`

आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाइँदै

मध्यविन्दु (नवलपरासी), १५ फागुन : देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताउनुभयो ।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “ विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । ”

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सङ्घको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

“आज यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ”, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

काठमाडौँ, १५ फागुन : नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उहाँले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुन्नुभएको थियो । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।उहाँको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घचयाइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उहाँको जन्मजयन्तीका अवसरमा सोमबार उहाँको योगदानको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुनुहुन्छ अम्बर गुरुङ । आजको कार्यक्रममा उहाँको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् । गुरुङसँग १५ वर्ष काम गर्नुभएका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उहाँको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उहाँको सच्चा सम्मान हुने बताउनुहुन्छ ।उहाँले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रुपमा सम्झनुभयो । “नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ”, उहाँले भन्नुभयो ।विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उहाँको जन्म भएको थियो । उहाँका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत जानुभएको थियो । उहाँका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खानुभएको थियो । उहाँको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गर्नुभयो । उहाँले स्मरण गर्नुभयो, “अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला… ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्काे उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।”अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उहाँसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उहाँका कुरा सुन्न जाने गरेको सुनाउनुभयो । गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा…’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्काे आयामका रुपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गर्नुभयो ।“त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ”, उहाँले भन्नुभयो ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उहाँको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउनुहुन्छ । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरुले गीत गाउन लगाएर उहाँलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने बताउनुहुन्छ । त्यो बेला उहाँलाई धेरैले बिर्सिएको अनुभव उहाँले सुनाउनुभयो ।पुराना दिग्गज व्यक्तित्वलाई बिर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उहाँले सुनाउनुभयो । कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ ।”उहाँले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाउनुभयो । गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत–सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उहाँको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याउनुभयो ।कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ…’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौँ चोटहरु…’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला…’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गर्नुभएको थियो ।

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन् ।

पाख्रिनले न्यायाधीश खतिवडामा कार्यसम्पादन क्षमता तथा खराब आचरण देखिएको भन्दै छानबिन गर्न माग गर्दै परिषद्मा उजुरी दिएका छन् । न्याय परिषद् ऐन, २०७३ ले न्यायाधीशमाथि कारबाहीको विभिन्न व्यवस्था गरेको छ । कार्यक्षमताको अभाव र बदनियत राखेको अवस्थामा परिषद्ले पहिलोपटक सम्बन्धित न्यायाधीशलाई सचेत गराउन सक्ने व्यवस्था छ । खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघनको हकमा भने न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त गर्ने तथा सर्वोच्चका न्यायाधीशलाई भने संसद्को महाअभियोगबाट हटाइने संवैधानिक व्यवस्था छ । तर, मिडियामा आए जतिका कतिपय विवादमा समय लम्ब्याएर कारबाही गर्न ढिलाइ गर्ने र त्यसरी हुने कारबाही सामान्य सरुवा प्रकृतिका हुने पाइएको छ ।

न्यायाधीश खतिवडाले वन्यजन्तु तस्करीमा संलग्न कोरियन नागरिकलाई गत २६ असोजमा पाँच लाख सजाय सुनाएर सामान्य प्राकृतिको मुद्दाको जसरी न्याय निरुपण गरेको उजुरीमा उल्लेख छ । डिभिजन वन कार्यालय काठमाडौंले ति कोरियन नागरिकविरुद्ध कस्तुरीको बिना तस्करीमा संलग्न भएको आरोपमा १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै सजाय माग दावी गरिएकोमा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मर्मविपरित फैसला गराई न्यायाधीशको काम कर्तव्य र अधिकारको दुरुपयोग गरी कार्यसम्पादन तथा न्यायनिरुपण गर्दा न्यायिक विचलन परी फैसला गरेको पाख्रिनले आरोप लगाएका छन् ।

कस्तुरीको विना चोरी– तस्करीमा संलग्न भएका कोरियन नागरिकलाई दोषी ठहर गरे पनि ५ लाख धरौटीमा छाड्ने आदेश गरेपछि अनुसन्धान अधिकृतहरु पनि असन्तुष्ट रहेका छन् । अदालतले पाँच लाख रुपैयाँमा जरिमानामा छाड्न आदेश दिए लगतै कोरियन नागरिक स्वदेश फर्किसकेका छन् । कोरियन नागरिक जंग जुनजुनले नेपालमा सयौ कस्तुरी मारेर तस्करी गरेको अनुसन्धानबाट खुलेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले २१ असोजमा कोरियन नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेपनि २५ असोजमा सजाय निर्धारण गर्दा भने ५ लाख जरिमाना मात्रै भराउने फैसला गरेका थिए । कोरियन नागरिक जुन कस्तुरीको बिना तस्करीको लागि नेपालमा १६ पटकभन्दा बढी आउजाउ गरेको तथ्य समेत खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेर अनुसन्धान गर्दा कस्तुरीको बिना आफूले तस्करी गरेर लैजान लागेको स्वीकार समेत गरेका थिए ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० को खण्ड (क) अनुसारको अपराधको सजाय दाबी गरी ३१ भदौ ०७९ मा कोरियनविरुद्ध मुद्दा दायर भएको थियो । सो दफाअनुसारको अपराधमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १९ लाख जरिवनाा वा दुवै सजाय हुने प्रावधान छ । जसमा न्यूनतम पाँच लाख मात्र जरिवाना गरिएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री यादवको अपील

महेन्द्रनगर (धनुषा)- मुख्यमन्त्री सरोजकुमार यादवले अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न अपील गर्नुभएको छ ।

विकास साझेदारसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले समन्वय गरेर काम गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुनेसमेत बताउनुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्री कृष्णाप्रसाद यादवले विकास साझेदार काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्ग बस्ने प्रवृत्ति ठीक नभएको बताउनुभयो ।अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर देश समृद्ध हुन्छ भन्ने प्रश्न गर्नुहुँदै गैरसरकारी संस्थामा कामप्रतिको संवेदनशीलता नदेखिएको बताउनुभयो । अर्थमन्त्री यादवले परिणाममुखी कार्यका लागि आपसी सहकार्य र समन्वयको आवश्यकतामा जोड दिनुभयो ।नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मिलेर काम गरे सजिलै अघि बढ्न सकिने बताउनुहुँदै कार्यक्रम भइसकेपछि पुन ः मूसिका भव भने जस्तो हुन नहुने बताउनुभयो । गैर–सरकारी संस्थाका प्रतिनिधि प्रमित अधिकारीले मधेशकाबारेमा धेरै अफवाह फैलिएको बताउँदै यहाँ काम गर्न सजिलो रहेको अनुभव सुनाउनुभयो ।

आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन

काठमाडौँ-नेपाल प्रहरीले आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गरिरहेका आन्दोलनकारी नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन छिरेका घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो । समितिलाई घटनाका सम्बन्धमा सूक्ष्म तवरले अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय–सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गर्दै आएका आन्दोलनकारी आज अपराह्न निषेधित क्षेत्र तोडी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको २ नं गेटबाट भित्र प्रवेश गरेका थिए । संसद् भवन परिसर प्रवेश गरेका एक पुरुष र ४८ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को सुरक्षा व्यवस्थाबारे गम्भीर चासो र असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले घटनाबारे गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँ उपत्यका प्रहरी प्रमुख दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, काठमाडाँैका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतसँग स्पष्टीकरण लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरी आजै अर्को टोली खटाएको छ ।

अबको १५ वर्षभित्र सम्पन्न कर्णाली नयाँ पुस्तालाई हस्तान्तरण गर्छौ : उपप्रधानमन्त्री खड्का

कर्णाली, १३ फागुन -नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्ने बताउनुभएको छ । नरहरिनाथ गाउँपालिका–१ कालीकोटस्थित सुनथराली विमानस्थलको आज औपचारिक उद्घाटन गर्दै रक्षामन्त्री खड्काले प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटनको सम्भावना र अवसरका हिसाबले सात प्रदेशभन्दा कर्णाली धेरै माथि भएको बताउनुभयो । उहाँले दलका झण्डा फरक–फरक भएपनि कर्णालीको विकासको झण्डा एउटै हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “कर्णाली सात प्रदेशभन्दा फरक विशेषता बोकेको छ । यसको विकासमा सबै सरकारको भूमिका प्रभावकारी बनाउन जनताको उन्नति र प्रगतिका लागि सबै दल एकाकार हुनुपर्दछ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत र जडिबुटीको विकास गरी यहाँको आर्थिक समृद्धिका लागि सबै दल साझा सोचका साथ अगाडि बढ्नुपर्छ ।”

सातै प्रदेश भन्दा सम्पन्न प्रदेश बनाएर अबको १० देखि १५ वर्षभित्र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्दै उहाँले यहाँको विद्युत उत्पादनका लागि ठूला आयोजना अगाडि बढाइएको जनाउनुभयो । निर्वाचनका बेला गठबन्धन दलको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड र आफू आएर गरेका वाचा जनताका अघि पुरा भएको बताउँदै उहाँले भन्नुभयो, “वाचा गरेको काम सम्पन्न भएको सन्देश दिन आएका हौँ । अब प्रत्येक हप्ता कालीकोटबाट प्रदेश राजधानी सुर्खेतमा जहाज नियमित गराउने व्यवस्थाका लागि पालिकासमेत सक्रिय हुनुपर्दछ ।”

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तीन दर्जनभन्दा बढी नागरिकको बलिदानबाट सुनथराली विमानस्थलको जन्म भएको बताउनुभयो । “अहिले नागरिक उड्डयनसँग छ वटा जहाजको आवश्यकता छ । हामी कर्णालीका जस्ता जनताको समस्या र आवश्यकतालाई बुझेर बिरामी, सुत्केरी, वृद्ध, विद्यार्थी र अप्ठ्यारोमा परेका नागरिकको सेवाका लागि भनेर जहाज खरिद गर्दैछौँ ।”

जिन्दगीमा जनताको काम गर्ने उर्जा लिएर यहाँबाट फर्कने भन्दै पर्यटनमन्त्री किराँतीले कालीकोटमा हप्ताको एक पटक नियमित उडान भर्ने प्रतिवद्धता जनाउनुभयो । मुगु राराताल यात्रा, सडक पूर्वाधार, सांस्कृतिक पर्व, मेला र पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण र पृथ्वीको भूस्वर्ग मानिने बडीमालिका यही भएकोले कालीकोटको आर्थिक विकासमा पर्यटनले सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो ।  

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुनथरालीमा हवाई जहाज बस्न चार दशक लागेको र करिब तीन दर्जन बढी मानिसले मृत्युवरण गरेको स्मरण गर्नुभयो । कर्णालीको आन्तरिक उडानका लागि सङ्घीय सरकारसँग जोडदार माग गरेपश्चात् कालीकोटमा उडान सुरु भएको उहाँले जनाउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “विमानस्थल निर्माण गर्ने कुरा ठूलो थियो र निर्माणसहित पक्की पनि भयो । अब नियमित उडान गर्न हामी प्रतिवद्ध छौं यद्यपि यसमा सङ्घीय सरकारको विशेष सहयोग आवश्यक हुन्छ ।” मान्म–सुनथराली जोड्ने केबुलकारका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट छुट्याएको जनाउँदै त्यसको कार्यान्वयमा जोड दिने बताउनुभयो । 

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३६ जनाको मृत्युको जगमा सुनथराली विमानस्थल निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०४८÷०४९ तत्कालीन सांसद धर्मदत्त उपाध्याय र जिविस सभापति दीपबहादुर शाहीले शिलन्यास गरेको विमानस्थल पूर्वपर्यटनमन्त्रीद्वय खड्गबहादुर विश्वकर्मा, जीवनबहादुर शाही र बहालवाला पर्यटनमन्त्री किरातीको महत्वपूर्ण भूमिकाले कालीकोटका जनताले जहाज देख्ने मात्र नभई चढ्ने अवसर प्राप्त गरेका छन् । सबैप्रति कृतज्ञ छु ।”

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कालीकोटमा विसं.२०७३ मा भएको जहाजको परीक्षण उडानले आजको खुसीको अवसर जुराएको बताउनुभयो । उहाँले भन्नुभयो, “शहरमा धनीहरुले जहाज चढ्छन् तर कर्णालीमा गरिबले चढ्ने जहाज हो । अब नियमित उडानका लागि यहाँका जनताको आर्थिक अवस्था माथि उकास्न र बाटो पक्की गर्ने कुरामा सबै तहका सरकारको ध्यान जानुपर्दछ ।”

सुनथरालीमा फागुन १३ गते आइतबार दोस्रो परीक्षण उडान भएसँगै आज  उपप्रधान तथा रक्षामन्त्री खड्का, पर्यटनमन्त्री किराती, कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा, पूर्वमुख्यमन्त्रीद्वय शाही, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी उपसभामुख यशोदा न्यौपाने, नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेपाल वायु सेवा निगम र तारा एयरलायन्सको जहाज लिएर विमानस्थलको औपचारिक उद्घाटन गरिएको थियो ।

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले भने, “किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।”

पूर्वी टर्किएमा खानी भत्किँयो, फसेका ४ जना कामदारको उद्धार

– टर्किएको पूर्वी प्रान्त एलाजिगमा सोमबार क्रोमाइट खानी भत्किँदा थुनिएका सबै कामदारहरूलाई उद्धार गरेको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले जनाएको छ। के कारणले खानी भत्किएको हो भन्ने यकिन भइसकेको छेन।

खानी भत्किँदा माटोमुनि फसेका ४ जना कामदारको उद्धार गरिएको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जनाएको छ । एलाजिगका गभर्नर ओमर तोरामारल घटनाको अनुसन्धान शुरु गरिएको बताउनु भएको छ। फेब्रुअरी १३ मा पूर्वी प्रान्त एर्जिनकानमा रहेको सुन खानीमा पहिरो जाँदा नौ जना कामदार फसेका थिए। उद्धार टोली अझै फसेका कामदारहरूसम्म पुग्न सकेको छैन। पछिल्लो समय टर्किएमा खानी सुरक्षाको बारेमा बहस शुरु भएको छ।

उत्तरी ओर्डु प्रान्तमा, स्थानीय अदालतले स्थानीय वातावरणीय संघहरूले दायर गरेको मुद्दामा अल्टिनटेप खानी कम्पनीको इजाजतपत्रको लागि दिइएको समय विस्तार रद्द गरेको थियो । सो कम्पनीले सन् २०१५ देखि ओर्डुको फत्सा जिल्लामा सुन र चाँदीको खोजी गरिरहेको छ ।

अध्यक्ष ओलीद्वारा भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

“कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले उहाँले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिदै भन्नुभयो । गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रधान सेनापति शर्मा र संयुक्त राज्य इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर एक्विलिनोबीच–भेटघाट

काठमाडौँ, १४ फागुन : प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डका एडमिरल जाँन सी अक्युलिनोबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालको तीनदिने भ्रमणमा आउनुभएका अक्युलिनोलाई यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।ग्लोबल पिस अपरेसन इनिसिएटीभको सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि दुई हप्ता अवधिको शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण भइरहेको छ । अक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते आइतबार अवलोकन गर्नुभएको थियो । 

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो–प्यासिफिक कमान्डरको भेटवार्ता

काठमाडौँ, १४ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकामा खुशी व्यक्त गर्नुभएको थियो ।साथै उहाँले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकका रूपमा रहेको कुराले गौरवान्वित भएको बताउनुभएको राष्ट्रपति पौडेलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

न्यायपालिकालाई गतिशील बनाउन सर्वोच्च अदातल प्रतिबद्ध : प्रधानन्यायाधीश श्रेष्ठ

मकवानपुर, १४ फागुन : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई समय सापेक्ष गतिशील, गुणस्तरीय र सुशासनतर्फ अभिवृद्धि गर्न भौतिक पूर्वाधार विकास नै न्यायका लागि अभिन्न अङ्ग बनेको बताउनुभएको छ । मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा विगतको समयमा न्यायाधीशको पदपूर्ति हुन नसक्दा मुद्दाको चाप निकै बढेको उल्लेख गर्नुभयो । उहाँले हाल सर्वोच्च अदालतमा न्यायाधीशको पदपूर्ति भइसकेकाले अब मुद्दाको चापलाई विभिन्न इजलाशबाट छिट्टै फछ्र्यौट गर्नेतर्फ आफुले प्रयास गरिरहेको बताउनुभयो ।

प्रधानन्यायाधी श्रेष्ठले स्थानीय निकायमा अर्धन्यायिक समितिमा जिल्लाको विभिन्न नागरिकको आ–आफ्नो समस्याको मुद्दा दर्ता गरी छलफल र बहस हुँदै आएको र मेलमिलापको आधारमा छिटोछरितो मुद्दा टुङ्गिने अवस्था रहेको भए पनि अदालतमा भने मुद्दाको टुङ्गो लगाउन समय लाग्ने बताउनुभयो । उहाँले न्यायपालिकाको इजलाशबाट संविधान, ऐन कानुनको परिधीभित्र रहेर विभिन्न मुद्दाको सुनुवाई, बहस भइरहने, प्रमाण बुझ्ने कारणबाट मुद्दाको प्रकृया केही सयम लम्बिने भएको चर्चा गर्नुहुँदै स्थानीय निकायले जस्तो छिटोछरितो मेलमिलापको माध्यमबाट मुद्दाको फछ्र्यौट गर्दा सेवाग्राहीमाथि न्यायको निष्पक्षतामाथि नै प्रश्न उठ्नेतर्फ सचेत गराउनुभयो ।प्रधानन्यायाधी श्रेष्ठले न्यायपालिकालाई सुधारको प्रकृयाबाट अघि बढाउँदै सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्ने र अदालतबाट दिने न्यायलाई नागरिकको सम्पतिका सुरक्षा, मानवअधिकारको संरक्षण र जनतालाई अदालतले नै निष्पक्ष न्याय दिन्छ भन्ने भावना जागृत गराउनु आजको आवश्यकता रहेको छ, भन्नुभयो ।सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालले न्याय क्षेत्रलाई प्रभावकारी, जनमुखी र जवाफदेही बनाउन सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशलाई न्यायमैत्री बनाउन अहिले भौतिक पूर्वाधार विकासको साथै न्यायाधीशको पदपूर्ति क्रमश गरिँदै लगिएको उल्लेख गर्नुहुँदै सबै क्षेत्रका नागरिकलाई आन्तरिक व्यवस्थापनबाट छिटोछरितो न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले बागमती प्रदेश अन्तरगत रहेका विभिन्न जिल्ला अदालत र उच्च अदालत पाटन हेटौँडा इजलाशको भौतिक पूर्वाधारको विकासका लागि प्रदेश सरकारले सीमित स्रोतसाधन आवश्यकताअनुसार उपलब्ध गराउँदै लैजाने सरकारको नीति रहेको उल्लेख गर्नुहुँदै अत्यन्तै गरिबीको रेखामुनी र विपन्न नागरिकको न्यायक समस्यालाई सहजीकरण गरी न्यायाधीशले जनआस्था वृद्धि गर्नेतर्फ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।यस्तै, हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले न्यायापालिकाले दुर्गम भेगका विपन्न र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई पनि उहाँहरुको समस्यालाई न्याय प्रशासनले बुझ्ने र प्रमाण जुटाई न्याय दिनेतर्फ सोच विचार पुर्याई न्यायप्रति जनताको आस्था वृद्धि गर्न आग्रह गर्नुभयो ।उक्त अवसरमा उच्च अदालत पाटन इजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत पाटन हेटौँडाका मुख्य न्यायाधीश यमूना भट्टराई, जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेल र नेपाल बार एसोसियन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले न्याय सेवालाई गुणस्तरीय जवाफदेही बनाउँदै सर्वसाधारण नागरिकलाई ऐन कानुनको परिधिभित्र रहेर छिटोछरितो न्याय दिनेतर्फ अदालतले नयाँ सोचका साथ अघि बढ्नुपर्दछ भन्नुभयो ।जिल्ला अदालतको नवनिर्मित भवन नेपाल सरकारको रु २३ करोड ७७ लाख अनुदानबाट निर्माण सम्पन्न भएको अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त भवनमा मुद्दा दर्ता, अभिलेख शाखा, पुस्तकालय, प्रशासन, लेखा, कम्प्युटरलगायत विभिन्न कक्षसहित ६१ कोठा छन् ।

एकीकृत समाजवादीद्धारा महाधिवेशनका लागि छलफल गर्न मस्यौदा समितिको बैठक बोलाउने निर्णय

काठमाडौँ, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले महाधिवेशनका लागि मस्यौदामा छलफल गर्न यही फागुन १५ र १६ गते मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले मस्यौदा लेखनका लागि देशभरबाट आएका सुझावको अध्ययन तथा छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी दिएको हो । महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदामा छनोट गरिएका सुझावलाई समावेश गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित भएकामा त्यसको स्वागत गरेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो । समान विचार भएका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न समाजवादी मोर्चाले सुरु गरेको अनौपचारिक छलफलको सराहना गरेको बैठकले मोर्चाले आगामी चैत ३ गते सञ्चालन गर्न लागेको नेपाली विशेषताको समाजवाद कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान तथा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे समीक्षा गरिएको बैठकले सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटी परिचालित गर्नेबारे छलफल गरेको प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्डको काम धमाधम

गलकोट, १४ फागुन : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट, ग्याबिन जालीलगायत पूर्वाधार निर्माण भइरहेको छ । दुईवटा खण्डमध्ये बलेवा हर्मिचौर खण्डमा तीव्र गतिमा काम भइरहेको छ भने बलेवा मालढुङ्गा खण्डमा सुस्त गतिमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तो गरी काममा तीव्रता दिन नसकेको उहाँको भनाइ छ । “दुवै खण्डमा धमाधम काम भइरहेको थियो, बजेट अभावले वलेवाबाट मालढुङ्गासम्मको १० किमी सडकमा काम सुस्त छ तर हर्मिचौरदेखि बलेवासम्मको ४४ किमी सडकमा कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको छ,” शर्माले भन्नुभयो, “बजेट निकासाका लागि पटक–पटक अर्थ मन्त्रालयमा म आफैँ पुगेको छु, बजेट निकासा गर्न सकेमा एक वर्षमा करिडोर कालोपत्र भइसक्ने देखिएको छ ।”बलेवाबाट हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायत आधुनिक औजार प्रयोग गरिएको छ । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य गरिएको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु ५५ करोड निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरी सक्नुपर्नेछ ।बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । रु तीन अर्ब ३० करोड लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । कालिका कन्स्ट्रक्सनलाई काम गरिसकेको मात्रै दायित्व रु ३० करोड भुक्तानी गर्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका प्रमुख शङ्कर पौडेलले जानकारी दिनुभयो ।उहाँले दायित्व भुक्तानी गर्न नसक्दा मालढुङ्गादेखि बलेवासम्मको पूर्वाधारको काम सुस्त भएको पौडेलले बताउनुभयो । रु ५५ करोडको ठेक्कामा सवा दुई करोड दायित्व भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी, हर्मिचौरबाट बलेवा विमानस्थलसम्मको सडक खण्डको दायित्व समयमै भुक्तानी गर्न सकेमा निर्माणले थप गति लिन सक्ने बताउनभयो । “अहिले पनि अर्थ मन्त्रालयमै दायित्व भुक्तानीका लागि आएको छु, चालू आवमा रु ३० करोड भुक्तानी गर्न सके ४४ किमी सडक कालोपत्र प्रारम्भ हुने देखिएको छ,” प्रमुख पौडेलले भन्नुभयो, “निर्माण व्यवसायीलाई सम्झौताअनुसार काम गरेपछि दायित्व भुक्तानी गर्नु सरकारको दायित्व हो, हामी आशावादी छौँ ।”हर्मिचौरबाट बलेवा विमानस्थलसम्मको खण्डमा ४० प्रतिशत आर्थिक प्रगति र ३५ प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी, तल्लो खण्ड मालढुङ्गाबाट बलेवासम्मको १० किमी सडकमा ३२ प्रतिशत भौतिक र २८ प्रतिशत आर्थिक प्रगति भएको छ ।करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कूल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ । 

भरतपुर महानगरपालिकाद्धारा एकै दिन तीन आयोजनाको उद्घाटन

चितवन, १४ फागुन : भौतिक पूर्वाधारमा द्रूत विकास गर्दै आइरहेको भरतपुर महानगरपालिकाले एकै दिन तीन आयोजनाको उद्घाटन गरेको छ । सङ्घीय र प्रदेशसँग समन्वय गर्दै ठूलो मात्रामा विकास बजेट भित्र्याएको भरतपुरले तीनवटा सरकारको समन्वयमा निर्माण भएका आयोजना उद्घान गरेको हो ।

वडा कार्यालय भवन, १६ शय्याको अस्पताल र घरेलु प्रदर्शनी केन्द्रको महानगर प्रमुख रेनु दाहालले आज उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा प्रमुख दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताउनुभयो । भरतपुरमा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उहाँले अबको योजना महानगरबासीलाई उद्यमी बनाउने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वदेशमा नै रोजगारी सृजना गर्न महानगरले घरेलु उद्योगको प्रवद्र्धन गर्दै आएको छ । अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जानेछौँ ।” समय–समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उहाँले समग्र महानगरबासीको आर्थिक विकासमा प्रदर्शनी केन्द्रले, स्वास्थ्य क्षेत्रमा अस्पतालले र स्थानीय जनतालाई अन्य सेवा वडा कार्यालयले दिने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले जनताको अधिकारलाई थप बलियो बनाउन तीनवटा योजनाको एकैपटक उद्घाटन गरिएको बताउनुभयो । महानगरपालिकाले स्थानीय सरकारका रुपमा आम जनताको भावना र मर्मअनुसार काम गर्दै आएको उहाँको भनाइ थियो । दुईतले वडा कार्यालय भवन निर्माणका लागि रु एक करोड ३२ लाख खर्च भएको वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

यसैगरी, बागमती प्रदेश सरकारको रु एक करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । एसियाली विकास बैङ्क÷जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु एक करोड ६६ लाखको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो ।

यसको स्वामित्व आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले बोल्नुभएको थियो ।

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

धनुषा, १४ फागुनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएको बताउनुभएको छ । उहाँले खेलकुदमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रियजगत्मा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले उचित लगानी गर्न जरुरी रहेको बताउनुभयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आजदेखि सुरु भएको प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रथम मदन भण्डारी महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले विद्वान, विदुषीहरूको भूमिका रुपमा रहेको जनकपुरधाममा यस्ता प्रकारको राष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलकुदको भूमिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा परिचित हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउनमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनभयो ।

उहाँले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिमा क्षेत्रमा प्रदर्शन हुन जरुरी रहेको बताउँदै स्व मदन भण्डारीले स्वच्छ राजनीतिक प्रतिस्पर्धाले नेतृत्वको विकास हुनु पर्दछ भन्ने मान्यता अहिले पनि उपयोगी भएको र यो खेलमा पनि लागू हुने गरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं धनुषा निर्वाचन क्षेत्र नंं ४ का प्रतिनिधिसभाका सदस्य रघुवीर महासेठले नेपालमा खेलकुद क्षेत्रमा राज्यको लगानी कम भए पनि खेलाडीले खेल क्षेत्रमा गरेको प्रदर्शन सराहनीय भएको बताउनुभयो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा हक्की सङ्घ नेपालका अध्यक्ष अनिलप्रसाद शर्मासहितका वक्ताले राष्ट्रियस्तरमा महिलाका लागि पहिलो हक्की प्रतियोगिता हुन लागेकाले यसले खेलको वातावरण बढाउने बताउनुभयो ।

प्रतियोगितामा कर्णालीबाहेकका छ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका टोली गरेर आठ टोलीका एक सय ५० खेलाडी सहभागी रहेका छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार र कप, द्वितीय हुनेलाई कपसहित रु एक लाख तथा तृतीय हुने टोलीलाई कपसहित रु ५० हजार नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई १० हजार र ‘उमन अफ दी म्याच’ हुनेलाई पाँच हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका साहको परिवारलाई सरकारले १० लाख उपलब्ध गराउने

काठमाडौँ, १४ फागुन : प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सर्लाहीको बरहथवा नगरपालिका–६ का जयशङ्कर साहको परिवारलाई आर्थिक सहायतास्वरुप रु १० लाख उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद यही फागुन १६ गतेदेखि लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले सार्वजनिक खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने इन्टरनेसनल मेयर अर्वाड ग्रहण गर्न स्वीकृति दिने तथा गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

इन्डोनेसियाको मन्त्रिपरिषद्द्वारा २०२५ को वित्तीय रणनीतिमाथि छलफल

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सोमबार सन् २०२५ का लागि वित्तीय रणनीतिलाई सम्बोधन गर्न र खाद्यान्नको मूल्य स्थिरताको तयारी गर्न मन्त्रीहरू र संस्थाका प्रमुखहरूसँग मन्त्रिपरिषद् बैठक गर्नुभएको छ ।

“म सबै सम्बन्धित मन्त्रालय र संस्थाहरूलाई सजग रहन र मानिसहरूले अर्थपूर्ण र शान्त पूजामा संलग्न हुन सक्ने वातावरण सुनिश्चित गर्न विनम्र अनुरोध गर्दछु। मेरो मुख्य अनुरोध खाद्य आपूर्ति र खाद्यान्नको मूल्य स्थिरताको संरक्षण हो,” उहाँले भन्नुभयो ।

मुस्लिमहरूको बाहुल्य रहेको इन्डोनेशियामा ३० दिने रमजान उपवास मार्चको दोस्रो हप्तामा शुरु हुनेछ ।बैठकको मुख्य विषयहरू मध्ये पूर्वाधार र घर फर्कनेहरूका लागि उपयुक्त यातायातको साधन व्यवस्थापन गर्नु रहेको बताइएको छ । मुस्लिम समुदायको यस महान् पर्वमा मानिसहरूको आबतजावत व्यापक हुने गर्दछ ।

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १४ फागुन : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालद्वारा आज जारी विज्ञप्तिमा यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिनेछ ।

प्रतिनिधिसभामा इलाम–२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त पद रिक्त थियो ।

यस्तै आगामी २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ । यस्तै चैत २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । आयोगले सरकारसँगको परामर्शमा आगामी २०८१ वैशाख १५ गते सोमबारका दिन निर्वाचनको मिति तोकेको थियो ।

भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो

लुम्बिनी, १४ फागुन : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे आज स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ ।आयोजनाको जानकारी लिँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष पौडेलले गुणस्तरियतासँगै समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाँले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न तथा गुणस्तरीय काममा जोड दिन आग्रह गर्नुभयो ।प्रादेशिक अस्पतालमा रु ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको भवन निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सो आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपाध्यक्ष पौडेलले रुपन्देहीमा ठूलो लगानीमा संरचना निर्माण हुन लागेको उल्लेख गर्दै प्रदेशले अगाडि बढाएको यो आयोजनालाई सङ्घीय सरकारबाट आवश्यकपर्ने सहयोगका लागि पहल गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “यो आयोजना प्रदेशवासीको सर्वाधिक सरोकारको आयोजना हो ।” सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जोखिमरहित तरिकाले अस्पतालको हालको स्वास्थ्य सेवामा कुनै पनि प्रभाव नहुने गरी पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको गरिएको उपाध्यक्ष पौडेललाई जानकारी दिनुभयो । अस्पतालमा बहिरङ्ग सेवामा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरीलगायत सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले जानकारी दिनुभयो ।अस्पतालमा निर्माण हुनलागेका आयोजनाको जानकारी लिएपछि उपाध्यक्ष पौडेलले आजै अस्पतालका चिकित्सकसँग अस्पतालमा गुणस्तरिय स्वास्थ्य सेवा बिस्तारका बारेमा बारेमा छलफल गर्नुभएको थियो । त्यस अवसरमा अस्पतालका बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा विष्णु शर्माले लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका रुपमा लैजान ढिलाई गर्न नहुने सुझाव दिनुभयो ।यस्तै अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले प्रादेशिक अस्पतालमा निर्माण हुने पूर्वाधार आयोजनाको जनस्तरबाट विज्ञसहितको सुझाव तथा अनुगमन समिति बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भवन निर्माण गर्दा आवश्यक संरचना व्यवस्थापनमा पटक पटक तोडफोड गरेर व्यवस्थापन गर्न नपर्ने गरी पहिले नै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।प्रदेश पूर्वाधार विकास प्राधिकरणमापत नयाँ भवनको निर्माण अगाडि बढेको हो । अस्पतालको ६ बिघा १२ कट्ठा जग्गामा भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सो आयोजनाका प्रमुख इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो । हालको तीन सय (समितिबाट थप भएकोसमेत गरी पाँच सय) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार दुई सय शय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गरिएको उहाँको भनाइ छ ।

विसं २०८५ साल पुसमा निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्ने गरी गत पुस २६ गते उक्त सम्झौता भएको हो ।

खोरमा थुनिएकी फुरदिकुलाई उद्धार गरी लगियो उपचारमा

खोटाङ, १४ फागुन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले आज उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो ।

महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

“राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुरा गरेर फुरदिकुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । उहाँ (फुरदिकु)को उपचार सम्भव हुन्छ भन्ने चिकित्सकले भनेका छन्”, उहाँले भन्नुभयो, “उपचार अभावमा कोही पनि नागरिकलाई मर्न दिँदैनौँ । स्वास्थ्यकर्मीका अनुसार फुरदिकुको समस्या सामान्य हो भन्ने छ । उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाका तर्फबाट तिरिदिन्छौँ ।”

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली, बेइज्जती, बेठेगान तरिकाले हिँड्ने, गीत गाइरहनेलगायत अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका थिए । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखापर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको बुबा पेमाछेर शेर्पाले बताउनुभएको छ । “परिवारको पहिलो सन्तान फुरदिकुले नुनथलाकै जालपा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी छन् । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भयो । फुरदिकुको उपचारका क्रममा अहिलेसम्म करिब रु सात लाखभन्दा बढी खर्च भइसकेको छ । पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनिन् । अनियन्त्रित भएपछि उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको हो”, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “एसएलसीको तयारी गरिरहेको बेला फुरदिकुलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौँसम्मका धामीझाँक्री लगाइयो । माताकामा समेत लगियो । त्यति गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पु¥यायो । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइयो । सोलुखुम्बुमा लगेर सात महिना क्रिस्चियन बनाएर राखेपछि घर फर्काइयो । त्यो बेलासम्म औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उसको मानसिक समस्या पूर्णरुपमा निको भयो । अहिले पुनः दोहोरिएपछि समस्या भयो । यो बेला खर्च पनि छैन । धन्न बेलैमा नगरपालिकाले उद्धार गरिदियो । चाँडै उपचार सफल भएर फर्कियोस् ।”

फुरदिकुले २०७२ सालमा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग प्रेमविवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेको दुई वर्षपछि फुरदिकुले छोरा पसनुरी जन्माउनुभयो । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर प्रेमविवाह गरेको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो । २५ वर्षकै उमेरमा विधुवा बन्नुभएकी फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो ।

अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पु¥याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो तर खाँदै गरेको औषधि नियमित खान छाडेपछि पुनः स्वास्थ्यमा समस्या दोहोरिएको हो ।

श्रीमान् दाजाङको मुटुरोगका कारण मृत्यु भएपछि फुरदिकु तीन वर्षअघि छ वर्षीय छोरा पसनुरीसहित माइती घर नुनथला फर्किनुभएको थियो । पसनुरी अहिले मावली घर नुनथलामा बसेर कक्षा ३ मा पढ्छन् । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको उपचारका लागि शुभेच्छुकबाट रु ३० हजार पाँच सय आर्थिक सहयोग जुटेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि २६ जना शुभेच्छुकबाट आर्थिक सहयोग जुटेको हो ।

पत्रकार चिसाङ शेर्पाको पहलमा सङ्कलन भएको सहयोग रकम बुबा पेमाछेतरलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राईले शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

चीनले सन् २०२४ मा करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।

प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।

चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।

पूर्ण खोप जिल्ला घोषित हुन अझै पाँच जिल्ला बाँकी

काठमाडौँ, १४ फागुन : मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताउनुभयो । पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत्प्रतिशत खोप लगाएको हेरिने गरिन्छ । ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ ।

यसैगरी, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुन परेको थियो । कोरोना महामारीका कारण बालबालिका खोप लगाउन छुटेका प्रमुख डा गौतमले बताउनुभयो ।“पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित हँुदैनन्,” उहाँले भन्नुभयो, “विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ ।”सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ । सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रुपमा मनाउँदै आएको छ । उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको प्रमुख डा गौतमले बताउनुभयो । गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको उहाँको भनाइ छ ।सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोपसमेत सञ्चालन गरेको छ ।

प्रधानमन्त्रीले पटेर्वाघाट पुल शिलान्यास गरेपछि स्थानीय भन्छन् – समयमै निर्माण हुनेमा उत्साही छौँ

जनकपुरधाम, १४ फागुन: धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्न कमला नदीमा छ सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गर्नुभएसँगै स्थानीयहरु वर्षौपछिको समस्या समाधान हुने भन्दै खुसीयाली व्यक्त गरे ।

सबैला नगरपालिका-४ का अध्यक्षसमेत रहनुभएका स्थानीय सत्यनारायण यादवले आफूले बाल्यकालमै पटेर्वाघाटमा पुल बन्ने हल्ला सुने पनि अहिले आएर पुल निर्माणले साथर्कता पाउने अवस्था आएको बताउनुभयो । प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गर्दै व्यक्त गर्नुभएको प्रतिबद्धतापछि स्थानीयसँगै आफू पनि समयमै पुल निर्माण हुनेमा आशावादी बनेको उहाँले राससलाई सुनाउनुभयो ।

“बाल्यावस्थामै पुल बन्छ भन्ने सुनिएको हो तर ढिलै भए पनि निर्माण सुरु भएको छ । अब निर्धारित समयमै पुल बनाएर कमला नदी (पटेर्वाघाट) को समस्या सधैँका लागि समाधान गर्नुपर्छ”, यादवले भन्नुभयो, “प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी उत्साहित छौँ । त्यसलाई निराशामा परिणत नहुने गरी बजेटलगायतको बन्दोबस्त गर्न हाम्रो आग्रह छ ।”

कल्याणपुर नगरपालिका–५ का अध्यक्ष कुलदीपकुमार यादव पनि पुल निर्माणको खबरले त्यहाँका जनता निकै उत्साहित भएको बताउनुहुन्छ । उहाँले वर्षांैदेखि भोग्दै आएको समस्या समाधान र नदी किनारका नागरिकलाई जोड्न निर्धारित समयमै पुल निर्माण हुने अवस्थाका लागि पनि आग्रह गर्नुभयो । “पुल निर्माण हुने भनेपछि हामी उत्साहित भएका छौँ । तर त्यही खोलाको अर्को पुल १२ वर्षसम्म पनि नबनेको पीडा पनि देखेका छौँ । समयमा काम हुँदैन भनेर जनतामा रहेको अविश्वास तोड्न पनि यो पुल समयमै बनोस्”, वडाध्यक्ष यादवले रासससँग भन्नुभयो ।

रासससँग कुरा गर्नुभएका स्थानीय कारीखर्गा यादव, कुमारी महरा, झिमनिया यादव, कलठरीया यादव र वीना यादवले पनि प्रधानमन्त्रीले समयमै पुल बन्छ भनेर आश्वासन दिएपछि आफूहरू उत्साहित भएको तर त्यो वचन पूरा हुन्छ कि हुँदैन भन्ने संशय भने कायमै रहेको बताउनुभयो ।

महराले भन्नुभयो, “नदीले हामीलाई छुट्याए पनि दुवैतर्फका नागरिकका आफन्त, घरजग्गा वारिपारी छन् । अहिलेसम्म निकै जोखिम मोलेर वारपार गरिरहेका छौँ । वर्षायाममा त प्रत्येक पटक रु दुई सयसम्म भाडा तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । त्यसबाट मुक्तिका लागि सरकार गम्भीर बनोस् ।”

झिमनिया यादवले त आगामी साढे तीन वर्षभित्रै पुल बन्छ भनेको सुन्दा पनि अहिलेसम्मका सबै सास्तीबाट मुक्ति मिलेका जस्तै आभास भएको बताउनुभयो । “पुल नहुँदाको पीडा भनी साध्य छैन । जुगौँदेखि सास्ती भोगिरह्यौँ । स्थानीय नेता र प्रधानमन्त्रीले नै अब पुल बन्छ भन्ने आश्वासन दिएपछि केही आशा पलाएको छ । बिन्ति छ यो आशालाई निराशासमा परिणत हुननदिनु होला !”, उहाँले भन्नुभयो ।

स्थानीय कारिखर्गा यादव पनि वर्षायाममा कमला नदीले दिएको दुःख सम्झिँदा पनि उदेक लाग्ने गरेको तर अब भने सरकारले आफूहरूको पीडा बुझ्ने आशा पलाएको सुनाउनुहुन्छ । “यत्रो वर्ष दुःख भोगियो । अब त साढे तीन वर्ष मात्रै त हो !”, उहाँले खुसी हुँदै भन्नुभयो, “तर, बिन्ती छ त्योभन्दा बढी दुःख भोग्न बाध्य नपार्नुहोला ।”

कल्याणपुर नगरपालिका सिरहाका प्रमुख रामपुकार साहले स्थानीय जनताको मागबमोजिम लामो समयपछि पुल बन्न लागेकामा आफू पनि निकै खुसी र आशावादी बनेको बताउनुभयो । उहाँले यो पुल त्यस क्षेत्रका जनताको विकास, सहज आवागमन र वर्षौंदेखिका समस्या निवारण हुने सपनासँग जोडिएकाले सोहीअनुसार निर्धारित समयमै काम हुनुपर्ने बताउनुभयो ।

“अलि तल हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल वर्षौंदेखि बन्न नसकेका बेला फेरि यहाँ पुल बन्दैछ । त्यसैले विभिन्न शङ्काउपशङ्का त छन् तर अब भने जनताको विश्वास र सपनालाई तोड्नु हुँदैन । सरकार र सम्बन्धित मन्त्रालयले बजेट व्यवस्थापन, नियमित निगरानी र समयमै काम सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ । त्यसमा हामी पनि जोडतोडका साथ लाग्छौँ”, नगरप्रमुख साहले भन्नुभयो ।

लागत रु एक अर्बभन्दा बढी
स्थानीय जनताको सपनासँग जोडिएको बहुप्रतिक्षित यो पुल अबको ४२ महिनाभित्रै निर्माण गरिसक्नुपर्नेछ । सोहीअनुसार सम्झौता पनि भइसकेको छ । तर कूल रकम रु एक अर्ब ११ करोड पाँच लाख ७४ हजार आठ सयमा ठेक्का भएको सो योजनाका लागि चालु आर्थिक वर्षमा ६५ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।

योजनाको लागत धेरै तर चालु आर्थिक वर्षका लागि निकै कम बजेट विनियोजन गरिएकामा कतै बजेटको अभावमा काम नहुने त होइन भन्ने चिन्ता छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग पुल सेक्टर काठमाडौँका योजना प्रमुख डिभिजनल इञ्जिनियर आरती साह योजना कार्यान्वयनका लागि बजेट अभाव नहुने बताउनुहुन्छ ।

उहाँ यस्ता प्रकृतिका योजनामा सुरुमै सबै बजेट विनियोजन नभए पनि बजेटको अभाव नहुने बताउनुहुन्छ । “चालु आवमा रु ६५ लाख मात्रै विनियोजन गरिएको छ । यस हिसाबले त निर्माण कम्पनीलाई एउटा मेसिन ल्याउने पैसा पनि पुग्दैन भन्ने गुनासो हामीले पनि सुनेका छौँ तर यही आर्थिक वर्षमा रकमान्तर गरेर बजेट बढ्छ र आगामी आर्थिक वर्षमा अझ बढी बजेट बनियोजन हुन्छ ।”

त्यसैमा गत शनिबार प्रधानमन्त्री दाहालले पुल शिलान्यास र समयमै सम्पन्न गर्नका लागि आफ्नो सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएपछि आफूहरू थप उत्साहित भएको साहले बताउनुभयो । उहाँ जनविश्वास जित्नका लागि पनि आफूहरूले कुनै प्रश्न नउठ्ने गरी समयमै पुल निर्माण गरिसक्ने बताउनुहुन्छ ।

“स्थानीय जनताको आवश्यकताअनुसार हामी द्रुतगतिमा काम गरिरहेका छौँ । एक वर्षभित्र पाइल फाउन्डेसनको काम सकाउने र सकेसम्म विसं २०८२ को माघ नआउनुअघि नै सम्पूर्ण योजनाको कामसक्ने हाम्रो जोड हुन्छ”, योजना प्रमुख साहले रासससँग भन्नुभयो, “यस कार्यमा प्रधानमन्त्री, विभागीय मन्त्री र सबै तहको दवाव र विश्वास पनि छ । त्यसहिसाबले हामी दत्तचित्त भएर काम गर्छौं ।”

हुन त शिलान्याशपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पनि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन हुने र बजेट अभावका कारण योजना सम्पन्न गर्न कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “पुलका लागि आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था हुनेछ”, प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको थियो ।

साढे तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी गत वर्ष अर्थात् विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार आगामी विसं २०८२ माघ ५ गते (४२ महिना) भित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

कञ्चनवन–जानकी मेडिकल मिथिलेश्वर सबैला एनएच २९ नाम दिइएको योजना निर्माणको काम श्री इलाइट एसबिएजेभी, काठमाडौँले गरिरहेको छ । गत भदौ १८ गते पुलको डिजाइन स्वीकृत भई हाल ‘पाइल फाउण्डेशन’ को काम चलिरहेको छ ।

दुई लेनको सो पुलमा १० वटा स्पान रहनेछन् भने एउटा स्पानको लम्बाई ६० मिटर हुनेछ । पुलको चौडाई ११ मिटर रहने छ । पुलको दायाँबायाँ नौ सय ५० मिटर पहुँच सडक, दुवैतर्फ चार हजार दुई सय मिटर नदी नियन्त्रण हुने गरी व्यवस्थापन कार्य हुने सम्झौतामा उल्लेख छ । यो पुलले धनुषाको छिरेश्वर नगरपालिका रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल हुँदै जाने सडक सिरहाका सुखीपुर जोड्नेछ । त्यसबाट स्थानीय जनतालाई हुलाकी सडक भएर जानुपर्ने बाध्यता पनि हट्नेछ ।

नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ: अर्थमन्त्री डा महत

काठमाडौँ, १४ फागुन: अर्थमन्त्री डा प्रकाशशरण महतले नागरिकको जीवनस्तरमा सुधारमा केन्द्रित भइ आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नागरिकको जीवनस्तर उकास्ने गरी बजेट तर्जुमा गरिने उल्लेख गर्नुभयो ।

उहाँले विद्यमान कानुनमा संशोधन गरी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्न तीन महिना पूर्व नै नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद गरिरहेको सदनलाई जानकारी गराउनुभयो ।

“पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ”, अर्थमन्त्री डा महतले भन्नुभयो । उहाँले विद्युत् उत्पादन र विदेशी पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको बताउनुभएको छ । बैंकिङ्ग क्षेत्रतर्फ पर्याप्त तरलताको अवस्था, कर्जाको ब्याजदर एकल अङ्क नजिक रहेको तथ निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि हुनुले अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय घरजग्गा कारोबार र पुँजी बजार सुधारोन्मुख रहेको उहाँको भनाइ थियो । साथै बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो ।

“राजस्व सङ्कलन लक्ष्यअनुरुप नभएपनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको छ ।” अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त हुन नसकेको औद्योगिक उत्पादन र वित्तीय क्षेत्र अन्तर्गत सहकारी तथा लघु वित्तीय संस्थामा समस्या देखिएका बताउनुभयो ।

आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजस्व सङ्कलनमा चुनौति थपिएको छ भने सार्वजनिक खर्चलाई विवेकशील र मितव्ययी ढङ्गले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न थप सुधारको आवश्यकता भएको उहाँले बताउनुभयो । “विगतमा लिइएको सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न वर्षेनी ठूलो रकम छुट्याउनुपर्ने भएको छ”, अर्थमन्त्री महतले भन्नुभयो, “आगामी आर्थिक वर्ष थप रु एक खर्बभन्दा बढी सार्वजनिक ऋणको भुक्तानीमा विनियोजन गर्नुपर्ने अवस्था छ, यस्तै सामाजिक सुरक्षालगायतका क्षेत्रमा दायित्व क्रमशः बढ्दै गएको छ ।”

रुकुम र जाजरकोटमा आएको भूकम्प पश्चात खास गरेर अस्थायी आवास तथा पुनःनिर्माणमा ठूलो स्रोतको आवश्यकता रहेको र स्रोतको सहमति दिइएको आयोजना तथा कार्यक्रममा देखिएको न्यून विनियोजनका कारण गत वर्षहरूमा ठेक्काबाट सिर्जित दायित्व भुक्तानी गर्नु चूनौतीपूर्ण बनेको अर्थमन्त्री डा महतले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा महतले सरकारको खर्चतर्फ सिर्जित दायित्व भुक्तानी तथा स्रोत सुनिश्चित भएका आयोजनामा आवश्यक बजेट प्रस्ताव नगर्ने प्रवृत्ति, आयोजना तथा कार्यक्रममा देखिएको दोहोरोपना, निर्धारित समयमा आयोजना सम्पन्न नहुने अवस्था रहेको बताउनुभयो ।

उहाँले आयोजना कार्यान्वयनमा देखिएका व्यवस्थापकीय कमजोरी र वैदेशिक सहायताका आयोजना व्यवस्थापनमा अपनत्वको कमी हुँदा कार्यान्वयन पक्ष अझै कमजोर देखिएको बताउनुभयो । सङ्कलित राजस्वले अनिवार्य दायित्व धान्न कठिन भइरहेको अवस्थामा थप आयोजना तथा कार्यक्रम, संरचना एवम् दरबन्दीका लागि बजेट मागले गर्दा खर्च व्यवस्थापन अझै चूनौतीपूर्ण रहेको छ ।

“मुलुकले भोग्दै आएको न्यून उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायन जस्ता समस्या समाधान गर्नु प्राथमिकताको विषय भएको छ”, उहाँले भन्नुभयो, “उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीका अवसर सिर्जनामार्फत गरिबी न्यूनीकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न अर्थतन्त्रलाई दिशा निर्देश गर्नु अपरिहार्य ठानेको छु ।”

अर्थमन्त्री डा महतले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०८१ का सिद्धान्त प्रस्तुत पूर्ण विवरण यसप्रकार छ ः

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय ः गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक, संविधानमा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई प्रमुख मार्गदर्शनको रूपमा लिएको छु । साथै, सोह्रौं योजनामा प्रस्ताव गरिएका नीति, २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लिनुपर्ने रणनीति, सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य तथा दिगोर फराकिलो आर्थिक वृद्धिका आधार तयार गर्नुपर्ने विषयलाई महत्त्वपूर्ण सन्दर्भको रुपमा लिएको छु ।

दिगो एवम् समावेशी आर्थिक वृद्धिः दिगो एवम् समावेशी आर्थिक वृद्धिका लागि ऊर्जा, कृषि, पर्यटनतथा सूचनाप्रविधिलगायतका आर्थिक वृद्धिमा उच्च योगदान दिनसक्ने क्षेत्रका लागि आवश्यक सार्वजनिक पूर्वाधार निर्माण गर्ने गरी सरकारी स्रोतको परिचालन गरिनेछ । देशभित्रै उत्पादन र रोजगारीका अवसर बढाउन निजी क्षेत्रको लगानीलाई सहज वातावरण बनाउने तथा सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्ने तर्फ बजेट उन्मुख हुनेछ । आन्तरिक मागमा वृद्धि गर्ने गरी सार्वजनिक खर्च परिचालन गरिनेछ । सीमान्तकृत वर्ग र पछाडि परेको क्षेत्रका लागि लक्षित कार्यक्रम सञ्चालन गरी उत्पादन र रोजगारीमा पहुँच पु¥याइनेछ । अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकाङ्कहरूलाई प्रभावित पार्ने वित्त र मौद्रिक नीतिहरूलाई एकैलयमा सबल र सुदृढ बनाई समष्टिगत आर्थिक स्थायित्व कायम गरिनेछ। सरकारको आम्दानी र खर्चबीच सन्तुलन कायम गरी सार्वजनिक वित्तलाई सुदृढ र दबाबमुक्त बनाउनेतर्फ बजेट उन्मुख हुनेछ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी व्यापार घाटा क्रमशः घटाउँदै लगिनेछ ।

सार्वजनिक वित्त सन्तुलन र विनियोजन कुशलता अभिवृद्धिः सार्वजनिक खर्चको विनियोजनमा कुशलता वृद्धि गरिनेछ । सार्वजनिक खर्चलाई औचित्यपूर्ण बनाउने गरी थप प्राथमिकीकरण गर्ने, पूर्व तयारी भएका आयोजनाको मात्र निर्माण कार्य अघि बढाउने र प्राथमिकता प्राप्त आयोजनामा स्रोतको अभाव हुन नदिने व्यवस्था गरिनेछ । सार्वजनिक खर्चलाई गुणात्मक रुपमा बढाउँदै निजी लगानी उत्प्रेरित हुने गरी परिचालन गरिनेछ । सार्वजनिक स्रोतलाई सेवा प्रवाह, आर्थिक सामाजिक पूर्वाधार विकास र मानव पुँजी निर्माणमा लगानी गरिनेछ । वैदेशिक अनुदान तथा सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकता र प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनेछ । निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गरिनेछ । जलवायुसँग सम्बन्धित कोषहरूको परिचालन गर्न सम्बन्धित पक्षसँग वार्ता र सम्वादलाई घनीभूत बनाइनेछ । वित्तीय अनुशासन सुदृढ गर्ने नीतिगत व्यवस्था गरी संचित कोषलाई सहज अवस्थामा कायम राखिनेछ ।

सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायः संविधानको मर्मअनुरूप समतामूलक समाज निर्माणका लागि स्रोत साधन र अवसरको न्यायोचित वितरण गरिनेछ । सामाजिक क्षेत्रमा लगानी र साधनको पुनःवितरणका कार्यक्रममा स्रोतको उपलब्धताका आधारमा आवश्यक रकम विनियोजन गरिनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच र गुणस्तर सुधार गर्न रकम विनियोजन गरिनेछ । लगानीको प्रतिफलबाट सबै वर्ग, समुदाय लाभान्वित हुने गरी अवसरको सिर्जना र समन्यायिक वितरण प्रणाली विकास गरिनेछ । राज्यबाट प्रदान गरिने सबै प्रकारका अनुदान र सुविधाहरूमा दोहोरोपना हटाई क्रमशः लक्षित वर्ग केन्द्रित हुने व्यवस्था मिलाइनेछ ।

निजी क्षेत्रर लगानी प्रवर्द्धनः उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गरिनेछ । सम्वत् २०८१ वैशाखमा हुने लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी बढाउन अनुकूल वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधार गरिनेछ ।

सङ्घीयता र सुशासन प्रवर्द्धनः संविधान बमोजिम प्रदेश तथा स्थानीय तहमा जिम्मेवारीहरू हस्तान्तरण गर्न आवश्यक कानुन तर्जुमाका साथै संस्थागत व्यवस्था गरिनेछ । दक्ष, पारदर्शी एवम् उत्तरदायी वित्तीय प्रणाली सम्वर्द्धन गर्दै वित्तीय सङ्घीयतालाई थप प्रभावकारी बनाइनेछ । समावेशी र सन्तुलित आर्थिक विकासका लागि आवश्यक नीतिहरू निर्माण गर्न प्रदेश र स्थानीय तहसँग थप समन्वय र सहकार्य गरिनेछ । संघ, प्रदेश र स्थानीय तहको खर्च संरचनामा मितव्ययिता, सुशासन र पारदर्शिताको माध्यमबाट खर्चको प्रभावकारिता सुनिश्चित गरिनेछ । सरकारले प्रदान गर्ने सबै प्रकारका अनुदान, आयोजना तथा कार्यक्रममा हुने दोहोरोपना हटाउन प्रदेश र स्थानीयतहसँग आवश्यक समन्वय गरिनेछ । सार्वजनिक सेवा प्रवाहलाई संघीय शासन प्रणालीका मूल्य र मान्यता अनुरूप थप नागरिकमैत्री र सरल बनाइनेछ । सार्वजनिक सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गरिनेछ ।

दिगो विकास र जलवायु परिवर्तनः जलवायु परिवर्तनका सवालहरूलाई क्षेत्रगत नीति र कार्यक्रममा आन्तरिकीकरण गरिनेछ । दिगो विकास लक्ष्य हासिल गर्न बजेट केन्द्रित गरिनेछ । आर्थिक सामाजिक विकासलाई दिगो बनाउन विकास प्रक्रियाका हरेक चरणमा दिगो विकासको अवधारणालाई आन्तरिकीकरण गर्दै लगिनेछ । हरित अर्थतन्त्रको विकास र प्रवद्धधनका लागि नीतिगत, कानुनी र संस्थागत प्रबन्ध गरिनेछ । जलवायु परिवर्तनबाट नेपालमाथि परेको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न क्षतिपूर्ति दिने बिषयलाई अधिकारका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गरिनेछ । जलवायु परिवर्तनबाट नेपाललाई परेको प्रभावलाई मध्यनजर राखी अनुकूलन र न्यूनीकरणका कार्यक्रममा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन गर्न पहल गरिनेछ ।

जलविद्युत् विकासः जलविद्युत्मा आन्तरिक र वाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि गरिनेछ । जलविद्युत्को आन्तरिक खपतमा वृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको विकास गर्न जोड दिइनेछ । जलविद्युत्लाई अर्थतन्त्रको महत्वपूर्ण मेरूदण्डका रुपमा विकास गरी आन्तरिक आवश्यकता पूर्तिका साथै निर्यातमा जोड दिइनेछ ।

निर्माणाधीन विद्युत् आयोजनाहरू र प्रशारण लाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिइनेछ । हिउँद याममा हुने ऊर्जा आपूर्तिको कमी पूरा गर्न ठूला तथा जलाशययुक्त आयोजनाको निर्माण प्रारम्भ गरिने छ । विद्युत् सेवाको पहुँच नपुगेको क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराउन सौर्य ऊर्जा र अन्य नवीकरणीय ऊर्जाको विकासमा जोड दिइनेछ । अन्तरदेशीय विद्युत् प्रशारणलाइन निर्माण गरी विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार तयार गरिने छ । ग्रीन हाइड्रोजनको विकास र लगानीको सम्भाव्यता अध्ययन अघि बढाइनेछ ।

कृषिको आधुनिकीकरण तथा व्यावसायिकीरणः कृषि उपजमा आत्मनिर्भरता हासिल गर्न अन्न, फलफूल, तरकारी, दुध, अण्डा र मासुको उत्पादन, भण्डारण, प्रशोधन एवम् वितरण प्रणालीमा सुधार गर्दै व्यवसायिकीकरणमा जोड दिइनेछ । कृषिमा रहेको उच्च उत्पादन लागत कम गर्न व्यवसायिकरण र आधुनिक प्रविधि प्रयोगमा जोड दिइनेछ । आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउन संरक्षण र उत्पादन आधारित अनुदान दिने नीतिलाई कार्यान्वयन गरिनेछ । रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ । मुलुकमा नै रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ । प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ । पहाडका टार र तराई मधेसका थप क्षेत्रमा सिँचाई सुविधा विस्तार गर्न जोड दिइनेछ । सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिँचाई सुविधा, मल बीउको उपलब्धता सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व अभिवृद्धि गरिनेछ । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा कृषि उत्पादन, बजारीकरण र वितरण व्यवस्था मिलाइनेछ । जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गरिनेछ । कृषि क्षेत्रमा सीपयुक्त जनशक्ति र कृषि उद्यमीलाई गुरु किसानका रुपमा विकास गरी उद्यमी बन्न चाहने युवालाई प्रोत्साहन गरिनेछ । कृषि बजार प्रवर्द्धनमा जोड दिइनेछ । उच्च मूल्ययुक्त गैरकाष्ठ जन्य उत्पादनमा लगानी अभिवृद्धि गरिने छ ।

पर्यटन विकासः गुणस्तरीय पर्यटन पूर्वाधार विकास गरी नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमा विकास गरिनेछ । थप धार्मिक, साँस्कृतिक एवम् मनोरम प्राकृतिक तथा पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास गरिनेछ । प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुको साथै पर्यटन पूर्वाधार निर्माणमा प्रोत्साहन गरिनेछ । पोखरा र भैरहवाका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरूलाई हटाइनेछ । निजगढ विमानस्थलको लगानी ढाँचा टुङ्गो लगाई निर्माण प्रक्रिया अगाडि बढाइनेछ । निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गरिनेछ ।

सूचना प्रविधिको विकासः प्रचुर सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइनेछ । डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै सूचना प्रविधि उद्योगलाई सफ्टवेयर र सेवा निर्यात तथा रोजगारीका आधारका रुपमा विकास गरिनेछ । सूचना प्रविधिको उपयोगको माध्यमबाट सेवा प्रवाहलाई सरलीकरण गरिनेछ । ‘इनोभेसन सेन्टर र स्टार्ट अप’को प्रवर्द्धन र विकासमा जोड दिईनेछ । डिजिटल भुक्तानीलगायतका सेवा विस्तार गर्न सार्वजनिक डिजिटल पूर्वाधार निर्माण तथा विस्तार गरिनेछ ।

औद्योगिक विकास र निजी क्षेत्र प्रवर्द्धनः निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिनका रुपमा विकास गर्न आवश्यक नीतिगत प्रबन्ध गरी अनुकूल वातावरण बनाइनेछ । उद्योग स्थापना र सञ्चालनमा वित्तीय पहुँच सहज बनाइनेछ । औद्योगिक विकासमा वैदेशिक लगानी प्रवर्द्धन गरिनेछ । औद्योगिक क्षेत्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिनेछ । उद्योग सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गरिनेछ । बन्द भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्न पहल गरिनेछ । निजी क्षेत्र प्रतिस्पर्धी भएका क्षेत्रमा रहेका सार्वजनिक संस्थानको शेयर बिक्री वा व्यवस्थापन करारको माध्यमबाट सार्वजनिक संस्थानको विनिवेश गरिनेछ । वैदशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै विप्रेषणको औपचारिक आप्रवाह बढाउन थप सरलीकृत गरिनेछ ।

पूर्वाधार विकासः राष्ट्रिय गौरवका र रणनीतिक महत्वका आयोजनामा देखिएका समस्यालाई समाधान गरिनेछ । काठमाडौं तराई मधेस द्रुत मार्ग, पूर्वपश्चिम जोड्ने लोकमार्ग र उत्तर दक्षिण जोड्ने करिडोर समयमा नै निर्माण सम्पन्न गर्न जोड दिइनेछ । भौतिक पूर्वाधारका आयोजनालाई पर्यटन केन्द्रसँग जोड्ने, अधिक जनसङ्ख्यालाई लाभ पुग्ने, नयाँ सहर र उत्पादन केन्द्रलाई जोड्ने र टेवा पुग्ने गरी अघि बढाइनेछ । निर्माणाधीन अवस्थामा रहेका आयोजनाको सङ्ख्या अधिक रहेकाले यस्ता अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजना शुरू गरिनेछ । प्रमुख राजमार्गहरूको विस्तार, स्तरोन्नति तथा नियमित मर्मत सम्भारलाई गुणस्तरीय र समयबद्ध रूपमा सम्पन्न गरिनेछ । सडक यातायातलाई थप सुरक्षित र भरपर्दो बनाइनेछ । प्रमुख राजमार्गमा नयाँ सहर स्थापना गर्ने गरी सहरी पूर्वाधार विकास गरिनेछ । अव्यवस्थित सहरलाई व्यवस्थित गर्ने र नयाँ ठाउँमा सम्भाव्य बस्तीलाई व्यवस्थित सहरको रुपमा विकास गरिनेछ । रणनीतिक महत्वका पूर्वाधारहरू सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिनेछ ।

सामाजिक क्षेत्रको विकासः आम नागरिकलाई सरल र सहज रुपमा आधारभूत स्वास्थ्यसेवा उपलब्ध गराइनेछ । विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न लगानी अभिवृद्धि गरिनेछ । बीमा सिद्धान्तको आवधारण अनुरूप स्वास्थ्य बीमा कार्यक्रम अघि बढाइनेछ । गुणात्मक स्वास्थ्य सेवामार्फत बढीभन्दा बढी जनसङ्ख्यालाई स्वास्थ्य सेवा पु¥याइनेछ । सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्दै जीवनउपयोगी, सीपयुक्त, रोजगारमूलक शिक्षामा जोड दिइनेछ । विद्यार्थी सङ्ख्याको आधारमा सार्वजनिक विद्यालयहरूको पुनःनक्साङ्कन गरी विद्यालयहरूलाई सुविधा सम्पन्न बनाइनेछ । प्राविधिक र व्यावसायिक धारमा गुणस्तरीय उच्चशिक्षा प्रदान गर्न जोड दिइनेछ । उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाउन जोड दिइनेछ । आधारभूत र गुणस्तरीय खानेपानी सेवामा सबै नागरिकको पहुँच स्थापित गरिनेछ । नेपाली युवाको क्रिकेटलगायतका खेलमा देखिएको बढ्दो अभिरूचिलाई मध्यनजर राखी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकारले थप लगानी गर्नेछ । खेलकुद पूर्वाधार विकासमा जोड दिइनेछ ।

सामाजिक न्यायः सामाजिक सुरक्षा र संरक्षण कार्यक्रममा रहेको दोहोरोपना हटाउँदै सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम दिगो र लक्षित वर्गमा केन्द्रित गरिनेछ । स्रोत र साधन एवम् अवसरमा सीमान्तकृत समुदाय र समुहको पहुँच अभिवृद्धि गरिनेछ । लैङ्गिक विभेद र महिला हिंसा न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । अपाङ्गता, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक र लैङ्गिक आधारमा हुने विभेद र सबै प्रकारका छुवाछुत र कुरीतिको अन्त्य गर्न जोड दिइनेछ । उत्पादन र वितरणको उचित संयोजन गरी आय असमानता कम गर्ने र गरिबी निवारण गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ । भूमिको एकीकृत र डिजिटल अभिलेखको आधारमा सेवालाई सहज र सरल बनाइनेछ ।

हरित तथा उत्थानशील विकास र विपद् व्यवस्थापनः जलवायु परिवर्तनबाट सिर्जना हुने विपद् न्यूनीकरण गरिनेछ । जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरू सञ्चालन गरिनेछ । क्षेत्रगत नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको विषयलाई आन्तरिकीकरण गरिनेछ । मानवजन्य र प्राकृतिक विपद्बाट हुने क्षति र जोखिम न्यून गर्न पूर्वतयारीमा विशेष जोड दिइनेछ । जलवायु परिवर्तनको प्रभावले सिर्जना हुने आकस्मिक दायित्व व्यवस्थापनका लागि नविनतम वैकल्पिक वित्तीय उपकरणको विकास गरिनेछ । दिगो वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ । वनजङ्गलको संरक्षण र व्यावसायिक उपयोगलाई प्रवर्द्धन गरिनेछ । मानव तथा वन्यजन्तुमैत्री भौतिक पूर्वाधार विकास गरिनेछ ।

जनसाङ्ख्यिक लाभको उपयोग र युवा शक्तिको परिचालनः युवा लक्षित उद्यमशीलता विकास र आन्तरिक रोजगारी सिर्जना गर्दै युवाहरू कामका लागि विदेशिनु पर्ने परिस्थितिलाई कम गर्दै लगिनेछ । युवाहरूलाई व्यवसायिक सीप एवम् प्राविधिक शिक्षा प्रदान गरी सीपयुक्त बनाइनेछ । खेलकुद प्रतियोगिता सञ्चालन र खेलाडीको क्षमता विकासमा जोड दिइनेछ । सार्वजनिक र निजी क्षेत्रमा युवाजनशक्तिको क्षमता उपयोग गर्न इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिनेछ ।

वित्तीय क्षेत्र सुदृढीकरणः वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिनेछ । बैंक तथा वित्तीय संस्था, लघु वित्त, बीमा र पुँजी बजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जवाफदेहिता सुदृढ बनाइनेछ । सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ । लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ ।

कानुनी शासन र शान्ति सुरक्षाः संविधानको कार्यान्वयनमार्फत कानुनी शासनको प्रवर्द्धन तथा शान्ति सुरक्षाको प्रत्याभूत गरिनेछ । सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री एवम् भरपर्दो बनाइनेछ ।

अन्तर्राष्ट्रिय सहयोग र सम्बन्धः छिमेकी एवम् मित्र राष्ट्रहरूसँग सन्तुलित र आपसी हित अभिवृद्धि गर्दै पारस्परिक लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरिनेछ । आर्थिक कूटनीतिको माध्यमबाट विकसित एवम् उदीयमान अर्थतन्त्रबाट प्राप्त हुनसक्ने लाभको उपयोग गरिनेछ । विदेशस्थित नेपाली नियोगहरूलाई वैदेशिक लगानी वृद्धि, पर्यटन तथा व्यापार प्रवर्द्धनमा परिचालन गरिनेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति सबल बनाइनेछ ।

मैले माथि उल्लेख गरेका सिद्धान्त र प्राथमिकताका आधारमा बजेटको बाँडफाँट गर्दा उत्पादन वृद्धिलाई टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा सार्वजनिक खर्च केन्द्रित गरिनेछ । चालु खर्चलाई नियन्त्रण गर्दै दोहोरो कार्यक्षेत्र भएका संरचना क्रमशः खारेज गर्दै लगिनेछ । निर्माणाधीन आयोजना सम्पन्न गर्न र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम विनियोजन गरिनेछ । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड पूरा भई पूर्वतयारी सम्पन्न भएका आयोजनालाई मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ ।

सरकारको खर्च बेहोर्ने प्रमुख स्रोतका रुपमा रहेको राजस्व परिचालनलाई प्रभावकारी बनाइनेछ । व्यवसाय र लगानीमैत्री कर नीति लिइनेछ । कर प्रणाली पुनरावलोकन गर्न गठित समितिको सुझाव समेतका आधारमा कर प्रणालीमा सुधारका कार्य अघि बढाइनेछ । राजस्व प्रशासनमा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी राजस्व प्रशासनको व्यवसायिकता अभिवृद्धि र करदाताको व्यवसायिक लागत घटाउने गरी कर प्रणाली सुधारका कार्य अघि बढाइनेछ । करको दायरामा नआएका नयाँ व्यवसायिक क्षेत्र लक्षित गरी बजार अनुगमन र कर परीक्षण प्रभावकारी बनाइनेछ । कर चुहावट नियन्त्रणमा संस्थागत समन्वय सुदृढ बनाइनेछ ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको जगमा तर्जुमा हुने बजेटले मुलुकको समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सघाउ पु¥याउनुका साथै अर्थतन्त्रले गति लिने विश्वास लिएको छु ।

सङ्घीय प्रणालीले सिर्जना गरेको सम्भावनाको उपयोग गरी तीव्र आर्थिक वृद्धि तथा सन्तुलित र समावेशी आर्थिक विकासको माध्यमबाट आम नागरिकमा आर्थिक सामाजिक लाभको समतामूलक वितरण गर्न मार्ग प्रशस्त हुनेछ । प्रस्तुत सिद्धान्त तथा प्राथमिकता उपर माननीय सदस्यहरूबाट रचनात्मक सल्लाह, सुझाव र सहयोग प्राप्त हुने अपेक्षा गरेको छु । माननीयज्यूहरूको सल्लाह, सुझाव र सहयोग आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि महत्त्वपूर्ण मार्गदर्शनको रुपमा रहने विश्वास दिलाउन चाहन्छु ।

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय

काठमाडौँ, १४ फागुन : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो ।

आयोग प्राप्त प्रमाणको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रुपमा बुझिदिनुहुन उहाँले आग्रह गर्नुभयो । आयोगले फागुन मसान्तभित्रै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उहाँको भनाइ छ ।

सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ट्रक ७० लाखका लत्ताकपडासहित नियन्त्रणमा

काठमाडौँ, १४ फागुन : पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमाछ वर्षमा ३५ हजार साना उद्योग थपिए

गण्डकी, १४ फागुन : पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।

जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यले बताउनुभयो । “प्रदेश सरकार स्थापना भएयता ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग दर्ता भएको देखिन्छ”, उहाँले भन्नुभयो, “स्वरोजगारसँगै स्थानीय बजार चलायमान बनाउन साना उद्योग तथा व्यवसायको महत्वपूर्ण योगदान छ ।”

घरेलु तथा साना उद्योगको सङ्ख्या बढ्दैमा ठूलो पुँजी लगानी र रोजगारी वृद्धि भने नहुने महाशाखा प्रमुख आचार्यले भनाइ छ । उहाँका अनुसार समयमा नवीकरण नगरेका कारण साना तथा घरेलु उद्योग खारेजीमा समेत पर्ने गरेका छन् । कतिपय सञ्चालन हुन नसकेर बन्द भएका छन् । रु १० करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग पर्यटन तथा उद्योग कार्यालय दर्ता गराउन सकिने कानुनी व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन ऐनले लघु, घरेलु तथा साना उद्योग स्थानीय तहमै दर्ता गर्न सकिने व्यवस्था गरे पनि बैंक कर्जाका लागि उद्योग पर्यटन तथा उद्योग कार्यालयमै दर्ता हुने क्रम बढीरहेको मन्त्रालयले जनाएको छ । उद्योग स्थानीय तह वा प्रदेशका ११ वटै जिल्लामा रहेका पर्यटन तथा उद्योग कार्यालयमा दर्ता गर्न सकिने महाशाखा प्रमुख आचार्यले बताउनुभयो ।

घरेलु तथा साना उद्योगमा कृषि फार्म, हस्तकला, काष्ठकला, परम्परागत सीप र प्रविधिमा आधारित वस्तुको उत्पादन, फलाम या अन्य धातुबाट बनाइने घरायसी प्रयोजनका सामग्री, इँटा, माटाका भाँडाकुँडा, सिलाइ, बुनाइ, हाते कागज, मूर्तिकलालगायत पर्छन् ।

लगानी वृद्धि र रोजगार सिर्जनाका लागि ठूला उद्योगको कमी रहे पनि साना उद्योग तथा व्यवसायलाई मुलुकको अर्थतन्त्रका मूल आधार मानिन्छ । स्थानीय अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउन त्यस्ता उद्योग, व्यवसायको ठूलो भूमिका हुने महाशाखा प्रमुख आचार्यले बताउनुभयो ।

‘डिजिटल गण्डकी’को नीतिअनुरुप एक लाख आठ हजार दुई सय ५३ उद्याग तथा वाणिज्य फार्मको विद्युतीय अभिलेखन गरिएको जनाइएको छ । उद्योग तथा वाणिज्य प्रशासनमा विद्युतीय सेवा प्रवाह सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पारी वातावरणीय अध्ययनको कामलाई अगाडि बढाएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले जिम्मा पाएको महाशाखा प्रमुख आचार्यले बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरेसम्म औद्योगिक क्षेत्रका लागि सङ्घ सरकारबाट जग्गा उपलब्ध नहुने भएपछि वातावरणीय अध्ययनको कामलाई प्रदेश सरकारले अगाडि बढाएको हो । समयमा जग्गा व्यवस्थापन हुन नसक्दा घोषणा गरेको वर्षौं बित्दासमेत औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुन सकेको छैन ।‘एक स्थानीय तह, एक उद्योग ग्राम’ अन्तर्गत गण्डकी प्रदेशका २९ स्थानीय तहमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसमध्ये २३ उद्योग ग्राममा प्रदेश सरकारको रु आठ करोड ५० लाख बजेट खर्च भएको जनाइएको छ ।

विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्दै अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर, १४ फागुन : भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् ।

मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलबायु नमूना कार्यक्रमअन्तर्गत अर्गानिक खेतीलाई पहिलो प्राथमिकतामा राखेर यहाँ काम अघि बढाइएको हो । किसानलाई विषदीरहित अर्गानिक उत्पादनमा जोड्न रामप्रसादराई गाउँपालिकाको वडा नं १, ३, ४ र वडा नं ६ मा अर्गानिक खेती विस्तार थालिएको छ ।

अर्गानिक खेती विस्तारको लागि पाँच वटा नमूना कृषि सिकाइ केन्द्र निर्माण गरिएको छ । सिकाइ केन्द्रमा वडा नं. १ मा ४० रोपनीमा र वडा नं ६ मा १५ रोपनी गरी ५५ रोपनी क्षेत्रमा विभिन्न बाली लगाएर किसानलाई अर्गानिक उत्पादनको लागि आवश्यक ज्ञान दिँदै आएको सिप्रेड, इसीमोडका प्राविधिक मोतीमान लिम्बूले जानकारी दिनुभयो । सिकाइ केन्द्रमा नमूना तरकारी खेती भइरहेको उहाँको भनाइ छ ।

“किसानलाई अर्गानिक उत्पादनमा जोड्न विभिन्न स्थानमा सिकाई केन्द्र स्थापना गरेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य किसानलाई अर्गानिक उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनु हो । यो कार्यक्रम सञ्चालनमा आएपछि यहाँका धेरै किसान अर्गानिक खेती प्रणालीमा जोडिएको अवस्था छ ।”

जलवायु अनुकूलनका प्रविधि सिकाएर अर्गानिक र स्वास्थ्यकर कृषि उत्पादनमा प्रोत्साहन गरिएको उहाँको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत हरित गृह (ग्रिनहाउस) निर्माण, झोल मल उत्पादनको विषयमा किसानलाई अभ्यासमूलक सिकाइमा आबद्ध गराइएको उहाँको भनाइ छ ।

विगतका वर्षबाट वडा नं २ खेनामा नेपाल जलवायु नमूना गाउँ घोषणा गरेर आवश्यक काम भइरहेको छ । यो गाउँमा भइरहेको कामलाई निरन्तरता दिँदै अन्य वडामा पनि विस्तार थालिएको हो । यो कार्यक्रम कोशी प्रदेशमा भोजपुरको रामप्रसादराई गाउँपालिकामा मात्र सञ्चालन भइरहेको जनाइएको छ । जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत कृषिलगायत अन्य वातावरण संरक्षणसम्बन्धी कार्य गर्नको लागि यो वर्ष रु एक करोड ५० लाख बजेट रहेको गाउँपालिकाले जनाएको छ । यो बजेटबाट जलवायु परिवर्तनलाई ध्यानमा राख्दै कृषिसँगै, मुहान संरक्षण, पैदलमार्ग निर्माण, हरित गृह (ग्रिन हाउस) निर्माण, पर्यटकीय क्षेत्रको विकासमासमेत काम भइरहेको छ ।

बर्सेनि खतीयोग्य जमिन बाँझिदै गइरहेकाले बाँझो जमिनको सदुपयोग गर्दै किसानलाई अर्गानिक र व्यावसायिक खेती प्रविधिमा जोड्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यो कार्यक्रम लागू भएपछि धेरै किसान व्यावसायिक अर्गानिक कृषि उत्पादनमा जुटेको अध्यक्ष राईको भनाइ छ । उत्पादित वस्तुको बजारीकरणमा किसानलाई आवश्यक सहयोग गर्दै उत्पादनको आधारमा प्रोत्साहन गर्ने उहाँको भनाइ छ ।

“बर्सेनि खेतीयोग्य जमिन बाँझिँदै भएको अवस्था छ”, अध्यक्ष राईले भन्नुभयो, “हामी आयातित विषदीयुक्त खानेकुरामा रमाएका छौँ । अहिले हामी अर्गानिक कृषि उत्पादनमा जुटेका छौँ । धेरै किसानले अर्गानिक उत्पादन गरिरहेको अवस्था छ । हामीले बाँझो जमिनको उपयोग गर्दै अर्गानिक उत्पादनमा जोड दिएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ ।”

किसानलाई विषादीरहित कृषि उत्पादनमा जोड्दै स्थानीयस्तरका सहकारीसँग सहकार्य गरेर व्यावसायिक खेतीमा जोड दिएको वडा नं ६ का वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । वडामा नमूना सिकाइ कार्यक्रम सञ्चालन भइरहेकाले किसानलाई थप सहजता भएको उहाँको भनाइ छ । कृषकलाई लक्षित गरेर वडाले आवश्यकताको आधारमा तालिमसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै प्रविधियुक्त अर्गानिक उत्पादनमा ध्यान दिएको उहाँले बताउनुभयो ।

“किसानलाई व्यावसायिक र अर्गानिक खेती प्रणालीमा लाग्न आवश्यक सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मुख्यरुपमा यहाँका बाँझो जमिनलाई प्रयोगमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । अहिले धेरै किसान व्यावसायिक कृषिमा जुटेको अवस्था छ ।”

नेपाल जलवायु नमूना कार्यक्रमको सहयोगमा १५ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा अर्गानिक तरकारी खेती गरिरहेको स्थानीयवासी गणेश श्रेष्ठले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनले थप हौसला मिलेको उहाँको भनाइ छ ।

विगतबाट गाउँपालिकामा चलिरहेको कृषि सिकाइ केन्द्र निर्माण, गोठ सुधार, माटो र सिमेन्टको पोखरी निर्माणलगायतका कामलाई निरन्तरता दिँदै कार्यक्रम आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनन्त राईले बताउनुभयो ।

हाल रहेका पाँच वटा सिकाइ केन्द्रलाई आगामी वर्ष तीन वटा थप गरेर आठ वटा बनाउने, कम्पोष्ट मल उत्पादनको लागि १५ वटा गोठ सुधारका कार्यक्रम थप सञ्चालन गर्ने, किसानको खेर गइरहेको पानीलाई सञ्चित गर्दै तरकारी खेतीमा जोड्न १६ वटा माटो र सिमेन्टको पोखरी निर्माण गरिएको उहाँको भनाइ छ । आगामी वर्ष थप छ वटा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

स्याउला तथा गाई गोरुको मलमूत्र तथा गड्यौलाबाट कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारीसँगै अन्य अन्नबाली लगाउनको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कामको थालनी गरेको छ । यहाँ उत्पादन हुने विभिन्न खालका बालीको व्यवस्थापनको लागि मिश्रित बाली, घुम्ती बाली र प्लाष्टिक टनेलमा तरकारी खेती, बालीको जातीय परीक्षण गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्नेलगायत कामलाई प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाकाले जनाएको छ ।रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्गानिक कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिकाको भनाइ छ ।
 

कानुन र विकास निर्माणका कार्यलाई सँगै लैजानुपर्ने बाध्यता सांसदसँग छः सांसद चौधरी

काठमाडौँ । सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो । प्रतिपक्षले असल नियतले दिएका सुझावलाई पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ । अहिले पनि सरकार एकपक्षीय ढङ्गबाट अघि बढेकोे अनुभव भइरहेको छ ।

संसद्मा मेरो प्रवेश यो पहिलोपटक हो । यसबीचमा संसदीय अभ्यास सिक्ने र अनुभव गर्ने कार्य भइरहेको छ । मेरो अनुभवमा संसदीय अभ्यास जुनरुपले अघि बढ्नुपर्ने थियो, त्यो हुन सकेन भन्ने लाग्छ । मुलुकको सन्तुलित विकासका लागि तर्जुमा गर्नुपर्ने बजेटसमेत अर्थमन्त्री र अरु प्रभावशाली मन्त्री, सांसदका जिल्ला र निर्वाचन क्षेत्रमा खन्याउने प्रवृत्ति छ । देशको समन्यायिक विकासमा कसैको पनि ध्यान देखिन्न । बजेट केबल आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गर्नु भनेको राज्यकोषको दुरुपयोग पनि हो । उहाँहरुजस्तै हामी जनप्रतिनिधिले दिएका सुझाव बजेट विनियोजनमा कार्यान्वयन भएन । मेरो गृह जिल्ला बर्दियामा तुलनात्मकरुपमा कम बजेट विनियोजन गरिएको छ ।

सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि समाजको बुझाइ बेग्लै छ । चुनावका बेला जनतासँग गरिएको विकास निर्माणका प्रतिबद्धता पूरा गर्नुपर्ने हाम्रो बाध्यता छ । त्यसबेला योजना देखाएर त्यो पुरा गर्न पहल गर्छु भनी वचन दिइयो । अहिले निर्वाचन क्षेत्रका पूर्वाधार विकास र कानुन निर्माणको जिम्मेवारीलाई सँगसँगै लैजानुपर्ने बाध्यता छ । कानुन निर्माणको मुख्य जिम्मेवारी भए पनि हालसम्म कुनै मतदाताले तपाईंले कानुन कतिवटा बनाउनुभयो भनी प्रश्न गर्नुभएको छैन । बरु जिल्ला र निर्वाचन क्षेत्र विकासबारे सदनमा कति कुरा राख्नुभयोे भनि थुप्रै मतदाताले जिज्ञासा राख्नुहुन्छ ।

देशका प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै पहलमा ठूला राजनीतिक परिवर्तन भए । उपलब्धिका रुपमा नयाँ संविधान जारी, गणतन्त्र स्थापना, धर्मनिरपेक्ष, सङ्घीयता, समानुपातिक र समावेशिताजस्ता नयाँ विषयवस्तु प्राप्ति भयो । प्राप्त यी उपलब्धिलाई संस्थागत गर्न प्रमुख शक्तिबीच एक पटक पुनः न्यूनतम साझा सहमति हुनुपर्छ । नेतृत्व तहमा त्यसका लागि परामर्श र छलफल निरन्तर गरिनुपर्छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन

कतिपय राजनीतिक दल जनतालाई अल्मल्याएर सुशासन र भ्रष्टाचाररहित समाज निर्माणका कुरा गरिरहेको पाइन्छ । लामो समयदेखि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रत्येक दलको चुनावी एजेण्डा बन्दै आए तापनि कार्यान्वयनको पाटो अत्यन्त फितलो छ । मुलुकमा देखिएको दण्डहीनता, विकृति र विसङ्गतिले भ्रष्टाचारलाई मलजल गरेको छ । भ्रष्टाचारको अवस्था हेर्दा नीति नियम नै बनाएर प्राथमिकतामा राखिएको होकीजस्तो भान हुन्छ । नीतिगत भ्रष्टाचार यहाँ निकै डरलाग्दो देखिन्छ । यो लामो समयदेखिकै रोग हो । धेरै पटक सरकारमा जाने व्यक्ति कुनै न कुनै भ्रष्टाचारको काण्डमा मुछिएको देखिन्छ । भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । वर्तमान सरकारले त्यसका लागि केही कदम चालेको जस्तो देखिएको छ । अनुसन्धानमा पार्टीका आफ्नै मानिस पर्ने देखेर होकी कार्यान्वयनमा दृढता देखिन्न । साँच्चिकै भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धन गर्ने हो भने जुनसुकै नेता होस् वा जुनसुकै ओहदामा रहेको कर्मचारी नै किन नहोस् दण्डित गर्नुपर्छ ।

बर्दिया खेतीपाती र अन्न उत्पादनका हिसाबले अग्रणी जिल्ला हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् । त्यहाँको जमिन उत्पादनका हिसाबले उर्वर छ । वर्षमा तीन बाली लाग्छ । अझै केही ठाउँमा सिँचाइ समस्या छ । जिल्लाको प्रमुख समस्या नदी कटान तथा मानव र जनावरबीचको द्वन्द्व हो । राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा बर्सेनि सात, आठ जनाको जङ्गली जनावरको आक्रमणबाट ज्यान जाँदैआएकोछ । त्यस क्षेत्रमा सडक विस्तार गरौँभन्दा निकुञ्ज पर्छ मिल्दैन भनिन्छ । हाम्रो प्रश्न छ, जनता ठूलो हो कि जङ्गल र जनावर रु पचास वर्ष पुरानो वन ऐनलाई देखाएर अब काम नगरौँ । जनतालाई सहज हुने गरी नयाँ कानुन बनाऔँ ।

युवाको विदेश पलायन

युवाको विदेश पलायन रोक्न सरकारले विशेष ध्यान पुर्याउनुपर्छ । राजनीतिक नेतृत्व तह र उच्च प्रशासकमा बोल्ने र गर्ने व्यवहार फरक छ । स्वदेशमा रोजगारी नभएपछि घरपरिवार पाल्न आर्थिक कमाइका लागि धेरै नेपाली दाजुभाइ र पछिल्लो समय दिदीबहिनीसमेत विदेश जानु परेको छ । यहाँको कमाइले घरपरिवार धान्न नसकेर उहाँहरु बाध्य भएर विदेश जानुपरेको हो । पार्टीका नेता र उच्च प्रशासककै सन्तानले पनि नेपाल छाडेका छन् । उनीहरु विदेशमा छन् । हरेक हिसाबले पहिले र अहिलेको अवस्था फरक छ । राज्यले जनतालाई रोजीरोटी, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विषयमा ध्यान पु¥याएमा मुलुकका होनाहार श्रम शक्ति बाहिर जाँदैन थिए । जनतामा पनि छोटो समयमै धनी हुने महत्वाकाङ्क्षाले पनि विदेश पलायनलाई मलजल गरेको छ ।

तर अहिले देशको अर्थतन्त्र विदेशमा जाने युवाले थेगेका हुन् । युवा रोजगारीमा विदेश गएका थिएनन् भने अर्थतन्त्र निकै चौपट भइसक्थ्यो । सहरमा बस्ने र गाउँमा बस्ने मानिसको आर्थिक अवस्था, आवश्यकता र क्षमता फरक छ । सहरमा रहने विदेश जाने, गाउँका मानिस सहर पस्ने एउटा स्वभाविक प्रक्रिया पनि हो । पढाइपछि रोजगारी नपाएर र घरपरिवार चलाउन बाध्य भएर थप अध्ययन र कामका लागि विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको छ । राज्यले युवालाई रोजगारी दिलाउन र रोजगार बनाउन उद्योगधन्दा, कलकारखाना र विकासका आयोजना फटाफट अघि बढाउनुपर्छ ।

सांसद शान्ति चौधरीको परिचय

बर्दिया राजापुर–५ भौरा स्थायी बसोबास रहेकी सांसद चौधरी विसं २०५६ मा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीमा सङ्गठित भई राजनीतिक यात्रामा प्रवेश गर्नुभएको हो । विसं २०५७ मा नेकपा ९माओवादी०को सदस्यता प्राप्त गर्नुभएकी उहाँ हाल नेकपा९एमाले० प्रदेश कमिटी सदस्य हुनुुहुन्छ । जिल्ला समन्वय समिति सदस्यको समेत अनुभव रहेकी एमाले नेत्री चौधरीसँग विभिन्न सहकारीमा नेतृत्व गर्दै अर्थ व्यवस्था सुदृढीकरणमा योगदान दिँदैआउनुभएको छ ।

(‘सांसदसँग रासस संवाद’मा राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)

प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा

भरतपुर, १४ फागुन : प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् । प्रदेश सभासदस्य कृष्ण सिलवालले विकासका नाममा पर्यावरण र नदीको अस्तित्व सङ्कटमा पर्न नहुने बताउनुभयो । उहाँले यसलाई रोक्न आफूले सक्दो पहल गर्ने जानकारी दिनुभयो ।

नेपाल ¥याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत आयोजनाले नदी किनारका ८४ जलयात्रा व्यवसायसँग सम्बन्धित कम्पनी सङ्कटमा पर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “होटल व्यवसाय, जलयात्रा र अन्य कम्पनीको गरी अर्बौं लगानी सङ्कटमा पर्छ ।

जलयात्रा पूर्णतया बन्द नै हुन्छ । तीन हजार पाँच सय पथप्रदर्शक र दश हजार मानिसको पेसा सङ्कटमा पर्छ । विकासको नाममा मजदुरको रोजीरोटी खोसिनु हुँदैन ।” नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी सङ्कटमा पार्न हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “म विकास विरोधी भने होइन । नदी सुकाएर गरिने विकास दूभाग्यपूर्ण छ ।”

कार्यक्रममा स्थानीय प्रतिनिधिले नदीलाई जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा)ले जथाभावी जलविद्युत आयोजना निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको जनाउँदै यसअघि विरोध गर्दै आएको थियो । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक काम अघि बढाइएको छ । । नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा जलयात्रा गर्न जाने व्यवसायीले जनाएका छन् ।

नेपालको नदीमध्ये त्रिशूली महत्वपूर्ण नदी हो । यसलाई मास्न खोजिएको जनाउँदै व्यवसायीले आपत्ति जनाएका हुन् । त्रिशूली सरकारले जलयात्राका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो । जलयात्रा, रिसोर्टलगायतमा रु पाँच अर्ब लगानी छ । यसमध्ये ३० प्रतिशत त्रिशूली नदीभित्र छ । यहाँ जलविद्युत गृह बनाउँदा नदीको पानी सुकेर अर्बौं लगानी डुब्ने व्यवसायीको तर्क छ ।

ढोरपाटन सिकार आरक्ष जोड्ने सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ), १४ फागुन : ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो ।

बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड–१९ का कारण केही समय काम प्रभावित बनेको थियो । अहिले उक्त कामले तीव्रता पाएको छ । ढोरपाटन नगरपालिका–६ दोगाडी हुँदै गाडीखोला–चामिद्वारा–छेन्तुङ ढोरपाटन सडक राष्ट्रिय प्रथामिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको विकल्पको रुपमा लिइन्छ ।

दूरदराजका गाउँ छिचोल्दै ढोरपाटन पुग्ने उक्त सडक सिकार आरक्ष कार्यालयको अवरोधका कारण ढोरपाटन उपत्यका जोड्न सकिएको छैन । हाल दोगाडीदेखि खानी गाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्दै आएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले सडक कालोपत्रे हुँदै आएको हो । रु २५ करोड २६ लाखमा सम्झौता भएर काम हुँदै आएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु तीन करोड मात्र विनियोजन गरेको भन्दै बजेट थप नभए यस वर्ष पनि कालोपत्रेले पूर्णता पाउन नसक्ने उहाँको भनाइ छ ।

हालसम्म करिब ९० प्रतिशत कालोपत्रेको काम सकिएको उहाँले जानकारी दिनुभयो । चालु आवमा सडक कालोपत्रेका मंसिरदेखि सुरु भएको जनाउँदै जिम्मा पाएको निर्माण कम्पनीले निरन्तर काम गरी रहेको उहाँले बताउनुभयो । बजेट थप भए यस वर्ष कालोपत्रे सक्ने गरी काम भएको उहाँको भनाइ छ । काम पूरा गर्न अझै थप रु चार करोड बजेट आवश्यकता रहेको छ । गत वर्ष करिब रु छ करोडको काम भएको उहाँले बताउनुभयो ।

“यो सडक कालोपत्रेका लागि २०७६ कात्तिक २९ गते सम्झौता भएको थियो, बहुवर्षे योजनाअन्तर्गत रहेको सडकको काम केही समय कोरोना महामारीले समस्या बनायो, गत वर्षसम्म बजेट अनुसारको काम भएको छ, यस वर्ष सक्ने लक्ष्य हो, सरकारले बजेट थप ग¥यो भने सकिन्छ”, इन्जिनियर श्रीसले भन्नुभयो, “यस वर्ष बजेट विनियोजन भए अनुसार तीव्र गतिमा काम भएको छ, दोगाडीदेखि खानी गाउँसम्मको दश किलोमिटर सडक कालोपत्रे हुनुपर्ने हो ।”

यस सडक ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ हुँदै वडा नम्बर ९ ढोरपाटन जोडिएको छ । भौगोलिक विकटताका कारण यातायातको पहुँचभन्दा बाहिर रहेका नागरिकले यस सडकले जोडेको छ । यस सडकमार्फत ढोरपाटन पुग्नसमेत सहज र छिटो हुने ढोरपाटन–६ का अध्यक्ष उमेश बुढा मगरले बताउनुभयो । करिब चौध वर्षपछि कालोपत्रेले पूर्णता पाउन थालेको जनाउँदै यसले यस क्षेत्रका नागरिकसँगै ढोरपाटन पुग्ने पर्यटकलाई सहज बनाउने उहाँको भनाइ छ । ढोरपाटन जोड्न छ किलोमिटर बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ढोरपाटन सिकार आरक्ष कार्यालयले विभिन्न कारण देखाएर अवरोध पु¥याउँदा हालसम्म सडक जोडिन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सडक कालोपत्रे हुन थालेपछि यहाँका नागरिक खुसी भएका छन्, यो सडकले जोडिएको सबैभन्दा टाढाको गाउँ खानी गाउँ हो, त्यहाँबाट ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार आउन दुई घन्टा बढी लाग्छ, यो कालोपत्रे भई सक्यो भने एक घण्टामै पुगिन्छ, ढोरपाटन जोड्नलाई धेरै प्रयास गरियो तर आरक्षले गर्दा जोड्न सकिएको छैन, ढोरपाटन पुग्ने मुख्य सडकको दूरावस्था छ, यो बाटोको धेरै भाग कालोपत्रे हुन लागि सक्यो, यो सडक हुँदो ढोरपाटन पुग्न छिटो र सहज हुन्छ ।”
 

म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी, १४ फागुन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो । बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले जानकारी दिनुभयो ।

“दुर्घटना, बाढी पहिरो, नदीमा डुबेको, आगलागीजन्य विपद्को अवस्थामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गरेर एकाइ राखिएको हो”, उहाँले भन्नुभयो, “पायक पर्ने र नजिकै तालिमप्राप्त जनशक्तिको टोली भएपछि खोज तथा उद्धार कार्य प्रभावकारी हुनेछ ।”

यसअघि म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङमा खोज तथा उद्धारका लागि पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली बोलाउने गरिएको थियो । टाढाबाट टोली आउन ढिलाइ हुँदा खोज तथा उद्धार कार्यमा ढिलाइ हुने गरेको थियो । एकाइमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक फडिन्द्र गोलेले बताउनुभयो ।

स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–जोमसोम–कोरला सडकमा हुने दुर्घटना, कालीगण्डकी र आसपासका नदीमा डुबेर बेपत्ता हुने, भिरमा अड्किने, पदयात्रामा हराएकाको खोजी र हिमाल आरोहणका टोलीलाई पर्ने समस्या समाधानका लागि विपद् व्यवस्थापन बेस भएपछि सहज हुने अपेक्षा गरिएको छ ।

गत असोज महिनायता बेनी–जोमसोम सडकबाट मोटरसाइकलसहित भिरमा खसेका एक जना पर्यटक र कालीगण्डकीमा खसेर स्थानीय अर्का युवाका ज्यान गएको छ । नारच्याङमा जलविद्युत् आयोजनाले बनाएको भवनमा सशस्त्रको बेस राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले भवनको व्यवस्थापन गरेको हो । सो भवनमा कोरोना महामारीको समयमा अस्थायी अस्पताल सञ्चालन भएको थियो ।

यसैबीच सशस्त्र प्रहरीले म्याग्दीमा समुदायस्तरमा खोज तथा उद्धारका लागि आधारभूत सीप हस्तान्तरण गर्न थालेको छ । छ स्थानीय तहबाट पाँच÷पाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम दिन लागिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

यही फागुन १६ र १७ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिने उहाँले जानकारी गराउनुभयो ।

सेवाग्राहीको सेवाको साटो कार्यकक्षमै परीक्षाको तयारीमा बस्छन् कर्मचारी

कार्यालय आएर सेवाग्राहीको सेवाको साटो कार्यकक्षमै परीक्षाको तयारी गर्छन् कर्मचारी
काठमाडौँ । सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ।

परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्विकार्छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय सङ्घीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीका लागि कार्यकक्षमै बसेर परीक्षाको तयारी गर्ने गरेको स्वीकार गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला फेला,खाग र खुर भने सुरक्षित

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आईतबार मृत गैँडा फेला परेको हो ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुई करोडभन्दा बढीको आर्थिक कारोबार गर्दै गाईघाट महोत्सव सम्पन्न

गाईघाट (उदयपुर)-स्थानीय खानाको परिकार, स्थानीय वस्तुको बजारीकरण विस्तार गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुर जिल्लाको गाईघाटस्थित बरुवा बसपार्क परिसरमा सञ्चालन भएको दोस्रो प्रदेशस्तरीय महोत्सव रु दुई करोडभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ ।

आयोजक त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवमारु दुई करोड १५ लाखको कारोबार भएको हो । महोत्सवमा सबैभन्दा बढी कारोबार स्थानीय खानाका परिकारको भएको थियो ।

केन्द्रीय समिति बैठकमा सभापति देउवाको दाउ

काठमाडौं । कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् । आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिएका देउवाले सो विषयलाई संशोधन गर्न खोजेका छन् । उनले महासमिति बैठकको समापनमा पनि सो विषय उठाएका थिए ।

सुरुमा सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्न सक्ने संकेतका रूपमा बुझेका देउवाले बूढानीलकण्ठमा पदाधिकारी बैठक राखेका थिए ।

सो विषयमा सहमत हुन नसकेपछि महामन्त्री थापाले महासमिति बैठकमा राखेको सांगठनिक प्रतिवेदन पारित भएपछि अर्को विकल्पका रूपमा सभापति देउवाले कांग्रेस केन्द्रीय बैठकबाट परिमार्जन गर्ने तयारीमा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने अध्यक्ष नेपालको दाबी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताउनुभएको छ ।

आईतबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ ।”अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताउनुभयो ।पूर्वप्रधानमन्त्री नेपालले आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी सङ्गठनलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिनुभयो । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने एउटा क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता उहाँले औँल्याउनुभयो ।त्यस अवसरमा एमाले नेत्री मेनुका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । मकवानपुरकी उद्यमी नेत्री श्रेष्ठले एमालेमा व्यक्तिवाद चरम बन्दै गएको, पार्टी सीमित नेताको कब्जामा गएको आरोप लगाउँदै आफू एकीकृत समाजवादीमा समाहित भएको बताउनुभयो ।

निरन्तर संवादमा प्रचण्ड र ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् ।

त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ । एमालेका एक नेताले प्रधानमन्त्री दाहालले ‘ललिपप’ देखाइरहेको बताएका छन् । ‘कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन,’ ती नेताले भने । कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आङ्कलन छ ।

एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबिच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

चिराइतोको मूल्य वृद्धिले सङ्खुवासभाका किसान उत्साहित,प्रतिमन ४४ हजारका दरले कारोबार

किमाथाङ्का (सङ्खुवासभा), १३ फागुनः बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान उत्साहित भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका हुन् । गत वर्ष चिराइतोको मूल्य कम हुँदा प्रभावित भएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् ।

अहिले चिराइतो प्रतिमन (४० केजी) रु ४४ हजारका दरले कारोबार भइरहेको चिराइतो व्यवसायी आङजुङ भोटेले राससलाई जानकारी दिनुभयो । केही वर्षअघि प्रतिकिलोग्राम दुई सयमा कारोबार हुने गरेको चिराइतोको मूल्य प्रतिकिलोग्राम एक हजार एक सयमा किनबेच भइरहेको व्यवसायी भोटेले बताउनुभयो ।सोलुखुम्बु, दोलखा, रामेछाप र ओखलढुङ्गाबाट सङ्कलन भएको पाँच हजार किलोग्राम चिराइतो काठमाडौँ पठाइसकेको उहाँले बताउनुभयो । सङ्खुवासभाको भोटखोला गाउँपालिका र भोजपुर जिल्लाबाट सङ्कलन गरिएको करिब दुई हजार आठ सय किलोग्राम चिराइतो जिल्लाबाहिर पठाउन लागिएको व्यवयासी भोटेले बताउनुभयो । हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायत जडीबुटीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा लिने गरिएको छ ।चिराइतो चीन, भारत र बङ्गलादेश निकासी हुँदै आएको छ । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी भोटेले बताउनुभयो । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उहाँको भनाइ छ । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, जिउ सुन्निएको, पोलेको रोगका लागि यसका पात, डाँठ, जरा औषधिका रुपमा प्रयोग हुने गरेको छ ।—