`

कांग्रेसद्वारा निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई कारबाही

Nepal One HD २७ असार २०८२ ८:०३
नेपाली कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भनी प्राप्त हुनआएका उजुरीका आधारमा सचेत गराएको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार समितिले कैलालीमा दुई, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा एक, खोटाङमा एक र धनुषामा एक गरी २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई अब उप्रान्त पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरेको हो । साथै प्राप्त अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिनकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसले २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारका विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकका सन्दर्भमा पार्टीको विधानअनुसार स्वतः निष्काशन गरेको थियो । ती कारबाही परेकाको हकमा तोकिएको प्रक्रिया पुर्याई आफूहरूउपर हुने कारबाही फुकुवाका लागि प्राप्त भएका पुनरावेदनका हकमा समितिले आवश्यक निर्णयका लागि पार्टीको केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकमा पेस गरेको थियो ।

त्यस्ता प्राप्त भएका सम्पूर्ण निवेदनहरूलाई आवश्यक कारबाहीका लागि कोशी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, बागमती प्रदेशबाट चार, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट एक गरी ८८ जनाको निवेदन रहेको पार्टी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *