`

भ्रामक अफवाह रोक्न र सद्भाव कायम गर्न धनुषामा सर्वपक्षीय प्रतिबद्धता

धनुषामा पछिल्ला घटनाक्रमपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार बसेको सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले जिल्लाको शान्ति–सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न सबै पक्षले साझा पहल गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा धनुषाको सदरमुकाम जनकपुरधामसहित जिल्लाभर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न धर्मगुरु, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघ–संस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।

नागरिकबीच आपसी भाइचारा र धार्मिक सहिष्णुता सुदृढ बनाउन सबै पक्षले आवश्यक पहल र सहकार्य गर्ने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना र अफवाह फैलाउने, पुराना घटनालाई तोडमोड गरी प्रचार गर्ने, धर्म तथा सम्प्रदायबीच घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई निरुत्साहित गर्न सबै पक्ष सहमत भएका छन्।

शेखरले एसियाली आइटीएफमा खेल्ने

काठमाडौँ। शेखर थापाले ११औँ एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।दुई स्पर्धामा उनले पुरुष ६५-७० केजी तौल समूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्ने छन् ।

मङ्गोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ती सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

अफिसियलका रूपमा नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुनेछन् ।

दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन्। महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–इजरायलबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको छ ।

भेटका क्रममा राजदूत बासले सन् १९६० देखि नेपाल–इजरायलबीच रहेको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, कृषि आधुनिकीकरण लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो ।

सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिमार्फत सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार, दूरसञ्चार प्रविधि र नवप्रवर्तनका क्षेत्रमा इजरायलको अनुभव तथा असल अभ्यासबाट नेपाल लाभान्वित हुन सक्ने बताउनुभयो । उहाँले सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा नेपाली युवाका लागि तालिम, अध्ययन र व्यावसायिक अनुभवका अवसर विस्तार गर्न आग्रह गर्नुभयो ।

भेटमा दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएका थिए ।

विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यक छ – सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जिल्लाको लिखु गाउँपालिकाको समग्र विकास निर्माण, स्थानीय पूर्वाधार र नागरिकका अपेक्षाबारे जानकारी लिनुभएको छ ।

आज सञ्चार मन्त्रालयमा लिखु गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेल, पार्टीका विभिन्न वडा सभापति तथा पदाधिकारीसँग छलफल गरी स्थानीय तहमा देखिएका समस्या र विकासका आवश्यकताबारे विस्तृत जानकारी लिनुभएको हो ।

छलफलका क्रममा स्थानीयवासीले जिल्लामा रासायनिक मलको अभाव हुँदा कृषकले खेतीपातीमा कठिनाइ भोगिरहेका, स्थानीयस्तरमा उत्पादन हुने कृषिउपजले उचित बजार नपाउँदा किसान निरुत्साहित भइरहेका, पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषि उत्पादन प्रभावित हुनुका साथै सडक पूर्वाधारको स्तरोन्नति आवश्यक रहेको विषय उठाउनुभएको थियो । लिखु गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणलाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने उहाँहरूको माग थियो ।

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि सबैभन्दा पहिले त्यहाँका जनप्रतिनिधि र स्थानीयस्तरबाट आवश्यक पहल र सक्रियता हुनुपर्ने बताउनुभयो । स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध रूपमा अघि बढेमा विकास निर्माणलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।

सञ्चारमन्त्री तिमिल्सिनाले विकासका जटिल तथा दीर्घकालीन समस्या समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय, सहकार्य तथा सामूहिक पहल अपरिहार्य रहेको उल्लेख गर्नुभयो । तीन वटै तहका सरकारबीचको सहकार्यबाट मात्रै नागरिकका अपेक्षाअनुसार विकासका कामलाई परिणाममुखी बनाउन सकिने उहाँले बताउनुभयो ।

नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा जिल्लाका नागरिकले उठाएका समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले जिल्लाको विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य र निरन्तर संवाद कायम रहँदा विकास निर्माणलाई गति दिन र स्थानीय आवश्यकता सम्बोधन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । डा तिमिल्सिनाले यसअघि ककनी, तादीलगायत जिल्लाका विभिन्न पालिकाका समस्याबारे पनि छुट्टाछुट्टै जानकारी लिनुभएको थियो ।

सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल

गण्डकी। कास्कीमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले धार्मिक, सामाजिक, सांस्कृतिक एकता र सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले सामाजिक सद्भाव र एकता बिथोलिने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति यदुनाथ अधिकारी, नेपाली कांग्रेसका सभापति किशोरदत्त बराल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय सदस्य झपट रानाभाट, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता डिबी राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष नारायण गुरूङद्वारा आज संयुक्त रूपमा जारी अपिलमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा समुदायबीच द्वेष फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सामाजिक सञ्जालमा भ्रम फैलाउने, कुनै धर्म, संस्कृति वा समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्ति र गतिविधिले सामाजिक सद्भाव खलबल्याउन सक्ने भन्दै त्यस्ता कार्य नगर्न/नगराउन सबैमा आग्रह गरिएको छ ।

दलहरूले आपसी सद्भाव, एकता र भातृत्व कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, धार्मिक गुरूहरू, युवा वर्गलगायतलाई अनुरोध गरेका छन् ।

देवानगन्ज गोलीकाण्डका दुई युवाको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टिका लागि शव परिवारलाई हस्तान्तरण गरिएको हो।

गोलीकाण्डमा मृत्यु भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो। बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको हो।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारलाई बुझाइएको छ।

यसअघि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएको थियो।

सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ

दाङ । आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० बढी फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार विभिन्न प्रकृतिको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेका ६७९ जनालाई २४६ वर्ष तीन महिना २४ दिन कैद सजाय र रु एक करोड ३८ लाख ४२ हजार २९७ जरिवाना तोकिएको उनले जानकारी दिए ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार फरार अभियुक्तमध्ये १० वर्षपछि पक्राउ परेका ८८ जना छन् । त्यस्तै पाँच वर्षपछि पक्राउ पर्नेमा ७० र पाँच वर्षभन्दा कम समयमा पक्राउ पर्ने ५२१ जना रहेका उनले बताए । विगत एक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका एक हजार १२८ वटा मुद्दा दर्ता भएका छन् ।

सबैभन्दा बढी आत्महत्यासम्बन्धी ३३५ र लागुऔषधसम्बन्धी १२६ मुद्दा रहेका उनले जानकारी दिए ।

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यका बाहेकका प्रदेशका ती जिल्लामा सो सङ्ख्यामा दुर्घटना भएका हुन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आवमा प्रदेशका १० जिल्ला मध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । चितवनमा ५४५ दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रुपमा रामेछाप रहेको छ । सो जिल्लामा एक वर्षमा ४७ दुर्घटना भएका छन् । प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छन् ।

यस्तै, काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप क्रमशः छन् । एक वर्षमा भएका दुर्घटनामध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उनले जानकारी दिए ।

उनका अनुसार मुख्य राजमार्गमा एक हजार ११४, ग्रामीण सडकमा ५३९ र सहरी क्षेत्रमा २७१ दुर्घटना भएका छन् । प्रदेशभित्र सवारी दुर्घटना दिनको १२ः०० बजे देखि साँझको ६ः०० बजेसम्म बढी दुर्घटना भएका छन् । प्रमुख पाण्डेका अनुसार सो समयमा ७४० दुर्घटना भएका छन् ।

साँझ ६ः०० बजेदेखि राति १२ः०० बजेसम्म ५७२ वटा, बिहान ६ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म ४९४ र राति १२ बजेदेखि बिहान ६ः०० बजेसम्म ११८ सवारी दुर्घटना भएका छन् । कार्यालयको तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामा भएका दुर्घटनामा परी एक वर्षमा ३४० जनाले ज्यान गुमाएका छन् भने तीन हजार ७६३ जना घाइते भएका छन् ।

अघिल्लो आव २०८१/०८२ मा प्रदेशभित्र दुई हजार ४१२ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ३०४ जनाले ज्यान गुमाएका थिए भने चार हजार ७४७ जना घाइते भएका थिए ।

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिम पटक १५ दिन थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिमपटक १५ दिनको थप समय मागेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जनाएको हो। बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा उत्पन्न समस्या र तिनको समाधानका उपाय सुझाउँदै तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिए । उनले वास्तविक समस्या समाधान गर्न सरकार तत्पर रहेको दोहोर्याउँदै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले भने, “तार व्यवस्थापनलाई सरकारले निष्कर्षमा पु्र्याएरै छाड्छ । काम गर्दै जाँदा केही समय लाग्न सक्छ तर अब समय लम्ब्याउन सकिँदैन ।” उनले काममा देखिएका समस्या र समाधानका लागि सरकारले गर्नुपर्ने विषयबारे समयमै जानकारी गराउन पनि आइस्पानलाई आग्रह गरे ।

उनले अव्यवस्थित तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी तथा व्यावसायिक दायित्व भएको स्पष्ट पार्दै विगतमै यो काम भएको भए अहिलेको अवस्था सिर्जना नहुने बताए । दीर्घकालीन समाधानका लागि एउटै पूर्वाधार विभिन्न सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्न सक्ने व्यवस्थाबारे अध्ययन गर्न पनि उनले निर्देशन दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले सेवा प्रदायक र नियामक दुवै निकायको कार्यसम्पादन प्रति असन्तुष्टि जनाउँदै तोकिएको समयमा काम सम्पन्न नहुनु आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरण दुवैको असफलता भएको उल्लेख गरे । उनले सरकारले समस्या समाधानमा सहयोग गर्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले भने, “आइस्पानले फेरि १५ दिनको समय मागेको छ । यसअघि साउन १५ गतेभित्र काम सक्ने प्रतिबद्धता गर्नुभएको थियो । अब मागिएको अवधिमा काम सम्पन्न हुने विश्वसनीय आधार चाहिन्छ ।”

बैठकमा आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौँ उपत्यकामा पहिलो चरणअन्तर्गत निर्धारण गरिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार उपत्यकासँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम भइरहेको छ । उनले समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी स्थापना आवश्यक रहेको धारणा व्यक्त गरे।

आइस्पानले नेपाल विद्युत् प्राधिकरणले विद्युत्का लाइन भूमिगत गर्दा इन्टरनेट तथा केवल सेवाका तार व्यवस्थापनका लागि पर्याप्त पूर्वाधार निर्माण नभएको विषय पनि उठाएको थियो। कलङ्की–थानकोट, चाबहिल–बौद्धलगायत क्षेत्रमा पाइलट परियोजनाका रूपमा सेवा प्रदायक आफैँले भूमिगत इन्टरनेट तार विस्तार गरिरहेको जानकारी दिँदै आइस्पानले जनशक्ति थप्ने तयारी भइरहेको जनाएको छ।

आइस्पानले नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक जनशक्ति फिल्डमा नखटिने, प्रहरीले कामदारलाई रोक्ने, ट्राफिक प्रहरीले भर्याङ हटाइदिने तथा दक्ष जनशक्तिको अभाव भएको जनाएको छ । अब उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरेर काम चाँडो सम्पन्न गर्ने रणनीति अपनाइने पनि आइस्पानले जानकारी दिएको छ ।

गत असार ३१ गते सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा भएको उच्चस्तरीय अन्तरनिकाय बैठकमा आइस्पानले पहिलो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका छ वटा क्षेत्रमा साउन १५ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई नेतृत्वदायी तथा नियामकीय भूमिका निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने तथा प्रगतिको निरन्तर समीक्षा गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोङ्गबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी ६ वटा स्थानमा अव्यवस्थित तार व्यवस्थापन गर्ने लक्ष्य छ ।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि रु २५ अर्ब बराबरको दुईमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै ६१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ ।

सूचनाअनुसार आज अपराह्न ३ः०० बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबिएसएस) मार्फत मात्र बोलकबोल गर्न सकिनेछ। निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज २०८३ असोज १४ गते भुक्तानी गरिनेछ ।

राष्ट्र बैंकका अनुसार न्यूनतम रु १० करोड र अधिकतम रु ५ करोडका गुणाङ्कमा कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकताका आधारमा स्वीकृत गरिने र समान ब्याजदर भएका प्रस्तावको कुल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ । साथै, सङ्कलित निक्षेप अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने तर प्रचलित व्यवस्थाअनुसार एसएलआर तथा तरलता अनुपातमा गणना गर्न पाइने उल्लेख गरिएको छ ।

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् ।

उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन् ।

त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उहाँले त्यस्ता स्थानमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यवाहक उपप्रमुख डङ्गोलले दीर्घकालीन समाधानका लागि ढल र वर्षाको पानी व्यवस्थापनलाई छुट्टाछुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरोकारवाला निकायबीच समन्वय गरी यस्ता पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।

सहरीकरणको तीव्र विस्तारसँगै पुरानो ढल प्रणालीले अहिलेको आवश्यकता धान्न नसकेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले दीर्घकालीन सोचका साथ आधुनिक वर्षा पानी व्यवस्थापन प्रणाली (स्टर्म वाटर ड्रेनेज) विकास गर्नुपर्नेमा जोड दिइन्। अतिक्रमणका कारण पनि यस्ता समस्या उत्पन्न हुने गरेको उनको तर्क थियो ।

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जान्छन् । “हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्… !”, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, “ए, लेखिदिने ! हुन्छ ।”

साहुजी अघि उठेकै ठाउँमा फर्किँन लागेको बेला फेरि आवाज आउँछ, “सर, केही सामान राख्नुछ ?”

“अहिले होइन, दुई/तीन दिनपछि आउनुस् ल”, साहुजीले उस्तै मुस्कानसहित उत्तर फर्काउँछन्।

फेरि अर्को आवाज आउँछ, “साहुजी कति बोरा चामल ?”

साहुजीले आफ्नै शैलीमा भन्छन्,“चार बोरा मोटा, तीन बोरा मसिना !”

पसलमा राखिसकेपछि बिल थमाउँदै चामलवाला भन्छन्,“पैसा दिनुस् न, नभए चेक दिए नि हुन्छ ।”

“चेक त दिने पैसा ?”

“दिनु न दिनु !”,

साहुजी जवाफ फर्काउँछन्, “हुन्छ, तर एक महिनापछि मात्रै साट्न जानु ल ।”

बिहानको समय, धनगढीको एउटा साधारण किराना पसलमा ग्राहकको आवतजावत सुरु भइसकेको छ । ग्राहक आउँछन् । सामान माग्छन् । काउन्टरभित्र बसेका साहुजी सामान तौलिन्छन्, बिल बनाउँछन्, मुस्कुराएर ग्राहकलाई बिदाइ गर्छन्। अलिकति फुर्सद भएमा फेरि राजनीतिक गफ सुरु हुन्छ, तर कुरा टुङ्गिन पाउँदैन । फेरि उही सिलसिला । सामान माग्ने, दिने !

एउटा पसलको यो दृश्य र साहुजीको विषय धेरैलाई सामान्य लाग्न सक्छ, तर केही वर्षअघि यही व्यक्ति प्रदेश सरकारको मुख्यमन्त्री थिए। कतै जाँदा अघिपछि सरकारी गाडीको लस्कर । सुरक्षा घेरा । एउटा निर्णयले हजारौँ कर्मचारी र लाखौँ नागरिकको जीवन प्रभावित हुने स्थानमा पुगेका व्यक्ति । आज उनको निर्णय ग्राहकको मागमा निर्भर छ । चामलको बोरा उठाउने कि, अण्डा दिने । दाल दिने कि अरु नै । ती व्यक्ति हुन्–सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट।

नेपालमा अधिकांश नेता र उच्च ओहदामा पुगेका व्यक्तिले विलासी र वैभवशाली जीवन बाँच्छन् भन्ने भाष्यबीच यी साहुजी अर्थात् पूर्वमुख्यमन्त्री भट्टले एउटा साधारण जिन्दगी बाँचिरहेका छन्। त्यसैले पनि धनगढी उपमहानगरपालिका–४ घरेलु चौकस्थित त्यो ‘न्यू प्रस्थान किराना पसल’ साधारण छैन । “राजनीति मेरो लागि सेवा हो, जीवन चलाउने माध्यम होइन”, पूर्वमुख्यमन्त्री भट्टको यो भनाइ राजनीतिक भाषण मात्रै होइन, जीवनशैली नै बनेको छ ।

मुख्यमन्त्री हुनुअघि उनले राजनीति र खेतीसँगै गर्थे । लामो समय त भारतमा काम गरेर बिताए । भट्ट सङ्घीयता कार्यान्वयनका क्रममा २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनपछि कार्यकारी जिम्मेवारीमा पुगे । त्यसबेला ‘चौकीदार मुख्यमन्त्री’ भनेर चर्चासमेत भएको थियो ।

पदबाट बाहिरिएपछि उनले आफ्नो पहिलेकै जीवनतर्फ फर्किएका छन्, अर्थात् श्रम र राजनीतिसँगै गर्ने जीवनतर्फ । “कार्यकारी भूमिका निर्वाह गरेपछि तरकारीखेती गर्ने इच्छा थियो, जमिन छैन । भाडामा लिनसक्ने पुँजी भएन । ठुलो व्यापार गर्ने हैसियत थिएन”, भट्टले भने, “ अन्ततः एउटा सानो किराना पसलबाट नयाँ सुरुआत गर्ने निर्णय गरेँ । २०८२ वैशाखमा यो पसल सञ्चालन गरेको हुँ ।” ठुलो लगानी थिएन । अचेल पनि अवस्था त्यही छ—अलिअलि सामान बेच्ने, फेरि किन्ने, फेरि बेच्ने । “सानैबाट सुरु गरौँ भन्ने सोचबाट रु तीन/चार लाख लगानीमा यो पसल सञ्चालन भएको हो, अहिले पनि ठुलो बनाउन सकिएको छैन । हेरौँ भविष्यमा के के हुन्छ”, उनी भन्छन्। भट्टको सपना केबल किराना पसल चलाउनु मात्रै होइन, सुदूरपश्चिमका रैथाने अन्न, अर्गानिक उत्पादन र स्थानीय किसानका वस्तुलाई बजारसँग जोड्ने केन्द्र बनाउने हो।

लगानीले भने साथ दिएको छैन, तर सपना अझै जीवितै रहेको उनले सुनाए। लगानी नभएकाले व्यवसाय सानै छ । दैनिक हुने कारोबारले केहीले सामान थप्ने र केहीले परिवारका आवश्यकता पूरा गर्ने चक्र चलिरहेको छ । पूर्वमुख्यमन्त्री भट्टको जीवन पनि त्यही चक्रमा छ–सामान्य, तर स्वाभिमानी।

सानो व्यापार, ठुलो सन्देश

त्रिलोचन भट्ट २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट चुनावमा पराजित भए । वि.सं. २०७४ को निर्वाचनमा भने डोटीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए। तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट चुनाव जितेका उनी सर्वसम्मत संसदीय दलको नेता र पाँच वर्ष मुख्यमन्त्री भए।

नेपाली राजनीतिमा एउटा अनौठो संस्कार छ । एकपटकको नेता सधैँको नेता । कामभन्दा कुरा बढी । अनि अवसर पाएका बेला कमाइहालौँ भन्ने सोच । उहाँले पनि पाँच वर्ष मुख्यमन्त्रीका रुपमा सरकारले दिएको सुविधा उपयोग गरे तर त्यसपछि के गर्ने भनेर कहिल्यै सोचेनन् । पाँच वर्ष महँगो गाडी चढे । राज्यसत्ता के हो भनेर बुझे तर पदमा नहुँदा के गर्ने ? “त्यसबारे कहिल्यै सोचिन, किनकी मुख्यमन्त्रीबाट हटेपछि मैले बाँच्ने जिन्दगीबारे प्रष्ट थिए । त्यसैले मलाई मुख्यमन्त्रीको सेवासुविधा छुटेपछि पनि कहिल्यै असहज लागेन । अरु नागरिक सरह दिनचर्या चलिरहेको छ”, पूर्वमुख्यमन्त्री भट्टले भने।

आफू विगतदेखि नै काम गरी खाने श्रमजीवि नागरिकको बीचमै रहेकाले सरल जीवनबारे सधैँ गौरव रहेको उनी बताउँछन् । उनले भने, “मैले नजिकबाट देखे नि ! राज्यको जिम्मेवार पदमा गए पनि देशको आर्थिक अवस्था र दिइने सुविधाले सामान्य जीवन बाँच्नेभन्दा धरै चिज गर्न सकिँदैन, चाहे राष्ट्रपति हुनुस्, प्रधानमन्त्री वा मुख्यमन्त्री । तथापि, धेरैले रहरलाग्दो जिन्दगी बाँचिरहेका छन् । त्यसैले पनि अधिकांश नेता आलोचित छन् । मेरो प्रष्ट कुरा भनेको नेता होस् या जोसुकैले आफ्नो र परिवारको जीवन चलाउन केही न केही गर्नै पर्छ ।”

भट्टसँग न आफ्नै घर छ न गाडी । आफ्नै जग्गासमेत छैन । “गाउँमा रहेको पुर्ख्याैली सम्पत्ति पनि चार दाजुभाइको साझा छ । मेरो व्यक्तिगत केही छैन”, उनी भन्छन् । यो वाक्य नेपाली राजनीतिमा सामान्य सुनिदैन, किनभने यही देशमा केही महिनाको सत्ताले करोडौँको सम्पत्ति जोडेको चर्चा सामान्य विषय बनिरहेको छ ।

पूर्वमुख्यमन्त्री भट्ट पनि अचम्म मान्दै भन्छन्, “केही महिना र वर्ष कार्यकारी पदमा बसेर टन्न सम्पत्ति कमाएका मानिस देख्दा म सोचिरहन्छु–कसरी सम्भव भयो ? यो प्रश्न एक व्यक्ति, नेता वा पार्टी प्रणालीका लागि मात्र नभई सम्पूर्ण सामाजिक तथा राजनीतिक संस्कृतिका लागि पनि हो ।”

उनको बुझाईमा समस्या राजनीतिमा मात्रै होइन, सामाजिक मनोविज्ञानमा पनि छ । “जनताले पनि मेरो नेताले पदमा हुँदा जसरी भए पनि आफ्नो काम गरिदेओेस् । नेताले नेताको जस्तो जिन्दगी बाँच्नसक्नुपर्छ नि भन्छन् । इमान, नीति, नियमको कुरा गरेमा तिनैले यस्तो पनि नेता भनेर कुरा काट्छन्”, भट्टको भोगाइ बोल्छ।

उनी यहीँ दोहोरो चरित्रकोबिचमा आफू उभिएको बताउँछन्। “कतिपयले मलाई देखेर बिचरा ! पाँच वर्ष मुख्यमन्त्री भयो, अहिले पसल चलाइरहेको छ । आफ्नै लागि केही गरेको रहेनछन् अनि कसरी अरुको लागि गर्थे भनेर कुरा काट्छन्”, पूर्वमुख्यमन्त्री भट्ट यस्तो प्रवृत्तिप्रति खिन्नता प्रकट गर्छन् । उनी आफूलाई कहिल्यै पनि बिचरा मान्दैनन् । बरु समाजलाई एउटा प्रश्न सोध्छन्, “बिचरा जीवन भनेको आखिर के हो ?” उनको उत्तर सरल छ । “इमानले बाँचेको जीवन नै महान् हुन्छ । त्यसैले म अहिले बाँचेको जीवनमै खुसी छु । कार्यकारी पदमा हुँदा पनि राजनीतिक रूपमा कसैले टिकाटिप्पणी गर्नेबाहेक मेरो आर्थिक चरित्रमाथि कसैले प्रश्न उठाउन सकेनन् । यही नै मेरो सबैभन्दा ठूलो पुँजी हो”, पूर्वमुख्यमन्त्री भट्ट प्रसन्नता प्रकट गर्छन्।

हुन त उनलाई राजनीतिले अर्को पाठ पनि नसिकाएको होइन, आर्थिक रूपमा कमजोर राजनीतिज्ञको वरिपरि धेरै भिड हुँदैन, किनकी हाम्रो राजनीतिक संस्कृतिमा शक्ति र स्रोतलाई नै प्रभावको मापन मान्ने प्रवृत्ति अझै बलियो छ । तथापि, भट्ट त्यसलाई स्वीकार्दैनन् । उनी भन्छन्, “राजनीति सिद्धान्त, निष्ठा, इमान र जनविश्वासले टिक्नुपर्छ । यद्यपि, त्यो विश्वासलाई हामीले जोगाउन सकिरहेका छैनौँ।”

उनको परिवारमा छ जना छन् । श्रीमती, दुई छोरी, एक छोरा र बुहारी । सबैले पसलमा हात बाँड्छन् । व्यवसाय ठूलो छैन, तर श्रम साझा छ । आम्दानी थोरै छ, तर इमानको मूल्य धेरै छ । “इमान्दारीको रोटी सबैभन्दा मिठो हुन्छ । त्यो कुरा मेरो परिवारले पनि बुझेको छ । गत भदौको ‘जेनजी’ आन्दोलनले थप बुझाएको छ”, भट्ट भन्छन्, “त्यसताका परिवारमा कुरा चलेको थियो, इमानमाथि प्रश्न बाँकी राखेर बनाइएका घर त जल्दा रहेछन्, हामीले त्यसरी बनाएको भए पनि आखिर जलिहाल्दो त रहेछ !”

एउटा सानो किराना पसल, तर त्यो पसलमा बेचिने सामानसँगै एउटा महत्वपूर्ण सन्देश पनि छ–सत्तापछि पनि जिन्दगी हुन्छ, तर त्यो इमानमा टिक्न सक्नुपर्छ । आजको हरेक नेतृत्वले यो सन्देश प्रवाह गर्न आवश्यक रहेको भट्टको कथन छ । “किनकी लोकतन्त्रलाई जीवन्त बनाउने र नेताको कद ठुलो बनाउने कुर्सीले होइन, कुर्सीमा छँदा उसले गरेको कर्म र कुर्सी छोडेपछि उसले बाँचेको जीवनले हो । मेरो प्रयत्न त्यसैका लागि हुनेछ”, उनले भने।

राजनीतिका कुरा

देशमा राजनीतिक उथलपुथलको अवस्था छ । गत फागुनको निर्वाचनबाट पुराना राजनीतिक दलको अस्थित्वमाथि नै प्रश्न उठेको छ । तथापि, तीनै दलहरुले आफ्नो अस्थित्व भएको ठाउँमा सरकार फेरिइरहने र गठबन्धन बदलिइरहने प्रवृत्ति छोडेका छैनन् ।

यस्तो प्रवृत्तिबाट उनी खिन्न छन् । इतिहास बोकेका पार्टीले समयको वेग र आफ्नो राजनीतिक धरातल बिर्सिएमा पार्टी मात्र नभई सङ्घीय व्यवस्थाकै भविष्यमाथि चुनौती थपिनेमा सचेत हुनुपर्ने पूर्वमुख्यमन्त्री भट्टको सुझाव छ ।

“तपाईं हामी कुरा गरिरहेको बेला सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थामा छ । पहिलो कार्यकालमा हामीले सबै चुनौतीको सामना गर्दै एउटा थिति बसालेर सत्ता हस्तान्तरण गरेका थियौँ । त्यसैले दोस्रो कार्यकालको सहज अवस्थामा पनि अपेक्षित काम भएका छैनन् । यो दल र व्यवस्थाकै लागि विडम्बनाको विषय हो”, पूर्वमुख्यमन्त्री भट्टले भने ।

उनी नयाँ राजनीतिक दलले सकारात्मक ऊर्जा र उत्साह दिन नसके नेपाली राजनीतिको भविष्य नै सङ्कटमा पर्ने बताउँछन्। “वर्षौँवर्ष त्याग, सिद्धान्त र निष्ठाको जीवन बाँचेका नेताहरु कालान्तरमा बदनाम भए । पछिल्लो समय त सजिलै राजनीतिमा आएका नेताहरु छन्, उनीहरु चाँडै त्यसो नहोलान् भन्न सकिन्न । त्यसैले नेपाल र नेपालीको सुन्दर भविष्यका लागि पनि सबै स्वार्थ छोडेर नयाँ पुराना सबै सचेत हुनुपर्ने आवश्यकता छ”, नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिमका सहइन्चार्जसमेत रहेका भट्ट भन्छन् ।

उनी मात्रै होइन, नेपालको राजनीतिमा यस्तै अरु व्यक्तिका कथा पनि छन्, तर ती अल्पमतमा छन् । त्यसैले धनगढीको त्यो सानो किराना पसल अचेल केबल व्यापार गर्ने ठाउँ मात्रै होइन, एउटा महत्वपूर्ण सन्देश दिने ठाउँ बनिरहेको छ ।

नेता कार्यकर्ताका जीवन, उठनबसन, तडकभडकलगायत कुराले थुप्रिएको आक्रोश विस्फोट हुने क्रम बढेकाले अब हरेक अगुवाले इमानको जीवन बाँच्नुपर्ने र त्यो सन्देश सही ढङ्गले प्रवाह गर्नुपर्ने पूर्वमुख्यमन्त्री भट्टको भनाइ छ ।

“सत्ता, शक्ति र सम्पत्तिका लागि जे पनि गर्ने मनोवृत्तिबाट राजनीति र शक्ति तथा पहुँचका भरमा आफ्नो काम जसरी पनि गराउनुपर्छ भन्ने आमप्रवृत्ति बदल्नै पर्छ । तब मात्रै हामीले सोचेको देश र समाज बन्छ”, उनले भने ।

बुढानीलकण्ठमा तीन दिने बक्सिङ महाकुम्भ, शुक्रबार अन्तिम भिडन्त

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वर्ल्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ (NMBA) बिहिबारदेखि सुरु भएको छ ।

मितेरी स्पोट्स क्लबमा सुरु च्याम्पियनसिप साउन आजसम्म चल्नेछ । उद्घाटन कार्यक्रम गर्दै बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगरले खेल र खेलाडीको विकासका लागी कुनै कसर बाँकी नराखेको बताए । उनले भने, “गोल्ड मेडल प्राप्त गर्ने खेलाडीलाई नगरपालिकाले सम्मान गरेर हौसला प्रदान गरेका छौ । खेलकुदको विकासको लागी बजेट ब्यवस्थापन गर्दै आएका छौं ।”

कार्यक्रममा नगर उपप्रमुख अनिता लामाले बुढानीलकण्ठमा अन्तर्राष्ट्रिय स्तरको खेलको आयोजना गर्न पाउदा खुशी ब्यक्त गर्दै बुढानीलकण्ठ हरेक विधाको खेलमा अघि रहेको दाबी गरिन । उद्घाटन कार्यक्रम आयोजक टिमका अध्यक्ष मोहन खड्काको अध्यक्षतामा भएको थियो । उनले देश विदेशबाट प्रतिस्पर्धा लागी सहभागी खेलाडीलाई स्वागत गरे । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नेपालसँगै भारत, बङ्गलादेश, श्रीलङ्का, अजरबैजान लगायतका ८ देशका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने तथा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ।

नेपाल मिक्स बक्सिङ एसोसिएसनले यसअघि एसियन मिक्स बक्सिङ च्याम्पियनसिप समेत सफलतापूर्वक आयोजना गरिसकेको छ। च्याम्पियनसिप आयोजक टिममा उपाध्यक्ष बिष्णु पोखरेल, सचिव सीता श्रेस्ठ, कोषाध्यक्ष भक्त बहादुर राना मगर, सदस्यहरु सरोज गिरी, धनलाल महर्जन र बसन्त पोखरेल छन् । नवराज भन्डारी र महेश ख्वान्जु प्रमुख सल्लाहकार छन्।

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह

काठमाडौँ। नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।

परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद र वार्तामार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा वा द्वन्द्वका माध्यमबाट समाधान ननिस्कने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ ।

परिसङ्घले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार र पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति दुःख र चिन्ता व्यक्त गर्दै आमनागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न समाजका विभिन्न सङ्घ संस्था, निजी क्षेत्र तथा नेपाल उद्योग परिसङ्घका प्रदेश र जिल्ला शाखालाई शान्ति र सद्भाव प्रवर्द्धन गर्ने गतिविधिमा सक्रिय सहयोग गर्न पनि आह्वान गरिएको छ ।

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ। गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् ।

यसैबीच, साउन १३ गते बिहान १०ः०० बजेदेखि साउन १४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ । घटनामा रु ४१ लाख आठ हजार बराबरको क्षति भएको छ ।

सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।यसैगरी, साउन १३ गते बिहान ८ः४५ बजेदेखि साउन १४ गते बिहान ८ः४५ बजेसम्म देशका विभिन्न भागमा अवस्थित ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ ।

धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द

जनकपुर । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ ।हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।

केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि तथा विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीहरूको आवतजावत असहज बनेको विद्यालय सङ्गठनहरूले उल्लेख गर्दै सो अवस्थालाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको जनाएको छ ।

शैक्षिक संस्थाहरूले सरकारलाई सम्बन्धित पक्षसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।परिस्थिति सामान्य रहेमा आगामी साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पसहरू नियमित समयमै सञ्चालन हुने जनाइएको छ ।

यता, धनुषाका विभिन्न स्थानमा अहिले पनि कर्फ्यु जारी नै रहेको छ । बिहान २ घण्टाका लागि घरका सरसामान खरिद गर्न कर्फ्यु खुकुलो बनाइए पनि ८ बजेदेखि पुनः अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरिएको छ भने भारी मात्रामा नेपाली सेना सडकमा गस्ती गरिरहेका छन् ।

क्यान्सर अस्पतालमा पेट स्क्यान जडानका लागि बाटो खुल्यो

चितवन । प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान गर्ने उपकरण सञ्चालन गर्नेबारे नेपाल सरकारले चासो दिएको थियो । तत्कालीन समयदेखि निरन्तर रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान जडानका लागि सरकारले बजेट विनियोजन गर्दै आए पनि हालै मात्र सबै प्रक्रिया पूरा गरेर मेसिन खरिदमा जान मिल्ने गरी काम अघि बढाएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न गर्न अस्पताललाई करिब तीन वर्ष लागेको अस्पताल प्रशासनले जनाएको छ । यही अवधिमा अस्पतालले निर्माण भएका संरचनाको भरतपुर महानगरपालिकामा अभिलेखीकरण गरेको छ । यसका लागि अस्पतालले रु एक करोड ७८ लाख राजस्व बुझाएको कार्यकारी निर्देशक डा उमेश नेपालले जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर अस्पतालले बोलपत्रका लागि तयारी अवस्थामा पुर्‍याएको छ । यसअघि बोलपत्र आह्वान भएर कम्पनी छनोट भएपछि मुद्दाका कारण काम रोकिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले चालु आवका लागि रु २५ करोड रकम विनियोजन गरेको कार्यकारी निर्देशक डा नेपालले जानकारी दिए । उनका अनुसार अस्पतालको सञ्चालक समितिले पूर्णता पाएपछि समिति बनाएर अन्य प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।

समिति बनेपछि उपकरणको विशिष्टता (स्पेक) तयार गरिनेछ । सोही आधारमा बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । एउटै बोलपत्रमार्फत नक्साङ्कनदेखि बङ्कर निर्माण, उपकरण खरिद, जडान, तालिमसमेत सञ्चालन गरिने कार्यकारी निर्देशक डा नेपालले जानकारी दिए । सबै काम एउटै ठेक्कामार्फत गरिने यस प्रक्रियालाई ‘टङ्की’ परियोजना भनिने उनले बताए ।

मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको उनले बताए । उनले मुलुकका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने ‘आइसोटोप’ भारतबाट ल्याउने गरिएको जनाउँदै आइसोटोप उत्पादन गर्ने उपकरण ‘साइक्लोट्रोन’ समेत यही जडान गर्ने अस्पतालको तयारी रहेको उल्लेख गरे ।

कार्यकारी निर्देशक नेपालका अनुसार आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री पनि गर्न सकिन्छ । “कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा मुलुकका पेट स्क्यान सञ्चालन हुन सकेका थिएनन् । राजधानीका दुई र झापाको एक ठाउँमा पेट स्क्यान हुन्छ । उनीहरूले साइक्लोट्रोन भारतबाट जहाजमा ल्याउने गरेका छन् । साइक्लोट्रोन यथासक्य छिटो प्रयोग गर्न नसकेमा प्रभावकारिता कम हुने गर्दछ”, उनले भने ।

विज्ञहरूले सात–आठ घण्टाभन्दा बढी ढिलो भएपछि प्रभावकारी नहुने जनाउँदै आएका छन् । यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामीको शरीरमा क्यान्सर रहे/नरहेकोसमेत पत्ता लगाउन उपयोगी हुने डा नेपालको भनाइ छ ।

हाल पेट स्क्यानका लागि अधिकांश बिरामीलाई छिमेकी देश भारतसहित अन्य मुलुक जानुपर्ने बाध्यता छ । उपकरण जडान गरेसँगै बिरामीले सरकारीस्तरमा स्वदेशमा यो सेवा पाउने उनको भनाइ छ । डा नेपालले पेटस्क्यान गर्ने उपकरण सञ्चालनमा आएसँगै क्यान्सर समयमा पहिचान गरी उपचार गर्न सहज हुने बताए ।

अहिले नेपालमा निजी क्षेत्रले पेटस्क्यान परीक्षण रु ५० देखि ५५ हजारसम्म लिँदै आएका छन् । यहाँ उक्त उपकरण बनेपछि सस्तोमा बिरामीले सेवा पाउने छन् । पेट स्क्यान जडानका लागि रु एक अर्ब हाराहारी खर्च हुने अनुमान छ । अस्पतालले बहुवर्षीय आयोजना बनाएर काम गर्ने तयारी गरेको छ ।

३५० शैय्या निःशुल्क

क्यान्सर अस्पतालमा रहेका ५०० शय्यामध्ये ३५० मा बिरामीले निःशुल्क सेवा लिँदै आएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा नेपालका अनुसार सामान्य शय्या खानासहित निःशुल्क गरिएको छ । उनले भने, “हाम्रो अस्पतालमा समान्य शय्या (जनरल बेड)मा तीन पटकको खानासहित निःशुल्क सेवा दिँदै आएका छौँ ।”

तीन वर्षअघिदेखि अस्पतालले शय्या निःशुल्क गरेको जनाउँदै उहाँले ‘क्याविन’, ‘पेइङ् वार्ड’, ‘पोष्टप, एचडियु’, ‘आइसियु’ र ‘डे केयर’मा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको बताए । अस्पतालमा भारतीय सीमाक्षेत्र र नेपालभरिबाट बिरामी आउने गर्दछन् । न्यून जनशक्ति र कम स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको प्रशासनले जनाएको छ ।

सप्तरीको राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं – सप्तरीको राजविराजका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्तिसुरक्षा कायम गर्न कर्फ्यु लगाइएको हो।

कर्फ्यु खाँडो खोला, जुडनी–ढलही, बसबिट्टी चोक र कोशी पश्चिम मूल नहरले घेरिएको क्षेत्रमा लागू हुनेछ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ५७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, भिन्डी प्रतिकिलो रु ५०, सक्खरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु २००, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, सजिवन प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ४००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, नास्पाती (लोकल) प्रतिकिलो रु ८०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।

असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।

वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

काठमाडौं – पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको छ । बिहिबार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएको थियो ।

त्यसपछि एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोही बेपत्ता भएका हुन् । उनीहरुको खोज तथा उद्धार अभियानका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ ।

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानीखोला बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगङ्गा गाउँपालिका–२ मा आज बिहान खरेको पहिरोले यो सडक पनि बन्द भएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

सुनसरी घटनामा पीडित परिवारसँग सरकारको सहमति : शहीद घोषणा, राहत र रोजगारीको व्यवस्था

काठमाडौं – सुनसरीको देवानगञ्ज घटनामा मृतक परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ ।देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको हो ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालय र पीडित परिवारबीच भएको सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। साथै, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिले दिने सुझाव र सिफारिस शीघ्र कार्यान्वयन गर्ने ुहमती भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र बिक्रीदर २३ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २५ पैसा बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने

काठमाडौं – सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ ।

त्यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले यही साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ । सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिए ।

भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाले मोबाइल एपमा करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सम्बन्धी बारम्बार सोधिने प्रश्नहरूको छुट्टै खण्ड समावेश गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ । यस्तै, करदाता प्रोत्साहनसम्बन्धी सूचना यही साउन १६ गतेदेखि प्रवाह गर्नसमेत आग्रह गरिएको छ ।

यस्तो छ सरकारको लखपति बनाउने योजना

सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजनाअनुसार सो कार्यक्रम अगाडि बढाएको हो । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान)मा आबद्ध भएका तथा रु १०० भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक यो योजनामा सरिक हुन पाउनेछन् ।

त्यसका लागि रु १०० भन्दा बढीको सामान किन्दा वा होटल र रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ । हाललाई हरेक महिनाको १ गते र १६ गते विजेता उपभोक्ता छनोट गरिनेछ । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ नै कार्यान्वयनमा ल्याइसकेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले उक्त कार्यविधि बनाएको हो । करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सरल, सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालनका लागि कार्यविधिमा विशेष व्यवस्था गरिएको छ ।

वस्तु तथा सेवा खरिद बिक्रीमा बिजक लिने–दिने संस्कृतिको विकास गरी कर अनुपालना अभिवृद्धि गर्न, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यविधिमा उल्लेख छ ।

आन्तरिक राजस्व विभागले सो कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रम सञ्चालनका लागि आवश्यकताअनुसार विभागले आयोजक छनोट गर्न वा व्यवस्थापनको जिम्मेवारी तोक्न सक्नेछ । कार्यक्रमअनुसार पाक्षिक रूपमा बम्पर उपहारस्वरुप एक जनालाई रु १० लाख उपलब्ध गराइनेछ । यस्तै, दैनिक रूपमा छनोट हुने एक विजेता उपभोक्तालाई जनही रु एक लाख ३३ हजार ३३३ उपलब्ध गराउनेछ ।

छनोट भएका उपभोक्ताको नाम आन्तरिक राजस्व विभागको वेबसाइट र सामाजिक सञ्जालबाट सार्वजनिक हुनेछ । आयकर ऐनबमोजिम आकस्मिक लाभबापतको भुक्तानीमा २५ प्रतिशतका दरले करकट्टी हुनेछ ।

व्यावसायिक प्रयोजनका लागि खरिद भएका बिजक, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिजक भने कार्यक्रममा सहभागी हुन पाउने छैनन् । टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन, हवाई टिकट खरिदबापतको बिजक पनि सहभागी हुनसक्ने छैन । स्थायी लेखा नम्बर नलिएका व्यक्तिले खरिद गरेको बिजक पनि मान्य नहुने कार्यविधिमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदातालाई सम्मान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । करदातालाई सम्मान गर्न एवं कर तिर्ने बानीको विकास गर्दै बिल बिजक लिने–दिने अभ्यास बढाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको आन्तरिक राजस्व विभागले उल्लेख गरेको छ ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको अधीनमा रही करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक महिनाको १ गतेदेखि सोही महिनाको मसान्तसम्म भएका विद्युतीय भुक्तानीबाट गरिएको खरिद तथा प्रणालीमा प्रविष्ट भएका बिजक सो महिनाको कार्यक्रममा समावेश गरिनेछ ।

प्रत्येक खरिद बिजक र विद्युतीय भुक्तानीबाट गरिएको खरिदबापत प्रणालीबाट एउटा उपहार टिकट उपलब्ध हुनेछ । प्रणालीमा प्रविष्ट भएको बिजक एकपटकका लागि कार्यक्रममा सहभागी हुन योग्य हुने व्यवस्था कार्यविधिले गरेको छ ।

बिजक नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर, बिजक जारी मिति, बिजकका उल्लेखित कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर उल्लेख भएको हुनुपर्नेछ । भुक्तानी नगदमा गरिएको हो वा विद्युतीय हो भन्ने खुलाउनुपर्नेछ । प्रणालीमा प्रविष्ट विवरणको स्वचालित प्रमाणीकरण गरी योग्य बिजक तथा विद्युतीय भुक्तानीबाट गरिएको खरिदलाई कार्यक्रममा समावेश गरिनेछ ।

विजेता उपभोक्ता छनोट गर्दा उच्चपदस्थ वा ख्यातिप्राप्त व्यक्ति, विभिन्न निकायका प्रतिनिधि र सञ्चार प्रतिनिधिलाई आमन्त्रण गर्न सकिने व्यवस्था कार्यविधिमा छ । विजेता उपभोक्तालाई निजको मोबाइल नम्बर वा इमेलको माध्यमबाट छनोट भएको जानकारी दिनुपर्नेछ ।

उपहार रकम विजेताको बैंक खातामा विभागले सोझै भुक्तानी गर्नेछ । तोकिएको समयभित्र कागजातसहित उपहार दाबी गर्न नआउने विजेताको उपहार रकम भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।

समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् ।

लघुवित्तपीडित विभिन्न माग राखी असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनीहरूले धितो लिलामी तथा कानुनी कारबाही रोक्नुपर्ने, लघुवित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने, सामूहिक ऋण प्रणालीको अन्त्य तथा एउटै व्यक्तिले विभिन्न लघुवित्तबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याजदर सहुलियतपूर्ण हुनुपर्नेलगायतका माग राख्दै आएका छन् ।

मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का नेपालका लागि राष्ट्रिय निर्देशक रियाज लोधीले भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच सन् १९६३ देखि नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास र वातावरण संरक्षणमा डब्लुएफपीले पुर्याउँदै आएको निरन्तर सहयोग र लामो साझेदारीका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले साझा प्राथमिकतालाई ठोस र परिणाममुखी पहलमार्फत संवादबाट कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले डब्लुएफपीको रणनीतिक योजना नेपालका कृषि प्राथमिकताहरु र दिगो विकास लक्ष्य तथा जलवायु कार्यप्रतिको राष्ट्रिय प्रतिबद्धतासँग मेल खाने भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री चौधरीले नेपाल सरकारले हालै ७७ वटै जिल्लाका करिब ३० लाख बालबालिकालाई समेट्ने गरी ‘दिवा खाजा कार्यक्रम’लाई राष्ट्रियकरण गर्दै स्थानीय कृषि उत्पादनमा आधारित ‘होम–ग्रोन स्कुल फिडिङ’ लागू गरेको जानकारी दिनुभयो । यस पहलले साना किसान र महिला उत्पादकहरूलाई सिधैँ स्थानीय विद्यालयको बजारसँग जोड्न सफल भएको बताउँदै यो उपलब्धि हासिल गर्न डब्लुएफपीले प्रदान गरेको प्राविधिक सहयोगको उहाँले प्रशंसा गर्नुभयो ।

साथै मन्त्री चौधरीले नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षा, जलवायु-उत्थानशील र दिगो कृषि, मूल्य शृङ्खला र बजार पहुँचको सुदृढीकरण, बाली भित्र्याइसकेपछिको क्षति न्यूनीकरण र कृषिमा युवा तथा महिलाको संलग्नता प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको समेत जानकारी गराउनुभएको थियो ।

गोलबजारको अवस्था सामान्य वन्दै, मृतक यादवको शव उठाइयो

सरहा । सिरहाको अवस्था सामान्य वन्दै गएको छ । विहीबार दिनभर तनावग्रस्त भएको गोलबजार क्षेत्र अपरान्ह केही शान्त देखिएको छ ।बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।

आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको थियो ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको झडपपछिको प्रदर्शनमा गोली लागेर औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।विहीबार साँझ उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

देशबासीका नाममा बालेनको सम्बोधन: अफवाह होइन, आधिकारिक सूचनामै विश्वास गरौँ (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनापछि आज देशबासीका नाममा सम्बोधन गदै सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्ने बताएका छन् ।

उनले केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको पनि बताएका छन् । सम्बोधनका क्रममा उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री बालेनले गरेको सम्बोधनको पूर्णपाठ :

नमस्कार,

र आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू,

म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरूसामू उपस्थित भएको छु ।

केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहालगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।

यस दु:खद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु ।

घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी कमजाेरी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।

घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटना स्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु ।

यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।

अवस्था थप नबिग्रियोस्कु, नै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ ।

स्थानीय तहसमेत जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।

स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं स्वस्थानमा पुगिसक्नुभएको छ ।

साथै, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न नगराउन अनुरोध गर्दछु ।

साथै सरकार निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु प्रत्येक नागरिकको जिउ धनको रक्षा गर्नु सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।

आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन् शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिनेछन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ ।

धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो देशको कुनै एक स्थानमा भएको अनअपेक्षित र दु:खद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्यायसंगत हुन सक्दैन ।

आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु,

हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।

हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आज राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छि ।

धन्यवाद

पूर्वमन्त्री अच्युतराज रेग्मीको जीवन, संघर्ष र विचार समेटिएका दुई पुस्तक लोकार्पण

काठमाडौँ । नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ। गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा स्वर्गिय भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका अधुरा सपना पूरा गर्दै दुवै पुस्तक सार्वजनिक गरेको हो। ‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्त हो, जसमा उनले आफ्नो राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन, संघर्ष र जीवनका विभिन्न अनुभवलाई समेटेका छन्। ‘अतीतमा अच्युत’ भने उनीसँग २००३ सालदेखि २०७५ साल सम्म काम गरेका विद्धानहरुको आफ्नो विचार हो । उनीहरु सबै लब्धप्रतिष्ठित व्यक्तिहरु हुन् ।

उनको व्यक्तित्व, योगदान र विचारमाथि दुई दर्जनभन्दा बढी लेखकले लेखेका संस्मरण, विश्लेषण र लेखहरूको संग्रह हो। उल्लेखनीय कुरा, रेग्मीले ९३ वर्षको उमेरदेखि लेखन सुरु गरी ९६ वर्ष पुग्दा यी कृतिको लेखन पूरा गरेका थिए। तर पुस्तक प्रकाशित हुनुअघि नै उनी स्वर्गिय भएपछि परिवारले पहिलो पुण्यतिथिमा दुवै कृति एकैसाथ लोकार्पण गरेको हो। कार्यक्रममा रेग्मीकी पत्नी भगवती रेग्मीले आफ्नो यो आफ्नो पहिलो पाईला भएको बताइन् ।

उनले स्वर्गिय पति अच्युतराजले पुर्याएको योगदानको इतिहाँस लामो भएको बताउँदै आगामी दिनमा पनि यी र यस्ता शृखलालाई निरन्तरता दिने बताइन् । उनले भनिन् अच्युतजीका विचार, अनुभव र जीवनदर्शनलाई पुस्तकका माध्यमबाट सम्पूर्ण नेपालीमाझ पुर्‍याउने चाहना भने अब साकार भयो । तर म यत्तिमा रोकिन्न । उनले भनिन् भोलीका दिनमा पनि हाम्रो परिवारले उहाँका कृतिहरु प्रकाशनमा निरन्तरता दिनेछ ।

लोकार्पण समारोहमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अच्युतराज रेग्मीले नेपाली कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र राजनीतिक जागरणमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए। उनले देश र लोकतन्त्रका लागि संघर्ष गर्दा रेग्मीले निर्वासनसम्मको कठिन अवस्था भोग्नुपरेको स्मरण गरे। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले पनि अच्युतराज रेग्मी बाल्यकालदेखि नै राजनीतिक तथा आध्यात्मिक चेत भएका व्यक्तित्व रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, मानवता र लोकतन्त्रका पक्षमा उनले खेलेको भूमिका अनुकरणीय रहेको बताए। उनले अन्तरिम सरकारमा मन्त्रीका रूपमा सँगै काम गर्दाको अनुभव पनि स्मरण गरे।

त्यस्तै वरिष्ठ पत्रकार जीवराम भण्डारी, डा. सुरेन्द्र केसी, पशुपति शमशेर राणा, डा.माधव भट्टराई, प्रा. डा. खेम कोइराला बन्धुलगायत वक्ताहरूले रेग्मीको सादगी, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता, सफल नेतृत्व क्षमता र कुशल वार्ताकारका रूपमा उनको योगदानको प्रशंसा गरे। वक्ताहरूले रेग्मीलाई नेपाली राजनीतिक इतिहासका इमानदार, राष्ट्रप्रेमी र लोकतन्त्रप्रति समर्पित नेताका रूपमा स्मरण गरे। दुवै कृतिको सम्पादन होम भट्टराईले गरेका हुन् भने प्रकाशनको जिम्मेवारी भगवती रेग्मीले सम्हालेकी छन्।

पूर्वमन्त्री रेग्मी जयतु संस्कृतम् आन्दोलन (नेपालको पहिलो विद्यार्थी आन्दोलन २००४) को एक प्रमुख हिस्सा थिए । रेग्मी २००९ सालमा नेपालबाट १० सदस्यी टोली (पहिलो बिद्यार्थी प्रतिधिनी मण्डल) मा महाकवी लक्ष्मी प्रसाद देवकोटासहितको १० जनाको टोली रोमानियाको बार्सामा सम्मिलत भयो । यो यात्रा ३ महिनाको थियो । पछि ५ जनाको टोली चिनसम्म पुग्यो ।

रेग्मी २०१४ सालमा पाल्पाबाट सल्लाहाकार सभाबाट निर्वाचित भएका थिए भने २०१५ सालको पहिलो आमनिर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साथै, २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका रूपमा पनि उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। उनका यी दुई कृतिले नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक इतिहास र सार्वजनिक जीवनलाई बुझ्न खोज्ने पाठकका लागि महत्वपूर्ण दस्तावेजका रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

माओवादीलाई शान्ती वार्तामा सहभागी बनाउनलाई अन्तरधार्मिक शान्ती संघले भूमिका खेलेको थियो । त्यसको अध्यक्ष नै रेग्मी थिए । रेग्मीका पत्नि, ३ छोरी र एक छोरा छन् । उनीहरुले बुबाको सपना साकार पार्ने मुख्य उदेश्यले नै पहिलो वार्षिक पुण्य तिथिका अवसरमा दुई कृति लोकापर्ण गरिएको बताए । पहिलो वार्षिकीका अवसरमा बुबाका दुई कृति लोर्कापण गर्दा कैयौँ मान्यजनहरुको उपस्थितीले बुबाको सपना साकार भएको अनुभूती भएको उनीहरुले बताए । परिवारले रेग्मीका अन्य कृतिहरु पनि क्रमश प्रकाशित गर्दै लैजाने पनि उल्लेख गरेको छ ।

कल्याणकारी कोषको रकम राष्ट्रिय विकासमा परिचालन गर्ने सेनाको तयारी

काठमाडौँ – नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको रकम राष्ट्रिय विकासमा योगदान पुग्नेगरी परिचालन गर्ने सोच अघि सारेको छ ।

रक्षा मन्त्रालयमा आज आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पहिलो चरणमा कोषको रकम जलविद्युत् तथा सौर्य ऊर्जामा लगानी गर्ने जानकारी दिनुभयो ।

“हाम्रो कल्याणकारी कोषलाई राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौँ । यसबाट राष्ट्रको विकास पनि होस् र कल्याणकारी कोषमा रहेको रकमको उचित सदुपयोग पनि होस् भन्ने हाम्रो उद्देश्य हो”, प्रधानसेनापति सिग्देलले भन्नुभयो, “त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ । पहिलो चरणमा जलविद्युत् र सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने कामलाई परीक्षणका रूपमा अघि बढाउने सोचमा छौँ । यो सफल भयो भने कोषको रकम विकास निर्माणका काममा लगानी गर्नेछौँ ।”

प्रधानसेनापति सिग्देलका अनुसार कोषको कुल सम्पत्ति हाल करिब रु ९७ अर्ब रहेको छ । त्यसमध्ये विभिन्न बैंकमा करिब रु ९१ अर्ब नगद मौज्दात र करिब रु छ अर्ब लगानी रहेको छ । कोषको आम्दानीको ९० प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ । तर बैंकको ब्याजदर घटेकाले कल्याणकारी कार्यक्रमको खर्च व्यवस्थापनमा चुनौती भइरहेको उहाँले बताउनुभयो ।

हाल कोषबाट स्वास्थ्य सेवातर्फ करिब १० लाख हिताधिकारी तथा शिक्षातर्फ करिब ११ हजार विद्यार्थी लाभान्वित भइरहेका छन् । स्वास्थ्य सेवाका प्रमुख लाभग्राहीमा सैनिकका परिवार तथा भूतपूर्व सैनिक रहेका छन । साथै शिक्षातर्फ कक्षा १२ सम्मका साथै एमबिबिएस, इन्जिनियरिङलगायत उच्च तथा प्राविधिक शिक्षाका विद्यार्थी लाभान्वित भइरहेका छन् । कल्याणकारी कोषबाट हुने खर्च मुख्यतः सैनिक तथा भूतपूर्व सैनिकको हितमा केन्द्रित रहेको प्रधानसेनापति सिग्देलले स्पष्ट पार्नुभयो ।

प्रधानसेनापति सिग्देलले सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा देखिएका समस्या समाधानका लागि विभिन्न प्रयास भइरहेकाले आगामी वर्ष आयोजनाको प्रगति उच्च हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई निश्चित समय दिएर सुधारको अवसर दिने र त्यस अवधिमा पनि प्रगति नभए ठेक्का सम्झौता अन्त्य गर्ने जानकारी दिनुभयो ।

आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न विस्तृत परियोजना प्रतिवेदनको तेस्रो संशोधन यथाशीघ्र स्वीकृत गरी बाँकी प्याकेजको निर्माण अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । द्रुतमार्गको सुरु बिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा भएको ढिलाइले समग्र आयोजनाको कार्यसम्पादन प्रभावित भएको प्रधानसेनापति सिग्देलले बताउनुभयो ।

मन्त्रालयका अनुसार जग्गा प्राप्ति, रुख कटान, मुआब्जा वितरण, निर्माण व्यवसायीको डिजाइन तथा उपकरण व्यवस्थापनमा भएको ढिलाइ र खोकना खण्डको निर्माण सुरु हुन नसक्दा आयोजनाको प्रगति प्रभावित भएको हो । प्रधानसेनापति सिग्देलले सेनाको पुँजीगत खर्च गर्नसक्ने क्षमतालाई दृष्टिगत गरी आगामी दिनमा पर्याप्त बजेट विनियोजन भए अझ बढी प्रगति हासिल गर्न सकिने बताउनुभयो ।

न्यून बजेटका कारण कतिपय सडक आयोजनामा सेनाको जनशक्ति तथा उपकरण क्षमताअनुसार उपयोग हुन नसकेको भन्दै रणनीतिक महत्त्वका सडक तथा विकास आयोजनामा पर्याप्त बजेट व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो । गत आर्थिक वर्षमा द्रुतमार्गको लक्ष्यको तुलनामा भौतिक प्रगति ६३ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ७१ दशमलव ८२ प्रतिशत भएको छ । आयोजनाको हालसम्मको कुल भौतिक प्रगति ४८ दशमलव ७२ प्रतिशत र वित्तीय प्रगति ५० दशमलव ६२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष मन्त्रालयअन्तर्गत सञ्चालित विकास आयोजनामध्ये सात वटाले शतप्रतिशत प्रगति हासिल गरेका छन् । सेनाको व्यवस्थापनमा सञ्चालित खाँदबारी–किमाथाङ्का, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर, बङ्कर टु ब्यारेक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र राष्ट्रिय चुरे संरक्षण कार्यक्रमले वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति गरेका हुन् ।

गत आव रक्षा मन्त्रालय र अन्तर्गतका निकायलाई चालु तथा पुँजीगततर्फ गरी कुल रु ६६ अर्ब ८८ करोड बजेट विनियोजन भएकामा रु ६३ अर्ब ५४ करोड खर्च भएको छ । यसबाट करिब ९५ प्रतिशत वित्तीय प्रगति भएको छ । पुँजीगततर्फ ७४ दशमलव ६ प्रतिशत र चालुतर्फ ९७ प्रतिशत खर्च प्रगति भएको मन्त्रालयले जनाएको छ ।

सेनाअन्तर्गत सञ्चालित विभिन्न विकास निर्माण आयोजनामा एक हजार १२७ जनालाई रोजगारी उपलब्ध गराइएको तथा सेनाअन्तर्गतका अस्पतालबाट नौ लाख ७६ हजार २८६ जनालाई स्वास्थ्योपचार सेवा प्रदान गरिएको जानकारी छ । आर्थिक वर्ष २०८२÷८३ सम्मको कुल बाँकी बेरुजु रु १० अर्ब ७० करोड ९४ लाख ९९ हजार रहेकामा ५४ प्रतिशत फछ्र्यौट भएको छ । हाल रु चार अर्ब ९४ करोड एक लाख ३० हजार बेरुजु बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

बैठकमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गको प्रगति अपेक्षाअनुसार हुन नसकेको भन्दै आगामी दिनमा लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशनसमेत दिनुभयो । उहाँले सेनाको व्यवस्थापनमा सञ्चालित अन्य राष्ट्रिय करिडोरमा लक्ष्यअनुसार प्रगति हासिल भएकामा धन्यवाद दिनुका साथै विपद् प्रभावितको खोजी, उद्धार तथा पुनःस्थापनामा सेनाले गरेको कार्यको प्रशंसा गर्नुभयो ।

सचिव शर्माले विकास निर्माणका आयोजनामा अन्तरनिकाय समन्वय सुदृढ गरी समस्या तथा चुनौती समाधान गर्न र निर्धारित लक्ष्यअनुसार प्रगति हासिल गर्न सक्रिय हुन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । समीक्षा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा नेपाली सेनाअन्तर्गतका विभिन्न विकास आयोजना प्रमुखले धारणा राख्नुभएको थियो ।

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितीलाई न्यूनीकरण गर्न सद्भाव र्‍याली निकाल्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले आमनागरिक सम्मेलित सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ ।

शुक्रबार अपराह्न ३ः०० बजे निकालिने र्‍यालीमा सबै राजनीतिक दल, नागरिक सामाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदायलगायत सहभागिता रहने जनाइएको छ ।

सो र्‍याली महेन्द्र चोकदेखि, ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय(क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि डाँफे चोकसम्म जानेछ ।

त्यसैगरी बैठकले साउन १० गते देवानगञ्जमा दुई धर्मावलम्बी समुदायबीच भएको विवादका कारण उक्त घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घटनामा घाइते भई उपचारमा रहेका व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि अस्पताल प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकले सामाजिक सद्भाव विथोलिने खालका कुनै घटना, सूचना तथा अवस्था देखिएमा सबैले त्यस्ता विषयको सूचना समन्वय गर्ने र सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबैले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने निर्णय गरेको छ ।

सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

कर्णाली। सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिनुभयो ।

विकलाई सोही वडाको धुलियाबिट नजिकै भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नं को अटोले आज बिहान ठक्कर दिएको थियो ।

अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उहाँलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो । त्यहाँ नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा पठाइएको थियो ।

लखनउ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहाराले बताउनुभयो । उहाँका अनुसार चालक २३ वर्षीय राजु सुनार र अटो प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

सामाजिक सद्भावका लागि सांसदलाई गाउँ–टोलसम्म परिचालन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रहबर अन्सारीले पार्टी सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको जानकारी दिए ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनैपनि समुदाय वा नागरिकमाथि समस्या वा अन्याय आइपरे पार्टीले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने र समस्या समाधानको जिम्मेवारी सबै सांसद तथा पार्टी सदस्यले साझा रूपमा वहन गर्नुपर्ने उनको निर्देशन रहेको बताए ।

उनले पार्टीका सबै सांसदलाई आफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर स्थानीय तहदेखि गाउँ–टोलसम्म सद्भाव र सहकार्यको सन्देश फैलाउन भनिएको जानकारी दिए ।

साथै, सामाजिक द्वेष फैलाउने वा समुदायबीच तनाव सिर्जना गर्ने प्रयास भए त्यसलाई शान्त र नियन्त्रण गर्न समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिइएको उनले बताए ।

अन्सारीका अनुसार रास्वपाले यसका लागि विशेष संयन्त्रसमेत गठन गरेको छ । उक्त संयन्त्रले द्वन्द्व वा तनाव प्रभावित क्षेत्रमा पुगेर स्थानीय प्रशासन तथा राज्यका निकायसँग समन्वय गर्दै सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल गर्नेछ ।

मन्त्रीहरूको छलफल सकिँदै, प्रधानमन्त्रीले केहीबेरमै राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ साढे ६ बजे भनिएता पनि मन्त्रीहरूको छलफलपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नेछन् ।

अहिले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामूहिक छलफल जारी छ। छलफल सम्पन्न भएपछि प्रधानमन्त्री शाहले केहीबेरमै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

विराटनगर पुगे गृहमन्त्री, घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् ।विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका हुन् । गृहमन्त्री अस्पतालतर्फ घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जादैँ छन् ।

साथै, उनले घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।

उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेका छन् ।

बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली, सौर्य सडक बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमुना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।

उनले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरबिच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट सहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राखे ।

छलफलका क्रममा मेयर डंगोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्य योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्ने बताइन् ।