`

मौसम : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली

काठमाडौं ।  आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

राती तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

जाँचबुझ आयोगमा बयान दिन जाँदै पूर्व गृहमन्त्री रमेश लेखक

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन् ।

पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

टक्सार (भोजपुर) –  पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६, अरुण गाउँपालिका– १२ हजार छ सय ४३, आमचोक गाउँपालिका– १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७ मतदाता कायम छन् ।

यस्तै रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताउनुभयो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचन : रौतहटमा एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपुर(रौतहट) – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।

विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकोमा यसवर्ष १८ वटा थपिएर पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।

यसैगरी विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७६ वटा मतदानस्थल कायम रहेकोमा यसवर्ष एउटा स्थल थपेर दुई सय ७७ वटास्थल कायम गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको हो ।े जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेका छन् । मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालय प्रमुख दासले जानकारी दिनुभएको छ ।

विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ जना मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् यसमा एक सय ५७ वटा वडा रहेका छन् ।

विसं २०७९ को निर्वाचनमा क्षेत्र नंं १ बाट तत्कालीन नेकपा एसको तर्फबाट माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ मतदातामध्ये दुई लाख ८२ हजार चार सय ३० मतदाताले मतदान गरेका थिए ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३० पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ – नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ ।

विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग÷फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ ।आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

यसैगरी ढुवानी रु १० हजार, गोष्ठी अन्तरक्रियाका लागि रु एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च रु १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालन रु ३० हजार र विविध शीर्षकमा रु ३० हजार खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।

विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादी एकैदिन पक्राउ

दमौली (तनहुँ) – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरूमा ऋषिङ गाउँपालिका–१ का सुमन सारु (आपराधिक उपद्रव मुद्दा), व्यास नगरपालिका–१३ की सावित्री पाण्डे (चेक अनादर मुद्दा), भिमाद नगरपालिका–३ का सन्तबहादुर नेपाली, खगिसरा विके र अन्जु नेपाली (अवैध वन्यजन्तु रतुवा मृग चोरी शिकार मुद्दा), घिरिङ गाउँपालिका–२ का तिलबहादुर श्रेष्ठ (चेक अनादर मुद्दा) तथा व्यास नगरपालिका–३ का ३४ वर्षीय जोशनाबानु राना (बैङ्किङ कसुर मुद्दा) रहेका छन् । सबै जनालाई आजै अदालत उपस्थिति गराइएकामा तोकिएको जरिवाना तिरेर छुटेको उहाँले बताउनुभयो ।

यस्तै, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय तनहुँ तोडफोड गरी फरार भएका कैदीमध्ये शुक्लागण्डकी नगरपालिका–१० स्थायी ठेगाना भई हाल भिमाद गाउँपालिका–९ मा बस्दै आएका २७ वर्षीय प्रकाश विकेलाई पनि पक्राउ गरी आज कारागार चलान गरिएको छ ।

उपेन्द्र यादवको जसपा र महन्थ ठाकुरको लोसपाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

आज यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो । देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा, नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरियो ।”

सन् २०२५ मा बङ्गलादेशमा एक लाख जना डेङ्गुबाट सङ्क्रमित, ४१२ जनाको मृत्यु

बङ्गलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या नोभेम्बर सङ्क्रमित भएको सङ्ख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो ।

महानिर्देशनालयका अनुसार डेङ्गुका सङ्क्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको थियो ।

बङ्गलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए भने ५७५ जनाको मृत्यु भएको थियो । बङ्गलादेशले सन् २०२३ मा डेङ्गुसँग सम्बन्धित एक हजार ७०५ जनाको मृत्यु भएको रेकर्डमा छ । यो बितेका तीन बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो ।

सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा लाग्ने रोग, डेङ्गु ज्वरो अहिले सामान्यतया जुन–सेप्टेम्बर अवधिभन्दा बढी समयसम्म फैलिरहेको पाइन्छ ।

डेङ्गु रोग एडिस एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान, अत्यधिक मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता र डाबर आउनेजस्ता लक्षणहरू निम्त्याउँछ।

डेङ्गुको बढ्दो सङ्ख्यासँग लड्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।

नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

मलङ्गवा (सर्लाही) – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो । जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत वैशाख २२ गते पत्राचार गरेपछि सर्लाही जिल्ला अदालत मलङ्गवाले मङ्सिर ५ गते वडाध्यक्ष मिक्रानीलाई पक्राउ गर्न अनुमति दिएको थियो । सोहीअनुसार खोजतलासका क्रममा आज मलङ्गवा–२ बाट उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

वडाध्यक्षलाई पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया जारी रहेकाले नागरिकता लिएका भारतीय नागरिकको पहिचान प्रहरीले खुलाएको छैन ।

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्द सूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताउनुभयो ।

निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ । “अध्यक्ष ओलीले आज पेस गर्नुभएको बन्द सूचीबारे छलफल गरी पारित गरिएको छ । अध्यक्ष ओलीले आवश्यक ठानेमा बन्द सूचीलाई सच्चाएर आयोगमा पठाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताउनुभयो । उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले पार्टीको जनवर्गीय सङ्गठन नेशनल भोलिन्टियर्स फोर्स प्रत्येक बुथमा राख्नुपर्नेमा जोड दिनुभयो । पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

अधिकांश जर्मन नागरिक प्रमुख पेन्सन सुधारको पक्षमा : सर्वेक्षण

जर्मनहरूको बलियो बहुमतले देशको वैधानिक पेन्सन प्रणालीमा आधारभूत सुधार आवश्यक रहेको विश्वास गर्ने आइतबार सार्वजनिक गरिएको एक जनमत सर्वेक्षणले देखाएको छ । यस्तो सुधार प्रदान गर्न वर्तमान सत्तारुढ गठबन्धनमा कम विश्वास रहेको रिपोर्टमा उल्लेख छ।

‘फङ्की’ मिडिया समूहका लागि सिभी इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार ८२ प्रतिशत उत्तरदाताहरूले व्यापक पेन्सन सुधार आवश्यक रहेको बताएका छन् भने केवल नौ प्रतिशत असहमत र अन्य नौ प्रतिशत अनिर्णीत रहेको पाइएको छ ।

सुधारको लागि व्यापक सार्वजनिक समर्थनको बाबजुद सर्वेक्षण गरिएकाहरू मध्ये केवल २० प्रतिशतले उनीहरू ठूला परिवर्तनहरू लागू गर्न कन्जरभेटिभ सीडीयू÷सीएसयू समूह र डेमोक्रेटिक पार्टीको गठबन्धन सरकारमा विश्वास गरेका पाइएको छ भने ६९ प्रतिशतले यो सरकारले ठूला परिवर्तनहरू गर्न नेतृत्व गर्न सफल हुनेमा आशङ्का व्यक्त गरेका पाइएको छ । सहभागी ११ प्रतिशतसँग स्पष्ट धारणा नै नभएको सर्वेक्षणले देखाएको छ।

सेवा निवृत्तहरूको सङ्ख्या बढ्दै गएको र योगदानकर्ताहरूको सङ्ख्या घट्दै गएको अवस्थामा जर्मनीको पेन्सन प्रणाली बढ्दो समस्याको रूपमा देखिइरहेको छ।

यी चिन्ताहरू प्रतिबिम्बित गर्दै ६० प्रतिशत उत्तरदाताहरूले सेवानिवृत्ति योग्यतालाई निश्चित सेवानिवृत्ति उमेर कायम राख्नुको सट्टा योगदान वर्षको सङ्ख्यासँग जोड्न सुझाव दिएका छन् ।

योगदानकर्ताको आधार विस्तार गर्ने पक्षमा जर्मन नागरिकको राय अझ बलियो रहेको छ। सर्वेक्षणले ८१ प्रतिशत निजामती कर्मचारी, स्व–रोजगार कामदार र संसदका सदस्यले वैधानिक पेन्सन प्रणालीमा भुक्तान गर्न आवश्यक भएको कुरालाई उजागर गरेको छ।

१८ वर्ष र सोभन्दा माथिका लगभग पाँच हजार उत्तरदाताहरूलाई सोधेर तयार गरेको अनलाइन सर्वेक्षण डिसेम्बर १६ देखि २२ को बीचमा गरिएको थियो ।

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

नारायणगढ (चितवन) – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।

कसरा पर्यटन व्यवसायी सङ्घकी लक्ष्मीकलीले प्रतियोगितामा कुल १२ अङ्क (गोल) प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगिताका क्रममा उनले सात ‘पेनाल्टी’ जोगाउन सफल भएकी थिइन् ।

महोत्सवअन्तर्गत हात्ती पेनाल्टी प्रतियोगिताका संयोजक विनोद तिम्सिनाका अनुसार क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनकी बसन्तीकली (बी) दोस्रो भएकी छन् । उनले १० अङ्क प्राप्त गरिन् भने छ पेनाल्टी जोगाउन सफल भइन् ।

यसैगरी सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरकी मारुतीकली नौ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । उनी ११ पेनाल्टी जोगाउन सफल भइन् । छवटा हात्ती सहभागी प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडकी चम्पाकली छ अङ्कसहित चौथो स्थानमा रहिन् । उनले तीन पेनाल्टी जोगाइन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहाकी बसन्तीकली (ए) पाँचौँ स्थानमा रहिन् । उनले पाँच अङ्क प्राप्त गर्दै तीन पेनाल्टी जोगाइन् । निकुञ्ज सफारी प्रालिकी पूजाकली दुई अङ्कसहित छैटौँ स्थानमा रहिन् । उनले एक पेनाल्टी जोगाउन सफल भइन् ।

प्रतियोगिताको सदस्यहरूमा अवित गुरुङ र रोमन महतो रहनुभएको थियो भने रेफ्रीको भूमिकामा भीष्म चौधरी र सान्ते चौधरी रहनुभएको थियो । महोत्सवका तीनै दिन हात्ती पेनाल्टी खेल आयोजना गरिएको थियो । तीन दिनको कुल अङ्कका आधारमा आज अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहा तथा चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती महोत्सव आयोजना हुँदै आएको छ । सौराहास्थित बाघमारा चौरमा आयोजित तीनदिने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेका थिए ।

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो ।

उहाँले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गर्नुभयो । “आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अनुरोध छ”, प्रवक्ता डा बुढाथोकीले भन्नुभयो ।

मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि अनुरोध गरेको छ ।

म्यान्मामा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

म्यान्माले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार (डिसेम्बर २८ मा) सम्पन्न भएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखि मतदान सुरु भएको र दिउँसो ४ बजेसम्म मतदान भएको याङ्गुनको क्याउकटाडा शहरको एक मतदान केन्द्रका एक निर्वाचन अधिकारीले बताउनुभयो ।

मतदान बन्द भएपछि मतदान केन्द्रमा निर्वाचन कर्मचारी, घरेलु र अन्तर्राष्ट्रिय मिडिया, उम्मेदवारहरू र पर्यवेक्षकहरूको उपस्थितिमा, पिथु ह्लुट्टाव (तल्लो सदन), अम्योथा ह्लुट्टाव (माथिल्लो सदन), र राज्य र क्षेत्र ह्लुट्टाव (राज्य र क्षेत्रीय संसद्हरू) का लागि तीन चरणमा मतदान हुनेछ ।

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना दलका अनुसार पहिलो चरणको निर्वाचनको अनुगमन तथा निरीक्षणका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण टोलीका १३९ सदस्य तथा कूटनीतिक समुदायका प्रतिनिधि सहभागी थिए ।

म्यान्माको आम निर्वाचन तीन चरणमा हुँदैछ । दोस्रो र तेस्रो चरण क्रमशः जनवरी ११ र जनवरी २५, २०२६ मा निर्धारित गरिएको छ ।यस चुनावले राष्ट्रव्यापी ६९२ निर्वाचन क्षेत्रमा उल्लिखित तीन संसदहरूको सिटको लागि प्रतिस्पर्धामा उत्रिएका ५७ राजनीतिक दलका लगभग पाँच हजार उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछ ।

निर्वाचन आयोगका अनुसार मुलुकभर निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २१ हजार ५१७ मतदान केन्द्र तोकिएको छ ।मतदानका सबै चरण सकिएपछि अन्तिम निर्वाचन परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।म्यान्मामा पछिल्लो पटक सन् २०२० को नोभेम्बरमा आम निर्वाचन भएको थियो ।

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ ।

रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित सम्मान गरिएको हो । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको थियो । ट्रफी प्रदर्शनस्थलमा रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीले पञ्चेबाजासहित रेसुङ्गाको यज्ञशाला परिसर क्षेत्रमा बाजागाजासहित विजेता टोलीलाई स्वागत गर्नुभएको थियो ।

ट्रफीसहित गुल्मी आइपुगेको लुम्बिनी लायन्स टोलीमा गुल्मीका खेलाडी तिलकराज भण्डारीको उपस्थिति रहेको थियो । उक्त ट्रफी प्रदर्शन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले नगर स्थापना दिवसका अवसरमा खेलाडी भण्डारीलाई रु २५ हजार नगदसहित सम्मान गर्ने घोषणा गर्नुभयो ।

सो अवसरमा खेलाडी भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्ने अवसर पाउनु आफँैमा गर्वको विषय भएको बताउनुभयो । रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले पछिल्लो समयमा नागरिकमा खेलप्रति आकर्षण बढ्दै गएको भन्दै खेलाडीको मेहनतमा ऊर्जा भर्न खेलकुद क्षेत्रको विकासमा कुनै कन्जुस्याइ गर्न नहुने बताउनुभयो । ट्रफी बोकेर गुल्मी आइपुगेको लुम्बिनी लायन्सको टोली रेसुङ्गाको यज्ञशाला, सदरमुकाम तम्घासहुँदै छत्रकोट र रुरुक्षेत्रमा ट्रफी प्रदर्शन गरी पाल्पा फर्किसकेको छ ।

अब साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छौँः मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ ।

प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आज आयोजित साक्षर लुम्बिनी प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दिगो रूपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताउनुभयो ।

“घोषणा आफैँमा ठूलो कुरा होइन । साक्षरतालाई टिकाइ राख्नु मुख्य विषय हो । अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “यससँगै प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने अभियान सशक्त रूपमा अघि बढाउन आवश्यक छ ।”

मुख्यमन्त्री आचार्यले नवयुवा दुव्र्यसनमा फस्नु चिन्ताको विषय भएको उल्लेख गर्दै अब दुव्र्यसनमुक्त प्रदेश बनाउने विषय सबैको साझा सङ्कल्प हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र कानुन निर्माणमा जोड दिँदै आएको उहाँले स्पष्ट पार्नुभयो । प्रदेशमा साक्षरताको मापदण्ड पूरा भई १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

लुम्बिनी प्रदेशमा पाँच हजार ७२२ सामुदायिक बाल विकास केन्द्र, चार हजार ४३९ सामुदायिक विद्यालय, तीन विश्वविद्यालय, १८७ क्याम्पस र तीन सय २९ सामुदायिक सिकाइ केन्द्र रहेका छन् । प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २७२ विद्यार्थी अध्ययनरत छन् ।

प्रदेश सभामुख तुलाराम घर्तिमगरले सामाजिक न्यायसँग जोडिएका ऐन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशमा भाषा ऐन आवश्यक रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यताको संरक्षण पहिचानका लागि अपरिहार्य भएको धारणा राख्नुभयो । भौतिक संरचनामा मात्र होइन, अब बौद्धिक क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले अझै विद्यालय बाहिर रहेका ४२ हजार विद्यार्थीलाई विद्यालय शिक्षामा ल्याउन सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साक्षरतालाई आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै साक्षरता अभियानलाई अझ फराकिलो ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा डा विनोदप्रसाद ढकाल, बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्य, प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईं, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल, बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारु, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, पूर्वप्राध्यापक प्रेम शाह, विद्यार्थी सृष्टिका भट्टराई र ओजस्वी आचार्यले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्वपूर्ण छ – मन्त्री घिसिङ

कास्की – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताउनुभएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

“पोखराको विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुनु आवश्यक छ । एयर कनेन्टिभिटीलाई सरकारले प्राथमिकता दिएको छ । यो जियोपोलिटिक्स कुरासमेत हो । अब आउने सरकारले यस विषयलाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ । पर्यटकीय सहरमा एयरपोर्ट सञ्चालन गर्दा यहाँको पर्यटनलाई ठूलो मद्दत पुग्छ”, मन्त्री घिसिङले भन्नुभयो ।

पोखरादेखि मुस्ताङस्थित चीनको कोरला नाकासम्म सडक सुधार र कालोपत्र गर्ने काम भइरहेकाले आगामी दिनमा यहाँको पर्यटन विकास तथा चीनसँगको व्यापारमा योगदान पुग्ने उहाँले बताउनुभयो । मुस्ताङबाट कोरलासम्म ५० किमी सडक कालोपत्र गर्न अर्थमन्त्रालयसँगको सहमतिमा टेण्डर प्रक्रिया अघि बढाइएको मन्त्री घिसिङले जानकारी दिनुभयो ।

मन्त्री घिसिङले पोखराका कुँडहरदेखि लेकसाइडसम्मको सडकको विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पोल र तार हटाएर सुन्दर पोखरा अभियान बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो । पर्यटनको हव पोखरामा पर्यटकीय पूर्वाधारका लागि धेरै काम गर्नुपर्ने भए पनि सङ्घीय सरकारले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र मनाङका पर्यटकीयस्थलसम्म ग्रिड कनेक्टिभिटीका क्षेत्रमा काम गरेको मन्त्री घिसिङको भनाइ थियो । फेवाताल, रुपाताल र बेगनास तालको संरक्षण तथा सम्वर्द्धनका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन विकासका लागि प्रदेश सरकारले घरवास कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण र गन्तव्यहरुको प्रवर्द्धन गर्न काम गरिरहेको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित बनाउनका लागि पहल गर्न मन्त्री घिसिङसँग आग्रह गर्नुभयो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ फेवाताल किनार लेकसाइडको खहरेदेखि अम्बोटसम्मको साढे तीन किमी क्षेत्रमा यही पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवबाट गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विषम परिस्थिति र सङ्कटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

हरेक सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव फलदायी हुने आयोजकको विश्वास छ । महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारको प्रदर्शनलगायत रहेका महोत्सवका संयोजक वसन्त गौतमले बताउनुभयो ।

राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौँ – राजधानीमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्लबले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोतिगाको क्वाटरफाइनमा स्थान बनाएको हो ।

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल ग¥यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

यसैगरी आजै भएको महिलातर्फको दुई खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले सुदूरपश्चिममाथि २५–६, २५–११ र २५–१२ अङ्कको जित निकाल्यो ।

त्यस्तै विभागीय टोली आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मी २५–१६, २५–१२ र २५–९ अङ्कका साथ विजयी भएको हो ।

सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’

काठमाडौँ – सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ । अदालतको निर्णयसँगै अब यही पुस मसान्तसम्म चालु मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापासहित १९ जनाको बृहत् पूर्ण इजलासले आज सो अनुमति दिएको हो ।

सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि आज प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको इजलास नै गठन गरेर यसअघि एक महिना (मङ्सिर मसान्तसम्म) समय दिएको समय बढाएर ६० दिन अर्थात् पुस मसान्तसम्म गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मङ्सिर मसान्तसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने निर्णय भएकामा अब पुस मसान्तसम्म म्याद थाम्न सकिने भएको छ । यसअघि, मङ्सिर १ देखि ३० गतेसम्म एक महिना हदम्याद, म्याद र तारेख थाम्न सकिने व्यवस्था गरिएको थियो । आदेशको लिखित सोमबार आउनेछ ।

गत भदौ २४ गते अदालतमा आगजनी भएर नष्ट भएका मुद्दाको कागजात सङ्कलन गर्नेे समय थप गरी ६० दिन हुनेछ । आगजनी र तोडफोडमा सर्वोच्च अदालतका सबैजसो कागजात जलेर नष्ट भएका थिए । अदालतले मुद्दाका पक्ष एवं सरोकारवालालाई सम्बन्धित मुद्दाको कागजात जुटाउन सहयोगका लागि आह्वान गरेको थियो ।

जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु हो, निर्वाचन होइन – अध्यक्ष लिङ्देन

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताउनुभएको छ ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सक्रिय रुपमा सहभागिता जनाउने बताउनुभयो । उहाँले हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी राप्रपा भएकाले यस सम्बन्धमा इमान्दार एवं सक्रिय रुपमा पार्टीको ‘एजेन्डा’ जनतालाई बुझाउन कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु हो, निर्वाचन होइन ।” अध्यक्ष लिङ्देनले जेनजी पुस्तासहित मुलुकमा विद्यमान सबै शक्तिबीच गोलमेच सम्मेलन गरी निर्वाचन अगाडि देखिएका माग समाधान गर्न आग्रह गर्नुभयो ।

अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष गोपाल कट्वाल, महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, रामकुमार सुब्बालगायतले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन जनताको घरदैलोमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो । जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर, आगो ताप्न दाउराको समस्या

सुदूरपश्चिम, १३ पुसः केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली र कञ्चनपुरमा घाम झुल्किन पाएको छैन ।

चिसोका कारण जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्न दाउराको समस्या भएको छ । चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा धनगढी बजारका कतिपय चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । शीतलहरले मजदुर, विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पुगेको छ ।

कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार शीतलहरसँगै धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ । चिसो बढ्दै जाँदा आज धनगढीको अधिकतम तापक्रम १३ दशमलव तीन डिग्री सेल्सियस र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा पुगेको छ ।

उहाँले भन्नुभयो “अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडो बढेको हो, अझै केही दिन शीतलहर कायम रहने पूर्वाअनुमान छ ।”

बर्सेनि तराईका जिल्लामा देखिने शीतलहरको समस्याले जनजीवन नराम्रोसँग प्रभावित हुने गरेको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानले बताएका छन् । डढुवा रोगको सङ्क्रमणबाट बालीलाई जोगाउन किसानले ढुसी नाशक विषादी छर्किन थालेका छन् । यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किन सकेमा बाली जोगाउन सकिने धनगढी–१३ का किसान रामदिन राना बताउनुहुन्छ ।

निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुनगई आलु, गोलभेँडा लगायतको बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा

काठमाडौँ, १३ पुसः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आगामी मे २७ मा हुने भएको छ ।

हिमाल संरक्षण र नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील एभरेष्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सम्मेलन मे २७ मा गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एलायन्सका अध्यक्ष सुदर्शन नेपालले अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रोपटक एउटै मञ्चमा ल्याउन समिट आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा प्रचार गर्न र हिमाल संरक्षण गर्नका लागि गत वर्षदेखि उक्त सम्मेलन सुरु गरेका हौँ । आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिने निर्णय भएको छ । जसअनुसार समिटमा भाग लिन इच्छुक स्वदेशी तथा विदेशी आरोहीका लागि दर्ता खुला गरेका छौँ”, उहाँले भन्नुभयो ।

सोही संस्थाका प्रमुख सल्लाहकार एवम् नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागार्इंले नेपालमा रहेका सेता हिमालको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने सन्देश प्रवाह गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । हिमालयको दिगो भविष्यका लागि उक्त समिट महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उहाँको भनाइ थियो ।

संस्थाका रणनीतिक प्रमुख श्रद्धा क्षेत्रीले सरकार र विभिन्न पर्यटन सङ्घसंस्थाको सहकार्यमा दोस्रोपटक ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

एकदिने अन्तरराष्ट्रिय सम्मेलनमा हिमनदी पग्लिने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धिलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

हालसम्म विश्वभरका सात हजारभन्दा बढीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

मन्त्री खरेलद्वारा पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गर्नुभएको छ ।आज बिहान पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद््घाटनपश्चात् उहाँले नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एनसेल डाटा सेन्टरको निरीक्षण गर्नुभयो ।

टेलिकम कार्यालयमा निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मालगायतले मन्त्री खरेललाई स्वागत गर्नुभएको थियो । उहाँहरूले कार्यालयबाट भइरहेका सेवा प्रवाहबारे जानकारी गराउनुभयो ।

त्यस अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समयसापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्या समाधानाका लागि नीतिगत रूपमा गर्नुपर्ने विषयलाई अघि बढाउनेमा आफू तयार रहेको बताउनुभयो । उहाँले देश निर्वाचनमा अघि बढिसकेको उल्लेख गर्दै देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजान निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

एनसेल डाटा सेन्टरको अवलोकनका क्रममा मन्त्री खरेललाई उक्त सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले विविध विषयमा जानकारी गराउनुुभयो ।मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज शर्मासहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी लिनुभएको थियो ।उहाँले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न विकायका प्रमुख तथा प्रतिनिधिसँग पनि भेटघाट गर्नुभएको छ ।

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकको बन्द सूची पेस गर्ने कार्यक्रम सुरु

काठमाडौँ, १३ पुसः प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले आजै सूची पेस गरेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसोसम्म तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेस गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेस गरिएको हो । यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले आज दिउँसोसम्म बन्द सूची पेस गरेका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

उहाँले राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताउनुभयो । त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

यसअघि एक सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिक दलले मात्र सोमबारसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउने छन् ।

साना दलले आज समानुपातिकतर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन् । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेको छ । यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । ती मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्न पाउँछन् ।

पदावधि छँदै उपसभामुख इन्दिराको राजीनामा

काठमाडौँ, १३ पुसः पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेका पनि आज उहाँले स्वेच्छाले राजीनामा दिनुभएको हो ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आज र सोमबारका लागि समय निर्धारण गरेको छ । विगतको अभ्याससमेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गर्नुभएको जनाइएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार गत निर्वाचनका समयमा सभामुख रहनुभएका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिनुभएको थियो । सोही अभ्यासअनुसार वर्तमान सभामुखले काम गर्नसक्ने उहाँले बताउनुभयो ।

नेपालको संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।”

चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

गाईघाट (उदयपुर) – शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताउनुभयो ।जोगीदह हाडखोलाका कृष्णदेव चौधरी भन्नुहुन्छ, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका छैनन्, घरमै घुर तापेर बस्नु परेको छ ।”

उहाँका अनुसार चिसो बढेका कारण आफूहरू पनि खेतबारी, वनजङ्गल घाँसदाउरा गर्नसमेत नसकिएको कारण गाईवस्तुलाई घाँस समस्या परेको छ । चिसोको कारण विद्यालय जाने साना नानीहरू विद्यालय जान नसकेका मोथ्याईका रामकृष्ण राजधामीले बताउनुभयो ।

सत्यदेवी मावि भुल्केका शिक्षिका सम्झना आचार्यका अनुसार चिसो बढेसँगै विद्यालयमा कक्षा ५ भन्दामुनिका नानीहरूको उपस्थिति न्यून हुँदै गएको छ । यस्तै चिसोको कारण साना कक्षा १ २, ३ मा अध्ययनरत बालबालिका विद्यालय उपस्थित हुन छाडेका कारण साना कक्षामा विद्यार्थी उपस्थिति हुन छाडेको जनता आधारभूत विद्यालय असारीका शिक्षक कृष्ण दनुवारले बताउनुभयो ।

चिसोको कारण मानिसको आवत जावतमा कमी भएको छभने जङ्गल घाँसदाउरा जाने कार्य पनि प्रभावित भएको छ । घामसमेत देख्न नपाइएको त्रियुगा नगरपालिका–२ खैजनपुरका स्थानीय रमेश कार्कीले गुनासो गर्नुभयो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ ।बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।

आजको बैठकमा मुख्य गरी निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले आज र भोलिभित्र बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकेकाले कांग्रेसले आफ्नो सूचीलाई अन्तिम रूप दिन आजको बैठक आयोजना गरेको हो ।

सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

नारायणगढ (चितवन) – चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ ।

महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका छन् । साथै स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सवस्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो । महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो । “खेल पूर्ण रूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए”, उहाँले भन्नुभयो ।

संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आज हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा मानी पूजा गर्न लागिएको बताउनुभयो । साथै आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ”, उहाँले भन्नुभयो ।

हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उहाँले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गर्नुभयो । “हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ”, उहाँले स्पष्ट पार्नुभयो ।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको छ । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् । आयोजक संस्थाले हरेक वर्ष यही समयमा महोत्सव आयोजना गर्दै आएको छ ।

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले भन्न्नुभयो“ मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सृजना गर्नु आजको आवश्यकता छ ।”
लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले महोत्सवले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सञ्चार क्षेत्रबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुनसक्ने जनाउँदै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उहाँको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

दुवै देशको सहअस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको सम्भावना रहेको छ भन्नुभयो । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुङ्गा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा महोत्सवका बहसले नयाँ दिशा दिने बताउनुभयो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता आयोजित महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको सहभागिता छ ।

एमालेको सचिवालय बैठक आज बस्दै, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याउने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागिएको हो ।

बैठकको मुख्य उद्देश्य आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने रहेको जनाइएको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्रै राजनीतिक दलहरूले ११० जना उम्मेदवारहरूको बन्द सूची बुझाइसक्नुपर्ने भएकाले बैठकबाट यसलाई टुङ्गो लगाउन लागेको हो र यस्तै बैठकमा समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन पनि टुंगाउन लागिएको बताइएको छ ।

नयाँ शैलीमा मानव बेचबिखन : सीमानाका जोखिममा

कञ्चनपुर – भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ ।

मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ । संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

“पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन् ।”

उहाँका अनुसार बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार (रोकथाम) गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला छन् । उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन् ।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुरका एक सय, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना छन् ।

पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ । सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावादलगायत सहरबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको हो । यसै अवधिमा माइती नेपालमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन् । तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ । खोजतलासका लागि निवेदन परेकामध्ये सुदूरपश्चिम प्रदेशकै नागरिकको सङ्ख्या १६३ रहेको छ ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरेको छ । यस क्रममा ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ । साथै २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छभने २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको माइती नेपालका संयोजक भट्टले बताउनुभयो । प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चारवटा र मानव बेचबिखनसम्बन्धी एकवटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन् ।

खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको संयोजक भट्टको भनाइ छ ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४५ रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ७५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १४० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ६० रुपैयाँ, तितो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर(तराई) प्रतिकिलो १००, घिरौला प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५५ रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६५ रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ९० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १४० रुपैयाँ, जिरीको साग प्रतिकिलो १२० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो ६० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले भोलि अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने र त्यसको एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गर्ने इजरायली अधिकारीले एएफपीलाई बताएका छन्।

ट्रम्पलाई भेट्ने गरी प्रधानमन्त्री नेतन्याहूको यो पाँचौ पटक अमेरिका भ्रमण हो ।यस पहिले ट्रम्प प्रशासन र क्षेत्रीय मध्यस्थकर्ताहरूले गाजा पट्टीमा इजरायल र हमासबीच युद्धविरामको दोस्रो चरणमा अगाडि बढ्न दबाब दिइरहेका बेला उहाँको भ्रमण भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरको मध्यतिर पत्रकारहरुसँग कुरा गर्दै नेतन्याहु क्रिसमसको बिदामा फ्लोरिडा जाने सम्भावना रहेको बताउनुभएको थियो ।

“उहाँ मलाई भेट्न चाहनुहुन्छ । हामीले यसलाई औपचारिक रूपमा सेट गरेका छैनौँ, तर उहाँ मलाई भेट्न चाहनुहुन्छ,” ट्रम्पले आफ्नो मार–ए–लागो रिसोर्टमा जानुअघि भन्नुभयो ।

इजरायलको येदिओथ अहरोनोथ पत्रिकाले बुधबार रिपोर्ट गरेअनुसार इरान, इजरायल–सिरिया सुरक्षा सम्झौतामा वार्ता, लेबनानमा हेजबुल्लाहसँग युद्धविराम र गाजा सम्झौताको अर्को चरणसहित क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।

वाशिङ्गटन र उसका क्षेत्रीय सहयोगीहरूको मध्यस्थतामा अक्टोबरमा भएको गाजा युद्धविराम सम्झौताको दोस्रो चरणमा जाने प्रगति अहिलेसम्म सुस्त छ।

युद्धविराम पनि निकै कमजोर देखिएको छ । दुबै पक्षले सम्झौता उल्लङ्घनको आरोप लगाएका छन् र मध्यस्थकर्ताहरूले इजरायल र हमास समान रूपमा रोकिएका भनेर डराइरहेका छन् ।

दोस्रो चरणअन्तर्गत, इजरायलले गाजामा आफ्नो नियन्त्रणबाट पछि हट्नुपर्छ र हमासको सट्टा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल (आईएसएफ) तैनाथ गरिनेछ र यसले अन्तरिम प्रशासनलाई सम्हाल्नेछ ।

यसमा प्यालेस्टिनी इस्लामिक आन्दोलन हमासलाई हतियार बिसाउन लगाउन सकिने प्रावधान पनि समावेश छ ।शुक्रबार अमेरिकी अनलाइन पत्रिका एक्सियोसले ट्रम्प र नेतान्याहूबीचको बैठक सम्झौताको अर्को चरणलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भएको बताएको थियो ।

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले गाजा र आईएसएफलाई हेर्ने प्यालेस्टिनी प्राविधिक विज्ञको सरकारको घोषणा गर्न चाहेको बताएका छन् ।

नेतन्याहूले कमजोर युद्धविरामलाई थप कमजोर पार्न र शान्ति प्रक्रियालाई रोक्न कदम चालेपछि ट्रम्पका वरिष्ठ अधिकारीहरू निराश भएका बताइएको छ ।

येदिओथ अहरोनोथले भन्नुभयो, “इरानले आफ्नो परमाणु कार्यक्रम पुनर्निर्माण गर्ने सम्भावना र ब्यालिस्टिक मिसाइल क्षमताहरू नेतान्याहूको लागि सत्तामा रहिरहन अर्को शीर्ष बिषय हुनसक्छ ।”

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ – अध्यक्ष यादव

मोरङ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् । पार्टीको १ नं प्रदेश समितिद्वारा हिजो विराटनगरमा आयोजित जनसभामा निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे।

अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे । उनले सबै राजनीतिक दल सुशासन कायम गर्नेरगराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले गत भदौ २३ गतेको भएको जेनजी प्रदर्शन युवाको आवाज भएकाले मुुलुकमा राजनीतिक स्थिरताका लागि सोहीअनुसार संविधान संशोधन गर्नुपर्ने सुझाव दिनुभयो । युवाको माग सम्बोधन गर्न सबै राजनीतिक दल सकारात्मक हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दाबी गरे ।

विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइनेछ – पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आयोजित कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए । उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेकाले लोकतान्त्रिक दलहरूले निर्वाचनको विकल्प खोज्न नहुनेमा जोड दिए ।

कम्युनिष्ट सिद्धान्तको मूलधार नेकपा भएकाले अहिले नवयुवाको आकर्षणको केन्द्र आफ्नो पार्टी बनेको र देशभरिबाट युवा पार्टी निर्माणमा जुट्ने क्रम जारी रहेको बताउँदै सहसंयोजक नेपालले विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने प्रष्ट पारे। चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूको परीक्षा सुरु भएको बताउँदै उहाँले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरणमा जोड दिए ।

एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौँ – पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका तहसँग समन्वय गर्दै सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएका त्यस्ता शिविरमा स्थायी ‘मिनील्याप’ सेवा लिने महिलाका तुलनामा ‘भ्यासेक्टोमी’ सेवा लिन पुरुषले कम रुचि देखाएका हुन् ।

गत मङ्सिर ८ गतेदेखि २६ गतेसम्म कैलालीका विभिन्न १० स्थानमा सञ्चालन गरिएका घुम्ती शिविरमा दुई सय ११ जनाले परिवार योजनाका स्थायी सेवा लिएका थिए । तीमध्ये एक सय ९३ महिलाले ‘मिनील्याप’ सेवा लिँदा आठ जना पुरुषले ‘भ्यासेक्टोमी’ सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरका अनुसार यस्ता शिविरमा परिवार योजनाका सम्पूर्ण साधनहरूको सेवा निःशुल्क उपलब्धता हुन्छ । ती सेवाअन्तर्गत परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण), परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने परिवार योजनाका साधन तीनमहिने सुई (डिपो), खानेचक्की पिल्स र कण्डम पर्दछन् ।

कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको शिविरमा दुई सय ४२ जनाले सेवा लिएकामध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका वरिष्ठ जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यका अनुसार नौकुण्ड गाउँपालिकाको पारच्याङ र कालिका गाउँपालिकाको जिबजिबेमा हालै सम्पन्न ‘एकीकृत परिवार योजना शिविर’मा १९ जनामात्र सेवाग्राही रहेका थिए । तीमध्ये गत आव २०८१/८२ मा सुनौलो परिवार नेपालले सातवटै प्रदेशलाई समेट्नेगरी २८ जिल्लाका अतिदुर्गम दुई सय ८६ स्थानमा परिवार व्यवस्थापनअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सम्बन्धित स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग गरेको थियो । ती शिविरमा १० हजार १९९ महिलाले ‘मिनील्याप’ र चार सय ९७ पुरुषले ‘भ्यासेक्टोमी’ सेवा लिएका थिए भने इम्प्लान्ट र आइयुसिडी सेवा लिनेको सङ्ख्या क्रमशः दुई सय १८ र २८ जना रहेका सुनौलो परिवार नेपालका उपनिर्देशक अनिल यादवले जानकारी दिनुभयो ।

नयाँ ढाँचामा ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले पछिल्ला वर्षहरूमा परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सेवाप्रदायक सस्थासँग समन्वयात्मक र साझेदारी नीति अवलम्बन गरेको छ ।

जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै एकीकृत परिवार योजना शिविर सञ्चालनमा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग पुर्याउने समझदारीको ढाँचा रहेको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले जानकारी दिनुभयो ।

उहाँल भन्नुभयो, “परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक छ । विशेषगरी एकीकृत परिवार योजना शिविर सञ्चालनमा सेवाप्रदायक सस्थासँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयताका ढाँचामा समन्वयात्मक काम गर्ने नीति अवलम्बन गरेका छौँ ।”

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशतमा सीमित छ । आधुनिक परिवार योजना (नियोजन) सेवाको प्रयोगदर ४२.८ भन्दा माथि उक्लिन सकेको छैन । अझै प्रजनन उमेरका २३.७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । त्यसैगरी, विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।

परिवार योजना आवश्यक पर्ने दम्पती एवं अन्य महिलालाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले हरेक वर्ष निःशुल्क एकीकृत परिवार योजना शिविर सञ्चालन गर्दै आएको छ । परिवार व्यवस्थापन कार्यक्रमसहित शिविरका लागि कम लगानी गरिँदा परिवार योजना कार्यक्रम नै सङकटमा परेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत परिवार योजना आवश्यक पर्ने सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा एकीकृत परिवार योजना सेवा शिविर आयोजना गर्ने समझदारीका ढाँचामा सेवा प्रदान गर्ने नीति अवलम्बन गरिएको र यसबाट सेवाप्रवाह प्रभावकारी र चुस्त भएको जानकारी दिनुभयो ।

परिवार योजना एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको मेरी स्टोप्स (एमएसआई) नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालनको ‘मोडालिटी’ले विशेष गरेर विपन्न समुदायसम्म परिवार योजनाको सेवाको पहुँच पुर्याउने काम गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ । ग्रामीण क्षेत्रका गरिब, बिपन्न , सीमान्तकृत समुदायसम्म परिवार योजनाका सेवाको पहुँच पुर्याउन लागिरहेका छौँ । ”

उहाँका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने कुरा स्पष्ट उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने, स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिनुभयो । संस्थाले अहिले सातवटै प्रदेशलाई समेट्नेगरी नौवटा ‘मेडिकल टिम’ परिवार योजनाका शिविरमा परिचालन गरेको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साह पछिल्ला समय साझेदारी ढाँचामा परिवार योजना शिविर सञ्चालन हुन थालेको र यसको प्रभावकारिता देखिएको जानकारी दिनुभयो । उहाँले यही पुस ४ गतेदेखि जिल्लाका १५ वटै पालिकाका ११ स्थानमा शिविर सञ्चालन गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता शिविरमा आठ सय ७४ जनालाई सेवा लिने लक्ष्य लिइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा मदनकुमार उपाध्याय परिवार व्यवस्थापनको सेवामा पहुँच पुर्याउन एकीकृत परिवार योजना शिविरमा सेवाग्राहीले आफूले चाहेका सेवा पायक पर्ने स्थानमा गुणस्तरीय रूपमा पाएका बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकी २० वर्षभन्दा कम उमेरमा विवाहलाई अन्त्य, परिवार योजनाका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार र यौन तथा प्रजनन स्वास्थ्य चेतनामा अभिवृद्धि गर्न अझै पनि चुनौती रहेको औँल्याउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “परिवार योजनाका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार गर्न संयुक्त सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ । यसका लागि मन्त्रालय सबै साझेदार निकायसँग थप सहकार्य र हातेमालो गर्न चाहन्छ ।”