`

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गर्नुभएको हो ।

कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ । यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी सकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजनीतिक दल तथा उम्मेदवारलाई आमनिर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्न आयोगले ध्यानाकर्षण गराएको हो ।

राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुनेगरी तोकिएको पनि आयोगले जनाएको छ ।

यसैअनुसार मातहत निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट कार्यसम्पादन गर्न पनि निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग आबद्ध गर्नेगरी सु–संस्कृत व्यवहारको थालनी भएकाले सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा पनि आयोगले गरेको विज्ञप्तिमा उल्लेख छ ।

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो

कास्की। घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याटिक गरिन् ।

खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएकामा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन् ।

नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन सङ्घर्ष गरिरहेको थियो । खेलको ६७औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले गोल गरेपछि बङ्गलादेश फाइनलमा पुग्न सफल भयो ।

लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले आजनै सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो ।

प्रतियोगितामा दुई जित र एक हार बेर्होरेको भारत ६ अङ्क जोडेर फाइनल पुगेको हो । लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अङ्क जोड्दा भुटानले कुनै पनि अङ्क जोड्न सकेन ।

मधेस प्रदेशसभाले लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छः प्रदेश प्रमुख कर्ण

धनुषा। मधेस–प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेस–प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

जनकपुरधामस्थित मधेस–प्रदेशसभामा आज आयोजित प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा कर्णले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, सुशासन प्रवद्र्धन तथा जनअपेक्षाअनुसार कानुन निर्माणमा प्रदेशसभाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले परिकल्पना गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तर उकास्न प्रदेशसभा प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नुभयो ।

सोही अवसरमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामार्फत बनेका कानुनहरूले मधेस–प्रदेशको समग्र विकास, सामाजिक न्याय र समावेशिताको आधार तयार गरेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेशसभासँग समन्वय र सहकार्य गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले राजनीतिक स्थायित्व, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभामुख रामअशिष यादव, उपसभामुख बबिता राउत इसर, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, उच्च अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । वार्षिकोत्सवका अवसरमा विविध औपचारिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

काठमाडौँ उपत्यकामा जथाभावी पार्किङ गरिएका बस नियन्त्रणमा

काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा रात्री बसलाई नियन्त्रणमा लिइएको छ ।आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा ती बस नियन्त्रणमा लिइएको हो ।

लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगइ बाटोमै पार्किङ गरेको पाइएपछि नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका बसधनीलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

एमालेद्वारा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे ।

उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा अनेक पक्षहरू हावी भएर अघिल्लो सरकारलाई विस्थापन गर्ने स्थिति भएकाले जनताले यस कुरालाई मनन गर्ने विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको मुद्दाबारे चाँडै फैसला दिनुपर्नेमा पनि जोड दिए ।

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ, २१ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गरेका छन् ।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पु¥याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उनले विश्वास व्यक्त गरे ।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गरे ।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडिसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएको थियो । उनले सो समारोहलाई सम्बोधन गरेका थिए ।

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उनले सम्बोधन गरेका थिए । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका थिए ।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी, २१ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् ।

दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्व एवं प्रमुख जिल्ला अधिकारी सहसंयोजक रहेको निर्वाचन आचारसंहिता अनुगमन समिति रहेको उनले जानकारी दिए ।

उक्त समितिका सदस्यमा अनुगमन अधिकृतका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक एवं सुरक्षा निकायका प्रमुख रहेको उनले बताए । तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ४९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

चुनाव प्रचारप्रसारका लागि आगामी फागुन ४ देखि १७ गतेसम्म तोकिए पनि दलहरूले आफ्नो आन्तरिक तयारीस्वरुप चुनाव प्रचारप्रसार समितिका कार्यालय स्थापना एवं मतदाता भेटघाट लगायतका कार्यक्रमलाई अघि बढाएका छन् ।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कार्यालयले आवश्यक गृहकार्यसँगै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि पनि अनुगमन गरिरहेको जनाइएको छ ।

विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभाको विधायन समितिको आजको बैठकमा उनले समाजको कला संस्कृतिको यस्ता शब्दको महिमा जीवित राख्नुपर्ने धारणा राखे । समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफाबार छलफल गर्ने क्रममा सभाका सदस्यहरुले आ–आफ्नो मत राखेका थिए ।

बैठकमा समितिका सदस्य डा वेदुराम भुसालले विधेयकको शीर्षकनै परिमार्जन गर्नुपर्ने धारणा राखे । उनले नाम र सम्पदाको परिभाषामा रुपान्तरण गर्न रहेको बताए ।

त्यस्तै, सदस्य पदमबहादुर परियारले २३ वर्षदेखि बन्न नसकेको उक्त विधेयकलाई छिटोभन्दा छिटो लागू गराउनुपर्ने धारणा राखे । साथै उनले समाजमा संस्कृतिको रुपमा रहेका केहि लगत प्रथालाई भने संरक्षण गर्न नहुने सुझाव दिए । उनले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको समेत व्यवस्था हुनुपर्ने प्रष्ट कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिए ।

त्यस्तै, बैठकमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भाषाको सरलता र जनजीवनलाई सहज हुने शब्दाबली छनोट गर्न उपयुक्त हुने धारणा राखे ।

समितिका सभापति तुलसाकुमारी दाहालले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल निरन्तर हुँने बताउँदै सरोकारवालासँगसमेत आवश्यक रायसुझाव सङ्कलन कार्य भइरहेको बताए ।

मोदीद्वारा अमेरिकी व्यापार सम्झौताको स्वागत, विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

नयाँदिल्ली, २१ माघ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गरेका छन्, तर विपक्षी सांसदहरूले कृषि र संवेदनशील क्षेत्रमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रुसी तेल खरिद घटाउने वा रोक्ने सर्तमा आयात शुल्क घटाउने योजना घोषणा गरेका हुन् । यसअनुसार भारतले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने र पाँच खर्ब अमेरिकी डलर मूल्यको उत्पादन किन्न सुरु गर्ने व्यवस्था हुनेछ । मोदीले कर कटौतीबाट आफू खुसी भएको र ट्रम्पको नेतृत्वलाई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी दूतावासका प्रवक्ताले भारतमा अन्तिम आयात शुल्क १८ प्रतिशत हुने पुष्टि गरेका छन् । यसले भारतीय निर्यातकलाई ५० प्रतिशतसम्मको संयुक्त करको प्रभावबाट राहत दिने अपेक्षा गरिएको छ ।

विपक्षी राजनीतिक दलहरूले सम्झौतामा कृषि र दुग्धजस्ता संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै तल्लो सदनको कार्यवाही रोकेका छन् । अमेरिकी कृषिमन्त्री ब्रुकर रोलिङ्सले सम्झौताले अमेरिकी किसानलाई भारतमा निर्यात बढाउन, मूल्य उचाल्न र ग्रामीण क्षेत्रमा नगद प्रवाह गर्न मद्दत गर्ने बताएका छन् । सन् २०२४ मा भारतसँगको अमेरिकी कृषि व्यापार घाटा एक अर्ब ३० करोड डलर थियो ।

भारतीय व्यापारमन्त्री पियुष गोयलले संवेदनशील क्षेत्रहरू सम्झौतामा सुरक्षित गरिएको र भारतले उत्कृष्ट सम्झौता पाएको बताए । उनले जनतालाई आश्वस्त पार्दै सम्झौताले हरेक भारतीयको हितसँगै कृषि र अन्य संवेदनशील क्षेत्रको सुरक्षा पनि सुनिश्चित गर्ने बताए ।

विश्लेषकहरूले समयसीमा, कभर हुने उत्पादन र संवेदनशील क्षेत्रको सुरक्षा स्पष्ट नभएसम्म उत्सव मनाउन हतार नगर्न चेतावनी दिएका छन् । अमेरिकी सामानको पाँच खर्ब डलर आयातमा पुग्न हालको दरमा कम्तीमा दुई दशक लाग्ने अनुमान गरिएको छ ।

यस सम्झौताले भारत र अमेरिकी बजारबीचको व्यापार विस्तार गर्ने मात्र नभई श्रम–गहन, निर्माण र उच्च प्रविधि क्षेत्रमा पारस्परिक लाभदायक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । विशेषज्ञहरूले संवेदनशील क्षेत्रको संरक्षणबिना हतारमा सम्झौतामा प्रवेश गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।

मोदी र ट्रम्पबीचको यो सम्झौताले युक्रेनविरुद्धको युद्धका कारण रुसी तेलको निरन्तर खरिद रोक्ने पहलसँग सम्बन्धित रहेको बताइएको छ । ट्रम्पले एक्स प्लेटफर्ममा लेखेका छन्, “यसले युक्रेनमा युद्ध समाप्त गर्न मद्दत गर्नेछ, जहाँ प्रत्येक हप्ता हजारौँ मानिसको मृत्यु भइरहेको छ ।”

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौँ, २१ माघ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ ।

वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार छ सय ४५ रुपैयाँ ८४ पैसा दिलाएको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आज मृतकका श्रीमती उमादेवीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे ।

श्रमिक कानुनको २०७९ साउन २७ गते मृत्यु भएको थियो । कानुको रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका कारण उहाँका परिवार सामाजिक सुरक्षाबाट वञ्चित भएको थियो ।

पीडित पक्षका तर्फबाट श्रीमती उमादेवीले २०७९ कात्तिक २५ गते आश्रित परिवार सुरक्षा सम्बन्धमा पाउनुपर्ने सबै सुविधा उपलब्ध गराइँ पाऊँ भनी निवेदन दिएका थिए । कोषले २०७९ मङ्सिर १५ गते उक्त विषयमा जानकारी गराउन रोजगारदातालाई पत्राचार गरेको थियो ।

रोजगारदाता र पीडितपक्षबीच मिलापत्र हुन नसकेपछि कोषले आश्रित परिवार सुविधाबापतको सुविधा दिन रोजगारदातालाई आदेश दिएको थियो । कोषको आदेश चित्त नबुझेपछि रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरेकामा २०८० चैत १२ गते उच्च अदालतबाट कोषको फैसला सदर भएको थियो ।

उच्च अदालतको फैसलालाई लिएर रोजगारदाता सर्वोच्च पुगेपनि सर्वोच्चले कोषकै फैसलालाई सदर गरेको थियो । अदालती प्रक्रिया टुङ्गेपछि गत मङ्सिर २८ गते कोषले रोजगारदाताको बैङ्क खाता रोक्का राख्न नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो । सम्बन्धित रोजगारदाताका तर्फबाट आश्रित परिवारले पाउने रकम भुक्तानी गरेपश्चात उक्त खाता फुकुवा गरिएको कोषले जनाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ९ को उपदफा ४ मा कोषमा सूचीकरण नगर्ने, नगराउने वा योगदान रकम नबुझाउने रोजगारादतालाई बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता रोक्का, सम्बन्धित व्यक्ति वा संस्थाको चलअचल सम्पत्ति रोक्का, प्रचलित कानुन बमोजिम पाउने छुट सहुलियत निलम्न गर्न वा रोक्का, अनुमतिपत्र वा इजाजतपत्र निलम्बन र राहदानी रोक्का गर्न सक्ने अधिकार कोषलाई दिएको छ ।

ऐनकै दफा ९ को उपदफा ६ ले सूचीकृत रोजगारादताले योगदानबापतको रकम कोषमा जम्मा नगरेमा त्यस्तो अवधिपछि योगदान रकम कोषमा जम्मा नगरेको अवधिभित्र दुर्घटना वा मृत्यु भई श्रमिकलाई सुविधा उपलब्ध गराउनुपर्ने भएमा त्यस्तो सुविधा बराबरको रकम सम्बन्धित रोजगारादताले नै श्रमिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताए । “जुनसुकै अवस्थामा पनि श्रमिकले सामाजिक सुरक्षाको हक पाउँछ”, उनले भने, “रोजगारदाताले अबाद्ध गरेर नियमित योगदान गरे कोषले सुविधा दिन्छ, होइन भने रोजगारादताले नै उक्त सुविधा दिनुपर्छ ।”

कोषका निर्देशक एवं कोष व्यवस्थापन महाशाखा प्रमुख रोहित रेग्मीले कोषमा आबद्ध नभएकै व्यक्तिको आश्रित परिवारले पनि सामाजिक सुरक्षा पाउन सफल भएको बताए । “आजको दिनमा सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि÷नभए पनि सबै नागरिक सामाजिक सुरक्षा पाउनका लागि योग्य छन्”, उनले भने, “त्यसैको उदाहरण हुनुहुन्छ उमादेवी । कोषमा आबद्ध नभएका रामानन्दको निधन हुँदै गर्दा उहाँले जीवनभर पाउने पेन्सन हिसाब गरेर रोजगारदाताले नै सो रकम व्यहोर्नु परेको हो ।”

रामानन्दका श्रीमती उमादेवीले सामाजिक सुरक्षा कोषले आफूलाई न्याय दिएको बताइन् । “आफूले श्रीमानको निधनपछि कोषबाट सुविधा पाउँछु भन्ने कल्पनै गरेको थिइनँ, आज आश्रित परिवास सुविधाबापतको रकम कोषले दिलायो”, उनले भनिन्, “पीडित भए पनि आज म निकै खुसी छु ।”

सामाजिक सुरक्षा योजनामा आबद्ध नगराएको अवस्था मृत्यु भएका श्रमिकका ४० भन्दा बढी आश्रित परिवारलाई सुविधा दिन सफल भएको कोषले जनाएको छ । कोषमा नियमित योगदान गरिरहेका ८०० भन्दा बढी आश्रित परिवारले विभिन्न सुविधा पाइरहेका छन् ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख ७३ हजार र वैदेशिक क्षेत्रका २१ लाख छ हजार गरी २७ लाख ८१ हजार बराबर योगदानकर्ता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधाबापत योगदानकर्तालाई रु १८ अर्ब ६३ करोड दाबी भुक्तानी गरिसकेको छ ।

काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं

काठमाडौँ, २१ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना बनाउँदा यसको ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक विशेषतालाई विस्तृत रूपमा अध्ययन गरी दिगो विकास केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामाथि सरोकार भएका निकाहरूबीच भएको गोष्ठीमा उनले जीवन्त र सांस्कृतिक महत्त्व बोकेको काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायातको आवश्यकता रहेको उल्लेख गरे ।

मन्त्री चौलागाईंले काठमाडौँ अन्य नयाँ सहरजस्तो नभएकाले यहाँ एउटै ढाँचाको योजना लागू गर्न नसकिने धारणा राखे । उनले काठमाडौँ शताब्दीऔँ पुराना परम्परा, संस्कृति र आधुनिकताको सुन्दर समिश्रणका रूपमा स्थापित सहर हो भने ।

“काठमाडौँ एउटा ऐतिहासिक सहर हो । यहाँ इतिहास र आफ्नै परम्परा छ, पारिस्थितिक प्रणाली र विविध जीवनशैलीको सङ्गम छ”, उनले भने, “सहरको योजना बनाउँदा यही आत्मा र सूक्ष्मता योजनामा प्रतिविम्बित हुनुपर्छ ।”

मन्त्री चौलागाईंले आधुनिक र प्राविधिक समाधान अपनाउँदा पनि सांस्कृतिक सम्पदा, ऐतिहासिकस्थल र ‘जनताको सहर’ भन्ने अवधारणा जोगाउनुपर्नेमा जोड दिए । सरकारको लक्ष्य सवारी केन्द्रितभन्दा मानव केन्द्रित सहर निर्माण गर्ने रहेको उनको भनाइ छ ।

मन्त्री चौलागाईंले योजना निर्माणका क्रममा मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिबीच समन्वय नहुँदा कार्यान्वयनको चरणमा द्वन्द्व उत्पन्न हुनेसक्ने समस्या औँल्याए । “योजनाकार, इञ्जिनियर र संरक्षणविद्बीच संवाद हुँदैन”, उनले भने, “त्यसैले प्रभावकारी योजना कार्यान्वयनका लागि सुरुदेखि सबै सरोकार भएका निकायबीच समन्वय आवश्यक छ ।”

नयाँ सरकार गठनपछि करिब दुई महिनादेखि सक्रिय रूपमा काम भइरहेको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई राष्ट्रिय हितमा प्रभावकारी रूपमा प्रयोग गर्दै लग्नुपर्ने आवश्यक औँल्याए। यस सन्दर्भमा मन्त्री चौलागाईंले नेपाल–जापान सहकार्य बहुआयामिक र दीर्घकालीन रहेको उल्लेख गरे ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदै गरेको स्मरण गर्दै मन्त्री चौलागाईंले जापानबाट प्रविधि, विचार र विशेषज्ञता प्राप्त भइरहेको बताए । “यो सहकार्य एकतर्फी होइन, ज्ञान र अनुभवको आदानप्रदान हो”, उनले भने ।

उनले रणनीतिक वातावरणीय मूल्याङ्कन (एसइए) सम्बन्धी पहल भविष्यका योजनाका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । प्रक्रियालाई अनावश्यक रूपमा जटिल नबनाउन आग्रह गर्दै उनले प्रक्रिया सरल, स्पष्ट र व्यवहारमैत्री हुनुपर्नेमा जोड दिए ।

मन्त्री चौलागाईंले एउटै नीति सबैका लागि उपयुक्त नहुने भन्दै लक्षित र सन्दर्भअनुसारका रणनीति आवश्यक रहेको बताए । “काठमाडौँमा बनाइएको नीति जस्ताकोतस्तै देशभर लागू गर्दा अधिकांश योजना असफल भएका छन्”, उनले भने, “भूगोल, संस्कृति र जीवनशैलीअनुसार फरक योजना भएमा समाधान सम्भव हुन्छ ।”

मन्त्री चौलागाईंले स्थानीय ज्ञान र अभ्यासलाई नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिए । “विविधतालाई समाधानको आधारका रूपमा बुझ्न सके मात्र न्यायपूर्ण र दिगो विकास सम्भव हुन्छ”, उनले भने ।

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छिन् ।

आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बिमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

मन्त्री डा गौतमले विद्यमान समस्या र अवस्थाको समाधान छलफल र सुझावले मात्र सम्भव नहुने भन्दै स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिन् । “शून्य बजेटमा २४ अर्ब दायित्व बोकेर स्वास्थ्य बिमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ?”, मन्त्री गौतमले प्रश्न गरिन्, “कि स्पष्ट रूपमा स्वास्थ्य बिमा बन्द गर्न निर्देश हुनुप¥यो कि आवश्यक रकम जुटाइदिनुप¥यो ।”

स्वास्थ्यमन्त्री डा गौतमले अर्थमन्त्री र अर्थसचिवलाई प्रत्यक्ष सम्बोधन गर्दै साउनमा प्रस्तुत बजेट वक्तव्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अतिविपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बिमा सुविधालाई निरन्तरता दिने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको बताइन् ।

सो छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वास्थ्य मन्त्रालयलाई नीतिगत सुधारका लागि सुझाव दिँदै आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

“तत्कालै व्यवस्थापनका लागि स्वास्थ्य बिमाका लागि दिने सहिने रकमको पुर्नप्राथमिकीकरण गरेर स्वास्थ्य मन्त्रालयले ल्याउनुपर्ने देखिन्छ । रकमान्तर गर्ने, स्रोतान्तर गर्ने विषयमा अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्नेछ । त्यसबाहेक पनि अन्य मन्त्रालयमा रहेका चालु खर्चहरूको विवरणअनुसार आवश्यकताका आधारमा स्वास्थ्य मन्त्रालयमा रकमान्तर गर्न तयार छौँ”, सचिव उपाध्यायले भने ।

स्वास्थ्य मन्त्रालयले सुधारलाई पहिलो एजेण्डा नबनाई स्रोतको खोजी मात्र गरेमा स्वास्थ्य बिमा दिगो रूपमा सञ्चालन हुन नसक्ने उनको भनाइ छ । “स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममा देखिएका समस्या समाधान गर्ने पहिलो एजेण्डा मन्त्रालयले नै बनाउनुपर्छ, अनि मात्र सुधार सम्भव छ”, सचिव उपाध्यायले भने ।

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी। बैतडी एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गर्नुभएको छ ।यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

चारदिने औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।

यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । साथै, जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई सम्बोधन गरेका थिए भने उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकन समेत गरे ।

नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेका थिए ।राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए ।

सर्लाहीको ईश्वरपुरमा कार दुर्घटना हुँदा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।

काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका हुन् । घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था गम्भीर छ ।

निर्वाचनका लागि बागलुङमा चार हजार जनशक्ति खटाइने

बागलुङ, माघ २१ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजार बढी कर्मचारी परिचालन गरिने भएको छ ।बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट ल्याउने तयारी गरिएको छ । बागलुङमा ६३७ नेपाल प्रहरी र एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिने तयारी भएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनले पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिने भारतीले जानकारी दिए । उनले सशस्त्र र नेपाली सेनाको सङ्ख्याको तथ्याङ्क सार्वजनिक गर्न नमिल्ने बताए ।

“मोबाइल टोली भन्ने प्रहरीको छुट्टै संयन्त्र हुन्छ जहाँ समस्या हुन्छ, त्यस स्थानमा तुरुन्तै पुग्छ”, नेपाली सेना र सशस्त्र प्रहरी मतदान केन्द्रको बाहिर अलर्ट हुन्छ, जनताले निर्धक्क आफ्नो मत जाहेर गर्न सक्छन्”, भारतीले भने । बागलुङमा निर्वाचन र नेपाल प्रहरी गरी एक हजार ९३५ सुरक्षाकर्मी र दुई हजार ६० कर्मचारी गरी तीन हजार ९९५ जनशक्ति परिचालन गरिने भएको छ । जसमा नेपाली सेना र सशस्त्र प्रहरी बल अलग्गै खटिने छन् । बागलुङमा सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या घटबढ, तथा पायक पर्ने स्थानलगायत कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । दुई मतदानस्थललाई स्थानान्तरण गरिएको छ ।

१० स्थानीय तह र दुई प्रतिनिधिसभा सदस्य रहेको कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । यस पटक दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना चुनावी मैदानमा छन् ।

क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिस्ट पार्टी एमालेका हीराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना चुनावी मैदानमा छन् ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसी मैदानमा छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले) बाट मन्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी) का लोकेन्द्र घिमिरे मैदानमा छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढा चुनावी मैदानमा छन् ।

यस्तो छ आज कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, माघ २१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ६५, बन्दा (तराई) प्रतिकिलो रु ४५, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, तोरीसाग प्रतिकिलो रु ३०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

तनहुँमा ट्याक्टरबाट खसेर २३ वर्षीय युवकको मृत्यु

तनहुँ। ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो।

बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो।

आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौँ । आज विश्व क्यान्सर दिवस, यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।

उम्मेदवारसँग मतदाताको गुनासो : आश्वासन धेरै पायौँ, अब विकास चाहियो

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् ।

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । मतदातामा चेतनाको विकास र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन् । पटकपटक आश्वासनमा मतदान गरेका मतदाता यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् ।

निसीखोला गाउँपालिका–६ का ७३ वर्षीय चुनमान घर्तीमगरले जनताका आधारभूत आवश्यकता पूरा गर्ने नेतालाई जिताउनुपर्ने बताए । यसअघिका नेताले आश्वासन मात्रै दिएको उनको गुनासो छ । अहिलेसम्म आफ्नो क्षेत्रमा खानेपानी, शिक्षा र स्वास्थ्यको सहज संविधान नभएको घर्तीमगरको भनाइ छ ।

चुनावका बेला गरेको बाचा चुनाव सकिएपछि बिर्सिने गरेको उनले बताए । “हामीले पटकपटक जितायौँ, उनीहरुले पद पाए, आफ्नालाई जागिर खुवाए, हामीलाई निराशाबाहेक अरु के दिए ?, यसपटक प्रतिबद्धता मात्रै होइन कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने योजनामा छु”, उनले भने, “आश्वासन पहिला पाइएको हो, अहिले उही त्यहीँ त होला, हामी सोझा साझा जनता जहिले मारमा मात्रै छौँ ।” ढोरपाटन नगरपालिका–२ की थमकुमारी खत्रीले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताए। ग्रामीण सडक बाह्रै महिना सञ्चालन नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट हुने गरेको भन्दै चुनावका बेला धेरै नेताले झुटा आशा मात्रै दिएको उनले गुनासो पोखिन् ।

धेरै वर्षदेखि गाउँमा खानेपानीको समस्या रहेको भन्दै यसको समाधान अहिलेसम्म हुन नसकेको खत्रीको भनाइ छ । उनले भनिन्, “बहुदल आएपछि हामीलाई नेताहरुले पटकपटक झुक्याएर भोट लगे, चुनाव जितेर गएपछि एक पनि गाउँमा फर्किएर आएनन्, गाउँमा कति धेरै समस्या छन्, समस्या समाधान गर्नका कुनै पनि नेताले सकेनन्, यस क्षेत्रका जनता सधैँ भोट दिने मात्रै भयौँ ।”

बडिगाड गाउँपालिका–८ का निमबहादुर विकले दुर्गम गाउँमा विकास गर्ने नेता अहिलेसम्म नपाएको बताए । गाउँका नागरिकले आधारभूत सेवा पाउनबाट वञ्चित रहेको भन्दै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता विकले सुनाए ।

धेरैको नजर सहर बजारमा मात्रै पर्दा धेरै दुर्गम बस्तीहरु ओझेलमै परेको उनको भनाइ छ । “सहर बजारमा त विकास भएको छ, तर गाउँमा भौगोलिक विकटतासँग विकासले ठगेको छ, धेरै नेतालाई जिताएर पठायौँ, उनीहरुको नजर यो क्षेत्रमा परेन”, विकले भने, “सही नेता छन्न नसक्नु हामी जनताको कमजोरी होकी ?, सुरुमा त सबैले यो गर्छु, त्यो गर्छु भन्छन्, गर्लान् भन्ने त हुन्छ तर चुनावपछि नेता नै हराउँछन् ।”

प्रतिनिधिसभा निर्वाचनः मुस्ताङमा हिमपातको डर

मुस्ताङ २१, माघ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ ।

मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पु¥याउन सक्ने आकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन÷चैत महिनामा हिमपात भएको विगतका अनुभवहरु छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् ।

निर्वाचन कार्यतालिका अनुसार मतदान गर्ने दिनको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजिअ शर्माको भनाइ छ । यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका–२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ ।

यसैगरी लोघेकर दामोदरकुण्ड–ताङ्ग्याका मतदाताहरु सहजताका लागि थप अर्को एक मतदानस्थल थपिएको छ । हाल थासाङ गाउँपालिकामा–८ वटा, घरपझोङ गाउँपालिकामा–६ वटा, लोघेकर दामोदरकुण्डमा–१० वटा, वारागुङ मुक्तिक्षेत्रमा–९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ ।

मुस्ताङका प्रजिअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरेनटको सुविधा छ । मुस्ताङमा एक लाख १३ हजार २८ जना मतदाता छन् । जसमध्ये पुरुष पाँच हजार ५५९ जना, महिला पाँच हजार ७६८ र अन्य एक जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

मुस्ताङको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ । निर्वाचनका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

धितोपत्र बोर्डको स्वीकृतिपछि एपोलो हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ ।

त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक/एक वटा रहेका छन् ।

बोर्डले चालु आवको हालसम्म रु छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

यस्तो छ, आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ८३ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९० पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ३९ र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौँ। संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले संस्कृति र विश्वासमा विविध भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ । मानव भ्रातृत्वले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा सहअस्तित्वको अभ्यास गर्न प्रेरित गर्दछ । बढ्दो तनाव र ध्रुवीकरणको वर्तमान सन्दर्भमा मानव भ्रातृत्व केवल आदर्श मात्र नभई शान्तिपूर्ण सहजीवन र प्रत्येक व्यक्तिको अधिकार तथा गरिमाको संरक्षण गर्ने व्यावहारिक प्रतिबद्धता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो वर्षको विषयवस्तुले विभाजनभन्दा संवादलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेको छ । राष्ट्रसङ्घका अनुसार संवादको अर्थ सबै विषयमा सहमति हुनु होइन, बरु ध्यानपूर्वक सुन्नु, जिम्मेवारीपूर्वक बोल्नु र विशेष गरी डर, आक्रोश वा अनिश्चितताका अवस्थामा पनि एकअर्काको मानवता पहिचान गर्नु हो ।

मानव भ्रातृत्वले विभेद, जातीय घृणा, विदेशीप्रति घृणा तथा घृणात्मक अभिव्यक्तिलाई अस्वीकार गर्न पनि जोड दिएको छ । उक्त विश्व संस्थाले ‘अनलाइन’ र ‘अफलाइन’ दुवै माध्यममा भिन्नतामाथि हुने छलफललाई हानिरहित र सम्मानजनक बनाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, दया र आपसी सम्मानमा आधारित विश्व निर्माण गर्दै एक मानव परिवारका रूपमा शान्तिपूर्वक बाँच्न सबैको साझा भूमिका हुने बताएका छन् ।

निर्वाचन २९ दिन बाँकी: समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ ।

आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो । त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ ।

यस्तै, आयोगले तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि बन्दसूचीबाट हटाएको थियो । यस्तै, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिए आएका १० जनाको नाम समेत हटाइएको छ ।

कास्की निर्वाचन क्षेत्र नं ३: कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

गण्डकी। कास्कीका निर्वाचन क्षेत्र ३ ले जिल्लाका तीनवटा पालिकालाई समेटेको छ । अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको पूरै भागसँगै पोखरा महानगरपालिकाका–११ वटा वडा यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

पर्वतीय पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरदेखि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यसै क्षेत्रमा पर्दछ । यस क्षेत्रमा पर्ने पोखरा महानगर क्षेत्र अन्तर्गत वडा नं १, २, ३, ५ र ६ पोखराका मुख्य बजार क्षेत्रमा पर्दछन् । त्यस्तै महानगरका वडा नं १८ सराङकोट, वडा नं १९ लामाचौर, पुरनचौर, वडा नं २२ पुम्दी, वडा नं २३ चापाकोट, भदौरेका केही भाग, वडा नं २४ को कास्कीकोट र वडा नं २५ को हेमजा यहाँका ग्रामीण क्षेत्रमा पर्दछन् ।

बजार क्षेत्रमा रहेका मतदाताले व्यवस्थित सुविधा सम्पन्न सहरका रुपमा विकास हुनुुपर्ने विषयलाई यस निर्वाचनका उम्मेदवारसँग प्रतिबद्धता खोज्दै छन् । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका मतदाताले कर महानगरको तिरे त्यस अनुसारको सेवा सुविधा पाउन नसकेको विषयलाई चुनावी मुद्दा बनाउने बताएका छन् । ग्रामीण क्षेत्रमा बढ्दो बाँदरको समस्याले बस्ती नै छोडेर हिँड्नुपर्ने जस्ता विषयको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धता खोज्ने तयारीमा मतदाता छन् । आलुु गाउँका रुपमा पहिचान बनाएको यस निर्वाचन क्षेत्रको हेमजालगायत स्थानमा कृषिको व्यवस्थित विकास गर्न सकिन्छ ।

यस क्षेत्रका अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका धेरैजसो वडा अझै पनि सडक बाटोघाटोलगायतका पूर्वाधारको पर्खाइमा छन् भने महानगरका वडाहरू मध्ये वडा नं २२ पुम्दी, २३ चाँपाकोट र २४ कास्कीकोटका केही भागहरू अझै धेरै किसिमको विकासको पर्खाइमा रहेका छन् ।

यहाँका स्थानीयहरू आसन्न निर्वाचनमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनसहित जनजीविकाका सवाललाई उम्मेदवारहरूसँग प्रतिबद्धता खोज्ने बताउँछन् । यहाँका अन्नपूर्ण र माछापुुच्छ«े गाउँपालिका पूर्णरुपमा नै पर्वतीय पर्यटनका प्रचुर सम्भावना बोकेका क्षेत्र भएको स्थानीय मतदाता एवं पत्रकार टङ्कप्रसाद अधिकारी बताउनुुहुन्छ । यस क्षेत्रमा पर्यटनमैत्री पूर्वाधारहरू विकासमा जोड दिइनुपर्ने उहाँले बताउनुुभयो ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, छोमरोङ हुँदै माछापुच्छ«े आधार शिविर, अन्नपूर्ण आधारशिविर (एबिसी) पर्वतीय एवं हिमाली पर्यटनका आकर्षक गन्तव्य हुन् । त्यस्तै माछापुुच्छ«े गाउँपालिकाको मर्दी पदमार्ग जस्ता पदमार्ग पदयात्रा पर्यटनको विशिष्ट गन्तव्यका रुपमा रहेको अधिकारीले बताउनुुभयो । प्राकृतिक रुपमा आकर्षक रहेर भौगोलिक विकटतासँगै जलवायुु परिवर्तनको बढ्दो असरका कारण प्राकृतिकजन्य प्रकोपले यी क्षेत्रमा बर्सेनि चुनौती थपिँदै गएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुुरुङ बताउनुुहन्छ ।

समय समयमा आउने हिमपात, हिमआँधी, हिमपहिरोको चुनौतीलाई समाधान गर्नु जरुरी रहेको बताउँदै उहाँले यस क्षेत्रमा लागि यो चुनौतीको समाना गर्नुु वर्तमानको आवश्यकता भएको बताउनुुभयो । विश्वमा नै १० उत्कृष्टमध्येको अन्नपूर्ण आधार शिविरको पदमार्ग अझै पूर्णरुपमा सबैखाले पर्यटकका लागि पहुँचयुक्त बन्न नसकेको उहाँको भनाइ छ ।

पदमार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुल आवश्यक रहेको बताउँदै सचिव गुुरुङले आसन्न निर्वाचनका उम्मेदवारसँग यी विषयमा प्रतिबद्धता खोजिने बताउनुुभयो । “यस क्षेत्रमा सञ्चारको ठूलै समस्या छ”, उहाँले भन्नुुभयो, “सहज सञ्चारको पहुँचसँगै विद्युतीकरण यहाँको अर्को गम्भीर समस्या हो ।” पदमार्ग क्षेत्रको छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरसम्म नै विद्युत्को राष्ट्रिय लाइन जोडिन नसकेको कारण यस क्षेत्रमा विद्युतीकरण अपरिहार्य आवश्यकता भएको उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिवर क्षेत्र जाने मार्गमा रहेको धार्मिक महत्वको पूजनीयम् बराह, लुम्लेस्थित कान्छी बराह, फेवा तालस्थित ताल बाराहीलगायत तीर्थस्थलहरू यस क्षेत्रका धार्मिक पर्यटनका गन्तव्य हुन् ।

अन्नपूर्ण र माछापुुच्छ«े गाउँपालिकाको पर्यटकीय विकाससँगै पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड र फेवातालको प्राकृतिक सुन्दरता बचाउनुु र संरक्षण गर्नुु यस क्षेत्रका चुनौतीहरू रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुुहन्छ । राज्यबाट स्थानीयवासीलाई उचित मुुआब्जा एवं क्षतिपूर्तिविना नै फेवा तालको मापदण्ड कार्यान्वयन गर्न खोजिनुुले यहाँका स्थानीयवासी समस्यामा परेको बताउँदै उहाँले आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग यी विषयमा स्थानीयले प्रतिबद्धता खोज्ने बताउनुभयो ।

“यसअघि फुट ट्रेक बनाउने नाममा फेवा किनाराका कतिपय व्यक्तिको जग्गा तालभित्र पारिएको छ”, उहाँले भन्नुुभयो, “फेवा मापदण्डको कार्यान्वयनका लागि स्थानीयवासीलाई उचित प्रमाणसहित राज्यले विश्वस्त पार्दै उचित मुआब्जा एवं क्षतिपूर्ति प्रदान गर्नुुपर्छ ।”

लेकसाइड क्षेत्रका कोमागाने पार्क, बसुुन्धरा पार्क, नेपाल ट्रष्टको खाली जग्गा र पर्यटन मन्त्रालयको जग्गालाई व्यवस्थित पार्किङसहित उपयोग गरिनुु आवश्यक रहेको उहाँले बताउनुुभयो । लेकसाइडमा बाहिरबाट आउने सवारीसाधनलाई यथेष्ट पार्किङ गर्नका लागि व्यवस्थित रुपमा पार्किङको व्यवस्था गरिनुु आवश्यक भएको बताउँदै उहाँले अव्यवस्थित पार्किङले यस क्षेत्रमा ठूलै समस्या उत्पन्न गरिरहेको बताउनुुभयो ।

यस निर्वाचन क्षेत्रमा समृद्धिको महत्वपूर्ण आधार नै पर्यटन भएको उल्लेख गर्दै उहाँले दीगो एवम् व्यवस्थित पर्यटनको विकाससँगै पर्यटनमैत्री राज्यको नीति बन्नुपर्ने लगायतका विषयलाई चुनावी मुद्दाका रुपमा अघि बढाइने बताउनुुभयो । आसन्न निर्वाचनमा यस क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराउनुुभएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी गराउनुुभयो ।

यस क्षेत्रमा नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले) बाट दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ, नेकपाबाट गोपाल गिरीलगायत उम्मेदवारी परेको छ । यस क्षेत्रमा एक लाख सात हजार ५६० जना मतदाता छन् ।

छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी। धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

माघ २२ गते हुने उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब (धरान) र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा हुने अध्यक्ष प्रताप तामाङले बताउनुभयोे ।

त्यसैगरी माघ २३ गते रोयल थिम्पु फुटबल क्लब (भुटान) र झापा–११ फुटबल क्लब (झापा)बीच खेल हुनेछ । माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ) र न्यू रोड टिम (काठमाडौँ) बीच प्रतिस्पर्धा हुने छ । माघ २५ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन् ।

यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । धरान फुटबल क्लबको आयोजनामा सञ्चालन हँुदै आएको प्रतियोगिता गत वर्ष आठ टोलीको सहभागिता रहेकोमा यस वर्ष १० टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५–२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिमकाठमाडाैँ । मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु गरेको ‘साउथइस्ट गेटवे पाइपलाइन’ परियोजनाले स्थानीय समुदाय र वातावरणविद्हरूको तीव्र विरोध सामना गरिरहेको छ।

क्यानाडाली कम्पनी र मेक्सिकोको सरकारी कम्पनीको साझेदारीमा निर्माण गरिएको यो पाइपलाइनले टेक्सासदेखि टाबास्को राज्यसम्म ग्याँस आपूर्ति गर्दछ।

भविष्यमा यसलाई युकाटन प्रायद्वीपसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। वेराक्रुज क्षेत्रका धेरै मत्स्यजनजीवी र आदिवासी समुदायका सदस्यहरूले परियोजना निर्माणअघि आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै आपत्ति जनाएका छन्।

उनीहरूका अनुसार पाइपलाइनका कारण कछुवाजस्ता संवेदनशील समुद्री प्रजातिको अस्तित्वमा खतरा पर्न सक्छ। वातावरणीय समूहहरूले पनि पाइपलाइनको मर्मत तथा सम्भावित ग्याँस चुहावटले समुद्री जैविक प्रणालीमा गम्भीर नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

मेक्सिकोमा हाल करिब ६० प्रतिशत विद्युत् उत्पादन ग्याँस–आधारित ऊर्जा केन्द्रबाट हुन्छ, जसका लागि आवश्यक करिब ७० प्रतिशत प्राकृतिक ग्याँस अमेरिका बाट आयात गरिन्छ।

सरकारले यस परियोजनालाई आर्थिक विकास र ऊर्जा आपूर्तिको अवसरका रूपमा हेरेको छ। तर आलोचकहरूले अत्यधिक आयातमा निर्भरता बढ्दा देशको ऊर्जा स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

त्यसैगरी, प्राकृतिक ग्याँसमा अत्यधिक निर्भरता र तरलिकरण संयन्त्रको विस्तारले देशको वातावरण संरक्षण र हावा गुणस्तर सुधारसम्बन्धी लक्ष्यहरूलाई समेत जोखिममा पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

स्थानीय समुदाय र वातावरण संरक्षणकर्मीहरूले आफ्ना अधिकार तथा प्राकृतिक स्रोतको संरक्षण सुनिश्चित गर्न सरकारसँग खुला संवादको माग गरेका छन्। यस अवस्थाले मेक्सिकोलाई आर्थिक विकास, ऊर्जा सुरक्षा र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्ने गम्भीर चुनौतीतर्फ धकेलेको छ।

विश्वव्यापी साइबर अपराधविरुद्ध रणनीति बनाउन इन्टरपोल बैठक

काठमाडाैँ । इन्टरपोलको साइबर अपराध विज्ञ समूहको वार्षिक प्रत्यक्ष बैठक सोमबार हङकङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यस बैठकमा ३० भन्दा बढी देश तथा क्षेत्रबाट आएका १२० भन्दा बढी कानून कार्यान्वयन निकायका अधिकारी, उद्योग क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

हङकङ प्रहरी बल र इन्टरपोलको संयुक्त आयोजनामा सम्पन्न बैठकको विषय ‘साइबर अपराधको औद्योगिकीकरणलाई अवरुद्ध गर्ने’ रहेको छ । बैठकले विश्वव्यापी रूपमा बढ्दो साइबर अपराधको चुनौतीलाई सामूहिक प्रयासमार्फत सामना गर्ने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रहरी आयुक्त चाउ यात–मिङले साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिको विकास, सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धन तथा विभिन्न सहकार्य प्लेटफर्ममार्फत सार्वजनिक सुरक्षा प्रणाली निर्माणमा हङकङ प्रहरी बल प्रतिबद्ध रहेको बताए ।

उनले साइबर अपराधविरुद्ध प्रभावकारी लडाइँका लागि सीमापार सहकार्य, बहु–क्षेत्रीय साझेदारी र निरन्तर क्षमतावृद्धि अत्यावश्यक रहेकोमा जोड दिए।

यस बैठकले अन्तर्राष्ट्रिय प्रहरी निकाय, शैक्षिक संस्था र उद्योग क्षेत्रलाई एउटै मञ्चमा ल्याई अनुभव आदान–प्रदान, सूचना साझेदारी तथा समन्वित कारबाहीमार्फत साइबर अपराधविरुद्ध ठोस परिणाम हासिल गर्ने लक्ष्य लिएको छ ।

इन्टरपोलका साइबर अपराध निर्देशक निल जेटनले हङकङ अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्वपूर्ण केन्द्रका रूपमा सक्रिय रहेको उल्लेख गर्दै बैठकले साइबर अपराध नियन्त्रणका लागि व्यावहारिक समाधान र सामूहिक कार्यलाई अघि बढाउने विश्वास व्यक्त गरे।

बैठकमा साइबर अपराध इकोसिस्टम, अनलाइन जबरजस्ती असुली, कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भर्चुअल सम्पत्ति ट्र्याकिङलगायत विषयमा विस्तृत छलफल भइरहेको छ ।

म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ ।

बागलुङमा निर्वाचन प्रहरीका लागि आवश्यकभन्दा कम आवेदन परेकाले म्याग्दीबाट पठाइएको हो । दुई सय १२ जना निर्वाचन प्रहरी माग गरेकोमा मङ्गलबार बिहानसम्म १०२ जना सम्पर्कमा आएका बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

म्याग्दीबाट गएकासहित एक हजार २४० जनालाई तालिम दिन सुरु गरेको उहाँले बताउनुभयो । तीन पटक म्याद थप्दासमेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ लगिएको हो ।

निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८६१ निर्वाचन प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । उनीहरूका लागि बेनीको खुला मञ्च खेल मैदान र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा १० दिने तालिम सञ्चालनल भएको छ ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अतिसंवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

अष्ट्रेलियामा सन् २०२६ सम्म मुद्रास्फीति ४ प्रतिशतभन्दा माथि पुग्ने अनुमान

सिड्नी। बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैङ्कले सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा सर्वसम्मत निर्णय गर्दै नगद ब्याजदर ३ दशमलव ६० प्रतिशतबाट बढाएर ३ दशमलव ८५ प्रतिशत पुर्‍याएको जनाएको छ । यो निर्णय सन् २०२३ नोभेम्बरपछि गरिएको पहिलो ब्याजदर वृद्धि हो । यसअघि सन् २०२५ मा बैंकले तीन पटक गरी कुल शून्य दशमलव २५ प्रतिशतले ब्याजदर घटाएको थियो ।

केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिका अनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति त्यसपछि उल्लेख्य रूपमा घटेको भए पनि सन् २०२५ को दोस्रो भागमा फेरि तीव्र रूपमा बढेको हो ।

अष्ट्रेलियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ डिसेम्बरसम्मको बाह्र महिनामा उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा बढी हो । केन्द्रीय बैंकले मुख्य सूचकका रूपमा लिने आधारभूत मुद्रास्फीति दर पनि डिसेम्बरमा ३ दशमलव ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा ३ दशमलव २ प्रतिशत थियो ।

मौद्रिक नीति समितिले मुद्रास्फीति अझै केही समय २ देखि ३ प्रतिशतको लक्ष्य दायराभन्दा माथि रहने सम्भावना रहेको जनाएको छ । समितिका अनुसार निजी क्षेत्रको माग अपेक्षाभन्दा छिटो बढिरहेको छ, उत्पादन क्षमतामा दबाब बढेको छ र श्रम बजार पनि केही कडा अवस्थामा रहेको छ ।

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको अद्यावधिक अनुमानअनुसार सन् २०२६ को मध्यसम्म वार्षिक मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि सन् २०२७ को मध्यसम्म मुद्रास्फीति घटेर २ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

गाजा र सुडानलगायत क्षेत्रमा स्वास्थ्य अवस्था नाजुक : डब्लुएचओ

जेनेभा। विश्व स्वास्थ्य संगठनले सन् २०२६ मा विश्वभर देखिएका गम्भीर स्वास्थ्य आपतकालीन अवस्थाहरूको सामना गर्न करिब एक अर्ब अमेरिकी डलर बराबरको सहयोग आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग आपतकालीन आह्वान गरेको छ ।

सङ्गठनका अनुसार युद्ध, आन्तरिक द्वन्द्व, प्राकृतिक प्रकोप, रोगको फैलावट तथा कमजोर स्वास्थ्य प्रणालीका कारण करोडौँ मानिसहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका छन् । धेरै देशहरूमा स्वास्थ्य संरचना ध्वस्त भएका छन् भने अस्पताल, औषधि, स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण सामान्य उपचारसमेत प्रभावित भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गाजा, सुडान, कंगो लोकतान्त्रिक गणराज्य, हाइतीलगायतका क्षेत्रहरूलाई अत्यन्त संकटग्रस्त क्षेत्रका रूपमा चिनाएको छ । ती स्थानहरूमा गर्भवती महिला, बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा रहेका छन्।

कुपोषण, संक्रामक रोग, मानसिक स्वास्थ्य समस्या, मातृ तथा नवजात शिशुको मृत्यु दर तीव्र रूपमा बढिरहेको संगठनले जनाएको छ । साथै सुरक्षित खानेपानी, सरसफाइ र खोप सेवाको पहुँच कमजोर हुँदा रोग फैलिने सम्भावना झन् बढ्दै गएको छ ।

सङ्गठनका अनुसार आवश्यक आर्थिक सहयोग समयमै जुटाउन नसकिएमा जीवनरक्षक उपचार, रोग नियन्त्रण कार्यक्रम, आपतकालीन स्वास्थ्य सेवा र स्वास्थ्य प्रणाली पुनःस्थापनामा गम्भीर असर पर्नेछ ।

यसले लाखौँ मानिसको ज्यान जोखिममा पार्न सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले सरकारहरू, दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई मानवीय आधारमा तत्काल सहयोग गर्न आग्रह गरेको छ ।

समयमै सहयोग प्राप्त भएमा सङ्कटग्रस्त क्षेत्रका जनताको जीवन रक्षा गर्न र स्वास्थ्य प्रणालीलाई पुनःसुदृढ बनाउन ठूलो योगदान पुग्ने सङ्गठनको विश्वास छ ।

हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ ।

एक्काइस वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उहाँका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताउनुभयो ।

“हामी अहिले मङ्गला गाउँपालिका–५ पाखुमा बस्दै आएका छौँ, लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ, बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ”, उहाँले भन्नुभयो । कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुशियाली छाएको छ ।

धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आउनुभएको छ । तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।

प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् ।

निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।

एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको थियो । निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले राससलाई जानकारी दिनुभयो ।

सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो ।

एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुन लागेको हो । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।

मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।

दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ । सोहीअनुसार नियमितरूपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको प्रहरीले जनाएको छ ।

निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन् । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सो छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानी व्यवस्थालगायतका बारेमा केन्द्रित रहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, चाडपर्वको समयमा उच्च सुरक्षा सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं गृहमन्त्रालयका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

सांसदका रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सधैँ ध्यान दिएको छुः महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौँ क्षेत्र नं ५ को विकासमा सधैँ ध्यान दिएको बताउनुभएको छ ।

आज यहाँ निर्वाचन क्षेत्रअन्तर्गत बालुवाटारमा भएको कार्यक्रममा उहाँले आफूले तीन वर्षमा सम्भवसम्मका काम गर्न ध्यान दिएको बताउनुभएको हो । “मैले काठमाडौँ–५ मा निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि हरसम्भव प्रयास गरेको थिए, त्यसका आधारमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु”, महामन्त्री पौडेलले भन्नुभयो ।

उहाँले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखाङ्कन गरेर सडक निर्माणलगायत काम सुरुआत गरेको भन्दै ती कामको पर्याप्त प्रचार भने हुन नसकेकाले जिकिर गर्नुभयो ।

महामन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भइरहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनुभएको छ ।

उहाँले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग नेपालले मिलेर काम गर्न चाहेको स्पष्ट पार्नुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो भन्दै उहाँले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताउनुभयो ।

नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको छ भन्नुभयो । “यसका लागि नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उहाँको भनाइ थियो ।

“नेपाल अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट, सदाझैँ सहयोग र सद्भाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । विश्व शान्ति, स्थायित्व र भाइचाराजस्ता बुद्धको दर्शनमा विश्वास गर्ने दुवै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले दुवै देशका जनताबीच बलियो पुलको काम गरेको उहाँको भनाइ थियो । उहाँले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । जापानका प्रधानमन्त्री तकाइची सनायले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताउनुभयो ।

उहाँले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरू चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताउनुभयो ।

प्रधानमन्त्री सनायले नेपाल जापान कूटनीतिक सम्बन्धका अवसरमा दुबै देशबीच झन प्रगाढ होस् भन्दै जापानले नेपालको सूूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभएको थियो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो ।

उहाँले यसअघि सोमबार जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शीष्टाचार भेट गर्नुभएको थियो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गर्नुभयो । साथै, उहाँले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गर्नुभयो । आजै उहाँले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नुभएको थियो । जापानको चारदिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।