भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
सुदूरपश्चिम। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गरी त्यहाँको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाले बुधबार बिहान ६ः०० बजेदेखि बिहीबार अपराह्न ६ः०० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोल्ने जानकारी आएको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सिल्ट सफाइका लागि बाँधका ढोका खोलिने भएकाले त्यस अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
