`

दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दूरसञ्चार सेवा सुधार, डिजिटल सुशासन, सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचना, प्रभावकारी बजेट कार्यान्वयन र शासकीय सुधारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

मन्त्रालयमा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षलाई नेपालको दूरसञ्चार क्षेत्रमा उल्लेखनीय सुधारको वर्ष बनाउने लक्ष्यका साथ मातहतका सबै निकायलाई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए।

उनले टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने सरकारको लक्ष्य रहेको बताउँदै फोरजी विस्तार र फाइभजी सेवा सञ्चालनमा अब ठोस परिणाम देखिनुपर्ने स्पष्ट पारे।

“यो वर्ष टेलिफोन र इन्टरनेट सेवा सुधारको वर्ष हुनेछ। पहुँच र गुणस्तरका सवालमा हामी अभूतपूर्व परिवर्तनको लक्ष्यसहित अघि बढिरहेका छौँ। दूरसञ्चार क्षेत्रलाई सरकारले यस वर्ष अत्यन्त महत्वाकाङ्क्षी कार्यक्रमका रूपमा लिएको छ। सबै निकाय नतिजामुखी भएर काम गर्नुहोस्,” मन्त्री तिमिल्सिनाले भने।

उनले विगतका कमजोरीबाट पाठ सिकेर कार्यसम्पादन सुधार गर्न, कमजोर बजेट खर्च प्रणालीको समीक्षा गरी नयाँ योजनासहित अघि बढ्न तथा सम्बन्धित निकायले आफैँ समाधान गर्नसक्ने समस्या तत्काल समाधान गर्न निर्देशन दिए।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले मन्त्रालयले पेपरलेस सेवा प्रवाह, विद्युतीय शासन प्रणाली, सरकारी कुरियर सेवा तथा डिजिटल सेवाको विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले सहरी क्षेत्रमा फाइभजी र ग्रामीण क्षेत्रमा फोरजी विस्तारलाई प्राथमिकतामा राख्न सुझाव दिँदै मन्त्रालयको पुँजीगत तथा समग्र बजेट खर्च राष्ट्रिय औसतभन्दा कमजोर रहनु चिन्ताको विषय भएको बताए।

उनले आगामी आर्थिक वर्षदेखि पर्याप्त पूर्वतयारी नभएका आयोजना तथा कार्यक्रमलाई बजेट विनियोजन नगर्ने नीति लागू हुने भएकाले परियोजना बैंकमा समावेश भई तयारी सम्पन्न भएका योजनामात्र प्रस्ताव गर्न आग्रह गरे।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा बजेट कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै पुँजीगत खर्च कमजोर हुँदा समग्र प्रगति प्रभावित भएको बताए। उनले वार्षिक कार्ययोजनाअनुसार समयमै खरिद प्रक्रिया अघि बढाउन, पहिलो र दोस्रो त्रैमासमै कार्यप्रगति देखिने गरी काम गर्न तथा आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च बढ्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए।

सचिव बस्नेतले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिमा सम्बन्धित निकायले आफैँ समाधान गर्नसक्ने विषय ल्याउने प्रवृत्ति उपयुक्त नभएको उल्लेख गर्दै विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा स्थायी कर्मचारी व्यवस्थापनका लागि पहल आवश्यक रहेको बताए।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगततर्फ २३.६० प्रतिशत, चालुतर्फ ८१.९६ प्रतिशत र समग्रमा ६८.३१ प्रतिशत बजेट खर्च भएको छ।

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ । बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो ।

राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आ–आफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन तथा अराजक गतिविधिबाट थप क्षति र अप्रिय अवस्था सिर्जना हुन नदिन सरोकारवालाले अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्ने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन वातावरण निर्माण गरिने पनि निर्णयमा उल्लेख गरिएको छ । त्यसैगरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी कुनै प्रकारका उच्छृङ्खल गतिविधिमा संलग्न हुन नदिन क्याम्पस प्रमुख, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाले विशेष पहल गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदर्शनमा बालबालिकाको प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा पनि सहमति जनाएको छ । जिल्लामा विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायबीच आपसी एकता, सहिष्णुता र भ्रातृत्व कायम राख्न स्थानीय तहसम्म सद्भाव र्‍याली तथा संवाद कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।

साथै सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गर्दै बैठकले सामाजिक सद्भावमा आँच पुग्न सक्ने गतिविधिप्रति सजग रहन सबै नागरिकलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नुभएको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा विद्यालयदेखि विश्वविद्यालयसम्म मानसिक स्वास्थ्यलाई कसरी प्रभावकारी रूपमा संस्थागत गर्ने, विद्यमान चुनौतीहरूको समाधान र समुदायस्तरमा जनचेतना विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सदस्य, त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रिय विभाग, मानसिक रोग विशेषज्ञ, मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ, सामाजिक अभियान्ता, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा रहेकाले शिक्षा प्रणालीमार्फत यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम तथा आवश्यक स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले मानसिक समस्यालाई शारीरिक समस्याकै रुपमा महत्व दिएर सचेतना अभिवृद्धि गर्न जरुरी भएको औंल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले मानसिक स्वास्थ्य आजको समाजको गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै यससम्बन्धी विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा प्रभावकारी रूपमा समावेश गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक नीतिगत सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले विद्यार्थी, शिक्षक तथा अभिभावक सबैको मानसिक स्वास्थ्यप्रति सचेतना बढाउन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय र विश्वविद्यालयमा मनोसामाजिक परामर्श सेवा विस्तार, मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आवश्यक सहजीकरणका उपायहरूबारे मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्य क्रान्तिशिखा धितालले मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत रुपमा व्यवस्थित गर्न आवश्यक पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मानसिक स्वास्थ्य जस्तो गम्भीर विषयलाई प्राथमिकतामा राखी मन्त्रालयले सरोकारवालासँग समयसान्दर्भिक बहस सञ्चालन गरेकोमा धन्यवादसमेत ज्ञापन गर्नुभयो ।
शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ यस क्षेत्रमा नीतिगत रुपमा के–कस्ता पहल गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

छलफलका क्रममा सहभागीहरूले विद्यालय तथा उच्च शिक्षाका संस्थाहरूमा मानसिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, प्रशिक्षित परामर्शदाता व्यवस्थापन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यसामग्री र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा समुदायस्तरसम्म सचेतना अभियान विस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, सञ्चारकर्मी, विद्यार्थी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा उठेका सुझावलाई मन्त्रालयले आगामी नीति तथा कार्यक्रम निर्माणका क्रममा समेट्ने विश्वास व्यक्त गरिएको छ ।

सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठक सम्पन्न गरेको छ।

मन्त्री तथा समितिकी अध्यक्ष सिता बादीको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि सञ्चालन गरेका नीति, कार्यक्रम, बजेट कार्यान्वयन, वित्तीय तथा भौतिक प्रगति, सेवा प्रवाह, संस्थागत सुधार तथा समग्र कार्यसम्पादनको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।

समीक्षाका क्रममा मन्त्रालयले हासिल गरेका उपलब्धि, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती, स्रोत–साधनको उपयोगको अवस्था तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। साथै, यसअघि मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समेत समीक्षा गर्दै आवश्यक निर्देशन र सुझाव दिइएको जनाइएको छ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री बादीले सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मन्त्रालयका सबै निकायलाई निर्देशन दिनुभयो। उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा योजनाका लाभग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री बादीले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, समयमै कार्यक्रम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकास तथा परिणाममुखी कार्यसम्पादनलाई मन्त्रालयको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताउनुभयो। समीक्षा बैठकबाट प्राप्त सुझाव र निष्कर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मन्त्रालयको समग्र कार्यसम्पादनलाई थप सुदृढ, परिणाममुखी र नागरिकमैत्री बनाइने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

हिंसा होइन, विकासको बाटो रोज्न रास्वपा सांसद सिंहको मधेशवासीलाई अपिल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले प्रदेशलाई अशान्त बनाउनुका साथै विकासलाई दशकौँ पछाडि धकेलेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले यस्ता गतिविधिले भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक गतिविधि अवरुद्ध हुने, व्यापार–व्यवसाय ठप्प हुनेलगायतका असरले समग्र मधेशलाई नै ठूलो धक्का पुग्ने उल्लेख गरेका छन्।

उनले अब आन्दोलन र हिंसाको बाटो छाडेर सबै समुदाय र वर्ग एकजुट हुँदै मधेशको समुन्नत विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीलाई केन्द्रमा राखेर दीर्घकालीन विकासतर्फ अघि बढ्नुपर्ने उनको जोड छ।

सिंहले सम्पूर्ण मधेशवासीलाई सामाजिक सद्भाव बिगार्ने र समाजलाई विभाजित गर्ने कुनै पनि असामाजिक तत्वको प्रभावमा नपर्न आग्रह गरेका छन्। समाजमा हिंसा र द्वन्द्व फैलाउने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गका भए पनि उनीहरू मधेशको विकासका विरोधी रहेको भन्दै त्यस्ता गतिविधिलाई सामाजिक रूपमा अस्वीकार गर्न उनले अपिल गरेका छन्।
।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –
प्रिय मधेशवासी

पटकपटक को आन्दोलन, जातिय र धार्मिक हिंसाले मधेशलाइ अशान्त मात्र होइन १० बर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेशको भौतिक संरचना भत्काउने ,शैक्षिकसत्र अबरुद्ध हुने,ब्यापार व्यवसाय ठप्प हुने जस्ता ले मधेशलाइ नै धक्का लाग्ने गरेको छ।

अब समय आएको छ सबै बर्ग सामुदाय मिलेर मधेशको सम्मुनत बिकासको एजेन्डा लाई अगाडि सारेर अघि बढन , अब मधेशले कुनैपनी हिंसात्म्क गतिविधि नगरेर सम्पुर्ण मधेश एक ढिक्का भएर मधेशको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार ,कृषि र युवाको रोजगारी मा दीर्घकालीन बिकासमा जोड दिने समय हो।

म सम्पुर्ण मधेशवासी आमा बुवा दाजुभाइ दिदिबहिनी मा अपिल गर्न चाहन्छु कुनैपनि असमाजिक तत्व जस्ले एकजुट भएर बसेको समाजको शान्ति,सद्भाव खलबलाउने ब्याक्तीको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै सामुदाय या बर्गको भएपनी त्यो मधेशको बिकासको बिरोधी हो बुझ्नुपर्छ र त्यास्ता लाई समाजिक बहिष्कार गर्नुपर्छ।

दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा

झापा । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक सङ्कटमा परेका छन् ।

प्रारम्भिक रूपमा ६० किसानको रु २२ लाख ६५ हजार २०० बक्यौता प्रमाणित भइसकेको छ भने पीडितका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै छ । भुक्तानी नहुँदा किसानलाई पशुका लागि दाना खरिद, घरखर्च सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको छ ।

पीडित किसानले सहकारीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिएका छन् । उजुरीमा वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

सहकारीका अध्यक्ष हिमालयप्रसाद दाहालले किसानको दूध बिक्रीबापतको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै संस्थाको आर्थिक अवस्था अघिल्लो व्यवस्थापनदेखि नै कमजोर बन्दै गएकाले समस्या उत्पन्न भएको बताए। “हामी फरार भएका छैनौँ । सहकारीको जग्गाजमिन तथा अन्य सम्पत्ति बिक्री गरेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्छौं”, उनले भने ।

दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईंका अनुसार उक्त सहकारीले पछिल्ला दुई वर्षदेखि संस्था नवीकरण गरेको छैन । साथै, साधारण सभा तथा संस्थाको वित्तीय अवस्थाबारे पनि नगरपालिकालाई नियमित जानकारी नआएको र संस्थाको अवस्थाबारे अध्ययन भइरहेको उनले बताए ।

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि ‘स्मार्ट हुलाक’को अवधारणामा काम अघि बढाएको छ । नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नं २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था मिलाइने उल्लेख गरिएको थियो ।
त्यस्तै सरकारको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यबमोजिम देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने उल्लेख गरेको थियो ।

परम्परागत पत्र वितरणमा सीमित हुलाक सेवालाई डिजिटल, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले ‘स्मार्ट हुलाक’ कार्यक्रम सञ्चालन गरिएको हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताइन् ।

उनका अनुसार पहिलो चरणमा देशका विभिन्न जिल्लाका ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । स्मार्ट हुलाक निर्माणका लागि पूर्वाधार निर्माण, डिजिटल सुरक्षा, ट्रयाकिङ प्रणालीलगायत भुक्तानीको सुविधा पनि उपलब्ध गराइनेछ ।

“हुलाकलाई समयअनुकूल प्रविधिसँग जोडेर नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा दिने लक्ष्यका साथ स्मार्ट हुलाक अवधारणा अघि बढाइएको हो”, महानिर्देशक पङ्गेनीले भनिन् । उनले हुलाक कार्यालयको भौतिक पूर्वाधार सुधार, सूचना प्रविधि प्रणाली जडान, इन्टरनेट पहुँच, विद्युतीय काउन्टर सञ्चालन तथा कर्मचारीको क्षमता अभिवृद्धिलाई पनि कार्यक्रमको प्राथमिकतामा राखिएको बताइन् ।

विभागका अनुसार स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत डिजिटल सेवाको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

महानिर्देशक पङ्गेनीले हुलाकलाई केवल चिठीपत्र आदानप्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरिन् । उनका अनुसार स्मार्ट हुलाक कार्यक्रम चरणबद्ध रूपमा देशभर विस्तार गरिनेछ । त्यसका लागि आवश्यक नीति, पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढाइएको विभागले जनाएको छ ।

शैक्षिक प्रमाणपत्रदेखि राहदानी अब घरमै

विभागका अनुसार वर्तमान सरकारको पहलपछि हुलाकमार्फत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन पनि घरमै पुर्याउन थालिएको छ ।

सरकार गठन भएको चार महिनामा दुई लाख ३७ हजार ३११ थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी भइसकेका छन् भने हुम्ला बाहेक ७६ जिल्लाका हुलाक कार्यालयले उक्त अवधिमा सात हजार ८८५ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याइएको छ ।

त्यसैगरी यातायात व्यवस्था विभागबाट हालसम्म आठ लाख ८१ हजार १६६ सवारी चालक अनुमतिपत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालीकोट र पर्सा जिल्ला गरी सात जिल्लामा एक हजार ९४ वटा सवारी चालक अनुमतिपत्र सेवाग्राहीको घरमै पुर्याइएको छ । विभागका अनुसार १७ वटा अस्पतालबाट एक हजार ४१७ स्वास्थ्य प्रयोगशालाका नमूनाहरू परीक्षणका लागि सुरक्षित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म पुर्याइएको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतामा २६३ थान शैक्षिक प्रमाणपत्र विद्यार्थीको घरसम्मै पुर्याइएको छ ।

रौतहटमा सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । रौतहटको गढीमाई नगरपालिका वडा नं। ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका पौडेलमाथि ती युवकले पर्चाहरू फ्याँक्दै अपमानजनक र अमानवीय व्यवहार गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा रौतहट गढीमाई नगरपालिका वडा नं। ०३ घर भई ऐ। वडा नं। ७ धनाडी बस्ने वर्ष २० का शेख ईवरान र गढीमाई नगरपालिका वडा नं। ३ गम्हरिया बस्ने वर्ष १९ का ईर्फान अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो

साउन १३ गते राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं। ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए ।

उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद लेखेको पर्चा र मधेस मुक्ति अभियान जिन्दावाद, फिर्ता होऊ नेपाली माननीय मुर्दावाद, नेपाली उपनिवेश अन्त हो, झापा देखि कञ्चनपुर सम्मको मधेस स्वतन्त्र हो’ भनी लेखिएका पर्चाहरू फ्याँकेका थिए । त्यसपछि उनीहरूले प्रतिनिधि सभा सदस्य पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए ।

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन। सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो ।

सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ”

यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खट्नुभएका डा विजय पौडेल पहिले पहिले विषालु सर्पले टोकेका २५ प्रतिशतसम्मको मृत्यु हुने गरेको बताउनुहुन्छ । आव २०५९/०६० तिरको समयमा अस्पतालमा वर्षभरिमा ६०० हाराहारी सर्पदंशका बिरामी आउने गरेकोमा २५० हाराहारी विषालु सर्पले डसेका हुने गर्दथ्यो । अस्पतालमा आव २०६४/०६५ मा सघन उपचार कक्ष बनाएपछिका वर्षहरुमा सात प्रतिशत हाराहारीको निधन हुन थाल्यो । यो प्रतिशत क्रमशः घट्दै आएर २०७५ / ०७६ मा पाँच प्रतिशतमा झरेको उहाँ बताउनुहुन्छ ।

यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकांश लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विषालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उहाँले जानकारी दिनुभयो । प्रा पौडेल अवकास भएपछि सर्पदंशका बिरामी हेर्दै आउनु भएका डा प्रमोद पौडेल सर्पले डसेर अस्पताल आएका बिरामीको मृत्युदर शून्य आशपासमा आएको बताउनुहुन्छ । कुनै वर्ष एकदुई जनाको मृत्यु हुने र कुनै वर्ष शून्य रहने गरेको छ ।

गत आवमा सर्पको डसाइले अस्पताल आएका कसैको पनि ज्यान गएको छैन । अघिल्लो आवमा अस्पताल आउँदा आउँदै बाटोमा एक जनाको मृत्यु भएको तथ्याङ्क छ । पहिले–पहिले एक जना बिरामीलाई २०० भाइलसम्म एन्टिस्नेक भेनम दिने गरेको भए पनि हिजो आज विष देखिएकालाई १० भाइलबाट सुरु गरेर बढीमा ३० भाइलसम्म दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालले गत एक वर्षमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अस्पतलाको आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ती सङ्ख्यामा सर्पदंशका बिरामी रहेका थिए ।

आकस्मिक कक्षका प्रमुख अलाउद्दिन मियाका अनुसार गत वर्ष आएका बिरामीमध्ये १४ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो । सो वर्ष सबैभन्दा धेरै साउन महिनामा सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गत वर्ष साउन महिनामा मात्र १३१ जना सर्पदंशका बिरामीले उपचार लिएका थिए । यसमध्ये तीन जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै भदौमा ९८ जनाको उपचार गरिएकोमा सात जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । असोजमा आएका ७७ जना सर्पदंशका बिरामी मध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको थियो । जेठमा ३६ जनाको उपचार गरिएकोमा एक जनाको सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

कात्तिकमा ५० जना, मङ्सिरमा आठ जना, पुसमा चार जना, माघमा तीन जना, फागुनमा १० जना, चैतमा १० जना, वैशाखमा ३१ जना, र असारमा ३३ जना सर्पदंशका बिरामीको उपचार भरतपुर अस्पतालमा गरिएको थियो । उहाँका अनुसार चितवन सहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले अस्पतालमा सेवा लिएका हुन् ।

चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिन्छ ।

सर्पदंशका बिरामीहरु बढी सङ्ख्यामा वर्षातको समयमा आउने गरेको छन् । खेती पाती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्ष्यण देखिने उहाँले बताउनुभयो । विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ । रुखहरुमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्ष्यण देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा कोभ्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु १२०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ९०, भिन्डी प्रतिकिलो रु ६०, सक्खरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु २००, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १३०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, सजिवन प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ४००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ८०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने युवक पक्राउ

रौतहट । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच पुरÞ्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बस्ने २४ वर्षीय समिर थापा रहेका छन् । उनले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गर्थे ।

प्रहरीका अनुसार थापाले सामाजिक सञ्जालमा आम नागरिकमा भ्रम सिर्जना हुने, धार्मिक आस्थाप्रतिको विश्वासमा असर पर्ने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने किसिमका भिडियो तथा फोटोहरू प्रसारित गरेका थिए ।

उक्त गतिविधि सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति २०ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका थापामाथि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए ।

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं। विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौँको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।

सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपीट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ ।

उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।
विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको बुधबारको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाइनेछ ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ ।

महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जा तथा विद्युत् क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।

छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ

उद्योग विभागका अधिकांश सेवा अब पूर्ण रूपमा अनलाइन

काठमाडौँ । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग प्रशासनलाई ‘डिजिटल’ प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न यसअघि नै निर्देशन दिएकी हुन् ।

विभागले सूचना जारी गर्दै उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरणलगायतका अधिकांश सेवा अब अनलाइनबाटै उपलब्ध हुने जनाएको छ ।

विभागका अनुसार अनलाइन प्रणालीमा समावेश भइसकेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले मात्र आवश्यक परिचयपत्रसहित उपस्थित भई सेवा लिन सक्नेछन् ।अनलाइन प्रणालीमा समावेश भएका सेवाका आवेदन र कागजात अब भौतिक रूपमा दर्ता गरिने छैनन् । सबै प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने विभागले स्पष्ट पारेको छ ।

मन्त्री यादवले मन्त्रालयको नेतृत्व सम्हालेसँगै उद्योग प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने अभियानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर निर्देशन दिएकी छन् ।

विभागले उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।

स्वास्थ्य सेवामा दीर्घकालीन सुधार प्रक्रिया अघि बढाउँदै मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ ।चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै सुरक्षित, व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन केन्द्रित भएको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई समायनुकूल बनाउन परिमार्जनको प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेको छ । सम्बन्धित सबै सरोकारवालाको सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइनेछ ।

त्यस्तै, मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका संरचनालाई एकै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ ।रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा प्रदान गर्दै आएको थियो ।

पछिल्लो पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ । यसै क्रममा मन्त्रालयका सचिव डा विकास देवकोटा सोही भवनमा स्थानान्तरण हुनुभएको छ । मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष तय गरिएको छ ।

सचिवसँगै सचिवालयसँग सम्बन्धित अन्य शाखा तथा महाशाखालाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गरिनेछ । विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक एकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र समग्र सेवा प्रवाह थप सहज हुने विश्वास लिइएको छ ।

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाहिमपातको सम्भावना छ ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विश्वकप लिग–२ मा नेपालको निराशाजनक प्रदर्शन, नेदरल्यान्डसँग पराजित

काठमाडौँ। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो ।

नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्वपूर्ण योगदान दिए ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग–२ मा महत्वपूर्ण अङ्क गुमाउन पुग्यो । विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो । यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो ।

यस जितसँगै ३१ खेलमा ३८ अङ्क बटुलेको नेदरल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै, ३२ खेलमा २४ अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । ४३ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै, अर्थसम्बन्धी विधेयक समितिमा पठाइने

काठमाडौँ। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ ।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ः०० बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २८ पैसा र बिक्रीदर २३ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ०७ पैसा बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २७ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले कानुनले गोपनीयता कायम गर्न भनिएका संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश गरेको छ ।न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मङ्गलबार उक्त विषयमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “कानुनअनुसार गोपनीयता कायम गर्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ गर्नुपर्ने विषय, मुद्दाका पक्ष, विपक्ष तथा निजहरूका तर्फबाट कानुन व्यवसायीले गोपनीयता कायम गरियो, प्रत्यक्ष प्रसारण नगरियोस् भनेर अनुरोध गरिएको विषय र अदालत÷इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनेर ठ¥याइएको विषय वा मुद्दामा प्रत्यक्ष प्रसारण नगर्नु ।”

अदालतले प्रत्यक्ष प्रसारणका विषयमा नीति÷निर्देशिका÷मापदण्ड तयार भई अदालतबाट सम्पादन हुने कामकारबाहीको प्रत्यक्ष प्रसारणको मार्गदर्शन लागू नहुँदासम्म यी मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेशमा भनिएको छ ।

आदेशमा प्रत्यक्ष प्रसारण गरिएका अन्य कामकारबाहीहरुलाई अनुचितरूपमा सम्पादन, तोडमोड वा दिग्भ्रमित हुने गरी बनाइएका श्रव्यदृश्य सामग्री समेत प्रसारण नगर्न भनिएको छ ।अधिवक्ता जीवनकुमार शाहीले अदालतहरूले केही मुद्दाको बहसको प्रत्यक्ष प्रसारणको अभ्यास थालेको विषयविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियोे ।

फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपाली युवाहरूका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने सम्बन्धमा व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूसँग आज भेट गर्नुभएको छ ।

भेटघाटमा फुटवेयर उद्योगमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति निर्माण गरी विगतका सीप, तालिम तथा रोजगार कार्यक्रमबाट गर्नुपर्ने सिकाइका विषयमा छलफल गर्नुभयो । छलफलमा फुटवेयर उद्योगमा भविष्यमा सहकार्य गर्न सकिने क्षेत्रहरूका विषयमा समेत छलफल भएको छ ।

सोही क्रममा मन्त्री यादवले ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन सरकार र फुटवेयर उद्योगलगायतका निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी तथा दिगो बनाउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटघाटमा फुटवेयर उद्योगका प्रतिनिधिहरुले १८ हजारदेखि २० हजार जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशमा आन्तरिक रोजगारी सिर्जना गरी युवाहरूलाई देशमै अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकाबारे छलफल गरिएको थियो ।

सरकारले सीपयुक्त जनशक्ति निर्माण गर्ने र निजी क्षेत्रले रोजगारी दिने कुरामा निरन्तर सहकार्य रहनेबारे समेत छलफल गरिएको थियो ।रोजगारी सिर्जना गर्न मर्यादित श्रमको उपयुक्त वातावरण निर्माण गर्न श्रम र रोजगार प्रणाली स्थापना गर्न यो संवाद र सहकार्यले विशेष महत्त्व राख्ने विश्वास राखिएको छ ।

लामो अन्तरालपछि सत्यकृत ब्यान्डको पुनरागमन, ‘गुरु’ भक्तिभजन सार्वजनिक

काठमाडौं । लामो समयको अन्तरालपछि सत्यकृत ब्यान्डको नयाँ भक्तिभजन ‘गुरुको गीति भिडियो सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको शुभ अवसर पारेर सत्यकृत युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

भक्तिमय गीतमा स्वर, शब्द तथा संगीत सुरसाधुको रहेको छ भने गीतको अडियो रेकर्डिङ भारतको मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ।

गीति भिडियोमार्फत देवभूमि तथा पुण्यभूमि नेपालमा जन्मिनुभएका सद्गुरु श्रीहजुरको ज्ञान, सत्संग, मार्गनिर्देशन र अनुकम्पाबाट रूपान्तरित भएका लाखौं जीवनमध्ये एक युवा योगी साधकको भक्ति यात्राको झलक प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीतले मानिसले आफ्ना राम्रा–नराम्रा स्वभाव, कुभाव तथा आत्मालाई भार बनाउने सम्पूर्ण धारणाहरू गुरुको चरणमा समर्पण गरेर मात्रै वास्तविक शुद्धता, बुद्धत्व र ईश्वरत्वको अनुभूति गर्न सकिने सन्देश दिन खोजेको छ। पूर्ण समर्पणमार्फत गुरुबाट कल्याण प्राप्त गर्न सकिने आध्यात्मिक भावलाई गीतमा कलात्मक रूपमा अभिव्यक्त गरिएको छ।

भक्तिभाव, समर्पण र आत्मरूपान्तरणको सन्देश बोकेको ‘गुरु’ गीति भिडियोले आध्यात्मिक संगीत रुचाउने दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु

तेहरान। संयुक्त राज्य अमेरिका र इरानबीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको बिराम बुधबार अन्त्य भएको छ ।

इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु भएको हो ।

इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरानसमर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक हवाई आक्रमण गरेका छन् । यसैबीच, ‘स्टे«ट अफ होर्मुज’ व्यवस्थापनसम्बन्धी वार्ता पनि अवरुद्ध भएपछि क्षेत्रीय तनाव थप बढेको छ ।

अमेरिकी सेनाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयास विफल पारेको जनाएको छ । जोर्डनको सशस्त्र बलले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका पाँच क्षेप्यास्त्र पत्ता लगाएर नष्ट गरेको जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । आइआरजीसीले अमेरिकाले निरन्तर दिइरहेको धम्की र सैन्य दबाबको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ ।

यसअघि अमेरिकाले इरानमाथिको बमबारी रोक्नुका साथै तेहरानले पनि जवाफी आक्रमण स्थगित गरेपछि केही समयका लागि तुलनात्मक शान्ति कायम भएको थियो ।

इरानी क्षेप्यास्त्र आक्रमण भएको केही घण्टापछि अमेरिका र साउदी अरबले पूर्वी इराकमा रहेका इरानसमर्थित सशस्त्र समूहका अखडामा हवाई आक्रमण गरेका हुन् । वासिङ्टन र रियादका अनुसार ती स्थल अमेरिकी सेना तथा साउदी तेल संरचनामाथि ड्रोन आक्रमण गर्न प्रयोग हुँदै आएका थिए ।

साउदी अरबले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले पूर्वी प्रान्त र राजधानी रियादस्थित ऊर्जा पूर्वाधारलाई लक्षित गरी आएका ड्रोन रोकेको जनाएको छ । ती आक्रमण इराकबाट सञ्चालन हुने इरानसमर्थित समूहले गरेको आरोप साउदी अरबले लगाएको छ ।

इराकी अर्धसैनिक गठबन्धन ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ)ले आफ्ना विभिन्न अखडामाथि आक्रमण भएको जनाएको छ । पीएमएफ स्रोतका अनुसार आक्रमणमा कम्तीमा १० जना सदस्य मारिएका छन् । गठबन्धनले घटनालाई इराकको सार्वभौमिकताको उल्लङ्घन भएको बताएको छ ।

यसैबीच, सैन्य तनाव बढेसँगै ‘स्टे«ट अफ होर्मुज’ व्यवस्थापनसम्बन्धी वार्ता पनि अवरुद्ध भएको छ ।

ओमानले खाडी राष्ट्रको समर्थनमा रणनीतिक जलमार्गको संयुक्त व्यवस्थापन संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावमा जलयात्रा र समुद्री सुरक्षामा सहयोग पु¥याउन पानीजहाजबाट स्वैच्छिक योगदान सङ्कलन गर्ने व्यवस्था पनि समावेश थियो ।

तर इरानले ओमानसँग संयुक्त रूपमा ‘स्टे«ट अफ होर्मुज’ व्यवस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । तेहरानले ‘स्टे«ट अफ होर्मुज’को प्रमुख जलमार्ग व्यवस्थापनमा आफ्नो केन्द्रीय भूमिका कायम रहनुपर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकाले भने अन्तरराष्ट्रिय जलपरिवहनमा अवरोध पु¥याउने कुनै पनि व्यवस्थाको विरोध गर्दै ‘स्टे«ट अफ होर्मुज’अन्तरराष्ट्रिय आवागमनका लागि खुला रहनुपर्ने अडान दोहो¥याएको छ ।

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो। जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ ।

बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको सङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ मा झरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा नौ लाख १७ हजारले घटेको हो । सन् १९६८ देखि तुलनायोग्य तथ्याङ्क राख्न थालिएयता यो अहिलेसम्मकै ठूलो वार्षिक गिरावट हो ।

जापानका ४७ प्रिफेक्चर (प्रशासनिक क्षेत्र)मध्ये टोकियोमा मात्र जापानी नागरिकको जनसङ्ख्या ०.०९ प्रतिशतले बढेको छ ।

यसैबीच, जापानमा विदेशी बासिन्दाको सङ्ख्या तीन लाख ५४ हजारले बढेर ४० लाख ३१ हजार १५९ पुगेको छ । सन् २०१३ देखि तथ्याङ्क राख्न थालेयता यो विदेशी बासिन्दाको सबैभन्दा ठूलो सङ्ख्या हो ।

विदेशी बासिन्दासमेत समेट्दा जापानको कुल जनसङ्ख्या १२ करोड ३७ लाख ६७ हजार ६४२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब पाँच लाख ६३ हजारले कम हो ।

तथ्याङ्कअनुसार टोकियो, चिबा र ओसाका प्रिफेक्चरमा मात्र कुल जनसङ्ख्या वृद्धि भएको छ ।

दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौँ। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब एक हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको छ ।

विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जनाएको छ ।

विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको उल्लेख गरेको छ । विभागका अनुसार पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेख्य रुपमा वृद्धि भएको छ । बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।

विशेषगरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ‘इपिएस’अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको सङ्ख्या बढेको छ । ‘इपिएस’ लगायत वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको सङ्ख्या बढ्दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढिरहेको छ ।

विद्युतीय राहदानीसम्बन्धी सेवा काठमाडौँमा मात्र सीमित नरहेको विभागले जनाएको छ । देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत सेवा उपलब्ध हुँदै आएको छ । त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत विद्युतीय राहदानीसम्बन्धी सेवा लिन सक्ने व्यवस्था रहेको छ । आगामी दिनमा सेवाग्राहीको आवश्यकता र मागअनुसार सेवा विस्तार गर्दै प्रणालीलाई थप सुदृढ बनाउने विभागको योजना छ ।

बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न विभागले राहदानी उत्पादन तथा सेवा प्रवाहको क्षमता विस्तार गर्नुका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्दै आएको छ । नेपालमा विद्युतीय राहदानी वितरणको औपचारिक सुरुआत २०७८ मङ्सिर १ गते (१७ नोभेम्बर २०२१) भएको थियो । नयाँ विद्युतीय राहदानी प्रणाली सुरु भएको प्रारम्भिक चरणमा विभागले दैनिक करिब १०० मात्र विद्युतीय राहदानी जारी गर्ने गरेको थियो ।

त्यस समयमा राहदानी प्राप्त गर्न दुई साताभन्दा बढी समय लाग्ने अवस्था रहेको विभागले जनाएको छ । अहिले भने नयाँ प्रणालीमार्फत दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा जारी गर्न सक्ने क्षमतामा विभाग पुगेको छ । विभागले यसलाई विद्युतीय राहदानी सेवाको क्षेत्रमा उल्लेखनीय प्रगतिको रूपमा लिएको छ । अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय राहदानी प्रणाली सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्दै आएको छ ।

पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई आगामी एक महिनाभित्र समाधान गर्ने र तीन महिनाभित्र प्रणालीलाई स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्य अघि बढाइएको छ । सेवाग्राहीले राहदानी प्राप्त गर्न अनावश्यक कठिनाइ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागको भनाइ छ ।

प्राविधिक समस्या समाधान गर्दै विद्युतीय राहदानी सेवा थप सहज, भरपर्दो, सुरक्षित तथा प्रभावकारी बनाउनेतर्फ विभागले विशेष ध्यान केन्द्रित गरेको छ । राहदानी अत्यावश्यक सरकारी दस्तावेज भएकाले वैदेशिक रोजगारी, अध्ययन, उपचार, पारिवारिक तथा अन्य अत्यावश्यक प्रयोजनका लागि तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीको आवश्यकतालाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।

सेवाग्राहीको चाप बढेको अवस्थामा समेत सेवा प्रवाहलाई निरन्तरता दिँदै अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई सम्भव भएसम्म प्राथमिकताका साथ सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । विभागले सेवाग्राहीका आवश्यकता तथा गुनासोलाई सम्बोधन गर्दै विद्युतीय राहदानी सेवामा देखिएका समस्या समाधान र सेवा प्रवाहमा थप सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

यसअघि नै तीन महिनाको स्थिरीकरण अवधि रहने जानकारी गराइएको उल्लेख गर्दै विभागले उक्त अवधिभित्र अत्यावश्यक परेमा मात्र राहदानी बनाउन आवेदन दिन सेवाग्राहीलाई अनुरोध गरेको छ । राहदानी विभागले सेवाग्राहीको बढ्दो चाप, प्राविधिक चुनौती र सेवा प्रवाहलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार, प्रणाली सुधार तथा सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप

काठमाडौँ। सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ ।

गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी नायब उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

सरकारले उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । मन्त्रालयले समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन समेत दिइएको जनाएको छ ।

“मन्त्रालयले सुनसरीलगायतका अन्य जिल्लामा सोही प्रकृतिको घटना घट्न नदिनका लागि पूर्वतयारी समेत सुरु गरेको छ ।

यसका लागि मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ”, उनले भने ।

मन्त्रालयले उक्त क्षेत्रमा सुरक्षा अनुगमन र समन्वयलाई तीव्र पारेको छ । मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको छ ।

मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ ।

सुनसरी घटनाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायबाट विस्तृत ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल सामान्य बनाउन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि सम्झौता नगर्न स्पष्ट निर्देशन दिँदै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न आग्रह गरेका छन्।

सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्तामा के भयो ?

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा अध्यक्ष विश्वकर्माले दलित समुदायले युगौँदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालनका लागि सरकारलाई बुझाइने सुझावपत्रबारे सचेतक परियारलाई जानकारी गराएका थिए।

आयोगले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’को बुँदा नम्बर ५ मा दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने विषय समेटिएकोप्रति सरकारप्रति आभार व्यक्त गरेको छ।

साथै, उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान तथा आयोगका सुझावहरू कार्यान्वयनका लागि आवश्यक नीतिगत र संसदीय सहयोग जुटाउन आयोगले रास्वपासँग आग्रह गरेको छ।

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए।

गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग भएकाले प्रयोगशाला बन्द भएको उनले बताए।

कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून सङ्ख्यामा मात्र बिराम आउने गरेको जानकारी दिए। यसअघि प्रयोगशालामा दैनिक १३० जना बिरामी आउने गरेका थिए । “जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने गरिन्छ”, उनले भने।

आर्थिक वर्ष २०८३/८४ का लागि रु एक करोड पाँच लाख बजेट विनियोजन भएको छ । सो रकमबाट गत सालको तिर्न बाँकी रकम भुक्तानी गरी मधुमेह, सिबिसी, युरिकएसिड र पिसाबका अत्यावश्यक परीक्षण मात्र गरिने भएको छ ।

बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्च गुणस्तरको सरकारी प्रयोगशाला आवश्यक रहेको जिकिर गर्नुभयो । यस कार्यालयले गत आवमा रु दुई करोड हाराहारी राजस्व सङ्कलन गरेको थियो।

 

शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’ मा सञ्चालन गर्ने तयारी

चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।

शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।

सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । शवदाह निर्माणपछि बेवारिसे शवको अन्त्यष्टिका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ। लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मङ्गलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् ।

आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठले आज घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।। निरीक्षणका क्रममा उनले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले समस्या समाधानमा ढिलाइ गर्न नहुने बताए ।

मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाइएको छ ।

उनले सम्बन्धित निकायलाई जोखिमपूर्ण अवस्थामा रहेका तारको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए ।

नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस्ता समस्या स्थायी रुपमा समाधान गर्न सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए । उनले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तार व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पारे ।

अमेरिकामा सुरक्षा चिन्ताका कारण विदेशी रोबोट तथा इन्भर्टरको आयातमा रोक

अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका साथै जासुसीलाई अवैद कार्यका लागी सक्षम बनाइ महत्वपूर्ण अमेरिकी पूर्वाधारलाई खतरा निम्त्याउन सक्छ भन्ने चिन्तालाई उद्धृत गर्दै आयातमा रोक लगाएको जनाइएको छ ।

अमेरिकी फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) द्वारा घोषणा गरिएको नयाँ प्रतिवन्दीत उपायले आयातित ड्रोन र तार रहित राउटरलाई लक्षित गर्ने हालैका कार्यहरू पछ्याउँदै विदेशी प्रविधिमा प्रतिबन्धहरू कडा पार्ने ट्रम्प प्रशासनको प्रयास विस्तार गरेको जनाइएको छ ।

घोषणा अनुसारका प्रतिबन्धले उन्नत मोबाइल रोबोटहरू समावेश गर्दछ, जसले सौर्य ऊर्जा स्थापनाहरूलाई बिजुली ग्रिडमा जोडन मद्यत गर्दछ ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई प्रमुख प्राथमिकताहरूसँग मेल खाने र कृतिम बौद्धिकता (एआई) मा चीनको बढ्दो प्रभावलाई प्रतिरोध गरी चिनियाँ निर्माताहरूको प्रभुत्व रहेको राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पको नेतृत्व पछ्याउँदै, एफसीसीले अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृङ्खलालाई सुरक्षित गर्न आफ्नो भूमिका जारी राख्ने र समय अनुसार कार्यका साथ, एफसीसीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग आवाश्कता अनुसार समन्यवय गरेको एफसीसीका अध्यक्ष ब्रेन्डन कारले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

ट्रम्प प्रशासनले गरेको अन्तर एजेन्सी समीक्षाले प्रविधिहरूले अमेरिकी आपूर्ति श्रृङ्खलालाई साइबर कमजोरी पर्दाफास गरी अमेरिकीहरूको निगरानीसम्मका जोखिमहरू सिर्जना गर्न सक्ने बताइएको छ ।

निर्णयको एक भागको रूपमा, एफसीसीले राष्ट्रिय सुरक्षा जोखिमका रूपमा मानिने उपकरण र सेवाहरूको सूची अद्यावधिक गरेको छ । यसले प्रभावित उपकरणहरूको प्राधिकरणलाई रोक्छ र नयाँ निर्दिष्ट उपकरणहरूलाई संयुक्त राज्य अमेरिकामा प्रयोग हुनबाट रोक्ने जनाइएको छ ।

एफसीसीले प्रतिबन्धहरू उन्नत रोबोट र पावर इन्भर्टरहरूको नयाँ मोडेलहरूमा मात्र लागू हुने प्रष्ट पारेको छ । यसले सञ्चालनमा रहि रहेका अधिकृत मोडेलहरू प्रभावित नहुने पनि जनाएको छ । जसले उपभोक्ताहरू र व्यवसायहरूलाई व्यवस्थित उपकरणहरू प्रयोग गर्न जारी राख्न अनुमति दिन्छ भने खुद्रा विक्रेताहरूलाई पहिले नै स्वीकृति प्राप्त गरिसकेका उत्पादनहरू बेच्न सक्षम बनाउँछ । यी उपायहरूले सङ्घीय सरकारको विद्यमान खरिद वा त्यस्ता उपकरणहरूको प्रयोगलाई पनि असर नगर्ने जनााइएको छ ।

ट्रम्प प्रशासनले विदेशमा निर्मित ड्रोन र तार रहित राउटरहरूका लागि सुरु गरिएको जस्तै छुट प्रक्रिया पनि स्थापना गरेको छ । उन्नत रोबोट र पावर इन्भर्टरका निर्माताहरूले एफसीसी आवेदन प्रक्रिया मार्फत नयाँ उत्पादनहरूका लागि सशर्त स्वीकृति लिन सक्ने पनि जनाइएको छ ।

घोषणाको साथमा जारी गरिएका कागजातहरूमा, एफसीसीले उन्नत रोबोटिक्सले उत्पन्न गरेको सुरक्षा जोखिमहरूको मूल्याङ्कनको विस्तृत विवरण दिएको छ । उन्नत रोबोटिक प्रणालीहरूको सञ्जाल क्षमताहरूले आक्रमणका लागि व्यापक कमजोरीहरू र नयाँ उपायहरु सिर्जना गरी उन्नत रोबोटिक प्रणालीको तथ्याङ्क र भौतिक सञ्चालनलाई हेरफेर गर्न सक्ने एफसीसीले जनाएको छ ।

विदेशमा उत्पादित उन्नत रोबोटिक उपकरणहरू आपूर्ति श्रृंखला र साइबर सुरक्षामा कमजोरीहरू प्रस्तुत गरी उन्नत रोबोटिक उपकरणहरूले तथ्याङ्क सङ्कलन गरेर घातक व्यक्तीहरुलाई अमेरिकीहरूको सर्वेक्षण गर्न, विदेशी सेवाहरूको क्षमता बढाउने वा रोबोटहरूलाई टाढाबाट कमान्ड गर्न सक्ने आंकलन गरिएको छ ।

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास बिफल हुने जोखिम बढेको छ ।

गिरोन्ड क्षेत्रका अधिकारीले रातका कारण आगो थप फैलिन नपाएपनि बढ्दो तापक्रम र तीव्र हावाले डढेलो पुनः फैलिन सक्ने चेतावनी दिएका छन् ।

लेजस्थित कमान्ड सेन्टरमा अग्निनियन्त्रकहरूले डढेलोको अवस्थाबारे नक्सामार्फत निगरानी गरिरहेका छन् । उनीहरूले उत्तरी क्याप–फेरेट, मार्चेप्राइम, सेस्टास र सेन्ट–जिन–डिलाक आसपासको वन क्षेत्र तथा मार्टिग्नास नजिकैको सैन्य क्षेत्रलाई उच्च जोखिमकारूपमा पहिचान गरेका छन् । मार्टिग्नासमा आगोको नयाँ प्रकोप देखिएपछि ठूलो सङ्ख्यामा अग्निनियन्त्रक परिचालन गरिएको छ ।

फ्रान्सका विभिन्न क्षेत्र तथा युरोपेली साझेदारबाट आएका टोलीसहित दुई हजार २०० अग्निनियन्त्रक र २० भन्दा बढी विमान डढेलो नियन्त्रणमा परिचालन गरिएका छन् ।

“धुवाँको मुस्लो देखिनासाथ हामी तीव्र र प्रभावकारी रूपमा कारबाही गर्छौँ,” गिरोन्डका अग्नि नियन्त्रण कमान्डर म्याथ्यु जोमेनले भन्नुभयो ।

डढेलो चरम अवस्थामा पुगेका बेला करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसयता हजारौँलाई घर फर्कन अनुमति दिइए पनि खतरा अझै कायम रहेको अधिकारीले बताएका छन् ।

अत्यधिक गर्मीले वनस्पतिमा रहेको चिस्यान घटाउँदा घाँस, झाडी तथा जङ्गलको भुइँमा जम्मा भएका पातपतिङ्गर छिटो बल्ने इन्धनमा परिणत हुन्छन् । तीव्र हावाले आगो नियन्त्रणका लागि बनाइएका खाली क्षेत्रमा समेत आगोका झिल्का उडाएर नयाँ ठाउँमा डढेलो फैलाउने गरेको अधिकारी बताएका छन् ।

फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवा ‘मेटियो–फ्रान्स’ले बुधबार यस साताकै सबैभन्दा तातो र सुख्खा दिन हुने तथा देशभर डढेलोको जोखिम उच्च रहने जनाएको छ । मुख्य भू–भाग र कोर्सिकामा खडेरीको अवस्था रहेको तथा माटोको सुख्खापन सन् २०२२ को अगस्टमा देखिएको कीर्तिमानी स्तरनजिक पुगेको बताएको छ ।

ल्यान्डेस र वारमा लागेको डढेलो फैलावट नियन्त्रणमा आएपछि गिरोन्डेको फ्रान्समा बाँकी रहेको सबैभन्दा ठूलो डढेलो बनेको गृहमन्त्री लरेन्ट नुनेजले बताउनुभएको छ ।
गिरोन्डे र ल्यान्डेसमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण दुवै क्षेत्रमा वायु प्रदूषणको समस्या देखिएको क्षेत्रीय वायु गुणस्तर अनुगमनकर्ताले बताएका छन् ।

गिरोन्डे अधिकारीले मङ्गलबार एट्लान्टिक तटका पर्यटकीय क्षेत्रबाट थप चार हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएका थिए । यससँगै डढेलोका कारण विस्थापित हुनेको सङ्ख्या थप बढेको छ । यद्यपि, आगोबाट प्रभावित नभएका बोर्डोका तीन उपनगरमा करिब ६० हजार मानिसलाई घर फर्कन अनुमति दिइएको छ ।

गिरोन्डेका प्रिफेक्ट सोफी ब्रोकासले अवस्था अझै जटिल रहेको बताउँदै जोखिम पूर्ण रूपमा नटरेको चेतावनी दिनुभयो ।

डढेलोको चरम अवस्थामा फ्रान्स र स्पेनमा गरी करिब तीन लाख ३० हजार मानिसलाई घर तथा पर्यटकीय क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो । स्पेनमा पनि गर्मीको चौथो लहरको सामना गर्ने तयारी भइरहेका बेला धेरै डढेलो अझै नियन्त्रणबाहिर छ ।

गिरोन्डेको डढेलो चरम अवस्थामा पुग्दा आगोबाट बनेको कालो बादलभित्र विद्युतीय चमकसहित तीव्र हावा चल्ने र नयाँ स्थानमा समेत आगो फैलिने अवस्था देखिएको थियो । ‘पाइरोकुमुलोनिम्बस’ भनिने यस्तो घटना फ्रान्समा पहिलोपटक अभिलेख गरिएको अधिकारीले बताएका छन् ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार यस वर्ष देशभर एक हजार १६० वर्ग किलोमिटरभन्दा बढी भू–भाग डढेलोबाट प्रभावित भएको छ ।

युरोपेली सङ्घको कोपर्निकस जलवायु सेवाका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश हो । पश्चिमी युरोपले जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको थियो। अत्यधिक गर्मी र व्यापक सुख्खापनले फ्रान्स तथा स्पेनमा डढेलो फैलिन र तीव्र हुन सहयोग पुगेको कोपर्निकसले जनाएको छ ।

मन्त्री वादी र युनिसेफकी प्रतिनिधिबीच भेटवार्ता, यी बिषयमा गम्भिर छलफल

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको थियो । साथै नेपाल सरकार र युनिसेफबीच सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता बढाउने तथा आगामी सहकार्यका प्राथमिकता निर्धारण गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

मन्त्री वादीले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रमलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि विकास साझेदारसँगको समन्वयलाई थप परिणाममुखी बनाइने बताइन् ।

युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा लक्ष्यका लागि नेपाल सरकारसँगको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोगलाई निरन्तरता दिने बताइन्।

भेटवार्तामा उहाँहरुबीच बालमैत्री तथा समावेशी समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबीचको सहकार्यलाई अझ व्यवस्थित र परिणाममुखी ढङ्गले अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयमा बुधबार आयोजित अन्तर–निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारीहरू उपस्थित थिए।

छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बिटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिएको विषयमा विस्तृत समीक्षा गरिएको थियो।

सो छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए।

उनले नेपाल टेलिकमले राख्ने टेलिफोन टावरमा विद्युत् पहुँच पुर्‍याउनका लागि टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशनसमेत दिए।

“विगतमा अन्तर–निकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन्। अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुहोला । मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न तयार छ”, सञ्चारमन्त्री तिमिल्सिनाले भने।

सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमका टावरमा विद्युत् पहुँच नपुगेका स्थानहरूको स्पष्ट तथ्याङ्क नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने र त्यसका आधारमा प्राथमिकताका साथ विद्युत् विस्तारको योजना बनाउनुपर्ने बताए।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको सङ्ख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको सङ्ख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको बताए।

उनले भने, “मानव वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ, तर यसको साझा प्रयासबाट निष्कर्षमा पुग्न सकिन्छ ।” बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधै चनाखो रहेको उल्लेख गर्दै अधिकृत कँडेलले बाघको बासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको बताए।

“हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौँ र केही सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ”, उनले भने। अधिकृत कँडेलले स्थानीय समुदाय, सरोकार भएका निकाय, सङ्घ, संस्थालगायतका निकायले गरेको साझा प्रयासबाट बाघको सङ्ख्या बढ्नमा मद्दत पुगेको उल्लेख गरे । बाँके र आसपासका वन क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघको गणना गरिएको थियो।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो।

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ । यस निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन्।

यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तरराष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन्। बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो।

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

काठमाडाैँ । परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दुर्लभ रूपमा पछि हट्न बाध्य बनाएको छ । विश्लेषकहरूले यसलाई एक दशकभन्दा बढी समयदेखि निर्माण गरिएको मोदीको अटल राजनीतिक छविमाथिको सबैभन्दा ठुलो चुनौतीका रूपमा व्याख्या गरेका छन्।

गत साता ‘ककरोच जनता पार्टी’ (सिजेपी) नामक अनलाइन अभियानबाट सुरु भएको आन्दोलन नयाँदिल्लीबाट देशका विभिन्न सहरमा फैलिएको थियो । बढ्दो दबाबपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए भने सरकारले आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीविरुद्ध मुद्दा नचलाउनेलगायत केही माग सम्बोधन गर्न सहमति जनाएको छ।

विश्लेषकहरूका अनुसार सन् २०१४ मा प्रधानमन्त्री बनेयता सार्वजनिक दबाबका कारण सरकारलाई यसरी पछि हट्नुपरेको घटना विरलै देखिएको छ । आगामी वर्ष हुने महत्त्वपूर्ण राज्य निर्वाचनअघि आएको यो घटनाले प्रधानमन्त्री मोदीको राजनीतिक प्रभावमा प्रश्न उठाएको उनीहरूको भनाइ छ।

प्रधानमन्त्री मोदीका जीवनीकार तथा राजनीतिक विश्लेषक निलाञ्जन मुखोपाध्यायले शिक्षामन्त्रीको राजीनामालाई अप्रत्याशित घटनाका रूपमा चित्रण गर्दै यसले ‘ब्रान्ड मोदी’ लाई विगत २५ वर्षयताकै सबैभन्दा ठूलो धक्का दिएको बताए। उनका अनुसार मोदीको राजनीतिक शैली सामान्यतः दबाबमा पछि नहट्ने खालको रहँदै आएको छ ।

सरकारले सुरुमा आन्दोलन नियन्त्रणमा आउने विश्वास व्यक्त गरेको थियो । तर जुलाई २० मा संसद्तर्फ अघि बढिरहेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप फैलिएको विश्लेषकहरूको भनाइ छ । त्यसपछि परीक्षा प्रश्नपत्र चुहावटको विषय युवाहरूको व्यापक असन्तुष्टि र भविष्यप्रतिको चिन्तासँग जोडिएको आन्दोलनमा परिणत भएको थियो।

प्रदर्शनमा विपक्षी दल, नागरिक समाज र विभिन्न समूहले पनि समर्थन जनाएका थिए। प्रहरी कारबाहीका दृश्य सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिँदा सरकारमाथिको दबाब अझ बढेको विश्लेषकहरूको निष्कर्ष छ । उनीहरूका अनुसार यस आन्दोलनले युवाहरूमा सरकारविरुद्ध खुलेर आवाज उठाउन सकिने विश्वास बढाएको छ।

यद्यपि सरकारले कानूनी सुधार, परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउने तथा प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै परिस्थिति सामान्य बनाउन प्रयास गरिरहेको छ । पञ्जाब, गुजरात र उत्तर प्रदेशमा हुन लागेको निर्वाचनअघि यो घटनाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक रूपमा असहज बनाएको विश्लेषकहरूको भनाइ छ।

यस आन्दोलनले सामाजिक सञ्जालमा पनि सरकारलाई चुनौती दिएको छ । मिशिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पालका अनुसार डिजिटल माध्यमको बदलिँदो स्वरूपलाई सरकारले पर्याप्त रूपमा बुझ्न नसक्दा आन्दोलनले व्यापक समर्थन पाएको हो। उनका अनुसार सामाजिक सञ्जाल अहिले भारतका साना सहरसम्म विस्तार भइसकेको छ र युवामाझ असन्तुष्टि व्यक्त गर्ने सबैभन्दा प्रभावकारी माध्यम बनेको छ।

प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत परीक्षा प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै नयाँ शैलीका भिडियो सार्वजनिक गरेका थिए। तर ती भिडियोसमेत सामाजिक सञ्जालमा आलोचना र व्यङ्ग्यको विषय बनेका छन्।

विश्लेषकहरूका अनुसार भारतमा सरकारको आलोचना गर्ने सार्वजनिक ठाउँ सीमित बन्दै गएका बेला सामाजिक सञ्जाल असन्तुष्टि अभिव्यक्त गर्ने प्रमुख माध्यमका रूपमा स्थापित हुँदै गएको छ।

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ ।

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ८ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः००देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–१घोराही–थवाङ शहीद राजमार्गमा आज बिहान सुक्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ बेँसीसहर–च्यामे–मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।