`

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गर्नुभएको थियो ।

उहाँले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा प्रतिनिधि

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि खटाएको छ । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आज सातै प्रदेशमा प्रतिनिधि खटाएको हो ।

पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न र सहयोग गर्न प्रतिनिधि खटाएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । तोकिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने उहाँले बताउनुभयो ।

कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सहमहामन्त्री डा डिला सङ्ग्रौला, निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ ।

कोशीकै सङ्खुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजङ्ग रायमाझीलाई खटाइएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी प्रतिनिधि तोकिएका छन् ।

यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौँका लागि सहमहामन्त्री बहादुरसिंह लामा, डा केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई खटाइएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतमलाई खटाइएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेललाई खटाइएको छ । यस्तै, स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल, गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई खटाइएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहलाई तोकिएको छ । यस्तै, कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य प्रतिनिधि रहेका छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रङ्गमती शाही खटिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना खटिएका छन् भने कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा रणबहादुर रावल र नृपबहादुर वडलाई जिम्मेवारी दिइएको छ ।

डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्टलाई खटाइएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।

हलेसी दर्शन गरेर फर्कने क्रममा सुमो दुर्घटना हुँदा भुटानी नागरिकसहित तीन घाइते

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा आज सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा ना१ज ८७८१ नम्बरको सुमो अनियन्त्रित भई सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय कार्दुङ, डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते हुनुभएको हो ।

घाइतेहरूलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

सुमो केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौँतर्फ जाँदै गरेको थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत सडकखण्डमा पर्ने विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर काठमाडौँ फर्कनेक्रममा सुमो दुर्घटनामा परेको हो । सुमोमा सात यात्रु सवार रहेका थिए ।

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको हो ।

यसबारे जानकारी दिदै गृहमन्त्री ओमप्रकाश अर्यालले भने,‘सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकति प्रदान गर्ने निर्णय भएको छ ।’

त्यस्तै उनले निर्माणाधिन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहीदहरुको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको पनि बताए ।

मुस्ताङमा जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ, माघ २० –यहाँको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।

मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।

यसअघि सन् २०२५ को जनवरी पहिलो महिनामा चार हजार ३४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्याङ्कमा उल्लेख छ । सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा छ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य फरेनर विदेशी पर्यटकको सङ्ख्या ५१६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ छ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको हो ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन सङ्ख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताउनुभयो । राष्ट्रिय गौरवको बेनी–जोमसाम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या अप्रत्याशित रुपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ । यहाँ सन् २०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याइ छ ।

मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमकका बाबजुद पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीहरुलाई आशा जगाएको बताउनुभयो ।

विगतका वर्षहरुमा पर्यटक अफसिजनका कारण बन्द हुने मुस्ताङका होटल सञ्चालनमा छन् । मुस्ताङमा सडकको विकाससँगै बाह्रै महिना पर्यटकको आगमन भइरहेकाले यहाँ व्यवसायीहरुलाई मौसम प्रतिकूलताले असर नपारेको अध्यक्ष गुरुङले बताउनुभयो ।

पुस लागेसँगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजीवन आंशिक रुपमा प्रभावित रहे पनि पर्यटकको आगमनमा चिसोले बाधा पुगेको छैन ।

देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुन्छ : उपाध्यक्ष गुरुङ

काठमाडौँ, माघ २० –नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताउनुभएको छ । उहाँले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गर्नुभयो ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरुले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताउनुभयो ।

गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने स्पष्ट पार्नुभयो ।उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिनुभयो ।

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

तेहरान। इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मङ्गलबार रिपोर्ट गरेका छन् ।

इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको छ ।

यद्देपी पक्राउ परेका व्यक्तिहरूको राष्ट्रिय पहिचान खुलाईएको थिएन भने प्रदर्शनकारीहरूसँग सम्बन्धित मुद्दाहरूको समीक्षाको क्रममा, पक्राउ परेका मध्ये १३९ जना विदेशी नागरिक भएको निष्कर्ष निकालिएको प्रहरी प्रमुख अहमद नेगाहबानले बताउनु भएको छ ।

तेहरानले प्रदर्शनको क्रममा तीन हजार भन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ, भने हिंसाको श्रेय “आतङ्कवादी कार्यहरू लाई दिँदै अधिकांश पिडितहरुमा सुरक्षा बलका सदस्य र निर्दोष दर्शकहरू रहेको बताएको छ ।

अमेरिकामा आधारित गैरसरकारी संस्था, द ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सीले छ हजार ८५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जसमा अधिकांश प्रदर्शनकारीहरू सुरक्षा बलद्वारा मारिएका छन् । यसै विच अन्य अधिकार समूहहरूले मृत्यु हुनेको सङ्ख्या अझ धेरै हुन सक्ने चेतावनी दिएको छ ।

इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएको हत्या र तोडफोड सहितको प्रदर्शन अघिका र्यालीहरू शान्तिपूर्ण प्रदर्शनको रूपमा सुरु भएको बताएका छन् ।

श्रमिक ठगी गर्न बनेका कार्यविधि एक महिनाभित्रमा खारेज गरिने : श्रममन्त्री भण्डारी

काठमाडौँ, २० माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी गर्न बनाइएका ‘फ्री भिसा टिकट’, अभिमुखीकरण, तालिमलगायतका कार्यविधि एक महिनाभित्रमा खारेज गरिने बताएका छन् ।

उनले आफ्नो कार्यकालमै श्रमिकका नाममा भएका सबै ‘सिन्डिकेट’ हटाउन आवश्यक रहेको बताउँदै यस्ता कार्यविधि खारेज गर्ने निर्णय लिएको जानकारी दिए । आज मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका निकायहरुको चालु आर्थिक वर्षको अर्ध–वार्षिक प्रगति समीक्षामा मन्त्री भण्डारीले विभिन्न कार्यविधिका नाममा श्रमिकलाई ‘ट्र्याप’मा पारेर दुःख दिने काम भइरहेको बताए ।

उनले मन्त्री भएको केही सातामै वैदेशिक रोजगारसम्बन्धी स्वास्थ्य परीक्षणमा तोकिएको अधिक शुल्क खारेज गरेका थिए । “हामी कहाँ नीति, नियम देखाएर श्रमिकमाथि दुःख दिने गरिएको छ,” उनले भने, “मेरो कार्यकालभित्र सबै सिन्डिकेट तोडिदिन्छौँ ।” त्यसपछि मन्त्रालयले नै श्रम स्वीकृतमार्फत विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र अभिमुखीकरण तालिम पनि सञ्चालन गर्ने व्यवस्था ल्याइने उनको भनाइ छ ।

अर्ध–वार्षिक समीक्षामा मन्त्रालयको कार्य सम्पादनबारे छलफल भएको थियो । मन्त्रालय मातहतका विभाग र शाखाका प्रतिनिधिले आ–आफ्नो निकायमा पुस महिनासम्म भएको कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले मन्त्रालयका अधिकांश कार्य योजनाहरु विभाग र शाखाअन्तर्गत दोहोरिएको औँल्याउँदै त्यसको सङ्क्षेपीकरण गर्न सुझाव दिए । “एउटै कार्य योजनामा दोहोरो बजेट नराखौँ, त्यसलाई मर्ज गरेर अरू आवश्यक कार्यमा सदुपयोग गरौँ”, उनले भने ।

कार्यक्रममा मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयले हालसम्म चालु आवमा १६ प्रतिशतभन्दा पनि बढी बजेट खर्च नगरेकाले विभागहरुले कार्यक्रम सञ्चालनमा तीव्रता बढाउन निर्देशन दिए । साथै उनले श्रमिकको हितसँग जोडिएको नेपाल सरकार र स्वीस सरकारको सहकार्यमा सञ्चालित ‘सामी’ परियोजनाको प्रभावकारितामाथि प्रश्न उठेकाले यसलाई पुनः समीक्षा गरेर कार्य सम्पादनमा जोड दिनुपर्ने बताए ।

एयर इन्डियाद्वारा बोइङ ७८७ इन्धन स्विच निरीक्षण सुरु

नयाँदिल्ली, २० माघ । एयर इन्डियाले आफ्नो ३३ बोइङ ७८७ विमानमा सम्भावित दोषका कारण इन्धन नियन्त्रण स्विचको निरीक्षण सुरु गरेको छ । यो जानकारी कम्पनीको आन्तरिक नोटमा मङ्गलबार उल्लेख गरिएको छ ।

भारतीय अधिकारीहरूले गत वर्ष ड्रीमलाइनर दुर्घटनाको जाँच गर्दै गर्दा ७८७ विमानमा केही समयपछि २६० जनाको मृत्यु हुने घटनासँग सम्बन्धित विवरण पाएका थिए । एयर इन्डियाका पाइलटले विमानको इन्धन नियन्त्रण स्विचमा सम्भावित त्रुटि भएको रिपोर्ट गरेपछि बोइङ ७८७–८ ड्रीमलाइनर जेटको निरीक्षण सुरु गरिएको थियो ।

कम्पनीको नोटमा भनिएको छ, “हाम्रो एउटा बी७८७ विमानमा इन्धन नियन्त्रण स्विचमा सम्भावित दोष पत्ता लागेपछि प्रारम्भिक मूल्याङ्कनका लागि बोइङलाई जानकारी दिइएको छ ।” टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्सले सबै बोइङ ७८७ विमानमा इन्धन स्विचको सावधानीपूर्वक फ्लीट–व्यापी पुनः निरीक्षण सुरु गरेको छ ।

एएफपीसँग कुरा गरेका कम्पनीका स्रोतले धेरै विमानको नयाँ निरीक्षण पहिले नै सम्पन्न भइसकेको र अहिलेसम्म कुनै प्रतिकूल निष्कर्ष नआएको बताएको छ । बोइङले यस विषयमा तुरुन्तै टिप्पणी गरेको छैन ।

एयर इन्डियाद्वारा सञ्चालित लन्डन जाने बोइङ ७८७ ड्रीमलाइनर जुन महिनामा अहमदाबादबाट उडेको केही समयपछि दुर्घटनाग्रस्त भयो, जसमा जहाजमा सवार २४२ मध्ये एक जनालाई छोडेर सबैको मृत्यु भयो र जमिनमा १९ जनाको पनि मृत्यु भयो । दुर्घटनापछि इन्धन नियन्त्रण स्विचहरूमा लकिङ सुविधाको परीक्षण गर्दा कुनै समस्या फेला परेको थिएन ।

भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइबी) ले प्रारम्भिक रिपोर्टमा जेटको इन्जिनको इन्धन आपूर्ति दुर्घटनापूर्व केही क्षणअघि काटिएको देखाउँदै सम्भावित पाइलट त्रुटिबारे प्रश्न उठाएको छ । रिपोर्टअनुसार एक पाइलटले अर्कोलाई इन्धन किन काटिएको हो भनेर सोध्दा दोस्रो पाइलटले आफूले त्यो नगरेको जवाफ दिएका थिए ।

दुई प्रमुख भारतीय व्यावसायिक पाइलट सङ्घ र मृत पाइलटका बुबाले मानवीय त्रुटिबाट दुर्घटना भएको सुझाव अस्वीकार गरेका छन् । भारतीय अधिकारीहरूले दुर्घटनाको अन्तिम रिपोर्ट अझै जारी गरेका छैनन् ।

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

जापान (टोकियो), २० माघ ।राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन् । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो ।

सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

“जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायत क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्”, जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उजले दुवै देश गौतमबुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि बताए । “बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ”, राष्ट्रपति पौडेलले भने ।

दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो । “यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो”, राष्ट्रपति पौडेलले भने।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले गरेको मैत्रीपूर्ण तथा विशिष्ट भ्रमणका क्रममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गरे । साथै, उनले सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सनबाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गरे ।

सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए । सो अवसरमा उनले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको उल्लेख गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

सम्राट नारुहितोले पोखरामा सराङकोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गरे । उनले नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपद्हरूमा दुवै देशले एक अर्कालाई सहयोग गर्दै आएको स्मरण गरे ।

सम्राट नारुहितोले नेपाल जापान सम्बन्ध विकासमा राष्ट्रपति पौडेलले पु¥याएको योगदानलाई सम्झेर जापानले सम्मान गरेको बताएका थिए । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन् ।

उनले यसअघि सोमबार नै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गरेका थिए भने उनीसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेट गरेका थिए ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गरे । साथै, उनले यहाँस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरे । आजै उनले जापानका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै बालेन, स्थानीय समस्याबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्।

उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।

यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गरी स्थानीय विकास, जनतालाई सशक्त बनाउने र समस्याहरूको समाधानका उपायहरूबारे छलफल गरेका छन्।

व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

काठमाडौँ – पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ ।

एउटै परिचयका आधारमा नागरिकले सेवा पाउने, कागजी झन्झट घट्ने र सेवा प्रवाह प्रभावकारी हुने सरकारी दाबी छ । व्यवहारमा कतिपय सेवा छिटो भएका पनि छन् । तर यस्तो प्रयोजनका लागि प्रयोग हुने व्यक्तिगत डाटा संरक्षणको विषय भने नेपालमा अझै नीति र कानुनविहीन अवस्थामा छ ।

नागरिकका नाम, ठेगाना, उमेर, पारिवारिक विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख, वित्तीय अवस्था, सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्रदेखि मोबाइल नम्बर र डिजिटल गतिविधिसम्मका विवरण राज्य र निजीक्षेत्र दुवैले सङ्कलन गरिरहे पनि ती विवरण क–कसले सङ्कलन गर्‍यो ? कुन निकायसँग साझा गरियो ? कति समय राखिन्छ ? र कति सुरक्षित छन् भन्नेबारे नागरिक अनभिज्ञ छन् । सङ्कलित डाटा चुहावट वा दुरुपयोग भएमा त्यसको जिम्मेवारी कसले लिने र पीडितले कसरी न्याय पाउने भन्ने स्पष्ट कानुनी आधार बनिसकेको छैन ।

राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र, करदाता दर्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमालगायत अनेकौँ सेवाका लागि नागरिकका विस्तृत व्यक्तिगत विवरण सङ्कलन गरिन्छ । यस्ता विवरण केवल सरकारी निकायमा मात्र सीमित छैनन् । बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, अस्पताल, बिमा कम्पनी, अनलाइन प्लेटफर्म र अन्य व्यावसायिक संस्थाले पनि ठूलो मात्रामा व्यक्तिगत डाटा सङ्कलन र भण्डारण गरिरहेका छन् ।

नागरिकको निजत्व, सम्पत्ति, तथ्याङ्क, लिखित तथा अन्य व्यक्तिगत सूचनाको गोपनीयताको हक व्यवहारमा सुनिश्चित हुन सकेको छैन । यस्ता संवेदनशील डाटा सुरक्षित नहुँदा पहिचान चोरी, आर्थिक ठगी, सामाजिक बदनामी, मानसिक आघात मात्र होइन, राष्ट्रिय सुरक्षामा पनि जोखिम उत्पन्न हुनसक्ने विज्ञहरू बताउँछन् ।

नीति अनुसन्धान प्रतिष्ठानका सह–अनुसन्धानकर्ता दीपेन्द्रप्रसाद पन्तले व्यक्तिगत डाटा संरक्षणलाई सामान्य प्राविधिक वा प्रशासनिक विषयका रूपमा हेर्न नहुने बताउनुभयो । उहाँका अनुसार यो विषय नागरिक अधिकार, लोकतान्त्रिक शासन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको छ ।

“नेपालमा व्यक्तिगत डाटा संरक्षणका लागि स्पष्ट नीति छैन भने छुट्टै कानुन र प्रभावकारी संरचना बन्न सकेका छैनन् । व्यक्तिगत विवरण खुल्दा त्यसले व्यक्तिको गोपनीयतामा मात्र होइन, राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्छ । अरू देशहरूले व्यक्तिगत गोप्यताका विषयलाई अत्यन्त गम्भीर रूपमा लिने गरे पनि हामी अझै आधारभूत तहमा अड्किएका छौँ”, पन्तले भन्नुभयो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ कार्यान्वयनमा भए पनि यसले डिटिजल डाटा प्रयोग र सुरक्षणलाई आंशिक रूपमा मात्र समेट्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार डाटा चुहावटको असर कुनै एक व्यक्तिको क्षतिमा सीमित हुँदैन । नागरिकको परिचय विवरण, बायोमेट्रिक सूचना, स्वास्थ्य अभिलेख वा वित्तीय तथ्याङ्क बाहिरिएर त्यसलाई सङ्गठित अपराध, साइबर अपराधलगायत अवैध गतिविधि बढ्ने जोखिम रहन्छ । “व्यक्तिगत विवरण बाहिरिँदा त्यसको दुरुपयोगबाट सामाजिक अस्थिरता, आर्थिक अपराध र राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम पैदा हुन सक्छन् । यसलाई सामान्य प्रशासनिक कमजोरी भनेर नजर अन्दाज गर्न मिल्दैन”, उहाँले भन्नुभयो ।

व्यक्तिगत विवरण चुहावट हुँदा व्यक्तिको सामाजिक छवि, मानसिक अवस्था र व्यक्तिगत सुरक्षामा गहिरो असर पर्छ । नेपालमा यस्तो क्षतिको दायित्व कसले लिने र पीडितले कति क्षतिपूर्ति पाउने भन्नेबारे कुनै कानुनी व्यवस्था छैन । कानुनी दण्ड र क्षतिपूर्तिको प्रावधान नहुँदा डाटा सुरक्षालाई प्राथमिकतामा राख्ने संस्कार नै विकास हुन नसकेको पन्तको बुझाइ छ ।

नेपालको संविधानले सूचना पाउने अधिकार र गोपनीयताको हक दुवैलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर यी दुई हकबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा स्पष्ट कानुनी मार्गनिर्देशन नभएको उहाँले उल्लेख गर्नुभयो ।

“सूचना पाउने अधिकार र व्यक्तिको गोपनीयताबीच स्पष्टता जरुरी छ । सबै सूचना सार्वजनिक हुनुपर्छ भन्ने बुझाइले व्यक्तिगत गोपनीयता कुण्ठित गर्न सक्छ”, पन्तले भन्नुभयो । कुन अवस्थामा व्यक्तिगत विवरण लुकाउनुपर्ने, कुन सूचना सार्वजनिक हितका लागि आवश्यक हुन्छ भन्ने स्पष्टता नहुँदा विवाद र दुरुपयोगको जोखिम बढिरहेको छ । सरकारले डिजिटल नेपाल अभियानअन्तर्गत अधिकांश सार्वजनिक सेवा ‘पेपरलेस’ बनाउने घोषणा गरेको छ । डिजिटल प्रणालीमा राखिएका विवरण कति सुरक्षित छन् भन्ने प्रश्नको स्पष्ट उत्तर छैन ।

“हामीले सबै सार्वजनिक काम पेपरलेस (कागजरहित प्रणाली) बनाउँदै जाने भनेका छौँ । तर राखिएका विवरण पूर्ण रूपमा सुरक्षित छन् भनेर भन्नसक्ने अवस्था छैन । व्यक्तिगत डाटा सुरक्षाका संयन्त्र विकास गर्न सकिएन भने हामी प्रविधिमा होइन, जोखिममा अघि बढिरहेका हुन्छौँ”, पन्तले भन्नुभयो । ‘डिजिटलाइजेसन’सँगै डाटा संरक्षण कानुन, स्वतन्त्र नियामक निकाय, प्राविधिक मापदण्ड र दक्ष जनशक्ति एकसाथ विकास हुनुपर्ने उहाँको धारणा छ । नेपालमा सेवा विस्तारको गति र सुरक्षा तयारीबीच गहिरो अन्तर देखिएको उहाँले बताउनुभयो ।

साइबर सुरक्षाविद् विजय लिम्बूले वैयक्तिक गोपनीयतासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नभएको र डाटा सुरक्षाका लागि संस्थागत रूपमा कुनै नियामक निकाय बन्न नसकेको अहिलेको अवस्थामा सूचना प्रविधिका क्षेत्रमा नेपालमा काम गर्न चाहने विदेशी कम्पनी इच्छुक नहुने उल्लेख गर्नुभयो । डाटा सुरक्षणका लागि अन्तरराष्ट्रिय मापदण्डसहितका कानुन नभए पनि संविधानले प्रत्याभूत गरेको वैयक्तिक गोपनीयताको हक तथा यससम्बन्धी कानुन कार्यान्वयनमा रहेका उहाँको भनाइ छ ।

“कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, नियामक निकाय बनाउन नसक्नु र डाटा सुरक्षाका विषयलाई महत्व दिएर अभ्यासमा ल्याउन नसक्नु प्रमुख समस्या हुन्”, उहाँले भन्नुभयो, “भएकै कानुन पनि कार्यान्वयनमा कमजोर हुँदा सूचना प्रविधिसँग जोडिएका अन्तरराष्ट्रिय कम्पनीहरु नेपाललाई सहजै विश्वास गर्दैनन् ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ई–गभर्नेन्स बोर्डले व्यक्तिगत डाटा संरक्षण नीति, २०८२ को मस्यौदा तयार पारेको लामो समय भइसकेको छ । उक्त नीति अझै स्वीकृत भएर कार्यान्वयनमा आएको छैन । नीति नबनेकले यससँग सम्बन्धित ऐन, कानुन पनि अघि बढ्न सकेका छैनन् ।

ई–गभर्नेन्स बोर्डका सहसचिव अनीलकुमार दत्तले नीतिको मस्यौदा तयार भइसके पनि प्रक्रिया ढिलो भएको स्वीकार गर्नुभयो । “विभिन्न निकायसँग व्यक्तिका विभिन्न खालका डाटा छन् । त्यसमा कतिपय संवेदनशील र व्यक्तिगत गोपनीयतासँग जोडिएका पनि हुन सक्छन् । अहिले कुन डाटा दिने र कुन नदिने भन्ने स्पष्टता छैन”, उहाँले भन्नुभयो ।

व्यक्तिगत डाटाको वर्गीकरण आवश्यक भइसकेको पनि दत्त बताउनुहुन्छ । “व्यक्तिगत विवरणसँग सम्बन्धित तथ्याङ्कको वर्गीकरण आवश्यक छ । यसले कुन निकायले व्यक्तिको कतिसम्मका विवरण सङ्कलन गर्न पाउने र अर्को निकायलाई उपलब्ध गराउँदा कतिसम्म दिने भन्ने स्पष्टता ल्याउँछ”, उहाँले भन्नुभयो ।

व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन नहुँदा डाटा सङ्कलन, स्थानान्तरण, वर्गीकरण र साझेदारीका लागि कुनै स्पष्ट मापदण्ड छैन । कुनकुन निकाय डाटा सङ्कलन, प्रशोधन र विश्लेषणमा संलग्न छन् भन्ने तथ्यसमेत अस्पष्ट छ । प्रविधिको प्रयोगलाई बढावा दिइरहँदा त्यसले निम्त्याउने सुरक्षाका विषयलाई नजरअन्दाज गर्न नहुने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यालय प्रमुख मनिष भट्टराईले बताउनुभयो । त्यसका लागि डाटा संरक्षणको नीति र कानुन अपरिहार्य बनिसकेको उहाँको बुझाइ छ ।

विद्यमान अवस्थालाई विश्लेषण गर्ने हो भने डिजिटल डाटा सङ्कलन गर्ने निकायले त्यसको सुरक्षा, भण्डारण, क्लाउड पहुँच र नियन्त्रणबारे नागरिकलाई विश्वस्त गराउन सकेका छैनन् । सङ्कलित डाटाको नियमन गर्ने कानुनी व्यवस्था, संस्थागत संरचना र पूर्वाधार बन्न सकेका छैनन् ।

व्यक्तिको डाटा सङ्कलनदेखि विसर्जनसम्म कानुनबमोजिम भए/नभएको सुनिश्चित गर्ने संयन्त्र छैन । अनधिकृत प्रयोग भएमा कसरी कानुनी दायरामा ल्याउने भन्ने स्पष्ट छैन । डाटा सङ्कलन गर्दा व्यक्तिको सहमति लिने प्रचलनसमेत स्थापित हुन सकेको छैन ।

सरकारी वा गैरसरकारी निकायले व्यक्तिगत डाटा सङ्कलन गर्दा त्यसको उद्देश्य स्पष्ट गर्नुपर्ने र सोही उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्नेमा व्यवहारमा यस्तो अभ्यास देखिँदैन । डाटा कति समयसम्म राख्ने, कहिले नष्ट गर्ने भन्नेबारे कुनै कानुनी व्यवस्था छैन । विदेशमा भने व्यक्तिगत डाटा सङ्कलनदेखि विसर्जनसम्मको कार्यको निरीक्षण तथा अनुगमनका लागि डाटा अडिट प्रतिवेदन तयार गर्ने प्रचलन छ ।

त्यसैगरी, संवेदनशील डाटाको पहुँचमा बहुपक्षीय प्रमाणीकरण (मल्टी–फ्याक्टर अथेन्टिकेसन) र पहुँचसम्बन्धी सूचना (नोटिफिकेसन) प्रणाली लागू हुन सकेको छैन । सूचना प्रविधि विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २५ वटा सरकारी निकायका ३० वटा सूचना प्रणालीको सेक्युरिटी अडिट गरिएको थियो । आवको अन्त्यसम्ममा विभिन्न ३५१ वटा सरकारी निकायको ५०६ वटा प्रणालीको सेक्युरिटी अडिट सुरक्षित बनाउन आवश्यक रहेको भन्दै विभागले सुझावसहितको प्रतिवेदन दिएको देखिन्छ । यो तथ्याङ्कले पनि सरकारी निकायका सूचना प्रणाली कमजोर रहेको पुष्टि गर्छ ।

अभिलेखविहीन आँकडा

विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सूचना प्रणाली तथा सम्बन्धित सर्भरमा अनधिकृत पहुँच पु¥याएर व्यक्तिगत विवरण चोरी गर्ने र सार्वजनिक गर्नेक्रम पछिल्ला वर्षमा निरन्तर बढिरहेका छन् । यस्तो प्रकृतिका घटनाको एकीकृत तथ्याङ्क कुनै पनि सरकारी निकायसँग उपलब्ध छैन । राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले कुन निकायबाट कस्तो किसिमको सूचना चुहावट भयो र त्यसको गलत प्रयोग भयो भन्ने अभिलेख नरहेको बताउनुभयो ।

“विभिन्न निकायका वेबसाइटमा अनधिकृत पहुँच, तथ्याङ्क चोरीजस्ता विषय सञ्चारमाध्यमबाट सुन्ने गरिन्छ । तीमध्ये धेरैजसोको हामीलाई औपचारिक रुपमा जानकारी आएको देखिँदैन । केन्द्रलाई जानकारी नै नआएपछि त्यसको अभिलेखसमेत राख्ने गरिएको छैन”, उहाँले रासससँग भन्नुभयो ।

राहदानी विभाग, उद्योग विभाग, जल तथा मौसम विज्ञान विभाग, हेलो सरकार र अर्थ मन्त्रालय गरी पाँच वटा निकायले मात्रै हालसम्म आफ्नो वेबसाइट, सर्भर तथा सूचना प्रणालीमा बाह्य आक्रमणको शङ्कासहितको जानकारी केन्द्रलाई गराएका छन् । यी निकायमा गएर आवश्यक समन्वय गरी समस्या समाधान गरेको केन्द्रका निर्देशक महर्जनले बताउनुभयो । यी निकायबाट के–कस्ता विवरण/तथ्याङ्क क्षति पुग्यो वा बाहिरियो भन्ने आधिकारिक जानकारी आइसकेको उहाँको भनाइ छ ।

नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता हुने साइबर अपराधसम्बन्धी उजुरीको सङ्ख्या पछिल्ला वर्षमा बढिरहेको छन् । ब्युरोमा दर्ता भएका उजुरीका तथ्याङ्कअनुसार डाटा चुहावट, वेबसाइट ह्याकिङ तथा इमेल दुरुपयोगसम्बन्धी घटना उल्लेखनीय रूपमा देखिएका छन् । यस्ता सबै घटना ब्युरोसम्म आइनपुग्ने प्रवक्ता दीपकराज अवस्थीले उल्लेख गर्नुभयो ।

आव २०७९/८० मा साइबर ब्युरोमा दुई वटा डाटा चुहावटसम्बन्धी उजुरी दर्ता भएकामा २०८०/८१ मा तीन पुगेको थियो । उक्त सङ्ख्या २०८१/८२ मा बढेर छ पुगेको छ, जसले डिजिटल सूचना सुरक्षामा बढ्दो चुनौतीलाई स्पष्ट रुपमा सङ्केत गर्छ ।

त्यस्तै, वेबसाइट ह्याकिङसम्बन्धी उजुरी पनि क्रमशः बढ्दै गएका छन् । विसं २०७९/८० र २०८०/८१ मा एक/एक वटा उजुरी दर्ता भएकामा २०८१/८२ मा दुई र २०८२/८३ को पछिल्लो छ महिनामा मात्र तीन उजुरी दर्ता भएका छन् । अनधिकृत पहुँच वा ह्याकिङसम्बन्धी उजुरी २०७९/८० मा छ र २०८०/८१ मा सात वटा दर्ता भए पनि २०८१/८२ मा घटेर चारमा सीमित भएको साइबर ब्युरोको तथ्याङ्कमा उल्लेख छ ।

अनधिकृत पहुँच प्रयाससम्बन्धी उजुरी भने प्रत्येक वर्ष निरन्तर रूपमा देखिँदै आएका छन् । र्‍यान्समवेयर आक्रमणसम्बन्धी उजुरी आव २०८०/८१ र २०८१/८२ मा एक–एक वटा दर्ता भएका छन् । यस्तै, व्यावसायिक इमेल दुरुपयोग र इमेल खाता दुरुपयोगसम्बन्धी उजुरी पनि बर्सेनि ब्युरोमा आउने गरेका छन् ।

चोरी र चुहावटका घटना

गत पुस २६ र २७ गते नेपाल टेलिकमको सिमकार्ड प्रयोगकर्तालाई सडक प्रदर्शनका लागि आह्वानसहित राजनीतिक प्रकृतिको ‘बल्क म्यासेज’ पठाइएको थियो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का प्रवक्ता रविन्द्र मानन्धरका अनुसार ‘आकाशटेल’ नामक कम्पनीबाट करिब सात लाख हाराहारी नम्बरमा ‘बल्क एसएमएस’ गएको थियो । यस प्रकरणमा नेपाल प्रहरीले निर्देश सेढाईं नामका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यति ठूलो सङ्ख्यामा मोबाइल नम्बर कहाँबाट उपलब्ध भए भन्ने अझै खुलिसकेको छैन । नेपाल टेलिकमले भने कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको भन्दै गत पुस २९ गते विज्ञप्तिसमेत जारी गरेको छ ।

नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, निर्वाचन आयोगलगायत कार्यालयको वेबसाइटमा अधिकृत पहुँच पु¥याएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले गत पुस १८ गते सिन्धुपाल्चोकबाट एक जना र गत मङ्सिर २८ गते झापाबाट एक जना पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यी सबै निकाय व्यक्तिगत विवरण सङ्कलन र प्रयोग गर्ने निकायभित्र पर्दछन् । यी निकायमा कार्यालयको वेबसाइट मात्र ह्याक भएको हो वा सर्भरमै अनधिकृत पहुँच पुगेर व्यक्तिगत विवरणमा छेडखानी भएको हो भन्ने स्पष्ट छैन ।

त्यस्तै, पछिल्ला केही महिनायता मात्र लुम्बिनी प्रदेश र नेपाल प्रहरीको वेबसाइट ह्याक गरी विभिन्न विवरण र जानकारी डार्क वेभ’मार्फत सार्वजनिक भएका थिए । सरकारी निकाय मात्र नभई निजी क्षेत्रका संस्थाबाट पनि व्यक्तिगत विवरण तथा तथ्याङ्कहरु बाहिरिने गरेका छन् । विसं २०७६ फागुनमा अनलाइन ‘फुड डेलिभरी कम्पनी’ फुडमाण्डुको सर्भर ह्याक भएर ५० हजारभन्दा बढी व्यक्तिको नाम, ठेगाना, मोबाइल नम्बर, इमेललगायत विवरण बाहिरिएको थियो ।

त्यस्तै, २०७६ चैतमा इन्टरनेट सेवाप्रदायक कम्पनी भायोनेटका ग्राहकको व्यक्तिगत तथ्याङ्क ह्याकरले सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका दिए । नेपाल प्रहरीको साइबर ब्युरोले फुडमाण्डु प्रकरणमा संलग्न नवलपरासी पश्चिमको सुनवल नगरपालिका घर भएका १९ वर्षीय युवक २०७७ मङ्सिरमा र भायोनेट प्रकरणमा संलग्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक युवकलाई २०७७ पुसमा पक्राउ गरेको थियो ।

यी ह्याकिङ प्रकरणमा संलग्न व्यक्तिहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको भनी कारबाही प्रक्रिया अघि बढ्यो । तर, व्यक्तिको तथ्याङ्क सङ्कलन गरेर सुरक्षित राख्न नसकेका कम्पनीको हकमा भने कुनै अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढेन । अनधिकृत सार्वजनिक भएका ती विवरण अहिले पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।मंगलबार समितिको १६२ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।

आजको बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

गलकोट (बागलुङ), २० माघः सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् ।

गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गर्नुभयो । यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा रु चार करोड भित्रिएको छ ।

खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गर्नुभयो । आफूजस्ता एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताउनुभयो । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् ।

सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौँ र चितवनमा छ । कोदो बारी र धान खेत मासेर यहाँका किसानले २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान अहिले धमाधम सुन्तलाखेती विस्तारमा छन् । सिगानामा अबको पाँच वर्षमा गाउँ नै ढाकिनेगरी सुन्तलाखेती विस्तार भइरहेको छ । सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउनटे क्रम जारी छ ।

गत वर्ष सुन्तला बिक्रीबाट रु तीन करोड ५० लाख भित्र्याएका सिगानाका किसानले यस वर्ष चार करोड रकम भित्र्याएका छन् । सिगानामा समग्रमा रु ५० लाखको सुन्तला उत्पादनमा गत वर्षको तुलनामा वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताउनुभयो । उहाँले सहकारीमार्फत सुन्तलाखेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा पनि वितरण गर्दै आएको जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो । यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक–फरक मूल्यमा ठेकेदारले पोखरासहितका अन्य बजारमा पठाउने गरेका छन् । वडा कार्यालयले सुन्तलाको तथ्याङ्क समेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्याङ्क संकलन गर्ने कार्य थालिएकाले यो वर्ष चार करोड बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताउनुभयो ।

सिगानामा २५० भन्दा बढी किसानको सानादेखि ठूलो सुन्तला बगैँचा छ । यस वर्ष ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन सुुरु गरेका छन् । सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा सुन्तला उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले जानकारी दिनुभयो ।

यहाँका टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार र मलजलका कारण सुन्तलाखेती उत्पादन फस्टाउँदै गएको पाइएको छ ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० परिवारलाई मुआब्जा निर्धारण

दमौली (तनहुँ), २० माघ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ ।

यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न मुआब्जा निर्धारण समितिको बसेको थियो । सो बैठकले मन्त्रिपरिषद् बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्न मुआब्जा निर्धारण समितिलाई तोकिएको अतिरिक्त जिम्मेवारीका विषयमा छलफल भएको थियो ।

आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख डलरका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ।

नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।

यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ ।
नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेको छ भने यससँगै भारतीय मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति र उत्साह देखिनेछ ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ।

विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

यस विश्वकपमा समूह ‘ए’ मा भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

सिँचाइ सुविधा पुगेपछि व्यावसायिक तरकारी खेतीमा रमाउँदै श्यामशिलाका किसान

भोजपुरको पौवादुङमा गाउँपालिकाका किसानहरू सिँचाइ सुविधाले व्यावसायिक तरकारी खेतीमा लागेका छन्।सिँचाइ पोखरी निर्माणपछि किसानहरूले बन्दा, काउली, मटरकोसा, लसुन, मूला र आलु जस्ता नगदेबाली उत्पादन गर्न थालेका छन्।

प्रदेश सरकारको बजेटबाट सिँचाइ पोखरी बनेपछि किसानलाई कृषि एम्बुलेन्स सेवामार्फत बजारसम्म पुर्‍याइँदैछ।भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा सिँचाइ पोखरी निर्माण भएर एकैसाथ २१ घरपरिवारलाई सिँचाइको पहुँच पुगेपछि किसानहरुमा उत्साह थपिएको हो ।

विगतमा पानीको अभावले परम्परागत खेतीमा सीमित स्थानीय किसानहरु अहिले बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला र आलु जस्ता नगदेबाली उत्पादनमा जुटेका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा भएपछि आफूले तीन रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेको बताए । पानीको अभाव हट्दा खेती गर्न निकै सहज भएको र यसले आम्दानीको बाटो खोलेको उनको भनाइ छ ।

प्रदेश सरकारको क्रमागत बजेटबाट प्राप्त ३० लाख रुपैयाँ खर्चेर तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरिएपछि यस क्षेत्रको सिँचाइ समस्या समाधान भएको हो । वडाध्यक्ष राजेन्द्र राईका अनुसार तरकारी उत्पादनका लागि यो क्षेत्र उपयुक्त भए पनि पानीको समस्याले किसानहरु पछि परेका थिए, जुन अहिले हटेको छ ।

बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ को साथ
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ‘एक घर, एक टनेल’ कार्यक्रम र सिँचाइ पोखरी निर्माणलाई तीव्र बनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सडक सञ्जालको पहुँच पुगिसकेकाले यहाँ उत्पादित तरकारी बिक्री गर्न बजारको समस्या नभएको उल्लेख गरिन् ।

गाउँपालिका अध्यक्ष किरण राईले किसानलाई आत्मनिर्भर बनाउन भूगोल र माटो सुहाउँदो जैविक खेतीमा जोड दिएको बताए । किसानले उत्पादन गरेका सामग्री सहजै बजारसम्म पुर्‍याउन गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा समेत सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको प्राविधिक सहयोग र अनुदान कार्यक्रमले स्थानीय युवा तथा किसानलाई व्यावसायिक कृषिमा टिक्न थप प्रोत्साहन मिलेको छ ।

कौराह गीत ‘हाँसी राखन माया बोलि राखन’ सार्वजनिक

काठमाडौँ। लोक दोहोरी गायिका कला गुरुङको मौलिक कौडा (कौराह) गीत ‘हाँसी राखन माया बोलि राखन’ सार्वजनिक गरिएको छ।काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। शिव खाम्चा मगरको शब्द तथा भाकामा तयार गरिएको यस गीतमा सागर बिरही र कला गुरुङको स्वर रहेको छ।

गीतको म्युजिक एरेञ्जसँगै कथा तथा भिडियो निर्देशन सागर बिरही आफैँले गरेका हुन्। भिडियोमा मनोज गुरुङ र चाहना मगरको अभिनय देख्न सकिन्छ। मौलिक कौराह भाकामा निर्माण गरिएको गीतमा गोरखा र तनहुँको भुगोललाई प्रेमिल रससँग सुन्दर रूपमा मिश्रण गरिएको छ।

संगम इन्टरटेनमेन्टको ब्यानरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा राजाराम सिंखडाको सिनेमेटोग्राफी, सुरेश श्रेष्ठको डीओपी, सुजन कोइरालाको सम्पादन तथा कलर रहेको छ। मेकअप बिमलाले गरेकी हुन्।गीतको भिडियो कला गुरुङ अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाः लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी। बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन एक वर्ष निर्माण अवधि भएको योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकारले रु तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएसडीएस धवलागिरि छनोट भएको थियो ।

विसं २०८२ असार १६ गते रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म थियो । निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको, स्थानीयस्तरमा सहजीकरण, निगरानी र सम्बद्ध कार्यालयबाट भएको समन्वयका कारण लक्ष्यअघि नै योजना सम्पन्न भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

“धेरैजसो आयोजना ढिलासुस्तीले थला परेका अवस्थामा व्यवसायी, सम्बद्ध कार्यालयको इच्छाशक्ति र स्थानीयस्तरमा सहजीकरण गरेर काम हुने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश प्रवाह भएको छ”, उहाँले भन्नुभयो, “योजना निर्माणमा आउने सामाजिक समस्याको सहजीकरण गर्न सरोकार समिति बनाएका थियौँ ।”

यस योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो ।

यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हँुदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति योजना थालिएको हो ।

गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।

बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । अघिल्लो कार्यकालमा बेनी नगरपालिकामार्फत गलेश्वर–काउलेगौडा क्षेत्रमा करिब दुई किलोमिटर सडक स्तरोन्नति भएको थियो ।

बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा। पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ गरी एक हजार ८०६ जना किशोरीलाई उक्त खोप दिइने जानकारी दिनुभयो । विद्यालय बाहिर बुढीगङ्गामा १६, बडीमालिकामा छ र त्रिवेणी नगरपालिकामा एक गरी २५ किशोरी रहेका छन् ।

गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो । यो वर्ष नियमित खोपअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी र विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिने छभने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ । खोप अभियान गौमुल गाउँपालिका तथा बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा माघ २७ गते, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा माघ २८ देखि तथा हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि सञ्चालन हुने निमित्त प्रमुख खड्काले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको हो । गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले पाठेघरको क्यान्सरविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बाँकी हिमाली भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निजहरूले कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।”

पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट रिसवतबापत लिइएको रु १० हजार, सोही घर्राबाट स्रोत नखुलेको रु ४० हजार ३५० र निजको साथबाट स्रोत नखुलेको रु ९६ हजार ७०, नायब सुब्बा रिजालको साथबाट रिसवतबापत लिइएको रु २० हजार, स्रोत नखुलेको रु १८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकमसमेत गरी रु दुई लाख ६८ हजार २८८ तथा विभिन्न व्यक्तिबाट लिइएका मोबाइल २३ थानसमेत नियन्त्रणमा लिइएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटकको आगमन

गण्डकी। सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पाँच हजार ५३ स्वदेशी एवं विदेशी पर्यटकको आगमन भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६को सुरुवाती दिनदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवं वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याइएकामा उक्त केन्द्रमा जनवरी १ देखि ३१ गतेसम्मको पर्यटक सङ्ख्या अभिलेखीकरण गरिएको हो ।

एक महिनामा भित्रिएका कूल पाँच हजार ५३ पर्यटकमध्ये आन्तरिक पर्यटकको सङ्ख्या पाँच हजार २७ रहेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुुभयो । उहाँका अनुुसार त्यसमध्ये महिला दुुई हजार २७६ जना छन् भने पुुरुष दुई हजार ७५१ जना छन् ।

यस अवधिमा सिक्लेस आउने विदेशी पर्यटक २६ जना रहेकामा पुरुष १६ जना र महिला १० जना रहेको उहाँले जानकारी दिनुुभयो । केन्द्रमार्फत पर्यटकको तथ्याङ्कसँगै यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीका साथै यहाँस्थित होटेल तथा घरबासलगायत विषयमा जानकारी प्रदान गरिएको थियो ।

जङ्गलले घेरिएको बस्ती, ढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ ।

पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यहरुमा पदयात्रा गर्न सकिन्छ ।

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा

महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन् ।जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका हुन् ।

जलेश्वर नगरपालिकाका १२ वटा वडा, मटिहानी नगरपालिकाका नौ, मनराशिशवा नगरपालिकाका-८, ९ र १०, पिपरा गाउँपालिकाका-१, २, ३, ४, ५ र ७ तथा एकडारा गाउँपालिकाका-१, २, ३, ४ र ५ वडाका मतदाताले चुनावी अभियानमा खटिएका दलका उम्मेदवारसँग कानुनी थिति र विधिको प्रश्न उठाउँदै सुशासनको अनुभूति गर्न नपाइएको गुनासो गरेका हुन् ।

लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गरेको संविधान र तदनुरुपका ऐन कानुन भए पनि तिनको कार्यान्वयन पक्ष स्वच्छ र निष्पक्ष हुन नसक्दा जनताले सुशासनको अनुभूति गर्न नपाएका मटिहानी-८ का मतदाता इसराफिल राइनले बताउनुभयो ।

“संविधान छ, कानुन छन् तर कार्यान्वयन पक्ष कमजोर छ । संविधान र कानुनबमोजिम सबै हकअधिकार सुनिश्चित हुनुपर्ने जनताको चाहना छ ।” सबैमा सामाजिक न्यायको सहज पहुँच नहुनु र संविधानले निर्दिष्ट गरेका संवैधानिक हकबाट निमुखा जनता पाखा पर्नु मुख्य समस्याका रूपमा देखिएको उहाँको भनाइ छ ।

पूर्वाधार निर्माणका सरकारी योजनामा बढेको बेथितिले भ्रष्टाचार व्याप्त भएको युवा मतदाता बताउँछन् । कुनै एउटा योजनाका लागि पारदर्शिता र जवाफदेहिता नहुँदा संस्थागत रूपमा नै बेथिति बढेको जलेश्वर-४ का धीरेन्द्र रायले बताउनुभयो । यो बेथिति अन्त्य गर्न राजनीतिक इच्छा शक्ति आवश्यक पर्नेमा जोड दिँदै उहाँले आसन्न निर्वाचनमा दल र उम्मेदवारले भ्रष्टाचार अन्त्यका लागि स्पष्ट खाका प्रस्तुत गर्नसक्नु धारणा राख्नुभयो ।

कृषि यहाँका जनताको प्रमुख पेसा भए पनि सरकारले कृषि क्षेत्रका लागि घोषणा गरेका सुविधा गाउँबस्तीका किसानले पाउन नसकेका मतदाताको गुनासो छ ।

यस्ता सुविधा पनि पहुँच भएकाहरूले मात्र पाउँदा वास्तविक किसान मर्कामा पर्ने गरेका स्थानीय बस्तीका प्रवीण कर्णले बताउनुभयो । “काममा पारदर्शी र जवाफदेही थिति बसाउन सकिए मात्र सुशासनको अनुभूति हुनसक्छ”, उहाँले भन्नुभयो ।

विकास निर्माणका कामका लागि बन्ने उपभोक्ता समितिदेखि रकम प्रवाह गर्ने अड्डासम्म ‘सेटिङ’ मा काम गरिने परिपाटी हुर्कंदा राजनीतिक क्षेत्र पनि अविश्वासको पात्र बन्दै गएका जलेश्वर-७ बखरीका हरिभुषण रायले धारणा राख्नुभयो । यो परिपाटी अन्त्य गर्न सकिए राजनीतिक क्षेत्रमा मौलाएको बेथिति आफैँ घट्दै उहाँको भनाइ छ ।

“अहिलेको मुलुकको समस्या राजनीतिक क्षेत्रको आर्थिक बेथिति हो”, रायले भन्नुभयो, “अब टालटुले कुराले यो अन्त्य हुँदैन, राजनीतिमा सुदृढ इच्छाशक्तिले यसको बाटो कोर्न सक्छ ।” आसन्न निर्वाचनको मुखमा मतदाता यस्ता सुदृृढ इच्छाशक्तिका उम्मेदवार पर्खी बसेका उहाँको भनाइ छ ।

जलेश्वर नगर क्षेत्र, एकडारा र मटिहानीका बस्ती बर्सेनि बर्खामा डुबानमा पर्दै आएका छन् । रातु र बिगही नदीको ताण्डव रोक्न नदी नियन्त्रणको पक्की तटबन्ध हुनुपर्ने जनताको माग छ । यी समस्या बुझ्नसक्ने र सम्बोधनको आँट देखाउने उम्मेदवार चाहिएको जलेश्वर-८ का धिरु मण्डलले बताउनुभयो ।

आसन्न निर्वाचनका लागि यहाँ २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दलबाट एक र स्वतन्त्र एक गरी दुई जना महिला उम्मेदवार छन् । प्रतिस्पर्धामा रहेका जसपा नेपाल, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), राष्ट्र निर्माण दल र नेपाल सङ्घीय समाजवादी पार्टी छन् ।

यसैगरी, श्रमसंस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, आमजनता पार्टी र नेकपा (संयुक्त) सहितका दल पनि यहाँ प्रतिस्पर्धामा छन् । निर्वाचनसँग जोडिएर उम्मेदवार र दलका कार्यकर्ताको बढ्दो चहलपहल र बस्तीबस्तीमा सर्वसाधारणले गर्ने चुनावी आँकलनले अहिले महोत्तरी-३ को चुनावी वातावरण बन्दै गएको छ ।

यस क्षेत्रमा यसपालि एक लाख १० हजार ४३६ मतदाता छन् । यो सङ्ख्या जिल्लाका अन्य तीन क्षेत्रभन्दा बढी हो । यस क्षेत्रको भारतसँग २५ किलोमिटर सीमा जोडिएको छ ।

भारतसँगको सीमासँगैका यहाँका मतदानस्थल संवेदनशील मानिएका छन् । यहाँ ७७ मतदानस्थलमा १४२ मतदानकेन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । भारतसँग सीमा जोडिएको यस क्षेत्रका मतदानस्थलको उच्च सुरक्षा प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जंगलमा लुकाइ राखेका बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक फेला

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा बेवारिसे अवस्थामा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको हो । जंगलमा राखेर रातको समयमा चोरी सिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।

बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानअन्तर्गत यसअघि ११५ थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । सोमबार पनि सोही अभियानअन्तर्गत खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक बरामद भएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका युनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा संकलन ‘अप्रेसन’ चलाएको थियो । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८, मङ्गला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २०, धवलागिरि गाउँपालिकाबाट छ थान भरुवा बन्दुक बरामद गरिएको थियो अवैध बन्दुक भएमा प्रहरीलाई बुझाउन वा खबर गर्न प्रहरी नायब उपरीक्षक थापाले सबैलाई अनुरोध गरेका छन्। अवैध बन्दुकसहित फेला पारेमा पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ ।

अनुगमनमा कैफियत देखिएपछि विभागद्वारा एक स्टोरलाई १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ ।विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो ।

यस्तै, गणपति जी ट्रेडर्सलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिइ एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले थप १४ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ ।

छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

काठमाडौं, माघ २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको उनले बताए ।

नाम हटाइनेमा नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना समानुपातिक उम्मेदवारको नाम हटाइएको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, दुई वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक र मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई जनाको नाम हटाइएको हो ।

यसैगरी, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण एक जनाको नाम हटाइएको छ । सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताए। माथि उल्लेख गरिएका कारणमध्ये एकभन्दा बढी कारण परेका दुई जना पनि बन्दसूचीबाट हटाइएका छन् ।

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३९ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ५८ र बिक्रीदर ३८१ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताउनुभएको छ ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको आज अवलोकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गर्नुभयो ।

“यहाँका सरकारी निकाय, निजी क्षेत्र तथा शैक्षिक संस्थासँग निरन्तर संवाद र सहकार्य बढाउनेतर्फ विशेष ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो । विदेशमा रहेका नेपाली नियोगहरु नेपाल सरकारका विस्तारित अङ्गहरु भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्धता अनिवार्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

“नेपालमा वैदेशिक लगानी आकर्षित गर्न राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गरी प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

यहाँ रहेका श्रमिक तथा विद्यार्थीहरूको अधिकार, सुरक्षा र मर्यादाको संरक्षण दूतावासको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उहाँले उनीहरूका समस्या, गुनासा र आवश्यकताहरूलाई संवेदनशीलताका साथ सुन्ने र समयमै समाधान गर्ने संयन्त्रलाई थप सुदृढ बनाउन जोड दिनुभयो । “नेपाली भाषा, कला, संस्कृति र परम्पराको प्रवद्र्धनमार्फत जनस्तरको सम्बन्ध अझ बलियो बनाउने कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार टोकियो पुग्नुभएको हो ।

उहाँले यसअघि आजै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । यहा रहँदा जापानका सम्राट र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले दूतावासले गर्दै आएको काम, दिएको सेवा, भोगेको समस्या तथा दुई देशबीचको सम्बन्ध विस्तारमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

‘राष्ट्रिय आर्थिक गणनाका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ। सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा अन्तरक्रिया गरिएको थियो

उद्योगी व्यवसायीहरुसँग गरिएको अन्तक्र्रियामा सहभागी उद्योगी व्यवसायीहरुले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए । नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो ।

अन्तक्र्रियामा महासङ्घका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताउँदै नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको सक्रिय सहभागिता बिना गणना सफल हुन नसक्ने बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि महासङ्घ तयार रहेको बताउनुभयो ।

तथ्याङ्क कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्याङ्क सङ्कलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणना आगामी वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गर्न लागेको हो । कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक डा वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना २०८२ को आवश्यकता, उद्देश्य र यसको महत्वबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

अस्तव्यस्तताले योजनाबद्ध व्यवस्थापनको सम्भावना सिर्जना गर्छ : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट बाहिरिने दिशामा अघि बढिरहेको अवस्थामा सन् २०२५ मा सहयोगमा आएको नाटकीय कटौतीले डब्लुएचओलाई पुनः योजना बनाएर अघि बढुने अवसर सिर्जना गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले सोमबार बताएका छन् ।

परम्परागत रूपमा संयुक्त राष्ट्र स्वास्थ्य निकायको सबैभन्दा ठूलो दाता वाशिङ्गटनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा वैदेशिक सहायता खर्च घटाएको छ, जसले जनवरी २०२५ मा आफ्नो कार्यकालको पहिलो दिन डब्लुएचओलाई आफ्नो देशको फिर्ताको एक वर्षको सूचना बुझाएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले डब्ल्युएचओकोे वार्षिक कार्यकारी बोर्ड बैठकमा सन् २०२५ ‘निर्विवाद रूपमा हाम्रो सङ्गठनको इतिहासको सबैभन्दा कठिन वर्षहरू मध्ये एक’ भएको बताए।

“हाम्रो कोषको महत्त्वपूर्ण कटौतीले हामीलाई हाम्रो कार्यबलको आकार घटाउनु बाहेक कुनै विकल्प थिएन,” उनले भने ।

टेड्रोसले भने, “एक बर्षमा एक हजारभन्दा बढी कर्मचारीहरू बिदा भएका छन् । यस्तो झट्का डब्ल्यूएचओले देखेको सम्भावना थियो, जसले प्रमुख दाताहरूमाथि अत्यधिक निर्भरताबाट टाढा जाने प्रयास गरेको थियो र यसको पुनः अभिमुखीकरणलाई अन्तिम रूप दिइएको थियो ।”

“हामीले अब धेरै हदसम्म प्राथमिकता र पुनर्गठनको काम पूरा गरिसकेका छौँ। हामी स्थिरताको स्थितिमा पुगेका छौँ र अगाडि बढिरहेका छौँ,” टेड्रोसले भने ।उनले भन्नुने, “बितेको एक वर्षमा हामीले ठूलो सङ्कटको सामना गरेका छौँ, तर हामीले यसलाई अवसरका रूपमा पनि हेरेका छौँ । यो एक कमजोर डब्ल्यूएचओको लागि आफ्नो मूल अभियानमा बढी केन्द्रित हुने अवसर हो।”

उनले सदस्य राष्ट्रहरूलाई स्वैच्छिक योगदानमा डब्ल्यूएचओको निर्भरता कम गर्न बिस्तारै आफ्नो सदस्यता शुल्क बढाउन आग्रह गरे ।यसको उद्देश्य सदस्यता शुल्कले अन्ततः डब्ल्युएचओको ‘दीर्घकालीन स्थिरता, स्थिरता र स्वतन्त्रता’ सुरक्षित गर्न बजेटको ५० प्रतिशत हिस्सालाई समेट्नु हो।

उहाँले भन्नुभयो, “मेरो मतलब सदस्य राष्ट्रहरूबाट स्वतन्त्र हुने होइन। पक्कै पनि, डब्ल्यूएचओ तपाईंको हो र सधैं रहनेछ।“उहाँले थप व्याख्या गर्दै भन्नुभयो, “मेरो मतलब सीमित दाताहरूमा निर्भरता नहुनु हो। लचिलो, अप्रत्याशित कोषमा गैर–निर्भरता वास्तविक डब्ल्युएचओ हो । अबदेखि यो सबैभन्दा ठूलो दाताहरूको ठेकेदार होइन।

“डब्ल्युएचओ एक निष्पक्ष, विज्ञानमा आधारित सङ्गठन हो, जुन प्रमाणले के भन्छ भनेर भन्न डर वा दवावबिना काम गर्न स्वतन्त्र छ,” उहाँले भन्नुभयो ।सोमबारदेखि शुरु भएको र शनिबारसम्म चल्ने कार्यकारी बोर्डको बैठकमा संयुक्त राज्य अमेरिका र अर्जेन्टिनाको फिर्तीसम्बन्धी सूचनाबारे छलफल हुनेछ ।

कुनै पनि अन्य सदस्य राष्ट्रको विपरीत, संयुक्त राज्य अमेरिकाले सन् १९४८ मा सङ्गठनमा सामेल हुँदा एक वर्षको सूचनाको सर्तमा यसबाट फिर्ता लिने अधिकार सुरक्षित राखेको थियो ।
वाशिङ्गटनले डब्ल्युएचओबाट बाहिरिने आफ्नो प्रक्रियालाई गत बर्षदेखि नै अघि बढाए पनि सन् २०२४ वा सन् २०२५ को बक्यौता भुक्तान गरेको छैन । यसले करिब २६ करोड बक्यौता तिर्न बाँकी रहेको छ।

युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि

काठमाडाैँ । रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधबारदेखि नयाँ चरणको वार्ता सुरु हुने पुष्टि गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार र बिहीबार युएईको राजधानीमा वार्ता हुने बताएको एक दिनपछि मस्कोले ढिलाइको लागि तालिकाको मुद्दालाई जिम्मेवार ठहराएको छ।

“तिनीहरू वास्तवमै गत आइतबारको लागि योजना बनाइएका थिए। तर तीन पक्षको तालिकामा थप समन्वय आवश्यक थियो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताए ।
उनले भने, “अब बुधबार–बिहीबार दोस्रो चरणको खेल हुनेछ । यो अबु धाबीमा आयोजित हुनेछ। हामी यसको पुष्टि गर्न सक्छौं।”
यो वार्ता मस्कोले युक्रेनविरुद्ध पूर्ण मात्रामा आक्रमण सुरु गरेको चौथो वार्षिकोत्सव भन्दा दुई हप्ता भन्दा कम समय अघि हुनेछ ।

उनीहरूले रूसले आक्रमण गरी कब्जामा लिएको पूर्वी डोनबास क्षेत्रको महत्त्वपूर्ण मुद्दामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ तर अहिलेसम्म कुनै पनि पक्षले सफलताको कुनै संकेत देखाएका छैनन्।

वाशिङ्गटनले दुई छिमेकीहरूबीचको दसौं हजारको ज्यान लिएको युद्ध अन्त्यको लागि जोड दिइरहेको छ । युद्धबाट लाखौँ व्यक्तिलाई आफ्नो घर छोड्न बाध्य पारेको छ र पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग नष्ट गरेको छ।

संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छ : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताएका छन् ।नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. २ को आयोजनामा आज विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले फागुन २१ गते हुने चुनावमा पूर्णशक्तिका साथ होमिन पार्टी पङ्क्तिलाई आग्रह गरे ।

“विघटित संसद् पुनःस्थापना हुँदैन”, उनले भने, “अदालती सुनुवाइ प्रक्रिया लामो हुन्छ । त्यसैले तोकिएको मिति फागुन २१ मा चुनाव हुन्छ ।”

उनले पार्टीको नेतृत्व बदलेको कांग्रेस अब देशको मुहार बदल्ने अभियानमा होमिएको जनाउँदै विशेष महाधिवेशनमार्फत नेतृत्वमा युवालाई निर्वाचित गरेर कांग्रेस नवीन पार्टी बनेको बताए।

उपसभापति शर्माले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी फागुन १ देखि २१ गतेसम्म आफ्नो निर्वाचन क्षेत्र नछाडी पार्टीका उम्मेदवारहरुको पक्षमा मत माग्न निर्देशन दिँदै पार्टीले १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको बताए।

जेनजी आन्दोलनको माग सम्बोधन गर्ने सामर्थ्य नेपाली कांग्रेसमा रहेको धारणा व्यक्त गर्दै उनले पार्टी बदलेर अब देश बदल्ने संकल्पका साथ आफूहरु लागिरहेको बताए। जेनजी आन्दोलनपछि टुटेको जनविश्वासलाई जोड्ने तागत कांग्रेससँग रहेको जनाउँदै उनले विशेष महाधिवेशनपछि पार्टी एकढिक्का भएको बताए।

कविता नेपाली एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृत नियुक्त

काठमाडौँ, १९ माघ : सगरमाथा आरोही एवं कलाकार कविता नेपालीलाई एभरेस्ट समिटर्स समिटको जनसम्पर्क अधिकृतमा नियुक्त गरिएको छ ।

एभरेस्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सगरमाथा आरोही एवं कलाकार नेपालीलाई जनसम्पर्क अधिकृत नियुक्त गरिएको जानकारी दिएको हो । एलायन्सका अध्यक्ष सुदर्शन नेपालले आगामी दुई वर्षका लागि कलाकार नेपालीसँग सम्झौता गरिएको जानकारी दिनुभयो । नेपालीले सन् २०२५ मे १८ मा सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा कलाकार नेपालीले आफूले पर्वतारोहण, फोहर व्यवस्थापन, हिमाली संरक्षण र जिम्मेवार पर्यटन प्रवद्र्धनमा योगदान दिने बताउनुभयो । एभरेस्ट समिटर्स समिट आगामी मे २७ मा काठमाडौँमा आयोजना हुँदैछ । –

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज यहाँको चौबिसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । महाअभियानको सडक सभाअन्तर्गत केन्द्रीय संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

चौबिसकोठीमा सडकमै गाडी रोकेर सभा गर्न खोज्दा प्रहरी र सभामा सहभागी हुन आएकाबीच केही समय चर्काचर्की परेको थियो ।महाअभियानलाई स्थानीय प्रशासनले हाकिमचोकको केन्द्रीय बस टर्मिनलमा कार्यक्रम गर्ने स्थान तय गरेको भए पनि अभियानका सदस्यहरु बल प्रयोग गरेर चौबिसकोठीमा कार्यक्रम गर्न लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।

दुई करोड अमेरिकी डलर घुस लिएको आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैदको सजाय

बेइजिङ। एक दशकभन्दा बढी अवधिमा झण्डै दुई करोड अमेरिकी डलर घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्वन्यायमन्त्रीलाई सोमबार आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २०२० देखि सन् २०२३ सम्म ६४ वर्षीय ताङ यिजुन चीनको न्यायमन्त्री रहनुभएको थियो । उहाँले लियाओनिङ प्रान्तका गभर्नर र निङ्बो शहरका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का प्रमुखसहित विभिन्न पदहरू सम्हाल्नुभएको थियो ।

राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएदेखि नै भ्रष्टाचार विरोधी व्यापक अभियान चलाउनुभएको छ, यद्यपि यसलाई आलोचकहरूले उहाँले सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्ने रणनीति अपनाएको आरोप लगाउने गरेका छन् ।

पूर्वी चीनको ‘सियामेन इन्टरमीडिएट पिपुल्स कोर्ट’ले एक विज्ञप्तिमा भनेको छ, “ताङले सन् २००६ देखि सन् २०२२ को बीचमा ‘विभिन्न संस्था र व्यक्तिहरूका लागि लाभ प्राप्त गर्न’ क्रमिक रूपमा धारण गरेका पदहरूसँग सम्बन्धित फाइदाहरूको दुरुपयोग गरेको देखिन्छ।”

भुक्तानीको बदलामा पूर्व अधिकारीले व्यक्ति र कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक बोलपत्र निष्कासन, बैङ्कको ऋण सुरक्षित गर्न, जग्गा अधिग्रहण गर्न र अन्य मामिलामा सहयोग गरेको अभियोग लागेको थियो।

ताङले कुल १३७ मिलियन युआन (१९.७ लाख डलर) प्राप्त गरेको थियो। अदालतले भनेको छ, “यसले भ्रष्टाचार कम गर्ने परिस्थितिहरूलाई ध्यानमा राखेको छ । ताङले आफ्नो गिरफ्तारीपछि अभियोग स्वीकार गरेको, पश्चाताप व्यक्त गरेकोे, दोषी स्वीकार गरेको र अनुसन्धानमा सहयोग गर्नुभएको छ।”

अर्का पूर्व चिनियाँ न्यायमन्त्री फु झेङहुआलाई सन् २०२२ मा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो। उहाँले दुई वर्षको राहतको साथ मृत्युदण्डको सजाय पाउनुभएको थियो तर पछि सजाय आजीवन कारावासमा परिवर्तन भएको थियो ।

अधिकारीहरूले गत महिना चीनका सबैभन्दा शक्तिशाली जनरल झाङ युक्सियामाथि भ्रष्टाचार विरोधी अनुसन्धान सुरु गरिरहेका छन्। उहाँ हालैका दशकहरूमा पदबाट हटाइएको सबैभन्दा उच्च सैन्य व्यक्तित्व हनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचनः सिरहा– १ मा पुराना दललाई नयाँको चुनौती

सिरहा। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं १ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सातवटा निर्वाचनमध्ये चार पटक नेपाली कांग्रेस र दुई पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जितेको यो क्षेत्रमा यसपटक विरासत जोगाउने पुरानै चुनौतीका बीच नयाँ शक्तिहरूको उदयले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ ।

२०४८ सालदेखि २०७९ सम्मको चुनावी इतिहास हेर्दा यो क्षेत्रमा मुख्य शक्तिहरूले आलोपालोझैँ गरी मत आफ्नो पक्षमा पारेका थिए । कांग्रेसले २०४८, २०५१, २०७० (संविधानसभा) र २०७४ मा यहाँ जित हासिल गरेको थियो । एमालेले २०५६ र २०७९ मा बाजी मार्दा २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरमले जित निकालेको थियो ।

यसपटक कांग्रेसले नयाँ अनुहारका रूपमा रामसुन्दर चौधरीलाई मैदानमा उतारेको छ । आफ्ना प्रभावशाली नेताहरू पदमनारायण चौधरी र बौद्धिक व्यक्तित्व स्व प्रदीप गिरीको विरासत थाम्ने दबाब कांग्रेसलाई छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निवर्तमान सांसद रामशङ्कर यादव दोहोरिएर चुनावी मैदानमा हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट २९ हजार ४६२ मत ल्याई विजयी हुनुभएका यादवका लागि आफ्नो सिट सुरक्षित राख्ने चुनौती छ ।

एमाले विभाजनपछि माधव नेपाल नेतृत्व हुँदै नेपाली कम्युनिष्ट पार्टीबाट रामचन्द्र यादव उम्मेदवार हुनुहुन्छ । २०५६ सालमा एमालेबाट निर्वाचित भइसक्नुभएका यादव यसपटक ‘जेनजी’ आन्दोलनले उठाएका मुद्दाहरू आफ्नो पार्टीले आत्मसात् गरेकाले जनताले आफूलाई रोज्ने दाबी गर्नुहुन्छ ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सत्यनारायण यादव सङ्घीयता र आरक्षणका लागि भएको आन्दोलनको मूल्य चुकाउन आफू उम्मेदवार बनेको बताउनुहुन्छ । यस निर्वाचनमा सबैभन्दा धेरै चर्चाको केन्द्रमा चुनावी सरकारका युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका बब्लु गुप्ता हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्याशी बन्नुभएका गुप्ता ‘जेनजी’ आन्दोलनको जगमा उभिएर सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डासहित चुनावी मैदानमा हुनुहुन्छ । उहाँका बुबा, कांग्रेसका पुराना नेता तथा पूर्वजिल्ला उपसभापति विष्णु गुप्ताको व्यक्तिगत प्रभाव र युवा पुस्ताको जोसका कारण यो क्षेत्रको चुनावी चर्चाको केन्द्रमा उहाँ पर्नुभएको हो ।

धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नं सम्म गरी कूल ४१ वडा रहेको सिरहा १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी एक लाख ११ हजार ९४९ मतदाता छन् । नयाँ र पुराना दलका गरी १४ दलीय र १८ स्वतन्त्र गरी ३२ जना उम्मेदवार रहेको यो क्षेत्रमा उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवारको रुपमा लहान १ की सुलोचना कुश्मी गरी दुई महिला उम्मेदवार छन् ।

पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस १६ हजार ४८८, एमाले १३ हजार ३३७, जसपा नेपाल १० हजार ४८१, माओवादी केन्द्र एक हजार ७१३, एकीकृत समाजवादी सात हजार ८६० र जनमत पार्टीले आठ हजार १३८ मत पाएका थिए ।

विगतको यो मत परिणामले कुनै पनि दलको स्पष्ट पकड नरहेको देखाउँछ । पुरानो राजनीतिक विरासत र नयाँ पुस्ताको ‘परिवर्तन’ को चाहनाबीच आगामी २१ फागुनको निर्वाचनमा सिरहा १ का जनताले कसलाई आफ्नो प्रतिनिधि छान्छन् भन्ने विषय रोचक बनेको छ ।

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण, कुन चलचित्रले कति कमाए ?

काठमाडौँ। चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले सिनेमा हलमा प्रदर्शनरत नेपाली चलचित्रको शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो ।

विवरणअनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन ।

हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले शनिबारसम्म रु एक करोड २८ लाख ५२ हजार ३१९ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल ४० हजार ६२४ वटा टिकट बिक्री भएका छन् ।

भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यही माघ १ गतेदेखि माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शन सुरु गरिएका तीन चलचित्रले पनि उत्साहजनक व्यापार गर्न नसकेको बोर्डद्वारा सार्वजनिक तथ्याङ्कमा छ । ‘बल्छी धुर्वे’ का रूपमा टेलीशृङ्खलामा परिचित मरिचमान श्रेष्ठले निर्देशन गर्नुभएको चलचित्र ‘गोबर गणेश’ ले रु एक करोड ३६ लाख २० हजार ८६६ कमाएको छ ।

निर्देशक श्रेष्ठसँगै वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको उक्त चलचित्रको ४८ हजार ५३ वटा टिकट बिक्री भएका छन् ।

माघ १ देखि प्रदर्शन सुरु भएको चलचित्र ‘मिरमिरे’ ले रु ३३ लाख ९३ हजार ७२५ कमाएको छ । बुबाछोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय गर्नुभएको छ । यम शेर्पाको निर्देशनमा तयार भएको उक्त चलचित्रको १० हजार ८८४ वटा टिकट बिक्री भएका विवरणमा उल्लेख छ ।

अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको चलचित्र ‘भाइरल गोर्खे’ ले सोही अवधिमा रु ३६ लाख १० हजार ९२५ कारोबार गरेको छ । सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई केन्द्रित गर्दै तयार गरिएको उक्त चलचित्र पनि माघ १ गतेदेखि प्रदर्शन भएको थियो ।

निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् । उक्त चलचित्रको सो अवधिमा ११ हजार २९८ वटा टिकट बिक्री भएको जनाइएको छ ।

यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले रु ३१ लाख नौ हजार ९२५ कारोबार गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रमा अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

दीपक सिवाकोटीले निर्माण गर्नुभएको उक्त चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको हो । विजय केरुङले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल ११ हजार छ टिकट बिक्री भएका छन् ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ ।

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी। कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा भएको छ ।भद्रपुर क्रिकेट क्लबको आयोजनामा बुधबारदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक गौरब सुब्बा (मनोज)ले जानकारी दिनुभयो ।

मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ, स्वास्थ्य सेवा, खेलाडीको आवास तथा यातायात व्यवस्थापनलगायत खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो ।

यहाँ कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरूको सहयोगमा करिब रु ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडौँ र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकेट क्बल लखनउ, क्रिकेट कोचिङ उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताका लागि करिब रु एक करोड २० लाख खर्च हुने आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले नगद रु पाँच लाख, उपविजेताले रु तीन लाख पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रु ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रु २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रु ११ हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रु ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले प्रतियोगितामा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत देखिएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव ६७ प्रतिशत र चार दशमलव १९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनाको औसत मुद्रास्फीति एक दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ९७ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव २० प्रतिशत, घ्यू तथा तेलको चार दशमलव ९६, र गैर–मदिराजन्य पेयपदार्थको तीन दशमलव ०४ प्रतिशतले बढेको छ । दाल तथा गेडाँगुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ५२, मरमसलाको तीन दशमलव ९२ र खाद्य तथा खाद्यजन्य पदार्थको तीन दशमलव ७० प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१ दशमलव ७५ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेयपदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ५७ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५, मधेस प्रदेशको तीन दशमलव ३७, बागमती प्रदेशको दुई दशमलव १०, गण्डकी प्रदेशको एक दशमलव ७६, लुम्बिनी प्रदेशको दुई दशमलव ६२, कर्णाली प्रदेशको एक दशमलव ०८ र सुदूरपश्चिम प्रदेशको एक दशमलव २७ प्रतिशत रहेको छ ।

यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ४८, तराईको दुई दशमलव ६५, पहाडको एक दशमलव ९४ र हिमालको दुई दशमलव ६६ प्रतिशत रहेको छ ।

गत पुस महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव १७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ०१ प्रतिशत रहेको थियो ।

उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव ५८ प्रतिशत रहेकोछ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः सात दशमलव ०७ प्रतिशत र दुई ५८ प्रतिशत रहेको छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क तीन दशमलव ४८ प्रतिशतले बढेको छ ।