महेश बस्नेतको कटाक्ष–‘बालेनको नाम बेचेर शासक बन्न खोज्नेहरूको दोहोरो चरित्र देखियो’
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नाम नलिई एक नेतामाथि तीखाे कटाक्ष गरेका छन्।
बस्नेतले हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाउनेहरू आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्ने, तर आफूमाथि सामान्य प्रश्न उठ्दा भावुक बनेर आँसु झार्ने गरेको आरोप लगाएका छन्।
उनले लेखेका छन्, – हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाएर उनीहरूका आँखाबाट बलिन्द्र आँसु झार्न बाध्य पार्नेहरू आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्थे। तर आज आफूमाथि सामान्य प्रश्न उठ्नेबित्तिकै भकानिएर आँसु झार्दै भावुकताको नाटक गरिरहेका छन्।
अरूलाई पीडा दिँदा कठोर, आफू आलोचित हुँदा भावुक हुने, अनि बालेनको आडमा उनको नाम बेच्दै आफूलाई अब्बल शासक ठान्ने यस्तो दोहोरो चरित्र बोकेको क्रूर र दम्भी व्यक्तिबारे जनताले यथार्थ बुझ्न आवश्यक छ। सजाय दिनुपर्ने ठाउँमा पुरस्कार दिएर जिताएका यस्ता नक्कली पात्रहरूको गोहीका आँसु समाजले बेलैमा नबुझे, भोलि अझ धेरै दुःख भोग्नुपर्ने अवस्था आउन सक्छ।
अब जनताले व्यक्तिको अभिनय, भावुकता र नाटक होइन, उसको काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्छ। आखिर शासनको असली परीक्षा आँसु बगाउने क्षमताले होइन, जनताको आँसु पुछ्ने क्षमताले हुन्छ।
