`

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

Nepal One HD १६ साउन २०८३ ६:४४
समाचार

पर्सा । पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को निर्देशन कार्यान्वयन, प्रदेश सुरक्षा समन्वय समिति, मधेस प्रदेश बैठकको निर्णयमाथि छलफल गरी निर्देशन बुँदागत रूपमा सम्बन्धित सरोकारवालसँगको सहकार्य, समन्वय, सहजीकरण र सहभागितामा तत्काल कार्यान्वयन गर्ने र सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)ले बिहीबार पछिल्ला घटनाक्रमलाई सूक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा निकायले सक्रियतापूर्वक समन्वयात्मक ढङ्गले सुरक्षा व्यवस्था मजबुत र सुदृढ बनाउने तथा सुरक्षात्मक कारबाहीमा संयततापूर्वक सुरक्षाकर्मीको परिचालन गर्ने लगायतको निर्देशन जारी गरेको थियो ।

बैठकले पछिल्लो समय देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण पर्सा जिल्लामा देखिन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै शुक्रबार साँझ ५ः०० बजेदेखि आज बिहान ६ः०० बजेसम्म वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *