`

गाजामा अक्टोबरदेखि तीन सय बालबालिकाको मृत्यु : युनिसेफ

Nepal One HD २२ साउन २०८३ १८:५८
विश्व

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ।

पश्चिम एसिया र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एक जना बच्चाको ज्यान गएको बताउँदै उनले अन्य सयौँबालबालिका घाइते भएको बताए। घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उहाँले गाजाका बालबालिकाहरू अझै पनि हिंसा अन्त्यको प्रतीक्षामा रहेको बताए।

युनिसेफका अनुसार परिवारहरू हाल गाजा पट्टीको करिब एक तिहाइ भू–भागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जम्मा भएर असुरक्षित भएका स्थानमा बाँचिरहेका छन्।

गाजा पट्टीभरि बालबालिकाहरूले तीव्र कुपोषण, रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाइ प्रणालीको सामना गर्न बाध्य भएको जनाइएको छ। युनिसेफले सबै सम्बन्धित पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्ना दायित्वहरू कायम राख्न आह्वान गरेको छ।

एजेन्सीले बालबालिकाको सुरक्षा गर्न, स्वास्थ्य सेवा, शिक्षा, सुरक्षित पिउने पानी र खाना लगायत आवश्यक वस्तु र सेवाहरूमा उनीहरूको पहुँच सुनिश्चित गर्न र समस्यामा परेका बालबालिकाहरूलाई सुरक्षित, द्रुत र निर्बाध मानवीय पहुँचको सुविधा प्रदान गर्नुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *