`

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

बारा, २५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिनुभयो ।

अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ : खानेपानीमन्त्री राई

धनकुटा,-खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभएको छ । साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मन्त्री राईले ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको खानेपानी समस्या समधान गर्ने बताउनुभएको हो ।

“अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, “ यसका लागि मैले योजना बनाउन निर्देशन दिइसकेको छु ।” हालसम्म मन्त्रालयमा १० हजारभन्दा बढी खानेपानी समस्या समधानका लागि मागपत्र रहेको र ती सबै समस्यालाई क्रमशः समाधान गरिने उहाँको भनाइ थियो । मन्त्री राईले धनकुटाको खानेपानी समस्या समधान आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

मन्त्री राईलाई आज बिहान साँगुरीगढी वडा नं ५ को डाँडाबजारमा रहेको भानु उच्च माविले बधाई तथा सम्मान गरेको थियो । सो कार्यक्रममा राईले सो वडाको डाँडाबजारमा रहेको खानेपानी व्यवस्थापनका लागि रु एक करोड बजेट उपलब्ध गराउने बाचा गर्नुभयो ।

चालु आर्थिक वर्षमा बजेट उपलब्ध गराउन नसके पनि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने मन्त्री राईले जानकारी दिनुभयो । त्यस्तै मन्त्री राई चौबीसे गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चौबीसे गाउँ कमिटीले गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुनुभएको थियो ।

मन्त्री राईले आजै सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रम र चौबिसे गाउँपालिकाको सहयोगमा रु एक करोड ९७ लाख लागतमा नवनिर्मित पुण्य माविको १२ कोठे भवन उद्घाटन गर्नुभयो ।

क्विटोस्थित दूतावासमा प्रहरी आक्रमणपछि मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्यो

भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चाल्नुभएको छ ।

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आउनुभएका जर्ज ग्लासलाई गिरफ्तार गर्नका लागि इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेपछि राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले शुक्रबार साँझ इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभयो ।

घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास सम्भवतः इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुनुहुन्छ र इक्वेडरका अधिकारीहरूले अहिले पनि उहाँविरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन् । इक्वेडरको राजधानीमा मेक्सिकाली कूटनीतिक मुख्यालयबाहिर ढोका फोरेर ग्लासलाई लिन प्रहरी मुख्य आँगनमा प्रवेश गरेको थियो ।

“यो सम्भव छैन, यस्तो हुन सक्तैन, यो पागलपन हो”, क्विटोमा मेक्सिकाली कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई भन्नुभयो, “उनीहरूले ग्लासलाई मार्न सक्छन् भनेर म अत्यन्त चिन्तित छु, यस्तो गर्ने कुनै आधार छैन, यो सम्पूर्णरूपमा मानकभन्दा बाहिर छ ।”

आफ्नो फैसलाको बचाउ गर्दै इक्वेडरका राष्ट्रपतिले एक विज्ञप्तिमा भन्नुभयो, “इक्वेडर एक सार्वभौम राष्ट्र हो र हामी कुनै पनि अपराधीलाई स्वतन्त्र रहन अनुमति दिने छैनौँ ।”
मेक्सिकाली राष्ट्रपति लोपेज ओब्रेडोरले ग्लासको हिरासतलाई ‘तानाशाही कार्य’ र ‘अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको घोर उल्लङ्घन’ भन्दै जवाफ फर्काउनुभयो ।

मेक्सिकोको विदेश सम्बन्ध सचिव एलिसिया बार्सेनाले सामाजिक सञ्जाल एक्समा प्रहरी दूतावास प्रवेश गर्ने क्रममा धेरै कूटनीतिज्ञलाई चोट लागेको भन्दै यसले कूटनीतिक सम्बन्धमा भियना महासन्धिको उल्लङ्घन गरेको बताउनुभयो ।

भियना महासन्धिअन्तर्गत कूटनीतिक परिसरहरू ‘अभेद्य’ मानिन्छन् र स्थानीय कानून प्रवर्तन एजेन्सीलाई राजदूतको अनुमतिबिना कूटनीतिक परिसरमा प्रवेश गर्ने अनुमति छैन । विकिलिक्सका संस्थापक जुलियन असान्जे सात वर्षसम्म लन्डनस्थित इक्वेडरको दूतावासभित्र बस्नुभएको छ । त्यसैले बेलायती प्रहरी उहाँलाई पक्राउ गर्न दूतावासभित्र प्रवेश गर्न सकेन ।बार्सेनाले मेक्सिकोले अन्तर्राष्ट्रिय कानून उल्लङ्घनका लागि इक्वेडरको जिम्मेबारीलाई निन्दा गर्न मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने जानकारी दिनुभयो । उहाँले मेक्सिकाली कूटनीतिज्ञहरू इक्वेडर सरकारबाट उनीहरूको घर फिर्तीका लागि आवश्यक ग्यारेन्टी प्राप्त गर्न पर्खिरहेको बताउनुभयो ।

इक्वेडरको विदेश मन्त्रालय र गृह मन्त्रालयले यसबारेमा तत्काल कुनै जवाफ दिएका छैनन् । क्विटोमा मेक्सिकाली दूतावास शुक्रबार राति प्रहरीको सुरक्षामा रह्यो ।

एक दिनअघि मेक्सिकोका राष्ट्रपतिले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ निर्वाचित भएको गत वर्षको निर्वाचनलाई इक्वेडरले ‘धेरै दुर्भाग्यपूर्ण’ ठानेको बताएपछि दुई मुलुकबीच तनाव बढेको थियो । जवाफमा इक्वेडर सरकारले मेक्सिकाली राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ ।

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार बताएको छ । कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् ।

नबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ ।रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताउनुभयो ।

अधिकारीहरूले ओरेनबर्गमा युराल नदीमा खतरनाक जलस्तरको चेतावनी दिँदै सम्पूर्ण क्षेत्रमा स्थिति कठिन भएको बताएका छन् । पाँच लाख जनसङ्ख्या भएको सहरका मेयर सर्गेई सालमिनले बाढीग्रस्त क्षेत्रबाट निकाल्ने आदेशलाई अस्वीकार गर्ने मानिसलाई अधिकारीहरूले जबरजस्ती बाहिर निकाल्ने बताउनुभयो ।

उहाँले युराल नदीको जलस्तर आठ सय ५५ सेन्टिमिटरसम्म बढेको र अझ बढ्ने बताउनुभयो । उहाँका अनुसार सहरका धेरै जिल्ला र वरपरका गाउँहरू प्रभावित हुने सम्भावना छ ।

“स्थितिले तपाईंलाई कुनै विकल्प छाड्दैन, राति नदी गम्भीर स्तरसम्म पुग्न सक्छ, म बाढीग्रस्त क्षेत्रका सबै मानिसलाई तुरुन्त आफ्नो घर छाड्न आह्वान गर्दछु”, मेयर सालमिनले भन्नुभयो, “सम्झाउने कुनै समय छैन, जसले स्वेच्छिकरूपमा खतरनाक क्षेत्र छाड्न अस्वीकार गर्छ, हामी प्रहरी अधिकारीको सहयोगमा जबरजस्ती खाली गराउने छौँ ।”

कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले बाढी कजाकिस्तानमा ८० वर्षमा सबैभन्दा प्राकृतिक प्रकोपमध्येको एक भएको बताउनुभयो । उहाँले मुलुकका अधिकारीहरूसँग प्रभावित मानिसहरूको सहयोगका लागि तयार रहन आह्वान गर्नुभयो ।

रुसी आपत्कालीन सेवाहरूले डुङ्गा र होभरक्राफ्टमा गाउँहरू हुँदै गइरहेका उद्धारकर्मीहरूको तस्बिर प्रकाशित गरेका छन् । युराल र पश्चिमी साइबेरियाका धेरै क्षेत्र वसन्त प्रारम्भदेखि नै बाढीबाट प्रभावित भएका छन् ।

‘नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको छ’: उपमहासचिव गुरुङ

लेखनाथ (कास्की) – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताउनुभएको छ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) कास्कीको वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको पोखरामा उद्घाटन गर्दै उहाँले नयाँ समीकरण पूरा समय टिकाएर नेपाली जनतालाई समृद्धि र सुशासनमा प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो । आगामी नर्वाचनमा एमालेलाई मुलुकको पहिलो र निर्णायक शक्ति बनाउने दाबी उहाँले गर्नुभयो ।

एमाले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता बढेकाले पार्टीको आन्तरिक जीवन व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । पार्टीका हरेक कमिटीलाई अनुशासनमा राख्दै युवा पुस्तालाई पार्टी एमालेप्रति आकर्षण गर्ने कार्यक्रम अगाडि सार्नुपर्नेमा उहाँले बताउनुभयो ।

एमालेका केन्द्रीय कमिटीका सदस्य तथा पीपीएलएका इञ्चार्ज रमेश वडालले सङ्गठनको मुख्य काम नेपाल बार एशोसियशनको निर्वाचन सफल बनाउने बताउनुभयो । एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले सङ्गठनले पार्टीका लागि कानुनी सल्लाहकारको रुपमा काम गरेको बताउनुभयो ।

साथै अधिवेशनले अध्यक्ष मदनप्रसाद तिवारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, खुला सचिवमा रुद्र कुँवर, महिला सचिवमा सुष्मा ओझा, कोषाध्यक्षमा भूपराज पोखरेल चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा ईश्वरी पौडेल, खगेन्द्रराज घिमिरे, दधिराम पौडेल, गोविन्द काफ्ले, दीपक शर्मा पौडेल, सङ्गीता काफ्ले, रमेशप्रसाद शर्मा, प्रदीप अधिकारी, कविता शर्मा अधिकारी, कुञ्जनी परियार प्यासी चयन हुनुभएको छ ।

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ: महासचिव विप्लव

अत्तरिया (कैलाली)-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राख्नुभएको छ । सो पार्टी निकट युवा सङ्गठन नेपालद्वारा सनिबार धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उहाँले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताउनुभयो ।

“माओवादी मिल्नुपर्छ भन्ने झुपडी÷झुपडी र घर÷घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ”, उहाँले भन्नुभयो । उहाँले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताउनुभयो ।

समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उहाँले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताउनुभयो ।

“जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्”, उहाँले भन्नुभयो, “हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन”, उहाँले भन्नुभयो, “हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ÷सात करोड मान्छेलाई खान पुग्छ ।”

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ,२५ चैत: मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो ।

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्र क्लबले रु ११ लाख र साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता थियो ।

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

भरतपुर (चितवन) – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा शनिवारदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उहाँले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँहरुको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ ।”

लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताउनुभयो । देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हकअधिकारको सुनिश्चितता गरेको जनाउँदै उहाँले राजनीतिक उपलब्धिलाई समाज रुपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताउनुभयो ।

शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन भएको जनाएको छ ।

आयोगका अनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष छन् ।

बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । जसमध्ये एक महिला र ११ पुरूष रहनु भएको छ ।

आयोगका अनुसार यही चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते शनिबारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ । आयोगले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदातामा आह्वानसमेत गरेको छ ।

चुरेका गाउँको विकास गर्न मदन भण्डारी राजमार्गको अवधारणा ल्याइएको होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी राजमार्ग चुरे क्षेत्रको पिछडिएको गाउँवस्तीका विकास तथा स्थानीय जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महत्त्वपूर्ण योजना भएको बताउनुभएको छ ।

सो राजमार्गको स्थलगत भ्रमणका क्रममा उहाँले राष्ट्रिय महत्वका योजनामा राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सडक निर्माणको क्षेत्रभित्र रेखाङ्कन गरिएका रुख हटाउन, तिरिङ र मेचीखोलामा पुल निर्माण अगाडि बढाउ र पाटापुरलाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक तथा सामाजिक कार्यक्रमको सिलसिलामा झापा–इलाम पुग्नुभएका खनालले निर्माणाधीन मदन भण्डारी राजमार्गको अर्जुनधाराबाट पाटापुर क्षेत्रको अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । अनुगमनका क्रममा विभिन्न ठाउँमा सरोकारवाला तथा स्थानीयसँग राजनीतिक तथा क्षेत्रीय विकासबारे नेता खनालले छलफल गर्नुभएको थियो ।

सोही क्रमामा उहाँले साँघुटार शान्तिपुर तिलहरे सडक, हाँसपोखरी, सारुपाखा बहुवन सडक र मेची करिडोर (सिमा सडक)को समेत जानकारी लिनुभयो ।

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौँः उपसभापति खड्का

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिलेनै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको गुनासो गर्नुभयो । उहाँले विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टीपङ्क्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने तर चुनाव जितेपछि पार्टी बिर्सने गर्नु हुँदैन”, उहाँले भन्नुभयो ।

उपसभापति खड्काले निर्वाचित भइसकेपछि पार्टी, पार्टीपङ्क्रि र कार्यकर्तालाई भूल्ने परिपाटीको अन्त्य हुन जरूरी रहेको बताउनुभयो । “निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ”, उहाँले भन्नुभयो, “यसले पार्टी सङ्गठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले निर्वाचनका बेला कांग्रेसको चुनाव चिन्ह बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्वता जनाउनुभयो । “स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गरेर छोड्छौँ”, उहाँले भन्नुभयो, “ती बाचाअनुसार भइरहेका कामबारे पार्टीका नेता तथा कार्यकर्ताहरूले जनताका बीचमा जानकारी गराउन आवश्यक छ ।”

उहाँले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गरिने बताउनुभयो । “महासमिति बैठकबाट प्राप्त सुझावलाई केन्द्रीय समितिको बैठकले पारित गरेपछि पुस्तकको रूप दिएर देशभरका पार्टी कार्यकर्ताको हातहातमा पुर्याउँछौँ”, उहाँले भन्नुभयो, “महासमिति बैठकको सुझावका आधारमा टोलदेखि केन्द्रसम्म संगठन सुदृढीकरण र पार्टी पुनःनिर्माणको अभियान सुरू गर्छाैं ।”

राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप हुँदा प्रहरी जवान गम्भीर घाइते

काठमाडौँ, २४ चैत: राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज काठमाडौँमा भएको झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए, प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।”

गम्भीर घाइते भएका प्रहरी जवान बोहराको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपाल प्रहरीको अस्पातल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताउनुभयो । झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।उक्त झपडमा प्रदर्शनकारीतर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौँ, २४ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उहाँले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताउनुभयो ।

विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले तीनै तहका सरकारको समन्वय जरुरी रहेको आँैल्याउनुभयो । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उहाँले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताउनुभयो । उहाँले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले स्थानीय तहलाई मजबुत बनाएर स्थानीय उत्पादन बढाउन केन्द्र सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारका कानुनसित नबाँझिने गरेर कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालका उद्योगमा विदेशी जनशक्ति छन्, हाम्रो जनशक्तिले तालिम नलिएका पनि छैनन्, तालिमको सदुपयोग कसैले गरेका छैनन्, यस्तो अवस्थामा हामी दक्ष जनशक्ति उत्पादन गर्न सक्दैनौँ, हाम्रा उत्पादनको बजार नभएको होइन, उत्पादनको पनि कमी छ ।”

नयाँ वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछः महामन्त्री थापा

पाटन (ललितपुर), २४ चैतः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ ।

नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ द्वारा आज महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने धारणा राख्नुभयो ।

“हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ । इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ”, उहाँले भन्नुभयो, “खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गर्छाैँ ।”

उहाँले सुशासनप्रति प्रतिबद्ध रहँदै नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताउनुभयो । “यो वर्ष सत्तामा आँखा लगाउँदैनौँ, जनताको समस्या समाधानका लागि पार्टीलाई बलियो बनाउन लागिपर्छाैँ, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागि पर्छौँ”, महामन्त्री थापाले भन्नुभयो ।

पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भन्नुहुँदै उहाँले विसं २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभएको छ ।

उहाँले पार्टीमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने र नेता तथा कार्यकर्तामा विचार र व्यवहारको शुद्धीकरण हुनुपर्नेमा जोड दिनुभयो । बाध्यतावश विदेशमा काम गर्न गएकाहरूलाई गौरव गर्न सक्ने र भरोसा दिनेगरी काम गर्न सक्नुपर्छ भन्नुहुँदै उहाँले राजनीतिक नेतृत्वले समस्याको समाधान दिनुपर्ने बताउनुभयो । नागरिकले राजनीतिकर्मीबाट पारदर्शिता र शुद्धता खोजेको छ भन्नुहुँदै उहाँले सांसद, मेयर, वडाध्क्ष निष्कलङ्क हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

पार्टीभित्र क्रियाशील सदस्य बन्न खुला वातावरण बनाउनुपर्ने बताउनुहुँदै जिम्मेवारी र पदमा आउनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले नेतृत्व चयन प्रक्रियालाई परिवर्तन गर्दै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेलले विपीको आदर्श अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । “हामीहरु विदेशी सीप, ज्ञान ल्याएर नेपाललाई समृद्ध बनाउन सक्छौँ । राजनीति भनेको जहिले पनि विचार र दर्शनमा आधारित हुन्छ, दर्शन र विचार नै बलियो नभएका पार्टीहरूसँग अल्मलिएर कांग्रेसले समय खेर फाल्नु हुँदैन”, प्रा डा पोखरेलले भन्नुभयो ।

गालीगलौजको भरमा भोट हाल्ने संस्कृति बदल्नुपर्छ भन्नुहुँदै उहाँले जनप्रतिनिधि समाजसेवा गर्न गएको प्रतिनिधि भएको बताउनुभयो ।

कांग्रेसले ल्याएको नीतिले २०४८ देखि २०५१ सम्म विकासका गतिविधि तीव्र रूपमा बढेको स्मरण गर्नुभयो । “क्षमता हासिल गर्न विदेश जाँदा दुःख मान्नुपर्दैन, तर बाध्यताले विदेशिएकाप्रति भने हामी संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले जनतामा उत्साह जगाउने काममा केन्द्रीय तहदेखि स्थानीयस्तरसम्म पार्टी नेतृत्व र कार्यसमितिले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले २०८२ सालमा महाधिवेशन हुने वातावरण तयार गर्नु आवश्यक रहेको बताउनुहुँदै समयमा महाधिवेशन भएन भने २०८४ सालको निर्वाचनमा सफल हुन कठिन हुने धारणा राख्नुभयो ।

कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले वर्ष २०८१ लाई ललितपुरमा प्रशिक्षण वर्षका रूपमा सङ्गठन परिचालन गर्ने बताउनुहुँदै पार्टीले आवश्यकतानुसारको प्रशिक्षण दिने बताउनुभयो । उहाँले अधिवेशनको समयमा भएको मतभेद, मनभेद र कमजोरीलाई लामो समयसम्म लिएर राख्नुहुँदैन भन्नुहुँदै विगतको तिक्ततालाई प्रतिशोधको भावनाले भन्दा पनि सहकार्य गर्दै एकताको भावना लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, ललितपुर क्षेत्र नं १ का सभापति सुन्दरमान थिङ, क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले मन्तव्य राख्नुभएको थियो ।

इलाम उपनिर्वाचनः एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह

मङ्गलबारे (इलाम) २४ चैतः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ ।

दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई सहयोग गर्न अपिल समेत गर्नुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरता बढेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउनुको विकल्प नभएको बताउनुभयो ।

इलामका जनताको खुसी ल्याउन उम्मेदवारीः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले यहाँ हुने उपनिर्वाचनमा उम्मेदवार दिएको बताउनुभयो । मन्त्री अर्याल उम्मेदवार मिलन लिम्बूको मनोनयनपत्र दर्ताका क्रममा आज इलाम आइपुग्नुभएको हो ।

उहाँले इलामको समृद्धि र विकासका लागि पनि युवा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । विभिन्न पार्टीका नेताहरूले आफ्नो पार्टीलाई जिताउन आग्रहसहित घरदैलो गरेर जनतासमक्ष मत मागिरहनुभएको छ ।

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा

काठमाडौँ, २४ चैतः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ ।

परिवर्तन नेपाल अभियानले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताउनुभएको हो ।

“स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले स्वास्थ्य शिविर गाउँगाउँसम्म लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले जनतामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले अभियानले विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो । सो अवसरमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीलगायतको सहभागिता रहेको थियो ।

इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ

इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले शनिबार बताएको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार उत्तरपश्चिमी प्रान्त अल्बोरेजको कारज सहरमा पक्राउ परेकाहरूमा मोहम्मद जकर पनि रहेका छन् । उनको पहिचान आइएस समूहको ‘वरिष्ठ सदस्य’ का रूपमा गरिएको थियो ।

“रमजान समारोहको अन्त्यमा आत्मघाती आक्रमण गर्ने योजना बनाइरहेका इस्लामिक स्टेट समूहका तीन सदस्यलाई अल्बोरेज प्रान्तको प्रहरीले पक्राउ गरेको छ”, आइआरएनएले भनेको छ । पक्राउ कहिले गरिएको र पक्राउ पर्नेमा विदेशी नागरिक थिए वा थिएनन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन ।

आइआरएनएले विस्तृत विवरण नखुलाई अन्य आठ ‘सहयोगी’ लाई पक्राउ गरिएको पनि जानकारी दिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले मङ्गलबार पवित्र सहर कोममा दुई कथित आइएस सदस्य पक्राउ परेको बताएका छन् ।

आइएसले जनवरीमा ९० भन्दा धेरै व्यक्तिको ज्यान जाने गरी दक्षिणी इरानी सहर करमानमा भएको दोहोरो बम विस्फोटको जिम्मेबारी लिएको थियो । उक्त आक्रमण इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका शीर्ष रिभोल्युसनरी गार्ड्सका जनरल कासिम सुलेमानीको मृत्युको वार्षिकोत्सवमा आयोजित समारोहमा भएको थियो ।

इरानले वर्षौंदेखि जिहादी र अन्य आतङ्कवादी समूहहरूसँग लड्दै आएको छ । आइआरएनएले शनिबार पाकिस्तानसँगको सीमा नजिक जिहादीहरूले गरेको हालैको आक्रमणमा मारिएका ‘शहीद’ हरूको सङ्ख्या बढेर १६ पुगेको बताएको छ । मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेका छन् ।

यसअघि सरकारी मिडियाले झडपमा १० सुरक्षाकर्मी र जैश अल–अदल जिहादी समूहका १८ सदस्य मारिएको बताएको थियो । सुन्नी मुस्लिम विद्रोही समूह जैश अल–अदलको स्थापना सन् २०१२ मा भएको थियो । उक्त समूहलाई इरान र अमेरिका दुवैले ‘आतङ्कवादी’ सङ्गठनका रूपमा सूचीकृत गरेका छन् ।

सृजनाले रङ्गियो ‘नेपाल–भारत सम्बन्ध’

काठमाडौँ, २४ चैत : काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आउनुभएको छ । उहाँ नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बन्नुभएको छ । बेलाबेलामा भारतमा जानुहुन्छ चित्र सृजना गर्नुहुन्छ फेरि नेपाल आउनुहुन्छ र सृजना गर्नुहुन्छ । यसरी जाँदा आउँदा उहाँलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै लाग्छन् ।

शेर्पाले भारतीय कलाकारसँगै काठमाडौँ आएका बेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीका क्रममा ‘सम्बन्ध’ विषयमा चित्र सृजना गर्नुभयो । उहाँले आफ्नो मावली घर भारतको दार्जिलिङ भएकाले मेची नदीलाई बीचमा पारेर दुई देशको दृश्य कैद गरी आपसी सम्बन्धलाई प्रस्तुत गर्नुभएको थियो ।

“मैले दुई देशको सम्बन्ध देखाउन खोजेको हुँ । माओली घर भारतको दार्जिलिङ हो । त्यसैले मेचीलाई साक्षी राखेर नेपाल र भारतको दृश्यचित्र कैद गरेको छु”, शेर्पाले भन्नुभयो । आफ्नो र मावली घरको सम्बन्ध कस्तो हुन्छ, त्यस्तै सम्बन्ध नेपाल र भारतबीचको छ भन्ने कुरा पस्कन खोजेको उहाँले बताउनुभयो ।

कार्यशालामा अर्का कलाकार डिबी राईले कार्यक्रम अनुसार कै विषयमा चित्र सृजना गर्नुभयो । उहाँले आदिवासी किराँत संस्कृतिलाई प्रस्तुत गर्नुभयो । जुन नेपाल र भारतमा छ । राई लिम्बूको संस्कृति नेपाल र भारतको सिक्किम, दार्जिलिङमा पनि छ । खर्साङ कालिङपोङमा पनि उस्तै छ ।

उहाँले सृजनामा किराँतेश्वरको मूर्तिलाई आधार बनाएर ‘फ्युजन’ गर्न खोजेको बताउनुभयो । गरिएको छ । राईले भन्नुभयो, “एकै भाषा र संस्कृति भएपछि सम्बन्ध यसै बलियो हुने नै भयो, मेरो सृजनाले पनि त्यही भन्छ ।”

अर्का कलाकार एनबी गुरुङले अमूर्त चित्र सृजना गरी दुई देशबीच सदिआँैदेखिको भाइचारा र आत्मिय सम्बन्धलाई प्रस्तुत गर्नुभयो । भारतका कलाकारको नेतृत्व गर्दै आउनुभएकी दीपा राईले महिलालाई विम्ब बनाएर दुई देशको आपसी भाइचाराको सम्बन्धलाई प्रस्तुत गर्नुभयो ।

कार्यशालामा सम्बन्धलाई फरकफरक दृष्टिकोणबाट भारतीय कलाकारहरु पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकास सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पाले जलरङका माध्यमबाट क्यान्भास सजाउनुभयो ।

उहाँहरुलाई नेपाली कलाकारले साथ दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा नेपाल र भारतका कलाकारको सहभागितामा सम्बन्ध शीर्षकमा तीनदिने कला कार्यशाला र प्रदर्शनी आयोजना गरेको छ ।

कार्यशालाका क्रममा आज कलाकारहरु भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पुगेका छन् । कला र सृजनाका माध्यामबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँले कलाको भाषा वा सीमा नहुने अमूर्त सम्बन्ध जस्तै हुने बताउनुभयो ।

हार्तम्छालीले सृजनालाई राजनीतिक सीमाले कहिल्यै नछेक्ने हुँदा सृजनाको भाषा विश्वमै अब्बल हुने बताउनुभयो । उहाँका अनुसार कार्यशाला र प्रदर्शनीमा १३ भारतीय र २२ नेपाली कलाकार सहभागी छन् । उनीहरुले बनाएका सृजनाहरु नक्सालमा आज पनि प्रदर्शन भइरहेको छ । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकार यहाँ आएका छन् ।

भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माण सुस्त

धुलिखेल (काभ्रेपलाञ्चोक), २४ चैत : काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिक–४ मेथिनकोटका स्थानीय माधव कँडेलले सडक विस्तारसँगै स्तरोन्नति लागि खनिएकामा निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा वरिपरिका बस्ती र सडक प्रयोगकर्तालाई समस्या भइरहेको बताउनुभयो । सडक ठेक्का सम्झौता भई काम थालेर व्यवस्थित बनाउनेतर्फ ध्यान नदिँदा यहाँका नागरिकले सास्ती व्यहोर्नुपरेको उहाँको भनाइ छ ।सोही ठाउँका प्रेमप्रसाद चिमोरियाले सडक विस्तारका लागि भनेर भत्काएपछि अहिले एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था आएको बताउनुभयो ।

“खनेपछि सोहोरेर सफा गर्दै गाडी आवतजावत गर्ने ठाउँ बनाउनु पर्ने हो । त्यसै छोडिएको छ, कामलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसो गर्नुको सट्टा खनेर बिगारेपछि महिनौँसम्म सम्याउने काम समेत निर्माण व्यवसायले नगर्दा आवागमनमा सास्ती भइरहेको छ ।”

स्थानीय कमलनाथ चिमोरियाले बसाइ लेकमा र खेतीपाती बेँसीमा भएकाले दैनिक आउजाउ गर्न नै कठिनाइ भइरहेको बताउनुभयो । भइरहेको सडकलाई खनेर बिगारेपछि समयमा काम गर्नुपर्ने भन्दै त्यासो नगर्दा आवातजावतमा कठिनाइ झेल्नुका साथै सडक आसपासका घरबस्तीमा धुलोले समस्या पु¥याइरहेको उहाँको भनाइ छ । “भएको सडक खनेर बिगा¥यो तर बनाउनेतर्फ ध्यान नै दिएनन्”, चिमोरियाले भन्नुभयो ।

स्थानीय बासिन्दा राजन पौडेलले १९ महिनाअगाडि निर्माण सुरु भए पनि भत्काएर लथालिङ्ग पारेपछि आफूहरुले समस्या भोग्दै आएको बताउनुभयो । आगामी बर्खाभरिमा बाटो सम्पन्न नगर्ने हो भने अझै सास्ती हुने भन्दै छिटो काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुले दबाब दिन उहाँले आग्रह गर्नुभयो ।

सडक डिभिजन भक्तपुरका इञ्जिनियर विन्दु अधिकारीले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नमोबुद्ध–५ च्यानडाँडासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ को याङवेलबाट चापाखोरीसम्मको छ किमी सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७९ साउन १६ गते केएस देवी रमन÷तेज जेभीले रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । विसं २०८१ साउन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।

देवी रमण निर्माण सेवाले सम्झौता गरेर काम नगर्दा समस्या भएको भन्दै हाल अर्काे निर्माण कम्पनीले कामको जिम्मा लिएपछि केही प्रगति भएको इञ्जिनियर अधिकारीले बताउनुभयो । उहाँका अनुसार सम्पन्न गर्नुपर्ने समय सकिन करिब चार महिना मात्रै बाँकी रहँदा जम्मा २२ प्रतिशत मात्रै प्रगति भएको छ । तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि ताकेता गरिरहेको भन्दै कार्यप्रगतिबारे निरन्तर अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायी सचिन बजगाईंले यसअघि सम्झौता गर्ने कम्पनीले काम छोडेपछि आफूले तीन महिनाअघि कामको जिम्मा लिएर निरन्तरता दिएको बताउनुभयो । पहिला काममा ढिलाइ भएको स्वीकार गर्दै अब कामले निरन्तरता पाउने उहाँको भनाइ छ । जनशक्ति थप गरेर कामलाई तिव्रता दिने उहाँले बताउनुभयो ।

“यसअघि १९ महिनामा जम्मा दुई प्रतिशत मात्रै काम भएकामा अहिले २२ प्रतिशत प्रगति भएको छ”, बजगाईंले भन्नुभयो, “असारसम्ममा सुरुको खण्डमा कालोपत्र सम्पन्न गर्नेछौँ । बाँकी समयमा माथिल्लो छ किमीअन्तर्गतको काम गर्छौँ ।” सो क्रममा उहाँले काम गर्ने ठाउँमा परेको विद्युत्को खम्बा, खानेपानीको पाइप, केही ठाउँमा बुद्धचित्त मालाको बोट परेको परेकाले समस्या भएको पारेको भन्दै समाधानका लागि सहयोग गर्न पालिकासँग आग्रह गर्नुभयो ।

तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले नमोबुद्ध नगरपालिकाभित्र काम भएसँगै पालिकाको सडकखण्डमा पनि काम थालनी गर्न आग्रह गर्दै बीचमा केही समस्या भएमा समन्वय गरेर सहजीकरण गर्न पालिका तयार भएको बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले निर्माण व्यवसायीले बीचमा काम छोडेकाले समस्या भएको भन्दै अहिले त्यो समस्या समाधान भएको बताउनुभयो । सडक खनेपछि व्यवस्थित नगर्ने र बीचमा काम छोड्ने गरेकाले आगलागी हुँदा वा अस्पताल पु¥याउन पनि सवारी सञ्चालन हुने अवस्था नभएको भन्दै अहिले काममा फर्किएको निर्माण कम्पनीलाई निरन्तर रुपमा काममा लाग्न दबाब दिने बताउनुभयो । काम रोकिएपछि दुई पटकसम्म सडक डिभिजन कार्यालयमा गएर कामलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरेको बताउँदै लामाले निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले कामको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको कामको प्रगती विवरण पेस गर्न आग्रह गर्नुभयो । “नागरिकको माग समयभित्र काम सम्पन्न गर्नुप¥यो भन्ने छ”, उहाँले भन्नुभयो, “काम गर्दा बीचमा आइपरेको समस्या समाधान गर्न पालिकाहरु र जिल्ला समन्वय समिति तयार छ । हामी आवश्यक सहजीकरण गर्नेछौँ । नागरिकलाई दुःख दिने काम नगरौँ ।”सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्नेछ ।

कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ : मन्त्री गिरी

काठमाडौँ, २४ चैत : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल वितरक महासङ्घको १२औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै मन्त्री गिरीले कानुनमा भएका व्यवस्थाका कारण कुनै पनि क्षेत्रलाई काम गर्न अप्ठ्यारो नहोस् भनेर सुझाव लिने संयन्त्र तयार पारिने बताउनुभएको छ ।

“देशभित्र भएका नागरिकले जुनसुकै पेसा व्यवसाय अँगाल्दा कुनै ऐन अथवा कानुनले समस्या पारेको भए त्यसलाई सहज बनाउन राज्यको दायित्व हो । कानुनी बाधाका कारण कसैलाई अवसर सृजना भएनन् र अप्ठ्यारो पारेकम छ भने सुझाव दिन मन्त्रालयले डिजिटल प्लेटफर्म बनाउन लागेको छ”, मन्त्री गिरीले भन्नुभयो, “यसरी विभिन्न क्षेत्रबाट आएका सुझाव वर्गीकरण गरेर विद्यमान कानुनमा संशोधन तथा नयाँ कानुन निर्माण गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्छौं ।”

नेपाल वितरक महासङ्घका अध्यक्ष हरिराज पन्तले विभिन्न कम्पनीबाट उत्पादित तथा आयातीत वस्तुलाई उपभोक्तासम्म पु¥याउने काम वितरकले गरिरहेका भए पनि विद्यमान वाणिज्य ऐनमा यस सम्बन्धी व्यवस्था नरहेको बताउनुभयो ।

“वितरकहरु विभिन्न ४२ जिल्लामा सङ्गठित नै भएर काम गरिरहेका छन् । नेपालको अर्थतन्त्रमा टेवा पु¥याउँदै आएको यो क्षेत्रलाई कानुनले भने चिन्दैन”, अध्यक्ष पन्तले भन्नुभयो, “विद्यमान वाणिज्य ऐनमा वितरकसम्बन्धी व्यवस्था नभएका कारण यो व्यवसायमा आबद्ध भएकाहरुले विभिन्न समस्या भोग्नु परेको छ । अवैधानिक भनेर जरिवाना तिर्नुपर्ने अवस्था छ । ढुवानीका सवारी साधन व्यवस्थापनमा उस्तै समस्या छ ।” यस क्षेत्रका व्यवसायीप्रति राज्यले हेर्ने नजर सकारात्मक नरहेको उहाँको गुनासो छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

काठमाडौँ, २४ चैत: प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपीनाथ मैनालीलगायतले विमोचन गर्नुभयो ।

कार्यक्रममा एआइजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकप्रति शुभकामना दिनुभयो ।

सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उहाँको भनाइ थियो । उहाँले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो । एआइजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पार्नुभयो ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा लुइँटेलले उपन्यास सानो भए पनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताउनुभयो । “युगीन विकृति, विसङ्गतिको यथार्थ चित्रण गरेको उक्त उपन्यास सामाजिक उपन्यास हो”, उहाँले भन्नुभयो । सरल भाषाशैलीमा लेखिएको उक्त कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उहाँको भनाइ छ ।

नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताउनुभयो । उहाँले उपन्यासभित्र भाषाशैली केही नमिले पनि उक्त कृति पठनीय रहेको उल्लेख गर्नुभयो । समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताउनुभयो ।

वरिष्ठ समालोचक एवं लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताउनुभयो । उहाँले लेखकमा साहित्यप्रति अथाह भविष्य रहेको उल्लेख गर्नुभयो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहाल, समाजका संरक्षकद्वय हरिभक्त सिग्देल र प्रा डा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इँटा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गर्नुभएको थियो ।

उपन्यासका लेखक एवं प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीले स्कुल पढ्दादेखि नै आफूलाई साहित्य क्षेत्रमा रुचि जागेकाले साहित्य क्षेत्रलाई अगाडि बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्खामा फोहरका कारण सिर्जना हुने जोखिम घटाउन पूर्वतयारी

काठमाडौँ, २४ चैतः काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ ।

वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन ब्रुमर र सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सफाइ कार्यक्रममा वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लब तथा सङ्घसंस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गुलगायत सङ्क्रमण घटाउन मद्दत हुनेछ ।

उहाँले भन्नुभयो, “हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ, यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनुपर्छ, यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फुर्त सहभागिताको अपेक्षा गरेका छौँ ।”

वडा नं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठमेललगायतका पर्यटकीयस्थल, गोङ्गबु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्कजस्ता बाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो, वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ, यसको संयोजनका लागि काम गरिरहेका छौँ ।”

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवी शर्माका अनुसार सञ्चयकोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटनमार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दुमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब चार रिक्सा माटो निकालिएको थियो ।

यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा संलग्न अधिकारीले प्रतिक्रिया दिनुभयो । सफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कामपाले अहिले केही वडाबाट फोहरको वर्गीकरण गरेर अन्तिम व्यवस्थापनका लागि काम गरिरहेको छ । उक्त कार्य ३२ वटै वडाबाट कार्यान्वयन गर्ने कामपाले जनाएको छ ।

फुकुशिमा आणविक उर्जा केन्द्रमा चुहावटपछि नयाँ प्लान्ट स्थापना गरिने


फुकुशिमा आणविक ऊर्जा केन्द्रमा दूषित पानी चुहावटको कारण प्लान्टको सञ्चालक ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी’ (टेप्को) ले रोकथामको लागि नयाँ विद्युत्तीय पावर प्लान्ट स्थापनाको योजना घोषणा गरेको छ ।

टेप्कोले केन्द्रमा देखिएको समस्या समाधानका लागि नयाँ पाइप तथा भेन्टिलेसन राखिने र निर्माण सोमबारबाट सुरु हुने उक्त कार्य मार्च अन्त्यसम्ममा सम्पन्न हुने बताएको छ ।

भवनमा दूषित पानीको उपचार गर्न प्रयोग गरिने सरलीकृत सक्रिय पानी प्रशोधन र पुनः प्राप्ति प्रणाली (एसएआरआरवाई) को लागि पाइपहरूको सफाईको क्रममा फेब्रुअरी ७ मा मानवीय त्रुटिका कारण धेरै द्वारहरू बन्द हुँदा चुहावट भएको प्लान्टबाट ६.६ अर्ब रेडियोधर्मी विकिरणसहितको करिब १.५ टन आणविक–दूषित पानी चुहावट भएको थियो ।

गत वर्ष अक्टोबरमा पनि आणविक प्लान्टमा समस्या आएको थियो जसका कारण पाँच जना कामदार रेडियोधर्मी पदार्थयुक्त तरल फोहोरको सङ्क्रमणबाट प्रभावित भएका थिए ।

पावर कम्पनी टेप्कोका अनुसार यस योजनामा दूषित पानी चुहावट भएको उच्च तापक्रम इन्सिनरेटर (फोहोर जलाउने भट्टी) भवनमा जडान गरिएको पाइप काट्ने र नयाँ पाइपहरू ठाडो दिशामा स्थापना गरिने भएको छ ।

पाइपहरूमा बग्ने पानीलाई भवन भित्रका प्लाष्टिकका भाँडा (कन्टेनर)हरूमा जम्मा गरी ढकनी लगाएर बन्द गरिएको जानकारी थियो । कन्टेनरहरूमा बाहिर पानी सङ्कलन गर्न र चुहावटलाई निगरानी गर्न क्यामेरा र डिटेक्टरहरू प्रयोग गरिने टेप्कोले बतायोे ।

प्लान्टमा खर्च गरिएको आणविक इन्धन व्यवस्थापन गर्नका लागि बनाइएको परिमार्जन गर्न आणविक नियमन प्राधिकरणलाई स्वीकृतिको लागि टेप्कोले स्वीकृति दिएको छ ।

सन् २०२३ मा वातावरणीय समूह, गैर–सरकारी संस्था र आणविक विरोधी आन्दोलनको बारम्बार आपत्तिपछि जापानले प्रशान्त महासागरमा फोहोर पानी फाल्न छोडेको थियो ।

सुडानको भोकमरी विरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भन्नुभयो “यस्तो कमजोर अवस्थामा सुडानभरी भोकमरी कुपोषणको अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।”

चाडबाट मानवीय कोरिडोरको अस्थायी रोक, चलिरहेको लडाइँ, मानवीय कार्गोका लागि लामो निकासी प्रक्रियालगायतका अवरोध र सुरक्षा खतराहरूले मानवतावादीलाई सुडानमा आधारभूत खाद्यान्नको आवश्यकता पूरा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न असम्भव बनाएको उहाँले उल्लेख गर्नुभयो ।

रोवले खाना ढुवानीको लागि सबै कोरिडोरहरू खुला रहनु पर्ने बताउदै चाडको आड्रेदेखि पश्चिम डार्फर राज्यसम्म चरम भोकमरीको अवस्था रहेको बताउनुभयो ।

विश्व खाद्य कार्यक्रम र यसका साझेदारहरूलाई तत्काल सुरक्षा ग्यारेन्टी गरी डार्फर राज्यमा खाद्य आपूर्ति गर्नमा सहजता ल्याई अति समस्यामा परेका व्यक्तिलाई खाद्यान्न वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

विश्व खाद्य कार्यक्रमले डार्फरमा अति आवश्यक खाद्यान्न र पोषण आपूर्ति कार्यक्रम पु¥याएको छ ।

उत्तर, पश्चिम र मध्य डार्फरमा तीव्र भोकमरीको सामना गरिरहेका करिब दुई लाख ५० हजार मानिसहरूका लागि खाना र पोषण सहायता बोकेका दुईवटा मालबहाक गाडी मार्चको अन्त्यमा चाडबाट डार्फरतर्फ सीमा पार गरेका थिए ।

सुडानी बन्दरगाहका अधिकारीहरूले फेब्रुअरीमा चाडबाट मानवीय कोरिडोर अनुमति रद्द गरेपछि यी मार्गहरू पुनः खोली लामो वार्तापछि डार्फर पुग्ने विश्व खाद्य कार्यक्रम सहयोगको यो पहिलो सीमापार प्रयास हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानको आधा जनसङ्ख्या, लगभग दुई करोड ५० लाख मानिसहरूलाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । लगभग एक करोड ८० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक बलहरूबीच हिंसात्मक टकरावको सामना सुडानले गरेको छ । यसको परिणामस्वरूप ६३ लाख आन्तरिकसहित लगभग ८१ लाख व्यक्तिहरू विस्थापित भएका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले मार्चमा दिएको प्रतिवेदनमा द्वन्द्वले लगभग १३ हजार नौ सयको ज्यान लिएको जनाएको छ ।

अफगानिस्तानद्वारा पाकिस्तानलाई आप्रवासी समस्या समाधान गर्न आग्रह

तालिबान सरकारका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीसहित समाधान गर्न आग्रह गर्नुभएको छ ।

गत वर्षको नोभेम्बरदेखि पाँचलाख ३५ हजार अफगान आप्रवासीलाई निस्कासन गरेको पाकिस्तानले आगामी अप्रिल १० देखि अफगान आप्रवासीलाई फिर्ताहरूको निष्कासनको दोस्रो चरण सुरु गर्ने योजना बनाएको हो ।

अफगान–तालिबान आप्रवासी मन्त्रालयका अनुसार मन्त्रालयका सहायक अब्दुल रहमान रशीदले बिहीबार काबुलमा पाकिस्तानी दूतावासका उपप्रमुख जुनैद वजिरीसँगको बैठकमा यस्तो आग्रह गर्नुभएको थियो । राशिदले पाकिस्तानका कूटनीतिज्ञलाई आप्रवासनसम्बन्धी निर्णय द्विपक्षीय र दुई राष्ट्रको आपसी सम्झौता अनुसार निर्णय गर्नुपर्ने जानकारी दिनुभएको छ ।

काबुलको विदेश मन्त्रालयमा आयोजित विभिन्न राष्ट्रका राजदूत र प्रतिनिधिहरू उपस्थित कार्यक्रममा तालिबानका उपप्रधानमन्त्री अब्दुल सलाम हनाफीले १० लाखभन्दा बढी अफगान आप्रवासीहरूलाई बलपुर्वक तथा स्वेच्छाले छिमेकी देशहरूबाट हटाइएको घोषणा गर्नुभयो ।

यसै सन्दर्भमा एम्नेस्टी इन्टरनेसनलले स्वैच्छिक निर्णयले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घ हुने जिकिर गर्दे पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गरेको छ ।

अफगान शरणार्थीहरूको निष्कासन योजना, शरणार्थी अन्तर्राष्ट्रिय मानव अधिकार तथा शरणार्थी कानुन विपरित हुने पिडितहरूको भनाइ छ । उनीहरूका अनुसार तालिबान नियन्त्रित अफगानिस्तानमा निर्वासित भएमा अफगान शरणार्थीहरूलाई उत्पीडन, गम्भीर मानव अधिकार उल्लङ्घन पाकिस्तानी अधिकारीहरूले गरेको कठोर अवहेलना हृदयविदारक छ । यसैवीच निर्बासन रोक्न विश्वव्यापी आह्वानलाई ध्यान नदिई नवनिर्वाचित पाकिस्तानी सरकारले पनि अफगान नागरिक कार्ड (एसीसी) धारीलाई पनि निर्वासन अभियान विस्तार गरेको जेम्स जेनियनले दुखेसो गर्नुभएको छ ।

अफगान आप्रवासीहरूको निष्कासनको दोस्रो लहर सुरु हुनलाग्दा पाकिस्तानमा रहेका अफगान आप्रवासीहरू आफ्नो भविष्यका बारेमा चिन्तित छन् । पाकिस्तानी प्रहरीले अफगान आप्रवासीलाई हिरासतमा राखी दुव्र्यवहार गरेको विषयमा उनीहरूले आपत्ति जनाएका छन् ।

पाकिस्तानबाट कागजात विहीन अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पहिलो चरण सन् २०२३ को नोभेम्बरमा सुरु भएको थियो । यसैगरी स्वदेश फिर्ती योजनाको नाममा दोस्रो चरण आगमी अप्रिल १० देखि सुरु हुनेभएको छ । यसमा नागरिकता भएकाहरू पनि समावेश छन् ।

अमेरिका र चीनबीच ‘सन्तुलित आर्थिक वृद्धि’ का लागि वार्ता गर्ने सहमति

संयुक्त राज्य अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेन र उनका चिनियाँ समकक्षी हे लिफेङबीच ग्वान्झाओमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको भेटवार्तापछि विश्वका दुई प्रमुख अर्थतन्त्रबीचको चट्टानी सम्बन्धलाई स्थिर बनाउने संयुक्त प्रयासमा यो पछिल्लो कदम हो ।”

येलेनले शनिबार भएको एक कार्यक्रममा भन्नुभयो, “यी आदानप्रदानले समष्टिगत आर्थिक असन्तुलनको बारेमा छलफल गर्न मद्दत गर्नेछ । छलफलले चीनको क्ष्मताभन्दा बढी देखिएको विश्वव्यापी आपूर्ति नियन्त्रणबारे बहस चलाएको छ र म यसलाई अमेरिकी कामदार र फर्महरूको लागि समान अवसर सिर्जनाका लागि भएकोे छलफलका रूपमा व्याख्या गर्न चाहन्छु ।”

ताइवान र भिडियो एप टिकटकको पहुँचलाइृ लिएर वासिङ्टन र बेइजिङबीच तनाव थपिएको समय येलेनको चीन भ्रमण भएको हो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणको बेइजिङले निन्दा नगरेको भन्दै रूसलाई चिनियाँ कम्पनीले युद्धका लागि सहयोग गरेमा ‘महत्वपूर्ण परिणाम’ भोग्नुपर्ने अमेरिकी अथैमन्त्रीले चेतावनी दिनुभयो ।

अमेरिकी अर्थमन्त्री येलेनले भन्नुभयो, “रूसी रक्षा औद्योगिक आधारलाई समर्थन गरेमा यसबाट चीनले नराम्रो परिणाम व्यहोर्नुपर्ने हुन्छ । जनगणतन्त्र चीनमा रहेका हतियार उत्पादन कम्पनीसहित विश्वका अन्य कम्पनीहरूले युक्रेनविरुद्ध रूसको युद्धको लागि भौतिक समर्थन प्रदान गर्नु हुँदैन ।

भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार

विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरू गरिएको छ ।

ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पु¥याउन शनिबार उडान भरेका छन् ।

ताइवानमा बुधबार गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार १०० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण ठूलो पहिरो खसेको थियो जसका कारण ताइवानको पूर्वपश्चिम राजमार्गको सुरुङ र घुमाउरो सडकको लामो खण्ड अवरुद्ध भएको थियो भने पहाडी भिरालो जमिनमा कोरिएका उत्तरदक्षिण क्षेत्रका तटीय मार्ग पनि अवरुद्ध भएका थिए ।

राजधानी ताइपेइबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हुलियानमा भूकम्पपछि शनिबार बिहान ५.२ म्याग्नीच्यूडसहितका ३०० भन्दा बढी पराकम्प गएका छन् ।

तर नेसनल एयरबोर्न सर्भिसका हेलिकप्टरहरूले तारोको राष्ट्रिय निकुञ्ज नजिकैको प्रभावित क्षेत्रमा उद्धारका लागि उडान भरिरहेका छन् ।

एएफपीका एक कर्मचारीले एउटा विमानमा १२ जना र अर्को उडानमा १६ जना सवार रहेको देखेका थिए ।

ताइवानीे समाचार संस्था ‘इटी टुडे’ का अनुसार वृद्धवृद्धा, कमजोर, महिला, बालबालिका र दीर्घरोग भएका व्यक्तिलाई उद्धारका क्रममा पहिलो प्राथमिकता दिइएको छ ।

पहाडी क्षेत्रमा रहेको सिल्क्स प्लेस होटलबाट करिब ४०० भन्दा बढी पर्यटक र कर्मचारीहरू फसेका स्थानबाट उद्धार भएकाहरू सबै जना थकित देखिए पनि सबैले उद्धारका लागि खुशी व्यक्त गरेका छन् । उनीहरूले आफन्त तथा साथीहरू अझै माथिल्लो भागमा फसेको बताउँदै उनीहरूको उद्धारमा तदारूकता देखाउन आग्रह गरे ।

झोउ नाम गरेका एक पास्टरले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो, “बुधबारको भूकम्प पछि पनि धेरै पराकम्पनहरू आएका र यसले उद्धारको पखाईमा पहाडी क्षेत्रमा रहेका पर्यटक तथा सर्वसाधारणलाई निकै निराश बनाएको बताउनुभयो । पराकम्प पनि निकै ठूला र भयानक महशुस गरिएको थियो ।

उहाँले भन्नुभयो, “म सुतिरहेको बेला भूकम्प आयो, म असाध्यै आत्तिएँ तर परमेश्वरको कृपाले गर्दा म आशावादी बने र आफ्नो डरलाई दूर गर्न सफल भएँ ।”

उद्धारकर्ताहरूले दुर्गम प्राथमिक विद्यालयका विद्यार्थी, शिक्षक र बासिन्दाहरूको समूहलाई खाना र आपूर्तिका बाकसहरू पनि हवाई मार्ग हुँदै ठाउँठाउँमा खसालेका थिए ।

अन्य क्षेत्रमा पनि इञ्जिनियरहरूले सडक र सुरुङको प्रवेशद्वारबाट ठूला ठूला ढुङ्गाहरू हटाउन चौबिसै घण्टा काम गरिरहेका स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

ताइवानका नवनिर्वाचित उपराष्ट्रपति सियाओ बि–खिमले शुक्रबार भन्नुभयो, “उद्धारकर्ताहरूले हार मानेका छैनन् । रातदिन काम गरिरहेका छन् ।”

ताइवानमा सन् १९९९ मा गएको ७.६ म्याग्नीच्यूडको भूकम्पपछि बुधबारको भूकम्प सबैभन्दा शक्तिशाली भूकम्प हो । त्यस समय मृत्यु हुनेको सङ्ख्या निकै बढी थियो । सम्भवता ताइवानको इतिहासकै सबैभन्दा घातक प्राकृतिक प्रकोप थियो । उक्त भूकम्प र यसबाट सिर्जित प्रकोपका कारण करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो ।

भवन कोडहरूमा बढ्दो भूकम्पीय आवश्यकतासहित व्यापक सार्वजनिक प्रकोप जागरूकताले यस पटक अधिक गम्भीर विपत्तिबाट निकै कममात्र मानवीय क्षति भएको देखिन्छ ।

भूकम्पजन्य प्रकोपबाट हुने क्षतिलाई कम गर्न बनेको राष्ट्रिय निकायले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा भूकम्पका कारण ८४ वटा भवनमा ठूलो क्षति पुगेको उल्लेख छ ।

मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद

मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताउनुभएको छ ।

यस नीतिमा ग्लोबल प्लास्टिक्स ट्रिटी (जिपिटी) को अनुपालनमा परिणाम सुनिश्चित गर्न सरकार र सरोकारवाला सङ्घसंस्थाहरू लागिपरेको मन्त्री अहमदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जीपीटी लागू भएपछि न्यायपूर्ण सङ्क्रमणको माध्यमबाट अनावश्यक प्लास्टिक खपतमा कमी ल्याउने छ ।”

यसका लागि मलेसियाले समुद्री वातावरणलगायत प्लास्टिक प्रदूषणमा अन्तर्राष्ट्रिय कानुनी रूपमा बाध्यकारी उपकरण विकास गर्न अन्तर–सरकारी वार्ता समितिमा जीपीटीबारे चार चरणको अन्तर्राष्ट्रिय वार्तामा भाग लिइसकेको मन्त्री अहमदले बताउनुभयो ।

सन् २०२२ को फेब्रुअरीमा केन्याको नैरोबीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय वातावरण सभाको पाँचौँ अधिवेशनमा ऐतिहासिक प्रस्ताव पारित भएपछि विश्वव्यापी प्लास्टिक सन्धिका लागि पहल सुरु भएको हो ।

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैङ्कले जनाएको छ ।

मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ । युक्रेनले विदेशी साझेदारहरूबाट लगभग ९.३ अर्ब डलर प्राप्त गरेको थियो जसमा युरोपेली सङ्घबाट ४.९ अर्ब डलर तथा विश्व बैङ्कबाट १.६ अर्ब डलर प्राप्त गरेको छ ।

मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का लागि आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो । हाल, युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब छ महिनाका लागि पर्याप्त छ ।

युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०.५ अर्ब डलर रहेको छ जुन सन् २०२२ को तुलनामा ४२ प्रतिशतले बढी हो ।

युवापुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछ: प्रधानमन्त्री

लुम्बिनी, २४ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ । विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिनुभएको हो ।

“राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर एक सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनु छ, यसका लागि नवीनता र सकारात्मकता सोच ल्याउन अपरिहार्य भैसकेको छ ।”

जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

उहाँले आध्यात्मिक जागरण र साधनाबिना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरेपनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताउनुभयो ।

“भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसङ्कल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।”

आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

“यो शताब्दीमा मात्रै ८० वर्ष लामो राजनीतिक सङ्क्रमण, जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका दर्जनौं समस्या बेहोरिसक्यौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै उहाँले त्यही क्रान्तिको फलस्वरुप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताउनुभयो ।

‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक’
प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताउनुभएको छ ।

“मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमिबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।”

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने आफ्नो विश्वास रहेको स्पष्ट पार्नुभयो ।

“प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणगत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।

उहाँले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामुहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वलाई नेपाल एउटा योगभूमि र तपोभूमि भएको र नेपालीहरू योगी र ध्यानी छन् भन्ने सन्देश दिँदै योग तथा आध्यात्मिक पर्यटनको हबको रूपमा नेपाललाई विकास गर्न यस्ता कार्यक्रमबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता : मुख्यमन्त्री यादव

वीरगञ्ज(पर्सा), २४ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताउनुभएको छ ।‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको बताउनुभयो । “मुलुकमा सङ्घीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले सङ्घीयताको महसुस गर्न पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा समस्या पारेको छ, वीरगञ्ज सहरले सङ्घीय सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्दै आइरहेको छ, तर सङ्घीय सरकारले भने वीरगञ्जलाई सोहीअनुसारको बजेट तथा अन्य सहुलियत प्रदान गरेको छैन ।”

प्रतिनिधिसभाका सांसद प्रदीप यादवले सङ्घीय सरकारले मुलुककै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्जलाई बेवास्ता गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वीरगञ्जले सरकारको ढुकुटीमा सबैभन्दा धेरै हिस्सा ओगट्ने गर्छ, तर सङ्घीय सरकारले भने वीरगञ्जको आर्थिक तथा सामाजिक विकासमा जुन रूपमा अघि बढाउनुपर्ने थियो, सोही अनुरुपमा काम गरेको छैन, सङ्घीय सरकारले आगामी नीति तथा बजेटमा वीरगञ्जका लागि आर्थिक प्याकेजका साथै राष्ट्रिय गौरवका आयोजना पनि अघि बढाउन जरुरी भइसकेको छ ।”

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको वैभवलाई सङ्घीय सरकारले चिन्न नसकेको गुनासो गर्नुभयो । “वीरगञ्ज सहर आर्थिक, भाषा, संस्कृति र रीतिरिवाजका कारणले वैभव सहरका रूपमा परिचित छ”, उहाँले भन्नुभयो, “मुलुकका अन्य महानगरलाई जस्तै वीरगञ्जलाई उच्च प्राथमिकता राखेर यहाँको विकास निर्माणलाई प्रथामिकता दिन जरुरी छ ।”

वीरगञ्जका उद्योगी तथा व्यवसायीले निरन्तर रूपमा विद्युत्को आपूर्ति हुन नसक्दा उद्योगधन्दा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । उद्योगी अनिल रुगटाले वीरगञ्ज करिडोरका उद्योगी–व्यवसायी नाजुक अवस्थाबाट गुजिँ्रदै आइरहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले विद्युत् आपूर्तिमा देखिएको समस्या एक महिनाभित्रै समाधान हुने दाबी गर्नुभयो । “छिमेकी मुलुक भारत निर्वाचनमा होमिएकाले पनि भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै भारतबाट विद्युत् आयात गर्न पाएका छौँ, त्यसैले पनि बेलुकाको समयमा उद्योगधन्दाको विद्युत् कटौती गर्नुपरेको हो । हामीले रातको १२ देखि बिहान ६ बजेसम्मको अवधिमा पनि उद्योगधन्दालाई कसरी विद्युत् उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा गृहकार्य गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

त्रिशूली (नुवाकोट), २४ चैत: विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।

उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताउनुभयो ।

आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उहाँले जानकारी दिनुभयो । “फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उहाँले भन्नुभयो ।

बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ ।

‘कर्णालीको विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य’

सिमकोट (हुम्ला) – कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी जिल्ला समन्वय समितिको प्रेक्षालयमा शुक्रबार सम्पन्न भएको छ । गोष्ठीका अधिकांश वक्ताले प्रदेशको विकासका लागि भौतिक पूर्वाधार विकासमा राज्यले विशेष जोड दिनुपर्ने बताएका थिए ।

कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने जिल्ला भएकाले पर्यटन पूर्वाधार निर्माण पञ्चवर्षीय योजनाको पहिलो प्राथमिकता हुनुपर्ने उनीहरूको माग थियो । लिमी– लाप्चाबाट प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवरको जान सकिने भएकाले सदरमुकामदेखि लिमीसम्मको सडक स्तरोन्नतिको अविलम्ब प्रयास थालिनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

पाँच वर्षभित्र कर्णाली करिडोरबाट हुम्लाका स्थानीय तह जोडिनुपर्ने भन्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हुम्ला कर्णालीका साथै ह्याप्कालगायत नदीमा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन हुनुपर्ने, सिमकोटसहित उच्च क्षेत्रमा पाइने जडीबुटी र फलफूल अध्ययन– अनुसन्धान केन्द्र स्थापना योजनामा समेटिनु्पर्ने बताउनुभयो ।

हुम्लामा उत्पादित चिनो, सिमी र महमा हुने मिठास र स्वादिलोपना देशका अन्य जिल्लामा नपाइने भएकाले बजारीकरणका लागि जोड दिनुपर्ने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनुभयो ।

जिल्लाको उत्तरी नाम्खा, सिमकोट खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा ढुङ्गा धेरै हुने हुँदा यहाँ सिमेन्ट कारखानाका लागि पञ्चवर्षीय योजना समेट्न उहाँले आग्रह गर्नुभयो ।

हुम्लाका चाङ्ला भञ्ज्याङ, रलिङ गुम्बा, पञ्चमुखी हिमाल क्षेत्र, खार्पुनाथ, रामपाल माडु, शिवमन्दिर, कालाशिल्ता, रानीशैन, लिमीलगायत क्षेत्रलाई समेटेर विशेष पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने सुझाव पनि दिइएको थियो । गोष्ठीका सहभागीले नेपाल–चीन व्यापारलाई व्यवस्थित गर्न हिल्सा नाकामा ‘क्वारेन्टीन चेकपोष्ट’ तथा यारीमा सुक्खा बन्दरगाह स्थापनाका साथै स्थानीय भेडाको ऊनबाट बन्ने बक्खुलगायत उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने माग गरेका थिए ।

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनःवार्ता प्रारम्भ

अमेरिका र चीनले दुई वर्षभन्दा धेरै समयमा पहिलोपटक आफ्ना सशस्त्र सेनाहरूबीचको अन्तरक्रियामा सुरक्षाबारे वार्ता गरेको अमेरिकी सेनाले शुक्रबार बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ नोभेम्बरमा भएको शिखर सम्मेलनमा सैन्य–देखि–सैन्य सञ्चार पुनःस्थापना गर्न र दुई मुलुकबीचको तनाव कम गर्न सहमत भएपछि वार्ता पुनः सुरु भएको हो ।

अमेरिकी र चिनियाँ सैन्य प्रतिनिधिहरूले बुधबार र बिहीबार हवाईमा सैन्य समुद्री परामर्श सम्झौता कार्य समूहका लागि भेट गरेको युएस इन्डो–प्यासिफिक कमान्डले विज्ञप्तिमा बताएको छ । सन् २०२१ को अन्त्यमा भर्चुअल कार्यक्रमपछि यस्तो प्रकारको यो पहिलो बैठक हो ।

“यो सम्झौता चिनियाँ सेनासँग इन्डो–प्यासिफिक कमान्डको हवाई र समुद्री परिचालन सुरक्षामा प्रत्यक्ष चर्चा गर्ने प्राथमिक माध्यम हो”, अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी सेना कर्नल इयान फ्रान्सिसले एक विज्ञप्तिमा भन्नुभयो, “चिनियाँ सेना (पिपुल्स लिबरेसन आर्मी, पिएलए) र यस क्षेत्रका अन्य सबै सैन्य बलहरूसँग दुर्घटना र गलत सञ्चारबाट बच्नका लागि खुला, प्रत्यक्ष र स्पष्ट सञ्चार अत्यन्त महत्त्वपूर्ण छ ।”

इन्डो–प्यासिफिक कमान्डले यस साताको बैठकका क्रममा अमेरिकी र चिनियाँ अधिकारीहरूले ‘पछिल्ला केही वर्षमा सुरक्षासँग सम्बन्धित घटनाहरूको समीक्षा गरेको र समुद्री तथा उड्डयन परिचालन सुरक्षा र व्यावसायिकतालाई कायम राख्नेबारे छलफल गरेको’ बताएको छ ।

चिनियाँ युद्धक विमान र जहाजहरूले अमेरिकी र सहयोगी विमान तथा जहाजहरू वरपर असुरक्षित तरिकाले काम गरेको अमेरिकाले हालैका वर्षहरूमा बारम्बारका घटनाहरू उजागर गरेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनल बाइडेन र सीले सैन्य–देखि–सैन्य वार्त पुनः सुरु गर्न सहमति व्यक्त गर्नुअघि विशेषगरी अमेरिकी र चिनियाँ सेनाबीच सञ्चारको खुला लाइनको अभावमा दुर्घटनाहरू नियन्त्रणभन्दा बाहिर हुने सम्भावना रहेको चेतावनी दिनुभएको थियो ।

निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, अध्यक्ष ओली र मन्त्री महासेठलाई बुझाए अलगअलग ज्ञापनपत्र

काठमाडौँ – निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरुपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ । नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैंकिङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ ।

अध्यक्ष लोहनीले आफूहरुका मागप्रति सत्ता गठबन्धनका नेताहरु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

काठमाडौँ – राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन अधिकांश कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

कृषि मन्त्रालयद्वारा शुक्रबार आयोजित खाद्य सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सदस्य डा अधिकारीले कृषि आयात प्रतिस्थापन गर्न विभिन्न बालीका साथै गुणस्तरीय उत्पादन वृद्धिमा जोड दिनुभयो । विशेष अनुसन्धानका कार्यक्रममा बजेट थप्न नीतिगत व्यवस्थाको गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रमा आत्मनिर्भर हुनेगरी खाद्यबालीको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले पोषणयुक्त खाद्यबालीको उत्पादनमा थप अनुसन्धान आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका सहसचिव एवं खाद्य सुरक्षा महाशाखा प्रमुख सञ्जीवकुमार कर्णले जलवायु परिवर्तनको प्रभाव, मुलुकका हावापानीको विविधता, कृषि जैविक विविधता, वर्णशङ्कर तथा बेमौसमी बालीका कारण उत्पादित वस्तुको पोषणमा कमी आएको उल्लेख गर्दै विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विषयविज्ञहरूले मौसम अनुकूल बीउको सञ्चितिकरण र स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषि उपज लोपोन्मुख हुँदै गएकाले त्यसको जगेर्नामा जोड दिनुभयो ।

‘सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउँछौँ’ – बीमा बोर्ड

काठमाडौँ – सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्न वकालत भइरहेको बताउनुभएको छ ।

आठौँ स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आउँदो वर्षदेखि औपचारिक क्षेत्रमा बीमित सङ्ख्या बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्ड अनिवार्य गराउने भनेर लागि परेका छौँ । डिजिटल कार्डमार्फत पनि बीमितलाई सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गरिएको छ ।”

उहाँले आगामी दिनमा अनुगमनका कार्यक्रम बढाउने र राम्रो सेवा नदिने सेवा प्रदायक संस्थालाई सेवा दिनबाट हटाइने जनाउनुभयो । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बीमाप्रति धेरैजना नकारात्मक सुनिए पनि यथार्थमा त्यो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाप्रति धेरै अपेक्षा छ त्यो पूर्ण रुपमा पूरा गर्न नसकिएको हो । कुनै ठाउँमा सेवा एकदमै राम्रो पनि छ । कुनैमा नभएका पनि छन् । हामीसँग स्वास्थ्य बीमालाई फेल हुन दिन छुट छैन ।”

उहाँले स्वास्थ्य बीमा कार्यक्रममा अनलाइन प्रणालीबाट आबद्ध हुनका लागि तयारीको कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकपटक प्रेषण भई आएका बिरामीलाई सोही रोगको फलोअपका लागि पुनःप्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको छ ।” उहाँले हाल सुविधा थैलीमा रहेको औषधि तथा सेवा प्याकेजको शुल्क समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

त्यसैगरी बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमाका बारेमा अझै पनि जनमानसलाई बुझाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बीमाको उद्देश्य त हुनेले नहुनेलाई सहयोग गर्ने हो । भविष्यमा एकद्वार प्रणाली लागू गरे सेवा दिन सजिलो हुन्छ । व्यवस्थित भएर जानुपर्नेछ ।”

विसं २०७८ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौँ उपत्यकाको एउटा स्थानीय तह (बुढानिलकण्ठ नपा) मा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्कअनुसार कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ अर्थात् ३५.८८ % रहेका छन् भने बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ रहेका छन् । नवीकरण नगर्ने बीमित सङ्ख्या भने ४८ लाख आठ हजार सात सय ६० जना छन् । कार्यक्रममा लक्षित वर्गको आबद्धताको अवस्था हेर्ने हो भने परिवारका सदस्य अति गरिब बीमितको सङ्ख्या पाँच लाख १४ हजार छ सय १८ जना छन् । ज्येष्ठ नागरिक बीमितको सङ्ख्या भने नौ लाख ३० हजार तीन सय ९७ रहेको छ ।

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

स्वर्गद्वारी (प्यूठान) – लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास । डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ । गौमुखी–नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जङ्गलमा लालीगुराँसको सौन्दर्यतामा भेडापालक किसानले महत्व थपेका छन् । पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर ।

वृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै व्यतित गरिसक्नुभएको छ । बाल्यकालमा बुवा, बाजेसँग भेडीगोठमा बिताएको सम्झँदै उहाँ भेडीगोठमा काम गर्ने मजदुरको रूपमा अहिले काम गर्न थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जीवनभर अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताएँ । गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवन नै प्रिय बन्यो ।”

रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जीवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उहाँको जाँगर घटेको छैन । भेडीगोठसँगको उनको सामीप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन । अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उहाँको भनाइ छ ।

बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुनमगरले भेडाबाख्रा चराउन थालेको चार वर्ष भयो । भेडापालन उहाँको पुख्र्यौली पेसा हो । बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि कक्षा ८ मा पढ्दै गर्दा उहाँले पढाइ छाड्नुपर्यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहनुभएको छ ।

पाँच सय ५० भेडाको बथानसहित आएका मगर प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहनुभएको छ । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुनमगरले बताउनुभयो । उहाँको सिङ्गो परिवार यही पेसामै आश्रित छ ।

कलिलो उमेरदेखि नै बुवासँग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भन्नुभयो, “चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टाँगेर गोठ बनाएर बस्ने गरेका छौँ ।” उहाँले बुवाले व्यतित गरेको भेडीगोठको जीवनलाई आफूले निरन्तरता दिन लाग्नुभएको हो । भेडापालनबाट हुने फाइदा, जीवनयापनमा आश्रित परिवारका लागि खर्चको जोहो गर्न सकिने विश्वासले उहाँले यो पेसालाई अङ्गाल्नुभएको हो ।

यस क्षेत्रमा आधा दर्जन गोठ ठूलो बथानसहित रहेको पाइन्छ । भेडीगोठ सरिरहन्छन् । गोठ छिटोछिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठाला त्रिपालले छाएका गोठ र ओढारमुनि बस्छन् । खाने खर्च र कपडा बोकेर उनीहरु भेडाको बथानसहित चरन क्षेत्र रहन्छन् भने खाने खर्चको हप्तामा एकपटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पुर्याउने गरिएको हुन्छ ।

वर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उहाँले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन् । उहाँले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताउनुभयो ।

मगरले भेडाबाख्रा चराउन ल्याएवापत स्थानीयलाई देवालीका लागि दुई भेडा र पाँच वर्षसम्म चरन क्षेत्रका लागि रु एक लाख बुझाउनुभएको छ । उहाँले भन्नुभयो, “यो याममा सधैँ नाङ्गीको जङ्गलमा आउँछौँ । यहाँ पोषिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन् ।”

एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा हुनुहुन्छ । उहाँले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालासँग भेडा मिसाएर चराउने बताउनुभयो । जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चारवटा भोटेकुकुर पाल्नुभएको छ । भेडी गोठाला मगरले कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गरेको बताउनुभयो ।

भेडाबाख्रापालनबाट वार्षिक रु ११ लाख कमाउने मगर बताउनुहुन्छ । प्यूठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन् । प्रतिभेडा रु १५ देखि २५ हजारसम्ममा बिक्री हुन्छ । वर्षमा दुईपटक ऊन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक रु ११ लाखको कारोबार र रु चार लाख बचत हुने उहाँले सुनाउनुभयो ।

प्यूठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठ छन् । स्थानीयले समेत एक सयदेखि दुई–तीन सयका हाराहारीमा भेडा पालेर बसेका छन् । प्यूठान गौमुखी–३ उत्तिसेमा दुई सयवटा भेडा पालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको बताउनुभयो ।

नयाँ वर्ष २०८१ को अवसरमा फेवाताल किनारमा रैथाने खाना महोत्सव

कास्की – नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखराको फेवाताल किनारमा आयोजना हुने १९औँ संस्करणको फेवा नववर्ष महोत्सवमा नेपाली रैथाने खानासमेत समावेश गरिने भएको छ । फेवा नववर्ष महोत्सव यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडको ड्यामसाइडबाट हल्लनचोकसम्म हुँदैछ ।

होटल सङ्घ नेपाल केन्द्रको सहयोग र सेफ एशोसिएसन अफ नेपालको सहकार्यमा पोखरा–६ गौरीघाटस्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ पोखरा, नेपालका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानालाई समावेश गरिएको छ ।

महोत्सवबाट स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालले बताउनुभयो । फेवा नववर्ष महोत्सव ड्यामसाइडचोकबाट खहरेचोकसम्मको साढे तीन किमी क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुँदैछ ।

महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवअन्तर्गत लेकसाइडका सबै चौतारामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा होटल सङ्घ पोखरामातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

महोत्सवका मूख्य आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।

कोभिड–१९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेर थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ । होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । कोरोना महामारीका कारण दुई वर्ष सञ्चालन नभएको सो महोत्सव त्यसपछि भने निरन्तर सञ्चालन हुँदैआएको छ ।