`

निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, अध्यक्ष ओली र मन्त्री महासेठलाई बुझाए अलगअलग ज्ञापनपत्र

काठमाडौँ – निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरुपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ । नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैंकिङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ ।

अध्यक्ष लोहनीले आफूहरुका मागप्रति सत्ता गठबन्धनका नेताहरु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

काठमाडौँ – राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन अधिकांश कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

कृषि मन्त्रालयद्वारा शुक्रबार आयोजित खाद्य सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सदस्य डा अधिकारीले कृषि आयात प्रतिस्थापन गर्न विभिन्न बालीका साथै गुणस्तरीय उत्पादन वृद्धिमा जोड दिनुभयो । विशेष अनुसन्धानका कार्यक्रममा बजेट थप्न नीतिगत व्यवस्थाको गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रमा आत्मनिर्भर हुनेगरी खाद्यबालीको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले पोषणयुक्त खाद्यबालीको उत्पादनमा थप अनुसन्धान आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका सहसचिव एवं खाद्य सुरक्षा महाशाखा प्रमुख सञ्जीवकुमार कर्णले जलवायु परिवर्तनको प्रभाव, मुलुकका हावापानीको विविधता, कृषि जैविक विविधता, वर्णशङ्कर तथा बेमौसमी बालीका कारण उत्पादित वस्तुको पोषणमा कमी आएको उल्लेख गर्दै विभिन्न जातिका रैथाने बालीको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विषयविज्ञहरूले मौसम अनुकूल बीउको सञ्चितिकरण र स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषि उपज लोपोन्मुख हुँदै गएकाले त्यसको जगेर्नामा जोड दिनुभयो ।

‘सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउँछौँ’ – बीमा बोर्ड

काठमाडौँ – सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्न वकालत भइरहेको बताउनुभएको छ ।

आठौँ स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आउँदो वर्षदेखि औपचारिक क्षेत्रमा बीमित सङ्ख्या बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्ड अनिवार्य गराउने भनेर लागि परेका छौँ । डिजिटल कार्डमार्फत पनि बीमितलाई सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गरिएको छ ।”

उहाँले आगामी दिनमा अनुगमनका कार्यक्रम बढाउने र राम्रो सेवा नदिने सेवा प्रदायक संस्थालाई सेवा दिनबाट हटाइने जनाउनुभयो । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बीमाप्रति धेरैजना नकारात्मक सुनिए पनि यथार्थमा त्यो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाप्रति धेरै अपेक्षा छ त्यो पूर्ण रुपमा पूरा गर्न नसकिएको हो । कुनै ठाउँमा सेवा एकदमै राम्रो पनि छ । कुनैमा नभएका पनि छन् । हामीसँग स्वास्थ्य बीमालाई फेल हुन दिन छुट छैन ।”

उहाँले स्वास्थ्य बीमा कार्यक्रममा अनलाइन प्रणालीबाट आबद्ध हुनका लागि तयारीको कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकपटक प्रेषण भई आएका बिरामीलाई सोही रोगको फलोअपका लागि पुनःप्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको छ ।” उहाँले हाल सुविधा थैलीमा रहेको औषधि तथा सेवा प्याकेजको शुल्क समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

त्यसैगरी बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमाका बारेमा अझै पनि जनमानसलाई बुझाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बीमाको उद्देश्य त हुनेले नहुनेलाई सहयोग गर्ने हो । भविष्यमा एकद्वार प्रणाली लागू गरे सेवा दिन सजिलो हुन्छ । व्यवस्थित भएर जानुपर्नेछ ।”

विसं २०७८ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौँ उपत्यकाको एउटा स्थानीय तह (बुढानिलकण्ठ नपा) मा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्कअनुसार कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ अर्थात् ३५.८८ % रहेका छन् भने बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ रहेका छन् । नवीकरण नगर्ने बीमित सङ्ख्या भने ४८ लाख आठ हजार सात सय ६० जना छन् । कार्यक्रममा लक्षित वर्गको आबद्धताको अवस्था हेर्ने हो भने परिवारका सदस्य अति गरिब बीमितको सङ्ख्या पाँच लाख १४ हजार छ सय १८ जना छन् । ज्येष्ठ नागरिक बीमितको सङ्ख्या भने नौ लाख ३० हजार तीन सय ९७ रहेको छ ।

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

स्वर्गद्वारी (प्यूठान) – लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास । डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ । गौमुखी–नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जङ्गलमा लालीगुराँसको सौन्दर्यतामा भेडापालक किसानले महत्व थपेका छन् । पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर ।

वृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै व्यतित गरिसक्नुभएको छ । बाल्यकालमा बुवा, बाजेसँग भेडीगोठमा बिताएको सम्झँदै उहाँ भेडीगोठमा काम गर्ने मजदुरको रूपमा अहिले काम गर्न थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जीवनभर अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताएँ । गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवन नै प्रिय बन्यो ।”

रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जीवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उहाँको जाँगर घटेको छैन । भेडीगोठसँगको उनको सामीप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन । अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उहाँको भनाइ छ ।

बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुनमगरले भेडाबाख्रा चराउन थालेको चार वर्ष भयो । भेडापालन उहाँको पुख्र्यौली पेसा हो । बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि कक्षा ८ मा पढ्दै गर्दा उहाँले पढाइ छाड्नुपर्यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहनुभएको छ ।

पाँच सय ५० भेडाको बथानसहित आएका मगर प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहनुभएको छ । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुनमगरले बताउनुभयो । उहाँको सिङ्गो परिवार यही पेसामै आश्रित छ ।

कलिलो उमेरदेखि नै बुवासँग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भन्नुभयो, “चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टाँगेर गोठ बनाएर बस्ने गरेका छौँ ।” उहाँले बुवाले व्यतित गरेको भेडीगोठको जीवनलाई आफूले निरन्तरता दिन लाग्नुभएको हो । भेडापालनबाट हुने फाइदा, जीवनयापनमा आश्रित परिवारका लागि खर्चको जोहो गर्न सकिने विश्वासले उहाँले यो पेसालाई अङ्गाल्नुभएको हो ।

यस क्षेत्रमा आधा दर्जन गोठ ठूलो बथानसहित रहेको पाइन्छ । भेडीगोठ सरिरहन्छन् । गोठ छिटोछिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठाला त्रिपालले छाएका गोठ र ओढारमुनि बस्छन् । खाने खर्च र कपडा बोकेर उनीहरु भेडाको बथानसहित चरन क्षेत्र रहन्छन् भने खाने खर्चको हप्तामा एकपटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पुर्याउने गरिएको हुन्छ ।

वर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उहाँले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन् । उहाँले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताउनुभयो ।

मगरले भेडाबाख्रा चराउन ल्याएवापत स्थानीयलाई देवालीका लागि दुई भेडा र पाँच वर्षसम्म चरन क्षेत्रका लागि रु एक लाख बुझाउनुभएको छ । उहाँले भन्नुभयो, “यो याममा सधैँ नाङ्गीको जङ्गलमा आउँछौँ । यहाँ पोषिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन् ।”

एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा हुनुहुन्छ । उहाँले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालासँग भेडा मिसाएर चराउने बताउनुभयो । जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चारवटा भोटेकुकुर पाल्नुभएको छ । भेडी गोठाला मगरले कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गरेको बताउनुभयो ।

भेडाबाख्रापालनबाट वार्षिक रु ११ लाख कमाउने मगर बताउनुहुन्छ । प्यूठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन् । प्रतिभेडा रु १५ देखि २५ हजारसम्ममा बिक्री हुन्छ । वर्षमा दुईपटक ऊन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक रु ११ लाखको कारोबार र रु चार लाख बचत हुने उहाँले सुनाउनुभयो ।

प्यूठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठ छन् । स्थानीयले समेत एक सयदेखि दुई–तीन सयका हाराहारीमा भेडा पालेर बसेका छन् । प्यूठान गौमुखी–३ उत्तिसेमा दुई सयवटा भेडा पालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको बताउनुभयो ।

नयाँ वर्ष २०८१ को अवसरमा फेवाताल किनारमा रैथाने खाना महोत्सव

कास्की – नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखराको फेवाताल किनारमा आयोजना हुने १९औँ संस्करणको फेवा नववर्ष महोत्सवमा नेपाली रैथाने खानासमेत समावेश गरिने भएको छ । फेवा नववर्ष महोत्सव यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडको ड्यामसाइडबाट हल्लनचोकसम्म हुँदैछ ।

होटल सङ्घ नेपाल केन्द्रको सहयोग र सेफ एशोसिएसन अफ नेपालको सहकार्यमा पोखरा–६ गौरीघाटस्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ पोखरा, नेपालका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानालाई समावेश गरिएको छ ।

महोत्सवबाट स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालले बताउनुभयो । फेवा नववर्ष महोत्सव ड्यामसाइडचोकबाट खहरेचोकसम्मको साढे तीन किमी क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुँदैछ ।

महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवअन्तर्गत लेकसाइडका सबै चौतारामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा होटल सङ्घ पोखरामातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

महोत्सवका मूख्य आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।

कोभिड–१९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेर थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ । होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । कोरोना महामारीका कारण दुई वर्ष सञ्चालन नभएको सो महोत्सव त्यसपछि भने निरन्तर सञ्चालन हुँदैआएको छ ।

अहिले अवस्था बदलिएको छ, राजनीतिक अधिकारका कुराभन्दा समृद्धिको एजेण्डा अगाडि बढाउनुपर्छ – वरिष्ठ उपाध्यक्ष पोखरेल

पाटन (ललितपुर) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उत्पादन, रोजगारी, सीप र स्वरोजगारलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।नेकपा (एमाले) ललितपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन भन्दै अबको पार्टी नेतृत्वले स्थानीय जनताको समृद्धि हासिलमा जोड दिनुपर्ने बताउनुभयो ।

“अब हिजोको गौरवपूर्ण इतिहास भजाएर मात्रै हुँदैन । अब जनताको समृद्धिका लागि काम नगर्ने हो भने राजनीतिक शुभकामना मात्रै सार्थक हुन सक्दैन, हिजो जेलनेल भोग्नुपर्यो, त्यो बेलाको आवश्यकता थियो, अहिले विचार बोकेको आधारमा कोही दण्डित हुँदैन, निर्वासित हुँदैन, जेल जानु पर्दैन । अहिले अवस्था बदलिएको छ । अब राजनीतिक अधिकारका कुराभन्दा पनि समृद्धिको एजेण्डामा एमालेले आफूलाई अगाडि बढाउनुपर्छ, विकास निर्माणको मुद्दामा आगुवाइ गर्दै समृद्धि प्राप्तिका लागि अगाडि बढ्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

नीति र केन्द्रीय नेतृत्वमा विवाद नरहेको उल्लेख गर्दै उहाँले स्थानीयस्तरबाट पार्टीमा कृत्रिम विवाद सिर्जना गरिनु हुँदैन भन्ने धारणा राख्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतको कार्यक्रमको लेखजोखासहित भविष्यको योजना तय गर्दै योग्य नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । वाम एकताको प्रसङ्ग कोट्याउँदै उहाँले विचार मिल्न सकेन भने वाम एकतामात्रै भनेर हुँदैन भन्दै कम्युनिष्टका नाममा दक्षिणपन्थी शक्तिलाई बल पुर्याउनेसँग एकता हुनै सक्दैन भन्नुभयो ।

अहिलेको अवस्था, स्थिति र जनताको चाहनाअनुसारका योजना राजनीतिक प्रतिवेदनमा समेट्न आग्रह गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी जिल्ला नेतृत्वलाई अधिवेशनमा व्यक्त शुभकामनालाई बूढी आमाले आशीर्वाद दिएजस्तो मात्रै नसम्झेर कार्यान्वयन हुनेगरी लाग्न आग्रह गर्नुभयो । जनताले पत्याउने योजना बनाउनुपर्छ भन्नुहुँदै उहाँले जनताको समस्या समेटिने गरी किटान गरेर अगाडि बढ्न र पार्टीमा प्रवेश गरेकाहरूलाई सम्मानजनक अवस्था कायम गर्न आग्रह गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले लोकतन्त्रमा भ्रष्टाचारीको सङ्गत हुँदैन भन्दै लोकतन्त्रले विकास र समृद्धि तथा गतिशीलतालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पारदर्शी र समृद्ध ललितपुर बनाउने नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अधिवेशनबाट एकताको सन्देश दिने वातावरण तयार होस् भन्नुभयो । पोलिटब्यूरो सदस्य सुशीला नेपालले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा लागेको पार्टीले नेतृत्व चयनमा मात्रै अलमल गर्न नहुने बताउनुभयो । एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले वर्तमानको विश्लेषण गर्दै समृद्ध भविष्यको सपना साकार पार्न अधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी व्यावसायिक बनाउनु पर्छ – मन्त्री श्रेष्ठ

भक्तपुर -युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी खेललाई व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रले यहाँ शुक्रबार आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तर वडाकप ब्याडमिन्टन प्रतियोगिताको लोकन्थलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले खेलाडीमा खेलेरै पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रालयले खेल क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक कार्य अगाडि बढाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले राम्रा एवं दक्ष खेलाडी उत्पादन हुने गरी खेल प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, क्लब मध्यपुरका सञ्चालक अष्ट कवेँलगायतले खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।

दुई छोरासहित लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक पाउलको मृत्यु

रसुवा – रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा आज एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए ।

पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेलाई १३ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा आबद्ध नेपालीको उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताउनुभएको छ ।

रुसी सेनामा आबद्ध नेपालीका परिवारसँगको शुक्रबार भएको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिनुभयो ।

“तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु । नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज÷भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु”, गृहमन्त्री लामिछानेले भन्नुभयो । ‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गरेको हो ।

उक्त अभियानकर्तासँगै पीडित परिवारले आज मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा गम्भीर हुन आग्रह गरेको थियो ।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केही मानिसले आफूहरुसँग पैसा लिएको भन्दै तिनलाई पक्राउ गर्न समेत उनीहरुले गृहमन्त्री लामिछानेसमक्ष मागसमेत गरेका थिए ।

नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै


काठमाडौँ – नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमाल (६५९१ मिटर) को पहिलो आरोहण गर्नेभएको छ । उक्त प्रयोजनका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम शनिबार त्यसतर्फ जाने नेपाल पर्वतारोहण सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो ।

नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पहलमा उक्त टोली भोलि चैत २४ गने त्यसतर्फ प्रस्थान गर्ने भएको हो । सङ्घका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गर्नुभयो ।

विसं २०७९ चैत २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्को बैठक) ले सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । ‘यो आरोहण नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

आरोहण टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नेछन् भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाले नेतृत्व गर्ने जनाइएको छ । यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौं फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने जनाइएको छ । यसअघि सरकारले उक्त हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।

आरोहण दललाई शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गर्ने कार्यक्रम रहेको सङ्घका महासचिव लम्सालले बताउनुभयो । हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा जाने विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी अस्पतालद्वारा आठ महिनामा एक लाख ८० हजारलाई सेवा प्रदान


काठमाडौँ – चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी ६१ हजार ६ सय चार, प्रहरी परिवारका सदस्य ६२ हजार आठ सय ९३, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार दुई सय २५, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार पाँच सय ९८ तथा सर्वसाधारण १० हजार तीन सय ३८ जना रहेका सो अस्पतालका स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिनुभयो । विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको नेपाल प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको उहाँले बताउनुभयो ।

“अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको तथा अस्पताल चार दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ”, निर्देशक डा सिंहले भन्नुभयो ।

बहालवाला तथा पूर्व प्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित उक्त अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रुपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्दैआएको छ । सो अस्पतालबाट हाल आकस्मिक, बहिरङग, अन्तरङग, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी, सर्जरी लगायतका सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।

अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको र हाल नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँके, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रुपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट समेत सेवा प्रदान गर्दै आएको छ ।

“राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भइ कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ”, निर्देशक डा सिंहले भन्नुभयो । अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा एक हजार सात प्रहरी कर्मचारी हाल कार्यरत छन् ।

मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न प्रहरीका स्वास्थ्य कर्मचारीहरुले अथक मेहनत र प्रयास जारी राखेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।” विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पु¥याउन समय–समयमा विशेषज्ञ चिकित्सकसहितको टोली खटाएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको निर्देशक डा सिंहले बताउनुभयो ।

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

त्रिशूली (नुवाकोट), २४ चैत: नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ ।

देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । उहाँले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

बट्टार बजारबाट मान्द्रेढुङ्गा हँुदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ । सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनःनिर्माण सम्बन्धमा निर्णय भएको छैन ।

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

रुकुम – रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् । भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा रु ८२ करोड ४९ लाख रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।

चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु चार करोड १५ लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा रु ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा रु छ करोड ६० लाख २५ हजार रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकामा छ हजार दुई सय ८९, आठविसकोट नगरपालिकामा नौ हजार तीन सय १३, मुसीकोट नगरपालिकामा एक हजार तीन सय ९३, सानीभेरी गाउँपालिकामा छ हजार दुई सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा दुई हजार नौ सय ८३ अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राही कायम भएका छन् ।

त्यस्तै आठविसकोट नगरपालिकामा नौ हजार सात सय ३२, मुसीकोट नगरपालिका एक हजार छ सय ६०, सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय ८५, त्रिवेणी गाउँपालिकामा चार हजार सात सय २५ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा रु ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

एप्पलद्वारा ६०० कर्मचारी कटौती

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो ।

क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठूलो मात्रामा भर्नापछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीहरूमा कर्मचारी कटौतीको ठूलो अवस्थाबाट धेरै हदसम्म बचेको थियो ।

डब्ल्युएआरएन भनिने क्यालिफोर्नियाको कर्मचारी समायोजन तथ पुनरप्रशिक्षण अधिसूचना ऐनअनुसार एप्पलले मार्च २७ मा धेरै कार्यालयहरूमा छ सय १४ कर्मचारीलाई नोकरीबाट निकालेको छ । कम्पनीले कर्मचारी कटौतीबारे शुक्रबार कुनै जवाफ दिएको छैन ।

ब्लुमबर्गका अनुसार नोकरीमा कटौती कम्पनीको विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धित थियो । यसबाट एक दशकदेखि भइरहेको सङ्घर्षपूर्ण परियोजना समाप्त भएको छ । आइफोन निर्माताले आफ्नो गोप्य कार विकास कार्यक्रमका लागि करिब दुई हजार कर्मचारीलाई समर्पित गरेको तर उसले बढ्दो विद्युतीय वाहन (इभी) क्षेत्रको सामना गर्नुपरेको ब्लुमबर्गले बताएको छ ।

एप्पललाई कानूनीरूपमा क्यालिफोर्नियामा मात्र कर्मचारी कटौतीको सूचना दिन आवश्यक भएकाले कर्मचारी कटौतीको दायरा व्यापक हुनसक्छ ।

शिक्षामा दलीय राजनीति अन्त्य गर्न निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताउनुभएको छ ।

आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने दृढता व्यक्त गर्नुभयो ।

विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप रोक्न आफूले कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री नरही विज्ञमध्येबाट ल्याउन निर्णय गरी कानुन संशोधनका लागि अध्ययन कार्यदल बनाएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सबै विश्वविद्यालयका कानुनमा संशोधन गर्न समय लाग्ने भएकाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन केही नेपाल ऐन संशोधन विधेयकमा संशोधनमा परेको त्रिभुवन विश्वविद्यलाय र काठमाडौँ विश्वविद्यालयका कुलपति र सहकुलपतिमा आफूहरू नरहने भन्ने विषयलाई आफू स्वीकार गर्न तयार रहेको पनि स्पष्ट गर्नुभयो ।

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा केशरजङ्ग बरालले लिएको कार्ययोजनालाई आफूले सघाउने भन्दै शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्तिमा दलीय भागवण्डा नगरी खुला प्रतिस्पर्धाका आधारमा विज्ञको नाम छनोट गरिएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन विद्यालय शिक्षा विधेयकलाई छिटो पारित जिम्मेवारी संसद्कै भएकाले विधेयक नआञ्जेल विद्यालय सञ्चालनको राष्ट्रिय मापदण्डको मस्यौदा तयार गरी मन्त्रालयले सुझावका लागि आह्वान गरेको बताउनुभयो ।

यस्तै मन्त्री श्रेष्ठले निःशुल्क तथा अनिवार्य शिक्षाको संवैधानिक हक र छात्रवृत्ति, संस्थागत विद्यालयको शुल्क व्यवस्थापन आदिबारे कानुनमा भएका व्यवस्थाको कार्यान्वयनका लागि स्थानीय सरकारलाई आग्रह गरेको बताउनुभयो । मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको, कर्मचारी पदस्थापन, सरुवा र कामकाजसम्बन्धी मापदण्ड गरिएको पनि उहाँले जानकारी दिनुभयो । पत्रकारको प्रश्नको जवाफमा मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त शिक्षालय र शैक्षिक परामर्श केन्द्रलाई नियमन गरिने पनि स्पष्ट गर्नुभयो ।

मन्त्रालयका सचिव (विज्ञान हेर्ने) विश्वबाबु पुडासैनीले मन्त्रालयले शिक्षाका साथै विज्ञान र प्रविधि क्षेत्रलाई पनि उत्तिकै महत्व दिने बताउनुभयो ।

उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

काठमाडौँ, २३ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ ।

देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।

कृषि मन्त्रालयद्वारा वार्षिक उपलब्धि सार्वजनिक

कर्णाली – कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले नीतिगत तथा संस्थागत कार्य र उपलब्धिहरू सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी एक वर्षको उपलब्धि सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार मन्त्रालयले नीतिगततर्फ प्रदेश खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावलीको पहिलो संशोधन प्रदेश खाद्य परिषद् समितिमा कृषकको प्रतिनिधित्व सुनिश्चित, कर्णाली प्रदेश सहकारी नियमावली २०८० तथा कृषि व्यवसाय प्रवर्द्धन नियमावली २०८०, स्वीकृत गरिएको बताउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशको बीउविजन ऐन, २०८० को मस्यौदा अन्तिम चरणमा पुगेको छ । गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड, २०८० जारी, कर्णाली प्रदेश भूउपयोग नीति, जोखिम संवेदनशील भूउपयोग योजना कार्यान्वयन निर्देशिकाको मस्यौदा तयार भएको छ ।

संस्थागत पूर्वाधार निर्माणतर्फ मन्त्रालयले उन्नत जातका पशुको विकास तथा विस्तार, उन्नत पशुको वीर्यलाई जीवित भण्डारणको लागि तरल नाइट्रोजन उत्पादन गर्ने कारखाना स्थापना गर्न बजेट स्रोत सुनिश्चितसहित डिपीआर भई टेण्डरको चरणमा पुगेको, मौरी विकास कार्यालय स्थापना लागि व्यावसायिक विकास केन्द्र हरिहर भवन ललितपुर, मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनसँग मन्त्रालयले समझदारी पत्रमा हस्ताक्षर गरेको मन्त्री शर्माले बताउनुभयो ।

वागवानी विकास केन्द्र दार्मा हुम्लालाई प्राङ्गारिक कृषि प्रवर्द्धन तथा विकास केन्द्रको रुपमा स्तरोन्नतिका लागि सङ्गठन संरचना निर्माणको प्रस्ताव गरिएको, विसं २०४९ देखि बन्द भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ बलाङ्ग्रामा चौरी विकास फर्म पुनःस्थापना गरी सरकारी स्रोत केन्द्रका रुपमा विस्तार गर्न काम थालिएको उहाँले जनाउनुभयो ।

कर्णालीको प्राङ्गारिक तथा रैथानेबालीको सङ्कलन, प्रशोधन, ब्राण्डिङ र बजारीकरणबाट मूल्य अभिवृद्धि गर्ने सोचसहित सुर्खेतमा अत्यधुनिक प्रविधिसहितको स्वचालित रैथानेबाली प्रशोधन केन्द्र (मिल) स्थापना गर्न मन्त्रालय र नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता गरी प्रक्रिया अगाडि बढाइएको छ ।

उहाँका अनुसार कर्णालीमा चिया तथा कफी बोर्डको शाखा कार्यालय स्थापनाका लागि सङ्घीय सरकारसमक्ष प्रक्रिया अगाडि बढाइएको र विशेषगरी कर्णाली प्रदेशमा आयात र निर्यात हुने कृषि तथा पशुपंक्षीजन्य उत्पादनको तथ्याङ्क सङ्कलन गरी तथ्यमा आधारित नीति तथा योजना निर्माण गर्न प्रदेशका प्रमुख नाका सुर्खेतको बबई र सल्यानको कपुरकोटमा अस्थायी तथ्याङ्क सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

गत मङ्सिर महिनादेखि तथ्याङ्क सङ्कलन कार्य सुरु भई उक्त स्थानमा विषादी द्रूत विश्लेषण तथा तथ्याङ्क सङ्कलन कार्यालय स्थापनाका निम्ति कर्मचारी दरबन्दी प्रस्तावसमेत गरिएको उहाँको भनाइ छ । मन्त्रालयले चालु आवमा कर्णालीका १० जिल्लामा बाढी, पहिरो, हुरी तथा चट्याङका कारण बालीनाली र पशुपंक्षीमा भएको क्षतिका लागि सम्बन्धित जिल्ला कार्यालयबाट किसानलाई रु तीन करोड २६ लाख ९३ हजार राहत रकम वितरण गरेको छ ।

दुग्ध प्रवर्द्धन कार्यक्रममार्फत दूध उत्पादन गर्ने कृषकलाई पहाडी जिल्लामा प्रतिलिटर रु पाँच र हिमाली जिल्लामा रु १० का दरले रु एक करोड २७ लाख ४८ हजार प्रोत्साहनबाट रु २३ लाख ९२ हजार नौ सय ८८ लिटर दूध बजारमा पुग्दा तीन हजार ५३ जनालाई पाँच महिना र चार सय १२ जनालाई पूर्ण रोजगारी सृजना भएको मन्त्रालयले जनाएको छ ।

‘कर्णालीले जे बेच्छ, मूल्यवान कृषि उपज बेच्छ’ भन्ने अवधारणाका आधारमा प्रदेशका निर्यातयोग्य प्राङ्गारिक, रैथाने र उच्च मूल्य वस्तुहरुको पहिचान झल्किने ‘मूल्यवान’ लोगो प्रयोग गरी बजारीकरणको सुरुवात र ट्रेडमार्कको लागि पहल गरिएको मन्त्री शर्माले बताउनुभयो । उहाँका अनुसार पशुधनलाई सङ्क्रामक रोगमुक्त बनाउन यो वर्षमा १५ लाख ७३ हजार चार ६३ पशुपंक्षीलाई खोप लगाइएको छ ।

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री लामिछाने

काठमाडौँ, २३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताउनुभएको छ ।

गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना गर्नुभएको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताउनुभयो । उहाँले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गर्नुभयो । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गर्नुभयो । उहाँले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पार्नुभयो । ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले विश्वास व्यक्त गर्नुभयो । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उहाँको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको उल्लेख गर्नुभयो ।

अमेरिकाद्वारा चीनविरुद्ध इयुसँग निकट धारणाको स्वागत

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’ को शुक्रबार प्रंशसा गर्नुभएको छ ।

“पछिल्लो तीन वर्षमा यी मुद्दामा हाम्रो दृष्टिकोणमा समानाता बढिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (इयु) एकताबद्ध हुँदा र हामी सामान्य उद्देश्यका लागि काम गरिरहेका बेला यसले ठूलो फरक पार्छ”, बेल्जियममा व्यापार र प्रविधिमाथि इयु–अमेरिका बैठकमा सहभागी भएपछि उहाँले भन्नुभयो ।

इयु–अमेरिका बैठक एटलान्टिकका दुवैतर्फ रहेका ठूला अर्थतन्त्रहरूका लागि आफ्ना मतभेदहरू हटाउन र व्यापार तथा प्रविधि क्षेत्रमा संयुक्त पश्चिमी स्थितिहरूको निर्माणका लागि आधार तयार गर्ने मञ्च हो ।

इयु र अमेरिकाले वैश्विक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब एक तिहाई हिस्सा लिन्छन् भने चीनले करिब १६ प्रतिशतको प्रतिनिधित्व गर्दछ । वैश्विक जिडिपीको गणना क्रयशक्ति समानतामा गरिन्छ । नाममात्रको सन्दर्भमा इयु र अमेरिकाले वैश्विक जिडिपीको करिब ४४ प्रतिशत र चीनले करिब १८ प्रतिशत योगदान गर्दछन् ।

वासिङ्टनले धेरै क्षेत्रमा अधिकांश धेरै खर्च गर्न सक्ने बेइजिङ सरकारद्वारा निर्देशित र समर्थित चिनियाँ आयातविरुद्ध थप आक्रामक अडान लिएको छ । ब्रसेल्सले भने चिनियाँ उत्पादनहरूमा निर्भरता कम गर्ने थप ‘जोखिमरहित’ रणनीति अपनाइरहेको छ ।

चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शुक्रबार चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ । उहाँले चीनको ‘अतिक्षमता’ ले अमेरिकी र अन्य मुलुकका कम्पनीहरूमा हुने कटौतीबारेमा चिन्ता व्यक्त गर्नुभयो ।

बेल्जियममा इयु–अमेरिका बैठकपछि इयुका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीले ‘सेमीकन्डक्टरको क्षेत्रमा लचिलो आपूर्ति शृङ्खला विकास’ का लागि ट्रान्सएटलान्टिक सहयोगको ‘आर्थिक दबाब’ माथि प्रकाश पार्नुभयो । “अत्यन्त जटिल भू–राजनीतिक परिस्थितिमा इयु र अमेरिकाले रणनीतिक सहयोगीका रूपमा एकसाथ काम गर्नु वास्तवमा महत्त्वपूर्ण छ भन्ने कुरा अत्यन्त स्पष्ट छ”, चीनको नाम नलिई उहाँले भन्नुभयो ।

इयुका एकाधिकार व्यापारविरोधी प्रमुख कमिश्नर मार्गरेट वेस्टेजरले ब्रसेल्सले आफ्नै अडान बनाएको र त्यसलाई अमेरिकी समकक्षीहरूसँग बैठकमा प्रस्तुत गरिएको बताउनुभयो । “यो कसैको विरुद्धमा होइन, यसले हामीलाई बलियो बनाउँछ, यो वास्तमा सहयोग समर्थक हो र हामीले वास्तवमा डेलिभर गरेका छौँ भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो ।

प्रदेश र स्थानीय तहको समन्वयले सङ्घीयता सवल हुन्छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर (धनुषा) – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र सङ्घीयता सवल हुने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र नेपाल कानुन समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो ।

नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी सङ्घीयतालाई नै कमजोर गर्ने काम गरेकाले सङ्घीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्नुको विकल्प नरहेको बताउनुभयो ।

सङ्घीयता मधेसलाई नै चाहिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । स्थानीय तहको परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यहरूलाई प्रतिनिधित्व गराउन आग्रह गर्नुहँुदै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदै हुने बताउनुभयो ।

सङ्घीयताले मधेसको गाउँगाउँसम्म विकासको अनुभूति गराएको दाबी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्रदेखि प्रजातन्त्रसम्म मधेसले भोगेको हविगत सबैसामु छर्लङ्ग रहेको बताउनुभएको छ ।

कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेस सरकारबाट निर्माण भएको कानुन कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीसहितका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा मधेस सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेस प्रदेशसभाका सभासद, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

वाम शक्ति एकीकरण सुरु भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

इलाम, २३ चैत : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताउनुभएको छ । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिष्टहरू एकढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ कोे आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताउनुभएको हो ।

आज गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताउनुभएको हो । “अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिष्ट एक भएर जान्छन् ।”

पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताउनुभएको छ । त्यही अनुरूप अहिले सरकार गठन भएको उहाँको भनाइ छ । “एकता भन्ने कुरा जहिले पनि सम्भव छ । अझ वाम एकता हुन त ढिला भइसक्यो । विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन”, उहाँले भन्नुभयो, “तर अब टाउका मिल्ने होइन विचार मिल्नेबीच एकता हुनुपर्छ ।” पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उहाँको भनाइ छ । “पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ”, नेता खनालले भन्नुभयो ।

सम्मानित नेता खनालले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउँदै यतिबेला मुलुक ठूलो सङ्कटमा रहेको बताउनुभयो । “आर्थिक तरलता, राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र युवा पलायनका कारण देश सङ्कटमा परेको छ”, उहाँले भन्नुभयो, “आम नागरिक निराश भएका बेला बनेको नयाँ समीकरणका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्छ ।”

खनाल इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम आउनुभएको हो । वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ । माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ । खनालले केन्द्रमा गठबन्धन भए पनि जिल्लाको उपनिर्वाचनमा एमालेसहित अन्य दलसँग आफ्नो पार्टीले स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । नेता खनालले ठूलो वाम शक्तिले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्न खोजे पनि सत्ता साझेदार ठूलो दल एमालेले एक्लै चुनाव लड्ने भनेपछि आफूले विश्राम लिएको बताउनुभएको छ ।

नेता खनाल २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजित भएपछि पहिलोपटक जिल्ला आउनुभएको हो । उहाँले इलाम–२ का विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एसका जिल्ला उपाध्यक्ष चित्रकला बराइलीले जानकारी दिनुभयो ।

‘अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्ने बजेट ल्याइनुपर्छ’

काठमाडौँ, २३ चैत : अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने सुझाव यस क्षेत्रका जानकारहरूले दिनुभएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले यहाँ आयोजना गरेको तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०८० का वक्ताहरुले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्ने गरी कार्यान्वयनयोग्य र नतिजामुखी बजेट ल्याउन सुझाव दिनुभयो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमितामाथि पर्याप्त छलफल गरेर सबै क्षेत्रका सुझाव लिई समावेशी बजेट ल्याइनुपर्ने बताउनुभयो । संसद्मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा केही महिला सांसदहरूले आफ्ना कुरा राख्न नपाएको गुनासो आफूसँग गरेको बताउनुुहुँदै उपसभामुख रानाले सरकारले सबै क्षेत्र, वर्ग र समुदायलाई समेट्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक अवस्था नसुध्रिएसम्म अर्थतन्त्रको अवस्था नसुध्रिने बताउनुभयो । “देशको अर्थतन्त्रले भोगेका समस्याका कारण के हुन् र कसरी समाधान गर्ने भनेर हामीले जतिसुकै कुरा गरे पनि जबसम्म राजनीति दुरुस्त हुँदैन, तबसम्म अर्थतन्त्र ठिक ढङ्गले अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो, “निर्वाचन हुन्छ, सरकार बन्छ, फेरि भत्किन्छ । राजनीतिको यस्तो दुरावस्थामा अर्थतन्त्र सुध्रिँदैन ।”

पछिल्लो समय सरकार साझेदार दलहरू फेरिएर नयाँ सत्ता समीकरण बनेपछि मुलुकको राजनीति सही लयमा फर्किएको र यसले अर्थतन्त्रलाई पनि लयमा फर्काउने दाबी उपाध्यक्ष पौडेलले गर्नुभयो । नागरिक सेवा प्रवाहलाई सहज बनाउने कुरालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उहाँको भनाइ छ । मुलुकभित्रै पुँजी सिर्जना भएर आर्थिक वृद्धिदर नबढेसम्म अर्थतन्त्रमा सुधार नहुने उहाँले उल्लेख गर्नुभयो ।

“अहिले अर्थतन्त्रको समस्या भनेको न्यून आर्थिक वृद्धिको समस्या हो । आर्थिक वृद्धिदर बढाउन लगानी बढाउनुपर्छ”, उपाध्यक्ष पौडेलले भन्नुभयो, “द्रुत र उच्च आर्थिक वृद्धि कसरी हासिल गर्ने भनेर छलफल आवश्यक छ । विकासका सम्भावना पर्याप्त हुँदाहुँदै हामी किन पछाडि पर्यौँ ? भनेर छलफल चलाइनुपर्छ ।”

पछिल्लो समय सरकारले पुँजीगत खर्च बढाउन, निजी क्षेत्रको मनोबल उठाउन, सेवा प्रवाह सहज बनाउनलगायतका क्षेत्रमा पहल गरिरहेको उपाध्यक्ष पौडेलको भनाइ छ । विकासमा सबै नागरिकको समान पहुँच निर्माण गर्नका लागि के गर्नुपर्छ भनेर सरकारले सोच्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा विकास आयोजना सुरुमात्रै हुन्छन्, तर समयमा सम्पन्न हुँदैनन् भन्ने प्रवृत्तिलाई चिर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले सत्यतथ्यमा आधारित र कार्यान्वयनयोग्य बजेट ल्याउने तयारी सरकारले गरिरहेको बताउनुभयो । सोह्रौँ आवधिक योजना निर्माणको काम अन्तिम चरणमा रहेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि लागू हुने उक्त आवधिक योजनाले २०८० देखि २०९० सम्मको अवधिलाई रोजगारी, उत्पादन र पर्यटन दशकका रूपमा मनाइने बताउनुभयो ।

“सत्यतथ्यमा आधारित भएर देशभित्रका समस्या पहिचान गरी समाधानको कार्यान्वयनयोग्य विकल्पसमेत दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको छ”, सदस्य डा फुँयालले भन्नुभयो, “हाम्रा सामाजिक क्षेत्रका सूचक राम्रा छन् । आर्थिक सूचकहरू केही खराब देखिएका हुन् । तर पनि गत वर्षको भन्दा यस वर्ष आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको छ ।”

सरकारले गर्ने विकास खर्च बढ्नुपर्ने आवश्यकता सदस्य डा फुँयालले औँल्याउनुभयो । राष्ट्रिय गौरवका आयोजनामा अनुगमनसम्बन्धी कार्यविधि निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । त्यस्तै सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका संस्थाको काम के हो भनेर स्पष्ट हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्रमा सकारात्मक सूचकहरू देखिँदै गएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फिति साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकामा चालु आर्थिक वर्षको सुरुआती आठ महिनामा उपभोक्ता मुद्रास्फिति चार दशमलव ८२ प्रतिशत रहेको उहाँले बताउनुभयो । त्यस्तै फागुन मसान्तसम्ममा आयात, निर्यातसँगै वैदेशिक व्यापार घाटा पनि घटेको उहाँको भनाइ छ । विप्रेषण, विदेशी मुद्रा सञ्चिति र वैदेशिक लगानी बढेको डेपुटी गभर्नर डा तिम्सिनाको दाबी छ । अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर उल्लेख्यरूपमा घटेको उहाँले बताउनुभयो ।

विश्वका धेरैजसो देशका केन्द्रीय बैंकले अहिले पनि कसिलो मौद्रिक नीति कायमै राखिरहेकामा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर र बैंकदर घटाए र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको डेपुटी गभर्नर डा तिम्सिनाको भनाइ छ । नीतिगत दर र बैंकदर घटाएर कारण ब्याजदर घटेको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै पछिल्लो समय पर्यटक आगमनमा उल्लेख वृद्धि भएको र निक्षेप सङ्कलन तथा कर्जा प्रवाह दुवै बढेको उहाँले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको कुल निष्क्रिय कर्जा बढेको भए पनि यही कारणमात्रै नेपालको बैंकिङ क्षेत्र कमजोर रहेको भन्न नमिल्ने डेपुटी गभर्नर डा तिम्सिनाले बताउनुभयो । पुँजीगत खर्च बढ्न सकेमा र ठूला आयोजना निर्माण अघि बढेमा त्यसले अर्थतन्त्र चलायमान हुन सघाउने उहाँले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री वर्षमान पुनका प्रमुख आर्थिक सल्लाहकार प्रा डा सूर्यबहादुर थापाले अहिले सरकार बजेट निर्माणको क्रममा रहेको बताउनुहुँदै बजेटलाई कसरी जनमुखी बनाउने भनेर सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । अहिले केही शिथिल देखिएको अर्थतन्त्रलाई चलायमान बनाउनु आगामी आर्थिक वर्षको बजेटको उद्देश्य हुने उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रको स्वरुपलाई सुक्ष्म रूपमा विश्लेषण गरेर सरकारले कार्यान्वयनयोग्य नीति ल्याउनुपर्ने बताउनुभयो । मुलुकको अवस्था निकै खराब अवस्थामा पुगिसकेको भनेर भाष्य बन्दै जानु दुःखद् रहेको पनि उहाँको भनाइ छ ।

“यो मुलुकमा केही पनि भएको छैन, त्यही कारण युवा पलायन भइरहेका छन् भन्ने भाष्य देखिइरहेको छ । तर केही पनि नभएको भन्ने होइन, तर हाम्रो अपेक्षाअनुसार भने काम हुन नसकेको हो”, पूर्वउपाध्यक्ष क्षेत्रीले भन्नुभयो । विदेश गएका युवाले आर्जन हरेको सीप र पुँजी नेपालमै प्रयोग गर्ने परिस्थिति सिर्जना गरिनुपर्ने उहाँको भनाइ छ । सरकार चाँडो चाँडो बदलिने र अघिल्ला सरकारले अघि बढाएका आयोजनालाई पछिल्ला सरकारले निरन्तरता नदिने प्रवृत्तिका कारण पुँजीगत खर्च कम भएको उहाँको बुझाइ छ । त्यस्तै विलासिताका वस्तु आयातमा कडाइ गर्दा सरकारी राजस्व न्यून भएको पूर्वउपाध्यक्ष क्षेत्रीको भनाइ छ ।

सोही कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले स्वाधीन तथा समुन्नत अर्थतन्त्र निर्माणमा योगदान दिने उद्देश्यले नेपालको अर्थतन्त्रको यथार्थ स्थिति जान्न र सम्भाव्य कार्यदिशा तय गर्न यो सम्मेलन महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण अहिले सहकारी क्षेत्रमा समस्या आएको बताउनुभयो । सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, बचत तथा कर्जा सुरक्षण कोषलगायतका व्यवस्था ऐनमा राखिएको भए पनि यसको कार्यान्वयन हुन नसक्दा समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्तै एक व्यक्ति एउटा सहकारीमा मात्र सहकारीमा सदस्य हुनसक्ने व्यवस्था ऐनमा राखिएको भए पनि उक्त व्यवस्थासमेत अलपत्र परेको अध्यक्ष मल्लको भनाइ छ । अहिले करिब ३१ हजार तीन सय सहकारी सञ्चालनमा रहेकामा पाँच सयको हाराहारीमा सहकारी समस्यामा रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री शर्मा

रामपुर (पाल्पा), २३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाल्पाको सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चारमाध्यमको सवलीकरण तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको बताउनुभयो । “देश–विदेशका सूचना क्षण–क्षणमा प्रवाह गर्न सञ्चारमाध्यमको अभाव छैन । तर समुदायका नागरिकको आवाज र भावना समुदायकै भाषाशैलीमा प्रस्तुत गर्ने दायित्व भनेकै सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमले मात्र निर्वाह गर्न सक्छन्”, उहाँले भन्नुभयो ।

सामुदायिक रेडियोको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि स्थानीय सञ्चारमाध्यम बढी समुदाय केन्द्रित हुनुपर्ने बताउनुभयो । स्थानीय सञ्चारमाध्यम स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने अझ आकर्षण बढेर जाने उहाँको भनाइ थियो । सञ्चारमाध्यमको बढ्दो सङ्ख्या र सूचना प्रविधिमा आएको परिवर्तनका कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिनुभयो ।

समुदायकै सहयोगमा सवल बनाउन सकिने भन्दै उहाँले स्थानीय सञ्चारमाध्यमले समाजका नकारात्मक विषयको चिरफार गर्दै सकारात्मक चेतना दिने समाचारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । संविधानले आमसञ्चार क्षेत्रको नियमनको पाटोलाई सङ्घीय सरकारको दायित्वभित्र राखे पनि प्रवर्द्धनको सवालमा तीनै तहका सरकारको अधिकार सूचीमा राखेको उल्लेख मन्त्री शर्माले गर्दै प्रदेश र स्थानीय तहहरूले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताउनुभयो ।

संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल देखिएको उल्लेख गर्दै मन्त्री शर्माले यसलाई चिर्दै जतिसक्दो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार लागेको जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

“मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषद्बाट पारित गरेर सङ्घीय संसद्मा दर्ता गर्ने अन्तिम तयारी छ”, मन्त्री शर्माले भन्नुभयो । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । सबै क्षेत्रमा महत्त्वपूर्ण सुरुआत भए पनि सरकारले चाहेजस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।

नियमित तर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकतर्फको चालू

भक्तपुर, २३ चैत: यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

आजसम्मको परीक्षा देशभर शान्तिपूर्ण रपमा सम्पन्न भएको र केही छिटफुट घटनाबाहेक अन्य गम्भीर कुनै घटना नभएको उहाँले जानकारी दिनुभयो । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालू रहेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।”

परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उहाँले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरेको जानकारी दिनुभयो ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फाराम भरेका थिए । कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने बताउँदै सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताउनुभयो । परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा स्तरवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

आफैंले ललितपुरबाट गैर आवासीय नेपाली नागरिकता लिंदा र सिडियोसापसँगको कुरा

अमेरिका करिब २ दशक समयको लडाइ पछि म आफूले पनि आफ्नै साविक थलो ललितपुर जिल्लाबाट नेपाली वंसज नागरिकताको प्रमाण पत्र दिएर गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र साटे।

हुन त नेपालको प्रचलित संबिधानमा संबिधान घोषणा हुँदाको बखत भन्दा पहिला नै वंसजको नागरिकता लिएका सबै नेपालीहरु साविककै वंसजका नागरिक हुने कुरा उल्लेख छ। संबिधानको यो व्यवस्थाले म र म जस्तै वंसजका नागरिकले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र साट्न जरुरी नहुनुपर्ने हो। साथै त्यससँग अन्य ऐन बाझेकाले त्यस्ता ऐन स्वतह निस्कृय हुनुपर्ने हो तर त्यसो भएको छैन। म र म जस्ताले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र साटेर लिनुपर्ने भएको छ।

नेपालको संबिधान, ऐन र कानुन अनुसार नगरिकका ३ दर्जन भन्दा धेरै अधिकार छन्। त्यसमध्ये गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र लिनेले तिनै ३ दर्जन भन्दा धेरै अधिकार मध्ये ३ वटा मात्र निर्वाचनमा भाग लिने, मतदान गर्ने र बैतनिक कर्मचारी हुने बाहेक सबै अधिकार पाउने कुरा संबिधान र ऐनले ब्यबस्था गरेको छ। तर संयुक्त राष्ट्र संघसंग गरेका संझौता अनुसारका मेडिकल, कानुन र प्राध्यापन लगातका केहि पेशाका कुरामा भने सो कानुन लागु नहुन सक्छ। तर त्यसको भएको छैन। यो नागरिकता कतै पनि चल्दैन। यसलाई चालु गर्न करिब ३२ भन्दा धेरै प्रचलित ऐनहरु संसोधन गर्नुपर्ने कुरा कानुविदहरु बताउँछन्।

नागरिकता किन काम लाग्दैन?

गैर आवासीय नेपाली नागरिकताले ३ वटा बाहेक अरु सबैतिर काम गर्नुपर्नेमा फ्लाइट टिकेटमा पनि काम लाग्दैन किन? संबिधान, ऐन र कानुनको बिरुद्धमा भएन र ?

हालसम्म प्रत्यक्ष रुपमा सरोकार रहेका क्षेत्र/बिभाग तथा मन्त्रालय

भूमिसुधार
पर्यटन, नागरिक उड्यन
अर्थ
स्थानीय प्रशासन
परराष्ट्र
गृह
स्वास्थ्य तथा जनसंख्या
शिक्षा
उद्योग
वाणिज्य
कम्पनि रजिस्ट्रार
कानुन
न्यायालय
संघ-संस्था दर्ता
लगानी तथा संपति सुरक्षा
अब कुरा गरौँ नागरिकता साट्दाका कुरा

मार्च १२ देखि नागरिकता लिन प्रक्रिया सुरु गरेको मलाइ गैर आवासीय नेपाली नागरिकता लिन ६ दिन लाग्यो। त्यो पनि बिहान देखि सांझ सम्म। के यो सेवा सहज थियो ? यदि पुर्खा बसाइ सरेका रहेछन र बसाइ-सराइ दर्ता गरेको रहेनछ भने अर्को झन्झट मात्र होइन करिब-करिब असंभव नै हुन्छ।

गैर आवासीय नेपाली नागरिकताको लागि जानकारी, सूचना र गाइडलाइन गृहमन्त्रालय, जिल्ला प्रशाशन साइट कतै पनि छैन, पाइंदैन।
गैर आवासीय नेपाली नागरिकताको लागि भर्ने अनुसूची ८ र ९ का फर्महरु जिल्लामा उपलब्ध छैनन। गृहसाइटमा अनुसूची ८ का फर्म छन् तर ९ को छैन।

अनुसूची ९ त कतै पनि पाइंदैन, फोटोकपी सेन्टरमा किन्नुपर्छ।
कतिपय कुरा जस्तोकी पंजीकृत दर्ता/रेकर्डका फर्महरु नेपाली कागजमा हुनुपर्ने रे त्यो कुरा कतै पनि उल्लेख छैन। कागज बनाएर ल्याएपछि लौ हुँदैन भनेर फिर्ता जाँदा कति दु:ख होला ?
वडा कार्यालयबाट नागरिकताको लागि मात्र सिफारिस लिनुपर्नेमा ललितपुरले परित्यागको पत्र पनि मागेको छ। त्यो कुरा प्रमुख जिल्ला अधिकारीले गर्ने भनेर ऐन-कानुने तोकिएकोमा यसो किन गरेको होला ?
सक्कल, दुरुस्त र प्रष्ट रुपमा वंसजको नागरिकता र पासपोर्टका सक्कल प्रति लिएर आउँदा, प्रहरी रिपोर्ट किन चाहिने ? नागरिकता लिंदा प्रहरी रिपोर्ट किन? के अपराधीले नागरिकता नपाउने हो ? मन्त्री र सांसद हुनेले प्रहरी रिपोर्ट लिनु नपर्ने नागरिकता लिंदा किन रिपोर्ट लिनुपर्ने ? अपराधीले मन्त्री हुन पाउने तर संबैधानिक अधिकारको नागरिकको प्रमाण लिन नपाउने हो ?
सक्कल नागरिकता र पासपोर्टको सक्कल प्रति लिएर जाँदा अनावश्यक रुपमा सनाखतको नाममा दोश्रो व्यक्ति किन चाहिने ? यदि दोश्रो पुस्ता भएमा त्यो कुरा आवश्यक हुनसक्ला तर सक्कल लिएर जानेलाई किन आवश्यक पर्ने हो?
म जस्तो पहिलो पुस्ताले त सारै दु:ख पाउने यो बिधि दोश्रो-तेश्रो पुस्ताका गैर आवासीय नेपालीको लागि भने करिब-करिब असंभव जस्तै छ।

गैर आवासीय नेपाली नागरिकतामा साविकको गाउँ बिकास समिति लेखिएको छ। तर त्यो वंसजको नागरिकता लिंदाको बखत पंचायत भएकाले गाउँ/नगर पंचायत हुनुपर्ने थियो। किन बिकास समिति भनिएको होला ?
कर्मचारी मध्ये ४ जना (दर्ता र फाँट) ले काम गर्दा रहेछन बाँकी ४ जनाले कागजमा सहि मात्र गर्दा रहेछन। काम गर्नेको संख्या भन्दा सहि गर्नेको संख्या धेरै किन भएको होला भन्ने प्रश्न?

आश्वासन र प्रगति

म आफूले नागरिकता लिएपछि स्वयं सिडियो सापले अमेरिकामा के काम गर्ने भनेर सोध्नुभयो। मैले आफ्नाबारे बताताएं। गैर आवासीय नेपाली नागरिकता संबन्धि अभियानमा म आफू र अरुले गरेका योगदानकाबारे पनि बताए। अनि उहाँले केहि सुझाव लिन मान्नुभयो। मैले फर्म र गाइडलाइन नहुँदा दुख पाएकोले त्यो ब्यबस्था गरिदिनको लागि अनुरोध गरे। उहाँले हुन्छ भन्नुभयो तर आजको दिनसम्म पनि त्यो पुरा भएको रहेनछ।

‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’

ललितपुर, २३ चैतः मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।

नेपाल मेडिसिटी अस्पतालद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा डा गोपालरमण शर्माले मस्तिष्काघातको उपचार महङ्गो रहेको भन्दै मस्तिष्काघात भएपछि छिटोभन्दा छिटो अस्पताल ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मस्तिष्काघात भएका बिरामीलाई छिटोभन्दा छिटो अस्पताल नल्याए पक्षघात हुने वा बचाउन कठिन हुने अवस्था भएकाले बढीमा चार÷पाँच घण्टाभित्रै अस्पताल ल्याइसक्न सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”

स्नायुरोग विशेषज्ञ डा बाबुराम पोखरेलले व्यक्तिको अनुहार बिग्रने, शरीरको सन्तुलनसहित आँखाको ज्योति गुम्ने, बोली लरबरिने र हातले काम गर्न छाड्नेजस्ता सङ्केत मस्तिष्काघातको लक्षण हुनसक्ने भन्दै त्यसतर्फ सचेत भई बिरामीलाई अस्पताल लैजान सुझाव दिनुभयो ।

स्नायुरोग विशेषज्ञले नसर्ने रोगका रुपमा परिचित मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु हुने गरेको, पक्षघातको समस्या झेल्नुपरेको र ठूलो धनजनको नोक्सान भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

अस्पतालले मस्तिष्काघातसम्बन्धी समस्या समाधानका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइएको, चिरफार शल्यक्रिया (ओपन सर्जरी) र सानो प्वाल बनाई (न्यूरो इन्टरभेन्सन) विधिबाट शल्यक्रिया गर्दै आएको र निकट भविष्यमा ‘कम्प्रिहेन्सिभ स्ट्रोक सन्टेर’ सञ्चालन गर्न लागेको जनाएको छ ।

दोब्बर समयमा पनि सकिएन ‘हुलाकी सडक’

महेन्द्रनगर (कञ्चनपुर), २३ चैत ः कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गर्नुभयो ।

तीस महिनाभित्र सम्पन्न गर्नेगरी विसं २०७३ फागुनमा निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडक निर्वाचित सांसदको क्षेत्रमा ९७ प्रतिशतभन्दा बढी पर्दछ । निर्धारित समयावधिभन्दा दोब्बर बढी समय सकिँदा पनि उक्त सडक सम्पन्न भएको छैन ।

सांसद लामाले मात्रै होइन कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकले पटक÷पटक हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा दबाब दिइरहे पनि निर्माणले गति लिन सकेको छैन ।

कञ्चनपुरको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण गर्नुपर्ने उक्त सडक तीन चरणअन्तर्गत एकैसाथ ठेक्का गरी काम अगाडि बढाइए पनि दोस्रो र तेस्रो चरणको करिब ५० प्रतिशत काम बाँकी छ ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले हुलाकी खण्डको दोस्रो र तेस्रो चरणको काम जारी रहेको बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाको बेलौरी–बेल्डाँडी खण्डमा १०.५ किलोमिटर सडक कालोपत्र भएको छ ।

“काम बाँकी रहेकाले छैँटौँ पटक म्याद थपका लागि सडक विभागमा फाइल पुगेको छ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा एक हजार चार सय मिटर खण्ड भारतीय पक्षले ग्राभेल हाल्न दिएको छैन । तेस्रो खण्डको केही भू–भाग कालोपत्रका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अनुमति आएको छैन ।”

“यहाँ तीन किलोमिटर कालोपत्र गर्ने तयारी भइरहेको छ”, इन्जिनियर कडायतले भन्नुभयो, “पचुँइ क्षेत्रमा सीमा विवादका कारण काम रोकिएको छ ।” उक्त कामको जिम्मा बाबा हङ्स–सिद्धिसाई जेभीले रु ४१ करोड ४१ लाखमा पाए पनि केही समय निर्माण कम्पनी आयोजना कार्यालयको सम्पर्कमा नआएकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

हुलाकी सडकको अन्तिम चरणअन्तर्गत बेल्डाडी–दैजीको २२.५ किमीमध्ये ९.५ किमी कालोपत्र भएको इन्जिनियर कडायतले बताउनुभयो । “निकुञ्जबाट काम गर्ने अनुमति नपाउँदा निर्माण कम्पनीले सामग्री थन्क्याएको छ”, उहाँले भन्नुभयो, “यो चरणअन्तर्गत निर्माण कम्पनीले काम गरिसकेको करिब रु एक करोड पाउन बाँकी नै छ ।”

शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको अन्तिम चरणको काममा लामो समयसम्म कम्पनीले ढिलासुस्तीका कारण लम्बिएको कडायतले बताउनुभयो । लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरी बेवास्ता गरेको उहाँको भनाइ छ

नेपाली पूँजी पलायन हुन दिँदैनौँ : मन्त्री भण्डारी

काठमाडौँ, २३ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ ।दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिनलागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।”

मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले लगानीसँग सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेको जानकारी दिनुभयो ।

लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ सङ्कल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाँझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताउनुभयो । उहाँले नेपालमा पर्यटन, उर्जा तथा अन्य स्वदेशी वस्तुको प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताउनुभयो ।

जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादन भएका बस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको मन्त्री भण्डारीको भनाइ थियो । तीन तहका सरकारबीच समन्वय गरेर सङ्घीय सरकार अघि बढेको उहाँले बताउनुभयो । “उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछौँ, ब्याजमा अनुदान दिने कार्यक्रम पनि ल्याउँदैछौ, स्थानीय सरकारसँग समन्वय गरेर प्रविधि हस्तान्तरण कार्यक्रम ल्याउने तयारी छ, सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन गर्न अधिकतम रुपमा नेपाली वस्तु उपभोग गर्ने अभियान सञ्चालन गर्दैछ”, मन्त्री भण्डारीले भन्नुभयो ।

सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश

काठमाडौँ, २३ चैत : उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

पुनरावेदन गरिएको मुद्दामा अदालतले अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउने भनिन्छ । अदालतले उक्त मुद्दामा आगामी वैशाख ३ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ । लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई त्यही वर्ष असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ – प्रधानमन्त्री

गोरखा, २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताउनुभयो ।

गोरखा, २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले गतसाल नै भनेको थिएँ सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउने तरिका अब परम्परागत हुनेछैन, त्यसलाई नयाँ तरिकाबाट सामूहिक विवेकको प्रयोग गर्दै सबै सांसदको राय लिएर बजेट बनाउने प्रक्रिया सुरु भइसकेको छ ।” अध्यादेशमार्फत पुरानै शैलीबाट बजेट ल्याउने परम्परा तोडिएको उहाँको भनाइ थियो । अब आउने बजेट उत्पादकत्व र रोजगारी केन्द्रित रहने प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

‘‘दश–बीस लाखका साना बजेट पनि सङ्घीय सरकारले नै गर्ने परम्परा तोडिएको छ”, उहाँले भन्नुभयो, “तीन करोडभन्दा साना कुनै पनि आयोजना अब सङ्घीय सरकारले गर्ने छैन, साना आयोजना सबै प्रदेश र स्थानीय सरकारले गर्नेछन् ।”

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकार फेरि नयाँ शिराबाट अगाडि बढेको बताउनुभयो । “लघुवित्त पीडितको समस्या वार्ताको माध्यमबाट समाधान गरेर टुङ्ग्यायौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मिटरब्याज पीडितहरूको पनि सडकमा जटिल समस्या देखिएको थियो, त्यो पनि समाधान भएर गएको छ, सहकारीसम्बन्धी समस्या पनि नयाँ वर्गीकरणसहित समाधान गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।”

ललिता निवासको झण्डै एक सय ४२ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाँसवारीको १० रोपनी पनि सरकारको नाममा आएको बताउनुभयो । “यी सबै सुशासन र भ्रष्टाचारको विरुद्धमा भएका काम हुन्, भुटानी शरणार्थी प्रकरण पनि अर्को एउटा उदाहरण हो”, उहाँले भन्नुभयो, “वाइडबडी प्रकरणमा सरकारले चलाएको कदमले पनि भ्रष्टाचार गर्नेहरू कोही छुट्दैनन् भन्ने प्रमाणित भइसकेको छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास गर्न अन्तिम निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम, २३ चैतः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को (क) बमोजिम पदबाट राजीनामा दिनुभएकाले प्रदेश प्रमुखले धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई विसं २०८१ वैशाख २ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बिहीबार आह्वान गरिएको प्रदेशसभाको बैठकमा विश्वासको पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको निवासमा पुगेर पदबाट राजीनामा दिनुभएको थियो ।

केन्द्रमा फेरिएको समीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिको संसदीय दलले समर्थन यथावत् राखे पनि सो पार्टीमा शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद चर्किएको थियो । फलस्वरुप सो पार्टीका प्रदेशसभा सदस्यहरू पक्ष र विपक्षमा विभाजित भएका थिए ।

मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभाको अहिलेको गणितले नागरिक उन्मुक्ति पार्टी सरकार गठनमा निर्णायक देखिएको छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा आगामी वैशाखमा उपचिर्वाचन हुँदैछ ।

टिकटकद्वारा केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण

विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार केन्यालीहरूलाई सशक्त बनाएको बताएको छ ।

अफ्रिकाका लागि सरकारी तथा सार्वजनिक नीति निर्देशक फच्र्युन एमजिविलि सिवान्दाले यस तालिममा केन्याका विद्यार्थी, अभिभावक र शिक्षक लगायत मानिसको सहभागी रहेको जानकारी गराएको छ । केन्याको सुरक्षाप्रति हाम्रो प्रतिबद्धता रहेको र यसले डिजिटल सुरक्षामा राष्ट्रव्यापी पहुँच सुनिश्चित गर्न लक्ष्य राखेका उहाँले बताउनुभयो ।

यस अभियानले विभिन्न सरोकारवालालाई बोर्डमा ल्याउन र विश्वव्यापी युवा परिषद् गठन गरेर युवाहरूको आवाजलाई प्राथमिकता दिन सहयोग पु¥याउने छ ।

भमिनेन्टका प्रमुख कार्यकारी अधिकृत भेलिन क्यासिनाले टिकटकसँगको साझेदारीले समुदायको लागि विश्वास, आनन्द र डिजिटल इकोसिस्टम तर्फ उन्मुख गर्न खोजेको बताउनुभयो । कसिनाले परिवार र प्रमुख सरोकारवालालाई सशक्तिकरण गरेर, युवाका लागि अनलाइन स्पेसको जानकारी दिएको बताउनसभयो ।

संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने विषयमा बहस गरिरहेको थियो । निर्वाद हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३ हजारभन्दा बढी प्यालेष्टिनीको ज्यान लिएको छ । मारिनेमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् ।

आग्रह स्वीकृत भएमा संयुक्त राष्ट्रसङ्घको शीर्ष अधिकारीक निकायले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रलाई रक्तपातपूर्ण युद्धको स्थितिलाई रोक्न सफल हुनेछ । मस्यौदाले सम्बन्धित देशहरुलाई इजरायलमा हतियार, तथा अन्य सैन्य उपकरणहरूको बिक्री, हस्तान्तरण रोक्न आह्वान गरेको छ ।

मस्यौदाको आवश्यकता अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन रोक्नको लागि महत्वपुर्ण रहेको परिषद्ले जनाएको छ । मस्यौदाले अन्तर्राष्ट्रिय न्यायिक अदालतले जनवरीमा गाजामा ‘नरसंहारको सम्भावित जोखिमको फैसला गरेको’ कुरामा जोड दिन्छ ।अल्बानिया बाहेकका इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का सदस्यको तर्फबाट पाकिस्तानले अगाडि सारेको मस्यौदा प्रस्तावमा तत्काल युद्धविराम तथा आपतकालीन मानवीय पहुँच र सहयोगका लागि आह्वान गरिएको छ ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि युद्धविरामको आह्वान गर्ने प्रस्ताव पारित गरेपछि यस्तो आग्रह आएको हो । तर, युद्धविरामको मागले युद्ध ग्रस्त भूमिमा कुनै असर पारेको छैन ।

अधिकार परिषद्को मस्यौदा प्रस्तावमा इजरायली सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा रकेट प्रहार गरेकोमा यसको निन्दा गर्दै बाँकी सबै अक्टोबर ७ को आक्रमणमा कब्जामा लिइएका बन्धकहरूको तत्काल रिहाइको माग गर्दछ । प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली नियन्त्रण समाप्त गरी गाजा पट्टीमा नाकाबन्दीलगायतका कार्य तुरुन्तै हटाउन माग गरेको छ ।

मस्यौदाले नरसंहारका धेरै सन्दर्भहरू हटाउदै यस विषयमा गम्भीर चिन्ता जारी राखेको छ । जसले गाजाभित्र र बाहिर प्यालेस्टिनीहरूको निरन्तर जबरजस्ती स्थानान्तरण रोक्न आग्रह गर्दछ ।

मस्यौदा प्रस्तावले गाजामा युद्धको विधिका रूपमा नागरिकहरूलाई भोकमरीको बाध्यतामा पारेको भन्दै यसको निन्दा गरेको छ । जहाँ संयुक्त राष्ट्र सङ्घले गाजामा चरम अनिकाल व्याप्त भइसकेको बताउँदै जानाजानी खाना, पानी, बिजुली, इन्धन र दूरसञ्चारलगायत नागरिकहरूको अस्तित्वका लागि बाधा पारी आधारभूत आवश्यक वस्तुहरूबाट वञ्चित गरिएकोमा यसको विरोध गरेको छ ।

आगामी १२ वर्षमा नर्वेको रक्षा बजेट करिब दुई गुणा हुने

रुससँग सीमा जोडिएको नाटो सदस्य नर्वेले आगामी १२ वर्षमा आफ्नो रक्षा बजेट ८३ प्रतिशतले बढाउने योजना बनाएको शुक्रबार बताएको छ । प्रधानमन्त्री जोनास गाहर स्टोरले ‘विश्वको हाम्रो हिस्सामा खराब सुरक्षा स्थिति’ लाई ध्यानमा राख्दै सन् २०२४ र सन् २०२६ बीच सेनालाई अतिरिक्त छ खर्ब क्रोनर (पाँच करोड ६० लाख अमेरिकी डलर) खर्च गर्ने प्रस्ताव गरेको बताउनुभयो । उहाँले यो एउटा ‘ऐतिहासिक प्रयास’ थियो भन्नुभयो ।

नौसेना युद्धपोतबारे सरकारको रक्षा श्वेतपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री स्टोरले भन्नुभयो, “हाम्रो सुरक्षा र हाम्रा सहयोगीहरूलाई खतरामा पार्न खोज्नेहरूलाई निवारकका रूपमा यहाँको बलियो रक्षा प्रणालीले काम गर्नेछ ।”

“हामीले धेरै वर्षसम्म अझ धेरै खतरनाक, अप्रत्याशित छिमेकीको सामना गर्नुपर्नेछ भन्ने हामो प्रारम्भिक परिकल्पना हो”, उहाँले रुसका बारेमा भन्नुभयो । नर्वे र रुसले सुदूर उत्तरमा एक सय ९८ किलोमिटर भूमि सीमा र बेरेन्ट सागरमा सामुद्रिक सीमा साझा गर्छन् ।

श्वेतपत्रअनुसार नाटो सैन्य गठबन्धन सदस्य ओस्लोले पाँच नयाँ फ्रिगेट, कम्तीमा ५० पनडुब्बी, विभिन्न आकारका २८ जहाज, सामुद्रिक निगरानी ड्रोन, हेलिकप्टर र गहन हमला गर्ने हतियार अर्डर गर्ने योजना बनाएको छ । प्रादेशिक सेनामा ब्रिगेडको सङ्ख्या एकबाट बढेर तीन हुनेछ । विमान प्रतिरोधी प्रणालीहरूको सञ्चालन गर्ने ब्रिगेड दोब्बर भएर आठ हुनेछ र एन्डोयामा सामुद्रिक गस्ती एयर बेस बन्द गर्ने पछिल्लो निर्णय उल्ट्याइने छ ।

बजेटमन्त्री ट्रिग्वे स्लाग्स्भोल्ड वेदमले रक्षा बजेट यो वर्षको ९१ अर्ब क्रोनरबाट बढेर सन् २०३६ मा एक सय ६६ अर्ब क्रोनर हुने जानकारी दिनुभयो । यसले नर्वेको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन प्रतिशत प्रतिनिधित्व गर्दछ । यो यस वर्षको दुई प्रतिशतभन्दा धेरै हो । नाटोेको न्यूनतम सीमा पनि दुई प्रतिशत रहेको छ ।

केन्द्रको वामपन्थी अल्पमत सरकारलाई विधेयक स्वीकृत गराउन अन्य दलको समर्थन आवश्यक छ । मुख्य विपक्षी कन्जरभेटिभ पार्टीले श्वेतपत्र ‘वार्ताका लागि राम्रो आधार’ रहेको भन्दै पहिला नै सकारात्मक सङ्केत पठाएको छ ।

पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरा खस्ने जोखिम

तनहुँ, २३ चैत : मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरा खस्ने जोखिम रहेको छ । सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जुनसुकै समयमा पहिरा खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गराइएको उहाँको भनाइ छ ।

उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी, २३ चैत : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताउनुभएको छ । ध्यान साधनाले मानिसलाई सत्य, न्याय, समानता र प्रगतिशीलताको पक्षमा उभिन प्रेरित गर्ने उहाँले बताउनुभयो ।

विश्व ध्यान दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ध्यान भनेको आफ्नो शक्ति बढाउने, आफैँभित्रको भावना जागृत गराउने, भ्रमबाट सत्य तथा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाउने साधना भएको बताउनुभयो । उहाँले बुद्ध र बुद्धिज्म शान्तिका लागि विशेष महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराधजन्य कार्यमा संलग्न हुने, अरुलाई दुःख दिने कुरामा जोडिने मान्छे ध्यान साधनामा तल्लीन हुन नसक्ने बताउनुभयो ।

सो अवसरमा नेपालस्थित चिनियाँ राजदूत छन् सोङले चीन र नेपालको सम्बन्ध हिमाल र नदीबाट मात्रै नभई बुद्ध र बुद्धिज्ममार्फत पनि जोडिएको बताउनुभयो । उहाँले नेपाल बुद्धिज्मको मुहान भएको उल्लेख गर्दै प्राचीनकालदेखि नै नपाल र चीनको सम्बन्ध मैत्रीपूर्ण भएको बताउनुभयो । अरनिको, भृकुटीजस्ता नेपालीहरू चिनियाँका पनि गौरव भएको उहाँको भनाइ थियो ।

राजदुत सोङले आधुनिक संसारमा मान्छेलाई शान्त र आनन्दका लागि लुम्बिनीबाट विशेष सन्देश प्रवाह गर्न सकिने बताउनुभयो । लुम्बिनीको पर्यटन प्रवर्द्धनमा नेपाल र चीनको भातृत्व तथा साथित्वको भावनाले थप मद्दत पुर्याउने उहाँको भनाइ थियो ।

लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावासको सहकार्यमा विश्व ध्यान दिवसको अवसर पारेर आज लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरको पवित्र उद्यान क्षेत्रमा भिक्षु, भिक्षुणी, अन्य सर्वसाधरणलगायतले ध्यान गरेका थिए ।

वर्तमान सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौँ :अध्यक्ष ओली

वालिङ (स्याङ्जा), २३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताउनुभएको छ ।

नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको आज स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उहाँले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताउनुभएको हो । “यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै”, उहाँले भन्नुभयो, “उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ ।”

यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिहरुको रुवाबासी सुरु भएको उहाँको भनाइ थियो । “नेकपा एमाले यस्तै सरकार बनाइरहने हेरफेर गरिरहने खेलमा लागिरहन्छ भन्ने पक्षमा होइन”, उहाँले भन्नुभयो, “देशलाई त्यही अवस्थामा छाड्ने हो भने देशमा राजनीतिक अस्थिरता, अराजकता हुने भएकाले निकासका लागि नयाँ समीकरण बनाएका हौँ ।”

कम्युनिष्ट आन्दोलनलाई आन्तरिक तथा बाह्य शक्तिहरुले घेराबन्दीमा हाल्ने र प्रहार गर्ने कोशिस भए पनि केही सीप नचल्ने बताउनुभयो । उहाँले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै ‘मिसन ८४’ लाई निर्णायक तहमा पु¥याउने गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जिल्लाको यस नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना, उपसचिव दुई जना र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गर्नेछ ।

अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुनेगरी कूल छ सय नौ जना प्रतिनिधि रहेका छन् ।

स्वास्थ्यमन्त्रीद्वारा गजेन्द्र नारायण सिंह अस्पतालमा अनुगमन

बोदे बर्साईन (सप्तरी), २३ चैत : नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गर्नुभएको हो ।

उहाँले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिनुभएको हो । मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले भौतिक संरचनाको अभाव भए पनि बिरामीलाई उपचार सेवा दिइराख्नुपर्ने उहाँले बताउनुभयो । चिकित्सक र उपकरणको अझै धेरै आवश्यकता रहेको उपप्रधानमन्त्री यादवले बताउनुभयो । अस्पतालको निर्माणाधीन भवनको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

हस्तान्तरण भएपछि ती समस्या हल भएर जाने छ । अनुगमनका क्रममा मन्त्री यादवले भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु । मन्त्री यादवले अस्पतालमा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताउनुभयो ।

मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन गर्न आवश्यक छ । बाहिरी क्षेत्रबाट चिकित्सक सप्तरीमा आउन नमान्ने भएकाले अस्पतालमा मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने मन्त्री यादवले बताउनुभयो । अहिले अस्पतालमा चिकित्सक र उपकरणसहित जनशक्ति र भौतिक संरचनाको आवश्यकता देखिएको उहाँले जानकारी दिनुभयो ।

“भौतिक संरचना अन्तिम चरणमा छ नै आवश्यकमात्रामा चिकित्सकको व्यवस्था गरेर राम्रो उपचार दिने स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने ढङ्गले अगाडि बढाउने मेरो प्रयास छ”, उहाँले भन्नुभयो ।

सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड

काठमाडौँ, २३ चैत : राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफलको क्रममा उहाँहरुले सुरक्षित र सहज ऋण प्रवाहमा जोड दिनुभएको हो ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ऋण दिने विषयमा सहजता र सुरक्षित हुने गरी विधेयक संशोधन गर्नका लागि सुझाव दिनुभएको छ ।

“संशोधन गर्न बनेको विधेयकमा कसरी सुरक्षित ऋण प्रभाव गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिइयोस्”, उहाँले भन्नुभयो, “ऋण सहज तरिकाले उपलब्ध नभइरहेको अवस्थामा अब सहज तरिकाबाट ऋण प्रभाव हुने गरी नीतिगत व्यवस्था होस् ।”

यसैगरी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले एउटै धितोमा पटकपटक ऋण प्रभाव गर्न नपाउने गरी विधेयक संशोधन गर्नका लागि सुझाव दिनुभएको छ । यसैगरी राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले धितोको मूल्याङ्कन गर्ने मापदण्ड तयार गरेमा सुरक्षित कारोबार हुन सक्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य पदम परियारले पछाडि परेका समुदायले सहज तरिकाले ऋण पाउने गरी नयाँ कानुनी व्यवस्था लागू हुनुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यका साथ विधेयक संशोधन गर्न लागिएको हो । विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापमा पनि परिवर्तन आइरहेको सन्दर्भमा कारोबारलाई थप सुरक्षित बनाउने गरी विधेयक परिमार्जन गर्न विषेशज्ञ सुमन आचार्यले सुझाव दिनुभयो । उहाँका अनुसार अन्नबाली खनिज पदार्थ आदिलाई पनि धितोको रुपमा राखिने छ ।

‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गरिने

काठमाडौँ, २३ चैत : होक्काइडो नेपाल बिजनेस गुप्र (एचएनबिजी) ले ‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गर्ने भएको छ

एचएनबिजीले आज पत्रकार सम्मेलन गरी जापानी लगानी, प्रविधि र सीपलाई नेपालमा भित्र्याएर आमनेपालीलाई स्वस्थकर र गुणस्तरीय जापानी खाना खुवाउने उद्देश्यले ‘जापानिज फुड कल्चर’ लाई देशभर विस्तार गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एचएनबिजीका अध्यक्ष अर्जुन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न होक्काइडो नेपाल बिजनेस ग्रुपले काम गरिरहेको बताउनुभयो । “देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्छ भनेर यो गुप्रले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने उल्लेख गर्नुभयो । “पहिला उत्पादनलाई केन्द्रित गर्छाैँ, अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

सन् २०१९ देखि नेपाली रेष्टुरेण्ट क्षेत्रमा जापानिज फुड कल्चरलाई प्रवेश गराएको उक्त गुप्रले हाल काठमाडौँका विभिन्न सात स्थानमा जापानिज रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ । जापानमा आर्जन गरेको व्यावसायिक अनुभवलाई उपयोग गर्दै रेष्टुरेण्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको सङ्कल्प गरिएको उहाँले बताउनुभयो ।

रेष्टुरेण्टलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनका लागि उक्त गुप्रले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्मसमेत सञ्चालनमा ल्याएको गुप्रका कार्यकारी निर्देशक खेम शर्माले बताउनुभयो । उहाँले नेपालको पर्यटन प्रवर्द्धनमा जापानिज फुड कल्चरले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्र्नुभयो । विगत चार वर्षदेखि नेपालको रेष्टुरेण्ट क्षेत्रमा सक्रिय उक्त समूहले एक सय ७० जनालाई रोजगारसमेत प्रदान गरेको छ ।