`

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काठमाडाैँ । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो ।

उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसअनुसार,अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै,जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

त्यस्तै,थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ९८ पैसा बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा तोकेको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, १७ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने छ ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ ।

सिमानाकाबाट हुने अवैध पेय पदार्थको ओसारपसारमा कडाइ

झापा । नेपाल–भारत सिमानाका काँकडभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेय पदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब रु छ लाख ६५ हजार बराबरका पेय पदार्थ शुक्रबार मेची भन्सार कार्यालय काँकडभिट्टा परिसरमा नष्ट गरिएको हो ।

नष्ट गरिएका सामग्रीमा कोक, फेन्टा, डिउ, चिसो, स्प्राइटलगायत पेय पदार्थ रहेका छन् । ती सामग्री नेपालमा आयात प्रतिबन्धित वा उपभोगका लागि उपयुक्त नभएकाले कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । काँकडभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ ।

प्रहरी नायब उपरीक्षक आवाले सिमानाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि संयुक्त निगरानी निरन्तर जारी रहेकोभन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनी कारबाही गरिने भएकाले सबै यसतर्फ सचेत र जिम्मेवार हुनुपर्ने बताए ।

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भू बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।

सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक ‘माइलस्टोन’ शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताउँछन् ।

पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ । यस आयोजनाले किमाथाङ्का क्षेत्रमा स्थानीय विकास तथा भविष्यमा व्यापारिक गतिविधि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

हाल सेनाले मुख्यगरी कर्णाली करिडोर, दार्चुला–टिङ्कर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन सडकमार्ग निर्माण गरिरहेको छ । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजना क्षेत्रमा ७९ किलोमिटर सडक निर्माणको कार्य हुँदै आएको छ ।

अत्यन्त कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर तथा प्रतिकूल मौसमका बाबजुद १९.८० किलोमिटर सडक निर्माण गरी आर्थिक वर्ष २०८२/८३ को शतप्रतिशत कार्य सम्पन्न भएको सेनाले जनाएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत छ ।

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाले मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा–दोभान सडक खण्ड (१८ किमी) निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । आव २०८२/८३ सम्म सो आयोजनाको ४०.८ किमी (४४.३५ प्रतिशत) भौतिक प्रगति हासिल भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो । हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो सो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक सेनाले निर्माण गर्दै आएको छ ।

लालीबगर–दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण जारी छ । आव २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण गरी शतप्रतिशत कार्य सम्पन्न गरेको छ ।

समग्रमा हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ८६।१७ प्रतिशत हासिल भएको छ । कर्णाली करिडोरले राष्ट्रिय सडक सञ्जालसँग हुम्लालाई जोड्नका लागि नेपाली सेनाले हिल्सा–सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत असार २२ गते बेलिब्रिज जडान गरेको थियो । त्यसबाट कर्णालीको हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै राष्ट्रको आर्थिक तथा सामरिक महत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकता र दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने आयोजनामा नयाँ ट्र्याक निर्माण, ट्र्याक स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य निर्धारित मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ ।

ती आयोजनाको मूल उद्देश्य दुर्गम तथा रणनीतिक महत्वका सडकखण्ड निर्माण गरी राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नु तथा सामाजिक, आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो । दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै आर्थिक, सामाजिक, सामरिक तथा रणनीतिक दृष्टिले राष्ट्रलाई दीर्घकालीन लाभ पुर्‍याएको सेनाले जनाएको छ ।

उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै कठिन र चुनौतीपूर्ण भूभागमा समेत विकास निर्माणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी राष्ट्रले सुम्पेको अभिभारा निर्वाह गर्दै आएको सेनाले जनाएको छ ।

विशेष गरी सामरिक महत्वका सडकले हिमाली, पहाडी र तराई क्षेत्रलाई जोड्नुका साथै पहुँच विस्तार गरी व्यापार, पर्यटन, विपद् व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने आधार तयार गर्ने सेनाको विश्वास छ । नेपालको दिगो आर्थिक विकास, पहुँच विस्तार तथा राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने आधारभूत पूर्वाधारमध्ये सडक सञ्जालको विशेष महत्त्व रहेको छ ।

‘निम्स दाइ’को निधनमा विश्वभरबाट श्रद्धाञ्जली

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उनका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ ।

देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्षनेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको साहस, समर्पण र नेपालको अन्तरराष्ट्रिय पहिचान निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

प्रधानमन्त्रीको श्रद्धाञ्जलीः ‘इतिहासमा सधैँ जीवित रहनेछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै भनेका छन्, निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहनेछ ।

उनले लेखेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि समेटेर पनि राख्छ । तर हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।”

प्रधानमन्त्री शाहले ब्रोड पिक दुर्घटनामा निधन भएका सम्पूर्ण आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

राजनीतिक नेतृत्वको श्रद्धाञ्जली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निम्स दाइसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, “प्रिय निम्स, फर्किएर भेट्ने वाचा थियो । तर तिमी नफर्किने बाटो गएछौ । अब त केवल सम्झनाहरूमात्र बाँकी छन् । तिम्रो अनुपस्थितिले मन भारी भएको छ । तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा अनन्तसम्म बाँचिरहनेछ । जहाँ भए पनि, चिरशान्तिमा रहनू ।”

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि निम्स दाइ कठिन परिस्थितिबाट पनि फर्कने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको उल्लेख गरेका छन् । उनले निम्स दाइसँग ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि नै भेट भएको स्मरण गर्दै लेखेका छन्, “संसारले तिमीलाई चिन्नुअघि नै तिमीभित्रको आत्मविश्वास र साहस देखेको थिएँ । तिमी फेरि फर्कन्छौ भन्ने विश्वास अन्तिम क्षणसम्म थियो ।”

पर्यटन क्षेत्रको अपूरणीय क्षति

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निम्स दाइलाई ‘हिमाल जित्ने मानिसमात्र होइन, सपना जगाउने मित्र’का रूपमा स्मरण गरेका छन् ।

उनका अनुसार निम्स दाइको लक्ष्य व्यक्तिगत कीर्तिमान कायम गर्नुमात्र थिएन । उनी सुरक्षित, व्यवस्थित र सम्मानजनक पर्वतारोहण संस्कृति निर्माण गर्न, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तरराष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न, वर्षभरि हिमाली पर्यटनलाई सक्रिय बनाउन तथा नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न निरन्तर लागिरहेका थिए ।

विश्वभरबाट श्रद्धाञ्जली

निम्स दाइको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

विशेषगरी आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गरेर बनाएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा असाधारण उपलब्धिमध्ये एकका रूपमा स्मरण गरिएको छ ।

ब्रोड पिक दुर्घटना

निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब छ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा छ नेपाली र चार विदेशी आरोही सहभागी थिए ।

दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–२ क्षेत्रमा रहेका अनुभवी आरोहीहरू परिचालन गरिएका थिए । प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पा पनि खोजी अभियानमा सहभागी भएका थिए । व्यापक खोजीपछि निम्स दाइसहित सम्पूर्ण आरोहीको निधन भएको पुष्टि गरिएको हो ।

को हुन् निम्स दाइ ?

२५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो । बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उनी बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिस (एसबीएस)मा छनोट हुने पहिलो नेपाली बने ।

सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरे । यसअघि रहेको सात वर्ष पुरानो विश्व कीर्तिमान तोडेर उनले नेपाललाई विश्व पर्वतारोहण इतिहासमा नयाँ उचाइमा पुर्‍याए ।

उनले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानकै रूपमा अघि बढाए ।

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौँ। हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ ।

विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गर्नु भएन, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गर्नुभयो ।

म्याग्दी दानास्थित सामान्य परिवारमा जन्मिनु भएका पुर्जाको बाल्यकाल चरम दुःख र सङ्घर्षले भरिएको थियो । बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुध्नुभएका पुर्जा कुनै दिन विश्वकै सबैभन्दा कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्लान् भन्ने कल्पना अरूले त छाडौँ उहाँ आफैँले गर्नुभएको थिएन । गाउँको सामान्य जीवनबाट सुरु भएको उहाँको यात्रा बेलायती गोर्खा सैनिकसम्म पुग्यो ।

उहाँ सन् २००३ मा बेलायती सैनिकका रूपमा भर्ती हुनुभयो । त्यहाँ पनि उहाँ साधारण सैनिक भएर बस्नुभएन । कठिन छनोट प्रक्रिया पार गर्दै बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबिएस) मा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बन्नुभयो । सैन्य जीवनले उहाँलाई अनुशासन, जोखिम व्यवस्थापन, नेतृत्व र असम्भवलाई कसरी सम्भव बनाउने भन्ने सीपका साथै आत्मविश्वास दिलायो तर उहाँको जीवनको मोड हिमाल बन्यो ।

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उहाँको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उहाँले महसुस गर्नुभयो । त्यसपछि उहाँले पर्वतारोहणलाई केवल पेसा होइन, जीवनको उद्देश्य बनाउनुभयो र सन् २०१८ मा बेलायती सैनिकबाट राजीनामा दिनुभयो ।

सन् २०१९ मा उहाँले ‘प्रोजेक्ट पोसिबल’ अभियान घोषणा गर्नुभयो । जुन अभियान धेरैका लागि अव्यावाहरिक र असम्भव सपनाझैँ थियो । सो अभियानको लक्ष्य थियो, ‘विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सात महिनाभित्र आरोहण गर्ने ।’ त्यसबेला यो लक्ष्यलाई धेरै अनुभवी पर्वतारोहीहरूले समेत असम्भव भनेर प्रतिक्रिया दिएका थिए । उहाँले सो अभियानका लागि प्रायोजन खोज्दा प्रायोजकहरूसमेत हिच्किचाएका थिए । आर्थिक अभाव यति थियो कि उहाँले आफ्नै घर धितो राखेर अभियान अघि बढाउनुभएको थियो । सो प्रसङ्ग उहाँको आत्मकथा ‘बियोन्ड पोसिबल’मा उल्लेख छ ।

निम्स दाइका लागि ‘असम्भव’ भन्ने शब्द नै प्रेरणाको स्रोत बन्यो । अन्ततः उहाँले ६ महिना ६ दिनमै ती सबै १४ हिमाल आरोहण गरेर इतिहास मात्र रच्नुभएन, सम्भावनाको परिभाषा नै पुनर्लेखन गर्नुभयो । भलै उहाँको सो कीर्तिमान नर्वेजियन आरोही क्रिस्टिन हरिला र नेपाली आरोही तेन्जेन लामा शेर्पाले ९२ दिनपछि नै तोेडे तर सो कीर्तिमान तोड्ने साहस उनीहरूमा जो आएको थियो, त्यसको पछाडि निम्स दाइकै ‘सम्भव छ’ भन्ने हिम्मत जोडिएको थियो ।

उहाँको आरोहण यात्राको अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली पर्वतारोहणको पहिचान बदल्ने अभियान थियो । दशकौँसम्म अन्तरराष्ट्रिय सञ्चारमाध्यममा विदेशी आरोहीहरू नायक बन्थे भने नेपाली शेर्पा र उच्च हिमाली सहयोगीहरू पृष्ठभूमिमा सीमित रहन्थे । निम्स दाइले बारम्बार भन्नुभयो, “हिमालको सफलता केवल शिखरमा पुग्ने व्यक्तिको होइन, सम्पूर्ण टोलीको सामूहिक उपलब्धि हो ।”

यसको सबैभन्दा राम्रो उदाहरण सन् २०२१ को ऐतिहासिक ‘के–टु’को पहिलो जाडोयामको आरोहणलाई मान्न सकिन्छ । संसारभरका पर्वतारोहीले हालसम्म जाडोयाममा के–टु हिमाल आरोहण गर्न सकेका थिएनन् । सो अभियानमा शिखर पुग्न अन्तिम केही मिटर बाँकी हुँदा टोलीमा आबद्ध जोकोहीले व्यक्तिगत रूपमा अघि बढ्न सक्थे तर निम्स दाइले सबैलाई रोक्नुभयो । दसै जना नेपाली पर्वतारोही एक ठाउँमा भेला भए र नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ शिखरमा पाइला राखे । त्यो केवल एउटा आरोहण मात्र थिएन, त्यो त विश्व पर्वतारोहण इतिहासमा नेपालीले लेखेको एक इतिहासको अध्याय थियो ।

निम्स दाइले खिच्नुभएको सगरमाथाको ‘ट्राफिक जाम’को तस्बिर सन् २०१९ मा संसारभर ‘भाइरल’ बन्यो । धेरैका लागि त्यो भीडको दृश्य थियो, तर निम्सका लागि त्यो हिमाल व्यवस्थापन, मौसमको सीमित अवसर र बढ्दो व्यावसायिक आरोहणबारे विश्वव्यापी बहस सुरु गराउने दस्तावेज बन्यो ।

उहाँले देखाउनुभएको अर्को पक्ष उद्धार अभियानप्रतिको प्रतिबद्धता हो । कतिपय अवस्थामा उहाँले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा माथि उठेर मानवीयतालाई प्राथमिकता दिँदै उद्धार अभियानमा संलग्न हुनुभयो । उहाँको जीवनदर्शन सरल थियो, ‘सम्भव छ’ । अरूले असम्भव देख्ने लक्ष्यलाई सम्भव बनाउन सकिन्छ भन्ने विश्वासले नै उहाँलाई विश्वभर ‘निम्स दाइ’ का रूपमा चिनायो । यही दर्शनले सन् २०२१ मा ‘नेटफ्लिक्स’को चर्चित वृत्तचित्र ‘फोर्टिन पिक्सः नोथिङ इज इम्पोसिबल’ मार्फत करोडौँ दर्शकसम्म उहाँको कथा पुग्यो ।

आज निम्स दाइ केवल कीर्तिमानी पर्वतारोहीका रूपमा मात्र रहनुभएन । उहाँ त नेपाली पर्वतारोहणको नयाँ आत्मविश्वासका प्रतीक बन्नुभएको छ । उहाँले नेपाली पर्वतारोहीलाई विश्वमञ्चमा सहायक नभएर नेतृत्वकर्ता र निर्णयकर्ता रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । एलिट एक्सपिडिसनमार्फत नयाँ पुस्ताका नेपाली पर्वतारोहीलाई अवसर सिर्जना गर्ने प्रयास होस् वा निम्स दाइ फाउन्डेसन मार्फत हिमाली वातावरण संरक्षणका अभियानमा उहाँको योगदान शिखरभन्दा धेरै परसम्म फैलिएको छ ।

त्यसो त निम्स दाइ पनि सर्वगुण सम्पन्न हुनुहुन्थेन । मानिसमा हुने सामान्य कमजोरी उहाँमा पनि थियो । विभिन्न समयमा उहाँ केही विवादमा पनि मुछिनुभयो । सन् २०१९ मा आमादब्लमको शिखर नै ढाक्ने गरी कुवेतको झण्डा राखेको, केही विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको, उहाँको कम्पनीले भाडामा लिएको घर कपनमा आगलागी हुँदा व्यक्तिको ज्यान गएको, कतिपय हिमालमा आरोहणका गतिविधिमा मनपर्दी गरेको जस्ता आरोप उहाँमाथि लागेको थियो तर ती सबै आरोपको खण्डन गर्दै उहाँले स्पष्टीकरण दिँदै आउनुभएको थियो ।

उहाँले आफूलाई चर्चामा ल्याउने र व्यवसाय चलाउने काममा मात्र सीमित राख्नुभएन । सन् २०२२ मा ‘निम्स दाइ फाउन्डेसन’ स्थापना गरी हिमाली समुदायमा काम गर्ने गरी शिक्षा, वातावरण, प्रेरणामूलक अभियानका साथै विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गर्नुभएको थियो । सोही फाउन्डेसनमार्फत उहाँले हालैमात्र सोलुखुम्बुको लोबुचेमा भरियाका लागि ‘पोर्टर हाउस’ निर्माण गर्नुभएको थियो ।

सगरमाथा मार्गमा पर्ने समुद्र सतहदेखि पाँच हजार ३० मिटर उचाइमा अवस्थित लोबुचेमा निर्मित सो भवनका लागि उहाँले केही वर्षदेखि विभिन्न सङ्घसंस्था र स्थानीय तहसँग समन्वय तथा सहयोग सङ्कलन गर्नुभएको थियो । फाउन्डेसले गत मे २७ (जेठ १३ गते) मात्र सो भवन निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको थियो । नेपाली रु छ करोडभन्दा बढी खर्च गरेर बनाइएको सो पोर्टर हाउसमा १०० भन्दा बढी भरिया सुत्न मिल्ने क्षमताको छ । हिमालमा भारी बोक्ने भरियाहरूले ठूला होटलमा बास बस्न नसक्ने र साना होटलमा समेत बेलाबेलामा ठाउँ नपाउँदा समस्या हुने गरेको देखेर निर्मल पुर्जाले सो पोर्टर हाउस निर्माण गर्ने सपना निम्स दाइको थियो ।

हिमालले आरोहीको छविलाई बढाउँछ तर केही आरोहीले हिमाललाई नै नयाँ अर्थ दिन्छन् । निम्स दाइ त्यहीमध्येका एक दुर्लभ प्रतिनिधि हुनुहुन्छ, जसले विश्वलाई एउटा साधारण सन्देश दिएर जानुभयो, त्यो हो ‘साहस र दृढ इच्छाशक्ति भए असम्भव शब्द केवल एउटा सोच मात्र हो ।’

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उहाँले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ ।

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

झापा। अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार रु चार अर्ब ९६ करोड २९ लाख ३३ हजारले वृद्धि भएको हो । प्रतिशतका आधारमा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।

कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ मा भने ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो ।

काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तरराष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो ।

नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलँैची प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्राआर्जनमा समेत योगदान पुर्याउँदै आएको छ ।

उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तार गर्न सके आगामी वर्षमा अलैँची निर्यात अझ बढ्ने सम्भावना रहेको भन्सार अधिकृत माङ्कल राईले बताउनुभयो ।

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन। सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि ४० वर्ष समूहका रहेका छन् । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका एक हजार ९२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२९ वटा दुर्घटना सो उमेर समूहका चालकले गराएका छन् ।

यस्तै, २५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना १६ देखि २५ वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ४० वर्षमाथिका सवारी चालकले २५ प्रतिशत दुर्घटना गराएका छन् । युवा पुस्तामा सवारी तीव्र गतिमा हाँक्ने जोस बढ्दा दुर्घटना गराउने चालक युवा पुस्ताका बढी भएका हुन् ।

ती दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २५ वर्षभन्दा माथि उमेर समूहका धेरै रहेका छन् । सो उमेर समूहका २६७ जनाको मृत्यु भएको छ भने १६ देखि २५ वर्ष उमेर समूहका ५९, छदेखि १६ वर्ष उमेर समूहका सात र छ वर्षदेखि तलका उमेर समूहका सात जना रहेका छन् । घाइते हुनेको सङ्ख्या पनि सोही अनुपातमा रहेको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा तीव्र गतिका कारण एक हजार ४१, चालकको लापरबाहीले २४०, यात्रुको गल्तीले १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९ र यान्त्रिक गडबडीले १२१ वटा दुर्घटना भएका छन् । यस्तै, सडकको अवस्थाका कारण १०७ वटा ‘ओभरटेक’ गर्र्दा ७२, मौसमको खराबीले चौपायका कारण १०, ओभरलोड भएर आठ र अन्य कारणले ३८ वटा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।यस कार्यालयले काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले सुनसरीको कप्तानगन्न घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबैमा अपिल गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज एक अपिल जारी गरी नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको मुलुक भएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक उत्सवहरू मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गरिएको छ । साथै सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।

प्रदेश सरकारले कानुन हातमा लिने, सामाजिक सद्भाव भड्काउने तथा अराजकता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय सक्रिय रहेको जनाएको छ । प्रदेशका नागरिकलाई संयमता अपनाई कुनै गतिविधि गर्नु परे स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

सुनसरी घटनाको सम्भावित प्रभावलाई दृष्टिगत गर्दै खुला सीमाका कारण हुन सक्ने घूसपैठ तथा अवाञ्छित गतिविधि रोक्न सुदूरपश्चिमका सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको पनि अपिलमा उल्लेख छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रही सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत निर्देशन दिइएको जनाइएको छ ।

यस्तै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समाजमा उत्तेजना, घृणा र वैमनस्य फैलाउने गरी सार्वजनिक अफवाह र गलत सूचना प्रवाह गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । साथै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पनि सामाजिक सद्भावमा आँच आउने खालका सामग्री प्रसारण नगरी सत्य, तथ्य र वस्तुनिष्ठ समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

“शान्ति, सुरक्षा, सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक भाइचारा कायम राख्न सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, उद्योगी–व्यवसायी, सामाजिक संस्था, सञ्चारमाध्यम र आमनागरिक सबैको सहकार्य आवश्यक छ । त्यसका लागि सामाजिक एकता थप बलियो बनाउने कार्यमा योगदान गर्न सबैमा आह्वान गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।सुनसरीमा र अन्य जिल्लामा प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

प्रवेश परीक्षा दिन गएका विद्यार्थीले छलबाट हामफालेपछि…

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिएर बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले छतबाट हाम फाल्दा मृत्यु भएको हो ।

विश्वविद्यालयको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीको भनाइ छ ।’उहाँलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो,’ गिरीले भने, ‘महाकालीले थप उपचारका लागि धनगढी रेफर गरेको र उपचारका क्रममा मृत्यु भएको हो ।’

धनुषामा गृहमन्त्री र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सकियो

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। करिब तीन घण्टा चलेको छलफलपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको छ।

वार्तामा गृहमन्त्री गुरुङसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जिल्ला प्रहरी प्रमुख, डीएसपी, डीआईजीलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।

पहिलो चरणको वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनहरूले उठाएका मागहरू सरकारको गम्भीर ध्यानाकर्षणमा परेको बताए।

उनले सबै माग तत्काल सम्बोधन गर्न सम्भव नभए पनि जायज र व्यवहारिक मागहरू यथाशीघ्र सम्बोधन गरिने स्पष्ट पारे।

यता, वार्तामा सहभागी विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष जानकी रमणले हिन्दू राष्ट्र पुनःस्थापनाको मागमा आफूहरू अडिग रहेको बताए।

उनका अनुसार गृहमन्त्री गुरुङले उक्त विषय तत्काल निर्णय गर्न सम्भव नभए पनि केन्द्रमा छलफलका लागि लैजाने आश्वासन दिएका छन्। साथै, अन्य मागप्रति सरकार सकारात्मक देखिएको उनले बताए।

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भचुर्अल बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्लो समय तराई–मधेसका केही जिल्लामा घटेका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम राख्न आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री आचार्यले सबै सुरक्षा निकायका प्रतिनिधि उच्च मनोबलका साथ परिचालित भइरहेका उल्लेख गर्दै आवश्यक समन्वय र सही सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच आज बिहान मुख्यमन्त्री आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगञ्जसहित क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले आपसी सम्यमता अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यद्वारा जारी अपिलमा समाजमा शान्ति, अमनचैन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख छ । उहाँले घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षत्रमा चलिरहेको युद्ध यथा सिग्र रोक्नुपर्ने बताउनुभएको छ ।

यस क्षत्रमा युद्धको अन्त्य भइ दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल–मन्डबको जलमार्गमा र वरपरका अन्तरराष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्णरूपमा पुनःस्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयीको विश्वासिलो माध्यम हुनुपर्ने बताउनुभएको छ ।

खाडीमा सैन्य वृद्धि भएको छ महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभएको छ ।

द्वन्द्वका कारण विश्वभर खाद्यान्न लगायतका आधारभूत सामग्रीको आयातमा कमजोर देशहरू अझै कमजोर बनिरहेको गुटेरेसले उल्लेख गर्नुभएको छ । विश्व खाद्य कार्यक्रमले ४५ करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौँलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ ।

उहाँले हमासलाई आफ्नो हतियार त्याग्न र इजरायललाई गाजाबाट आफ्नो सेना फिर्ता लिनका लागि सम्झौताको अमेरिकी. घोषणालाई शुभ समाचारको रुपमा स्वागत गर्नुभएको छ ।

“यी उद्देश्यहरू कार्यान्वयन गर्न स्पष्ट आधार भएको यसअघि नै घोषणा गरिएको उल्लेख गर्दै उहाँले शङ्का वा यसलाई कमजोर पार्ने दृढ सङ्कल्पविना दुवै पक्षले सहमति कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ ।

‘उज्यालो नेपाल कुनै पार्टीसँग मिसिँदैन’ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग एकीकरण नगर्ने, बरु अन्य दललाई समेट्ने वातावरण निर्माण गरिरहेको बताएका छन्।

शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रममा बोल्दै घिसिङले उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा अघि बढ्ने र कुनै पनि परिस्थितिमा अर्को दलसँग नमिसिने स्पष्ट पारे।

‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पनि पार्टीसँग मिसिँदैन। बरु अन्य पार्टीहरू हाम्रो पार्टीमा आउने वातावरण बनाउँदैछौँ। विभिन्न दलका साथीहरू उज्यालो नेपालमा सहभागी हुने विषयमा छलफलमा हुनुहुन्छ। देशभर पार्टीप्रतिको आकर्षण बढिरहेको छ र यो क्रम अझ तीव्र हुनेछ,’ उनले भने।

घिसिङले भविष्यमा उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने लक्ष्य रहेको बताए।

‘ढुक्क हुनुहोस्, उज्यालो नेपाल पार्टीले आगामी दिनमा देशको नेतृत्व गर्नेछ। हरित क्रान्तिमार्फत समृद्ध नेपाल निर्माण गर्ने हाम्रो संकल्प हो,’ उनले भने।

दोलखा र समग्र बागमती प्रदेशमा पार्टीको प्रभाव तीव्र रूपमा विस्तार भइरहेको दाबी गर्दै उनले दोलखा उज्यालो नेपालको किल्ला बन्ने र आगामी दिनमा बागमती प्रदेशमा सरकार गठन गर्ने अवस्था सिर्जना हुने दाबी गरे।

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

सुर्खेत । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो ।

यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गरेका थिए ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भएअनुरुप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए ।

घरदैलोमा सवारी अनुमतिपत्र पुर्‍याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम (पश्चिम) जानुपर्ने झन्झट अब समाप्त भएको उनले बताए ।

निर्देशक पाण्डेका अनुसार यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायत मापदण्ड पूरा गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्न योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा आउनुपर्ने छैन । मात्र रु ४० को हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्नेछ ।

यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घरघरमा पुर्‍याउने काम गर्दै आएको छ । यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छालालगायत नमुना परीक्षणका लागि हवाई सेवाद्वारा छिटोछरितो काठमाडौँ पठाउने, स्वास्थ्य बिमा बोर्ड, खुला विश्विवद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत संस्थाका सामग्रीसमेत हुलाकमार्फत आदानप्रदान हुने कामको सुरुआत भइसकेको हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ ।

निर्मल पुर्जासहित दिवङ्गत आरोहीप्रति प्रधानमन्त्री बालेनको भावपूर्ण श्रद्धाञ्जली

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा भएको दुःखद दुर्घटनामा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै आरोहीहरूको साहस र समर्पण इतिहासमा सधैँ अमर रहने बताएका छन्।

प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वतशृङ्खलास्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा निर्मल पुर्जासहित छ जना नेपाली र चार विदेशी आरोहीको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।

उनले ‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहनेछ’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री शाहले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्।

जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, ९ हजारभन्दा बढी आश्रयस्थलमा

टाेकियाे । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने ९ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् ।

कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

प्रिफेक्चरका अनुसार मृतकमध्ये नौ जना यात्सुशिरो सहरस्थित निप्पोन पेपर इन्डस्ट्रिज कम्पनीको कारखानामा रहेको धुवाँ निस्कने चिम्नी खस्दा तथा सात जना काशिमा टाउनस्थित आयन सपिङ मलमा भएको विस्फोटमा परी ज्यान गुमाएका हुन् ।

प्रिफेक्चरभित्र अनुरोधका आधारमा सञ्चालन गरिएका अधिकांश खोज तथा उद्धार कार्य सम्पन्न भइसकेका छन् । यद्यपि, करिब २३० जना प्रहरी अधिकारीको टोलीले प्रभावित क्षेत्रमा छुटेका वा फसेका व्यक्तिको खोजी जारी राखेको छ ।

भूकम्पका कारण आवासीय संरचनामा ठूलो क्षति पुगेको छ । अधिकारीका अनुसार १८२ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २० घरमा गम्भीर, २२५ घरमा आंशिक र एक हजार ३४ घरमा सामान्य क्षति पुगेको छ । थप ८२ भवनमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । हालसम्म प्रभावित घरको सङ्ख्या एक हजार ५४३ पुगेको छ ।

प्रिफेक्चरभरि २२९ वटा आश्रयस्थल सञ्चालनमा रहेका छन्, जहाँ ९ हजार २२८ जना विस्थापितले आश्रय लिइरहेका छन् । पूर्वाधारमा पुगेको क्षतिका कारण करिब छ हजार घरपरिवार अझै विद्युत् सेवाबाट वञ्चित छन् भने खानेपानी अभावबाट करिब ७२ हजार घरपरिवार प्रभावित भएका छन् ।

शुक्रबार हाकाता–कुमामोतोबीचको ‘क्युशु शिन्कान्सेन’ बुलेट ट्रेन सेवा पुनः सञ्चालनमा आएको भए पनि कुमामोतो र सिन–मिनामाताबीचको सेवा अगस्ट महिनाभित्र पुनः सञ्चालन गर्न कठिन हुने अधिकारीले बताएका छन् ।

यसैबिच, जापानको मौसम विज्ञान एजेन्सीले कुमामोतो क्षेत्रमा अत्यधिक गर्मी जारी रहने चेतावनी दिएको छ । सोमबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

कुमामोतोका गभर्नर ताकाशी किमुराले गर्मीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै आश्रयस्थलमा थप पोर्टेबल वातानुकूलन उपकरण जडान गर्ने तथा विस्थापितलाई वातानुकूलित सुविधा भएका स्थानमा सार्ने योजना रहेको बताए ।

मङ्गलबार स्थानीय समयअनुसार अपराह्न ४ः२७ बजे दक्षिण–पश्चिम जापानको कुमामोतो क्षेत्रमा सात दशमलप एक म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको भूकम्पीय तीव्रता मापन प्रणालीमा यसको अधिकतमस्तर सात पुगेको थियो, जसमा मानिसलाई उभिन वा सुरक्षित रूपमा हिँड्नसमेत कठिन हुने अवस्था हुन्छ ।

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो ।

उनीहरूले नगरक्षेत्र मा टायर बालेर सामाजिक सद्‌भाव बिथोल्ने प्रयास गरेका थिए । प्रहरीले साम्प्रदायिक सद्‌भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।

यसैबिच,उक्त कार्यालयले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

‘भदौ २४’ का प्रायोजकमाथि कारबाही नभएसम्म स्थिरता नआउने गोकुल बास्कोटाको टिप्पणी

काठमाडौं – नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले ‘भदौ २४’ को घटनाका प्रायोजक र संलग्नमाथि कारबाही नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले भदौ २४ को घटनालाई ‘प्रायोजित आतंकवादी आमहिंसा’ को संज्ञा दिएका छन्। उनले त्यस घटनाका जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट मुक्त हुन नसक्ने दाबी गरेका छन्।

उनले सरकारलाई लक्षित गर्दै घटनाका दृश्य र अदृश्य प्रायोजकको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रश्न गरेका छन्।

बास्कोटाले लेखेका छन्, ‘गएको भदौ २४ को प्रायोजित आतंकवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट तंग्रिन सक्दैन। त्यो धतुरे झाडी फाँड्न त्यही जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ? दृश्य–अदृश्य प्रायोजक को थिए? दण्डहीनताको रक्षा स्वीकार्य छैन। बोल सरकार, एक फेरि बोल!’

जनसङ्ख्या अध्ययन तथा सूचना केन्द्र स्थापना गर्न माग

काठमाडौँ । नेपाल जनसङ्ख्या सङ्घ (पान) ले जनसङ्ख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न सरकारसँग माग गरेको छ । पानको एक टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधाननन्त्रीको निजी सचिवालयमा एक स्मरणपत्र बुझाउँदै नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना, बसाइँसराइ तथा यसले सामाजिक, राजनीतिक क्षेत्रमा पार्ने असरबारे समयमै सूचित गर्न छुट्टै निकाय आवश्यक रहेकामा जोड दिएको हो ।

पानका अध्यक्ष डा.पदमप्रसाद खतिवडा, उपाध्यक्ष मनु मिश्र, महासचिव प्रदीप बोहोरा सहिनको टोलीले प्रधानमन्त्रीको सचिवालयमा बुझाइएको स्मरणपत्रमा हालै सङ्घीय मन्त्रालयको पुनःसंरचनाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ‘जनसङ्ख्या’ हटाइएकामा चिन्ता व्यक्त गरिएको छ ।

“राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ ले निर्दिष्ट गरेको जनसङ्ख्या अनुसन्धान केन्द्र स्थापना गर्न र स्वास्थ्य तथा स्वच्छता मन्त्रालयमा रहेको जनसङ्ख्या महाशाखा यथावत् राख्न माग गरेका छौँ”, अध्यक्ष खतिवडाले भने, “राष्ट्रिय जनसङ्ख्या नीति बनाउँदा सबै मन्त्रालयसँग समन्वय गरिएको र त्यसैको मर्मअनुसार जनसङ्ख्या महाशाखालाई अझ बलियो बनाएर लैजानुपर्नेमा हटाउन खोज्नु उपयुक्त छैन भन्ने हाम्रो आग्रह हो ।”

नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौँ। दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।

कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।

छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए ।

त्यस अवसरमा महावाणिज्यदूत हरिप्रसाद ओडारीले प्राप्त सुझाव आफ्ना निम्ति मार्गदर्शक हुने बताउँदै सबै सहभागीप्रति आभार व्यक्त गर्नुभयो । साथै, उहाँले नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका विशेषगरी दुबई तथा उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले दुबईमा महावाणिज्यदूतावास स्थापना गरेको हो ।

महावाणिज्यदूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी सेवा तथा आपत्कालीन कन्सुलर सहायता उपलब्ध गराउँदै आएको छ ।

धनुषा र सिरहा कर्फ्युः बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम। धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।

कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् ।

त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ । रासस

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५१, आलु रातो (मुढे) प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, सजिवन प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।नेपाल प्रहरीले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ९८ पैसा बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ १८ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

सरकार–पीडित परिवारबीच ८ बुँदे सहमति, गणेश यादवलाई शहीद घोषणा गरिने

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ  मृतक १५ वर्षीय गणेश यादवको परिवारलाई भेट गर्न सिरहा पुगेका छन् । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका हुन्।

यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ । शुक्रबार गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

लघुवित्त पीडितसँग सरकारको सहमति, आजैदेखि आन्दोलन र अनसन अन्त्य

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै संघर्ष समितिले देशभर सञ्चालन गर्दै आएका सबै आन्दोलन, धर्ना तथा अनसनका कार्यक्रम तत्कालका लागि अन्त्य गरेको छ।

अर्थमन्त्रीको साउन १४ गतेको निर्णयअनुसार गठित सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच शुक्रबार अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको वार्तापछि पाँचबुँदे सहमति भएको हो।

सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ गते बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक कार्ययोजनासहित १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस पेश गरिनेछ।

यस्तै, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, कालोसूचीमा परेका ऋणी तथा धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गरी व्यवहारिक र कार्यान्वयनयोग्य विकल्पसहित सुझाव तयार गर्ने सहमति भएको छ।

सहमतिमा ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको सञ्चालन मार्गदर्शन–२०८१ कडाइका साथ कार्यान्वयन गर्ने र त्यसको प्रभावकारी अनुगमन सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

संविधान कार्यान्वयन र प्रदेशको अधिकारमा सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रदेशहरूको सशक्तीकरण र संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।

तराई–मधेशमा विकसित पछिल्लो परिस्थितिबारे शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उनले संविधानको पूर्ण कार्यान्वयनबाट मात्रै संघीयता संस्थागत हुने र प्रदेशहरू थप अधिकारसम्पन्न बन्ने बताए।

संघीय शासन प्रणाली कार्यान्वयनको प्रक्रिया निरन्तर अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकारको प्रभावकारी प्रत्यायोजन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट समावेशी रहेको उल्लेख गर्दै सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए।

प्रधानमन्त्री शाहले आफू सम्पूर्ण नेपाली नागरिकप्रति समान रूपमा उत्तरदायी रहेको दोहोर्याउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबै नागरिकका लागि समान रूपमा खुला र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरे।

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेको छ। हाल लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा हिमाली भेगका केही र पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

पर्सा । पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को निर्देशन कार्यान्वयन, प्रदेश सुरक्षा समन्वय समिति, मधेस प्रदेश बैठकको निर्णयमाथि छलफल गरी निर्देशन बुँदागत रूपमा सम्बन्धित सरोकारवालसँगको सहकार्य, समन्वय, सहजीकरण र सहभागितामा तत्काल कार्यान्वयन गर्ने र सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)ले बिहीबार पछिल्ला घटनाक्रमलाई सूक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा निकायले सक्रियतापूर्वक समन्वयात्मक ढङ्गले सुरक्षा व्यवस्था मजबुत र सुदृढ बनाउने तथा सुरक्षात्मक कारबाहीमा संयततापूर्वक सुरक्षाकर्मीको परिचालन गर्ने लगायतको निर्देशन जारी गरेको थियो ।

बैठकले पछिल्लो समय देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण पर्सा जिल्लामा देखिन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै शुक्रबार साँझ ५ः०० बजेदेखि आज बिहान ६ः०० बजेसम्म वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ ।

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको थियो ।

मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनः संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई दुई हप्ताभित्र प्रतिवेदन पेस गर्न मन्त्री चौधरीले निर्देशन दिएकी छिन् ।

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी व्यवस्था कायम राख्न अभिभावकहरूसँग आग्रह गरेको छ ।

प्रहरी कार्यालयले आज अपिल जारी गर्दै सडक प्रदर्शन, जुलुस तथा भीडमा बालबालिकाको संलग्नता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सबै अभिभावक सचेत हुनुपर्ने उल्लेख गरेको छ । अपिलमा अभिभावकलाई आफ्ना बालबालिकालाई उत्तेजनात्मक, हिंसात्मक तथा कानुनविपरीत गतिविधिमा सहभागी हुन नदिन, अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन तथा उनीहरूको गतिविधिमा निगरानी राख्न अनुरोध गरेको छ ।

साथै सामाजिक सञ्जालमा फैलिने भ्रामक र भड्काउ सूचनाबाट सचेत रहन पनि आग्रह गर्दै अपिलमा बालबालिकाको सुरक्षा, शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा कानुनको पालनामा सहयोग पुर्‍याउन सम्पूर्ण अभिभावक, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा समुदायका सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी अपिलमा सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षको सहकार्य आवश्यक पर्ने जनाइएको छ ।

थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित

बैङ्कक। गत वर्षको झडपपछि थाइल्याण्डसँगको सीमामा २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित अवस्थामा रहेको संयुक्त राष्ट्रसङ्घका एक विशेषज्ञले शुक्रबार बताउनुभएको छ।

उहाँले दुवै पक्षलाई यो सङ्कट समाधान गर्न आग्रह गर्नुभएको छ । लामो समयदेखि चलिरहेको सीमा विवाद जुलाई र डिसेम्बरमा लडाइँमा परिणत भएको थियो, जसमा दर्जनौं मानिस मारिएका थिए।

उनीहरूले डिसेम्बरमा युद्धविराम सम्झौता गरेका थिए, तर उनीहरूले एकअर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन्।“यस्तो द्वन्द्वमा विस्थापित भएका व्यक्तिहरूलाई घर फर्कन पाउने अधिकार छ र यो अन्तर्राष्ट्रिय कानून स्पष्ट छ,” कम्बोडियामा मानव अधिकारसम्बन्धी नव नियुक्त संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयुजले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो ।

सीमा भ्रमणपछि जारी वक्तव्यमा एन्ड्रयुजले सन् २०२५ को अन्त्यसम्म छ लाख ५० हजार कम्बोडियाली नागरिक विस्थापित भएको र अझै २० हजार जना विस्थापित रहेको बताउनुभयो ।

केही सहर र गाउँहरू अहिले थाइ सैनिकहरूको कब्जामा रहेको, काँडेतार र अवरोधहरूले मानिसहरूलाई घर फर्कनबाट रोकेको उहाँले बताउनुभयो ।“मैले भग्नावशेष बीचमा बम र गोलीका छेद भएका घरहरू देखेँ”, उहाँले भन्नुभयो, “यो सङ्कटलाई सकेसम्म चाँडो समाधान गर्नुपर्छ किनकि यसमा मानव पीडा संलग्न छ।”

बैङ्ककले आफूले केवल कम्बोडियालीहरूले कब्जा गरेको थाइ भूमिलाई फिर्ता लिएको दाबी गरेको छ ।

–अझै ठगी जारी–

एन्ड्रयुजले शुक्रबार कम्बोडियाको आफ्नो पहिलो आधिकारिक भ्रमण सम्पन्न गर्नुभएको छ, जहाँ उहाँले ठगी केन्द्रहरूमा काम गर्न तस्करी गरिएका पीडितहरू र राजनीतिक अधिकारमा व्यापक प्रतिबन्धबारे पनि चिन्ता व्यक्त गर्नुभयो ।

कम्बोडिया तथाकथित मनोरञ्जन र क्रिप्टोकरेन्सी लगानी योजना सञ्चालन गर्ने अपराधी समूहहरूको केन्द्र बनेको छ, जसमा ठगहरूले विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूलाई धोका दिन्छन्।

एन्ड्रयुजले ६०० भन्दा बढी ठगी केन्द्रहरूमा छापा मारिएको र हजारौँ व्यक्ति पक्राउ परेको बताउनुभयो । तर ‘ठगी जारी छ,” जुन सहर र शहरबाट ग्रामीण क्षेत्रमा फैलिरहेको छ ।

ठगी केन्द्रहरूमा काम गर्न तस्करी गरिएका व्यक्तिहरूको भाग्य अस्पष्ट रहेको उहाँले टेलिफोन अन्तर्वार्तामा बताउनुभयो ।

उहाँले पैसा वा पासपोर्टबिना सडकमा बसिरहेका हजारौँ मानिसहरूबारे रिपोर्ट सुनेको बताउनुभयो तर अधिकारीहरूले उहाँलाई पीडित र अपराधी छुट्याउन ‘जाँच प्रक्रिया’ चलिरहेको आश्वासन दिएको बताए, यद्यपि यसमा ‘क्षमताको समस्या’ रहेको छ।

एन्ड्रयुजले कम्बोडियाका नेताहरूलाई ठगी केन्द्रहरूमा संलग्न सबै व्यक्ति, उच्च पदस्थ अधिकारीसहित, न्यायको सामना गर्न सुनिश्चित गर्न दबाब दिएको बताउनुभयो ।

“मैले सबैका लागि जवाफदेहिताको महत्त्वलाई जोड दिएँ, केवल तल्लो तहका मात्र होइन, माथिल्लो तहका पनि,” उहाँले भन्नुभयो ।

साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

काठमाडौँ। साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन् ।

यसैबीच, प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

१८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा। प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यन्वयन टोलीले विशेष सूचनाका आधारमा पर्सा पोखरिया नगरपालिका-२ लमरिया बस्ने २३ वर्षीय सदाम अन्सारीलाई आज लमरिया सडकखण्डबाट नियन्त्रणमा लिइ जिल्ला अदालतमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अन्सारीलाई पर्सा जिल्ला अदालतको २०७८ साल चैत २९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद तोकेको जानकारी दिनुभयो ।

पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

जेनेभा। सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक पछिल्लो तथ्याङ्कमा जनाएको छ ।कृत्रिम बुद्धिमत्ता (एआई)सँग सम्बन्धित विद्युतीय उपकरणहरूको व्यापारमा तीव्र वृद्धिले मध्यपूर्व द्वन्द्वको नकारात्मक प्रभावलाई सन्तुलन गरेको छ ।

तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासमा मौसमी रूपमा समायोजित विश्वव्यापी वस्तु व्यापारको मात्रा अघिल्लो त्रैमासको तुलनामा १.९ प्रतिशत र वार्षिक रूपमा ३.२ प्रतिशत बढेको छ ।
मूल्यका हिसाबले विश्वव्यापी वस्तु व्यापार अघिल्लो त्रैमासभन्दा दुई प्रतिशत र सन् २०२५ को सोही त्रैमासभन्दा ११ प्रतिशत बढेको छ ।

सन् २०२६ को पहिलो त्रैमासमा रेकर्ड गरिएको वार्षिक वृद्धि दर विशेष रूपमा उल्लेखनीय छ, किनकि सन् २०२५ को पहिलो त्रैमासको व्यापार वृद्धि मुख्यतया अपेक्षित भन्सार वृद्धिअघि उत्तर अमेरिकामा आयात अगाडि गर्नाले भएको थियो ।

एआईसँग सम्बन्धित विद्युतीय उपकरणहरूको बलियो व्यापारले मध्यपूर्वमा युद्ध सुरु भएपछि हर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा अवरोध र उच्च ऊर्जा मूल्यका कारण इन्धन आयात गर्ने देशहरूमा मन्द आर्थिक वृद्धि जस्ता प्रतिकूल प्रभावहरूलाई पूर्णरूपमा पूर्ति गरेको छ ।

डब्ल्यूटीओले एआईका सक्षम उत्पादनहरूको विश्वव्यापी व्यापार मात्राबारे कुनै विशिष्ट तथ्याङ्क उपलब्ध नभए पनि तिनीहरूको अमेरिकी डलरमा आधारित व्यापार मूल्य पहिलो त्रैमासमा वार्षिक रूपमा ४० प्रतिशतभन्दा बढी बढेको जनाएको छ ।

द्वन्द्वले मध्यपूर्वको वस्तु व्यापारलाई गम्भीर रूपमा प्रभावित गरेको छ । यस क्षेत्रको मौसमी रूपमा समायोजित निर्यात र आयात मात्रा क्रमशः ९.७ प्रतिशत र ११.९ प्रतिशतले वार्षिक रूपमा घटेको छ र दोस्रो त्रैमासमा अझ तीव्र गिरावट हुने अपेक्षा गरिएको छ ।यसैबीच एआईसँग सम्बन्धित लगानी खर्चले पहिलो त्रैमासमा एसियाको व्यापार मात्रा बढाएको छ । एसियाको मौसमी रूपमा समायोजित निर्यात र आयात क्रमशः १२.९ प्रतिशत र १४.६ प्रतिशतले वार्षिक रूपमा बढेका छन् ।

एसियाको व्यापार विस्तारको ठूलो भाग एआई सक्षम वस्तुहरूको अन्तर–क्षेत्रीय आवतजावतबाट आएको हो।

उत्तर अमेरिकामा पहिलो त्रैमासको निर्यात वार्षिक रूपमा ७.० प्रतिशत बढेको छ भने आयात १०.७ प्रतिशत घटेको छ।आगामी त्रैमासको व्यापार तथ्याङ्कले हर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा भएका अवरोधहरूलाई अझ पूर्ण रूपमा प्रतिबिम्बित गर्ने डब्ल्यूटीओले अपेक्षा गरेको छ ।

चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने

चितवन। भरतपुर महानगरपालिकाले जिल्लामा आज सद्भाव र्‍यालीको आयोजना गरेको छ ।

भरतपुरको चौबीसकोठीबाट पुलचोकसम्म आयोजना गरिएको सद्भाव र्‍यालीपछि जिल्ला समन्वय समिति चिवनका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक विविधताबीच एकतामा बाधिएको मुलुकका रूपमा रहेका बताउनुभयो ।

पछिल्लो समय सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउन सबैलाई आग्रह गर्नुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल विविधताले सम्पन्न बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले यही विविधता राष्ट्रिय एकताको आधारका रूपमा रहेको बताउनुभयो ।

र्‍यालीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।

युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि

पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ ।

युरोपेली सङ्घ (इयु) को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्क (इसीबी) को दुई प्रतिशत लक्ष्यभन्दा उल्लेखनीय रूपमा माथि रहेको छ ।

इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता अमेरिका–इरानबीचको द्वन्द्वका कारण ऊर्जा बजारमा थप दबाब पर्न सक्ने र त्यसको असर मुद्रास्फीतिमा अझ तीव्र रूपमा देखिन सक्ने चेतावनी दिएकी थिइन् ।

इसीबीले जुलाई २३ मा आफ्नो प्रमुख निक्षेप ब्याजदर यथावत् राखे पनि मध्यपूर्वको तनावका कारण मूल्यवृद्धि थप चर्किन सक्ने आकलन गर्दै सेप्टेम्बरमा ब्याजदर बढाउने सम्भावना खुला राखेको छ ।

यसै महिनामा अमेरिका र इरानबीच नयाँ सैन्य आक्रमणहरू भएका भए पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै पक्षबीच वार्ता जारी रहेको जनाएको छ ।

ऊर्जा र खाद्यजस्ता अस्थिर वस्तुहरूलाई बाहिर राखेर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि जुनको २.४ प्रतिशतबाट बढेर जुलाईमा २.५ प्रतिशत पुगेको युरोस्ट्याटले जनाएको छ ।

तथ्याङ्कअनुसार जुलाईमा ऊर्जा मूल्यवृद्धिदर ८.५ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । त्यसविपरीत खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने जुनको १.५ प्रतिशतबाट घटेर जुलाईमा १.२ प्रतिशतमा झरेको छ ।