`

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।

यस्तै लम्जुङको घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

काठमाडौँ । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ ।

प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् । यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन् । प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ ।

कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको छ । वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको छ । सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ ।

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन ४ गते सामाजिक सञ्जालमार्फत सरसफाइका लागि आह्वान गरेका थिए।

आह्वानको भोलिपल्टैदेखि झाडु बोकेर सयौँ नागरिक स्वतःस्फूर्त रूपमा विश्वविद्यालय परिसर सफाइमा जुट्न थालेका छन्। हालसम्म १० देखि १२ हजारभन्दा बढी विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी र सामाजिक अभियन्ताले सरसफाइमा योगदान गरिसकेका छन्।

नागरिक तहमा देखिएको यस अभूतपूर्व उत्साहका बिच अर्को संशय पनि उत्पन्न भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी गत बिहीबारदेखि अनसनमा बसेपछि यसै वर्षदेखि पठनपाठन सुरु हुनेमा स्थानीयबासीमा अनिश्चितता छाएको छ।

डा. केसीका प्रमुख मागहरूमध्ये गेटा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेज गर्नु पनि परेकाले सरकारले त्यो माग स्वीकार गरेमा वर्तमान पदाधिकारीको वैधानिकता समाप्त हुने र शैक्षिक सत्र प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

कञ्चनपुरका हिमालबहादुर मल्ल र स्थानीय शिक्षक नारायणसिंह केसीले वर्षौँको पर्खाइपछि आफ्ना सन्ततिको भविष्य र गुणस्तरीय उपचार पाउने आशा जागेका बेला डा. केसीको आन्दोलनले काम बिथोलिने पो हो कि भन्ने डर प्रकट गरेका छन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पदाधिकारी जो सुकै भए पनि यो शैक्षिक सत्रबाट एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन हुनै पर्ने बताएका छन्। उनीहरूले कुनै असहमति भए विधि र पद्धतिमार्फत छानबिन गरेर निकास खोज्न आग्रह गरेका छन्।

वर्षौँदेखि उल्झनमा परेको गेटाको मुद्दा विसं २०७९ माघमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सहिद दशरथ चन्द विश्वविद्यालयका रूपमा अगाडि बढाउने निर्णय गरेपछि सुल्झिएको थियो। सम्बन्धी ऐन संसद्बाट पारित भई विसं २०८२ असार ४ मा राजपत्रमा प्रकाशित भइसकेको छ। यसै शैक्षिक सत्रदेखि ५० जना एमबीबीएस, ३० जना बीएस्सी नर्सिङ, २० जना एमएलटी र २० जना बी अप्टोमेट्रीका विद्यार्थी भर्ना गर्ने गरी चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाइसकिएको छ।

डा. केसीले चिकित्सा शिक्षामा अपारदर्शी नियुक्ति र राजनीतिक हस्तक्षेपको विरोध गर्दै आएकाले सरकारका लागि उनका माग र स्थानीय नागरिकको चाहना दुवैलाई ध्यान दिनु पर्ने बाध्यता छ। गेटा विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले कानुनी प्रक्रियाबाट डा. केसीका माग सम्बोधन गर्दै विश्वविद्यालयको संस्थागत तयारी नरोक्न आग्रह गरेका छन्।

हाल शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा सम्मिलित टोलीले डा. केसी पक्षसँग वार्ता गरिरहेको छ। सुदूरपश्चिमवासीले यसै वर्षदेखि विश्वविद्यालयमा पठनपाठन र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा राखेका छन्। अब त्यो आशा निष्कर्षमा पुग्छ वा अन्योलमा अल्झिन्छ भन्ने कुरा सरकार र डा. केसीबीचको वार्ताको परिणामले तय गर्नेछ।

करिब तीन सय बीस किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ। सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ३२० किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीचौकी मधुवनीगाउँबाट खटिएको टोलीले शङ्का लागेर कुखुरा फार्ममा अवैध लागुऔषध भए÷नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले बाप्र०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि भएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटक यहाँ आएका जानकारी दिनुभयो ।

उहाँले अघिल्लो आव २०८१/८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकामा आव २०८०/८१ मा ४४४ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका उल्लेख गर्नुभयो । “पर्यटकको आगमन बढ्नु यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु हो । तर, सरोकार भएका निकायले पर्यटन प्रवर्द्धनमा योजना बनाई प्रभावकारी कार्यान्वयन गरेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझै बढ्न सक्छ”, उहाँले भन्नुभयो ।

प्रमुख संरक्षण अधिकृत कँडेलले निकुञ्जमा पर्यटकको सङ्ख्या चार हजार पु¥याउने लक्ष्य लिइएको उल्लेख गर्दै अर्को वर्षमा लक्ष्य हासिल हुने दाबी गर्नुभयो । निकुञ्जभित्र पर्या–पर्यटनको प्रचुर सम्भावना भएका कारण आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जनका लागि भरपुर लाभ लिनसक्ने औँल्याउँदै उहाँले ‘इकोलोजिकल टुरिजम’मा जोड दिइएको बताउनुभयो ।

पर्यटनका लागि होमस्टे (घरबास) तथा होटल व्यवसायीमा लगानी बढाउन आग्रह गर्दै कँडेलले बाँके र बर्दिया कम्प्लेक्स प्रमुख ‘टाइगर कन्जरभेसन युनिट’ भएको जानकारी दिनुभयो । वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँकेका प्रमुख धर्म रोकायले सबै सरोकार भएका निकायको पहलबाट पर्यटन प्रवर्द्धन गर्न सम्भव भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धन सबैको साझा दायित्व भएकाले आपसी सहकार्य र समन्वयमार्फत पूर्वाधार विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन व्यवसायी देवानन्द अर्यालले निकुञ्जमा पर्यटन भित्र्याउन विशेष प्याकेजसहित भ्रमण बर्ष घोषणा गर्न आग्रह गर्दै पर्यटकलाई कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गर्नुभयो । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् ।विसं २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट करिब १६ किलोमिटरको दूरीमा रहेको छ ।

अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

काठमाडौँ। अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ ।

वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ ।

–कजाखस्तानमा अवतरण–

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ सोयुज एमएस–२८ अन्तरिक्ष यानमार्फत कजाखस्तानमा सुरक्षित अवतरण गरेका छन् ।

कूल २४१ दिनको अभियान पूरा गरेपछि ‘क्याप्सुल प्यारासुट’को सहायताले जेज्काजगनको दक्षिण–पूर्वस्थित निर्धारित क्षेत्रमा यान सफलतापूर्वक उत्रिएको थियो ।

तीनै अन्तरिक्ष यात्रीले करिब आठ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार र अन्य सञ्चालनसम्बन्धी कार्य गरेका थिए । यो अभियान अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण उदाहरण मानिन्छ ।

सुरक्षित अवतरणपछि उद्धार टोलीले अभियानमा संलग्न टोलीको स्वागत गरेको थियो । त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई हेलिकोप्टरमार्फत कारागाण्डा लगिने बताइएको छ । त्यहाँबाट क्रिस विलियम्स नासाको जोन्सन स्पेस सेन्टर, ह्युस्टन जानुहुनेछ भने सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ रुसको स्टार सिटी फर्कनुहुनेछ ।

यो क्रिस विलियम्स र सर्गेई मिखाएभको पहिलो अन्तरिक्ष यात्रा थियो भने सर्गेई कुड–स्भेर्चकोभ दोस्रो पटक अन्तरिक्ष यात्रामा जानुभएको थियो ।

राजनीतिक तनावका बाबजुद अन्तरिक्ष सहकार्य जारी

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिद्वन्द्वी रहेका अमेरिका र रुस धेरै वर्षदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सँगै काम गर्दै आएका छन्। सन् २०२२ मा युक्रेन द्वन्द्वपछि दुवै देशका सम्बन्धमा तनाव बढे पनि अन्तरिक्ष सहयोग जारी रह्यो। नासाका अन्तरिक्ष यात्री र रुसी अन्तरीक्ष यात्री नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्ष यानमार्फत र्आएसएससम्म आउजाउ गरिरहेका छन्।

सोयुज एमएस–२८ को टिम फर्कनुभन्दा दुई साताअघि, १४ जुलाईमा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोस्मोसका कस्मोनट प्योत्र दुब्रोभ र अन्ना किकिना कजाखस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए। यो टोल िएक्स्पेडिसन–७५ अन्तर्गत अर्को आठ महिनासम्म स्टेशनमा कार्य गर्नेछ ।

नयाँ टोली पुगेपछि नासाकी जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोत तथा रुसी यात्री आन्द्रेई फेद्ययेभसँग मिलेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धानको कार्य जारी रहनेछ ।

स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइँदै

गण्डकी। स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिन थालेको छ ।

‘अप्रेसन ३६५’ अन्तर्गत समाजमा ध्वनि प्रदूषण गर्ने, त्रासित बनाउने र जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालिएको हो ।

गएराति पोखराका विभिन्न स्थानबाट त्यस्ता १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइ कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गरेको आरोपमा यही साउन ७ गते ३३ र ६ गते १८ मोटरसाइकललाई नियन्त्रणमा लिइ कारबाही गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको ‘अप्रेसन ३६५’का क्रममा हालसम्म ७९८ वटा सवारीसाधन र ३६ जना चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।

मोटरसाइकलका पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातका समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खलबलाउनेजस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन गत वर्षदेखि ‘अप्रेसन ३६५’ सञ्चालन गरेको थियो ।

स्वीकृति नलिइ सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाइएको छ ।

‘बेलायतको हितलाई प्राथमिकतामा’ राख्दै ट्रम्पसँगको सम्बन्धलाई अघि बढाइने : बर्नहम

लन्डन। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बनर्हमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्दा ‘फरक मत राख्न सक्ने’ र ‘बेलायतको हितलाई पहिलो प्राथमिकता दिने’ बताउनुभएको छ।

शुक्रबार बीबीसीसँग गरेको अन्तर्वार्ताका केही अंश आइतबार सार्वजनिक गर्दै बर्नहमले सोमबार कियर स्टार्मरलाई प्रतिस्थापन गरेर डाउनिङ स्ट्रिट पुगेको केही घण्टामै ट्रम्पसँग गरेको पहिलो फोनवार्ता ‘सौहाद्रपूर्ण’ रहेको बताउनुभयो ।

“अगाडि बढ्दै जाँदा हामी सम्बन्धलाई निरन्तर सुदृढ पार्नेछौं,” सत्तामा आएपछिको पहिलो मिडिया अन्तर्वार्तामा बर्नहमले बीबीसीसँग भन्नुभयो ।

“यो परिवर्तनशील विश्व हो र विकासक्रमअनुसार कुराहरूलाई स्पष्ट रूपमा बोल्नुपर्छ। “म कहिल्यै पनि यो भन्न सक्दिनँ कि म उनबाट फरक मत राख्दिनँ, वा बेलायतका लागि सही रहेको फरक विचार व्यक्त गर्न आवश्यक पर्दैन। म त्यसो गर्नेछु।”

सत्तारुढ लेबर पार्टीका अनुभवी नेता ५६ वर्षीय बर्नहमले सन् २०१७ देखि नौ वर्षसम्म उत्तरी इङ्गल्याण्डको ग्रेटर म्यान्चेस्टरका मेयरको रूपमा काम गर्नुभएको थियो । उहाँले ट्रम्पलाई विश्वास गर्नुहुन्छ वा हुँदैन भन्ने प्रश्नको प्रत्यक्ष जवाफ दिन अस्वीकार गर्नुभयो ।

उहाँले आवश्यकता परेमा अमेरिकी राष्ट्रपतिलाई खुलेर चुनौती दिन पनि ‘अवश्य’ तयार रहेको जोड दिनुभयो । “तपाईंले अरू सबैभन्दा पहिले आफ्नो राष्ट्रिय हितको रक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

“यो काम सही तरिकाले गर्न त्यही चाहिन्छ। म सधैं बेलायतकोे हितलाई पहिलो प्राथमिकतामा राख्नेछु।” सोमबारको फोनवार्तापछि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको थियो, बर्नहम ‘अगाडि ठूलो जिम्मेवारी छ, तर उहाँ त्यसलाई पूरा गर्न सक्षम हुनुहुनेछ।”

उहाँले अमेरिका बर्नहमलाई ‘मद्दत गर्न तयार रहने’ प्रतिबद्धता जनाउनुभयो ।गत महिना ट्रम्पले बर्नहमलाई ‘अत्यधिक उदारवादी’ भनेर आलोचना गर्नुभएको थियो ।

ट्रम्प र स्टार्मरबीच विशेष गरी इरान द्वन्द्वका कारण बिग्रिएको थियो र कहिलेकाहीं तनावपूर्ण सम्बन्ध बन्न पुगेको थियो ।

निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन् ।

आठ वर्षअघि आजकै दिन (२०७५ साउन १०) निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारा नजिक पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए ।

“यो प्रकरणमा प्रहरी सङ्गठनले सघन रुपमा लामो समयदेखि अनुसन्धान गर्दैछ”, प्रवक्ता रावतले भने, “प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि गम्भीर चासोका साथ विभिन्न कोणबाट अनुसन्धान जारी छ ।”

हरेकजसो सरकार गठन हुँदा निर्मलाको न्यायका लागि आवाज उठाउँदै आएको प्रकरण पनि हो । निर्मला प्रकरणले उग्ररुप लिँदा महेन्द्रनगरमा आन्दोलनमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ भगतपुरका सन्नी खुनाले ज्यान गुमाएका थिए ।

सयौँ व्यक्ति अनुसन्धानको घेरामा ल्याएको प्रहरीभित्र पनि डिएनए परीक्षणदेखि सुरक्षाकर्मीसमेत अनुसन्धानमा तानिएका थिए ।

माथिल्लो तहबाट छानबिन समिति गठन हुनेदेखि राज्यले गम्भीर भएर घटनाको अनुसन्धान जारी राखेको भए पनि अभियुक्तको पहिचान गरी कानूनी दायरामा ल्याउन भने आठ वर्ष बित्दा समेत सकिएको छैन ।

तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियो: इरान

तेहरान। इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्याङ्कर समुद्री बारुदी सुरङसँग ठोक्किएको छ ।तस्निम समाचार एजेन्सीले जनाएअनुसार उक्त जहाज तेहरानले स्वीकृत गरेको महत्वपूर्ण समुद्री मार्गबाट बाहिरिएपछि बारुदी सुरङसँग ठोक्किएको हो। ईरानी अधिकारीहरूले अहिलेसम्म यस घटनामा कुनै टिप्पणी गरेका छैनन्।

इरानको इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) ले विगत २४ घण्टामा हर्मुज जलमार्गबाट पार हुन खोज्ने छ वटा जहाजमा चेतावनीका रूपमा आक्रमण गरेको छ । इरानको सरकारी टेलिभिजनले जनाएअनुसार ती जहाजहरूलाई यात्रा जारी राख्नबाट रोकिएको छ । तिनीहरू तेहरानले तोकेको ‘निर्धारित मार्ग’ बाट बाहिरिएर हिँडिरहेका थिए। शनिबार पनि हर्मुज जलमार्गबाट पार हुन खोज्ने चार वटा जहाजलाई आईआरजीसीले अनुमतिबिना अघि बढेको भन्दै रोकेको थियो । हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूको मार्गलाई लिएर अमेरिका र इरानबीचको मतभेद नै यस क्षेत्रमा हालैको तनावको मुख्य कारण बनेको छ ।

इरानी ब्रिगेडियर जनरल मोहम्मद रजा अकरमिनियाले भन्नुभएको छ, “तेहरानले हर्मुज जलमार्गमाथि आफ्नो अधिकार जनाउन कदम चालेको छ । यो कदम अमेरिकाले जुन महिनामा भएको समझदारी पत्रको उल्लङ्घन गर्दै हर्मुज जलसन्धिमा नक्कली र गैरकानुनी मार्ग बनाउन खोजेपछि चालिएको हो। तस्निम समाचार एजेन्सीले अकरमिनियालाई उद्धृत गर्दै लेखेको छ,, “यी कारबाहीहरूमा इस्लामिक रिपब्लिक अफ इरानको सेनाले जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी आधारहरूलाइ केन्द्रमा राखेको पाइन्छ।” यस क्षेत्रमा अमेरिकाका सबैभन्दा महत्वपूर्ण आधार शिविरहरू रहेको मानिन्छ ।

हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजका लागि ढुवानीका लागि रुटहरूको व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीचको विवादका कारण हालै भएको समझदारी टुटेको हो। अमेरिकाले लगातार १३ रातसम्म इरानमाथि हमला गरेको छ। जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी आधारहरूमाथि आक्रमण गरेको छ । अमेरिकी मिडिया रिपोर्टअनुसार इन्टरसेप्टर मिसाइलको स्टक घट्दै गएको चिन्ता र कूटनीतिका लागि ठाउँ बनाउने उद्देश्यले ट्रम्पले शुक्रबार हमला रोकेको बताउनुभएको थियो ।

कतारमा सबै समुद्री आवागमन पुनः सुरु

कतारको यातायात मन्त्रालयले ‘आइतबार (जुलाई २६) देखि सबै प्रकारका समुद्री जहाज र डुङ्गाका लागि गतिविधि पूर्ण रूपमा पुनः सुरु हुन सक्ने बताएको छ । एक्समा पोस्ट गर्दै मन्त्रालयले जहाजहरूलाई ‘सबै यात्राका क्रममा सुरक्षाको उच्चतम स्तर सुनिश्चित गर्न समुद्री नियम र निर्देशनहरूको पालना गर्न’ आग्रह गरेको छ। होर्मुज जलमार्गमा समुद्री आवागमनमा अमेरिका र इरानबीच एकअर्कामाथि घातक आक्रमण पुनः सुरु भएपछि प्रतिबन्ध लगाइएको थियो ।

कांग्रेस एकता सहमतिउन्मुख रहेको सभापति थापाको दाबी

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताउनुभएको छ ।पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज यहाँ भएको भेटमा उहाँले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाउनुभएको हो ।

सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभएको दबाब अभियानका संयोजक ढुङ्गानाले जानकारी दिनुभयो । सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सुष्मरूपले सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक-दुई दिनभित्र बन्ने जानकारीसमेत गराउनुभएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको साख फर्काउन नसिकने बताउनुभएको थियो । उहाँहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिइएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

सभापति थापाले पार्टी एकता सहमतिमा भई कांग्रेस एक हुनेमा आश्वस्त तुल्याउनुभएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायले जानकारी दिनुभयो । “हाम्रो खबरदारी जारी रहन्छ, भेला के गर्ने भन्नेबारे साथीहरू थप छलफल गरेर निर्णय गर्छौं”, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले भन्नुभयो ।

आज भएको भेटमा सङ्घका अध्यक्ष ढुङ्गाना, गाउँपालिका महासङ्घका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायतको सहभागिता थियो ।

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

काठमाडौँ। गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

निरीक्षणका लागि यहाँ आउनुभएका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

उहाँले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी र काममा तदारूकता नदेखाउने प्राविधिक वा अनुगमनकर्ता उपर कारबाही हुने बताउनुभयो ।

सुरूआतको आठ वर्ष बित्दा पनि निर्माणमा अत्यन्तै ढिलासुस्ती गरिरहेको अवस्थामा गृहमन्त्री गुरूङको निर्देशनले भवन समयमै बन्नेमा आशावादी रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवागढी क्षेत्रको निरिक्षण पश्चात् गृहमन्त्री गुरूङले त्यस भेगमा खटिएका भन्सारका कर्मचारी एवं सुरक्षाकर्मीलाई निर्देशन दिँदै सिमाक्षेत्रको सुरक्षा मजबुद पार्न, सेवा प्रवाह छिटो छरितो तवरले सम्पादन गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री गुरूङको भ्रमणले यहाँ कार्यरत सुरक्षाकर्मीको मनोवल बढेको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुवरले बताउनुभयो ।

यसैबीच शनिबार साँझदेखि भोटेकोसीमा हराइरहेका विद्युतिय ईभीभ्यानका चालकको खोजीकार्य तिब्र पारिएको छ । राजधानीबाट गोताखोरको टोली आएर खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो ।

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौँ, १० साउनः दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो । काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले राससलाई जानकारी दिनुभयो ।

यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आजदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गर्नुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् । डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।

अब डिडिसीका उत्पादन अनलाइनमा

डिडिसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ । केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

“हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौँ, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डिडिसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुई/चार दिनमा सुरु हुन्छ”, उहाँले भन्नुभयो, “सहज ढङ्गबाट डिडिसीको उत्पादन उपभोक्ताको घरमै पु¥याउने उद्देश्यका साथ काम भइरहेको छ ।”

त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन

काठमाडौँ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो ।

हजारभन्दा बढी सदस्य रहेको …MBS !st Sem Section CÚ  नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको PD मात्र पोष्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो ।

परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसलाई सामान्य ढिलासुस्तीमा छाडेनन् । घटना सार्वजनिक हुनासाथ उहाँको ‘र्यापिड एक्सन’ (तत्काल कदम)कै कारण २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।

यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो । ग्रुपमा ‘सुलब सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए । परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो ।

प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गर्नुभयो । उहाँले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोलाई २४सै घण्टा परिचालन गर्न निर्देशन दिनुभयो ।

मन्त्री पोखरेलको निर्देशन र ‘जिरो टोलरेन्स’ नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्यो। नतिजास्वरुप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलब सर’सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

शिक्षामन्त्री पोखरेल भन्नुहुन्छ, ‘शैक्षिक अपराधमा कसैलाई छुट छैन’

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभयो । उहाँले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने विश्वविद्यालयका आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरिने र दोषी पाइए जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

त्रिविद्वारा छानबिन समिति गठन

यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि शिक्षामन्त्री पोखरेलको निर्देशनमा घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै प्रा डा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले परीक्षा केन्द्रको सुरक्षा चुस्तता, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

विगतमा विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिँदा वा परीक्षामा धाँधली हुँदा छानबिन समितिमै कुरा अल्झिने र दोषी उम्किने परिपाटी थियो । यसपटक शिक्षामन्त्री पोखरेलको सक्रियता र प्रहरीको द्रुत कारबाहीले शैक्षिक क्षेत्रमा एउटा सकारात्मक र बलियो सन्देश दिएको छ शैक्षिक अपराधमा अब कानुनले कुनै मोलाहिजा गर्ने छैन । चौबिस घण्टाभित्रै आरोपित पक्राउ पर्नुले सरकार र शिक्षा मन्त्रालय शैक्षिक सुधार र सुशासनप्रति कतिको गम्भीर छ भन्ने कुराको पुष्टि गरेको छ ।

अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ ।

कजाखस्तानमा अवतरण

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ सोयुज एमएस–२८ अन्तरिक्ष यानमार्फत कजाखस्तानमा सुरक्षित अवतरण गरेका छन् । कुल २४१ दिनको अभियान पूरा गरेपछि ‘क्याप्सुल प्यारासुट’को सहायताले जेज्काजगनको दक्षिण–पूर्वस्थित निर्धारित क्षेत्रमा यान सफलतापूर्वक उत्रिएको थियो ।

तीनै अन्तरिक्ष यात्रीले करिब आठ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार र अन्य सञ्चालनसम्बन्धी कार्य गरेका थिए । यो अभियान अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण उदाहरण मानिन्छ ।

सुरक्षित अवतरणपछि उद्धार टोलीले अभियानमा संलग्न टोलीको स्वागत गरेको थियो । त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई हेलिकोप्टरमार्फत कारागाण्डा लगिने बताइएको छ । त्यहाँबाट क्रिस विलियम्स नासाको जोन्सन स्पेस सेन्टर, ह्युस्टन जानुहुनेछ भने सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ रुसको स्टार सिटी फर्कनुहुनेछ ।

यो क्रिस विलियम्स र सर्गेई मिखाएभको पहिलो अन्तरिक्ष यात्रा थियो भने सर्गेई कुड–स्भेर्चकोभ दोस्रो पटक अन्तरिक्ष यात्रामा गएका थिए ।

राजनीतिक तनावका बाबजुद अन्तरिक्ष सहकार्य जारी

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिद्वन्द्वी रहेका अमेरिका र रुस धेरै वर्षदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सँगै काम गर्दै आएका छन्। सन् २०२२ मा युक्रेन द्वन्द्वपछि दुवै देशका सम्बन्धमा तनाव बढे पनि अन्तरिक्ष सहयोग जारी रह्यो। नासाका अन्तरिक्ष यात्री र रुसी अन्तरीक्ष यात्री नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्ष यानमार्फत र्आएसएससम्म आउजाउ गरिरहेका छन्।

सोयुज एमएस–२८ को टिम फर्कनुभन्दा दुई साताअघि, १४ जुलाईमा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोस्मोसका कस्मोनट प्योत्र दुब्रोभ र अन्ना किकिना कजाखस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए। यो टोल एक्स्पेडिसन–७५ अन्तर्गत अर्को आठ महिनासम्म स्टेशनमा कार्य गर्नेछ ।

नयाँ टोली पुगेपछि नासाकी जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोत तथा रुसी यात्री आन्द्रेई फेद्ययेभसँग मिलेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धानको कार्य जारी रहनेछ ।

रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबिच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो वर्षायाममा नागरिकको मृत्युदर उल्लेखनीय रूपमा बढेको छ ।युक्रेनको खार्किभमा रहेको एक आवासीय भवनमा रुसी आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको किएभले जनाएको छ ।

यो आक्रमणहरू एक दिनअघि दुवै पक्षका २० जनाको मृत्यु भएको घटनापछि भएका हुन् । किएभ र मस्को दुवैले पछिल्लो समय आक्रमण तीव्र पारेका छन् ।रुसले सन् २०२२ मा सुरु गरेको युद्ध अन्त्य गर्ने कूटनीति अहिले गतिरोधमा छ ।पूर्वी युक्रेनको मस्कोले नियन्त्रण गरेको गोर्लिभ्कामा युक्रेनी ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको त्यहाँका रुसी अधिनस्थ अधिकारीहरूले जनाएका छन्।

खेरसन क्षेत्रको रूसी कब्जामा रहेको भागमा अर्को एक जनाको मृत्यु भएको मस्को निकट अधिकारीहरूले बताएका छन् । रुसको सीमावर्ती बेल्गोरोद क्षेत्रका अधिकारीहरूले स्मोरोदिनो गाउँमा युक्रेनी ड्रोनबाट एक जनाको मृत्यु भएको जनाएका छन्। यी आक्रमणहरू एक दिनअघि अजोभ सागरको कब्जा गरिएको शहरमा युक्रेनी आक्रमणबाट १२ जनाको मृत्यु भएको मस्कोको दाबीपछि भएका हुन् ।

किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभको एक आवासीय भवनमा रुसी ड्रोन आक्रमण भएपछि आपत्कालीन सेवाहरूले काम गरिरहेको बताए ।
‘दुर्भाग्यवश एक जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन्, जसमा दुई जना बालबालिका छन्,’ उनले भने, ‘राजधानी किएभमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ र तीन जना घाइते भएका छन्,’ जेलेन्स्कीले थपे ।

युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा भएका वार्ता अवरुद्ध भएका छन्। क्रेमलिनले पूर्वी र दक्षिणी युक्रेनका ठुलो भाग ओगटेर राखेको छ र पूर्वी युक्रेनको बाँकी भाग बल प्रयोग गरी कब्जा गर्ने आफ्नो नियत बारम्बार दोहोर्‍याएको छ ।

एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ

काठमाडौँ । नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आह्वान गरेका छन् ।‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बिदाइका साथै पार्टीको साङ्गठनिक स्वरुप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन् ।

उनीहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयमा बाह्य कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको जिकिर गरेका थिए । वक्ताहरूले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जति कमजोरी छ, त्यति नै कमजोरी अरू पदाधिकारीको रहेको तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष तथा पूर्वनेताहरू ठाकुर गैरे, माधव ढुङ्गेल, रमेश पौडेल, नरेश रोकाया, नवीना लामा, डा. सुजन कडरिया, रचना खड्का, मोति विक, उषाकिरण तिम्सिना, मेनका पछाइ, तपेन्द्र बहादुर शाहीलगायतले पार्टीमा रूपान्तरणको माग गरेका हुन् ।

एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदल अहिले प्रतिवेदन लेखनको क्रममा छ । गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ ।

झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले आज स्थलगत प्रतिवेदन तयार बुझाएको हो ।

प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेकाबेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधारबाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारण प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ ।

विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिटी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डङ्गोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएका थिए ।

प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदम सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केहीबेर भण्डारण गरेपछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ ।

त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाका आधारमा ढलको क्षमता पुनःडिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।

नारायणी अस्पतालका चिकित्सकमाथि आक्रमण, दोषीलाई कारबाहीको माग

वीरगन्ज (पर्सा), १० साउनः नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ ।

शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतङ्क सृजना गरिएको र सोही क्रममा डा राममाथि साङ्घातिक आक्रमण गरिएको सङ्घको भनाइ छ ।

सङ्घले भनेको छ, “स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौँ, १० साउनः प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकाप्रति चिन्ता व्यक्त गर्नुभएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन र आपसी सहकार्य र समन्वयबाट उद्धार, राहत र पुनःस्थापनामा लाग्न उहाँले आज विज्ञप्ति जारी गरी अनुरोध गर्नुभएको हो ।

“प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु”, आङ्देम्बेले विज्ञप्तिमार्फत भन्नुभयो ।

जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक सङ्घसंस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन उहाँले आग्रह गर्नुभयो । “जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र स्वयंसेवी संस्थाका प्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा नेता आङ्देम्बेको जोड छ । राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितको दीर्घकालीन पुनस्र्थापनाको योजना शीघ्र अघि बढाउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरण वार्ता सम्पन्न

धनगढी । सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरणको वार्ता भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच एक चरणमा छलफल भएपछि केसी पक्ष थप छलफलमा जुटेको छ ।

सो पक्ष अहिले डा. केसीसंगै परामर्श गरिरहेको छ । अनसनरत डा. केसीका सहयोगी डा. अमृत जैसीले वार्ता सकारात्मक भएपनि थप छलफल आवश्यक रहेको बताए । त्यसकालागि डा. केसीसंगै छलफल भईरहेको छ । केसी पक्षले आईसियुमै केसीलाई भेट गरिरहेका छन् ।

हालसम्म के के कुरामा छलफल भयो भन्ने विषय भने खुलाइएको छैन ।

सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापको निगरानी र रोकथाम गर्न निर्देशन दिएका छन् ।लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आज अवलोकनपछि उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिए ।

कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले भने, “असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमी–कमजोरीको जिम्मा संगठनले लिनेछ ।”

महानिरीक्षक पौडेलले सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिए ।
उनले बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुन सक्ने गरी तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना

चितवन – चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा अघि बढिरहेको नारायणी नदीको तटबन्ध निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। समयमा सम्पन्न हुन नसकेका आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो।

गत वर्ष कात्तिकसम्म भौतिक प्रगति कमजोर रहेका दुई निर्माण आयोजनाको कामले पछिल्लो समय उल्लेख्य गति लिएको छ। सम्झौताअनुसार समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई आयोजनामध्ये चितवनको सिसै–भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्ध गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले यसको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी पुगेको छ।

कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार असार मसान्तसम्म ९० दशमलव ९३ प्रतिशत काम सम्पन्न भएको छ।‘असार मसान्तभित्रै सक्ने लक्ष्य थियो। तर पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम प्रभावित भयो,’ उनले भने।

यस्तै, नारायणी नदीपारि गैँडाकोटको कुसुमघाटदेखि थुम्सीसम्मको तटबन्ध निर्माणको काम पनि ९९ प्रतिशत सम्पन्न भएको सुवेदीले बताए।
कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन वर्ष छ महिनासम्म ४७ प्रतिशत मात्र सम्पन्न भएको उक्त आयोजना असार मसान्तसम्म आइपुग्दा ९९ प्रतिशतमा पुगेको छ।

चितवनतर्फको निर्माण कार्यका लागि २०७९ असार १० गते शर्मा–सगुन निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। सोही क्षेत्रका पाँच ठेक्कामध्ये चार ‘प्याकेज’को काम सम्पन्न भइसकेको छ भने सिसै–भगेँडीको काम अन्तिम चरणमा पुगेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।

छ किलोमिटर लामो उक्त तटबन्ध ३७ करोड रुपैयाँमा निर्माण सम्झौता गरिएको हो। अहिले ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएसँगै बर्खायाममा आउने बाढीको जोखिम उल्लेख्य रूपमा घटेको प्रमुख सुवेदीले बताए। उनका अनुसार समस्या पहिचान गरी निरन्तर पहल गरिएकै कारण निर्माणले गति लिएको हो।

गैँडाकोटतर्फको कुसुमघाट–थुम्सी क्षेत्रको करिब पाँच किलोमिटर तटबन्ध निर्माणका लागि २०७९ मंसिर १५ गते सम्झौता भएको थियो। एक अर्ब नौ करोड रुपैयाँ लागतको उक्त आयोजनाको काम अहिले ९९ प्रतिशत सम्पन्न भएको छ।कार्यालय प्रमुख सुवेदीका अनुसार यस क्षेत्रमा अहिले दुबोको चपरी राख्ने तथा केही साना काम मात्रै बाँकी छन्।

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परिवर्तन मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने व्यवस्था छ । नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा यथावत् राखिनेछ। साथै सिक्काको आकार र तौलमा समेत परिवर्तन गरिने भएको छ ।

हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा यसको निर्माण लागत अंकित मूल्यभन्दा बढी पर्ने भएकाले उत्पादन खर्च घटाउने उद्देश्यले नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु १००, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु ११०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ९०, सक्खरखण्ड  प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु २५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु १३०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ४००, गान्टेमूला प्रतिकिलो रु २५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ११०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

बाढीपहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौँ। बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका ५ः०० देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेकाले सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ । खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ ।

त्यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।अवरुद्ध सडक सडक विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेका प्रहरीले जनाएका छन् ।

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

झापा। पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ ।एसियाली विकास बैंक (एडिबी)को रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजित छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।

आयोजनाको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी)को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)को प्रगति ४२ प्रतिशत तथा तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)को भौतिक प्रगति १९ प्रतिशत रहेको छ ।

काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको छ भने एक सातामा करिब सात किलोमिटर सडक कालोपत्र गर्न सकिने उहाँले बताउनुभयो ।

प्रमुख पन्तका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माणकार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

विसं २०८० माघदेखि निर्माण सुरु भएको काँकरभिट्टा–लौकही सडक आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माण गर्दै दुवैतर्फ सडक विस्तारको काम एकसाथ भइरहेको आयोजनाले जनाएको छ ।

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ। यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले रु २५ हजार जरिवाना गरेको हो ।

टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या पाएपछि जरिवाना गरेको प्रमुख बरालले बताउनुभयो ।

प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि सो टोली पुनः अनुगमनका लागि होटलमा पुगेको हो ।

यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो । तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुका साथै कागजपत्रसमेत ल्याउन निर्देशन दिइएको छ ।सो टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सातवटा होटलको पनि अनुगमन गरेको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५४ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०९ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको छ । त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको छ । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्व सरकार अल्पमतमा परेको थियो ।

 

असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस कर्णाली प्रदेशससभा दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार निर्माण गर्ने भन्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

उक्त दर्ता प्रस्तावमाथिको छलफल गर्न कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको थियो । प्रदेश सरकारबाट मुख्यमन्त्री कँडेलले शनिबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार निर्माणको ढोका खुलेको छ । सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभाको बैठक यही साउन १४ गते बिहीबार दिउँसो ३ः०० बजे बस्ने बताए

त्रिशूली नदीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ – चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिवार साँझ त्रिशूली नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।

रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।

सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक नदीमा खसेको सहायक प्रजिअ अधिकारीले बताए ।

घटनाको सूचना पाउँनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौगोलिक असहजतालाई कुनै प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको समेत सहायक प्रजिअ अधिकारीले बताए ।

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले भारी वर्षाका कारण ती क्षेत्रमा गेग्रान, बाढीपहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा विभागका पछिल्ला मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष चारवटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागिएको हो।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सामा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो। ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदै गरेको र पशु चिकित्साका विदेशी विद्यार्थीसँग १० हजार अमेरिकी डलर तथा अन्य सङ्कायका विद्यार्थीसँग चार हजार डलर शुल्क लिने निर्णय गरिएको उनले बताएका छन्।

विश्वविद्यालयले अहिले खुलाउन लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाइएको छ। भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कट्टेलले बताएका छन्। यसअघि मुलुकका अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलोपटक भर्ना लिन लागेको हो।

विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले कुनै पनि विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरनिर्धारणका लागि तोकिने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थी अध्यापन गराउनु पनि एक भएकाले भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटो अवधिको अनुसन्धान कार्यक्रम एवं विदेशी विद्यार्थीका लागि कक्षा सञ्चालन गर्दै आए पनि उपाधि प्राप्त गर्ने गरी भर्ना लिएर अध्ययन-अनुसन्धान गराएको थिएन। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधिको पठनपाठन गराउँदै आएको छ।

शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद

सुदूरपश्चिम। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताउनुभएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उहाँ आज धनगढी पुग्नुभएको थियो । सचिव पौडेलले आजै डा केसीसँग उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गर्नुभएको थियो । त्यस क्रममा डा केसी र त्यसपछि उहाँका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उहाँले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिनुभयो ।

“आज डा केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ”, रासससँग सचिव पौडेलले भन्नुभयो ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उहाँको भनाइ थियो ।
डा केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट आजै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा केसीसँग आज सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताउनुभयो ।

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा। झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको शरीर तलासी लिने क्रममा प्लास्टिकसहित सात ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक छ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ ।

घटनामा प्रयोग भएको प्र १–०१–०१३ प ५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका जबेगुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन। प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ ।पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ ।

प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन् । अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति रोग बिशेषज्ञ सह प्रध्यापक डा रामप्रसाद सापकोटा गत आर्थिक वर्षमा सात हजार ८५३ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएको बताउनुहुन्छ ।

उहाँका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्यस्तरबाट शिशुलाई जन्म दिइएको छ भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको छ । ७० जनाको भ्याकुम र फोर्सएप नामक उपकरण प्रयोग गरेर शिशुलाई जन्म दिइएको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले शिशुलाई जन्म दिइएको छ । १८७ जना आमाको उपकरण प्रयोग गरी शिशुलाई जन्म दिइएको हो । गतवर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव ४ रहेको थियो । जटिल प्रकृतिका धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उहाँको भनाइ छ ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी रहेका छन् । जसका कारण सुत्केरी गराउनेलाई अन्यत्रभन्दा सहज हुने गरेको उहाँको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको कङ्गारु मदर केयरसमेत रहेको छ । अस्पतालमा दक्ष नर्स र मिड वाइफले मात्र बच्चा निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिटसमेत छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलो रूपमा लिने गरिन्छ ।

विगतका वर्षका तुलनामा पछिल्ला वर्षहरूमा सेवा ग्राहीहरूको सङ्ख्या क्रमश घट्दो छ । यसको कारण नवलपरासी, गोरखा, तनहँु र मकवानपुर जस्ता धेरै बिरामी आउने गरेका जिल्लामा अस्पतालबाट दिइने सेवामा विस्तार गरि प्रसूति सेवा दिन थालिएको सापकोटा बताउनुहुन्छ । प्रसूति सेवालाई अस्पतालले उच्च प्राथमिकता दिएर जिल्लामा नै सेवा दिन थालेपछि बाहिरी जिल्लाका बिरामी घटेको उहाँको भनाइ छ ।

जटिल अवस्थामा भएका भने रिफरल भएर र स्वयं भरतपुर अस्पताल आउने गर्दछन् । अस्पतालमा बाल सघन उपचार कक्षको शय्या धेरै भएकाले जटिल समस्या देखिन सक्ने गर्भवतीलाई भरतपुर अस्पताल पठाउने गरिन्छ । त्यस्ता गर्भवतीको सङ्ख्या भने बढ्दो रहेको उहाँ बताउनुहुन्छ ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यो अस्पतालमा टाढाटाढाबाट बिरामी आउने गरेका छन् । हिजोआज दैनिक तीन हजारभन्दा बढी बिरामीले अस्पतालबाट बहिरङ्ग सेवा लिँदै आएका छन् ।

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती। बागमती प्रदेशको बन तथा वातावरण मन्त्रालयले एक वर्षे समयावधिमा ८२ प्रतिशत प्रगति हासिल गरेको छ ।मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे समयवधिको प्रगति विवरणअनुसार यस अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चतर्फ ८६ प्रतिशत प्रगति भएको छ । यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेशसभामा पुगेको मन्त्रालयले जनाएको छ ।

नवप्रवर्द्धन, अनुसन्धान तथा विशेष अभियानअन्तर्गत हरेक जिल्लाः एक टिमुर बगैँचा, एक फलफूल वन अभियान सञ्चालन गरिएको छ । एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियान, सुनाखरी उद्यान स्थापना आदि गरिएको जनाइएको छ ।

हरित अर्थतन्त्र, उद्यम तथा रोजगारीअन्तर्गत वनजन्य उद्यम (जडीबुटी, सिताके च्याउन, दुनाटपरी, मिनरल वाटर, पर्यापर्यटन) प्रवर्द्धन, राजमार्ग आसापास हरित उद्यम विकास, निजी तथा कवुलियती वन प्रवर्द्धन, बाँस अलैँचीलगायत बहुउपयोगी प्रजातिको विस्तार जस्ता कार्यक्रमअघि बढाइएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

एमाले–नेकपाबीच सातै प्रदेशमा सरकार गठनका लागि सहमति

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सरकार गठन तथा सहकार्य गर्ने विषयमा सहमति भएको छ।

शनिबार भएको सहमतिअनुसार पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।

सहमति पत्रमा भनिएको छ, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्यालाई समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी सहमतिमा पुगेका छौं।’

सहमतिअनुसार प्रदेश सभामा संयुक्त रूपमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ ।

साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको खोलामा पौडी खेल्ने क्रममा डुबेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा साउन ९ गते साँझ ५:०२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिएका छन्।

कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद

सुदूरपश्चिम। कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोल र वडा नं १ बङ्ग्राकटान क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरी ल्याइएको सामान से १ ह २४२९ नम्बरको पेट्रोल अटोमा बेवारिसे अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो । उक्त अटोसहित रु चार लाख ५० हजार ३०० बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा सूर्ति १२० प्याकेट, बिडी ७४ प्याकेट, गुट्खा ३० प्याकेट, प्लास्टिक झिल्ली २८ प्याकेटलगायत रहेका छन् ।

धनगढी–१ बङ्ग्राकाटान क्षेत्रमा अर्को प्रहरी टोलीले रु २४ हजार ५०० बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । त्यहाँबाट गुट्खा नौ प्याकेट, कफी तीन प्याकेट, मसला पाँच प्याकेट, सुपर पावर सूर्ति ४७ प्याकेट, दुना–टपरीका प्लास्टिक ४०० दर्जन र चिनी २० किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।