`

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

गोदावरी (कैलाली) – धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।

विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो ।

धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताउनुभयो ।

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक रु ६७ हजार पाँच सय गोबर बिक्रीबाट मासिक रु ५० हजार र गौदानबाट रु २५ हजार आम्दानी भइरहेको छ । सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उहाँले बताउनुभयो ।

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए । चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ । गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट रु ४० लाख, धनगढी उपमहानगरपालिकाबाट रु १० लाख र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट रु आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ ।

हेर्नुहोस् चैत २६ गते सोमवारको राशिफल

बृष राशि- खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ ।

मीथुन राशि – प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

कर्कट राशि- परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कन्या राशि- वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालियो

म्याग्दी, २६ चैत – मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो ।

प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले तिर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“चैते दशैको सोह् श्रद्धा तिथी पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तिर्थयात्रीको साथै अनुकुल मौसमसँगै विद्यालय र विभिन्न संघ संस्थाबाट मुस्ताङ घुम्न आउनेहरुको चाप बढेको छ,” उहाँले भन्नुभयो “लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सिर्जना भई मानवीय क्षति समेत हुन सक्ने भएकाले स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।”

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म २ जना नेपाली र ६ जना विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । पछिल्लो ३ वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्रि सतहदेखि ३ हजार ८०० मिटर उचाईमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तिर्थयात्री हुन् ।

१ हप्ता सम्म सञ्चालन हुने शिविरमा अशक्त, जेष्ठ नागरिक र दिर्घरोगीहरुको स्वास्थ्य परिक्षण गरि परामर्श, प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका मेडिकल अधिकृत डा. मृदुषा श्रेष्ठको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मी खटिएको शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ ।

समुन्द्रि सतहदेखि २ हजार ५०० मिटर भन्दा माथिल्लो उचाईमा अक्सीजनको कमीले स्या स्या हुने, टाउँको दुख्ने, वाकवाकी हुने, रिङगटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाहे महशुस हुन्छ ।

प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तिर्थयात्रीहरुलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामुलक कार्यक्रम गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामुलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

मुस्ताङमा आइतबार एक हजार २०७ वटा गाडीमा ११ हजार १९२ नेपाली र ३४७ जना रसिया, अमेरिका, जर्मन, स्पेन र फ्रान्सका पर्यटक भित्रिएका प्रहरीको तथ्याङ्क छ । शनिबार ४३७ वटा गाडीमा ३ हजार ५२७ नेपाली र ४५६ जना विदेशी पर्यटक भित्रिएका थिए । बडादशै र चैतै दशै अघिको सोह् श्रद्धा तथा औषी तिथिमा कागबेनीमा दिंवगत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तिर्थयात्रीको भिड लाग्ने गर्छ ।

दक्षिणी गाजाबाट सम्भवतः इजराइली सेनाको मात्र फिर्ती हुनेछ– ह्वाइट हाउस

ह्वाइट हाउसले आइतबार इजराइली सेनाले कुनै नयाँ अपरेसनतर्फ अगाडि बढ्नुको सट्टा ‘आराम गर्न सकुन् र पुनः तयार हुन सकुन्’ भन्ने उद्देश्यका लागि दक्षिणी गाजा क्षेत्रबाट इजराइलको आंशिक फिर्तीको सम्भावना रहेको बताएको छ ।राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एबिसीको ‘दिस विक’ मा भन्नुभयो, “उनीहरू चार महिनादेखि जमिनमा छन्, हामीले पाएको खबरअनुसार उनीहरू थाकेका छन्, उनीहरूलाई पुनः दुरुस्त गर्न आवश्यक छ, यसले हामीलाई के भन्छ भन्नेबारे अहिले थाहा पाउन कठिन छ ।”

सैन्य तथा इजराइली सञ्चारमाध्यमका अनुसार युद्धमा बढ्दो मृत्युबाट वासिङ्टनको दबाबमा रहेको इजराइलले खान युनिस सहरसहित दक्षिणी गाजाबाट आफ्ना सबै सैनिकलाई फिर्ता बोलाएको केही घन्टापछि किर्बीको उक्त भनाइ आएको हो ।

इजराइली सुरक्षा बल (आइडिएफ) ले अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणपछि उसले गाजाको बाँकी भागमा ‘महत्त्वपूर्ण बल’ लाई परिचालन गरिरहने बताएको छ ।

आधिकारिक इजराइली आँकडाअनुसार हमासले गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० इजराइली र विदेशीको मृत्यु भएको थियो । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी कारबाहीमा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा ३३ हजार एक सय ७५ जनाको मृत्यु भएको छ ।

किर्बीले आइडिएफलाई आफ्नो अभियानबारे कुरा गर्न दिइने बताउनुभयो । “उनीहरूको सार्वजनिक घोषणाहरूमार्फत यो वास्तवमा चार महिनादेखि जमिनमा रहेका यी सेनाहरूका लागि आराम र सुधारका बारेमा मात्र हो भन्ने हामीले बुझ्यौँ र यी सेनाका लागि आउँदै गरेको नयाँ अपरेसनको सङ्केत हो भनेर बताउन जरुरी छैन”, उहाँले भन्नुभयो ।

अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ– जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताउनुभएको छ । कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । “कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भन्नुभयो ।

उहाँले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताउनुभयो । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उहाँले बताउनुभयो । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ । उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भन्नुभयो, “रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।”

पुटिनद्वारा ओरेनबर्ग क्षेत्रमा बिग्रँदै गएको बाढी सङ्कटलाई सम्बोधन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्कालीनमन्त्री अलेक्ज्याण्डर कुरेन्कोभसँगको छलफलका क्रममा ओरेनबर्ग क्षेत्रको बाढीले निम्त्याएको सङ्कटको अवस्थालाई पुनः सम्बोधन गर्नुभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रूसी समाचार समिति तासले जनाएको छ ।

“ओरेनबर्ग क्षेत्रका गभर्नर डेनिस पासलर र आपत्कालीनमन्त्री अलेक्ज्याण्डर कुरेन्कोभले ओरेनबर्ग क्षेत्रको ओर्स्क वरपर बाढीको अवस्थाबारे आज राष्ट्रपतिलाई जानकारी दिनुभयो”, प्रवक्ता पस्कोभले भन्नुभयो, “राष्ट्रपतिले कुरेन्कोभसँगको कुराकानीका क्रममा कुर्गान र ट्युमेन क्षेत्रमा सम्भावित बाढीका कारण उत्पन्न हुने अवस्थाको बारेमा समयमै विश्लेषण, पूर्वानुमान र उपयुक्त उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतालाई जोड दिनुभयो, साथै उहाँले आज यी क्षेत्रका नेताहरूसँग टेलिफोन वार्ता गर्ने योजना पनि बताउनुभएको छ ।” क्षेत्रीय सरकारको प्रेस सेवाले ओर्स्कमा खराब परिदृश्यले बढ्दै गएको बाढीको अवस्थाले छ हजार छ सयभन्दा बढी आवासीय घरलाई जोखिममा पारेको जनाएको छ ।

रूसस्थित ओरेनबर्ग क्षेत्रको दोस्रो ठूलो सहर ओर्स्कमा रहेको बाँध अप्रिल ६ मा रातारात दुई ठाउँमा फुटेको थियो । बाढीग्रस्त क्षेत्रमा दुई व्यक्ति मृत फेला परेको भए पनि उनीहरूको मृत्यु बाढीसँग सम्बन्धित नभएको अधिकारीहरूले बताएका छन् । कजाकिस्तान नजिकैको ओरेनबर्गको दक्षिणी क्षेत्रमा तटबन्ध गरिएको बाँध भत्किँदा बाढीमा परेर तीन जनाको मृत्यु भएको हो । क्षेत्रीय अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म युराल नदीको स्तर बाँधको क्षमताभन्दा झण्डै दोब्बर भएको थियो ।

हाइड्रोलिक संरचनाको उचित मर्मत नगर्दा बाँध भत्किएको र सो सन्दर्भमा आपराधिक अनुसन्धान सुरु गरिएको क्षेत्रीय अभियोजक कार्यालयले जनाएको छ । बाँधले युराल नदीको पानीको बहावबाट शहरलाई जोगाउँदै आएको थियो । शनिबार बिहानसम्म बाँध फुटेर पानी सहरका धेरै जिल्लामा पुगेपछि झण्डै दुई हजार चार सय आवासीय भवन डुबानमा परेको तासले जनाएको छ ।

“ओरेनबर्गमा आपत्कालीन अवस्था जारी गरिएको छ, जोखिम क्षेत्र स्वैच्छिक रूपमा छाड्न अस्वीकार गर्नेहरूलाई प्रहरी अधिकारीहरूको सहयोगमा जबरजस्ती निकालिनेछ”, ओरेनबर्ग क्षेत्रका प्रमुख सर्गेई सालमिनले शनिबार टेलिग्राम पोस्टमा भन्नुभयो । दुई लाख ३० हजार जनसङ्ख्या रहेको ओर्स्क कजाकिस्तानसँगको रुसी सिमाना नजिक पर्दछ ।

बन्दोबस्तीका सामान बोकेर म्याग्दीका गोठाला लेकतर्फ

म्याग्दी- म्याग्दीका पशुगोठ लेकमा सार्न थालिएको छ । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभँैसी, घोडा र चौँरी गाईका घुम्ती गोठहरु लेकमा सार्न थालिएको छ ।

रघुगङ्गा गाउँपालिका–८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हँुदै असारको पहिलो साता रिरुको बुकी पुग्ने गोठ भदौ महिनासम्म त्यहाँ रहने बताउनुभयो । “उभौली लागेपछि गोठ लेकतर्फ लैजान थालेका छौँ । पालुवा पलाउँदै गरेको पोषिलो घाँस खुवाउन दुई÷तीन दिनका ठाउँ फेर्दै गोठ सार्दैसार्दै चार हजार आठ सय मिटर उचाइको रिरुको बुकीमा पुग्छौँ”, उहाँले भन्नुभयो, “गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुनसँगै बोकेर हिँडेका छाँै ।”

चालिस वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबुबाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिनुभएको छ । उहाँले झण्डै चार सय भेडा पाल्नुभएको छ । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । असार, साउन र भदौमा बुकीमा चराएपछि असोजमा गोठ दसँैको असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेंसीका फाँटमा ल्याइने गोठ बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।

गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ लागेका छन् । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँअनुसार विभाजन गरिएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् ।

म्याग्दीमा करिब दुई सय घुम्ती गोठ रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र केन्द्रका प्राविधिक गणेश रिजालले बताउनुभयो । घुम्ती गोठका लागि केन्द्रले सहयोग गर्दैआएको उहाँले बताउनुभयो ।

तेह्रथुममा १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

तेह्रथुम, २५ चैत : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकारले खेलकुदको विकास र विस्तारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । तेह्रथुममा १४आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले खेलकुदले देशको पहिचान बनाउने हुँदा सरकारले ग्रामीणस्तरबाटै खेलकुदको विकास गर्ने योजना बनाएको छ भन्नुभयो । उहाँले सो अवसरमा तेह्रथुमको म्याङलुङ नगरपालिकालाई खानेपानीको लागि रु ५० लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले तेह्रथुमको अनीता बस्नेतले राष्ट्रिय खेलजगत्मा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको योगदानले अन्य भाइबहिनीहरुलाई अब्बल दर्जाको खेलाडी बत्र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकम रु एक लाख कम भएको गुनासो गर्नुभयो ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जिल्लाको ख्यातिप्राप्त खेलाडी अनीता बस्नेत जिल्लाको गहना भएको र नयाँँ पिँढीका खेलकुदमा आउँदै गरेका भाइबहिनीहरुले उहाँलाई हेरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

धनकुटाका कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले चर्चित खेलाडी अनीता बस्नेतलाई भावी खेलकुद जीवनको बधाई तथा शुभकामना प्रदान गर्दै एउटा खेलाडीले खेलको माध्यमबाट सिङ्गो राष्ट्रलाई चिनाउन सकिने भएकाले खेलकुदलगायत तीनवटै सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले पनि खेलकूद विकास र विस्तारमा सहयोग गर्ने जानकारी दिनुभएको थियो । सो अवसरमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अनीता बस्नेतलाई जिल्ला खेलकुद विकास समिति तेह्रथुमले सम्मान गरेको छ । उहाँलाई नगद रु ३३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका छवटै पालिकाका माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा कबड्डी, भलिबल, कराते, एथलेटिक्स गरी चार विधाका ३२ वटा खेल सञ्चालन हुने भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीका समूहलाई यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय प्रतियोगितामा पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले ब

सङ्खुवासभा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रियो

किमाथाङ्का (सङ्खुवासभा), २५ चैतः पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।

नयाँ शैक्षिक सत्र सुरु नहुँदै सङ्खुवासभाका ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको बिक्रेताले जनाएका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीका पुस्तक पसल व्यवसायीले सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण थालेको हो । सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको व्यवसायी कृष्ण भण्डारीले बताउनुभयो । हालसम्म ६० प्रतिशत बढी पाठ्यपुस्तक खरिद गरेर लगिसकेको व्यवसायी भण्डारीले बताउनुभयो । अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका भण्डारीको भनाइ छ ।

सङ्खुवासभामा प्रतिकक्षा दुई हजार पाँच सयका दरले पुस्तक आवश्यक पर्छ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो । विद्यालय सञ्चालन हुनुपहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ । यस वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण : ओपिडी सेवा १२ घण्टा पु-याइने

लेखनाथ (कास्की), २५ चैत (रासस) : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पु¥याउने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले सो निर्णय गर्नुभएको हो । अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन् । त्यसअघि मुख्यमन्त्री अधिकारीले सहिद उद्यान र पुष्पलाल स्मृति उद्यामा पुगी सहिदको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । अधिकारी कास्की–१ (क) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

नेकपा (एमाले) सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेको हो ।

कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ । मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुभएको थियो ।

गाजा युद्धमा इजराइल ‘जितबाट एक कदम टाढा’ छ– नेतान्याहु

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताउनुभएको छ । उहाँले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गर्नुभयो ।

हमास लडाकूहरूले इजराइलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामी जितबाट एक कदम टाढा छौँ तर हामीले जुन मूल्य तिरेका छौँ त्यो दर्दनाक र हृदय विदारक छ ।”

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग कायरोमा युद्धविराम वार्ता पुनः सुरु हुने अपेक्षाबीच उहाँले भन्नुभयो, “बन्धकहरूको फिर्तीबिना कुनै युद्धविराम हुनेछैन, यस्तो हुनेछैन ।”

“इजराइल सम्झौताका लागि तयार छ, इजराइल आत्मसमर्पण गर्न तयार छैन”, उहाँले जोड दिँदै भन्नुभयो, “हमासलाई आफ्नो स्थिति कडा बनाउनका लागि बाध्य बनाउने गरी इजराइलमाथि अन्तर्राष्ट्रिय दबाब दिनुको सट्टा अन्तर्राष्ट्रिय समुदायको दबाब हमासविरुद्ध निर्देशित हुनुपर्छ, यसले बन्धकहरूको रिहाइलाई अगाडि बढाउने छ ।”

अप्रिल १ मा गाजामा भएको हवाई हमलामा अमेरिकास्थित खाद्य च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनका सात सहायताकर्मी मारिएपछि इजराइलले अन्तर्राष्ट्रिय आक्रोशको सामना गर्नुपरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेतान्याहुसँग टेलिफोनवार्तामा ‘तत्काल युद्धविराम’ को माग गर्दै इजराइललाई नागरिकहरूको हत्या कम गर्न तथा मानवीय स्थिति सुधार गर्न अमेरिकी समर्थनलाई सःशर्त बनाउने सङ्केत गर्नुभयो ।

यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजराइलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाउनुभयो । “जसले हामीलाई चोट पुर्याउँछ वा चोट पुर्याउने योजना बनाउँछ, हामी उसलाई चोट पुर्याउने छौँ, हामीले यो सिद्धान्तलाई प्रत्येक समय र हालका दिनमा व्यवहारमा ल्याएका छौँ”, उहाँले भन्नुभयो ।

इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ । इरानका नेताहरूले जवाफी कारवाहीको वाचा गरेका छन् र लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेता हसन नसरल्लाहले वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भन्नुभएको छ ।

सार्वजनिक जीवनका सबै पक्षमा अफगान महिलाहरूको अर्थपूर्ण सहभागिताको आवश्यकतालाई जोड दिँदै राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक जीवनका सबै पक्षमा अफगान महिलाहरूको सशक्त र सक्रिय सहभागिताको आवश्यकतामा जोड दिएको खामा प्रेसले बताएको छ ।

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का उप–संयोजक इन्द्रिका रतवाटेले लैङ्गिक समानता र अफगान महिला तथा युवतीहरूको अधिकारका लागि संयुक्त राष्ट्रसङ्घको दृढ प्रतिबद्धतामा जोड दिनुभयो ।

“राष्ट्रिय सुरक्षा परिषद्ले लैङ्गिक समानता र अफगानिस्तानमा महिला तथा युवतीहरूको अधिकार, उनीहरुका लागि सुरक्षित ठाउँको सृजना, सार्वजनिक जीवनका सबै पक्षमा उनीहरूको अर्थपूर्ण र सक्रिय सहभागिताको समर्थनमा राष्ट्रसङ्घ प्रतिबद्ध छ”, राष्ट्रसङ्घले आफ्नो प्रतिवेदनमा भनेको छ ।

ओसिएचएको प्रतिवेदनअनुसार अफगानिस्तानमा सहायता वितरणका लागि आवश्यक बजेटको छ प्रतिशत मात्र खर्च भएको खामा प्रेसले जनाएको छ ।रतवाटेले अफगानिस्तानमा लैङ्गिक समानता र महिलाहरूको अधिकारका लागि राष्ट्रसङ्घको समर्थनमा जोड दिँदै बजेट कटौतीप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो ।

अफगानिस्थानमा प्रभावितमध्ये ९० प्रतिशत महिला तथा बालबालिकाका लागि सुरक्षित स्थानहरूको निर्माणका लागि राष्ट्रसङ्घको विशेष ध्यान रहेको रतवाटेले बताउनुभएको छ । उहाँले अफगानिस्तानमा महिलाहरूको सहयोगका सन्दर्भमा सांस्कृतिक संवेदनशीलतालाई जोड दिँदै उनीहरूका लागि निरन्तर सहयोगको आवश्यकताका लागि आह्वान गर्नुभयो ।

“म अफगानिस्तान आइरहेको २० वर्षभन्दा बढी भइसक्यो । यहाँ मेरा प्रिय साथीहरू छन् । यो देशले सधैँ मेरो हृदयमा विशेष स्थान राखेको छ । मलाई विश्वास छ कि हामी अफगानिस्तानका जनताका हकका लागि सहयोग गर्न सक्छौँ । म यस प्रयासमा पूर्णरूपमा प्रतिबद्ध छु”, रतवाटेले भन्नुभयो ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानमा महिलाहरूका लागि शिक्षा र कामलाई निलम्बन गरेपछि निजी क्षेत्र र व्यापारमा अन्तर्राष्ट्रिय समर्थनस्वरूप राष्ट्रसङ्घको यो भनाइ आएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन

लुम्बिनी, २५ चैत : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएर आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो ।

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलले दुई महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने छ । यस्तै पदभार ग्रहण गर्दै नव नियुक्त मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने मुख्यमन्त्री महराले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएका महरासँगै अन्य तीन जना मन्त्रीले पनि आजै शपथग्रहण गर्नुभएको छ । नवनियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिनाभित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले जानकारी दिनुभयो ।

सिरियामा हमलापछि इजराइली दूतावासहरू सुरक्षित छैनन्– इरान

इरानका सर्वोच्च नेताका एक सल्लाहकारले आइतबार सिरियामा हमलापछि इजराइली दूतावासहरू ‘सुरक्षित नभएको’ चेतावनी दिएका छन् । सात जना रिभोल्युसनरी गार्डका सदस्यहरू मारिने गरी सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावासमा भएको आक्रमणलाई लिएर तेहरानले इजराइलमाथि आरोप लगाएको छ ।

सर्वोच्च नेता आयातुल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार याह्या रहिम सफवीलाई उद्धृत गर्दै आइएसएनए समाचार एजेन्सीले भनेको छ, “यहुदी शासनका दूतावासहरू अब सुरक्षित छैनन् ।”तेहरानले सोमबार दमास्कसमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । हमलामा इरानी दूतावासको कन्सुलर खण्ड नष्ट भएको थियो भने दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) का सदस्य मारिएका थिए ।

“प्रतिरोधी मोर्चा तयार छ, यो (प्रतिक्रिया) कस्तो हुनेछ भन्नेबारे हामीले प्रतीक्षा गर्नुपर्नेछ,” सफवीले भन्नुभयो, “यो क्रुर शासनको सामना गर्नु कानूनी र वैध अधिकार हो ।” उहाँले यस क्षेत्रका वरपर धेरै इजराइली दूतावास ‘बन्द गरिएको’ बताउनुभयो ।

इजराइलका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन .बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सोमबारको हमलामा १६ जना मारिएका थिए । यो एक सातामा सिरियामा पाँचौँ हमला थियो । यसका लागि इजराइललाई दोषी ठहर गरिएको थियो ।

मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हादी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीको विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए । त्रिसठ्ठी वर्षीय जाहेदीले ४० वर्षभन्दा धेरै समयको करियरमा धेरै कमान्ड सम्हालेका थिए ।

सन् २०२० मा बगदाद विमानस्थलमा अमेरिकाको मिसाइल हमलामा कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि मारिएका जाहेदी सबैभन्दा वरिष्ठ इरानी सैनिक थिए । दमास्कसमा सोमबार भएको हमला गाजा युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो ।

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा हमासविरुद्ध ठूलो मात्रामा इजराइली जवाफी कारवाहीलाई जन्म दिएको छ ।

प्यालेस्टिनी क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार छ महिनाको युद्धका क्रममा त्यहाँ कम्तीमा ३३ हजार एक सय ७५ मानिस मारिएका छन् । इरानले इजराइललाई मान्यता दिँदैन र दुवै मुलुकले वर्षौंसम्म छायाँ युद्ध लडेका छन् ।

इरानले इजराइलमाथि उसको आणविक कार्यक्रमलाई निशाना बनाउँदै तोडफोड र हत्याहरूको शृङ्खला चलाएको आरोप लगाएको छ ।

बजेट नआएपछि विद्यालय भवन निर्माण योजना अधुरै

म्याग्दी (बेनी), २५ चैत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । सङ्घीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत वर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो ।

निर्माण व्यवसायीले भवन निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याए पनि सङ्घीय सरकारबाट थप बजेट नआएका कारण भवनलाई पूर्णता दिन समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । निर्माण व्यवसायीलाई गाउँपालिकाले करिब रु एक करोड ८४ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्झौताबमोजिमको बजेट सरकारले नपठाएपछि गाउँपालिका अध्यक्ष भारतकुमार पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङलगायत टोलीले अर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ समेतलाई भेटेर ध्यानाकर्षणसमेत गराउनुभएको छ । “निर्माण व्यवसायीले गत फागुनभित्रै काम सक्ने स्थिति थियो तर सरकारले दिनुपर्ने भुक्तानी नै पठाएन, हामी अहिले पनि काठमाडौँमा निरन्तर ध्यानाकर्षण गराउन गइरहेका छौँ, पठाउन बाँकी थप बजेट पठाउने कुनै सङ्केत देखिएको छैन,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले भन्नुभयो ।

काम गरेको रकम भुक्तानी नपाएपछि निर्माण व्यवसायीले अहिले भवन निर्माण कार्यलाई स्थगित गरेका छन् । भवन निर्माणको थप बजेट सङ्घीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

“भवनको अधिकांश काम सकिएको छ तर निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम माथिबाट आएको छैन, योजनाको काम नै रोकिने अवस्थामा पुगेको छ,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले गत वर्षदेखि विद्यालय भवन बनाउन सुरु गरेको थियो । विसं २०८० वैशाख २४ गते जयलक्ष्मी÷अभिनव जेभी बागलुङसँग २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी रु तीन करोड ८४ लाख १८ हजार नौ सय सात लागतमा उक्त भवन निर्माण योजनाको ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले भवन निर्माणको काम सकेर झ्यालढोका राख्ने, रङ्गरोगन गर्नेलगायत फिनिसिङको काम मात्रै बाँकी रहेको जनाएको छ । भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयोे ।

निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्यालढोका र स्टिल फर्निचरलगायत सामग्रीहरु तयारी अवस्थामा राखेको र थप भुक्तानी गर्नुपर्ने रकमको व्यवस्थापन भएमा भवनले छिट्टै पूर्णता पाउने उहाँको भनाइ छ । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङको समेत पठनपाठन हुने यस विद्यालयमा करिब तीन सय विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयको भवन निर्माण योजना अधुरो हुँदा विद्यालयको नियमित पठनपाठनमा समेत प्रभावित हुने गरेको विद्यालयले जनाएको छ ।

यसपटक समावेशी, वस्तुपरक र पारदर्शी बजेट ल्याउँछौँ : अर्थमन्त्री पुन

काठमाडौँ, २५ चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ / ८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी भएर ल्याइने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उहाँले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

यसबाट सबैको सुझाव समेटिएर कार्यान्वयनयोग्य बजेट आउने उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट र मौद्रिक नीतिबीच सामञ्जस्यता हुनेगरी बजेट आउने पनि उहाँले स्पष्ट पार्नुभयो ।

“यसपटक बजेट समाबेंसी र वस्तुपरक बनाउने प्रयास भएको छ । सँगसँगै पारदर्शीरुपमा बजेट ल्याउनेगरी काम भइरहेको छ । सिद्धान्त र प्राथमिकता संसद्मा पेस भइसकेका छन्”, अर्थमन्त्री पुनले भन्नुभयो, “विगतमा बजेट र मौद्रिक नीतिबीच तादम्यता भएन भन्ने गुनासो पनि सुनियो । तर यस वर्ष हामी सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तादम्यता मिलाएर जान्छौँ । सरकार छिटोछिटो परिवर्तन भए पनि नीतिहरु भने परिवर्तन हुन नहुने उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत प्राथमिकता तय गर्दा नेपालको भू–राजनीतिक अवस्थिति, तुलनात्मकरुपमा सम्भाव्य र लाभका क्षेत्र हेरिने उहाँको भनाइ छ । जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने अर्थमन्त्री पुनले बताउनुभयो ।

अहिले सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा केही चुनौती देखिनुमा र मुख्यगरी सरकारी खर्च हुन नसक्नुमा कर्मचारी संयन्त्र नभई राजनीतिक नेतृत्वकै कमजोरी रहेको पनि उहाँले स्वीकार्नुभयो । “तीनवटै तहका सरकारले पुँजीगत खर्च गर्न नसकेको विद्यमान अवस्थाको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ । प्रशासनिक नेतृत्वलाई दोष दिन मिल्दैन”, अर्थमन्त्री पुनले भन्नुभयो । आगामी आर्थिक वर्षका लागि सरकारी ऋणको साँवाब्याज तिर्नका लागि ठूलो दायित्व बढेका कारण स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्री पुनको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले वास्तविक तथ्याङ्कलाई विश्लेषण गरेर बजेट ल्याइनुपर्ने बताउनुभयो । “तथ्याङ्क चलाएर बजेटमा स्पेस खोजिनु हुँदैन । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार बढाएर बजेटमा स्रोतको स्पेस खोज्ने काम नहोस् । वास्तविक तथ्याङ्कका आधारमा बजेट ल्याउनु उपयुक्त हुन्छ”, खतिवडाले भन्नुभयो, “अङ्कको यथार्थपरक अनुमान गरौँ र अनुमानयोग्य कुरामात्रै अनुमानमा राखौँ । समष्टिगत आर्थिक परिसूचकका बारेमा अनुमान नगरौँ ।” सरकारले ठूलो आकारको बजेट ल्याउने तर अर्धवार्षिक समीक्षा गरेर आकार घटाउनुपर्ने स्थितिको अन्त्य गरिनुपर्ने उहाँको भनाइ छ । आर्थिक सूचक तथा चरहरुको सही अनुमान नगरिएका कारण यस्तो स्थिति आउने गरेको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले सरकारले पुँजीगत खर्च बढाउनुपर्ने र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि पहल गर्नुपर्ने बताउनुभयो । विदेशी लगानी प्रोत्साहन, अनुदान र ऋणमा सहजीकरण, आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि कानुनी सहजीकरणलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने र बजार माग बढाउनेतर्फ सोच्नुपर्ने बेला आएको पनि तिम्सिनाले बताउनुभयो । अहिले बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदर रहेकाले लगानीका लागि उपयुक्त समय रहेकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

आजको कार्यक्रममा ईश्वरीप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लगातार दुई वर्षको निर्माण क्षेत्रको ऋणात्मक वृद्धिदरलाई सही दिशामा अघि बढाउन तीनवटै तहका सरकारले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । “पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुन्छ र एकातर्फ सरकारको राजस्व वृद्धि हुनेछ भने अर्कोतर्फ निर्माण सामग्रीको माग बढ्नेछ”, भण्डारीले भन्नुभयो, “अर्थतन्त्रको संरचनागत सुधार गर्न उद्योग क्षेत्रको योगदान बढाउन निजी तथा सरकारी क्षेत्रबाट लगानी बढाउनका साथै विदेशी लगानी पनि आकर्षित गरिनुपर्छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले सार्वजनिक ऋण र सामाजिक सुरक्षाको दायित्व व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । सन् १९८० र १९९० लाई नेपालमा आर्थिक सुधारको दशकका रुपमा लिइने गरेको र त्यसले नतिजा पनि देखाएको उल्लेख गर्नुहुँदै भट्टले अहिले पनि आर्थिक सुधारको अर्को चरणको आवश्यकता औँल्याउनुभयो ।

इलाम-२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

इलाम, २५ चैत : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य देखिएको छ । शुक्रबार २० जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा सबै उम्मेद्वार पुरुषमात्र छन् । १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा कोही पनि महिलाको उम्मेद्वारी परेन ।

विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चैबाजा र -यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुुगेर उम्मेदवारी दर्ता गराएका थिए । ठूला राजनीतिक दलहरुको उम्मेदवार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीले गुनासो गरेका छन् । “महिलालाई सधैँ पछि पार्ने चलन छ,” इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, “इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।”

झापा विर्तामोड निवासी महिला अधिकारकर्मी भीमा शिवाकोटीले महिलाको अधिकार पुस्तकमा मात्र समेटिएको र व्यवहारमा अवसर नदिने प्रचलन रहेको बताउनुभयो । “इलाममा एउटा पदका लागि बीस जनाले नेतृत्व तहमा आउन चाहँदा महिलाले नचाहेको होइन महिलालाई कसैले अवसर नदिएको समस्या उजागर भएको छ ,” उहाँले भन्नुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले साझा उम्मेदवारका रुपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन् । सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीलेसमेत समर्थन गरेको छ । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रियमुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ । इलाम– २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

चैत २८ देखि वैशाख १२ गते सम्म प्रचारको अवधि राखिएको छ । वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ । संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैनः स्वास्थ्यमन्त्री यादव

चितवन, २५ चैतः उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताउनुभएको छ । भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिले प्रवाह भएका सेवा कम भएको बताउनुभएको हो । उहाँले भन्नुभयो “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उहाँले बताउनुभयो । जनताको आवश्यकता धेरै भएको भन्दै उहाँले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आउनुभएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गर्नुभएको थियो । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराउनुभएको थियो ।

मन्त्रिपरिषद् बैठक : विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय

काठमाडौँ, २५ चैत स् सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय गरेको आज सिंहदरबारमा सञ्चारकर्मीलाई जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट रु नौ अर्ब ४५ करोड बराबरको हुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो ।

बैठकले श्रम अदालतको मुकाम काठमाडौँमा रहने गरी तोकिएकामा सो को सट्टा श्रम अदालतको मुकाम काठमाडौँ उपत्यमा रहने गरी तोक्ने निर्णय गरेको छ । यस्तै प्राविधिक प्रहरी समून्नततर्फको प्रहरी नायब महानिरीक्षक विशेष दुई पद सिर्जना गर्ने सरकारले निर्णय गरेको छ ।

यसैगरी संयुक्त राज्य अमेरिकाको सान डिएगो, क्यालिफोर्नियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत ऋषि पुनाखर ढकाल र जर्मनीको नर्थ राइन, वेष्टफालिया ब्रेमेन र लोअर स्याक्सोनी क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत रामप्रताप थापाको पदावधि थप गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

दैलेखको नारायण नगरपालिकालाई फोहरमैला सङ्कलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । यस्तै मकवानपुरको मनहरी गाउँपालिकालाई मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न राष्ट्रिय वनको शून्य दशमलव दुई हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका, डोटीको आदर्श गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, जुम्लाको गुठीचौर गाउँपालिका, रौतहटको परोहा नगरपालिलका र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई विभिन्न परियोजना सञ्चालन गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा प्रा डा पशुपति चौधरी र सदस्यमा डा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्यमा डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल खानेपानी संस्थापन कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने र ठूला आयोजना कार्यान्वयन अनुगमन तथा सहजीकरण निर्देशिका, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेपाल सरकार र अन्य मुलुकबीच गरिने द्विपक्षीय लगानी सम्झौताको नमुना ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव तोयम राया र नेपाल वनसेवा, फरेष्ट रिसर्च समूहका सहसचिव सावित्री अर्यालको राजीनामा स्वीकृत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
 

‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने मस्कको घोषणा

सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताउनुभयो ।

टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले यस पहिले सन् २०१९ मा नै घोषणा गर्नुभएको थियो ।

कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो ।

अप्रिल सन् २०१९ मा टेस्लाले सन् २०२० सम्ममा ‘रोबोट्याक्सी’ सञ्चालन गर्न थाल्ने उहाँले बताउनुभएको थियो । टेस्ला कम्पनीद्वारा उत्पादित स्वायत्त कार ११ वर्ष टिक्ने र १६ लाख किलोमिटरभन्दा बढी चल्ने र यसबाट कम्पनी र कार मालिकले प्रत्येक वर्ष ३० हजार अमेरिकी डलर बराबरको नाफा कमाउन सक्ने उहाँले बताउनुभयो ।

यद्यपि कहिलेकाहीँ घोषणा गरिएका काम सोचे अनुरूप पुरा हुन नसक्ने तर यसले कुनै न कुनै दिन सार्थकता पाउनेसमेत उहाँले बताउनुभयो । “कहिलेकाहीँ मैले सोचेको काम समयमा नभए पनि मैले सोचेको कुरा कालान्तरमा टेस्ला समूहले गरेको छ,” उहाँले भन्नुभयो ।

उपभोक्ताहरूले ‘नयाँ टेस्ला मोडल–३’ कारको खरिद मूल्य ४० हजार अमेरिकी डलरमा अतिरिक्त १२ हजार अमेरिकी डलर मूल्य थपेपछि पूर्णरूपमा स्वचालित क्षमताको कार खरिद गर्न सक्ने उहाँले बताउनुभयो ।

पूर्ण स्व–ड्राइभिङ क्षमता एक महिनाको १९९ अमेरिकी डलर तिरेर ‘सदस्यता व्यापार मोडेल’ को आधारमा खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयो । ‘सदस्यता व्यापार मोडेल अनुसार ग्राहकले उत्पादन वा सेवामा पहुँचको लागि नियमित अन्तरालमा पुनरावृत्ति मूल्य तिर्नुपर्छ ।

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

फुङ्लिङ (ताप्लेजुङ), २५ चैत : जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीयवासीको अनुमान छ ।

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’फुङ्लिङ (ताप्लेजुङ), २५ चैत : जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीयवासीको अनुमान छ । गएको दसैँ तिहारको अवधिमा झण्डै पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा ताल क्षेत्रको भ्रमण गरेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो ।

हाल निर्माणाधीन तमोर कोरिडोर सडक नयाँ वर्षको बेला आलोङचुङगोला जोडिने भएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने वडाध्यक्ष लामाको अनुमान छ । उहाँका अनुसार पूर्वको विभिन्न जिल्ला र काठमाडौँ लगायतका ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गर्छन् । नयाँ वर्षमा करिब छ सयको संख्यामा आन्तिरक तथा बाह्य पर्यटक आउने अनुमान स्थानीयवासीको छ ।

सिङ्जेमा ताल फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्दछ । यो ताल ओलाङचुङगोलाको बस्तीबाट एक दिनको पैदल दुरीमा अवस्थित छ । समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराईको मापन हुन सकेको छैन । ताललाई एक फन्को लगाउन एक घण्टा भन्दा बढी समय लाग्छ । प्राकृतिक रुपमा मनोरम मात्रै नभइ स्थानीयले यस ताललाई धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने स्थानीयवासीको विश्वास छ ।

तालसँग जोडिएका केही पुराना किंवदन्ती छन् । स्थानीयका अुनसार यस तालको किनारमा एकजना स्थानीय भोटे बसिरहेको बेला तालबाट एउटा चौंरी निस्कियो । त्यो चौंरीको गोबर भोटेले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए । स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्ष अगाडि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर बगालमा मिसियो । त्यसलाई गोठालाले मारेर खाए । त्यसपछि फेरि तालबाट दुई वटा भेडा निस्कियो । ती दुई भेडाले बगालको सबै भेडालाई सुंघे । त्यसपछि बगालको सबै भेडा तालमा पसे र हराए । तालको उत्तरतिर पूजा गर्नको लागि एउटा थान बनाइएको छ । यस थानमा त्यहाँ पुग्ने जो कोहीले भाकल गर्ने चलन छ । तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफुसँग जे छ त्यही चढाउने चलन छ । त्यसैले प्राय दर्शनार्थीले पूजा थानमा गरगहना, घडी, औंठी, चुरा लगायतका सामान चढाएको देखिन्छ । कसैले सुन, चाँदी पैसा नगद सिक्का चढाउने गरेका छन् । तर ती भेटी, गहनाको संकलन र उचित व्यवस्थापन हुनसकेको छैन । कतिपयले तालमा पुगेपछि आफ्नो भाग्य देख्न सक्छन् भन्ने विश्वास समेत छ ।

सिङ्जेमा ताल पुग्नको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर कोरिडोरको कच्ची सडक भएर गाडीमा ओलाङचुङगोला सम्म जान सकिन्छ । ओलाङचुङगोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई-तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौंरीगोठमा बास बस्न पुग्नुपर्दछ । तालक्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । आफुलाई आवश्यक सामग्री आफैले बोक्नुपर्दछ । चौंरी गोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ ।

चौंरीगोठबाट भोलिपल्ट तीन-चार घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालको अवलोकन र दर्शन पश्चात गोठमा आइपुगेर खाना खाएर ओलाङचुङगोलासम्म फर्किन सकिन्छ । व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङ ब्याग लगायतको सामग्री लिएर जान सकिन्छ । ताल क्षेत्रमा जाने उपयुक्त मौसम बैसाख अन्तिम देखि असोज पहिलो हप्ता सम्म हो ।

बैसाखदेखि असोजसम्म यस क्षेत्रमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अरु बेलामा गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ । त्यसो त यस तालको दर्शन गर्न जाने परम्परा धेरै पुरानो हो । तर त्यतिबेला यहाँ पुग्नेहरु ओलाङचुङगोला आसपासका मात्रै हुन्थे । लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिस तालको दर्शनमा जाने चलन थियो । यो तालको बारेमा ती स्थानीयबासीलाइ बाहेक थाहा थिएन । तर पछिल्लो समय सिङ्जेमा तालको दर्शनमा जानेको सङ्ख्या बद्दो छ ।

गतवर्षको बैसाख अन्तिमतिर दैनिक पर्यटकको एक समूह ताल भ्रमण गर्न गएका थिए । स्थानीय गोठवाला तेम्बा शेर्पाले पर्यटकीय यामको बेला दैनिक छ देखि १२ जनासम्मलाई खाना र बास दिँदै आएको बताउनुभयो ।

पैदल हिँड्ने बाटोमा जम्मा तीन वटा चौंरी गोठ मात्र छन् । गोठवालाले ताल घुम्न आउने पर्यटकलाइ लक्षित गरी चामल, तरकारी, नून, तेल, मसला र ओढ्ने ओछ्याउनेको व्यवस्था गरेका छन् । एउटा गोठमा दश जनासम्मलाई बास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पाले बताउनुभयो । विगतमा साउन र भदौमा मात्रै ताल घुम्न आउने भएपनि अहिले तालको प्रचारप्रसार भएसँगै बैसाख लाग्नुअघिदेखि पर्यटकको आगमन हुन थालेको स्थानीय तेम्बा शेर्पाको भनाइ छ ।

ओलाङचुङगोलाबासीका अनुसार युट्युबर र सामाजिक सञ्जल प्रयोगकर्ताले तालको प्रचार गरेपछि पर्यटकको आकर्षण बढेको हो । ताल भ्रमण गर्न वार्षिक कति पर्यटक आए भन्ने तथ्याङ्क राखिएको छैन । सिङ्जेमा ताल कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो ।

सिङ्जेमा तालमा पछिल्लो समय चलचित्र छायाङ्कन, वृत्तचित्र बनाउनेको सङ्ख्या बढेको छ । यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न परिषद्को स्वीकृति अनिवार्य रहेको छ ।

निर्वाचनमा देखिएका विकृति अन्त्य गर्न बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्छ – गृहमन्त्री

काठमाडौँ, २५ चैतः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताउनुभएको छ ।

निर्वाचन व्यवस्थापन विधेयक र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका सम्बन्धमा निर्वाचन आयोगद्वारा आयोजित अन्तक्रियामा उहाँले जुन विषयवस्तुले निर्वाचन प्रणाली र संसद्लाई समृद्ध र प्रभावकारी तुल्याउँछ त्यसलाई सबै पक्षले सहयोग र समर्थन गर्नुपर्छ भन्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, “अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीप्रति उठेका प्रश्न र राजनीतिमा देखिएको विचलनलाई सुधार गर्दै निर्वाचनलाई सही ढङ्गबाट अघि बढाउने आयोगले व्यवहारिक विषय राखेको छ ।” उहाँले निर्वाचन व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदामा आयोगले दिएका सुझाव समावेश गर्न सकिएमा दलहरुको राजनीतिक चरित्र र समाज सुधारमा कोशेढुङगा सावित हुने बताउनुभयो ।

निर्वाचनमा देखिएका कैयौँ विसङ्गति र विकृति अन्त्य गर्न बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउँदै गृहमन्त्री लामिछानेले आगामी दिनमा पार्टीको आन्तरिक र मुलुकको समग्र लोकतान्त्रिक पद्धतिको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोगले मन्त्रालयमा पठाएको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयममाथि केही सामान्य छलफलपछि सदनमा पठाइने बताउँदै गृहमन्त्री लामिछाने केही राम्रा विषयलाई मस्यौदामा थप समावेश गर्न आफूले आयोगलाई सुझाव दिएको बताउनुभयो ।

इलाममा हुने प्रतिनिधिसभा सदस्य र बझाङको प्रदेशसभा सदस्य निर्वाचनमा सरकार संवेदनशील रहेको जनाउँदै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउने विषयमा सरकारकातर्फबाट सम्पूर्ण सहयोग हुने विश्वास दिलाउनुभयो ।

यसअघि आयोगले उपनिर्वाचन तयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको छ । निर्वाचन आयोगका सहसचिव रमेश ढकालले आयोगले तयार गरी गृह मन्त्रालयमा पठाएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सदनमा टेबुल गर्ने लगायतका विषयमा आयोगकातर्फबाट जिज्ञासा भएको प्रतिक्रिया दिनुभयो । उपनिर्वाचनको आवश्यक तयारी र सुरक्षा प्रबन्धका विषयमा पनि अन्तरक्रियामा छलफल भएको उहाँको भनाइ छ ।

आयोगका तर्फबाट बैठकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई सशोधन गर्न आवश्यक देखिएकाले संशोधन प्रक्रिया अघि बढाइएकाले मन्त्रालयको तर्फबाट सहयोग र सहजीकरणका लागि अनुरोध गरिएको थियो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरु तथा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल सहभागी हुनुहुन्थ्यो ।

भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारेको छ : प्रधानमन्त्री दाहाल

चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गर्नुभयो ।

“भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।” उहाँले केही दशक अगाडि घना जङ्गल र झाडीले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गर्नुभयो । यस क्षेत्रकै आमजनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताउनुभयो ।

अस्पतालले अन्तरङ्ग र बहिरङ सेवामार्फत नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “संरक्षित वनजङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, डेङ्गु, इन्फ््ल्युञ्जा, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्शलगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ ।” मुख्यतः अस्पतालको भौतिक पूर्वाधार विकास, श्यया क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यकपर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उहाँले यसका निम्ति सरकारकोतर्फबाट आवश्यक पहल हुने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री दाहालले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेका सन्दर्भमा आगामी शैक्षिकसत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले यस अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विशिष्टकृत सेवा दिनका लागि स्वास्थ्य उपचार, स्वास्थ्य शिक्षा र अनुसन्धान आवश्यक हुने भन्दै उहाँले यस अस्पतालमा यी सबै पूर्वाधार तयार भएको बताउनुभयो ।

यस अस्पताललाई उपचारको केन्द्रका रुपमा विकास गर्न सरकार लागिरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यस अस्पताललाई नेपालको महत्वपूर्ण केन्द्रका रुपमा विकास गरिनेछ ।” अस्पताल प्रशासन, स्थानीय र बिरामीको चाहना एवं अवश्यकता हेरेर सरकार अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा (एमाले)का जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगाएतले अस्पतालको विकास र सेवा वृद्धिमा सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालका बारेमा प्रकाश पार्नुभएको थियो । यस अस्पतालले अहिले चितवनसहित २२ जिल्लाका बिरामीलाई सेवा पु¥याउँदै आएको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा उत्कृष्ट चार कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।

एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल

काठमाडौँ, २५ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता (अपलोड) गरेको एक घण्टाभित्र आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताउनुभयो । वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइनमार्फत दिइँदै आएको श्रम स्वीकृतिको सेवालाई छिटोछरितो बनाउँदै एक घण्टाभित्र उपलब्ध गराउन सम्भव भएको उहाँको भनाइ छ ।

“कोही पनि श्रमिकले आफ्नो सम्पूर्ण कागजपत्र अनलाइन प्रविधिमार्फत विवरण दर्ता गराएको एक घण्टाभित्र श्रम स्वीकृति आफ्नै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ”, मन्त्री अर्यालले भन्नुभयो, “कर्मचारीको लगनशीलता, इमान्दारिता र सम्पर्णको सहयोगले यो कार्य गर्न सम्भव भएको हो ।”

श्रम स्वीकृति लिने काममा अहिले धेरै लामो समय लाग्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले कागजात नपुगेको अवस्थामा, दोहोरोपना वा कर्मचारीलाई शङ्कास्पद लागेको अवस्थामाबाहेक काम सहज रुपमा नै भइरहेको जानकारी दिनुभयो । “काम नभएर रोकिएकाको पनि नियमित कामलाई अवरोध नहुने गरी हुनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले कम्प्युटरको ‘सफ्टवयर’ मा सुधार गर्दै सहज र प्रभावकारी व्यवस्थापनको काम गरिएको बताउनुभयो । उहाँले कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म रहेको भन्दै सो अवधीमा श्रम स्वीकृति लिन सकिने जानकारी दिनुभयो । “कार्यालय समयमा सबै काम हुन्छ । जसले पहिलो बुझाउनुहुन्छ उहाँले सुरुमा पाउनुहुन्छ”, उहाँले भन्नुभयो ।

समयको मूल्य नबुझनेले अरुको भलो गर्न सक्दैन: उपसभामुख राना

काठमाडौँ, २५ चैतः उपसभामुख इन्दिरा रानाले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्रको विकास र समृद्धिका लागि आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

संविधानसभा सदस्य महिला मञ्च र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक दल र नेता विशेषको स्वार्थ फरक भएर बनाइएका कानुनले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।

उपसभामुख रानाले भन्नुभयो, “प्रत्येक व्यक्तिले आफनो कार्य जिम्मेवारी समयमै सक्नुपर्छ, समयको मूल्य नबुझ्ने व्यक्तिले अरुको भलो गर्न सक्दैन ।” दिएको मतको अनादर गर्ने र कार्य जिम्मेवारी पूरा नगर्ने राजनीतिक नेता होस् वा कर्मचारीलाई फिर्ता बोलाउने र सेवाबाट अलग गर्ने नीति बनाइ कार्यान्वयन गरिनुपर्ने उहाँको सुझाव छ ।

मञ्चका अध्यक्ष दामा शर्माले राज्यका सबै अङ्गमा महिलाको उपस्थिति ३३ प्रतिशत रहनुपर्छ भनी संविधानले स्वीकार गरेको व्यवस्थालाई सरकार र राजनीतिक दलले दायाँबायाँ गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समानुपातिक र समावेशी नेपाल सुनिश्चित नभएसम्म महिलासम्बन्धी माग मुद्दा र आन्दोलन निरन्तर भइरहन्छ । निर्वाचन आयोगले मस्यौदा गरेको निर्वाचनसम्बन्धी कानुन लैङ्गिक तथा सामाजिक समावेशीकरणका दृष्टिमा प्रगतिशील छ ।”

सो अवसरमा सहभागी अन्य वक्ताले मुलुकले लोकतन्त्रको उच्चतम अभ्यास गरिरहेको अवस्थामा पनि संविधानले व्यवस्था गरेको महिलाका अधिकारपूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो । कानुनी व्यवस्था नहुने हो भने राजनीतिक नेतृत्वले अझै पनि महिलालाई अधिकार दिने विषयमा आनाकानी गर्ने गरेको बताउँदै उहाँहरुले संविधान र कानुनमा लेख्ने मात्र ठूलो विषय नभइ कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।

जनसङ्ख्यका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिँदै प्रतिनिधिसभा सदस्यहरुले हरेक कानुनलाई महिला संवेदनशीलताको पाटोबाट हेरिनुपर्ने धारणा राख्नुभयो । राजनीतिमा महिलालाई अघि बढाउन निर्वाचन क्षेत्रको सुनिश्चिता आवश्यक रहेको बताउँदै उहाँहरुले चुनावका समयमा दलहरुबीच हुने गठबन्धनको प्रवृत्तिले महिलाको प्रतिनिधित्व खुम्चिएको धारणा राख्नुभयो ।

त्यस अवसरमा सवैधानिक कानुनका जानकार मोहनलाल आचार्यले लैङ्गिक तथा सामाजिक समावेशीकरणको दृष्टिमा निर्वाचनसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० मा उल्लेख भएका व्यवस्था र समावेश गर्नुपर्ने विषयबस्तुबारे जानकारी गराउनुभयो ।

स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गर्छौँ – मन्त्री बस्नेत

पाटन (ललितपुर), २५ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग हुने अवस्था सिर्जना गरिने बताउनुभएको छ ।जलस्रोत तथा सिँचाइ विभागद्वारा ‘समृद्ध नेपालको आधार, कृषियोग्य जमिनमा पूर्ण सिँचाइको विस्तार’ भन्ने नारासहित आज यहाँ मनाइएको सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री बस्नेतले परिस्थिति, सोच र सन्दर्भलाई परिवर्तन गर्दै समय सापेक्ष र परिस्थिति अनुकूल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

“हामी पूर्वाधार विकास, सामाजिक न्याय र आर्थिक विकासको कुरा गरिरहेका छौँ । यसलाई योजना कार्यान्वयनमा कसरी प्रतिविम्बित गरिरहेका छाैँ भन्ने कुरा विचारणीय छ । अहिले आवश्यकता सामाजिक न्याय र आर्थिक विकासलाई समानुपातिक रुपमा अघि लैजानु हो । बजेट, जनशक्ति र कार्यक्रममा तालमेल नहुँदा उपलब्धि हासिल हुन सकेको छैन”, मन्त्री बस्नेतले भन्नुभयो ।

सिँचाइ क्षेत्रमा पनि पर्याप्त बजेट नपुगेको भन्दै कतिपय अवस्थामा छुट््याइएको बजेट सही ठाउँमा उपयोग हुन नसक्दा समस्या उत्पन्न भइरहेको मन्त्री बस्नेतले बताउनुभयो । कार्यक्रम एक ठाउँमा र बजेटको लक्ष्य अर्को ठाउँमा हुँदा उपलब्धि हासिल गर्न चुनौती थपिएको उहाँको भनाइ छ ।

विकासको गतिशील प्रक्रियालाई ग्रहण गर्दै जाने क्षमता चाहिने भन्दै मन्त्री बस्नेतले नीति, योजना, कार्यक्रम तय गर्दा एकीकृत विकासको सोचबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । अन्तरसम्बन्ध भएका सबै कानुन निर्माण गरी परिणाम निस्कने गरी परियोजना सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हरेक क्षेत्रका लागि एकआपसमा बाँझिने फरक–फरक कानुन बनाउनुभन्दा समय र समन्वयका आधारमा एउटै कानुन बनाउनु ठीक हुने भन्दै मन्त्री बस्नेतले सिँचाइ क्षेत्रको बृहत् विकासका लागि जलस्रोत तथा सिँचाइ गुरुयोजना तयार पारेर सोही अनुसार लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो ।

लोकसेवा आयोगका सदस्य माधव बेलवासेले खाद्य सुरक्षा अत्यन्तै गम्भीर विषय भएको भन्दै यसका लागि सिँचाइको भूमिका धेरै महत्वपूर्ण हुने बताउनुभयो । “हाम्रा धेरै जमिन बाँझो अवस्थामा छन् । आयोजना उद्घाटन गरेर बस्न सक्ने अवस्था छैन । सिँचाइमा लागतको व्यवस्थापनका लागि समयमै योजना सम्पन्न गनुृपर्ने हुन्छ । ठूला आयोजनालाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयोजना कार्यान्वयन गर्दा विभागले समयमै सम्पन्न गर्नका लागि प्रत्यक्ष निगरानी गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै बेलवासेले प्रशासन र प्रविधिक धारका जनशक्तिलाई फरक ढङ्गले परिचालन गरी आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कुसेन्द्रबहादुर महतले कृषि सरकारको सबैभन्दा महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसका लागि सिँचाइका व्यवस्थापन आवश्यक हुने बताउनुभयो । उहाँले साधन र स्रोतको सीमितताका बाबजुद पनि १६औँ पञ्चवर्षीय योजनामा नेपालको जलस्रोत र सिँचाइसम्बन्धी योजनालाई महत्वका साथ समेटिनुपर्ने बताउनुभयो ।

महतले अहिले निर्दिष्ट गरिएको साधन र स्रोतलाई शतप्रतिशत खर्च हुने वातावरण बनाउनु चुनौती रहेको धारणा राख्नुभयो । उहाँले उत्पादकत्व वृद्धि गर्न किसानलाई तत्कालै लाभ हासिल गर्न सक्ने नवप्रवर्तनीय सोचको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

“नीतिगत समस्या छन् भने सम्बन्धित निकायले जानकारी दिनुपर्छ । योजना आयोगले समस्या समाधानका लागि सहज बनाउने नीति लिएको छ”, महतले भन्नुभयो, “नागरिकले आशा गरेका आयोजना सफल बनाउन हामी छलफल गरौँ र आपसी समन्वयका आधारमा सम्पन्न गरौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले उत्पादकत्व वृद्धिका लागि उपलब्ध जलस्रोतको भरपुर उपयोग गर्दै लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता राखेर सेवा दिँदै कृषि उत्पादन बनाउन प्रभावकारी ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

विद्युत ऊर्जाको उपयोग गर्दै सिँचाइ क्षमतालाई वृद्धि गरेर उत्पादन बढाउन सबै क्रियाशील हुनुपर्नेमा सचिव तिवारीले जोड दिनुभयो । ऊर्जा उपयोगका लागि अनुदान दिने नीति बनाउँदै राष्ट्रिय उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न लाग्नुपर्ने उहाँको भनाइ छ ।

जल तथा ऊर्जा आयोगका सचिव केशवप्रसाद शर्माले खेतीयोग्य जमिनको संरक्षणका लागि राष्ट्रिय बहस सञ्चालन गर्नुपर्ने भन्दै किसानका मागमा आधारित सिँचाइ योजनालाई जोड दिनुपर्ने बताउनुभयो । सिँचाइ क्षेत्रमा भएका विज्ञहरुको क्षमता र विज्ञतालाई प्रयोग गरेर उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिँचाइ विश्वव्यापी सरोकारको विषय हो भन्नुहुँदै आयोगका सचिव शर्माले यसलाई खाद्य सुरक्षासँग जोडेर क्षेत्र पराकिलो बनाउनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सरिता दवाडीले सिँचाइ नीतिलाई कार्यान्वयन गर्न ऐन नै बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले तराईका क्षेत्रमा भूमिगत सिँचाइ आयोजना गर्न सके भरपर्दो हुने भन्दै सिँचाइलाई खाद्य सुरक्षासँग जोडेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । मन्त्रालयअन्तर्गत रहेको सिँचाइ विभागले आवश्यक कानुनी पुनःसंरचना, कार्यालय कार्यक्षेत्र तथा संरचना परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

विसं २००९ मा नहर विभागको रुपमा स्थापित विभागद्वारा आयोजित सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सवको अवसरमा रानीजमारा कुलरिया सिँचाइ आयोजना टीकापुर कैलाली, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र बृहत् दाङ उपत्यका सिँचाइ आयोजना दाङलाई उत्कृष्ट सिँचाइ आयोजनाका रुपमा सम्मान गरिएको छ । कार्यक्रममा यसवर्ष अवकाश प्राप्त कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

‘जनचेतनाका कार्यक्रम स्थानीय तहसम्म लैजान सकिएन’ – पोखरेल

काठमाडौँ, २५ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाका कार्यक्रम स्थानीय तहसम्म लैजान नसकिएको बताउनुभएको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव डा पोखरेलले भन्नुभयो, “हामीले गरिरहेका स्वास्थ्य कार्यक्रमबारे जनतालाई जानकारी गराउन सकेका छैनौँ । आधारभूत सेवाबारे जनतालाई जानकारी गराउने अबको लक्ष्य छ ।”

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सामभाजीराव पाण्डवले सुरुमै स्वास्थ्यप्रति सचेत रही जीवनशैली अपनाउनसके भविष्यमा स्वस्थ भइने बताउनुभयो । नेपालले स्वास्थ्य सेवा मौलिक अधिकारका रुपमा राखे पनि सोअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले स्वास्थ्य सेवामा समतामूलक पहुँच कसरी बढाउने भन्ने नीतिअनुरुसार काम गर्नुपर्ने बताउनुभयो । नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले निःशुल्क आधारभूत स्वास्थ्य सेवा सबैलाई दिन नसकिएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आधारभूत अस्पताल निर्माण सोचेअनुसार विस्तार हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचमा नेपालको कभरेज ५४ प्रतिशत छ, जुन ८० प्रतिशत पुग्नुपर्ने हो ।” उहाँले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन, नसर्ने रोग, मानसिक रोगलगायतका विषयमा काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल आँखा अस्पताल ५१औँ वर्षमा : हालसम्म ३४ लाख जनाले पाए आँखा सेवा

काठमाडौँ, २५ चैत ः त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आँखा सेवा नपाएका धेरै अझै पनि समुदायमा रहेको, उपचारको दायरामा आउन नसकेको र घरघरमा गएर आँखासम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्न पहल भैराखेको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलल भन्नुभयो, “काठमाडौँ महानगरपालिकाको वडा नं ११ लाई मोतिबिन्दुरहित क्षेत्र बनाउने अभियानमा छौँ । वडा र अस्पताल मिलेर त्यहीँको स्वयंसेवी खटाइ विवरण लिने र आवश्यकलाई सहुलियतसहित उपचार सेवा दिइरहेका छौँ ।” उहाँले यो कार्यक्रम सुरु भएको छ महिनामा १२ सय जनाको परीक्षण गरिएकामा ३४ जनाको शल्यक्रिया भएको जनाउनुभयो ।

अस्पतालका बोर्ड सचिव युद्धध्वज सापकोटाले पैसा नभएका कारणले कुनै पनि बिरामी सेवा नपाइ फर्किनु नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आधुनिक प्रणालीबाट सहुलियत शुल्कमा विशेषज्ञ सेवा दिइरहेका छौँ । दैनिक चार सयदेखि सात सय जनालाई बहिरङ सेवा लिइरहेका छन् ।”पत्रकारसम्मेलनमा अस्पतालले आगामी वैशाख १ गतेदेखि विस्तारित क्लिनिक पनि सेवा सुरु गर्ने जानकारी दिइयो ।

सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून

काठमाडौँ, २५ चैत ः सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा श्रमिकका लागि योगदानमा आधारित सुरक्षा प्रणालीमा आबद्धतासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ का वक्ताले सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको न्यून उपस्थिति रहेको बताएका हुन् ।

कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक नरेशराज खरेलले काम गर्न नसक्ने अवस्थामा सामाजिक सुरक्षा कोषले सहयोग गर्ने भएकाले सबै व्यवसायी तथा श्रमिक उक्त कोषमा आबद्ध हुनुपर्ने बताउनुभयो । “योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले व्यवसायी र श्रमिकबीचको सम्बन्धलाई समेत बलियो बनाउन सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विसं २०७६ साउनदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा हालसम्म पाँच लाखभन्दा बढी श्रमिक आबद्ध भइसकेको र तीन लाख श्रमिकले निरन्तर कोषमा योगदान गरिरहेको उल्लेख गर्नुभयो । श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने हक संविधानले नै प्रदान गरेकाले सरकारले उक्त योजना अगाडि सारेको उहाँको भनाइ छ ।

कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले अन्य क्षेत्रको भन्दा पर्यटन क्षेत्रको आबद्धता सामाजिक सुरक्षा कोषमा कमी भएको बताउनुभयो । “सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको एक सय ६५ कम्पनीका झन्डै ६ सय श्रमिकमात्र आबद्ध रहेका छन्, यो पर्यटन क्षेत्रका लागि न्यून हो,” उहाँले भन्नुभयो ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले श्रमिकका लागि जोखिमपूर्ण मानिएको साहसिक पर्यटन यामअनुसार चल्ने भएकाले सामाजिक सुरक्षा कोषमा यस क्षेत्रको आबद्धता कमी भएको बताउनुभयो । उहाँले टानमा आबद्ध सबै व्यवसायीलाई र त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन लागिएको उल्लेख गर्नुभयो ।

टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले जोखिमपूर्ण अवस्थामा रहेका नेपालका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आबद्ध टानका कार्यसमितिको पदाधिकारी तथा सदस्यलाई आबद्धता प्रमाणपत्र वितरण गरिएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रमा क्रियाशील नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल (नाट्टा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)लगायतका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता रहेको थियो ।

चन्द्रागिरिका सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’

काठमाडौँ, २५ चैत स् चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ । अब नयाँ शैक्षिक सत्र ९वैशाखदेखि० सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन् ।विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाइका लागि आवश्यक सामग्री (खेलकुद, पाठ्यपुस्तक, स्मार्ट डिजिलट बोर्ड आदि) रहनेछन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये यही महिनाभित्र २३ विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ भइसक्नेछन् । नगरक्षेत्रका सामुदायिक विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ गर्ने सम्भवतः चन्द्रागिरि पहिलो भएको बताइएको छ ।

नगरपालिकाले विसं २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएका एवं पुराना संरचनाको विद्यालय भवनलाई भत्काई नयाँ भवन बनाइसकेको छ । शैक्षिक सुधार अभियान जारी राखेको नगरपालिकाले विद्यालयमा इन्टरनेटसहित कक्षाकोठामा स्मार्ट बोर्ड जडान एवं आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गर्ने नीति लिएको छ ।

यसै क्रममा चन्द्रागिरि–२ बाडभञ्ज्याङस्थित श्रीभीम माध्यमिक विद्यालयको बालविकास कक्ष सबलीकरण गरिएको छ । नगरपालिकाको रु दुई लाख ६५ हजार आर्थिक सहयोगमा सो विद्यालयमा बालविकास कक्ष सबलीकरण भएको हो । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बालविकास कक्ष सबलीकरण २०८० को उद्घाटन गर्नुहुँदै सबै सामुदायिक विद्यालयका बालविकास कक्ष नयाँ शैक्षिक सत्र सुरुहुनु अगाडि नै सबलीकरण भइसक्ने जानकारी दिनुहुँदै यस्ता कक्षमा समान पाठ्यपुस्तक, खेलसामग्री, स्मार्ट बोर्ड रहने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा सबै सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान दिऔँ । अबका दिनमा सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाको ध्यान गएको छ । कक्षाकोठामा क्रमशः स्मार्ट बोर्ड राखिने, आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गरिने छ ।” चन्द्रागिरिको शैक्षिक उन्नयनमा करिब ३६ वर्ष व्यतीत गर्नुभएका प्रमुख गिरीले मौलिक जीवन उपयोगी, सीपमूलक, प्रविधियुक्त शिक्षाका लागि बलम्बुमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख वसन्ती श्रेष्ठले राज्यको लगानीअनुसार सामुदायिक विद्यालयले नतिजा किन दिन सकिरहेका छैनन् भन्ने प्रश्नको जवाफ सामुदायिक विद्यालयका प्रधानाध्यपक, शिक्षक, अभिभावक सबै दिनुपर्छ भन्नुहुँदै विद्यालयमा नैतिक शिक्षा र विद्यालयका गतिविधिका बारेमा समय समयमा अभिभावक ल्याएर घुमाउन सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि सोच, स्रोत र ऊर्जा आवश्यकता पर्नेमा जोड दिँदै यी तीन कुराको समन्वय गर्न र सामुदायिक विद्यालय निजीभन्दा अब्बल छन् भन्ने कुरा देखाउन आफ्नोतर्फबाट सहयोग गर्ने बताउनुभयो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा निर्देशक सुजनराज खनालले नयाँ शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ भइसक्ने जानकारी दिनुहुँदै यस्ता विद्यालयको शैक्षिक उन्नतिका लागि नगरपालिकाले आफ्नो स्रोत, साधनले भ्याएसम्म सहयोग गर्ने जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यपक इन्द्रप्रसाद काप्रीले विद्यालयले विद्यार्थी फेल नगर्ने र विद्यार्थीले पनि कक्षा दोहो¥याउन नपर्ने स्थिति रहेको, विद्यालयमा खेल्दै पढ्दै, पढ्दै कमाउँदै वातारण रहेको, आफ्नो स्रोतबाट विद्यालय बसको व्यवस्था गरिएको र वार्षिक ‘क्यालेन्डर’अनुसार विद्यालय सञ्चालन भइराखेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्ट, चन्द्रागिरि–२ का कार्यवाहक वडाध्यक्ष जयबहादुर तामाङ, वडा सदस्य बलराम सुवेदी, कार्यपालिका सदस्य चन्द्रकुमारी बस्नेत, सानुकान्छा परियारलगायत अभिभावक एवं विद्यार्थीको सहभागिता रहेको थियो ।

नेपाली सेनाले यस वर्ष हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने

काठमाडौँ, २५ चैत : नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने छ ।

नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर सङ्कलन गर्ने योजना रहेको जानकारी दिएको छ । सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । उनीहरुमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् ।

फोहर सङ्कलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ । सगरमाथाको आठ हजार मिटर उचाइसम्म पुगेर फोहर सङ्कलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी अदित्य कार्कीले बताउनुभयो ।

यही चैत २९ गतेदेखि सुरु हुने फोहर सङ्कलन अभियान ५० दिनसम्म सञ्चालन हुने छ । सो अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुने छ । खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा सङ्कलित कुहिने फोहर नाम्चेमै र नकुहिने फोहर काठमाडौँ ल्याएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ । यस्तै मानव शव सगरमाथाको दोस्रो शिविरबाट हेलिकप्टरमा आधार शिविर ल्याइने र त्यहाँबाट लुक्ला लगेर शव पहिचान गरेर सम्बन्धितको जिम्मा लगाइने छ । विदेशीको शव भए गृह मन्त्रालयमार्फत प्रक्रिया पु¥याएर पठाउने व्यवस्था मिलाइने सेनाले जनाएको छ ।

सन् २०२३ मा सफाइ हिमाल अभियानअन्तर्गत सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइ गरेको थियो । ती हिमालबाट ३५ टन फोहर सङ्कलन गरिएको थियो । सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा नेपाली सेनाले विभिन्न हिमालबाट झण्डै ११ टन फोहर सङ्कलन गरेको थियो ।

कोभिड–१९ का कारण सन् २०२० को सफाइ अभियान भने रोकिएको थियो । सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि र अमा दब्लम हिमालबाट २७ दशमलव ६ टन फोहर सङ्कलन गरिएको थियो । त्यस्तै, सन् २०२२ मा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गरेको थियो ।

भारतको गुजरातलाई १८ रनले पराजित गर्दै मैत्रीपूर्ण क्रिकेटको उपाधि नेपालले जित्यो

काठमाडौँ, २५ चैत : भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा आज भएको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनायो । नेपालले दिएको एक सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो ।

नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । यसक्रममा उनले ४७ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक एक विकेट लिए ।
गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।

पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै

वीरगञ्ज (पर्सा), २५ चैतः पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले निकुञ्जलाई २०७४ सालमा देशको १२औँ संरक्षित क्षेत्रका रूपमा घोषणा गरेको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताउनुभयो । “विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा भारतका पर्यटक आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”

चालु आर्थिक वर्षको आठ महिनामा छ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटक छन् । अघिल्लो आवको आठ महिनामा एक सय ४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए । आव २०७९÷८० मा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए ।

निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन् । निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटेबाघसहितका जन्तुको सङ्ख्या पनि वृद्धि भएको छ ।

निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको सङ्ख्या बढेको हो । कुल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरिएको छ ।स्थानीय संस्कृतिअनुसार सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ ।

प्रमुख शक्तिबीच अहिले भइरहेका घटनाक्रमले निराशा पैदा गरेको छः सांसद थापा

काठमाडौँ । मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले अघि बढेको छ । निर्वाचनमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच संविधानको रक्षा गर्दै सङ्घीयतालाई प्रभावकारी रूपमा अघि बढाउने कार्यसूची र प्रतिबद्धतासहितको चुनावी तालमेललाई मतदाताले अनुमोदन गरेका थिए । सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न नपाउँदै गठबन्धन भत्किने अवस्था बन्यो । फेरि जोडियो, अहिले पुनः भत्किएको अवस्था छ । निर्वाचनका बेला राजनीतिप्रति देखिएको उत्साहलाई प्रमुख शक्तिबीच अहिले भइरहेका घटनाक्रमले निराशा पैदा गरेको छ । गठबन्धनका नाममा हुने यस्ता घटनाले जनतालाई धोका दिइरहेको महसुस हामीले गरेका छौँ ।

सङ्घीय संसद्को जारी विधेयक अधिवेशन भए पनि कानुन निर्माणका सन्दर्भमा सुस्त नै देखिएको छ । संविधान र सङ्घीयता कार्यान्वयनका सिलसिलामा अझै ४० भन्दा बढी महत्त्वपूर्ण विधेयक टुङ्ग्याउनुपर्ने छ । हामी अहिले पनि मुख्य जिम्मेवारी कानुन निर्माणभन्दा सत्ता समीकरणको खेलमा लागेका छौँ । सदनका सम्पूर्ण कामकारबाही ओेझेलमा परेका छन् । राजनीतिक दलले संसदीय व्यवस्था र संसद्प्रति खेल्नुपर्ने भूमिका ओझेलमा परेको छ । सांसदको प्रमुख भूमिका भनेको कानुन निर्माण नै हो । कानुन निर्माणसँगै संसद्को अरु पनि भूमिका हुन्छ । जनता र समाजसँग प्रत्यक्ष जोडिएका सामाजिक, आर्थिक र विकासका विषयमा पनि सांसदको सहभागिता रहन्छ । दलीय व्यवस्थामा पार्टीको ह्वीप लाग्छ । हुन त सांसद स्वतन्त्र र सार्वभौम हुनुपर्ने हो । हामीलाई पनि कतिपय विषयमा चित्त बुझिरहेको अवस्था होइन, तर पनि दलको निर्देशनलाई बेवास्ता गरेर जान सक्ने अवस्था हुँदैन । हामीले जति विधायकको रूपमा भूमिका निर्वाह गर्नुपथ्र्याे त्यो नभइरहेको अनुभूति छ ।

हामीले अभ्यास गरिरहेको संसदीय प्रणाली उत्कृष्ट राजनीतिक व्यवस्था हो । यसको गरिमा र अभ्यासप्रति हामीलाई गौरव छ । संसदीय व्यवस्थाको संस्कारअनुसार हामीले यसलाई अघि बढाउन सकेनौँ । विगतका राजनीतिक व्यवस्था परिवर्तनका सहयात्रीबीच सदनमा हार्दिकताका साटो देखिइरहेको आरोप—प्रत्यारोपको घटना पक्कै पनि दुःखदायी छ । संसदीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप हुनु स्वाभाविक मानिएता पनि नेपालमा भने स्वार्थ केन्द्रित भएर त्यो हुने गरेको छ । आफूले गरेका सबै ठिक अरुले गरेका सबै बेठिक भन्ने चलन र मानसिकता दलहरूमा देखिन्छ । यो व्यवस्थाको विकल्प नभएकाले थप सुदृढ र सुन्दर बनाउनेतर्फ सबै लाग्नुपर्छ । यही व्यवस्थाबाट मुलुकलाई विकास र समृद्धिमा पुर्याउनुपर्छ । त्यसका लागि प्रमुख परिवर्तनकारी दलहरू राष्ट्र निर्माण र जनताका समस्या सम्बोधन गर्ने मामिलामा एक ठाउँमा उभिनुपर्छ ।

प्राप्त अवसरको सदुपयोग गर्नुपर्छ, चुक्न हुन्न । संविधानसभाबाट संविधान बनाउने बेलाजस्तै एकढिक्का हुनुपर्छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै राजनीतिक एजेण्ड समाप्त भएको छ । अब सबै शक्ति मिलेर आर्थिक क्रान्तिको बाटोमा मुलुकलाई अघि बढाउनुपर्छ । देशलाई उत्पादनसँग जोड्नुपर्छ, युवा र बौद्धिक शक्तिलाई परिचालन गर्नुपर्छ । सत्ताको खेल र राजनीतिक स्वार्थ नत्यागेसम्म मुलुक बन्दैन ।

आर्थिक, परराष्ट्र, रोजगारी, कृषि, पर्यटनलगायत क्षेत्रको विकास र विस्तारमा प्रमुख दलहरू एक ठाउँमा बसेर २० वर्षको खाका तयार पारेर काम गर्नुपर्छ । त्यो भएमा नेपाली जनताको मुहारमा उज्यालो छर्न सक्छौँ । होइन, अहिलेकै जस्ता सरकार गठन गर्ने र ढाल्ने अभ्यास जारी राखियो भने अझै अप्ठ्यारो र चुनौतीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

देशको प्रमुख शत्रुका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबैभन्दा पहिला राजनीतिक नेतृत्व सच्चिनुपर्छ । त्यसो भएमा कर्मचारीतन्त्र स्वतः सच्चिन्छ । भ्रष्टाचार किसान र मजदुरले गरेका छैनन् । जो टाठोबाठो छ, जसले पढेको छ, जसले नेतृत्व लिएको छ, तिनले नै भ्रष्टाचार गरेका छन् । त्यो भनेको कि राजनीतिक दल छन् कि कर्मचारीतन्त्र छ ।

संविधानले व्यवस्था गरेको मौलिक हकलाई आधार बनाएर जनतालाई सेवासुविधा उपलब्ध गराउने र भ्रष्टाचारमा निर्मम भएर उभिनुपर्छ । अहिले नेपालमा भ्रष्टाचार प्रमुख शत्रुका रूपमा छ । वडामा टोल विकास समितिदेखि राज्यको उच्च निकायसम्म भ्रष्टाचार छ । यसलाई न्यूनीकरण गर्न सेवा र त्यागको भावना हुनुपर्छ । उदाहरण संसारको दिन्छौँ, आफू केही गर्दैनौँ । देशलाई विकासको शिखरमा पुर्याउन कति पुस्ताले त्याग गरे । त्यो मनन गर्नुपर्छ । यो पुस्ताले त्याग नगर्ने हो भने अर्काे पुस्ताले पनि गर्दैन । समाज र राष्ट्रपति समर्पित भई भ्रष्टाचार न्यूनीकरण गर्न राजनीतिक स्थिरता, कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप अन्त्य र बलियो सरकार हुनुपर्छ ।

नेपाली जनताको चेतनासँग जोडिएकाले हाल अभ्यासमा रहेको निर्वाचन प्रणालीमा केही सुधार गर्नुपर्छ भन्ने लाग्छ । कस्तो व्यक्तिलाई नेता बनाउने, कस्तालाई नेतृत्वमा पठाउनेभन्दा पनि पैसा लिएर, भोज खाएर, विकाससँग साटेर मत हाल्ने अभ्यासले जरा गाडेको छ । अहिलेको निर्वाचन प्रणालीले निष्ठाको राजनीति ओझेलमा पर्छ, देश चल्न सक्दैन । केही सुधार ल्याउनुपर्छ । प्रत्येक राजनीतिक पार्टीले स्वच्छ छवि भएका, राष्ट्रलाई केही गरौँ भन्ने भावना बोकेका व्यक्तिलाई प्रोत्साहन गरौँ । इमान्दार रोजौँ ।

विश्व समुदायमा नेपालीको इमान, अनुशासन, साहस र बलिदानले ख्याति कमाएको छ, सम्मान पाएको छ । संसार अहिले नवीनतम् प्रविधिको अभ्यासमा छ । हामीले यहीँबाट विश्वलाई देखेका छौँ । प्रविधिले त्यो सम्भव गराएको छ । हामीले आफ्नो माटोप्रतिको भावना र राष्ट्रपतिको माया जगाउन सक्नुपर्छ । हाम्रो ठूला सङ्ख्यामा युवा र बौद्धिक शक्ति बाहिर गइरहेको छ । जसले त्यहाँको माटो र बाटो बनाउन योगदान गरिरहेका छन् ।

युवा र विद्यार्थी विदेश पलायनले हाम्रो देश बनाउने कसले भन्ने प्रश्न उठेको छ । हामीले युवालाई राष्ट्रिय भावनाले ओतप्रोत बनाउन सक्नुपर्छ । तलदेखि माथिसम्मकालाई यो देशमा केही गर्छु, एकछाकमात्रै खाएर पनि देश बनाउँछु भन्ने भावना जगाउनुपर्छ । विश्वका धनी देश पनि त्यत्तिकै बनेका होइनन्, त्यहाँका नेता तथा जनताको ठूलो मेहनत र तपस्या छ । यत्रो राजनीतिक परिवर्तन र विश्वमा बेग्लै पहिचान बनाउन सक्ने नेपाली आफ्नो देशको आर्थिक अवस्था बदल्न किन सक्दैनौँ भनेर अब बहसमा ल्याउनुपर्छ । त्यो सोच्ने बेला आइसक्यो ।

अहिलेसम्मको परिवर्तनमा नेपाली जनताको महत् योगदान छ । जनताका निराशा केही समयभित्रै अन्त्य गर्नुपर्छ । अब हामी सबै देश बनाउन जुटौँ । हामी देश र जनताको हितका लागि इमान्दार भएर लाग्छौँ । तपाईँहरू पनि साथ दिनुहोस् । स्थानीय तहदेखि केन्द्रसम्मका सबैले देशको चौतर्फी विकासका निम्ति राष्ट्रिय सङ्कल्प गरौँ, देश बनाऔँ ।


सांसद राजु थापासँग नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।

गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउने मटिहानीका गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

महोत्तरी, २५ चैत : सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् ।मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् । मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको हो ।

“हमरोसबके सुखके दिन आयल, आब सबदिन गोबरक पथरीके धुवाँमे नइ कान परत” (हाम्रा पनि सुखका दिन आएछन्, अब सब दिन गोबरको पथरी, गुइँठाको धुँवामा रुनु परोइन) मटिहानी–९ सिमरदहीकी अति विपन्न डोम समुदायकी पुनमदेवी मररले भन्नुभयो । पुनमजस्तै मटिहानी–१ धिरापुरकी पूmलोदेवी मण्डल, मटिहानी–६ की सजिरा खातुन र मटिहानी–८ की अनिता महराले पनि अब पानी पर्दा, अपर्झट पाहुना आउँदा राहत मिल्ने आश गर्नुभएको छ । “बारिस भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत” (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला) सजिरा खातुनले भन्नुभयो । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।

मटिहानीको अतिविपन्न परिवारलाई ग्यासचुल्हो सो क्षेत्र (महोत्तरी–३) कै प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गर्नुभयो । कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष डा मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ग्यासचुल्हो वितरण कार्यक्रममा सांसद ठाकुरले भारत सरकारको उदात्त सहयोगले विपन्न परिवारलाई महत् सहयोग पुगेको बताउनुभयो । उहाँले नेपाल–भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभइ सुखदुःखका सबैभन्दा नजिकका साथी हुन् भन्नुभयो । कार्यक्रम मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको थियो । निस्कनु पर्दैन होला) सजिरा खातुनले भन्नुभयो । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यासचुल्हो पाएका छन् ।

मटिहानीको अतिविपन्न परिवारलाई ग्यासचुल्हो सो क्षेत्र (महोत्तरी–३) कै प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गर्नुभयो । कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष डा मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ग्यासचुल्हो वितरण कार्यक्रममा सांसद ठाकुरले भारत सरकारको उदात्त सहयोगले विपन्न परिवारलाई महत् सहयोग पुगेको बताउनुभयो । उहाँले नेपाल–भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभइ सुखदुःखका सबैभन्दा नजिकका साथी हुन् भन्नुभयो । कार्यक्रम मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको थियो ।

मेटल उद्योग आगलागीः मृतकको परिचय खुल्यो, १० लाख क्षति

काठमाडौँ, २५ चैत : ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभएको छ ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्नुहुन्थ्यो । आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताउनुभयो । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

काठमाडौँ, २५ चैतः आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टस हारेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका हुन् ।

तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको छ । आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।

नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रुपेश, रिजन, विकास आग्री छन् ।

गुजरातसँग भिड्दै नेपाल

भारतमा जारी एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपाली क्रिकेट टोलीले गुजरातसँग खेल्दैछ । लिग चरणका तीन खेलमा जित निकाल्दै नेपाल विजेताका रूपमा फाइनलमा पुगेको हो भने गुजरात दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाबीच प्रतिस्पर्धा भएको थियो । लिग चरणका चार खेलमध्ये तीन खेलमा विजयी भएको नेपाल अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो ।

पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएको गुनासो

बेलबारी (मोरङ), २५ चैत : सरकारले विद्यालयतहको शिक्षामा कम्तीमा तीन वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिका जारी गरेको भए पनि हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु हुने समयमा पुस्तक फेर्ने होडबाजी निजी विद्यालयहरूमा चल्ने गरेको छ । सरकारी निर्णयको अवज्ञा भएको तथा सम्बद्ध निकायले पनि त्यसलाई कार्यान्वयन नगरेको अभिभावकहरूले गरेका छन् ।

नयाँ शैक्षिकसत्र सुरु हुन लागेको सन्दर्भमा पाठ्यपुस्तक परिवर्तनको प्रमुख कारण निजी प्रकाशन र विद्यालयबीच कमिसनको चक्कर रहेको बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे बताउनुहुन्छ । प्रकाशकसँग झण्डै पचास प्रतिशतसम्म कमिशन लिएर विद्यालयले बर्सेनि पाठ्यपुस्तक फेरेर अभिभावकलाई मारमा पार्ने गरिएको छ”, संयोजक घिमिरे बताउनुहुन्छ ।

“पाठ्यपुस्तकको व्यापारका लागि प्रधानध्यापकलाई लोभ्याउने विकृति देशभरि देखिएको छ, शैक्षिक क्षेत्रका लागि यो लाजमर्दो विषय हो ”, उहाँले भन्नुभयो । अन्ततः यो सबै खर्चको भार बर्सेनि नयाँ पाठ्यपुस्तक किन्ने अभिभावकले व्यहोर्नुपरेको छ”, संयोजक घिमिरे बताउनुहुन्छ ।

निजी विद्यालय अभिभावकबाट शुल्क उठाएर चल्ने भएकाले शुल्कमा समयानुकूल परिमार्जन हुँदै जानु स्वाभाविक नै देखिन्छ । कतिपय विद्यालयले थोरै शुल्क लिएर पनि गुणस्तरीय शिक्षा दिइरहेका छन् । शिक्षकलाई तलब दिन हम्मेहम्मे परेका विद्यालय पनि छन् तर तिनले गुणस्तरीय अध्यापनमा कुनै सम्झौता गरेका नगरेका संयोजक घिमिरे बताउनुहुन्छ ।

“गत वर्षमात्र निजी विद्यालयको शुल्क र पाठ्यपुस्तक परिवर्तन भएको छ, एकपटक लागू गरिएका पाठ्यपुस्तक कम्तीमा दुई वर्ष र शुल्क तीन वर्ष परिवर्तन गर्न पाइँदैन भनिएको छ त्यसैले यस वर्ष कुनै पनि निजी विद्यालयमा पाठ्यपुस्तक र शुल्क बढाउन मिल्दैन,” अभिभावक सङ्घ कोशी प्रदेश संयोजक देवी पन्थीले भन्नुभयो । कक्षा १० को अधिकतम मासिक शुल्क रु दुई हजार आठ सय र कक्षा ११ र १२ को अधिकतम मासिक शुल्क रु तीन हजार नौ सय निर्धारण गरिएको छ । सोभन्दा बढी लिएको पाइएमा उक्त विद्यालयलाई स्थानीय पालिकामा उजुर गरेर कारबाहीको माग हुने संयोजक पन्थी बताउनुहुन्छ ।

शिक्षित युवालाई रोजगारी दिइरहेका निजी विद्यालयलाई हेर्ने दृष्टिकोण बदल्न नसकिएको गुनासो गर्दै निजी विद्यालयका लगानीकर्तालाई शैक्षिक माफियासमेत भन्ने गरिएको बताउँदै सबै विद्यालयलाई एउटै डालोका हाल्नु अज्ञानताको पराकाष्ठा भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठनका अध्यक्ष नारायणप्रसाद ढकाल बताउनुहुन्छ । मोरङमा पुस्तकको छनोट गरी र स्तरीय पुस्तक लिने र सरकारले पाठ्यक्रम परिवर्तन गरेपछि मात्र सरकारी निर्णयअनुरुप हुने अध्यक्ष ढकाल बताउनुहुन्छ ।

पछिल्लो समय कतिपय निजी विद्यालयले गुणस्तरभन्दा विद्यार्थीको सङ्ख्यामा जोड दिनाले त्यस्ता विद्यालयमा स्थानीय पालिकाले थप अनुगमन बढाउनुपर्ने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतम बताउनुहुन्छ । एउटा शिक्षकले सामुदायिक विद्यालयमा बढीमा एकपटकमा ५५ विद्यार्थी र निजीमा बढीमा ३० जनामात्र विद्यार्थीलाई पढाउने व्यवस्था रहेको प्रमुख गौतमले बताउनुभयो ।

“सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थी भर्ना अभियान र समग्र शैक्षिक गतिविधिलाई स्वस्थ प्रतिस्पर्धाका लागि स्वच्छ शैक्षिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न तथा त्यसो भएनभएको निक्र्योल गर्न निरन्तर अनुगमन गर्दै आएका छौँ”, लेटाङ नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख कृष्णराज राई बताउनुहुन्छ । संस्थागत विद्यालयले कानुनको परिधिमा रहेर गरेका असल कामको प्रशंसा गर्दै हरेक शैक्षिकसत्रमा पोशाक र पाठ्यपुस्तक परिवर्तन गर्ने प्रवृत्ति नरहेको लेटाङमा नभएको उहाँ बताउनुहुन्छ ।

निर्धारित मापदण्ड उल्लङ्घन गरेको पाइएमा कारबाहीको दायरामा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको दोहो¥याउँदै शाखा प्रमुख अनुगमन र शिक्षक सहायतालाई गुणात्मक बनाउन कर्मचारी, विषयविज्ञ शिक्षक परिचालन गरिएको बताउनुहुन्छ । विद्यालयहरूको निरन्तर अनुगमन भइरहेको उहाँको दाबी छ ।

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर, २५ चैत (रासस) : विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् ।

पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको बताउनुभयो । ‘‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो ’’, हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ भएको बताउँदै उहाँले भन्नुभयो । उहाँले पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोशाक उपलब्ध गराउने बताउनुभयो ।

कलाकार रङ्गी थापाले पुतला खेल आफूहरुको मौलिक खेल भएको बताउँदै सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान हो भन्नुभयो । छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिने यो खेललाई पर्वका रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा पङ्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ । पुतलासँगै महिलाहरुले न्याउल्या खेल पनि खेल्ने गर्छन् । सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृितलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताउनुहुन्छ । ‘‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ ।’’

जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गराएका हुन् । मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झदै पुतला खेल्न लगाएका थिए । त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आउनुभएकी चन्द्रा भण्डारीले राससलाई बताउनुभयो ।

डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थाल्यो

डोटी, २५ चैतः डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ ।

विसं २०६१ देखि कृषिकर्म गरिरहनुभएका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गर्नुभएको थियो । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उहाँले बताउनुभयो ।

बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताउनुभयो । “बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु, महराले भन्नुभयो ।” एक दिन काम गरेबापत एक जनालाई आठ केजी प्याज दिने सहमति भएको उहाँले बताउनुभयो । उहाँले सिजनमा रु २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा रु ४५ देखि ८० प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आउनुभएको छ ।

प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ ।”

महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गर्नुभएको छ । पहिलोपटक एक सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन् । महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो ।

महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उहाँलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताउनुभयो । महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभएको छ । किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिनुभयो ।

यसैगरी, बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ । उहाँले काटैस्थित मौडामा प्याजखेती गरिरहेको बताउनुभयो । उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर कृषि पेशा गरिरहनुभएका बमले तीन वर्षदेखि प्याजखेती गर्न थाल्नुभएको हो । बमले थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको बताउनुभयो ।

दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गर्नुभएको छ । उहाँले छ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको राससलाई बताउनुभयो । लसुनप्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उहाँले सुनाउनुभयो ।