`

अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।

राप्रपा नेपाल काठमाडौँ ५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

काठमाडौँ, ८ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताउनुभयो ।

“चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोवल उच्च बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उहाँको भनाइ थियो । नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा कोइरालाले बताउनुभयो । उहाँले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

नेता डा कोइरालाले कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतका नेताको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै उक्त अनुसन्धानका लागि आफ्नोतर्फबाट साथ र सहयोग हुने उल्लेख गर्नुभयो । आफूले सुशासन र भ्रष्टाचारको अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गर्दै अहिलेका जेनजी पुस्ताले पनि त्यही खोजेको उहाँको भनाइ थियो ।

संविधानविद् प्रा डा विपिन अधिकारीले किसुनजी विपी कोइरालाको सहयात्री, प्रजातान्त्रिक नेता, लेखक र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्ति भएको बताउनुभयो । उहाँले कृष्णप्रसाद भट्टराई दूरदर्शी नेता भएको उल्लेख गर्नुभयो ।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किसुनजी सरल र आदर्शवादी व्यक्ति भएको बताउनुभयो । किसुनजीको व्यक्तित्व विशाल भए पनि तीन निर्वाचनमा पराजय भोग्नु दुःखद् भएको उहाँको भनाइ थियो । उहाँले नेपालको राजनीति मूल्य मान्यता खस्कँदै गएको उल्लेख गर्दै नोट र भोटको सम्बन्ध तोड्नुपर्ने धारणा राख्नुभयो ।

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले निष्ठा, सदाचार मूल्य मान्यता र आदर्श भएका नेता किसुनजीलाई कांग्रेसले सम्झन नसेकेको बताउनुभयो । कांग्रेसले नीति र नेतृत्व परिवर्तन गरेर आगामी निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा रवीन्द्र उप्रेती र उहाँकी धर्मपत्नी देवा उपाध्यायद्वारा लिखित ‘किसुनजी प्रेरणादायी प्रसङ्ग’ नामक पुस्तकको विमोचन गरिएको थियो ।

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ – आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच समझदारी भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको छलफलमा यस्तो समझदारी जुटेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार त्यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

“देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो”, राष्ट्रपति रामचन्द्र पौडेलले सो छलफलमा बताउनुभएको प्रेस सल्लहकार पोखरेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

रेनु तामाङलाई राष्ट्रिय खेलकुद परिषद्को बधाई

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई आज बधाई दिएको छ ।

राखेपका कार्यवहाक सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिँदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिनुभयो ।

रेनुले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा हालै सम्पन्न एसियन युथ पारा गेम्समा के–४४ विधाको महिला ४७ किलोमुनि तौलसमूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । रेनु राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो ।

राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ – सरकार

काठमाडौँ – सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालय अवलोकन गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख दलका मागका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँहरू सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा(एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगी त्यहाँ भएको क्षतिको विवरण लिनुका साथै दलका प्रतिनिधिसँग छलफल गर्नुभयो ।

नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलपछि मन्त्री सिन्हाले आन्दोलनका क्रममा भागेका अधिकांश कैदीबन्दी पक्राउ र लुटिएका धेरै हतियार बरामद भएकाले सङ्गठितरूपमा अपराध हुन सक्ने कुनै सम्भावना नरहेको तथा निर्वाचनको वातावरण बन्दै गएको विश्वास दिलाउनुभयो ।

उहाँले राजनीतिक संवादमार्फत निर्वाचनमा जानुको विकल्प नरहेको जनाउँदै लोकतन्त्र पुनःस्थापित गरी संविधानको मर्म र भावना प्रतिनिधिसभाको निर्वाचन गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो, “आन्दोलनका क्रममा दलका भौतिक संरचना केकति क्षति भए, कसरी पुनर्निर्माण भएको भइरहेको छ त्यो हेर्न आएका हौँ । दलका पदाधिकारीसँगको छलफलमा निर्वाचन सुरक्षाबारे विभिन्न प्रश्न उठेका छन् । तर चुनावको विकल्प छैन भन्नेमा विवाद छैन ।”

छलफलका क्रममा केही सुरक्षा र केही नेताहरूसँगको विषयको प्रश्न उठेको बताउँदै उहाँले प्रमुख दलहरूको सम्र्पक तल्लो तहसम्म भएकाले एक पटक चुनावी नारा तलसम्म पु¥याएर चुनावी वातावरण बनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

सरकारले मन्त्री सिन्हाको संयोजकत्वमा गठित राजनीतिक वार्ता समितिले निर्वाचन आयोगको तयारी सम्बन्धमा मुख्य दलकै कार्यलयमा गएर छलफल निर्णअनुरूप उहाँहरू त्यहाँ जानुभएको हो ।

मन्त्री सिन्हाले भन्नुभयो, “भदौ २३ र २४ को घटना दुर्भाग्यपूर्ण छ, यो अवस्था आउनुमा धेरै आयम छन् । धेरै जनधनको क्षति भयो, यो अस्वभाविक छ । संविधानभन्दा बाहिर गएर काम गर्न सक्दैनौँ । चुनावमा जाऔँ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकार इमान्दारीकासाथ निर्वाचन गराउन खोजिरहेको छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्न आफूहरू राजनीतिक दलका कार्यायले पुगेर संवाद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि यो राजनीतिक दललाई सकारात्मक दबाब हो, हामी चुनाव चाहन्छौँ, चुनावको तयारी यो गरेका छौँ भन्ने स्पष्ट सन्देश हो ।”

निर्वाचनमा भाग लिनुहोस् भनेर सरकार राजनीतिक दलको कार्यालयमा पुगेको यो नै पहिलो पटक भएको बताउँदै सञ्चारमन्त्री खरेलले यसबाट सरकार निर्वाचन गराउन कति प्रतिबद्ध छ भन्ने स्पष्ट सन्देश हो भन्नुभयो । नेकपाको कार्यालय अवलोकनका क्रममा सो पार्टीका संयोजकले पदाधिकारीका तर्फबाट स्पष्ट कुरा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद् पुनःस्थापना गर्न हुँदैन, अब चुनावमै जानुपर्छ भन्नुभएको छ ।” जेनजीले उठाएका माग सम्बोधन भएन भने थप जटिलता हुनेतर्फ आफूहरूलाई भनेको उल्लेख गर्दै उहाँले नेकपाले स्पष्ट रुपमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।

मन्त्री खरेलले सरकार, राजनीतिक दल र जनता निर्वाचनको बाटोमा होमिनुपर्छ भन्नेमा सबै राजनीतिक दल निर्वाचनमा जानेमा सबै स्पष्ट रहेको आफूहरूले पाएको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलका नेताहरूलाई सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाउँछ, अब निर्धारित मितिमा चुनाव हुन्छ ।”

अनुगमनका क्रममा भोलि बुधबार उक्त टोली जनमत, राप्रपा र रास्वपाको कार्यालय जाने बताइएको छ ।

बङ्गलादेशको रेल भौतिक पूर्वाधार मजबुत बनाउन एसियाली विकास बैङ्कको सहयोग

एसियाली विकास बैङ्क र बङ्गलादेश सरकारले देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने ३५ किलोमिटर लामो रेलमार्ग स्तरोन्नति गर्ने उद्देश्यले कुल ६८ करोड ८० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एसियाली विकास बैङ्कका अनुसार यस परियोजनामार्फत ढाका–चट्टोग्राम–कक्सबजार मार्गमा सहज, सुरक्षित र प्रभावकारी यातायात सञ्जाल विकास गरिनेछ, जसले क्षेत्रीय यातायात क्षमतामा वृद्धि गर्नुका साथै आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ ।

ढाकामा आयोजित हस्ताक्षर समारोहमा बङ्गलादेश सरकारका आर्थिक सम्बन्ध विभागका सचिव मोहम्मद शाह्रिआर कादेर सिद्दिकी र बङ्गलादेशका लागि एसियाली विकास बैङ्कका देशीय निर्देशक हो युन जोङले आ–आफ्नो तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा बोल्दै जोङले यो परियोजनाले ढाका र कक्सबजारबीचको रेल सेवालाई अझ मजबुत, भरपर्दो र प्रभावकारी बनाउने तथा सडक यातायातबाट रेल यातायाततर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

एसियाली विकास बैङ्कका अनुसार ट्रान्स–एसिया रेल सञ्जालको महत्वपूर्ण हिस्सा रहेको ढाका–चट्टोग्राम–कक्सबजार मार्गबाट हाल कुल यात्रु आवागमनको ३२ प्रतिशत र मालसामान ढुवानीको ५५ प्रतिशत सञ्चालन भइरहेको छ । यसले बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्र मात्र नभई समग्र आर्थिक एकीकरण र विकासका लागि रेल पूर्वाधारको महत्व स्पष्ट रूपमा देखाउँछ ।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस

काठमाडौँ – सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैंकिङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैंकिङ नीति, नियमन, कर्जा प्रवाह, ग्रामीण अर्थतन्त्र, मर्जर, ग्रे–लिष्ट र पुँजीबजारसम्म फैलिएका सुधारका एजेन्डा अघि सारेको छ ।

कार्यदलले अर्थतन्त्र पूर्ण चलायमान हुन नसकेको, बैंकिङ क्षेत्रमा लगानी प्रवाह कमजोर रहेको र तरलता निष्क्रिय अवस्थामा थुप्रिँदै गएको पृष्ठभूमिमा संरचनात्मक सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल) बनाउँदै जोखिममा आधारित सुपरिवेक्षणलाई प्रभावकारी बनाउन उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थालाई मापदण्डका आधारमा तीन वर्गमा वर्गीकरण गरी फरक–फरक निर्देशन लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

निर्देशित कर्जा नीति पुनरावलोकन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र हरित (ग्रिन) क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने, बैंकिङ सेवाको लागत र ब्याजदर तुलनात्मक रूपमा हेर्न मिल्ने एकीकृत संयन्त्र विकास गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

साथै, लघुवित्त संस्थाको प्रकृति फरक भएकाले बङ्गलादेशजस्तै छुट्टै नियामक निकाय आवश्यक भइसकेको कार्यदलको ठहर छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता गैरबैंकिङ संस्थाको कारोबार बढेकाले तिनको पनि अलग नियामक संरचना आवश्यक रहेको उल्लेख गरिएको छ ।

कार्यदलले निक्षेपकर्ताको हित नघट्ने गरी कर्जा पुनःसंरचना, सहुलियतपूर्ण कर्जा कार्यक्रम तत्काल सञ्चालन, बन्द वा सानो स्तरमा रहेका व्यवसायलाई पुनर्जीवन दिन थप कर्जा व्यवस्था गर्न सुझाव दिएको छ ।

ग्रामीण क्षेत्रमा रु ५ लाख र सहरी क्षेत्रमा रु १० लाखसम्मको व्यवसाय कर्जा सरल रूपमा उपलब्ध गराउने, लघुवित्तमार्फत समूहगत तथा धितोमा आधारित उद्यमशील कर्जाको सीमा बढाउने तथा युवा लक्षित स्टार्टअप र आईटी व्यवसायमा कर्जा प्रोत्साहन गर्नुपर्ने उल्लेख छ ।

कार्यदलले ‘ग्रामीण क्षेत्रमा राष्ट्र बैंक’ कार्यक्रम सुरु गर्न सुझाव दिएको छ । गभर्नर स्वयंले प्रत्येक महिना फरक–फरक भौगोलिक क्षेत्रको भ्रमण गरी कर्जा माग, सम्भावना र समस्या बुझेर नीतिगत परिमार्जन गर्नुपर्ने भनिएको छ ।

इच्छुक पालिकामा व्यवसायी, एनआरएन र बैंकर सम्मिलित वित्तीय गुरु टोली खटाई परम्परागत कृषि बाहिरका सम्भावनायुक्त उद्योग पहिचान गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ ।

मर्जर तथा एक्विजिसनलाई अत्यन्त सतर्कताका साथ अघि बढाउनुपर्ने भन्दै कार्यदलले हाल मर्जरमा गएका भन्दा नगएका धेरै संस्थाको कार्यसम्पादन राम्रो देखिएको उल्लेख गरेको छ । मानव संसाधन, प्रविधि र सञ्चालनको पूर्ण एकीकरणबिनाको मर्जर दीर्घकालीन रूपमा सफल नहुने चेतावनी प्रतिवेदनमा दिइएको छ ।

नेपाललाई ग्रे–लिष्टबाट हटाउन केन्द्रीय बैंकले अझ सक्रिय भूमिका खेल्नुपर्ने प्रतिवेदनको जोड छ । आगामी दुई वर्षभित्र आवश्यक सुधारात्मक क्रियाकलाप सम्पन्न गर्न समयबद्ध कार्ययोजना आवश्यक रहेको कार्यदलले औंल्याएको छ ।

पुँजीबजारसम्बन्धी एजेन्डामा केन्द्रीय बैंकका प्रतिनिधि नेप्सेबाट फिर्ता बोलाउने, मार्जिन कर्जामा विश्व अभ्यास अपनाउने, एनआरएनलाई दोस्रो बजारमा सहजीकरण गर्ने र ग्रिन बण्डसहित वण्ड बजार विकासमा धितोपत्र बोर्डसँग समन्वय गर्न सुझाव दिइएको छ ।

कार्यदलको प्रतिवेदनले बैंकिङ क्षेत्रको सुधार केवल वित्तीय स्थायित्वका लागि मात्र नभई समग्र अर्थतन्त्रलाई पुनः गति दिन निर्णायक हुने स्पष्ट संकेत गरेको छ ।

कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

लुम्बिनी – भारतमा हुने अन्तरराष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय कराते टिम त्यसतर्फ जाने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा नेपाली टिम भारत जान लागेको हो ।

सङ्घले आज भैरहवामा पत्रकार सम्मलेन गरी भारतको महाराष्ट्रस्थित पुणेमा यही पुस १४ र १५ १७ औँ अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागि हुन नेपाली खेलाडीहरूको टोली त्यसतर्फ जान लागेको जानकारी गराइयो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानासहित भारत जान लाग्नुभएको छ । नेपाली टिममा २२ कराते खेलाडी, प्रशिक्षक र अफिसियल छ जना गरी २८ जना सहभागी हुनेछन् । सङ्घका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशिक्षक तथा सङ्घका संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै तहका सरकारले पनि सहयोग नगरेको तर राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गर्नुभयो ।

प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाहरूका छन् । सङ्घका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टिम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।

खेलाडी र दर्शकको क्रिकेट लगाव विश्वकपमा छनोट हुने मुख्य आधार

कीर्तिपुर (काठमाडौँ), ८ पुस : नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली खेलाडीका साथै नागरिकस्तरमा समेत रहेको लगाव नेपाली टोली विश्वकपमा छनोट मुख्य आधार रहेको बताउनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आज आयोजित अन्तक्र्रियामा मुख्य प्रशिक्षक पाठकले घरेलु दर्शकको अपार मायाका कारण नेपाली टोलीलाई जित्नका लागि खेल्ने प्रेरणा मिलिरहेको बताउनुभयो । आफूले यसअघि थाइल्यान्डको प्रशिक्षक रहँदा विपक्षी रूपमा पनि राम्रोसँग हेरेको बताउँदै उहाँले नेपाली टोली विश्वकपमा छनोट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली टोलीमा खेलेरै सिक्ने अद्भूत क्षमता छ ।”

नेपाल क्रिकेट सङ्घ क्यानले आसन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षकका रूपमा पाठकलाई नियुक्त गरेको थियो ।

“नेपाली टोलीमा राम्रो गर्नसक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु”, मुख्य प्रशिक्षक पाठकले भन्नुभयो । राम्रो योजना बनाएर कार्यान्वयन गर्न सके नेपाली महिला क्रिकेट टोलिले उत्साहपूर्ण नतिजा दिनसक्ने भनाइ उहाँको थियोे ।

क्यानका क्रिकेट प्रबन्धक विनोद दासले पाठक आगामी दुई वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त गरिनुभएको जानकारी दिनुभयो । भारतीय मूलका पाठकले सन् २०१८ देखि सात वर्षसम्म थाइल्यान्डको प्रशिक्षक रहँदा एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टि–२० विश्वकपमा पुर्‍याउनुभएको थियोे ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ, ८ पुस : वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स्वागत गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५०० बनाएको थियो । यद्यपी यसअघि ६ हजार ५०० शुल्कमा वृद्धि भएको हो । त्यो शुल्कले वैदेशिक रोजगारमा जाने कामदारलाई भार परेको भन्दै व्यावसायीहरूले चौतर्फी विरोध जनाएका थिए ।

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले अत्यन्त चर्को शुल्क भएको महशुस गरेर कामदारको हितका लागि बृद्धि भएको शुल्क खारेज गरिएको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय आप्रवासन दिवसको दिन अनावश्यक स्वास्थ्य परीक्षण शुल्क लिने निर्णय खारेज गरिने बताउनुभएबमोजिम मन्त्रालयले यही पुस ४ गते शुल्क वृद्धि गर्ने निर्णय खारेजी गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तीमा बृद्धि गरेको शुल्क खारेज गरेर साविककै शुल्क लागु हुने भनिएको छ ।

मन्त्रालयले ३४ वटा स्वास्थ परीक्षण आवश्यक भएको भन्दै ९ हजार ५०० शुल्क बनाएको भए पनि जुन गन्तव्य मुलुकहरूमा सबै जाँच गर्न आवश्यक नरहेको वैदेशीक रोजगार सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो ।

राष्ट्रिय दलित आयोगद्वारा मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर (धनुषा), ८ पुसः राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मधेस प्रदेशका प्रमुखको कार्यालय जनकपुरधामस्थित आज एक कार्यक्रमबीच राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१÷८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरिएको हो ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेस गर्नुभयो ।
प्रतिवेदनमा दलित समुदायको हकहित, संरक्षण, सशक्तीकरण तथा आयोगले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, अनुसन्धान, अनुगमन र सिफारिस समेटिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेशप्रमुख कर्णले संविधानले प्रत्याभूत गरेका समानता र सामाजिक न्यायका अधिकार व्यवहारमा कार्यान्वयन गर्न आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै

कास्की – पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।

महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो । पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मका सडकका दायाँका वर्कसप हटाउनका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।

त्यसैगरी, नगर क्षेत्रका प्रमुख सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको महानगरले जनाएको छ । “यस्ता उद्यमबाट महानगरको वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस्ता उद्योग अन्यत्र व्यवस्थापनका लागि सूचना गरिएको हो”, महानगर प्रमुख धनराज आचार्यले भन्नुभयो ।

यस्तै, महानगरले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीलाई समेत सडकपेटीमा निर्माण सामग्री र साइनबोर्डलगायत वस्तु तथा सामग्री नराख्न आग्रह गरेको छ । महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यम सञ्चालन तथा सामग्री राखेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।

राजमार्ग र मुख्य सडक क्षेत्रका वर्कसपलगायतका उद्यम हटाउने अभियानलाई साथ दिन पनि महानगरले नगरवासीमा अपिल गरेको छ । “महानगरको यस निर्णय परिपालना गर्ने÷गराउने सन्दर्भमा आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन सम्बन्धित घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ ।

पोखराका मुख्य बजार क्षेत्रमा ट्राफिक जामको कारक अव्यवस्थित पार्किङसहित मुख्य सडकसँगै जोडिएर खुलेका ग्यारेज र वर्कसपलाई समेत लिइएको छ । जसका कारणले ट्राफिक जामको समस्या भएको तथा बीच सडकमै मर्मत गर्न ल्याइएका सवारीसाधन रोकिनाले सडक साँघुरिँदा जाम भएको बताइन्छ ।

दुई वटा समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको छ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।

यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने (इएलए)को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

दमौली (तनहुँ), ८ पुस : जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घसंस्था दर्ता नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ राजस्व सङ्कलन भएको छ ।

४३४ गुनासा फछ्र्यौट

चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन् । विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो । प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उहाँले बताउनुभयो । गुनासोमध्ये ४३४ गुनासो फछ्र्यौट गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआरकोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेपनि क्युआरकोडमार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ । त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन । प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फछ्र्यौट भएका छन् ।

बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रेपलाञ्चोक, ८ पुस : जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।

प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी थप संरचना निर्माण गरिएको थियो । हाल गाउँपालिकाको रु १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी तथा भत्किएका संरचना निर्माण गरी पहिलेकै अवस्थामा ल्याउन ंथालिएको हो । यो झरनामा बाढीपहीरोले क्षति पुर्याए पनि पर्यटकको आकर्षण देखिएकाले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पुनर्निर्माण गर्न थालेका हौँ ।

उक्त झरनामा यतिखेर पनि आन्तरिक पर्यटक दैनिक बढिरहेको वडाध्यक्ष तिमल्सिना बताउनुहुन्छ । उहाँका अनुसार उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकाल बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम–फाइमराङ बीचको उक्त झरनामा बर्सेनि पर्यटक बढिरहेको बताइन्छ । यसअघि झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी वरपर घेराबार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेराबार निर्माण गरिएको थियो ।

महाभारत पर्वत शृङ्खलाको जङ्गल–मुहान रहेको चिसो पानी बग्ने झरना तीन तला भई बगेका कारण नै तीनतले झरना नामकरण गरिएको हो । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आर्कषण बनेको थियो । झरना अवलोकन तथा केही दिन बिताउन चाहनेहरू काभ्रेपलाञ्चोककै बनेपा, धुलिखेल र पनौतीलगायत काठमाडौँ उपत्यकाबाट ट्राभल प्याकेज नै बनाएर आन्तरिक पर्यटक आउने गरेको तिमल्सिनाले बताउनुभयो । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सबैखाले पर्यटक लालायित हुने गरेको देखिन्छ ।

हाल तीनतले झरना जानेका लागि झरना नपुग्दै स्थलबाट केही वर होटल–लजको पनि व्यवस्था गरिएको छ । झरनाको अवलोकन, पौडीका साथै बाहिरी जिल्लाबाट आउनेहरूले स्थानीय मौलिक खानाको चासो राख्ने गरेकोसमेत स्थानीयको भनाइ छ । स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । झरनासम्म पुग्न क्षेत्रअनुसार फरकफरक मार्गको प्रयोग गर्न सकिन्छ ।

काभ्रेको पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडकयात्रा गर्नुपर्ने हुन्छ । जुन सडकको पनौती–ढुर्खक करिब १३ किलोमिटर सडक ग्राभेल तथा पक्की छभने त्यसपछि १२ किलोमिटर सडक उकालो–ओरालोमा गाडी तथा मोटरसाइकलमा यात्रा गर्न खासै कठिनाइ भने छैन । विशेषगरी लालीगुराँस फुल्ने मौसममा उक्त क्षेत्रले नयाँ यात्रुहरूलाई मोहनी नै लगाउने गर्छ ।

त्यसैगरी, झरना पुग्ने अर्को सडक ललितपुर जिल्लाबाट पनि छ । ललितपुरको दक्षिणी क्षेत्र गोट्टीखेलबाट चन्दनपुर, कालेश्वर हुँदै करिब १० किलोमिटर ओरालो यात्रापछि च्याम्राङ्गबेँसी पुगिन्छ । यो मार्ग पनि चन्दनपुरसम्मको पक्की सडक तथा त्यसपछिको कच्ची भएपछि बाटो खासै कठिन भने छैन । त्यसैगरी हिउँदको समयमा पनि बागमती प्रदेशको राजधानी हेटौँडासम्म पुग्ने बेथानचोक–फापरबारी सडक पनि यहीँ झरना नजिकबाटै पर्छ । पहाडी मनोरम दृश्यका साथमा झरनाको अवलोकन गर्दै स्वच्छ, सफा, कञ्चन र सङ्लो पानीले भरिएको पोखरीमा पौडीको मज्जा लिनेहरूको भीड नै झरनाको पहिचान बन्दै गएको छ ।

आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी, ८ पुस : यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते निर्माण कम्पनीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको योजनाको ताकम खण्डमा करिब नौ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएकाले ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।

यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताउनुभयो । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघि नै सडक निर्माण भइसकेको छ ।

बालेन र रविबीच ६ घण्टा लामो छलफल, खुसी हुँदै एउटै गाडीमा निस्किए

काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि सभापति लामिछाने पछिल्लो दुई दिनमा दोस्रो पटक बालेनसँग भेटवार्ता गरेका हुन्।

उनीहरूबीच राति ६ घण्टासम्म छलफल भएको जनाइएको छ । रास्वपाका पूर्वसांसद असिम शाहको घरमा लामिछाने र बालेन समूहबीच भेटवार्ता भएको हो।

भेटवार्ता भएपछि बालेन र रवि एउटै गाडिमा खुसि हुँदै निस्किएका छन् ।भेटवार्ता सकारात्मक भएको पूर्वसांसद असिम शाहले बताएका छन् । रविले फागुन २१ को आमनिर्वाचनमा बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बताइएको छ ।

बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छः प्रधानन्यायाधीश राउत

पाटन (ललितपुर) – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ भन्नुभएको छ ।

‘सामाजिक रुपान्तरण र समृद्धिः न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ बार दिवस–२०८२ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एशोसिएशनद्वारा ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानुन व्यवसायीले गलत टिप्पणी गरेर जनमानसमा भ्रम फैल्याउन हुँदैन भन्दै गरिमा कायम गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

“पदमा रहेका व्यक्तिले जिम्मेवारपूर्वक धारणा राख्नु पर्छ, कानुन व्यवसायीले गलत धारणाका आधारमा प्रभावित पार्ने कार्य गर्नु उचित हुँदैन, न्यायपरिषद् र संवैधानिक इजलासको संरचना प्रधानन्यायाधीशले मात्रै केही गर्न सक्दैन, अदालतको जनआस्था भनेको अदालतको प्राण हो, यसका लागि विस्वास आर्जन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश राउतले प्रतिबद्ध भएर मात्रै परिणाम दिन सकिन्छ भन्दै विश्वास जन्माउन परिणाम दिनैपर्छ भन्नुभयो ।

“जनआस्था भनेको विस्वास हो, अहिले देशमा विस्वास धर्मराएको छ, बार र बेञ्च मिलेर विस्वास र जनआस्था कायम राख्नुपर्छ, निष्ठापूर्वक काम गर्दा मात्रै विश्वास जन्मिन्छ”, उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमा अदालतप्रति पचाउनै नसक्ने अभिव्यक्ति सार्वजनिक भएका छन् भन्दै प्रधानन्यायाधीश राउतले नेपाली समाजभित्रको विकृति, विसङ्गतिको सबै मिलेर समाधान गरौँ भन्नुभयो ।

“जिम्मेवारीमा रहेको व्यक्तिले संयमता र बुद्धिपूर्ण निर्णय गर्नुपर्छ, एआई, सूचना प्रविधिको दुरुपयोग अदालतका लागि अत्यन्तै चुनौतीपूर्ण छ, सरकारमा बसेकालाई एआइको दुरुपयोगले पनि समस्या छ, अरुलाई पीडा दिएर रमाउने समाज छ, यसमा ध्यान दिनु आवश्यक छ, कानुन व्यवसायी पेसालाई मर्यादित बनाउने कुरामा बारले ध्यान दिनुपर्छ, अदालत र प्रधानन्यायाधीशले के गर्नुपर्छ भन्नुस्, निष्ठा डगमगाउँदा प्रतिष्ठाले कुनै काम गर्दैन, असल अभ्यास र सुकर्मले निष्ठा कायम हुन्छ, धनदौलतले निष्ठा किन्न पाइँदैन”, प्रधानन्यायाधीश राउतले भन्नुभयो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कानुन व्यवसायीको साझा दायित्व हो भन्नुभयो । उहाँले स्वतन्त्र न्यायपालिका र विधिको शासनका पक्षमा बारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै नेपाल बार लोकतन्त्रको स्थायी पक्षधर हो भन्नुभयो । उहाँले कानुनको शासन हामी सबैको साझा दायित्व हो भन्दै सरकारी वकिल र कानुन व्यवसायीबीचको आपसी सम्मानका आधारमा विधिको शासन स्थापित गर्न सहज हुने धारणा राख्नुभयो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले म जे गर्छु अरुले त्यो नगरोस् भन्ने धारणा राख्न नहुने भन्दै मिडियामा ठूलो फोटो आओस् र सबै मिडियामा आफू हाबी हुन पाउँ भनेर अराजक र उत्तेजक अभिव्यक्ति अधिवक्ताले दिनु उचित नहुने बताउनुभयो । उहाँले अदालत जोगाउने जिम्मेवारी न्यायपालिकाप्रति आस्था राख्नेहरुको भएको बताउँदै यसका लागि अधिवक्ताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ – माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् ।

हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् । हिउँदयामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुश्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पु¥याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पु¥याउनसक्ने जोखिम छ ।

माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको साहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजङ्गल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन् ।

लोमान्थाङ–३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिनुभयो । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो ।

माथिल्लो मुस्ताङमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकले याकचाँैरी र भेडाच्याङ्ग्रापालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौँरी र भेडाच्याङ्ग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन् । यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियाँैदेखि निरन्तर चल्दै आइरहेको छ ।

माथिल्लो मुस्ताङमा याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकताअनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गर्नुभयो । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ ।

खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन् । यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा योगदान पु¥याएको छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर (रौतहट) – विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ ।

सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिनुभएको छ ।

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिनुभयो । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

काठमाडौँ – नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो ।

यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुमगन गरिरहेको स्पष्ट पारेको छ ।

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

भद्रपुर (झापा) – चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट रु छ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा, ८ पुसः गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताउनुभयो । उहाँका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो ।

कम्पनीले रु ३१ अर्ब ३२ करोडको लागतमा बूढीगण्डकी ‘क’ र रु ५६ अर्ब ९९ करोडको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिनुभयो । बूढीगण्डकी ‘क’ अन्तरगत, धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ । आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । एक सय ११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभयो । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ ।

दुई सय २६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउनुभएको छ ।

“यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ”, उहाँले भन्नुभयो, “भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ ।”

यहाँ उत्पादन भएको र बूढीगण्डकी क बाट प्राप्त भएको गरी ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

काठमाडौँ, ८ पुसः क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो ।

क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रबन्ध निर्देशक कार्कीले यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनका लागि नभइ युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि भएको उल्लेख गरे । उनले नेपालमा क्रिकेट खेलमा उल्लेखनीय विकास भएको बताए ।

खेलकुद र शिक्षाबीचको सम्बन्धबारे चर्चा गर्दै प्रबन्ध निर्देशक कार्कीले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताए । बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको उनले जानकारी दिए ।

ब्रान्ड एम्बासडर धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउनु खुसीको कुरा भएको बताए । खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने उनको भनाइ थियो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २७ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ, ८ पुसः सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।

पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर गरेकालाई अयोग्य घोषणा गरिनेछ ।

नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको भए पनि त्यस्ता उम्मेदवार अयोग्य हुने व्यवस्था छ । सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गेको मितिले छ वर्ष पूरा नभएकासमेत अयोग्य हुने कानुनी प्रबन्ध छ ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका उम्मेदवार हुन पाउँदैनन् । प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन् ।

नेपालको नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको उम्मेदवार भने योग्य हुने प्रबन्ध छ ।

विवादपछि कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण

महेन्द्रनगर, ७ पुसः कञ्चनपुर कारागार घटनापछि आज बेलुकी कारागारका नाइकेसहित १३ कैदी अन्यत्र स्थानान्तरण गरिएको छ । गत शुक्रबार कैदीबन्दीले नाइके चौकीदारले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गरेको र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।

कञ्चनपुरका प्रहरी प्रमुख खडक खत्रीले यहाँको कारागारबाट कारागारका नाइके प्रकाश मल्लसहित १३ जना कैदीलाई दाङ र नेपालगञ्ज कारागारमा स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

कैदीबन्दी र नाइकेबीचको विवादपछिको झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । घटनाको विस्तृत छानबिनपछि समितिले प्रतिवेदन पेस गर्नेछ ।

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ, ७ पुसः सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।

आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ । यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ ।”

शाखा प्रमुख डा गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।

“विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका हौँ”, डा गौतमले भन्नुभयो,“कुनै भ्रम र गलत सूचनामा विश्वास नगरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई हाम्रो आग्रह छ ।”

बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उहाँले सुनाउनुभयो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।

डा गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोपप्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताउनुभयो ।

संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैन – अध्यक्ष यादव

गोलबजार (सिरहा) – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताउनुभएको छ ।

आज यहाँ दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरूको (डोटिम) परिसङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो,“संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने छ । संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन् । त्यसैले हाम्रो आग्रह छ, फेरि समस्या नआउने गरी संविधानमा सुधारका काम गरौँ ।”

डोटिम परिसङ्घका अध्यक्ष चन्देश्वर पासावानको अध्यक्षतामा भएको कार्यक्रमका अन्य वक्ताहरूले पनि परिवर्तनलाई थप संस्थागत गर्न मुलभूत समस्याको पहिचा गरेर समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।

निर्वाचन कानुन र व्यवस्थापनबारे सिंहदरबारमा छलफल सम्पन्न

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ । आज यहाँ सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई सङ्कट होइन, परिवर्तन र उत्साहको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि आठ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक दलका नेता तथा दुई जना जेनजी प्रतिनिधिले आफ्ना धारणा राखेका थिए । छलफलमा सहभागी अधिकांशले निर्वाचन हुनुपर्ने मत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीले संविधानअनुसार प्रतिनिधिसभाको दुई अधिवेशनबीच छ महिनाभन्दा बढी रिक्तता हुन नहुने व्यवस्थाका कारण निर्वाचन अपरिहार्य भएको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा परिवर्तन ल्याउने माध्यम भएकाले हिंसा र विद्रोहभन्दा यही बाटोबाट हुने परिवर्तन दिगो र लोकतान्त्रिक हुने धारणा राख्नुभयो ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले समाज र राष्ट्रलाई परिवर्तनको आवश्यकता महसुस गराएको बताउनुभयो । जेनजी र युवापुस्ताले उठाएका प्रश्नहरूको समाधान गर्ने दायित्व सबैको हो भन्दै उहाँले परिवर्तित समयअनुसार राजनीतिक दलबाट अझ बढी सकारात्मक भूमिका अपेक्षित रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री कार्कीले सरकार आलोचना सहन तयार रहेको तर त्यो सबै मुलुकको हितका लागि हुनुपर्नेमा जोड दिनुभयो । “सरकारमाथि जेनजी र दल दुवैबाट आलोचना भइरहेको छ, हामी त्यो सहन तयार छौँ । राजनीतिक दल, नागरिक समाज, पत्रकार र कर्मचारी सबैलाई मुलुकको उन्नति र विकासका लागि सहयोग गर्न आग्रह गरिरहेका छौँ । त्यसैले बाँकी समयलाई प्रभावकारी रूपमा उपयोग गर्दै निरन्तर संवाद र काम भइरहेको छ । यसमा सबै लागौँ, तोकिएको समयमै निर्वाचन गरौँ”, उहाँले भन्नुभयो ।

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ – डा भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

आज यहाँ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा उहाँले नेपाली जनताको अधिकारलाई बलियो बनाउने सङ्कल्पका साथ पार्टी अगाडि बढेको बताउनुभयो ।

नेता रावलले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी युवा शक्तिलाई मुगलान पठाएर यहाँका खेतपाखा बाँझो राख्न चाहँदैनौँ, उत्पादन बढाएर देशलाई समृद्ध बनाउन लाग्छ । यसमा हाम्रो पार्टीले सम्पूर्ण रूपमा सहयोग गर्छ ।”

नेता डा रावलले ‘जेनजी’ आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र देशमा निर्वाचन सम्पन्न गर्ने दुई मुख्य एजेन्डाससहित सरकार गठन भएको चर्चा गर्दै सरकार अन्य काममा अल्मलिन नहुनेमा जोड दिनुभयो ।

सभामा पूर्वमन्त्री भानुभक्त जोशीले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेता खगराज भट्टले आफ्नो पार्टी नैतिक मूल्य–मान्यता र अग्रगामी एजेन्डा बोकेर जनताको माझमा आएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले लेबनान छोडेपनि इटालीले फिर्ता नगर्ने

संयुक्त राष्ट्रसङ्घको शान्ति सेना सन् २०२६ डिसेम्बर ३१ देखि लेबनान छोड्ने योजना अनुसार काम भइरहेको भएपनि इटालीले भने लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने बताएको छ ।

रक्षामन्त्री गुइडो क्रोसेटोले लेबनानको भ्रमणका क्रममा भन्नुभयो, “युनिफिलपछि पनि इटालीले आफ्नो भूमिका निर्वाह जारी राख्नेछ र अन्तर्राष्ट्रिय उपस्थितिलाई विश्वासका साथ समर्थन गर्नेछ । इटालीले अबको समयमा लेबनानी सशस्त्र बलको क्षमता विकासमा सहयोग गर्नेछ।”

इटालीका रक्षा मन्त्रालयका प्रवक्तालाई एएफपीले के इटालीले लेबनानमा सैन्य उपस्थिति कायम राख्न चाहेको हो भनी सोधिएको प्रश्नमा उहाँले इटालीको सेनाले अहिले छोडिनहाल्ने कुरा पुष्टि गर्नुभयो ।

सन् १९७८ देखि इजरायल र लेबनानबीच एक मध्यवर्ती सीमा क्षेत्रको रूपमा काम गरिरहेको थियो भने सन् २००० मा इजरायलले दक्षिणी लेबनानमा कब्जा अन्त्य गरेपछि बाँकी लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) तैनाथ रहँदै आएको थियो ।

लेबनानले युनिफिलको उपस्थिति चाहेको थियो ।संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत अगस्टमा इजरायल र उसको सहयोगी राष्ट्र अमेरिकाले युनिफिलको म्याद अन्त्य गर्न दबाब दिएपछि एउटा मात्र अन्तिम म्याद थप्ने पक्षमा मतदान गरेको थियो ।

हाल युनिफिलको नेतृत्व इटालीका मेजर जनरल डियोडाटो अबग्नाराले गरिरहनुभएको छ भने यहाँ ४९ देशका नौ हजार ९२३ सैनिक रहेका छन् ।लेबनानमा इन्डोनेसियापछि इटालीको दोस्रो धेरै एक हजार ९९९ सैनिक तैनाथ भएको छ। इजरायलले युनिफिलको अन्त्यको स्वागत गरेको छ ।

इजरायल र हेजबुल्लाहबीच भएको युद्धविराम अन्तर्गत लामो समयदेखि नयाँ लेबनानी राष्ट्रिय सेना दक्षिणी लेबनानमा तैनाथ भइरहेको छ र हिजबुल्लाहको पूर्वाधार भत्काइरहेको छ।

“लेबनानी सशस्त्र बललाई बलियो बनाउन समर्थन आवश्यक छ, ताकि उनीहरू देशको रक्षा गर्न उत्तम स्थितिमा रहन सकून्, यसको सीमाको सुरक्षा र सम्मान सुनिश्चित गर्न सकून्,” क्रोसेटोले सोमबार भन्नुभयो । उहाँले अगाडी थप्नुभयो, “हामी बहुपक्षीय र द्विपक्षीय सन्दर्भमा हाम्रो उपस्थितिको सुनिश्चितता गर्नेछौं ।”

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौँ – सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ ।

आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र आक्रमणलाई रोक्नका लागि बनाइएको बताएको छ । तेहरानकोे शस्त्रागारको अस्तित्व बहसको विषय नभएको र यो सम्झौतायोग्य नहुने बताएको छ।

इजरायलले इरानको ‘ब्यालेस्टिक मिसाइल’ र उसको परमाणु कार्यक्रमलाई जुन महिनामा लडेको १२ दिने युद्धका क्रममा निष्प्रभावी पार्न खोजेको दुई मुख्य खतराको रूपमा प्रस्तुत गरेको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “इरानको क्षेप्यास्त्र कार्यक्रम वार्ताका लागि नभई इरानको भूमिको रक्षाका लागि विकास गरिएको हो, तसर्थ, इरानको रक्षा क्षमता शत्रुहरूलाई इरानमाथि आक्रमण गर्ने कुनै पनि विचारबाट रोक्न बनाइएकोे हो, यो वार्ता गर्नुपर्ने विषय होइन ।”

इरानको ब्यालिस्टिक क्षमताले इजरायललाई आक्रमणको दूरीमा पुर्यायो, र जूनमा इजरायलको अभूतपूर्व आक्रमणपछि तेहरानले इजरायलका शहरहरूमा मिसाइल र ड्रोनद्वारा आक्रमण गरेको थियो ।

अमेरिकी प्रसारक एनबीसीका अनुसार युद्धपछि इरानले आफ्नो क्षेप्यास्त्र उत्पादनको पुनर्निर्माण र विस्तार गर्न खोजेको भन्दै इजरायलले चिन्ता व्यक्त गरेको छ ।

यसै महिनाको अन्त्यतिर हुने भनिएको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि नयाँ सैन्य कारबाहीमा सहयोग गर्न सक्ने विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको एनबीसीले जनाएको छ ।

हालैको युद्धको क्रममा इजरायलले सैन्य स्थलहरू, आणविक सुविधाहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरेको थियो जसमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

इजरायलले आफ्नो भूमिमा ५० भन्दा बढी इरानी क्षेप्यास्त्र आक्रमण भएको र यसबाट २८ जनाको मृत्यु भएको बताएको थियो ।

अमेरिकाले युद्धविरामको घोषणा गर्नुअघि इरानको आणविक केन्द्रमा केही समयका लागि आफ्नो सहयोगी इजरायलसँग मिलेर आक्रमण गरेको थियो।

इरानले कुनै समय अमेरिकाबाट धेरै हतियार खरिद गरेको थियो तर सन् १९७९ को इस्लामिक क्रान्तिपछि कूटनीतिक सम्बन्ध टुटेपछि उसले आफ्नै घरेलु हतियार उद्योग विकास गरेको छ।

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौँ – जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो ।

यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उहाँले बताउनुभयो । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उहाँको भनाई छ ।

गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु भएका थिए । उहाँले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु हुनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो ।

सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु भएका थिए ।

डा गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् ।

मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उहाँले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताउनुभयो । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताउनुभयो ।

यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।

जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम – लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ ।

सभामुख भीमबहादुर भण्डारीले आज बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पुस ११ गते प्रदेशसभाको बैठक बस्ने निर्णय भएको जानकारी दिनुभयो ।

चालु बजेट अधिवेशनअन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएपछि नियमित बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले क्षति पुगेका संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको र पुस ११ गते दिउँसो २ः०० बजे चालु बजेट अधिवेशनको बैठक बस्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुष ११ मा बैठक बस्ने र लगत्तै चालु अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशन बोलाउने विषयमा सरकारसँग परामर्श भइरहेको छ । त्यसो हुन नसकेमा चालु अधिवेशनका थप बैठक बस्नेछन् ।”

दशै स्थानीय तहद्वारा किमाथाङ्का अरुण आयोजनामा लगानी गर्न सहमत

खाँदबारी (सङ्खुवासभा) – यहाँको भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत आयोजनामा सङ्खुवासभाका १० वटै स्थानीय तहले संस्थापक सेयरमार्फत लगानी गर्ने सहमति जनाएका छन् ।

खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा आज आयोजित छलफलमा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो आफ्नो भागमा पर्ने सेयर बराबरको रकम लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत हीरामान वाइबाले किमाथाङ्का अरुण आयोजना मुलुककै ठूला जलविद्युत् आयोजनामध्ये एक भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजना ‘जनताको जलविद्युत् आयोजना’ को अवधारणामा आधारित रही विकास गरिने वाइबाले बताउनुभयो ।

आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था मिलाइएको छ । जसले स्थानीयको सहभागिता र स्वामित्वलाई सुनिश्चित गर्ने उहाँको भनाइ थियो ।

छलफलमा परियोजना प्रबन्धक अशोक पण्डितले निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले तोकिएको समयमै आयोजना सम्पन्न गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यति ठूलो र रणनीतिक महत्वको आयोजना समयमै सम्पन्न गरिनुपर्ने बताउनुहँुदै स्थानीय तह, कम्पनी र केन्द्र सरकारबीचको सहकार्यले आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्ध जलाशय प्रकृतिको यस आयोजनामा छुम्सुर गाउँ नजिक अरुण नदीमा करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन छ । बाँध निर्माणपछि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र १०३ लाख घनमिटर पानी अट्ने क्षमताको जलाशय बन्ने जनाइएको छ ।

आयोजनाको विद्युत् गृह भोटखोला गाउँपालिका–२ अन्तर्गत लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी क्षेत्रमा रहनेछ । यसका लागि करिब पाँच हजार ९१८ मिटर लामो र आठ मिटर व्यासको भूमिगत सुरुङ निर्माण गरिने योजना छ । साथै आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । आयोजनाको अनुमानित लागत करिब रु ९२ अर्ब रहेको छ ।

स्टार शुल्कले थिचिँदा बलिउडको खर्च समीक्षा

निजी ट्रेलरको फ्लीट, व्यक्तिगत शेफ, ठूला सहयोगी टोली र विलासी सुविधाजस्ता बलिउडका शीर्ष कलाकारको बढ्दो मागले फिल्म निर्माण लागत आकासिएको छ । यसले भारतीय फिल्म उद्योगको वित्तीय संरचनामा गहिरो दबाब सिर्जना गरिरहेको उद्योगका जानकारहरूले बताएका छन् ।

बलिउड लामो समयदेखि नै बक्स अफिसमा अनिश्चित रहँदै आएको छ । महामारीले अवस्था झन् जटिल बनाएको भए पनि धेरै निर्माता र वितरकहरूका अनुसार आज देखिएको घाटा रचनात्मक असफलताभन्दा बढी स्टार शुल्क र तिनसँग जोडिएका अतिरिक्त खर्चका कारण भएको हो । निर्माता रमेश तौरानीका अनुसार समस्या उत्पादन लागतभन्दा पनि कलाकारले लिने पारिश्रमिक र सुविधामा केन्द्रित छ ।

उद्योगका अनुसार आजकल अभिनेता–अभिनेत्रीहरू मेकअप आर्टिस्ट, हेयरड्रेसर, स्टाइलिस्ट, जिम प्रशिक्षक र सहायकसहित १० देखि १५ जनाको टोली लिएर सुटिङ स्थलमा पुग्ने गरेका छन् । यसका अतिरिक्त प्रथम श्रेणीको यात्रा, पाँचतारे होटल, अलग–अलग भ्यानिटी भ्यान र सीमित कार्यघण्टाजस्ता माग सामान्यजस्तै भइसकेका छन् । एक मात्र ट्रेलर भाडाको लागत नै करिब १८ हजार अमेरिकी डलरसम्म पुग्ने बताइन्छ ।

वरिष्ठ निर्माता मुकेश भट्टले विस्तारित सहयोगी टोली, महँगो यात्रा र विलासी आवासले रचनात्मक नतिजामा समानुपातिक योगदान नदिई बजेट बढाइरहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यस्ता मागहरू धेरै हदसम्म ‘अप्रिय’ बन्दै गएका छन् । व्यापार विश्लेषक राज बंसलले भने कलाकारहरूबीच सुविधामा प्रतिस्पर्धा बढ्दै जाँदा खर्च झनै बढेको बताउनुभयो ।

बलिउडलाई सधैँ उच्च जोखिमको उद्योग मानिँदै आए पनि अहिले स्टार–केन्द्रित लागत बक्स अफिस आम्दानीले धान्न नसक्ने स्तरमा पुगेको निर्माताहरूको भनाइ छ । महामारीपछिको समयमा स्ट्रिमिङ प्लेटफर्महरूले महँगो मूल्यमा फिल्म किन्दा केही राहत मिलेको थियो, तर ती सम्झौता घटेसँगै आम्दानी खस्कियो । यसबीच कलाकारहरूको माग भने घटेन, जसले समस्या अझै गहिरो बनायो ।

प्रतिस्पर्धी वातावरण पनि बदलिएको छ । दर्शकको रुचि परिष्कृत भएको, स्ट्रिमिङ प्लेटफर्मले विकल्प बढाएको र क्षेत्रीय सिनेमाले स्तर उकासेको भट्टको भनाइ छ । उहाँका अनुसार फिल्म कमजोर नभए पनि बढ्दो उत्पादन लागत, विशेष गरी स्टार शुल्कले अर्थतन्त्र असन्तुलित बनाइरहेको छ ।

अभिनेता तथा निर्माता आमिर खानले पनि यस विषयमा सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ । उहाँले एक अन्तर्वार्तामा करोडौँ कमाउने कलाकारहरूले निर्मातामाथि अत्यधिक बोझ थोपर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आत्मसम्मानको कुरा गर्नुभयो ।

उद्योगका जानकारहरूका अनुसार स्टारहरूको मागले क्यास्केडिङ प्रभाव पार्दै अरू कलाकारलाई पनि उस्तै सुविधा माग्न प्रेरित गर्छ । यसबाट बच्न संसाधनलाई कथावस्तु र कथा कथनको गुणस्तरतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिइएको छ । केही निर्माताहरूले जोखिम र नाफा साझा गर्ने साझेदारी–आधारित मोडेल अपनाउनुपर्ने धारणा अघि सारेका छन् ।

सन् २०२४ मा बनेको ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ कमजोर प्रदर्शन गरेपछि निर्माताले ऋण तिर्न सम्पत्ति बन्धक राख्नुपरेको समाचार पनि सार्वजनिक भएको थियो । यद्यपि केही अपवाद पनि छन् । अभिनेता कार्तिक आर्यनले सन् २०२३ को असफल फिल्म शहजादाका लागि आफ्नो शुल्क नलिएको उदाहरण दिइन्छ ।

कतिपय निर्माता भने समस्या उद्योगकै निर्णयमा रहेको बताउँछन् । अभिनेता तथा निर्माता विवेक वासवानीका अनुसार अत्यधिक शुल्कले बजेट बिगार्छ भने त्यस्ता स्टारसँग काम नगर्नु नै उत्तम हुन्छ । उहाँले नयाँ कलाकारसँग बनेका सफल फिल्महरूको उदाहरण दिँदै ‘यदि तपाईँलाई आफ्नो स्टार स्क्रिप्टभन्दा बलियो लाग्छ भने, त्यो सोच नै गलत हो’ भन्नुभयो ।

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पु¥याउन सकेन ।

‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्युजेडएसएस) अन्तर्गत राखिएको पाँचौं उपग्रह हो, जसको उद्देश्य जीपीएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारित सेवाहरूमा स्थान निर्धारणको शुद्धता बढाउनु हो ।

जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौं एच–३ रकेट कागोशिमाको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट बिहान १०ः५१ बजे प्रक्षेपण गरेको थियो । तर दोस्रो चरणको इन्जिन समयभन्दा पहिले बन्द भएपछि रकेट असफल भयो ।
अन्तरिक्ष निकायले हाल परिस्थितिको मूल्याङ्कन गर्दै इन्जिन बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको छ ।

यो रकेटले बोकेको ‘मिचिबिकी नम्बर ५’ उपग्रह मोबाइल फोन, सवारी साधनका नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारण सेवाहरूको शुद्धता सुधार्ने उद्देश्य राखेको थियो ।