`

काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

काठमाडौँ, १३ पुस : काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उहाँका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानमा हुस्सु÷कुहिरोको सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौँ, १३ पुसः मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गर्नुभएको हो ।

डा ओम मूर्ति अनिल पोड्कास्टमार्फत् युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा उहाँले जनचेतनामूलक प्रस्तुति दिँदै आउनुभएको छ । उक्त युट्युब च्यानल मोनिटाइजेसन भई प्राप्त भएको पहिलो आम्दानीलाई डा ओम मूर्तिले बूढानीलकण्ठ नगरपालिका–४ स्थित चन्डेश्वरी मन्दिर नजिक रहेको पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा र खाद्यान्न सहयोगमा खर्चिनु भएको छ । उहाँले भन्नुभयो, “मैले सामाजिक सञ्जालको आम्दानी सामाजिक कर्ममै खर्च गरेको हुँ । आगामी दिनमा अन्यत्र पनि आवश्यकताअनुसार सहयोग गर्दै जानेछु ।”

संस्थामा १३ महिनादेखि २० वर्षसम्मका ६० जना बालबालिका र ९५ वर्षसम्मका १५ जना वृद्धवृद्धा आश्रित रहनुभएको छ । आश्रित सदस्यसहित छ जना स्वयम्सेवकलाई आवश्यकताअनुसार न्यानो कपडा प्रदान गरिएको थियो । यस्तै विभिन्न खाद्य सामग्री र खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो ।

स्वास्थ्य सेवाबाहेक एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आउनुभएका डा अनिलको फेसबुक पेजमा १४ लाखभन्दा बढी र युट््युबमा ८० हजारभन्दा बढी फलोअर्स रहेका छन् । डा ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमानसमेत कायम गर्नुभएको छ । जसअन्तर्गत गिनिज वल्र्ड रेकर्ड र वल्र्ड बुक रेकर्ड (लन्डन) रहेका छन् । विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा डा उहाँले फेसबुक लाइभमार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शकसँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’को लागि सबैभन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गर्नु भएको हो ।

त्यस्तै सन् २०१४ मा डा अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ता’का लागि प्रदान गरिएको थियो । इमेज एफएममा ४४ हप्तासम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको शृङ्खलालाई वल्र्ड बुक रेकर्ड (लन्डन) ले मान्यता प्रदान गरेको थियो ।

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

दमौली (तनहुँ), १३ पुस : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण भइसकेको भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार क्षति भएका घरको अनुगमनपश्चात् अधिकतम रू तीन लाख र न्यूनतम रू दश हजार क्षतिपूर्ति तोकिएको छ । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण भइरहेको छ ।” संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयवासीबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इन्जिनियर, आयोजनाका इन्जिनियरलगायत सदस्य थिए ।

आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५ दशमलव ८ प्रतिशत रहेको भण्डारीको भनाइ छ ।

यो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सुरू गर्न पूर्वतयारीका कार्य भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भन्नुभयो, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिट र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।”

सेती नदीको दायाँ र बायाँ किनारतर्फ ग्राउटिङ ग्याली सुरूङ निर्माणका लागि खन्ने कार्य सुरू गरिएको छ भने सेती नदीको दायाँ किनारतर्फको इलिभेसन तह तीन सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरूङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्यसहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताउनुभयो ।

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरपालिकाको पत्राचार

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । यी कम्पनीलाई सम्पत्ति कर र वहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

“संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तहलाई बुझाउनुपर्छ,” विभागका प्रमुख अधिकारी बहाल करका विषयमा करदातामा कुनै द्विविधा हुनुपर्ने अवस्था नरहेको बताउँदै भन्नुहुन्छ । नेपालको संविधानको धारा ५७ (४) तथा अनुसूची ८ अनुसार घर बहाल कर सङ्कलन गर्ने विषय स्थानीय तहको एकल अधिकारअन्तर्गत पर्दछ । संविधानको धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा गाउँपालिका वा नगरपालिकाले त्यस्तोमा बहाल कर लाग्नेछ, भन्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम कामपाभित्रका बहाल आयमा लाग्ने कर कामपाले मात्र सङ्कलन गर्न सक्छ ।

यससँगै अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ (३) र अनुसूची ३ ले स्थानीय तहले स्थानीय कानुनबमोजिम घर बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ । कामपाले जारी गरेको राजस्व ऐन, २०७५ को परिच्छेद ४, आर्थिक ऐन, तथा घर बहाल व्यवस्था निर्देशिका, २०७९ ले आफ्नो क्षेत्रभित्रका व्यक्ति वा संस्थाले बहालमा लगाएकोे भवन, घर वा जग्गाको बहाल कर उठाउनेसम्बन्धी व्यवस्था छ ।

बहाल व्यवस्था गर्न कामपाको नगरसभाले नेपालको संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम कामपाको राजस्व ऐन, २०७५ जारी गरेको छ । संविधानको धाराबमोजिम नगरसभाले जारी गर्ने सालवसाली आर्थिक ऐनले तोकेको दररेटमा रहेर सबै करदातासँग बहाल आम्दानीमा बहाल कर लगाउँदै आएको छ ।

पढ्नलाई उमेरले छेकेन ४४ वर्षीय परियारलाई

दमौली (तनहुँ), १३ पुसः पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गर्नुभएको छ तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले । विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्नुभएका बुढाले हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना हुनुभएको छ । गत साउनमा कक्षा १२ मा २.९ जिपिए प्राप्त गरी उत्तीर्ण हुनुभएका बुढा मङ्सिर महिनामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना हुनुभएको छ ।

शिक्षा सङ्कायतर्फ अध्ययनरत उहाँले अरु विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या बेहोर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रोसँग अध्ययन गरेर अङ्ग्रेजीमा पनि केही सुधार हुनेमा आशावादी छ ।”

पढाइलाई उच्च प्राथमिकता दिँदै बुढा दुई वर्ष अगाडि दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनुभएको थियो । व्यास–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाई छाड्नुभएका बूढाले सोही विद्यालयमा पुनः भर्ना भई एसइइ उत्तीर्ण गर्नुभएको थियो ।

परियारका छोराछोरी बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा शिवशङ्कर बूढा परियार हाल कक्षा ८ मा अध्ययनरत छन् । छोरी पूर्णिमा परियार कक्षा ६ अध्ययनरत छन् ।

छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लागेको सम्झिदै उहाँले भन्नुभयो, “त्यतिबेला हामी सबै एउटै विद्यालयमा पढ्थ्यौ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्थ्यो ।”

नेपाल कराँते सङ्घ गोजो इकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तरवार्ता दिन जानुभएको थियो । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भनेपनि उहाँ छनोट हुनसक्नुभएको थिएन । त्यही बेला उहाँलाई एसएलसी उत्तीर्ण नगरेकामा हिनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो ।

केशवटार माविका तत्कालिन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियारले बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराँते सङ्घ गोजो इकाईको प्रमुख प्रशिक्षक रहनुभएका परियारले पिएचडी गर्ने लक्ष्य रहेको बताउनुभयो ।

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै जनक, खर्च कटाएर दुई लाख कमाई

कञ्चनपुर, १३ पुस ः शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो ।त्यही जग्गामा उहाँले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थाल्नु भएको छ । तरकारी बेचेको पैशाले साउदले वर्षभरी खान पुग्ने गरी धान र गहुँ खरिद गर्दै आउनुभएको छ ।

स्वामित्वको आठ कठ्ठा जग्गामा पाँच वटा प्लाष्टिकका टनेल निर्माण गरी उहाँले तरकारी खेती गर्दै आउनुभएको छ । प्लाष्टिक टनेलमा उहाँले बढी फल्ने जातका गोलभेडा रोप्नुभएको छ । टनेल बाहिरको बारीमा बन्दागोभी, काउली, मुला, धनियाँ, खुर्सानी, भण्टा, प्याज, तिते करेला रोप्नुभएको छ । तरकारी खेती भने उहाँले पुरै आफनै लगानीमा भने गर्नु भएको होइन ।

नगरपालिका कार्यालयबाट व्यवसायीक तरकारी खेती गर्नका लागि साउदले रु तीन लाख अनुदान रकम पाउनुभएको छ । रु तीन लाख अनुदान वाफत पाएको रकम र त्यसमा रु तीन लाख आफनातर्फबाट थप गरी उहाँले तरकारी खेतीलाई अगाडी बढाउदै आउनु भएको छ ।

तरकारी खेतीका लागि लगानी गरिएको रकमबाट बीउजिन खरिद, प्लाष्टिक टनेल निर्माण, गोडमेल र जोताईका लागि मिनी टिलर खरिद गर्नुका साथै सिँचाइका लागि बोरिङ जडानकार्य गरेका छन् । व्यवसायीक खेती गर्ने किसानका लागि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर साउदले तरकारी उत्पादन गर्ने तौर तरिका सिकेका छन ।

गत वर्ष तरकारी खेती गर्नका लागि नौलो अनुभव हुँदा खर्च कटाएर रु दुई लाख जतिको कमाई गरेका उहाँले यस वर्ष लौका र काँक्रा बिक्री गरि रु ४० हजार जतिको आम्दानी गर्नुभएको छ ।

टनेलमा उत्पादन भएको गोलभेँडा मात्रै रु १० हजार जतिको बिक्री भएको उहाँको भनाइ रहेको छ । “बारीमा तरकारी बेच्नका लागि तयार हँुदैछ” उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणमै बित्यो, यस वर्ष रु तीन लाखदेखि रु पाँच लाखसम्मको हाराहारीमा तरकारी उत्पादन हुने अनुमान गरेका छौँ ।”

उहाँका अनुसार जति मिहिनेत गरेपनि धान, गहुँलगायतको अन्न चाहे जस्तो उत्पादन नहँुदा वर्ष भरी खान पुग्दैनथ्यो । बाह्य क्षेत्रबाट खरिद गर्नु पर्ने बाध्यता थियो । तरकारी उत्पादनकार्य हुन थालेपछि घर खर्चसँगै वर्ष भरी खान पुग्ने अन्नको जोहो तरकारी बिक्री गरी आएको रकमबाट धानिदै आएको छ ।

बारीमा उत्पादीत तरकारी बेच्नका लागि झन्झट नभएको उल्लेख गर्नु हुँदै उहाँले स्थानीय तरकारी व्यापारीले आएर बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको बताउनुभयो । व्यापारी नआउको बेला आफैँपनि बजार क्षेत्रमा तरकारी पुरयार बेच्ने गरेको उहाँ बताउनुहुन्छ । वडा अध्यक्ष नवल सिंह राना साउदलाई मिहिनेती किसानका रुपमा चिन्नु हुन्छ । व्यवसायीक कार्य गर्ने पौरखी किसान भएकाले अनुदानको रकम उपलव्ध गराइएको उहाँको भनाइ रहेको छ ।

व्यवसायीककार्य किसानलाई प्रोत्साहीत गर्नका लागि मागअनुसारका आयआर्जनका कार्यक्रम सञ्चालन गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।

“किसानलाई व्यवसायीक तालिम, अनुदानका कार्यक्रममा संलग्न गराउनका लागि कार्य गरी रहेका छौँ,” उहाँले भन्नुभयो, “वडाकै पहलमा केही किसान केरा खेती, माछापालन, तरकारी खेतीमा संलग्न छन्, मौसमी आलु खेती गर्ने किसानलाई बेमौसमी आलु खेती गर्न अनुदानमा बीउ उपलव्ध गराइएपछि वर्षमा दुई पटक आलुको उत्पादन गरी आम्दानी लिन सक्षम भएका छन् ।”

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

ढोरपाटन (बागलुङ), १३ पुसः नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।

अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उहाँको भनाइ छ ।

जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउनुहुन्छ । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख पौडले भन्नुभयो, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।”

जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताउनुभयो । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोख्नुभयो ।

“सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भन्नुभयो, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”

यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ पुस : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । त्यस्तै, जापानी येन, साउथ कोरियन वनको भने मूल्य घटेको छ ।

निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ , युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ १२ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

चलचित्र भवनमा नेपाली चलचित्र

काठमाडौँ, १३ पुस : पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन् ।विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन् । यद्यपि केही नेपाली चलचित्र अहिले चलचित्र भवनमा प्रदर्शनरत छन् ।

गत पुस ५ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बम बहादुर’ प्रदर्शनरत छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिनुभयो । उहाँका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।

“चलचित्रमा मुख्य पात्र बमबहादुरको सङ्घर्षमय जीवनको कथा देखाईएको छ । यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिने हिसाबले पनि महत्वपूर्ण छ”, निर्देशक राईले भन्नुभयो ।

यसमा अभिनेता सौगात मल्ल, अभिनेत्री अनिशा रसाइली, अजय प्रधान, प्रशान्त राई, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गर्नुभएको छ ।

यसका साथै गत बुधवार पुस १० देखि ‘देववाणी’ लाई बाबुसाहेब बलामीले निर्देशन गर्नुभएको हो । कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्र काठमाडौँ बाहिर प्रदर्शनरत छ । सुरुआती व्यापार उत्साहाजन गर्न नसकेपछि यसको काठमाडौँ उपत्यका प्रदर्शन हुन सकेको छैन । अर्थात् चलचित्र भवनले यस चलचित्रलाई शो उपलब्ध गराएका छैनन् ।

यस्तै, गत मङ्सिर ७ देखि प्रदर्शन भएको चलचित्र ‘तेल भिसा’ उपत्यका र मोफसलका केही चलचित्र भवनमा प्रदर्शनरत छ । निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा चलचित्रलाई तयार गर्नुभएको छ ।
यसमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गर्नुभएको छ । यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गर्नुभएको छ ।

यस्तै, नेपाली चलचित्रको इतिहासमा सबै भन्दा बढी व्यापार गर्न सफल भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ । गत कत्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सफलतापूर्वक ५१ औँ दिन पार गरिसकेको छ । यसको नेपालमै ५० करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) भएको निर्माण पक्षले दाबी गरेको छ ।

सरोज पौडेलले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता विजय बराल, मुकुन भुसाल, बुद्धी तामाङ, प्रकाश सपूत, अभिनेत्री अञ्जना बराइली लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

अहिले नेपालका चलचित्र भवनमा विदेशीको तुलनामा स्वदेशी चलचित्र नै बढी देखिएका छन् । दर्शकले नेपाली चलचित्रलाई प्राथमिकता दिएपछि यस्तो सम्भव भएको वितरक करण श्रेष्ठले बताउनुभयो ।

“नेपाली चलचित्रका लागि यो वर्ष निकै सुखद देखिएको छ । यो साथले धेरै चलचित्रकर्मीलाई हौसला दिएको छ । अहिलेसम्म प्रदर्शन भएका चलचित्रको समग्र व्यापार हेर्दा आउँदो वर्ष निर्माण सङ्ख्या बढ्नेमा दुईमत छैन”, वितरक श्रेष्ठले भन्नुभयो ।

बेलाबखतमा चलचित्र भवनले शो नदिएको गुनासो सुनिएता पनि यस वर्ष नेपाली चलचित्रले चलचित्र भवनमा आफूलाई अब्बल सावित गरेको छ ।

तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

काठमाडौँ, १३ पुस : यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो ।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको सम्वद्ध जानकारको भनाइ छ ।

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

मान्म (कालीकोट), १३ पुसः कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् ।

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिनुभयो ।

कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन ।” बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

गण्डकी, १२ पुस: चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय भेटघाट एवं छलफल भएको छ ।

सङ्घको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल गरिएको थियो । छलफलमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख चाङले लुजाउ नगर औषधि तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिनुभयो ।

त्यहाँका उत्पादित वस्तु नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित वस्तु चीनको बजारमा पुर्याउनका निम्ति पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अघिल्लो वर्ष निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैँसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराउनुभयो। यी क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने बताउँदै उहाँले पोखराको पर्यटन उद्योगलाई सघाउन चिनियाँ टोलीलाई आग्रह गर्नुभयो ।छलफलमा सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, महासचिव शोभा गौतमलगायतको उपस्थिति थियो ।

विशेष अदालतको फैसला : पशुपतिको सुनको जलहरीमा पुष्टि भएन अनियमितता

काठमाडौँ, १२ पुस : विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा जलहरीका सन्दर्भमा तीन जनालाई मुद्दा दायर गर्ने कार्य पूर्वाग्रहपूर्ण देखिएको फैसला गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा विशेष अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता हुने अवस्था नदेखिएको ठहर गरेको हो ।

‘मिति २०८० असार २१ गतेको मुचुल्कामा उल्लिखित ६२३ ग्राम सुनको तौल समेत जोड्नुपर्नेमा सो सुनलाई समावेश गरेको देखिएन, अतः करिव १०७ केजी तौल भएको जलहरी निर्माण गर्दा अन्य धातुको मिश्रण गरिएको तथ्यलाई आरोपदाबीमा अन्यथा भनेको नपाइएको सन्दर्भमा प्रतिवादीले बदनियत राखी कोषको सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि हुन आएन’ फैसलामा भनिएको छ ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापा, तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल, बिसेट नाइके अरूणकुमार श्रेष्ठलाई विपक्षी बनाइ मुद्दा दायर भएको थियो । सदस्य सचिव डा थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका कोषाध्यक्ष हुनुहुन्थ्यो ।

विसं २०७७ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरी निर्माण गरिएको थियो । अख्तियारले नापजाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, कोषका पदाधिकारीको रोहबरमा सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको थियो ।

सुनको जलहरीको तौल एक सय सात किलो ८०७ ग्राम देखिएको थियो । गुणस्तर परीक्षण गर्दा समग्रमा २२ क्यारेटको सुन प्रयोग भएको देखिएको थियो । २०८० असार १० गते आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो ।

कोषका सदस्य सचिव डा थापाले भगवान् पशुपतिनाथको गर्भगृहमा सुनको जलहरीका सन्दर्भमा विवाद गरेर धार्मिक भावनामाथि चोट पुर्‍याए पनि अदालतले न्याय दिएको बताउनुभयो । ‘विश्वका हिन्दूको आस्थाको केन्द्रमा जलहरी राख्दा विवाद गरेर अन्य देशमा पनि राम्रो सन्देश गएन, तर सम्मानित विशेष अदालतले यी सबै प्रश्नको निरूपण गर्दै फैसला गरेको छ, भगवान् पशुपतिनाथलाई अदालतबाट न्याय भएको छ’–उहाँले भन्नुभयो ।

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन, १२ पुस : लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो ।

शनिबारदेखि लागु हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रू ३ हजार ६ सय  र मझौलाको रू ३ हजार ५ सय कायम गरिएको छ । योसँगै किसानले लागत मूल्य पाउने भएका हुन् ।  नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलब ५६ पर्न आउँछ । यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार  किसानले मूल्य बढेसँगै लागत मूल्य पाउनेभएका हुन् । उहाँका अनुसार दाउन्ने एग्रोफार्म, हिमचुुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री  भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौँको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी रू तीन हजार सात सय ५० देखि रू तीन हजार सात सय ८० सम्म र मझौलाको रू तीन हजार छ सय ५० देखि रू तीन हजार छ सय ८० सम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।

पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र  स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश बढ्ने देखिन्छ”, उहाँले थप्नुभयो, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।”

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन् ।”

नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो । गतवर्ष पनि पुस महिनामा चार पटक अण्डाको मूल्य वृद्धि भएको थियो । कँडेलले भन्नुभयो, “अब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान  विस्थापति हुन्छन् । ”

राष्ट्रपति पौडेलद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १२ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री सिंहको बिहीबार उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियोे । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ भारतका दूरदर्शी नेता रहनुभएको उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

सेवाको गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री सिंहको निर्देशन

मलङ्गवा (सर्लाही), १२ पुस : मधेस प्रदेशका मुुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुुभएको छ ।

आज प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्यकर्मीलाई भगवान् रुपी संज्ञा दिएकाले त्यसैअनुसार काम गर्न आग्रहसमेत गर्नुभयो । 

मलङ्गवा प्रादेशिक अस्पतालले हाल प्रदान गरिरहेको नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने  प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

प्रदेश सरकारको तीन करोड आठ लाख लागतमा निर्माण सम्पन्न तीनतले अस्पताल भवनको मुुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुुधनप्रसाद सिंहले संयुक्त रुपमा आज उद्घाटन गर्नुुभएको थियो । 

सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको‘डिपिआर’ तयार : १ अर्ब ६ करोड लागत

काठमाडौँ, १२ पुस : काठमाडौँ महानगरपालिकाअन्तर्गत सहरी योजना आयोगले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारेको छ ।

जसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा रहेका छन् । यी योजनाको लागत रू एक अर्ब पाँच करोड ९१ लाख तीन हजार रहेको आयोगको सचिवलाय प्रमुख धनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कामपाले यही पुस १४ गतेका लागि नगरसभाको १६औँ अधिवेशन आह्वान गरिसकेको छ । अहिले बजेट तर्जुमा समितिले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको समीक्षा गर्दै कार्यान्वयनमा आउन कठिन भएका कार्यक्रम र यसको सट्टा कार्यान्वयनमा लैजान आवश्यक कार्यक्रममा संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गरिरहेको छ ।

स्वीकृत कार्यक्रम र विनियोजित रकमबाट कुनै शीर्षकमा बजेट बचत हुन्छ । कुनैमा रकम अपुग हुन्छ । प्राविधिक, अवधिजस्ता विभिन्न कारणले कुनै कार्यक्रम कार्यान्वयनमा लैजान नसकिने हुनसक्छ । यस्ता कार्यक्रमका सट्टा कार्यान्वयनमा आउन सक्ने र प्राथमिकतामा रहेका योजनासम्बन्धी प्रस्ताव नगरसभामा लैजान बजेट तर्जुमा समितिले छलफल गरिरहेको छ ।

स्वास्थ्य विभागले विनियोजित रू ८६ करोड ५७ लाख कूल १४ दशमलव ४९ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । त्यस्तै सम्पदा तथा पर्यटन क्षेत्रमा विनियोजिन रू दुई अर्ब ४८ करोड २८ लाख ८७ हजार नौ प्रतिशत खर्च भएको छ ।

कामपामा १६ विभाग, ३१ महाशाखा, ५५ शाखा, चारवटा सचिवालय छन् । नगरसभा, नगर कार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विभागको सङ्गठन संरचना छ । यससँगै प्रमुखअन्तर्गत सहरी योजना आयोग, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, जग्गा एकीकरण आयोजनाहरू (चःमती, मनोहरा र नयाँबजार), अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, सार्वजनिक निजी साझेदारी एकाइ रहने व्यवस्था छ ।

उपप्रमुखमातहतमा न्यायिक समिति, राजस्व परामर्श समिति, कार्यक्रम तथा बजेट तर्जुमा समिति, बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति छन् ।

उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस

काठमाडौँ, १२ पुसः न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो ।

चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल

चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।

व्यावसायिक रकेटले तेस्रो चरणको उडानको क्रममा समस्याको सामना गर्यो ।
रकेटको विकासकर्ता सीएएस स्पेसका अनुसार इन्जिन इग्निशन भएको करिब तीन सेकेन्डपछि रकेटले समस्याको सामना गर्यो । इन्जिन इग्निशन भनेको इन्जिन सिलिन्डर भित्र हावा ईन्धन मिश्रणलाई प्रज्वलित गरेर इन्जिन सुरु गर्नु हो ।

लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु

लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष अहिलेसम्म ११ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।स्वास्थ्य मन्त्रालयको सूचना तथा शिक्षा केन्द्रको प्रतिवेदन अनुसार राजधानी भेन्टियानमा सबैभन्दा बढी पाँच हजार ७६१ जनामा सङ्क्रमण देखिएको छ ।

डेङ्गुका कारण लुआङ प्राबाङ प्रान्तमा चार, राजधानीमा तीन, सेकोङ प्रान्तमा दुई र लुआङ नम्था र भेन्टियाने प्रान्तमा एक–एक गरी ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगको फैलावटलाई नियन्त्रण गर्न र सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले लाओसमा स्वास्थ्य अधिकारी र चिकित्सा कर्मचारीहरूलाई डेङ्गु ज्वरोको गम्भीर प्रकोप रोक्नको लागि व्यवस्थापन सुधार गर्न आह्वान गरेको छ ।

स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १२ पुसः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताउनुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उहाँले अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।

नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधानको परिचालन गरेर काम गर्दा सबैतिर एकैपटक विकास हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनताका स्वास्थ्यसम्बन्धी आवश्यकतालाई पहिलो प्रथामिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामीसँग स्रोत सीमित छ, जनताको आवश्यकता बढी छन्, यद्यपि प्रदेश सरकारले सबै क्षेत्रमा क्रमिक रूपमा काम गरिरहेको छ, नागरिक स्वस्थ रहनुपर्छ भन्ने मान्यताअनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, म मुख्यमन्त्री भएर आउँदा पाँच सय डायलायसिस गर्नुपर्ने बिरामी लाइनमा हुनेमा अहिले त्यो अवस्था शून्यमा झरेको छ ।”

मुख्यमन्त्री पाण्डेले अहिले राज्यको चुनौतीका रूपमा बसाइँसराइ रहेको भन्दै त्यसलाई रोक्नका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै गाउँमा गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगार र अन्य विकासका काम योजनाबद्ध रूपमा गरिरहेको बताउनुभयो ।

सबै युवालाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाउने उद्देश्यसहित स्वरोजगारमूलक सीप विकास गर्ने योजनामा प्रदेश सरकार रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । पछिल्लो समय विकास नै भएन भन्ने गलत भाष्य निर्माण भएको भन्दै २०४८ सालयता मुलुकमा पूर्वाधार विकासहित स्वास्थ्य, शिक्षा, रोजगारलगायत क्षेत्रमा परिवर्तन आउँदै गएको उहाँले बताउनुभयो ।

पूर्व-पश्चिम रेलमार्ग : तत्कालै मुआब्जा उपलब्ध नहुने भए जग्गा फुकुवा गर्न ज्ञापनपत्र

झापा, १२ पुसः प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग परियोजनाबाट प्रभावित जग्गाधनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भए उचित क्षतिपूर्तिसहित फुकुवा गरिदिन सरकारसँग माग गरेका छन् ।

सरकारले उक्त परियोजनाका लागि झापा, मोरङ र सुनसरीमा पाँच हजार कित्ताभन्दा बढी जग्गा २०७७ साल जेठ २४ र २७ गते अधिग्रहण गरेको थियो । जग्गा रोक्का भएको चार वर्ष बितिसक्दा पनि जग्गाधनीले मुआब्जा पाउन नसकेको मेचीनगर–७ का रेलमार्ग प्रभावित ज्ञानेन्द्र निरौलाले बताउनुभयो ।

“जग्गा रोक्का गरिएको चार वर्ष बितिसक्यो”, उहाँले भन्नुभयो, “न मुआब्जा पाइएको छ, न रोक्का फुकुवा भएको छ ।” रेलमार्ग रेखाङ्कनका लागि जग्गामा जताततै पक्की पिलर गाडिएको हुँदा खनजोत गर्न कठिनाइ भएको उहाँको भनाइ छ । पूर्वपश्चिम विद्युतीय रेलमार्ग परियोजनाअन्तर्गत सरकारले झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्म एक सय २६ दशमलव ७५ किलोमिटर खण्डमा पर्ने जग्गाको बिक्री वितरण, बैंक धरौटी र अन्य कुनै प्रकारको हक हस्तान्तरणमा रोक लगाएको जनाउँदै निरौलाले यसबाट प्रभावितहरूको जीविकोपार्जन कष्टकर बनेको गुनासो सुनाउनुभयो ।

रेल्वे प्रभावित तथा मुआब्जा निर्धारण समन्वय समिति कोशीका महासचिव रञ्जित प्रसार्इँले चलनचल्तीको मूल्यका आधारमा प्रभावित परिवारको घरजग्गाको मुआब्जा छिटोभन्दा छिटो दिने व्यवस्था सरकारले मिलाउनुपर्ने माग गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने मुआब्जा निर्धारण समितिले रेलमार्ग प्रभावितको घरजग्गाको मुआब्जा दरको टुङ्गो लगाउँछ । प्रभावितहरूले गठन गरेको समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखहरूलाई भेटेरै मुआब्जा दिलाउन मागपत्र बुझाइसकेको छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेरै माग गरेका छौँ, पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई मागपत्र बुझाएका छौँ”, प्रसाईँले भन्नुभयो, “तर हालसम्म मुआब्जा पाउन सकिएको छैन । सबैले आश्वासन मात्र दिनुभयो ।”

रेलमार्गका लागि सरकारले झापाको दुई हजार चार सय ५७ कित्ता, मोरङको एक हजार छ सय ३८ कित्ता र सुनसरीको एक हजार तीन सय २९ कित्ता जग्गा सम्बन्धित जिल्लाको मालपोत कार्यालयमार्फत रोक्का राखेको छ । रोक्का जग्गाको किनबेच, अंशवण्डा, दाइजो बकस पास, वित्तीय कारोबार र कुनै प्रकारको स्वामित्व हस्तान्तरण गर्न पाइँदैन ।

आफ्नो सम्पत्तिको हकभोग प्रभावित हुँदा सम्बन्धित परिवारको शिक्षा, स्वास्थ्य, विहाबारी, काजकिरियालगायत अत्यावश्यक कामकाजमा धनराशि व्यवस्थापन गर्न समस्या भएको उल्लेख गर्दै महासचिव प्रसाईँले मुआब्जा नदिने भए सरकारले रोक्का भएको जग्गाको उचित क्षतिपूर्तिसहित जग्गाको पूर्ण रूपमा फुकुवा गरिदिनुपर्ने माग गर्नुभयो ।

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग सञ्चालनका लागि महत्वाकाङ्क्षी परियोजना सुरु गर्दै रेलको बाटो पर्ने जग्गा अधिग्रहण गर्ने प्रक्रिया बेलैमा अघि बढाएको थियो । सरकारले रेलमार्गको सिमाना नापी गरेर क्रङ्क्रिट पिलर राखिसकेको छ । तर, मुआब्जाको काम भने सरकारले सुरु गर्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले चालु आर्थिक वर्षमा रेलमार्ग परियोजनाबाट प्रभावित जग्गाधनीलाई मुआब्जा दिन सरकारले रु पाँच अर्ब बजेट निकासा गर्ने भन्ने जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूसँग पनि कुरा भयो । झापामा मुआब्जाका लागि करिब रु १२ अर्ब चाहिने रहेछ । रु पाँच अर्ब आयो भने यो वर्ष आधा प्रभावितलाई वितरण गर्न पुग्छ । बाँकीलाई अर्को वर्ष दिएर मुआब्जाको काम सकिन्छ ।”

उहाँले विगतमा बनेको समितिले जग्गाको कित्ता छुट्याउने र मूल्याङ्कन गर्ने काम सकेको हुँदा त्यसैलाई आधार मानेर मुआब्जा दिइने बताउनुभयो ।

सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव

काठमाडौँ, १२ पुसः खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले योजना बनाएर कार्यान्वय गर्ने बताउनुभयो । उहाँले खानेपानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “मुलुकको ग्रामीण बस्तीमा अहिले पनि स्वच्छ खानेपानीको समस्या छ, नागरिकले पिठ्युँमा खानेपानी बोकेर प्रयोग गरिरहनुभएको छ । सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले योजनाबद्ध रूपमा ठोस कदम चाल्नेछ । पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु ।”

मन्त्री यादवले देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलस्रोतको क्षेत्रमा धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने आफैँमा दुःख कुरा हो । वर्तमान सरकारले यो समस्या समाधान गर्नेछ”, उहाँले भन्नुभयो ।

खानेपानीको समस्या बुझी समाधानका उपाय पहिचान गर्न केही दिन पहिले तराई, पहाडी र हिमाली क्षेत्रमा गई स्थलगत अनुगमन गरेर फर्किएकाले तत्काल योजना बनाएर कार्यान्वयन गरी आफ्नै कार्यकालमा विद्यामान समस्या समाधान गर्न दीर्घकालीन रूपमा समस्या समाप्त गर्ने मन्त्री यादवले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको छ, पहाड र हिमाली क्षेत्रमा पनि जलवायु परिर्वतनको असर देखिन थालेको छ । खानेपानीको समस्या समाधन गर्नुवर्तमान समयमा र्न निकै चुनौतीपूर्ण रहे पनि समाधान गर्ने प्रतिबद्धता जनाउछु ।” खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी दीर्घकालीन रूपमा समस्या अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकलीलाई

भरतपुर (चितवन) १२ पुस : चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् ।

आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । एकचालीस वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । 

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिएको तिवारीले जानकारी दिनुभयो । उहाँले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गरिएको बताउनुभयो । सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ ।

खेल र खेलाडीहरूको विकासमा मधेस प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह

जनकपुर, १२ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई आज बधाई दिँदै खेल र खेलाडीहरूको विकास तथा प्रगतिका लागि सरकार सहयोग रहने बताउनुभएको छ ।

प्रथम नेपाल प्रिमियम लिग (एनपीएल) मा विजयी जनकपुर बोल्ट्सका खेलाडीको सम्मानमा आज जनकपुरधाममा निकालिएको शोभा यात्राका क्रममा मुख्यमन्त्री सिंहले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

क्रिकेट खेलप्रति आकर्षण बढाउन तथा खेलको दिगो विकासका लागि वातावरण तयार गर्न ट्रफीसहितको खेलाडीलाई सवारी साधनमा पुष्पमाला, अबिर तथा रातो टीका लगाएर सम्मानका साथ जनकपुरधामको नगर परिक्रमा गराइएको छ ।

जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरू भएको शोभा यात्रा जीरो माइल, चानु चोक, पिडारी चोक, रामानन्द चोक हुँदै जानकी मंन्दिरमा पुजाआजा गरी समापन भएको थियोे । 

जिल्ला क्रिकेट सङ्घ धनुषाद्वारा आयोजित सो शोभायात्रामा विभिन्न क्षेत्रका सामाजिक, व्यापारिक, धर्मिक तथा खेलसँग सम्बन्धित खेलाडी र आमजनताको सहभागिता थियोे ।

एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले पाँच विकेटले पराजित गरेको थियो । जनकपुर बोल्ट्सका खेलाडीसहितको ट्रफीलाई मधेस प्रदेशको विभिन्न जिल्लामा शोभायात्रा गराइनेछ ।

पुस १३ गते शनिबार जलेश्वर, सर्लाही तथा रौतटह जिल्लामा घुमाइने भएको छ । यसैगरी पुस १४ गते आइतबार बारा तथा पर्सा जिल्ला र १५ गते सोमबार सिरहा तथा सप्तरी जिल्लामा ट्रफीसहित घुमाइने भएको जनकपुर बोल्ट्स टिमले जानकारी दिएको छ ।

जनकपुर बोल्ट्सले प्रथम एनपिएल ट्रफी हात परेपछि मधेस प्रदेशका जिल्लाहरूमा खुसीको विशेष लहर देखिएकाले ट्रफीसहित खेलाडीलाई सम्मान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताउनुभयो  

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउँदै

काठमाडौँ, १२ पुसः श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणका लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

मन्त्रालयले उहाँलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने जनाएको छ । अन्य भेटघाट र भ्रमण उहाँले आफ्नै हिसाबले निजी रूपमा गर्नुहुने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपाल भ्रमणका क्रममा लुुम्बिनीसमेत जानुहुने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उहाँ यही पुस १७ गते स्वदेश फर्कनुहुनेछ ।

नेपाल–श्रीलङ्का सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास खोलेकामा सन् १९९५ मा कोलम्बोमा नेपाली राजदूतावास स्थापना भएको थियो । त्यस्तै काठमाडौँमा सन् १९९३ देखि श्रीलङ्काको आवासीय दूतावास रहेको छ ।

नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुनुका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् । दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान विचार प्रस्तुत गर्नुका साथै संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र विश्व व्यापार सङ्गठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् ।

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलङ्काबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलङ्का सरकारले सहयोग गरिरहेको छ । श्रीलङ्काले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ । नेपालमा प्रत्येक वर्ष श्रीलङ्काबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

हिउँ चितुवा हेर्नका लागि नेपालकै पहिलो होटल मनाङमा

मनाङ, १२ पुस : हिमाली जिल्ला मनाङ हिउँ चितुवाको बासस्थान भएको क्षेत्र मानिन्छ । हिमालकी रानी भनेर उपनाम पाएको हिउँ चितुवा लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्दछ ।

वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने यस वन्यजन्तु हिउँ चितुवाको संरक्षण र अवलोकनका लागि यहाँ होटल सञ्चालनमा ल्याइएको छ । पारिस्थिकीय प्रणालीको संरक्षणका लागि पनि हिउँ चितुवाको भूमिका महत्त्वपूर्ण रहने भएकाले यसको संरक्षण र अवलोकनका निम्ति सहज बनाउने उद्देश्यले होटल खोलिएको जनाइएको छ । 

मनाङ ङिस्याङ गाउँपालिका–८ गुम्छाङमा स्नो लियोपार्ड ह्यावन (हिउँ चितुवाको स्वर्ग) नामकरण गरी होटल सञ्चालन गरिएको छ । लामो समयदेखि होटल तथा पर्यटन व्यवसायमा सम्बद्ध पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष एवं होटल सञ्चालक विनोद गुरूङले पारिस्थितिकीय प्रणालीको सन्तुलन गर्ने जीव लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि होटल सञ्चालनमा ल्याएको बताउनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, “जनवरी, फेब्रुअरी, मार्च र अप्रिल महिनामा हिउँ चितुवाको अवलोकन सिजन हो, यसका साथै हिमालमा रहने विभिन्न प्रजातिका चराचुरूङीको अवलोकन गर्न सकिन्छ, अत्यधिक चिसोका कारण आहाराका लागि हिउँ चितुवा तल्लो क्षेत्रमा झर्ने गर्दछन्, यसका आहार पनि चिसोले गर्दा तल झर्ने हुँदा सहज रूपमा हेर्न सकिने अवस्था छ ।” तीन हजार नौ सय मिटर उचाइमा अवस्थित यस होटलबाट नाङ्गो आँखाले प्रत्यक्ष हिउँ चितुवा हेर्न सकिने उहाँले बताउनुभयो । 

नेपालकै पहिलो हिउँ चितुवा हेर्नका लागि होटल सञ्चालनमा ल्याइएको अध्यक्ष गुरुङको भनाइ छ । “यस समयमा विशेषगरी वाइल्डलाइफ फोटोग्राफीका लागि महत्वपूर्ण मानिन्छ, यसका लागि सहज बनाउने उद्देश्यले होटल सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “मुनाफा लिनुभन्दा पनि हिउँ चितुवा र यहाँ पाइने लोपोन्मुख विभिन्न प्रजातिको वन्यजन्तुको संरक्षणसँगै यिनीहरूको प्रवद्र्धन तथा जनचेतना जगाउन लागिएको हो ।” 

अध्यक्ष गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनले लोप हुने अवस्थामा पुगेका यस्ता संरक्षित वन्यजन्तुको संरक्षणमा जुट्नुपर्छ, यसै वन्यजन्तुलाई पर्यटनसँग जोड्न पनि आवश्यक रहेको छ, यहाँका स्थानीय नै यसको संरक्षणमा जुट्नुपर्ने हुन्छ, हामी नै अग्रसर भए मात्रै सम्भव हुन्छ ।” यसले गर्दा अहिलेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ । नमस्ते टुर एन्ड ट्रेकिङको व्यवस्थापनमा होटल सञ्चालनमा ल्याइएको हो । 

जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा पारसविक्रम सिंहले जैविक विविधतामा महत्त्वपूर्ण भूमिकामा रहेको हिउँकी रानी हिउँ चितुवालगायत वन्यजन्तुका साथै चराचुरूङ्गी हेर्न होटलले पर्यटन प्रवर्द्धनसँग पनि जोडेको बताउनुभयो । यस होटलले लोपोन्मुख वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा उहाँको छ । 

यस्ता होटल सञ्चालनमा आएपछि यहाँ ‘अफसिजन’मा पनि पर्यटकको आगमन बढाउन सहयोग पुग्ने अध्यक्ष गुरुङको विश्वास छ । उहाँका अनुसार विदेशी मात्रै नभई स्वदेशी पर्यटकको पनि आगमनले यहाँको पर्यटन व्यवसाय बाह्रै महिना चलायमान बनाउनेछ । 

अध्यक्ष गुरुङले भन्नुभयो, “मनाङको जैविक विविधताको संरक्षणका लागि यस होटलले प्रवद्र्धन गर्नेछ, यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँ चितुवा र याक महत्त्वपूर्ण छन् । यी बिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउनेछ ।” 

यस होटलमा योगा, ध्यान गर्नका लागिसमेत व्यवस्थापन गरिएको होटलले जनाएको छ । यस होटलबाट यहाँ मनोरम हिमशृङ्खला देख्न सकिन्छ । प्रत्यक्ष रूपमा यहाँका लोपोन्मुख वन्यजन्तुको अवलोकन गर्न सकिनेछ । यस स्थानबाट अन्नपूर्ण, गङ्गापूर्ण, तिलिचो पिकका साथै यहाँका लोपोन्मुख सेतो हिमाली गिद्ध प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यस स्थान विशेषगरी फोटोग्राफीका लागि उपयुक्त मानिन्छ । 

गुम्छाङ थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बास बस्नका लागि उपयुक्त स्थानसमेत हो । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । 

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् । 

एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु

काठमाडौँ, १२ पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ ।दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको हो ।

जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ ।

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता प्रक्रियालाई दीर्घकालीन बनाउन दुवै पार्टीका शीर्षनेताहरूबीच अनौपचारिक भेटघाट तथा छलफलसमेत गरिएको जानकारी दिनुभयो । सोही छलफलका निष्कर्षका आधारमा एकता प्रक्रियालाई टुङ्गो लगाइने जनाइएको छ ।

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिक रूपमा निकट समूहलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको छ ।

पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच भएको छलफलपछि एकता प्रक्रियालाई अगाडि बढाउन समझदारी भएको हो ।

स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, ऋग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो ।

छलफलमा लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौँडा सिमेन्ट र कपडा उद्योग, नेपाल ओरियण्ड उद्योगलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो । यसैगरी पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिनुभयो । सो अवसरमा उद्योगमन्त्री दामोदर भण्डारी, सचिव गोविन्दबहादुर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), १२ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश र पार्टीका लागि उहाँले खेल्नुभएको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।” स्वास्थ्यमन्त्री पौडेलले कैनीले लेख्नुभएको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कैनीको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु

काठमाडौँ, १२ पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ ।दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको हो ।

जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ ।

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता प्रक्रियालाई दीर्घकालीन बनाउन दुवै पार्टीका शीर्षनेताहरूबीच अनौपचारिक भेटघाट तथा छलफलसमेत गरिएको जानकारी दिनुभयो । सोही छलफलका निष्कर्षका आधारमा एकता प्रक्रियालाई टुङ्गो लगाइने जनाइएको छ ।

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिक रूपमा निकट समूहलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको छ ।

पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच भएको छलफलपछि एकता प्रक्रियालाई अगाडि बढाउन समझदारी भएको हो ।

आज अपराह्नदेखि मौसममा बदली हुने,चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

काठमाडौँ, १२ पुसः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताउनुभएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ । भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।

‘लाज शरणम्’को विश्व बजारमा उच्च माग

काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ ।शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।

मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ ।

वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । कुन-कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो सिनेमा चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको र दर्शकमाझ निकै प्रतीक्षित मानिएको छ ।

चलचित्रको कथा, निर्देशन र प्रस्तुतिकरणको प्रशंसा गर्दै यसलाई नेपाली सिनेमा उद्योगको महत्वपूर्ण परियोजनाका रूपमा परिभाषित गरेको छ । सिनेमाले नेपाल र विदेश दुवै स्थानमा राम्रो व्यापार गर्ने अपेक्षा राखिएको छ ।

यो चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बराल छायांकारका रुपमा रहेका छन् ।

‘लाज शरणम्’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार-प्रसार तीव्र पारिएको छ । दर्शकहरूबीच यसले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा उत्सुकता बढिरहेको छ ।

रुख कटानको अनुमतिसँगै नमूना सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी (नवलपरासी), १२ पुसः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको छ

जिल्लाको कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण हुने क्षेत्रका रूख कटानको निर्णय हुन नसक्दा काम अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषद्को हालैको बैठकले रुख कटानको अनुमति दिएसँगै निर्माणको बाटो खुलेको हो ।

मन्त्रिपरिषद्ले सदरमुकाम निर्माणस्थलका छ सय ४२ वटा रुख कटानका लागि स्वीकृत प्रदान गरेको हो । सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको थियो । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ २०७६ साल वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना सदरमुकामको शिलान्यास गर्नुभएको थियो ।
रुख कटानको आदेश नहुँदा भवन निर्माणको ठेक्का लागेर पनि काम सुरु हुन सकेको थिएन । मन्त्रिपरिषद्ले रुख हटाउन स्वीकृत दिएको र अब लिखित आदेश आएपछि निर्माण क्षेत्रका रुख कटान सुरु गरिने डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो ।

सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित रु ५० करोडमा तीन वटा भवन निर्माणका लागि ठेक्का लगाएको छ । सोहीअनुसार चौधरी कन्स्ट्रक्सन रौतहटले भवन निर्माणको जिम्मा पाएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाका अनुसार यस वर्ष पनि रु ८० करोड विनियोजन भएको र थप भवन तथा सभा हललगायतका संरचना निर्माणको लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको छ ।
हाल रु चार अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएको र आफूहरूले गर्नुपर्ने सबै प्राविधिक काम सकेको उहाँले बताउनुभयो । रुख कटान हुनेबित्तिकै काम अघि बढी हाल्ने प्रमुख थापाले बताउनुभयो ।

नमूना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवासगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजाघरलगायतका संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार छ ।

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भू–भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कङ्क्रिटविहीन राखिने छ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिने छ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्गमिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

‘दुखी आत्मा’को जापान अधिकार विक्री

फस्टलुक सार्वजनिक भएसँगै फिल्म ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको जापान वितरण अधिकार विक्री गरिएको छ ।यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए ।निर्माण टिमले कती रकममा फिल्मको अधिकार विक्री गरेको हो भन्ने बिषयमा खुलाएको छैन ।

यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।नेपालमा फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको हिमाल कडरियाको लगानी छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्मको अन्य देशबाट पनि माग भइरहेको निर्माणपक्षले जनाएको छ । केही दिनमै अधिकांश देशमा फिल्म विक्री भइसक्ने निर्माता कडरियाले जानकारी दिए ।

भुटानी नेपाली समुदायको प्रेमकथामा आधारित ‘सानुमाया’

काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ।

पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ।

लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।

मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छन्। उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

‘सानुमाया’ ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।

‘सानुमाया’ म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । दर्शकहरूले यो सांगीतिक कथा मार्फत भुटानी नेपाली समुदायको वास्तविकता र संघर्षलाई अनुभव गर्न सक्नेछन् सानुमाया ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।

राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’

दमौली (तनहुँ), १२ पुसः राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।

पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । म्याराथनको तयारी थालिएको उहाँले बताउनुभयो ।

धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी– गाउँपालिकाको कार्यालय– अर्खलाछाप–काफलडाँडा– पुरानो ऋषिङ–पोखरीभञ्ज्याङ–गोठादी–ढुङ्गाडे–चालिसे–भिरकोट– अर्चल्दी–मौरीबास–दाङसिरी–दुवुङकोटमा टुङ्गिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार तृतीय हुनेलाई रु २५ हजार र एक जनालाई सान्त्वना पुरस्कार रु दश हजार प्रदान गरिनेछ ।

फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी

रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले फ्रान्सले युक्रेन युद्धको विषयमा मस्कोसँग ‘वार्ता’ गर्ने प्रयास गरेको दावी गर्नुभएको छ । विदेशमन्त्री लाभरोभका अनुसार किएभको सहभागिताबिना नै छलफल गर्न खोजिएको थियो भन्ने दावी गलत भएको भनी खण्डन गरेको छ ।

अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनमा सहभागी मुलुकहरूले युक्रेनको समर्थनमा संयुक्त मोर्चाको आह्वान गरेका छन् र युक्रेनको सहमति बिना कुनै पनि निर्णय लिन नसकिने बताउँदै आएका छन्।

“धेरै पटक हाम्रा फ्रान्सेली सहकर्मीहरूले गोप्य च्यानलहरूमार्फत युक्रेन सन्दर्भमा उसको सहभागिता बिना वार्ता गरौँ भनी अपील गरेका छन्,” लाभरोभले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।उहाँले रूसी अधिकारीहरू धारणा सुन्न तयार रहेको बताउनुभयो ।

“लाभरोभले यी अपीलहरू कहिले भएको वा कथित सम्पर्कको बारेमा थप विवरणहरू दिनुभएन,” फ्रान्सेली कुटनीतिक स्रोतले एएफपीसँग बताएको छ ।

स्रोतले भन्यो, “रूसी अधिकारीहरू आक्रामक युद्धलाई निश्तेज पार्न फाइदा उठाउने उद्देश्यले असंयमित टिप्पणी गर्न अभ्यस्त छन्, जसको पूर्ण जिम्मेवारी उनीहरूले वहन गर्नुपर्छ ।”

“फ्रान्सले युद्धको सुरुवातदेखि नै वार्ता प्रक्रियामा प्रवेश गर्न चाहेको समय र परिस्थिति निर्धारण गर्ने जिम्मा युक्रेनको भएको बताउँदै आएको छ,” स्रोतले जनाएको छ ।

करिब तीन वर्ष लामो द्वन्द्वपछि अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अर्को महिना कार्यभार सम्हाल्ने तयारी गरिरहँदा शान्ति वार्ताको सम्भावनाबारे छलफल भइरहेको छ ।

ट्रम्पले पटक–पटक भन्नुभएको छ, “कसरी युद्ध अन्त्य गर्ने वस्तुगत व्याख्या नगरी आफूले युक्रेन युद्ध अन्त्य गर्ने लक्ष्य राखेको बताउनुभएको छ।” फ्रान्सले युक्रेनमा सम्भावित युद्धविरामको निगरानीका लागि पश्चिमी सेना पठाउने धारणा अघि सारेको छ ।

रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

नवलपरासी, १२ पुसः पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ । पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेलापरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्नेगरी बुद्धकालीन सहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन् । कोलीय गणराज्यको महत्त्वपूर्ण सहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले गरेको उत्खननले महत्त्वपूर्ण प्रमाणसहितका संरचना भेटिएका हुन् । यसअघि भएको जियोफिजिक्स सर्भे (भूभौतिक अध्ययन)का क्रममा देखिएको बुद्धकालीन सहरको संरचना उत्खननका क्रममा फेलापरेको छ । ती सामग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उहाँको भनाइ छ । पण्डितपुरमा उत्खनन टोलीले एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेर सो क्षेत्रको प्राचीन सांस्कृतिक अवस्थाका विषयमा पनि अध्ययन गरेको छ । बौद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताउनुभयो ।

यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्व विभागले जनाएको छ । उक्त स्थलको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । पुरातात्विक क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्न तारबार गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

पण्डितपुरमा गरिएको उत्खननका क्रममा जमिनको सतहबाट १० सेन्टिमिटर पुरातात्विक संरचना फेलापरेका छन् । सामान्य खनजोतका क्रममा पनि पुरातात्विक सामग्री भेटिने पण्डितपुर संवेदनशील पुरातात्विक क्षेत्रका रूपमा रहेको छ । केही सार्वजनिक र धेरै निजी स्वामित्वका जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । झण्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलिय गणराज्यको राजधानीको रूपमा दाबी गरिँदै आइएको छ ।

मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठ वटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।

 बिहीबार जनकपुरधाम पुगेको टोलीले भोलिदेखि ट्रफी परेड सुरु गर्ने भएको जनकपुर बोल्ट्सले जनाएको छ । रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुने जनाइएको छ ।

जनकपुर बोल्ट्सका अनुसार पहिलो दिन आज धनुषाको रामजानकी मन्दिरबाट ट्रफी परेड सुरु हुनेछ । आज रामजानकी मन्दिरबाट सुरु हुने परेड रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुने जनाइएको छ । 

दोस्रो दिन महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड आयोजना गरिने जनाइएको छ । बोल्ट्सका अनुसार चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा हुनेछ कार्यतालिका छ ।

जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै उपाधि चुमेको हो । जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो ।