`

मौसम बदली : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौँ, ९ पुस : नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा आज सामान्य वर्षा भएको छ । काठमाडौँमा पनि साँझ सामान्य पानी परेको छ ।

आजराति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । भोलिदेखि भने मौसम सुधार हुँदै जाने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । 

बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू–भागमा बादल रहेको अर्यालले राससलाई बताउनुभयो । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उहाँले बताउनुभयो ।

मौसमविद् अर्यालले भन्नुभयो, “खासै पानी परेको देखिँदैन । पश्चिमा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।” बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि उहाँले बताउनुभयो । 

यो बदलीले देशैभरि चिसो भने बढाउने उहाँले बताउनुभयो । “हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ”, अर्यालले भन्नुभयो ।

उहाँले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । 

धनुषाका २४ विद्यालयमा भोेतिक तथा शैक्षिक सुधार कार्यक्रम

जनकपुरधाम, ९ पुस : आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले धनुषाका विभिन्न २४ विद्यालयमा शैक्षिक अवस्थामा सुधार एवं पूर्वाधार विकास कार्य अगाडि बढाइएको छ ।

प्लान इन्टरनेशनल नेपालको पूर्वक्षेत्रीय कार्यालय जनकपुरधामको आज यहाँ आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संस्थाको शिक्षा परियोजनाअन्तर्गत चार वर्षअघि कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिइएको हो । 

जिल्लाको विदेह, सहिदनगर, कमला र सबैला नगरपालि तथा जनकनन्दनी गाउँपालिका गरी पाँच वटा स्थानीय तहका २४ वटा विद्यालयमा कार्यान्वयन भइरहेको यस कार्यक्रममा हालसम्म रु पाँच करोड ७८ लाख खर्च भएको सो संस्थाका रुविना राउतले जानकारी दिनुभयो । संस्थाको कार्यप्रगति प्रस्तुत गर्दै उहाँले जापान सरकारको आर्थिक सहयोगमा प्लान इन्टरनेशनलद्वारा नेपालका ४२ वटा जिल्लामा शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, बालिकालाई सेनेटरी प्याड र औषधि वितरण, लैङ्गिक भेदभावविरुद्ध जनचेतना, शिक्षकलाई तालिम, कम्युटर प्रदान, शैक्षिक छलफल, अनुगमनलगायत कार्य भइरहेको बताउनुभयो ।

उक्त संस्थाले हाल मधेस प्रदेशका आठ वटा जिल्लाका सामुदायिक विद्यालयमा भौतिक तथा शैक्षिक सुधारकार्य अगाडि बढाउँदै लगेको त्यस अवसरमा जानकारी दिइयो । 

संस्थाका पूर्वक्षेत्रीय कार्यालय प्रमुख रविशङ्कर पण्डितले प्लान इन्टरनेशनलले आफ्नो कार्यलाई पारदर्शी तथा समाजका सबै वर्गसँग छलफल गरेर शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा हातेमालो गरेर काम गरिरहेको बताउनुभयो । 

बैठकका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमख राजनन्दन मण्डलले  धनुषा जिल्लामा आर्थिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित रहकाले सम्बन्धित निकायले त्यसप्रति ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरूले पारदर्शी र इमान्दारीपूर्वक तोकिएको समयमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

 यसअघि हिजो जिल्ला समन्वय समिति प्रमुख मण्डल तथा उपप्रमुख सङ्गीता ठाकुरको नेतृत्वमा धनुषाका विभिन्न विद्यायलमा भएका कार्यहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो ।

‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’

पाटन (ललितपुर), ९ पुस : सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘वर्तमान अवस्थामा सङ्क्रमणकालीन न्याय ः अबको बाटो’ विषयक छलफलमा सहभागी मानव अधिकारकर्मी, द्वन्दपीडित, नागरिक समाजका अगुवालगायतले सङ्क्रमणकालीन न्यायको विषयलाई काठमाडौँ केन्द्रित भएर मात्रै हेर्न नहुने भन्दै द्वन्द्वकालका घटना र न्यायिक निरुपणलाई द्वन्द्वपीडितमैत्री भएर हेर्न आग्रह गर्नुभएको हो ।

आयोगका सदस्य सूर्यप्रसाद ढुङ्गेलले द्वन्द्वपीडितले छिटो न्याय पाउन भनेर आयोगबाट इमान्दारीपूर्वक काम भइरहेको बताउनुभयो । “पीडितकै हितमा आयोगले काम गर्छ, यो विश्वव्यापी मान्यता हो । राज्य जहिले पनि मानव अधिकारका कुरामा पन्छिन खोज्छ, हामी मानवअधिकार र पीडितप्रति हामी जिम्मेवार र जवाफदेही छौँ”, उहाँले भन्नुभयो ।

आयोगका सदस्य एवं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य मनोज दुवाडीले राजनीतिक स्वार्थ प्रेरित भएर जानेहरूका कारण समिति तथा आयोगहरू योग्य मानिस पुग्न समस्या भएको बताउनुभयो । “राजनीतिक दल र नेता विशेषका स्वार्थमा केन्द्रित भएर समिति वा आयोगमा जाने कारणले गर्दा समग्र प्रणालीमा समस्या आयो । ऐनको दफा ४ को उपदफा (च) ले दायरा खुम्च्याएकाले सामाजिक क्षेत्रमा काम गरेका विज्ञ मानिसहरू आयोगको अध्यक्ष हुनबाट बञ्चित भए, हामी जहिले पनि पीडितका पक्षमा हुन्छौँ, हामी त्यसका लागि अडिग छौँ”, उहाँले भन्नुभयो ।

उहाँले दुईवटै आयोगका अध्यक्ष तथा पदाधिकारी सिफारिसका लागि दिइएको दुई महिनाको समय अपुग भएको भन्दै द्वन्द्वपीडितलाई जतिसक्दो छिटो न्याय दिलाउनका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकारकर्मी चरण प्रसाईंले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा भागबन्डाको राजनीति हावी हुँदा विगतका समिति असफल भएको बताउनुभयो । “दुवै आयोगमा अब पदाधिकारी सिफारिस गर्दा समितिले स्वविवेक प्रयोग गर्न सक्नुपर्छ । दुई महिनाको समय दिइएको समिति राजनीतिक प्रभावले सफल हुन सकेन, अब बन्ने सिफारिस समितिमा द्वन्द्वपीडितको पनि प्रतिनिधित्व हुनुपर्छ, मानवअधिकार आयोगले अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

द्वन्द्वपीडित देवी सापकोटाले सङ्क्रमणकालीन न्याय निरुपणका लागि समय लम्बिने क्रमले पीडितले न्याय नपाउने र राज्यले बहानाबाजी गर्ने क्रममात्रै बढेको धारणा राख्नुभयो । उहाँले सङ्क्रमणकालीन न्याय निरुपणका लागि दुवै आयेगका अध्यक्ष तथा सदस्य नियुक्त गर्दा विधिलाई पालना गर्ने योग्य मानिस नियुक्त गर्न आग्रह गर्नुभयो ।

अपाङ्गता भएका द्वन्द्वपीडितका प्रतिनिधि सुरेन्द्र खत्रीले आयोगमा पदाधिकारी सिफारिस समितिले गरेको ढिलाइले न्याय पाउन कठिनाइ भएको भन्दै पीडितका सवाल ओझेलमा परेकामा ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा सहभागी अन्य व्यक्तिहरूले सङ्क्रमणकालीन न्याय र द्वन्द्वकालीन मुद्दाका सन्दर्भमा मानवअधिकार आयोगलाई अपनत्व र अभिभावकत्व ग्रहण गर्ने गरी काम गर्न आग्रह गरेका छन् । उहाँहरूले द्वन्द्वकालीन घटनाका सन्दर्भमा पीडितसँग अर्थपूर्ण संवाद गरेर टुङ्गोमा पु¥याउने गरी भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

कराते स्टार एरिका र प्रशिक्षक कुशल सम्मानित

काठमाडौँ, ९ पुस : सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई सम्मान गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा आज दुवैलाई सम्मान गरिएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले दोसल्ला र प्रशंसापत्रसहित दुवैलाई सम्मान गर्नुभयो ।

 एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिपबाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य गरी आठ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशल नै एरिकाको प्रशिक्षक थिए । कुशल १०औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।

ललितपुर महानग प्रमुख महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकामा खुसी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रलाई पहिचान गराउनसक्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

यस्तै संस्थापक प्रिन्सिपल ढुङ्गानाले नेपालमा पनि विस्तारै खेलकुदमा लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताउनुभयो । 

सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी

गण्डकी, ९ पुस : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा पेस गराइएकामा प्रतिवादी छविलाल जोशीको बयान आज सकिएको छ ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (डीआइजी) समेत रहनुभएका जोशीको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन लगाएर बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइको बयान सुरु गरिएको उहाँले बताउनुभयो । 

पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।

फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक

काठमाडौँ, ९ पुस : नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नामक नाराको अनावरण गर्नुभयो ।

त्यस अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताउनुभयो । केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न छ टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताकोे सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै सात वर्षका लागि सम्झौता भएको थियो ।

कार्यक्रममा श्रीलङ्कामा आयोजना भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीलाई सम्मानसमेत गरिएको छ । श्रीलङ्कामा पहिलो पटक आयोजना भएको उक्त च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको थियो ।

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय

काठमाडौँ, ९ पुस : नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ ।

महासङ्घको २७औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पद सम्हालेपछि आज बसेको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक सङ्कट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसैगरी समाचारका विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेका सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी महासङ्घका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो । मिडिया मिसनमा केन्द्रीय सदस्य शङ्कर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासङ्घ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन् ।

महासङ्घको २७औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासङ्घको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समिति, सरोकार भएका सङ्घसंस्था, महासङ्घका सदस्य, महासङ्घ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको पनि महासचिव दाहालले बताउनुभयो ।

महासङ्घको इतिहासमा २७औँ महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त समूहका तर्फबाट अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित हुनुभएको हो । २७ औँ महाधिवेशन गराउने कार्यसमितिको कार्यवाहक अध्यक्ष पनि संयोगले महिला नै भएको इतिहास पनि स्थापित भएको छ ।

बङ्गलादेशका प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त

एक टेलिभिजन स्टेशनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ ।

विद्यार्थीहरूले अगस्ट क्रान्तिमा भाग लिएका थिए । उक्त क्रान्तिले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेको थियो । हसिनाको कार्यकाल मिडिया स्वतन्त्रताका लागि सबैभन्दा खराब अवधिको रूपमा चिनिन्थ्यो ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाह डिसेम्बर १७ मा १५ देखि २० जना विद्यार्थीको नेतृत्व गर्दै सिटी ग्रुपको कार्यालयमा पग्नुभएको थियो । सिटी ग्रुपले सोमोय टेलिभिजनमा लगानी गर्छ ।

“सोमोय टेलिभिजनले प्रचार प्रसार गरिरहेको थियो, मेरो टिप्पणीलाई घुमाउरो तुल्याइरहेको थियो र एक पतित राजनीतिक पार्टीको विचारलाई समायोजन गरिरहेको थियो”, हसनतले भन्नुभयो, “हामी प्रेस स्वतन्त्रताका कट्टर समर्थक हौँ तर प्रेस निष्पक्ष रहनुपर्छ ।”

उहाँले माग राख्नमा कुनै समस्या नदेखेको बताउँदै तर विद्यार्थीहरूले बर्खास्त गर्न चाहेकाहरूको सूची बुझाएको भन्ने खबरलाई अस्वीकार गर्नुभयो ।टेलिभिजन स्टेसनलाई वित्तपोषण गर्ने व्यापारिक समूहका प्रबन्ध निर्देशकले टिप्पणीका लागि बारम्बार अनुरोधमा कुनै जवाफ दिएनन् ।

यो घटनाले क्रान्तिपछि पत्रकारहरू माझ त्रास बढाएको छ ।टेलिभिजन स्टेशनका वरिष्ठ सम्पादक ओमर फारुकले पाँच जनामध्ये आफू पनि बिना कारण बर्खास्तीको पत्र पाउनेमा परेको बताउनुभयो । “टेलिभिजन प्रशासनले स्टेशनको बृहत्तर हितका लागि हामीमध्ये केहीलाई पद छोड्न अनुरोध ग¥यो”, फारुकले भन्नुभयो, “हामीले निर्णयको व्याख्या माग्यौँ तर प्रशासनले कुनै व्याख्या दिन अस्वीकार ग¥यो ।”

अन्तरिम नेता मुहम्मद युनुसले मिडिया स्वतन्त्रता चाहेको बारम्बार जोड दिनुभएको छ । युनुसका प्रेस सचिव शफिकुल आलमले यदि कसैले ‘कुनै कारबाही गर्छ भने जिम्मेवारी उनीहरूको हो’ भन्दै सरकारलाई टाढा राख्न खोज्नुभएको थियो ।

प्रेस वाचडगहरूका अनुसार धेरै पत्रकारले विगतका कामका लागि स्पष्ट प्रतिशोधमा प्रहरी अनुसन्धानको सामना गरिरहेका छन् । ती पत्रकारलाई आलोचकहरूले हसिना सत्तामा हुँदा उहाँको समर्थन गरेको मान्छन् ।

कम्तीमा चारजना पत्रकार जेलमा परेका छन् र देशभरि थुप्रै कानूनी मुद्दाहरूको सामना गरिरहेका छन् । हसिना र उहाँको सरकारले अखबार र टिभी च्यानलहरू बन्द गर्ने र पत्रकारहरूलाई कैद गर्ने लगायतका मुट्ठीभर स्वतन्त्र मिडिया आउटलेटहरूमा अनावश्यक दबाब दिएको आरोप लगाइएको थियो ।

हसिनाको सरकार ढलेपछि सोमोय टिभी लगायत केही टिभी च्यानलहरू उहाँको आवामी लिगप्रतिको कथित निष्ठाका कारण आक्रमणको शिकार भए ।नोभेम्बरमा प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो बङ्गला भाषाको समाचारपत्र प्रथम आलोको कार्यालय घेराउ गरेका थिए र द डेली स्टारसहित यसलाई बन्द गर्ने धम्की दिएका थिए ।

बङ्गलादेशमा प्रेस स्वतन्त्रता लामो समयदेखि खतरामा छ । रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार बङ्गलादेश प्रेस स्वतन्त्रतामा १८० देशमध्ये १६५ औँ स्थानमा छ ।

महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा

चितवन, ९ पुस : आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन आएको हो ।

चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी छ । उहाँले भन्नुभयो, “आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन् ।” कतिपय हवाई मार्ग हुँदै आएका छन् भने कतिपय सडकबाट आउँदै गरेको उहाँले जानकारी दिनुभयो ।

बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उहाँले जानकारी दिनुभयो । बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ । बुधबार दिनको १२ : ३० बजेदेखि बन्द प्रशिक्षण सुरू हुने उहाँले जानकारी दिनुभयो । यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्ने उहाँले बताउनुभयो ।

कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने

गण्डकी, ९ पुस : भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । पोखरा महानगरपालिका वडा नं ३१ स्याङखुदीस्थित खनास्वाराका कृषक टुकाराम लामिछानेले कागती बिक्रीबाट मनाग्गे आम्दानी गर्दै आउनुभएको छ ।

जङ्गलमा परिणत भएको करिब २६ रोपनी जग्गामा छ वर्षअघि आफूले लगाएको ‘सोना’ पाँच सय र ‘लेमन–ठूलो’ जातका दुई सय गरी कूल सात सय कागतीका बिरूवा ठूला भई वार्षिक १० लाख रूपैँया आम्दानी हुनथालेकामा कृषक लामिछाने दङ्ग हुनुहुन्छ ।

कागती बिक्रीबाट यस वर्ष रू २० लाख आम्दानी हुने अपेक्षा गरेकामा गत चैत वर्षको १२ गते परेको असिनाका कारण क्षति पुग्दा ६० क्विन्टल उत्पादन हुने अनुमान गरेकोमा ३० क्विन्टल मात्र कागती उत्पादन हुँदा सोचेअनुसार पैसा हात पार्न नसकिएको उहाँले बताउनुभयो ।

“उत्पादन भएको कागती बिक्री हुँदै न कि भन्नु पर्दैन,” उहाँले भन्नुभयो, “कागतीको बोटमा बाह्रै महिना फल लाग्ने रहेछ, बजारमा अहिले प्रतिकेजी दुई सयदेखि दुईसय पचास रूपँैया सम्ममा बिक्री हुने गरेको छ, बाँझिएको जग्गामा कागती लगाएर राम्रै आम्दानी गर्न सफल भएको छु । हावापानी सुहाँउदो जग्गामा कागती लगाइ लाभान्वित हुन सबैसँग अनुरोध गर्दछु ।”

नेपाल सरकारको जागिर छोडेर सुरू गरेको व्यावसायीक कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि बिहानदेखि साँझसम्म कागतीका बोटको स्याहारसुसार गर्नु दैनिकी बनेको बताउँदै ६३ वर्षीय कृषक लामिछानेले थप्नुभयो, “यतिखेरको बेमौसममा पनि दिनमा पचास किलो कागती उत्पादन हुने गरेको छ ।”

बाँदरलगायत बन्यजन्तु र चराचुरूङ्गीले समेत नोक्सान नगर्ने, रोक कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नु नपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उहाँको भनाइ छ ।

विसं २०७५ साउन महिनामा धरानस्थित पाख्रीबासबाट दुई सय रूपैँयाका दरले खरिद गरेर ल्याएका बिरूवा साउन महिनामा रोपेको जानकारी दिँदै उहाँले भन्नुभयो, “चार वर्षमा उत्पादन दिन सुरू गरेका थिए, पहिलो वर्ष आठ लाख रूपैँया आम्दानी भयो र उत्पादनसहित आम्पादनी बढ्नेक्रम जारी छ ।”

चार मिटर फरक र एक मिटर गहिराइका खाल्टामा बिरूवा रोपेर सुरू गरेको कागती खेती गर्दा हालसम्म ८० लाख रूपँैया खर्च भएको उहाँले जानकारी दिनुभयो । कागती रासिलो भएका कारण बजारको माग पनि राम्रो छ । ज्ञान केन्द्र स्याङबाट ल्याई रोपिएका उन्नत जातका लेमनका दुई सय बिरूवामा अहिले कागती लटरम्म फलेका छन् ।

कृषक लामिछानेले भन्नुभयो, “रूखबाट झरेका फल पेलेर अघिल्लो साल ४८ माना अमिलो उत्पादन भएको थियो, कालो बाक्लो अमिलो प्रतिमाना रू एक हजार र पातलो झोल रू पाँच सयमा बिक्री गर्दै आछु, यस वर्ष पनि ३० माना जति अमिलो उत्पादन भइसकेको छ, झरेका कागतीबाट समेत आम्दानी गर्न सकिने रहेछ ।

बिरूवा रोपेको चार वर्षमै फल दिन सुरू गरेको कागतीको एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन भएको बताउँदै उहाँले बताउनुभयो । “अहिलेसम्म सम्बन्धित क्षेत्रका सरकारवाला पक्षबाट कुनै पनि किसिमको सर–सहयोग प्राप्त भएको छैन,” उहाँले भन्नुभयो, “यतिखेर कागती बगैँचाको काँटछाट, गोडमेलको काम भइरहेको छ । दैनिक पाँच जनालाई ज्यालादारीमा काम लगाउँदै आएको छु । काम गर्ने कृषकलाई प्राविधिकसहित अन्य सहयोग उपलब्ध हुन्छ भन्ने सुनेको छु, खै कसले पाउँछन् थाहा छैन ।”

पछिल्लो समय तातोपानी, चिया र खानामा कागती अत्यधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरू गरेको दावी गर्ने लामिछानेले भन्नुभयो, “राज्यका तर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत फलफूल तथा तरकारीमा देश आत्मनिर्भर बन्न सक्छ ।”

वेगनासतालको जलाधार क्षेत्रमा पर्ने उक्त कागती खेतीभित्र अन्तरबालीका रूपमा तरूल, अकवरे खुर्सानी, टिमुर, अमला, एभोकाडो, अम्बा, नास्पाती, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केराजस्ता विभिन्न जातका फलफूलका बोटबिरूवा फष्टाएका छन् । परीक्षणका लागि लगाएको एउटा स्याउको विरूवाले फलदिन सुरू गरेको बताउँदै उहाँले भन्नुभयो, “यस वर्ष ५० देखि ६० वटा फलफलेका थिए सवै बाँदरले खाइदियो ।”

लिफ्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरेको बताउँदै कृषक लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित तीन लाख रूपैँया खर्च भएको बताउनुभयो ।

युवाको रोजाइमा विदेश पर्ने र स्वदेशका अधिकांश जग्गा बाँझिने स्थितिको अन्त्यका लागि कृषि उत्पादन तथा उत्पादकत्त्वतर्फ राज्यको ध्यान जानुपर्ने स्थानीय कृषकको भनाइ छ । यसैगरी आयातित उपभोग्य वस्तु विस्थापित गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामा समेत योगदान दिने फलफूल तथा तरकारी खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले नीतिगत व्यवस्थासहित सहयोग गर्नुपर्ने स्थानीय किसानको सुझाव छ ।

धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु

कैलाली, ९ पुस : धनगढीमा आजदेखि ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ आजदेखि शैक्षिक महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरण गर्न एउटा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नयाँ प्रविधिलाई आत्मसात् गर्दै यो महत्वलाई थप बढावा दिनुपर्ने बताउनुभयो । उहाँले पुस्तकलाई प्रदर्शनी र व्यावसायिक रूपले मात्र नहेर्न व्यवासयीहरूलाई आग्रह गर्नुभयो ।

व्यवसायी सङ्घका अध्यक्ष भीम पडालले बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजनाले पुस्तकको महत्व विस्तार र ज्ञान प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्था र शिक्षासँग सम्बन्धित निकायका गरी एक सयभन्दा बढी स्टल रहेको उहाँले बताउनुभयो ।

आगामी १५ गतेसम्म चल्ने महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासमेत आयोजना हुने जनाइएको छ । रमाइलो मेला, राष्ट्रिय कलाकारहरूका प्रस्तुतिका साथै सुदूरपश्चिमका मौलिक परिकारसहितका खाना र खाजाका कक्षसमेत यहाँ राखिएका छन् । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा बहस सञ्चालन हुनेछ ।

महोत्सको व्यवस्थापनमा करिब रु दुई करोड बढी खर्च हुने, दुई लाख दर्शकले अवलोकन र रु पाँच करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ

कैलाली, ९ पुस- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । दलित विकास सेवा केन्द्र, दलित महिला अधिकार मञ्च नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त आयोजनामा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्नेसमेत बताउनुभयो ।

“छुवाछुत र विभेद अन्त्य नहुँदासम्म मुलुकको विकास हुन सक्दैन । अहिलेको अवस्थामा कुनै पनि नामका विभेद कायम रहनु शोभनीय होइन । त्यसैले जात वा धर्मका नाममा हुने विभेद अन्त्य गरेर प्रदेश र देशको विकास गर्नु सबैको जिम्मेवारी हो”, प्रदेश प्रमुख मियाँले भन्नुभयो । उहाँले दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएकाले ती अधिकार कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका अन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले समाजलाई विभेदमुक्त बनाउन सरकार लागिरहेको र यसमा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । सामाजिक विकासमन्त्री मेघराज खड्काले दलित समुदायको अधिकार स्थापित गर्ने गरी सरकारले कानुन निर्माणको तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लक्ष्मी विक, प्रदेशसभा सदस्य ललिता सुनारलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

काठमाडौँ, ९ पुस : विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । उहाँले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताउनुभयो । “प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उहाँले भन्नुभयो,“समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।”

निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन

काठमाडौँ, ९ पुसः उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन कार्यविधिका लागि ‘जेनेरिक’ औषधि सुझाव समिति गठन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल संयोजक रहने पाँच सदस्यीय समिति समिति गठन गरिएको हो । समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा डा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा गुणस्तरमापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई तोकिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा अनिवार्य रूपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न र अन्य अस्पतालमा जेनेरिक औषधिको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत समितिलाई अख्तियारी दिइएको छ ।

समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझावसमेत दिनेछ । सोही सिफारिस तथा सुझावका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिनुभयो । हाल चिकित्सकले औषधिको ‘ब्राण्ड’ नाम लेख्ने र सोही नामका औषधि किन्नुपर्ने बाध्यता छ । जेनेरिक औषधि सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

फाल्गुनन्द गोल्डकप : न्यू स्टारमाथि गोल वर्षा

पाँचथर, ९ पुस : न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौँ फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजीत गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो । कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौँ र १५औँ मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३औँ, मनिष डाँगीले ५६औँ, सञ्जय श्रेष्ठले ६२औँ र सौरभ सुब्बाले ८५औँ मिनेटमा गोल गरे । न्यू स्टारका लागि सुशील राईले १३औँ र सन्दीप श्रेष्ठले ६७औँ मिनेटमा गोल गरेका थिए । 

प्रतियोगिताअन्तर्गत बुधबार तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र बिराटनगर सीटी फुटवल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिनुभयो । यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजीत गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमीफाइनलमा पुगिसकेको छ । यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रू १० लाख तथा उपविजेताले रू पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन् । विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । 

झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल

फुङ्लिङ (ताप्लेजुङ), ९ पुसः जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् ।

सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुग्नुभयो । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उहाँले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्नुहुन्थ्यो । अहिले उहाँका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगनाउने उहाँ मात्र हुनुहुन्छ । तर उहाँ अहिले अन्यको साहारामा बाँच्नुपरेको छ । गाउँमा उहाँले नै बनाएको झिँगटीको घरसमेत चुइन थालेका छन् । धेरैले त भत्काएर अर्को घर बनाएका छन् ।

सोही गाउँका मदन बरालको बुबाले २००४ साल अर्थात् ७७ वर्ष अगाडि झिँगटी छानो भएको घर निर्माण गर्नुभएको थियो । लामो समयपछि छानोबाट पानी चुइन थाल्यो । घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाल्यो । तर मदनको बुबाले बनाएको घर भत्काउन मनले मानेन । संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपालले छोपेर राख्नुभयो । त्यो दीर्घकालीनका लागि नभएपछि बराल झिँगटीको छाना लगाउने कालिगड खोजी कार्यमा लाग्नुभयो । अन्तिममा कालिगड नपाएपछि घर भत्काउनुबाहेक अन्य विकल्प उहाँसँग रहेन । आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्काउन मन नभए पनि घर भत्काएर अहिले अर्कै नयाँ घर बनाइएको छ । विसं २००३ अगाडि ताप्लेजुङमा प्रायः झिँगटीको घर बनेको स्थानीयको भनाइ छ ।

पछिल्लो समय कालिगड अभावकै कारण झिँगटीका घर लोप हुँदै गएको छ । बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई सङ्कटमा पार्दै लगेको छ ।

सिदिङवा गाउँपालिका–४ का दिलकुमार ताम्लिङ काठमाडौँ बसाइँ सर्नुभयो । तर उहाँका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आउनुभएको छ । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उहाँकै घरमात्र बाँकी छ ।

आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो । त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घर देख्न पाइन्थ्यो । यस्ता संरचनालाई मात्र होइन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दथ्यो । यो वास्तुकला शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत भए पनि बदलिँदो समयका कारण उहाँहरूले झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका–५ लक्षुमन राईले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा गाउँमा झिँगटी छानाका ठाउँमा आरसिसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ । स्थानीयवासी घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन् । यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पु¥याइरहेको छ ।

ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मी अभावका कारणले परम्परागत मौलिता बोकेका घर लोप हुँदै गएका छन् । झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन । कला, सीप र स्थानीय परम्परा नै लोप हँुदै गएको छ । झिँगटी घरले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए । स्थानीय बासिन्दाले पुराना झिँगटी घरको संरक्षण र संवद्र्धन आवश्यक देखेका छन् । तर संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घर विस्तारै हराउँदै गएका छन् ।

नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

– डा राजन थपलिया
कृत्रिम बौद्धिकता (एआई) विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्योगहरूको रूपान्तरण, शासनको सुधार गर्न र जीवनस्तरलाई माथि उठाउन सक्दछ । नेपालले सामाजिक, आर्थिक र भौगोलिक अवस्थासँगै, क्षेत्रीय ‘एआई हब’ बन्ने सम्भावना बोकेको छ । नेपाललाई एआई हबका रूपमा स्थापित गर्न डिजिटल पूर्वाधार, मानव पुँजीमा लगानी र सरोकारवालाबीच सहकार्य आवश्यक छ । ‘फोर–जी’ र ‘फाइभ–जी’ नेटवर्क विस्तार, काठमाडौँ, पोखरा र इटहरीजस्ता सहरहरूमा ‘टेक पार्क’ स्थापनालगायतका पहलहरूले यस प्रक्रियामा आधारशिलाको काम गर्न सक्छ ।

नेपालले मानव पुँजीमा लगानी गर्न, विद्यालय, कलेज र विश्वविद्यालयहरूमा एआई–केन्द्रित पाठ्यक्रमहरू सुरु गर्नुपर्ने हुन्छ । विश्वव्यापी संस्थाहरूसँग सहकार्य गर्दै तालिम कार्यक्रम, कार्यशाला र पाठ्यक्रमहरू प्रदान गरेर नेपाली युवाहरूको विशेषज्ञता अभिवृद्धि गर्न सकिन्छ । साथै, सरकारले कर छुट, अनुदान र एआई स्टार्टअपहरूका लागि प्रोत्साहन गर्ने नीतिहरू ल्याउँदा नवीनतालाई प्रोत्साहन दिन मद्दत पुग्नेछ । एआई आधारित उद्यमशीलता समर्थन गर्न इनक्युबेटर र एक्सेलेरेटरहरूको स्थापना गर्दा प्रतिभा र लगानीलाई आकर्षित गर्न सकिन्छ ।

नेपालले एआईको माध्यमबाट धेरै फाइदा लिनसक्छ । एआई–सक्षम उपकरणहरूले निदानको शुद्धतालाई सुधार गर्न र टेलि–मेडिसिन सेवाहरूलाई दुर्गम स्थानसम्म पुर्याउन सकिन्छ । एआईबाट सञ्चालित व्यक्तिगत शिक्षण प्लेटफर्महरूले ग्रामीण विद्यार्थीका लागि शिक्षामा भएका खाडलहरू पुर्न सकिन्छ । यसैगरी, व्यावसायिक खेती, मौसम पूर्वानुमान र कीराहरूको पहिचानजस्ता एआई अनुप्रयोगहरूले कृषि उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्छ । साथै, भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपमा एआईको भूमिका धेरै महत्त्वपूर्ण छ । यसले समयमै उद्धार र स्रोतहरूको व्यवस्थापन गरेर क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।

एआईको माध्यमबाट चुनौती र आवश्यकताहरू सम्बोधन गर्न सकिन्छ । एआई मोडेलहरूलाई नेपाल–विशिष्ट डेटा प्रशिक्षण दिएर यसको प्रासङ्गिकता सुनिश्चित गर्न सकिन्छ । उदाहरणका लागि, भाषण पहिचान उपकरणहरूले नेपाली र मैथिली, भोजपुरी, तामाङजस्ता क्षेत्रीय भाषाहरूलाई संवर्द्धन हुनसक्छ । एआईले पर्यटनमा भर्चुअल गाइड, च्याटबोट र एआर÷भिआर अनुप्रयोगहरूमार्फत नेपालको सांस्कृतिक सम्पदालाई बढाउन सक्दछ भने वित्तीय क्षेत्रमा एआई–सक्षम क्रेडिट स्कोरिङ प्रणालीहरूले अन्डरसर्ड जनसङ्ख्यालाई ऋण विस्तार गर्न मद्दत गर्न सक्छ ।

एआईको लाभलाई अधिकतम बनाउन, नेपालले दक्ष कार्यान्वयन र निरन्तर नवप्रवर्तन सुनिश्चित गर्नुपर्छ । केन्द्रित डेटा भण्डारहरूको सिर्जना र डेटा गोपनीयता नियमहरूको कार्यान्वयन गर्नु यसका आधारभूत चरणहरू हुन् । छात्रवृत्ति, अनुदान र विश्वविद्यालयहरूसँग सहकार्य गरेर एआई अनुसन्धानलाई प्रोत्साहित गर्दा स्थायी विकासका लागि ज्ञानको आधार सिर्जना गर्न सकिन्छ । नागरिकहरूलाई एआईका फाइदाहरू र सीमाहरूको बारेमा शिक्षित गर्नाले स्वीकृति बढाउन र रोजगारी हराउने डर वा गोपनीयतासम्बन्धी चिन्ताहरूलाई कम गर्न सकिन्छ । एआई पहलहरूबाट नेपालको दिगोपन लक्ष्यहरूसँग मेल खाने कृषि र ऊर्जामा वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन हुनसक्छ ।

सरकारी कार्यालयहरूमा एआईलाई एकीकृत गर्दा दक्षता, पारदर्शिता र सेवा वितरणमा सुधार गर्न सकिन्छ । एआई–सक्षम इ–शासन समाधानहरूले रेकर्ड राख्ने जस्ता सामान्य प्रशासनिक कामहरू स्वचालित गर्न सक्छ, जसले प्रशासनिक अक्षमता कम गर्छ । नीतिहरूको प्रभाव मूल्याङ्कन गर्न र सुधारका सुझाव दिन ठूला डेटासेटहरू मूल्याङ्कन गर्ने उपकरणहरूले तथ्यमा आधारित निर्णय–निर्माणलाई प्रोत्साहन गर्नसक्छ । त्यसैगरी, एआईले स्वास्थ्य, शिक्षा र पूर्वाधार परियोजनाहरूमा स्रोतको उपयोग गर्न सक्छ, जसले समान विकास सुनिश्चित गर्दछ । भ्रष्टाचार नियन्त्रण र प्रकोप व्यवस्थापनमा यसको भूमिका यस प्रविधिको उपयोगितालाई थप उजागर गर्छ ।

एआईलाई प्रभावकारी बनाउन बहुआयामिक दृष्टिकोण आवश्यक छ । नेपालले डेटा गोपनीयता, नैतिकता, पूर्वाधार र कोषजस्ता पक्षलाई सम्बोधन गर्ने व्यापक एआई नीति मस्यौदा गर्नुपर्छ । एआई अनुप्रयोगहरूमा स्थानीय अधिकारीहरूको तालिमले कार्यान्वयन सक्षम बनाउन सक्छ । सार्वजनिक–निजी साझेदारीहरूले प्रभावकारी परियोजनाहरूका लागि स्रोत र विशेषज्ञतालाई सङ्कलन गर्नसक्छ । एआई समाधानहरूको डिजाइन र कार्यान्वयनमा समुदायको सहभागिताले उनीहरूको आवश्यकता र समस्याहरूको समाधान गर्न मद्दत पु¥याउँछ । नेपालको एआई पहललाई अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मिलाउँदै सुसङ्गत र विश्वव्यापी सहकार्यलाई प्रोत्साहन गर्न सकिन्छ ।

एआईले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने ठूलो सम्भावना राख्छ । पूर्वाधार, शिक्षा र नीति विकासमा रणनीतिक लगानी गरेर, नेपालले आफूलाई दक्षिण एशियामा एआई हबको रूपमा स्थापित गर्नसक्छ । नागरिकहरूका लागि स्वास्थ्य र शिक्षामा सुधारदेखि प्रभावकारी शासनसम्मका फाइदाहरू महत्वपूर्ण र टाढासम्म फैलिएका छन् । सरकार, निजी क्षेत्र र नागरिकहरूबाट एकीकृत प्रयासका साथ नेपालले एआईको शक्ति उपयोग गरेर समृद्ध र समान भविष्य निर्माण गर्नसक्छ ।

विश्वमा एआईको के–के नयाँ विकासहरू भइरहेका छन् ?

एआईको उल्लेखनीय प्रगतिले जीवन र व्यवसायमा ठूलो परिवर्तन ल्याइरहेको छ । एआईको नयाँ–नयाँ विकासले धेरै क्षेत्रमा सम्भावनाका ढोकाहरू खोलेको छ । जनरेटिव एआई जस्तैः च्याट जिपिटी, डल–इ र मिडजर्नी, मानव–जस्तै सामग्री सिर्जना गर्न सक्षम भएका छन् । यी प्रविधिहरूले टेक्स्ट, चित्र, सङ्गीत, र भिडियो सिर्जना गर्न सक्षम प्रणालीहरू प्रदान गरेका छन् । यो सिर्जनात्मकता र नवाचारको क्षेत्रमा मात्र सीमित छैन; यसको प्रभाव स्वास्थ्य सेवा, शिक्षा र व्यापारमा समेत व्यापक छ । एआई आधारित रोबोटिक्सले उत्पादनशीलता र दक्षतामा उल्लेखनीय वृद्धि गरेको छ । अहिले, स्वचालित सवारी साधन पनि एआईको महत्वपूर्ण विकास हो । टेस्ला, वेमो र अन्य कम्पनीहरूले एआई चालित गाडीहरू विकास गरिरहेका छन्, जसले यात्रालाई सहज, सुरक्षित र वातावरणमैत्री बनाउन मद्दत गरिरहेको छ । यस्तै, स्वास्थ्य सेवामा एआईले रोग निदान र उपचार योजना बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । एआई आधारित इमेज प्रोसेसिङ प्रणालीहरूले एमआरआई र सिटीस्क्यान जस्ता परीक्षणहरूको द्रूत र सटिक विश्लेषण सम्भव बनाएको छ । साथै, एआईले प्राकृतिक भाषा प्रशोधन (एनएलपी) जस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको छ । यसले मानिस र कम्प्युटरबीचको संवादलाई अझ प्रभावकारी बनाएको छ । सिरी, एलेक्सा र गुगल ट्रान्सलेटजस्ता उपकरणहरू एनएलपीको मुख्य उदाहरण हुन् । यस्तो निरन्तर प्रगतिको प्रभावले हामीले सोच्नसक्ने भन्दा धेरै फाइदा पु¥याइरहेको छ र यसले भविष्यमा अझ धेरै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

एआईको भविष्य कस्तो हुनेछ ?

एआईको भविष्य अत्यन्तै उज्यालो र रोमाञ्चक छ । यो प्राविधिले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, र व्यापारजस्ता क्षेत्रहरूलाई अझ प्रभावकारी बनाउँदैछ । निकट भविष्यमा, एआईले मानव श्रमको आवश्यकता कम गर्दै धेरै कामहरू स्वचालित गर्नेछ । यो प्रविधिले मानिसलाई दोहोरो कामबाट मुक्त गराउँदै सिर्जनात्मक र सोच्न आवश्यक पर्ने कार्यहरूमा ध्यान केन्द्रित गर्न सहयोग पु¥याउनेछ । सुपर–इन्टेलिजेन्सको विकास भविष्यमा एआईले मानव बुद्धिलाई पार गर्ने क्षमता राख्छ भन्ने भविष्यवाणी गरिन्छ । यस्तो सुपर–इन्टेलिजेन्सले जटिल समस्याहरू समाधान गर्न, जस्तै जलवायु परिवर्तनको समाधान खोज्न, जैविक अनुसन्धानमा क्रान्ति ल्याउन र नयाँ औषधिहरू विकास गर्न सक्नेछ ।

यस्तै, एआईको प्रयोगले वैज्ञानिक अनुसन्धानमा ठूलो परिवर्तन ल्याउनेछ । स्वास्थ्य सेवामा, एआईले व्यक्तिगत उपचार योजना तयार गर्न र दुरुस्त रोग निदान गर्न भूमिका खेल्नेछ । साथै, शिक्षा क्षेत्रमा, एआईले व्यक्तिगत शिक्षा प्रणाली विकास गर्न, योजनाहरू अनुकूलन गर्न र विद्यार्थीहरूको आवश्यकताअनुसार अध्ययन सामग्री प्रदान गर्न सहयोग पु¥याउनेछ । व्यापार क्षेत्रमा एआईले डाटा विश्लेषण, उपभोक्ता प्रवृत्ति पहिचान र बजार रणनीति निर्माण गर्न सहयोग गर्नेछ । यसले मानिस र प्रविधिको सहकार्यलाई अझ सुदृढ बनाउनेछ । मानिसको जीवनलाई अझ सहज र व्यवस्थित बनाउनेछ । यस्तो भविष्यले मानवीय जीवनलाई नयाँ उचाइमा पुर्याउनेछ ।

कसरी धेरैभन्दा धेरै उपयोग गर्न सक्छौँ ?

एआईको सही उपयोग गरेर नेपालीहरूले आफ्नो जीवनस्तरमा सुधार ल्याउन सक्नेछन् । नेपालजस्तो देशका लागि एआईले धेरै सम्भावना प्रदान गर्दछ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, र उद्योगजस्ता क्षेत्रहरूमा एआईको प्रभावकारी उपयोग गरेर देशलाई विकासको मार्गमा अगाडि बढाउन सकिन्छ । कृषि क्षेत्रमा एआई आधारित प्रणालीहरूले माटोको परीक्षण, बालीको अवस्था विश्लेषण र उत्पादन बढाउन मद्दत गर्न सक्छ । स्मार्ट कृषि प्रणालीले लागत घटाउन र उत्पादकत्व बढाउन सहयोग पु¥याउँछ भने शिक्षा क्षेत्रमा एआईले अनलाइन कक्षाहरू, भर्चुअल ट्यूटर, र व्यक्तिगत अध्ययन योजना तयार गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा अनलाइन शिक्षालाई प्रभावकारी बनाउन, विद्यार्थीहरूलाई पहुँचयोग्य बनाउन र शिक्षाको गुणस्तर सुधार गर्न एआई प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा, एआईले ग्रामीण भेगका मानिसहरूको लागि टेलिमेडिसिन सेवा उपलब्ध गराउन सहयोग गर्न सक्छ । यसले जनसंख्याको ठूलो हिस्सालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसक्छ । पर्यटन क्षेत्रमा, एआईले भर्चुअल गाइड, भाषा अनुवाद र पर्यटकहरूको व्यक्तिगत आवश्यकताहरू बुझेर सेवा प्रदान गर्न सक्छ । यसले नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनेछ । यसरी, एआईको सही उपयोगले नेपालीको जीवन सुधार गर्न र देशलाई प्रगतिको मार्गमा अगाडि बढाउन मद्दत गर्नेछ ।

एआई कसरी सिक्न सक्छौँ ?

एआई सिक्न धेरै स्रोतहरू उपलब्ध छन् । अहिलेको डिजिटल युगमा अनलाइन प्लेटफर्महरूले एआईमा पाठ्यक्रमहरू उपलब्ध गराइरहेका छन् । यी पाठ्यक्रमहरूले आधारभूतदेखि उन्नत स्तरसम्मको ज्ञान प्रदान गर्छन् । साथै, धेरै पाठ्यक्रमहरू निःशुल्क वा सस्तो शुल्कमा उपलब्ध छन् । यस्तै, पुस्तकहरू पनि एआई सिक्ने उत्कृष्ट स्रोत हुन् । प्रोजेक्ट–आधारित सिकाइ एआई सिक्नको लागि अर्को प्रभावकारी विधि हो । कुनै समस्या समाधान गर्न वा कुनै नयाँ प्रणाली निर्माण गर्न प्रोजेक्टमा संलग्न भएर सिकाइलाई व्यावहारिक बनाउन सकिन्छ । नेपालका विश्वविद्यालयहरूले पनि एआईसम्बन्धी कोर्सहरू शुरु गर्नुपर्छ, जसले विद्यार्थीहरूलाई विश्वस्तरको ज्ञान र सीप प्रदान गर्नेछ । यसैगरी, स्वयंसेवाका माध्यमबाट एआईसम्बन्धी परियोजनामा संलग्न भएर सिकाइलाई सुदृढ गर्न सकिन्छ । एआई सिक्नका लागि भाषा, गणित, र कम्प्युटर विज्ञानको आधारभूत ज्ञान आवश्यक पर्छ, जसलाई स्थानीय तहदेखि उच्च शिक्षासम्म शिक्षण प्रणालीमा समावेश गर्न सकिन्छ ।

नेपालमा एआई व्यवसायको सम्भावना कस्तो छ ?

नेपालमा एआई व्यवसायको सम्भावना अत्यन्तै ठूलो छ । देशको प्राकृतिक स्रोतसाधन, जनशक्ति र स्थानीय समस्याहरूको समाधान गर्न एआई आधारित व्यवसायहरूको स्थापना गरेर देशलाई आर्थिक रूपमा सबल बनाउन सकिन्छ । ई–कमर्समा, एआईले ग्राहकहरूको रुचि र प्रवृत्ति बुझेर व्यक्तिगत सिफारिस प्रणाली तयार गर्न सहयोग गर्नसक्छ । यसले ग्राहक सेवामा सुधार ल्याउँदै व्यवसायलाई प्रतिस्पर्धी बनाउनेछ । वित्तीय क्षेत्रमा, एआईले धोखाधडी पत्ता लगाउने, ऋण जोखिमको मूल्याङ्कन गर्ने र वित्तीय विश्लेषणलाई सहज बनाउनेछ । स्वास्थ्य सेवामा एआई आधारित उपकरणहरूले ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सहयोग पुर्याउनेछ । सूचना प्रविधि क्षेत्रमा एआईले सफ्टवेयर र एप्लिकेसनहरूको विकासलाई प्रवद्र्धन गर्नेछ । यस्तै, शिक्षा क्षेत्रमा, एआईले विद्यार्थीहरूको अध्ययन प्रक्रियालाई व्यक्तिगत बनाउन र शिक्षाको गुणस्तर सुधार गर्न योगदान पुर्याउनेछ । एआई व्यवसायले नेपालको आर्थिक विकासलाई तीव्र बनाउन, रोजगारी सिर्जना गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायहरूको पहुँच विस्तार गर्न मद्दत गर्नेछ ।

यसलाई कसरी धेरैभन्दा धेरै उपयोगी बनाउन सकिन्छ ?

नेपालमा एआईको प्रयोगलाई प्रभावकारी बनाउन सरकारको भूमिका मुख्य छ । सरकारले एआई प्रविधिमा लगानी बढाउन र नीति निर्माण गर्नुपर्छ । सरकारी सेवाहरूमा एआई आधारित प्रणालीहरूको प्रयोगले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनेछ । उदाहरणका लागि, सरकारी कागजातहरूको डिजिटलाइजेसन, ट्राफिक व्यवस्थापन प्रणाली र सरकारी सेवाको अनलाइन पहुँचजस्ता क्षेत्रमा एआईले ठूलो योगदान पुर्याउन सक्छ । गाउँस्तरमा, एआई आधारित शिक्षादीक्षा र स्वास्थ्य सेवाहरू लागू गर्न सकेमा ग्रामीण क्षेत्रको जीवनस्तर सुधार हुनेछ । यसका लागि सरकारले ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच वृद्धि गर्न र एआईमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

स्थानीय समाधान र विश्वव्यापी प्रतिस्पर्धा

एआईले स्थानीय समस्याहरू समाधान गर्न र विश्वव्यापी प्रतिस्पर्धामा नेपालको स्थान सुदृढ गर्नसक्छ । उदाहरणका लागि, कृषि क्षेत्रमा एआईले बाली व्यवस्थापन, उत्पादन पूर्वानुमान, र रोग नियन्त्रणमा सहयोग पुर्याउन सक्छ । पर्यटन क्षेत्रमा, भर्चुअल गाइड र भाषा अनुवाद सेवाले विदेशी पर्यटकहरूको अनुभव सुधार्न सक्छ । फिनटेकमा एआईले वित्तीय प्रविधि सुधार गर्न र बैंकिङ प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्नसक्छ ।

चुनौती र समाधान

आधारभूत पूर्वाधारको कमी, जनशक्तिको अभाव र नीतिगत अस्पष्टताका कारण नेपालमा एआई अपनाउन धेरै चुनौतीहरू छन् । सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूको सहकार्यबाट यी चुनौतीहरू समाधान गर्न सकिन्छ । विश्वविद्यालयहरूले एआईलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । सरकारी कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्न र नयाँ व्यवसाय स्थापना गर्न प्रोत्साहन दिनुपर्छ । निजी क्षेत्रले एआई आधारित परियोजनाहरूमा लगानी गर्नुपर्छ । एआई संसारभर तीव्रगतिमा विकास भइरहेको छ र नेपालले यसलाई सही तबरले अपनाएमा ठूलो फाइदा लिन सक्छ । शिक्षादेखि स्वास्थ्यसम्म र ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा एआईको प्रयोग गरेर देशलाई डिजिटल युगमा अगाडि बढाउन सकिन्छ । हामीले स्थानीय समस्या समाधान गर्दै एआईको उपयोग गर्नुपर्छ र विश्वव्यापी प्रतिस्पर्धामा नेपाललाई मजबुत बनाउने लक्ष्य राख्नुपर्छ । एआईले नेपालीहरूको जीवन सुधार गर्न र देशलाई प्रगतिशील बनाउन ठूलो भूमिका खेल्नसक्छ ।

(लेखक अमेरिकाका विभिन्न विश्वविद्यालयमा कम्प्युटर विज्ञान, तथ्याङ्क विज्ञान साइन्स र कृत्रिम बुद्धिमताका प्राध्यापक तथा प्रोमेट्रिक कम्पनीको इञ्जिनियरिङ र प्रविधि विभागका विषयविज्ञ पनि हुनुहुन्छ)

पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

ताप्लेजुङ, ९ पुसः पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने योजना बनाएका छौँ । यसले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।” यसअघि ती घण्टीहरूलाई बोलपत्र आह्वान गरी बिक्री गर्ने तयारी गरिएको भन्दै स्थानीय बासिन्दा, आगन्तुकको सल्लाह र सुझावका आधारमा प्रवेशद्वार निर्माण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । 

पाथीभरा क्षेत्र विकास समितिले पुराना र पुरातात्विक महत्वका घण्टीहरूलाई भने संरक्षण गरेर राख्ने जनाएको छ । यसले पाथीभरा क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरलाई जोगाउने र भावी पिँढीलाई पाथीभरा र यहाँका पुरातात्विक वस्तुको महत्व बुझाउन मद्दत पुग्ने समितिको विश्वास छ । 

घण्टीको प्रवेशद्वार निर्माणले पाथीभरा पदमार्गलाई थप आकर्षक बनाउनुका साथै धार्मिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने विश्वास लिइएको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो । उहाँका अनुसार हाल पाथीभरामा करिब ५० क्विन्टलभन्दा बढी घण्टी छन् ।

बिक्रीका लागि होइन : ट्रम्पको नयाँ प्रयास ग्रिनल्यान्डद्वारा अस्वीकार

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्रमुख खनिज र तेल भण्डार भएको रणनीतिक टापुको नियन्त्रण लिन चाहेको सङ्केत गर्नुभएपछि ग्रिनल्यान्डले सोमबार यो बिक्रीका लागि नभएको कुरामा जोड दिएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यो विशाल डेनिश क्षेत्र किन्ने प्रस्ताव गर्नुभएको थियो । जसलाई तत्काल अस्वीकार गरिएको थियो । उहाँले आफ्नो आगामी प्रशासनका लागि कोपेनहेगनमा राजदूत नियुक्त गर्दा यो प्रयासलाई पुनर्जीवित गर्नुभयो ।

ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट इगेडले सम्झौताको कुनै पनि सम्भावनालाई तुरुन्तै खारेज गर्नुभयो । “ग्रिनल्यान्ड हाम्रो हो । हामी बिक्रीका लागि होइनौँ र कहिले पनि बिक्रीका लागि हुनेछैन । हामीले स्वतन्त्रताका लागि हाम्रो लामो सङ्घर्ष गुमाउनु हुँदैन”, उहाँले एक विज्ञप्तिमा भन्नुभयो । 

विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्यान्ड एउटा स्वायत्त डेनिस क्षेत्र हो । यसको आफ्नै संसद्, करिब ५५ हजार बासिन्दा र एउटा सानो स्वतन्त्रता समर्थक आन्दोलन छ । 

यसले आफ्नो सार्वजनिक बजेटको आधाभन्दा बढी डेनमार्कबाट प्राप्त गर्छ ।

“विश्वभरको राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको उद्देश्यका लागि संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डको स्वामित्व र नियन्त्रण एक पूर्ण आवश्यकता हो भन्ने महसुस गर्दछ”, ट्रम्पले आइतबार पोस्ट गर्नुभयो । 

देशले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको बताएपछि राष्ट्रपतिका रूपमा उहाँले सन् २०१९ मा डेनमार्कको राजकीय भ्रमण रद्द गर्नुभएको थियो ।  राष्ट्रपति जो बाइडेनको कार्यकालमा संयुक्त राज्य अमेरिकाले आफूले खरिद गर्न नचाहेको तर यसको सट्टा सम्बन्ध बलियो बनाउन खोजेको बताएको थियो । 

साइबेरियामा अत्यन्तै दुर्लभ बच्चा म्यामथ फेला

रुसी वैज्ञानिकहरूले सोमबार याकुटियाको पर्माफ्रस्टले ढाकिएको क्षेत्रमा फेला परेको बच्चा म्यामथको उल्लेखनीय रूपमा संरक्षित अवशेषहरू प्रदर्शन गरेका छन् । पचास हजार पुरानो पोथी म्यामथलाई ‘याना’ नाम दिइएको छ । यो यसै गर्मीमा फेला परेको नदीको नामबाट राखिएको हो ।

विशेषज्ञहरूका अनुसार ‘याना’ विश्वकै सबैभन्दा राम्रोसँग संरक्षित म्यामथको शव हो र यो अहिलेसम्म फेला परेका सात पूर्ण अवशेषमध्ये एक हो ।   मृत्यु हुँदाको उमेर ‘एक वर्ष वा केही बढी’ अनुमान गरिएको छ, जसको सही उमेर पत्ता लगाउन अब अध्ययनहरू गरिनेछ ।

क्षेत्रीय राजधानी याकुत्स्कको फेडरल युनिभर्सिटी अफ द नर्थ इस्टमा शव प्रदर्शन गरिएको संस्थाले विज्ञप्तिमा जनाएको छ ।

“म्यामथको असाधारण संरक्षणले हामी सबैलाई आश्चर्यचकित पा¥यो”, कुलपति अनातोली निकोलायेभले भन्नुभयो ।

अनुसन्धानकर्ता म्याक्सिम चेप्रासोभले यो एउटा ‘अद्वितीय खोज’ भएको बताउनुभयो । 

अवशेषको तौल १८० किलोग्राम छ र यो १२० सेन्टिमिटर अग्लो र २०० सेन्टिमिटर लामो छ ।

बटागाइका अनुसन्धान केन्द्र नजिकै शव उत्खनन गरिएको थियो । त्यहाँ अन्य प्रागऐतिहासिक जनावरहरू –घोडा, बाइसन र लेमिङको अवशेषहरू पनि फेला परेका छन् ।    विश्वविद्यालयका अनुसार यो खोजअघि विश्वमा जम्मा छवटा म्यामथका शवहरू फेला परेका थिए – पाँचवटा रुसमा र एउटा क्यानडामा ।

याकुटिया आर्कटिक महासागरको सिमानामा रहेको दुर्गम क्षेत्र हो । यसको पर्माफ्रस्टले विशाल फ्रिजरको रूपमा काम गर्दछ । यसले प्रागऐतिहासिक जनावरहरूको अवशेषहरू सुरक्षित गर्दछ । 

तेल चुहावटले दुई लाख टन माटो प्रदूषित गरेको हुनसक्ने रुसको भनाइ

यस महिना दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्करबाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको हुनसक्ने रुसका प्राकृतिक स्रोतमन्त्रीले सोमबार बताउनुभएको छ ।

“प्रदूषित माटोको मात्रा दुई लाख टनसम्म पुग्नसक्छ”, अलेक्जान्डर कोज्लोभले टेलिग्राममा ज्वेज्दा च्यानलद्वारा प्रसारण गरिएको बैठकमा भन्नुभयो । 

डिसेम्बर १५ मा दुई रूसी तेल ट्याङ्कर भोल्गोनफ्ट–२१२ र भोल्गोनफ्ट–२३९ केर्च स्ट्रेटमा आँधीबेहरीको चपेटामा परेका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो । 

यो जलडमरूमध्यले दक्षिणी रुसलाई क्रिमियाको युक्रेनी प्रायद्वीपबाट अलग गर्दछ । क्रिमियालाई रुसले सन् २०१४ मा कब्जा गरेको थियो । 

रूसी अधिकारीहरूका अनुसार जहाजहरूमा नौ हजार दुई सय टन इन्धन तेल थियो र त्यसमध्ये करिब ४० प्रतिशत समुद्रमा पोखिएको हुनसक्छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता यसलाई ‘पर्यावरणीय विपत्ति’ भन्नुभएको थियो ।

दर्जनौँ किलोमिटरको समुद्र तटमा इन्धन तेल फेला परेको थियो । विशेष गरी अनपाको समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको थियो । 

स्थानीय अधिकारीहरूद्वारा प्रसारण गरिएका तस्बिरहरूका अनुसार संलग्न क्रिमियाको बन्दरगाह सहर केर्चमा पनि यसको किनारमा इन्धन तेल आइपुगेको देखा परेको छ । 

क्षेत्रीय गभर्नर भेनियामिन कोन्द्रातयेभले सोमबार प्रकाशित गरेको तस्बिरअनुसार सेतो सुरक्षात्मक पहिरनमा स्वयंसेवकहरूले यस क्षेत्रका समुद्र तटहरू सफा गरिरहेका छन् । 

“हिजो राति लगभग सबै कुरा सफा भइसकेको स्वयंसेवकहरूले बताएका छन् तर रातको समयमा छालहरूले फेरि इन्धन तेल जम्मा गरे”, उहाँले भन्नुभयो । 

स्वयंसेवकहरूले उपचार गरिरहेका तेल लागेका चराहरूका तस्बिरहरू पनि स्थानीय अधिकारीहरूले प्रसारण गरेका छन् ।

तेल चुहावटले १० वटा डल्फिनको पनि मृत्यु भएको हुनसक्ने तर मृत्युको कारण पुष्टि गर्न परीक्षण आवश्यक रहेको विशेषज्ञ डेल्फा केन्द्रले आइतबार बताएको छ । “यो अत्यन्त चिन्ताजनक स्थिति हो”, कृष्ण सागरमा डल्फिनहरूको संरक्षण गर्ने वैज्ञानिक संस्थाले टेलिग्राममा भनेको छ ।

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज (पर्सा), ९ पुसः वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन् ।

गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व सङ्कलन गरेको थियो ।

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्गे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्याङ्कले देखाएको छ । चालु आवको पाँच महिनामा यो नाका हँुदै रु १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ । गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु २० करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो ।

‘देव बाणी’को प्रचारमा आएका कुन्दन भारद्धाज भन्छन् : ‘नेपाल एकदमै मनपर्छ’

काठमाडौँ । बाबु साहेव बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि नेपाली चलचित्र हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आएका अभिनेता कुन्दन भारद्धाजलाई समेत निर्माण यूनिटले प्रचारमा व्यस्त बनाएको हो ।पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्धाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपालीको मायाका लागि नेपाली फिल्म गर्दैछु ।’ कुराकानीको क्रममा अभिनेता भारद्धाजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताएका छन् ।

अभिनेता भारद्धाजले फिल्म प्रचारको अलवा काठमाडौँ र आसपासका ठाउँमा भ्रमण गर्ने समय समेत निकाल्ने बताएका छन् । फिल्म ‘देव बाणी’मा नेपाली र हिन्दी दुवै भाषामा डबिङ भएकाले नेपाल र भारतका दर्शकको माया पाउने अपेक्षा राखे । अभिनेत्री अनुजा लेप्चाले फिल्म ुदेव बाणीु नेपाल र भारतमा एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव नभएको बताइन् । फिल्ममा नेपालका अलवा भारतीय कलाकार र प्राविधिकको कामका साथै एक्सन र रोमान्सले दर्शकको मन जित्ने अभिनेत्री लेप्चाको आशा छ ।

केही दिन अघि फिल्म सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरवमा पूजा समेत गरेका थिए । काल भैरवलाई कालो धजा चढाइएको थियो भने १०८ वटा दीप प्रज्वलन गरिएको थियो । फिल्ममा अभिनेता भारद्धाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको छ । फिल्ममा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहेको छ ।

एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ । फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्। फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।

मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

राजविराज (सप्तरी), ९ पुसः सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आउनुभएको छ ।

“आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गर्नुभएका पबितारले भन्नुभयो, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।” उहाँले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीखेती गरिरहेको बताउनुभयो ।

पबितारले यस वर्षमात्र दुई क्विन्टल काउलीबाट मात्र रु ६० हजार आम्दानी गर्नुभयो भने अहिले खेतमा गोलभेँडा लगाउनुभएको छ । उहाँजस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आउनुभएको छ । तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो । गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।

पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् ।

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो । किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताउनुभयो । उहाँले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।

किसानले गरेको तरकारीखेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ । तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित,सिमकोटको तापक्रम ‘माइनस डिग्री’मा

सिमकोट (हुम्ला), ९ पुसः हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो ।

यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उहाँले बताउनुभयो । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभएको छ ।

‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’

लमजुङ, ९ पुसः मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ ।

मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आउनुभएकी उहाँले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेवी वाम’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुसी लागेको बताउनुभयो ।

“नवजात शिशुलाई जोगाउन हिटर बालेर गर्नुर्‍थ्यो । अब भने सुव्यवस्थित नवनिर्मित अस्पतालमा बेवी वाम उपकरण आएको छ”, गुरुङले भन्नुभयो, “यो उपकरण पाएपछि बच्चाहरूलाई चिसोबाट बचाउन सकिन्छ । साँघुरो कोठामा सुत्केरी गराउँथ्यौँ, अहिले भवन पाउँदा दङ्ग छौँ ।” 

पुस ४ गते लमजुङको क्व्होलासोथार गाउँपालिका–मा स्थित मालिङ प्राथमिक अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको उद्घाटन गरेसँगै स्थानीयस्तरमा गुणस्तरीय सेवा पाउउनेमा स्थानीय हर्षित छन् । 

यहाँकै स्थानीय हुनुहुन्छ सिनियर अनमी गुरुङको । तीस वर्षदेखि सुत्केरी गराउँदै आउनुभएकी उहाँ सुविधासम्पन्न सुत्केरी कक्षसहित आवश्यक उपकरण र नवजात शिशुलाई न्यानो बनाउने उपकरण पाएपछि खुसीले गदगद हुनुहुन्छ । यसअघि जोखिमपूर्ण अवस्थामा सुत्केरी गराउनुपरेको भन्दै अब सेवा प्रदान गर्न सहज हुनुका साथै आमा र शिशुलाई प्रभावकारी सुरक्षा दिन सकिने धारणा राख्नुभयो । 

गुरुङले अस्पतालको सुत्केरी कक्षमा रहेको बेवी वाम उपकरणलाई निकैबेर नियाल्नुभयो । नवजात शिशुका लागि आवश्यकपर्ने उक्त उपकरण पाउँदा उहाँले आफूले ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दा गाउँमा भोग्नुपरेको अनेक चुनौतीहरू सम्झँदै सजह स्वास्थ्य सेवा पाएकामा हर्षित हुनुभयो । 

“तीस वर्षअघि गाउँमा सुडेनीले सुत्केरी गराउने चलन थियो । कुनै पनि घरमा सुत्केरी गराउँदा सुडेनीले नसकेका बेला मात्रै मलाई बोलाउने गर्थे”, गुरुङले भन्नुभयो । 

“सधैँ स्वास्थ्यकर्मीको धर्म निर्वाह गर्दै आउनुभएकी गुरुङले चार÷पाँच घण्टाको बाटो हिडेर घरदैलोमै सेवाका लागि पुग्नुहुन्थ्यो । कसैको ‘नर्मल डेलिवरी’ सुत्केरी हुन्थ्यो । कसैको पिसाब रोकिन्थ्यो । कसैको साल अड्किने, कसैको लामो अवधिसम्म सुत्केरी हुन नसक्ने अवस्था आउँथ्यो । राम्रो र सहज सुत्केरी हुनेबेला कसैले सम्झिँदैनथे । जब सुत्केरीमा जटिल अवस्था आउँथ्यो, तबमात्रै आफूलाई सम्झिने गर्दथे”, उहाँले आफ्नो विगतको अनुभव सुनाउनुभयो । 

स्वास्थ्यकर्मी भएर प्रदान गरेको सेवाको अनुभवमा सम्झिँदा अझै पनि शरीर जिरिङ हुने थुप्रै क्षण रहेका गुरुङले बताउनुभयो । तीन दशकअघि एउटा घटना भयो, त्यो घटनाले उहाँलाई बारम्बार तर्साइरहन्छ । 

उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “मङ्सिर महिना थियो, जाडो याम । समाज जातियताका हिसाबले अहिले जस्तो उदार थिएन । दलित समुदायलाई देख्दा साइत जुर्दैन भन्ने मान्यता भएको समाजमा दलितकै घरमा गएर सुत्केरी सेवा प्रदान गर्नु चुनौतीपूर्ण थियो ।” आफू स्वास्थ्य सेवा प्रवेश गरेसँगै मानव सेवामा जीवन समर्पित गर्ने अठोट सँगालेर अघि बढेकाले जस्तासुकै चनौती पनि सामना गर्ने हिम्मत आउने उहाँको अनुभव छ ।

गुरुङले एउटा स्वास्थ्यकर्मीको नजरमा न जात हुन्छ न धर्म हुने भन्दै मानवता र सेवा मात्र हुने बताउनुभयो । “दलित समुदायकी सुत्केरी छट्पटाइरहनुभएको थियो । मैले थाहा पाउनेबित्तिकै उहाँको घरमा पुगेँ । दुई दिनको लामो ब्यथापछि ती सुत्केरीले छोरा जन्माउनुभयो । छोरा पाएको भन्दै परिवार खुसी हुन थाले । आफन्ती र छरछिमेकीलाई सुनाउनु थाले । सुत्केरी गराए पनि म चिन्तित थिएँ । जन्मिएको नवजात शिशु निसास्सिएको अवस्थामा थियो । उसले श्वास फेर्न सकिरहेको थिएन । शिशु न रुन्छ, न आवाज निकाल्छ । मन आतिएको थियो”, उदास हुँदै उहाँले सुनाउनुभयो ।

परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर स्वास भनै थालेको गुरुङले उल्लेख गर्नुभयो । “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो । जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले । आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उहाँले भन्नुभयो । 

बच्चा रुँदा मन थाम्नै नसकेर आफू पनि सँगै रोएको उहाँको अनुभव छ ।  आफ्नो प्रणा भरेर जीवन दिएको बच्चा अहिले कक्षा ५ मा पढ्छ । गाउँकै स्कुलमा पढ्ने त्यो बालक देख्दा गुरुङको हृदय ममताले भरिन्छ । उहाँले भन्नुभयो, “उसको मुख हेर्छु । अनि मुस्कुराउँछु अनि भगवान्लाई धन्यवाद मात्रै भन्छु ।” 

गुरुङले स्वास्थ्यकर्मीका रूपमा आम्दनी गरेको अमूल्य सम्पत्ति भनेको आमा र बच्चाको सुरक्षा रहेको बताउनुभयो । सुत्केरी गराउने जिम्मेवारी आउँदा उहाँ चाडपर्वसमेत थाती राख्नुहुन्छ । एक दिनको दसैँमा उहाँ तीन दिन सुत्केरीको घरमा व्यस्त हुनुभयो । दसैँ सकियो । गुरुङ सुत्केरी गराएर मात्रै घर फर्किनुभयो । “दसैँ सकिएछ, पत्तै पाइनछु”, उहाँले विगत सुनाउनुभयो ।   

सरकारले अस्पतालमा आएर सुत्केरी गराएबापत एक जना बराबर रु दुई सय ५५ दिने गरेको छ । गाउँमा सुत्केरी गराउन पुग्दा उहाँले गरीब परिवारका सुत्केरीलाई पैसा, लत्ताकपडा, खाना दिएर सघाँउनुभएको छ । “सुत्केरी भइसकेपछि एउटा सफा कपटाको टालोसमेत किन्न नसक्नेहरू पनि हुनुहुन्छ । यस्तो बेला आफैँले लुगाको व्यवस्था गरिदिने गरेकी छु”, गुरुङले भन्नुभयो । कहिलेकाहीँ सुत्केरी गराउन नसकिने अवस्थामा जिल्ला अस्पतालसम्म पु¥याउन आवश्यक रकमसमेत जुटाइदिने गरेको उहाँले बताउनुभयो ।

“तुरुन्तै अस्पताल पठाउनु पर्छ भन्दा पैसा छैन भनेर रुन थाल्छन्”, गुरुङले भन्नुभयो, “यस्तो बेला कहिलेकाँही आफँैले, कहिले अरुसँग जुटाएर खर्च व्यवस्थापन गरिदिने गर्छु, अधिकांशले इमान्दार भएर फिर्ता पनि गरिदिनुहुन्छ ।” 

गुरुङले सेवामा कहिल्यै हिसाबकिताब राख्नुहुन्न । उहाँलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसायभन्दा बढी समाजसेवी हो । अहिले पालिकामा व्यवस्थित भवनसहितको वर्थिङ सेन्टर खोलेपछि उहाँ खुसी हुनुहुन्छ । केही महिनाभित्रै पालिकामा एम्बुलेन्सको व्यवस्था हुँदैछ भन्ने खबरले गुरुङ थप उत्साहित हुनुहुन्छ । 

क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले नवनिर्मित स्वास्थ्य अस्पताल व्यवस्थित बनाउन एम्बुलेन्ससहितको आवश्यक सामग्री जुटाउने प्रक्रियामा पालिका लागेको बताउनुभयो । उहाँले गुरुङजस्ता इमान्दार, मेहनती र आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मी स्वास्थ्य क्षेत्रका लागि सदैव आवश्यक पर्ने व्यक्ति हुन् भन्दै गुरुङको प्रशंसा पनि गर्नुभयो ।   

जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत

गलकोट (बागलुङ), ९ पुसः बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ । मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । जिल्लामा उत्पादन भएको किबी बुटवल,काठमाडौँ र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ ।

विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौँसम्म लैजान थालिएको छ । उहाँले किबी बिक्री गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबीखेती छ ।

यस्तै काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले समेत यस वर्ष किबी बजारमा पठाउनुभएको छ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति यहाँका किसानको आकर्षण छ । मूल्य सस्तो भए पनि पोखरा, काठमाडौँ, बुटवल तथा नारायणगढसम्म किबी खपत भइरहेको छ ।

यस वर्ष एक हजार केजी किबी काठमाडाँैलगायत ठूला सहरमा बजारीकरण गरेको किबी किसान खिमानन्द कँडेलले जानकारी दिनुभयो । किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको उहाँको भनाइ छ । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित छन् ।

पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । किबीको उत्पादन बढेपछि प्रतिकेजी रु छ सयबाट घटेर रु तीन सयमा झरेको भए पनि ठूला सहरमा किबीको माग रहेको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

केही वर्ष पहिलासम्म बाहिरी जिल्लाबाट ल्याएर किबी बिक्री गर्दै आएका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँगाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याई भएको बताउँछन् । निसीखोला–४ स्थित लीला घर्तीले १२ रोपनी क्षेत्रफलमा उत्पादन गरेको किबी सोझै बुटवल लगिएको बताउनुहुन्छ । एकपटक गरेको लगानीले वर्षौैँसम्म उत्पादन दिने घर्तीको भनाइ छ ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

खोटाङ, ९ पुसः सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले गत मङ्सिर २८ गते निर्माण कम्पनीसंग भ्याटसहित रु एक करोड २९ लाख ४६ हजार ७७ लागतमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार उक्त निर्माण कम्पनीले यही पुसभित्र अस्थायी बेलिब्रिज जडान सकेर यातायात सञ्चालन गराउनुपर्ने सडक विभाग उदयपुरका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । सुनकोशीमा यसअघि प्रयोग गरिएको ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गरिने जनाइएको छ ।

फोक्सिङटार पुल सञ्चालन गर्नुअघि जडान गर्ने गरिएको अस्थायी बेलिब्रिज खोलेर नदी किनारमा स्टोर गरिएको थियो । गत असोज १२ गते आएको बाढीले पक्की पुल बगाएपछि खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सेवा बिच्छेद भएको छ ।

अहिले खोटाङबाट रसुवाघाटसम्म गाडी पुगेर त्यहाँबाट पैदल झोलुङ्गे पुल तरेर पारि उदयपुरबाट अर्को गाडी चढेर तराई जानुपर्ने बाध्यता छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा २०७९ सालमा खोलेर राखिएको अस्थायी बेलिब्रिजको सामानलाई नै पुनः जडान गर्ने तयारी गरिएको जनाइएको छ ।

फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयअघिदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । तर, दुई वर्ष नबित्दै बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि जिल्लावासीका लागि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

निर्माण कम्पनीे फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । निर्माणको जिम्मा लिने ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो ।

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड कालोपत्रको काममा ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो ।

पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी

दमौली (तनहुँ-जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा यहाँ आउने आन्तरिक पर्यटक बढेपनि बास बस्नेको सङ्ख्यामा कमी आएको हो ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बास बस्ने गरी आउने पर्यटक कम भएपनि घुमघाम गरेर सोही दिन फर्किनेको सङ्ख्या भने उल्लेख्य रहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बास बस्ने गरी आउने पर्यटक ‘प्याकेज’मा आउँछन् । घुमघामका लागि आउनेहरू दिनभर घुमेर साँझ फर्किने गरेका छन् ।” यतिबेला बन्दीपुरमा दैनिक पाँच सयभन्दा बढी पर्यटकको आगमन भइरहेको उहाँको अनुमान छ । सार्वजनिक बिदा र शनिबारका दिनमा भने पर्यटकको सङ्ख्या अझै बढी हुने उहाँले बताउनुभयो । 

बन्दीपुरमा विदेशी पर्यटकको आगमन पनि उल्लेख्य भइरहेको समितिका अध्यक्ष प्रधानले बताउनुभयो । उहाँका अनुसार अन्य मुलुकभन्दा चीनका पर्यटक बढी आउने गरेका छन् । 

साथै जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि आउने गरेका तथ्याङ्क समितिमा रहेको उहाँले जानकारी दिनुभयो ।  

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ का संयोजक वैश गुरुङले गाउँपालिकाको पहलमा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एक वर्षभरि विविध कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर भ्रमण वर्ष घोषणा गरी यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउने अभियानमा लागेका छौँ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यहाँ विशेष कार्यक्रम हुँदैछ । त्यसको तयारीमा जुटेका छौँ ।”

बन्दीपुर भ्रमण वर्ष–२०२५ को अवसरमा यहाँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्ने लक्ष्य लिइएको संयोजक गुरुङले बताउनुभयो । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षण केन्द्रबिन्दु बन्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमीको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । 

प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ पर्यटकको आकर्षण बढेको संयोजक गुरुङले बताउनुभयो ।  

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गर्नुभयो ।

मन्त्री गुप्ताले यस चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताउनुभयो । “मानव शरीर, प्रकृति र ऊर्जाको सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो विधि नेपालमा पनि सुरु गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई थप समृद्ध बनाउने विश्वास लिएको छु ।”

मन्त्री गुप्ताले विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने धारणा राख्नुभयो । अस्पतालको स्थापना र त्यसपछि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा चिनियाँ सहयोग आवश्यक रहेको बताउनुभयो । “इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु”, मन्त्री गुप्ताले भन्नुभयो ।

नेपालमा लागि चीनका राजदूत सोङ्गले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले अस्पतालले अबदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताउनुभयो । उहाँका अनुसार चीन सरकारले जनशक्ति, औषधि र प्रविधिसहित हाल दुई जना चिकित्सक उपलब्ध गराएर सेवा दिइने छ । 

जनता प्रगतिशील पार्टीद्वारा अन्य पार्टीसँग सहकार्यका लागि वार्ता टोली गठन

काठमाडौँ-जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलसँग सहकार्यका लागि वार्ता टोली गठन गरेको छ । पार्टी अध्यक्ष हृदयश त्रिपाठीले  विज्ञप्ति जारी गरी देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख भएको अवस्थामा दलहरूबीच सहकार्यको आवश्यकता औँल्याउँदै पार्टीले वार्ता टोली गठन गरेको जानकारी दिनुभयो ।

पार्टीका नेता डा शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ, यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन आक्रान्त छ । जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्यता बढ्दो छ”, अध्यक्ष त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ ।

तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायत दलहरूलाई सहकार्य गर्न अनुरोध गर्दछौँ ।”

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

काठमाडौँ, ९ पुसः पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिनुभयो । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उहाँले बताउनुभयो । 

आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।  

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ । 

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ । 

चिसो बढ्न सुरु 

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गर्नुभयो । 

विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो ।

यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह

काठमाडौँ, ९ पुसः सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ । 

पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

यस्तै,  रोजगारदाताले राहदानी खोसिदिने, १२÷१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने÷गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ ।

रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यान्मा ल्याई बन्दी बनाएर काम गर्न लगाएको पाइएको तथा सामाजिक सञ्जालहरूमार्फत विभिन्न स्थानका एजेन्टद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जालमा प्रचार गरिएका नक्कली रोजगारीको प्रलोभनमा नपर्नसमेत आग्रह गरिएको छ ।

“वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म, कम्पनी र रोजगारदाताको वेबसाइट जाँच गर्नुहुन अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ । 

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर

काठमाडौँ, ९ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ । 

घटेको युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६  पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा निर्धारण भएको छ । 

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ दुई पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ५३ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । 

परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता

काठमाडौँ, ८ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरू प्रस्तुत गरेको जानकारी दिनुभयो ।

 मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोपतर्फ लाग्नुभएको थियो । उहाँको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुती दिने रहेको जनाइएको छ ।  

उहाँले आफू र आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गत मङ्सिर २४ मा सो अदालतमा यस विषयमा कुरा उठाएको बताउनुभयो ।  मन्त्री डा राणाले अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस) को माग गरेको जानकारी दिनुभयो । 

 भ्रमणका क्रममा उहाँले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेको जानकारी दिनुभयो । यसैगरी युरोपियन युनियनका ‘कमिसनर फर क्लाइमेट एक्सन’ ओपके होस्त्रा र ‘कमिसनर फर इन्टरनेशनल पार्टनरसिप’ जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा गरेको उहाँले जानकारी दिनुभयो । 

 मन्त्री डा राणाले यसका साथै युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि उहाँहरूलाई आग्रह गरेको बताउनुभयो । उहाँले जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरूसँग अन्तक्र्रिया गरी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र समुदायमा परेको असरबारे अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिनुभयो । 

 यस्तै, यही पुस २ गते परराष्ट्रमन्त्री डा राणाले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएको पनि बताउनुभयो । 

उहाँ जर्मनीको बर्लिनबाट शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो । नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सोही दिन सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको जानकारी गराउनुभयो । 
त्यस अवसरमा उहाँले हालसालै निर्माण भएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरसँग थप उडानका लागि आग्रह गरेको जानकारी दिनुभयो । 

 सञ्चारकर्मीको एक प्रश्नमा मन्त्री डा राणाले यसपटकको आफ्नो भारत भ्रमण सो आर्थिक सम्मेलनमा सहभागी हुने र आफ्नो स्वास्थ्य उपचारको ‘फलोअप’ रहेकाले कुनै राजनीतिक भेटघाट या कुराकानी नभएको स्पष्ट गर्नुभयो ।

स्लोभाक प्रधानमन्त्रीमाथि ‘पुटिनलाई सहयोग’ गर्न चाहेको जेलेन्स्कीको आरोप

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोमाथि रूसी ग्यास आयात जारी राखेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मद्दत’ गर्न चाहेको आरोप लगाउनुभएको छ ।

आइतबार मस्को भ्रमण गरेको बेला फिकोले रुसमाथिको ऊर्जा निर्भरता घटाउन विरोध गरेको युरोपेली सङ्घ (इयु) का नेताहरूले देखेको उल्लेख गर्दै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “यसले उहाँ पुटिनलाई युद्धका लागि पैसा कमाउन र युरोपलाई कमजोर पार्न मद्दत गर्न चाहनुहन्छ भन्ने सङ्केत गर्दछ, पुटिनलाई यस्तो सहयोग अनैतिक हो भन्ने हामी विश्वास गर्छौं ।”

स्लोभाकिया रूसी ग्यासमा धेरै निर्भर छ र युक्रेन हुँदै ग्यास पारवहनको सम्झौता डिसेम्बर ३१ मा समाप्त हुँदै जाँदा आपूर्ति गुमाउने सम्भावनाबारे चिन्ता व्यक्त गरेको छ । युक्रेनले रुससँगको सम्झौता नवीकरण नगर्ने स्पष्ट पारेको छ । “यो निकै कठिन अवस्था हो, यसमा थप ध्यान दिन आवश्यक छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सोमबार पत्रकारहरूलाई भन्नुभयो ।

सन् २०२२ मा युक्रेनसँगको शत्रुता फैलिएपछि पुटिन र मस्कोसँग मैत्रीपूर्ण रहेका केही युरोपेली नेतामध्ये फिको एक हुनुहुन्छ ।नाटो र इयुको सदस्य देशका फिकोको भ्रमण पहिले घोषणा गरिएको थिएन ।

वार्तापछि आफ्नो फेसबुक खातामा पोस्ट गरिएको एक बयानमा फिकोले आइतबारको बैठक ‘युक्रेन हुँदै हाम्रो क्षेत्रमा ग्यासको कुनै पनि पारवहन’ को विरोध गर्ने जेलेन्स्कीको ‘जवाफमा’ भएको बताउनुभयो ।

“पुटिनले पश्चिम र स्लोभाकियालाई ग्यास आपूर्ति जारी राख्न रुसको तत्परता पुष्टि गर्नुभएको थियो, यो जनवरी १ पछि व्यावहारिक रूपमा असम्भव छ”, विस्तृत विवरण निदई उहाँले भन्नुभयो ।

दुवै नेताले युक्रेनको द्वन्द्व र यसको ‘चाँडो शान्तिपूर्ण अन्त्य’ हुने सम्भावनाबारे पनि विचार आदान प्रदान गरेको उहाँले बताउनुभयो ।

सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह

मकवानपुर, ८ पुस: बागमती प्रदेश सचिवालय हेटौँडामा आज बसेको सर्वदलीय बैठकले प्रदेशको विभिन्न जिल्लामा रहेका राष्ट्रिय गौरवका आयोजना र समानुपातिक योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनेतर्फ बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ ।

प्रदेश सरकारद्वारा चालु आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत गरिएको बजेटमा प्रदेशसभाका सदस्यको मागबमोजिम छुट्याइएको योजना र बजेटको सिलिङमा केही महत्वपूर्ण योजना छुट हुन गएकाले ती योजनालाई सम्भव भएसम्म समावेश गरी कार्यान्वयन गर्न माग गर्दै यहाँ गत असोजमा प्रदेशसभाको बैठकले नेपाली कांगे्रस समसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसहितका दलका नेताहरू हुनुहुन्छ ।

कार्यदलका संयोजक चित्रकारले प्रदेशको विभिन्न जिल्लामा गत असोज ११÷१२ गते आएको बाढीपहिरोबाट क्षति भएका पक्की पुल, सडक, खानेपानी, विद्युत्, स्वास्थ चौकी, विद्यालय भवन, खाद्यान्न बाली र पहिरोबाट पीडित भएका व्यक्तिहरूको पुनर्वास योजना ल्याउन प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

सर्वदलीय बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी केन्द्र संसदीय दलका नेता शालिग्राम जम्मकट्टेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादी दलका नेता कृष्णप्रसाद शर्मा खनाललगायत सहभागी हुनुहुन्थ्यो ।

आजै मुख्यमन्त्री बहादुरसिंह लामालाई कार्यदलद्वारा तयार पारिएको आर्थिक र योजनासहितको प्रतिवेदन हस्तान्तरण गरिएको छ । त्यस अवसरमा मुख्यमन्त्री लामाले प्रतिवेदनमा उल्लेख भएका चालु आर्थिक वर्षभित्र परेका विभिन्न योजना र अन्य केही छुट योजनालाई आर्थिक ऐनको परिधिभित्र रहेर कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षलाई छुट्याइएको बजेट सिलिङभित्र छुटेका केही राष्ट्रिय गौरवका आयोजना र समानुपातिक योजनालाई सम्भव भएसम्म समावेश गर्नेतर्फ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्ले र सचिवलगायत पदाधिकारीसँग छलफल गरेर कार्यान्वयन थप कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘किसुनजीको बाटो अनुसरण गर्नुपर्नेछ ’ – शेखर कोइराला

काठमाडौँ, ८ पुस : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा यहाँ आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ । त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने सङ्कल्प लिन्छौँ ।”

उहाँले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै कांग्रेस गन्तव्यमा पुग्ने उहाँले जिकिर गर्नुभयो ।

प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ, ८ पुस : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको हो । “के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रुपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्न समेत निर्देशन दिनुभयो । मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना एसएमटीको बैठक राख्नसमेत उहाँले निर्देशन दिनुभएको छ ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरुले आफ्नो कार्यालयका कामबारे जानकारी गराउनुभएको थियो ।

सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड

लुम्बिनी, ८ पुस : मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु शून्य बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको समन्वयमा आज प्रदेश राजधानी देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फर्छ्यौट र सम्परीक्षण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शून्यमा झार्ने रणनीति सरकारले बनाएको छ ।”

कर्मचारीको कार्यसम्पादन मुल्याङ्कनमा बेरुजु फर्छ्यौटलाई अनिवार्य समेटनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो । प्रदेश सरकारले बेरुजु घटाउने बिषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको र कर्मचारी तहमा जारी गरेको १४ बुँदे निर्देशनले समेत सम्बोधन गरेकाले आगामी दिनमा सुधार हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रदेश तहमा जनशक्तिको अभावलाई समाधान गर्नेगरी लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवालाई अघि बढाएकाले कार्यसम्पादन सहज हुने बताउनुभयो ।

महालेखा परीक्षक तोयम रायाले सुशासन कायम गर्ने भूमिकालाई प्रभावकारी बनाउन बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले बेरुजु नआउने गरी काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । प्रदेश तथा स्थानीय तहका कार्यालयहरुमा लेखापरीक्षणको काम अघि बढेको, प्रारम्भिक प्रतिवेदनको जवाफ दिँदा धेरै समस्या आफै समाधान भएर जाने भएकाले त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।