`

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटीका विषयमा आज मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए ।

गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार संशोधन र संस्थालाई राजनीतिबाट मुक्त राखी निष्पक्ष कार्यसम्पादन गर्न आग्रह गरे । संस्थाको पवित्र उद्देश्यबाट विचलित नभई सरकारको सहयोगीका रूपमा गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी कार्य गर्न पनि उनले आग्रह गरे ।

छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्याल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी र दुवै मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । यस्तै, नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा, महासचिव मीनबहादुर मल्ललगायत प्रतिनिधिहरु सहभागी थिए ।

गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने

काठमाडौँ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गरिने भएको छ ।

पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७) ले गैरबैङ्किङ वित्तीय संस्थाको स्थापना, सञ्चालन र नियमनका लागि अलग्गै संस्थागत संयन्त्र विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको हो ।

गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त रणनीति स्वीकृत गरिसकेको छ । उक्त रणनीतिले मुलुकको वित्तीय प्रणालीलाई सबल, सुदृढ र समावेशी बनाउँदै दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

नेपालको वित्तीय प्रणालीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । सरकारी, सार्वजनिक, निजी तथा स्वरोजगार क्षेत्रमा संलग्न लाखौँ नागरिकको बचत, निवृत्तिभरण र सामाजिक सुरक्षा योगदान यी कोषमा सङ्कलन हुँदै आएको छ ।

यी कोषमार्फत सङ्कलित दीर्घकालीन पुँजी पूर्वाधार विकास, पुँजी बजार, सरकारी ऋणपत्र तथा विभिन्न लगानी उपकरणमा परिचालन हुनुका साथै ठूलो वित्तीय भार व्यवस्थापन गरिरहेका यी संस्था स्पष्ट र एकीकृत नियामकीय संरचनाबाट बाहिर छन् ।

हालसम्म नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थाको नियामकका रूपमा रहे पनि गैरबैङ्किङ सामाजिक सुरक्षा कोष प्रत्यक्ष राष्ट्र बैङ्कको नियमनमा परेका छैनन् ।

अर्कोतर्फ, अर्थ मन्त्रालयको मातहत रहेर सञ्चालन हुँदै आएका यी कोषको नियमन, अनुगमन र जोखिम व्यवस्थापनमा संस्थागत कमजोरी बढ्दै जान थालेको देखिन्छ । यही सन्दर्भलाई सम्बोधन गर्दै पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीतिले गैरबैङ्किङ वित्तीय संस्थाहरूका लागि छुट्टै नियामक संयन्त्र विकास गर्ने प्रस्ताव अघि सारेको हो ।

रणनीतिले दिगो र समावेशी आर्थिक विकासलाई केन्द्रमा राख्दै नागरिक तथा राष्ट्रसेवक कर्मचारीको सामाजिक सुरक्षासम्बन्धी वित्तीय दायित्व व्यवस्थापनका लागि एकीकृत प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ ।

बचतलाई बढी उत्पादक क्षेत्रमा लगानी गर्ने, सामाजिक सुरक्षाको एकीकृत प्रणाली निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन गर्न आवश्यक कानुनी सुधार गर्ने विषय रणनीतिमा समेटिएका छन् ।

हाल सामाजिक सुरक्षा कार्यक्रम विभिन्न कोषमार्फत छरिएर सञ्चालन हुँदा दोहोरोपन, प्रशासनिक खर्च वृद्धि र सेवा प्रवाहमा जटिलता देखिएको छ । यसलाई अन्त्य गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने योजना अघि सारिएको हो ।

रणनीतिले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तारलाई विशेष प्राथमिकतामा राखेको छ । हाल सञ्चालनमा रहेका कोषहरूको कार्यक्रममा नसमेटिएका सरकारी, सार्वजनिक, निजी तथा असङ्गठित क्षेत्रका श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने अध्ययन गरिने उल्लेख छ ।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा संलग्न व्यक्तिको योगदान नियमित गर्न भुक्तानीमा गेटवे (इ–कमर्स वेबसाइट वा एपहरूमा अनलाइन भुक्तानी स्वीकार गर्ने एक सुरक्षित सेवा) प्रणालीको पहुँच र सरलीकरण गरिने रणनीतिमा उल्लेख छ । यसले सामाजिक सुरक्षालाई सीमित वर्गको सुविधा नभई व्यापक नागरिक अधिकारका रूपमा विकास गर्ने अपेक्षा लिएको छ ।

रणनीतिमा गैरबैङ्किङ वित्तीय कोषहरूको लगानी विविधीकरणलाई अर्को महत्त्वपूर्ण सुधारका रूपमा प्रस्तुत गरिएको छ । कोषहरूमा सङ्कलित बचतलाई बजारको मागअनुसार अल्पकालीन र दीर्घकालीन वित्तीय उपकरणमा लगानी गर्न कानुनी तथा नीतिगत व्यवस्था मिलाइने उल्लेख छ ।

विशेषीकृत लगानी कोष र प्राइभेट इक्विटी फन्ड (उच्च नेटवर्थ भएका लगानीकर्ता) जस्ता क्षेत्रमा कोषलाई लगानी गर्न दिने व्यवस्था, सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नागरिकका लागि आवासलगायत आधारभूत आवश्यकतासँग जोडिएका परियोजनामा लगानी विस्तार तथा कोषहरूको सहभागितामा आवास परियोजना विकास गर्ने योजनाले दीर्घकालीन पुँजी परिचालनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, पुँजी बजार विकासमा योगदान पु¥याउन बन्दमुखी सामूहिक कोष, ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ लगायत माध्यमबाट लगानी विविधीकरण गरिने रणनीतिमा उल्लेख छ । सामाजिक सुरक्षा कार्यक्रमको आवश्यकता, औचित्य, महत्व र नागरिकको कर्तव्यसम्बन्धी विषय समेटेर वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरिने विषयसमेत रणनीतिमा राखिएको छ ।

साथै, गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि संस्थागत संयन्त्र विकास गर्ने, सहभागीको हित संरक्षणका लागि आचरणसम्बन्धी व्यवस्था गर्ने, सम्झौतामा सम्भावित जोखिम, सुविधा दाबी प्रक्रिया र गुनासो सुनुवाइ प्रणाली स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गर्ने रणनीतिले ग्राहक संरक्षणलाई नीतिगत प्राथमिकतामा राखेको देखिन्छ ।

रणनीतिले विद्यमान कोषको भूमिका, कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट पार्न सम्बन्धित ऐन संशोधन गर्ने, दोहोरोपन भएका कार्यक्रम एकीकृत गर्ने प्रस्ताव गरेको छ । आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत सबै सेवा एउटै पोर्टलबाट उपलब्ध गराउने, बिमा, पेन्सन र ऋणलगानी सेवा एकीकृत गर्ने लक्ष्य पनि समेटिएको छ ।

गैरबैङ्किङ वित्तीय क्षेत्रमा अहिले सबैभन्दा संवेदनशील पक्ष भनेको संस्थागत सुशासन र जोखिम व्यवस्थापनको देखिन्छ । रणनीतिले वित्तीय, परिचालन, बजार तथा सामाजिक सुरक्षासम्बन्धी जोखिम पहिचान, मूल्याङ्कन र न्यूनीकरण गर्ने समग्र जोखिम व्यवस्थापन ढाँचा लागू गर्ने उल्लेख गरेको छ ।

साथै, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरी कोषहरूको वित्तीय अवस्था, लगानी, प्रशासनिक खर्चलगायत विवरण नियमित सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने भनिएको छ ।

छ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

नेपालगञ्ज – जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ ।

अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिनुभयो । करिब छ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उहाँको भनाइ छ ।

“जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ ।”

वलीले तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीयस्थलसम्म पुग्नसक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय पत्रकार एसके मधेसीयाले नाकाबाट हुने आवजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताउनुभयो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिनसक्ने बताउनुभयो ।

उहाँले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न पाउने बताउनुभयो । कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउन बन्द गरिएको थियो ।

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताउनुभयो ।

बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो । “सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएकाले त्यस्तो नगर्नुहुन अनुरोध छ”, परिपत्रमा भनिएको छ ।

बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन निर्देशन दिएको छ ।

यस्तै, अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो सोध भर्ना नगरिनाका साथै त्यस्ता स्वास्थ्य संस्थाको स्वास्थ्य बिमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने भनि सूचित गरिएको बोर्डका सूचना अधिकारी मल्लले जानकारी दिनुभयो ।

भारतीय कलाकारको टोली मुस्ताङमा

मुस्ताङ। ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली आज बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको छ ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चार जना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली मुस्ताङ आइपुगेको हो ।

भारतीय राजदूतावासअन्तर्गत भारतस्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ आइपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिनुभयो । उहाँका अनुसार आसामको बिहु फोक नृत्य यहाँ देखाउने गरी कलाकार, प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन् ।

यसैगरी भारतीय गणतन्त्र दिवसका अवसरमा यहाँ आयोजना गरिएको एक समाहरोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चार जनाको सहभागिता थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली यहाँ आएको जानकारी दिनुभयो ।

आसामबाट यहाँ आएका कल्चर सेन्टरका टोलीले घरपझोङ गाउँपालिका–२ माफास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो । पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुई वटा बिहु फोक नृत्य प्रदर्शन गरेका हुन् ।

नमूना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठूलो

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेकोे छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

काठमाडौँ, १७ माघः निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । एकाइले पत्ता लगाएका कूल ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भएको छ । माघ ४ गते राति १२ः०० बजेदेखि लागू भएको आचारसंहिता उल्लङ्घनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लङ्घनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग आवश्यक स्पष्टीकरण लिने कार्यसमेत भइरहेको छ ।

यस अवधिमा सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, आममतदाता, सÞञ्चारकर्मीलगायत सबै क्षेत्रबाट आचारसंहिता पालनामा देखाएको अग्रसरताका लागि निर्वाचन आयोग धन्यवाद ज्ञापन गरेको छ । निर्वाचन अवधिभर आचारसंहिताको पूर्ण पालना गराउन सरोकार भएका सबै पक्षलाई ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । त्यसमध्ये आठ वटाको जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको जनाइएको छ ।

आचारसंहिता कार्यान्वयन तथा निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ । जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ र २३ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २(ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरकफरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको आयोगले जनाएको छ ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश-जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिने उहाँले बताउनुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीबाट इन्जिनियर मंगलाल श्रेष्ठ

काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा सदस्यका लागि इन्जिनियर मंगलाल श्रेष्ठलाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेको छ।

३० वर्षभन्दा बढी समय इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका इन्जिनियर श्रेष्ठ सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

पार्टीले सक्षम, इमानदार र प्राविधिक पृष्ठभूमि भएका नेतृत्वले मात्र देशमा दीगो विकास सम्भव हुने विश्वास व्यक्त गरेको छ।उज्यालो नेपाल पार्टीले काठमाडौं–१ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्दै जनताको विश्वास जित्ने दाबी गरेको छ।

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी। बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ ।प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

धरानलाई खेलकुदको सहरको रूपमा चिनाउन बुढासुब्बा गोल्डकपले महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताउनुभयो । “धरानलाई खेलकुदको सहर भनेर चिनाउन बुढासुब्बा गोल्डकपले ठूलो योगदान पुर्‍याएको छ, यसको वर्णन गरेर सकिँदैन”, अध्यक्ष तामाङले भन्नुभयो, “नेपालका प्रतिष्ठित क्लबहरूसँगै अन्तरराष्ट्रिय टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएकामा यस वर्ष भने १० टिमको सहभागिता रहनेछ । तामाङले भन्नुभयो, “यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिताको सुरु हुँदैछ, यो हामी सबैका लागि खुसीको कुरा हो ।”

प्रतियोगिता बीचमा कोरोना महामारीका कारण दुई वर्ष आयोजना हुन नसके पनि त्यसपछि भने निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । बुढासुब्बा गोल्डकप धरानका लागि एउटा पहिचानजस्तै बनेको छ । अध्यक्ष तामाङले भन्नुभयो, “प्रतियोगिता सञ्चालनमा आर्थिक पक्ष पनि महत्त्वपूर्ण हुन्छ, हामीले प्रत्येक वर्ष बुढासुब्बा गोल्डकपको स्तर वृद्धि गर्न गम्भीर भएर लागेका छौँ ।”

यस वर्ष धरान उपमहानगरपालिकाले पहिलो र दोस्रो पुरस्कारको रकम सहयोग गर्ने भएपछि प्रतियोगिता सञ्चालन केही सहज भएको उहाँको भनाइ छ । फुटबलप्रेमीहरूको माग र चाहनाअनुसार यस वर्ष टिम सङ्ख्या आठबाट बढाएर १० पुर्‍याइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । यस वर्षको बुढासुब्बा गोल्डकपले फुटबलप्रेमीहरूलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

कोशी पहाडको प्रवेशद्वारका रूपमा परिचित धरान सौखिन, ‘फेसनेबल’ र लाहुरेको सहरका रूपमा परिचित छ । पछिल्लो समय भने धरान खेलकुदप्रेमीहरूको सहरका रूपमा समेत परिचित हुँदै गएको छ । यसमा बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्त्वपूर्ण रहेको खेलप्रेमीहरूको भनाइ छ ।

बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा फुटबल तथा खेलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । अन्य खेलहरूको पनि आफ्नै महत्त्व भए पनि बुढासुब्बा गोल्डकप नेपालकै पुरानो तथा सम्मानित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा धरानलाई योगदान पुर्‍याएको छ ।

बुढासुब्बा गोल्डकपले धरानलाई मात्र नभई यहाँका खेलाडीहरूलाई पनि चिनाएको अध्यक्ष तामाङले बताउनुभयो । “आज नेपालका ‘ए’ डिभिजन क्लबहरूमा धरानका खेलाडीले प्राथमिकता पाएका छन् । सयौँ युवाले फुटबललाई भविष्य बनाएका छन्”, उहाँले भन्नुभयो ।

अहिले धरानका विभिन्न फुटबल एकेडेमीहरूमा सयौँ युवा प्रशिक्षणरत छन् । राष्ट्रिय खेलाडी बन्ने सपना बोकेर उनीहरू फुटबलकै माध्यमबाट देश चिनाउने लक्ष्यसहित अभ्यासमा जुटिरहेका छन् ।

राष्ट्रिय खेलाडी बन्ने सपना बोकेका सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल छ वर्षको उमेरदेखि नै फुटबलप्रति आकर्षित हुँदै आएको बताउनुहुन्छ । बुढासुब्बा गोल्डकप खेल्ने सपना बोकेका भुजेल हाल धरान एन्फा एकेडेमीमा नियमित अभ्यासरत हुनुहुन्छ । “गाउँमा गल्लीहरूमा फालिएका मोजामा कपडा खाँदेर बनाइएको बल खेल्थ्यौँ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ बारीमा फलेका भोगटे टिपेर पनि साथिहरूसँग फुटबल खेल्थ्यौँ, राष्ट्रिय फुटबल खेलाडी बन्ने ठूलो लक्ष्य छ ।”

प्रकृति सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण धरानलाई खेलकुदको थप पहिचान दिलाउन बुढासुब्बा गोल्डकपले सहयोग गर्दै आएको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरेले सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर फुटबल खेल्न सुरु गर्नुभयो । चार वर्षको उमेरदेखि फुटबल सुरु गर्नु भएका घिमिरे हाल बुढासुब्बा गोल्डकपमा कोचको भूमिकासमेत निर्वाह गर्दै आउनुभएको छ । उहाँले फुटबलमै भविष्य देख्नुभयो, अहिले पनि यसै खेलमा हुनुहुन्छ ।

घिमिरेले बुढासुब्बा गोल्डकपमा मात्रै २३ पटक कोचको भूमिका निर्वाह गरिसक्नुभएको छ । “लाहुरे बन्ने सपना पनि थियो, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न थालेपछि त्यो सपना त्यागे”, उहाँले भन्नुभयो । हालसम्म ताइवान, भुटान, चीनलगायत देशमा फुटबल लिग खेलिसक्नुभएको घिमिरे आफ्नो सफलताको श्रेय बुढासुब्बा गोल्डकपलाई दिनुहुन्छ ।

उहाँकाक अनुसार अहिले हरेक सहरको गल्लीगल्लीका युवाहरू केबल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल सेट पनि गरिरहेका छन् । फुटबल भनेको खेल मात्र नभएर धेरैको सपना हो । त्यो सपना गल्लीदेखि सुरु हुन्छ र एकेडेमीजस्तो ठाउँमा आएर आकार लिन्छ ।

खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ, प्रसिद्धि तथा विभिन्न अवसर प्रदान गर्ने भएकाले फुटबललाई पेशाका रूपमा अपनाउन सकिने अवस्था बनेको छ । यही कारणले पछिल्लो पुस्ताका युवाहरू खेलकुद, विशेषगरी फुटबलतर्फ बढी आकर्षित हुँदै गएको आयोजक धरान फुटबल क्लबका महासचिव नवीन राईले बताउनुभयो । फुटबल खेलले शारीरिक रूपमा स्वस्थ राख्नुका साथै सहनशीलता, शक्ति, गतिशीलता तथा मानसिक रूपमा पनि तन्दुरुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

महासचिव राईका अनुसार बुढासुब्बा गोल्डकप ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको प्रतियोगिता हो । यस प्रतियोगिताको नाम धरानको ऐतिहासिक तथा धार्मिकस्थल बुढासुब्बा मन्दिरसँग जोडिएको छ । उहाँले भन्नुभयो, “बुढासुब्बा गोल्डकपले धरानलाई खेलकुदको सहरका रूपमा मात्र नभई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नमा ठूलो योगदान छ ।”

“अहिले बुढासुब्बा गोल्डकप धरानको एउटा सानका रूपमा उभिएको छ”, उहाँले भन्नुभयो । बुढासुब्बा गोल्डकपले खेलकुदको विकाससँगै युवा खेलाडीलाई आवश्यक ‘प्लेटफर्म’ प्रदान गर्नुका साथै राष्ट्रिय फुटबलको स्तर सुधारमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको भनाइ छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिताले खेलाडीलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन र फुटबललाई लोकप्रिय बनाउन ठूलो सहयोग पुर्‍याएको छ ।

प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप सञ्चालन गर्न करिब रु एक करोड बराबरको लगानी लाग्ने गर्दछ । जसमध्ये केही प्रतिशत सहयोग स्थानीय सरकारबाट प्राप्त हुन्छ भने बाँकी रकम हङकङ, बेलायत, सिङ्गापुरलगायत विभिन्न देशमा रहेका सहयोगी व्यक्तिहरूको चन्दा तथा सहयोगबाट जुटाइनेछ ।बुढासुब्बा गोल्डकप हेर्न सुनसरीका विभिन्न स्थानसँगै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायत जिल्लाबाट समेत खेलप्रेमी दर्शकहरू धरान आउने गरेका छन् ।

सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किए गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ मा रहँदै उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए ।

१२ माघमा सर्लाही पुगेका सभापति थापा घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा सक्रिय रहे। यस क्रममा पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षालाई नजिकबाट बुझ्न आफू केन्द्रित रहेको उनले बताएका छन्।

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ ।

सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो ।

नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन् । आव २०७९/८० मा एक हजार १२ जना नगरपालिकामा भित्रिएका थिए । सो सङख्या २०८०/८१ मा घटेर ९३५ मा सीमित भए पनि आव २०८१/८२ मा पुनः बढेर एक हजार ९८ पुगेको छ ।

बसाइँ सरेर आउनेहरूको आकर्षण मुख्यतया बजार क्षेत्र र बजार विस्तार हुँदै गरेका वडातर्फ केन्द्रित देखिन्छ । सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढेको छ । वडागत विवरण अनुसार आव २०८१/८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना बसाइँ सरेर आएका छन् ।

वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५ तथा वडा नम्बर १० मा ११८ जना भित्रिएका छन् । यसअघिल्लो आव २०८०/८१ मा भने वडा नम्बर ८ मा सबैभन्दा बढी १९७ जना बसाइँ सरेर आएका थिए ।

बसाइँ सरेर आउनेमध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन् । त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ । बसाइँसराइ गर्नेमा अधिकांश पहाडी समुदायका नागरिक रहेका छन् भने आदिवासी थारु समुदायको सहभागिता भने निकै न्यून रहेको छ ।

यता, नगरपालिकाबाट अन्यत्र बसाइँ सरेर जानेहरूको सङ्ख्या पनि पछिल्लो वर्ष बढेको छ । आव २०७९/८० मा ३८८ र २०८०/८१ मा ३५४ जना बाहिरिएकोमा आव २०८१/८२ मा यो सङ्ख्या बढेर ५२२ पुगेको छ । यद्यपि, बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर बढी देखिन्छ ।

पहाडी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जालको पहुँच विस्तार भए पनि आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर नहुँदा बसाइँसराइ बढेको नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐर बताउनुहुन्छ ।

“पहाडमा आधारभूत सेवा त पुगेका छन्, तर जीविकोपार्जनका लागि उद्योग, कलकारखाना र पर्याप्त कृषि आम्दानीको अभाव छ”, उहाँले भन्नुभयो, “त्यसैले मानिसहरू सहज जीवनयापन र अवसरको खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रतर्फ केन्द्रित भइरहेका छन् ।” अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्नेक्रम जारी रहेकाले खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप पर्ने चुनौती थपिँदै गएको उहाँको विश्लेषण रहेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४५, बन्दा (लोकल) प्रतिकिलो रु ६५, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ९०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति रास्वपाले दियो यस्तो स्पष्टिकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिएको छ ।

सुनारका विषयमा व्यक्त भएका चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले पार्टी सामाजिक सद्भाव र राष्ट्रिय एकताप्रति अडिग रहेको बताउको छ ।

पार्टीले नेपालको संविधान, प्रचलित कानून तथा मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति आफू सधैं सजग र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा उत्पन्न अन्योल तथा धार्मिक–सांस्कृतिक भावनामा पुगेको ठेसप्रति सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको स्पष्ट पारिसकेका छन्।

विज्ञप्तिमा भनिएको छ  ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको“ प्रष्ट पारिसक्नुभएको छ,’

पार्टीले सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरू तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उम्मेदवारले आत्मलोचना गर्दै क्षमायाचना गरेको जनाएको छ ।

विज्ञप्तिमा पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराइएको बताउको छ । यस्तै उम्मेदवारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको पनि बताएको छ ।

रास्वपाले आफ्नो विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्मरण गराएको छ।

निर्वाचन आचार संहिताको पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको समग्र विकासमा सबै दलहरुबीच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

म्याग्दी जेसीजद्वारा शुक्रवार बेनीमा आयोजित प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसंग पत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका प्रत्यासिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीको विकाससंगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्यएजेण्डा बनाएर आफु चुनाबमाहोमिएको बताउनुभयो । उहाँले मुलुकमा बदलिँदो अवस्थाअनुरुपकाँग्रेस बदलिएको जनाउँदै मुलुकबदल्ने अभियानको नेतृत्व पनि काँग्रेसले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ हामीविकास, समृद्धि र सुशासनलाई एकैसाथ अघि बढाउन चाहन्छौँ, पार्टीभित्रको समस्याहल गरेर हामीमुलुकको समस्या समाधानमा केन्द्रित भएका छौँ, आगामी संसदमानीतिनिर्माण गर्ने कार्यमा सक्रियतापूर्वक लाग्न र जिल्लाको विकासलाई थपगतिदिनहामीलाई जनताले मतदानगर्ने अपेक्षा गरेका छौँ । ’’

कार्यक्रममा नेकपा (एमाले) म्याग्दीबाट उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको विकासका सवालहरुलाई चुनाबी घोषणापत्रमा समेटेर अघि बढ्न विज्ञ सहितको टिमबाट चुनाबी घोषणा पत्रतयारी गरेको बताउनुभयो । उहाँले कानुननिर्माण, सरकार गठन र बजेट तथाकार्यक्रमनिर्माणको क्षेत्रमाआफुले सक्रियभुमिका खेल्ने प्रतिबद्धता जनाउँदै जिल्लाको कृषि, शिक्षा, सडक, पूर्वाधार लगायतको क्षेत्रमाआबश्यक सुधारको लागिमुख्यएजेण्डा तय गरेको बताउनुभयो ।

कार्यक्रममा, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरेले जिल्लामा एकीकृत गुरुयोजना बनाएर विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्यउपचार लगायतलाई राज्यको मातहत राख्र्दै भष्ट्राचार निवारण र सुशासनका लागि आफुलाई मतदानगर्न आह्वानगर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्माले समेत जिल्लाको पूर्वाधार निर्माण, सुशासन र मुलुकको आबश्यकताअनुसारको काननु निर्माणका लागि संसदमाप्रभाबकारी भूमिका खेल्न आफुहरु उम्मेदवार बनेर आएकोमाजोड दिनुभएको थियो ।

कार्यक्रममा उम्मेदवारहरुले सहभागीहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको उत्तर दिनुभएको थियो । म्याग्दी जेसीजका शाखाअध्यक्ष दिनेशकुमार विश्वकर्माले उम्मेदवारहरुबिच मैत्रिपूर्ण प्रतिस्पर्धाको वातावरण सिर्जना, निर्वाृचन आचार संहिताको पालना, जनताकाप्रश्नप्रतिउत्तरदायीबनाउँदै जिल्ला र मुलुकको विकास र समृद्धिमा उम्मेदवारहरुका प्रतिबद्धता खोज्न कार्यक्रमले रचनात्मकभूमिका खेल्ने बताउनुभयो ।

म्याग्दीमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेदवारी कायम रहेको छ । निर्वाचनकालागि एक निर्वाचन क्षेत्र र छस्थानीयतह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ जनामतदाता छन् । बयासी मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम छन् ।

पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने

काठमाडौँ । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६ देखि १६ सम्म) ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ ।

नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजज्यूको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न हुन लागेको हो ।

नेपालको यज्ञिय इतिहासमा नै प्रथम पटक हुन लागेको यस प्रकारको विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछन् । महायज्ञ केवल कर्मकाण्ड मात्र नभई एक वैज्ञानिक प्रक्रिया भएको गुरुदेव महेश चैतन्यले बताए ।

उनले भने ‘प्राचीन कालमा ऋषि वशिष्ठ र दत्तात्रेयले गर्ने गरेको र पछिल्लो समय लोप हुन लागेको यो विद्याको पुनर्जागरणले नेपालको वायुमण्डलमा सकारात्मक ऊर्जा सञ्चार गर्ने छ ।’

११ दिनसम्म चल्ने यस कठिन साधनाले देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य गर्न शासकहरूमा इमानदारी र सेवाभाव जागृत गराउन मद्दत गर्नेछ । तन्त्र विद्या (आगम) को प्राचीन केन्द्र पशुपति क्षेत्रमा हुने यस यज्ञले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधान गरी युवा पलायन रोक्न र देशलाई समर्थ बनाउन आध्यात्मिक बल प्रदान गर्ने पनि गुरु चैतन्यको भनाई छ ।
अनुष्ठानमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन् । जसमा ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन् । व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर सबै साधकहरू समान फलका भागीदार हुने बताइएको छ ।

यज्ञमा प्रतिष्ठित श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजा जस्ता गतिविधि हुनेछन् । भगवान राम, कृष्णदेखि विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुरÞ्याउने र देवभूमिका रूपमा रहेको यस राष्ट्रको गौरवलाई पुनः जागृत गराउने विश्वासका साथ सम्पूर्ण श्रीविद्या प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आह्वान पनि गरिएको छ ।

श्री विद्या के हो ?

यो ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो । यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्छन् । भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए । यो साधना अत्यन्त कठिन (दैनिक १४–१५ घण्टा) लाग्छ छ । आजभोलि मानिसहरू मनोरञ्जनका लागि कथा प्रवचनमा झुम्मिन्छन्, तर वास्तविक साधना र ब्रह्मचर्यको पालन गर्न गाह्रो मान्छन् ।
धर्मले मानिसलाई इमानदार बनाउँछ र दुःखीको सेवा गर्न सिकाउँछ । यदि जनतामा यो भावना जागृत भयो भने सत्ता आफैँ सुध्रिन्छ । नेपालको कुनै पूर्वजन्मको पुण्यले गर्दा नै आज यो दुर्लभ कार्यक्रम यहाँ हुन गइरहेको हो । यो देवभूमि हो (पाणिनि र भरत राजाको भूमि), यसलाई साधनाद्वारा जागृत गराउनु पर्छ । यसबाट देशको कल्याण निश्चित छ ।

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज । वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरका तीन वडामा नाला र ह्युमपाइपको व्यवस्था गरिएको छ ।

डुबान हुने ती क्षेत्रहरूमा महानगरले नाला र ह्युमपाइपको व्यवस्था गरेसँगै डुबानका समस्याबाट केही हदसम्म भए पनि राहत हुने आशा स्थानीयवासीले गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहले महानगरको वडा नं १७, २४ र २६ मा वर्षात्का बेला हुने डुबानको समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम अघि बढाएको जानकारी दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पहिचान गरी क्रमशः निकासको काम अघि बढाउने बताए ।

“निर्मित संरचनाहरूको नियमित अनुगमन, मर्मत र सरसफाइलाई प्राथमिकतामा राखेर सहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ”, उनले भने, “विगतमा पनि यो समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि स्थानीयस्तरमा कुरा नमिल्दा र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुनसकेको थिएन ।”

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले रु आठ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आव २०८१/०८२ को सोही अवधिभन्दा यस वर्ष ४७ दशमलव चार प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । चालु आवको पुससम्म लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड बढी अर्थात् लक्ष्यभन्दा २३ दशमलव एक प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत आवको तुलनामा यो रु दुई अर्ब ६३ करोडले बढी हो ।

चालु आवको पुस महिनामा रु एक अर्ब २६ करोड ८७ लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको कार्यालयले रु एक अर्ब ६६ करोड ८७ लाख ९१ हजार अर्थात् लक्ष्यको ३१ दशमलव पाँच प्रतिशत बढी सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आव २०८२/०८३ मा रु १५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

आन्तरिक राजस्व कार्यालयको सक्रियताका कारण कर सङ्कलनमा उल्लेख्य वृद्धि भएको यहाँ कार्यरत कर्मचारी दाबी छ । अर्थतन्त्रमा परिसूचकमा देखिएको सुधार र स्थानीयस्तरमा बक्यौता असुलीका लागि कार्यालयको पहलबाट लक्ष्यभन्दा माथि कर सङ्कलन भएको कार्यालयले जनाएको छ ।

करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचित गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएको कारण राजस्व सङ्कलन बढेको प्रमुख कर अधिकृत पोख्रेलको भनाइ छ ।

यस अवधिमा बजेटले दिएका छुट सुविधा कार्यान्यवन, करदाता शिक्षालाई बढी प्रभावकारी, नक्कली बिजक जारी गर्ने करदातालाई कारबाही गरिएको उनले बताए । कर छलीलाई न्यूनीकरण गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी–बक्यौता असुली गर्दै राजस्व सङ्कलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो । कार्यालयले २०८२ कात्तिकदेखि पुससम्म सञ्चालन गरेको यो अभियानबाट रु १२ करोड ६२ लाख बक्यौता राजस्व सङ्कलन भएको छ । आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरिएको थियो ।

कर अधिकृत गौरव पाण्डेका अनुसार पुस महिनासम्म मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा गरिएको थियो ।

त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको थियो । सो अवधिमा २१३ जनाले छुट सुविधा लिएको प्रमुख कर अधिकृत पोख्रेलले बताए । मूल्य अभिवृद्धि कर विवरण नबुझाउने नौ प्रतिशत अर्थात् ४१९ जना करदाता हटाइएको हटाइएको उनले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा एक लाख १० हजारभन्दा बढी व्यावसायिक करदाता छन् । यो कार्यालयको कार्यक्षेत्रमा हरून्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १ देखि ४ तथा ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी तथा शुद्धोदन गाउँपालिकाको वडा नम्बर ३ र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पर्छ ।

मौसमले साथ दिँदा यसवर्ष बागलुङमा २६ करोड ९० लाख बराबरको सुन्तला उत्पादन

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तला खेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमारपुन मगरले जानकारी दिए । बसाइँसराइले रित्तिदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।

पहिले कादो, मकै र गहुँलगायतका खाद्यन्न बाली लगाउने बारीमा हिजोआज सुन्तला खेती गर्न थालिएको प्रमुख पुन मगरले बताए । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तला खेतीप्रति आकर्षित भएको उनको भनाई छ । यस वर्ष चार हजार १६९ मेट्रिकटन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए। किसानले न्यूनतम रु प्रति किलो रु ६५ ले बिक्री गरेको उनको भनाइ छ ।

उनले भने, “पछिल्लो समय सुन्तला खेतीप्रति धेरै किसान आकर्षित हुनुभएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तला खेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ ।”

विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।

काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष रु छ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा रु आठ लाखमा बगाननै व्यापारीलाई दिएको बताए । सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ । अघिल्लो वर्ष औसा किराले झण्डै एक लाखको सुन्तला नष्ट गरि दिएको किसान कँडेल बताउन्छन।

सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको जानकारीदिए। फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताउनुभयो ।

जबकी गत आवको छ महिनामा भने रू ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा रू पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रू छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।

चालु आवको छ महिनामा रू तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा रू एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रू ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रू २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

आचारसंहिता पालना गराउन निर्वाचन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।

आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो ।

त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवद्र्धन इकाइ पूूर्णरूपमा क्रियाशिल रहेको आयोगले जनाएको छ ।

सो इकाइले पत्ता लगाएका कूल ३०२ हानीकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमका आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश÷जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले प्रष्ट पारेको छ ।

सम्बन्ध विच्छेदका कारण बालश्रमको बढ्दै

भोजपुर। सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ। पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन्।

वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल, सवारीसाधन मर्मत गर्ने ग्यारेज, कृषि तथा साना उद्योगमा श्रम गर्न विवश भेटिन्छन् ।

साल्पासिलिछो गाउँपालिकाका एक १६ वर्षीय बालक खेतबारी जोत्नेदेखि अर्मपर्म तथा ज्यालादारी काम गर्दछन् । पारिवारिक बेमेलका कारण घरखर्च धान्न बाध्य भएर अरूको खेतबारीमा काम गर्नुपरेको बालकको भनाइ छ ।

स्थानीय सामाजिक अभियन्ताहरूका अनुसार सम्बन्ध विच्छेदपछि आमाबुवामध्ये एक जना रोजगारीका लागि बाहिरिनु, अर्काले पर्याप्त आम्दानी गर्न नसक्नु तथा पारिवारिक जिम्मेवारी कमजोर हुनु बालश्रम बढ्नुका मुख्य कारण बनेका छन् । अभिभावकको निगरानी र सहाराको अभावमा बालबालिका पढाइभन्दा श्रमतर्फ उन्मुख हुने गरेको उनीहरूको भनाइ छ ।
सम्बन्ध विच्छेदपछि बालबालिकाको संरक्षण, शिक्षा र मानसिक स्वास्थ्यमा राज्य तथा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने देखिएको छ । अभियन्ता सम्झना प्रधानका अनुसार बुवा–आमाको सम्बन्ध विच्छेदपछि पर्ने मनोवैज्ञानिक असरले बालबालिकाले पढाइ छाड्ने,आफन्तकहाँ गएर बस्ने तथा विभिन्न खालका काममा संलग्न हुने गतिविधि बढ्दै गएको छ ।

पारिवारिक बेमेलले बालबालिकालाई श्रममा धकेल्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ ।बालश्रम न्यूनीकरणका लागि परिवार परामर्श सेवा, अभिभावक सचेतना, विद्यालयमा पुनः भर्ना कार्यक्रम तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

सम्बन्ध विच्छेदको सामाजिक यथार्थसँगै त्यसबाट उत्पन्न बालश्रमको समस्यालाई समयमै सम्बोधन नगरे भविष्यमा अशिक्षा, गरिबी र सामाजिक विकृतिको चक्र अझै गहिरिने सरोकारवालाहरूको चिन्ता छ ।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

‘बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ’ : विनोद चौधरी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।

बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।

चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।

गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।

यसैका लागि उनले अनलाइन लिंक (https://www.binodformp.com/suggestions) सार्वजनिक गर्दै क्षेत्रबासीलाई आफ्ना योजना र मागहरू पठाउन आग्रह गरे ।

नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् । २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन् ।

‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र खोई ? – नायिका रेखा थापा

नायिका रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि प्रश्न उठाएकी छन् । उनले दलहरूलाई लक्षित गर्दै जेन–जी पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्रबारे प्रश्न गरेकी छन् ।उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ ।

‘के तपाईंको पार्टीसँग जेन–जी को माग पूरा गर्न सक्ने घोषणा पत्र छ ?’, उनले सोधेकी छन्, ‘यो विषयमा नेताहरूलाई डिबेट गर्न बोलाए कुन कुन पार्टीको नेताले अस्वीकार गर्छन होला ?’
पछिल्ला वर्षहरूमा रोजगारी, शिक्षा, प्रविधि, सुशासन र जलवायु परिवर्तनजस्ता विषयमा जेन–जी पुस्ताको चासो बढ्दै गएको सन्दर्भमा दलहरूको तयारी कति छ भन्ने प्रश्न उठ्न थालेको छ ।

यस्तोमा यसअघि चुनावी मुद्दालाई लिएर सार्वजनिक बहसका लागि गरिएको आह्वान राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले अस्वीकार गरेका थिए । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने बहसमा सहभागी हुन तयार भएका थिए । तर रेखाले जेन–जी केन्द्रित घोषणापत्र र नीतिगत दृष्टिकोणबारे खुला डिबेटका लागि प्रमुख दलका नेताहरूलाई चुनौती दिएकी हुन् । उनले यस विषयमा बहसका लागि आमन्त्रण गरिएमा सबै सहभागी नहुन सक्ने अड्कल पनि गरिएको सन्दर्भमा बोलेकी हुन् ।

इरानको रक्षा क्षमता वार्ताको बिषय बनाउन नसकिने : विदेश मन्त्रालय

इस्तानबुल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही आफुले नचाहेको बताएपछि प्रतिक्रियामा इरानको क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको बिषय बन्न नसक्ने इरानी अधिकारीले बताएका छन् ।

ट्रम्पले हालैका प्रदर्शनमा घातक दमनको लागि हस्तक्षेप गर्ने चेतावनी दिएदेखि र मध्यपूर्वमा नौसैनिक युद्धक जहाज पठाइएको बताएपछि तेहरान र वाशिङ्गटनबीच एक आपसमा आरोप प्रत्यारोप गर्ने क्रम जारी छ ।

अमेरिकी राष्ट्रपतिले बिहीबार राति तनावलाई केही मथ्थर पार्ने प्रयासमा अमेरिका सैन्य कारवाही नचाहेको र इरानसँग वार्ता गर्ने तयारीमा रहेको बताउनुभएको थियो । उहाँले तेहरानलाई आफ्नो परमाणु कार्यक्रममा सम्झौताको लागि दबाब दिनुभएको छ। अमेरिका लगायतका पश्चिमाहरूले इरानले परमाणु बम बनाउने लक्ष्य लिएको विश्वाससहित उसलाई यो लक्ष्यतर्फ जान नदिन दवाव दिँदै आएका छन् ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले टर्की भ्रमणका क्रममा भन्नुभएको थियो, “यदि आपसी हित र सम्मानका आधारमा समान स्तरमा वार्ता भयो भने तेहरान वार्ता सुरु गर्न तयार छ।”

उहाँले थप्नुभयो, “म दृढताका साथ भन्न चाहन्छु कि इरानको रक्षात्मक र क्षेप्यास्त्र क्षमता कहिल्यै पनि वार्ताको विषय हुनेछैन।”

एक्सिओस समाचार साइटले सोमबार रिपोर्ट गरेको छ, “अमेरिकी अधिकारीहरूले तेहरानसँग कुनै पनि सम्झौतामा लामो दूरीका मिसाइलहरूको भण्डारमा सीमा समावेश गर्नुपर्ने साथै देशबाट संवर्धित युरेनियम हटाउने र स्वतन्त्र संवर्धनमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।”

अङ्कारास्थित ‘सेन्टर फर इरानी स्टडिज (आईआरएएम)’ का निर्देशक सेरहन अफाकानले एएफपीसँग भन्नुभयो, “अन्य मुद्दाहरूसँग आणविक बिषयमा अब सम्झौता गर्न प्रयास गर्नु ‘असम्भव’ हुनेछ।”

“अहिलेका लागि, ब्यालेस्टिक मिसाइल कार्यक्रम एक रातो रेखा बनेको छ, किनकि यो इरानको रक्षा योजनाको केन्द्रमा छ,” उहाँले भन्नुभयो ।

‘तनाव घटाउने’

टर्कीका विदेशमन्त्री हाकान फिदानले इरानको पारमाणविक कार्यक्रमबारे वासिङ्टनसँग वार्ता पुनः सुरु गर्नु क्षेत्रीय तनाव कम गर्न महत्वपूर्ण भएको बताउनुभएको छ।

इस्तानबुलमा अराघचीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले ‘इजरायलले अमेरिकालाई इरानमाथि आक्रमण गर्न दबाब दिइरहेको छ, र वाशिङ्गटनलाई ‘सामान्य ज्ञानका साथ काम गर्न र यस्तो हुन नदिन’ आग्रह गर्नुभयो ।

इरानले डिसेम्बरको अन्त्यमा आर्थिक गुनासोलाई लिएर सुरु भएको र जनवरी ८ र ९ मा चरम बिन्दुमा पुगेको प्रदर्शनका लागि संयुक्त राज्य अमेरिका र इजरायललाई दोषी ठहर गर्दै दुई देशले ‘आतङ्कवादी अभियान’ लाई बढावा दिएको आरोप लगाएको छ । शान्तिपूर्ण प्रदर्शन भनिएको आन्दोलन पछि हिंसात्मक हुँदा हजारौँ इरानीको ज्यान लिएको थियो ।

आन्दोलनका क्रममा भएको हताहत सङ्ख्या स्वतन्त्ररूपमा पुष्टि नभएको तर विभिन्न अधिकार समूहले आन्दोलनका क्रममा करिब पाँच हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका दावी गरेका छन् ।

सरकारले यो सङ्ख्या यो भन्दा थोरै (करिब तीन हजारको हाराहारीमा) भएको दावी गरेको छ भने अमेरिकामा रही इरानी मानवअधिकार गतिविधिको अनुगमन गर्ने संस्था एचआरएएनएले ११८ बालबालिकासहित छ हजार ४७९ जनाले आन्दोलनका क्रममा ज्यान गुमाएको बताएको छ।

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१% गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो । जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरकारी डाटा मा समावेश छ ।

सरकारका अनुसार फ्याक्ट्री र खानीहरुको उत्पादन सूचकाङ्क सन् २०२० का आधारअङ्क १०० को सापेक्ष १०१.८ मा कायम भएको छ, तर औद्योगिक वस्तु ढुवानी सूचकाङ्क भने १.७ प्रतिशतले घटेर ९८.९ भएको देखिएको छ । अर्कोतर्फ इन्वेन्टरी (भण्डार) स्तरमा १.० प्रतिशतको वृद्धि देखिएको छ ।

यद्यपि, सन् २०२५ मा जापानको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको थियो, जुन चार वर्षमा पहिलोपटक सकारात्मक वृद्धि हो । यस वृद्धि विशेष गरी इलेक्ट्रोनिक पाट्र्स र उपकरणहरूको उत्पादन बढेपछि आएको जनाइएको छ ।

उक्त आर्थिक डेटा जापानको उद्योग र व्यापार क्षेत्रको वर्तमान गतिशीलता बारे महत्त्वपूर्ण सङ्केत दिन्छ, र आगामी आर्थिक नीति तथा उत्पादन योजनाहरूको लागि आधार बन्दैछ ।

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

उहाँले सहिदका सपना कागजमा होइन, व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित राष्ट्रिय सहिद दिवस–२०८२ तथा जेनजी सुशासन योद्दा र अमर प्रहरीहरूको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा मन्त्री चौलागाईँले सहिदलाई एक दिनमात्र होइन, सधैँ स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सहिदको बलिदानले नै आजको व्यवस्था सम्भव भएको भन्दै उहाँले उनीहरूप्रतिको कदर व्यवहारमै देखिनुपर्ने धारणा राख्नुभयो । “राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्छ । कुनै भूगोल, कुनै क्षेत्र किन पछाडि परिरहेको छ भन्ने कुरा गम्भीरतापूर्वक बुझ्नुपर्छ”, उहाँले भन्नुभयो, “राज्यले आफ्ना सबै नागरिकका हकअधिकार समान रूपमा सुनिश्चित गर्नुपर्छ ।”

मन्त्री चौलागाईँले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र व्यक्ति भएको स्पष्ट पार्दै राज्यको बेवास्ताका कारण नागरिकहरू सडकमा आउन बाध्य हुने अवस्था सृजना भएको जिकिर गर्नुभयो । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेश राज्यका नीतिगत कमजोरीका कारण पछाडि परेको उहाँको भनाइ थियो ।

“म कर्णाली प्रदेशको व्यक्ति हुँ । म कुनै दलमा आबद्ध छैन, मैले कर्णालीका पीडाका विषयमा निरन्तर लेख्दै आएको छु,” उहाँले भन्नुभयो, “विगतदेखि राज्यले कर्णाली र सुदूरपश्चिमलाई किन पछाडि पार्यो ? त्यहाँका नागरिक के नेपाली होइनन् ?”

कार्यक्रममा सहभागी सहिद परिवार तथा घाइते व्यक्तिहरूले आफूहरूले राष्ट्रका लागि दिएको बलिदानको उचित कदर अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गर्नुभएको थियो । उहाँहरूले सहिद परिवार अझै पनि आर्थिक, सामाजिक र मानसिक पीडामा रहेको भन्दै राज्यले तत्काल प्रभावकारी राहत तथा पुनःस्थापनाका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

बागलुङ। बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ । जसमध्ये क्षेत्र नं. २ ले पश्चिम बागलुङलाई समेटेको छ।

भौगोलिक विषमता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ । प्रचुर सम्भावना भएर भौतिक विकासमा पछि परेको यहाँका मतदाता दुरगामी दृष्टिकोणसहित विकासको अगुवाइ गर्ने नेतृत्वको खोजीमा छन् ।

बहुदलपछिका सात वटा आम निर्वाचनमा मत दिएर जिताएका राजनीतिक दल र उम्मेदवारले अपेक्षित रुपमा काम गर्न नसक्दा यस क्षेत्र विकासमा पछाडि परेको जनगुनासो छ । यस क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बागलुङ–घोडाबाँधे सडक मार्ग खुलेको २५ वर्ष बितिसक्दा कोलोपत्र हुन नसक्नु त्यसकै एक दृष्टान्त हो । दुई दशकदेखि चर्चामा रहेको र सरकारले निर्माण घोषणा गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाले गति लिन नसकेकामा स्थानीवासी असन्तुष्ट छन् ।

ठूला र रुपान्तरणकारी योजना तत्काल कार्यान्वयनमा आउन नसके पनि जनजीविकासँग सम्बन्धित समस्या छिटो सम्बोधन हुनुपर्ने मतदाताको माग छ । निर्वाचनताका बाँडेका आश्वासन नेताहरुले पूरा गरुन् भन्ने उनीहरु चाहन्छन् । मध्यपहाडी लोकमार्गले यातायात सेवामा केही सहजता ल्याए पनि यस क्षेत्रका ग्रामीण सडक भने अझै नाजुक अवस्थामा छन् । कतिपय वडामा बाह्रैमास यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । राष्ट्रिय राजमार्गमा जोडिए पनि यस क्षेत्रमा आर्थिक गतिविधि न्यून छ ।

स्वास्थ्य र शिक्षामा पहुँचको दृष्टिले बागलुङ–२ का बासिन्दा पछाडि छन् । भौगोलिक विकटताका कारण ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिकालगायत स्थानीय तहमा स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच छैन । सबै नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवा पु¥याउन राज्यले गरेको प्रयास यस क्षेत्रमा अपर्याप्त देखिन्छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार भौगोलिक विकटता र सचेतनाको कमी आदि स्वास्थ्य क्षेत्रका चुनौती हुन् ।

मातृ तथा नवशिशु स्वास्थ्यका दृष्टिले निसीखोला र ढोरपाटन जिल्लाकै कमजोर छ । ती दुई स्थानीय तहमा घरमै हुने सूत्केरीको दर बढी छ । गत आवको आँकडा अनुसार निसीखोलाका १६ आमाले घरमै सुत्केरी गराएको जनस्वास्थ्य निरीक्षक शर्माले जानकारी दिनुभयो । बालबालिकाको विद्यालय छोड्ने दर पनि यही क्षेत्रमा बढी छ । पढाइ बीचमै छाडेर रोजगारीका लागि भारतलगायत मुलुकमा जान यहाँका युवा विवश छन् । गरिबी र विपन्नता यस क्षेत्रको अर्को समस्या हो । व्यावसायिक कृषि, पशुपालन, पर्यटन, खनिज आदिमा अथाह सम्भावना भएपनि स्थानीयवासीको जीवनयापन गुजारामुखी छ ।

उद्यम र व्यवसाय प्रवर्द्धनका गतिविधि न्यून हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या अधिक छ । अधिकांश भारत र खाडी मुलुक पुगेका छन् । अन्य विकसित मुलुकमा अध्ययन र रोजगारीका जानेको सङ्ख्या बढ्दो छ । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यही क्षेत्रमा पर्ने भए पनि पर्यटनबाट स्थानीयवासीले यथोचित लाभ पाएका छैनन् । पर्यटन पूर्वाधार र प्रचारप्रसारको अभाव छ । ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने सरकारको योजना सफल हुन सकेको छैन ।

जिल्लाको सबैभन्दा होचो भूभाग बडीगाड गाउँपालिकाको खर्बाङ बजार (छ सय मिटर) देखि सबैभन्दा अग्लो भूभाग ढोरपाटनमा पर्ने फागुने धुरी (चार हजार ६९० मिटर) यही क्षेत्रमा पर्छ । यस क्षेत्र छिमेकी जिल्ला गुल्मी, प्यूठान, रोल्पा, रुकुम पूर्व र म्याग्दीसँग जोडिएको छ । बेंसीका सम्म फाँटदेखि लेकका पाटनसम्म यहाँको भूगोल फैलिएको छ । ढोरपाटन सिकार आरक्ष, घुम्टेको लेक, गलकोट दरबार, पातीहाल्ने, तिलाचन ताल, रिघा ताल, बराह ताल, नौडल्ले पहाड, डुँडेको लेक, निलुवा, सहस्रधारा झरना, टेउवा मूर्तिकला सङ्ग्रहालय, सोलेडाँडालगायत यहाँ मुख्य पर्यटकीय क्षेत्र हुन् ।

जिल्लाको मौलिक पहिचानका रुपमा रहेका बुट्टेनली, नेपाली हाते कागज, राडीपाखी, भाँगो आदि यहीँ पाइन्छन् । कुनै ताका तामाखानी चलाएका छन्त्याल जातिको बसोबास यहाँ छ । तमानखोला गाउँपालिकामा पर्ने लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । ती ठाउँमा अहिलेपनि तामाखानीका तोबा (प्वाल), सुरुङ र अवशेष भेटिन्छन् ।

स्थानीयवासीका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द छन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । गाउँपालिका अध्यक्ष जोकलाल बुढा तामाखानी रहेको क्षेत्रको पहिचान र सूचीकृत गर्न पहल थालिएको बताउनुहुन्छ । तामाखानीको सम्भाव्यता अध्ययनपछि खोज र उत्खननका लागि पहल अगाडि बढाउने गाउँपालिकाको योजना छ ।

यस क्षेत्रमा बसोबास गर्ने जातजातिका आफ्नै मौलिक संस्कृति र रहनसहन छ । ताराखोलाको सिस्नो खोस्ने पर्वदेखि निसीखोलाको पुतली नाच, गलकोटको सती घाटुदेखि ढोरपाटनको झाँक्री नाचसम्म यहाँका सांस्कृतिक धरोहर हुन् । यस क्षेत्रमा क्षेत्री, ब्राम्हण, जनजाति, दलित आदिको मिश्रित बसाबोस छ । बागलुङ–२ मा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा समेटिएको छ ।

यस क्षेत्रमा कुल ९६ हजार ३३५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । तीमध्ये महिला मतदाता ४८ हजार २०५ र पुरुष मतदाता ४७ हजार १३० छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र ११५ वटा मतदान केन्द्र छन् । विसं २०४८ को आमनिर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका ओमप्रसाद गौचन विजयी हुनुभएको थियो ।

विसं २०५१ र २०५६ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका परी थापा, विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नीरज पुन, विसं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानकुमारी छन्त्याल विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट देवेन्द्र पौडेल र विसं २०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट पुनः पौडेल नै विजयी हुनुभएको थियो ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले) बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही उम्मेदवार रहनुभएको छ ।

जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती, मङ्गोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापामगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालबाट नरबहादुर बुुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन चुनावी मैदानमा हुनुहुन्छ ।

सैनिक मञ्चको खुला चउर व्यवस्थित गर्न कामपाको २.७ करोडको योजना

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ ।

कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो । अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समयसमयमा सार्वजनिक कार्यक्रम हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना बनाइएको हो ।

वरिष्ठ इञ्जिनियर अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिने छ । यसमाथि घाँस रोपिनेछ । चउरमा छ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी सङ्कलन पिट हुनेछ । यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा कामपाको छ ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा। सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो । गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । उनले भने, “मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन ।”

अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।

सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

जुम्ला। जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् । सदरमुकाम खलङ्गा बजारमा आज आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको थियो ।

विशेषगरी राजनीतिक दललाई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर। कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् ।

जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उहाँले कुनै पनि कार्यक्रममा सम्बोधन गर्नुभएन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् ।

चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उहाँले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै हिड्नुभयो ।

लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत हुनुभयो । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए ।

अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रबार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिनुभयो ।

“बालेन अहिले कालिकोटको मान्म पुग्नुभएको छ”, रास्वपाका समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टले भन्नुभयो, “अब चाँडै पार्टीले प्रदेश सरकारका चुनावी सभा आयोजना गर्दा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।”

नेता भट्टका अनुसार सुदूरपश्चिम भ्रमणका क्रममा वरिष्ठ नेता बालेनले पार्टीका उम्मेदवारहरूसित स्थानीयस्तरमा विद्यमान समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिने गरेका थिए । “उम्मेदवारहरूसित छोटोमा छलफल गर्नुभयो”, भट्टले भन्नुभयो, “बालेनको सुदूरपश्चिम भ्रमणले उत्साह जगाएको छ ।”

उहाँले निर्वाचन आचारसंहितालाई ख्याल गरेर सम्बोधन नगरिएको बताउनुभयो । जिल्लाहरूमा छोटो भेटघाट र यात्राका क्रममा बाटोमा भेटिएका सर्मथकहरूसित हार्दिकता साटेर उहाँ कर्णालीको यात्रामा रहेको भट्टको भनाइ छ ।

बालेनको सुदूर यात्रामा उहाँप्रतिको क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् ।

कांग्रेसमा कुनै गुट छैन, सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति – कांग्रेस सभापति थापा

धनुषा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्नुभयो ।

“कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ । सबै मिलेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ ।” मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने उहाँको भनाइ छ ।

उहाँले मधेस प्रदेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र गुटबन्दीभन्दा माथि उठेर साझा लक्ष्यका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई जनतासँग नजिक रहेर काम गर्न, विकास र सुशासनलाई प्राथमिकतामा राख्न तथा पार्टीका निर्णय र नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी सङ्गठनलाई जनताको दैनिक समस्यासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मधेसका मुद्दा समाधानका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।

बैठकमा मधेस प्रदेश कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको सहभागिता थियो ।

वीरगञ्ज भन्सार हुँदै छ महिनामा १८ अर्बका सवारीसाधन आयात

पर्सा। वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ।गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताउनुभयो । चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ ।

जबकी गत आवको सोही अवधिमा रू १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा रू १० अर्ब २१ करोड राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका ४३४ वटा जीप, कार र भ्यान आयात भएका छन् । त्यसैगरी रु चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ ।

रू एक अर्ब छ करोड मूल्य पर्ने ३८० वटा ट्रक, मिनी ट्रक आयात भएको छ । त्यसैगरी रू एक अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । रू एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।

न्यू डायमण्डले जित्यो टाइगर कपको उपाधि

कास्की। पोखरामा सञ्चालन भएको छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो ।

उपाधिसँगै न्यू डायमण्डले रु छ लाख ६६ हजार ६६६ हात पा¥यो । उपविजेता बनेको पुलिसले रु तीन लाख ६६ हजार ६६६ प्राप्त ग¥यो । महिलातर्फ थाइल्याण्ड क्विन्स तृतीय हुन सफल भयो । थाइल्याण्ड क्विन्सले रु दुई लाख छ हजार ६६६ पुरस्कार पायो ।

प्रतियोगितामा न्यू डायमण्डकी सुमित्रा रेग्मी सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु २६ हजार ६६६ प्राप्त गरिन् । उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही रु ११ हजार ६६६ प्राप्त गरे । अघिल्लो संस्करणमा महिलातर्फको उपाधि आयोजक टोली टाइगर ग्रुपले जितेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच खेल हुँदैछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ गतेदेखि जारी च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ। मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले आज प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो । मङ्गलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो ।

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने रेलिङसहितको सिँढी बाटोमा पूरै हिउँ जमेका कारण मुक्तिनाथका दर्शनार्थीहरूलाई निकै असहज पु¥याएको थियो । मुक्तिनाथ मन्दिरमा बाक्लो हिउँ जमेर बसेको र यसले दर्शनार्थीको दर्शन र स्नान गर्ने कार्यमा बाधा पुगेकाले सशस्त्र प्रहरीले मुक्तिनाथमा पुगेर हिउँ पन्छ्याइएको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर र मन्दिरसम्म जाने सिँढी बाटोमा दुई फिटसम्म हिउँ जमेर बसेकाले सशस्त्र प्रहरीको टोली खटिएर मुक्तिनाथको हिउँ सफा गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो ।

मुक्तिनाथ जाने सडक र मन्दिर परिसरमा बाक्लो हिउँ थुप्रिएर बस्दा दर्शनार्थीहरू चिप्लिएरु लड्ने र दुर्घटना हुने जोखिम रहेकोमा सशस्त्र प्रहरी टोली हिउँ पन्छ्याएपछि मुक्तिनाथ दर्शनार्थीहरूलाई निकै सहज तुल्याएको व्यवस्थापक भुसालले बताउनुभयो ।

सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने रेलिङ मार्ग, मन्दिर परिसर, स्नानकुण्ड र १०८ धारालगायत स्थानमा जमेको हिउँ पन्छ्याएको हो । यसअघि भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याइपछि शुक्रबार बिहानदेखि यातायात आवागमन सञ्चालनमा आएको छ ।

अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन कोरला सडक आयोजनाको डोजर परिचालित गरी जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरू मिलेर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

दक्षिण कोरियाको औद्योगिक उत्पादन बृद्धि ०.५ प्रतिशतमा सीमित

सोल । दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम भएको छ । तथ्याङ्क मन्त्रालयका अनुसार, पहिलो अर्धवार्षिक राजनीतिक अनिश्चितताको कारण औद्योगिक उत्पादन सूचकाङ्क केवल ०.५ प्रतिशतले मात्र बढेको हो । यो वृद्धि २०२० पछि सबैभन्दा न्यून हो ।

गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ । नयाँ सरकार गत वर्ष जूनमा आकस्मिक राष्ट्रपति निर्वाचन मार्फत पदभार ग्रहण गरेको थियो ।

निर्माण उद्योगको उत्पादन १.७ प्रतिशतले बढेको छ । तथा, सेवा क्षेत्रको उत्पादन भने १.९ प्रतिशतले बढेको छ । निर्माताहरूले सन् २०२५ मा औसत क्षमता ७२.८ प्रतिशत कायम राखेका छन्, जुन अघिल्लो वर्षको ७२.७ प्रतिशतभन्दा थोरै बढी हो ।

उक्त वृद्धि नयाँ सरकारले दोस्रो अर्धवार्षिकमा प्रदान गरेको नगद सहायता कार्यक्रमका कारण भएको बताइएको छ । डिसेम्बर सन् २०२५ मा कृषि, पशुपालन र मत्स्य पालन क्षेत्र बाहेक सबै उद्योगको उत्पादन सूचकाङ्क अघिल्लो महिनाको तुलनामा १.५ प्रतिशतले बढेको छ ।

त्यस्तै, खुद्रा बिक्री सूचकाङ्क ०.९ प्रतिशतले बढ्दा सुविधा लगानी ३.६ प्रतिशतले घटेको छ । आगामी आर्थिक अवस्था अनुमान गर्ने प्रमुख आर्थिक सूचकाङ्क ०.६ अङ्कले बढेर १०३.१ पुगेको छ भने हालको आर्थिक अवस्था मापन गर्ने समसामयिक सूचकाक ०.२ अङ्कले घटेर ९८.५ पुगेको छ ।