`

थाइल्याण्डको पर्यटक होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु

थाइल्याण्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैङ्कक महानगर प्रशासनले सोमबार जनाएको छ ।

बैङ्ककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटल रहेकोे घटनास्थलमा पुगेका थिए र तीनवटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि  होटल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् ।

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा,धीरज र मिरुनाको जोडी

काठमाडौँ, १५ पुस : तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गर्नुभएको छ ।अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नुहुनेछ । चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले तयार गरेको पोस्टर र त्यहाँ कलाकारले लगाउनुभएको पोसाकमा भएको रङ्गले स्वभावलाई चित्रण गर्छ । हरियो र गुलाबी रङमार्फत हामीले उनीहरुको सम्बन्ध र स्वभावलाई उल्लेख गरेका हौँ । छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा चलचित्र तयार हुनेछ ।”

कथावस्तु मन पर्नुका साथै अनुभवी समूह रहेकाले आफूले कलाकारितासँगै चलचित्र निर्माणलाई अगाडि बढाएको तामाङले बताउनुभयो । यसमा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउनु हुँदैछ । सम्बन्धमा रहेको जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषय रहेको उहाँले बताउनुभयो ।

“उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ । एउटा पारिवारिक प्रेम कथानक चलचित्र बनाउने कोसिस गरिरहेका छौँ”, तामाङले भन्नुभयो ।

काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।

माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष दाहाल

दमक (झापा), १५ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताउनुभएको छ ।

झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दैै अध्यक्ष दाहालले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुँदै आएको दाबी गर्नुभयो । देशमा प्राप्त भएका राजनीतिकलगायतका सबै उपलब्धि आफ्नो पार्टीकै नेतृत्वदायी भूमिकाबाट सम्भव भएको तथा यसको रक्षा र समृद्धितर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाइ गर्ने उहाँको भनाइ थियो ।

नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाइ गरिआएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिँदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुनेमा विश्वस्त छौँ ।”

राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको अध्यक्ष दाहालले बताउनुभयो ।

सो पार्टीका जिल्ला अध्यक्ष राजु आचार्यका अनुसार अध्यक्ष दाहालले निर्माणाधीन कनकाई पुल, कमलको आदिवासी रङ्गशालालगायतको स्थलगत अनुगमन गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने,खेलतालिका सार्वजनिक

बैतडी, १५ पुसः प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।

दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लोस्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आवद्ध प्रदेश– ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो । उक्त छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्काे खेलमा डोटी र बझाङ खेल्नेछन् ।पुस २० गते हुने पहिलो खेलमा डोटी र अछाम तथा दोस्रोमा बैतडी र बझाङ भिड्नेछन् । पुस २१ गते पहिलो खेलमा बैतडी र डोटी तथा दोस्रोमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ । पुस २२ गते पहिलो खेलमा समूह ‘ए’ मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् । पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ ।

पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा दोस्रोमा कञ्चनपुर र दार्चुला आमनेसामने हुनेछन् । पुस २५ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को विजेताबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।
–––

वृतचित्र हुँदै चलचित्र निर्देशनमा गौचन

काठमाडौँ-वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ ।

भण्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक गौचनले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो ।

“म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु”, उहाँले भन्नुभयो । निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटिएको बताउनुभयो ।

“चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने चलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भन्नुभयो ।

‘मिसिङः केटी हराएको सूचना’ विपरीत जीवन बाँच्ने दुई युवायुवतीको मनछुने कथा भएकाले चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रित रहेको उहाँले बताउनुभयो ।

चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । निर्देशक गौचनका अनुसार दुई पात्रमार्फत नेपालका दुई भिन्न समुदायबीचको सामाजिक दूरी र सांस्कृतिक भिन्नतालाई चित्रणसँगै समझदारी तथा आपसी प्रेमको भावनालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

उहाँले भन्नुभयो, “यो चलचित्र परम्परागत प्रेम कथा होइन । हामीले यसमा प्रेम कसरी अप्रत्याशित ठाउँ र परिस्थितिमा पनि भेटिन सकिन्छ भन्ने देखाएका छौँ ।” अभिनेता हुसेनले यस पटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताउनुभयो । अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्मकै उत्कृष्ट रहेको बताउनुभयो ।

“मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो । यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो”, उहाँले भन्नुभयो ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्र आउँदो माघ ११ गते प्रदर्शन हँुदैछ ।

सिएनएनको साहसी खेलाडीको सूचीमा पूर्णिमा श्रेष्ठ

काठमाडौँ- सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल हुनुभएको छ । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ को सूचीमा पर्नुभएको हो ।

विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले यसवर्षको सूचीमा आफूलाई समेत चयन गरेकामा गौरवान्तित महसुस भएको आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।

 ‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो । यसै वर्ष म एउटै आरोहण याममा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एक मात्र पहिला बन्न सफल भएँ”, उहाँले भन्नुभएको छ ।

 यस यात्रामा साथ र हौसला दिने परिवार, साथीहरु र सम्पूर्णलाई धन्यवाद दिँदै श्रेष्ठले आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरु र साहकिस यात्राको वर्ष बनोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । आरोही श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाउनुभएको थियो । उहाँले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गर्नुभएको थियो । श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुनुहुन्छ ।

तमु ल्होसार/ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछः अध्यक्ष यादव

काठमाडौँ, १४ पुसः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरुबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने बताउनुभयो । साथै उहाँले तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

लहानमा अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या

सिरहा, १५ पुसः व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउनुहुन्छ । उहाँले भन्नुभयो,“अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमि भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा र मुख्यत पूर्व—पश्चिम राजमार्गमै केन्द्रित भइदिँदा समस्या भयो ।”

प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नको लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । अव्यवस्थित रुपमा सञ्चानल गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ ।

“सिरहाको सदरमुकाल, लहान, गोलबजार, मिर्चैयालगायतका बजार क्षेत्रमा वास्तविक क्षमता भन्दा बढी सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । दुर्घटनाको स्थिति हेर्दा काहलीलाग्दो छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो,“अटो रिक्साको नियमन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला नजुट्ने हो भने स्थिति भयावह हुनसक्छ ।”

पछिल्लो समय सिरहामा अटो रिक्सा ठूलो सङ्ख्यामा भित्रिरहेका छन् । ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतिका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको सङ्ुख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रुपमा जभाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतिको भनाइ छ ।

चाहिनेभन्दा बढी भएपछि रिक्साले बजारनै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यलय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोती बताउनुहुन्छ,“सरकारी नीति र प्रष्ट निर्देशिका बन्न नसक्दा यो सवारीसाधन सबैको टाउको दुखाइ बनेको छ ।” उहाँले भन्नुभयो,“बजारमा रिक्साले आतङ्क सिर्जना गरेको छ । नियमन गर्नको लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाईसन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ ।” उहाँले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारि लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने, ३२ बर्ष उमेर माथिका नेतृत्वमा बस्न नपाइने

काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । 

तमुल्होसार पर्वका अवसरमा सभामुख घिमिरेद्वारा शुभकामना

काठमाडौँ, १५ पुसः सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार नै छौँं”–सन्देशमा भनिएको छ,

“हाम्रा पर्वहरूले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन् ।”यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई सङ्केत गर्ने दिनको रूपमा मनाइन्छ । गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन् ।
यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो । यस पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको छ ।

सभामुख घिमिरेले तमुल्होसार पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । तमुल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो ।

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर

काठमाडौँ, १५ पुसः यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ ।

बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख १८ हजार चार सय ४८ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी रु कूल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको  पाइएको आरोपपत्रमा उल्लेख छ । 

सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा रु दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रकम जम्मा गरेको पाइएको छ । यस्तै, रु छ करोड ८२ लाख बराबरको जग्गा र वैवाहिक भोज गर्दा रु २४ लाख ७२ हजार छ सय ३७ बराबरको रकम समेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।

आयोगले रु नौ करोड २२ लाख ४६ हजार ३२ बराबरको बिगो दावी गर्दै नगरप्रमुख बस्नेत, निजका श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजको श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध रु १३ करोड १२ लाख ७३ हजार बराबरको बिगो दावी गर्दै आइतबारै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा तमु ल्होसार/ल्होछारको शुभकामना व्यक्त

काठमाडौँ, १५ पुसः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमासुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

थप एक नेपालीमा मङ्किपक्स पुष्टि

काठमाडौँ, १५ पुसः थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आउनुभएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले राससलाई जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।”

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किनुभएको थियो । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।

मङ्किपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, ¥याल, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

सभापति देउवाद्धारा “तमु ल्होसार” को शुभकामना

काठमाडौँ, १५ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।

तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

तमु ल्होसार/ल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी

काठमाडौँ, १५ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा  आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ ।

निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४०  पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०३  पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९  पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।   

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १६ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै

काठमाडौँ, १५ पुसः सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ ।

आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  

यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।

माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि सोमबार परेको औँशी विशेष मानिन्छ । 

आजै तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
त्यसैगरी आजै प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिन्छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।

सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ ।

आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध भनिन्छ ।

दक्षिणायनको अन्तिम बिदाइका रुपमा आज श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । 

कोइला बालेर कोठामा सुतेका थारूको निस्सासिएर ज्यान गयो

बैतडी, १४ पुस : निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । कोइला बालेर सुतेको हुनाले थारूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।   

यसअघि गत मङ्सिर २१ गते पनि पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको थियो । कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको थियो । 

यसैबीच,  चट्याङ लागेर बैतडीमा एकै वडामा सात पशुचौपाया मरेका छन् । सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति पु¥याएको हो । आज दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एउटा भैँसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन् । 

धुलिधारमा स्थानीय पदमराज अवस्थीको एउटा बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरी प्रवक्ता पाण्डेयले बताउनुभयो ।  

यस्तै, शनिबार चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन् । स्थानीय गोपाल दमाईंको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३५ वर्षीया पवानी, बुहारी २० वर्षीया कविता, १३ वर्षीय छोरा लोक र ११ वर्षीया छोरी लक्ष्मी घाइते भएका थिए ।   

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम, १४ पुस : कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।

मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकालाई हालसम्मकै उच्च अंक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा हालसम्मकै उच्च अंक प्राप्त गरेको छ ।

आइतबार काठमाडौं नगरसभाको १६ औं अधिवेशनमा उपमेयर सुनिता डंगोलले महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको र जुन हालसम्मकै उच्च अंक रहेको जानकारी गराइन् ।

उनले भनिन्,‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको छ । यो अंक काठमाडौं महानगरपालिकाको हालसम्मकै उच्च अंक हो । यो सफलता हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

त्यस्तै मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा बजेट संशोधन,आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१ ,नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गरे ।

उनले भने,‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा बजेट संशोधन, आर्थिक विधेयक, विनियोजन संशोधन विधेयक २०८१ ,नगरसभा सम्बन्धि कार्यविधि ऐन २०७५ दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गर्दछु ।’

राज संस्थालाई पाखा लगाएदेखि देश संकटमा छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राज संस्थाको आंैचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।
राप्रपा नेपालले आयोजना गरेको श्री ५ वीरेन्द्र बहुआयामिक व्यक्तित्व विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राज संस्थालाई पाखा लगाइएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा राजसंस्थाको आंैचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको छ । ाडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइयो । बाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेर गएको छ ।’

साथै उनले राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा अगाडि बढिरहेको बताए । उनले देशले आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचारमा देश डुबिरहेको बताए ।

अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, १४ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।    अध्यक्ष दाहालले आज साँझ अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए ।

सो अवसरमा महासचिव वैद्यले आइसियुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष दाहाललाई जानकारी दिनुभयो । अध्यक्ष दाहालले उहाँको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । 

‘मिसन–२०२६ को लक्ष्य पूरा हुने’

काठमाडौँ, १४ पुस : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले मिसन–२०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रममा सदस्य–सचिव घिसिङले भन्नुभयो, “१९औँ एसियाली खेलकुद सम्पन्न भए लगत्तै हामीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित मिसन–२०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरेका थियौँ । हाम्रो यो तयारी करिब तीन वर्ष चल्छ । यस अवधिको प्रशिक्षणमा सहभागी हुने खेलाडीबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ ।”

सदस्य–सचिव घिसिङले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा योजनासहित खाका पेस गर्न सम्बन्धित राष्ट्रिय खेल सङ्घलाई निर्देशन दिँदै तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माण कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोट्र्स साइन्स ल्याबका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले खेलाडीको पुरस्कारको व्ययवस्था कानुनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गर्नुभयो ।

राष्ट्रिय टिम तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले ओलम्पिकमा जित्न नसकेको पदक, एसियाली खेलकुदमा जित्न नसकेको स्वर्ण अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैले जितेसरह हुने धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षकका तर्फबाट भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षणका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको उल्लेख गर्दै पाएको अवसरलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो ।

चीनको हाङझाउ एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताउनुभयो । गत मङ्सिर १ गतेदेखि सुरु भएको चालू आर्थिक वर्षको विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी तथा १९ प्रशिक्षक सहभागी छन् । कार्यक्रममा नेपालले विगतका एसियाडमा हासिल गरेको उपलब्धीको श्रव्यदृष्य प्रदर्शन गरिएको थियो ।

सदस्य–सचिव घिसिङको अवधारणा अनुरुप सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरिएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणको तयारी थालिएको पहिलो पटक हो ।

एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले हालसम्म दोहोरो अङ्कमा पदक जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन छ । सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार चार कास्य पदक प्राप्त गरेको थियो ।

राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पु-याएको योगदानको स्मरण

काठमाडौँ, १४ पुस : राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।

राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उहाँको ८०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चहनाअनुुसार २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गर्नुभयो ।

नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा अविस्मरणिय रहेको विचार व्यक्त गर्नुभयो ।

समाजसेवी पशुपतिभक्त महर्जनले सरल स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गर्नुभयो । विसं २००२ पुस १४ गते जन्मिनुभएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो ।

प्रतिष्ठानलगायत विभिन्न सङ्घसंस्थाले आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए ।

पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि

डडेल्धुरा, १४ पुस : सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखहरुको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को तयारी पूरा भएको छ ।

परशुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु हुने दुई दिने सम्मेलनको सम्पूर्ण व्यवस्थाकीय तयारी पूरा भएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिनुभयो । सम्मेलनमा सुदूरपश्चिमका उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष, विषयविज्ञ र सरोकारवालाको सहभागिता रहने उहाँले बताउनुभयो । स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख जोशीले बताउनुभयो ।

“पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम २०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरु, प्रादेशिक र क्षेत्रीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकैठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ”, उहाँले भन्नुभयो, “फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सूदुरपश्चिमको भविष्यका लागि स्थानीय तह मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले विभिन्न पाँच विषयमा स्थानीय तहका प्रमुख तथा विषय विज्ञहरुले विमर्श गर्ने र त्यसको निष्कर्षले यहाँको विकासका लागि सहकार्यमार्फत दिगो रणनीतिहरू निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा ‘नीतिका कुरा’ सत्रमा प्रशासकीय कानुनविद् काशीराज दाहाल, सुदूरका सम्भावनाबारे लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपाने, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, स्थानीय तहका चुनौती र सम्भावनाबारे स्थानीय प्रमुखहरु, विपद् व्यवस्थापन र जलवायु परिवर्तन तथा महाकाली संवाद सत्रमा प्रमुख सरोकारवालाहरुबीच विमर्श हुनेछ ।

नगरप्रमुख जोशीले रासससँग भन्नुभयो, “स्थानीय तहका नेतृत्वकर्ता मात्रै होइन हाम्रा क्रियाकलाप, विकास प्राथमिकता, कार्यान्वयन शैली र सुधारका पक्षमा विषय विज्ञहरूबाट सुझाव लिई यस क्षेत्रका अद्वितीय सम्भावनालाई साकार गर्न नवीन योजना निर्माणमा टेवा पु¥याउन सम्मेलनले भूमिका खेल्नेछ । यो नियमित कार्यक्रम नभई सुदूरपश्चिमलाई अझ राम्रो बनाउन समर्पित यात्रा हो ।”

नगरपालिकाका सल्लाहकार तेजराज विष्टले दुईदिने सम्मेलनले महत्वपूर्ण नीति संवादको माध्यमबाट सुदूरपश्चिमको समृद्ध भविष्य निर्माण गर्न साझा सङ्कल्पको खोजी गर्ने बताउनुभयो । “स्थानीय तहमा सबैले आआफ्नो हिसाबले काम गरिहरेका छौँ । त्यसरी काम गर्दा आइपरेका समस्या, चुनौती र साझा प्रयत्न गरेमा समग्र सुदूरपश्चिमको विकासका लागि हुनसक्ने सकारात्मक सुधारका विषयमा सम्मेलनमा छलफल गरिनेछ, यसले आगामी दिनमा एकताबद्ध भएर काम गर्न र एकअर्काका विकास प्रयासमा सहयोग आदानप्रदान गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।

मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह

नेपालगञ्ज, १४ पुस : लुम्विनी प्रदेशसभामा गैरसरकारी विधेयकका रुपमा मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह गरिएको छ । अनौपाचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘मानवअधिकार रक्षक कानुनको औचित्य र आवश्यकता’ विषयक अन्तरक्रियामा सरोकारवालाले सो आग्रह गरेका हुन् ।

सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले प्रदेशमा रहेका केही कानुन आफैँमा बाझिएको उल्लेख गर्दै निर्माण भएका ५४ कानुनमध्ये कतिपय कार्यान्वयन नभएका बताउनुभयो । उहाँले भन्नुभयो, “कति कानुन बनाइएको छ र कति थन्किएको छ, त्यसको रेकर्ड छैन”, २०७९ सालमा बुझाइएको मस्यौदामा थप छलफल आवश्यक भएकामा जोड दिँदै मन्त्री अग्रवालले करिव ४० कानुन संशोधन गर्ने अवस्थामा रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले राज्यलाई आर्थिक भार नपर्ने गरी आउन लागेको विधेयकको मस्यौदालाई सकारात्मक रुपमा लिन अनुरोध गर्नुभयो ।

वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले विधेयकको मस्यौदा सार्वजनिक सरोकारको विषय भएको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी कानुन निर्माण गर्दा राज्यलाई भार नपर्ने बताउनुभयो ।

नागरिक अभियन्ता प्रकाश उपाध्यायले मानवअधिकारसम्बन्धी विधेयक आएपछि यसले जवाफदेहिता र पारदर्शिता बढाउनेमा जोड दिँदै मानवअधिकारकर्मीसँग विषयगत समितिमा छलफल गर्न सकिने बताउनुभयो ।

अधिवक्ता वसन्त गौतमले मानवअधिकार रक्षकलाई सूचनामा पहँुच स्थापना गर्नसमेत विधेयकले सघाउ पु¥याउने जानकारी दिँदै यसका विषयमा अन्तर्राष्ट्रिय अभ्यास भएको बताउनुभयो ।

अनौपाचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लुम्बिनी संयोजक भोला महतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्यहरु भण्डारीलाल यादव, सुशीला नेपाली र मीना श्रेष्ठ, मानवअधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, कानुन व्यवसायीहरु प्रल्हाद कार्की, इन्सेकका टेकनाथ आचार्य, मानवअधिकारकर्मी प्रभात ठकुरीलगायतले कानुनको औचित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । ‘मानअधिकार रक्षकको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रारम्भिक मस्यौदाका रुपमा २०७९ भदौमा लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको थियो ।

सैन्य कारबाही क्रममा गाजामा २४० भन्दा बढी लडाकू पक्राउ : आईडीएफ

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाको कमल अडवान अस्पतालमा सैन्य कारबाहीका क्रममा मुख्य हमास सदस्यहरू सहित २४० भन्दा बढी आतङ्ककारीहरूलाई पक्राउ गरेको छ ।

शुक्रबार सुरु गरिएको अपरेसनले आतङ्ककारी पूर्वाधार तथा अपरेटिभहरूलाई लक्षित गर्यो । धेरै संदिग्धहरूले बिरामीको रूपमा वा एम्बुलेन्स प्रयोग गरेर भाग्ने प्रयास गरेका थिए ।

ट्विटरमा एक पोस्टमा आईडीएफ भन्यो, “२४० भन्दा बढी हमास इस्लामिक जिहाद आतङ्ककारी पक्राउ परेका थिए, जसमध्ये केहीले एम्बुलेन्स प्रयोग गरेर भाग्ने प्रयास गरे ।”

आईडीएफ विशेष बलहरूले अस्पताल भित्र सटीक अपरेशनहरू गरे । ग्रेनेड, बन्दुक, गोलाबारी र सैन्य उपकरण लगायतका हतियारहरू पत्ता लगाए र कब्जा गरे ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार गाजाको कमल अडवान अस्पताल वरिपरि आतङ्कवादी बारेमा गुप्तचर सुचना प्राप्त गरेपछि सैन्य अभियान सुरु गर्यो ।

आईडीएफ सेनाहरूले यस क्षेत्रमा लक्षित अपरेसनहरू सञ्चालन गरिरहेका थिए ।

अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

पुणे (भारत), १४ पुस : भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ ।

पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले पाँच रजत र दुई कास्य पदक समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक हात पार्न सफल भएकी थिइन् । यस्तै बिपीन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गरे । यस्तै नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले समेत स्वर्ण पदक जित्न सफल भए ।

प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी द्वितीय तथा श्रीलङ्का ६ स्वर्ण, पाँच रजत र १५ कास्य पदक प्राप्त गरी तृतीय भयो ।

यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।

विजयी खेलाडीलाई भारतीय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरे । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काक विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका तर्फबाट विभिन्न तौल र उमेर समूहका १८ महिला तथा पुरूष खेलाडी सहभागी रहेका संस्थाका अध्यक्ष केवी रानाले बताउनुभयो ।

‘आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्ने’ : डा शेखर कोइराला

महेन्द्रनगर (धनुषा), १४ पुस : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताउनुभएको छ । कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उहाँले बताउनुभयो ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताउनुभयो । दुई÷दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उहाँले बताउनुभयो ।

सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उहाँले जोड दिनुभयो । 

एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् ।नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ । तपाईँहरु नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्पर्ने नभइ कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे । कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गराएका हुन् ।

सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित गरेका छन् । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथी बन्ने उदघोष गरे ।कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।

नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

काठमाडौं – वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ । यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ ।यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको यात्रामा पहिलो स्थानमा पुगेको छ । नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेर यो गीतले नेपाली चलचित्रप्रतिको विश्वव्यापी चासोलाई झल्काएको छ । यी सबै मुलुकहरूमा नेपालीहरूको सङ्ख्या व्यापक रहेको छ र प्रवासमा रहेका नेपालीहरूको यो चासोले यस चलचित्रको विदेश रिलिज व्यापक हुने अनुमान गरिएको छ ।

गत बिहीबार साँझ रिलिज भएको यो गीत दश लाख बढी पटक युट्युबमा हेरिएको छ भने टिकटक र फेसबुक रिल्समा लाखौँ युजरले यसको भिडियो बनाएका छन् । गीतको टीजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो । पूर्ण गीत सार्वजनिक भएपछि यो अपेक्षाकृत चर्चित बनेको छ र यसबाट दर्शकहरूले चलचित्र हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेको निर्देशक नवीन चौहानले बताए ।

यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।

‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

‘प्रेस स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुँदैन’ : मुख्यमन्त्री पाण्डे

कास्की, १४ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुन नदिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज सपथ तथा पदस्थापन कार्यक्रममा उहाँले प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफूलाई राम्रो अनुभूति रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्रको अवस्था के हुन्छ भन्ने कुरा राम्ररी अनुभूति गरेका छौँ । साथसाथै प्रेस र प्रेस स्वन्त्रतालाई खोस्न चाहनेको हालत के भयो भनेर इतिहासमा हाम्रै देशमा देखिएको छ ।” नागरिकले पत्रकारिता र सामाजिक सञ्जालबारे भिन्नता छुट्टाउन नसकेको उहाँले उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा आउने हरेक कुरालाई नागरिकले समाचारका रुपमा ग्रहण गरिहेकाले पत्रकारिता र सञ्जालको फरक स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“सामाजिक सञ्जालका कारण नकारात्मक भावना फैलिएको छ । त्यसलाई पत्रकारिताले चिर्नु आवश्यक छ । नत्र भने पत्रकारको आफ्नै इज्जत, मान र प्रतिष्ठामा आँच आउने अवस्था छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

गण्डकी प्रदेशमा लामो समयदेखि रोकिएको आमसञ्चार विधेयक सरकारले पारित गरेर कानुनअनुसार प्रेस रजिष्टार नियुक्त गरे पनि यो सरकारी निकाय मात्र नभई पत्रकारको हकहितका लागि आवाज उठाउने निकाय समेत रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको सामाचारलाई मूलधारका सञ्चार माध्यमले स्थान नदिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला र प्रदेशका समाचारलाई केन्द्रले प्राथमिकता दिएको देखिएको छैन । सरकारको पक्षमा लेखिदिनुहोस् भनेर म भन्दिन । पक्ष अथवा विपक्षमा जे भए पनि सरकारका गतिविधिबारे चासो राखेर लेखिदिनुहोस् भन्ने मेरो आग्रह हो ।”

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले प्रेस रजिष्टारको कार्यालयले पत्रकारिताको क्षेत्रमा गर्नुपर्ने कामका लागि सबैको सल्लाह र सुझाव लिएर कार्यविधि बनाउने काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले पत्रकार महासङ्घ क्रियाशील पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशमा नयाँ पुस्ताको आकर्षण बढाउने काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रकारको हकहितका साथै क्षमता विकासका लागि ११ वटै जिल्लामा कार्यक्रम गर्ने योजना रहेको सुनाउनुभयो ।

निर्वतमान अध्यक्ष नारायण शर्माले प्रदेश समितिले चुनौतीका बीचमा धेरै काम गरेको बताउनुभयो । अध्यक्षका प्रत्याशी गोविन्द सुवेदीले महासङ्घले सबै पत्रकारलाई समेटेरे लैजानुपर्ने र पेशागत आचारसंहिता पालनामा जोड दिनुभयो । कार्यक्रममा निर्वाचन समितिका संयोजक कोमलनाथ बरालले प्रदेश समितिमा नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

जापानको औसत तापक्रम उच्च हुने सम्भावना

जापानको औसत तापक्रम सन् २०२४ मा लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

क्योडो न्यूजले जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै नोभेम्बर महिनाको औसत तापक्रम सन् २०२० सम्मको ३० वर्षको अवधिको वार्षिक औसतभन्दा १.६४ डिग्री सेल्सियस बढी रहेको बताएको छ । देशको मौसम एजेन्सीले सन् १८९८ मा तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ ।

“तापमान असामान्य रूपमा उच्च थियो भनेर भन्न सकिन्छ,” जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अधिकारीले बताउनुभयो ।

एजेन्सीका अनुसार, उच्च तापक्रम पश्चिमी वायुले ल्याएको तातो हावाका कारण भएको हो ।

प्रतिवेदनले जापानको तापक्रम हालैका वर्षहरूमा बढ्दै गएको र सन् २०१९ तथा सन् २०२३ बीचको पाँच वर्ष शीर्ष पाँच सबैभन्दा तातो वर्ष रहेको बताएको छ ।

जापान वरपरका समुद्रहरूको औसत सतहको तापक्रम पनि नोभेम्बरको अन्त्यसम्ममा वार्षिक औसतभन्दा १.४६ डिग्री सेल्सियस बढी थियो ।

‘सङ्घीय शिक्षा ऐन चाँडै’ – मन्त्री भट्टराई

मोरङ, १४ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढीसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताउनुभयो ।

मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राख्नुभयो । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उहाँको भनाइ थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको पहिलो आधार भएकाले यसको विकासका लागि तीन तहका सरकारले समन्वय गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन चाँडै आउनुपर्ने भन्दै सङ्घले कानुन छिटोछरितो ढङ्गले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको गुनासो व्यक्त गर्नुभयो ।

अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधार गर्न गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय एकापसमा गाभेर जानुपर्ने आवश्यकतामा जोड दिँदै दुईभन्दा बढी सामुदायिक विद्यालय गाभेमा सवारी साधन र भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न बालमैत्री र प्रविधिमैत्री विद्यालय बनाउनुपर्ने सुझाव दिनुभयो ।शिक्षा सचिव डा दीपक काफ्ले र प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले शिक्षाको विकासका लागि तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

मुलुकको समृद्धिको अभियानमा सहभागी हुनुस् : अध्यक्ष साह

काठमाडौँ, १४ पुस : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

उपत्यका विशेष कमिटीद्वारा आज यहाँ आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उहाँले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गर्नुभयो ।

प्रतिनिसभा सदस्य समेत रहनुभएका साहले भन्नुभयो, “नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।”

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवद्र्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गर्नुभयो ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दैआएको छ । पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको ¥याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

काठमाडौँ, १४ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित प्रजतान्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।”

सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरुको वृति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न  आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताउनुभयो । खेलमा अनुशासनको महत्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उहाँले खेलकुदको नियम नमान्ने जुनसुकै खेल सङ्घलाई कारबाही गर्ने बताउनुभयो । 

कार्यक्रममा कांग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबाहदुर बस्नेतले सङ्घको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले ‘सभापति कप फुटलब प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो ।    

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका  विकृति र विसङ्गतीलाई रोक्न सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो । उक्त कार्यक्रममा कांग्रेसका नेताहरु, सङ्घका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद सङ्घका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।  

कालिकोटमा भूकम्प

काठमाडौँ, १४पुसः कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १४ पुसः नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरू उपलब्ध गराइएको अस्पतालका निर्देशक एवं कार्यक्रममा संयोजक डा कैलाशकुमार भण्डारीले बताउनुभयो ।

डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले सुकुम्बासी र निम्न वर्गका नागरिकका लागि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले महिनामा दुईपटक शिविर सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौँ, १४ पुसः दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।