`

गृहमन्त्री अर्यालद्वारा भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहकोको निरीक्षण

भक्तपुर, ६ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आज निरीक्षण गर्नुभएको छ । बाल सुधारगृहको अवलोकन गर्दै उहाँले त्यहाँको वस्तुस्थितिबारे अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो ।

सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिनुभएको थियो । मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिनुभएको थियो । उहाँले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गर्नुभएका हिमालय गौतमसँग भेट गर्नुभएको छ । अस्वस्थ अवस्थामा रहनुभएका उहाँकै निवास इमाडोल पुगेर उहाँले गौतम परिवारसँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

जेनजी आन्दोलनको बलमा स्थापित सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ

काठमाडौँ, ६ पुसः जेनजी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सरकारको आधारभूत प्राथमिकताको सूचीमा रहेकाले निर्वाचनको वातावरण बनाउने कार्यमा सरकार सबै निकायले काम गरिरहेका छन् । निर्वाचन आयोग, राजनीतिक दल र सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारीलाई त्यसतर्फ उन्मुख गराएका उनीहरूका गतिविधिबाट थाहा हुन्छ ।

यसबीचमा राजनीतिक दलबाट निर्वाचनका लागि दल दर्ता गर्ने कार्य पूरा भइसकेको छ भने सरकारका तर्फबाट एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसक्रममा ११४ वटा राजनीतिक दलले चुनावमा भाग लिने सुनिश्चित भइसकेको छ ।

प्रमुख राजनीतिक दलका साथै यसरी आयोगमा दर्ता भएका सबैजसो राजनीतिक दलले विभिन्न माध्यमबाट आफूलाई निर्वाचनमा केन्द्रित गरिरहेको बताउने गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण पनि आगामी निर्वाचनलाई केन्द्रित गरी आफ्नो पार्टीले पनि गतिविधि बढाइरहेको बताउनुहुन्छ । धेरैजसो राजनीतिक दलले आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रशिक्षण, कार्यकर्ता तथा मतदाता भेटघाट कार्यलाई तीव्र दिइरहेका उहाँले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष कर्णले भन्नुभयो, “जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न राजनीतिक अन्यौलताको अन्त्य र संविधान बचाउन निर्वाचनबाहेक अन्य विकल्प छैन ।”

निर्वाचनलाई लक्षित गरी कतिपय राजनीतिक दलको महाधिवेशन गरिसकेका छन् भने केहीले निर्वाचन क्षेत्रबाट उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरिरहेका छन् ।

निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने पूर्वतयारीका काम भइसकेको जनाउँदै सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ । निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको परिचालन गर्ने सुनिश्चितता समेत भइसकेको छ ।

राजनीतिक दलका साथै रुपान्तरणको माग गरिरहेका नवयुवा पुस्ता पनि निर्वाचनलाई लिएर उत्साहित भएको बताइरहेका छन् । गोरखा पालुङटारका–२ का सन्दीप खत्री हाल देश राजनीतिक सङ्क्रमणकालबाट गुज्रिरहेकाले त्यसलाई निकास दिन समयमै निर्वाचन गराउनुको विकल्प नरहेको प्रतिक्रिया दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चुनाव अपरिहार्य छ, किन भने प्रतिनिधिसभा विघटन भइसकेपछि देशलाई त्यतिकै राख्नहुन्न । संसद् नहुँदा अनेकौँ चलखेल हुनसक्छ, त्यसलाई निस्तेज तुल्याउन निर्वाचन गराउनुपर्छ । हामी मतदानका लागि उत्साहित छौँ ।”

खत्रीले सरकारले सम्पूर्ण राजनीतिक दललाई मिलाएर लैजानुपर्ने र जनतालाई आफ्नो जनप्रतिनिधि चुन्ने यथाशक्य छिटो उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कतिपयले सुरक्षा व्यवस्थालाई लिएर प्रश्न गरिरहेका छन्, तर सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई चुस्त र भरपर्दाे सम्पूर्ण कार्य भइरहेको आश्वस्त पारिरहेका छन् । त्यसैक्रममा क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको उनीहरूको दाबी छ ।

सरकारले निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने रु छ अर्ब ७३ करोड बजेटसमेत निर्वाचन आयोगलाई सुनिश्चित गरेको छ ।
मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि छोटो समयमा आठ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको छ । वर्तमान सरकारको १०० दिनको उपलक्ष्यमा प्रधानमन्त्री सुशीला कार्कीले भन्नुभएको छ, “चुनाव कसैको हारजित होइन, यो त लोकतन्त्र र सुशासनको भावनालाई जिताउने अभियान हो ।”

रुपान्तरणको उत्कट चाहना बोकेका नवयुवा पुस्तालाई उहाँले भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै भएको समेत स्पष्ट पार्नुभएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८१ लाखभन्दा बढी नेपालीलाई मताधिकार छ ।

प्रधानमन्त्री कार्कीले ‘जेनजी’ युवाहरूलाई सम्बोधन गर्दै भन्नुभएको छ, “तपाईँहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् । सडक आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ । तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ ।”

जेनजी आन्दोलनको भावनाअनुसार सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिकाअनुसार हालसम्म तय गरेको सम्पूर्ण कार्य तथा निर्वाचनअघि गर्नुपर्ने समग्र कामको ६० प्रतिशत कार्य जिम्मेवारी पूरा भएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनका लागि कुन दिन, कुन महिना के काम सक्ने भनी दैनिक आवधिक योजनाअनुरुप तोकिएका काम भएका छन् । “समानुपातिकतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर उम्मेदवारको बन्दसूची पेस गर्ने चरणमा पुगेका छौँ, लगत्तै १५ गतेबाट मतपत्र छपाई सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

आयोगका अनुसार, हाल प्रत्यक्षतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि जिम्मेवारी दिइने व्यक्तिको विवरण लिने काम भइरहेको छ । उक्त विवरण प्राप्तपछि अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।यससँगै राष्ट्रिय एकताको सूत्रमा बाँधेर देशलाई नयाँ दिशातिर लैजान निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुआत गर्ने सरकारले विश्वास लिएको छ ।

‘सङ्घीयता सुधारको बाटोमा भए पनि कार्यान्वयनमा अझै चुनौतीपूर्ण छ’ :अध्यक्ष दाहाल

काठमाडौँ, ६ पुसः नेपालमा वित्तीय सङ्घीयता क्रमशः संस्थागत हुँदै गए पनि प्रभावकारी कार्यान्वयनमा संरचनागत र नीतिगत चुनौतीहरू अझै कायम रहेको जानकारहरूले बताएका छन् ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको वित्तीय सङ्घीयता दर्पण–२०८२ को विमोचन कार्यक्रममा वक्ताहरूले सङ्घीयता कार्यान्वयनमा देखिएका उपलब्धि, चुनौती र सुधारका उपायबारे धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता, राजस्व, स्रोत बाँडफाँट र आन्तरिक ऋणको सीमा निर्धारणका क्षेत्रमा राष्ट्रियसभाले महत्त्वपूर्ण काम गरिरहेको बताउनुभयो । नेपालमा सङ्घीयता लागू गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा पहिलो र दोस्रो संविधानसभाका बेला गहन छलफल भएको स्मरण गर्दै उहाँले हाल क्रमशः सफल हुने दिशामा अघि बढिरहेको बताउनुभयो ।

“वित्तीय सङ्घीयतामा स्रोतको बाँडफाँट महत्त्वपूर्ण हुन्छ, तर त्यो तथ्यपरक र न्यायोचित छ कि छैन भन्ने विषय गम्भीर रूपमा हेरिनुपर्छ”, सभाध्यक्ष दाहालले भन्नुभयो, “जनआकाङ्क्षा धेरै रहेकाले कतिपय प्रदेश र स्थानीय तहले समयमा बजेट ल्याउन नसकेको, कर्मचारी व्यवस्थापन हुन नसकेको, पुँजीगत खर्च उत्साहजनक नदेखिएकोजस्ता समस्या भने छन् ।”

सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई छुट्याइएको सबै रकम समयमा हस्तान्तरण नगरेको र हस्तान्तरण भएको अनुदानसमेत पूर्ण खर्च हुन नसकेको अवस्था रहेको उहाँको भनाइ थियो । “सङ्घीयता कार्यान्वयन कुनै एक निकायको मात्र जिम्मेवारी होइन । सबै तहका सरकार जिम्मेवार भई नागरिकलाई सेवा प्रवाहमा सुधार र विकास निर्माणमा गति दिन सके सङ्घीयतालाई वित्तीय रूपमा धान्न सकिँदैन भन्ने भाष्य चिर्न सकिन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

राष्ट्रियसभाअन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले वित्तीय सङ्घीयता कार्यान्वयन अझै फितलो रहेको बताउनुभयो । उहाँले विकट गाउँसम्म परिवर्तनको आभास भए पनि अधिकार प्रत्यायोजनमा समस्या रहेको धारणा राख्नुभयो ।

“केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई अधिकार दिन नचाहने अवस्था अझै छ । पालिकामै पनि पालिका प्रमुखले वडाध्यक्षलाई अधिकार नदिन खोज्ने प्रवृत्ति देखिन्छ”, सभापति शेर्पाले भन्नुभयो, “स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुका साथै जिम्मेवारी र दायित्व बहन गर्न सबै तहका सरकार तयार हुनुपर्ने आवश्यकता छ ।”

आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले प्राकृतिक स्रोतको विषय आयोगको कम प्राथमिकतामा परेको जस्तो देखिएको धारणा राख्नुभयो । प्राकृतिक स्रोतको बाँडफाँट अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै उहाँले पानीजस्तो आधारभूत आवश्यकतामा समेत रोयल्टी बाँडफाँट र हिस्साको विवादले समस्या सिर्जना हुने गरेको सुनाउनुभयो ।

“दूरसञ्चार रोयल्टीलाई पनि प्राकृतिक स्रोतका रूपमा राखेर सोहीअनुसार प्रयोग गर्नुपर्छ । सशर्त अनुदान वितरणमा स्पष्टता ल्याउनुपर्ने आवश्यकता छ”, पूर्वअध्यक्ष पौडेलले भन्नुभयो, “सार्वजनिक ऋणको प्रयोग सही ठाउँमा प्रयोग, ठूला र गौरवका आयोजना निर्माणका लागि आवश्यक परे आन्तरिक ऋणको सीमा बढाउँदा राम्रो हुन्छ ।”

पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले वित्तीय सङ्घीयता कार्यान्वयनका क्रममा सुरुआती चरणमै देखिएका समस्या अझै पनि समाधान हुन नसकेको बताउनुभयो । सरकारी निकायका तथ्याङ्कको विश्वसनीयतामा शङ्का रहेको र अन्तर संस्थागत समन्वय कमजोर रहेको उहाँको भनाइ छ ।

खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी व्यवस्था भए पनि कानुन बनेको आठ वर्ष बितिसक्दा पनि खर्चको आवश्यकता र राजस्व क्षमता निर्धारणमा स्पष्टता नआएको डा अर्यालले उल्लेख गर्नुभयो । “कुन प्रदेश वा पालिकाको खर्चको आवश्यकता कसरी मापन गर्ने भन्ने आधार स्पष्ट हुनुपर्छ । यसका लागि अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन संशोधन आवश्यक छ”, उहाँले भन्नुभयो ।

आयोगका सचिव दिनेशकुमार घिमिरेले वित्तीय सङ्घीयता कार्यान्वयनका चुनौती र सङ्घीयता सबलीकरणमा विभिन्न निकायले खेल्नुपर्ने भूमिकालाई समेटेर वित्तीय सङ्घीयता दर्पण–२०८२ तयार पारिएको जानकारी दिनुभयो । विस्तृत आधार र ढाँचा निर्धारण गर्दै राजस्व असुलीमा सुधारका सुझाव दिने, सङ्घ, प्रदेश र स्थानीय तहले लिने सार्वजनिक ऋणको सीमा निर्धारण गर्ने, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको सीमा तय गर्नेलगायत काम आयोगले गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, ६ पुस : घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जानकारी दिनुभयो ।

“मोतियाबिन्दुको समस्या देखिएका सबै बिरामीलाई आइतबार र बिहीबार गेटा आँखा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “बिरामीलाई सुख्खडबाट अस्पतालसम्म ल्याउन निःशुल्क सवारीसाधनको पनि व्यवस्था गरिएको छ ।”

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पुर्याएको छ ।

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ ।

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग ÷अलग दुई कार्यक्रम आयोजना गरेकोे छ ।

नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन,योगाभ्यास एवं ध्यान गराउनुभएको थियो ।

प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सो कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतका आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार गर्न सहयोग पुगेको जनाइएको छ । ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा गुरु भानुले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनुपर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको जनाउँदै उहाँले परम्परागत कूटनीति र नीति निर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्छ । शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता हुन्छ । बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्नुपर्दछ । ध्यानको प्रायोगिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान र मानसिक स्वास्थ्यलाई वैश्विक पूर्वाधारका रूपमा विकास गरिनुपर्छ । ”

कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिले ध्यान दिवसको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा एलपी भानु शर्मासँगै भारतका रवि शङ्करलगायत विभिन्न देशका गुरु समेत प्रस्तुति थियो ।

यस्तै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई गुरु रमेश नेपालले ध्यानका महत्वका बारेमा विशेष प्रवचन दिनुहुँदै सहभागीलाई ध्यान तथा योगाभ्यास गराउनुभएको थियो । सो अवसरमा उहाँले ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “ध्यानले मनलाई शान्ति र सकारात्मकता दिन्छ । जीवनी शक्ति सबल बनाउने ध्यानको उद्देश्य हो । ”

उहाँले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोड्नसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने जनाउँदै ध्यानलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गुरु भानुले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान सुरु गरेको जानकारी दिनुभयो ।

सो कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।

जीवन विज्ञानका सचिव किरण रुपाखेतीद्वारा जारी विज्ञप्तिमा यस कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुने उल्लेख छ । साथै यसबाट परापूर्वकालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्ने जनाइएको छ ।

आहा ! आलिताल

अमरगढी (डडेल्धुरा)-पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु ९० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष रु २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उहाँले बताउनुभयो । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उहाँको भनाइ छ । तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफँैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताउनुभयो ।

गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने बताउनुभयो । साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताउनुभयो । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताउनुभयो ।

महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर (डोटी)– जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।

आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उहाँलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु ।’ उहाँले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भन्नुभयो । तर उहाँको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।

रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् ।

रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहनुभएको थियो उहाँ जीवित रहनुभयो । पछि शिव भगवान्ले उहाँलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ ।

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी, ६ पुस-चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३÷७४ देखि योजना सुरु भएको थियो । शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो ।

जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिनुभयो । “प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छाँै ।”

लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ ।

कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ ।

सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताउनुभयो । यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका–३ को भूगोलमा पर्छ । मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ ।

सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताउनुभयो । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । सोह्र किलोमिटर दूरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो ।

भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले रु १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा रु आठ अर्ब २० करोड खर्च भइसकेको बताउनुभयो ।

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

भेरीगङ्गा (सुर्खेत), ६ पुसः कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ पुरुष र ६२० महिला गरी सात हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, सुर्खेतका पाँच हजार ८९ पुरुष र ५६८ महिलासहित छ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । दैलेखका तीन हजार ९६५ पुरुष र ३२३ महिला गरी चार हजार २८८, रुकुमपश्चिमका दुई हजार ८५९, जाजरकोटका दुई हजार ५१८, कालिकोटका एक हजार २५, जुम्लाका एक हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ ।

पछिल्लो समय स्वदेशमा रोेजगारीका अवसर सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिक वैदेशिक रोजगारीमा जाने चलन बढेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाको जोड छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत अन्तक्र्रियाका सहभागी सरोकारवालाले यस्तो बताएका हुन् । उनीहरूले सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्ने, विदेश जानुपर्ने नै भए जानेर बुझेरमात्र जानुपर्ने सुझाव दिएका छन् ।

श्रम अधिकृत ध्रुव देवकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमलबहादुर रोकायले वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको जानकारी दिँदै वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव दिनुभयो । उहाँले पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढिरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्ति सबै कुरा थाहा पाएरमात्र जानुपर्ने सुझाव दिनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देशबाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । स्वीडेन सरकार र हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम कर्णालीका ५१ पालिकामा लागू भएको छ ।

तेक्वान्दो खेलाडी वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौँ- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छिन् । तेक्वान्दो खेलाडी सनिबार भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर्ण पदक जितिन् ।

भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन् ।

त्यसैगरी वैभवीले पुम्से र स्पीड किक विधामा पनि अन्य खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितिन् ।प्रतियोगिता अल इन्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमीले हरेक वर्ष आयोजना गर्दैआएको छ । उक्त प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने वैभवी एकमात्र खेलाडी हुन् ।

अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

भोजपुर, ६ पुस : यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्”, उहाँले भन्नुभयो ।

तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती विस्तार भएको छ । बेमौसमी वर्षाका कारण करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ । जिल्लाभर करिब ९६ प्रतिशतमात्र रोपाइँ भएको थियो ।

जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गरेको छ । कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् । तर यस वर्ष मौसम प्रतिकूल हुँदा उत्पादन घटेको किसानको भनाइ छ ।

आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार अन्य भू–भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै,महाशाखाका अनुसार आज राती पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

काठमाडौँ-नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।

दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले काठमाडौँ उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो ।

“हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आमदर्शकसम्म पु¥याएका छौँ । यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौँ”, निर्देशक आचार्यले भन्नुभयो ।

चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गर्नुभएको छ । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा–२ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार उक्त चलचित्रले देशव्यापी रु १७ करोड ५५ लाख ३४ हजार ५३० कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौँथो स्थानमा छ ।

‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार रु ४६ करोड ८७ लाखको कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो स्थानमा, रु २१ करोड ४० लाखको कमाइ गर्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ दोस्रो स्थान, रु १९ करोड ९२ लाख कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ । साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औँ पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ ले उक्त सफलता पाएका थिए ।

झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने हुनुभएको छ । पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको बैठकले उहाँको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

यसअघि उहाँ सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिनुभयो ।

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ, ६ पुसः संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

गाउँमै उद्योग थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

धनकुटा, ६ पुसः गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ ।

स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किबी बजारमा नबिक्ने समस्या छ । तर अहिले वाइन बनाउन उद्योगले ती सबै खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिनुभयो ।

सात वर्षअघिबाट १० रोपनीमा किबीखेती गर्दै आउनुभएका तामाङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको जानकारी दिनुभयो । हाल प्रतिकिलो रु ५० देखि रु ८० सम्ममा उद्योगलाई किबी बेच्दै आएका गुरुङले किबीको मूल्य प्रतिकिलो रु एक सयभन्दा बढी नभएसम्म किसान मर्कामा परिरहेको हुँदा प्रत्यक्ष अनुदान दिएर किसानलाई राहत दिनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी, विगत १५ वर्षअघि तोरीबारी गाउँमा ३० रोपनीमा किबीखेती गर्दै आउनुभएका तिलबहादुर पौडेलले उद्योग स्थापनाले बजारको समस्या समाधान भएको जानकारी दिनुभयो । “भाउ तलमाथि त्यस्तै हो तर उद्योग सञ्चालनमा आएपछि ठूलो राहत भएकोछ”, पौडेलले भन्नुभयो । उद्योग स्थापनाले सो गाउँका ७० भन्दा बढी किसान लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

वार्षिक रु १५ लाखसम्मको किबी बेच्दै आउनुभएका पौडेलले उद्योग बनेपछि काठमाडाँै, विराटनगर, झापालगायत स्थानमा किबी बेच्नुपर्ने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो । नगरको यस वडालाई छ वर्षअघि किबी पकेट क्षेत्र घोषणा गरेपछि वडाका तोरीबारी, घुमाउने, माझखर्क, खाप्राङ गाउँका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका थिए ।

किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब एक सय किबी किसानलाई राहत मिलेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिनुभयो । विसं २०७४ देखि एक सय रोपनीमा किबीखेतीसहित वसन्तपुर तीनजुरे बेभ्रेज प्रालिमार्फत आउने माघबाट ‘तीनजुरे बगान’ नामक किबी वाइन ल्याउने तयारी पूरा भएको उद्योग सञ्चालक दुर्गामणि पौडेलले जानकारी दिनुभयो । यो वर्ष आठदेखि १० टन किबी खपत सुुरु गरेको उद्योगले आगामी दिनमा कोशी प्रदेशभरिका ५० टन किबी खपत गर्ने उहाँले जानकारी दिनुभयो ।

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

ढोरपाटन (बागलुङ), ६ पुस ः बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।

बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०÷५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताउनुभयो । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उहाँको भनाइ छ ।

किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउनुहुन्छ । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०÷५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।”

अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताउनुभयो । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उहाँको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उहाँ बताउनुहुन्छ ।

कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१.६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ, ६ पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ ।

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो ।

नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणका लागि माघ मसान्तभित्र समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव पेस गर्नुपर्ने समयसीमा रहेको छ । सोही आधारमा मन्त्रालयले ती अनुदान कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि प्रस्तावसहित विवरण तयार पारी पेस गर्न भनिएको हो ।

त्यस्तो प्रस्ताव आगामी माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत पेस गर्न मन्त्रालयले आग्रह गरेको छ । बजेट निर्माणका लागि विभिन्न समयसीमा निर्धारण गरिएको छ । सोही आधारमा माघ मसान्तभित्र समपूरक र विशेष अनुदानका लागि कार्यक्रम र आयोजना प्रस्ताव गर्नुपर्ने हुन्छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन सङ्घीय सरकारका अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ७४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३० पैसा र बिक्रीदर १५ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन ७४ दिन बाँकीः प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ, ६ पुस : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।

अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यात्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिनेछ । सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ ।

विदेशी नम्बर प्लेटका सवारीसाधन भने प्रयोग गर्न नपाइने र कुनै पनि अनुमति नदिइने प्रस्तावित आचारसंहितामा उल्लेख छ । राजनीतिक दलले प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारीसाधन प्रयोग गर्न सक्नेछन् । सवारीसाधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन बर्जित गरिएको छ ।

अनुमति प्राप्त गरेको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पाउने छैनन् । प्रस्तावित आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउने छैनन् ।

हिँड्डुल गर्न नस्क्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरीयापुत्री, शारीरिक रूपले असक्तता वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा भने सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने उल्लेख छ ।राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर, ५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलबीच राष्ट्रिय सहमति भएमा कम लागतमा विद्य्तीय मतदान (इभोटिङ)को व्यवस्था गर्न सकिने बताउनुभएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) ले आज ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट–२०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमा प्रभावकारी रूपमा मतदान गर्ने व्यवस्था मिलाउन सरकार तयार रहेकाले यसलाई पूर्णता दिन सबै सहमत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मतपत्र छाप्नुपर्ने, मतदानपूर्व हप्तौँ लगाएर मतदानस्थलसम्म पु¥याउनु, मतदानपछि दुई दिन लगाएर मतगणनास्थामा ल्याउनुपर्ने बाध्यता छ । सूचना प्रविधिको माध्यमबाट कम खर्चमा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाउन सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति भएमा सम्भव छ ।”

डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको भावनाअनुसार सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताउँदै फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सबै तयारी तीव्रताका साथ भइरहेको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “पहिलापहिला मेरो गाउँमा बाटो चाहियो भनेर माग हुन्थ्यो, तर अहिले डिजिटल मार्गका लागि माग बढ्दो अवस्था छ, मन्त्रालयमा फाइलको चाङ लागिरहेको छ । यस अवधिमा सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र संरचनागत सुधारमा मेहनतका साथ काम गर्नेछौँ ।” उहाँले आगामी निर्वाचनमा जनता र मुलुकको हितमा काम गर्ने नेतृत्वलाई ल्याउन क्यान समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यम गरिरहेका देशभरका प्रतिनिधिबीच व्यावसायिक रणनीति बनाउने, व्यवसायसम्बन्धी जिज्ञासा मेटाउने, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यापार वृद्धि गरी देशको अर्थतन्त्रमा टेवा पुर्‍याउनेलगायत उद्देश्यले समिट आयोजना गरिएको क्यानले जनाएको छ ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन महासचिव चन्दको आग्रह

काठमाडौँ, ५ पुसः नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित जेनजी पुस्तासँगको अन्तरक्रियामा उहाँले फागुन २१ मै निर्वाचन नहुनेमा आशङ्का रहेको भन्दै सबैलाई आश्वस्त पार्ने गरी चुनावी वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । महासचिव चन्दले सुरक्षाकर्मी, कर्मचारीको मनोबल कमजोर भएको, लुटिएका केही हतियार फिर्ता नआएकालगायत कारणले तोकिएको मितिमा निर्वाचन नहुने होकी भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले यो देश बनाउन धेरै सङ्घर्ष गरेका छौँ । बन्दुक पनि बोकियो, जेलनेल पनि भोगियो । हाल उद्योगधन्दा चलाउन सक्छौँ भनेर किसान, मजदुर, बद्धिजीवी, व्यापारी, मध्यम वर्गसँग अपिल गरिरहेका छौँ । अब पार्टी चुनावमा जान्छ र एक पटक देशको नेतृत्व गरेरसेवा गर्ने चाहना छ ।”

महासचिव चन्दले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन, रोजगारी सिर्जर्नालगायत जेनजीले उठाएका माग सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको भन्दै त्यसका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नमूना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

त्रिवेणी (नवलपरासी), ५ पुसः ऊर्जा ,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा निर्माणाधीन नमूना सदरमुकामको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज जिल्लाको कावासोती नगरपालिका–३ मा अवस्थित नमूना सदरमुकाम निर्माणस्थलको निरीक्षण गर्दै उहाँले काममा ढिलाइ नगरी निर्धारित समयमा सम्पन्न गर्न व्यवसायीलाई निर्देशन दिनुभएको हो ।

मन्त्री घिसिङले नमूना सदरमुकामको हालसम्मको प्रगतिको अवस्थाका बारेमा आयोजनासँग जानकारी लिनुभएको थियो । उहाँले निर्माणको चरणमा कुनै बाधाअड्चन भए त्यसलाई फुकाउन आफ्नो तत्तपरता रहने भन्दै काममा ढिलाइ नगर्न सराकार भएका सबैलाई आग्रह गर्नुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका सूचना अधिकारी द्रोण कटवालले आयोजनाले हालसम्म गरेको कामको प्रगति र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । निर्माणको सुरुवाती चरणमा केही प्राविधिक समस्या आए पनि अहिले कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

नवलपुरको कावासोती–३ मा रहेको एक सय ८७ बिघा जग्गामा विसं २०७६ देखि सदरमुकाम निर्माण गर्न थालिएको हो । नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माण भइरहेका आयोजना कार्यालयले जनाएको छ ।

पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माण थालिएकामा अहिले थप भवन पनि बनाउन सुरु गरिएको आयोजनाका सूचना अधिकारी कटवालले जानकारी दिनुभयो ।

चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार ५२७ लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माण गरिरहेको छ । विसं २०८३ पुस २१ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढिरहेको आयोजनाका सूचना अधिकारी कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दोस्रो चरणमा भ्याट बाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप पूर्वाधार निर्माण थालिएको छ ।

समानान्तर–बुद्ध हिमाली जेभिले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभाहल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवासगृह, सदरमुकामस्थलको कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोलामा तटबन्ध, सदरमुकामस्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तारलगायत काम गरिरहेको कटवालले बताउनुभयो । उहाँका अनुसार विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्नेगरी गत वैशाख २९ गते सम्झौता भएको थियो ।

नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्ट्याइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण हुनेछन् । अहिले सङ्घस्तरका कार्यालय निर्माण अघि बढेको छ भने प्रदेश मातहतका कार्यालय निर्माण सुरु भएका छैनन् ।

नमूना सदरमुकाम निर्माणको गुरुयोजना अनुसार यहाँ सङघ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल खेलमैदान, १५ हजार दर्शक क्षमताको क्रिकेट खेलमैदान, कर्मचारीका लागि आवासगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजना अनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस

चन्द्रपुर (रौतहट), ५ पुसः नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवारका रूपमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नाम रौतहट क्षेत्र नं १ बाट सिफारिस गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं १ बाट यादवसहित चार जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति बैठकको निर्णयअनुसार जिल्ला कार्यसमितिलाई पठाइएको पत्रमा प्रत्यक्षतर्फ मुख्यमन्त्री यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस भएको कांग्रेस मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसङ्ख्यक तथा खुल्ला समूहबाट आठ जनाको नाम सिफारिस भएको छ ।

प्रचार विभाग प्रमुख गुप्ताले राष्ट्रियसभा सदस्यका लागि चिरञ्जीवीप्रसाद सिंह (अल्पसङ्ख्यक/खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको बताउनुभयो । अन्य क्षेत्रको उम्मेदवारको सिफारिस आइतबार सार्वजनिक गरिने कांग्रेस रौतहट जिल्ला कार्यसमितिका सचिव मिथलेश मिश्रले जानकारी दिनुभयो ।

दार्चुलामा भूकम्पको धक्का

खलङ्गा (दार्चुला), ५ पुसः दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ । आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौँ, ५ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्नुभएको छ । आज कारागारको निरीक्षण गर्दै उहाँले खालि रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताउनुभयो ।

मन्त्री अर्यालले कैदीबन्दीको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिनुभयो ।

उहाँले कैदीको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्दै कमजोरी भए सुधार गर्न कारागार प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

त्यसक्रममा कैदीबन्दीका आफन्तले कारागारसम्म पुग्ने सडक पूर्वाधार निकै कमजोर भएको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री अर्यालले सडक पूर्वाधार छिट्टै सुधारका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले हाल देशका विभिन्न बाल सुधारगृहमा रहेका र अवधि बाँकी भएका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्न केद्रीय कारागारमा खाली रहेको एउटा ब्लकलाई सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।

उक्त ब्लकमा बढीमा पाँच सय जना बालबिज्याइँकर्तालाई राख्न सकिने जनाइएको छ । हाल देशभर आठ वटा सुधारगृह रहेका छन् । तीमध्ये चार वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा छन् ।

साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौैँ, ५ पुसः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।

कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन् ।

त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन् ।

त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो । इस्ट बङ्गालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । त्यसपछि खेलमा गोल हुनसकेन र अन्तत इस्ट बङ्गालले एपिएफमाथि ३–० को सहज जित निकाल्र्दै प्रतियोगिताको उपाधि जित्यो ।

गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।

‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’

काठमाडौँ, ५ पुस: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा आज यहाँ नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माणलगायत विषयमा आवाज उठाउँदै पार्टीलाई थप सुदृढ बनाउन लाग्ने बताएका हुन् ।

भेलामा नेतृ अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले महाधिवेशनमा आएको मतपरिणामका कारण विचलित नहुने, पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास, पुनर्गठनलगायत मुद्दालाई विधानभित्र रहेर निरन्तर उठाउने बताउनुभयो ।

भेलाले महाधिवेशनबारे विभिन्न कोणबाट छलफल भएको र देशव्यापी समीक्षा गर्ने निर्णयसमेत गरेको उपसहासचिव योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेलामा महाधिवेशनको घोषणा भएसँगै भएका गतिनिधिबारे समीक्षा भएको छ, प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका क्रियाकलापबारे छलफल भएको छ । कतिपय सन्दर्भमा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग भएको विषय पनि उठेका छन् । यी सबै विषयमा नेताहरूले विभिन्न कोणबाट कुरा राख्नुभएको छ ।”

झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भद्रपुर (झापा), ५ पुसः यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।आज साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नाम, थर तथा वतन नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ ।

जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह

पाटन (ललितपुर), ५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकरात्मक परिवर्तन ल्याउनसक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउनसक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो । “युवा देश छोडेर विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आमनागरिक सचेत हुनुपर्छ । सकारात्मक परिवर्तन गर्नसक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ”, उहाँले भन्नुभयो ।

परिवार छोडेर विदेशिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्नसक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिनुभयो । “यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरुलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईंहरूले सही नेतृत्व चयन गर्नुहोला”, उहाँले भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुरआमाबीचको सम्बन्ध टुट्दै गएकाले सामिप्यता र आत्मियता हराउँदै गएको धारणा राख्नुभयो । “समाजले संयुक्त परिवारबाट एकात्मकतातिर बढावा दिँदै गएको छ, यसले हाम्रो संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्नेमा बताउनुभयो । उहाँले असल संस्कारले असल नागरिक बनाउने भन्दै असल नागरिकले समाज र मुलुकलाई सफल बनाउने धारणा राख्नुभयो ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।

रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ ।

इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुव्र्यवहार) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ ।

उहाँकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ ।

यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मनगढन्त र राजनीतिक प्रसिोध भएको बताएका थिए ।

डनका अनुसार, पिटिआई संस्थापकले नीति अनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्याङ्कन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताउनु भएको छ ।

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार जानकारी दिएका छन् ।

उनीहरू अफगानिस्तानबाट अवैध रूपमा (विना कुनै कागजात) प्रवेश गरेको पाइएको छ।

“इरान–अफगानिस्तानको सीमानामा सीमा पार गर्न खोज्ने केही समूहलाई इरानले रोकेको र सीमा क्षेत्रमा रहेका तीन व्यक्तिको अत्यधिक चिसो मौसमका कारण मृत्यु भएको छ,” नाम गोप्य राख्ने शर्तमा अफगान सेनाका अधिकारीले शनिबार बताए ।

आप्रवासीहरुको उक्त समूह बुधबार इरान प्रवेश गर्न खोज्ने समूहमध्ये एक टोली थियो र अफगान सीमा बलले उनीहरूलाई सीमामा रोकेको र उनीहरूको चिसोका कारण मृत्यु भएको हो ।

“बुधबार राति उनीहरूको खोजी गरिएको थियो तर बिहीबार मात्रै शव फेला परेको हो,” ती सैनिक अधिकारीले भने ।संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) को पछिल्लो तथ्याङ्कका अनुसार सन् २०२५ जनवरी र नोभेम्बरको अन्त्यसम्ममा इरानी अधिकारीहरूले १८ लाखभन्दा बढी अफगानीहरूलाई अफगानिस्तान फर्कन बाध्य पारेका थिए।

यूएनएचसीआरले अफगानिस्तानको स्थितिलाई जानकारी गराउन गरेको पोष्टमा भनिएको छ, “प्रतिकूल परिस्थितिमा पाकिस्तान र इरानबाट भएका यी सामूहिक फिर्तीले अफगानिस्तानको पहिले नै अत्यधिक अभाव भएको स्रोत र सेवाहरूलाई थप सङ्कटमा पारेको छ। अव्यवस्थित फिर्ता अभियानले नयाँ विस्थापनको जोखिम निम्त्याउने देखिएको छ।”

यस हप्ता एम्नेस्टी इन्टरनेसनलले देशहरूलाई ‘फर्केकाहरूलाई गम्भीर क्षतिको वास्तविक जोखिम’ भन्दै जबरजस्ती मानिसहरूलाई अफगानिस्तान फर्काउने कार्य रोक्न आह्वान गरेको थियो ।

दुई ठूला भूकम्पबाट प्रभावित र जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको अफगानिस्तानले हालैका महिनाहरूमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ।

विशेष गरी संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को रूपमा वर्णन गरेको अफगानिस्तानले धेरै जागिर र सार्वजनिक स्थानहरूबाट महिलाहरूलाई बहिष्कृत गरिएको कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपरेको छ।

संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले मङ्गलबार अफगानिस्तानका एक करोड ७० लाखभन्दा बढी मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

नेता कोइरालाद्वारा निर्वाचनको वातावरण निर्माण गर्न आग्रह

विराटनगर, ५ पुसः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राख्नुभयो । त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उहाँले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, “गत भदौ २४ गतेको जेनजी आन्दोलनका समयमा फरार रहेका पाँच हजार कैदीबन्दी करागार बाहिर छन् । प्रहरीबाट लुटिएका करिब पाँचदेखि सात हजार हतियार पक्राउ परेका छैनन् । तसर्थ आमजनतामा त्रास र भयको वातावरण छ । यस्तो अवस्थामा सरकार, राजनीतिक दल, सरोकार भएका निकाय सबैले निर्वाचनको वातावरण बनाउन समन्वय गर्नुपर्ने हुन्छ ।”

नेता कोइरालाले कांग्रेस एक जिम्मेवार र जनचाहना अनरुप सञ्चालन हुने पार्टी भएकाले निर्वाचनको वातावरणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ रहेको बताउनुभयो । उहाँले निर्वाचन र महाधिवेशनको तयारीसँगै शान्तिसुरक्षा कायम गराउनेतर्फ समन्वयात्मक भूमिका निर्वाह गर्न पार्टी सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल

पाटन (ललितपुर), ५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ । द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिलनुभयो ।

मन्त्री खरेलले भन्नुभयो,“सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्नुपर्छ । नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न चाहानुहुन्छ भने प्रस्ताव लिएर आउनुस्, सहकार्यमा काम गरौँ, अवसरको सिर्जना गर्न हामी तत्पर छौँ ।”

मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा अगाडि बढ्न युवाको आवश्यकता नीतिगत रूपमै समेट्ने व्यवस्था गरिने धारणा राख्नुभयो । “राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरिसकेको छ । देशका जेनजेमा पनि राजनीतिक चेतना धेरै विकास भइसकेको छ, तसर्थ हामी परिवर्तन गर्न सक्छौँ । युवाको चाहनालाई नीतिगत रूपमै सम्बोधन गर्दै अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताउनुभयो । आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उहाँको आग्रह थियो ।

नेपालका लागि भारतीय पूर्वराजदूत एवम् इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीवसिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको बताउँदै परिवर्तित समय अनुकूल काम गर्नका लागि युवा दिमागलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्टार्टअप मात्रै नभएर साना व्यवसाय पनि भविष्यको बलियो आर्थिक हिस्सा बनिरहेको बताउनुभयो । उहाँले स–साना व्यवसाय र स्टार्टअपले देशमा रोजगारी सिर्जना गर्दै सार्वजनिक अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छः मन्त्री घिसिङ

चितवन, ५ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताउनुभएको छ ।

उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उहाँले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भन्नुभयो, “कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेसा नभइ समाज सेवामा लगाउन आवश्यक छ । अबको राजनीति सेवा समर्पित हुनुपर्छ ।”

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताउनुभयो । बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मितिसमेत तय गरेको छ ।

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी, ५ पुसः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । प्रदेश सरकारद्वारा म्याग्दीमा सञ्चालित सडक आयोजनाहरूको आज स्थलगत अनुगमन गर्दै उहाँले काम गर्ने निर्माण कम्पनीलाई समयमै भुक्तानी दिन सरकार तयार रहेको बताउनुभयो ।

“दायित्व सिर्जना भइसकेका आयोजनाको भुक्तानी गर्नुपर्ने जिम्मेवारीप्रति प्रदेश सरकार संवेदनशील छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “बजेट अभावकै कारण विकास आयोजनामा ढिलाइ गर्नुपर्ने अवस्था आउन दिने छैनौँ । काम गर्ने निर्माण व्यवसायीलाई समयमा भुक्तानी दिएर प्रोत्साहन बढाउनेतर्फ हामी सचेत छौँ ।”

चालु आर्थिक वर्षमा काम भइरहेका आयोजनाका लागि पर्याप्त बजेट नभएको निर्माण व्यवसायीहरुले गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले काम नभएका र ठेक्का प्रक्रियाका क्रममा बचत भएको बजेटलाई रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

उहाँले आज धारापानी–ताकम–शिवाङ, बेनी–दरवाङ, दाङखोला पुल र बेनी–पाखापानी सडक आयोजनाको अनुगमन गर्नुभएको हो । जिल्लाका सडकसम्बन्धी आयोजनामा सन्तोषजनक प्रगति देखिएको भन्दै मुख्यमन्त्री पाण्डेले निर्माण व्यवसायी, स्थानीयलगायत सरोकार भएका सबैको प्रशंसा गर्नुभयो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा महेन्द्र बानियाँले जिल्लामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पाण्डेले बेनी–दरवाङ सडकअन्र्तगत फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकारबाट बेलिब्रिज प्राप्त हुने प्रक्रियामा रहेकाले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अलपत्र बनेको बेनी–दरवाङ सडकको तोलावाङ–दरवाङ खण्डलाई पूर्णता दिने र दाङखोलामा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मधेशको मनोविज्ञान छाम्दै डा डिला संग्रौला

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त मधेशको यात्रामा छिन् ।गत भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै गएको छ। यसबीचमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले यही पुस २६–२८ गते पार्टीको १५ औं महाधिवेशनको मिति पनि तय गरेको छ ।

नेपाल महिला संघको सफल नेतृत्व गरिसकेकी पन्त पार्टीमा केन्द्रीय सदस्यको भूमिका पनि प्रभावकारी ढंगले निर्वाह गर्दै आएकी नेतृत्व हुन् । यसैगरी पछिल्लो समय १५ औं महाधिवेशनको मितिका सन्दर्भमा स्पष्टरुपमा निर्धारित मितिमा नियमित महाधिवेशनको पक्षमा उनले अडान राखेकी थिइन् । उनीसहित २८ जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए । अहिले पार्टीले महाधिवेशनको मिति तोकेपछि उनी आफ्ना गतिविधिलाई मधेश केन्द्रीत गरेकी छन् ।

आगामी महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी उनले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषाको भ्रमण पूरा गरेकी छिन् भने बाँकी जिल्लाको पनि सोमबारसम्म भ्रमण पूरा गर्ने जानकारी दिइन् । उनले मधेश नेपाली कांग्रेसको आधारभूमि भएकाले शीत लहरका बावजुद पनि आफू मधेश यात्रामा रहेको बताइन् । उनले भनिन् ‘मैले जिल्ला जिल्लामा साथीहरुसँग छलफल गरेर कसरी नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने भन्ने विषयमा छलफल गरी रहेकी छु ।’ ‘मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन,’ उनले भनिन् ।

पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । कांग्रेसले मधेशलाई ‘भोट बैंक’ को रूपमा मात्र नभई ‘विचारको केन्द्र’ का रूपमा हेर्नु पर्नेमा उनको जोड छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनु पर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्, ‘१५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र होइन, यो कांग्रेसलाई २१ औं शताब्दीको गति र प्रविधिसँग जोड्ने अवसर पनि हो । त्यसैलै हामीलाई पद मात्र होइन, जनताको विश्वास जित्ने संगठन चाहिएको छ ।’

उनले पार्टीभित्र क्रियाशील सदस्यताको वितरणलाई पारदर्शी बनाउन सबैले खबरदारी गर्नु पर्नेमा जोड दिइन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ बनेको इंगित गर्दै सुझबुझपूर्ण नेतृत्व नै आजको आवश्यकता रहेको उनले बताइन् ।

डा. संग्रौलाले आफ्नो भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सीमित नगरी मधेशको सांस्कृतिक र आर्थिक पाटोलाई पनि मसिनोसँग केलाउने गरेकी छिन् । उनी भन्छिन्, ‘मधेश आर्थिक समृद्धिको ढोका हो, तर यहाँका किसान सधैं मल र बीउको अभावमा छट्पटिनु दुखद छ ।’ संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने र स्थानीय निकायमा सुशासन कायम गर्नु पर्नेमा उनले जोड दिइन् ।यसैगरी दलित, मुस्लिम, मधेशी र पिछडिएको वर्गको प्रतिनिधित्व बिनाको कांग्रेस पूर्ण नहुने उनको तर्क छ । उनले भनिन्, “सबै अट्ने कांग्रेस बनाउनु नै अहिलेको मुख्य चुनौती हो.”

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती, ५ पुसः बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो ।

“प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ”, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ, अहिलेका लागि अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिका कार्यालय नजिकैको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलबाटै बैठक सञ्चालन गर्ने तयारी गर्न कर्मचारीहरू जुट्नु भएको छ ।” उहाँका अनुसार केही दिनभित्रै त्यहाँ फर्निचर, माइक जडानलगायतको काम सकिन्छ र त्यसलगत्तै बैठक बोलाउने तयारीमा सरकार छ ।

“बैठकको तयारीका लागि उपसभामुखज्यू र प्रदेशसभाअन्तर्गतको विषयगत समितिका सभापतिज्यूहरू पनि छलफलमा जुट्नु भएको छ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “उहाँहरूले विभिन्न दलका नेताहरूसँग नियमति छलफल गरिरहनुभएको छ, हामीले पनि छिट्टै बैठक आह्वान गर्न प्रदेश प्रमुखज्यूलाई पत्राचार गर्छाैं ।” त्यसपछि प्रदेशसभाको बैठक बस्छ उहाँको भनाइ छ ।

केही दिनअघि प्रदेश मामिला समितिको पहलमा उसभासमुखज्यू, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।

“हाम्रो पहलमा बैठक बसेर प्रदेशसभाको बैठक अघि बढाउन सरकारलाई आग्रह गर्यौँ, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले भन्नुभयो, “सरकारले पनि बैठक बोलाउन तयारी गरिरहेको आश्वासन दिएको छ, हेरौँ छिट्टै प्रदेशसभाको बैठक बस्छ होला ।”

बागमती प्रदेशसभाका प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले तत्काल प्रदेशसभा अर्थात् हिउँदे अधिवेशन बोलाउन माग गर्दै आएका छन् । नबोलाइए नियमावलीअनुसार अघि बढ्ने उनीहरूले चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समावादी पार्टी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री बानियाँलाई भेटेर प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन आग्रह गरेका थिए । बागमती प्रदेशको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दाबी गर्दै आएको छ ।

जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गर्नुभएका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । रिक्त सभामुख पदमा सत्तारुढ दुवै पार्टीले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको थियो । तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहुँदा सरकारले बैठक नबोलाएको हुनसक्ने अनुमान छ । प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार छ ।

गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा

काठमाडौँ, ५ पुसः काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ । कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्नेगरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी जानकारी दिनुभयो ।

उक्त कार्यका लागि कामपाले ३२ वटा वडामा दुई चरणमा तालिम सञ्चालनसमेत गरिसकेको छ । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकलाई प्रशिक्षण दिइसकेको केसीले जानकारी दिनुभयो ।

जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तरराष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, विरामीलाई नमूना सङ्कलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना सङ्कलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानिकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्तिबीचको आपसी सम्बन्धलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास समेत गराइएको छ ।

कामपाले ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरूमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य परीक्षण गरिन्छ ।

‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ समूहका जनस्वास्थ्य प्रयोगशालामध्ये ‘डी’ र ‘ई’ समूहका प्रयोगशालाको सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदी भन्नुहुन्छ, “काठमाडौँ महानगरपालिकाका प्रयोगशालाहरूको गुणस्तर कायम गराउन तथा जनशक्तिको क्षमता बढाएर कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्न सक्ने बनाउन तत्पर छौँ ।” ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी स्तरका हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूहका र सरकारी स्तरका प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहका प्रयोगशालामा पर्छन् ।

कामपाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज, ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार आन्तरिक नियन्त्रण प्रणाली र बाह्य प्रयोगशालाहरूसँगको सहकार्यमा प्रयोगशालाका नतिजालाई स्तरीय बनाउने प्रयास भइरहेको छ ।

प्रयोगशाला विज्ञान र प्रविधिमा आधारित हुन्छ । यी क्षेत्रहरूमा सबैभन्दा छिटो परिवर्तन आइरहेको हुनाले प्रयोगशालाका प्राविधिकहरूले आफूलाई हरेक दिन तालिममा सहभागी भएको महसुस गरेर आचरण गर्नुपर्ने, सेवा सञ्चालन मापदण्ड बनाएर त्यसका आधारमा काम गर्नुपर्ने छ ।

राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी, ५ पुसः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ ।

सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइ«ोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च)मा परिक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णताः दिन लागिएको जानकारी दिनुभयो ।

“सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ”, उहाँले भन्नुभयो, “२० मेगावाटको टर्वाइन जडान गरेर ड्राई टेस्टिङ गर्न तयार पारेका छौँ । मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ ।”

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ ।

कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौताको म्याद यही डिसेम्बर ३१ मा सकिदैछ् । भेलले अधिकांश उपकरण आयात सकेर जडानको काम गरिरहेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौँ, ५ पुस : जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो ।

नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उमेश सशक्त रूपमा खटिइ राति अबेर घर फर्कनुभयो ।

बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्‍याएँ भनी सोही दिन उमेशले दिदी सुमित्रालाई सुनाउनुभयो । ठूलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भीड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो ।

सोही सिलसिलामा उत्तेजित भीडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो । उहाँ त्यही ढल्नु भएको थियो । साथीहरूले उठाएर बानेश्वरस्थित फण्ट लाइन अस्पताल पुर्‍याए । शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्‍याउँदा नपुर्‍याउँदै उमेशको निधन भयो ।

उमेशलाई गोली लागेको सूचना महत परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाउनु भएको थियो । सुवासका पिता सुवर्णले उमेशलाई विदेश नजाउञ्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराउनुभएको थियो । त्यसबापत उमेशले मासिक रु १० हजार तलब प्राप्त गर्नुहुन्थ्यो ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्नुहुन्थ्यो । त्यही सागसब्जी बेचेर महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाउनुभएको थियो ।

श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि विसं २०६२ असोज ११ गते उमेशको जन्म भएको थियो । सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गाैलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो ।

बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गर्नुभयो । लामो उपचार र स्वास्थ्य ठीक भएपछि पछिल्लो समय उहाँ वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने तयारी हुनुहुन्थ्यो । दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो ।

दिदी सुमित्रा भन्नुहुन्छ, “आमाबाले साँझ बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो ।” परिवारमा भने चञ्चले र हासमुखी स्वभावको परिचय बनाउनुभएका उमेश सानैदेखि खेलकुदमा फुटबल प्रेमी तथा खानपिनमा मःम र कफीको पारखी हुनुहुन्थ्यो । त्यसका लागि दिदीसँग खर्च मागी रहनुहुन्थ्यो । केही वर्षअघि फुटबल खेल्दा उहाँको हातसमेत भाँचिएको थियो ।

छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बीचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त नदुखाउने युवा हुनुहुन्थ्यो । उमेशलाई सम्झँदै सुवास भन्नुहुन्छ, “साथीभाइको बीचमा उसले सबैको माया र सद्भाव पाएको थियो । पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यवहारिक थियो ।”

भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठूलो सङ्ख्यामा युवाको हताहती भयो । धेरै घाइते भए ।

जेनजी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने रु ८४ अर्बभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति भयो ।

गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्नुहुन्छ, “म १०ः०० बजेतिर काममा निस्किए, ऊ सुतिरहेको थियो । केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ । आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ । ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ ।”

कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक रु १० हजार दिँदै आउनुभएको उमेशकी आमाको भनाइ छ । छोरा उमेशको निधनपछि पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आउनुभएको छ ।

पुरानो थातथलो भए पनि नयाँ श्रृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उहाँहरूले सङ्घर्ष गर्नुपरेको छ । दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाउनुभएको छ । नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ–छोड्न मिल्दैन भन्ने भएपछि उहाँहरू पुरानो घर फर्कनुभएको हो ।

सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम रु १५ लाख भने प्राप्त गरिसक्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको आजै मात्र १०० दिन पुगेको छ ।

यसबीचमा जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेनजी र सरकारबीच १० बुँदे सहमति भएको छ । त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ ।

सुशासन सहिद उमेशकी आमा रुँदै भन्नुहुन्छ, “कान्छो निधनपछि मन आतिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिन ।” राजनीतिक दल, सरकारले आफैँले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उहाँको सरकारलाई सुझाव छ ।

सहरका अरु युवापुस्ताझैँ खानपिनमा मःम र पिज्जा मनपराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यो पुर्‍याउनुभएको थियो । उमेशकी आमा भन्नुहुन्छ, “छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिन ।”