सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्याली निकालिने
विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितीलाई न्यूनीकरण गर्न सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले आमनागरिक सम्मेलित सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ ।
शुक्रबार अपराह्न ३ः०० बजे निकालिने र्यालीमा सबै राजनीतिक दल, नागरिक सामाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदायलगायत सहभागिता रहने जनाइएको छ ।
सो र्याली महेन्द्र चोकदेखि, ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय(क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि डाँफे चोकसम्म जानेछ ।
त्यसैगरी बैठकले साउन १० गते देवानगञ्जमा दुई धर्मावलम्बी समुदायबीच भएको विवादका कारण उक्त घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घटनामा घाइते भई उपचारमा रहेका व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि अस्पताल प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले सामाजिक सद्भाव विथोलिने खालका कुनै घटना, सूचना तथा अवस्था देखिएमा सबैले त्यस्ता विषयको सूचना समन्वय गर्ने र सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबैले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने निर्णय गरेको छ ।
