`

इजरायलको ‘ड्रोर–१’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

Nepal One HD २९ असार २०८२ १९:२४
विश्व

इजरायलले आइतबार बिहान आफ्नो नयाँ राष्ट्रिय सञ्चार उपग्रह ‘ड्रोर–१’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।‘ड्रोर–१ उपग्रह’ लाई इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआइ) ले निर्माण गरेको हो । यो उपग्रह इजरायलमै निर्माण गरिएका सबैभन्दा उन्नत प्रविधि भएका सञ्चार उपग्रहहरूमध्ये एक मानिन्छ । यसको मुख्य उद्देश्य इजरायलको सैन्य तथा नागरिक सञ्चार प्रणालीलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउनु हो । यस उपग्रहको सञ्चालन अवधि करिब १५ वर्षको हुनेछ । यसले इजरायलको रणनीतिक आवश्यकता र नागरिक स्तरको सञ्चार सेवा दुवैमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उक्त उपग्रहलाई संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित प्रक्षेपण केन्द्रबाट इजरायलको अन्तरिक्ष प्रबिधि संस्थाले पठाएको हो । बिहान १ बजेर ४ मिनेट जाँदा सो प्रक्षेपण सम्पन्न भएको जानकारी दिइएको छ ।
इजरायली विदेश मन्त्रालयले जानकारी दिँदै भनेको छ, “झन्डै २० अर्ब रुपैयाँ बराबरको लागतमा तयार गरिएको यो ‘अन्तरिक्षको मोबाइल जस्तो’ प्रविधि भएको उपग्रहले आगामी १५ वर्षसम्म देशको रक्षा र नागरिक सञ्चार क्षेत्रमा योगदान पु¥याउनेछ ।”

इजरायलको विमान तथा अन्तरिक्ष प्रविधि संस्थाका अनुसार यो उपग्रह हालसम्म इजरायलमै निर्माण गरिएको सबैभन्दा आधुनिक तथा शक्तिशाली सञ्चार यन्त्र हो ।
संस्थाले यस उपलब्धिलाई ‘इजरायली अन्तरिक्ष प्रविधिको ऐतिहासिक फड्को’ को रूपमा चित्रण गरेको छ ।

यसअघि सन् २०१६ मा परीक्षणका क्रममा यस्तै प्रकारको प्रक्षेपण विस्फोट भई ‘अमोस–६’ नामक उपग्रह नष्ट भएको थियो। उक्त उपग्रहको लागत करिब २५ देखि ३५ अर्ब रुपैयाँको हाराहारीमा अनुमान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *