`

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छः राजदूत पार्क ताइयोङ

काठमाडौँ। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक उत्पादनले नेपाली बजारमा नयाँ सम्भावना बोकेको बताउनुभएको छ ।

कोरियन कच्चापदार्थ र कोरियन प्रविधिको प्रयोगबाट नेपालमै उत्पादन गरिएको कोरियन कस्मेटिक ब्रान्ड ‘ओरा’ को आज सार्वजनिक कार्यक्रममा राजदूत पार्कले कोरियन कस्मेटिक नेपालमा सफल रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच व्यापार, प्रविधि र श्रम क्षेत्रका साथै उत्पादनमूलक सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता पहलले कोरिया–नेपाल द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनके कस्मेटिकका अध्यक्ष विनोद कुँवरले ‘नेपालमै केही गरौँ’ भन्ने उद्देश्यका साथ ओरा प्रोडक्ट नेपालमा भित्र्याइएको बताउनुभयो । व्यापार मात्र नभई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो पहल गरिएको उहाँको भनाइ थियो । नेपाली बजारको आवश्यकता, उपभोक्ताको छाला र मौसमअनुकूल उत्पादन विकासमा विशेष ध्यान दिइएको अध्यक्ष कुँवरले स्पष्ट पार्नुभयो ।

एनआरएनका अध्यक्ष बद्री केसीले नेपाल र कोरियाबीचको दुई पक्षीय सहकार्यले देशलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । एनआरएनका पूर्वअध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपाली नेपालमै प्रविधि र लगानी भित्र्याउन इच्छुक रहेको उल्लेख गर्दै सरकारी प्रक्रिया अझ सहज र लगानीमैत्री हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली जीवनशैली र वातावरणलाई ध्यानमा राखी तयार पारिएको ओरा कोरियन कस्मेटिकले नेपालमा उत्पादन, रोजगारी र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः नागरिकलाई मतदाता नामावलीकै चिन्ता

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीका बारेमा जिज्ञासा राख्ने गरेका छन् ।निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा माघ १७ गतेसम्म एक हजार ६७७ जिज्ञासा तथा प्रश्न प्राप्त भएकामा मतदाता नामावलीसम्बन्धी ९०६ वटा रहेका छन् । निर्वाचन आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५७५ वटा रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हानिकारक सूचना पहिचान र कारबाही सिफारिसलाई पनि आयोगले प्राथमिकताका साथ अघि बढाएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्ण रूपमा यसमा क्रियाशील भएको छ । हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ । छ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निजी क्षेत्रका सङ्घ–संस्थासँग छलफल

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निजी क्षेत्रको भूमिका र दायित्व विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, महिला उद्यमी महासङ्घ नेपाल, होटल एसोसिएसन नेपाल, होटल तथा बार एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका प्रमुख तथा प्रतिनिधिहरूसँग यसै हप्ता छलफल गरिएको थियो ।

उक्त छलफलमा सबै संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् समावेशी बनाउनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनाका साथै आ–आफ्नो क्षेत्रले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सचेतना सामग्रीको उत्पादन एवम् प्रचारप्रसार

निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म जम्मा १५८ सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने विश्वास गरिएको छ । यसबाट मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

निर्वाचनका बारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यही माघ १५ गते आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवम् संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई जानकारी गराइएको छ । कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको थियो ।

आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रबादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन् ।

बागमती प्रदेशसभाको आठाैँ वार्षिकोत्सव कार्यक्रमलाई आज हेटौँडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले मुलुक निर्वाचनमा होमिसकेकाले यही निर्वाचनबाट गणतन्त्रवादीको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी जुट्न गणन्त्रणबादी शक्तिलाई आग्रह गरे ।

ठुलो सङ्घर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यस्थामाथि खतरा बढेकाे उल्लेख गर्दै उनले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागिपरेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा आउनु आवश्यक रहेको औँल्याए ।

विभिन्न राजनीतिक उतार चढावका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभाको रिक्त सभामुख चयन प्रक्रियालाई छिट्टै राजनीतिक सहमतिका आधारमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको महिनादिन नबित्दै मुलुकमा भएको जेनजी आन्दोलनका कारण सरकारको काम कारबाही अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिबमुखी, आयमुखी, जनमुखी काम गर्ने सङ्कल्प लिएर अघि बढे पनि जेनजी आन्दोलनका कारण सङ्कल्पअनुसार काम गर्न नसकिएको बताए ।

प्रदेशसभाबाट पारित भएका ऐन कानुनअनुसार सेवासुविधा उपलब्ध गराउन निजामती कर्मचारीले आलटाल गरिरहेको गुनासो गर्नुहुँदै उहाँले सङ्घीय सरकारले पठाएका कर्मचारीले प्रदेश सरकारलाई नटेर्ने परिपाटी देखिएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले लामो समयदेखि बागमती प्रदेशसभाको बैठक बस्न नसक्दा जनताको जनप्रतिनिधि संस्था अन्योलमा परेकाले तत्काल प्रदेशसभाको बैठक बोलाउने वातावरण सरकारले बताउनुपर्ने बताए ।

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले जनताको आवाज बोल्ने प्रदेशसभालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।

युएईले दियो २ सय ७६ नेपालीलाई आममाफी

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २७६ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार एक विज्ञप्ति निकालेर सराहना गरेको छ ।

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको जानकारी दिए ।

त्यसका लागि इमेलमा उजुरी पठाउन सकिने र त्यसरी उजुरी गर्नेको पहिचान गोप्य राखी आवश्यक कारबाही अगाडि बढाउने उनले बताए । जिल्ला आचारसंहिता अनुगमन समितिले समेत जिल्ला–जिल्लामा यस्ता अलग्गै इमेलको व्यवस्था गरेको प्रवक्ता भट्टराईले बताए ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारीअन्तर्गत गत हप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकार भएकाहरूका जिज्ञासा सम्बोधनलगायत कार्यसम्पादन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन

निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ मा भएको व्यवस्थाअनुसार निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही माघ ११ गते केन्द्रको उद्घाटन गरेका थिए।

आयोगका सचिवको संयोजकत्वमा सञ्चालन भएको सो केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागलगायतका निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको छ ।केन्द्रले निर्वाचन सम्बन्धमा जिल्ला तथा निर्वाचन क्षेत्रस्तरबाट प्राप्त सूचना विश्लेषण र समस्याहरू पहिचान गरी समाधानका लागि सहजीकरण गरिरहेको जनाइएको छ ।

तोकियो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन् ।निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेक अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न जिम्मेवारी दिइएको हो ।

यसरी जिम्मेवारी दिइएको आचारसंहिता अनुमगन अधिकृतहरूले सरोकार भएकाहरूलाई आचारसंहिताबारे जानकारी गराउने काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैगरी आचारसंहिता पालनाका लागि प्रतिबद्धता गराउने, जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र सरोकार भएकाहरूबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, आचारसंहिता पालना भए, नभएकाबारे अनुगमन गर्ने, प्राप्त उजुरी तथा सूचनाका आधारमा सम्बन्धित व्यक्ति÷संस्थालाई स्पष्टीकरण सोध्नेलगायत कार्य भइरहेका आयोगका प्रवक्ता भट्टराईले बताए ।

उम्मेदवारका लागि बैङ्क खाता

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति र राजनीतिक दलहरूलाई निर्वाचन खर्च प्रयोजनाका लागि छुट्टै बैङ्क खाता सञ्चालनको व्यवस्था गरेको छ । त्यस लागि नेपाल राष्ट्र बैङ्कलाई पत्राचार र निर्वाचन अभियान बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि तर्जुमा गरिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन अभियानका क्रममा गर्ने आम्दानी र खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्क तथा वित्तीय संस्थामा राजनीतिक दल तथा उम्मेदवारले अलग–अलग खाता खोलेर त्यसमार्फत रकम प्राप्त गर्ने र खर्च गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धमा ‘निर्वाचन अभियान बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ तयार गरी सोहीअनुसार सहजीकरणका लागि राष्ट्र बैङ्कमा पत्राचार गरिएको प्रवक्ता भट्टराईले बताए ।

केन्द्रीय आचारसंहिता अनुमगन समितिले दल तथा उम्मेदवारका क्रियाकलाप नजिकबाट हेरिरहेको जनाएको छ । प्राप्त उजुरीका आधारमा कारबाही अघि बढाइएको पनि आयोगले जनाएको छ ।

समितिमा हालसम्म प्राप्त भएका २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा १२ वटाको जवाफ प्राप्त भएको जनाइएको छ । समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनका क्रममा रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न

आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले संयुक्त राज्य अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता सम्पन्न भएको हो । यससँगै आगामी वर्ष बेलायत र वेल्समा आयोजना हुने विश्वकप खेल्ने चार टोलीको टुङ्गो लागेको छ । चार टोलीमा बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड रहेको छन् ।

आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली भने समूह चरणका चार खेलमध्ये तीनमा हार र एकमा जितको नतिजा निकाल्दै समूह ‘बी’ का पाँच देशमध्ये चौथो स्थानमा रह्यो ।

नेपालसहित १० देशका महिला टोली सहभागी प्रतियोगितामा त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा गरी २९ खेल भएका थिए । बङ्गलादेशकी कप्तान ज्योति सुल्ताना ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् भने प्रतियोगितामा स्कटल्यान्डकी ग्याबि लुइस उत्कृष्ट ब्याटर तथा अमेरिकी तारा नोरिश उत्कृष्ट बलर घोषित भइन् । प्रतियोगिताका चारवटै खेल जितेर १० अङ्क हासिल गरेको बङ्गलादेशले ट्रफी प्राप्त गरेको छ ।

सुक्खा पहिरोले टिमुरे–रसुवागढी राजमार्ग अवरुद्ध,केरुङ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिए

रसुवा। रसुवा जिल्लाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।शनिबार साँझ पहिरो जाँदा चिनियाँ सामान आयातका लागि केरुङतर्फ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिएका छन् ।

यसैगरी, कामको सिलसिलामा केरुङ गई घर फर्कन लागेका नेपाली नागरिकहरु सडक अवरुद्ध भएपछि नेपाल–चीन मितेरी पुल पारि चिनियाँ भूभागमै रोकिएका छन् ।

राजमार्ग पुनः सञ्चालन गर्न स्काभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कँुवरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करिब २९ किलोमिटर उत्तरतर्फ रहेको छ ।

प्रहरी निरीक्षक कुँवरले पहिरो ठूलो भएका कारण जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवत–जावत गराइने जानकारी दिनुभयो । सुरक्षालाई दृष्टिगत गर्दै यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

म्यान्मा जुन्ताद्वारा पूर्व कर्मचारीहरूलाई काममा फर्कन आह्वान

याङ्गुन। म्यान्माको जुन्ताले आइतबार पाँच वर्षअघि भएको कूको विरोधमा जागिर छोडेका पूर्व निजामती कर्मचारीहरूलाई काममा फर्किन आह्वान गर्दै अनुपस्थित कर्मचारीहरूलाई ‘कालोसूची’ बाट हटाउने वाचा गरेको छ ।

फेब्रुअरी १, २०२१ मा सेनाले विद्रोह गरेर सत्ता कब्जा गरेपछि चिकित्सक र सरकारी प्रशासकसमेत दशौँ हजार कर्मचारीले सविनय अवज्ञा आन्दोलनमा सामेल हुँदै आफ्नो पद छाडेका थिए । केहीले निजी रोजगारी पाएका थिए भने अरूले प्रजातन्त्र समर्थक विद्रोहीहरूसँग मिलेर गृहयुद्धमा भाग लिएका थिए । गृहयुद्धमा चारैतिरबाट धेरैको ज्यान गएको छ ।

गत हप्ता, जुन्ताले एक महिना लामो चुनाव सम्पन्न गर्‍यो, जसले यसलाई नागरिक शासनमा फर्कने दाबी गर्न अनुमति दियो । तर प्रमुख सैन्य समर्थक पार्टीले सत्तामा आफ्नो पकड मजबुत पार्न सेनाका सहयोगीहरूसँग मिलेर चुनावमा पूर्ण विजय हासिल गरेको देखिएको छ ।

जुन्ताको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले फेब्रुअरी २०२१ देखि ‘विभिन्न कारणले अनुमति बिना आफ्नो कार्यस्थल छोडेका’ निजामती कर्मचारीहरूले ‘रिपोर्ट गर्न र पूर्व विभागसँग सम्पर्क गर्न’ भनेको छ । परिषद्को विज्ञप्तिमा भनिएको छ, “प्रमाणीकरणपछि, कर्मचारीहरूले कुनै अपराध नगरेको पाइएको छ र जसले अपराध गरेका थिए तर सजाय पूरा गरिसकेका छन् वा जसको नाम अझै कालोसूचीमा छ, उनीहरू कालोसूचीबाट हटाइने छन् ।”

कामबाट अनुपस्थित कर्मचारीहरूलाई पहिले कालोसूचीमा राखिएको थियो, जसमा केहीलाई लुकेर बस्न बाध्य पारिएको थियो । सेनाले लोकतान्त्रिक नेतृ आङ सान सुकीको निर्वाचित सरकार अपदस्थ गरेपछि हजारौँ कर्मचारीहरू विरोधमा सविनय अवज्ञा आन्दोलनमा सामेल भएका थिए । जुन्ताले सूचनादाताहरूको सल्लाह र हडतालमा रहेका कर्मचारीहरूलाई पक्रन आकस्मिक छापा मार्दै प्रदर्शनकारीहरूमा दमन गरेको थियो ।

असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स मोनिटरिङका अनुसार हाल २२ हजारभन्दा बढी मानिस जेलमा छन् । सुकी सैन्य हिरासतमा हुनुहुन्छ र उहाँको लोकप्रिय पार्टी विघटन गरिएको छ । देशको ठूलो भूभाग सैन्य नियन्त्रण बाहिर रहे पनि म्यान्माको कूल भूभागको २० प्रतिशतमा मतदान नगरी आइतबार जुन्ताको चरणबद्ध चुनाव समाप्त भयो ।

सन् २०२० को अघिल्लो चुनावमा सुकीको पार्टीले ९० प्रतिशत सिट जितेको थियो, तर यस पटक मतपत्रमा उक्त पार्टीलाई नदेखिएको एसियन नेटवर्क फर फ्री इलेक्सन्सले जनाएको छ ।

सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ ।न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो ।

पूर्णपाठमा भनिएको छ, “सङ्घ, प्रदेश तथा स्थानीय तह र तीनवटै तहअन्तर्गतका निकायबाट नेपालको संविधानको धारा, ४२ को सामाजिक न्यायको हकको व्यवस्था, मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्नका लागि नियमित र निरन्तर सक्रियता र क्रियाशीलता अपनाउनू ।”

रौतहट, फतुवा विजयपुर नगरपालिकाका खजान्ती महतो नुनियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई सामाजिक न्यायको हक कार्यान्वयन गराउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा, ४२ को सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, आपाङ्ता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ भनिएको छ ।

यस्तै, आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनी व्यवस्था गरिएको छ ।

अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने र अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ ।

“प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउबिजन र कृषि प्रजातिको छनोट र संरक्षणको हक हुनेछ”, उक्त धाराको उपधारामा भनिएको छ, “नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जन आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानुनबमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ ।”

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय

काठमाडौँ, १८ माघ । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए ।

यस्तै, चीनबाट नौ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए ।दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका थिए ।

अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका थिए । मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका थिए ।

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौँ, १८ माघ । नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र वित्तीय समावेशीकरण सूचकाङ्क ०.४७ बाट बढेर ०.५३ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले यो सूचकाङ्कमा उल्लेख्य सुधार भएको देखाएको हो । “वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकाङ्कमा स्थिर र व्यापक प्रगति भएको छ”, राष्ट्र बैङ्कले भनेको छ ।

रिपोर्टअनुसार मानव विकास सूचकाङ्क जस्तै विधिबाट गणना गरिएको उक्त सूचकाङ्क ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अङ्कले उच्च वित्तीय समावेशीकरण जनाउँछ । त्यस्तै सूचकाङ्कका तीन आयामका रुपमा पहुँच, प्रयोग र गुणस्तरअन्तर्गत विभिन्न ५५ सूचकका आधारमा तयार गरिएको हो ।

प्रतिवेदनमा पहुँच सूचकाङ्क ०.५३ पुगेको उल्लेख छ, जसले देशभर वित्तीय संस्था, सेवा केन्द्र तथा डिजिटल वित्तीय सेवा माध्यमको विस्तार भएको देखाउँछ । त्यस्तै प्रयोग सूचकाङ्क ०.५४ रहेको छ । यसले बैङ्किङ, डिजिटल भुक्तानी, बिमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको संलग्नता बढेको सङ्केत गर्छ । त्यसैगरी, गुणस्तर सूचकाङ्क ०.५० मा पुगेको छ ।

“वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकाङ्कमा उल्लेखनीय प्रगति भएको हो”, केन्द्रीय बैङ्कको रिपोर्टमा भनिएको छ ।

नेपाल राष्ट्र बैङ्कले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले सकारात्मक प्रभाव परेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवद्र्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिन आवश्यक रहेको जनाएको छ ।

उज्यालो नेपाल पार्टीका रामेश्वर श्रेष्ठ चर्चामा, काठमाडौं ९ बाट मार्लान् त बाजी ?

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ९ बाट उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा सदस्यका लागि रामेश्वर श्रेष्ठलाई उम्मेदवारको रूपमा अघि सारेको छ। देशप्रेम, इमानदार राजनीति र सामाजिक रूपान्तरणलाई मूल एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएका श्रेष्ठले युवाहरू, श्रमिक वर्ग र आम नागरिकलाई परिवर्तनको यात्रामा एकजुट हुन आह्वान गरेका छन्।

कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले भने, “राजनीति पद र शक्तिका लागि होइन, देश र समाज बदल्ने माध्यम हुनुपर्छ। अब सचेत नागरिक मिलेर सुशासन, समानता र समृद्ध नेपाल निर्माणमा जुट्नुपर्छ।” उज्यालो नेपाल पार्टीले पुराना विकृति–विसंगतिविरुद्ध नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट दृष्टिकोणसहित काठमाडौं–९ मा बलियो उपस्थिति देखाउने दाबी गरेको छ।

युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित

किएभ, १८ माघ । युक्रेनमा शनिबार एक ठूलो प्रविधिगत असफलताका कारण देशभर विद्युत् आपूर्ति ठप्प भएको छ । अधिकारीहरूले उक्त घटना युक्रेनको ऊर्जा प्रणालीमा एक आपतकालीन सङ्कटको रूपमा वर्णन गरेका छन् ।

युक्रेनका ऊर्जामन्त्री डेनीस श्मिहालले टेलिग्राममा जानकारी दिँदै यो समस्या स्थानीय समय अनुसार बिहान १०ः४२ बजे सुरु भएको बताएका छन् । रोमानिया र मोल्दोभासँग जोडिएका विद्युत् लाइन र युक्रेनको पश्चिमी र केन्द्रीय भागबीचको मुख्य ट्रान्समिशन लाइनमा एकैसाथ ‘डिस्कनेक्शन’ गराएको छ । यसले युक्रेनको ग्रिडमा श्रृङ्खलाबद्ध पावर कट निम्त्यायो र सबस्टेशनहरूमा स्वचालित सुरक्षा प्रणालीहरू सक्रिय भए ।

श्मिहालले न्यूक्लियर पावर प्लान्टका केही युनिटहरू अस्थायी रूपमा अनलोड गरिएको छ र प्रभावित क्षेत्रमा आपतकालीन विद्युत् कटौती लागू गरिएको बताए । यसले उद्योग, सरकारी कार्यालय, यातायात र घरायसी विद्युत् सेवामा ठूलो असर पारेको छ ।

राजधानी किएभमा, मेट्रो सेवा कम भोल्टेजका कारण स्थगित गरिएको मेयर विटाली क्लिच्कोले जानकारी दिए । उनले सहरका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलेन्स्कीले ऊर्जा प्रणालीमा आवश्यक सबै आपतकालीन प्रतिक्रिया उपायहरू लागू गरिएको र प्रभावित क्षेत्रको विद्युत् आपूर्ति छिट्टै पुनःस्थापना गर्ने प्रयास जारी रहेको घोषणा गरे । उनले नागरिकहरूलाई संयम र धैर्य राख्न आग्रह गरे ।

विशेषज्ञहरूले यस प्रविधिगत असफलताले युक्रेनको ऊर्जा ग्रिडमा ठूलो दबाव सिर्जना गरेको छ र यसले उद्योग, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र दैनिक जीवनमा व्यापक असर पार्न सक्ने बताएका छन् । सरकारी अधिकारीहरूले प्रविधि परीक्षण, लाइन निरीक्षण र सम्भावित सुधारका लागि आपतकालीन टोलीहरू परिचालन गरेका छन् ।युक्रेनमा उक्त घटनाले ऊर्जा प्रणालीको संवेदनशीलता उजागर गरेको छ र भविष्यमा यस्ता असफलताबाट बच्न थप सुरक्षात्मक उपायहरूको आवश्यकता देखाएको छ ।

काठमाडौं–७ बाट प्रकाश श्रेष्ठको दह्रो उम्मेदवारी

काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश श्रेष्ठले इमानदार राजनीति, विकासप्रेमी सोच र कर्तव्यनिष्ठ नेतृत्वको स्पष्ट सन्देशसहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।

सादा जीवन, स्पष्ट विचार र जनताप्रतिको जिम्मेवारीलाई आफ्नो मूल पहिचान बनाउँदै आएका श्रेष्ठले काठमाडौं–७ लाई विकास र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै उनले भने,“राजनीतिमा अब भाषण होइन, कामले बोल्ने नेतृत्व आवश्यक छ। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रकाश श्रेष्ठलाई इमानदार र भरोसायोग्य नेताका रूपमा जनस्तरबाट व्यापक समर्थन मिल्दै गएको देखिन्छ।

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कनुहुन्छ ।

“गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उहाँले भन्नुभयो, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।”

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न थालेको आठ वर्ष भयो । “गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिने अवस्था छ, छोराछोरी कमाउन विदेश गएका छन्, बुढेसकालमा नातिनातिना पढाउन बजारमा बस्नुपरेको छ”, उहाँले भन्नुभयो, “गाउँमै बस्ने वातावरण भैदिए सजिलो हुन्थ्यो ।”

पोखरामा मतमाग्न पोखरा पुगेका म्याग्दीमा आसन्न चुनावका उम्मेदवारहरूसँग मतदाताले छन्त्याल र पुनले जस्तै बसाइँसराइ रोक्नका लागि गाउँमै बस्ने वातावरण बनाउने नीति र योजनाको माग गरेका छन् । पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

मतदाता खोज्दै उम्मेदवारहरू पोखरामा

विस २०७९ सम्मको निर्वाचनमा चुनाव प्रचार जिल्लाभित्र सीमित थियो । यसपालि चिसोका कारण लेकाली क्षेत्रका मतदाता पनि बजार तथा बेँसीमा झरेका, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा बजारमा अस्थायी बसोबास गर्ने मतदातालाई पनि उम्मेदवारले महत्व दिएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले शनिबार र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शुक्रबार पोखरामा पुगेर मतदातासँग भेटघाट गर्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा हुनुहुन्छ ।

एमाले र नेपाली कम्युनिष्ट पार्टीसम्बद्ध म्याग्दी–पोखरा सम्पर्क समाजले उम्मेदवारसँग पोखरामा बसोबास गर्ने म्याग्देलीहरूसँग भेटघाट कार्यक्रम आयोजना गरेका हुन् । गाउँमा मतदाता नामावली भएका तर शिक्षा, व्यापार व्यवसाय र अन्य कामको सिलसिलामा स्थायी रूपमा पोखरामा बसोबास गर्ने म्याग्देलीलाई भेटेर उनीहरूका सुझाव, अपेक्षा, गुनासा सुन्न पोखरा पुगेको एमालेका श्रेष्ठ र नेकपाका थापाले बताउनुभयो ।

बढ्दो बसाइँसराइको असर मतदाता सङ्ख्यामा

बढ्दो बसाइँसराइको असर म्याग्दीको कुल जनसङ्ख्या र मतदाता सङ्ख्यामा पनि देखिन थालेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता सङ्ख्या कायम भएको छ । बयालीस हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले अघिल्लो निर्वाचनको तुलनामा आगामी चुनावका लागि २७७ जनामात्र मतदाता थपिएका हुन् । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए । बसाइँसराइ गरेर जिल्ला तथा देशबाहिर जाने र घट्दो जन्मदरको असर मतदाता सङ्ख्यामा परेको निर्वाचन अधिकारी गौतमले बताउनुभयो । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ ।

बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आव २०८१औ८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा २४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् ।

आव २०८०÷८१ मा २५२ परिवार बसाइँसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्चीकरण शाखाको अभिलेखमा उल्लेख छ । म्याग्दी बहुमुखी क्याम्पसको समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताउनुभयो । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उहाँले भन्नुभयो, “रोजगारी र आयआर्जनको अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिसले बसाइँसराइ गर्ने क्रम बढेको हो ।”

विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरपरिवामा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो ।

उम्मेदवारका योजना

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ । स्वतन्त्र उम्मेदवार पुनलाई रास्वपाका उम्मेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा (माओवादी)ले क्षेत्रबहादुर घिमिरे (धु्रव)लाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बन्नुभएको छ ।

उम्मेदवारहरूले नीति निर्माण तहमा म्याग्दीको आवाज उठाउने, कानुनमा जिल्लावासीको भावना तथा समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषिमार्फत रोजगारी सृजना गरी बसाइँसराइको दर घटाउने तथा जलविद्युत्मा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन् ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो २५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ११० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ९० रुपैयाँ, तितो करेला प्रतिकिलो १७० रुपैयाँ, लौका प्रतिकिलो ५५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २० रुपैयाँ, सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ४५ रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो ७० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ७० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ५५ रुपैयाँ, जिरीको साग प्रतिकिलो ७० रुपैयाँ, सेलरी प्रतिकिलो १८० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो २५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३२० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, अनार प्रतिकिलो २८० रुपैयाँ, अंगुर (हरियो) प्रतिकिलो २३० रुपैयाँ, अंगुर (कालो) प्रतिकिलो ४०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो १३० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

पर्वत। लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ ।

स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डीराज पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उहाँले बताउनुभयो ।

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताउनुभयो । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।

स्वास्थ्य बिमा गरेका बिरामीहरू सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनै पर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ । अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सृजना हुन थालेको उहाँको भनाइ छ ।

डा पौडेलले भन्नुभयो, “सरकारबाट बिमाको रकम भुक्तानी नआउँदा औषधि खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।” जिल्लामा स्वास्थ्य बिमामा आवद्ध भएका झन्डै ४५ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ । एक परिवारका लागि रु तीन हजार ५०० को प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाखबराबरको बिमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेका साधारण परिवारको हकमा प्रतिसदस्य थप रु ७०० योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ ।

केही दिनअघि अस्पताल निरीक्षणमा आउनुभएकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमलाई बिमाको रकम भुक्तानी उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको थियो । सो अवसरमा मन्त्री गौतमले देशभरका अस्पतालहरू बिमाबापतको रकम भुक्तानी नपाएर समस्यामा परेको जनाउँदै सरकारले विभिन्न स्रोत खोजेर बजेट व्यवस्थापनमा लागेको जानकारी दिनुभयो ।

कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् ।

युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाएसँगै चुनावी माहोल थप उत्साहजनक बनेको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रमुख दलहरूले तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत रहेका नौ स्थानीय तहका ९२ वटै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ (२) का सभापति करनसिंह ऐरका अनुसार तीनवटै निर्वाचन क्षेत्रका वडा तहमा प्रचारप्रसार कार्यालय उद्घाटन गरी अभियान अघि बढाइएको छ । चुनावी अभियानलाई तल्लो तहसम्म व्यवस्थित बनाउन महासमिति सदस्यदेखि तरुण दल र क्रियाशील सदस्यहरूलाई परिचालन गरिएको छ ।

कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा गोपिप्रसाद उपाध्याय, निर्वाचन क्षेत्र नं २ मा पूर्वमन्त्री एनपी साउद र निर्वाचन क्षेत्र नं ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहनुभएको छ ।

नेकपाले पनि वडागत संयन्त्र र प्रचारप्रसार कार्यालय स्थापना गरी अभियानलाई तीव्र बनाएको प्रचारप्रसार उपसमितिका संयोजक महेशदत्त जोशीले जानकारी दिनुभयो । नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री बिना मगर, निर्वाचन क्षेत्र नं २ मा माधवप्रसाद पन्त र निर्वाचन क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार रहनुभएको छ ।

त्यसैगरी, नेकपा (एमाले)ले पनि वडा तहसम्म चुनावी संयन्त्र गठन विस्तार गरी प्रचारप्रसार अघि बढाएको छ । एमाले जिल्ला सदस्य जगतबहादुर सिंहका अनुसार उम्मेदवारलाई जिताउन कार्यकर्तालाई जिम्मेवारीसहित परिचालन गरिएको छ । एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा तारा लामा तामाङ, निर्वाचन क्षेत्र नं २ मा बचनबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट उम्मेदवार रहनुभएको छ ।

तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलहरू र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपाले उम्मेदवारसहितको घरदैलो अभियानलाई निरन्तरता दिँदै युवाहरूलाई सङ्गठित गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ । रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नं २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहनुभएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने वडावडामा मतदातासँग समूहगत अन्तक्र्रिया तथा छलफल गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन् ।

यसपटकको निर्वाचनमा सबै राजनीतिक दलहरूको मुख्य ध्यान युवा मतदातातर्फ केन्द्रित देखिएको छ । बेरोजगारी समस्या समाधान, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकासका एजेन्डा प्रस्तुत गर्दै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । “युवा परिवर्तन चाहन्छन्, त्यसैले हाम्रो प्राथमिकता उनीहरूको भविष्यसँग जोडिएका योजनामा केन्द्रित छ”, नेकपा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद पन्तले भन्नुभयो, “आफू पनि युवा भएकाले युवाका मागलाई शिरोधार्य गर्दै अघि बढिरहेका छौँ ।”

चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ । वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताको भनाइ छ ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार छन् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही। सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।

त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो ।

प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ । चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दूरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ ।

क्यानाडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका

ओटावा । क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगमा आएको सङ्कुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्याङ्क क्यानाडाले शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क निकाय क्यानडाका अनुसार नोभेम्बर महिनामा वस्तु उत्पादन गर्ने उद्योग ०.३ प्रतिशतले घटेका छन् । पछिल्ला चार महिनामध्ये यो तेस्रो पटक गिरावट आएको हो । यस गिरावटको मुख्य कारण उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र तथा कृषि, वन, माछापालन र सिकार सम्बन्धी क्षेत्रमा आएको सङ्कुचन रहेको छ ।

यता सेवा उत्पादन गर्ने उद्योग भने ०.१ प्रतिशतले बढेका छन् । खुद्रा व्यापार, शैक्षिक सेवा, तथा यातायात र भण्डारण क्षेत्रमा देखिएको विस्तारले सेवा क्षेत्रलाई सकारात्मक बनाएको तथ्याङ्क क्यानाडाले जनाएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार डिसेम्बर २०२५ मा वास्तविक जिडिपी ०.१ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।

यस अवधिमा उत्पादन र थोक व्यापार क्षेत्रमा वृद्धि देखिए पनि खानी, ढुङ्गा उत्खनन तथा तेल र ग्यास उत्खनन क्षेत्रमा आएको गिरावटले समग्र वृद्धिलाई आंशिक रूपमा सन्तुलनमा ल्याएको छ । डिसेम्बरको अनुमानसमेत समेट्दा, उद्योगगत वास्तविक जिडिपीको आधारमा क्यानाडाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ०.१ प्रतिशतले घटेको देखिन्छ भने समग्र सन् २०२५ मा अर्थतन्त्र १.३ प्रतिशतले वृद्धि भएको तथ्याङ्क क्यानाडाले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको थियो ।

नौ वर्षमा पाँचपटक म्याद थप्दा पनि नसकिएको सडकको ठेक्का रद्द गरेर पुनः ठेक्काका लागि अन्तिम मूल्याङ्कनमा रहेको पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीले चरम लापरवाही गरेका कारण उक्त ठेक्का २०८२ पुस १७ गते तोडेर अन्तिम मूल्याङ्कनको काम भइरहेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिए । मिश्रका अनुसार निर्माण व्यवसायीले गरेको हालसम्मको ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी र क्षति पुगेको पूर्वाधारको मूल्याङ्कन भइरहेको छ ।

“ठेक्का रद्दको लामो प्रक्रिया छ, अर्थ मन्त्रालयले स्वीकृति छिटो दिएमा एक वर्षभित्रमा नयाँ ठेकेदार आउँछ, अहिले अन्तिम मूल्याङ्कन भइरहेको र मूल्याङ्कनमा निर्माण व्यवसायीलाई दिन बाँकी बिल भए दिने र आयोजनाले लिन पर्ने भए लिने गरी टुङ्ग्याइन्छ”, मिश्रले भने “पहिलो ठेकेदारसँग हिसाब मिलान भए पनि अहिलेको मूल्यका आधारमा बाँकी कामको लागत अनुमान गरेर अर्थ मन्त्रालयमा पठाइन्छ, अर्थले स्वीकृत गरेपछि नयाँ ठेक्का खुल्छ ।”

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत-सिद्धिसाइसँग दुई वर्षमा सक्नेगरी रु ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । निर्माण व्यवसायीले १३ मध्ये छ किमी सडक कालोपत्र गरेर अलपत्र पारेपछि स्थानीयको आन्दोलनपछि ठेक्का रद्द गरिएको हो । कालोपत्र गरेको सडक पनि उप्किएर बिग्रिएको छ ।

दुई वर्षमा सक्ने ठेक्का नौ वर्षमा नसकिएपछि ठेक्काको पाँचौँपटक म्याद थप्दा पनि ८० प्रतिशत मात्र भौतिक प्रगति भएपछि म्याद थप नगरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको हो । ठेकेदारले सडक स्तरोन्नति र कालोपत्रका लागि रु ३४ करोड ३१ लाख भुक्तानी लिइसकेको छ ।

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् ।

तर झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा भने निर्वाचन नजिकिँदै गर्दा पनि अपेक्षित चुनावी गतिविधि देखिन सकेको छैन । भारतसँग सिधा जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन् ।

कचनकबल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, “समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव लडेर गएका नेताहरूको नाम त थाहा छ, तर यसपालि नयाँनयाँ को आउँदै छन् भन्ने थाहा छैन ।”

उनका अनुसार अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै स्थानीय बस्तीमा आइपुगेका छन् । “भोट माग्न त चुनाव नजिकिँदा आउलान् भन्ने आशा छ”, उनी भन्छन्, “तर अहिलेसम्म त कोही देखिएका छैनन् ।”

कचनकबल–५ कै इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजाम पनि यही गुनासो दोहोर्‍याउँछन् । उनीहरूका अनुसार राष्ट्रियस्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्षनेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुनसकेको छैन ।

स्थानीय इद्रिस मियाँ भन्छन्, “रेडियो, मोबाइल र फेसबुकबाट काठमाडौँलगायत चर्चामा रहेका निर्वाचन क्षेत्रमा नेता के गर्दै छन् भन्ने थाहा हुन्छ । तर यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन । उम्मेदवार आफैँ नआउँदा कसरी चिन्ने ?”

सीमावर्ती क्षेत्रका मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरूको बुझाइ छ । “चुनावका बेलामा मात्रै बाचा गर्छन्, भोट माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्”, जमालुद्दिन मियाँको गुनासो छ । उनका अनुसार स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, स्वच्छ खानेपानी, सिँचाइ र रोजगारीजस्ता आधारभूत समस्या वर्षौैँदेखि उस्तै छन् ।

कचनकबल गाउँपालिका झापाको दक्षिणी सीमामा पर्ने दुर्गम क्षेत्र मानिन्छ । यहाँका धेरै बस्ती भारतसँग जोडिएका छन् । सीमापारिका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले स्थानीयले नेपालतर्फ महँगो मूल्य तिर्नु परिरहेको समस्या पनि उठाएका छन् । “भारतमा राशन कार्ड, सस्तो खाद्यान्न र स्वास्थ्य सुविधा छ । नेपालमा त्यस्तो सुविधा नहुँदा यहाँका गरिब जनता झन् समस्यामा छन्”, स्थानीय सोर्जु हजाम बताउँछन् ।

यस क्षेत्रका मतदाताहरूले चुनावी उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन् । तर अहिलेसम्म उम्मेदवारहरू नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल उनीहरूमा देखिन्छ । यद्यपि, केही मतदाता भने मतदानको दिन अझै समय बाँकी रहेकाले उम्मेदवारहरू ढिलोचाँडो आइपुग्ने विश्वास व्यक्त गर्छन् । “अहिले औपचारिक प्रचार सुरु भएको छैन । समय आएपछि उम्मेदवार आउने नै छन्”, पूर्णकुमार गणेश भन्छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आगामी फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ । आयोगका अनुसार उक्त अवधिमा मात्र सभा, जुलुस, घरदैलो कार्यक्रम, पोस्टर–पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल भने उम्मेदवारहरूलाई मतदाता तथा कार्यकर्ता भेटघाट गर्न अनुमति दिइएको छ, तर त्यसका लागि पनि आचारसंहिताले के गर्न पाइने र के नपाइने स्पष्ट रूपमा तोकेको छ ।

झापाको निर्वाचन क्षेत्र नं ३ मा यसपटक १७ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट हरिबहादुर राजवंशी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट सन्तोष कटुवाल उम्मेदवार छन् ।

त्यसैगरी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मङ्गोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । साथै अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

उम्मेदवारको सङ्ख्या धेरै भए पनि सीमावर्ती कचनकबल क्षेत्रसम्म उनीहरूको प्रभावकारी पहुँच पुग्न सकेको छैन । सरकार तथा निर्वाचन आयोगको तर्फबाट मतदाता शिक्षासम्बन्धी कार्यक्रम अहिलेसम्म सुरु नहुँदा निर्वाचन प्रक्रिया र सहभागितामाथि प्रश्न उठ्न थालेको छ । स्थानीय तहमा प्रत्यक्ष संवादको अभावका कारण मतदाता र उम्मेदवारबिचको दूरी झन् बढ्ने जोखिम देखिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका सीमावर्ती बस्तीमा उम्मेदवार र राजनीतिक दलको सक्रिय उपस्थिति कति देखिन्छ, त्यसले मतदाताको धारणा र मतदान व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ

कास्की क्षेत्र नं २ : कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की। कास्की जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये कास्की क्षेत्र नं २ मा समेटिएका भूभाग कहिले कुनै क्षेत्रमा त कहिले कुनै क्षेत्रमा अदलबदल भइरहेको पाइन्छ ।

विसं २०४८ देखि २०६४ सालसम्म तीन मात्र निर्वाचन क्षेत्र रहेको कास्कीमा २०६४ सालदेखि २०७० सालसम्म चारवटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । तर २०७४ सालपछि पुनः तीनवटा निर्वाचन क्षेत्र कायम भएका छन् ।

पछिल्लो भौगोलिक संरचनाअनुसार यो क्षेत्र यसअघिको क्षेत्र नं ३ का अधिकांश वडा मिलाएर बनाइएको छ । अघिल्लो भौगोलिक विभाजनअनुसार ३ नम्बर क्षेत्रमा रहेका सात र ३ नम्बर क्षेत्रमा रहेका चारवटा वडा हाल यस क्षेत्रमा पर्दछन् ।

पोखराका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले ३ नम्बरमा रहेका थिए भने अन्य ११, १५, १६ र २० नं वडा भने २ नम्बर क्षेत्रमा पर्दथे । विसं २०६४ अघि २ नम्बर क्षेत्र आठवटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनाइएको थियो ।

विसं २०६४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे । यस निर्वाचनमा निर्वाचन क्षेत्र नं २ मा कुुल मतदाता ८४ हजार १३४ जना रहेको र मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांश विकासका दृष्टिले पछि परेको मतदाताको गुनासो छ । विकास र समृद्धिका विषय चुनावका समयमा राम्रै उठे पनि चुनाव सकिएपछि त्यसको कार्यान्वयनका विषय भने ओझेलमा परिरहेको यहाँका मतदाता बताउँछन्

यस क्षेत्रको वडा नं १६ भई जाने मध्यपहाडी लोकमार्गको विवाद लामो समयदेखि समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको स्थानीय मतदातासमेत रहनुुभएका अधिवक्ता हरिप्रसाद भट्टराईले बताउनुभयो ।

“लोकमार्गअन्तर्गत यस क्षेत्रको अर्मलाकोटदेखि जौबारीसम्मको सडकखण्डको दुुई वर्षअघि नै ट्रयाक खुल्नुुपर्ने भए पनि यस मार्गमा जग्गा पर्ने स्थानीयले अदालतमा मुद्दा दायर गरेकामा अदालतले अन्तरिम आदेश जारी गरेका कारण काम रोकिएको छ”, उहाँले भन्नुुभयो, “समस्या समाधानका लागि जग्गाधनीसँग राज्यले समन्वय गरेको दैखिँदैन, पीडितलाई उचित मुआब्जा दिएर यो समस्याको समाधान गर्नुपर्ने आवश्यकता छ ।”

वडा नं १६ को महेन्द्र गुफादेखि अर्मलाकोटसम्मको सडकलाई कालोपत्र गर्ने विषयलाई पनि यसपटकको चुनावमा उम्मेदवारसँग प्रतिबद्धता खोजिने मतदाता बताउँछन् । पोखरालाई खानेपानी पुर्याउने मुख्य स्रोत अर्मला रहे पनि यहाँका केही बस्ती खानेपानीबाटै वञ्चित बनेको अधिवक्ता भट्टराईले बताउनुभयो ।

यस क्षेत्रको समृद्धि र विकासका लागि कृषि र पर्यटन नै प्रमुख सम्भावनाको क्षेत्र भएको बताउने स्थानीय यहाँस्थित कालीलेकमा भएका जडीबुटीलाई आयआर्जनको महत्त्वपूर्ण विकल्प बनाउन सकिने बताउँछन् । कालीलेक क्षेत्रमा पाइने दुर्लभ वनस्पति लौठसल्ला आदिको भरपुुर उपयोग हुनुुपर्ने स्थानीयको तर्क छ । यहाँको चोकोडाँडालगायतको पर्यटकीय उपयोग हुनुपर्नेमा उनीहरूको जोड छ ।

कुनै बेला मूलागाउँका रूपमा परिचय बनाइसकेको अर्मलामा अहिले मूलाको उत्पादन कम हुँदै गएको बताउँदै भट्टराईले यस क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्दै स्थानीयको आजआर्जन बढाउन सकिने बताउनुुभयो । महानगरका रूपमा विभिन्न किसिमका चर्को दररेटका कर तथा तिरो तिर्ने गरे पनि महानगरको अनुभूति गर्न भने नपाइएको यहाँका मतदाताको गुुनासो छ ।

यस निर्वाचन क्षेत्रभित्र मुख्य बजार क्षेत्रमा रहेका वडा नं ४, ७, ८, ९, ११, १५, १७ का स्थानीयवासी व्यवस्थित सहरीकरणको अपेक्षामा छन् भने महानगरका वडा भएर पनि १६, २०, २१ र ३३ नं वडाभित्रका कतिपय स्थान अझै दुुर्गमजस्तै रहेको स्थानीयको दुुखेसो छ । महानगरको वडा नं ३३ स्थित सुुरौदी तथा चवादी क्षेत्रमा पोखराबाट सिधै नभई तनहुँको दुलेगौडाबाट जान सजिलो छ । सडक तथा यातायतको पहुँच अभावकै कारण यहाँका सर्वसाधारण आफ्नै जिल्लाको सदरमुकाम पोखरा जान पनि तनहुँको दुलेगौडा हुँदै जानुपर्ने बाध्यता रहेको समाजसेवी यामप्रसाद पौडेलले बताउनुभयो ।

यस क्षेत्रमा वग्ने सुरौदी खोलाको कटान नियन्त्रणका लागि पटकपटकका चुनावमा भोट माग्न आउने उम्मेदवारलाई समस्या दर्शाउने गरेका यहाँका स्थानीयले उम्मेदवार तथा पार्टीबाट चुनावका समयमा राम्रै आश्वासन पाए पनि त्यसलाई व्यवहारमा भने देख्न नपाएको सुरौदीका अगुवा किसान रमेश आचार्यको भनाइ छ । सुरौदी खोलाको जलाधार नियन्त्रण गर्दै आसपासका जग्गामा सिँचाइ उपलब्ध गराउन सकेमा यहाँको उत्पादनले समग्र पोखरालाई नै आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको स्थानीयवासी बताउँछन् । जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुङ्गा र पहरे जोड्ने झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले बर्खाका समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूको दुखेसो छ ।

यस क्षेत्रमा खोला तर्ने पुलका लागि यहाँबाट माथि वा तल पाँचसात किलोमिटर हिँड्नुपर्ने बाध्यताका कारण पनि तत्कालै झोलुङ्गे पुल अपरिहार्य देखिएको उनीहरूको तर्क छ । यस क्षेत्रको दोभानस्थित टुनीखोला र कदमबोटे–कुर्लिङ क्षेत्रमा पक्की पुल अपरिहार्य देखिएको उहाँले बताउनुभयो ।

सुरौदीको जलसम्पदाको उपयोग गर्दै जलपर्यटनको विकाससँगै यस क्षेत्रमा रहेको सुुरौदी क्षेत्रको कुर्लिङ बराह, पुँडीटारको भुलभुला बाराही, भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् ।

यहाँका हुडिकोट बरपाण्डेथुमजस्ता क्षेत्रको पर्यटकीय विकाससँगै दूधको सहरका रुपमा पहिचान बनाएको बागमारा क्षेत्रलाई कृषि पर्यटनको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने देखिन्छ । कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति गर्न नपाएको दुखेसो गर्ने यहाँका मतदाताले आसन्न निर्वाचनमा उम्मेदवारसँग यी विषयहरूमा प्रतिबद्धता खोज्ने जनाएका छन् ।

यस निर्वाचनमा यस क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएकामा १२ राजनीतिक दलका र पाँच स्वतन्त्र उम्मेदवार रहनुभएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट माधवप्रसाद बाँस्तोला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रश्मि आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङलगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँछन् ।

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की। पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेर गण्डकी च्याम्पियन बनेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि जित्न सफल भयो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । यससँगै अघिल्लो संस्करणको फाइनलमा पुलिससँग बेहोरेको हारको बदला गण्डकीले लिन सफल भयो ।

च्याम्पियन बनेको गण्डकीले ट्रफीसहित रु छ लाख ६६ हजार ६६६ पायो । उपविजेता पुलिसले रु तीन लाख ६६ हजार ६६६ मा चित्त बुझायो । यसैगरी प्रतियोगितामा तेस्रो भएको पर्वत जिल्ला भलिबल सङ्घले रु दुई लाख छ हजार ६६६ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा गण्डकीका मुस्ताफा खान सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै रु २६ हजार ६६६ पाउनुभयो ।

यसैगरी उत्कृष्ट सर्भर गण्डकीका अद्नान खान, लिविरो नेपाल पुलिसका भीमबहादुर गाहा, सेटर गण्डकीका बलराम गुरुङ, ब्लकर गण्डकीका फहद राज, स्पाइकर पर्वत भलिबल सङ्घका फकर वाट्टु, प्रशिक्षक गण्डकीका रमेश केसी घोषित हुनुभयो । उहाँहरुले जनही रु ११ हजार १११ पाउनुभयो ।

विजेता टोली तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा लगायतले पुरस्कार वितरण गर्नुभयो ।

यसअघि शुक्रबार सम्पन्न महिलातर्फको फाइनल खेलमा उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्यान्ड क्विन्स तेस्रो बने ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।

दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी। धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ ।

इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो । स्वस्थानी व्रतको समयमा दुई पटक दन्तकाली मन्दिरमा पूजा गर्न आउने गरेकी उहाँको भनाइ छ ।

दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुँने विश्वास रहीआएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्दछ ।

दन्तकाली मन्दिर पुगेपछि वरपरका अन्य मन्दिरको पनि दर्शन गर्न पाइने भएकाले श्रद्धालुको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । स्वस्थानी सुरु भएपछि बिहानैदेखि पूजा गर्न आउने भक्तजनको सङ्ख्या बढेको पुजारी खनालले भन्नुभयो । धरान उपमहानगरपािलका–१५ की गोमा भट्टराईले फुर्सद हुँनासाथ दन्तकाली मन्दिर पुग्ने गरेको बताउनुभयो ।

विराटनगरबाट दन्तकाली मन्दिरमा पूजा गर्न आउनुभएका सुरेश खत्री र उहाँकी श्रीमती सुनिताले पनि स्वस्थानी व्रतको अवसरमा मन्दिरमा दर्शन गर्न आएको जानकारी दिनुभयो । स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि महादेव शोकाकुल भई सतीदेवीको शव काँधमा बोकेर भौँतारिँदा शरीरका अङ्ग जहाँ–जहाँ पतन भए, त्यहाँ शक्तिपीठ स्थापना भएको विश्वास छ । यही क्रममा विजयपुर पर्वतखण्डमा सतीदेवीको दाँत पतन भएकाले उक्त स्थान दन्तकालीका नामले प्रसिद्ध भएको व्रतकथामा उल्लेख छ ।

पौराणिक कथामा उल्लेखित शक्तिपीठ भएकाले दन्तकाली मन्दिरको धार्मिक महत्व विशेष रहेको स्थानीय बूढापाकाको भनाइ छ । यस मन्दिरप्रति आस्था राख्ने नेपाल र भारतलगायत टाढाटाढाबाट श्रद्धालु दर्शनका लागि आउने गरेका छन् । सामान्य दिनमा दैनिक सयौँ दर्शनार्थी मन्दिर आउने गरेका छन् भने शनिबार र मङ्गलबार पाँच सयभन्दा बढी भक्तजन यहाँ आउने गरेको पुजारी खनालले बताउनुभयो ।

दन्तकाली मन्दिरमा हरेक वर्ष असोज, माघ, चैत र असारमा चारवटा नवरात्रमा विधिवत् पूजाअर्चना गरिन्छ । विशेषगरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि अष्टमी, नवमी र दशमीसम्म भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यस समयमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, रोगव्याधि नास हुने र दुःख हट्ने जनविश्वास रहिआएको छ ।

दन्तकाली मन्दिरको स्थापना कहिले भयो भन्ने एकिन नभए पनि स्वस्थानी व्रतकथा र पुराणमा उल्लेख भएकाले यसलाई अत्यन्तै पुरानो पौराणिक तथा धार्मिकस्थलका रूपमा लिइन्छ । दन्तकाली मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । हालका मूलपुजारी विश्वराज खनाल आठौँ पुस्ताका पुजारी हुनुहुन्छ । मन्दिरसँग सम्बन्धित १८६८ सालमा राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त ताम्रपत्र र लालमोहर पनि सुरक्षित छन् ।

धरान भ्रमणमा आउने पर्यटकले प्रायः धरानको मुख्य बजार भानुचोकबाट उकालो लागेपछि दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिरको दर्शनसँगै विजयपुर डाँडाको अवलोकन गर्ने गरेका छन् । दर्जनौँ मठमन्दिर रहेको विजयपुर डाँडा धार्मिक तथा ऐतिहासिकस्थलका रूपमा परिचित छ । विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिर प्रशस्त छन् । यसलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझ बढ्ने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।

इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरूले पनि दन्तकालीलाई शक्तिपीठका रूपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ ।

पुराना स्थानीय बासिन्दाको भनाइअनुसार २०३५ सालभन्दा पहिला दन्तकाली मन्दिर अहिले जस्तो थिएन । पछि मात्र अहिलेको मन्दिर निर्माण भएको हो । हालको मन्दिरको छानामाथि धातुको गजुरसमेत राखिएको छ ।

आजको मौसम : उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र अन्य भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छभने अन्य भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

देशका तराई भागमा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन यस महाशाखाले अनुरोध गरेको छ ।

भौतिक पूर्वाधारसँगै रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता: विष्णु पौडेल

रुपन्देही । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगारी प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताउनु भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले रुपन्देहीमा निर्माणाधीन तथा प्रस्तावित ठूला पूर्वाधार योजनाहरू सम्पन्न गर्दै औद्योगिक विकास र बहुराष्ट्रिय कम्पनीहरूलाई लगानीका लागि आकर्षित गरिने बताउनु भयो । उहाँले यसमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गरिने बताउनु भयो ।

एमालेको बुटवल–११ देवीनगर तथा बुटवल–१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले रुपन्देहीमा भौतिक संरचनाको विकास उल्लेखनीय रूपमा अघि बढिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘रुपन्देही भौतिक विकासको चरण पार गर्दै सम्पन्नताको दिशातर्फ उन्मुख हुँदैछ । अब यहाँका नागरिकको जीवनस्तर उकास्ने, रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने योजनामा मेरो ध्यान केन्द्रित हुनेछ। ’

पौडेलले जेनजी आन्दोलनको मुख्य माग रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम अघि बढाइने बताउनु भयो ।

उहाले बुटवलमा निर्माणाधीन १२ तले लुम्बिनी प्रादेशिक अस्पताल सम्पन्न गर्ने, बुटवल–पोखरा सडकलाई दुई घण्टामै यात्रा गर्न मिल्ने गरी विस्तार गर्ने, बुटवल–गोरुसिंगे र बुटवल–नारायणगढ सडक विस्तार सम्पन्न गर्ने, तिनाउ पुलमा सिग्नेचर ब्रिज निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने तथा मेडिकल कलेज स्थापना जस्ता परियोजनाहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र सञ्चालन तथा औद्योगिक क्षेत्र विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले बताउनु भयो ।

आफूले विगतमा गरेका विकासका कामबारे मतदाताहरू जानकार रहेको उल्लेख गर्दै पौडेलले आगामी निर्वाचनमा पनि जनताको समर्थन प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आज राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुने छ ।

उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताउनुभयो । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनुहुनेछ ।

नेपाल–जापान सम्बन्ध

नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।

ऐतिहासिक सम्बन्ध

जापानी बौद्ध भिक्षु, रेभ एकाई कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आउनुभएको इतिहास छ । उहाँले जापानमा नेपालको परिचय गराउनुभएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्त्व उजागर गर्नुभएको इतिहासकारहरू बताउँछन् ।

नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ ।

भ्रमण आदानप्रदान

नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न योगदान पु¥याएको छ । पछिल्लो समय एकअर्का देशहरूमा उच्चस्तरस्तरीय भ्रमणहरू आदानप्रदान भइरहेका छन् ।

जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गर्नुभएको थियो । यस्तै, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता सङ्गठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गर्नुभएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गर्नुभएको थियो ।

यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गर्नुभएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।

विकास सहयोग

जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगका रूपमा सहयोग गर्र्दै आएको छ । साथै नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गर्दै आएको छ । जापानीले नेपाललाई गर्ने आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृतिलगायत रहेका छन् ।

जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा, दूरसञ्चारलगायत क्षेत्रहरूमा आधारभूत पूर्वाधारको सुधारलाई महत्व दिँदै आएको छ । सिन्धुली सडकको निर्माण जापानी विकास सहयोगअन्तर्गत प्रमुख परियोजनाहरूमध्ये एक हो । जापानले नेपाललाई कुलेखानी (१ र २) जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जस्ता परियोजनाहरूमा ऋण सहयोग प्रदान गरेको छ ।

यस्तै, पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनाहरूमा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजनाहरू रहेका छन् ।

सन् १९५४ मा जापान कोलम्बो योजनामा सामेल भएदेखि नै जापान सरकारले नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम प्रदान गर्दै आएको छ । जापानले जापन अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) स्वयंसेवक कार्यक्रमअन्तर्गत नेपाललाई जापान ओभरसिज कोअपरेसन भोल्युन्टियर्स र वरिष्ठ स्वयंसेवकहरू पनि प्रदान गर्दै आएको छ । यो कार्यक्रम सन् १९७० मा सुरु भएको थियो ।

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा। रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ ।

बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।

पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो ।

यस्तो अवस्थामा यात्रु दहभित्र खस्न सक्ने भएकाले बरफमाथि नहिँड्न र सुरक्षित दूरी कायम गर्न सबैमा आग्रह गर्दै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले कुण्डमाथि हिँडेर धार्मिक कार्यमा खलल नपार्न पनि सबैमा अनुरोध गर्नुभयो ।

हाल गोसाइँकुण्ड क्षेत्रमा चिसो बढिरहेको र पर्यटकको चहलपहल पनि रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा गाउँपालिकाले निगरानी बढाएको जनाएको छ ।

तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना, निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । साथै मौसमको प्रतिकूलता हेरी हिउँ परिरहने क्षेत्र चिप्लोबाटो भएकाले साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि सुरक्षा निकायले अनुरोध गरेको छ ।

‘इरानले कहिल्यै पनि आणविक हतियारको मोह गरेको छैन’

तेहरान। इरानले मध्यपूर्वमा शान्ति र स्थिरताको रक्षा गरिरहेको इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले बताउनुभएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र विदेशमन्त्री हाकान फिदानसँग शनिबार भेटवार्ताका क्रममा उहाँले इरानले कहिल्यै आणविक हतियारको मोह नगरेको तर देशको सार्वभौमसत्ताको रक्षा गर्दै जनताको वैध हितहरू पूरा गर्ने निष्पक्ष र न्यायसङ्गत परमाणु सम्झौतालाई अँगाल्न तयार रहेको बताउनुभयो ।

भेटपछि एक्समा एक पोस्ट गर्दै उहाँले भन्नुभयो, “राष्ट्रपति एर्दोगान र विदेशमन्त्री एफएम फिदानसँग इरान–टर्की द्विपक्षीय सम्बन्ध र साझा चासोका क्षेत्रीय मुद्दाहरूमा संलग्न हुन पाउँदा सधैँ खुसी छु।”

उहाँले भन्नुभयो, “मैले हाम्रो कुराकानीमा दोहोर्याएको छु, इरानले कहिल्यै पनि आणविक हतियारको खोजी गरेको छैन । इरानी जनताको वैध हितहरू पूरा गर्ने निष्पक्ष र न्यायसंगत परमाणु सम्झौतालाई अँगाल्न इरान तयार छ ।”

इरानी विदेशमन्त्री अराघचीले भन्नुभयो, “इरानसँगको यस पहिलेको परमाणु सम्झौतामा ‘आणविक हतियार विकास नगर्ने’ सुनिश्चित गर्ने र प्रतिबन्धहरू हटाउने सर्तहरू समावेश छन् । अन्य भ्रातृ छिमेकीहरूसँगै टर्कीले यस क्षेत्रमा शान्ति र स्थिरताको खोजीमा आफ्नो राम्रो पदहरू विस्तार गरेको छ।”

उहाँले थप्नुभयो, “इस्लामिक गणतन्त्र इरान यस्तो प्रयासका लागि आभारी छ र उनीहरूको स्वागत गर्दछ । इरान हाम्रो क्षेत्रमा शान्ति र स्थिरताको रक्षा गर्न र गैरकानुनी आक्रमणबाट जोगाउन क्षेत्रीय राष्ट्रहरूसँग संलग्न हुन सधैँ तयार छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानविरुद्ध सैन्य कारबाही गर्न अस्वीकार गरेपछि इरान अमेरिकासँग ‘निष्पक्ष र न्यायोचित’ वार्ताका लागि तयार रहेको अल जजिराले जनाएको छ ।

शुक्रबार टर्कीको भ्रमणमा रहेका अराघचीले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, “इरानलाई वार्तामा कुनै समस्या छैन, तर खतराको छायामा वार्ता हुन सक्दैन ।”

टर्कीका आफ्ना समकक्षी हाकान फिदानसँगै आयोजित पत्रकार सम्मेलनमा अराघचीले भन्नुभयो, “मैले स्पष्ट रूपमा भन्नैछु कि इरानको रक्षात्मक र क्षेप्यास्त्र क्षमता र इरानको क्षेप्यास्त्र कुनै पनि वार्ताको विषय बन्ने छैन ।”

“इरानी जनताको सुरक्षा अरुको विषय होइन, हामी देशको रक्षाका लागि आवश्यक पर्ने कुनै पनि हदसम्म हाम्रो रक्षात्मक क्षमतालाई संरक्षण र विस्तार गर्नेछौं,” अल जजिराले उहाँलाई उद्धृत गर्दै लेखेको छ ।

सरकार विरोधी प्रदर्शनमाथि हालै भएको कारबाही र इरानको आणविक कार्यक्रमलाई समाप्त पार्ने अमेरिकी ट्रम्प प्रशासनको दबाबबीच राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी बारम्बार दिएपछि तेहरान र वासिङ्टनबीच हप्तौँदेखि तनाव बढ्दै गएको छ।

युक्रेनमा ‘प्राविधिक खराबी’ बाट विद्युत सेवामा व्यापक अवरुद्धता, चिसोले जनजीवन प्रभावित

किएभ। मोल्डोभा, रोमानिया र युक्रेनबीचको युक्रेनी विद्युत नेटवर्कमा शनिबार ‘प्राविधिक खराबी’ को कारण सेवा अवरूद्ध भएको युक्रेनका ऊर्जा मन्त्री डेनिस स्मिगलले जानकारी गराउनु भएको छ।

विद्युत लाइनमा देखिएको प्राविधिक समस्याका कारण राजधानी किएभमा पानीको आपूर्ति नै बन्द हुन पुगेको छ भने शहरको मेट्रो नेटवर्क पूर्ण रूपमा बन्द भएको र हजारौँ यात्रीहरू अलपत्र परेका छन् ।

“शनिबार बिहान १०ः४२ बजे देखि सुरू भएको प्राविधिक खराबीका कारण रोमानिया र मोल्डोभाको विद्युतीय नेटवर्क र पश्चिमी र मध्य युक्रेनको बीचको ७५० किलोभोल्ट लाइनको बीचमा ४०० किलोभोल्ट लाइन एकैपटक अवरूद्ध भएको थियो,” मन्त्री स्मिगलले टेलिग्राममा उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभयो, “अबको केही घण्टाभित्रै विद्युत् सुचारु हुनेछ ।” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘आपतकाल’ भन्नुभएको छ र पुनस्र्थापनाको काम भइरहेको बताउनुभएको छ।

उनले टेलिग्राममा जारी सन्देशमा लेख्नुभएको छ, “यो काम भनेको चाँडै स्थितिलाई स्थिर बनाउनु हो।” यसले तीव्र रूसी बमबारीका कारण पहिले नै कमजोर अवस्थामा रहेको युक्रेनको ऊर्जा सञ्जालमा थप दबाब दिएको छ।

रूसले आफ्नो लगभग चार वर्षको आक्रमणको अवधिमा युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गरेको छ तर किएभले यो बर्षको शिशिर याम अहिलेसम्मकै सबैभन्दा कठिन भएको छ । रूसी आक्रमणले बिजुली कटौती हुँदा पछिल्ला चार बर्षमा खासगरी चिसो याममा शून्यभन्दा कम तापक्रममा लाखौँ व्यक्ति चिसाले कठ्याङ्ग्रिनु परेको छ।

बिजुली कटौतीका कारण शनिबार किएभको मेट्रो प्रणालीले पूर्ण रूपमा सेवा स्थगित गरेको छ। गत वर्ष प्रकाशित तथ्याङ्क अनुसार लगभग आठ लाख यात्रुहरूले दैनिक मेट्रो यातायात सेवा प्रयोग गर्छन्।

किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा गरेको एक पोस्टमा भन्नुभएको छ, “विद्युत सेवा पुनः सञ्चालनमा आएसँगै मेट्रो प्रणाली सञ्चालन हुनेछ।”

राष्ट्रपति पौडेल भोलि जापानको औपचारिक भ्रमणमा जादै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुने छ ।

उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताउनुभयो । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनुहुनेछ ।

नेपाल–जापान सम्बन्ध

नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।

ऐतिहासिक सम्बन्ध

जापानी बौद्ध भिक्षु, रेभ एकाई कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आउनुभएको इतिहास छ । उहाँले जापानमा नेपालको परिचय गराउनुभएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्त्व उजागर गर्नुभएको इतिहासकारहरू बताउँछन् ।

नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ ।

भ्रमण आदानप्रदान

नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न योगदान पु¥याएको छ । पछिल्लो समय एकअर्का देशहरूमा उच्चस्तरस्तरीय भ्रमणहरू आदानप्रदान भइरहेका छन् ।

जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गर्नुभएको थियो । यस्तै, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता सङ्गठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गर्नुभएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गर्नुभएको थियो ।

यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गर्नुभएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।

विकास सहयोग

जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगका रूपमा सहयोग गर्र्दै आएको छ । साथै नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गर्दै आएको छ । जापानीले नेपाललाई गर्ने आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृतिलगायत रहेका छन् ।

जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा, दूरसञ्चारलगायत क्षेत्रहरूमा आधारभूत पूर्वाधारको सुधारलाई महत्व दिँदै आएको छ । सिन्धुली सडकको निर्माण जापानी विकास सहयोगअन्तर्गत प्रमुख परियोजनाहरूमध्ये एक हो । जापानले नेपाललाई कुलेखानी (१ र २) जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जस्ता परियोजनाहरूमा ऋण सहयोग प्रदान गरेको छ ।

यस्तै, पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनाहरूमा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजनाहरू रहेका छन् ।

सन् १९५४ मा जापान कोलम्बो योजनामा सामेल भएदेखि नै जापान सरकारले नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम प्रदान गर्दै आएको छ । जापानले जापन अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) स्वयंसेवक कार्यक्रमअन्तर्गत नेपाललाई जापान ओभरसिज कोअपरेसन भोल्युन्टियर्स र वरिष्ठ स्वयंसेवकहरू पनि प्रदान गर्दै आएको छ । यो कार्यक्रम सन् १९७० मा सुरु भएको थियो ।

७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सर्वेक्षण गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले आइतबारदेखि सर्वेक्षण सुरु गर्ने भएको छ । सत्तरी वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत कामपाले उनीहरूको स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरु गर्न लागेको हो ।

कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको जानकारी दिइन्। सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीसँग छलफल गर्दै उनले अपेक्षित नतिजा सङ्कलन प्रभावकारी रूपमा गर्न अनुरोध गरिन्।

कामपाले सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण तालिम दिनुका साथै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन र आवश्यक उपकरण प्रदान गरिसकेको छ । सेवासँगै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुँदै आएको छ भने दीर्घरोग नियन्त्रण गर्ने प्रयास गरिँदै आइएको स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् ।

एमालेको ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेवार बनाएकाले मतदातासँग उनलाई मत दिन आग्रह गरे ।

उम्मेदवार थापाले ओखलढुङ्गाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्ने भन्दै सकारात्मक काम गरेर असल छोरी र असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गरिन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुङ्गामा ठूलो उत्साह आएको धारणा राखे ।

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन। गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।

आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।

मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो ।

आज मन्त्री थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमसहितको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षणका क्रममा अस्पतालको स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिइएको हो । मन्त्री थापाले अस्पतालको नयाँ भवन निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उहाँले शय्या थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा यसले सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिका प्रमुख एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशन र प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिँदै आएको सेवासुविधा र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।

सन् १९९९ मा ‘किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्र’का रूपमा स्थापना भई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार १४ सेप्टेम्बर २००९ मा ५० शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरी नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो ।

अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झन्डै रु एक अर्ब २५ करोड) को अनुदान सहयोगमा अस्पतालको १०१ शय्याको नयाँ भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

यस्तै, नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशनले जानकारी दिनुभयो ।

‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’ – प्रवक्ता चालिसे

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राख्नुभयो ।

“देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ ।

नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ । मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान दिएर आफ्नो र देशको भविष्य बनाउने भरोसायोग्य नेता चयन गर्नुपर्ने छ । यसपटक त्यसमा सबै सचेत बनौँ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले आफ्नो पार्टीले जनअपेक्षाअनुसार घोषणापत्र तयार गरिरहेको जानकारी दिँदै त्यसमा सबैले अपनत्व महसुस हुने गरी दृष्टिकोण अगाडि सारिने बताउनुभयो । “हामी सबैको अपनत्व र सहभागिताको अनुभूति हुनेगरी छोटो र दीर्घकालीन दृष्टिकोण समेटिएको घोषणापत्र तयार गर्छौं, त्यसको तयारी हुँदैछ । केही दिनमा सार्वजनिक गरेर जनताका माझ पु¥याउँछौँ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले संयमित, व्यवस्थित र संस्कारयुक्त निर्वाचन प्रचार–प्रसारका लागि आग्रह गर्दै आचारसंहिताअनुसार मात्र प्रचारप्रसारमा पार्टीको झन्डा प्रयोग गर्न आग्रह गर्नुभयो ।

“आचारसंहिता उल्लङ्घन नहोस् भन्नेमा हामी सचेत छौँ । केन्द्रीय निर्वाचन परिचालन समितिले सबैलाई घर फर्किएर कांग्रेसलाई विजयी गराउन आग्रह गरेको छ, त्यसअनुसार सबै केन्द्रीय सदस्यलाई क्षेत्रमा खटाएइको छ । आआफ्नो क्षेत्रमा मर्यादित भएर पार्टीप्रति विश्वास जगाउने गरी खट्न, आचारसंहिताको पालना गर्न सचेत छौँ”, उहाँले भन्नुभयो ।