निर्मल पुर्जासहित दिवङ्गत आरोहीप्रति प्रधानमन्त्री बालेनको भावपूर्ण श्रद्धाञ्जली
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा भएको दुःखद दुर्घटनामा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै आरोहीहरूको साहस र समर्पण इतिहासमा सधैँ अमर रहने बताएका छन्।
प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वतशृङ्खलास्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा निर्मल पुर्जासहित छ जना नेपाली र चार विदेशी आरोहीको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
उनले ‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहनेछ’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्।
