`

युद्ध अन्त्य गर्ने अमेरिका–युक्रेनको योजनामा केही राहत मिल्ने जेलेन्स्कीको भनाइ

रूसी आक्रमण अन्त्य गर्न अमेरिकी नेतृत्वको मस्यौदा योजनाको पछिल्लो संस्करणमा युक्रेनले केही राहत मिल्ने देखिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

युरोपेली सङ्घ (इयू) र र मस्कोले नयाँ सर्तहरू स्वीकार गर्छन् कि गर्दैनन् भन्ने बिषयमा उनीहरूको धारणा सार्वजनिक भइसकेको छैन ।

अमेरिका र युक्रेनी वार्ताकारहरूले सहमति गरेको २० बुँदे योजनाको मस्कोले समीक्षा गरिरहेको बताएको छ तर क्रेमलिनले पूर्वबाट पूर्ण युक्रेनी फिर्तीको लागि आफ्नो कडा क्षेत्रीय मागलाई छोड्ने कमै सम्भावना छ । कागजातमा केही बुँदाहरू आफुलाई मन नपरेको पनि नेता जेलेन्स्कीले बताउनुभयो ।

किएभले युक्रेनलाई डोनेट्स्क क्षेत्रबाट फिर्ता लिन वा मस्कोको सेनाले कब्जा गरेको भूमिलाई रूसको रूपमा मान्यता दिने बुँदाहरू हटाउन सफल भएको छ ।

किएभले नेटो सदस्यताको माग त्याग्नु पर्छ भन्ने रूसी मागलाई पनि नयाँ योजनाबाट हटाइएको नेता जेलेन्स्कीले बताउनुभयो ।

कागजातमा नेटो सदस्यता त्याग्नुपर्ने रूसी मागलाई उल्लेख गरिएको छैन । यो प्रस्तावले अझै पनि युक्रेनले केही सेनाहरू फिर्ता गर्ने बिषयमा मार्ग प्रशस्त गर्दछ र उसले नियन्त्रण गरेको डोनेट्स्क क्षेत्रको २० प्रतिशत क्षेत्रमा पनि असैन्यीकृत क्षेत्रहरू स्थापना गरिनेछ।

जेलेन्स्कीले पत्रकारसँग दुई घण्टाको जानकारीमा योजनाको मुख्य र थप व्याख्या गरिएका भागहरूबारे चर्चा गर्नुभएको थियो ।

“डोनेट्स्क, लुगान्स्क, जापोरिज्जिया र खेरसोन क्षेत्रहरूमा, यस सम्झौताको मितिसम्म सेना तैनातीको लाइनलाई वास्तविक रूपमा सम्पर्क रेखाको रूपमा मान्यता दिइएको छ,” जेलेन्स्कीले पछिल्लो संस्करणमा उल्लेख गरिएका बुँदाबारे भन्नुभयो ।

उहाँले थप्नुभयो, “द्वन्द्व अन्त्यका लागि आवश्यक बलको पुनः तैनाथी र भविष्यका सम्भावित विशेष आर्थिक क्षेत्रहरूको मापदण्ड निर्धारण गर्न एउटा कार्यदल बनाइने र यसको बैठकबाट निर्णय हुनेछ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले मस्को र किएभ दुबैलाई सन् २०२२ मा रुसको आक्रमणका कारण सुरु भएको चार वर्षे युद्ध अन्त्य गर्न दबाब दिइरहनुभएको छ।

युद्धका कारण दशौँ हजार मारिएका छन्, पूर्वी युक्रेन ध्वस्त भएको छ र लाखौँ आफ्नो घर छोड्न बाध्य भएका छन् ।

रुसी सेना युद्धमोर्चामा अघि बढिरहेका छन् र शहर र युक्रेनको ऊर्जा ग्रिडमा रातको मिसाइल र ड्रोनद्वारा आक्रमण गरिरहेका छन्।

मस्कोले सन् २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीपबाहेक युक्रेनका चार क्षेत्रहरू डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरिज्जिया पनि कब्जा गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौता गर्न कुनै इच्छा नदेखाएको युक्रेनी बुझाइ छ । युक्रेनको व्यापक फिर्तीको लागि आफ्नो कडा मागलाई पुटिनले दोब्बर पार्नुभएको छ। उहाँले किएभ र यसका युरोपेली समर्थकहरूले पहिले आत्मसमर्पणको रूपमा चित्रण गरेका राजनीतिक छूटहरूको एक श्रृंखलालाई दोब्बर पार्नुभएको छ।

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा

बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहनुभएको छ । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आउनुभएका उहाँ आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा हुनुहुन्छ ।

६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन भएको आरोप लगाउँदै बङ्गलादेश छोड्नुभएको थियो । बिएनपीका कार्यवाहक अध्यक्ष रहनुभएका उहाँले बिरामी आमाबाट पार्टीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ । उहाँकी आमा, ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको छ ।

स्वास्थ्य समस्या र कारावासको कठिन समय बिताउनुभए पनि जियाले नोभेम्बरमा सन् २०२६ फेब्रुअरी १२ मा हुने आमनिर्वाचनमा प्रचार गर्ने घोषणा गर्नुभएको थियो । तर त्यसको केही समयपछि उहाँ अस्पताल भर्ना हुनुभएको छ र हाल सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।

यो निर्वाचन पूर्वप्रधानमन्त्री शेख हसिनाको करिब १५ वर्ष लामो शासनपछि हुने पहिलो चुनाव हो । गत वर्षको जनआन्दोलनपछि शेख हसिनाको शासन अन्त्य भएको थियो । शेख हसिनासँग बिएनपीको लामो समयदेखि तीव्र राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ ।

शेख हसिना सत्ताबाट बाहिरिएपछि रहमानमाथि लगाइएका केही गम्भीर अभियोगहरू खारेज गरिएका छन् । सन् २००४ मा शेख हसिनाको र्‍यालीमा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोपमा उहाँलाई अनुपस्थितिमै आजीवन कारावासको सजाय सुनाइएको थियो, जसलाई उहाँले सधैँ अस्वीकार गर्दै आउनुभएको छ ।

बिएनपीका महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले डिसेम्बर २५ मा रहमान ‘ढाकाको भूमिमा हामीबीच आइपुग्ने’ बताउँदै त्यस दिनलाई पार्टीका लागि ऐतिहासिक र उत्साहजनक हुने उल्लेख गर्नुभएको छ ।

राजनीतिमा प्रवेश गर्नु अघि ढाका विश्वविद्यालयमा अध्ययन गर्नुभएका रहमान युवावस्थामै बिएनपीमा सक्रिय हुनुभएको थियो । उहाँका पिता जियाउर रहमान पूर्वराष्ट्रपति तथा सेना प्रमुख हुनुहुन्थ्यो । उहाँको हत्या रहमान १५ वर्षको हुँदा भएको थियो । त्यसपछि उहाँ आफ्नी आमाको राजनीतिक छायामा हुर्कनुभएको थियो ।

रहमानको राजनीतिक यात्रामा विवाद पनि जोडिएका छन् । उहाँमाथि भाई–भतिजावाद र भ्रष्टाचारको आरोप लाग्दै आएका छन्, जसलाई उहाँले सधैँ राजनीतिक प्रतिशोधको परिणाम भन्दै खारेज गर्नुभएको छ । सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि हिरासतमा यातना दिइएको दाबीसमेत उहाँले गर्नुभएको थियो । उपचारका लागि लन्डन गएका उहाँ त्यसपछि लामो समय स्वदेश फर्कन सक्नुभएको थिएन ।

बेलायतमा रहँदा उहाँले परिवारसँग शान्त जीवन बिताउनुभएको थियो । तर शेख हसिनाको शासन अन्त्यपछि उहाँ सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा देखिन थाल्नुभएको छ र बिएनपी समर्थकहरूका लागि आशा र एकताको केन्द्रको रूपमा उदाउनु भएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौँ, ९ पुसः जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन कैदी पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा सो कारागारमा कैद भुक्तानी गरिरहेका धादिङको धुनिवेँशी नगरपालिका–१ का ३४ वर्षीय सञ्जीव परियार र थाक्रे गाउँपालिका–१० का ३५ वर्षीय विवेक परियार तथा मकवानपुरको चुरियामाई गाउँपालिका–३ का ३७ वर्षीय राजेन्द्र परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले आज काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सो मुद्दामा उनीहरुलाई जनही १३ वर्ष कैद सजाय कायम भएको थियो । उनीहरु २०७४ असोज १ गतेदेखि कैद सजाय भुक्तान गरिरहेको व्यूरोले जनाएको छ ।

पक्राउ परेका फरार कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक दुई विधामा सम्मानित

काठमाडौँ, ९ पुस : नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई एकसाथ दुईवटा अवार्ड प्रदान गरिएको हो ।

आज यहाँ आयोजित नेपाल क्लियरिङ हाउसको १७ औँ वार्षिकोत्सव समारोहमा राबा बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गर्नुभएको थियो ।

राबा बैंकले भविष्यमा पनि डिजिटल बैंकिङ प्रवद्र्धन, सुरक्षित तथा प्रभावकारी भुक्तानी प्रणालीको विस्तार र ग्राहक–केन्द्रित सेवामा थप प्रतिबद्ध भएर अघि बढ्ने जनाएको छ । नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकबाट ‘भुक्तानी प्रणाली सञ्चालक’ को काम गर्न अनुमति प्राप्त संस्था हो ।

जेनजी जनविद्रोह यथास्थितिमा परिणत नहोस् : प्रभु साह

काठमाडौँ, ९ पुसः आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा परिणत गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आमजनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष साहले मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको तर्क गर्नुभयो ।

अध्यक्ष साहले भ्रष्टाचार, बेथिति र दलीय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी जनविद्रोह यथास्थितिमा परिणत नहोस् ।” उहाँका अनुसार यही अवस्थाविरुद्ध तेस्रो जनआन्दोलनको स्पष्ट रणनीति तय गर्न बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजना र आन्दोलनको स्वरूपबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिनुभयो ।

फागुन २१ को निर्वाचनमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टी तयार : नेता रावल

अत्तरिया (कैलाली), ९ पुसः नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताउनुभएको छ ।सो पार्टीको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टी सम्पूर्णरुपमा तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ । सरकारले त्यो वातावरण बनाउनुपर्छ । आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ ।”

उहाँले गत भदौ २३ र २४ गते घटेका घटनाको यथोचित, वस्तुगत तथा निष्पक्ष छानबिन गर्न र निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो । नेता रावलले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीले एकता सन्देशसभा सम्पन्न गरेको र अब पालिकास्तर हुँदै वडास्तमा पु¥याइने बताउनुभयो ।

‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ ।बुधबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

‎कार्यगत एकता घोषणापत्रमा दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहिन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ।

‎घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटीपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ । विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्र (क्तबतभ–ल्बतष्यल) को अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ ।

‎मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ।साथै राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाइएको छ ।

‎दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति गरेका छन् ।एकता घोषणामा बोल्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि मधेसी, आदीवासी जनजाति, दलित, पिछडिएको वर्ग मुस्लिम, थारु, महिला लगायतका समुदायहरु अपहेलित अवस्था नै रहेको बताए । उनले यी समुदायहरु नेपालमा आर्थिक रुपले, सामाजिक रुपले र राजनीतिक रुपले बहिष्कृतमा परेको बताए ।

उनले भने, ‘राजतन्त्र निरंकुश व्यवस्थालाई हामीले जनसंघर्ष आन्दोन र क्रान्तिद्वारा अन्त्य गर्यौं । राजनीतिक व्यवस्थामा शासनको प्रणालीमा परिवर्तन आएको छ । राजनीतिक लोकतन्त्र हामीले स्थापित गरेका छौं । तर मुलुक भित्र रहेका विविधता खास गरीकन मधेसी, आदीवासी जनजाति, दलित, पिछडिएको वर्ग मुस्लिम, थारु, महिला लगायतका जुन समुदायहरु छन् ति समुदायहरु नेपालमा राजतन्त्रको उदयसँगै शोषणमा परे, आर्थिक रुपले शोषित भए, सामाजिक रुपले अपहेलित भएका छन् । दुई तिहाई भन्दा बढी जनसंख्या भएका यी शोषित उत्पीडित र उपेक्षित सिमान्तकृत समुदायहरु जो आर्थिक रुपले, सामाजिक रुपले र राजनीतिक रुपले बहिष्कृतमा परेका छन् । ति समुदायहरुलाई न्याय दिलाउन बाँकी छ । अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् ।’

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौँ, ९ पुसः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेसका ५७ जना पूर्वसांसदले रिट निवेदन दायर गर्नुभएको थियो । विघटित संसद्का कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले दिएको अघिल्लो निवेदनका साथ सरिक हुन पाउँ भनी पुरक निवेदन दिनुभएको थियो ।

संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ आइसकेको छ ।

प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौँ, ९ पुस:प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेको हो ।टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना गरेको छ । प्रधानमन्त्री कार्की प्रतिष्ठानको पदेन संरक्षक पनि हुनुहुन्छ ।

त्यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । देशभरको गीत, सङ्गीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो पनि उहाँले गर्नुभयो ।

प्रतिष्ठान अहिले ‘प्रिफ्याब’को अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उहाँले जानकारी गराउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो ।प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरुसँग परामर्श गरी भवन निर्माणमा सघाउन आवश्यक पहल गर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रभाकर देव शर्माको ‘धोका’मा आयुष्माको अभिनय

काठमाडौं । प्रभाकरदेव शर्मा नेपाली कला क्षेत्रका बरिष्ठ कलाकार हुन् । कमैलाई थाहा होला लेखक तथा निर्देशक समेत रहेका उनी गीतकार, गायक र संगीतकार समेत पनि हुन् । बेला बेलामा उनका गीत सांगीतिक बजारमा भित्रिदै आएको छ । यस्तै शर्माको शब्द, संगीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरुमा सर्मपित गर्दै यो गीत ल्याइएको हो । गीतमा एरेन्ज सुयोग सोताङले गरेका छन् ।

श्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका पीडाहरु ब्यक्त गरिएका छन् । शर्माले गीतमा ड्रामा पनि समेटेका छन् । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको दश बर्षपछि प्रेमीकाले गरिब भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ । भिडियो सामान्यतय भन्दा फरक र मार्मिक छ ।

भिडियोमा प्रेम जोडीको रुपमा मोडल आयुष्मा कार्की र सिद्धार्थ सिलवाल देखिएका छन् । मदन थापा, सुवासचन्द्र सिलवाल र सितल ठकुरीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । कलाकार शर्माकै निर्देशक रहेको भिडियोमा बिशाल केसी र बुलेटको छायांकन छ भने सम्पादन बिशाल केसी र दिल श्रीपाल रहेका छन् । भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको हो ।

शर्मामा यसअघि पनि थुप्रै गीत सार्वजनिक भैसकेका छन् । ‘म पागल सरी तिमीलाई माया गरिरहन्छु’, ‘कुनै मन्दिरको पुजारी जस्तो पूजा गरिरहन्छु’, ‘आज मलाई कोही नरोक’ लगायतका गीत चर्चामा रहन सफल छन् । ‘घर हाम्रो नेपाल, जात हाम्रो नेपाली’ यो चर्चित राष्ट्रिय गीतका शब्द पनि शर्माले नै कोरेका हुन् । बिगत ४ दशकदेखि कलाको थुप्रै बिधामा क्रियासिल शर्मा पछिल्लो समय फिल्म निर्देशन तयारी गर्दैछन् ।

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

पथरी (मोरङ) – दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु एक लाख एक हजार १११ मा चित्त बुझाउनुपरेको छ ।

इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा इन्ट्रा पथरी–११ का मन्जिल खड्का, सञ्जय लिम्बू, नीरज परियार, सौर्य राउतले गोल गर्दा बेतना युनाइटेडका विवेक पौडेल र रुद्र कार्कीले गोल गरे । बेतनाका आशिष लावती र निमा तामाङको प्रहार भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ दी म्याच बेतनाका विवेक पौडेल घोषित भए । प्रतियोगितामा बेतनाका मुस्कान लिम्बू उत्कृष्ट गोलरक्षक, मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र निमा तामाङ उत्कृष्ट फर्वड घोषित हुँदा इन्ट्रा पथरीका धिरेन क्षेत्री उत्कृष्ट डिफ्रेन्स, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक, मिक्चेन दास र सञ्जय लिम्बू हाइस्कोर र गोलरक्षक समिर क्षेत्री सर्वोकृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता टिमलाई एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, केराबारी गाउँपलिका अध्यक्ष सुमन मिरिङचिङ मगर, वडा नं ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले पुरस्कार प्रदान गर्नुभयो । सतिसाले स्पोर्टिङ क्लब केराबारी–६ मोरङको आयोजनामा सम्पन्न गोल्ड कप सतिसाले स्पोर्टिङ क्लबको खेलमैदान भएको थियो ।

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा – उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माणसम्बन्धी बहस’ विषयक अन्तरराष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ ।

नेपाल समाजशास्त्र सङ्घ र मकवानपुर बहुमुखी क्याम्पसद्वारा संयुक्त रूपमा यहाँ आयोजित सो तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका वरिष्ठ समाजशास्त्रीहरूको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा विभिन्न क्षेत्रका ७० भन्दा बढी अध्ययन, अनुसन्धानका निष्कर्ष एवं सवालहरूमा प्रस्तुतीकरण, बहस र छलफल गरिएको थियो ।

सम्मेलनको उद्घाटनसत्रमा समाजशास्त्र सङ्घका अध्यक्ष प्रा डा गणेशमान गुरुङले समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो भन्नुभयो । उहाँले भन्नुभयो, “उत्थानशील र समावेशी नेपाल निर्माणका लागि स्थायित्व नै पूर्वशर्त हो ।”

वरिष्ठ समाजशास्त्री प्रा डा कैलाशनाथ प्याकुरेलले समाजको आवश्यकता र बनोटलाई बुझ्न नसक्दा राजनीतिक स्थायित्व नभएको टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, हेटाँैडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, त्रिवि शिक्षाध्यक्ष प्रा डा खड्ग केसी, भारतीय समाजशास्त्र सङ्घका सचिव श्वेता प्रसादलगायतले समाजशास्त्रीय महत्वका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो ।

सम्मेलनका विभिन्न सत्रमा शिक्षा, स्वास्थ्य, प्रविधि, जलवायु परिवर्तन, लैङ्गिक शक्ति र सम्बन्धलगायत विभिन्न क्षेत्रहरूका सामाजिक पक्षलाई समाजशास्त्रीय सिद्धान्तका आधारमा विश्लेषण गरिएका अनुसन्धान कार्यपत्रहरूको प्रस्तुतीकरण एवं बहस र छलफल गरिएको थियो ।

यस्ता थिए अनुसन्धानपत्रका क्षेत्र

नेपालमा पितृसत्ता, लैङ्गिक शक्ति सम्बन्ध र नारीवादी रूपान्तरणहरू, नेपालमा विद्यालय शिक्षाको इतिहास, लैङ्गिक निकाय, श्रम, स्वास्थ्य अभ्यास र दैनिक असमानता, डिजिटल समाज, प्रविधि, सामाजिक परिवर्तन, जाति, नागरिकता र समावेशीकरणको परिवर्तनशील गतिशीलता÷बहिष्करण, नेपालमा आदिवासी पहिचान र मान्यताको राजनीति, जलवायु परिवर्तन, वातावरण, संरक्षण र प्रकोप अध्ययन, बसाइँसराइ, गतिशीलता र जनसाङ्ख्यिकीय परिवर्तन, विकास, पूर्वाधार, भूमि र अर्थतन्त्र, समाजशास्त्र विकास, न्याय र समुदाय रूपान्तरणहरू, डिजिटल रूपान्तरण नेपालको स्वास्थ्य र शिक्षा प्रणालीमा ज्ञान उत्पादन र समानता ।

सम्मेलनकै क्रममा स्थानीय तहमा सङ्घीयताको अभ्यास, सिकाइ र चुनौती विषयक छलफल समेत सम्पन्न भएको थियो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले सिकाइ र चुनौतीहरूका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) – वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताउनुभयो ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् रु एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो ।

त्यसैगरी रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको एलपी ग्यासको पनि आयात भयो । त्यस्तै रु सात अर्ब २५ करोडको एटिएफ र रु १९ करोडको मट्टितेल आयात भएको छ ।

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।

गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन्।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना,१५ वटालाई सुधारात्मक निर्देशन

काठमाडौँ, ९ पुसः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ ।विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई रु १५ हजार, पाककला प्रालिलाई रु १० हजार र इन्द्रेणी फुड वल्र्ड एण्ड व्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो ।

यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।

टर्कीएमा भ्रष्टाचारविरुद्ध कडा कारबाही, २२ नगरपालिका अधिकारी पक्राउ

टर्कीए प्रहरीले मङ्गलवार २२ जना नगरपालिका अधिकारीलाई घूसखोरी र भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।इस्तानबुल एनाटोलियन प्रमुख जनरल अभियोजन कार्यालयका अनुसार शिले जिल्लामा कार्यरत ती अधिकारीहरूको घरमा एकैसाथ छापा मारिएको हो । उनीहरूलाई ‘अपराध उद्देश्यका लागि सङ्गठन निर्माण’ गर्नु, ठगी, घूसखोरी र बोलपत्र मिलाउने जस्ता आरोपमा संलग्न भएको आरोप छ ।

यस अघि, सन् २०२५ को जुलाईमा शिले नगरपालिका प्रमुख ओजगुर काबाडाईसहित ६ जना अधिकारीलाई यस्तै आरोपमा नियन्त्रणमा लिइएको थियो ।

पक्राउहरू यस वर्षदेखि इस्तानबुल र अन्य प्रान्तका स्थानीय प्रशासनमा कथित भ्रष्टाचार विरुद्ध सुरु गरिएको व्यापक अनुसन्धान अभियानको हिस्सा हुन् । मार्चदेखि सुरक्षा निकायहरूले मुख्य विपक्षी रिपब्लिकन पीपुल्स पार्टी (सीएचपी) द्वारा सञ्चालित नगरपालिकामा लक्षित गर्दै धेरै अपरेसन सञ्चालन गरेका छन्, जसमा दर्जनौं अधिकारी र मेयरहरू पक्राउ परेका छन् ।

इस्तानबुल मेयर एक्रेम इमामोग्लुको नियन्त्रणमा लिने घटनाले देशव्यापी ध्यान खिचेको छ र राजनीतिक बहसलाई थप व्यापक बनाएको छ । टर्कीएका अधिकारीहरूले भन्नुभयो,“यी अनुसन्धानहरू कानुनअनुसार सञ्चालन भएका हुन् र राजनीतिक उद्देश्यले नभएको स्पष्ट पारिएको छ, जबकि विपक्षी नेताहरूले यी अपरेसनको आलोचना गरेका छन् ।”

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सातवटै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जना जिल्ला न्यायाधीशलाई यही पुस १५ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत निर्वाचन गरिएको हो । आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंलाई नियुक्त गरिएको छ ।

त्यसैगरी, निर्वाचन अधिकृतको कार्यालय मधेस–प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश सुभासबाबु पुरी, निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई नियुक्त गरिएको छ ।

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासे, निर्वाचन अधिकृतको कार्यालय लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, निर्वाचन अधिकृतको कार्यालय कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाललाई नियुक्त गरिएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन अधिकृतको कार्यालय सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापालाई नियुक्त गरिएको छ । नियुक्त निर्वाचन अधिकृतहरुले यही पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेकोसमेत आयोगको भनाइ छ ।

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने: सावधानी अपनाउन अनुरोध

काठमाडौँ- तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले पनि देशको तराईका धेरै ठाउँमा हुस्सु÷कुहिरो लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।”

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

डुम्रे (तनहुँ), ९ पुस : पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन ।

गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन् । पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलको ‘स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुईवटा ‘स्पान’मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ । हामीले निर्माण कम्पनीलाई २०८२ साल चैत मसान्तसम्ममा काम सक्न निर्देशन दिइसकिएको छ”, उहाँले भन्नुभयो, “व्यास र ऋषिङलाई जोड्ने यस पुल हाम्रो समृद्धिको आधार हो । तर पाँच वर्षसम्म पनि अलपत्र हुनु अत्यन्तै दुःखद् पक्ष हो । विकासका काममा हुने यस्तो ढिलासुस्तीले गरिनुहुँदैन ।”

गण्डकी प्रदेश सरकारले रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा निर्माण सम्पन्न गर्नेगरी २०७७ साल मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । हालसम्म ६५ प्रतिशतमात्र पुलको भौतिक प्रगति भएको छ । निर्माण भइरहेको पुल १५५ मिटर लामो र ‘स्टिल ट्रस’ प्रकृतिको हुनेछ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न बहानामा हालसम्म तीनपटक म्याद थप भइसकेको छ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै जिल्लाको ग्रामीण मानिएको दक्षिण भेगबाट आवतजावत गर्ने मुख्य पुल हो ।

पाइल फाउन्डेसनमा आधारित यस पुल ९.५ मिटर चौडा हुनेछ । पछिल्लो समय कार्यालयले कामलाई तीव्रता दिन दबाब दिएपछि निर्माणस्थलमा केही चहलपहल बढेको छ । यद्यपि पटकपटक म्याद थपिने तर काम नहुने प्रवृत्तिले गर्दा तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीय अझै चिन्तित बनेका छन् ।

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो : सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, ९ पुस ः फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ । गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन्भने तीनवटा घाइते भएका छन् ।

हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो ।

स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको हो । उहाँको खोरमा भालु पटकपटक प्रवेश गरेकाले पुनः आउन सक्ने भएकाले यहाँ खोर राखिएको अध्यक्ष ओझाले बताउनुभयो । निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा गएको थियो ।

स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छभने तीनवटा घाइते भएका छन् । यसअघि गत पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुले खाएको थियो । भालुको आतङ्क बढेसँगै स्थानीयले घाँस, दाउरा सङ्कलन र अलैँचीखेती गर्न जङ्गल जान सकिरहेका छैनन् । वडाध्यक्ष लक्षुमन गुरुङले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गर्नुभएको छ ।

काँकरभिट्टाबाट पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), ९ पुस : चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

आजको बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको छ ।

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ, ९ पुस: राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।

राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।

गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइँने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ, ९ पुसः नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।

यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको घमी खोला पुलको ठेक्का सम्झौता २०७५ साल पुस १९ गते भएको थियो । यहाँ पुल निर्माणका लागि हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले रु छ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडकको काम सकिए पनि पुल निर्माणले लामो समयदेखि हुन सकेको थिएन । घमी खोलामा पुल सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा सहज हुने अध्यक्ष विष्टको भनाइ छ । सम्झौताअनुसार विसं २०७८ पुस ९ गते पुल निर्माण भइसक्नुपर्ने थियो ।

निर्माण कम्पनीले प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाएर पुल निर्माण अलपत्र पारेको थियो । निर्माण कम्पनीलाई पटकपटक ताकेता गरिँदासमेत निर्माण कम्पनी कार्यस्थलमा नफर्किएपछि निर्माण कम्पनीलाई छ महिनाको अल्टिमेटम दिएर लागतको (०.०५) प्रतिशत जरिवाना लाग्ने गरी दैनिक हर्जाना तोकेको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका जोड्ने (बेनी–जोमसोम–कोरला)सडकमा १४ वटा पुल सम्पन्न भइसकेका छन् । माथिल्लो मुस्ताङको घमी खोला पुल पनि चालु आवमै सम्पन्न हुनेछ ।

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

काठमाडौँ, ९ पुसः सरकारले आसन्न निर्वाचनको वातावरण बनाउन प्रमुख राजनीतिक दलहरुसँगको वार्ता र संवादलातई तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत राजनीतिक दलसँग चरणबद्ध वार्ता र छलफलमा जुटेको हो ।

सोही प्रयोजनका निम्ति सरकारी वार्ता टोलीले प्रमुख तीन दलका कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गरेको छ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले मङ्गलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर निर्वाचनको वातावरणका लागि वार्ता र संवाद गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनील सिंहको संयोजकत्वमा गठित समितिमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ती दलका कार्यालयको अनुगमनकासाथै दलहरुसँग निर्वाचनको माहोल बनाउनेबारे कुराकानी गर्नुभयो ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालय अवलोकन गर्ने क्रममा मन्त्री सिन्हा र मन्त्री खरेलले प्रमुख दलका मागका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको थियो । उहाँहरू सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगी त्यहाँ भएको क्षतिको विवरण लिनुका साथै दलका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

सरकारका मन्त्रीहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

तीनवटै राजनीतिक दलको कार्यालय अनुगमन र सम्बन्धित दलका नेताहरुसँगको संवादपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउनका लागि गरिएको दलहरुसँगको वार्ता र संवाद उपलब्धिमूलक रहेको र यसले निर्वाचनलाई सुनिश्चित गरेको बताउनुभयो ।

सरकार इमान्दारीकासाथ निर्वाचन गराउन खोजिरहेको छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्न आफूहरू राजनीतिक दलका कार्यालयले पुगेर संवाद गरेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचनका लागि यो राजनीतिक दललाई सकारात्मक दबाब हो, हामी चुनाव चाहन्छौँ, चुनावको तयारी यो गरेका छौँ भन्ने स्पष्ट सन्देश हो ।”

निर्वाचनमा भाग लिनुहोस् भनेर सरकार राजनीतिक दलको कार्यालयमा पुगेको यो नै पहिलो पटक भएको बताउँदै सञ्चारमन्त्री खरेलले यसबाट सरकार निर्वाचन गराउन कति प्रतिबद्ध छ भन्ने स्पष्ट सन्देश हो भन्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीको कार्यालय अवलोकनका क्रममा सो पार्टीका संयोजकले पदाधिकारीका तर्फबाट स्पष्ट कुरा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद् पुनःस्थापना गर्न हुँदैन, अब चुनावमै जानुपर्छ भन्नुभएको छ ।” जेनजीले उठाएका माग सम्बोधन भएन भने थप जटिलता हुनेतर्फ आफूहरूलाई भनेको उल्लेख गर्दै उहाँले नेकपाले स्पष्ट रुपमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।

मन्त्री खरेलले सरकार, राजनीतिक दल र जनता निर्वाचनको बाटोमा होमिनुपर्छ भन्नेमा सबै राजनीतिक दल निर्वाचनमा जानेमा सबै स्पष्ट रहेको आफूहरूले पाएको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलका नेताहरूलाई सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाउँछ, अब निर्धारित मितिमा चुनाव हुन्छ ।”

नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलपछि मन्त्री सिन्हाले आन्दोलनका क्रममा भागेका अधिकांश कैदीबन्दी पक्राउ र लुटिएका धेरै हतियार बरामद भएकाले सङ्गठित रूपमा अपराध हुनसक्ने कुनै सम्भावना नरहेको तथा निर्वाचनको वातावरण बन्दै गएको विश्वास दिलाउनुभयो । उहाँले राजनीतिक संवादमार्फत निर्वाचनमा जानुको विकल्प नरहेको जनाउँदै लोकतन्त्र पुनःस्थापित गरी संविधानको मर्म र भावना प्रतिनिधिसभाको निर्वाचन गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो, “आन्दोलनका क्रममा दलका भौतिक संरचना के–कति क्षति भए, कसरी पुनर्निर्माण भएको भइरहेको छ त्यो हेर्न आएका हौँ । दलका पदाधिकारीसँगको छलफलमा निर्वाचन सुरक्षाबारे विभिन्न प्रश्न उठेका छन् । तर चुनावको विकल्प छैन भन्नेमा विवाद छैन ।”

छलफलका क्रममा केही सुरक्षा र केही नेताहरूसँगको विषयको प्रश्न उठेको बताउँदै उहाँले प्रमुख दलहरूको सम्पर्क तल्लो तहसम्म भएकाले एक पटक चुनावी नारा तलसम्म पु¥याएर चुनावी वातावरण बनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । सरकारले मन्त्री सिन्हाको संयोजकत्वमा गठित राजनीतिक वार्ता समितिले निर्वाचन आयोगको तयारी सम्बन्धमा मुख्य दलकै कार्यालयमा गएर छलफल निर्णयअनुरूप उहाँहरू त्यहाँ जानुभएको हो ।

मङ्गलबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितमा प्रधानमन्त्री सुशीला कार्की तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक भएको थियो । उक्त बैठकले फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३७ पैसा र बिक्रीदर २० रुपैयाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २१ पैसा , बहराइन दिनार एकको खरिददर ३७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २४ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
–––

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

पाटन (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ ।

त्यसैले पुस ८ गते पर्ने भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा आश्रमको गेट बन्द थियो । आश्रममा विगतमा जस्तो कुनै विशेष कार्यक्रम आयोजना गरिएको थिएन । कुनै राजनीतिक दलका नेता तथा व्यक्तित्वहरुको उपस्थिति थिएन ।

आश्रमको ताला लगाउने ठाउँमा बेरिएको तार, आश्रम परिसरमा आगजनी गरिएका दुईवटा सवारी अलपत्र थिए । आश्रमको सिसा फुटाइएका झ्याल, ट्रष्ट फ्याँकिएको कार्यक्रमस्थल मात्रै बाँकी थिए ।

आश्रम अगाडि रहेको किसुनजीको शालिक तोडफोड गरिएको अवस्थामा थियो । लोकतन्त्रका लागि जेल जीवन बिताएका, सत्ता होइन सिद्धान्त रोजेका नेताको स्मृतिस्थलको यो हालत जो कोहीलाई पनि भावविह्वल बनाउने किसिमको थियोे ।

विसं १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा जन्मनुभएका कृष्णप्रसाद भट्टराईको जीवन नेपालको आधुनिक राजनीतिक इतिहास हो भन्नुहुन्छ, पूर्वसांसद प्राध्यापक होमराज दाहाल ।

“राणा प्रधानमन्त्री वीर शम्शेरको वक्रदृष्टिका कारण परिवार बनारस निर्वासित हुनुपरेको थियो, त्यही परिवेशले उहाँलाई राजनीतितर्फ डोहो¥यायो, सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनमा सक्रिय सहभागी बनेर पहिलो पटक जेल परेका भट्टराई विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाका संवाहक हुनुहुन्थ्यो”, प्राध्यापक दाहालले भन्नुभयो ।

बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष बनेर नेपाली युवामा राजनीतिक जागरण फैलाउनुभएका सन्तनेता विसं २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन हुँदा महामन्त्री बन्नुभएको थियो । पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर बनेको नेपाली कांग्रेसका सहमहामन्त्री हुनुभएको थियो ।

विसं २००७ को सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उहाँको भूमिका इतिहासमा दर्ज छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रको ‘कू’ पछि थापाथलीबाट बिपी कोइरालासँगै पक्राउ पर्नुभएका भट्टराईले लगातार १० वर्ष जेल जीवन बिताउनुभएको थियोे । जीवनभर गरेर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका उहाँले निर्वासन कहिल्यै रोज्नुभएन ।

विसं २०५० मा स्नातकोत्तर अध्ययनका क्रममा आफूले भट्टराईको राजनीतिक जीवनीमा शोधपत्र तयार गरेको बताउनुहुन्छ प्राध्यापक होमराज दाहाल । अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास शन्त नेताको राजनीतिक कर्मको मूल आधार थियो ।

जेलमुक्त भएको केही समयमै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना समारोह उद्घाटन गरेर विद्यार्थी आन्दोलनलाई ऊर्जा दिनुभएका भट्टराईलाई २०३४ को पटना सम्मेलनपछि बिपी कोइरालाले स्वास्थ्य कारण देखाउँदै कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठ भन्नुहुन्छ, “बिपीको निधनपछि पनि करिब डेढ दशकसम्म किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गर्नुभयो, जनआन्दोलनका सभापति, २०४७ मा अन्तरिम प्रधानमन्त्री, २०४६ को जनआन्दोलन घोषणासभा, क्षेत्रपाटी सम्मेलनको सभापतित्व किसुनजीले नै गर्नुभएको थियो ।” आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेर उहाँले सत्ता होइन दायित्व प्राथमिकतामा राख्ने उदाहरण प्रस्तुत गर्नुभएको उहाँको भनाइ छ ।

आफू प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा उहाँ आफैँ पराजित हुनुभयो । विसं २०१५ मा गोर्खा र विसं २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट पनि पराजय भोग्नुभयो । तर पराजयले पनि उहाँको राजनीतिक उचाइ घटेन, बरु शन्त नेताको छवि झन् प्रखर बनायो ।

भट्टराई अविवाहित रहनुभयो । प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदा छाता र कमण्डलु बोकेर हिँड्नु भएको उहाँको जीवनशैली राजनीतिमा दुर्लभ मानिन्छ । विसं २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटार छोडेर छाता हातमै लिएर पैदल निस्किएको दृश्य आज पनि राजनीतिक नैतिकताको प्रतीक झैँ सम्झिन्छन् धेरैले । विसं २०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा उहाँको निधन भयो । फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो ।

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौँ, ९ पुसः सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गर्ने तालिका रहेको जनाइएको छ ।

सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीब्रता दिएर दलहरुकै कार्यालयमा पुगेर वार्ता गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको वातावरणका लागि सरकारले चरणवद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमान्दारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्दे सन्देश हो र दलहारुलाई सकारात्मक दबाव पनि हो ।”

मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन र राजनीतिक दलहरुलाई पनियसप्रत केन्द्रित गराउन सरकार दलको कार्यालयमै पुगेर वार्ता र संवाद गरिरहेको उल्लेख गर्नुभयो । उक्त टोलीले मङ्गलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरुसँग वार्ता गरेको थियो ।

निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ, ९ पुसः प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन् ।

विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् । मङ्गलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरेको, आयोगले तयारीलाई तीव्र पारेका कारण क्रमशः वातावरण बन्दै गएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलका लागि कार्यतालिका बनाइसकेको छ ।

दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको छ । आयोगले समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि राजनीतिक दललाई आवश्यक तालिम दिएको छ । यसबाट समानुपातिकतर्फको प्रतिशत निर्धारण एवं जनसङ्ख्याका आधारमा बदलिँदो व्यवस्थाअनुसार काम गर्न सहज हुनेछ ।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण गरेको छ । जनगणनामा समावेशीतर्फका केही समूहमा जनसङ्ख्या थपघट भएको सोहीअनुसारको प्रबन्ध गरिएको छ ।

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आज विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई आज(पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ ।

विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा पुस ३ गते विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले यात्रुलाई दुर्व्यवहार तथा अमर्यादित व्यवहार गरेका थिए ।

चालकहरूको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल (टिकटक)मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यालयमा आएको निवेदनपछि विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले घटनाका बारेमा आवश्यक जाँचबुझ तथा छानविन गरेको थियो ।

प्राधिकरणले विमानस्थलबाट सेवा प्रदान गर्ने सम्पूर्ण चालकहरूले यात्रुसँग नम्र, सभ्य, शालिन एवं मर्यादित व्यवहार गर्ने र सो बमोजिमको व्यवहार नभएको पाइए कानुनअनुसार कारबाही जनाएको छ ।

यसैगरी राइड सेयरिङ एप इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारीसाधन राखी आफ्नो यात्रुलाई लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकहरूबाट कुनै अवरोध नगर्ने/नगराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलको पहुँच मार्गको दायाँबायाँको स्थानमा सवारीसाधन रोक्दा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई कमी गर्न कार्यालयले आफन्त तथा यात्रु पर्खिएर सवारीसाधन नरोक्नसमेत आग्रह गरेको छ ।

विमानस्थल क्षेत्रभित्र जथाभावी रूपमा सवारीसाधन रोकिएको पाइए कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ । पर्यटकीय सहर पोखरामा विमानस्थलमा ट्याक्सी चालकहरूको मनोमानी हुने गरेका विषयमा पर्यटक तथा यात्रुहरूले पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।

ठगी तथा मानव तस्करी नियन्त्रण गर्न महानिरीक्षकलाई १४ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ – काठमाडौँ वैदेशिक रोजगारीमा हुने ठगी तथा मानव तस्करी नियन्त्रणका लागि काठमाडौँको शङ्खरापुरमा रहेको सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई १४ बुँदे ध्यानाकर्षकपत्र बुझाइएको छ ।

सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थी नेतृत्वको प्रतिनिधिमण्डलले प्रहरी प्रधान कार्यालमा पुगेर उक्त ध्यानाकर्षणपत्र बुझाएको हो ।

सो क्रममा संस्थाका महासचिव एवं सञ्चारकर्मी जीवन शर्मा, सचिव धर्मराज कार्की, केन्द्रीय सदस्यहरू शान्तबहादुर वाइबा, कुन्दन कार्की एवं अन्य पदाधिकारीहरूको उपथिति रहेको थियो । वैदेशिक रोजगार र मानव तस्करी नियन्त्रणमा सुधारका उपायसहितका विषयहरू समेटेर महानिरीक्षक कार्कीलाई ध्यानाकर्षणपत्र बुझाइएको महासचिव जीवन शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वैदेशिक रोजगारसम्बन्धी चुनौतीहरू, रोजगारीका अवैध माध्यम र मानव तस्करी नियन्त्रणमा नेपाल प्रहरीले गर्नसक्ने पहलहरूलाई केन्द्रमा राखेर सुझावपत्र बुझाएकाछौँ । यसले सम्बन्धित निकायहरूलाई नीति निर्माण र व्यावहारिक कदम चाल्न सहयोग पु¥याउनेछ ।”

यस संस्था विदेशमा अलपत्र परेका नागरिकको उद्धार र सामाजिक जनचेतनाका बारेमा काम गर्दै आएको छ । संस्थाले वैदेशिक रोजगारको क्रममा गएर अलपत्र परेका ४९ जनाको उद्धार र ५५ जनालाई निःशुल्क कानुनी सेवासमेत उपलब्ध गराइसकेको छ । पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गर्दै मानव तस्करी र वैदेशिक रोजगार ठगीमा नेपालीहरू पर्ने गरेका छन् ।

ध्यानाकर्षणपत्रमा वैदेशिक रोजगारीमा युरोप पठाउने भनी ठगी भएकाले त्यस्ता व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न, सामाजिक सञ्जालमा विज्ञापन गरी लोभमा फसाउने गरिएकाले पीडितलाई न्याय दिन, कन्सल्टेन्सीहरूको सुक्ष्म अनुसन्धान गर्न, दर्ता भएका कन्सल्टेन्सीहरूले तोकिएभन्दा कानुनविपरीतका काम गरिरहेकाले त्यसको नियन्त्रणका लागि ध्यानाकर्षण गराइएको छ ।

यस्तै फ्रि भिसा र फ्रि टिकटको कानुनी व्यवस्था भए पनि खाडी मुलुकमा सात लाखसम्म र यूरोप जाँदा १५ लाखसम्म असुली गर्ने गरिएको, वैदेशिक रोजगार विभागमा विचौलिया भएकाले त्यस्तो कार्य निरुत्साहित गर्न, श्रम सहचारी राख्ने व्यवस्थाका लागि पहल गर्न, घरेलु कामदार राख्न प्रतिबन्ध रहेको मुलुकमा कडाइका साथ कार्यान्वयन गर्न, अवैधत्र असुली गर्ने कन्सल्टेन्सीहरूलाई कानुनी दायरामा ल्याउन, जनचेतनामूलक कार्यक्रम अघि बढाउन, यस्ता मुद्दा प्रहरीले नै हेर्ने गरी व्यवस्थाका लागि पहल गर्न ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।

गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण

काँक्रेविहार (सुर्खेत) – गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्नुभएको छ ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आउनुभएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले बाँकी काम समयमै सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्री अर्याललाई जानकारी दिनुभयो । उहाँले १२ किलोमिटर सुरुङ निर्माण कार्य पूरा भइसकेको बताउनुभयो । उहाँका अनुसार अब इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकलको काम बाँकी छ । बुधबार बिहानदेखि सुरक्षा गोष्टीमा मन्त्री अर्याल सहभागी हुने कार्यक्रम रहेको छ ।

मकवानपुरको कोगटेमा आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते

बागमती – मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा आज आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय कविता सिंजालीको गोठमा आगलागी हुँदा गोठसहित गोठमा रहेको दुई वटा खसी, दुई वटा बोका र चार वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हँुदा आगोले पोलेर ४४ वर्षीया सिंजाली घाइते भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । उहाँको स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । यसअघि सोमबार पनि आगो ताप्ने क्रममा आगोले पोलेर मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा एक नबालिका गम्भीर घाइते भएको थियो ।

जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलेर चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई बकैया गाउँपालिका–८ शिशिर दमार बस्ने दिलबहादुर प्रजाको पाँच वर्षीया छोरी सोनिया प्रजा गम्भीर घाइते भएकी थिइन् ।

प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह

काँक्रेविहार (सुर्खेत) – वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिविधिका विषयमा चासो दिँदै वाणिज्य सङ्घ सुर्खेतले सरोकारवालासँग छलफलसमेत गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल, जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर प्रदेश राजधानीलाई व्यवस्थित बनाउन आग्रह गरेको सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले जानकारी दिनुभयो । नगरपालिकाले बनाएको कार्यविधिअनुसार नै अगाडि बढ्ने कुरामा छलफल भएकोसमेत उहाँले बताउनुभयो ।

सङ्घले पछिल्लो समय बजार क्षेत्रमा व्यवसायको नाममा भइरहेको फुटपाथ अतिक्रमण तथा अव्यवस्थित व्यवसाय सञ्चालनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता गतिविधिका कारण बजार क्षेत्रको सुन्दरता, शान्ति सुरक्षा र समग्र व्यवस्थापनमा नकारात्मक प्रभाव परेको सङ्घको ठहर छ ।

अध्यक्ष खड्काका अनुसार अव्यवस्थित रूपमा सञ्चालन भएका व्यवसाय र फुटपाथ अतिक्रमणले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सौन्दर्यमा असर पुर्‍याउनुका साथै पैदलयात्रु, उपभोक्ता तथा कानुनअनुसार व्यवस्थित रूपमा व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत असहज बनाएको छ ।

प्रशासन, पालिका तथा मुख्यमन्त्री कार्यालयमा गराएको ध्यानाकर्षणमा सङ्घले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउँदै शान्ति–सुरक्षा सुदृढ गर्न आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

सङ्घले दीर्घकालीन समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यवसाय प्रवद्र्धनसँगै बजारको सुन्दरता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ । प्रदेश राजधानीलाई सुन्दर बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

अध्यक्ष खड्काले नगरपालिकालाई बुझाएको पत्रमा भनिएको छ, “प्रदेशको राजधानी वीरेन्द्रनगरमा हालै जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमण तथा पछिल्लो समयमा बजार क्षेत्रमा व्यवसायीका नाममा फुटपाथ अतिक्रमण गर्ने र म्याद गुजिएका वस्तुहरूको अव्यवस्थित व्यापार सज्वालन गर्ने क्रम दिनानुदिन बढ्दै गएकाप्रति निजी क्षेत्र गम्भीर चिन्तित रहेको छ । यसले बजार क्षेत्रको सुन्दरता नष्ट हुनुका साथै पैदलयात्रु, उपभोक्ता र व्यवस्थित व्यवसायीहरूलाई असुविधा पु¥याइरहेको छ ।”

त्यस्तै बजार क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम नभएमा व्यवसायीहरूले निर्धक्क व्यापार गर्न नसक्ने अवस्था सिर्जना भएकोसमेत बताएको छ । राजधानीको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । निजी क्षेत्र नगरको आर्थिक विकासको मुख्य साझेदार भएकाले बजारको सरसफाइ, सुन्दरता र व्यवस्थित व्यवस्थापनका लागि सबै सहकार्य गर्न तयार रहेको सङ्घले जनाएको छ ।

फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याउने, बजार क्षेत्रको व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने र नगरलाई सफा, सुन्दर र समृद्ध बनाउन निम्न सुभावहरू नगरपालिकालाई दिइएको छ । फुटपाथ अतिक्रमण नियन्त्रण गरी व्यवस्थित व्यापारिक वातावरण सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । बजारको सरसफाइ र सुन्दरता कायम राख्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने माग गरिएको छ ।

फुटपाथ व्यवसायीलाई करको दायरामा ल्याएर नगरको आर्थिक विकासमा योगदान सुनी उचित गर्नुपर्नेमा जोड दिइएको छ । दिगो योजना तथा अभियानमार्फत नगरलाई सफा, सुन्दर र समृद्ध बनाउन पहल गर्नुपर्ने माग राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाएको पत्रमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रमण तथा पछिल्लो समयमा बजार क्षेत्रमा व्यवसायीका नाममा फुटपाथ अतिक्रमण गर्ने तथा अव्यवस्थित व्यवसाय सञ्चालनबाट बजार क्षेत्रको सुन्दरता र सुरक्षालाई समेत पारेको प्रभावप्रति निजी क्षेत्र गम्भीर चिन्तित भएको उल्लेख गरिएको छ ।

मलेसियाका ऊर्जा रूपान्तरण २०२६ मा तीव्र रूपमा अघि बढ्ने

मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति लागू गर्ने योजना समावेश छ, जसले सफा ऊर्जा र सम्बन्धित पूर्वाधारको माग बढाउने विश्वास गरिएको छ ।

‘टीए अनुसन्धान संस्था’ को प्रतिवेदन अनुसार, राष्ट्रिय ऊर्जा रूपान्तरण मार्गचित्र अन्तर्गत सन् २०५० सम्म ७० प्रतिशत नवीकरणीय ऊर्जा लक्ष्य राखिएको छ, जसले ऊर्जा रूपान्तरणलाई गति दिनेछ । यसअन्तर्गत चार गीगावाट क्षमताको ठूलो स्तरको घाम परियोजना कार्यान्वयन हुने छ । बजेट सन् २०२६ अनुसार अर्को ठूलो स्तरको घाम परियोजना पनि आगामी वर्ष सञ्चालन हुने अपेक्षा छ ।

साथै, बायोग्यास र सानो जलविद्युत उप–क्षेत्रका लागि ३०० मेगावाट विद्युतीय मूल्य सुनिश्चित कोटा उपलब्ध गराइनेछ ।टीए अनुसन्धान संस्थाले सन् २०२६ मा कार्बन कर लागू भएमा ग्रिडबाट प्राप्त विद्युतीय ऊर्जा महँगो हुन सक्ने भनेको छ, जसले नवीकरणीय ऊर्जा प्रयोग बढाउनेछ ।

सीजीएस अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले सन् २०२५ मा ऊर्जा भण्डारण प्रणालीको प्रयोग पनि बढ्ने अपेक्षा गरिएको छ ।कर्पोरेट क्षेत्रले नवीकरणीय ऊर्जा आपूर्ति योजनामा पहुँच शुल्क घटेपछि हरित ऊर्जा प्रयोग बढाउनेछ र परियोजनाको आर्थिक लाभ सुधारिनेछ । फोहोरबाट ऊर्जा उत्पादन र बायोमास परियोजनामा पनि ध्यान दिइने योजना छ, किनभने सरकारले परिपत्र अर्थतन्त्र अघि बढाउन जोड दिएको छ ।

क्षेत्रीय पावर क्षेत्रले मलेसियाको ऊर्जा क्षेत्रमा ठूलो विकासको अवसर सिर्जना गर्नेछ । यसले स्थानीय विद्युत कम्पनीहरूलाई क्षेत्रीय नवीकरणीय ऊर्जा आपूर्तिकर्ता बन्न सहयोग पुर्‍याउनेछ । लाओस, थाईल्याण्ड, मलेसिया र सिङ्गापुरबीचको पावर संयोजन परियोजना यस प्रयासको उदाहरण हो ।

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

काठमाडौँ – सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बाइपासको एक घरबाट सुनका गरगहना चोरी गर्ने लकाई डल्लुस्थित सीता ज्वेलर्सका सञ्चालक भएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

प्रहरीले पक्राउ परेका लकाईसँग सुनको नेकलेस १४ थान, सुनको लकेट नौ थान, सुनको मङ्गलसूत्र आठ थान, सुनको नौगेडी पाँच थान, सुनको पिस लकेट तीन थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । पक्राउ परेका लकाईसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने नीति सार्वजनिक गर्दै सन् २०३० सम्म १५ गिगावाट क्षमता पु¥याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले जारी गरेको मार्गनिर्देशनमा परियोजना निर्माण तथा आवेदन क्षेत्र विस्तारमा जोड दिइएको छ, जसबाट नवीकरणीय ऊर्जा प्रविधि ठूलो परिमाणमा प्रयोगमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

यस क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी नयाँ ऊर्जा उद्योगका रूपमा विकास गर्ने चीनको लक्ष्य रहेको छ । यस क्रममा प्रविधिहरू पूर्ण रूपमा स्वदेशमै नियन्त्रणमा रहने, बजारकेन्द्रित हुने र औद्योगिकीकरणतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।

चीनले प्रमुख नवीकरणीय ऊर्जा प्रविधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । निर्माण लागत प्रति किलोवाट ३० हजार युआनबाट घटाएर १५ हजार युआनमा झारिएको छ भने विद्युत उत्पादन लागतमा पनि उल्लेखनीय कमी आएको छ ।

यद्यपि प्रारम्भिक उच्च लगानी र तुलनात्मक रूपमा कमजोर बजार प्रतिस्पर्धा अझै चुनौतीका रूपमा रहेको बताइएको छ । यसलाई समाधान गर्न ठूलो क्षमता भएका नवीकरणीय ऊर्जा प्लान्ट निर्माण तथा स्थानीय विद्युत अभाव पूर्तिमा ध्यान दिइने योजना बनाइएको छ ।

साथै, प्रान्तीय तहमा निष्पक्ष बजार पहुँच सुनिश्चित गर्न मूल्य निर्धारण प्रणाली अपनाउने, मुख्य प्रविधि, सामग्री तथा उपकरणमा अनुसन्धान र विकासलाई तीव्रता दिने निर्देशन दिइएको छ । अग्रणी कम्पनी र अनुसन्धान संस्थालाई संयुक्त अनुसन्धान तथा विकास मञ्च स्थापना गर्न सहयोग गरिने र स्वदेशी उत्पादनमा आत्मनिर्भरता बढाइने योजना समेत रहेको छ ।

बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर – बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान सुरु गरिएको छ ।

प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।

त्यस अवसरमा प्रमुखसचिव अधिकारीले प्रदेशभित्रका सबै अस्पताललाई जनसेवामैत्री, सुविधा सम्पन्न एवं उत्कृष्ट अस्पतालका रूपमा सेवा विस्तार गर्ने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । त्यस क्रममा भक्तपुर अस्पतालको सेवा, बिरामी र कर्मचारीसम्म छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

वीर अस्पतालपछिको दोस्रो पुरानो यस अस्पतालमा भर्ना भएर सेवा लिइरहेका बिरामीको श्ययामा पुगेर प्रमुख सचिव अधिकारी, स्वास्थ्य सचिव डा गौतमलगायतको टोलीले स्वास्थ्य सेवा, सेवा प्रवाहको अवस्था, व्यवस्थापन र गुनासोबारे जानकारी लिएको थियो ।

प्रमुखसचिव अधिकारीले भन्नुभयो, “भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषणा भएको र यहाँको सेवा प्रवाह राम्रो रहेको सुन्दै आएका हौँ, यहाँको सेवा पनि राम्रै रहेछ । यस अस्पतालले थोरै जनशक्ति र सेवा सुविधाबाट पनि बिरामीलाई गणस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण पेस गरेको छ ।”

स्वास्थ्य सचिव डा गौतमले उपचारका लागि आएका बिरामीलाई सेवाबाट सन्तुष्ट बनाएर घर पठाउने गरी सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग हुने बताउँदै उहाँले अस्पताललाई तीन सय श्ययामा विस्तार गर्न नयाँ भवन निर्माणका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिनुभयो ।

अन्तरक्रियामा अस्पतालका मेडिकल डाइरेक्टर डा सुरेन्द्र भट्टले समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे जानकारी गराउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारी, स्वास्थ्यकर्मीलगायत सबैले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले देशको दोस्रो पुरानो अस्पताल भएकाले यहाँ सेवा विस्तार तथा आवश्यक पूर्वाधारमा प्रदेशसँगै केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यस क्रममा अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन, भवन तथा पूर्वाधारको व्यवस्था, कर्मचारीको सेवासुविधामा वृद्धि, अस्पतालका लागि आवश्यक स्रोतसाधन तथा सुधारबारे कर्मचारीहरूले गुनासो तथा सुझाव व्यक्त गरेका थिए ।

प्रमुखसचिव अधिकारीले प्राप्त सुझाव तथा गुनसालाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारले स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतजा जनाउनुभयो ।

राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल

पाटन (ललितपुर) – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुने बताउनुभएको छ ।

येशु ख्रिस्टको शुभजन्मोत्सव २०८२ को अवसरमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले फागुन २१ गते हुने निर्वाचनमार्फत मुलुकमा नयाँ परिवर्तन र समृद्धिको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।

“देशको समृद्धि भएमात्रै नागरिकको हक र अस्तित्व रहन्छ, त्यसपछि हाम्रो मौलिक हक र धर्मको स्वतन्त्रता सुनिश्चित हुन्छ । गलत राजनीतिक अवस्थाले हाम्रा सन्ततिहरू विदेश जानुपर्ने अवस्था आएको हो, त्यो अवस्थालाई रोक्न पनि इतिहास र जेनजीहरूको बलिदानले राम्रो नेता र नेतृत्व छान्ने अवसर दिएको छ, त्यसको उपयोग गरौँ”, मन्त्री खरेलले भन्नुभयो ।

उहाँले भ्रष्टाचार, बेथिति, अन्याय, कुशासन, अनियमितता र असमानताको खाडल पुर्न पुराना दल असफल भएको आरोप लगाउनुभयो । “समृद्धिको अभियानमा पुराना दल अगाडि बढ्न सकेनन्, । हरेक क्षेत्रमा चरम दलीयकरण भयो र सपना मात्रै देखाएर बीसौँ वर्ष बित्यो”, मन्त्री खरेलले भन्नुभयो,“अब परिणाम चाहिएको छ । भोट दिने बेलामा सचेत बनौँ, पाँच वर्षसम्म राजनीतिक दललाई गाली गर्ने अवस्था आउन नदिऔँ ।”

नेपाल विविध जात, धर्म, संस्कृति र परम्परालाई अङ्गालेर मिलेर बसिरहेको देश हो भन्दै उहाँले त्यसलाई जोगाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “हामीसँग मानवतासहित समग्रमा नेपाली हौँ भन्ने भावना छ, हिन्दू, बौद्ध, मुस्लिम, ख्रिष्टियनलगायत सबै धर्मले हिंसा गर्नुहुँदैन, अन्याय गर्नुहुँदैन भनेको छ । हरेक धर्मले मानवताको कुरा गरेको हुन्छ, मेरो लागि पनि सबैभन्दा ठूलो धर्म भनेकै मानवता हो, म मानवताको सम्मान गर्छु । सबैले धर्मको मर्मअनुसार काम गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा ख्रिष्टियन धर्मका अगुवाहरूले ख्रिष्टमसको शुभकामना व्यक्त गर्दै बाइबलमा भएका सकारात्मक भनाइबारे चर्चा गर्नुभएको थियोे ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिनुभएको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ ।

उक्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ ।

सोही प्रमाणपत्र प्रयोग गरी उहाँले विसं २०५२ मङ्सिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ ।

नक्कली प्रमाणपत्रका आधारमा ओहोदा, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको भन्दै आयोगले गिरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐनअनुसार सजाय मागदाबी गरेको छ ।