`

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भू भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ ।

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार प्रसाईंले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले भक्तपुरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको जनाइएको छ । यसअघि पनि प्रसाई भड्काउ अभिव्यक्ति दिएकै आधारमा पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।

उत्तरी पाकिस्तानको प्रदर्शनमा आत्मघाती आक्रमण, चार प्रहरीसहित ९ जनाको मृत्यु

काठमाडाैँ। उत्तरी पाकिस्तानको स्वात जिल्लामा प्रदर्शनका क्रममा प्रहरी चौकी नजिकै व्यस्त क्षेत्रमा आत्मघाती बम हमला भएको छ। हमलाबाट ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका प्रहरीले आइतबार बताएको छ।

“आक्रमणकारीले आफ्नो ‘विस्फोटक भेस्ट’ पड्काए, जसबाट चार प्रहरी अधिकारीसहित ९ जनाको मृत्यु भयाे र २० जना घाइते भए,” स्वातका प्रहरी उपमहानिरीक्षक फिदा हुसेनले एएफपीसँग भने।

“विस्फोट स्वातको प्रहरी चौकी नजिकैको व्यस्त चोकमा नागरिक समाजको प्रदर्शनका क्रममा भएको थियो”, हुसेनले भने,“घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ।”

“आत्मघाती बम हमलाकारीले चोकमा रहेको प्रहरी चौकीभित्र पस्न खोजेका थिए, तर मुख्य गेटमा प्रहरीले रोकको उनले बताए।

यो आक्रमण पाकिस्तानको उत्तरी सीमावर्ती प्रान्त खैबर पख्तुनख्वामा भएको हो,जहाँ अधिकारीहरू तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को बढ्दो विद्रोहविरुद्ध लडिरहेका छन्।

कुनै समूहले तत्काल जिम्मेवारी लिएको छैन। सैन्य प्रवक्ताले शुक्रबार बताएअनुसार यस वर्ष आतङ्कवादी आक्रमण र त्यसपछिका अभियानमा ८१९ सुरक्षाकर्मी तथा नागरिकको मृत्यु भएको छ।

पाकिस्तानले यसपहिले सीमावर्ती प्रान्तहरूको हिंसालाई अफगानिस्तानबाट आउने आतङ्कवादसँग जोड्ने गरेको छ। काबुलको तालिबान सरकारले अफगान संलग्नता अस्वीकार गरेको छ।

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार केही जलविद्युत् आयोजनाको साधारण सेयर निस्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निस्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

धितोपत्र दर्ता तथा निस्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुरूप अङ्कित मूल्यमा नै सेयर उपलब्ध गराउन सम्पूर्ण सदस्य कम्पनीलाई इप्पानले अनुरोध गरेको छ ।

इप्पानले जलविद्युत् आयोजना केवल लगानीको माध्यममात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियानसमेत भएको जनाएको छ ।

आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने, निर्माण अवधिका असुविधा सहने तथा आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निस्कासन गरिए स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा आयोजनाप्रतिको अपनत्वको भावना कमजोर बन्ने तथा आयोजना र समुदायबीच वर्षौँदेखि निर्माण भएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ ।

अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना अभिवृद्धि हुने स्पष्ट पारिएको छ । यस्तै, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध कम हुने तथा स्थानीयस्तरमा सहयोग र सहकार्य थप सुदृढ हुने विश्वास संस्थाले व्यक्त गरेको छ । यसबाट जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्नुका साथै स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ प्राप्त गर्ने अवसर सुनिश्चित हुने, आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावमा समेत टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

इप्पानले सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ । स्थानीयका लागि छुट्याइने सेयर अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मै उपलब्ध गराउने नीतिलाई निरन्तरता दिनसमेत आग्रह गरिएको छ ।

साथै, साधारण सेयर निस्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन इप्पानले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । सेयर निस्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न तथा समयमै सेयर निस्कासन हुने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायको इप्पानले ध्यानाकर्षण गराएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५६ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ९८ पैसा बिक्रीदर ४०५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम राख्न आग्रह

काठमाडौँ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ को उपदफा ३ मा गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिनेलगायतका १० वटा प्राथमिकता तय गरेको छ ।

सोही प्राथमिकताका आधारमा विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले आग्रह गरेको हो ।

स्थानीय तहले योजना बनाउन सङ्घीय सरकार, प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रक्रियासँग अनुकूल हुनेगरी सुशासन कायम गर्नुपर्ने व्यवस्था छ । यस्तै, वातावरण संरक्षण, जलवायु परिवर्तनजस्ता अन्तरसम्बन्धित विषयलाई पनि ध्यान दिनुपर्ने प्रावधान छ ।

योजना तर्जुमा, बजेट विनियोजन, सोको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय तहको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमार्फत नागरिकको अधिकतम हित सुनिश्चित गरिनुपर्ने व्यवस्थाको मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रचलित कानुनमा भएको व्यवस्थाको मर्म प्रतिकूल हुनेगरी केही गाउँपालिका र नगरपालिकामा आफ्ना प्राथमिकता क्षेत्रभन्दा बाहिरका सङ्घसंस्थाको नाममा बजेट विनियोजन हुने र विनियोजित बजेटको कार्यान्वयनमा वित्तीय अनुशासन कायम नभएको गुनासो आएको मन्त्रालयले उल्लेख गरेको छ ।

स्थानीय तहमा प्राप्त हुने बजेट बृहत्तर हितका विषयमा केन्द्रित रही स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित कानुनको परिधिभित्र रही वित्तीय अनुशासन कायम राख्न मन्त्रीस्तरीय निर्णयमार्फत अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नुहुनेछ ।

यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ ।

अपराह्न २ः०० बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । उक्त समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ ।

बिहान ११ः०० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, अपराह्न १ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ ।

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी – म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।

बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यस सडक भएर मानिस मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

चितवनमा दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी

चितवन । चितवन जिल्ला अदालतमा दुई वर्ष माथिका ६६ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये दुई हजार ५९० मुद्दा फैसला हुन बाँकी रहेकामा दुई वर्ष माथिका सो सङ्ख्यामा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।

अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार ८४० मुद्दा दर्ता भएका थिए । आव २०८१/८२ मा जिम्मेवारी सरी आएका एक हजार ८५९ वटा मुद्दासहित गत आवमा पाँच हजार ६९९ वटा मुद्दा रहेका थिए । सोमध्ये तीन हजार १०९ वटा फछ्र्यौट भएका थिए ।

अहिले दर्ता भई फैसला हुन बाँकी रहेका मुद्दामा १८ महिनादेखि दुई वर्षसम्मका २३६, १२ महिनादेखि १८ महिनासम्मका ४५६, छ महिनादेखि १२ महिनासम्मका ५९२ र छ महिनाभित्रका एक हजार २४० वटा मुद्दा रहेका छन् । समग्रमा जिल्ला अदालतबाट ५४ दशमलव ५५ प्रतिशत मुद्दाको फैसला भएको छ ।

भदौ अन्तिम साता, असोज, कात्तिक र मङ्सिर महिना अदालतको कामकारबाही प्रभावित हुँदा गत वर्ष चितवन जिल्ला अदालतको मुद्दा फछ्र्यौटको अवस्था विगतका वर्षकोभन्दा कम भएको हो । पुराना मुद्दा फछ्र्यौटमा कमी मात्र नभई नयाँ मुद्दा दर्ता पनि कमी आएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

चितवन जिल्ला अदालतमा गत आव २०८२/८३ मा अनुमान गरेभन्दा कम मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता सङ्ख्या कम हुँदा अदालतको मुद्दा फछ्र्यौट दर पनि अघिल्लो वर्षकोभन्दा केही घटेको छ ।

६५ प्रतिशत फछ्र्यौट लक्ष्य भएकामा जम्मा ५४.५५ प्रतिशत मात्र फछ्र्यौट भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । आव सुरू भएसँगै अदालतले चार हजार ८५२ थान मुद्दा दर्ता हुने अनुमान गरेको थियो । हरेक आवको सुरूआतमा अदालतले चालु आवको मुद्दा सङ्ख्या अनुमान गर्ने गर्दछ ।

धनुषामा निषेधाज्ञा हटाइयो

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ः०० बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १०ः०० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ । पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा उक्त निषेधाज्ञा हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्‌भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ ।

‘पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’:मन्त्री पौडेल

पाेखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन्।

पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकाद्वारा आइतबार आयोजित छलफलमा उहाँले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए।

पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उनको भनाइ छ।

मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जलसम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताए। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ।

“प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ”, प्रमुख आचार्यले भने। कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायतको सहभागिता थियो।

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्‍याउने

काठमाडाैँ। साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा पश्चिम एसियाको युद्धले सिर्जना गरेको अवरोधकाबिच सेप्टेम्बरदेखि पेट्रोलियम पदार्थ (इन्धन) उत्पादनलाई बढाएर एक लाख ८८ हजार ब्यारेल प्रतिदिन बनाउने सहमति जनाएका छन्।

“सात सहभागी देशहरूले प्रतिदिन एक लाख ८८ हजार ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्,” उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ। विस्तारित पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका प्रमुख देशहरूले गरेको यो वृद्धि विश्लेषकहरूले व्यापक रूपमा गरेको अपेक्षा अनुरूप नै आएको छ।

रिस्ट्याड इनर्जीका विश्लेषक जर्ज लियोनले भने, “ओपेक प्लसले आफ्नो स्वैच्छिक कटौती अन्त्य गरिसकेको छ। अबको चुनौती निर्यात प्रवाह सामान्य हुँदा आउन सक्ने अतिरिक्त आपूर्ति व्यवस्थापन गर्नु हो।”

उनले चेतावनी दिए,“आजको निर्णयले निकट भविष्यमा खासै परिवर्तन ल्याउँदैन किनकि हर्मुज जलमार्ग अझै अवरुद्ध छ । वास्तविक बजार प्रभाव तब आउनेछ जब सामान्य निर्यात प्रवाह पुनः सुरु हुनेछ।”

खाडी देशहरूले मध्यपूर्वको युद्धका बेला जुन महिनामा अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर भएपछि ढुवानीमा छोटो समयको वृद्धि भए पनि इरानले हर्मुज जलमार्गलाई लगभग नियन्त्रणमा राखेका कारण निर्यात बढाउन सङ्घर्ष गरिरहेका छन्।

“धेरै ओपेक प्लस सदस्यहरू आफ्नो आधिकारिक लक्ष्यअनुसार तेल उत्पादन गर्न सक्दैनन् किनकि ‘उत्पादन क्षमतामा गिरावट’ आएको छ, त्यसैले लक्ष्य बढाउनु कम अर्थपूर्ण भएको छ,” युबिएसका विश्लेषक जियोभान्नी स्टाउनोभोले भने।

भविष्यमा रोकिने अनुमान

साउदी अरब, रूस, इराक, कुवेत, कजाखस्तान, अल्जेरिया र ओमानलगायतका ओपेक प्लस देशहरूले गरेको सेप्टेम्बरको वृद्धिले सङ्गठनले ल्याएको तीन वटा उत्पादन कटौती प्याकेजमध्ये दोस्रोको पूर्ण रूपमा अन्त्य गर्छ।

“पुनर्स्थपना अभियान पूरा गरेपछि ओपेक प्लसलाई थप आपूर्ति परिवर्तन गर्न हतार गर्ने खासै प्रोत्साहन छैन। हाम्रो आधारभूत अनुमान अनुसार चौथो त्रैमासिकमा रोक लगाइनेछ भने समूह सन् २०२७ को कोटा वार्ताका लागि तयारी गर्नेछ,” रिस्ट्याड इनर्जीका लियोनले भने।

उनले भने, “अहिलकोे भूराजनीतिले आपूर्ति वृद्धिको मात्रालाई लुकाइरहेको छ। निर्यात प्रवाह सामान्य भएपछि त्यो धेरै स्पष्ट हुनेछ।” समूहले वास्तवमा कहिले तेलको परिमाण बढाउन सक्नेछ भन्ने अझै अस्पष्ट छ । इराकजस्ता केही सदस्य देशहरूले उत्पादन उल्लेखनीय रूपमा बढाउने इच्छा व्यक्त गरेका छन्।

तर रूस युक्रेनी ड्रोन आक्रमणको बारम्बार सामना गरिरहेको छ जसले यसको तेल पूर्वाधारलाई क्षति पुर्‍याएको छ र उत्पादन हाल प्रतिदिन करिब ९० लाख ब्यारेलमा रहेकोे छ । यो रूसको ९८ लाख ब्यारेल प्रतिदिनको लक्ष्यको तुलनामा कम हो।

डीएनबी कार्नेगीका विश्लेषकहरूका अनुसार सेप्टेम्बरको वृद्धिपछि ओपेक प्लस ‘नयाँ उत्पादन कोटाबारे सम्भावित कठिन वार्ता’ को सामना गर्नेछ।

सन् २०२२ को अन्त्यदेखि सन् २०२३ सम्म ओपेक प्लसले तेलको मूल्य घटिरहेको चिन्ता गर्दै तीन चरणमा तेल उत्पादन कटौती गर्न सहमति जनाएको थियो जसले कुल उत्पादन लगभग ६० लाख ब्यारेल प्रतिदिन घटाएको थियो।

साउदी अरब, रूस, इराक, कुवेत, कजाखस्तान, अल्जेरिया, ओमान र संयुक्त अरब इमिरेट्सले सन् २०२५ देखि क्रमशः उत्पादन बढाएर आफ्नो रणनीति परिवर्तन गरेका थिए। तर समूहबाट संयुक्त अरब इमिरेट्स सन् २०२६ मे १ मा बाहिरिएको थियो।

“मलाई अहिले नै एकता जोखिममा छ भन्ने लाग्दैन,” लियोनले भने। मे महिनामा युएई समूहबाट बाहिरिएको घटनाले यस क्षेत्रमा कमजोरी देखाएको उनले चेतावनी दिए।

एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

चितवन । भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको निधनपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो।

विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो । उनीहरुको शव कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो । हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरुको मृत्यु भएको थियो।

प्रमुख वाग्लेका अनुसार विदेश जानुअघि महानगरपालिका वा नेपाल सरकारको कुनै आधिकारिक निकायबाट श्रम स्वीकृत गरेर गएकाहरुको शव महानगरले झिकाउने गर्दछ । श्रम स्वीकृतिका क्रममा निजहरुको स्वास्थ्य बिमा गर्ने गरिन्छ । वैदेशिक रोजगार बोर्डले निजहरुबाट कल्याणकारी कोषमा पनि रकम राख्ने गर्दछ ।

यसरी श्रम स्वीकृत गर्दा कल्याणकारी कोषका लागि प्रतिव्यक्ति रु एक हजार ५०० र म्यादी जीवन बिमाका लागि उमेरअनुसार रु दुई हजार ५०० देखि रु नौ हजारसम्म शुल्क लाग्ने गर्दछ । यो शुल्क दुई वर्षका लागि हुने गर्दछ ।

यसरी कोषमा रकम जम्मा गरेको र बिमा गरेकाको निधन भएमा उनीहरुको परिवारले वैदेशिक रोजगार बोर्डबाट प्रतिव्यक्ति रु १० लाख र बिमाबाट रु १४ लाख पाउने गर्दछन् । यसैगरी, आश्रित परिवारको अध्ययनका लागि छात्रवृत्तिका लागि कक्षा ८ सम्म वार्षिक रु १२ हजार र कक्षा ८ देखि १२ सम्मलाई वार्षिक रु १६ हजार उपलब्ध गराइने प्रमुख वाग्लेले जानकारी दिए।

श्रम स्वीकृत भएर विदेशमा रहेकाहरुको परिवारका सदस्य जटिल बिरामी परेमा पनि बिरामीको प्रकृति हेरेर उपचार खर्च बोर्डले दिने गरेको प्रमुख वाग्ले बताउँछन्। बिरामी भई कागजात पेस गरेका चार जनालाई यहाँबाट सिफारिस गरी उपचार खर्च दिलाइएको छ । हालसम्म रु चार लाखदेखि रु सात लाखसम्म उनीहरुले पाएको उनले जानकारी दिए। जटिल रोगका बिरामीले खर्चका आधारमा बोर्डले रकम उपलब्ध गराउँदै आएको छ।

कार्यालयले श्रम स्वीकृत गरेर गएका र विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्ने गरेको छ। परिवारले आग्रह गरेर गत वर्ष भरतपुरका दुई जनाको उद्धार गरिएको थियो। प्रमुख वाग्लेका अनुसार एक जनाको झै–झगडामा परेर प्रहरीले नियन्त्रणमा लिएपछि उद्धार गरिएको हो भने अर्काे एक जना मादक पदार्थ बिक्री गरेको अभियोगमा पक्राउ परेकाको उद्धार गरिएको छ।

गत वर्ष शव झिकाइएकाको परिवारले सोहीअनुसारको रकम पाएको उनले बताए। कतिपयलाई महानगरपालिकामा श्रम स्वीकृतिका सबै काम हुन्छन् भन्ने जानकारी नहुँदा काठमाडौँ जाने गरेको भन्दै उनले यससम्बन्धी जानकारी सबैमा हुनु आवश्यक रहेको बताए।

जहाँबाट श्रम स्वीकृति गरेको भए पनि भरतपुर महानगरवासीलाई कुनै समस्या श्रममा जाँदा परेमा सहजीकरण गर्ने काम महानगरले गरिरहेको छ । भरतपुर महानगरपालिकाबाट २०८० सालदेखि श्रम स्वीकृतिलगायत काम हुँदै आएका छन् ।

दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव

दाङ। दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ । उक्त औषधिको अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही), लमही अस्पताल (गढवा) स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर) मा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टिस्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको भन्दै प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उहाँले बताउनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौज्दात न्यून रहेकाले समस्या हुनसक्ने उल्लेख गर्नुभयो । अस्पतालका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिन्छ ।

लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ । वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टिस्नेक भेनम अभाव भएपछि उपचारमा समस्या हुन सक्ने भन्दै अस्पतालहरूले तत्काल पर्याप्त परिणाममा उक्त औषधि उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सर्पदंशका कारण सात जनाको मृत्यु भएको थियो भने ३९ जना उपचारपछि निको भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा। झापाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटाेहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।

‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका सिटी सफारी र अटोको विवरण आइतबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार अपरेसनका क्रममा २८५ सिटी सफारी र ७३ वटा अटो गरी ३५८ वटा सवारीसाधन चेकजाँच गरिएको थियो । तीमध्ये आवश्यक कागजात नबोकी चलाइएका १६८ वटा अटो तथा सिटी सफारीलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाही गर्दा रु दुई लाख १० हजार राजस्व सङ्कलन भएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिए। यस्तै, चेकिङका क्रममा तत्काल आवश्यक कागजात पेस गर्न नसकेका २७ वटा सवारीसाधनलाई भने प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान तथा प्रक्रिया अगाडि बढाइएको उनले बताए।

स्पेनको सेउतामा आप्रवासीको भिडमा कम्तीमा ७२ जनाको मृत्यु

काठमाडाैँ । गत साता स्पेनको सेउता क्षेत्रमा आप्रवासीहरूको ठुलो भिडलाई अघि बढ्नबाट नियन्त्रण गर्ने क्रममा आइतबारसम्म कम्तीमा ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्थानीय अधिकारीले आइतबार दिएको जानकारी अनुसार दशौँ हजार मानिसहरू मुख्यतया मोरक्कोबाट सीमा पोस्ट वरिपरि पौडी खेल्दै प्रवेश गरेका थिए।

स्पेनको उत्तर अफ्रिकी क्षेत्रमा प्रवेश गरेका अनुमानित ६० हजार मानिसमध्ये अधिकांश मोरक्को फर्किसकेका छन्। यो क्षेत्रको इतिहासकै सबैभन्दा ठुलो सामूहिक आप्रवासी प्रवेश थियो ।

“हामीसँग भएको पछिल्लो तथ्याङ्कअनुसार ७२ जनाको मृत्यु भएको छ,” सेउताका सरकारी प्रतिनिधि मिगुएल एन्जेल पेरेज त्रिआनोले पत्रकारहरूसँग मृत्युको सङ्ख्याबारे सोधिएको प्रश्नको जवाफमा भने।

यसअघिको तथ्याङ्कअनुसार त्यहाँ मृत्यु भएका आप्रवासीको सङ्ख्या ६७ थियो । आइतबार स्पेनी प्रहरी र सैनिकहरूले सेउताका सडकमा गस्ती गरिरहेको देखिन्थ्यो । मोरक्कोबाट आप्रवासीहरूको अचानक ठूलो आगमनपछि उक्त क्षेत्र सामान्य अवस्थामा फर्किरहेको छ।

सानो सीमा अवरोध पार गरेका अधिकांश व्यक्ति ४८ घण्टामै स्वेच्छाले मोरक्को फर्किएपछि साना समूह मात्र अझै हिँडडुल गरिरहेका थिए।

उक्त क्षेत्रमा भएको यो सबैभन्दा ठुलो आप्रवासीको भीडले स्पेनका लागि अन्तर्राष्ट्रिय सङ्कट सिर्जना गरेको छ र युरोपेली साझेदारहरूले म्याड्रिडको आप्रवासन नीतिको आलोचना गरेका छन्।

एएफपी संवाददाताले बताएका छन्, “सेउता बन्दरगाह नजिकैको आवासीय परियोजनाबाहिर स्पेनी सैनिकहरूले फुटपाथमा बसेका थकित देखिने नौ जना आप्रवासीको समूहलाई पक्रेका थिए।

उनीहरूलाई सशस्त्र गाडीसहितका सैनिकले घेरेका थिए ।

अफवाह

स्पेनले आपराधिक गिरोहहरूलाई हालैको स्पेनी सर्वोच्च अदालतको आप्रवासनसम्बन्धी फैसलाका कारण आप्रवासीहरूलाई सजिलै प्रवेश दिइने अफवाह फैलाएको आरोप लगाएको छ।

केही विश्लेषकहरूले मोरक्कोले स्पेनमा कूटनीतिक दबाब दिन आप्रवासीहरूलाई सीमा पार गर्न दिएको हुन सक्ने बताएका छन् । स्पेनले हालै रबाटको प्रमुख शत्रु छिमेकी अल्जेरियासँग सम्बन्ध सुधारेको छ ।

सन् २०२१ मा मोरक्कोले स्पेनमा दबाब दिन सीमा नियन्त्रण खुकुलो बनाएपछि करिब १० हजार आप्रवासीले सेउतामा प्रवेश गरेका थिए ।

मोरक्कोली अधिकारीहरूले अहिलेसम्म यस सङ्कटबारे कुनै वक्तव्य दिएका छैनन्।

सीमा पार गर्ने केही व्यक्तिले सीमा खुला छ भन्ने सुनेको बताएका छन् । यो अफवाह सामाजिक सञ्जालमा छिट्टै फैलिएको थियो ।

युरोपेली सङ्घले मङ्गलबार भिडियो कलमार्फत् यसबारे छलफल गर्ने जनाएको छ । सङ्घका २२ सदस्य राष्ट्रहरूले संयुक्त खुला पत्र जारी गर्दै अत्यावश्यक बैठक बोलाउन र थप अनियन्त्रित प्रवेश रोक्न छिटो समन्वित प्रतिक्रियाका लागि आग्रह गरेका थिए।

इटालीले शनिबार स्पेनलगायत सीमामा भिसा–रहित आवतजावत अनुमति दिने सेन्जेन सम्झौता एक महिनाका लागि निलम्बन गरेको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले युरोपेली सङ्घका नेताहरूलाई पठाएको पत्रमा केही युरोपेली सङ्घका देशहरूको ‘स्वार्थी’ प्रतिक्रियाको आलोचना गरेका छन्।

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

वाशिङ्टन। संयुक्त राज्य अमेरिका र इजरायलले महिनौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई ‘धेरै कडा’ प्रहार गर्ने धम्की दिएपछि र ऊर्जा पूर्वाधारसहित नयाँ भारी आक्रमणको विचार गरिरहेको रिपोर्ट आएपछि लडाइँ फेरि बढ्न सक्ने डर बढेको थियो ।

साउदी अरबका युवराजसँग कुराकानी गरेपछि र तेहरानले पनि रियाद तथा मध्यस्थकर्ता पाकिस्तान र टर्कीसँग कुरा गरेपछि अमेरिकी नेताको धारणा परिवर्तन भएको देखिन्छ ।राष्ट्रपति ट्रम्पले भन्नुभयो, “अमेरिका ‘इरानविरुद्ध लड्न तयार छ र हतियारले सुसज्जित छ । हामीलाई इरान र अन्य मध्य पूर्वी देशहरूले कुनै पनि आक्रमण रोक्न अनुरोध गरेका र मध्यपूर्वको शान्तिका लागि आक्रमण रोक्ने सहमति भएको छ ।”

“यस अनुरोधका आधारमा विश्वको भविष्यको हित र सफल तथा समृद्ध इरानको अस्तित्वका लागि मैले आक्रमण रद्द गर्न सहमत भएको छु, तर यसका लागि छिट्टै सम्झौता हुन सक्ने शर्त राखिएको छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै भन्नुभएको छ ।

इरानको मेहर समाचार एजेन्सीले सैन्य अधिकारीहरूको हवाला दिँदै ट्रम्पको दाबीलाई ‘नयाँ झुट मात्र’ भनेको छ र इरानको सेना ‘उच्च सतर्कतामा छ र कुनै पनि परिस्थितिका लागि तयार छ’ भनेको छ ।

इरानी राष्ट्रिय सञ्चारमाध्यमले साउदी र इरानी विदेश मन्त्रीबीच फोनवार्ता भएको र तेहरानले पाकिस्तान तथा टर्कीसँग पनि ‘क्षेत्रमा तनाव र असुरक्षा बढ्ने जोखिम’ बारे कुरा गरेको बताएको छ ।

साउदी अरबको आधिकारिक प्रेस एजेन्सी (एसपीए)ले युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोनवार्ता गर्दा ‘तनाव घटाउन संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता र कूटनीतिक समाधानका लागि बाटो खोल्ने युद्धविराम हासिल गर्न सबै सम्भव प्रयास गर्नुपर्ने महत्त्व’ मा जोड दिएको बताएको छ।

अमेरिकी राष्ट्रपतिले सम्झौतामा ‘हर्मुज जलमार्गको आवागमन पूर्ण रूपमा तत्काल खोल्ने’ र ‘इरानको आणविक खतरा अन्त्य गर्ने’ कुरा समावेश हुनुपर्छ ।“इजरायल पनि यस प्रतिबद्धतामा मसँग सामेल छ,” उहाँले थप्नुभयो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानमा आक्रमण गरेपछि सुरु भएको पाँच महिनाभन्दा बढीको युद्धपछि द्वन्द्वको अन्त्य हुन सकेको छैन ।

हर्मुज जलमार्ग खोल्नेसहित समान शर्तसहितको अघिल्लो युद्धविराम सम्झौता असफल भएको थियो र पछिल्ला हप्ताहरूमा दुई देशबीच आक्रमण पुनः सुरु भएपछि इरानले महत्वपूर्ण जलमार्गमाथि आफ्नो नियन्त्रण कडा बनाएको छ।

इरानको फार्स समाचार एजेन्सीले इरानी वार्ताकारहरू नजिकको स्रोतको हवाला दिँदै भनेको छ, “अमेरिकाले आफ्नो शत्रुतापूर्ण कार्य जारी राखेसम्म हर्मुज बन्द रहनेछ।”

शत्रुता पुनः सुरु भएपछि प्रारम्भिक युद्धविरामका बेला घटेका विश्वव्यापी तेलको मूल्य फेरि बढेको छ । यो सहमतिको आदानप्रदान अमेरिकामा मध्यावधि चुनाव हुनुभन्दा तीन महिनाअघि मात्र भइरहेको छ, जसले ट्रम्पको रिपब्लिकन पार्टीका लागि चुनौती हुन सक्छ ।

सम्झौता गर्न उत्सुक

मध्य पूर्वका राजधानीहरूमा रहेका अमेरिकी दूतावासहरूले शनिबार आफ्ना नागरिकलाई क्षेत्रीय द्वन्द्वमा ‘अप्रत्याशित वृद्धि’ बाट सतर्क रहन र ती देश छोड्न तयार रहन चेतावनी दिएका थिए ।

इरान र अमेरिकाबीच गत महिना केही दिनको शान्तिपछि गोलीबारी पुनः सुरु भएको थियो, यद्यपि शुक्रबारदेखि आइतबारसम्म कुनै आक्रमणको रिपोर्ट आएको छैन।बुधबार इजिप्टको बन्दरगाहमा रहेको अमेरिकी स्वामित्वको ग्यास जहाजमा ड्रोनद्वारा भएको आक्रमणले जहाजमा आगो लागेको थियो । इजिप्टले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै समूहलाई आरोप लगाएको छैन ।यसैबीच, ओमानको तट नजिकै ट्याङ्करमा ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको बेलायती समुद्रीमामिला हेर्ने निकायले शनिबार बताएको छ।

युद्ध सुरु भएदेखि नै इरानले हर्मुजमार्फत नौवहनमा प्रभावकारी नियन्त्रण कायम गरेको छ र जहाजहरूलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्न बाध्य बनाएको छ ।समुद्री व्यापार ट्र्याकिङ फर्म केप्लरले शुक्रबार भनेको छ, “हर्मुज जलमार्गमार्फत हुने ट्राफिक तीव्र रूपमा घटेको छ।”

साउदी अरबको तेलका लागि वैकल्पिक मार्गका रूपमा महत्त्वपूर्ण बाब एल–मन्देब जलमार्गमा यमनका इरान समर्थित हुथी विद्रोहीहरूले शनिबार यसबाट जहाजहरूसँग शुल्क उठाउने प्रयास नगरेको दावी गरेको छ ।
यो साँघुरो जलमार्गले रेड सीलाई हिन्द महासागरसँग र सुएज नहरमार्फत भूमध्यसागरसँग जोड्छ।

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन। हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उहाँले अध्ययन गर्नुभएका विद्यालयका शिक्षक शोकमा परेका छन् ।पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उहाँको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गर्नुभएको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् ।

सिङ्गो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन् । भाई गुमाउँदा पीडाबोध गरिरहनुभएका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाई हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उहाँ भक्कानिनुभयो । “पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाई भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाइ केही नभनी गयो ।” घरमा आएकाहसरूँग उहाँले भक्कानिँदै पीडा पोखिरहनुभएको थियो ।

निम्स दाईको निधनपछि रामनगरस्थित घरमा आज तस्बिरमा माल्यार्पण गर्नुका साथै दीपप्रज्ज्वलन गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छिमेकी जीवनाथ पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रोभन्दा एक घर परको घरमा निम्सका माइलादाई बस्नुहुन्छ । त्यहाँ राखिएको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छौँ ।” उहाँको निधनले छिमेकीसमेत शोकमा परेका तारा कुँवरले बताउनुभयो । बिहानैदेखि माइलादाईको घरमा श्रद्धाञ्जली दिन आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

माइलादाई जीतबहादुर पुर्जा यहाँको घरमा बस्नुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ दानामा जन्मिनुभएका उहाँले यहाँको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढ्नुभएको थियो । सुरुमा आँपटारीमा रहेको स्कुल अहिले कल्याणपुरमा सरेको छ । कक्षा दशपछि उहाँ ब्रिटिस आर्मीका लागि जानुभएको थियो ।

“म्याग्दीको दानाबाट बहिनी अनितासहित विसं २०५१ मा ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययन गर्न यहाँ आउनुभएका निम्सदाई सानैदेखि आवासमा बस्नुहुन्थ्यो । हालको भरतपुर महानगरपालिका-१ रामनगरमा घर भए पनि निम्स र उहाँकी बहिनी आवासमा बस्नुहुन्थ्यो”, उहाँका खेलकुद शिक्षक सुरेन्द्र बरालले भन्नुभयो । करिब सात वर्ष निम्ससँग समय बिताएको स्मरण गर्दै उहाँ सानैदेखि साहासी र अनुशासित स्वभावको भएको बरालले बताउनुभयो । उहाँको निधनले आफूलाई पीडाबोध भएको उहाँको भनाइ छ ।

स्मल हेभन स्कुलका छात्रावास प्रमुख शैलेन्द्र बरालले निम्स विद्यालयको अनुशासित विद्यार्थीका रूपमा रहेका बताउनुभयो । उहाँले निम्सको निधनले सिङ्गो विद्यालय स्तबध भएको बताउनुभयो । आठ वर्ष आफ्नै रेखदेखमा रहँदा निम्सको आँट देखेर ‘एकदिन महान व्यक्ति बन्छ’ भन्ने लागेको उहाँले स्मरण गर्नुभयो ।

स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै अहिले निम्सको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो । सिङ्गो देश र विश्वले चिनेको आफ्नो विद्यार्थी गुमाउनुपर्दाको क्षण अपूरणीय रहेको भन्दै उहाँले यसले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

उपत्यका बाहेकका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त

चितवन । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्कअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो।

भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन् । प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन्।

काभ्रेपलाञ्चोकमा ११, नुवाकोट आठ, रसुवा र रामेछापमा चार/चार, सिन्धुपाल्चोकमा तीन र दोलखामा दुई वटा स्थान जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाभन्दा बढीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त स्थानका रूपमा लिइएको हो । विगत तीन आर्थिक वर्षमा भएका पाँच हजार ८७२ सवारी दुर्घटनामा परी ९५९ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ६९९ जना घाइते भएका छन्।

आव २०८०/८१ मा ३१५, आव २०८१/८२ मा ३०४ र आव २०८२/८३ मा ३४० जनाको ज्यान गएको छ। गत आवमा मात्रै भएका एक हजार ९२४ दुर्घटनामध्ये एक हजार ११४ राजमार्गमा, ५३९ ग्रामीण र २७१ वटा सहरी क्षेत्रमा भएका उनको भनाइ छ । मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेको समय दुर्घटनाका दृष्टिले सबैभन्दा बढी जोखिमयुक्त देखिएको उनले जानकारी दिए।

प्रदेशका १० जिल्लाको १४ हजार ४५६ किलोमिटरभन्दा बढी सडकसञ्जाल र एक लाख ७३ हजारभन्दा बढी सवारीसाधन व्यवस्थापनका लागि ३३२ जना ट्राफिक प्रहरी कार्यरत रहेका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए। उनका अनुसार एक जना ट्राफिक प्रहरीले औसत ४३ दशमलव ५५ किमी सडक र ५५२ वटा सवारीसाधनको निगरानी गर्नुपर्ने बाध्यता छ।

सीमित जनशक्तिका बाबजुद ट्राफिक नियम पालनामा कडाइ गर्दै गत वर्ष ९० हजार ९८३ सवारीलाई कारबाही गरी रु नौ करोड तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि स्पीड गन, एएनपीआर क्यामेरा, डिजिटल ईचलान र ‘ट्रान्सपोर्ट कम्युनिकेसन एप’जस्ता प्रविधिको प्रयोग बढाउनुका साथै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।

गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने

जनकपुरधाम। सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कफ्र्यु हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कफ्र्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यु आदेश २०८३ साउन १७ गते राति ७ः०० बजेदेखि हटाइने उल्लेख छ ।

गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कफ्र्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

छिट्टै शान्ति सम्झौताको शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न अमेरिका–इजरायल सहमत

कमाठमाडाैँ। संयुक्त राज्य अमेरिका र इजरायलले महिनौँदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई ‘धेरै कडा’ प्रहार गर्ने धम्की दिएपछि र ऊर्जा पूर्वाधारसहित नयाँ भारी आक्रमणको विचार गरिरहेको रिपोर्ट आएपछि लडाइँ फेरि बढ्न सक्ने डर बढेको थियो।

साउदी अरबका युवराजसँग कुराकानी गरेपछि र तेहरानले पनि रियाद तथा मध्यस्थकर्ता पाकिस्तान र टर्कीसँग कुरा गरेपछि अमेरिकी नेताको धारणा परिवर्तन भएको देखिन्छ।

राष्ट्रपति ट्रम्पले भने,“अमेरिका ‘इरानविरुद्ध लड्न तयार छ र हतियारले सुसज्जित छ । हामीलाई इरान र अन्य मध्य पूर्वी देशहरूले कुनै पनि आक्रमण रोक्न अनुरोध गरेका र मध्यपूर्वको शान्तिका लागि आक्रमण रोक्ने सहमति भएको छ ।”

“यस अनुरोधका आधारमा विश्वको भविष्यको हित र सफल तथा समृद्ध इरानको अस्तित्वका लागि मैले आक्रमण रद्द गर्न सहमत भएको छु, तर यसका लागि छिट्टै सम्झौता हुन सक्ने शर्त राखिएको छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै भनेका छन्।

इरानको मेहर समाचार एजेन्सीले सैन्य अधिकारीहरूको हवाला दिँदै ट्रम्पको दाबीलाई ‘नयाँ झुट मात्र’ भनेको छ र इरानको सेना ‘उच्च सतर्कतामा छ र कुनै पनि परिस्थितिका लागि तयार छ’ भनेको छ।

इरानी राष्ट्रिय सञ्चारमाध्यमले साउदी र इरानी विदेश मन्त्रीबीच फोनवार्ता भएको र तेहरानले पाकिस्तान तथा टर्कीसँग पनि ‘क्षेत्रमा तनाव र असुरक्षा बढ्ने जोखिम’ बारे कुरा गरेको बताएको छ।

साउदी अरबको आधिकारिक प्रेस एजेन्सी (एसपीए)ले युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोनवार्ता गर्दा ‘तनाव घटाउन संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता र कूटनीतिक समाधानका लागि बाटो खोल्ने युद्धविराम हासिल गर्न सबै सम्भव प्रयास गर्नुपर्ने महत्त्व’ मा जोड दिएको बताएको छ।

अमेरिकी राष्ट्रपतिले सम्झौतामा ‘हर्मुज जलमार्गको आवागमन पूर्ण रूपमा तत्काल खोल्ने’ र ‘इरानको आणविक खतरा अन्त्य गर्ने’ कुरा समावेश हुनुपर्छ।

“इजरायल पनि यस प्रतिबद्धतामा मसँग सामेल छ,” उनले थपे। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानमा आक्रमण गरेपछि सुरु भएको पाँच महिनाभन्दा बढीको युद्धपछि द्वन्द्वको अन्त्य हुन सकेको छैन।

हर्मुज जलमार्ग खोल्नेसहित समान शर्तसहितको अघिल्लो युद्धविराम सम्झौता असफल भएको थियो र पछिल्ला हप्ताहरूमा दुई देशबीच आक्रमण पुनः सुरु भएपछि इरानले महत्वपूर्ण जलमार्गमाथि आफ्नो नियन्त्रण कडा बनाएको छ।

इरानको फार्स समाचार एजेन्सीले इरानी वार्ताकारहरू नजिकको स्रोतको हवाला दिँदै भनेको छ, “अमेरिकाले आफ्नो शत्रुतापूर्ण कार्य जारी राखेसम्म हर्मुज बन्द रहनेछ।”

शत्रुता पुनः सुरु भएपछि प्रारम्भिक युद्धविरामका बेला घटेका विश्वव्यापी तेलको मूल्य फेरि बढेको छ ।

यो सहमतिको आदानप्रदान अमेरिकामा मध्यावधि चुनाव हुनुभन्दा तीन महिनाअघि मात्र भइरहेको छ, जसले ट्रम्पको रिपब्लिकन पार्टीका लागि चुनौती हुन सक्छ ।

सम्झौता गर्न उत्सुक

मध्य पूर्वका राजधानीहरूमा रहेका अमेरिकी दूतावासहरूले शनिबार आफ्ना नागरिकलाई क्षेत्रीय द्वन्द्वमा ‘अप्रत्याशित वृद्धि’ बाट सतर्क रहन र ती देश छोड्न तयार रहन चेतावनी दिएका थिए ।

इरान र अमेरिकाबीच गत महिना केही दिनको शान्तिपछि गोलीबारी पुनः सुरु भएको थियो, यद्यपि शुक्रबारदेखि आइतबारसम्म कुनै आक्रमणको रिपोर्ट आएको छैन।

बुधबार इजिप्टको बन्दरगाहमा रहेको अमेरिकी स्वामित्वको ग्यास जहाजमा ड्रोनद्वारा भएको आक्रमणले जहाजमा आगो लागेको थियो । इजिप्टले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै समूहलाई आरोप लगाएको छैन ।

यसैबिच ओमानको तट नजिकै ट्याङ्करमा ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको बेलायती समुद्रीमामिला हेर्ने निकायले शनिबार बताएको छ। युद्ध सुरु भएदेखि नै इरानले हर्मुजमार्फत नौवहनमा प्रभावकारी नियन्त्रण कायम गरेको छ र जहाजहरूलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्न बाध्य बनाएको छ।

समुद्री व्यापार ट्र्याकिङ फर्म केप्लरले शुक्रबार भनेको छ, “हर्मुज जलमार्गमार्फत हुने ट्राफिक तीव्र रूपमा घटेको छ।”

साउदी अरबको तेलका लागि वैकल्पिक मार्गका रूपमा महत्त्वपूर्ण बाब एल–मन्देब जलमार्गमा यमनका इरान समर्थित हुथी विद्रोहीहरूले शनिबार यसबाट जहाजहरूसँग शुल्क उठाउने प्रयास नगरेको दावी गरेको छ ।

यो साँघुरो जलमार्गले रेड सीलाई हिन्द महासागरसँग र सुएज नहरमार्फत भूमध्यसागरसँग जोड्छ।

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौँ। सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ।

विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नम्बर ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन तथा त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ।

प्रवर्द्धक कम्पनी गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले विद्युत् नियमावली, २०५० बमोजिम प्रसारण लाइन निर्माणको अनुमति माग गरेपछि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ।

प्रतिवेदनअनुसार आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय–सुझाव दिन सक्नेछन् ।

प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर रहनेछ । यसका लागि ३३ केभी प्रसारण लाइनमा २०९ वटा स्टिल ट्युबुलर पोल तथा १३२ केभी प्रसारण लाइनमा दुईवटा टावर निर्माण गरिनेछ। आयोजनाका लागि स्थायी रूपमा करिब ०.५ हेक्टर र अस्थायी रूपमा करिब ०.५३ हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ। प्रसारण लाइनको अधिकार क्षेत्र (राइट अफ वे) अन्तर्गत करिब ९.६६ हेक्टर जग्गा पर्नेछ।

विभागका अनुसार ३३ केभी प्रसारण लाइनका लागि न्यूनतम ६.६२ मिटर र १३२ केभी प्रसारण लाइनका लागि १८ मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ र प्रचलित वातावरणीय मापदण्डअनुसार भू–क्षय, बाढी तथा वायु प्रदूषणजस्ता प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिने छ।

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ बेपत्ता

काठमाडाैँ । आइतबार इन्डोनेसियाली समुद्रमा डुङ्गामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत भएकाे छ । जसमा पाँच जनाको मृत्यु भएको छ।

डुङ्गामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएका खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले दिउँसोको अपडेटमा पछिल्लो तथ्याङ्क दिँदै भनेको छ, “जहाजमा सवार पाँच जनाको मृत्यु भएको, ४१ जना वेपत्ता भएका र २२५ जनालाई उद्धार गरिएको छ।”

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार डुङ्गामा आगलागीपछि केही यात्रु आत्तिएर समुद्रमा हाम फालेका थिए र नजिकैको जहाजले उनीहरूलाई समुद्रबाट उद्धार गरेको थियो।

चार अन्य जहाज डुङ्गा नजिकै तयारी अवस्थामा थिए तर डुङ्गामा रहेको ज्वलनशील सामग्रीको जोखिमका कारण नजिक जान असम्भव भएको बासारनासले जानकारी गराएको छ।

बासारनासले डुङ्गाका क्याप्टेनले कम्पनीलाई आगोको रिपोर्ट गर्दै भनेका थिए, “डुङ्गा पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकास्सरतर्फ जाँदै गर्दा आगलागी भएको छ।”

बासारनासले त्यसपछि क्याप्टेनसँग सम्पर्क नभएको बताएको छ। घटनास्थलबाट ६ घण्टाको दूरीमा रहेको सुराबायाबाट ठूलो उद्धार टोली घटनास्थलतर्फ जाँदै छ।

“क्षेत्रबाट आएका प्रारम्भिक रिपोर्टअनुसार, यात्रुहरूले घटनास्थल नजिकका जहाजहरूबाट उद्धारको प्रतीक्षा गरिरहेका र अधिकांशको उद्धार गर्न सफल भएको यातायात मन्त्रालयका वरिष्ठ अधिकारी मुहम्मद मस्युदले बताएका छन्।

उनले भने, “यात्रु र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। उद्धार प्रक्रिया छिटो, सुरक्षित र प्रभावकारी रूपमा अगाडि बढोस् भन्नका लागि हामी सबै सम्बन्धित पक्षसँग निरन्तर समन्वय गर्दै छौँ।”

इन्डोनेसियामा समुद्री दुर्घटना नियमित रूपमा हुने गर्छ । यो १७ हजार भन्दा बढी टापु भएको द्वीपसमूह हो र आंशिक रूपमा कमजोर सुरक्षा मापदण्ड तथा अप्रत्याशित मौसमका कारण यस्ता घटना हुने गर्छन्।

गत महिना सेलायर नजिकै ७० भन्दा बढी यात्रु बोकेको डुङ्गा डुबेको थियो । सेलायर ग्रेट सुलावेसीको दक्षिणमा रहेको सानो उष्णकटिबन्धीय टापु हो।

अनुभवी नेतृत्वसँगै नेपाल वायुसेवा निगममा नयाँ आशा,आम्दानी ३२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो ।

गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका ५ जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो । गत असार ३० गतेको मन्त्रिपरिषद् निर्णयबाट हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गरेका थिए । उनले जिम्मेवारी सम्हालेको पहिलो १५ दिनमा सञ्चालक समितिको तीनवटा बैठकसहित विभिन्न छलफल आयोजना गरी संस्थागत सुधारका कार्ययोजना, प्राथमिकता र रणनीति तय गरिएको जानकारी दिए ।

गत आर्थिक वर्षको असार महिनाको तुलनामा यस वर्षको असारमा निगमको आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ । गत वर्ष असारमा करिब ७५ प्रतिशत सिट उपयोगिता थियो भने यस वर्षको असारमा यो बढेर ८५ दशमलव चार प्रतिशत पुर्‍याउन सफल भएको निगमले जनाएको छ ।

निगमले उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत आम्दानी वृद्धि, अनावश्यक खर्च नियन्त्रण तथा सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । आगामी दिनमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता अभिवृद्धि र वित्तीय अनुशासनलाई थप सुदृढ बनाइने तयारी गरिएको छ ।

आफ्नो अनुभव, विज्ञता र अन्तरराष्ट्रिय सम्बन्धको उपयोग गर्दै नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता कार्यकारी अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन् ।

सामाजिक तथा धार्मिक सद्‌भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

कैलाली । धार्मिक तथा साम्प्रदायिक सद्‌भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा राजनीतिक दल, हिन्दू, मुस्लिम, इसाईलगायत धार्मिक तथा समाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा सामाजिक सद्‌भाव तथा सार्वजनिक हितका लागि क्रियाशील रहने बताए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्वी नेपाल र तराई–मधेसका केही जिल्लामा धार्मिक सद्‌भाव विरोधी गतिविधि बढिरहेकाले त्यसको प्रभाव पर्न नदिन कैलालीमा उच्च सतर्कता अपनाइएको बताए । उनले सीमा क्षेत्रबाट हुने शङ्कास्पद गतिविधि र आवतजावत तथा जोखिम हुनसक्ने क्षेत्रमा प्रशासनले निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

हिन्दू, मुस्लिम र इसाई धर्मका अगुवाहरुले आफ्नो समुदायका व्यक्तिबाट कुनै पनि गलत क्रियाकलाप हुन नदिन आफूहरु सचेत रहेका तथा गलत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडाध्यक्षको समन्वयमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकास्तरमा अन्तरधार्मिक तथा सामाजिक सद्‌भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै, कुनै एउटा धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सकेसम्म धार्मिक सभा, जुलुस वा अन्य कार्यक्रम नगर्ने तथा गर्नै परे पूर्वस्वीकृति लिने, धार्मिक गतिविधिका क्रममा हतियार, लाठी, भालालगायतका सामग्री प्रदर्शन वा प्रयोग नगर्ने र अर्को समुदायको धार्मिक आस्थामा आघात पुग्ने गतिविधि नगर्ने सहमति भएको छ ।

कुनै व्यक्ति वा संस्थाले धार्मिक समुदायको बदनाम हुने गरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रचार–प्रसार गरे कानुनबमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी, जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने र स्थानीय प्रशासनले सीमामा उच्च निगरानी गर्ने जनाइएको छ ।

यस्तै, कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाइमा शान्ति, सद्‌भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक सङ्घसंस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा आमनागरिकको सहभागितामा सोमबार नागरिक सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ ।

स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा

पर्सा। प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका-२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका-२ घर भई चितवनको माडी नगरपालिका-९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङलाई खानतलासी गर्दा निजहरूका साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिए।

उनका अनुसार रु ५०० दरका नोट ३१६ थान, रु २०० दरका ७५ थान नोट, रु १०० दरका नोट ३६५ थान भारतीय रकम फेला परेकाले प्रतिबन्धित भारतीय नोटसहित दिपेश र तिलकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनले बताए। निजहरूका साथबाट ना१०प ४४६९ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको उनको भनाइ छ।

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

झापा। झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन्।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार २०६७ असार ३ गतेदेखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उनकाे भनाइ छ।

कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो। उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २०८२/८३ मा भने ६ जनाले ज्यान गुमाएका छन्। मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए।

अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। २०६७ देखि हालसम्म १० जना गैरनेपालीको हात्तीको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

मानिस मात्र होइन, मानव-हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताए। कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन्। सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका उनले जानकारी दिए।

प्रमुख यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव-हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन्। उनले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताए।

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा ‘स्ट्रेट अफ होर्मुज’लाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताउनुभएको छ ।

“यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु,” ट्रम्पले लेख्नुभएको छ । उहाँका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ । यद्यपि, ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पाँच महिनादेखि जारी द्वन्द्वमा यो पछिल्लो अप्रत्याशित मोड हो । एक दिनअघि मात्र ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको सङ्केत दिनुभएको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । ट्रम्पले त्यसबेला इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताउनुभएको थियो । यद्यपि, युद्धका उद्देश्य र रणनीति समयक्रममा परिवर्तन हुँदै आएका छन् । जुनको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो । तर, ‘स्ट्रेट अफ होर्मुज’मा जहाजहरूमाथि पुनः आक्रमण भएपछि केही सातामै युद्धविराम भङ्ग भएको थियो ।

साउदी अरबको चिन्ता

ट्रम्पको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो । छलफलको जानकारी राख्ने स्रोतका अनुसार युवराजले अमेरिका–इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । स्रोतका अनुसार, यदि अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पुल वा विद्युत् केन्द्रहरूमा ठूलो आक्रमण ग¥यो भने त्यसको जवाफमा इरानले साउदी अरब तथा अन्य खाडी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने चिन्ता साउदी पक्षको छ । युवराजले ट्रम्पसँग इरानविरुद्ध अमेरिकाले चाल्न सक्ने सम्भावित कदमबारे स्पष्ट जानकारी माग गर्नुभएको थियो । ह्वाइट हाउसका एक अधिकारीले दुई नेताबीच वार्ता भएको पुष्टि गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

यसै साता साउदी अरबले इराकस्थित इरान समर्थित समूहका रसद र हतियार भण्डारणस्थलमाथिको अमेरिकी कारबाहीमा साथ दिएको थियो । साथै, उसले अमेरिका र इरानलाई वार्तामा फर्कन पनि आग्रह गर्दै आएको छ । युवराजले इरानसम्बन्धी रणनीतिबारे छलफल गर्न आफ्ना भाइ तथा रक्षामन्त्री खालिद बिन सलमानलाई वासिङ्टन पठाउनुभएको थियो ।

उहाँले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । यसैबीच, ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुभएको थियो । फेब्रुअरीमा युद्ध सुरु भएयता उहाँरूबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो । नेतान्याहुले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

निर्वाचनअघि बढ्दो राजनीतिक दबाब

नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा यो युद्ध ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ ।

विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको यो द्वन्द्व अमेरिकी जनमतमा लोकप्रिय छैन । यसै साताको सुरुमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण अमेरिकी सेनाले विफल पारेपछि ट्रम्पले कडा जवाफी कारबाही गर्ने चेतावनी दिनुभएको थियो । शुक्रबार उहाँले ‘हामी जित्न चाहन्छौँ’ भन्दै आवश्यक परे इरानमाथि ‘अत्यन्त कडा’ प्रहार गर्ने बताउनुभएको थियो ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले युद्धविरामसम्बन्धी समझदारी उल्लङ्घन गर्दै व्यावसायिक जहाज र अमेरिकी सैनिकलाई लक्षित आक्रमण गरेको आरोप लगाउनुभएको छ । ट्रम्पको पछिल्लो घोषणाअघि अमेरिकी अधिकारीहरू उच्च सतर्कतामा थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल कारबाही गर्न सक्षम रहेको बताउनुभएको थियो । यसैबीच, अमेरिकी विदेश मन्त्रालयले इरानसँग बढ्दो तनावलाई मध्यनजर गर्दै मध्यपूर्वका १० देशमा रहेका अमेरिकी नागरिकका लागि उच्च सुरक्षा सतर्कता जारी गरेको छ ।

कांग्रेसको आन्तरिक विवादलाई लिएर गोकुल बास्कोटाको कटाक्ष

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसको आन्तरिक राजनीतिक अवस्थालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।

बास्कोटाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक विरासतसँग जोड्दै केही नेताहरूको भूमिकाप्रति कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, ‘बीपीका सन्तान पनि कोही राजावादी, कोही फुटाउवादी भएर निस्केछन्। फुटाउनै छ भने झ्याप्प फुटाऊ। गिरिजाबाबुलाई त तिरिमिरी पार्ने देउवाले गगनलाई ग्वाँ नबनाई के छोड्छन् र? हिङ हालेको टालो देखाउँदै देश डुलाउलान अब। तर देउवा नगले पनि दाल चाहिँ गल्दै गल्दैन। फाइनल कुरा हो– यो समय देउवाको होइन।’

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडाैँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

झापाको कनकाई नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल सात हजार २०० ट्याब्लेट र नाइट्राभेट सात हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा–८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा–७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाललाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, झापाको दमक नगरपालिका–५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ५२० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ९६० ट्याब्लेटसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बू तथा झापाको दमक नगरपालिका–७ का २९ वर्षीय करण मल्लिक पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोही ठाउँका २० वर्षीय क्रिस शर्मालाई पक्राउ गरिएको छ । यसैगरी, टीकापुर नगरपालिका–९ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ७९० मिलिग्रामसहित टीकापुर नगरपालिका–७ बेलुवाका ३० वर्षीय तेज बुढा पक्राउ परेका छन् ।

मोरङको लेटाङ नगरपालिका–२ धोबीकी २७ वर्षीया प्रमिला लामालाई ट्रामाडोल १५० ट्याब्लेट र स्पास्पेन १५० ट्याब्लेटसहित पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलबाट ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद रु १३ हजार ७७५ सहित पथरीशनिश्चरे नगरपालिका–१ सुन्दर बस्तीका २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिमलाई पक्राउ गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित सोही ठाउँका २४ वर्षीय रोहित घिसिङ, सोही नगरपालिका–४ जिरो ड्यामबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५०० मिलिग्रामसहित सोही ठाउँका २८ वर्षीय लोकेन्द्रबहादुर रावल तथा वीरेन्द्रनगर नगरपालिका–२ भुरेली गाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित सोही ठाउँका ३१ वर्षीय चित्र थापालाई पक्राउ गरिएको छ । यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१३ सिजस्वर्ग टोलका १७ वर्षीय किशोरलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्राम ११० मिलिग्राम, नगद रु ७४ हजार र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ ।

यहाँस्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटरमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भएको छ । धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताए । सिरहामा २९ दशमलव ९८, महोत्तरीमा ९१ दशमलव ५६,सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर निर्माण भएको छ । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग एक हजार ७९२ किलोमिटर लामो हुनेछ ।

तुलसीलाल अमात्य र भीमदत्त पन्तको विरासत अघि बढाउन ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट तथा किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई निरन्तरता दिन आग्रह गरेका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आइतबार जारी श्रद्धाञ्जली सन्देशमा अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गरेका छन्।

सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नारासहित किसानलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको उल्लेख गर्दै ओलीले निरंकुशताविरुद्धको संघर्ष र वामपन्थी आन्दोलनमा उनको योगदान नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने बताएका छन्।

श्रद्धाञ्जली सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्ध संघर्ष गर्ने निर्भीक र क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारासहित पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानको आन्दोलनको नेतृत्व गरेको ओलीले उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली र ४ विदेशी आरोहीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेकी छिन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेक िहुन् ।

उनले स्वर्गीय निर्मल पुर्जाले आफ्नो अदम्य साहस, असाधारण क्षमता र ऐतिहासिक कीर्तिमानमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिलाउनुका साथै सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गरेकी छिन् ।

पुर्जासहित पुरबहादुर गुरुङ ९युक्ता०, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पालगायत दिवंगत सबै आरोहीहरूले पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने भण्डारीले जनाएकी छिन् ।

उनले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका सबै आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेकी छिन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ५७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ । रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, सजिवन प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु

विराटनगर – विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमा पहिलोपटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ ।

थोरासिक अन्कोसर्जरी सुरु गरिएसँगै यो सेवाका लागि उपचारका लागि काठमाडौँ तथा विदेश जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ । यो सेवाको जिआई–एचपिबी अन्कोसर्जन (पेट, आन्द्रा, कलेजो, पित्तनली र प्याक्रियासको शल्यक्रिया), ब्रेस्ट अन्कोसर्जन (स्तन क्यान्सरको शल्यक्रिया) तथा साइटोरिडक्टिभ एण्ड हाइपेक सर्जन (पेटभित्र फैलिएको जटिल क्यान्सरका लागि विशेष शल्यक्रिया) डा शिवराज शर्माले प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

उहाँले भारतको टाटा मेडिकल सेन्टर, कोलकाताअन्तर्गतको थोरासिक अन्कोसर्जरी विभाग र चीनको सङ्घाइ पल्मोनरी अस्पतालबाट युनिपोर्टल भ्याट्स एण्ड ¥याट्ससम्बन्धी प्रतिष्ठित फेलोसिप तालिम सफलतापूर्वक सम्पन्न गरी विराट क्यान्सर इन्स्टिच्युटमा पुनःआफ्नो सेवा सुरु ग

हस्पिटलमा वरिष्ठ फोक्सो एवं श्वासप्रश्वास तथा निद्रा रोग विशेषज्ञका रूपमा प्रा डा पुरु कोइराला र डा रेजिना शाही रहनुभएको छ । उक्त सेवा प्रदान गर्ने समूहमा अन्कोसर्जन डा जगरनाथ चौधरी, अन्कोएनेस्थेसियोलोजिस्ट डा रुजन बम र अन्कोफिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ रहनुभएको छ । फोक्सोको क्यान्सरको शल्यक्रिया दूरबिन (भ्याट्स) प्रविधिबाट गरिने र निकट भविष्यमा रोबोटिक सर्जरीसमेत सुरु गर्ने डा शर्माले बताए

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ – मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो ।

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के¬–बेनीघाट कच्ची सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

निर्मल पुर्जाको निधनप्रति रवि लामिछानेको श्रद्धाञ्जली : ‘प्रिय निम्स, फर्किएर भेट्ने वाचा अधुरै रह्यो’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेले निम्ससँग फेरि भेट्ने वाचा अधुरै रहेको उल्लेख गर्दै उनको असामयिक निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

उनले लेखेका छन्, ‘प्रिय निम्स, फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ, तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा सधैँ बाँचिरहनेछ।’

लामिछानेले निम्सको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गर्दै ‘जहाँ भए पनि, तिमी चिरशान्तिमा रहनू’ भनेका छन्।

उनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य सबै आरोहीप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्