अमेरिकी करप्रति युरोपेली सङ्घको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रयास जारी


युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला फोन डर लायनले आइतबार अमेरिकाले फलाम र एलुमिनियममा लगाएको शुल्कको जवाफमा युरोपेली सङ्घले लगाउने कर अहिले केही समयका लागि रोकिएको बताउनुभएको छ । सङ्घले अब वार्ता गर्न केही समय पर्खने योजना बनाएको छ ।
संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चेतावनी दिँदै भन्नुभयो,“यदि अगस्ट १ भित्र कुनै व्यापार सम्झौता नभएमा, युरोपेली सङ्घमा उत्पादन भएका सामानहरूमा ३० प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लागु गरिनेछ ।”
“अमेरिकाले वार्ता सफल नभएमा कडा कदम चाल्ने औपचारिक सूचना दिएको छ,” लायनले भन्नुभयो । “त्यसैले हामीले पनि अगस्टको सुरुदेखि लागु हुने भनिएको हाम्रो जवाफी कदमलाई केही समयका लागि स्थगित गरेका छौँ ।”
उहाँ थप्नुभयो,“हामी चाहन्छौँ समस्या छलफलबाट समाधान होस् । तर यदि आवश्यक परेमा, हामी जवाफ दिन तयार छौँ ।”
सम्झौताको ढोका अझै खुला
लायनले जोड दिँदै भन्नुभयो,“युरोपेली सङ्घ सधैं वार्ताबाट समाधान खोज्ने पक्षमा रहँदै आएको छ । अहिले पनि हामी यही बाटो रोज्छौँ । अगस्ट १ सम्मको समय हामीले सम्झौताका लागि प्रयोग गर्नेछौँ ।”
युरोपेली सङ्घको जवाफी कर लगाउने निर्णय यसअघि सोमबार रातिदेखि लागु हुने तय थियो । तर वार्ताको सम्भावना बाँकी रहेको भन्दै त्यो निर्णय केही समयलाई स्थगित गरिएको हो ।
२१ अर्ब बराबरका अमेरिकी सामग्रीमा शुल्क लगाउने तयारी
संघले अमेरिकाद्वारा यस वर्षको सुरुमा फलाम र एलुमिनियममा लगाइएको भन्सार शुल्कको जवाफमा २१ अर्ब युरो बराबरका वस्तुहरूमा कर लगाउने योजना बनाएको थियो । तर सम्झौताको सम्भावनालाई खुला राख्दै, सङ्घले मार्च महिनामा नै त्यो कदम रोकेको थियो ।“हामी सुरुदेखि नै तयार थियौँ । अहिले पनि यदि आवश्यक प¥यो भने तुरुन्तै जवाफी कदम चाल्न सक्ने स्थिति छ,“ लायनले भन्नुभयो ।