`

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा। सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो । गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । उनले भने, “मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन ।”

अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।

सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

जुम्ला। जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् । सदरमुकाम खलङ्गा बजारमा आज आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको थियो ।

विशेषगरी राजनीतिक दललाई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर। कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् ।

जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उहाँले कुनै पनि कार्यक्रममा सम्बोधन गर्नुभएन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् ।

चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उहाँले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै हिड्नुभयो ।

लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत हुनुभयो । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए ।

अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रबार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिनुभयो ।

“बालेन अहिले कालिकोटको मान्म पुग्नुभएको छ”, रास्वपाका समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टले भन्नुभयो, “अब चाँडै पार्टीले प्रदेश सरकारका चुनावी सभा आयोजना गर्दा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।”

नेता भट्टका अनुसार सुदूरपश्चिम भ्रमणका क्रममा वरिष्ठ नेता बालेनले पार्टीका उम्मेदवारहरूसित स्थानीयस्तरमा विद्यमान समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिने गरेका थिए । “उम्मेदवारहरूसित छोटोमा छलफल गर्नुभयो”, भट्टले भन्नुभयो, “बालेनको सुदूरपश्चिम भ्रमणले उत्साह जगाएको छ ।”

उहाँले निर्वाचन आचारसंहितालाई ख्याल गरेर सम्बोधन नगरिएको बताउनुभयो । जिल्लाहरूमा छोटो भेटघाट र यात्राका क्रममा बाटोमा भेटिएका सर्मथकहरूसित हार्दिकता साटेर उहाँ कर्णालीको यात्रामा रहेको भट्टको भनाइ छ ।

बालेनको सुदूर यात्रामा उहाँप्रतिको क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् ।

कांग्रेसमा कुनै गुट छैन, सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति – कांग्रेस सभापति थापा

धनुषा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्नुभयो ।

“कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ । सबै मिलेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ ।” मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने उहाँको भनाइ छ ।

उहाँले मधेस प्रदेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र गुटबन्दीभन्दा माथि उठेर साझा लक्ष्यका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई जनतासँग नजिक रहेर काम गर्न, विकास र सुशासनलाई प्राथमिकतामा राख्न तथा पार्टीका निर्णय र नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी सङ्गठनलाई जनताको दैनिक समस्यासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मधेसका मुद्दा समाधानका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।

बैठकमा मधेस प्रदेश कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको सहभागिता थियो ।

वीरगञ्ज भन्सार हुँदै छ महिनामा १८ अर्बका सवारीसाधन आयात

पर्सा। वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ।गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताउनुभयो । चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ ।

जबकी गत आवको सोही अवधिमा रू १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा रू १० अर्ब २१ करोड राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका ४३४ वटा जीप, कार र भ्यान आयात भएका छन् । त्यसैगरी रु चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ ।

रू एक अर्ब छ करोड मूल्य पर्ने ३८० वटा ट्रक, मिनी ट्रक आयात भएको छ । त्यसैगरी रू एक अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । रू एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।

न्यू डायमण्डले जित्यो टाइगर कपको उपाधि

कास्की। पोखरामा सञ्चालन भएको छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो ।

उपाधिसँगै न्यू डायमण्डले रु छ लाख ६६ हजार ६६६ हात पा¥यो । उपविजेता बनेको पुलिसले रु तीन लाख ६६ हजार ६६६ प्राप्त ग¥यो । महिलातर्फ थाइल्याण्ड क्विन्स तृतीय हुन सफल भयो । थाइल्याण्ड क्विन्सले रु दुई लाख छ हजार ६६६ पुरस्कार पायो ।

प्रतियोगितामा न्यू डायमण्डकी सुमित्रा रेग्मी सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु २६ हजार ६६६ प्राप्त गरिन् । उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही रु ११ हजार ६६६ प्राप्त गरे । अघिल्लो संस्करणमा महिलातर्फको उपाधि आयोजक टोली टाइगर ग्रुपले जितेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच खेल हुँदैछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ गतेदेखि जारी च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ। मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले आज प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो । मङ्गलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो ।

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने रेलिङसहितको सिँढी बाटोमा पूरै हिउँ जमेका कारण मुक्तिनाथका दर्शनार्थीहरूलाई निकै असहज पु¥याएको थियो । मुक्तिनाथ मन्दिरमा बाक्लो हिउँ जमेर बसेको र यसले दर्शनार्थीको दर्शन र स्नान गर्ने कार्यमा बाधा पुगेकाले सशस्त्र प्रहरीले मुक्तिनाथमा पुगेर हिउँ पन्छ्याइएको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर र मन्दिरसम्म जाने सिँढी बाटोमा दुई फिटसम्म हिउँ जमेर बसेकाले सशस्त्र प्रहरीको टोली खटिएर मुक्तिनाथको हिउँ सफा गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो ।

मुक्तिनाथ जाने सडक र मन्दिर परिसरमा बाक्लो हिउँ थुप्रिएर बस्दा दर्शनार्थीहरू चिप्लिएरु लड्ने र दुर्घटना हुने जोखिम रहेकोमा सशस्त्र प्रहरी टोली हिउँ पन्छ्याएपछि मुक्तिनाथ दर्शनार्थीहरूलाई निकै सहज तुल्याएको व्यवस्थापक भुसालले बताउनुभयो ।

सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने रेलिङ मार्ग, मन्दिर परिसर, स्नानकुण्ड र १०८ धारालगायत स्थानमा जमेको हिउँ पन्छ्याएको हो । यसअघि भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याइपछि शुक्रबार बिहानदेखि यातायात आवागमन सञ्चालनमा आएको छ ।

अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन कोरला सडक आयोजनाको डोजर परिचालित गरी जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरू मिलेर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

दक्षिण कोरियाको औद्योगिक उत्पादन बृद्धि ०.५ प्रतिशतमा सीमित

सोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम भएको छ । तथ्याङ्क मन्त्रालयका अनुसार, पहिलो अर्धवार्षिक राजनीतिक अनिश्चितताको कारण औद्योगिक उत्पादन सूचकाङ्क केवल ०.५ प्रतिशतले मात्र बढेको हो । यो वृद्धि २०२० पछि सबैभन्दा न्यून हो ।

गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ । नयाँ सरकार गत वर्ष जूनमा आकस्मिक राष्ट्रपति निर्वाचन मार्फत पदभार ग्रहण गरेको थियो ।

निर्माण उद्योगको उत्पादन १.७ प्रतिशतले बढेको छ । तथा, सेवा क्षेत्रको उत्पादन भने १.९ प्रतिशतले बढेको छ । निर्माताहरूले सन् २०२५ मा औसत क्षमता ७२.८ प्रतिशत कायम राखेका छन्, जुन अघिल्लो वर्षको ७२.७ प्रतिशतभन्दा थोरै बढी हो ।

उक्त वृद्धि नयाँ सरकारले दोस्रो अर्धवार्षिकमा प्रदान गरेको नगद सहायता कार्यक्रमका कारण भएको बताइएको छ । डिसेम्बर सन् २०२५ मा कृषि, पशुपालन र मत्स्य पालन क्षेत्र बाहेक सबै उद्योगको उत्पादन सूचकाङ्क अघिल्लो महिनाको तुलनामा १.५ प्रतिशतले बढेको छ ।

त्यस्तै, खुद्रा बिक्री सूचकाङ्क ०.९ प्रतिशतले बढ्दा सुविधा लगानी ३.६ प्रतिशतले घटेको छ । आगामी आर्थिक अवस्था अनुमान गर्ने प्रमुख आर्थिक सूचकाङ्क ०.६ अङ्कले बढेर १०३.१ पुगेको छ भने हालको आर्थिक अवस्था मापन गर्ने समसामयिक सूचकाक ०.२ अङ्कले घटेर ९८.५ पुगेको छ ।

तीन जनाको ज्यान लिएको अभियोगमा कुमार पक्राउ

दमौली (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जना हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

निजविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ ।

गत पुस २६ गते बिहान ९:३० बजेको समयमा सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी नगरपालिका–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेलापरेको थियो ।

घटनापश्चात् तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो । नाम, थर र वतन नखुलेका ती पुरुषको शव सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा राखिएको छ ।

काठमाडौँका विभिन्न क्षेत्रमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ, १६ माघ । काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएको उक्त दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा।प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको आज मृत्यु भएको छ ।

गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकस्थित सडकमा प्र।२–०३–००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौँ काभ्रेस्थली बस्ने सङ्खुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा।७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँ टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विप्लवले प्रचण्डलाई भने – लत्रिदै धेरै पर पुग्नुभो, लडाइँमा बलिदान दिएका मान्छेको सम्झना छ भने माओवादीमा फर्किनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्डलाई फर्कन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्कन आग्रह गरे । उनले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताए ।

उनले भने, ‘हामी जुन सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, त्यसलाई पूरा गर्ने हामीसँग अठोट छ । मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने हामीभित्र अठोट छ । कार्यकर्ताहरु जो अहिले लागि रहेका छन् उनीहरुको जीवन यही माटोमा खोज्ने हामीभित्र आकांक्षा छ ।’

उनले प्रचण्डले माओवादीको बजनदार जिम्मेवारीलाई बोक्न र थाम्न नसकेर लत्रिदै धेरै पर पुगेको भन्दै फर्किन आग्रह गरेका छन् । हिजो लडेका माओवादीहरुलाई पनि होस छ र लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्किन पनि उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मान्छे जम्मा भएर वा धेरै मान्छे भएर कम्युनिष्ट पार्टी ठिक हुने हो, धेरै मान्छे थुपारेर लोभ–लालच देखाएर जनताहरु मान्ने हुन् । आफूले विकास गरेको विचारमा आफै उभिन नसकेपछि आफूले निर्माण गरेको इतिहासको रक्षा आफैंले गर्न नसकेपछि एउटा कुरुप चित्र आन्दोलनमा पैदा हुने रहेछ भन्ने कुरा देख्यौं । त्यसकारण आजको दिनमा कमरेड प्रचण्ड माओवादीको बजनदार जिम्मेवारी त्यसलाई बोक्न नसकेर, थाम्न नसकेर लत्रिदै धेरै पर पुग्नु भएछ । तपाई फर्किनु होस । हिजो लडेका माओवादीहरुमा होस छ भने फर्कियौं ।’

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

दमौली (तनहुँ) । व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको अल्ट्रा म्याराथनमा नेपाली सेनाले बर्चस्व कायम गरेको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि वडा–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् ।

प्रतियोगितामा बझाङका करन रावल प्रथम भए । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा गरे । त्यस्तै रामेछापका तिलकबहादुर सुनुवारले दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरेका छन् । रामेछापकै होमलाल श्रेष्ठले तीन घण्टा चार मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ८५ हजार ८२, द्वितीय हुनेलाई रु ६५ हजार ८२, तृतीय हुनेलाई ५५ हजार ८२ पुरस्कार प्रदान गरिएको छ ।

म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।

म्याराथनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले म्याराथनले दुई गाउँलाई चिनाउन सहयोग पुगेको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले मानुङकोटलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खेलकुदका माध्यमबाट दुई गाउँ जोड्ने प्रयास गरिएको बताए ।

मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ ।

संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि यस्तो वार्ता जारी रहने बताएका छन् ।

चिनियाँ समाचार संस्था शिन्ह्वाका अनुसार ट्रम्पले संवाद कुन स्तरमा र कससँग भएको हो भन्ने स्पष्ट विवरण नदिए पनि अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम तत्काल रोक्न र देशभित्र भइरहेका विरोध प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न कडा सन्देश दिएको उल्लेख गरे ।

यसै सन्दर्भमा अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत ‘अब्राहम लिङ्कन’ विमानवाहक पोत समूह तैनाथ गरेको जानकारी दिँदै ट्रम्पले सैन्य उपस्थिति कूटनीतिक चेतावनीको रूपमा रहेको सङ्केत गरे ।

ट्रम्पले अमेरिका र इरान दुवै समयको दबाबमा रहेको उल्लेख गर्दै वार्ता सफल नहुँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिएका छन् । यो घटनाक्रमले अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण मोडतर्फ उन्मुख भएको सङ्केत दिएको छ र यसले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

प्रजातान्त्रिक योद्धा राईको शालिक अनावरण

टक्सार (भोजपुर)। प्रजातान्त्रिक योद्धा दिवानसिंह राईको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरको बिपी स्मृति भवन परिसरमा स्थापना गरिएको उक्त शालिकको आज दिवानसिंहकी छोरी एवं पूर्वसभासद कुमारी लक्ष्मी राईले अनावरण गरेका हुन् ।

भोजपुरको तत्कालिन छिनामखु गाविसमा १९८१ सालमा जन्मिएका दिवानसिंह २०१५ सालमा बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा गृहराज्यमन्त्री समेत भएका थिए । मुलुकमा पञ्चायती व्यवस्था सुरु भएसँगै उनी २०१७ पुस १ गतेपछि निरन्तर आठ वर्ष बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र तथा योगेन्द्रमान शेरचनहरूसँगै सुन्दरीजल जेलमा बसेका थिए ।

जेलपश्चात् उनी शिक्षा र सामाजिक अभियानसँगै राजनीतिक आन्दोलनमा सक्रिय भएको छोरी कुमारी लक्ष्मीले बताए । राई साहित्यकार समेत थिए । उनका ‘निर्दोष हत्या’ र ‘रिकुटे’लगायत कृति प्रकाशित छन् । प्रजातान्त्रिक आन्दोलनका योद्धा राईको २०२९ भदौ २ गते कुमकुम झोडामा हत्या गरिएको थियो ।

पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा

काठमाडौँ । मुलुकको वित्तीय प्रणालीलाई सबल, सुदृढ र समावेशी बनाउँदै समग्र आर्थिक समृद्धिमा योगदान बढाउने उद्देश्यसहित पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा आएको छ ।

आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्म लागू हुने उक्त रणनीतिले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा वित्तीय क्षेत्रको योगदान हालको ६.६५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याउने लक्ष्य लिएको हो । साथै कुल जनसङ्ख्याको ६० प्रतिशतसम्म बिमाको पहुँच विस्तार गर्ने लक्ष्यसमेत रणनीतिमा समेटिएको छ ।

अर्थ मन्त्रालयले तयार पारेको उक्त रणनीतिले वित्तीय क्षेत्रलाई दिगो, समावेशी र उत्थानशील बनाउँदै आर्थिक समृद्धिको आधार तयार गर्ने दूरदृष्टि अघि सारेको छ । रणनीतिमा ‘आर्थिक समृद्धिका लागि सबल, सुदृढ, समावेशी र उत्थानशील वित्तीय क्षेत्र’लाई मूल दृष्टिकोणका रूपमा परिभाषित गरिएको छ ।

रणनीतिका उद्देश्यहरू दिगो तथा समावेशी आर्थिक विकासका लागि सक्षम र कुशल वित्तीय क्षेत्र विकासमा केन्द्रित छन् । वित्तीय प्रणालीलाई सुरक्षित, सबल, विश्वसनीय र स्थिर बनाउने, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्दै सुशासन कायम गर्ने, वातावरण तथा प्रविधिमैत्री वित्तीय सेवाको विस्तार गर्ने, वित्तीय साक्षरता, पहुँच र ग्राहक संरक्षणमार्फत समावेशी वित्तीय प्रणाली निर्माण गर्ने प्रमुख उद्देश्यहरू रणनीतिमा उल्लेख छन् ।

यी उद्देश्य हासिल गर्न रणनीतिले केही मार्गदर्शक सिद्धान्तसमेत तय गरेको छ । वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा, सुशासन र स्थायित्व कायम गर्नु, सार्वजनिक, निजी तथा सहकारी क्षेत्रबीच परिपूरक भूमिका सुनिश्चित गर्नु, सूचना प्रविधिको सुरक्षित र उच्चतम प्रयोग गर्नु, वित्तीय संस्थाहरूको संस्थागत क्षमता सुदृढीकरण गर्नु, समावेशी तथा वातावरणमैत्री वित्तीय सेवाको विकास गर्नु, अनुसन्धान, विकास र नवीन अभ्यासलाई प्रोत्साहन गर्नु तथा ग्राहकहित संरक्षणलाई प्राथमिकतामा राख्नु रणनीतिका मुख्य सिद्धान्त हुन् ।

रणनीतिक रूपमा चार मुख्य स्तम्भ निर्धारण गरिएको छ । पहिलो स्तम्भ दिगो तथा समावेशी आर्थिक विकास हो । यसअन्तर्गत वित्तीय पूर्वाधार र क्षमता विकासमार्फत वास्तविक क्षेत्रको सुदृढीकरणमा जोड दिइएको छ । दोस्रो स्तम्भ वित्तीय पहुँच तथा समावेशीकरण हो । यसले बैंकिङ, बिमा र पुँजी बजार तथा सेवाहरू ग्रामीण तथा सीमान्तकृत समुदायसम्म पुर्याउने लक्ष्य राखेको छ ।

तेस्रो स्तम्भ वित्तीय साक्षरता तथा ग्राहक संरक्षणसँग सम्बन्धित छ । यसले वित्तीय सेवाको सुरक्षित र सचेत उपयोग सुनिश्चित गर्ने अपेक्षा गरेको छ । चौथो स्तम्भ वित्तीय क्षेत्र सुदृढीकरण तथा वित्तीय स्थायित्व रहेको छ । यसबाट वित्तीय प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्दै दीर्घकालीन स्थायित्व कायम गर्ने लक्ष्य राखिएको छ ।

रणनीतिमा उल्लेख गरिएअनुसार यो कार्यान्वयनमा आएसँगै विभिन्न परिमाणात्मक लक्ष्यहरू हासिल हुने अपेक्षा गरिएको छ । आव २०८६/८७ सम्म बैंकिङ प्रणालीबाट प्रवाहित कृषि कर्जा कुल कर्जाको १५ प्रतिशत पुर्याइने लक्ष्य लिइएको छ । जुन हाल १२.८४ प्रतिशत हाराहारी रहेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्यूआर कोडलगायत माध्यममार्फत हुने विद्युतीय कारोबारको सङ्ख्या तीन गुणासम्म वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी वित्तीय पहुँचसम्बन्धी सूचक विकास गरी वार्षिक रूपमा प्रकाशन गर्ने, ग्रीन बन्डलगायत विशिष्टिकृत बन्ड जारी गरी वित्तीय स्रोत सङ्कलन गर्ने, विद्युतीय भुक्तानीका लागि ‘अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डाटा’ (युएसएसडी) प्रविधि कार्यान्वयनमा ल्याउने रणनीतिमा उल्लेख छ ।

कुल जनसङ्ख्याको ६० प्रतिशतमा बिमाको पहुँच पुर्याउने, बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षण संयन्त्र विकास गर्ने, पुँजी बजारमा इक्विटी डेरिभेटिभ्स, इन्डेक्स फन्ड र इटिएफजस्ता नयाँ वित्तीय उपकरण प्रवेश गराउने तथा वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने लक्ष्यसमेत रणनीतिमा समावेश गरिएको छ ।

त्यसैगरी, रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सम्बन्धित नियामक निकायहरूले दुई महिनाभित्र विस्तृत कार्ययोजना तयार गर्ने व्यवस्था गरिएको छ । कार्ययोजनामा रणनीति, कार्य, समयसीमा, कार्यान्वयन निकाय, प्राथमिकता र प्रमुख कार्यसम्पादन सूचक समावेश गरिनेछ । साथै कार्यान्वयनको जिम्मेवारी स्पष्ट रूपमा तोक्दै नियमित अनुगमन र प्रतिवेदन प्रणाली विकास गरिनेछ ।

वित्तीय क्षेत्रमा देखिएका संरचनागत र नीतिगत समस्याको समाधान तथा नियामक निकायहरूबीच प्रभावकारी समन्वयका लागि उच्चस्तरीय वित्तीय क्षेत्र सुधार निर्देशक समिति गठन गरिनेछ ।

अर्थमन्त्रीको संयोजकत्वमा रहने उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव, नेपाल बिमा प्राधिकरणका अध्यक्ष, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सहकारी विभागका रजिष्ट्रार, साथै वित्तीय क्षेत्रका दुई जना विज्ञ सदस्य रहने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ ।

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको छ ।

निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै मन्त्रालयले सो अवधारणा ल्याएको हो । अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसमेत गरेको छ ।

वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनलगायत कार्यमा समावेश गराइ निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गरी गराई निश्पक्ष निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई जिम्मेवार बनाइएको छ ।

सहिद राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोत हुन्ः गृहमन्त्री आर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश आर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताएका छन् ।

राष्ट्रिय सहिद दिवसका अवसरमा आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा राखे ।

गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्ट पारे । उनले विभिन्न कालखण्डमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति उच्च सम्मान व्यक्त गरे ।

उनले भने, “सहिदहरूको रगतले सिञ्चित यो भूमि आज स्वतन्त्र छ । उहाँहरूको बलिदानकै कारण संविधानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सहिदहरूले देखाएका सपना साकार पार्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध छ ।”

गृहमन्त्री आर्यालले सहिद परिवारको संरक्षण, सम्मान र सहयोगलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यको तर्फबाट आवश्यक सहयोग र सम्मान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । सहिद परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको उनको भनाइ छ ।

“विभिन्न समयमा देशका लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, गृहमन्त्री आर्यालले भने, “जेनजी आन्दोलनका सहिदसहित सबै सहिद परिवारलाई सरकारले सधैँ उच्च सम्मान प्रदान गर्नेछ । उहाँहरूका पीडा र समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व हो ।”

गृहमन्त्री आर्यालले वर्तमान सरकार नागरिकमैत्री सरकार भएको उल्लेख गर्दै यो सरकारले सधैँ नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कठिन परिस्थितिमा अभिभावकविहीन महसुस गरेका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

उनले सुशासन, शान्ति सुरक्षा, सामाजिक न्याय र नागरिकको जीवनस्तर उकास्ने कार्यमा सरकार केन्द्रित रहेको जिकिर गरे । सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै त्यसबाट प्रेरणा लिई राष्ट्र निर्माणमा सबै नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सहिद परिवारका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।

अमेरिकी केन्द्रीय बैंकको अध्यक्षको नाम शुक्रबार घोषणा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान फेडरल रिजर्भका अध्यक्षका लागि आफ्नो उम्मेदवारको घोषणा गर्ने बताउनुभएको छ। लामो समयदेखि प्रतीक्षा गरिएको यस निर्णयले अमेरिकी केन्द्रीय बैंक ह्वाइट हाउस र चुनावी राजनीतिबाट कत्तिको स्वतन्त्र रहन सक्छ भन्ने विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

गत वर्षभरि राष्ट्रपति ट्रम्पले वर्तमान फेड अध्यक्ष जेरोम पावेलको निरन्तर आलोचना गर्दै आउनुभएको थियो। पावेलको कार्यकाल आगामी मे महिनामा समाप्त हुँदैछ। ट्रम्पले द्रुत आर्थिक वृद्धिका लागि ब्याज दर अझ तीव्र रूपमा घटाइनुपर्ने धारणा राख्नुभएको छ। तर पावेलले ट्रम्प प्रशासनका कर नीतिका कारण मुद्रास्फीति बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्ण मौद्रिक नीति अपनाउँदै आउनुभएको छ।

बिहीबार राति आफ्नी पत्नीबारे बनेको वृत्तचित्रको प्रदर्शनमा सहभागी हुन जाँदै गर्दा ट्रम्पले शुक्रबार बिहान फेड अध्यक्षको नाम घोषणा गर्ने जानकारी दिनुभएको हो। उहाँले छनोट हुने व्यक्ति आर्थिक क्षेत्रमा व्यापक सम्मान पाएको र सबैले चिनेको व्यक्तित्व हुने विश्वास व्यक्त गर्नुभयो।

उम्मेदवारबारे धेरै विवरण सार्वजनिक नगरे पनि खोज प्रक्रियाको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गर्नुभएको बताइएको छ। अन्तिम चरणमा केभिन वार्श, क्रिस्टोफर वालर, रिक रिडर र केभिन ह्यासेटका नाम चर्चामा छन्। ट्रम्पका पछिल्ला अभिव्यक्तिले वार्शतर्फ उहाँको झुकाव देखिएको अड्कल विश्लेषकहरूले गरेका छन्।

यसैबीच, फेडको मुख्यालय नवीकरणसम्बन्धी लागतलाई लिएर ट्रम्प र केन्द्रीय बैंकबीच तनाव बढ्दै गएको छ। यही सन्दर्भमा फेडले अमेरिकी न्याय विभागबाट कानुनी सूचना प्राप्त गरेको थियो। पावेलले भिडियो सन्देशमार्फत ब्याज दर निर्धारण राजनीतिक दबाबभन्दा जनताको दीर्घकालीन हितका आधारमा गरिएको स्पष्ट पार्नुभएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो मनोनीत फेड अध्यक्षले ब्याज दर घटाउने अपेक्षा व्यक्त गर्दै आउनुभएको छ, जसको असर अर्थतन्त्र, मुद्रास्फीति र रोजगारीमा प्रत्यक्ष रूपमा पर्नेछ। यद्यपि पावेल अध्यक्ष पदबाट हटे पनि फेडको बोर्ड अफ गभर्नरमा सन् २०२८ सम्म रहन सक्ने भएकाले ट्रम्पले बोर्डमा पूर्ण नियन्त्रण कायम गर्ने योजनामा केही प्रक्रियागत चुनौती आउन सक्ने विश्लेषकहरूको भनाइ छ।

पावेलले हाल बोर्डबाट अलग हुने वा नहुनेबारे निर्णय सार्वजनिक नगरे पनि उत्तराधिकारीले राजनीतिक प्रभावबाट टाढा रही कङ्ग्रेसमार्फत जवाफदेही रहने केन्द्रीय बैंकको परम्परागत सन्तुलन कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। एपी

कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनकै परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको हो – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गरेका छनत् । शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।

उनले लेखेका छन् – आज माघ १६ – शहीद दिवस। आजको समयमा उभिएर हेर्दा यो दिन केवल क्यालेन्डरको एउटा मिति जस्तो लाग्छ। तर अलि अगाडिको समय कस्तो थियो भनेर हेर्ने हो भने हामीले अहिले उपभोग गरेको स्वतन्त्रता कसरी प्राप्त भएको भन्ने थाहा पाउँछौं।वि.सं. १९९७ मा प्रजातन्त्रको आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दियो।

निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ त्यसरी रोपिएको थियो। कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो आज समाजले पाएको लोकतान्त्रिक अधिकार। यस ऐतिहासिक विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। अमर शहीदहरूका बलिदानको मूल्यलाई हामी कहिल्यै भुल्ने छैनौं, हाम्रो राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने छौं।

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज। तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ।बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्याशीहरू सचेत रहनुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिता पालना भएनभएको कडाइका साथ अनुगमन गरिने बताए।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका प्रतिनिधि सहभागी थिए।

जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याक निर्माण तीव्र ,४५ प्रतिशत भौतिक प्रगति

लेनडाँडा (मकवानपुर), १६ माघ : देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ ।

आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।

सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त द्रुत मार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।

द्रुतमार्गअन्र्तगत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोेजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।

कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ । विशिष्ट प्रकृतिका त्यस्ता पुलहरु एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । ती सबै पुलको कुल लम्बाइमात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ ।

दू्रतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ । त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ । आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन् । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलोे द्रुतमार्ग हो ।

फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ ।

द्रुतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौँबाट मध्यतराई पुग्न सकिने छ ।

द्रूतमार्ग निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकेहीलाई पनि उत्साह प्रदान गर्ने गरेको छ । मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने एउटा रूपन्तरणकारी आयोजनाका रूपमा द्रुतमार्गलाई हेरिएको छ ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार यस आयोजनाको स्थलगत निरीक्षण गरी स्थानीयको भावनाअनुरूप् धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउने गरी आयोजनालाई तीव्र रूप्मा अघि बढाउन निर्देशन दिनुभएको थियो ।

सुरुआती चरणमा दू्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृतमा ढिलाइका कारण कार्य प्रारम्भ प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते उक्त आयोजना नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको थियो । आयोजनाको डिपिआर भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो ।

अन्तरराष्ट्रियस्तरको द्रुतमार्ग निर्माणपछि सडक निर्माणका क्षेत्रमा प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमतासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक हजार ५४३, मुस्ताङमा २६६, म्याग्दीमा ७६५, बागलुङमा एक हजार २९८ र पर्वतमा ९६५ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् ।

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६, कास्कीमा ९५७, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना खटिने छन् । एघार वटै जिलालामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरू भएको छ ।

निर्वाचन प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकताका साथ समावेश गरिएको जनाइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ ।

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।

सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।”

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिइएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ यात्रु घाइते

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ।

महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४५, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ५५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १६०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ११०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

शहीद दिवसमा बालेनको सन्देश : ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।

ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको उनले बताए ।
‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुप¥यो, पटक–पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेनन्।’

उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को प्रसंग पनि उठाएका छन्। सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन बलिदान दिनुपरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन्।

बालेनले अब शहीदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने समय आएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको बताएका छन्। ‘लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्छ,’ उनले भनेका छन्।

त्यसैगरी, राज्यका निकायमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ। ‘यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,’ उनले भने ।शहीद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान समेत गरेका छन्।

भोजपुरको मचुवाबाट ५०० किलो गाँजासहित १० जना पक्राउ

काठमाडौँ, १६ माघ : भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए ।

प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ ।

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् ।सहिद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले सहिदहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका छन् ।

सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र सङ्घर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले वीर सहिदहरूले देखाउनुभएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको बताएका छन् ।

सभापति थापाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् । हाल प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताए ।

“देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीले बाँसखर्कको सुन्तला किनेर लैजान थालेका छन्”, उनले भने, “माघ महिनासम्म बगैँचामा राखिने भएकाले बाँसखर्कको सुन्तलाले राम्रो बजारभाउ पाएको हो । माघको अन्तिममा प्रतिकिलो रु दुई सयसम्ममा सुन्तला बिक्री हुन्छ ।”

पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन् । समुद्री सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तलाखेती गरेका छन् । एउटा परिवारले वार्षिक कम्तीमा रु पाँच लाखको सुन्तला बेच्छन् ।
बाँसखर्कमा ५३ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए । बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उनीहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ । अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उहाँका सन्ततिले मात्र नभएर सिङ्गो बासखर्कवासीले लिएका छन् ।

“हाम्रा बुबाले २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन्, पछि २०३२ सालमा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ”, बलबहादुर खत्रीका छोरा नरबहादुरले भने, “बुबा बितेर गएको २२ वर्ष भयो, मैले र भाइले बर्सेनि रु १० देखि १३ लाखका दरले सुन्तला बेच्छौँ । बुबाको पेन्सन हामीले खाइरहेका छौँ । सुन्तलाखेतीले बासखर्कवासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ ।”

बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको छ । यस वर्ष रु २० करोड मूल्यबराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । बाँसखर्कमा ५१ हजार १५१ सुन्तलाका बोट छन् । विसं १९९७/९८ तिर बजारमारे र विरमारेमा सोखका लागि करेसाबारीमा एकदुई बोट सुन्तला लगाएका थिए । व्यावसायिक चेतनाको विकास र कृषि विकास बैंकले ऋण दिन थालेपछि बाँसखर्कमा २०३० को दशकमा सुन्तलाखेती विस्तार हुन थालेको अगुवा किसान बताउँछन् ।

लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत्त गोर्खा सैनिकहरुको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही किसानले नर्सरी पनि सञ्चालन गरेका थिए । वार्षिक रु २३ लाखको सुन्तला बेच्ने शान्तबहादुर छिन्तेल आफूहरुको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताए। “धान, कोदो र मकैखेती गरेर छ महिना पनि खान पुग्दैनथ्यो, छोराछोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो”, उनले भने, “अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरुलाई समेत बगैँचामा काम दिन सक्ने भएका छौँ ।”

बाँसखर्कको एक हजार ५०० रोपनी क्षेत्रफलमा ५१ हजार १५१ सुुन्तलाका बोट छन् । सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार ७०६ बोटमा करिब रु २० करोडको सुन्तला उत्पादन भएको छ । गत वर्ष रु १८ करोड, २०८० मा रु ११ करोड र त्यसअघिको वर्ष रु १० करोडबराबरको सुन्तला बिक्री भएको थियो । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो ।

“थप २४ हजार ४४५ सुुन्तलाको बोट बगैँचामा हुर्किरहेका छन्”, खत्रीले भने “सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु चार लाखदेखि ४० लाखसम्म आम्दानी गर्छन् ।” सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ ।

बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी, भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किंवदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।

सुन्तला बगैँचा अवलोकन गर्न पर्यटक आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास सञ्चालन भएको छ ।

सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौं, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाले यस दिवसले सहिदहरुको आकाङ्क्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका हुन्।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप््रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरुको विशेष सम्झना गरिने दिनका रूप्मा आजका दिनलाई लिइने स्मरण गरेका छन् ।

“नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप््रति सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूप्मा हामीले मनाउँदै आएका छौँ”, सन्देशमा भनिएको छ, “महान् सहिदहरुको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु ।”

मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभइ चाहना हो : सभापति थापा

बरहथवा (सर्लाही)-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने बताउनुभएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–७ मा बजार विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमूना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभइ चाहना भएको उहाँको भनाइ थियो । पहाड र सहर बुझेको आफूले तराई बुझ्नु अति आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले मधेस पढ्न आएको बताउनुभयो ।

सभपति थापाले सोमबारदेखि आफूले उम्मेदवारी दिएको सर्लाही–४, मा घरदैलो कार्यक्रम गरिरहनुभएको छ । देश विकास आजको आवश्यकता रहेको भन्दै उहाँले त्यसका लागि चाहिने स्रोत र जनशक्ति नेपालमा रहेकाले अब दृढ इच्छा शक्ति भएको कांग्रेस नेतृत्वमा रहन आवश्यक भएको बताउनुभयो । जेनजी आन्दोलनको जनादेशअनुसार पार्टीभित्रैबाट सङ्घर्ष गरेर पार्टीको नेतृत्व तयार भएको उहाँको भनाइ थियो । पार्टीमा जेनजीको योगदान पुरानो रहेको उल्लेख गर्दै सभापति थापाले शहिद दुर्गानन्द झाको योगदानबारे चर्चा गर्नुभयो ।

“झाले १८÷१९ वर्षको उमेरमा देश र पार्टीका लागि गरेको योगदान अमूल्य छ । गत भदौ २३ र २४ गतेको घटना नागरिकको कुरा नसुन्ने र देशमा व्याप्त भ्रष्टाचार तथा बेथिति विरुद्धको आन्दोलन थियो”, सभापति थापाले भन्नुभयो ।

भारी हिमपातका कारण कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ। मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ ।भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो । यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ। लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ ।

चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी–कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ ।

हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताउनुभयो । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उहाँको अनुमान छ ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिनुभयो ।

छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् ।

हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ ।

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
बजार मूल्यसँग सम्बन्धित तथ्याङ्क नै मूल्य तथ्याङ्क भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत सङ्कलन गरिएको विवरण सार्वजनिक गरेको हो । गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ ।

आगामी दिनमा मूल्य स्थिरता कायम गरी सोहीअनुसारको विकल्पको विकास गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूलगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा स्पष्ट पारिएको छ ।

यस्ता प्रवृत्तिको निरुत्साहन गर्न व्यापारका विकल्पहरु संस्थान, सहकारी, व्यापारिक सञ्जाल, साझेदारीजस्ता पद्दतिको विकास गर्नु आवश्यक रहेको ठहर गरिएको छ । मूल्य नियन्त्रणका लागि वस्तुको उत्पादनलाई बढावा दिने, वितरणकारी तहहरू कम गर्ने, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने, बिचौलियाले मूल्यवृद्धि गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने विभागको सुझाव छ ।

यस्तै, सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धी बजारको निर्माण गर्ने र नियमित रूपमा बजारको अनुमगन गर्नुपर्ने अध्ययनको सुझाव छ । विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौँ कार्यालयमार्फत खाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीको न्यूनतम र अधिकतम मूल्य पत्ता लगाउने उद्देश्यका साथ अध्ययन गरेको थियो ।

विभागका अनुसार विभिन्न सहरमा सोना मन्सुली, स्टिम जिरा, जनरल जिरा र मोटा चमलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ । मङ्सिरको तुलनामा गत पुसमा सोना मन्सुली चामलको मूल्य घटेको र वास्मती चामलको मूल्य बढेको देखिन्छ भने अन्य चामलको मूल्यमा सामान्य उतारचढाव आएको देखिन्छ ।

यस्तै, दालको मूल्यमा केही वृद्धि भएको देखिन्छ । गेडागुडीको मूल्यमा सामान्य परिवर्तन आएको, राज्मा सिमीको मूल्यमा भने मध्यम उतारचढाव भएको पाइएको छ । तरकारी तथा मसलाको औसत मूल्यमा मध्यम उतारचढाव भएको तथा आलु, काउली र प्याजमा सामान्य परिवर्तन भएको भए पनि अदुवा, गोलभेँडा, लसुन सुकेको र खुर्सानी सुकेको जस्ता मसलाजन्य खाद्यवस्तुमा ठूलो मात्रामा उतारचढाव भएको अध्ययनमा देखिएको छ ।

स्याउ, अनारलगायत फलफूलको मूल्यमा असामान्य उतारचढाव देखिनुले विभिन्न सहरको फलफूलको मूल्यमा सोही अनुपातमा परिवर्तन भएको पाइएको छ । माछा, मासु र अण्डाको औसत मूल्यमा सामान्य परिवर्तन आएको पाइएको छ । विभिन्न सहरको तुलनामा खसी, ब्रोइलर, अण्डा र माछालगायतका मूल्यमा सामान्यदेखि मध्यम उतारचढाव भएको अध्ययनमा पाइएको छ ।

समग्र बजारको अवस्था विश्लेषण गर्दा उपभोग्य फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन भएता पनि घिउसिमी हाइब्रिड, परवर, काँक्रो हाइब्रिड, घिउसिमी, लोकल कुरिलोलगायत तरकारीको मूल्यमा एक सय नौ प्रतिशतदेखि एक सय ६० प्रतिशतसम्म परिवर्तन भएको अध्ययनमा पाइएको छ ।

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली–चन्डोल बोक्ने परम्परा

कञ्चनपुर, १६ माघ : सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरु बताउनुहुन्छ । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारु समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने गर्दछ । परम्परागत रूप्मा बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल विवाहमा दुहला, दुलहरी बोक्ने साधनमात्र नभई संस्कार, आस्था र सामाजिक मूल्यको प्रतीक मानिन्छ ।

नेपाल राना थारु समाजका केन्द्रीय सदस्य रामशाह रानाका अनुसार बेहुलीका लागि तयार गरिने डोली बाँसबाट निर्माण गरिन्छ । “डोलीको माथिल्लो भाग सेतो कपडाले बेर्ने गरिन्छ भने बाँसकै छतरी बनाइन्छ”, उहाँले भन्नुभयो, “डोलीभित्र चारपाई (डोरीले बुनिएको खटिया) राखी चारैतिर रङ्गीविरङ्गी कपडाले सजाइन्छ । पहिले कछनीको कपडाको प्रयोग बढी हुन्थ्यो ।”

दुलहा बस्ने चन्डोल पनि बाँसबाटै तयार गरिन्छ । बाँसका डण्डालाई चारैतिर बाँधेर बीचमा छतरी राखिन्छ र कण्डी, फुलवा तथा अर्सा कपडाले आकर्षक ढङ्गले सजाइन्छ । चन्डोल र डोली सजाउने काममा परिवारका सदस्य तथा आफन्तको सक्रिय सहभागिता रहने गर्दछ । उहाँ भन्नुहुन्छ, “जसले सामूहिकता र सामाजिक एकताको भाव झल्काउँछ ।”

विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनुअघि घरमै विशेष संस्कार गरिन्छ । दिदीबहिनीले हल्दी (बेसार) कुटेर बेहुलाको शरीरमा दल्ने चलन छ, जसले रोगव्याधि हट्ने र शुभता ल्याउने जनविश्वास राना थारु समुदायमा छ । त्यसपछि बेहुलालाई नुहाईधुवाई गराई टाउकोमा सेतो पगडी, शरीरमा नयाँ कपडा, कम्मरमा सेतो फेटा र कटारो बाँधिन्छ । सो अवसरमा बहिनी–ज्वाइँ र भिनाजुले ढाल–तरबार बोक्ने चलन पनि रहेको राना बताउनुहुन्छ ।

दुलहालाई चन्डोलमा बसाल्नुअघि ‘निम्तो हाल्ने’ अर्थात् दक्षिणा दिने र टीकाटालो गर्ने गरिन्छ । चन्डोलभित्र गद्दा र गुदरिया ओछ्याइएको खटियामा दुलहासँगै उहाँका भाइलाई पनि बसाइन्छ, जसलाई ‘सौविल्ला’ भनिन्छ । दुलहा एक्लो नहोस् भन्ने मान्यताका आधारमा यो चलन विकसित भएको हो । चन्डोलमा बसेका दुलहा र सौविल्लालाई दिदीबहिनी, फूपू तथा आफन्तले फूल, पैसा र अक्षताले पूजा गर्ने गर्दछन्, जसलाई राना थारु भाषामा ‘न्यौछार’ गर्ने भनिन्छ ।

डोलीमा भने दुलहीलाई मात्रै चढाइने परम्परा छ । दुलहीलाई पनि दिदीबहिनीले हल्दी लगाउने, नुहाएपछि बेहुलाको घरबाट पठाइएको लुगा लगाइदिने र अक्षता, फूल–पैसाले पूजा गर्ने चलन छ । राना थारु अगुवा रतनबहादुर रानाका अनुसार पहिले दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने प्रचलन थियो । “अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएका छन् ।”

पहिले दुलहालाई भिनाजु र बहिनीज्वाइँ गरी चार जनाले चन्डोलमा काँधमा बोकेर बेहुलीको घर पुर्याउने र विवाह सम्पन्न भएपछि दुलहीलाई दाजुभाइ तथा भतिजाले डोलीमा काँधमै बोकेर बेहुलाको घरसम्म पुर्याउने चलन थियो । रतन भन्नुहुन्छ, “गाउँदेखि गाउँसम्म डोली–चन्डोल बोकेर हिँड्दा वातावरण नै उत्सवमय हुने गर्दथ्यो, तर अहिले यो दृश्य बिरलै देख्न पाइन्छ ।”

हाल घरभन्दा केही परसम्ममात्र रीतिथिति जोगाउन डोली र चन्डोलमा बोक्ने गरिन्छ । राना अगुवा रानाले भन्नुभयो, “त्यसपछि बस, कार वा अन्य सवारीसाधन प्रयोग गरेर गन्तव्यमा पुर्याइन्छ ।”

राना थारु समुदायका अगुवा बालसुग्रिव रानाले डोली–चन्डोल बोक्ने चलन हराउँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो । “पहिला डोली–चन्डोल बोक्दा काँध पुरै सुन्निने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब ती दिन सम्झनामा मात्र सीमित हुँदै गएका छन् ।” उहाँका अनुसार आधुनिक सवारीसाधनको प्रयोगले सहजता त दिएको छ तर समुदायको मौलिक चालचलन र संस्कार ओझेलमा पर्न थालेका छन् ।

परम्परागत पहिरनको साटो अचेल बेहुलाले कोटपाइन्ट, टाइ र दुलहीले आधुनिक तथा महँगा लुगा लगाउने चलन बढ्दै गएको छ । यसले राना थारु समुदायको मौलिक पहिचान झल्काउने संस्कृति कमजोर बन्दै गएको राना थारु संस्कृतिविद्हरुको भनाइ छ ।

स्थानीय अगुवाहरुले आधुनिकतालाई पूर्ण रूप्मा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताउँछन् । डोली–चन्डोलजस्ता सांस्कृतिक प्रतीक संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको थारु बुद्धिजीवी गेदुराम रानाले बताउनुभयो ।

“राना थारु समुदायको डोली–चन्डोल परम्परा केवल विवाह संस्कारको एउटा हिस्सामात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसलाई जोगाउनु अत्यन्त आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका), १६ माघ : अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ ।

बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ ।

दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर भए/गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ ।”

विज्ञप्तिमा दूतावासले अमेरिका आएका नेपालीहरूमध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ ।

विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकले यहाँ रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा÷सहायतामाथि निर्भर नहुन/नगराउनुहुन हार्दिक दूतावासले अनुरोध गरेको छ ।
दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ । पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ ।

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।

कामपा सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यसको सम्झौता रकम रु ५७ लाख ७२ हजार ६९४ हो ।

कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ । “अहिले त्यहाँ पानी निकासका लागि ह्युमपाइप राखिएको छ । यसरी राखिएका ह्युमपाइप पुराना भइसकेका छन्”, सबइन्जिनियर शाही भन्नुहुन्छ, “बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ । बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।”

कल्भर्ट निर्माणको प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले बताउनुभयो । यसका लागि दुवैतर्फबाट आउने सवारीसाधन कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ ।

यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम रु दुई करोड २१ लाख २३ हजार ८९९ हो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको हुनेछ ।

यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गर्यो । वडा नं ११ का अध्यक्ष हीराला तण्डुकार भन्नुहुन्छ, “पुल बनाउने भनेर विभिन्न निकाय आए, कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ, तर कसैले बनाएनन् । त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण हुनलागेको हो”, वडाध्यक्ष तण्डुकारले जानकारी जानकारी दिनुभयो ।

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ ।

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै  

काठमाडौँ, १६ माघ : विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

पालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।