`

ओदाली खोलाबाट अवैध ढुङ्गा ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा

महेन्द्रनगर।  कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा  ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो ।

त्यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।उहाँका अनुसार कृष्णपुर नगरपालिका–१ स्थित ओदाली खोलाबाट अवैध रुपमा ढुङ्गा निकाली ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय बुझाइएको कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं – वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरिनेछ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता र दोषीमाथि कडा कारबाहीको माग गर्दै संघले विरोधस्वरूप सेवा बन्दको निर्णय गरेको जनाएको छ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ। संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।

संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो । यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो ।

मनसुन सक्रिय, लुम्बिनी–सुदूरपश्चिमसहित पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ ।

देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेश प्रदेशको एकदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थान मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको हिमाली र पहाडी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४२ रुपैयाँ १८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४३ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३६ पैसा र बिक्रीदर २३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ २१ पैसा बिक्रीदर ४०७ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९९ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।

दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ ।

नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको थियो । आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ ।

सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रस्ताव भएबमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ ।

यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो ।

यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो । आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ ।

Nabil bank
नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । यस्तै, २०८२ जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।

प्रस्तावित आयोजनास्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना रहेको छ । यस्तै, तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना छ ।

उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वर्षायाममा ११८ दशमलव ५२ गिगावाट घण्टा र हिउँदमा ६७ दशमलव १०० गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत रु छ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रहेको छ ।

कास्कीमा पहिरोका कारण पाँच परिवार प्रभावित, घरगोठमा क्षति

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाडावर्तन पुरिएका छन् ।

सोही ठाउँका छानबहादुर क्षेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ । यसैगरी, खुसीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ ।

उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो ।

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले प्रतिबन्ध लगाइएको वस्तुको अनधिकृत रुपमा बिक्रीवितरण नगर्न सम्वद्ध पक्षलाई सचेत गराएको हो ।

कानुनबमोजिम दण्डनीय रहेको पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न सूचित गरिएको छ ।

कानुनविपरीतका कार्य भए÷गरेको पाइएमा पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम काराबाही हुने विभागले स्पष्ट पारेको छ ।

यस्तै, विभागले बजारमा स्वच्छता कायम राख्नका लागि अनुगमन तथा निरीक्षणलाई तीव्र पारेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम बजारमा आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।

सोमबार काठमाडौँका विभिन्न नौ वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो । ती फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले उपभोक्ता अधिकारकर्मी र स्थानीय सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ। सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको आजदेखि शुभारम्भ गरेको छ ।

अदालतले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले उक्त सेवा प्रारम्भ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजलासको आदेश सोही दिन विद्युतीय माध्यममा प्रविष्ट गर्ने प्रणालीअन्तर्गत रहेको नयाँ व्यवस्थाअनुसार इजलासबाट हुने आदेशहरू (फैसला वा अन्तिम आदेश बाहेकका) सोही दिन अदालतको विद्युतीय प्रणालीमा राखिनेछन् ।

यसबाट मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमा प्राप्त गर्न सक्ने जनाउँदै अदालतका प्रवक्ता कोइरालाले यस व्यवस्थाले न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अदालतले यस प्रणाली कार्यान्वयनसँगै न्यायमा पहुँच अभिवृद्धि हुने, आदेशको जानकारी प्राप्त गर्न अदालतमा पटकपटक उपस्थित हुनुपर्ने बाध्यता कम हुने, मुद्दाका पक्ष तथा अदालतका कर्मचारीबीच हुने अनावश्यक प्रत्यक्ष सम्पर्क न्यून हुने, सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता बढ्ने तथा आदेशसम्बन्धी सूचनाको समयमा उपलब्धताले न्यायिक प्रक्रियाप्रति नागरिकको विश्वास थप सुदृढ हुने अपेक्षा गरेको छ ।

त्यसैगरी उक्त प्रणालीमा प्रविष्ट भएका आदेशका आधारमा सम्बन्धित मुद्दाका पक्षहरूले आवश्यक प्रक्रिया पूरा गरी देशभरका कुनै पनि अदालतबाट आदेशको प्रमाणित प्रतिलिपि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसबाट सेवाग्राहीको समय, श्रम र आर्थिक व्ययमा कमी आउनुका साथै अदालतसम्मको भौतिक पहुँचका कारण उत्पन्न हुने असुविधा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यो प्रणालीले अदालतहरूबीचको विद्युतीय अन्तरसम्बन्धलाई थप सुदृढ गर्नुका साथै न्यायिक अभिलेख व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने, कागजी प्रक्रियामा निर्भरता घटाउने, आदेश कार्यान्वयन प्रक्रियालाई थप सहज बनाउने तथा भविष्यमा न्यायिक सेवाको पूर्ण डिजिटल रूपान्तरणका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास लिइएको अदालतका प्रवक्ता कोइरालाले बताउनुभयो ।

सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत न्यायपालिकालाई अझ सेवाग्राहीमैत्री, पारदर्शी, उत्तरदायी तथा सहज पहुँचयुक्त बनाउने न्यायपालिकाको निरन्तर प्रयासअन्तर्गत यो व्यवस्था कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ ।

साथै, यसको प्रभावकारी कार्यान्वयनमा सबै सम्बन्धित निकाय र कर्मचारीको सक्रिय सहयोग आवश्यक रहनुको साथै आगामी दिनमा न्याय प्रशासनमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै न्यायिक सेवाको गुणस्तर, प्रभावकारिता तथा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने दिशामा थप सुधारात्मक कार्यक्रम कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरेको छ ।

शनिबार अस्पतालमा भएको घटनाको सम्बन्धमा आज मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउनहुन र सर्वसाधारण सबैलाई अस्पतालको संवेदनशिलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिनु हुन अनुरोध गरेको हो ।

शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ ।

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकलगायत सेवा बन्द गर्दै आएका छन् । मन्त्रालयले भनेको छ, “नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधन भएको घटनाप्रति मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । उक्त घटनापछि अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन गरी कानुनी उपचार र न्यायका लागि प्रचलित कानुन बमोजिम हुने व्यवस्था विद्यमान रहेको जनाउँदै मन्त्रालयले त्यस प्रकारका हिंसाका घटनाप्रति शून्य सहनशीलताको नीति दोहोयाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, “स्वास्थ्य अत्यन्त संवेदनशील क्षेत्र हो । त्यसैले उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो संवेदनशीलता बुझ्नु जरुरी महत्त्वपूर्ण छ ।

सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा निर्भय, सुरक्षित, उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन मन्त्रालय कटिबद्ध छ ।”

मन्त्रालयले सबैलाई संयमित हुन र अस्पतालको सेवा नियमित रूपमा सञ्चालन गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन पनि सबैमा अनुरोध गरेको छ ।

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीन जनालाई पक्राउ गरिएको हो।

निकुञ्जले आज जारी गरेको विज्ञप्तिमा सुरक्षा निकाय र कर्मचारीले अप्रेसनका क्रममा साउन ४ गते भरतपुर महानगरपालिका-२६ बाट गोरखाको पालुङ्टार-४ स्थायी घर भई भरतपुर ११ बस्ने ४४ वर्षीय रमेश सुनारलाई पक्राउ गरेको जनाइएको छ।

संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने अखेटोपहार ओसारपसार गरिरहेको अवस्थामा निजलाई पक्राउ गरी अनुसन्धान गरिएकामा सोही कसुरमा संलग्न रहेको खुल्न आएपछि थप दुई जना पक्राउ परेका विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पर्नेहरूमा भरतपुर-२० का ४२ वर्षीया रेनु भनिने रीता परियार र भरतपुर-२९ का २७ वर्षीय सुभाष लामा रहेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरद्वारा जारी विज्ञप्तिमा निजहरूलाई जिल्ला अदालत चितवनमा प्रतिवादी बनाइ अभियोग दर्ता गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय माग दाबी गरिएको छ।

सरकारसँग सातबुँदे सहमति भएपछि डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं । सरकारसँग सातबुँदे सहमति भएपछि डा। गोविन्द केसीले आफ्नो अनशन अन्त्य गरेका छन् ।

विभिन्न माग राख्दै गत बिहीबारदेखि कैलालीको धनगढीमा अनशनरत केसीसँग सोमबार सरकारको वार्ता टोलीले सातबुँदे सहमति गरेको हो। सहमतिपछि उनले सोमबार साँझ अनशन तोडेका हुन् ।

डा। केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो। त्यसपछि भएका चरणबद्ध वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो।

 

सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले साेमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेहुनेप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गरेका छन्।

उनले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले भनेका छन्, “सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ । यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा सम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीति दल, जनप्रतिनिधि र सञ्चारकर्मीमा हार्दिक अनुरोध गर्दछु ।”

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेको साथमा रहेको विश्वास दिलाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको उनले बताए। उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जीउधनको रक्षा गर्न अनुरोध गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो दुःख एवं हार्दिक समवेदना व्यक्त गरेका छन्।

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच छलफल भएको छ।

साेमबार पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका–१ र २ का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न ११ बुँदे निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री लम्सालका निजी सचिव राजेन्द्रबहादुर बमका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा खानेपानी आयोजनाको विद्युत् महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ। आगामी आर्थिक वर्षदेखि भने सञ्चालन खर्च केन्द्र सरकारमार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराउने सहमति भएको उनले जानकारी दिए।

सुरुङको पूर्वी प्रवेशद्वार (पोर्टल) मा रहेको डिपबोरिङमा मोटर जडान गरी खानेपानी सञ्चालन गर्ने, खानेपानी तथा ढल व्यवस्थापन विभागले आवश्यक प्राविधिक सहयोग, अनुगमन तथा समन्वय गर्ने तथा नागढङ्गा सुरुङमार्ग निर्माण आयोजनाले खानेपानी आयोजनासम्बन्धी सम्पूर्ण प्राविधिक विवरण, अभिलेख र आवश्यक कागजात सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय पनि गरिएको छ।

बैठकले घर चर्किएको सम्बन्धमा सुरुङमार्ग निर्माणका कारण क्षति पुगेको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन अघि बढाउने र अध्ययन प्रतिवेदनका आधारमा क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी, निर्माणाधीन मितेरी मार्गका लागि बजेटको निरन्तरता दिने, सुरुङको पूर्वी पोर्टलबाट किसिपीडीतर्फ स्थानीयलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्ने तथा सिस्ने खोलाबाट पानी लिफ्टिङ गर्नेसम्बन्धमा आवश्यक अध्ययन सम्पन्न गरी निर्माण यथाशीघ्र सुरु गर्ने निर्णय भएको मन्त्री लम्सालका निजी सचिव बमले जानकारी दिए।

उनका अनुसार स्थानीय रोजगारीका विषयमा सम्बन्धित वडाको सिफारिसका आधारमा दक्षता र क्षमताअनुसार अवसर उपलब्ध गराउने तथा प्रभावित क्षेत्रका बासिन्दाले सुरुङमार्ग प्रयोग गर्दा लाग्ने दस्तुरका विषयमा सडक बोर्ड नेपालमार्फत नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरी उचित सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ।

छलफलमा मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१ का वडाध्यक्ष हरिश्याम रानामगर, वडा नं २ का कार्यवाहक अध्यक्ष चन्द्रकुमारी गिरी (बस्नेत) तथा विभिन्न खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता थियो।

बैठकमा नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले प्रभावित क्षेत्रका लागि निर्माण गरिएको खानेपानी प्रणाली हालसम्म आयोजनाले सञ्चालन तथा मर्मतसम्भार गर्दै आएको र हाल उक्त प्रणाली चन्द्रागिरी नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी गराइएको थियो। साथै विद्युत् महसुल, मर्मतसम्भार खर्च तथा जनशक्तिको पारिश्रमिकसमेत आयोजनाले हालसम्म व्यहोर्दै आएको विवरण प्रस्तुत गरिएको थियो।

सुरुङमार्ग सञ्चालन चरणमा प्रवेश गरिसकेकाले अब खानेपानी आयोजनाको दीर्घकालीन व्यवस्थापन, आर्थिक स्रोतको सुनिश्चितता र सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले यी निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

पर्सा । नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ ।

अस्पतालले साेमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो।

शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते भएका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुत पनि पटेलको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

पटेलको मृत्यु पश्चात् अस्पताल प्रशासन र पीडित पक्षबीच सम्वाद र छलफल हुँदै गर्दाको अवस्थामा केही अराजक व्यक्तिहरूबाट अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेपछि सृजना भएको घटनाका बारेमा छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै आकस्मिक विभागमा कार्यरत डा रामलाई मरनासन्न हुने गरी कुटपिट गरेको जनाउँदै हाल उहाँको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त घटनापश्चात् अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाइरहेकाले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।यसैबिच, चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आज घण्टाघरमा प्रदर्शन पनि गरेका छन्।

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

काठमाडौँ। विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनुपर्ने जनाएको छ ।

बोर्डले आज सूचना जारी गर्दै बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण उल्लेख नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भएको पाइएको जनाएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५(ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम (५) तथा विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्री परीक्षण तथा अनुमति दिने अधिकार विज्ञापन बोर्डमा रहेको छ ।

बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन तथा हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको हो ।

प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन भनिएको छ । कानुनी व्यवस्था उल्लङ्घन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ

‘जीवनमै यस्तो चमत्कार देख्न पाइयो’ : नागढुंगा सुरुङमार्गले जगायो नयाँ आशा

काठमाडौँ। “धन्न, आजसम्म बाचेँ र यस्तो चमत्कार देख्न पाएँ ।”चन्द्रागिरि नगरपालिका–१ का ७९ वर्षीय इन्द्र पण्डितको यो अभिव्याक्तिले जो कोहीलाई भावुक बनाउँछ । सात दशकभन्दा लामो नेपालको विकास यात्राको साक्षी बन्नुभएको छ पण्डित । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा सुरुङमार्ग’ उद्घाटन समारोहमा सहभागी हुँदा उहाँको अनुहारमा देखिएको मुस्कानले विकासको बेग्लै सकारात्मक सन्देश प्रवाह गरेको देखिन्थ्यो ।

नवीनतम प्रविधिको प्रयोग, आधुनिकता र सडक यातायातले फड्को मारिरहेको हालको दुनियाँमा पण्डितलाई भने अझै पनि आफ्नो किशोर अवस्थाको यात्रा सम्झना छ । धादिङको गजुरीबाट काठमाडौँ आउँदा दुई दिन पैदल हिँड्नुपरेको स्मृति अझै उहाँको मनष्पटलमा ताजै छ । त्यस बेला गोरेटोे, खोल्सा र जङ्गल अनि उकालो–ओरालो पार गर्दै राजधानी आइपुग्न कम्ती सकस थिएन ।

त्यतिबेला डाँडो छेडेर सुरुङमार्ग निर्माण होला र सवारीसाधन गुड्लान् भन्ने कल्पना पनि गर्नुभएको थिएन पण्डितले । “त्यो बेला काठमाडौं आउनु भनेको कठिन थियो”, उहाँ सम्झनुहुन्छ, “अहिले यस्तो दिन आउला भन्ने कल्पना पनि गरेको थिइन ।”

नागढुङ्गाको उकालो, घुम्ती मोड्दै, जाममा पर्दै उपत्यका उक्लनुपर्ने सकसबाट मुक्त भएकोमा झै बढी उत्सााह छ उहाँमा । त्यसमाथि आफ्नो जन्मस्थान जाने बाटो छोटिएकोमा अझै बढी उत्साहित बन्नुभएको छ पण्डित जी ।

मुसुक्क मुस्कुराउँदै पण्डितले भन्नुभयो, “डाँडो छेडेर सुरुङमार्ग बनेको छ । केही मिनेटमै गन्तव्य पुग्न सकिने भएको छ । यात्राको कठिनाइ हटेको छ । अनि खुसी नहुने कुरै भएन ।” त्यस्तै काठमाडौँ थानकोटकै दिलबहादुर श्रेष्ठ पनि उमेरले ८१ पुग्नभयो । सुरुङमार्गको उद्घाटनलाई निहाल्दै पट्ट ताली बजाउँदै हुनुुहुन्थ्यो । उहाँलाई पनि सायद लाग्दो हो ढिलै भए पनि परिवर्तन भइरहेको छ ।

“अहिलेका पुस्ताले नेपालमा केही भएन मात्रै भन्छन्”, उहाँले भन्नुहुन्छ, “हाम्रो पालासँग तुलना गर्ने हो भने त धेरै परिवर्तन भएको छ । सडक बने, पुल बने, गाउँगाउँमा गाडी पुगे, अहिले त सुरुङ पनि बन्यो ।”

उहाँ केहीबेर रोकिनुभयो । त्यसपछि फेरि भावुक हुँदै भन्नुभयो, “हामी त अब डाडाँमाथिको घाम भइसक्यौँ । तर हाम्रा पछिल्ला पुस्ताका लागि केही हुँदैछ भन्ने भानलाई यो सुरुङ निर्माणले चिरिदिएको छ । हामीले नमर्दै आफ्नै ठाउँमा यति ठूलो विकास भएको देख्न पाइयो ।”

अभाव, कठिन यात्रा र सीमित पूर्वाधारबाट गुज्रिएको पुस्ताले परिवर्तनलाई फरक आँखाले हेर्छ भन्ने पुरानो पुस्ताको अनुभव हुन यी । उद्घाटन समारोहमा सहभागी स्थानीय कलाधार गैरेले सुरुङमार्ग निर्माणलाई मुलुकको परिवर्तनको सङ्केतको रुपमा लिनुभएको छ । विकासले गति लिन थालेको अनुभव भएको छ । तर अपेक्षाअनुसार तीव्रतामा भने अझै पुग्न नसकेको उहाँको गुनासो छ ।

“आधुनिक सुरुङमार्ग मुलुकमा परिवर्तनको घण्टी बजेको सङ्केत हो”, उहाँले भन्नुभयो, “जति हुनुपथ्र्यो, त्यति हुन सकेको छैन । अझ धेरै गर्न सकिन्थ्यो । तर केही पनि भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । काम भइरहेको छ । मात्रै अपेक्षाभन्दा केही ढिला भएको हो ।”

गैरेका अनुसार विकासले दीर्घकालसम्म नागरिकलाई लाभ पु¥याउने, वातावरण संरक्षण गर्ने र भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्य बोकेको हुनुपर्छ । “अबको विकास दिगो र वातावरणमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो, “प्राकृतिक सम्पदाको संरक्षण गर्दै, वातावरणलाई कमभन्दा कम असर पर्ने पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्छ । विकास आजका लागि मात्र होइन, भोलिका पुस्ताका लागि पनि हुनुपर्छ ।”

गैरेको भनाइले अहिलेको नेपालको विकासप्रति आम नागरिकको सन्तुलित दृष्टिकोण झल्काउँछ । एकातिर देशमा परिवर्तन हुँदै गएको अनुभूति छ भने अर्कोतिर त्यो परिवर्तन अझ योजनाबद्ध, दिगो र प्रभावकारी बन्नुपर्ने अपेक्षा उत्तिकै बलियो छ ।

सुरुङमार्ग उद्घाटन समारोहमा सहभागी स्थानीय बालकुमारी डङ्गोल पनि उक्त पूर्वाधारले देशमा सकारात्मक परिवर्तनको सन्देश दिएको विश्वास गर्नुहुन्छ । “यस्ता विकासका कामले अब केही सुधार हुन्छ कि भन्ने आशा जागेको छ”, उहाँले भन्नुभयो, “देशमै रोजगारी र अवसर प्राप्त होस् । हाम्रा छोराछोरीले आफ्नो भविष्य खोज्न विदेश जानु पर्ने अवस्था अन्त्य होस् भन्ने चाहना छ ।”

डङ्गोलका यी भनाइले भौतिक पूर्वाधारसँगै आर्थिक अवसर र रोजगारी सिर्जनाको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिन्छ ।

स्थानीय पम्फा भुजेलले आफ्नै गाउँठाउँमा यति आधुनिक पूर्वाधार बन्ने कल्पना कहिल्यै गर्नुभएको थिएन । नेपालकै अत्याधुनिक सुरुङमार्ग निर्माण भएको देख्दा उहाँ उत्साहित हुनुहुन्छ । सुरुङमार्गबाट यात्रा गर्ने अवसरको प्रतीक्षामा रहेनुभएकी भुजेलका लागि यो आयोजना मुलुकको प्रगतिको प्रतीक बनेको छ ।

“हाम्रो ठाउँमा यस्तो सुरुङमार्ग बन्ला भन्ने त कहिल्यै सोचेको पनि थिइनँ”, उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “अहिलेसम्म फोटो र भिडियो मात्रै हेरेकी छु । अब कहिले सुरुङमार्ग हुँदै यात्रा गर्न पाइएला भन्ने उत्सुकता छ ।”

उहाँलाई यस्ता आधुनिक पूर्वाधारले नेपाल विकासको नयाँ चरणतर्फ अघि बढिरहेको अनुभूति गराएको छ । “सुरुङमार्ग देख्दा नेपाल विस्तारै विकसित मुलुकजस्तै बन्दै गएको हो कि भन्ने आशा पलाएको छ”, भुजेलले भन्नुभयो ।

पण्डित, डङ्गोल, गैरे, भुजेलका लाागि मात्र होइन आज सम्पूर्ण नेपालीलाई उक्त सुरुङ निर्माणबाट मुलुकले अब परिवर्तनको बाटो समातेको विश्वास जगाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको संयुक्त रूपमा आज सुरुङमार्ग औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

समारोहमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौँदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने बताउनुभयो ।

“नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको छ, अब सडक दुर्घटनासमेत न्यूनीकरण हुन्छ”, उहाँले भन्नुभयो ।

जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडीए) तथा नेपाली प्राविधिक र श्रमिकको अथक परिश्रमबाट सुरुङ निर्माण भएको बताउनुभयो ।

दुई हजार ६८८ मिटर कूल लम्बाइ रहेको उक्त सुरुङको सुरुआती ठेक्का सम्झौताअनुसार २६ अप्रिल २०२३ भित्रै सम्पन्न गरिन पर्नेमा पटकपटक समय बढाउँदासमेत कामले गति लिन नसकेपछि पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्मका लागि म्याद थपिएको थियो ।

यसैबीच, विसं २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्कसमेत निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्नेका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।

कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेशमा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट बाहिरिँदा रु ६० शुल्क तोकिएको छ ।

त्यस्तै मिनीबस, मिनी टिपर÷ट्रकका लागि काठमाडौँ प्रवेशमा रु १२५ र काठमाडौँबाट निस्कदा रु ८० शुल्क तोकिएको छ ।

त्यसैगरी बस, ट्रकलगायतका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु २६० शुल्क छ भने तिनै सवारीसाधनलाई काठमाडौँबाट निस्कदा रु २०० दस्तुर तोकिएको छ ।

मल्टिएक्सल ट्रक, सवारीसाधन, भारीउपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० दस्तुर छ भने काठमाडौँबाट निस्कदा रु २५० शुल्क तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौँ। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ ।

सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राख्नुभएको छ । बैठकमा प्रा डा राजकुमार पोखरेल, डा नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो ।

समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताउनुभयो ।

भरतपुर कारागारबाट फरार ९७ कैदीबन्दी अझै पक्राउ परेनन्

चितवन। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।

यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो ।

यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो ।

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो । भागेकाहरू नवलपरासी (वर्दघाट-सुस्ता)पूर्वसहित अन्य जिल्लाका छन् ।

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको पदस्थापन सम्पन्न, हरिप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५–आई अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धले लायन वर्ष २०२६÷२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । हरिप्रसाद तिवारीको अध्यक्षतामा ३० भन्दा बढी सदस्यीय नयाँ कार्यसमितिको पदस्थापन संगै वार्षिक कार्ययोजना तथा क्यालेन्डर विमोचन समेत गरिएको छ । ’लायन्सः खुसीयाली बाँडौँ’ मूल नारासहित क्लबले वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र राहत सामग्री वितरण जस्ता सेवामूलक कार्यलाई प्राथमिकता दिने लायन्सले जनाएको छ ।

यसअघि कीर्तिपुरमा वृक्षारोपण, जलनपीडित बालकलाई आर्थिक सहयोग तथा गुर्जुधारामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी सर्वसाधारणलाई सेवा प्रदान गरिसकिएको क्लबले जनाएको छ ।

आगामी दिनमा बनेपाको सागामा वृक्षारोपण, नयाँ सदस्य विस्तार, रक्तदान, क्यान्सर सहयोग, न्यानो कपडा तथा दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने योजना सार्वजनिक गरिएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै कार्ययोजना व्यावहारिक र परिणाममुखी रहेको प्रशंसा गरेका थिए ।

अनलाइन सरुवा प्रणालीमा १,८६० निवेदन, १७३ कर्मचारीको सरुवा

काठमाडौँ। सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ ।

भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त अनलाइन प्रणालीमा आएका निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव धोलकराज ढकालका अनुसार हाल रिक्त रहेका पदमा सरुवालाई प्राथमिकता दिइएको हो ।

भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले डिजिटल, पारदर्शी र सुरक्षित सरुवा प्रणाली कार्यान्वयनमा ल्याइएको बताउँदै कर्मचारीलाई अनलाइनमार्फत सरुवा निवेदन पेस गर्न आग्रह गर्नुभयो । घरबाटै आवेदन दिन र निवेदनको अवस्था अनलाइनमार्फत लिन सकिने भएकाले कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।

मन्त्रालयले गत असार १६ गतेदेखि अनलाइन प्रणालीमार्फत सरुवा आवेदन लिनका लागि सूचना जारी गरेको थियो । निजामती कर्मचारीले आफ्नो कर्मचारी सङ्केत नम्बर प्रयोग गरी व्यक्तिगत खाता खोलेर आफू जान चाहेको कार्यालयका लागि अनलाइनबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

नियमित सरुवाको अवधि भदौ १ देखि ३० गतेसम्म रहेकाले हाल विशेष आवश्यकता परेको अवस्थामा मात्रै सरुवा गरिएको मन्त्रालयले जनाएको छ । भदौ महिनामा भने अवधि पुगेका कर्मचारीलाई नियमित सरुवा तालिकाअनुसार व्यवस्थापन गरिनेछ ।

प्रशासन महाशाखाका प्रमुख ढकालले विगतमा सरुवा माग गर्न दुर्गम क्षेत्रबाट मन्त्रालयसम्म आउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सबै प्रक्रिया अनलाइनबाट हुने भएकाले ‘अफलाइन’ वा हातले बुझाइने निवेदन दर्ता गर्ने व्यवस्था नरहेको बताउनुभयो । यसले कर्मचारीलाई सहजता प्रदान गर्नुका साथै सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी र अनियमिततारहित बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख ढकालका अनुसार नयाँ प्रणाली राष्ट्रिय किताब खानासँग जोडिएकाले सरुवा स्वीकृत हुने वित्तिकै कर्मचारीको विवरण स्वतः अद्यावधिक हुन्छ । “यसअघि कागजी प्रतिलिपि (हार्डकपी) मार्फत विवरण अद्यावधिक गर्नुपर्ने भएकाले बढुवा, सरुवा, अवकाश, राजीनामा वा मृत्युजस्ता विवरण समयमै अभिलेखमा नआउने समस्या थियो । अब यस्ता समस्या क्रमश कम हुँदै जानेछन्”, उहाँले भन्नुभयो ।

सहसचिव ढकालका अनुसार कर्मचारीले दिएको निवेदन मन्त्रालयमा प्राप्त भएपछि सम्बन्धित कर्मचारी हाल कार्यरत कार्यालय, प्रस्तावित कार्यालयमा रिक्त दरबन्दी रहेको वा नरहेको तथा हालको कार्यालयमा पूरा गरेको सेवा अवधि जस्ता विषय रुजु गरिन्छ । स्थानीय तहमा सामान्यतया एक वर्ष र अन्य निकायमा दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीको सरुवा गर्ने व्यवस्था रहेकाले अवधि नपुगेका निवेदन तत्काल फिर्ता पठाइने गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले सञ्चालनमा ल्याएको कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमा घरबाटै सरुवा निवेदन पेस गर्ने, निवेदनको अनलाइन स्थितिबारे जानकारी लिने, समयमा वास्तविक स्थिति पत्ता लगाउने, कागजात व्यवस्थापन तथा स्वचालित सूचना प्राप्त गर्ने सुविधा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन्। सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन्।

यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका कारण बन्द भएको अत्याधुनिक भेरी मिट सप एण्ड कोल्ड स्टोरले पुनः सञ्चालनको तयारी गरिरहेको छ। करिब रु पाँच करोडभन्दा बढी लगानीमा स्थापना गरिएको सो मिट सप डल्फिन ग्रुपले २०७९ सालमा नेपालगञ्जमा स्थापना गरेको थियो। पछिल्लो समय सीमावर्ती नाकाबाट अवैध रूपमा आयात हुने मासुजन्य पदार्थ नियन्त्रणका प्रयास प्रभावकारी बन्दै गएपछि उद्योगी र कृषकमा नयाँ आशा पलाएको व्यवसायीले बताएका छन्।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले उद्योग पुनः सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणतर्फ देखाएको सक्रियताले स्वदेशी उद्योग र कृषकलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले भने, “हामीले नयाँ जोश र उत्साहका साथ बन्द भएको उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेका छौँ। सञ्चालनको तयारी भइरहेकाले शीघ्र उपभोक्ताको भान्सासम्म गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु पुर्‍याउने छौँ।”

थापाका अनुसार अवैध बोइलर कुखुराको आयात पूर्ण रूपमा नरोकिए पनि विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। यसले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए।

उक्त कोल्ड स्टोर सञ्चालनमा रहँदा आधुनिक प्रशोधन प्रणाली, ‘कोल्ड चेन’ तथा स्वच्छ उत्पादन प्रक्रियाका कारण छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएको थियो। सीमाबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने बोइलर कुखुराले बजारमा प्रभुत्व जमाएपछि स्वदेशी उत्पादन प्रतिस्पर्धामा टिक्न नसक्दा उद्योग बन्द भएको थियो।

उद्योग बन्द भएसँगै यहाँ प्रत्यक्ष रूपमा कार्यरत १०० जना श्रमिकले रोजगारी गुमाएका थिए भने बोइलर कुखुरापालक किसानले आफ्नो उत्पादनको नियमित बजार गुमाउनुपरेको थियो। यसका साथै स्थानीय पोल्ट्री व्यवसाय, दाना उद्योग, ढुवानी तथा अन्य सहायक व्यवसायसमेत प्रभावित भएका उनको भनाइ छ।

डल्फिन ग्रुपका अनुसार कोल्ड स्टोर उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक उपकरण जडान गरिने छ। “हाम्रो उद्देश्य केवल मासु बिक्री गर्नु होइन। उपभोक्तालाई सुरक्षित, स्वस्थ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउनु हो। आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता छ,” थापाले भने।

यसअघि उद्योग सञ्चालनमा रहँदा यहाँ प्रशोधन गरिएको मासु नेपालगञ्जसहित बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लामा लोकप्रिय बनेको थियो। स्वच्छ प्याकेजिङ, गुणस्तर र स्वादका कारण धेरै उपभोक्ताले यसलाई पहिलो रोजाइ बनाउने गरेका थापाको विश्वास छ। उद्योग पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर कुखुरापालक किसानले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको उनले बताए।

दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन

पर्सा। स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आज घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्।

यहाँस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो।

बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन् । पटेलको मृत्युको कारण चिकित्सकको लापरबाहीले भएको आरोप उहाँका परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन्।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक (मेडिकल अफिसर) डा प्रमोद राम गम्भीरमाथि आक्रमण हुँदा उनी घाइते भएका छन्।

घाइते चिकित्सकको अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रदर्शनकारीले दोषीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

सहभागीले ‘दोषीलाई कारबाही गर’, ‘निलम्बन फिर्ता गर’ र ‘डाक्टर प्रमोदलाई न्याय दे’ लेखिएका प्ले कार्ड बोकेका थिए। अस्पतालले छानबिन समिति गठन गरेको छ। साथै उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्म जिम्मेवारीबाट हटाइएको छ।

नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन, काठमाडौंको आवागमन थप सहज हुने

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।

सुनसरी घटनामा अफवाह नफैलाउन मन्त्री मेहताको आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।

मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिइन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक समन्वय सुरु गरेकी थिइन् ।

मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरिन् ।

 

कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।

आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो ।

हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो

मकवानपुर । साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ। हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको छ।

हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्र लगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन्। हरेक वर्ष साउनको सोमबार मन्दिरमा दर्शनार्थीहरूको भीड हुने गरेको भुवनेश्वर पशुपति मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिएका छन्।

साउनको दोस्रो सोमबार भएका कारण आज बिहानैदेखि मन्दिरहरूमा दर्शनार्थीहरू लामबद्ध बनी पूजाआजामा सहभागी बनेका छन्। दर्शनार्थीको चापसँगै मन्दिर परिसरमा बेलपत्र, फूलपत्रका साथै फलफूलको व्यापार पनि बढेको छ। साउनको सोमबार गरिने भगवान् शिवको पूजाआराधनालाई पूर्वीय धर्मशास्त्रहरूमा विशेष महत्व दिइएको छ।

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिएका छन्।

असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। दाङको कम्युनिस्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए। उनको निधनले दाङको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा अध्यक्ष आचार्यले व्यक्त गरे।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार नेता बस्नेतको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको छ। उनको आजै शीतलपुरस्थित बबई नदीको घाटमा अन्त्येष्टि गरिने बताइएको छ।

एमाले संकटबारे शंकर पोखरेलको आत्मस्वीकार : ‘हामी जनताबाट टाढियौं’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्था आफ्नै आन्तरिक कमजोरीका कारण आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठन अपरिहार्य भएको बताएका छन्।

आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेतृत्वले समयमै कमजोरी सच्याउन नसक्दा पार्टीले ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको बताए।

‘हाम्रै कमजोरीले यो अवस्था आएको हो। कमजोरी कहाँ छन् भन्ने संकेत पहिले नै आएको थियो, तर समयमै सुधार गर्न सकिएन। अब वैचारिक पुनर्गठन आवश्यक छ,’ उनले भने, ‘पार्टी जीवनमा यो सबैभन्दा ठूलो पराजय हो। कार्यकर्तामा चरम निराशा छ।’

पोखरेलले पार्टी रूपान्तरण र शुद्धीकरणको आवश्यकता औँल्याउँदै एमालेले आफ्नो परम्परागत जनाधार गुमाएको स्वीकार गरे। भूमिहीन, श्रमिक, किसान, विद्यार्थी, शिक्षक तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत पार्टीमाथिको विश्वास गुमाएको उनको भनाइ थियो।

‘हामीले लक्षित गरेको वर्ग नै हामीसँग रहेन। किसान आन्दोलनबाट हुर्किएको पार्टीलाई किसानले विश्वास गरेनन्। विद्यार्थी, शिक्षक र श्रमिक वर्ग पनि टाढिए। उत्पीडित वर्गको नेतृत्व युट्युबरले गर्न थाले,’ उनले भने।

साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन्। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्।

यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। साउन ४ गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। गत हप्ता नभ्याएका काम यस हप्ता पूरा गरिएको कोषले जनाएको छ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्था परिचालन भएका छन्। लाखौँ भक्तजनलाई सहज रूपमा दर्शन गराउने गरी तयारी गरिएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए।

मन्दिरका चारै ढोका बेलुका ८ः०० बजे आरती नभएसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान ८ः३० देखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुनेछ। मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लामो लाम भने नभएको र प्राथमिक उपचार लगायतका सेवा उपलब्ध गराइएको कोषले जनाएको छ।

पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०ः२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ । विवरणअनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।

केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।

कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा रु ११५ र बाहिरिँदा रु ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा रु २६० र बाहिरिँदा रु २०० बराबरको शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।

सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।

आयोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरुक्षाका लागि दमकल, आकस्मिक उद्धार, सिसीटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र उपलब्ध छ ।

यस्तै, अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ । हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झन्डै एक घन्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्बबराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु छ अर्बबराबरको लगानी रहेको छ । सुरुङमार्ग सञ्चालन, व्यवस्थापनका लागि व्यवसायी छनोट भई परिचालित भइसकेको छ । सुरक्षाकर्मी तथा अन्य प्राविधिक कर्मचारीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।

सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले विद्युतीय माध्यमबाट भुक्तानी गर्नेगरी आवश्यक प्रबन्ध गरिएको छ । निर्माण सुरु गर्दा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोराना महामारी तथा अन्य केही जटिलताका कारण आयोजनाको समय लम्बिन पुगेको थियो ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका पनि एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुनसरीमा दुई समुदायबीच भीषण झडप, प्रहरीको गोली लागेर एकको मृत्यु, २२ जना घाइते

सुनसरीमा दुई समुदायबीच झडप हुँदा गोली लागेर एकको मृत्यु भएको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति डिजेको आवाजलाई लिएर विवाद भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो भने ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार साउन महिनाको बोलबम यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ गइरहेका थिए। डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएपछि विवाद सुरु भएको थियो ।

विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेपनि दुवै समुदायका थप व्यक्तिहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्रीसहित आइपुगेपछि थप विवाद चर्किएको थियो ।

खेतमा काम गरिरहेका युवकलाई सर्पले टोक्यो, उपचारकै क्रममा मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।

सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा १०ः४० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।

यस्तै लम्जुङको घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

काठमाडौँ । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ ।

प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् । यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ ।

कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको छ । वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको छ । सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ ।

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन ४ गते सामाजिक सञ्जालमार्फत सरसफाइका लागि आह्वान गरेका थिए।

आह्वानको भोलिपल्टैदेखि झाडु बोकेर सयौँ नागरिक स्वतःस्फूर्त रूपमा विश्वविद्यालय परिसर सफाइमा जुट्न थालेका छन्। हालसम्म १० देखि १२ हजारभन्दा बढी विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी र सामाजिक अभियन्ताले सरसफाइमा योगदान गरिसकेका छन्।

नागरिक तहमा देखिएको यस अभूतपूर्व उत्साहका बिच अर्को संशय पनि उत्पन्न भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी गत बिहीबारदेखि अनसनमा बसेपछि यसै वर्षदेखि पठनपाठन सुरु हुनेमा स्थानीयबासीमा अनिश्चितता छाएको छ।

डा. केसीका प्रमुख मागहरूमध्ये गेटा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेज गर्नु पनि परेकाले सरकारले त्यो माग स्वीकार गरेमा वर्तमान पदाधिकारीको वैधानिकता समाप्त हुने र शैक्षिक सत्र प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

कञ्चनपुरका हिमालबहादुर मल्ल र स्थानीय शिक्षक नारायणसिंह केसीले वर्षौँको पर्खाइपछि आफ्ना सन्ततिको भविष्य र गुणस्तरीय उपचार पाउने आशा जागेका बेला डा. केसीको आन्दोलनले काम बिथोलिने पो हो कि भन्ने डर प्रकट गरेका छन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पदाधिकारी जो सुकै भए पनि यो शैक्षिक सत्रबाट एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन हुनै पर्ने बताएका छन्। उनीहरूले कुनै असहमति भए विधि र पद्धतिमार्फत छानबिन गरेर निकास खोज्न आग्रह गरेका छन्।

वर्षौँदेखि उल्झनमा परेको गेटाको मुद्दा विसं २०७९ माघमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सहिद दशरथ चन्द विश्वविद्यालयका रूपमा अगाडि बढाउने निर्णय गरेपछि सुल्झिएको थियो। सम्बन्धी ऐन संसद्बाट पारित भई विसं २०८२ असार ४ मा राजपत्रमा प्रकाशित भइसकेको छ। यसै शैक्षिक सत्रदेखि ५० जना एमबीबीएस, ३० जना बीएस्सी नर्सिङ, २० जना एमएलटी र २० जना बी अप्टोमेट्रीका विद्यार्थी भर्ना गर्ने गरी चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाइसकिएको छ।

डा. केसीले चिकित्सा शिक्षामा अपारदर्शी नियुक्ति र राजनीतिक हस्तक्षेपको विरोध गर्दै आएकाले सरकारका लागि उनका माग र स्थानीय नागरिकको चाहना दुवैलाई ध्यान दिनु पर्ने बाध्यता छ। गेटा विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले कानुनी प्रक्रियाबाट डा. केसीका माग सम्बोधन गर्दै विश्वविद्यालयको संस्थागत तयारी नरोक्न आग्रह गरेका छन्।

हाल शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा सम्मिलित टोलीले डा. केसी पक्षसँग वार्ता गरिरहेको छ। सुदूरपश्चिमवासीले यसै वर्षदेखि विश्वविद्यालयमा पठनपाठन र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा राखेका छन्। अब त्यो आशा निष्कर्षमा पुग्छ वा अन्योलमा अल्झिन्छ भन्ने कुरा सरकार र डा. केसीबीचको वार्ताको परिणामले तय गर्नेछ।

करिब तीन सय बीस किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ। सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ३२० किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीचौकी मधुवनीगाउँबाट खटिएको टोलीले शङ्का लागेर कुखुरा फार्ममा अवैध लागुऔषध भए÷नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले बाप्र०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि भएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटक यहाँ आएका जानकारी दिनुभयो ।

उहाँले अघिल्लो आव २०८१/८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकामा आव २०८०/८१ मा ४४४ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका उल्लेख गर्नुभयो । “पर्यटकको आगमन बढ्नु यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु हो । तर, सरोकार भएका निकायले पर्यटन प्रवर्द्धनमा योजना बनाई प्रभावकारी कार्यान्वयन गरेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझै बढ्न सक्छ”, उहाँले भन्नुभयो ।

प्रमुख संरक्षण अधिकृत कँडेलले निकुञ्जमा पर्यटकको सङ्ख्या चार हजार पु¥याउने लक्ष्य लिइएको उल्लेख गर्दै अर्को वर्षमा लक्ष्य हासिल हुने दाबी गर्नुभयो । निकुञ्जभित्र पर्या–पर्यटनको प्रचुर सम्भावना भएका कारण आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जनका लागि भरपुर लाभ लिनसक्ने औँल्याउँदै उहाँले ‘इकोलोजिकल टुरिजम’मा जोड दिइएको बताउनुभयो ।

पर्यटनका लागि होमस्टे (घरबास) तथा होटल व्यवसायीमा लगानी बढाउन आग्रह गर्दै कँडेलले बाँके र बर्दिया कम्प्लेक्स प्रमुख ‘टाइगर कन्जरभेसन युनिट’ भएको जानकारी दिनुभयो । वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँकेका प्रमुख धर्म रोकायले सबै सरोकार भएका निकायको पहलबाट पर्यटन प्रवर्द्धन गर्न सम्भव भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धन सबैको साझा दायित्व भएकाले आपसी सहकार्य र समन्वयमार्फत पूर्वाधार विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन व्यवसायी देवानन्द अर्यालले निकुञ्जमा पर्यटन भित्र्याउन विशेष प्याकेजसहित भ्रमण बर्ष घोषणा गर्न आग्रह गर्दै पर्यटकलाई कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गर्नुभयो । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् ।विसं २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट करिब १६ किलोमिटरको दूरीमा रहेको छ ।

अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

काठमाडौँ। अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ ।

वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ ।

–कजाखस्तानमा अवतरण–

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ सोयुज एमएस–२८ अन्तरिक्ष यानमार्फत कजाखस्तानमा सुरक्षित अवतरण गरेका छन् ।

कूल २४१ दिनको अभियान पूरा गरेपछि ‘क्याप्सुल प्यारासुट’को सहायताले जेज्काजगनको दक्षिण–पूर्वस्थित निर्धारित क्षेत्रमा यान सफलतापूर्वक उत्रिएको थियो ।

तीनै अन्तरिक्ष यात्रीले करिब आठ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार र अन्य सञ्चालनसम्बन्धी कार्य गरेका थिए । यो अभियान अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण उदाहरण मानिन्छ ।

सुरक्षित अवतरणपछि उद्धार टोलीले अभियानमा संलग्न टोलीको स्वागत गरेको थियो । त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई हेलिकोप्टरमार्फत कारागाण्डा लगिने बताइएको छ । त्यहाँबाट क्रिस विलियम्स नासाको जोन्सन स्पेस सेन्टर, ह्युस्टन जानुहुनेछ भने सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ रुसको स्टार सिटी फर्कनुहुनेछ ।

यो क्रिस विलियम्स र सर्गेई मिखाएभको पहिलो अन्तरिक्ष यात्रा थियो भने सर्गेई कुड–स्भेर्चकोभ दोस्रो पटक अन्तरिक्ष यात्रामा जानुभएको थियो ।

राजनीतिक तनावका बाबजुद अन्तरिक्ष सहकार्य जारी

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिद्वन्द्वी रहेका अमेरिका र रुस धेरै वर्षदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सँगै काम गर्दै आएका छन्। सन् २०२२ मा युक्रेन द्वन्द्वपछि दुवै देशका सम्बन्धमा तनाव बढे पनि अन्तरिक्ष सहयोग जारी रह्यो। नासाका अन्तरिक्ष यात्री र रुसी अन्तरीक्ष यात्री नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्ष यानमार्फत र्आएसएससम्म आउजाउ गरिरहेका छन्।

सोयुज एमएस–२८ को टिम फर्कनुभन्दा दुई साताअघि, १४ जुलाईमा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोस्मोसका कस्मोनट प्योत्र दुब्रोभ र अन्ना किकिना कजाखस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए। यो टोल िएक्स्पेडिसन–७५ अन्तर्गत अर्को आठ महिनासम्म स्टेशनमा कार्य गर्नेछ ।

नयाँ टोली पुगेपछि नासाकी जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोत तथा रुसी यात्री आन्द्रेई फेद्ययेभसँग मिलेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धानको कार्य जारी रहनेछ ।