`

मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट

Nepal One HD १४ साउन २०८३ २१:३१
राजनीति

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का नेपालका लागि राष्ट्रिय निर्देशक रियाज लोधीले भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच सन् १९६३ देखि नेपालको खाद्य सुरक्षा, पोषण, कृषि विकास र वातावरण संरक्षणमा डब्लुएफपीले पुर्याउँदै आएको निरन्तर सहयोग र लामो साझेदारीका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले साझा प्राथमिकतालाई ठोस र परिणाममुखी पहलमार्फत संवादबाट कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले डब्लुएफपीको रणनीतिक योजना नेपालका कृषि प्राथमिकताहरु र दिगो विकास लक्ष्य तथा जलवायु कार्यप्रतिको राष्ट्रिय प्रतिबद्धतासँग मेल खाने भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री चौधरीले नेपाल सरकारले हालै ७७ वटै जिल्लाका करिब ३० लाख बालबालिकालाई समेट्ने गरी ‘दिवा खाजा कार्यक्रम’लाई राष्ट्रियकरण गर्दै स्थानीय कृषि उत्पादनमा आधारित ‘होम–ग्रोन स्कुल फिडिङ’ लागू गरेको जानकारी दिनुभयो । यस पहलले साना किसान र महिला उत्पादकहरूलाई सिधैँ स्थानीय विद्यालयको बजारसँग जोड्न सफल भएको बताउँदै यो उपलब्धि हासिल गर्न डब्लुएफपीले प्रदान गरेको प्राविधिक सहयोगको उहाँले प्रशंसा गर्नुभयो ।

साथै मन्त्री चौधरीले नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षा, जलवायु-उत्थानशील र दिगो कृषि, मूल्य शृङ्खला र बजार पहुँचको सुदृढीकरण, बाली भित्र्याइसकेपछिको क्षति न्यूनीकरण र कृषिमा युवा तथा महिलाको संलग्नता प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको समेत जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *