा तीन गुणा बढी छ । इसिमोडका अनुसार यस क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढेको थियो ।  

जलवायुले ल्याएका अन्य भयानक सङ्कटहरू नेपालीले आफ्नै जीवनमा दिनहुँ भोगिरहेका छौँ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढीले पु¥याएको क्षति पनि जलवायुजन्य सङ्कटकै एउटा उदाहरण रहेको विज्ञहरूको भनाइ छ । गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भएको भारी वर्षाले ल्याएको विपद्ले कैयौँले अकालमै ज्यान गुमाएका, कैयौँ घाइते र घरबारविहीन बनाएको घटना ताजै छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार त्यसबेला तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जाना अझै बेपत्ता छन्भने एक सय ७८ जना घाइते भए । झन्डै छ हजार निजी आवासमा क्षति पुग्यो ।  

तीन वर्षअघि पनि बेमौसमी बाढीका कारण झन्डै आठ अर्बभन्दा बढी मूल्य बराबरको धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयले जनाउने गरेको छ । सोही बेला मनसुन सुरु भएको साता दिन नपुग्दै सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा दुई अर्बभन्दा बढी क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिको तथ्याङ्क छ । 

प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जानाले अकालमै ज्यान गुमाएका छन्भने ६६ जाना बेपत्ता र पाँच सय २२ जाना घाइते भएका छन् । जलवायुका यी र यस्ता ज्वलन्त उदाहरणहरु हामीसँग थुप्रै छन् । 

गत नोभेम्बर ११ देखि  (कात्तिक २६) देखि  नोभेम्बर २२ (मङ्सिर) सम्म बाकुको अजबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलनमा नेपालले यी र यस्तै उदाहरण प्रस्तुत गरेर विश्वको ध्यानाकर्षण ग¥यो । नेपाललगायत अन्य मुलुकले भोगेका यस्तै समस्याबारे आवाज उठे पनि सङ्कट समाधानका लागि तत्काल सम्बोधन गर्नेगरी सम्मेलनले निर्णय गर्न सकेन  । कोप—२९ पछि त्यहाँको सिकाइ र अन्य अनुभवले अब नेपाल आफैँले सङ्कटको सामनाका लागि नयाँ रणनीति अख्तियार गर्न आन्तरिक गृहकार्य अत्यन्त आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।  

सङ्कट सामनाका लागि आन्तरिक तयारी 

यसमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहमत हुनुहुन्छ । उहाँ कोपमा मात्रै नभई कोपपछि पनि जलवायुजन्य सङ्कट समाधान हुनेगरी नीति तर्जुमा गर्न सकिने बताउनुहुन्छ । जलवायु परिवर्तन निम्त्याउन नेपालको नगन्य योगदान भए पनि त्यसबाट निम्तिएका असर न्यूनीकरण र अनुकूलनका लागि विश्व मञ्चमा जलवायु परिवर्तनका मुद्दा उठाउन नेतृत्वदायी भूमिका लिँदै आएको उहाँको भनाइ छ । “अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना समस्या मात्र राख्ने होइन, हामीले अघि सारेका जलवायुमैत्री योजना र गरेका उपलब्धिका बारेमा प्रचार गरी, थप अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रोत्साहन गर्न हामी सफल भएका छाँै,” उहाँले रासससँग भन्नुभयो, “तर अब कोपपछि पनि हामीले स्वदेशमा जलवायु सङ्कट समाधानका लागि गृहकार्य गर्न आवश्यक छ । यसका लागि अन्तरसरकारी निकाय र विभिन्न सरोकारवालाहरूबीच सहकार्य अघि बढाउनेछौँ ।”

मन्त्री शाहीले कोपबाट  प्राप्त उपलब्धिलाई कार्यान्वयन र आवश्यक कानुन निर्माण तथा संस्थागत सुधारका लागि पहल भइरहेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा प्राप्त उपलब्धिका लाभलाई तल्लो तहका जनतासमक्ष पु¥याउन र नेपालले अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर प्रयास भइरहेको उहाँले बताउनुभयो । “यसै अनुरूप सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यसहित नयाँ राष्ट्रिय निर्धारित योगदान (एनडिसी) बनाउने प्रकृया अगाडि बढाएका छौँ, जलवायु परिवर्तनका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

मन्त्री शाहीका जलवायुविज्ञ सल्लाकार डा माधव कार्कीले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच स्थापित गर्न व्यापक गृहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । “विकसित देशहरूले विकासोन्मुख देशहरूलाई वार्षिक तीन सय बिलियन डलरसम्म उपलब्ध गराउने सहमति भएको छ । जलवायु वित्त दायित्व बढाउनमा नेपाललगायतका मुलुकले कोपमा दबाब दिएर फर्किसक्यौँ”, उहाँले भन्नुभयो, “तर हाम्रो अपेक्षाअनुसार जलवायु वित्त प्रतिबद्धता आउन नसके पनि ती कोषहरूबाट रकम ल्याउन अब गृहकार्य गर्नुपर्छ । जलवायुजन्य हानि नोक्सानी न्यूनीकरणका लागि वित्तमा पहुँच स्थापित गराउन वैज्ञानिक अध्ययन–अनुसन्धानलाई नै अगाडि बढाउनुपर्छ ।”

अर्का जलवायुविद् राजु पण्डित क्षेत्रीले पनि जलवायु वित्तका महत्वकाङ्क्षी लक्ष्य कार्यान्वयनका लागि कोपपछि पनि निरन्तर गृहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ । “जलवायु परिवर्तनका सङ्कटहरू छिटोछिटो निम्तिरहेका छन् । अन्तराष्ट्रियस्तरमा मात्रै कुरा राखेर समस्या त समाधान हुँदैन”,उहाँले भन्नुभयो, “कोपमा मात्रै नभएर हामीले अब नेपालको हितमा काम गर्न जलवायुजन्य सङ्कट समाधानका लागि घरभित्रै पनि गृहकार्य गर्न जरूरी छ ।”

जलवायुविज्ञ मञ्जित ढकालले अन्तराष्ट्रियस्तरबाट जलवायु परिवर्तनको सङ्कट आगामी दिनमा अझै बढ्ने स्पष्ट देखिएकाले अब नेपाल सम्भावित सङ्कट समाधानमा लाग्नुपर्ने बताउनुभयो । “कोपपछि अब हामीले राष्ट्रियस्तरबाट पनि गर्नैपर्ने विभिन्न कामलाई दु्रतगतिमा अगाडि बढाउनुपर्छ । स्थानीय तहमा जलवायु परिवर्तनका असर न्यूनीकरका लागि पहल आवश्यक छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धताअनुसार काम गर्नुपर्नेछ ।”

ढकालले अन्तर्राष्ट्रियस्तरमा जलवायुका असरसम्बन्धी ‘एजेन्डा’हरू प्रभावकारी रूपमा उठाउनका लागि विज्ञसहितको वार्ताटोली तत्कालका बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कोपपछि कार्बन व्यापारको नियमलाई छिटो टुङ्ग्याएर जतिसक्दा छिटो लाभ लिनुपर्छ । हानि– नोक्सानीबाट कसरी रकम ल्याउन सकिन्छ गृहकार्य गर्नुपर्छ र यसका लागि विश्वविद्यालयको सहभागितासहितको अध्ययन– अनुसन्धानमा प्राथमिकता दिनुपर्छ ।”

जलवायु नीति कार्यान्वयन र जलवायु न्याय सुनिश्चिततामा जोड

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु व्यवस्थापन माहाशाखाका उपसचिव नरेश शर्माले नेपालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदानहरू (एनडिसी) र दीर्घकालीन रणनीतिहरूलाई कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयो । यसका लागि मन्त्रालयले काम गर्ने उहाँको भनाइ छ ।   “कोप भनेको वार्ताको प्रक्रिया मात्रै हो तर अब नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनसम्बन्धी गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आवश्यक छ”,  उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण बढी जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिने, स्थानीय तहमा अनुकूलन योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हाम्रो तयारी छ ।”

जलवायु अभियन्ता गीता पाण्डेले जलवायु न्याय सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय कोष जस्तै हरित जलवायु कोष र अन्य दातृ निकायबाट जलवायु अनुकूलन र न्यूनीकरणका लागि स्रोत परिचालन गर्न वित्तीय नीतिहरूलाई जलवायुमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले  प्रविधि हस्तान्तरण र स्वच्छ ऊर्जा र दिगो कृषि प्रविधिहरू अपनाउने गरी योजना बनाउनुपर्नेे सुझाव दिनुभयो । “ नेपाल जस्ता हिमाली देशहरूमा जलवायु परिवर्तनको गम्भीर प्रभाव परेको छ, त्यसैले जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने र सरकारी, गैरसरकारी र निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने काममा लाग्न आवश्यक छ । कोप—२९ का निष्कर्षहरूलाई ध्यानमा राखेर नेपालले आफ्नो दीर्घकालीन रणनीतिलाई थप प्रभावकारी बनाउनुपर्छ ।”

नवीकरणीय ऊर्जा प्रवर्द्धन,  पूर्वतयारीमा जोड  

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा प्रवर्द्धनले कार्बन उत्सर्जन गराउने मुख्य तत्व हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न सकिने भन्दै नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हरित ऊर्जा निर्यातको सम्भावना वृद्धि गर्न नवीकरणीय ऊर्जा स्रोतहरू सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जा प्रविधिमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँ अगाडि  भन्नुहुन्छ,“ग्रामीण क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई घटाएर स्वच्छ ऊर्जा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । राष्ट्रिय निर्धारित योगदानमा समावेश गरिएका नीति कार्यान्वयनमा जोड दिँदै आगामी कोप—३० मा जलवायु नीति कार्यान्वयनका लागि आवश्यक वित्त व्यवस्थापनलाई ध्यानमा राखी अहिलेदेखि नै एजेन्डा तयारी गर्नुपर्छ ।”

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण बाढी, पहिरो र सुक्खाजस्ता विपद्का लागि पूर्वतयारी र पूर्वसूचनामा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले कोपपछि घरभित्र (नेपाल) व्यापक रूपमा जलवायुजन्य सङ्कट समाधानका लागि तयारी गर्न सरोकारवाला सबैलाई साथमा लिएर सरकारले काम गर्नुपर्ने उहाँको सुझाव छ । “आपत्कालीन राहत व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्ने तथा जोखिम नक्साङ्कन प्रणाली विकसित गरी जोखिम क्षेत्रहरूको पहिचान गर्न आवश्यक छ”, उप्रेतीले भन्नुभयो, “सहरी क्षेत्रमा हरित पूर्वाधार, सार्वजनिक यातायात, साइकल लेन र हरित भवनको विकास, जलवायु सहनशील सहरको नीति कार्यान्वयन गर्दै कार्बन न्यूनीकरण र अन्य क्षेत्रमा हिमनदी र जलाशयहरूको प्रभावकारी संरक्षण गर्दै जलस्रोतको दिगो उपयोग गर्नुपर्छ ।”

गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो– हमास

हमासले बुधवार इजरायलमाथि गाजामा भइरहेको युद्धमा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ । यद्यपि उसले वार्ता अझै जारी रहेको स्वीकार गरेको छ ।

सन् २००७ अक्टोबर ७ मा बन्धक बनाइएकाहरूको रिहाइ सुरक्षित गर्ने प्रयासमा इजरायलले कुनै नयाँ सर्तहरूबारे सार्वजनिक बयान दिएको छैन ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता हालैका दिनहरूमा दोहामा भएको छ । वार्ताले अधुरो साबित भएको युद्धविराम सम्झौताको आशालाई पुनः जगाएको छ ।

“कतार र इजिप्टको मध्यस्थताअन्तर्गत दोहामा युद्धविराम र कैदी आदानप्रदान वार्ता गम्भीर रूपमा जारी छ… तर कब्जाकारी शक्ति (सेना) ले युद्धविराम, कैदीहरू र विस्थापित मानिसहरूको फिर्तीसित सम्बन्धित नयाँ सर्तहरू स्थापित गरेको छ, जसले सम्झौतामा पुग्न ढिलाइ गरेको छ”, प्यालेस्टिनी लडाकू समूहले एक विज्ञप्तिमा भन्यो ।

हमासले इजरायलले थोपेका सर्तहरूबारे विस्तृत जानकारी दिएन ।सोमवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसद्मा वार्तामा ‘केही प्रगति’ भएको बताउनुभएको थियो र मङ्गलबार उहाँको कार्यालयले इजरायली प्रतिनिधिहरू ‘महत्त्वपूर्ण वार्ता’ पछि कतारबाट फर्केको जनाएको थियो ।

गत साता हमास र अन्य दुई प्यालेस्टिनी उग्रवादी समूहहरू इस्लामिक जिहाद र वामपन्थी पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनले एक दुर्लभ संयुक्त विज्ञप्तिमा इजरायलले नयाँ सर्तहरू लागु नगरेमा युद्धविराम सम्झौता ‘पहिलेभन्दा नजिक’ भएको बताएका थिए ।

युद्धविराम र बन्धक रिहाइ सम्झौताका प्रमुख बाधाका कारण पटक–पटक प्रयासहरू असफल भएका छन् ।धेरै चरणको अप्रत्यक्ष वार्ताका बावजुद इजरायल र हमासले सन् २०२३ को अन्त्यमा एक हप्तासम्म चलेको एउटा युद्धविराममा मात्र सहमति जनाएका थिए ।

त्यसयता वार्ताले धेरै चुनौतीहरूको सामना गरेको छ । यसमा असहमतिको प्राथमिक विन्दु गाजामा स्थायी युद्धविरामको स्थापना हो । अर्को समाधान नगरिएको मुद्दा युद्धपछिको गाजाको शासन हो । यो प्यालेस्टिनी नेतृत्वभित्र पनि अत्यन्त विवादास्पद मुद्दा बनेको छ । इजरायलले बारम्बार हमासलाई फेरि क्षेत्र चलाउन नदिने बताएको छ ।

“हामी हटाउनु अघि म युद्ध अन्त्य गर्न सहमत हुने छैन”, गत हप्ता द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा नेतान्याहुले भन्नुभयो, “तेल अभिभबाट ३० माइल टाढा गाजामा उनीहरूलाई सत्तामा छोड्ने छैन, यो हुनेछैन ।”

उहाँले फलाडेल्फी करिडोरबाट इजरायली सेना फिर्ता लैजान नचाहेको बारम्बार बताउँदै आउनुभएको छ । यो गाजा र इजिप्टको सीमानामा इजरायलले खाली गरेर नियन्त्रण गरेको भूभाग हो ।

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

काठमाडौँ, १० पुस : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताउनुभएको छ ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतार मानेर उनलाई नै देशको मालिक मान्ने परम्परा रहेको स्मरण गर्दै पूर्वमन्त्री पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भन्नुभयो, “देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रूपमा गनिन्थे । हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतारका रूपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।”

केही कमजोरीका हुँदा पनि समग्र विकासका हिसाबले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्रभन्दा पनि गणतन्त्र उत्कृष्ट भएको तर्क गर्दै माओवादी नेता पुनले सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि भएको स्पष्ट पार्नुभयो ।

लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली, १० पुसः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लगानी बोर्डलाई लगानीमैत्री कानुन निर्माण गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘सार्वजनिक निजी साझेदारीसम्बन्धी प्रादेशिक छलफल’को उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले लगानीमैत्री कानुन निर्माणले मात्र कर्णाली जस्ता अपार सम्भावना भएका क्षेत्रको सम्बोधन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीको समृद्धि र विकासले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउँछ यद्यपि त्यसका लागि लगानी आवश्यक छ ।” सरकारी लगानीमा विभेद भएको बताउँदै उहाँले विकासमा क्रमभङ्गता आवश्यक रहेको बताउनुभयो । लगानी बोर्डमार्फत सङ्घीय सरकारलाई कर्णालीमा न्यूनतम पूर्वाधार विकासका काम गर्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “जुम्ला तथा मुगु रारा जोड्ने कर्णाली लोकमार्ग, हुम्ला जोड्ने कर्णाली करिडोर र डोल्पा जोड्ने भेरी करिडोरसहित हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न सकिएमा निजी क्षेत्र आफैँ लगानी गर्न आउँछन् । यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्दछ ।”

कर्णालीको बसाइँसराइको समस्या समाधानका लागि सङ्घीय सरकारले कर्णालीका दुई ठूला परियोजना भेरी र कर्णाली करिडोर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “जबसम्म सङ्घले कर्णालीलाई हेर्ने नजर परिवर्तन गर्दैन र भेरी एवं कर्णाली करिडोरलाई दुई लेनको बनाउँदैन तबसम्म हामी बसाइँसराइको समस्या हल गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “विकसित सहरमा पाउने सुविधा कर्णालीमा पाइने गरी विकास हुनुपर्दछ ।”

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्भावना हुँदाहुँदै विकासमा पछि परेको कर्णाली प्रदेशको विकासलाई प्राथमिकतामा राखेर लगानी बोर्डले काम थाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका लागि वार्षिक रु २० खर्ब लगानी आवश्यक छ । यसका लागि तीनवटै सरकारको स्रोत तथा साधन व्यवस्थापनका साथै सहकार्य जरुरी छ ।”

लगानी बोर्डले रु छ अर्ब माथिका परियोजनामा लगानी गर्ने र त्यसभन्दा मुनिका आयोजना सम्बन्धित मन्त्रालय तथा विभागले हेर्ने जनाउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रदेश तथा स्थानीय तहका आयोजना सार्वजनिक निजी साझेदारीमा सहयोग गर्ने उल्लेख गर्नुभयो । प्रादेशिक छलफल भोलि बिहीबारसम्म चल्ने जनाइएको छ ।

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

मुग्लिन (चितवन), १० पुसः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । यहाँको कालिका नगरपालिका–५ स्थित श्री पदमपुर आधारभूत विद्यालय ढेढौलीको ७०औँ वार्षिकोत्सव एवं विद्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्राप्त संविधानलाई रक्षा गर्दै औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “ऐन कानुन निर्माणमा ढिलाइ हुनाले केही जटिलतामा छौँ, मौलिक अधिकारको हिसाबले हामी समृद्ध छौँ, तर पुरानो अवस्थातिर फर्किन खोज्नेबाट सजग हुनुपर्छ ।”

जनताले अझै प्राप्त उपलब्धिको अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाले संविधान बनायो । ठुलै चिज पाइयो भनियो तर अझै अनभूति गर्न पाएको छैन । जनताले केही नपाएको भने होइन, गणतन्त्र सङ्घीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिकलगायत थुप्रै अधिकार प्राप्त गरेका छन् ।” वर्तमान संविधानकै कारण महिला दलित उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिस सरकारमा जाने अवसर पाएको उहाँको भनाइ छ ।

उहाँले शिक्षक, विद्यार्थी र अभिभावक बीचको अन्तर सम्बन्धलाई ठीक ढङ्गले बुझाउन सक्नुपर्ने बताउनुभयो । एक करोड लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको अध्यक्ष दाहालले शिलान्यास गर्नुभयो ।

अवैध उत्खनन्मा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

सिरहा, १० पुसः यहाँको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

मङ्गलबार चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो । उक्त टोलीले मात्रै उक्त गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो । उत्खनन्मा संलग्न व्यक्तिहरु भने भाग्न सफल भएको बताइएको छ ।

नेता भीम रावल एमाले पार्टीबाट निस्काशित

काठमाडौँ, १० पुस : नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।उहाँले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।

“पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो व्यवस्थाअनुसार उहाँ सल्लाहकार रहनुभयो”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यो सल्लाहकारको भूमिका पनि पूरा गर्नु भएन । र उहाँका अभिव्यक्ति पार्टीलाई बलियो बनाउनुभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएका हुनाले उहाँलाई सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ ।”

स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनालाई जिम्मेवारीबाट मुक्त

यस्तै पार्टीले स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । 

उपमहासचिव ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिनुभयो । 

“उहाँहरू दुवैले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा प्रक्रियागत सङ्गत भएन भनेर सोधिएको थियो । स्पष्टीकरणमा उहाँहरूले पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती महशुस देखिएन”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यही भएर उहाँहरूलाई पार्टीको निर्देशनमा थप चल्न र जिम्मेवारीबाट छ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।” 

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

भक्तपुर, १० पुस : मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरको मुनि बिहारबाट ल्याएको अस्थिधातु थिमिको शङ्खधर चोकबाट बाजागाजाका साथ र्‍याली गर्दै नगरपरिक्रमा गरेर पाटी बिहार लगेर स्थापना गरेको हो ।

मुनि बिहारका भन्तेहरूले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई अस्थिधातु हस्तान्तरण गरेसँगै र्‍याली गरि ल्याएर स्थापना गरिएको मध्यपुर महोत्सवभरि सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ । नगर प्रमुख श्रेष्ठले यही पुस १२ गतेदेखि सुरू भई १४ गते सम्पन्न हुने मध्यपुर महोत्सव–२०८१ को अवसरमा सर्वसाधारणलाई अवलोकनका लागि बुद्धको अस्थिधातु प्रदर्शन गरिने बताउनुभयो ।

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौँ, १० पुसः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो ।

उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो । बालबालिकादेखि युवायुवती तस्बिर खिचाउन र सेल्फी लिन व्यस्त देखिन्थे ।

बालबालिकालाई अभिभावकले सपिङ् मल तथा फनपार्क, चिल्ड्रेन पार्कलगायत स्थानमा लैजाँदा भीड बढेको थियो । ठाउँ–ठाउँमा साङ्गीतिक कार्यक्रम र जमघट भएको थियो ।

पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गलगायत गन्तव्यमा भीडभाड रह्यो । काठमाडौँ नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरि, लाकुरीझञ्ज्याङ आदी गन्तव्यमा पर्यटकको बाक्लो चहलपहल रहेको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ । क्रिसमस इभमा ठमेलका होटलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताउनुभयो ।

परिषद्को आयोजनामा कर्मचारी सञ्चयक कोष परिसरमा ‘फुड फेष्टिभल’ र सडक महोत्सव आयोजना गरिएको थियो । पर्यटकीय गन्तव्य र मुख्य चहलपहल हुने स्थानका रेष्टुरेन्टमा ग्राहकको ओइरो लागेको रेष्टुरेन्ट एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) ले जनाएको छ ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ ।

मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको हो ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौँमा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको थियो ।

पत्रकारको पेसागत हकहितको संरक्षणमा स्वास्थ्यमन्त्री पौडेलको जोड

काठमाडौँ, १० पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड दिनुभएको छ । आज सञ्चारिका समूहले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पत्रकारको पेसागत सुरक्षामा चुनौती रहेकाले महासङ्घले यी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

“महासङ््घले पहिलो पटक महिला नेतृत्व पाउनु गर्वको कुरा हो, अब महासङ्घले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “मुलुकमा भ्रष्टचार नियन्त्रण, सुशासन तथा मुलुककै राजनीतिक व्यवस्था परिवर्तन गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।”

श्रमजीवी पत्रकारहरुले समयमा पारिश्रमिक नपाएकोलगायतका समस्या देखिएकाले राज्यले सञ्चार जगतका समस्या सम्बोधनका लागि पहल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

यसैगरी राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सञ्चार जगतमा महिला सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमा जोगाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । “हामी सबैजाना एकजुट भएर प्रेस स्वातन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्ष लड्नुपर्छ । पछिल्लो समय सङ्कटमा रहेका मिडियाका समस्या समाधानमा बहस हुनुपर्छ,” उहाँले भन्नुभयो, “यसैगरी पत्रकारको क्षमता अभिवृद्धिका लागि लगानी बढाउन आवश्यक छ ।”

चीनद्वारा इयुको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँच विस्तार

चीनले बुधवार युरोपेली सङ्घ (इयु) बाट आयात गरिएको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँचलाई ‘मामिलाको जटिलता’ का कारण विस्तार गर्ने बताएको छ । यसले बेइजिङ र ब्रसेल्सबीचको व्यापारिक गतिरोधलाई लम्ब्याएको छ ।

इयुले चिनियाँ विद्युतीय सवारी अनुदानको अनुसन्धान गरेपछि जनवरीमा चीनले केही इयु ब्रान्डी आयातमाथि अनुसन्धान सुरु गरेको थियो । बेइजिङले सुरुमा ब्रान्डी अनुसन्धान जनवरीमा समाप्त हुने बताएको थियो तर वाणिज्य मन्त्रालयले अब यो अप्रिल ५ सम्म चल्ने बताएको छ । मन्त्रालयले थोरै विवरण दिएको छ तर ‘यस मामिलाको जटिलता’ लाई ध्यानमा राख्दै ‘अनुसन्धान अवधि’ लम्ब्याइएको बताएको छ ।

चीनले नोभेम्बरमा घरेलु उद्योगमा ‘पर्याप्त क्षति’ हुने खतरा रहेको भन्दै गत महिना अस्थायी शुल्कको घोषणा गरेपछि इयुबाट आयात हुने ब्रान्डीमा ‘अस्थायी एन्टि–डम्पिङ उपायहरू’ लागु गर्ने बताएको थियो । इयुले विश्व व्यापार सङ्गठनमा यी उपायहरूलाई औपचारिक रूपमा चुनौती दिएको छ । इयुले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्सविरुद्धको जवाफी कारबाही जस्तो देखिन्छ ।

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिनुभएको छ ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रवक्ता स्टेफनी ट्रेम्बलेले भन्नुभयो,“सुडानमा द्रुत रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाबाट महासचिव चिन्तित हुनुहुन्छ । खाद्यान्न र पोषणमा पहुँच देशभरि लाखौं मानिसहरूको लागि बिग्रँदै गएको छ ।”

“आईपीसीको भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको अवस्था रहेको देखाएको छ । उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वतमा रहेका विस्थापन शिविरहरूलाई जोखिममा रहेको देखाएको छ ।”

सुडानमा २४ लाख भन्दा बढी मानिसहरू द्वन्द्वको साथसाथै तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

गुटेरेसले छिटो, सुरक्षित, निर्बाध र दिगो पहुँचको सुविधा दिनको लागि आफ्नो आह्वानलाई दोहोर्याए ।

जापानमा आगलागी, दर्जनौँ कुकुर मरे

जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी हुँदा दर्जनौँ कुकुर मरेको एक अधिकारीले बताएका छन् ।

मध्यरातमा सुरु भएको आगो निभाउन दमकलकर्मीहरूलाई करिब चार घन्टा लागेको थियो । आगलागीबाट विभिन्न जातका ३४ साना कुकुरको मृत्यु भएको होक्काइडोको चिटोज शहरका फायर स्टेशन अधिकारीले बताए ।

अधिकारी र स्थानीय सञ्चारमाध्यमका अनुसार डाक्सहुन्ड र पुडल सहित ७० देखि ८० कुकुर त्यस सुविधामा राखिएका थिए ।

होक्काइडो कल्चरल ब्रोडकास्टिङको रिपोर्ट अनुसार कारण अज्ञात रहे पनि प्रजनक (ब्रिडर) ले मङ्गलबार राति कुकुर खोरको स्टोभमा ‘केही दाउरा थपेको’ अनुसन्धानकर्ताहरूलाई बताए ।

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

किमाथाङ्का (सङ्खुवासभा), १० पुस : सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो ।

सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरू गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताउनुभयो । विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्नेछ । आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स्थानीय बाह्रबीसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।

विसं २०७७ माघदेखि काम सुरु गरेको आयोजनाको निर्माण पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा टेस्टिङ तथा कमिसनिङसमेत सम्पन्न भइसकेको छ । उक्त आयोजना करिब रु एक अर्ब १० करोड लागतमा निर्माण भएको हो ।

अपडेटः अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार गरियो

अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् ।

कजाकिस्तानका अधिकारीले भनेका छन्, “विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।” विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो । विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्याएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कजाकिस्तानको यातायात मन्त्रालयले टेलिग्राममा भनेको छ, “बाकु–ग्रोज्नी हवाई मार्गमा उडेको एउटा विमान अक्ताउ शहर नजिकै दुर्घटनाग्रस्त भएको छ ।

यो अजरबैजान एयरलाइन्सको हो।” अजरबैजानको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सका अनुसार विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपतकालीन अवतरण’ गरिएको बताइएको छ । विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना ररूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ ।

कजाकिस्तानको आकष्मिक व्यवस्था मन्त्रालयले विमान दुर्घटना हुँदा लागेको आगो आफ्ना कर्मचारीले नियन्त्रणमा लिएको जनाएको छ । “प्रारम्भिक जानकारीअनुसार विमानमा सवार दुई बालबालिकासहित २८ जनालाई अस्पताल भर्ना गरिएको छ,” मन्त्रालयले भनेको छ । घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका छन् ।

कजाकिस्तानको राजधानी अस्तानाबाट घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको विशेष विमान पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अलियेभको कार्यालयले भनेको छ, “राष्ट्रपतिले विपत्तिको कारण पत्ता लगाउन तत्काल कदम चाल्न निर्देशन दिनुभएको छ ।

” स्थानीय स्वास्थ्य अधिकारीहरूले यसअघि दिएको जानकारीमा १४ जना घाइतेलाई क्षेत्रीय अस्पतालमा लगिएको र पाँच जनालाई सघन उपचार कक्षमा राखिएको बताएका थिए भने स्थानीय सञ्चारमाध्यमले विमानमा सवार २५ जनालाई जीवितै उद्धार गरिएको र पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरेका थिए ।

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा, १० पुस : पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो ।

बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ । पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताउनुभयो । 

“हाम्रो मुख्य उद्देश्य साहसिक गतिविधिबाट अन्तर्राष्ट्रिय जगतमा पोखरालाई चिनाउने हो, मङ्गलबारदेखि सुरु भएको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले हामीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।  

उहाँका अनुसार महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन् । 

पोखरा पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बेलुन महोत्सव पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिसकेकाले यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विविध कारणले सुस्ताइरहेको पर्यटनलाई गतिशील बनाउन बेलुन महोत्सवले सघाउ पु¥याउने विश्वास पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको छ । “पर्यटकीय नगरीलाई थप ‘भाइब्रेन्ट’ बनाउन पर्यटकीय गतिविधि भइरहनुपर्छ । पछिल्लो समय हट एयर बेलुनजस्ता महोत्सवले यस सहरको चिनारीलाई थप अन्तर्राष्ट्रियकरण गरेको छ ।” 

महोत्सवको स्थानीय संयोजनको जिम्मा फेवा क्लबले लिएको यस महोत्सवमा ‘बिवाइडी’ मुख्य प्रायोजक रहेको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारले प्रवर्द्धकका रुपमा सहयोग गरेका छन् । पोखरा पर्यटन परिषद्ले महोत्सवमा सहकार्य गरेको छ ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन् । पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हटएयर बेलुन उड्न सुरु भएसँगै आकाश रङ्गिन बनेको छ । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन् । 

महोत्सवको ब्राण्ड एम्बासडर राजेश हमाल र प्रियङ्का कार्कीकोसमेत महोत्सवमा सहभागिता छ । महोत्सव स्थलसम्म जानआउन लेकसाइड डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था मिलाइएको छ । महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा सञ्चालित छ । बिहान ६ देखि ९ बजेसम्म व्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने जनाइएको छ । 

साँझ ४ देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुन उडान भर्नेछन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान गर्दै आएको छ । 

दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु : दुई जना घाइते

घोराही (दाङ), १० पुस : दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आज दिउँसो १ः५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उहाँको मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते हुनुभएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

मासु र मदिरा नचल्ने माङ्सेबुङ

मङ्गलवारे (इलाम), १० पुसः इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ ।

यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाउनुभयो । उहाँका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।

माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।

करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ ।

गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज केहेरसिंह योङहाङले बताउनुभयो । उहाँका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उहाँको जिकिर छ ।

किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर) ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ ।

किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ ।

माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो ।

धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।

गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताउनुभयो ।

बाढीका कारण बन्द भएको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु

काठमाडौँ – गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो सो आयोजनाले आज साँझदेखि पुनः बिजुली उत्पादन सुरु गरेको हो ।

कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको सम्बन्धित आयोजनाले जनाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७ः४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी एक सय २० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहरमा क्षति पुर्याएको थियो ।

गोङ्गरस्थित विद्युतगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूलठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समय तालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।

पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।

जलविद्युत् केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले गत मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताउनुभयो ।

बाढी पहिरोकाकारण डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन ।

विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत् आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगमनबाट तोकिएको दिनभन्दा अगाडि नै विद्युत् उत्पादन गर्न सफल भएको बताउनुभयो । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बिमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बिमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको रु एक अर्ब ७८ करोड बराबरको प्रारम्भिक बिमा दाबी गरेको थियो ।

कम्पनी र बिमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बिमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनामा बिमा गरिएको छ । बिमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान (सुनसरी), १० पुसः जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।

धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्नुहुन्छ । उहाँले भक्का बेच्न सुरु गर्नुभएको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उहाँले सुनाउनुभयो ।

उहाँले भक्का प्रतिगोटा रु २० दरले बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, “भक्का बिक्रीबाट दैनिक रु तीन हजार पाँचसयसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उहाँले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झम्मिन्छन् ।

धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाउनुभयो । “भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।”

धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो सुरु भएपछि भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उहाँको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु २० पुगेको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार दैनिक औसतमा रु चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उहाँको भनाइ छ ।

धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।” उहाँका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ ।

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो ।

सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।

मङ्गलबारको ऐतिहासिक उडान बिहान ठीक ६ः५३ बजे (११५३ जिएमटी) मा भएको हुनुपर्ने थियो । यद्यपि मिसन वैज्ञानिकहरूले पुष्टिका लागि शुक्रबारसम्म पर्खनुपर्नेछ किनभने सूर्यको निकटताका कारण केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ ।

यदि पृथ्वी र सूर्यबीचको दूरी अमेरिकी फुटबल मैदानको लम्बाइ बराबर छ भने अन्तरिक्ष यान नजिकको दृष्टिकोणको क्षणमा अन्तिम क्षेत्रबाट लगभग चार गज (मिटर) हुनुपर्दछ । यसलाई पेरिहेलियन भनिन्छ ।

“यो नासाको साहसी मिसनको एउटा उदाहरण हो, यसले हाम्रो ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको कुरा गरेको छ”, पार्कर सोलर प्रोब कार्यक्रमका वैज्ञानिक एरिक पोसनरले सोमबार एक विज्ञप्तिमा भन्नुभयो, “हामी अन्तरिक्ष यानबाट त्यो पहिलो स्थिति अद्यावधिक प्राप्त गर्न र आउँदो हप्ताहरूमा वैज्ञानिक डाटा प्राप्त गर्न प्रतीक्षा गर्न सक्दैनौँ ।”

ताप ढाल यति प्रभावकारी छ कि प्रोबले सूर्यको बाहिरी वातावरणको अध्ययन गर्दा पनि यसका आन्तरिक उपकरणहरू कोठाको तापक्रम – लगभग ८५ फरेनहाइट (२९ सेल्सियस) – मै रहन्छन् । सूर्यको बाहिरी वातावरणलाई कोरोना भनिन्छ ।

पार्कर पनि करिब चार लाख ३० हजार माइल प्रतिघन्टा (छ लाख ९० हजार किलोमिटर प्रतिघण्टा) को तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

“कुनै पनि मानव निर्मित वस्तु ताराको यति नजिक कहिल्यै गएको छैन, त्यसैले पार्करले साँच्चै अज्ञात क्षेत्रबाट डाटा फर्काउनेछ”“ मेरिल्यान्डको लरेलस्थित जोन्स हप्किन्स एप्लाइड फिजिक्स लेबोरेटरी (एपिएल) का मिसन अपरेसन म्यानेजर निक पिङ्किनले भन्नुभयो, “हामी अन्तरिक्षयान सूर्यको वरिपरि घुमेर फर्किँदा यसबाट सुन्न उत्साहित छौँ ।”

यी चरम अवस्थाहरूमा प्रवेश गरेर पार्करले वैज्ञानिकहरूलाई सौर्य हावा कसरी उत्पन्न हुन्छ, कोरोना किन तलको सतह भन्दा तातो छ र कसरी कोरोनल मास इजेक्सनहरू– अन्तरिक्षमा फ्याँकिने प्लाज्माका विशाल बादलहरू–गठन हुन्छन् भन्ने जस्ता सूर्यका केही सबैभन्दा ठूला रहस्यहरू सामना गर्न मद्दत गरिरहेको छ ।

क्रिसमस इभको यो उडान तीन रेकर्ड–सेटिङ नजिकको पासहरूमध्ये पहिलो हो । अर्को दुई – सन् २०२५ मार्च २२ र सन् २०२५ जुन १९ मा – दुवैले प्रोबलाई सूर्यको उस्तै नजिकको दूरीमा फर्काउने अपेक्षा गरिएको छ ।

चितवनमा भोलिदेखि ‘मह उत्सव’

चितवन, १० पुसः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।

परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५/ ७६देखि चितवनमा मौरीजोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताउनुभयो । चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।

चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति

काठमाडौँ, १० पुसः उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।

‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले पर्व÷त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागिसमेत उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

क्रिश्चियन धर्मका प्रवर्तक इसा मसिहको जन्म भएको दिनका रुपमा हरेक वर्षको डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मका अनुयायी÷धर्मावलम्बीहरुले धुमधामका साथ क्रिसमस मनाउने परम्परा रहिआएको छ ।

शान्ति, प्रेम र सद्भावको प्रतीक क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यस अवसरमा इसाई धर्मावलम्बीहरुले आ–आफ्नो घरलाई झिलीमिली बत्ती, गुबारा, रङ्गीचङ्गी फूल आदिले सजाउने चलन छ । यो पर्वले साथीभाइ, परिवार र आफन्तबीच शुभकामना तथा उपहार आदानप्रदान गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।

चाडपर्वले सबैलाई एकता, सहिष्णुता र मानवताका मूल्यहरुमा आधारित एउटा समृद्ध र विकसित समाज एवं देश निर्माणमा उत्प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ । उहाँले क्रिसमसले आपसी सद्भाव, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव र मैत्रीभावलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले सबैलाई थप उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना पुनः व्यक्त गर्नुभएको छ ।

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त, मुटुरोगीलाई बढी असर

काठमाडौँ, १० पुसः के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ ।

गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।

वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताउनुभयो । “जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ”, उहाँले भन्नुभयो, “विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।”

तुलाधारका अनुसार काठमाडौँ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । सर्वसाधरणहरुले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।

“राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइडा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्”, तुलाधारले भन्नुभयो, “नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”

सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ । “जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ”, तुलाधारले भन्नुभयो, “ईँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।”

वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा विहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताउनुभयो ।

जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

मुटुरोगीलाई बढी असर
मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउनुहुन्छ । “प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्ने डा शर्माको भनाइ छ । “चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।

जनस्वास्थ्यविद् डा समिर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात जस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिनुहुन्छ ।

‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना

काठमाडौँ, १० पुस: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्वीले धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधताबीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्”, सभापति देउवाले भन्नुभयो ।

‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उहाँले शुभ–कामना व्यक्त गर्नुभएको हो ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

काठमाडौँ, १० पुसः राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै आइएको छ ।

राष्ट्रपति पौडेलले इसाई धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने

काठमाडौँ, १० पुस : हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ ।

विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे

काठमाडौँ, १० पुसः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ ।

इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको बताउनुभएको हो ।

“विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरुको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । यस अवसरमा सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहन आग्रह पनि गर्दछु”, उपाध्यक्ष घिमिरेले सन्देशमा भन्नुभएको छ ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संविधानप्रदत्त हक अधिकारहरुलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार पनि संविधानद्वारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकका हक अधिकारहरुको कार्यान्वयनमा प्रतिवद्ध भएर लागिरहेको उपाध्यक्ष घिमिरेको कथन छ नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदायबीचको सु–सम्बन्धलाई प्रगाढ तुल्याउन तथा नागरिकमा बढ्दै गएको निराशालाई उत्साहमा बदल्ने गरी विकास र समृद्धिको अभियानमा जुट्न उपाध्यक्ष घिमिरेले सबैमा अपिल गर्नुभएको छ ।

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १० पुसः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

त्यस्तै, केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, १० पुसः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताउनुभयो ।

उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता– रुस

रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा डुबेपछि दुई जना चालक दलका सदस्य बेपत्ता भएको रुसको विदेश मन्त्रालयले मङ्गलबार टेलिग्राममा जनाएको छ ।

उर्सा मेजर ‘इन्जिन कक्षमा भएको विस्फोटपछि’ डुबेको मन्त्रालयको क्राइसिस युनिटले जनाएको छ । 

मन्त्रालयले १६ जना रुसी चालक दल सदस्यमध्ये १४ जनाको उद्धार गरेर स्पेनको कार्टाजेना बन्दरगाहमा लगिएको र दुई जना बेपत्ता रहेको जनाएको छ ।

स्पेनको समुद्री उद्धार सेवाले विज्ञप्तिमा जनाएअनुसार जहाजले सोमबार बिहान दक्षिणपूर्वी स्पेनको तटीय क्षेत्रमा खराब मौसममा रहँदा सङ्कट सन्देश पठाएको थियो । जसमा जहाज एकातिर ढल्किएको र लाइफबोट छोडिएको जनाइएको थियो । 

सेवाका अनुसार स्पेनले हेलिकप्टर र उद्धार नौकाहरू पठाएर बाँचेकाहरूलाई बन्दरगाहमा ल्याएको थियो । त्यहाँ रेडक्रसले उनीहरूलाई सहयोग गरेको थियो ।

त्यसपछि एउटा रुसी युद्धपोत आइपुग्यो र जहाज स्पेनिस र अल्जेरियाको पानीको बीचमा भएकाले उद्धार कार्यको जिम्मा लियो, त्यसपछि उर्सा मेजर रातभरमा डुबेको थियो । 

“बचेका व्यक्तिहरूको विवरणअनुसार मालवाहक जहाजले होल्डमा खाली कन्टेनर र डेकमा दुईवटा क्रेन बोकेको थियो”, स्पेनिस उद्धार सेवाले भन्यो । 

रुसी विदेश मन्त्रालयले जहाज रक्षा मन्त्रालयअन्तर्गतको नागरिक यातायात र लजिस्टिक्स सेवा प्रदायक ओबोरोनोलजिस्टिकाको सहायक कम्पनीको स्वामित्वमा रहेको जनाएको छ ।

ओबोरोनोलोजिस्टिकाको वेबसाइटमा रहेको नक्शाले कम्पनीले अन्य कुराहरूका साथै दक्षिणी रुसको नोभोरोसिस्कबाट सिरियामा रहेको रुसको नौसेना आधार टार्टससम्मको मार्ग समेटेको देखाउँछ । 

युक्रेनको जियुआर सैन्य गुप्तचरले सोमबार भनेको थियो, “रुसले आफ्ना केही हतियार र उपकरण टार्टस बन्दरगाहबाट लिबियामा समुद्री मार्गबाट ढुवानी गर्न थालेको छ ।” 

मस्कोका सहयोगी बशर अल–असदलाई हटाइएपछि सिरियामा रुसी अड्डाहरूको भविष्यबारे अनिश्चितता छ ।

मरिनट्राफिक डट कममा सूचीकृत उर्सा मेजर १२४.७ मिटर (४०९ फिट) लामो सामान्य मालवाहक जहाज हो । यो रुसी शहर सेन्ट पिटर्सबर्गबाट रुसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकतर्फ जाँदै थियो ।

गत हप्ता ओबोरोनोलोजिस्टिकाले बन्दरगाहमा रहेको जहाजको तस्वीरहरूसहित एक प्रेस विज्ञप्ति जारी गर्दै यसले विशेष गरी ठूलो र भारी सामान ढुवानी गर्ने उल्लेख गरेको थियो ।  प्रत्येक ३८० टन तौल भएका क्रेनहरू र प्रत्येक ४५ टन तौल भएका आइसब्रेकरका ह्याच कभरहरू सुदूर पूर्वी रुसी शहर भ्लादिभोस्टकमा लैजाने भनिएको थियो ।

यसले यो आर्कटिक हुँदै बन्दरगाह र उत्तरी समुद्री मार्गको विकास गर्ने ‘राज्य’ प्रयासको हिस्सा भएको बताएको छ । 

कम्पनीका अनुसार यस्तो ठूलो उपकरणका लागि समुद्री मार्ग सबैभन्दा राम्रो हो र कम्पनीसँग यसमा ‘ठूलो अनुभव’ छ ।

एजेन्टस्त्भो अनुसन्धानात्मक समाचार साइटका अनुसार ह्याच कभरहरू उत्तरी समुद्री मार्गमा बाक्लो बरफ फुटाउन डिजाइन गरिएको लिडर नामक नयाँ आणविक आइसब्रेकरका लागि थिए ।

यो दुर्घटना रुसद्वारा कब्जा गरिएको क्रिमिया र दक्षिणी रुसबीचको जलडमरूमध्यमा डिसेम्बर १६ मा इन्धन तेल बोकेको एक रुसी ट्याङ्कर आंशिक रूपमा डुबेर ठूलो तेल चुहावट भएको घटनापछि आएको हो ।

हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

सिमकोट (हुम्ला), ९ पुस : हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो ।

आज बिहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरूद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताउनुभयो । 

नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मङ्गलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ । 

यस्तै सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरूद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन् । यस्तै जिल्लाका दक्षिण भेगमासमेत सवारीसाधनले आवतजावत गर्न नसकेको बताइएको छ । 

सोमबार दिउँसो मौसम सफा रहे पनि रातीदेखि फेरबदल हुँदा जिल्लामा हिमपात सुरू भएको हो । सोमबार राति ३ः३० बजेदेखि हिमाली जिल्ला हुम्लाको सिमकोट आसपाससहित उत्तरी भेगमा हिमपात भएको हो । सदरमुकाम सिमकोटमा आज बिहानसम्म दुई इञ्चसम्म हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ । 

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ । चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ । साथै सदरमुकाम सिमकोटमा दैनिक सेवाग्राहीको भिडभाड हुने कार्यालय आज सुनसान छ ।

नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ । उत्तरी भेगको तापक्रम माइनस १० डिग्री पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको छ । 

जिल्लामा दोस्रो पटक हिमपात हुँदा बालबालिका, वृद्धवृद्धा बालबालिकालगायत सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आग्रह गर्नुभएको छ । हिमपहिरो खस्ने आसपासका बस्तीमा सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।