`

बङ्गलादेशको दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार

Nepal One HD १८ साउन २०८३ २२:०७
विश्व

काठमाडाैँ । बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको ज्यान लिएको छ। यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले सोमबार चेतावनी दिएका छन्।

स्वास्थ्य विभागको तथ्याङ्कअनुसार मार्च १५ देखि अगस्टको सुरूसम्म कम्तीमा दादुरा प्रभावित ८४४ बालबालिकाको मृत्यु भएको छ भने एक लाख १२ हजारभन्दा बढी मानिसले यस रोकथाम योग्य रोगका लागि अस्पतालमा उपचार गराएका छन्।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासङ्घ (आइएफआरसी) र बङ्गलादेश रेडक्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित १० मध्ये ९ परिवारले चिकित्सा खर्च धान्न ऋण लिन बाध्य भएका थिए।

ढाकास्थित आइएफआरसी प्रमुख अल्बर्टो बोकानेग्राले भने, “यो दादुरा स्वास्थ्य सङ्कटको असर अस्पतालको ढोकामा मात्र सीमित रहँदैन, किनकि परिवारहरू प्रायः गम्भीर आर्थिक कठिनाइको सामना गर्छन्।”

उनले अगाडि भने, “सार्वजनिक स्वास्थ्यको आपतकालीन अवस्थामा मानवीय सहायता र बलियो सामाजिक सुरक्षा प्रणाली दुवै आवश्यक छन्।” समूहहरूले १२ वटा सरकारी स्वास्थ्य सुविधामा आफ्ना बच्चाको उपचार गराएका दुई हजार ७४६ परिवारको मूल्याङ्कन गरेका थिए।

अस्पतालको उपचार निःशुल्क भए पनि सम्बन्धित खर्च चाँडै बढ्न सक्छ। सर्वेक्षण गरिएका परिवारमध्ये ३५ प्रतिशतलाई औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने २२ प्रतिशतलाई खाना उपलब्ध गराइएको थियो।

धेरै प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ। उनीहरू विभिन्नकामबाट मासिक ४८ देखि १६० डलर कमाउँछन्। मूल्याङ्कनअनुसार प्रकोपबाट प्रभावित परिवारहरूले उपचार र सम्बन्धित खर्चमा औसत १३० डलरभन्दा बढी खर्च भएको थियो।

मूल्याङ्कनका लागि सर्वेक्षण गरिएकी एक महिला हजेरा खातुनले भने, “सरकारी अस्पतालको उपचार निःशुल्क छ, तर अन्य खर्च कभर हुँदैन।” उहाँले ढाकाको अस्पताल पुग्न एम्बुलेन्स भाडामा लिँदा करिब २०० डलर खर्च गरेको बताए।

धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नुपरेका कारण जागिर गुमाएको पनि रिपोर्ट गरेका छन्। बङ्गलादेश रेडक्रिसेन्ट सोसाइटीका महासचिव कबीर एम.अशरफ आलमले भने, “मूल्याङ्कनले धेरै परिवारले स्वास्थ्य सङ्कट मात्र होइन, गम्भीर आर्थिक दबाब पनि भोगिरहेका देखाउँछ ।”

दादुरा अत्यन्त सङ्क्रामक रोग हो, जुन खोकी र हाच्छ्युँ मार्फत फैलिन्छ र एकपटक लागेपछि यसको कुनै विशेष उपचार छैन। जटिलतामा मस्तिष्क सुन्निने र गम्भीर सास फेर्ने समस्या समावेश हुन सक्छ । यो रोग जोसुकैलाई लाग्न सक्छ तर बालबालिकामा सबैभन्दा बढी देखिन्छ।

सन् २०२४ को सरकारविरोधी विद्रोहको अराजकताका क्रममा र त्यसपछि खोप अभियानमा आएको कमीले ठुलो सङ्ख्यामा बालबालिकालाई असुरक्षित बनाएको छ। कूल १७ करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रले अहिले भने प्रकोप नियन्त्रण गर्न व्यापक खोप अभियान सुरु गरेको छ ।

तर बालबालिका अझै सङ्क्रमित हुँदै र यस रोगबाट मर्दै छन्। आइतबार मात्र चार बालबालिकाको दादुराको सङ्क्रमणका कारण मृत्यु भएको आशङ्का गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *