`

निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन

काठमाडौं, १३ माघ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उहाँले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरे ।

उनले कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा रहँदा बदमासी गरेमा तत्कालै कारबाही गरिने उल्लेख गरे । निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनले निर्देशन दिए ।

महानिरीक्षक अर्यालले सङ्गठनले लिएको सोच र नीतिअनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालिन हुनुपर्नेमा जोड दिए । राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरुले आर्थिक पारदर्शीता कायम गरी भ्रष्टाचारमा शून्य सहनशिलताकासाथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अप्रेशनल कामकारबाही सञ्चालन गर्न निर्देशन दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड

महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफलमा सहभागीहरूले आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक सङ्घसंस्थाका अगुवाहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा सम्बद्ध पक्षले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

“निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले निर्वाचन आचारसंहिता परिपालनाबारे निरन्तर अनुगमन गर्नुपर्दछ”,, बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले भन्नुभयो, “कहीँकतै कसैले एक–दुई पटक आचारसंहिता उल्लङ्घन गरेमा पछि समस्या बढ्दै जान्छ, तसर्थ तत्काल कारबाही गर्नुपर्दछ ।”

कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान कार्यालयका जिल्लास्थित प्रमुखको सहभागिता थियो ।

दुवै निर्वाचन क्षेत्रका छलफलमा मुख्य निर्वाचन अधिकृतले निर्वाचन अभियानभरि पालना गर्नुपर्ने आचारसंहिताबारे कानुनी व्यवस्थाका सम्बन्धमा जानकारी गराउनुभयो । कार्यक्रमले उम्मेदवार, राजनीतिक दल र समर्थकले गर्नहुने र नहुने कामबारे विस्तारमा जानकारी पाइएको सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागी उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पूर्ण रूपमा परिपालना गर्ने प्रतिबद्धता जनाउनु कार्याक्रम सकारात्मक र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।

“सबैले आचारसंहिता परिपालनाको प्रतिबद्धता जनाउनुभएको छ, यो सकारात्मक पक्ष हो”, उहाँले भन्नुभयो, “हामी (स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालय) निरन्तर अनुगमनमा रहने छौँ, उल्लङ्घनका प्रत्येक घटना कारबाहीका विषय बनाइने छन् ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा यस्ता कार्यक्रम सम्पन्न गरिने जनाएको छ । “क्षेत्र नं १ र ४ मा सोमबार अन्तक्रिया सम्पन्न गरियो । क्षेत्र नं २ र ३ मा आज छलफल गर्नेछौँ”, मुख्य निर्वाचन अधिकृत अधिकारीले भन्नुभयो, “छलफलका निष्कर्ष सबै पक्षबाट परिपालना हुनुपर्छ ।”आचारसंहिता उल्लङ्घनबारे कडाइका साथ अनुगमन र कारबाहीको विषय बन्ने स्पष्ट पार्दै यो अवस्था आउन नदिन सबै पक्षको सकारात्मक पहलकदमीका लागि उहाँले आह्वान गर्नुभयो ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एलाइट कप क्रिकेट प्रतियोगिता मा १४ गतेदेखि

मोरङ, १३ माघ । प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताए ।

उक्त प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन समूहको सहभागिता रहने पाण्डेले जानकारी दिए । आगामी दिनमा क्यानको वार्षिक क्यालेण्डरमा एलाइट कप प्रतियोगितालाई समेट्नका लागि पहल गरिने उनले बताए । प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास हुनेछ ।

पत्रकार सम्मेलनमा मोरङ अध्यक्ष मो सादबाबु, सुनसरी क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेलले एलाइट कपको आयोजना हुने गौरवका विषयमा भएको यसलाई दीर्घकालीनसम्म लैजानुपर्नेमा जोड दिए ।

यसैबीच, क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेनबीच भएको सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।

‘एसियन हाइवे’ निर्माण सुरु भएको दुई वर्षमा ३५ प्रतिशत

बेलबारी (मोरङ) । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ ।

आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए। निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए।

प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले उल्लेख गरे ।

हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए।

निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए। पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उनले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए। बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरु भएको हो ।

यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौँ । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।

यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ ।

संघ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ ।

जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ ।

प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ ।

यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुन:स्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।

पश्चिमी वायुको आंशिक प्रभाव, आज यी प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

म्याग्दी, माघ १३। सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहेका हुन् ।

धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिठ्यूँमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छ वटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताए । उनीहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राखेका छन् ।

गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकिन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताए । पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्केका तामाङ अहिलेसम्म पनि त्यही पेसामै छन् ।

गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आएका थिए । आफ्नो समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनः गाउँ फर्केर अर्को ठाउँमा व्यापारका लागि हिँड्ने योजना बनाउने गरेको उनले जानकारी दिए ।

डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका व्यापारीको पुस्तैनी काम हो । “आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्छौँ र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिन्छौँ । यदि मूल्य नयाँको कम परेमा आफूहरूले दिने र पुरानोको कम भएमा ग्राहकसँग रकम लिएर साट्ने गरिन्छ”, उनले भने ।

गुरुङले व्यापार पहिला जस्तो नभएकाले आम्दानी पनि घटेको बताए । वर्षमा एकपटक पर्वत, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा व्यापारका लागि आउने जनाउँदै उनले सबै खर्च कटाएर मासिक रु २० देखि २५ हजारसम्म जोगिने उल्लेख गरे ।

आधुनिक प्रविधिको विकाससँगै मानिस छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्न आधुनिक स्रोतसाधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् ।

केही वर्ष अघिसम्म पुराना भाँडा सबैका घरघरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरू गाउँगाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिँडेको बिरलै भेटिन्छन् ।

बालेन शाह र रसुवाका रास्वपा उम्मेदवार बसन्त भट्ट बिच भेटवार्ता

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले रसुवा जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार वसन्त भट्टसँग भेटवार्ता गरेका छन् । रास्वपाका बिभिन्न उम्मेदवारहरुलाई भेट गर्ने क्रममा बालेनले रसुवाका उम्मेदवार वसन्तसँग भेटेर चुनावी अभियानबारे छलफल गरेका हुन् ।

‘आगामी निर्वाचनबारे छलफल गरेका हौं, हामीले मतदाताहरुमा कुनै पनि भ्रम सिर्जना गर्दैनौं, कुनै झुठा सपना नदेखाउने र जनमानसको समस्या के छन् सुन्ने र चुनावी अभियान अगाडी बढाउने कुरा भएको छ ।’ वसन्तले भनेका छन्, ‘जनताको पक्षमा दृढताका साथ उभिने नेतृत्व, इमानदार सोच र स्पष्ट दृष्टिकोणसहित हामी परिवर्तनको यात्रामा अघि बढिरहेका छौँ। भाषणभन्दा काममा विश्वास गर्ने राजनीति आजको आवश्यकता हो । हामी यहि बाटोमा छौं ।’

उम्मेदवार वसन्तले रसुवाका जनताले यसपटक परिवर्तन खोजेको र त्यसका लागी आफू र रास्वपा दृढताका साथ उभिने बताएका छन् । उनले भनेका छन्, ‘परिवर्तन बाहिरसँग लडेर आउँदैन, घरभित्र गाडिएको मौनता चिरेर जन्मिन्छ। त्यसैले आफ्नै घेराभित्र प्रश्न उठाउनु शत्रुसँग भिड्नु भन्दा धेरै पीडादायी हुन्छ। आज गाली गर्नेहरू भोलि उद्धरण खोज्छन्, किनकि सत्ता क्षणिक हुन्छ, तर साहस पुस्तान्तरण हुन्छ। भीडको तालमा नाच्नेहरू लोकप्रिय हुन्छन्, तर विवेकको धड्कन पछ्याउनेहरू इतिहासमा अंकित हुन्छन्।’

काठमाडौं–२ : ‘क्याप’ चुनाव चिह्न पाएपछि प्रचारमा लागे स्वतन्त्र उम्मेदवार रुपक सिम्खडा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले ‘क्याप’ चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले सिम्खडालाई उक्त चुनाव चिह्न प्रदान गरेसँगै उनी औपचारिक रूपमा चुनावी प्रचारमा जुटेका छन् ।

विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनमार्फत राजनीतिमा सक्रिय सिम्खडा काठमाडौं–२ अन्तर्गत थली निवासी हुन् । ४४ वर्षीय सिम्खडाले जेन–जी युवाको भावना र अग्रज पुस्ताको अनुभवलाई एकसाथ जोडेर राजनीति गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा युवा र अग्रज पुस्ताबीच सेतु बन्ने मेरो प्रयास हुनेछ,’ सिम्खडाले भने, ‘सकारात्मक सोच र सत्कर्मलाई निरन्तरता दिँदै नागरिकको भरोसा जित्नेछु।’काठमाडौं क्षेत्र नम्बर २ मा यसपटक प्रतिस्पर्धा रोचक देखिएको छ । यहाँ नेकपा एमालेबाट मणिराम फुयाल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल, नेपाली कांग्रेसबाट कविर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसीसहितका उम्मेदवार चुनावी मैदानमा छन् ।

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, माघ १३ । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ ।

प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

वरिष्ठ पत्रकार एवं युवा नेता राणा भक्तपुर २ मा

भक्तपुर । भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कबिर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र नं. २ का जनताको साझा आवाज बनेर चुनावी मैदानमा होमिएका छन् । पटकपटक नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य एवं महासमिति र हाल वरिष्ठ जिल्ला कार्यसमिति सदस्य रहेका कबिर राणाको राजनीतिक यात्रा कुनै सुखद् संयोग होइन, बरु पञ्चायतकालीन अन्धकार विरुद्धको कठोर संघर्षको उपज हो । विद्यार्थी जीवनदेखि नै लोकतन्त्रका लागि निरन्तर रूपमा संघर्ष गर्दै आइरहेका राणालाई नेपाली कांग्रेसले यसपालि भक्तपुर २ मा आफ्नो उम्मेदवार बनाएको छ ।

२०३७ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघको राजनीतिमा पाइला टेक्दा उनीसँग एउटै सपना थियो- लोकतन्त्र । २०४२ सालको ऐतिहासिक ‘सत्याग्रह’ मा भाग लिँदा उनले ६ महिना जेल जीवनको कठोर यातना भोगे, तर उनको लोकतन्त्रप्रतिको आस्था डगमगाएन ।

बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागसम्म पुग्दा उनले सधैँ भुँइमान्छेका मुद्दालाई प्राथमिकतामा राखे । उनले बीपी कोइरालाको समाजवादी चिन्तनलाई केवल नारामा मात्र होइन, आफ्नो कार्यशैलीमा पनि उतार्दै आएका छन् ।

राणा केवल राजनीतिज्ञ मात्र होइनन्, उनी एक प्रखर बौद्धिक र कानुनका ज्ञाता पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र कानुनमा स्नातक गरेका उनले पत्रकारितालाई समाज रूपान्तरणको आधार बनाए । ‘देशान्तर साप्ताहिक’को प्रधानसम्पादक भएर उनले दशकौँदेखि जनतालाई सुसूचित गर्दै आएका छन् । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनजस्ता गरिमामय संस्थाको बोर्ड सदस्यका रूपमा उनले पु¥याएको योगदानले उनको प्रशासनिक, व्यवस्थापकीय र नीतिगत कुशलतालाई प्रमाणित गरिसकेको छ ।

अमेरिका, बेलायत, जर्मनी, जापान र अस्ट्रेलियासहित दुई दर्जनभन्दा बढी मुलुकको भ्रमण गरेका राणासँग विश्वका विकसित शहरहरूको विकास मोडेल र नेपालको मौलिक आवश्यकताबीच समन्वय गर्ने स्पष्ट भिजन छ । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बलियो वकालत गरेका छन् । भक्तपुरको ऐतिहासिक कला, संस्कृति र सम्पदालाई विश्व पर्यटन बजारसँग जोडेर स्थानीयको आम्दानी वृद्धि गर्ने, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्रका भित्री सडकहरूको स्तरोन्नति र ढल व्यवस्थापनलाई राणाले आफ्नो प्राथमिकतामा राख्दै आएका छन् ।
भक्तपुर २ का आममतदाताको घरदैलोमा जाँदै गर्दा राणाले सरकारी विद्यालयको स्तर सुधार र स्थानीय तहमा सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता, स्थानीय युवाहरूलाई सूचना प्रविधि र सीपमूलक तालिममार्फत स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाएर जनमैत्री शासन व्यवस्था लागू गर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।
कबिर राणा केवल एक उम्मेदवार मात्र होइनन्, उनी भक्तपुरको समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी हुन् । उनको विजयले भक्तपुरको आवाजलाई संसदमा बुलन्द पार्ने मात्र नभई, समग्र जिल्लाको विकासमा नयाँ आयाम थप्ने आम मतदाताको बुझाइ छ ।

राजनीति र पत्रकारितालाई जनताको सेवामा समर्पित गरिरहेका राणाले आफूले अहिलेसम्म चालेका अभियान र आफना प्राथमिकतालाई सदन र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयको सुख–दुःखमा सारथी बनिरहेका राणाले अब त्यहाँका माग र आवश्यकतालाई सम्बोधन गर्न थप प्रयास गर्ने स्थानीय मतदाताको अपेक्षा छ ।

एनआरएनए महाधिवेशनमा प्रत्यक्ष मतदान गर्नुपर्छ: कुल आचार्य

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनए महाधिवेशनमा प्रत्यक्ष मतदान गर्नु पर्ने जनाएका छन्।

आइत बार समाज टाइम्स अनलाइनका प्रधान सम्पादक बिष्णु हरि घिमिरेसंग प्रत्यक्ष कुराकानी गर्दै आचार्यले संघभित्रको विवादका कारण पनि एनआरएनका मुद्दाहरू ओझेलमा परेको स्वीकार गरे । सर्वोच्च अदालतको परमादेशपछि गत वर्ष मे महिनामा भएको एकता अधिवेशन र त्यसपछि गठन भएको नयाँ कार्यसमिति (महेश श्रेष्ठको नेतृत्व) लाई आफुले रचनात्मक समर्थन गरिरहेको पनि उनले बताए ।

उनले संस्थामा वास्तविक एकताका लागि केही आधारभूत सर्तहरू पनि अगाडी सारे । अनलाइन वा प्रविधिको नाममा हुने निर्वाचन धाँधली रोक्न ‘इन-पर्सन भोटिङ’ (भौतिक उपस्थितिमा गरिने मतदान) हुनुपर्ने उनको अडान छ । यसैगरी डेलिगेट छनोट र सदस्यता प्रणाली पूर्ण रूपमा निष्पक्ष हुनुपर्ने र सर्वोच्च अदालतको निर्देशन तथा एकता महाधिवेशनको निर्णय अनुरुप महाधिवेशन गर्नु पर्ने उनले बताए । “संसार भरिका सबै नेपाली सदस्य र डेलिगेट्स बन्न पाउने, कुनै पनि पदमा उम्मेद्वारी दिन पाउने र प्रत्यक्ष रुपमा उपस्थित भएर मतदान गर्ने अभ्यास हामीले एकता महाधिवेशनमा गरि सकेका छौं। अब त्यसमा दायाँबायाँ गर्नु पर्ने आवश्यकता छैन,” उनले भने।

पूर्व अध्यक्ष आचार्यले आगामी निर्वाचनको सन्दर्भमा आचार्यले सबै राजनीतिक दलहरूलाई आफ्ना चुनावी घोषणापत्रमा ८० लाख प्रवासी नेपालीका समस्या र देश विकासमा उनीहरूको भूमिकालाई प्राथमिकताका साथ समेट्न आग्रह गरे । उनले नेताहरूले विदेशमा आउँदा आश्वासन दिने तर नेपाल फर्केपछि कार्यान्वयनमा चासो नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए।

नयाँ नियमप्रति कडा आपत्ति

गैरआवासीय नेपाली परिचयपत्र (एनआरएन कार्ड) वितरणमा सरकारले ल्याएको नयाँ नियमप्रति कडा आपत्ति जनाएका छन् । लन्डनस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै आचार्यले कर्मचारीतन्त्रको अदूरदर्शी निर्णयका कारण विश्वभरका लाखौँ गैरआवासीय नेपालीहरू समस्यामा परेको बताए ।

विगत १५ वर्षदेखि नेपाली दूतावासहरूले आवश्यक कागजात पुगेपछि सोही दिन एनआरएन कार्ड वितरण गर्दै आएका थिए। तर, परराष्ट्र मन्त्रालयको पछिल्लो परिपत्रअनुसार अब एनआरएन कार्ड लिनका लागि पनि नागरिकता लिए सरहकै लामो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

आचार्यका अनुसार, अब कार्ड लिनका लागि पनि सम्बन्धित व्यक्तिको नागरिकता र राहदानी परित्याग गरेको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाटै प्रमाणित भएर आउनुपर्ने प्रावधान राखिएको छ। यो प्रक्रियाका कारण दूतावासबाट परराष्ट्र, परराष्ट्रबाट गृह र गृहबाट जिल्ला प्रशासनसम्म फाइल घुम्न वर्षौँ लाग्न सक्ने र हाल विश्वभरका दूतावासबाट कार्ड वितरण ठप्प भएको उनले जानकारी दिए । “प्रविधिको युगमा अनलाइनबाटै कार्ड दिनुपर्नेमा झन्झटिलो नियम बनाएर नागरिकलाई दुःख दिने काम भएको छ,” आचार्यले भने ।

संविधानले व्यवस्था गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता अझै पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पहिलो एनआरएन नागरिकता लिएका आचार्यले भने, “नागरिकता प्राप्त गरेको साढे दुई वर्ष भइसक्यो, तर नियमावली र कानुनी स्पष्टता नहुँदा यो अहिलेसम्म केवल ‘कागजको खोस्टो’ जस्तै भएको छ।”

नागरिकता पाएकाहरूले पनि नेपालमा जग्गा पास गर्न, लगानी गर्न वा व्यावसायिक काम गर्न अझै पुरानै कानुनी बाधा खेपिरहनुपरेको उनले जनाए। यसले गर्दा प्रवासमा रहेका नेपालीहरूले नेपालमा रहेको आफ्नो सम्पत्ति बेचेर विदेश लैजाने क्रम बढेको र मुलुकलाई ठूलो आर्थिक क्षति भइरहेको उनले उल्लेख गरे ।

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस। तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले दमन गरेको विरोध प्रदर्शनमा करिब छ हजारको मृत्यु भएको अमेरिकामा आधारित मानव अधिकार समूहले सोमबार जनाएको छ ।

आर्थिक गुनासोका कारण डिसेम्बरको अन्त्यमा सुरु भएका विरोध प्रदर्शन जनवरी ८ देखि इस्लामिक गणतन्त्र विरुद्ध जनआन्दोलनमा परिणत भएको थियो । अधिकार समूहहरूले इन्टरनेट सटडाउनको आवरणमा प्रदर्शनकारीहरूलाई प्रत्यक्ष गोली हानेर अभूतपूर्व दमन गरिएको आरोप लगाएका छन् । इन्टरनेट सटडाउन १८ दिनसम्म चलेको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्ता कायम धर्मगुरु नेतृत्व विरोधका बाबजुद कायम रहँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेपको विकल्प खुला राख्दै यस क्षेत्रमा ‘विशाल फ्लीट’ पठाइएको उल्लेख गर्नुभएको छ ।

इरानको विदेश मन्त्रालयले कुनै पनि आक्रमणको ‘व्यापक र खेदजनक जवाफ’ दिने चेतावनी दिएको छ । गैरसरकारी संस्थाहरूले इन्टरनेट ब्ल्याकआउटले वास्तविक मृत्यु सङ्ख्या कम देखिने सम्भावना रहेको चेतावनी दिएका छन् । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समूहले सुरक्षा बलका २०९ सदस्यसहित पाँच हजार ८४८ जनाको मृत्यु पुष्टि गरेको छ भने १७ हजार ०९१ सम्भावित मृत्युको अनुसन्धान जारी रहेको जनाएको छ । कम्तीमा ४१ हजार २८३ जनालाई पक्राउ गरिएको छ ।

इरानका अधिकारीहरूले आफ्नो पहिलो आधिकारिक तथ्याङ्कमा तीन हजार ११७ जनाको मृत्यु भएको उल्लेख गरेका थिए, जसमा अधिकांशलाई सुरक्षा बल वा ‘दङ्गाकारीहरू’ द्वारा मारिएका निर्दोष नागरिक बताइएको थियो । इन्टरनेट ब्ल्याकआउटले दमनको सीमा अस्पष्ट बनाएको मोनिटर नेटब्लक्सले जनाएको छ ।

इरान बाहिरको फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलले जनवरी ८–९ मा सुरक्षा फौजले ३६ हजार ५०० भन्दा बढी इरानीको हत्या गरेको रिपोर्ट गरेको छ ।

तेहरानमा अमेरिकी हस्तक्षेपको सम्भावना बढ्दै गएपछि ट्रम्पले विमान वाहक युएसएस अब्राहम लिङ्कनलाई क्षेत्रमा पठाएको अमेरिकी मिडियाले जनाएका छन् । इजरायलले इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निशाना बनाउँदै १२ दिनको हवाई आक्रमणमा वरिष्ठ सुरक्षा अधिकारीहरू मारिएको पनि बताइएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले हस्तक्षेप विरुद्ध चेतावनी दिँदै इरान ‘आफ्नै क्षमतामा विश्वस्त’ रहेको उल्लेख गर्नुभएको छ । तेहरानको केन्द्रीय एङ्गेलाब स्क्वायरमा अमेरिकी विरोधी बिलबोर्ड राखिएको छ, जसमा अमेरिकी विमान वाहक नष्ट भएको देखाइएको छ।

सर्वोच्च नेता अयातुल्ला अली खामेनीले जनवरी १७ मा सार्वजनिक भाषणमा राजद्रोहीको कमर तोड्ने चेतावनी दिनुभएको थियो । लेबनानमा इरान समर्थित हेजबुल्लाहले अमेरिकी–यहुदी धम्कीको विरोध गर्दै विभिन्न क्षेत्रमा ¥याली आयोजना गरेको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको छ – स्वास्थ्य मन्त्री डा सुधा शर्मा

गण्डकी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याउनुभएको छ । आज पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा उहाँले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

“स्वास्थ्य बिमा कार्यक्रमका लागि यस वर्ष सरकारले रु ११ अर्ब विनियोजन गरेको थियो, त्यो बजेट सकिएर अर्को ११ अर्ब खर्च भइसकेको छ”, मन्त्री गौतमले भन्नुभयो, “स्वास्थ्य बिमामा भइरहेको दुरुपयोग नरोक्ने हो र खर्चमा मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले यसलाई भ्याउँदैन ।”

स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उहाँको भनाइ छ । “स्वास्थ्य बिमा हुनेखाने र निरोगीले पनि बिमा कोषमा रकम जम्मा गर्ने र विपन्न अवस्थाका बिरामीलाई उपचार सेवा दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो”, मन्त्री गौतमले भन्नुभयो, “तर धेरैजसो बिरामीले नै बिमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने, चिकित्सकले पनि अनावश्यक जाँचहरु लेख्दा समस्या भइरहेको छ ।”

अस्पतालको फार्मेसी र बिमाबाट दिइने औषधिको मूल्यमा एकरुपता हुनुपर्ने र शय्या निःशुल्क रहेका अस्पतालले बिमाबाट भुक्तानी गर्न नहुने उहाँले बताउनुभयो । मन्त्री गौतमले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो ।

समारोहमा मन्त्री गौतमले प्रतिष्ठानको स्मारिकासमेत विमोचन गर्नुभएको थियो । उक्त अवसरमा प्रतिष्ठानमा दीर्घ सेवा गरेका कर्मचारी, प्राविधिक, चिकित्सकलगायतलाई सम्मान गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

चलचित्र विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन समितिबाट पारित

काठमाडौँ – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले चलचित्र विधेयक, २०८१सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिका सभापति तुलसाकुमारी दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन पारित गरेको र उक्त प्रतिवेदन मङ्गलबार राष्ट्रियसभामा पेस हुने जनाइएको छ ।

प्रतिवेदनमा चलचित्र विकास बोर्डको स्वायत्तता, चलचित्र छायाङ्क गर्ने बेलामा पठाउने अधिकृतको काम, कर्तव्य र अधिकार ऐनमै लेख्ने, चलचित्र सेन्सर बोर्डका ठाउँमा प्रमाणीकरण समिति र चलचित्रलाई वर्गीकरण गरेर जानेलगायत विषय रहेका छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त ऐनमा ४४ दफामा परिमार्जन गरिएको हुँदा यसबाट चलचित्र क्षेत्रले सामाजिक, सांस्कृतिक र मनोरञ्जन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक, सांस्कृति तथा मनोरञ्जन आफैँमा महत्त्वपूर्ण क्षेत्र भएकाले यो क्षेत्रलाई मर्यादित र समयसामयिक बनाउनुपर्ने आवश्यकता भएकाले संशोधन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

समितिका सभापति दाहालले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने उल्लेख गर्दै उक्त प्रतिवेदनले यस क्षेत्रलाई थप विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो। इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानून बनाउन पहल सुरु गरेको छ ।

सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई विनियमित गर्ने उपायहरू खोज्ने बताएका छन् ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले आइतबार जारी गरेको विज्ञप्तिमा नयाँ कानूनले बालबालिकाहरूले सामना गरिरहेको डिजिटल असुरक्षा र अनियन्त्रित सामग्रीको जोखिमलाई नियन्त्रण गर्ने र यसले उनीहरूको भविष्यमा नकारात्मक असर पर्न नदिने उल्लेख छ ।

विधायकहरूले सरकार र विशेषज्ञ निकायहरूसँग सल्लाह गरेर ‘इजिप्टका बालबालिकालाई विचार र व्यवहारमा खतरामा पार्ने कुनै पनि डिजिटल जोखिमबाट जोगाउन’ कानूनको मस्यौदा तयार गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिबार आफ्नो सरकार र संसद्लाई बालबालिकाको सामाजिक मिडियाको प्रयोगलाई सीमित गर्ने कानून बनाउन आग्रह गर्नु भएको थियो । उहाँले अस्ट्रेलिया र बेलायत जस्ता अन्य देशमा बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउन गरिएका प्रयासहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

इजिप्टमा १८ वर्षमुनिका करिब ५० प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्ने तथ्य नेशनल सेन्टर फर सोसल एन्ड क्रिमिनोलोजिकल रिसर्चको २०२४ को रिपोर्टमा उल्लेख छ । यी बालबालिकाहरू सम्भावित हानिकारक सामग्री, साइबरबुलिङ र अन्य दुर्व्यवहारको जोखिममा पर्दै आएका छन् ।

गत डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेशमा प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो । यस कदमले प्रविधिको प्रयोग, गोपनीयता, बाल सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी व्यापक बहस सुरु गरेको छ र अन्य देशहरूलाई पनि यस्तै उपायहरू अपनाउने प्रेरणा दिएको छ ।

बेलायत सरकारले पनि बालबालिकालाई हानिकारक सामग्री र अत्यधिक स्क्रिन समयबाट जोगाउन आफ्नो कानूनलाई कडा गर्दै युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट रोक्ने विचार गरिरहेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले १५ वर्षमुनिका बालबालिकाका लागि लागू हुने सामाजिक मिडिया प्रतिबन्ध आगामी स्कुल वर्षको सेप्टेम्बरदेखि लागु हुनसक्ने सुनिश्चित गर्न आफ्नो सरकारलाई कानूनी प्रक्रिया द्रुत गर्न निर्देशन दिनुभएको छ ।

सर्लाही पुगेर कांग्रेस सभापति थापाले भने – म मधेस बुझ्न आएको हुँ

सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।

आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताउनुभयो । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताउनुभयो ।

“अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाउनुभयो ।

एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उहाँले स्पष्ट पार्नुभयो ।

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…

सिरहा – लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो ।

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।

रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् ।

अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।”

छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल हुनुभएको छ । उहाँले भन्नुभयो, “छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।”

शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौँ। सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रुपमा एचपिभी खोप लगाइने जानकारी दिनुभयो ।

“खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ”, उहाँले भन्नुभयो, “कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन् ।

फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी छ ।” उहाँले अहिले खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिरहेको बताउनुभयो ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरुलाई पनि यसवर्ष खोप प्रदान गरिने जानकारी दिनुभयो । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरुलाई यसपटक खोप लगाइने छ ।

उहाँका अनुसार यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ । सरकारले उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल आइपुगेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौँ ।केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुरको धोबिघाटबाट चितवनको भरतपुर महानगरपालिका–१६ का १९ वर्षीय रोहिम तिवारीलाई छ वटा कछुवासहित पक्राउ गरेको हो ।

निजलाई आवश्यक कानुनी कारबाहीका लागि आज डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

रास्वपामा प्रवेश गर्नुको कारण खोले गायक प्रकाश सपुतले

काठमाडौं – गायक प्रकाश सपुतले आफू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेको स्वीकार गर्दै पार्टी प्रबेश गर्नुको कारण खोलेका छन्

उनले आज सामाजिक संजालमा पार्टी प्रवेशका विषयमा लामो स्टाटस लेखेका छन् । उनले रास्वपाका रबी लामिछाने र बालेन्द्र शाहसँगको तस्बिर शेयर गर्दै कुरा खुलाएका हुन् ।

उनले लेखेका छन्

प्रिय शुभेच्छुक,
आदरणिय मतदाता,
आजको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनैतिक व्यवस्था र नयाँ संविधान ल्याउन योगदान दिने सम्पुर्ण शहिद, सबै सबै राजनैतिक दल र अग्रज नेताहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दता सहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु ।


सभापति रवि लामिछाने ज्यू,
प्रिय बालेन,
मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर तपाईहरुसंग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ । कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।
म भर्खरै मेला महोत्सव मार्फत् नेपालभरिका लाखौ नेपालीजनहरु माझ प्रत्यक्ष पुगेर फ़र्किएको छु । हामीले सामाजिक सञ्जालमा देखे जस्तो उनीहरु उग्र र उत्तेजित छैनन्, बरु शान्त छन तर, निरास छन् । नेता र निर्वाचन प्रति उनीहरुको विश्वास उडिसकेको छ । यधपि तपाईहरुको उदय संगै मैले जस्तै अब ‘अन्तिम पटक’ कसैलाई विश्वास गर्दैछन् । मैले देखे उत्साहित छन् तर ढुक्क छैनन् ! थुप्रै प्रश्न र डर सहित केबल आसावादी छन् । “ जो आए पनि सबै उस्तै हुन “ भन्ने मनोविज्ञान छ । तपाईहरु किन ’सबै उस्तै’ मध्य होईन ? किन फरक हो ? किन आउनुभयो ? बुझाउनु पर्ने छ । राजनितिको आडमा केहि व्यक्ति र शक्तिले बन्धक बनाएको यति सुन्दर व्यवस्थालाई फुकुवा गरेर यो देश, यो व्यवस्था हामी सबैको हो भन्ने अनुभुती गराउनु पर्ने छ । अब विचारको भारी होईन सुधार, विकास र समृद्दिको ज़िम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साँची हुन आएको छु ।
फेरी दोहोर्याउछु,
अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु ।अब तपाईहरुलाई निरास बनाउने छुट छैन 🔔🇳🇵

ग्रोकमाथि इयुको अनुसन्धान

ब्रसेल्स। युरोपेली सङ्घ (इयु) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सविरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ ।

यो अनुसन्धान एक्समा प्रयोग हुँदै आएको एआई च्याटबट ग्रोकले महिला तथा नाबालिगहरूको यौनिक डीपफेक तस्बिरहरू सिर्जना गर्न सक्ने विषयसँग सम्बन्धित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमै आलोचना र चासो बढिरहेको अवस्थामा यो कदम चालिएको हो ।

प्रयोगकर्ताहरूले ‘उनलाई बिकिनीमा राख्नुहोस्’ वा ‘उनको लुगा हटाउनुहोस्’ जस्ता साधारण टेक्स्ट निर्देशनहरू प्रयोग गरेर महिला र बालबालिकाको तस्बिरलाई यौनिक रूपमा रूपान्तरण गर्न सक्ने तथ्य सार्वजनिक भएपछि ग्रोक तीव्र आलोचनाको घेरामा परेको थियो । यसले डिजिटल सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस विषयमा कडा धारणा राख्दै भन्नुभएको छ, “युरोपमा हामी महिला र बालबालिकाको डिजिटल रूपमा अपमान गर्ने यस्ता अकल्पनीय व्यवहारलाई सहन सक्दैनौँ ।” उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “यो विषय अत्यन्त सरल छ—प्रविधि कम्पनीहरूलाई सहमति र बाल संरक्षणका आधारभूत सिद्धान्त उल्लङ्घन गर्न र त्यसबाट मुनाफा कमाउन अनुमति दिइँदैन । अवैध तस्बिरहरूले निम्त्याउने क्षति वास्तविक र गम्भीर छ ।”

इयुका प्रविधि आयुक्त हेना विर्कुनेनले डिजिटल सर्भिस एक्ट (डिएसए) अन्तर्गत एक्सले आफ्नो कानूनी दायित्व पूरा गरेको छ कि छैन भन्ने कुरा यो अनुसन्धानले स्पष्ट गर्ने बताउनुभएको छ । उहाँका अनुसार इयुमा महिला र बालबालिकाको अधिकार एक्सका सेवाहरूको ‘साइड इफेक्टको (अप्रत्यक्ष) क्षति’ बन्नु हुँदैन ।

ब्रसेल्सले एक्सले इयुभित्र अवैध सामग्रीको प्रसारसँग सम्बन्धित जोखिमहरू—जसमा हेरफेर गरिएका यौन स्पष्ट तस्बिरहरू र बाल यौन दुव्र्यवहार सामग्री हुन सक्ने आशङ्का गरिएको सामग्री—लाई प्रभावकारी रूपमा कम गरेको छ कि छैन भन्ने विषयमा छानबिन भइरहेको जनाएको छ ।

गैरनाफामूलक निगरानी संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सिसिडिएच) ले बिहीबार सार्वजनिक गरेको अनुसन्धानअनुसार ग्रोकले केही दिनमै महिला र बालबालिकासँग सम्बन्धित अनुमानित ३० लाख यौनिक तस्बिरहरू सिर्जना गरेको थियो । यही तथ्यले इयुको चासो झनै गहिरो बनाएको छ ।

नयाँ अनुसन्धानको एक हिस्साका रूपमा इयुले अवैध सामग्री तथा सूचना हेरफेरको प्रसार नियन्त्रण गर्ने उद्देश्यले एक्समाथि पहिलेदेखि चलिरहेको अनुसन्धानको दायरा विस्तार गरिरहेको जनाएको छ । एलन मस्कको यो सामाजिक सञ्जाल प्लेटफर्म, जसलाई पहिले ट्विटरका नामले चिनिन्थ्यो, डिसेम्बर २०२३ देखि नै इयुको डिजिटल सामग्रीसम्बन्धी नियमहरू अन्तर्गत अनुसन्धानको लक्ष्यमा रहँदै आएको छ ।

यसअघि डिसेम्बर महिनामा ब्रसेल्सले डिएसएको पारदर्शितासम्बन्धी दायित्व उल्लङ्घन गरेको ठहर गर्दै एक्सलाई १२ करोड युरो, अर्थात् करिब १४ करोड अमेरिकी डलर जरिवाना गरेको थियो । उक्त निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट तीव्र प्रतिक्रिया आएको थियो ।

उल्लङ्घनका आरोपहरूमा प्रमाणित खाताहरूका लागि प्रयोग गरिएको ‘नीलो चेकमार्क’ को कथित रूपमा भ्रामक डिजाइन र अनुसन्धानकर्ताहरूलाई सार्वजनिक डेटामा पहुँच उपलब्ध गराउन असफलता जस्ता विषय समावेश थिए ।

वासिङ्टनको दबाबका बाबजुद इयुले आफ्ना नियमहरू कडाइका साथ लागू गर्ने अडान दोहोर्‍याउँदै आएको छ । युक्रेन युद्ध, व्यापार विवाददेखि ग्रिनल्यान्डसम्बन्धी मुद्दासम्म विभिन्न मोर्चामा ट्रम्प प्रशासनसँग टकरावको अवस्था रहँदा प्रविधि नियमनसम्बन्धी यो विवाद थप चर्किएको देखिन्छ

स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली (तनहुँ)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ ।

त्यस क्रममा उहाँले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिनुभएको छ ।उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराउनुभयो ।

अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भारत सरकारसँग तीन सय शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री गौतमको ध्यानाकर्षण गराइएको थियो ।

जवाफमा स्वास्थ्यमन्त्री गौतमले उपचार केन्द्रलाई विशिष्ट अस्पतालको रूपमा विकास गरिने बताउनुभयो । मन्त्रालयका सचिव डा .विकास देवकोटाले अस्पताललाई श्वासप्रश्वास अस्पतालको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत सेवा दिन यहाँ अस्पताल स्थापना गरिएको थियो । सरकारले विसं २०६७ सोसम्बन्धी निर्णय गरेको थियो । हाल यहाँ पचास जनरल वाड सञ्चालनमा छन् ।

विसं २०७५ सालमा सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा पूजा

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिर दर्शन गरेका छन् । आज उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन ।

पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा साहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप दिएका थिए । सो क्रममा महन्थ दासले पूर्व राजा साहलाई २०४७ पछिको संविधानलाई हटाउन आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अखिल क्रान्तिकारीले निकाल्यो मसाल जुलुस

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न माग अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो ।

सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो । उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारको फोटोसमेत जलाएका थिए ।

उनीहरूले पूर्व सहमति जनुसार मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत चार बिभानहरुको शुल्क समायोजन यथाशीघ्र कार्यनयन गरिनु पर्ने, विश्वविद्यालयका सम्पूर्ण बिभागहरुको आवश्यकता र सम्भाव्यताको आधारमा बिहानी र दिउँसो सत्रमा तत्काल कक्षा संचालन गरिनु पर्ने माग गरेका छन् ।

त्रिविले भने विद्यार्थीका मागका सम्बन्धमा कार्यदल गठन भएको र उक्त कार्य दलले काम गरिरहेको भन्दै हाललाई ताला खोल्ने आइतबार आग्रह गरेको थियो । त्रिविमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेशसमेत गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनः जनप्रतिनिधिकै मत बदर

देउखुरी (दाङ), १२ माघ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ ।

प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गर्नुभएकामा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

यसरी लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश सदस्य तथा स्थानीय सरकारका प्रमुख पदाधिकारी मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएसँगै यहाँस्थित राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । यसै सन्दर्भमा प्रमुख राजनीतिक पार्टीका प्रदेश तथा स्थानीय तहका नेताहरूले १६ मत बदर भएको घटनालाई सामान्य रुपमा लिन नहुने बताउँदै निर्वाचनको मत परिणामलाई सुक्ष्म रुपमा विश्लेषण गरी निष्कर्षमा पुगेर सोहीअनुसार धारणा बनाउने बताए ।

जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख । दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

महावु गाउँपालिका-५ कुटीमा आज दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल गरिए पनि उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै मृत्यु भएको महावु-५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।

सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका-६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट आजै दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली छन् । उनीहरू दुवैको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतंक सिर्जना गरेको स्थानीयले बताएका छन् ।

महावु-४ गीताचौर स्वास्थ्य चौकीका इन्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भने, “आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थल नजिकै ५०-६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतंकीत छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।”

घटनाको जानकारी पाए लगत्तै काँशिकाँध अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छ भने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए । “हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ”, प्रजिअ सारुले भने ।

यो क्षेत्रमा विगत केही समयदेखि जंगली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतंकका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ ।

यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए । आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उनले बताए ।

काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो । सो दफाअनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको हो । सो दफामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । सो दफाको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको हो ।

दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो ।

हालसम्म स्पष्टीकरण माग गरिएका आठ जनामध्ये खरेलले मात्र स्पष्टीकरण पेस गरेको आयोगका सहायक प्रवक्ता श्रीसले जानकारी दिए । खरेलले गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत गराइएको आयोगले जनाएको छ ।

आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले हालसम्म आयोगलाई स्पष्टीकरण पेस गरेको छैन । सरकार मातहतकै परिषद्लेसमेत आयोगलाई समयभित्र स्पष्टीकरण पेस नगरेको हो ।

नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । बस्नेतले पनि हालसम्म स्पष्टीकरण बुझाएको छैन ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उनले पनि आयोगलाई स्पष्टीकरण बुझाएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । यसको जवाफ पनि प्राप्त नभएको आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षामा कमी हुन नदिन मातहतका कर्मचारीहरूलाई आईजीपी अर्यालको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कमी कमजोरी हुन नदिन मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिने क्रममा महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन आग्रह गरे ।

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्का कारबाही गर्ने बताउँदै उनले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिए ।

कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतहरूलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारबाही गरिने समेत चेतावनी उनले दिएका छन् । महानिरीक्षक अर्यालले राजश्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी (बाँके), ११ माघ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका काम तीव्र रुपमा अघि बढेको छ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयलाई प्राथमिकताका साथ तीव्र रुपमा अघि बढाएको हो ।

निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणसहित मर्यादित ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट गरेको छ । भौगोलिक संरचनाका आधारमा निर्वाचन क्षेत्र नं २ मा डुडुवा गाउँपालिकाका ६ वटै वडा, नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १५ र १७ देखि २३ सम्मका वडाहरू समेटिएका छन् ।

निर्वाचन क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र छ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोज वाग्लेका अनुसार कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै वडा उक्त निर्वाचन क्षेत्रमा समावेश छन् । उनका अनुसार यस क्षेत्रमा कुल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नं १ मा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार कुल एक लाख १७ हजार ३५४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् । बाँकेका २४ वडा समेटिएको सो निर्वाचन क्षेत्रम ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । करिब ९० पृष्ठ लामो आचारसंहितामा निर्वाचन प्रचार–प्रसार, नियमन तथा नियन्त्रणसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहिताअनुसार निजी सम्पत्तिको दुरुपयोग, कसैको मान–मर्यादा र चरित्रमा आँच पु¥याउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको जिल्ला निर्वाचनको कार्यालय बाँकेले स्पष्ट गरेको छ ।

निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको पूर्वाग्रही व्यवहार नहुने, सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई समान व्यवहार गरिने तथा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ ।

त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनीधि सभाको निर्वाचनमा शान्ती सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए ।राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाममा, जानकी मन्दिर दर्शन गर्ने

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आईपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । उनीसंगै पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुरधाम आईपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछानेलगायतका नेताहरु बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत बास बसेका थिए ।

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी। पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् ।पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।

महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ । महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उहाँले त्यो बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुुसार महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गर्ने गरिएको छ । “बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन”, उहाँले भन्नुुभयो, “यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएका कारण आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।”मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा पनि फाइदा पुग्ने उहाँले बताउनुुभयो ।

पछिल्ला समयमा मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउनका लागि समय समयमा विभिन्न किसिमका तालिम पनि प्रदान गर्दै आइएको छ । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको समन्वयमा यहाँका किसानलाई आइतबारदेखि ६५ दिने मौरीपालक तह – १ तालिम दिन सुरु गरिएको छ ।

पोखरा महानगरपालिका–२६ लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिनुुभयो । तालिममा महानगर क्षेत्रका २० अगुवा किसान सहभागी बन्नुुभएको उहाँले बताउनुुभयो ।

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ , गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ रहेको छ ।

यस्तै, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ४५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो २५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १८ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ११० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १७० रुपैयाँ, लौका प्रतिकिलो ७५ रुपैयाँ, सलगम प्रतिकिलो ६० रुपैयाँ, भिन्डी प्रतिकिलो १३० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ७० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो ८० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ७० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी प्रतिकिलो १८० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो २५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३२० रुपैयाँ समितिले तोकिएको छ ।

यस्तै, सुन्तला (नेपाली) प्रतिकिलो १४० रुपैयाँ, स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो ११० रुपैयाँ, जुनार प्रतिकिलो ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ८० रुपैयाँ समितिले निर्धारण गरिएको छ ।

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो, ६ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड

वीरगञ्ज (पर्सा) – वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ ।

गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने रू तीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

चालु आवको छ महिनामा रू ९० अर्ब छ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । रू ३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा रू ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रू १९ अर्ब चार करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ, १२ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको थियो ।

उहाँले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिनुभयो । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गर्नुभयो ।

आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।

बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

देवदह (रुपन्देही), १२ माघः रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ ।यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो ।

मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो ।
भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताउनुभयो । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उहाँले बताउनुभयो ।आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताउनुभयो । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ । यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताउनुभयो ।

बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताउनुभयो । “नेपाल प्रवेश गरेपछि त्यो कुरा पर्यटकलाई भान होस्, भन्ने हाम्रो प्रमुख उद्देश्य हो ”उहाँले भन्नुभयो “सरकारले मात्र गरेर हुँदैन ।सङ्घ–संस्थाले पनि काम गर्नुपर्छ । देशप्रति नागरिकको पनि दायित्व छ । यो देशलाई चिनाउन हामी सबै लाग्नुपर्छ ।” नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका हो ।

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

काठमाडौं । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।

उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मगमग बसना’ ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका हुन्।

यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’ लगायतका गीतहरू दर्शक–श्रोतामाझ निकै लोकप्रिय भइसकेका छन्।

गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका हुन्। भिडियोको कथा तथा निर्देशन सोनम पाख्रिनले सम्हालेका छन्। म्युजिक भिडियोमा कलाकार बुद्धि तामाङ, बेदना राई र राज दोङको अभिनय देख्न सकिन्छ।‘मगमग बसना’ को म्युजिक भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्न सकिनेछ।