`

मुलुकको समृद्धिको अभियानमा सहभागी हुनुस् : अध्यक्ष साह

काठमाडौँ, १४ पुस : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

उपत्यका विशेष कमिटीद्वारा आज यहाँ आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उहाँले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गर्नुभयो ।

प्रतिनिसभा सदस्य समेत रहनुभएका साहले भन्नुभयो, “नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।”

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवद्र्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गर्नुभयो ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दैआएको छ । पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको ¥याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

काठमाडौँ, १४ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित प्रजतान्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।”

सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरुको वृति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न  आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताउनुभयो । खेलमा अनुशासनको महत्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उहाँले खेलकुदको नियम नमान्ने जुनसुकै खेल सङ्घलाई कारबाही गर्ने बताउनुभयो । 

कार्यक्रममा कांग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबाहदुर बस्नेतले सङ्घको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले ‘सभापति कप फुटलब प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो ।    

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका  विकृति र विसङ्गतीलाई रोक्न सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो । उक्त कार्यक्रममा कांग्रेसका नेताहरु, सङ्घका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद सङ्घका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।  

कालिकोटमा भूकम्प

काठमाडौँ, १४पुसः कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १४ पुसः नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरू उपलब्ध गराइएको अस्पतालका निर्देशक एवं कार्यक्रममा संयोजक डा कैलाशकुमार भण्डारीले बताउनुभयो ।

डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले सुकुम्बासी र निम्न वर्गका नागरिकका लागि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले महिनामा दुईपटक शिविर सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौँ, १४ पुसः दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

इटालिको ‘एयरपोर्ट तथा विदेश मन्त्रालय वेबसाइट’मा साइबर आक्रमण

इटालियन प्रहरीले मिलानको एयरपोर्ट तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रवक्ता मार्को भलेरियो सेर्भेलिनीका अनुसार मन्त्रालयका वेबसाइटहरू, मिलान–लिनेट एयरपोर्ट, सिएना तथा टुरिनका यातायात प्रणालीहरू उक्त आक्रमणबाट प्रभावित भएका छन् ।

रुस समर्थक ह्याकर समूहले टेलिग्राम पोस्टमार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

रुसी आक्रामकता विरुद्धको सङ्घर्षमा युक्रेनलाई समर्थन गर्ने नाटो देशहरूमा सार्वजनिक संस्था र रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्न यो समूह परिचित छ ।

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

काठमाडौँ, १४ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु १५०, बन्दा (लोकल) प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी बन्दा (तराई) प्रतिकेजी रु ३०, बन्दा (नरिवल) प्रतिकेजी रु ४०, काउली स्थानीय प्रतिकेजी रु ५०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ६०, काउली तराई ( प्रतिकेजी रु ३०, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रीड) प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ६०, भन्टा डल्लो प्रतिकेजी रु ७०, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १४०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ८० घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ८० निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ७०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङो प्रतिकेजी रु १००, चमसुर प्रतिकेजी रु १००, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १२०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १३० र एक केजी गुन्द्रुकको मूल्य रु ३०० तोकेको छ ।यसैगरी, झोले स्याउ प्रतिकेजी रु २६०, फुजी स्याउ प्रतिकेजी रु ३००, केरा प्रतिदर्जन रु १७० निर्धारण गरिएको छ ।

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

काँक्रेविहार (सुर्खेत), १४ पुसः कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताउनुभयो ।

प्रयोगशाला सञ्चालन गर्न नौ जन प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो । प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९÷०८० मा प्रयोगशाला स्थापना भइसकेको छ । हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ । वार्षिक रु २० लाख आम्दानी पनि भएको उहाँले बताउनुभयो ।

प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टीलगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ । ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनुअघिको ‘बेस’ र ‘सव–बेस’को ‘डेन्सिटी’ परीक्षण पनि हुनेछ ।

वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा

वालिङ (स्याङ्जा), १४ पुसः यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गर्नुभएको हो ।

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उहाँले राससलाई बताउनुभयो । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उहाँले भन्नुभयो । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।

तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थाल्नुभएको हो । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उहाँले केराखेती प्रारम्भ गर्नभएको हो । उहाँको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।

उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आउनुभएको छ । बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाउनुभएको छ । उहाँले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आउनुभएको छ ।

सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौँ, १४ पुसः साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ ।

‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ ।

यही पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजङ्ग बटालियन भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी हुनेछ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने छ ।

विसं २०६७ बाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने उक्त अभ्यासको १७औँ शृङ्खला अघिल्लो वर्ष भारतको पिथौरागढमा भएको थियो । हालसम्म नेपाली सेनाका चार हजार दुई सय १५ जना र भारतीय सेनाका चार हजार चार सय ४२ जना सैनिक यो अभ्यासमा सहभागी भएका छन् ।

नेपाली कांग्रेस विधि र नीतिमा अडिग : प्रवक्ता महत

त्रिशूली (नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताउनुभएको छ । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवी कायम राख्न कांग्रेस सफल हँुदै आएको बताउनुभयो ।

प्रवक्ता डा महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उहाँको दाबी थियो ।

प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नंं क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

पार्टीमा कार्यकर्ता उत्पादनको लागि नर्सरीको रूपमा रहेका नेपाल विद्यार्थी सङ्घ, तरुण दललगायतमा धेरैभन्दा धेरै सदस्य आबद्ध गराउन जोड दिनुपर्ने उहाँहरूको धारणा थियो ।

जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध छः महासचिव पोखरेल

महोत्तरी-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनहितका पक्षमा काम गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो एकदशकमा मधेशको विकासमा एमालेले योजनबद्ध रूपमा काम गरिरहेको बताउनुभयो ।

गत आम निर्वाचनमा मधेशका कूल प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा बढी सिट एमालेले पाएको सम्झना गर्दै यहाँका नागरिकले पार्टीले गरेको कामको उचित मूल्याङ्कन गरेर मतदान गर्नुभएको महासचिव पोखरेलको भनाइ छ । 

“मधेशमा कैयौँ वर्षदेखि हुलाकी सडकको काम अलपत्र थियो, एमाले नेतृत्वको सरकारले यसलाई गति प्रदान ग¥यो, अहिले हुलाकी सडकको कामले निकै फड्को लगाइसकेको छ”, उहाँले भन्नुभयो, “मधेशका जनताको जीवनस्तर उकास्ने पार्टीले योजनाबद्ध रूपमा काम गरिरहेको छ ।” 

एमाले नेतृत्वको सरकार रहेका बेला मधेशका कतिपय रुग्ण अवस्थामा रहेका आयोजना सम्पन्न भएका र कतिपयमा काम भइरहेका महासचिव पोखरेलले बताउनुभयो । महोत्तरीको सन्दर्भमा जलेश्वर नगरको आधुनिक विकास, जलेश्वर–रामगोपालपुर–बर्दिबास सडकको स्तरोन्नति र जयनगर बर्दिबास रेल्वेको कामले एमाले नेतृत्वको सरकारका समयमा भएको उहाँको भनाइ छ ।

मधेशमा भएका कामको लेखाजोखा गरेर जनताले एमालेप्रति विश्वास बढाएका पोखरेलले बताउनुभयो । “गत आमनिर्वाचनमा जनताले महोत्तरीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यलाई प्रत्यक्ष निर्वाचनमा पजताउनुभएको थियो”, उहाँले भन्नुभयो, “हालै सम्पन्न स्थानीयतह उपनिर्वाचनमा यहाँ एकमात्र वडामा भएको निर्वाचनमा पनि जनताले एमालेलाई रोज्नुभएको छ ।” यो विश्वासको जग अझ मजबुत बनाउँदै आगामी २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन उहाँले जनतासमक्ष आग्रह गर्नुभयो । 

जनसभामा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य एवं मधेश सरकारमा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले पछिल्लो समय मधेशमा योजनाबद्ध कामको थालनी भएको बताउनुभयो । 

नेकपा (एमाले)का महोत्तरी जिल्ला अध्यक्ष बलिराम यादवको अध्यक्षतामा सम्पन्न सभामा एमाले प्रवेश गर्ने व्यक्तिहरूलाई महासचिव पोखरेलले स्वागत गर्नुभएको थियो । 

परराष्ट्रमन्त्री राणाद्वारा नगरप्रमुख हमालको स्वास्थ्यलाभको कामना

कैलाली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचार गरेपश्चात हाल घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

काठमाडौँ, १४ पुस : संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ ।

‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले मनोरञ्जनको पूर्ण खुराक तयार गरेका छौँ । यसमा हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेका छौँ । हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा आगामी फेब्रुअरी र अप्रिलमा कार्यक्रम प्रस्तुत गरिने छ ।”

अध्यक्ष अधिकारीले ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी र प्रताप दास, गायिका कला लम्साल र एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेल तथा ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने जानकारी दिनुभयो ।

गायक प्रताप दासले आफूलगायत सम्पूर्ण कलाकारले प्रस्तुतिको तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अमेरिकाको परिवेश सुहाउँदो प्रस्तुति दिने तयारी गरिरहेका छौँ । यसपटक हामीसँगै दर्शकलाई नचाउने तयारी गरिरहेका छौँ । यो साङ्गीतिक यात्रा रमाइलो र स्मरणीय हुनेमा विश्वस्त छौँ ।”

आयोजकका अनुसार अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ । यस अगाडि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १४ पुस : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । साथै सोमबार बिहान तराई तथा काठमाडौँ उपत्यका र खोचमा हुस्सु लाग्ने सम्भावना छ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु: मन्त्री गुुरुङ

गण्डकी, १३ पुुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताउनुभएको छ ।

रेष्टुुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित २६औँ पोखरा सडक महोत्सवको आज उद्घाटन गर्दै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारबाट आवश्यक निर्णय लिनका लागि पहल गर्ने बताउनुभयो ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै उहाँले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुुपर्ने बताउनुुभयो । मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू यहीबाट हुनेगरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो । “पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ”, मन्त्री गुुरुङले भन्नुभयो,“प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।”

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठले गण्डकी प्रकृतिको अनुपम उपहार भएको भन्दै यसको उपयोगमा जोड दिनुभयो । यहाँका सम्भावनालाई उजागर गर्न सकेमा निराश हुनु नपर्ने उहाँको भनाइ छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै धेरै कामहरू अघि बढेको धारणा राख्नुभयो ।

रेबानका केन्द्रीय अध्यक्ष सङ्घर्ष बिष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पु¥याउन पनि मद्दत पुगेको उहाँको भनाइ छ ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराई, कार्यक्रम संयोजक विकास भट्टराईलगायत सडक महोत्सवको पर्यटकीय महत्वलगायत विषयमा प्रकाश पार्नुभयो ।

यही पुस १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटनअघि आजै पूर्वलेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दा बढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत गतिविधि पनि हुने आयोजकले जनाएको छ । 

यसैगरी, अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम पनि गरिने रेवानले जनाएको छ ।

महोत्सवका अवसरमा सडक महोत्सवमा रहने रेष्टुरेन्टहरूले परिकारमा २० प्रतिशतसम्म छुट दिने जनाइएको छ । यस्तै, होटलमा २० र प्याराग्लाइडिङ सेवामा १० प्रतिशत छुट दिइने छ । स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरणमैत्री वस्तुहरूको प्रयोग, नेपाली हस्तकलाको प्रवर्द्धनका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

टर्किएबाट ६५६ अनियमित आप्रवासी तथा ५२ मानव तस्कर पक्राउ

टर्कीएका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानका क्रममा आप्रवासी तस्करीमा संलग्न ५२ जना विदेशी नागरिकसहित पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

“कुल ६५६ अनियमित आप्रवासीहरू पनि पक्राउ परेका थिए । तिनीहरूलाई उनीहरूको गृह देशहरूमा फिर्ता ल्याउन प्रयासहरू भइरहेका छन्,” येर्लिकायाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभयो ।

‘शिल्ड–३६’ नाम दिइएको उक्त अपरेशनमा २६ हजार ४५६ कर्मचारीको सहभागिता रहेको थियो । यर्लिकायाका अनुसार अधिकारीहरूले पाँच हजार ४४६ स्थानहरूमा चार लाख दुई हजार ६०९ पहिचान कागजातहरू जाँच गरे । साथै, आठ हजार ३७० टोलीहरू समावेश गरी १५ हजार ६१६ क्षेत्रहरूको अनुगमन गरे ।

युरोप, एसिया र मध्य पूर्व बीचको टर्कीएको भौगोलिक स्थितिले यसलाई युरोप पुग्ने लक्ष्य राखेका आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट मार्ग बनाउँछ । विशेष गरी सिरिया र अफगानिस्तानका शरणार्थीहरूका लागि गन्तव्य र ट्रान्जिट बिन्दुको रूपमा, टर्किएले गैरकानुनी आप्रवासनका साथ महत्त्वपूर्ण चुनौतीहरूको सामना गरेको छ ।

‘जलवायु परिवर्तनसम्बन्धी योजना लैङ्गिक र सामाजिक समावेशीकरणका सिद्धान्तमा आधारित हुनुपर्छ’

सुदूरपश्चिम, १३ पुसः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण परेका असरबाट सबैभन्दा बढी प्रभावित महिला, युवा र बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिनुपर्नेमा जोड दिनुभएको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा आज कैलालीको धनगढीमा आयोजित ‘महिला, युवा तथा बालबालिकामा जलवायु परिवर्तनका प्रभावः सुदूरपश्चिम संवाद’ कार्यक्रममा उहाँले समग्र विकासका साथै जलवायु परिवर्तनका योजनाहरू लैङ्गिक र सामाजिक समावेशीकरणका सिद्धान्तमा आधारित हुनुपर्ने बताउनुभयो । 

मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण पानी, दाउरालगायत प्राकृतिक स्रोतहरू घट्दै गएका र स्थिर जीविकोपार्जनका अवसरहरू नपाउँदा बेरोजगारी समस्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर महिला, बालबालिका र युवाले भोग्नुपरिरहेको धारणा राख्नुभयो । “यी चुनौतीबीच जलवायु परिवर्तनको सबैभन्दा ठूलो बोझ महिला, युवा तथा बालबालिकाहरूमा परेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा महिलाहरू पानी र दाउराका लागि स्रोतहरू घट्दै जाँदा लामो दूरीमा हिँड्नुपर्ने बाध्यता छ । जीविकोपार्जनका स्थिर स्रोत नहुँदा युवा जनशक्ति विदेश पलायन भइरहेको छ । हाम्रो सबैभन्दा बहुमूल्य स्रोतका रूपमा रहेका बालबालिकाहरू जलवायुजन्य विपद्का कारण शिक्षा र स्वास्थ्य सुरक्षाबाट वञ्चित भइरहनु परेको अवस्था छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा  युवाहरूका लागि हरित उद्यमशीलता, सीप विकासमा जोड दिँदै नीति निर्माणमा महिला तथा युवा सहभागिता र संलग्नता बढाउन आवाश्यक छ । बालबालिकाका लागि सुन्दर र सुनिश्चित भविष्य निर्माण गर्न र यी चुनौतीसँग जुध्नका लागि विद्यालय पाठ्यक्रममा जलवायु परिवर्तनलाई समावेश गर्न आवाश्यक छ ।”

मन्त्री ठकुरीले यस अभियानमा तीनै तहका सरकार, विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र र स्थानीय समुदाय सबैको सहकार्यमा जरुरी रहेको भन्दै सुदूरपश्चिम संवादले जलवायु परिवर्तनसँग सम्बन्धित विषय र समस्यामा रहेका समूह केन्द्रित तत्कालीन र दीर्घकालीन योजना बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले जलवायु परिवर्तनका असरहरूसँग जध्दै स्थानीयस्तरमा विकास योजना र समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश स्थानीय तहमा स्थानीय अनुकूलन योजना (लापा) कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । “यससँगै जलवायुमैत्री कृषि प्रवर्द्धन, कृषकलाई सुक्खा खडेरी प्रतिरोधी बीउबिजनलगायत सहयोग, खाद्य सुरक्षा अभिवृद्धि, जलवायुमैत्री बाली विकास र विविधीकरण गर्न कृषि मन्त्रालयसँग समन्वय गरेर सहकार्य गरिरहेका छौँ”, मन्त्री ठकुरीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ लागू भई जलवायु परिवर्तनका असर कम गर्न अनुकूलन र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका साथै क्षति र नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिएका छौँ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि जलवायु सङ्कटको सामना गर्नका लागि निरन्तर पहलकदमी लिइरहेको छ । हालै सम्पन्न कोप २९ मा नेपालका प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायबाट हामीले लिन सक्ने फाइदाबारे विश्वको ध्यानाकृष्ट गर्न र उनीहरूको जिम्मेवारी अवगत गराउन सफल भएका छौँ ।”

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

काठमाडौँ, १३ पुसः श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज आज नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ निजी भ्रमणका लागि नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । आज बिहान ११ः५५ बजे काठमाडौँ अवतरण गर्नुभएका पूर्वराष्ट्रपति विक्रमासिङ्घे आजै अपराह्न लुम्बिनीका लागि प्रस्थान गर्नुभयो ।

मन्त्रालयले उहाँलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण उहाँले आफ्नै हिसाबले गर्नुहुने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उहाँ यही पुस १७ गते स्वदेश फर्कनुहुनेछ ।

नेपाल–श्रीलङ्का सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास स्थापना गरेकामा सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरिएको थियो । 

यस्तै, काठमाडौँमा सन् १९९३ देखि श्रीलङ्काको आवासीय दूतावास रहेको छ । नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुनाका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य पनि हुन् । दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान विचार प्रस्तुत गर्नाका साथै संयुक्त राष्ट्र, असङ्लग्न आन्दोलन र विश्व व्यापार सङ्गठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् । 

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलङ्काबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलङ्का सरकारले सहयोग गरिरहेको छ । श्रीलङ्काले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ । 

टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

टर्कीएको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार बताउनुभएको छ ।

‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभयो ।

“हाम्रो राष्ट्रिय गौरवले टर्कीएलाई अन्तरिक्ष गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,”उहाँले बताउनुभयो ।

स्थानीय समय अनुसार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो ।

कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ ।

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् ।

कञ्चनपुरको पूनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ ।

भ्रष्टाचारीलाई यसै छोडिने छैन । गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौं । अहिले मैले अब धेरै भन्नु छैन ।’

आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताए ।

‘सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरुद्ध छैन ।’ भन्नुहुँदै अध्यक्ष प्रचण्डले सरकार गलत कदम र आफु नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको बताए ।

पूनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका प्रचण्डले भने, ‘देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छ ु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ।’

विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा. रुइत

काठमाडौं । डा.सन्दुक रुइतले देश भन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘आज नेपालीहरु नेपालमा होईन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपार्इंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भईहाल्यो ।’

विदेशमा कमाएको रकम आइएमईद्वारा नेपाल पठाएबापत रोकायालाई एक करोड पुरस्कार

काठमाडौँ, १३ पुसः विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) द्वारा नेपाल पठाएबापत प्रमिला रोकायाले रु एक करोड पुरस्कार जित्नुभएको छ । जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उहाँलाई आइएमई ग्रुपले पुरस्कारबापत रु एक करोडको चेक हस्तान्तरण गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई आज कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गर्नुभयो । चेक बुझेपछि उहाँले आइएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको बताउनुभयो ।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बन्नुभएको थियो । 

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना  अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो । 

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले रु एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । साथै प्रत्येक महिना एक जनाले रु एक लाख नगद प्राप्त गरेका छन् । 

आइएमई गरी ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको आइएमईले जनाएको छ । 

परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

लम्की (कैलाली), १३ पुसः जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज शिलान्यास गर्नुभएको छ । लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रमबीच उहाँले शिलान्यास गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । 

“सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न हुनुका साथै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिमकासाथै समग्र मुलुकको समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुनेछ ।”

यस आयोजनालाई समयमा सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन मन्त्री डा देउवाले सबैसँग आग्रह गर्नुभयो । उहाँले केबलकार समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आगामी दिनमा यस क्षेत्रका सम्भावना र आवश्यकता हेरेर पर्यटन पूर्वाधारमा बढीभन्दा बढी लगानी गर्न अनुरोध गर्नुभयो । 

“काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरूको दक्षता, अनुभव र क्षमताअनुसार यो केबलकार प्रोजेक्ट समयमा सम्पन्न होस् भनी कामना गर्दछु”, उहाँले भन्नुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यहाँ निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । 

“सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरू कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरू लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईंहरूलाई स्वागत र सहयोग गर्दछौँ,” उहाँले भन्नुभयो । मन्त्री शाहीले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गर्नुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हरसम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढीभन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरूलाई आग्रह पनि गर्नुभयो ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक  मुलुकको कायापलट गर्न सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ । हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल पर्यटन प्रवर्द्धनबाट सम्भव छ ।”

प्रालिका अध्यक्ष ढकालले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्ने भन्दै यसबाट राजस्व पनि बढी सङ्कलन हुने उल्लेख गर्नुभयो । उहाँले ‘केबलकार पर्यटन सर्किट’ बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताउनुभयो । 

यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दल र तीनै तहका सरकारका साथै सरोकार भएका निकायहरूको सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दै अन्य केबलकार निर्माण क्षेत्रका लागि पाएको सहयोग पनि उदाहरण बन्न पुगेको पनि उल्लेख गर्नुभयो । 

व्यवसायी ढकालले अहिले काठमाडौँको चन्द्रागिरि, बुटवल र गैँडाकोटमा पनि केबलकार सञ्चालन गरिरहनु भएको छ । साथै पाथीभारा र चिसापानीमा केबलकार निमार्ण सुरु भएको बताउँदै उहाँले सबै केबलकारलाई एकिकृत योजनाअन्र्तगत सञ्चालन गरिने जानकारी दिनुभयो ।

लम्की चुहाँ नगरपालिका–३ को चिसापानीबाट मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने तीन दशमलव एक किमी लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल रु पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण हुनेछन्भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् । 

क्रोएसियामा भएको नेपाली भलिबल प्रतियोगितामा सुदूरपश्चिमको टिम बिजेता

काठमाडौँ । युरोपेली देश क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले गतबर्षदेखी भलिबल प्रतियोगीता सन्चालन गर्दै आएको छ । यसबर्ष पनि उक्त प्रतियोगीता भब्यताका साथ सम्पन्न भएको छ । यहि डिसेम्बर २६ (पुस ११) गते सम्पन्न प्रतियोगीतामा हालसम्मकै ठुलो धनराशि पुरस्कार राखिएको थियो । जसमा प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल छ ।

जसका लागि क्रोऐसियाली रुपैयाँ तीन हजार सय ३१ ९नेपाली रुपैयाँ चार लाख ५३ हजार ९९५० नगदसहित ट्रफि र मेडल हात पारेको छ । यस्तै द्धितिय स्थान पनि सुदूरपश्चिमकै टिम ‘बी’ ले हासिल गरेको छ । जसको पुरस्कार क्रोऐसियाली रुपैयाँ एक हजार ५१५ (नेपाली रुपैयाँ दुई लाख १९ हजार ६७५) नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

प्रतियोगिता क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको थियो । नेपाली नयाँ वर्ष र म्यारी क्रिसमसका अवसरमा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाजका कोषाध्यक्ष चेतन बि.सीले जानकारी दिएका छन् ।

राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने : परिकार निःशुल्क चाख्न पाइने

काठमाडौं, १३ पुस : राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक च्याउ उत्पादक किसान सङ्घ, नेपालले भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष सन्तोष कार्कीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा कक्षमा च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी गरिने जानकारी दिनुभयो । उहाँले मेलामा च्याउका परिकारसमेत प्रदर्शनी गरिने र गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने बताउनुभयो । भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुको प्रदर्शनी, राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष सांस्कृतिक प्रदर्शनलगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।

मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ । मेला आयोजनाका लागि करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ ।

   नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेकासमेत सङ्घले जानकारी दिएको छ । नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु १५ अर्ब तथा च्याउको बीउ उत्पादन गर्ने ल्याबको सङ्ख्या ६७  रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

सङ्घका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ । च्याउ उत्पादक किसान सङ्घ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो ।

पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् । विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको सङ्घले जनाएको छ ।

सोही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको सङ्घले जनाएको छ ।

अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान

चितवन, १३ पुसः प्राध्यापक डा यज्ञप्रसाद अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । उहाँलाई आज प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले निवासमा पुगेर सम्मान गर्नुभएको हो ।

प्रजातान्त्रिक विचार समाजले ४८औँ राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–१० मा पुगेर अधिकारीलाई सम्मान गरेको हो । अवस्थ रहनुभएका अधिकारी कार्यक्रममा उपस्थित हुन कठिन भएपछि घरमा पुगेर सम्मान गरिएको अध्यक्ष वाग्लेले बताउनुभयो । प्रजातन्त्रको रक्षा र लोकतन्त्रको स्थापनमा अधिकारीले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै समाजले उहाँलाई सम्मान गरेको हो । 

विसं २००९ चैत २३ गते पर्वतमा जन्मनुभएका उहाँले नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको सचिव, प्रजातन्त्र सम्बर्द्धन केन्द्रको उपाध्यक्ष, अन्तर्राष्ट्रिय भूपरिवेष्ठित देशको केन्द्रीय महासचिव, विश्व हिन्दू महासङ्घका आजीवन सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य रही लोकतन्त्रको रक्षा र सम्बर्द्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको समाजले जनाएको छ  ।  

अधिकारी त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक र लेखकसमेत रहनुभएको छ । उहाँका १० वटा कृतिसमेत प्रकाशित भएका छन् । सम्मान कार्यक्रममा केन्द्रीय अध्यक्ष वाग्लेले लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादी एक हुन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक जुट हुनुपर्ने समय आएको छ ।” लोकतान्त्रिकका लागि योगदान पुर्‍याउने व्यक्तिको सम्मान अहिले गर्न सकेमा मात्रै सबैको उच्च सम्मान हुने उहाँले बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष डा इश्वरीराज लौडारी, सचिव भरत दवाडी, लेखक सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र अस्तफललगायत वक्ताले लोकतन्त्रको रक्षा र यसको महत्वका बारेमा धारणा राख्नुभएको थियो । 

प्रजातान्त्रिक विचार समाजका चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम ‘लोकतन्त्रमा शिक्षा र स्वास्थ्य आजका युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । जिल्लाका १३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एकता शिशुनिकेतनकी आकृति ढकाल प्रथम, एपेक्स एकेडेमिका टोलप्रसाद काफ्ले द्धितिय, ग्लोसाइन एकेडेमिकी बन्दना पुडासैनी तृतिय हुनुभएको छ । भिमोदय माध्यामिक विद्यालयका महेश शर्माले सान्तना स्थान प्राप्त गर्नुभएको थियो । 

वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीले लोकतन्त्र स्थापनासँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले आवश्यकता अनुसार लगानी गर्न नसक्दा देशका युवा विदेश पलायन हुनुपरेकोमा दुःख व्यक्त गरेका थिए ।

२६ वर्षपछि आयोजना गरेको मध्यपुर महोत्सवमा अवलोकनकर्ताको घुइँचो

भक्तपुर, १३ पुसः मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । महोत्सवको आज दोस्रो दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको घुइँचो लागेको हो ।

योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो । महोत्सवमा आउनेहरूको आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो । आज अवलोकनका लागि सांसद दूर्लभ थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विभिन्न दलका नेता तथा जनप्रतिनिधिलगायत आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति थियो । 

महानगरप्रमुख महर्जनले मध्यपुर महोत्सवमा अवलोकनकर्ताको घुइँचोले यहाँको कला, संस्कृति, स्थानीय परिकारलगायत यहाँको परिवेशले आकर्षण गरेको स्पष्ट हुने धारणा राख्नुभयो । उहाँले कला, संस्कृति, परम्परासहित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न यस किसिमका महोत्सव बेलाबेलामा आयोजना गर्नु आवश्यक रहेको बताउनुभयो । यहाँका सम्पदाको संरक्षण र प्रचारप्रास गर्दै पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी महोत्सव आयोजना गरिएको जनाइएको छ । 

महोत्सव हेर्न आएका अवलोकनकर्ताको घुइँचो र उत्साहले पर्यटन प्रवर्द्धनमा सकारात्मक उर्जा थपेको बताउँदै यसले यहाँका धार्मिक तथा ऐतिहासिक सम्पदा, कला र संस्कृतिको महत्वलाई दर्शाएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उल्लेख गर्नुभयो । 

मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणाका साथ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने जनाउँदै उहाँले महोत्सवले यहाँको आर्थिक समृद्धि हासिल गर्न र पर्यटकीय गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

“नगरमा दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्न, मध्यपुरको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउँदै स्थानीय मौलिकतालाई केन्द्रमा राखेर महोत्सव सञ्चालन गरिएको हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यसले स्थानीयको जीवनस्तर उकास्न टेवा पुर्‍याउनुका साथै नगरको दिगो विकासमा सहयोगी बन्नेछ ।”

महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो । 

महोत्सव शङ्खधरचोकबाट सुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिँदै बालकुमारी, चपाचो, नगदेश, बोडे, टिगनी, नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा गतिविधिसहित सञ्चालन भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

“मध्यपुरलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन २६ वर्षपछि महोत्सव आयोजना गरेका हौँ । महोत्सवमा नगरभित्र पाँच सयभन्दा बढी स्टल छन्”, उहाँले भन्नुभयो, “स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेसा, परिकार र उत्पादनको प्रवर्द्धनलाई जोड दिएका छौँ ।”

नगरप्रमुख श्रेष्ठका अनुसार एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजनलगायत कला, संस्कृति समावेश गरिाइएको छ ।

थिमिमा २६ वटा सांस्कृतिक बाजागाजा, ५० पार्टीमा दाफाभजन, भगवान् गौतमबुद्धको अस्तुधातु, चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा छन् ।

लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँचसय फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन् ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

“हिजो राती (शुक्रबार) विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको छ । साथै, आज बिहान उत्तरमा रहेको अबु शौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक केटी घाइते भए,” उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले बताउनुभयो ।”

विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

उत्तरी डार्फर राज्यको राजधानी शहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानका अनुसार, सुडान मध्य अप्रिल सन् २०२३ देखि विनाशकारी द्वन्द्वको चपेटामा छ । यसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिइसकेका तथा १४ लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेका छन् ।

लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण : परराष्ट्रमन्त्री राणा

कैलाली, १३ पुसः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उहाँले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरुआती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री राणाले लोकतन्त्र स्थापना र यसको सदृढीकरणमा सङ्गठित रूपमा भूमिका खेल्दै आएको महासङ्घको औँचित्य निरन्तर बढ्दै गएको समेत बताउनुभयो । “पत्रकार महासङ्घले पेसागत हकहितबाहेक व्यावसायिक र मर्यादित पत्रकारिताका लागिसमेत योगदान गर्दै आएको छ । त्यसैले पत्रकारिता क्षेत्र बलियो भएमा लोकतन्त्र पनि बलियो हुन्छ भन्ने मेरो बुझाइ छ । यसकारण मैले महासङ्घलाई एउटा बलियो नागरिक संस्थाका रूपमा बुझेको छु”, उहाँले भन्नुभयो ।

मन्त्री राणाले नेपालको संविधानले निर्वाध प्रेस स्वतन्त्रतालाई जोड दिएको उल्लेख गर्नुहुँदै त्यसको सही प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “आजभोलि सोसल मिडियाको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा के कुरालाई महत्व दिने भन्ने सन्दर्भमा हामी सचेत हुनुपर्छ । लोकतन्त्र, समाजवाद, राष्ट्रियतालाई बलियो बनाउने कुरामा पत्रकारिता क्षेत्र र सबैले निरन्तर प्रयास गरिरहन आवश्यक छ”, उहाँको भनाइ थियो ।

टाँगाले वीरगञ्जको मुख्य बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै

वीरगञ्ज (पर्सा), १३ पुसः वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन् । अर्काेतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । “अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “टाँगा चालकलाई बसपार्कदेखि रजतजयन्ती चोकदेखि मितेरीपुलसम्म चलाउन अनुरोध गर्दै आइरहेका छौँ ।

मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा पनि विभिन्न खालका अप्ठेरा देखिरहेका छन् ।” टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शङ्कराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गर्छ । भारतीय टाँगाहरू पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन ।

वीरगञ्ज आसपासमा दुवैतर्फका करिब डेढ सयको हाराहारीमा टाँगा चल्ने गर्छन् । जसमा नेपाली नागरिकले सञ्चालन गरेका ७५ र भारतीय नागरिकले सञ्चालन गरेका ७५ वटा टाँगा रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दसैँलगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीले गत मङ्गलबार घण्टाघर क्षेत्रमा चलाएका चार वटा टाँगालाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गराएको थियो ।

प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले पनि टाँगा नचलाउनको लागि अनुरोध गर्दै आइरहेको बताउनुभयो । वीरगञ्ज टाँगा सङ्घका अध्यक्ष शेख कलामले घण्टाघर–रेल्वे अटोरिक्सा चोकमा धेरै यात्रु पाइने भएकाले पनि बसपार्कबाट टाँगा चलाउन अप्ठेरो भइरहेको बताउनुभयो । “एकदमै आर्थिक अवस्था कमजोर भएकाले टाँगा चलाउने भएकाले पनि प्रहरी प्रशासनले तोकेको रूटमा टाँगा चलाउन कमाइ नहुने देखिएको छ”, उहाँले भन्नुभयो, “अटोरिक्सा किन्नका लागि चार लाखभन्दा धेरै मूल्य पर्ने भएकाले पनि समस्या भइरहेको छ ।” वीरगञ्जमा टाँगा तान्ने घोडासहित औषतमा रू ६० हजारदेखि एक लाख रकममा खरिद गर्न सकिन्छ ।

म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी, १३ पुसः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरूङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको छ ।

आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आगामी २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । “बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ”, उहाँले भन्नुभयो “स्विचार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।”

मुख्य सुरूङको चार वटा अडिटबाट शुक्रबारसम्म दुई हजार दुई सय ४३ दशमलव आठ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको सिभिल महाशाखा प्रमुख कट्टेलले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृह निर्माणाधीन छ ।

सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो ।

पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सीधा सडकले जोडिएको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत दुई सय २० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी

चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) ले गरेको सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी छन् ।

सर्वेक्षणले बेल्ट एण्ड रोड सहकार्यमा भाग लिने देश र क्षेत्रहरूमा लगानीका अवसरहरू मन पराएको फेला पारेको सीसीपीआइटीका प्रवक्ता सुन जिओले पत्रकार सम्मेलनमा बताउनुभयो ।

सर्वेक्षणमा सहभागी कम्पनीमध्ये झण्डै ७० प्रतिशतले बजारको अवसर खोज्न विदेशमा लगानी गरेको सनले बताउनुभयो । त्यसमध्ये झण्डै ४० प्रतिशतले आफ्नो ब्रान्डको अन्तर्राष्ट्रिय मान्यता बढाउन तथा ३० प्रतिशतभन्दा बढीले उत्पादन र सञ्चालन लागत घटाउन लगानी गरेको सर्वेक्षणले बताएको छ ।

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो

नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ ।यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक छ ।

सन् २०१८ मा यसको प्रक्षेपण भएदेखि पार्कर २१ सौर्य उडानको क्रममा क्रमशः सूर्यको नजिक सरेको छ ।

यसले पृथ्वीमा जीवन र प्रविधिलाई असर गर्ने अन्तरिक्ष वातावरणमा हुने परिवर्तनहरूको भविष्यवाणी गर्न पनि महत्त्वपूर्ण योगदान दिन्छ ।

हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित

सिमकोट (हुम्ला), १३ पुसः हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

काठमाडौँ, १३ पुस : काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उहाँका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने छ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानमा हुस्सु÷कुहिरोको सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौँ, १३ पुसः मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गर्नुभएको हो ।

डा ओम मूर्ति अनिल पोड्कास्टमार्फत् युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा उहाँले जनचेतनामूलक प्रस्तुति दिँदै आउनुभएको छ । उक्त युट्युब च्यानल मोनिटाइजेसन भई प्राप्त भएको पहिलो आम्दानीलाई डा ओम मूर्तिले बूढानीलकण्ठ नगरपालिका–४ स्थित चन्डेश्वरी मन्दिर नजिक रहेको पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा र खाद्यान्न सहयोगमा खर्चिनु भएको छ । उहाँले भन्नुभयो, “मैले सामाजिक सञ्जालको आम्दानी सामाजिक कर्ममै खर्च गरेको हुँ । आगामी दिनमा अन्यत्र पनि आवश्यकताअनुसार सहयोग गर्दै जानेछु ।”

संस्थामा १३ महिनादेखि २० वर्षसम्मका ६० जना बालबालिका र ९५ वर्षसम्मका १५ जना वृद्धवृद्धा आश्रित रहनुभएको छ । आश्रित सदस्यसहित छ जना स्वयम्सेवकलाई आवश्यकताअनुसार न्यानो कपडा प्रदान गरिएको थियो । यस्तै विभिन्न खाद्य सामग्री र खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो ।

स्वास्थ्य सेवाबाहेक एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आउनुभएका डा अनिलको फेसबुक पेजमा १४ लाखभन्दा बढी र युट््युबमा ८० हजारभन्दा बढी फलोअर्स रहेका छन् । डा ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमानसमेत कायम गर्नुभएको छ । जसअन्तर्गत गिनिज वल्र्ड रेकर्ड र वल्र्ड बुक रेकर्ड (लन्डन) रहेका छन् । विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा डा उहाँले फेसबुक लाइभमार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शकसँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’को लागि सबैभन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गर्नु भएको हो ।

त्यस्तै सन् २०१४ मा डा अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ता’का लागि प्रदान गरिएको थियो । इमेज एफएममा ४४ हप्तासम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको शृङ्खलालाई वल्र्ड बुक रेकर्ड (लन्डन) ले मान्यता प्रदान गरेको थियो ।

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

दमौली (तनहुँ), १३ पुस : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण गरिरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण भइसकेको भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार क्षति भएका घरको अनुगमनपश्चात् अधिकतम रू तीन लाख र न्यूनतम रू दश हजार क्षतिपूर्ति तोकिएको छ । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण भइरहेको छ ।” संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयवासीबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इन्जिनियर, आयोजनाका इन्जिनियरलगायत सदस्य थिए ।

आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५ दशमलव ८ प्रतिशत रहेको भण्डारीको भनाइ छ ।

यो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सुरू गर्न पूर्वतयारीका कार्य भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भन्नुभयो, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिट र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।”

सेती नदीको दायाँ र बायाँ किनारतर्फ ग्राउटिङ ग्याली सुरूङ निर्माणका लागि खन्ने कार्य सुरू गरिएको छ भने सेती नदीको दायाँ किनारतर्फको इलिभेसन तह तीन सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरूङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्यसहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताउनुभयो ।

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरपालिकाको पत्राचार

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । यी कम्पनीलाई सम्पत्ति कर र वहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

“संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तहलाई बुझाउनुपर्छ,” विभागका प्रमुख अधिकारी बहाल करका विषयमा करदातामा कुनै द्विविधा हुनुपर्ने अवस्था नरहेको बताउँदै भन्नुहुन्छ । नेपालको संविधानको धारा ५७ (४) तथा अनुसूची ८ अनुसार घर बहाल कर सङ्कलन गर्ने विषय स्थानीय तहको एकल अधिकारअन्तर्गत पर्दछ । संविधानको धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा गाउँपालिका वा नगरपालिकाले त्यस्तोमा बहाल कर लाग्नेछ, भन्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम कामपाभित्रका बहाल आयमा लाग्ने कर कामपाले मात्र सङ्कलन गर्न सक्छ ।

यससँगै अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ (३) र अनुसूची ३ ले स्थानीय तहले स्थानीय कानुनबमोजिम घर बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ । कामपाले जारी गरेको राजस्व ऐन, २०७५ को परिच्छेद ४, आर्थिक ऐन, तथा घर बहाल व्यवस्था निर्देशिका, २०७९ ले आफ्नो क्षेत्रभित्रका व्यक्ति वा संस्थाले बहालमा लगाएकोे भवन, घर वा जग्गाको बहाल कर उठाउनेसम्बन्धी व्यवस्था छ ।

बहाल व्यवस्था गर्न कामपाको नगरसभाले नेपालको संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम कामपाको राजस्व ऐन, २०७५ जारी गरेको छ । संविधानको धाराबमोजिम नगरसभाले जारी गर्ने सालवसाली आर्थिक ऐनले तोकेको दररेटमा रहेर सबै करदातासँग बहाल आम्दानीमा बहाल कर लगाउँदै आएको छ ।