`

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली–चन्डोल बोक्ने परम्परा

कञ्चनपुर, १६ माघ : सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरु बताउनुहुन्छ । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारु समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने गर्दछ । परम्परागत रूप्मा बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल विवाहमा दुहला, दुलहरी बोक्ने साधनमात्र नभई संस्कार, आस्था र सामाजिक मूल्यको प्रतीक मानिन्छ ।

नेपाल राना थारु समाजका केन्द्रीय सदस्य रामशाह रानाका अनुसार बेहुलीका लागि तयार गरिने डोली बाँसबाट निर्माण गरिन्छ । “डोलीको माथिल्लो भाग सेतो कपडाले बेर्ने गरिन्छ भने बाँसकै छतरी बनाइन्छ”, उहाँले भन्नुभयो, “डोलीभित्र चारपाई (डोरीले बुनिएको खटिया) राखी चारैतिर रङ्गीविरङ्गी कपडाले सजाइन्छ । पहिले कछनीको कपडाको प्रयोग बढी हुन्थ्यो ।”

दुलहा बस्ने चन्डोल पनि बाँसबाटै तयार गरिन्छ । बाँसका डण्डालाई चारैतिर बाँधेर बीचमा छतरी राखिन्छ र कण्डी, फुलवा तथा अर्सा कपडाले आकर्षक ढङ्गले सजाइन्छ । चन्डोल र डोली सजाउने काममा परिवारका सदस्य तथा आफन्तको सक्रिय सहभागिता रहने गर्दछ । उहाँ भन्नुहुन्छ, “जसले सामूहिकता र सामाजिक एकताको भाव झल्काउँछ ।”

विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनुअघि घरमै विशेष संस्कार गरिन्छ । दिदीबहिनीले हल्दी (बेसार) कुटेर बेहुलाको शरीरमा दल्ने चलन छ, जसले रोगव्याधि हट्ने र शुभता ल्याउने जनविश्वास राना थारु समुदायमा छ । त्यसपछि बेहुलालाई नुहाईधुवाई गराई टाउकोमा सेतो पगडी, शरीरमा नयाँ कपडा, कम्मरमा सेतो फेटा र कटारो बाँधिन्छ । सो अवसरमा बहिनी–ज्वाइँ र भिनाजुले ढाल–तरबार बोक्ने चलन पनि रहेको राना बताउनुहुन्छ ।

दुलहालाई चन्डोलमा बसाल्नुअघि ‘निम्तो हाल्ने’ अर्थात् दक्षिणा दिने र टीकाटालो गर्ने गरिन्छ । चन्डोलभित्र गद्दा र गुदरिया ओछ्याइएको खटियामा दुलहासँगै उहाँका भाइलाई पनि बसाइन्छ, जसलाई ‘सौविल्ला’ भनिन्छ । दुलहा एक्लो नहोस् भन्ने मान्यताका आधारमा यो चलन विकसित भएको हो । चन्डोलमा बसेका दुलहा र सौविल्लालाई दिदीबहिनी, फूपू तथा आफन्तले फूल, पैसा र अक्षताले पूजा गर्ने गर्दछन्, जसलाई राना थारु भाषामा ‘न्यौछार’ गर्ने भनिन्छ ।

डोलीमा भने दुलहीलाई मात्रै चढाइने परम्परा छ । दुलहीलाई पनि दिदीबहिनीले हल्दी लगाउने, नुहाएपछि बेहुलाको घरबाट पठाइएको लुगा लगाइदिने र अक्षता, फूल–पैसाले पूजा गर्ने चलन छ । राना थारु अगुवा रतनबहादुर रानाका अनुसार पहिले दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने प्रचलन थियो । “अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएका छन् ।”

पहिले दुलहालाई भिनाजु र बहिनीज्वाइँ गरी चार जनाले चन्डोलमा काँधमा बोकेर बेहुलीको घर पुर्याउने र विवाह सम्पन्न भएपछि दुलहीलाई दाजुभाइ तथा भतिजाले डोलीमा काँधमै बोकेर बेहुलाको घरसम्म पुर्याउने चलन थियो । रतन भन्नुहुन्छ, “गाउँदेखि गाउँसम्म डोली–चन्डोल बोकेर हिँड्दा वातावरण नै उत्सवमय हुने गर्दथ्यो, तर अहिले यो दृश्य बिरलै देख्न पाइन्छ ।”

हाल घरभन्दा केही परसम्ममात्र रीतिथिति जोगाउन डोली र चन्डोलमा बोक्ने गरिन्छ । राना अगुवा रानाले भन्नुभयो, “त्यसपछि बस, कार वा अन्य सवारीसाधन प्रयोग गरेर गन्तव्यमा पुर्याइन्छ ।”

राना थारु समुदायका अगुवा बालसुग्रिव रानाले डोली–चन्डोल बोक्ने चलन हराउँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो । “पहिला डोली–चन्डोल बोक्दा काँध पुरै सुन्निने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब ती दिन सम्झनामा मात्र सीमित हुँदै गएका छन् ।” उहाँका अनुसार आधुनिक सवारीसाधनको प्रयोगले सहजता त दिएको छ तर समुदायको मौलिक चालचलन र संस्कार ओझेलमा पर्न थालेका छन् ।

परम्परागत पहिरनको साटो अचेल बेहुलाले कोटपाइन्ट, टाइ र दुलहीले आधुनिक तथा महँगा लुगा लगाउने चलन बढ्दै गएको छ । यसले राना थारु समुदायको मौलिक पहिचान झल्काउने संस्कृति कमजोर बन्दै गएको राना थारु संस्कृतिविद्हरुको भनाइ छ ।

स्थानीय अगुवाहरुले आधुनिकतालाई पूर्ण रूप्मा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताउँछन् । डोली–चन्डोलजस्ता सांस्कृतिक प्रतीक संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको थारु बुद्धिजीवी गेदुराम रानाले बताउनुभयो ।

“राना थारु समुदायको डोली–चन्डोल परम्परा केवल विवाह संस्कारको एउटा हिस्सामात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसलाई जोगाउनु अत्यन्त आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका), १६ माघ : अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ ।

बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ ।

दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर भए/गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ ।”

विज्ञप्तिमा दूतावासले अमेरिका आएका नेपालीहरूमध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ ।

विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकले यहाँ रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा÷सहायतामाथि निर्भर नहुन/नगराउनुहुन हार्दिक दूतावासले अनुरोध गरेको छ ।
दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ । पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ ।

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।

कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यसको सम्झौता रकम रु ५७ लाख ७२ हजार ६९४ हो ।

कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ । “अहिले त्यहाँ पानी निकासका लागि ह्युमपाइप राखिएको छ । यसरी राखिएका ह्युमपाइप पुराना भइसकेका छन्”, सबइन्जिनियर शाही भन्नुहुन्छ, “बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ । बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।”

कल्भर्ट निर्माणको प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले बताउनुभयो । यसका लागि दुवैतर्फबाट आउने सवारीसाधन कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ ।

यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम रु दुई करोड २१ लाख २३ हजार ८९९ हो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको हुनेछ ।

यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गर्यो । वडा नं ११ का अध्यक्ष हीराला तण्डुकार भन्नुहुन्छ, “पुल बनाउने भनेर विभिन्न निकाय आए, कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ, तर कसैले बनाएनन् । त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण हुनलागेको हो”, वडाध्यक्ष तण्डुकारले जानकारी जानकारी दिनुभयो ।

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ ।

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै  

काठमाडौँ, १६ माघ : विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

पालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ १६ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भक्तपुरको एक फर्निचर उद्योगमा आगलागी

भक्तपुर। भक्तपुरको एक फर्निचर आगलागी हुँदा रु ३५ लाख बराबरको सामान नष्ट भएको छ ।

सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट फर्निचर उद्योगसँगै रहेको सुवास लिम्बूले सञ्चालन गरेको खाजा पसल तथा मैना तामाङको गलैँचाको तानमा आगलागीबाट क्षति भएको प्रहरीको भनाइ छ ।

जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल, प्रहरी र स्थानीयले तीन घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल सहमत

नेपालगञ्ज। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता पालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् ।

दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत हुनुभएको हो ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालको अध्यक्षतामा भएको बैठकमा जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले निर्वाचनको नियमन तथा अनुगमन गर्ने बताउनुभयो ।

बाँकेको निर्वचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जिल्लामा देखिएका केही अप्ठ्यारो अवस्थाका विषयमा जिज्ञासा आएको र त्यसलाई सम्बोधन गरिएको जानकारी दिँदै राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनलाई भयरहित, मर्यादित बनाउन आचारसंहिता पालनमा जोड दिइएको उहाँको भनाइ छ । निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा आज निर्वाचन क्षेत्र नं २ ले सर्वदलीय बैठकको आयोजना गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

सो सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधि, स्वतन्त्रतर्फका उम्मेदवारलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सर्वदलीय बैठक सपन्न भइसकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा कूल तीन लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् ।

यसैबीच बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी छनोट भएका छन् । जनपथतर्फ दुई हजार १८८ र सशस्त्र प्रहरीतर्फ ३०३ जना छनोट भएको जिल्ला प्रहररी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन प्रहरीले सहयोग गर्ने छ ।

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी

तेहरान। इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी रूपमा विकसित एक हजार ‘रणनीतिक युद्धक’ ड्रोनहरू तैनाथ गरेको बताएको अर्ध–सरकारी समाचार संस्था तास्निम न्यूज एजेन्सीले जनाएको छ।

सेना प्रमुख अमिर हतामीको आदेशमा ती ड्रोन सेनाको स्थल, वायु रक्षा र नौसेनालाई वितरण गरिएको बताइएको छ। रिपोर्टमा भनिएको छ, “ड्रोनहरू सेना विज्ञहरू र रक्षा मन्त्रालयले संयुक्त रूपमा विकसित खतराहरूलाई सम्बोधन गर्न र इजरायलसँग गत वर्षको ‘१२ दिने युद्ध’ बाट सिकेका पाठहरूबाट प्रशिक्षित भई विकसित गरिएका थिए। तिनीहरू जमिन, समुद्र र हावामा स्थिर वा मोबाइल लक्ष्यहरू प्रहार गर्न सक्षम छन्।

हतामीले भन्नुभयो, “भविष्यको खतरालाई ध्यानमा राख्दै सेनाले आफ्नो रणनीतिक फाइदाहरूको संरक्षण र बृद्धिलाई प्राथमिकता दिएको छ ताकि द्रुत युद्ध अपरेशनहरू सक्षम गर्न र कुनै पनि आक्रमणको जवाफमा प्रतिक्रिया प्रदान गर्न सकियोस्।”

यो आपूर्ति यस हप्ताको सुरुमा मध्य पूर्वमा ‘क्यारियर’ नेतृत्वको ‘स्ट्राइक’ समूहको अमेरिकी तैनाथीपछि भएको हो । संयुक्त राज्य अमेरिकाले इरानप्रति आफ्नो बयानबाजी र चेतावनी बढाएपछि तेहरान र वाशिङ्गटनबीच तनाव बढ्दै गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम लिङ्कनको नेतृत्वमा रहेको र भेनेजुयलातर्फ पठाइएको विमानभन्दा ठूलो युद्धपोत इरानतर्फ अघि बढिरहेको बताउनुभएको छ । उहाँले तेहरानलाई वासिङ्टनसँग सम्झौता गर्न समय सकिँदै गएको चेतावनी दिनुभएको छ।

यस बिषयमा गरिएको प्रश्नको जवाफमा इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले भन्नुभयो, ‘हाम्रा बहादुर सशस्त्र बलहरू कुनै पनि आक्रमणको तत्काल र शक्तिशाली जवाफ दिन तयार छन्।

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ ।

जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

“लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ”, परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो । त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उहाँको भनाइ छ ।

प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिनुभयो । “संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।”

प्रमुखथापाले निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना सङ्कलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पार्नुभयो ।

सुरक्षा थ्रेट भएको भन्दै रास्वपाका उम्मेदवार सुदन गुरुङले मागे ‘पीएसओ’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागे रास्वपाका उम्मेदवार सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन् ।फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।

गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला सचिवालयले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको हो ।

‘विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु,’रास्वपा जिल्ला सचिवालय सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।का छन् ।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला सचिवालयले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको हो ।

‘विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु,’रास्वपा जिल्ला सचिवालय सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिनुभएको हो ।

सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा पर्नुभएको थियो ।

चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण उहाँ यही माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना हुनुभएको थियो ।

यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

डेनमार्क र अमेरिकाबीच ग्रिनल्यान्डको विषयमा रचनात्मक वार्ता

ब्रसेल्स। डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले बिहीबार ग्रिनल्यान्डको विषयमा संयुक्त राज्य अमेरिकासँग सुरु भएको प्राविधिक वार्ता ‘धेरै रचनात्मक’ भएको भन्दै आफू थप आशावादी भएको बताउनुभएको छ ।

रासमुसेनले ब्रसेल्समा युरोपेली सङ्घ (इयु) को बैठकमा पत्रकारहरूसँग भन्नुभयो, “हामीले हिजो वासिङ्टनमा वरिष्ठ आधिकारिक स्तरमा पहिलो बैठक गरेका छौँ । यो धेरै रचनात्मक वातावरणमा भयो र नयाँ बैठकहरूको योजना बनाइयो । यो कुरा समाधान भएको छैन, तर राम्रो सङ्केत हो ।”

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त आर्कटिक क्षेत्र कब्जा गर्ने धम्की पछि हटाएपछि त्रिपक्षीय वार्ता सुरु भएको थियो । रासमुसेनले भन्नुभयो, “कुराहरू बढ्दै गइरहेका थिए, तर अब हामी फेरि पटरीमा आएका छौँ । म एक हप्ता अघिको तुलनामा आज अलि बढी आशावादी छु ।”

ग्रिनल्यान्डलाई लिएर ट्रम्पको धम्कीले ट्रान्सटाटलान्टिक गठबन्धनलाई वर्षौंको सबैभन्दा गहिरो सङ्कटमा पु¥याएको थियो । ट्रम्पले नाटो प्रमुख मार्क रुटसँग आर्कटिकमा अमेरिकी प्रभाव बढाउने फ्रेमवर्क सम्झौता गरेको दाबी गर्नुभयो ।

तर डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरूले कुनै सार्वभौमिकता हस्तान्तरण गर्न अस्वीकार गरेका छन् । रासमुसेनले भन्नुभयो, “हामी निस्सन्देह आर्कटिक सम्बन्धी अमेरिकी सुरक्षा चिन्ताहरू साझा गर्दछौँ र यसलाई घनिष्ठ सहयोगमा समाधान गर्न चाहन्छौँ ।”

वासिङ्टनसँगको सम्झौताको भागका रूपमा नाटोले आर्कटिकमा आफ्ना गतिविधिहरू बलियो बनाउने अपेक्षा गरेको छ, जबकि डेनमार्क र ग्रिनल्यान्डले अमेरिकी सेनाको तैनाथीबारे सन् १९५१ को सन्धि अनुसार पुनः वार्ता गर्न सक्छन् ।

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड’

काठमाडौँ। राजनीतिक दलका नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले आज यहाँ आयोजना गरेको ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया संविधानमा व्यवस्था भएअनुसारको समावेशिता राजनीतिक दलहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।

नेकपा (एमाले) का नेता विशाल भट्टराईले आफ्नो पार्टीले केन्द्रीय कमिटीमा ३६ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको र विधानले तोकेको ३३ प्रतिशतको सीमाभन्दा माथि महिलाको प्रतिनिधित्व रहेको बताउनुभयो ।

उहाँले संविधानअनुसार सबै राजनीतिक दलले वर्गीय र जातीय समावेशीतामा काम गर्दैै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा जनक साहले पुरानो राजनीतिक संरचनामा रूपान्तरण नगरेसम्म जनताको अपेक्षा पूरा हुन नसक्ने र नेपालका सबैजसो राजनीतिक दलहरुमा पुनःसंरचना आवश्यक रहेको बताउनुभयो । उहाँले दलहरु पूर्ण समावेशी तथा रुपान्तरित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान कागजमै सीमित हुँदा दलित समुदायले अझै लोकतन्त्रको अनुभूति गर्न नसकेको र दलित समुदाय वर्गीय तथा जातीय उत्पीडनमा रहेको उल्लेख गर्नुभयो । उहाँले समावेशीता घोषणापत्रमा मात्र नभई कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिनुभयो ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले राजनीतिक दलहरुले समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने, सिमान्तकृतमैत्री घोषणापत्र, कार्यान्वयन गर्न सकिने घोषणा बनाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

१० दिनमा निर्वाचन आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ। निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग गरेको छ ।

यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता, २०८२ लागू भएदेखि माघ १५ गतेसम्म २१ स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिनुभयो । त्यसमध्ये आजसम्म आठ वटाको मात्र जवाफ प्राप्त भएको छ ।

आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई यही माघ ७ गते स्पष्टीकरण सोधेको थियो ।

दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरिएको थियो । त्यसमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको जवाफ आएको छ भने भण्डारीको जवाफ नआएको सहायक प्रवक्ता श्रीसले बताउनुभयो ।

“काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) मा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ”, उहाँले भन्नुभयो ।

यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता श्रीसले बताउनुभयो । दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । दफा ५ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको थियो । कार्कीको जवाफ आए पनि त्यो चित्तबुझ्दो छ वा छैन भन्ने विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार भएको थियो । गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको उहाँको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत नगराइएको हो ।

आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि आयोगमा अहिलेसम्म प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्नेगरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले पनि अहिलेसम्म आयोगलाई स्पष्टीकरण पेस नगरेको सहायक प्रवक्ता श्रीसले बताउनुभयो । नेपाल सरकार मातहतकै परिषद्ले आयोगलाई एक हप्तासम्म पनि स्पष्टीकरण पेस गरेको छैन ।

नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ ।

यस्तै दफा १३ को उपदफा (१) मा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उपदफा (१) को खण्ड (झ) मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने व्यवस्था रहेको छ ।

यसैगरी उपदफा (१) को खण्ड (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने उल्लेख गरिएको छ । “बस्नेतले जवाफ पेस गरे पनि चित्त बुझ्दो छ, छैन भन्ने विषयमा अध्ययन भइरहेको छ”, सहायक प्रवक्ता श्रीसले भन्नुभयो ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उहाँले पनि आयोगलाई स्पष्टीकरण बुझाउनुभएको छैन । रास्वपाका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो । उहाँको जवाफबारे आयोगले अध्ययन गरिरहेको छ ।

यस्तै नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक)लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टीविरुद्धमा गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानी गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लङ्घन भएको हो वा होइन भनी उहाँलाई आयोगले स्पष्टीकरण सोधेको छ । पाठकले पेस गर्नुभएको जवाफका बारेमा पनि आयोगले अध्ययन गरिरहेको छ ।

यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिन्ह र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन भएको हो वा होइन भनी स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताउनुभयो । यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । सो पार्टीले पनि जवाफ पेस गरी थप अध्ययन भइरहेको छ ।

जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा निकोलस)लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकोले सो विषयमा आफ्नो निर्वाचन प्रचारप्रसार गर्न अमुक व्यक्तिको जुत्ता प्रयोग गरेको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको छ । भुसालले आयोगमा जवाफ पेस गरिसक्नुभएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो ? कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताउनुभयो । आयोगले स्वास्थ्य स्वयंसेवक सङ्घलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म आयोगमा जवाफ आएको छैन ।

आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने व्यहोराको उजुरी प्राप्त भएकोले यस विषयमा के कसो भएको हो ? भनी स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ । विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकोले कारबाही गरी पाउँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिनुभएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताउनुभयो । यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ । तर उहाँले अहिलेसम्म जवाफ पेस गर्नुभएको छैन ।

रास्वपाका उम्मेदवार बालेन्द्र शाहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । यसैगरी आयोगले बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ का रास्वपाका उम्मेदवार खगेन्द्र सुनार, सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत (सिके राउत) र काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ । शाह, सुनार, राउत र अधिकारीले पनि आजसम्म जवाफ पेस गर्नुभएको छैन ।

यस्तै सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिन्ह र झण्डाको तोरण बनाई झुण्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको होे । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार अधिकारीलाई अष्टे«लियामा रहेका नेपालीलाई स्वयम्सेवक आवेदन फाराम पठाई क्यू आर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने समेत व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यसैगरी आयोगले पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नुका साथै संलग्नलाई कानुनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो । विश्वविद्यालयले पनि अझै जवाफ पेस गरेको छैन ।

यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । आचार्यले पनि अझै जवाफ दिनुभएको छैन ।

यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिताविपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको छ । संस्थानको स्पष्टीकरणका विषयमा अध्ययन भइरहेको आयोगले जनाएको छ ।

दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक

जोहानेसबर्ग । मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले दक्षिणी अफ्रिकामा हालै आएको अत्यधिक वर्षा र बाढीलाई अझ गम्भीर बनाएको एक अध्ययनले देखाएको छ । यस प्राकृतिक विपत्तिका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

वर्ल्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनअनुसार दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेका केही भागमा केवल १० दिनभित्र एक वर्ष बराबरको वर्षा भएको थियो । यसले घर, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याउँदै गहिरो मानवीय पीडा निम्त्याएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

मोजाम्बिकमा धेरै घर तथा भवन पूर्ण रूपमा डुबानमा परेका थिए भने दक्षिण अफ्रिकाका लिम्पोपो र म्पुमालाङ्गा प्रान्त तथा जिम्बाब्वेका केही क्षेत्रमा सडक र पुलहरू बगाएका थिए ।

राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौँ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही माघ १८ देखि २१ गतेसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ । बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहनुभएको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

पोखरामा शनिबारदेखि साफ यु–१९ महिला च्याम्पियनसिप

कास्की। पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासङ्घ(साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ ।

साफको तालिका अनुसार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा हुन लागेको प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । साफका महासचिव कट्टेलले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सहभागी देशका खेलाडी आज साँझसम्म पोखरा आइपुग्ने उहाँको भनाइ थियो ।

“साफ महिला फुटबल पहिलोपटक राजधानी काठमाडौँ बाहिर सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकलगायत यहाँ आइपुग्नुहुन्छ”, महासचिव कट्टेलले भन्नुभयो । सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । यसम प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगिताले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माणलगायत काम सम्पन्न भएको जानकारी दिनुभयो । लामो प्रतिक्षापछि पोखरामा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजनाले यस क्षेत्रका खेलकुदकर्मी उत्साहित बनेका उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ४५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नयाँ दिल्ली । भारतीय राज्य आन्ध्र प्रदेशमा अनलाइन लत र दुव्र्यवहारका विषयमा विश्वव्यापी रूपमा चिन्ता बढ्दै जाँदा सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकामाथि प्रतिबन्ध लगाउने तगारी अधिकारीहरूले गरिरहेको जनाइएको छ ।

दक्षिणी राज्य आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सासाजिक सञ्जाल प्रति विश्वास “बिग्रँदै गएको“ बताउदै बालबालिकाहरूले यसको अधिक प्रयोगमा समय खर्चिरहेको चेतावनी दिएका छन् ।

“सरकारले बालबालीकाहरुलाई सामाजिक सञ्जालमा प्रतिवन्द गर्ने निर्णय उनले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै बताएका छन् । अधिकारीहरूले उमेर–उपयुक्त पहुँच लागू गर्न कानुनी उपकरणहरूमा अध्ययनको आदेश दिएको उनले जनाएका छन् ।

सरकारी तथ्याङ्क अनुसार विश्वको सबै भन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतमा लगभग एक अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन् जसमा सबै सहर र ९५ प्रतिशत गाउँहरू जोडिएका छन् ।

आन्ध्र प्रदेशका अधिकारीहरूले मेटा, गुगल, एक्स र सेयरच्याट लगायत प्रमुख प्लेटफर्महरूलाई “विश्वव्यापी उत्तम अभ्यासहरू“ बारे छलफल गर्न र मूल्याङ्कन गर्न सुझाएको लोकेशले बताएका छन् ।

यो कदम पश्चिमी भारतीय राज्य गोवामा यस्तै छलफल पछि आएको हो, जहाँ अधिकारीहरूले बालबालिकाका लागि प्रस्तावित सामाजिक सञ्जाल प्रतिबन्धको वैधानिकता खोजिरहेका थिए ।

लोकेशले महिलाको अनलाइन सुरक्षाको बारेमा पनि चिन्ता व्यक्त गर्दै धेरैले “निरन्तर अनलाइन दुव्र्यवहारको सामना गरिरहेका“ बताउदै यसलाई बेवास्ता गर्न नसकिने उनले बताएका छन् ।

वार्षिक आर्थिक सर्वेक्षणले बालबालिकाको स्क्रिन समय बारे राष्ट्रिय दिशानिर्देशहरू सिफारिस गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गरेको छ ।

“उमेरमा – आधारित पहुँच सीमाहरूमा नीतिहरू विचार गर्न सकिने बताउदै युवा प्रयोगकर्ताहरू बाध्यकारी प्रयोग र हानिकारक सामग्रीको बढी जोखिममा रहेको सर्वेक्षणले जनाएको छ ।

पछिल्लो समयमा नाबालिगहरूद्वारा सामाजिक सञ्जालको प्रयोगमा विश्वव्यापी छानविन बढेको छ ।अष्ट्रेलियाले सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउको छ भने डिसेम्बर– १६ मा फ्रान्सेली सांसदहरूले यस हप्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरे ।धेरै अन्य देशहरू साथै युरोपेली सङ्घले पनि यस्तै कदमहरूबारे विचार गरिरहेका छन् ।

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छिन् ।

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी छिन् । “स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बिमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औैषधि लेखिदिने र बिरामीले अनावश्यक रुपमा बिमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,” उनले भनिन् ।

स्वास्थ्य बिमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बिमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । उनले मुटु उपचारको क्षेत्रमा गङ्गालाल अस्पतालले पु¥याएको योगदानको प्रशंसा गरिन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए । विसं २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए ।

अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा रामेश कोइरालाले जेनजी आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे । गत वर्ष मात्र गङ्गालाल अस्पतालले एक हजार ९९० विरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो ।

नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकता – राजदूत तुम्बाहाम्फे

काठमाडौँ, १५ माघ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गरेका छन्।

नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ ।

भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेकी थिइन् । उनले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् ।

छलफलका क्रममा दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे पनि गहन छलफल भएको थियो । विशेषगरी ग्वाङ्जु क्षेत्रमा रहेका नेपाली विद्यार्थीका लागि बीमालगायतका सामाजिक सुरक्षासम्बन्धी सेवाहरू कसरी अझ सहज, सरल, किफायती र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूतसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेकी थिइन् । साथै, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा समस्या समाधानमा राजदूतावास र अवैतनिक वाणिज्यदूतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

भेटका क्रममा राजदूतावासले निकट भविष्यमा ग्वाङ्जु क्षेत्रमा बृहत् लगानी सम्मेलन आयोजना गर्ने सोच राखेको र सोका लागि सम्भाव्य लगानीकर्ताहरूको पहिचान र पहल गर्न राजदूत तुम्बाहाङ्फेले अवैतनिक वाणिज्यदूतलाई आग्रह गरिन् ।

सोही अवसरमा अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले ग्वाङ्जु क्षेत्रमा हालसम्म आफूले सम्पन्न गरेका गतिविधि, आफ्नो कार्यप्रगति तथा आगामी दिनमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने योजना र पहलहरूबारे राजदूतलाई अवगत गराए ।

नेपालप्रति विशेष आत्मीयता राख्ने अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओन आफूलाई ‘नेपालको छोरा’ भन्न रुचाउँछन् । उनले हालसम्म २१ पटक नेपाल भ्रमण गरिसकेका छन् । सन् २०१५ को भूकम्पका बेला पहिलो कोरियाली राहत टोलीको नेतृत्व गर्दै नेपाल पुगेका जिओनले कोरियाली चिकित्सकसहितको ठूलो टोली लिएर नेपालको उक्त विपद्को घडीमा उल्लेखनीय सहयोग पु¥याएको थियो । उनको यस योगदानले नेपाल–कोरियाबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ ।

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने

जनकपुर। मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गर्नुभएको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो ।

सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताउनुभयो ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ । मधेस प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथाङ्का (सङ्खुवासभा) । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।

तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए । दलका उम्मेदवारको सामाजिक सञ्जालमार्पmत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ ।

कर्मचारीको नाम भने खुलाइएको छैन । ती कर्मचारीलाई लिखित स्पष्टीकरण लिएको उनको भनाइ छ । आचारसंहिता विपरीत गतिविधि पुनः दोहो¥याएमा कडा कारबाही गरिने सहायक निर्वाचन अधिकृत न्यौपानले बताए । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने निर्णयसमेत भएको उनले बताए । प्रतिनिधिसभा सदस्य एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छः अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

त्यस अवसरमा उहाँले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रकोतर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत्को विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडिपी तयार रहेकोसमेत उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेको बताउनुभयो ।

“गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौँ । निजीक्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बनाउनुभयो । “निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजीक्षेत्र किन सधैँ उपक्षित भएको छ”, उहाँले प्रश्न गर्नुुभयो ।

काठमाडौंका विभिन्न स्थानबाट १० जना लुटेरा पक्राउ, मुख्य नाइकेलाई गोली लाग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।

मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गहना चोरी र एकान्तमा बसेर लुटपाट गर्दै मोटरसाइकलमा भाग्ने गरेका थिए । प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा लुटपाटको घटना गरिसकेको पाइएको छ ।

‘जेनजी आन्दोलनपछि समूहहरु संगठित भएको देखिन्छ । दिनभरी प्रयोग गरिएका ट्याक्सी पनि नियन्त्रणमा लिएका छौं । ट्याक्सी चालकहरु रातीको समयमा नौ बजेतिर जम्मा हुने, खानासँगै खाने र १२ बजेपछि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेको पायौं,’ प्रहरी प्रवक्ता थापाले भने ।

विनय तामाङ भदौ २४ मा जेनजी आन्दोलनको समयमा प्रहरीले हिरासतमा राख्दा भागेका थिए । प्रहरी प्रवक्ता थापाले बताए अनुसार, गएराति मोटरसाइकलबाट भाग्ने क्रममा उनीहरूलाई गोली प्रहार गरिएको हो । पक्राउ परेका अन्य नौ जनालाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

‘लुटेरा समुहका नेतृत्व गरेका तामाङ विगतमा पनि धेरै अपराधिक घटना घटाएको देखिन्छ । १० जनाको समूहलाई अह्राईखटाई गरिरहेको देखिन्छ । तामाङ गत भदौ २४ गते भन्दा अगाडि बुढानिलकण्ठमा चोरी डकैतीको अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहि महारागञ्ज वृत्तको हिरासतमा रहेको अवस्था थियो र भदौ २४ गतेको आन्दोलन पश्चात फरार भएका थिए,’ उनले भने ।

पक्राउ परेका लुटेरा समूहले सोह्रखुट्टे, बौद्ध, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमी क्षेत्रमा विशेषगरी रातको समयमा लुटपाटको गतिविधि गर्दै आएको उनले बताए ।

प्रहरी कार्यालयमा आज मात्र २७ वटा जाहेरी आएको भन्दै प्रहरीले समुदायलाई सचेत रहन र अनावश्यक रूपमा एक्लै नहिँड्न सुझाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, ३२८ थान स्वचालित क्यामेरा जडान गरिने

वीरगञ्ज (पर्सा), १५ माघ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक) मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न सुरआत गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिए ।

“चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा तीन ब्लकमा बाँडेर बाघ गणनाको काम भइरहेको छ,” उनले भने, “चितवन–पर्सा क्षेत्रमा दुई खण्डमा बाघको गणनाको काम सकिएको छ । तर त्यसको डाटा प्रशोधनलगायतका काम भने अझैँ बाँकी नै छन्,” उनले भने, “चितवन–पर्साको तेस्रो खण्डको काम गर्नका लागि विभिन्न स्थानमा स्वचालित क्यामेरा जडानको काम अघि बढेको छ । क्यामेरा जडान कार्य शनिबारसम्म चल्नेछ ।” क्यामेरा जडान गरिसकेपछि १५ दिन र रातको समयमा बाघको ‘मुभमेन्ट’लाई निगरानी गरिनेछ । क्यामेरामा ‘रेकर्ड’ भएको बाघको गतिविधिका आधारमा बाघको सङ्ख्या यकिन गरिनेछ ।

वरिष्ठ इकोलोजिष्ट आचार्यले चितवन र पर्साको पहिलो र दोस्रो खण्डमा देखिएका सबल र दुर्लभ पक्षलाई मध्यनजर गर्दै अझै व्यवस्थित ढङ्गले सबै निकायसँग समन्वय गरेर बाघ गणनाको काम अघि बढाउन निर्देशन दिएको छ ।

“पहिलो र दोस्रो खण्डमा देखिएका जटिलता र चुनौतीलाई ध्यान दिँदै सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरेर बाघ गणना कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउनुहोला,” उनले भने, “बाघ गणनाका लागि स्वचालित क्यामेरा जडानलगायतका कार्यमा पनि संवेदनशील र सुरक्षित उपाय अवलम्बन गर्न जरुरी छ । सोतर्फ ध्यान दिन अनुरोध गर्दछु ।”

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले तेस्रो खण्डको बाघ गणना गर्न १२ क्याम्पबाट सात–सात जनाको टोली खटाइएको जानकारी दिए । “तेस्रो भागको बाघ गणना गर्नका लागि यहाँ सात–सात जनाको टोलीले बाघ आउजाउ र हिँड्डुल गर्ने ठाउँलाई लक्षित गरेर ३२८ जोडा स्वचालित क्यामेरा जडान गरिनेछ,” उनले भने, “ती स्वचालित क्यामेराले १५ दिन र रातको समयमा बाघको गतिविधिलाई कैद गर्नेछ । जसबाट आउने तथ्याङ्कबाट बाघको गणना गर्न सकिनेछ ।”

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा निकुञ्जभित्र पर्ने विभिन्न १२ स्थानमा क्याम्प राखेर बाघ गणनाको काम अघि बढाइएको बताए । क्याम्पमा रहेका टोलीका सदस्यले क्यामेरा जडानदेखि निगरानी लगायतका काम गर्नुपर्नेछ ।

भाठ्ठाको दुई ठाउँमा क्याम्प गराइनेछ । त्यसैगरी शीतलपुर, महादेवपट्टि, अमलेखगञ्ज, चुरियामाई, रातोमाटे, सहजनाथ, निजगढ, चपुर, घोडेमसान, तामागढी लगायतमा सात–सात जनाको टोली खटिएर ३२८ जोडी स्वचालित क्यामेरा जडान गरेर बाघको निगरानी गरिनेछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले चितवन र पर्साको पहिलो र दोस्रो खण्डको बाघ गणनाको काम सकेर क्यामेरा निकालिसकेको बताए । “एक खण्डमा बाघको गणना गर्न राखेको स्वचालित क्यामेरा १५ दिन र रात राखेपछि आवश्यक प्रक्रिया पूरा गरेर निकाल्ने गरिन्छ,” उनले भने, “क्यामेरा जडान गर्न र निकाल्नका लागि औसतमा दुई–तीन दिन लाग्ने गर्छ ।” स्वचालित क्यामेरा ४० देखि ६० सेन्टिमिटरमा राख्ने गरिन्छ ।

उनले बाघ गणनाका लागि सरिक हुने गणकहरुले आफ्नो सुरक्षामा कुनै पनि खालको कमीकमजोरी नगर्नका लागि अनुरोध गर्दछु ।” उनले पहिलो र दोस्रो खण्ड बाघ गणनाका क्रममा जङ्गली हात्ती तथा बाघको कारणले २४ वटा क्यामेरामा क्षत पुगेको जानकारी दिए । निकुञ्जका अनुसार पहिलो र दोस्रो खण्डमा गरेर एक हजार २०४ जना स्वचालित क्यामेरा प्रयोग गरिएको थियो ।

संरक्षण अधिकृत हेमराज आचार्यका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गणना गरिँदै आइरहेको छ । क्यामेरा दुई–दुई वर्गकिलोमिटरको दूरीमा राख्ने गरिन्छ ।

हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी हुने गर्छन् ।

बाघको तस्बीर हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याउने गरिन्छ । यस अघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेको तथ्याङ्क सार्वजानिक गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा १२८ र पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ भेट्टिएको थियो । बाँकी अन्य ठाउँमा भेट्टिएका थिए ।

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताए । पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले पार्टी सुदृढ सङ्गठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै एमालेले गत भदौको विध्वङ्शले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पु¥याएको क्षतिको पुनःनिर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताए ।

कार्यक्रममा विज्ञहरुले पार्टीले बनाउने घोषणापत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने किसिमले बनाउनुपर्ने बताएका थिए । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

शान्तिसुरक्षा बिथोल्न खोज्नेलाई कडाभन्दा कडा कारबाही गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

काठमाडौं, १५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुद बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । आज निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको कुरा पनि विश्वास दिलाएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार गृहमन्त्री अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराएका थिए ।

आपराधिक तथा निर्वाचनविरोधी गतिविधिउपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनसमेत दिएको कुरा गृहमन्त्री अर्यालले स्पष्ट पारेका थिए । यस्तै, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा सरकारबाट प्राप्त भएको सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गरेका थिए ।

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा। जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन्। यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन्।

पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ मतदाता छन्।

कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन्। अघिल्लो निर्वाचनमा भन्दा यसपटक छ हजार ११० जना मतदाता थपिएका छन्।

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी। मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो ।

समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा सङ्कलन गरेर जुटाएको थप रु दुई लाख २३ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो ।

बिम–मालिका सङ्घको सहयोगमा २०७७ साल का पहिरोपीडितको लागि एकीकृत बस्ती स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो ।

राष्ट्रियसभा अन्तर्गत दुई समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत आज विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गरिने बताइएको छ ।

यस्तै, बिहानको १०ः१५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गरिने बताइएको छ ।

आज भीमा एकादशी मनाइँदै

काठमाडौं । आज माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । अन्य एकादशीहरू जस्तै भीमा एकादशीलाई पनि पाप हरण गर्ने तथा भोग र मोक्ष दुवै प्रदान गर्ने महत्त्वपूर्ण एकादशीका रूपमा लिइन्छ ।

महाभारतकालदेखि नै भीमा एकादशीको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । कुन्तीपुत्र भीमले यस दिन व्रत बसेको प्रसङ्गसँगै यस एकादशीको नाम ‘भीमा एकादशी’ रहन गएको विश्वास गरिन्छ ।

गरुड पुराणअनुसार भीम अत्यन्त बलवान, मोटा र खन्चुवा स्वभावका थिए, जसका कारण उनले व्रत बस्न सक्लान् भन्नेमा धेरैलाई शंका थियो । तर भीमले ठूलो त्याग र समर्पणका साथ एकादशी व्रत बसेपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी भएको बताइन्छ । भीमले एकादशी व्रत बसेकै कारण सबै पितृ ऋणबाट मुक्त भएको पनि मान्यता छ ।

धार्मिक मान्यताअनुसार भीमा एकादशीको व्रतले ब्रह्महत्या, सुरापान, सुन चोरी, गुरु–पत्नी गमन जस्ता महापाप नाश गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, गङ्गा, यमुना लगायत सबै तीर्थहरूको दर्शन गरेसरह पुण्य प्राप्त हुने विश्वास गरिएको छ । कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्मभन्दा भीमा एकादशीको व्रतलाई श्रेष्ठ मानिन्छ ।

कलियुगमा भगवान्को नाम जप्नुलाई नै सबैभन्दा ठूलो यज्ञ मानिन्छ । एकादशीका दिन भगवान् विष्णुको नाम जप तथा आराधना विशेष फलदायी मानिन्छ । भीमा एकादशीका अवसरमा सुनसरीस्थित वराहक्षेत्रमा भगवान् विष्णुको बराह अवतारको दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । यसका साथै देशभरका अन्य देवालय तथा तीर्थस्थलहरूमा पनि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो २५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १६० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ५० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो ७५ रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ७० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ५५ रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी प्रतिकिलो १८० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ८० रुपैयाँ, पुदिना प्रतिकिलो ३०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३२० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो १४० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो ११० रुपैयाँ, जुनार प्रतिकिलो ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

चितवन। भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

सुनसरी। धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित् रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।

यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर र युकेबाट पर्यटकहरू गल्फ खेल्न धरान आउने गरेका छन् ।

“धरान गल्फ क्लबमा ८० जना सदस्य छौँ । हाल दैनिक एक सयभन्दा बढी खेलाडी विभिन्न स्थानबाट गल्फ खेल्न आउने गरेका छन् । सन् १९६२ मा स्थापना भएको यो गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ”, अध्यक्ष राईले बताउनुभयो ।

सुनसरी गल्फ सङ्घका अध्यक्ष तथा सिङ्गल ह्यान्डिक्याप खेलाडी जितेन्द्र राईले विगतमा गल्फबारे जानकारीको अभावका कारण खेलाडीको सङ्ख्या कम रहे पनि पछिल्लो समय आकर्षण बढ्दै गएको बताउनुभयो । “गल्फ खेल्न सजिलो छैन, सिक्न समय लाग्छ, तर यो ‘जिरो इन्जुरी’ खेल भएकाले अहिले धेरैको चासो बढेको छ”,उहाँले भन्नुभयो, “मैले स्वास्थ्यका लागि सुरु गरेको यो खेल हाल जीवनको हिस्सा बनेको छ ।”

अध्यक्ष राईका अनुसार धरान गल्फ कोर्स नेपालमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने अग्रणी संस्था बन्दै गएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय गल्फ खेल खेलाडीहरूका लागि आयआर्जनको माध्यमका रूपमा विकास हुँदै गएको छ । मैले पनि धेरै टुर्नामेन्टमा भाग लिएर सम्भावना छ भनेर उदाहरण पेस गरिरहेको छु । अरु पनि त्यो बाटोमा अगाडि बढिरहनुभएको छ ।”

धरानमा ब्रिटिस क्याम्प स्थापना भएपछि सन् १९६२ मा क्याम्प परिसरमै १८ होलको गल्फ कोर्स निर्माण गरिएको थियो । धरान ‘लाहुरेको सहर’ भनेर पनि चिनिन्छ । ब्रिटिस संस्था ‘नोफिल गिफ्ट’ ले स्थापना गरेको यो गल्फ कोर्स सन् १९६२ मा ब्रिटिस लाहुरेलाई हस्तान्तरण गरिएको गल्फ क्लबका सदस्य राजु राईले बताउनुभयो । “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स विस्थापित भएको थियो । पछि स्थानीयको बढ्दो चासो र सहयोगका कारण नयाँ सदस्य बनाएर पुनः सञ्चालनमा ल्याइएको हो”, उहाँले भन्नुभयो ।

नेपालमा गल्फ कोर्स सीमित छन् । पूर्वी नेपालमा धरानमै मात्र रहेको यो गल्फ कोर्सलाई ‘पूर्वको गहना’ का रूपमा लिइन्छ । यहाँ न्यूनतम शुल्कमा गल्फ खेलाइँदै आएको बताउँदै राईले गल्फको विकासका लागि सरकारले ध्यान आवश्यक रहेको बताउनुभयो ।

गल्फ खेल शान्त रूपमा खेलिने भएकाले यसलाई ‘माइन्ड गेम’ समेत भनिन्छ । खेलाडीका अनुसार यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । ढाड दुख्ने, जोर्नी तथा नसासम्बन्धी समस्या भएका व्यक्तिका लागि यो खेल लाभदायी मानिन्छ । गल्फ खेल्न उमेरको हदबन्दी नहुने भएकाले सबै उमेर समूहका लागि उपयोगी हुने खेलाडीको भनाइ छ ।

विसं २०७८ फागुनमा धरान गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माणपछि व्यवस्थापनमा सहयोग पुगेको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको संरचनाले व्यवस्थापनमा ठूलो टेवा पुगेको सुनसरी गल्फ सङ्घका अध्यक्ष राईले बताउनुभयो ।

हाल धरान गल्फ कोर्समा महिनामा आधा दर्जनभन्दा बढी प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । यही माघ १६ र १७ गते कोशी प्रदेश गल्फ सङ्घ र चिभास रिगलबीचको सहकार्यमा ‘चिभास रिगल इस्टर्न गल्फ टुर्नामेन्ट’ आयोजना हुने भएको छ । सो प्रतियोगितामा देशभरका ९० भन्दा बढी ‘एमेच्योर गल्फर’को सहभागिता रहने जनाइएको छ ।

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ ।पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

“हाल हामी जनवर्गीय सङ्गठनलगायत धेरैजसो क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्र लेखनको काम गरिरहेका छौँ”, उनले भने, “केही छुटेका क्षेत्रबाट सुझाव सङ्कलन गरेर हामीले घोषणा पत्रको अन्तिम मस्यौदा बनाउने छौँ ।”

प्रचार संयोजक शाहीका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव सङ्कलन गरिसकेको छ ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई विजय गराउन पार्टीभित्र एकता आवश्यक रहेको बताएका हुन् ।

महामन्त्री पौडेलले भने, “फागुन २१ मा हुने निर्वाचन आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय हो, पार्टीभित्रका सबै उम्मेदवारलाई जिताउनु सबैको जिम्मेवारी रहन्छ । पार्टीले पछिल्लो परिस्थिति र जनभावनाअनुसार लोकप्रिय उम्मेदवार तय गरेको छ । पार्टीभित्र एकता कायम राख्नेगरी टिकट वितरण गरिएको छ । क्रियाशील सदस्य नै पार्टीको जितको आधार भएकाले सबै एकताबद्ध भएर लागौँ ।”

उनले पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने र देश विकासमा प्रस्ट दृष्टिकोण समेट्ने गरी घोषणापत्र ल्याउने तयारी गरिएको जानकारी दिए । काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले निर्वाचनमा परिणाम ल्याउने गरी सामाजिक सञ्जालको सदुपयोग गर्न पनि आग्रह गर्दै पार्टी बदलिएको सन्देश आम कार्यकर्ता र जनता दिन जरुरी रहेको बताए ।

परिणाम बदलिरहने कास्की १ मा रोचक बन्दै निर्वाचन, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी, १५ माघ । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ ।सात तालको वाटिका शहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ । पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन् ।यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

यस क्षेत्रमा कुल उम्मेदवारमध्ये १६ जना पुुरुष, एक जना महिला रहेका छन् भने जसमध्ये १६ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार हुन् ।

कास्की जिल्लाका तीनवटै क्षेत्रमा कुल मतदाता तीन लाख आठ हजार ५७२ रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा पर्ने मादी र रूपा गाउँपालिकामा जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना रहेर पनि त्यसको समुचित उपयोग हुन सकेको छैन भने महानगरका वडाहरूमा पनि अपेक्षित रुपमा विकास हुन सकेको पाइँदैन ।

यहाँ गाउँ पर्यटनका विशिष्ट गन्तव्यहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य रहेका छन् । कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर जस्ता ऐतिहासिक गन्तव्यले पनि यहाँको महिमा र गरिमा चुलिएको छ । पदयात्रा पर्यटनमा उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादी गाउँपालिकाको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङतिङदेखि सिक्लेससम्मका पदमार्ग पदयात्रा पर्यटनका गन्तव्य हुन् ।

यस्तै, सिक्लेस र ताङतिङलगायत स्थानबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलगायतले यहाँको पदयात्रा पर्यटनको महत्वलाई अझै उचाइमा पुु¥याएको पाइन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यहाँको अर्को आकर्षण हो ।

यसैगरी सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङतिङलगायतका सडकको स्तरोन्नतिका विषय आसन्न निर्वाचनका लागि मतदाताले उम्मेदवारसँग खोज्ने चुनावी मुद्दा रहेको जानकारहरू बताउँछन् ।

यहाँका जङ्गलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । यस्तै, पोखराकै दोस्रो ठूलो बेगनासतालसहित क्षणक्षणमा रुप फेरिरहने रुपातालका साथै दीपाङ्ग, खास्टे, मैदी, न्युरेनी, गुँदे जस्ता तालको पर्यटकीय उपयोग यहाँका सम्भावना हुन् ।

ऐतिहासिक महत्वको कालिका मन्दिरसहित ठूलाकोट, हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना यस क्षेत्रमा रहेका छन् ।

शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिङ्करोड र बेगनास भोर्लेटारलगायतका सडकका स्तरोन्नति र विकासमा सर्वसाधारणले उम्मेदवारसँग प्रतिबद्धता खोज्न सकिने देखिन्छ ।

यसै क्षेत्रबाट यसअघि २०४८ सालमा निर्वाचित भएर नेपाली कांग्रेसका तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसयता विसं २०५१ मा नेकपा ९एमाले०का खगराज अधिकारी, २०५६ मा नेपाली कांग्रेसका रानाभाट दोस्रोपटक विजयी बनेका थिए ।

विसं २०६२÷२०६३ को लोकतान्त्रिक आन्दोलनपछि विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) अर्थात् तत्कालीन नेकपा माओवादीका देव गुरुङ विजयी बनेका थिए । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन हुँदा माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बनेका थिए । त्यसपछि विसं २०७९ को निर्वाचनमा एमालेका मनबहादुर गुुरुङ विजयी बनेका थिए।

एकपछि अर्को निर्वाचनमा फरकफरक दलबाट विजयी हुने भएकाले यस क्षेत्रलाई परिणाम फेरिरहने क्षेत्रका रुपमा लिइन्छ ।

यस पटकको निर्वाचनमा एमालेबाट वैनबहादुर अधिकारी क्षेत्री, कांग्रेसबाट तिलकबहादुर रानाभाट, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खडकराज पौडेल (गनेश), राप्रपाबाट बाबुराम थापा, उज्यालो नेपाल पार्टीबाट मनीषा द्वालगायत १७ जनाको उम्मेदवारी रहेको छ ।

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

दमौली, माघ १५ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ । यसैगरी, निर्वाचनमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता छन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदात छन् । जिल्लामा १४४ मतदानस्थल र ३०९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ ।