`

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

Nepal One HD १९ साउन २०८३ २०:२०
राजनीति

जनकपुरधाम। आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गठित गृह मन्त्रालयको उच्चस्तरीय टोलीले आज घटनास्थलमा पुगेर विभिन्न पक्षसँग छलफल गरेको छ ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित छानबिन टोलीले आज घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण सङ्कलन र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको समितिका सदस्य सचिव कुलशेखर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीले गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी घटनासँग सम्बन्धित विविध विषयमा जानकारी सङ्कल गरेको छ ।

आजै उद्योग वाणिज्य सङ्घ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा गोलबजारका व्यवसायीहरूसँग छलफल गरी आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे जानकारी लिइएको सदस्यसचिव अर्यालले बताउनुभयो । मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरिएको उहाँको भनाइ छ ।

‘सुनसरीमा सुरु भएको घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो ?’, ‘आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो ?’ र ‘गणेश यादवको मृत्यु कसरी भयो ?’ भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।

पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्नु र घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गर्नु रहेको उल्लेख गर्दै प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरिने उहाँले बताउनुभयो । छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको अनुगमन गरेको थियो भने सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग पनि छलफल गरेको थियो ।

गोलबजारमा भएको आन्दोलनका क्रममा भएका व्यवसायीको भौतिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरिरहेको सदस्य सचिव अर्यालले बताउनुभयो ।

गृह मन्त्रालयका सहसचिव शाहीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको सदस्यहरूमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पवन ढुङ्गाना र सदस्य सचिवमा उपसचिव अर्याल रहनुभएको छ ।

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा गत साउन १४ गते भएको आन्दोलनका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको थियो । घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतक यादवको परिवारलाई घरमा पुगेर भेट गर्नुभएको थियो । त्यसक्रममा उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *