`

एमाले–नेकपाबीच सातै प्रदेशमा सरकार गठनका लागि सहमति

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सरकार गठन तथा सहकार्य गर्ने विषयमा सहमति भएको छ।

शनिबार भएको सहमतिअनुसार पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।

सहमति पत्रमा भनिएको छ, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्यालाई समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी सहमतिमा पुगेका छौं।’

सहमतिअनुसार प्रदेश सभामा संयुक्त रूपमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ ।

साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको खोलामा पौडी खेल्ने क्रममा डुबेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा साउन ९ गते साँझ ५:०२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिएका छन्।

कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद

सुदूरपश्चिम। कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोल र वडा नं १ बङ्ग्राकटान क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरी ल्याइएको सामान से १ ह २४२९ नम्बरको पेट्रोल अटोमा बेवारिसे अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो । उक्त अटोसहित रु चार लाख ५० हजार ३०० बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा सूर्ति १२० प्याकेट, बिडी ७४ प्याकेट, गुट्खा ३० प्याकेट, प्लास्टिक झिल्ली २८ प्याकेटलगायत रहेका छन् ।

धनगढी–१ बङ्ग्राकाटान क्षेत्रमा अर्को प्रहरी टोलीले रु २४ हजार ५०० बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । त्यहाँबाट गुट्खा नौ प्याकेट, कफी तीन प्याकेट, मसला पाँच प्याकेट, सुपर पावर सूर्ति ४७ प्याकेट, दुना–टपरीका प्लास्टिक ४०० दर्जन र चिनी २० किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढी पुग्यो

धनगढी । धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधि डा. केसीलाई भेट्न धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षामा पुगेका छन् ।

सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगि डा. अमृत जैसीले बताए ।‘केसीसँग भेटेर सरकारी टोली फिर्ताभइसकेको छ,’ जैसीले भने, ‘आज अनौपचारिक छलफल मात्रै हुन्छ होला, औपचारिक वार्ता आइतबार मात्रै हुने छ।’

केसीको तर्फबाट स्पष्ट माग अघि बढीसकेकाले सरकारी टोली त्यसमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा महत्वपूर्ण रहेको जैसी बताउछन् । ‘डा. साबले उठाउनु भएका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भिर हुन्छ भन्ने कुरा महत्वपूर्ण हो,’ जेसीले भने, ‘ डा.केसी आफ्नाकुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न ।’

घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ।

वडा सदस्य साहले घरमा लुकाइछिपाइ डिएपी मल राखेको र रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो।

वडा सदस्य साहको घरबाट बरामद भएको उक्त रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

नियन्त्रणमा लिइएको मल ट्र्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताएका छन्। उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ। वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ।

पुरानै शैलीको राजनीति कि समृद्ध नेपालको नयाँ बाटो ?

नारायण भुसाल/पर्वत – ३६ वर्षेखि देश सखाप पारेर जुका बनेर चुसेको जनताको रगत अझै ओभाएको छैन।सत्ताको मात अझैं झल झली सपना देख्दै हुनुहुन्छ।लक्जरी रिसोर्टको स्वाद राजनीतिमा घुसेपछि कुनै पनि नेतालाई रिटायर्ड हुन मन नै लाग्दैन रहेछ।हरेक गरिब लोकतान्त्रिक देशको दुर्भाग्य यहीँ रहेछ!

फेरि फर्केर आउने सिंहदरबार छिरेर रजगज चलाउने एक दिनमा सरकार ढाल्ने अनि देश पुरानै अवस्थामा फर्काउने रे जँगली बाँदर सहर पसे पछि खेतबारीको अन्न मात्र होईन देश नै मासिन्छ।जनताले हिजो ६२,६३को त्यो आन्दोलन देशको तहसनहस भुलेका छैनन्।दस बर्ष युद्धमा देशले भोगेको अतुलनीय क्षेती हाम्रो परिवारका सदस्य गुमाएको पिडा अझै घाउ निको हुन पाएको छैन।बर्षायामको समयमा पिण्ड खाने बेला देवघाटको यात्रा गर्ने बेला फेरि युवाले वहाँहरुको लागि बलिदानी दिनुपर्ने भए छ।बलिदान केका लागी कसैलाई जेल जानुपर्ने चिन्ता कसैलाई पाचौं पुस्ता सम्म लाई पुग्ने गरि कमाएको सम्पत्ति जलेर खरानी भएको चिन्ता छ।राष्ट्रिय दलले उठाउने मुद्दा शिक्षाका छन्, स्वास्थ्यका छन् कि?विकासका छन् कि? भ्रष्टाचारका छन्। राज्य व्यवस्था र सुशासन बहसका छन्।खै चिया निकासीको कुरो, खै महंगीको कुरो, खै स्वास्थ्य बीमाको कुरो? हिजो देशले भोगेको दुर्गति अहिले प्रतीपक्षले चाहेको?टायर बाल्ने ? राँके जुलुस र पुत्ला दहन ? नेपाल बन्द? ढुंगा हानाहान कि १महिना संसद ठप्प?३५ बर्ष यही गरेको होइन नेपाली कहाँ पुग्यौं?फरार अभियुक्तलाई पार्टीले टिकट दिनु, नागरिकले जिताउनु, चुपचाप सपथग्रहण र सांसद बन्नु, पक्राउ नपर्नु।सफाई पाउनु, फेरि चुनावमा उठ्नु।यस्तै यस्तैले हो — पुराना दलप्रति नागरिकको वितृष्णा जन्मिएको। ‘भोट खेर नफाल्ने’ नागिरक पनि उत्तिकै जिम्मेवार हुन्, यो ‘३५ बर्ष’ ल्याउन !फरक सोच्नुस्, गृहकार्य गर्नुस्।सहमतिमा देश चलेको बर्षौँ भयो। पैले सर्वदलीय सहमति,बहुमतको सहमति, दुई दलको सहमति, दुई तिहाईको सहमति !फेरि नयाँ सहमति?

सहमतिले हुने भए संविधान किन चाहिन्थ्यो, नियम कानुन किन चाहिन्थ्यो? भदौको क्रान्ति किन हुन्थ्यो ! प्रचण्ड बहुमतका ब्रिटिश प्रम स्ट्यमर ले राजिनामा सडक आन्दोलनले दिएका हैनन के! हो ‘साबुन पानीले मिचिमिचि हात धुन पर्छ’ पानी उठाउन पाईन्छ र त्यै हातले आँखा छोपेर संसार अँध्यारो छ भन्ने अभिनय पनि गर्न पाईन्छ !यो भन्दै गर्दा नयाँ सरकारले सबै ठिक गरेको छ।ताली मारेर भक्ती गान गाउँ भन्ने चाइ होइन। केही गल्ती कमजोरी भएकै छ्न।जस्तै स्वस्थ बिमा प्रधानमन्त्री जनता प्रती उत्तर दाही नबन्नु बिधुतमा ५% कर लगाउने जस्ता कुरा सुधार गर्नु पर्ने देखिन्छ। अर्थशास्त्र, समाजशास्त्रले‌ के भन्छ, था भएन।‌तर गरिबलाई थप गरिब र भूमिहिन बनाउन स्वास्थ्योपचारको खर्च सबै भन्दा प्रमुख कारण लाग्छ।( प्रायले जग्गा बेचेको नै भन्छन्)३ अर्बको गाडी धान्ने देशले स्वास्थ्य बीमा धान्दैन भन्दा हाँसो उठ्छ !यो असफल भएको मुख्य कारण निजी र पार्टीका अस्पतालहरूले गरेको फर्जी दावी हो। नामै नसुनेको निजी अस्पताललाई एकै बर्षमा बीसौँ करोड भूक्तानी भएको देखिन्छ। ३५०० सबै नागरिकलाई अनिवार्य गरेर सरकारी अस्पतालबाट मात्र को-पे सहितको सेवा दिए हो,नत्र जति पैसो दिए पनि पुग्दैन।गाउँ गाउँबाट स्वास्थ्य बीमाको कार्डको फोटोकपी जम्मा गर्ने गिरोह नै खटाएका थिए। धेरै जिल्लामा त्यस्तै थियो

।सरकारी अस्पतालको भूक्तानी रोकेर फर्जी अस्पतालको तत्काल भूक्तानी हुन्थ्यो। छानविन गरे यता ८-१० अरबको झेल भएको छ।त्यसको पनि छानबिन हुनुपर्छ ।३५ वर्षमा जनसंख्या कति बढ्यो, औसत आयु कहाँ पुग्यो-त्यो अनुपातमा स्वास्थ्यकर्मीको दरबन्दी किन बढेन?सुनसान बगर र निर्जन पहाडमा भिमकाय संरचना बनाएर साइनबोर्डमा अस्पताल लेख्न बजेट हुने, तर दरबन्दी थप्न, विदाको सोधभर्ना दिन आर्थिक श्रोत नहुने?

हर क्षेत्र नीतिगत खोक्रोपनाले तहसनहस बनाएको छ।यसको सुधारमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ।उत्पादन, रोजगारी र विकासका लागि हाम्रो राज्य प्रणाली अझै अनुकूल छैन। यी क्षेत्रमा परिणाम दिन नसक्ने राजनीतिको बाटो कठिन छ। सूचना प्रवाहको विकेन्द्रीकरण र युवापुस्ताको बदलिँदो आकांक्षाले अब राजनीतिसामु सत्ताको स्वाद चाख्ने अवसर होइन, जनआकांक्षाको पहाड छिचोल्ने चुनौती खडा गरेको छ।अर्थतन्त्र केवल आर्थिक सिद्धान्तको तर्कले मात्र होइन, आर्थिक पात्रहरूको मनोविज्ञानले पनि सञ्चालन हुन्छ। त्यसैले, प्रभावकारी आर्थिक नीति भनेको सैद्धान्तिक रूपमा उत्कृष्ट मात्र होइन, समय, परिस्थिति र बजारको मनोविज्ञानसँग पनि सुसंगत हुनुपर्छ।नेपाली समाजमा विकासको आकांक्षा प्रबल छ। तर राज्य प्रणाली, नीति निर्माण, कानुनी संरचना र सार्वजनिक बौद्धिक विमर्शमा विकास कसरी सम्भव हुन्छ भन्ने आधारभूत समझ, नीतिगत क्षमता र व्यवस्थापकीय सोच अझै कमजोर देखिन्छ।

प्रमाणमा आधारित नीति–योजनाको अभावले विकास प्रक्रियालाई जटिल र परिणामविहीन बनाइरहेको छ। अर्कोतिर, हाम्रो सार्वजनिक बहसमा विकासलाई सफल बनाउने नीति, संस्थागत सुधार र कार्यान्वयनका उपायभन्दा समाधानविहीन विरोध र अवरोधको प्रवृत्तिले बढी चर्चा पाउने गरेको देखिन्छ।विकासमुखी आकांक्षा र विकास-अमैत्री सोचबीचको यही विरोधाभासले निर्णयहीनता, फ्रस्टेसन र अराजकतालाई जन्म दिएको छ। नेपाली समाज लामो समयदेखि यही घनचक्करमा फसेको छ।विकास-निर्माण वा सेवा प्रवाहसँग सम्बन्धित समस्याहरू सामान्यतया ‘शिक्षित सहज-ज्ञान’ को लेन्सबाट सजिलै देख्न सकिन्छ। तर तिनका नीतिगत समाधानका लागि सहज-ज्ञान मात्र पर्याप्त हुँदैन। सम्बन्धित विषयवस्तुको प्राज्ञिक अध्ययन, अनुसन्धान र विज्ञताबाट प्राप्त गहिरो ज्ञान आवश्यक हुन्छ।नेपालमा भने प्रायः सहज-ज्ञानकै भरमा नीति तर्जुमा हुने प्रवृत्ति देखिन्छ। परिणामस्वरूप, समस्याको जरो नै नीति निर्माणको चरणमा रहन्छ, जसले कार्यान्वयनलाई कठिन बनाउँछ। कार्यान्वनको तहमा समस्या छन्, तर ‘हाम्रा नीति राम्रा छन्, कार्यान्वयन मात्र कमजोर छ’ भन्ने चल्तिको भाष्यले नीति तर्जुमाकै कमजोरीलाई ओझेलमा पार्ने काम गरेको छ।सरकारले अब यस्ता कुराको चिरफार गर्न ढिलो गर्नु हुदैन ।

समृद्ध राष्ट्र निर्माणका लागि समग्र आर्थिक–सामाजिक रूपान्तरणको स्पष्ट ‘ब्लु-प्रिन्ट’, त्यसलाई सधाउने दीर्घकालीन भौतिक विकासको योजना, र कार्यान्वयनका लागि आवश्यक नीति, वित्तीय तथा संस्थागत व्यवस्था अपरिहार्य हुन्छन्। तर यिनै आधारभूत कुरामा नेपालको राज्य तथा सरकार निरन्तर कमजोर देखिएको छ।चुनाव जित्ने र सत्तामा बसेर जनआकांक्षाअनुसार परिणाम दिने, यी दुई नितान्त फरक प्रकृतिका काम हुन्।नेपालको राजनीतिको विगत राम्रो छैन। चुनाव शानदार ढंगले जित्ने, तर सत्ता पाएपछि परिणाम भने दिन नसक्ने।अब फेरि मुलुकले यस्तो राजनीति भोग्न नपरोस्।शानदार विजयले शानदार परिणाम दियोस।

गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनुभएको छ ।

प्रदेश प्रमुखबाट पुनःविचारका लागि सन्देशसहित शुक्रबार विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो ।

गत असार २५ गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार ३० गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक

काठमाडौँ। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् ।

चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो ।

अन्तिम चरणमा थाइल्यान्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण जितेकी हुन् । उता क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्यान्डसँग अन्तिम चरणमा पराजित हुँदै वैभवी दोस्रो भइन् ।

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले राससलाई जानकारी दिनुभयो ।

रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

निजको खोजी गर्दै जाँदा आज कारको पछाडिको सिटमा जलेको अवस्थामा निजको शव फेला परेको उहाँले जानकारी दिनुभयो ।

कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौँ । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ ।

विराटनगरसहित पूर्वी क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने र झ्याप्पझ्याप्प बत्ती जाने समस्याका बारेमा जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखसमेत रहेका उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो ।

प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीलगायत जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत् आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सवस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सवस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

दुवै सवस्टेसन रणनीतिक रूपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । साथै पर्याप्त मजदुर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी छ । विद्युत् सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीपूर्वक काम गर्न प्रोत्साहित गरिएको प्राधिकरणले जनाएको छ ।

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/८३ मा १५ वटा मुद्दा फैसला गरेको छ । स्थापनाकालदेखि न्यून जनशक्ति, भौतिक संरचनाको अभावलगायत समस्या झेल्दै आएको आयोगले आव २०८२/८३ मा अनियमितता तथा भ्रष्टाचारसम्बन्धी ५१ उजुरी दर्ता भएकामा १५ वटाको फैसला गरेको हो ।

आयोगका सूचना अधिकारी प्रसन्नराज कर्णका अनुसार यहाँ दर्ता भएका उजुरीहरूको अध्ययन र छानबिन गरी १५ वटाको फैसला गरेर मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टङ्गाल काठमाडौँ पठाइएको छ । अन्य उजुरीउपर छानबिन भइरहेको उनले बताए ।

आयोगमा गत आव २०८१/८२ मा भ्रष्टाचार र अनियमिततासम्बन्धी ५६ उजुरी दर्ता भएकामा १० वटा फैसला गरेर मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल काठमाडौँ पठाएको थियो ।

आयोगमा सबैभन्दा बढी स्थानीय तह र प्रदेश सरकारका निकायहरूमा भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन, प्रशासनिक अनियमिततासम्बन्धी उजुरी आउने गरेका सूचना अधिकारी कर्णको भनाइ छ । उनका अनुसार अनलाइनमार्फत पनि आयोगमा उजुरी दर्ता हुने गरेका छन् ।

गत २०७८ भदौमा स्थापना भएको सो आयोगमा बर्सेनि अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरी बढ्दै गएपनि कार्यालयका लागि भौतिक संरचनाको अभाव, सुरक्षाकर्मीसहितको जनशक्ति आभावलगायत कारणले उजुरीको अध्ययन र छानबिन गर्न समस्या भइरहेको आयोगका अध्यक्ष रामसहायराय यादवले जानकारी दिए ।

प्रदेशभित्रका सार्वजनिक निकाय तथा संस्थाहरूमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउने अधिकारसहित गठन भएको उक्त आयोगले लामो समयसम्म नियमावली र कर्मचारी नपाउँदा परेको उजुरीमाथि छानबिन गरी फैसला गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

प्रदेशका धनुषा, महोत्तरी, रौतहटलगायत जिल्लामा स्थानीय तहबाट सञ्चालित विकासीय योजनामा भ्रष्टाचार हुने गरेको तथा नियुक्ति प्रक्रियामा अनियमितता भएको विषयमा बढी उजुरी दर्ता हुने गरेको अध्यक्ष यादवले जानकारी दिए ।

“आयोगमा ३३ जना कर्मचारीको दरबन्दी छ, तर अहिले कार्यालय प्रमुखसहित १५ कर्मचारी कार्यरत छन्”, आयोगका अध्यक्ष यादवले भने, “एकातिर उजुरी बढी आइरहेको छ भने अर्काेतिर कर्मचारी अभावका कारण दर्ता भएका उजुरी अध्ययन गर्न समस्या भइरहेको छ ।”

नियमावली र कर्मचारी पठाउन पटकपटक प्रदेश सरकारलाई पत्राचार गरे पनि अहिलेसम्म सुनुवाई नभएको उनको गुनासो छ । “मुद्दाको अनुसन्धान गर्न कानुनका कर्मचारी चाहिन्छ, छापामारी गर्न प्रहरी चाहिन्छ”, अध्यक्ष यादवले भने, “अहिले हामीसँग कानुनमा विज्ञता हासिल गरेका कर्मचारी र प्रहरीको अभाव छ । त्यसैले काम गर्न सकस भइरहेको छ ।”

प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई सुनिश्चित गरी आर्थिक सुशासन कायम गर्ने उद्देश्यले गठित उक्त आयोगको अध्यक्षमा यादव, सदस्यमा सुजाता विमल र सञ्जीव झा रहेका छन् ।

सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको धारणा छ ।

रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रचण्डले गरे कम्युनिस्ट एकताबाट राष्ट्रिय नेतृत्वको आह्वान

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित कम्युनिस्ट शक्तिलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कर्मचार्यलाई वर्गसंघर्ष, विचार र क्रान्तिप्रति जीवनभर इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्मरण गरे।

उनले जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको अनुभव सुनाउँदै त्यस अवधिमा रणनीति र तयारीबारे नियमित छलफल हुने गरेको बताए। जनयुद्धसम्बन्धी आफ्ना योजना कर्मचार्यसँग साझा गर्ने र उहाँबाट आवश्यक सुझाव लिने गरेको प्रचण्डको भनाइ थियो।

प्रचण्डका अनुसार कर्मचार्य सधैँ कम्युनिस्ट आन्दोलनको एकताका पक्षमा दृढ थिए। एकता केन्द्र गठन हुँदा उनी अत्यन्त खुसी भए पनि पछि आन्दोलन विभाजित हुँदा गहिरो दुःखी बनेका थिए। उनले कर्मचार्यले आफूलाई मनपर्ने नेताका रूपमा ‘प्रचण्ड’ भनेको प्रसंग उल्लेख गर्दै त्यसमा विचार र विश्वासको गहिरो अर्थ रहेको बताए।

उनले नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचारलाई इतिहासले सही साबित गरिसकेको दाबी गर्दै अहिले कम्युनिस्ट आन्दोलनभित्र पुष्पलालप्रति कुनै असहमति नरहेको उल्लेख गरे।

प्रचण्डले नरबहादुर कर्मचार्य अन्तिम समयसम्म पनि क्रान्तिकारी धारमै अडिग रहेको स्मरण गर्दै वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का व्यहोरेको टिप्पणी गरे।

बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

काठमाडौँ। बुद्ध एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।

बुद्ध एयरले कल साइन ९ एन-एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर-७२-६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।

बुद्ध एयरले आयात गरेको एटीआर-७२-६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि आरएनपी-एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुध्द एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ ।

कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुध्द एयरको विश्वास छ । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ ।

हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर ‘भिजिबिलिटी’ आवश्यक पर्छ ।

बुध्द एयरले आगामी अगष्टको अन्तिमतिर एक एटीआर-७२-६०० सिरिजको विमान ल्याउनेसमेत जानकारी दिएको छ । त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको छ । बुध्द एयरसँग हाल एउटा एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र एउटा एटीआर-७२-६०० विमान छन् ।

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको जनाएको छ ।

कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । उहाँका अनुसार सप्तरी र सिरहाका तीन तथा धनुषाका दुई गरी थप पाँच उद्योगी–व्यवसायीविरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

अनुगमनका क्रममा सङ्कलित नमुनाको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख दाहालले बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लाबाट कानुनबमोजिम ५७८, उत्पादकको आग्रहमा एक हजार २२८, सरकारी निकायबाट प्राप्त २० सहित कुल चार हजार ५५९ खाद्य नमुना सङ्कलन गरिएको थियो । तीमध्ये ३५ नमुनामा प्रतिकूल नतिजा देखिएको र १० नमुनामा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण र ३१० वटा स्वच्छता सर्भिलेन्स गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

खाद्य स्वच्छता प्रवर्द्धनका लागि कार्यालयले धनुषामा ६० पटक अनुगमन गरी २५० होटल तथा रेष्टुरेन्टको निरीक्षण गरेको जनाएको छ । यस अवधिमा १२१ उद्योगलाई अनुज्ञापत्र जारी, ३०७ उद्योगको नवीकरण तथा ३४७ उद्योगका लागि सिफारिस गरिएको छ । नमुना परीक्षण, अनुज्ञापत्र जारी, नवीकरण तथा उद्योग सिफारिसलगायतका सेवाबाट रु ३८ लाख ३६ हजार १७० राजस्व सङ्कलन भएको प्रमुख दाहालले बताउनुभयो ।

गत असारमा मात्र अनुगमन टोलीले धनुषाका ४४ होटल तथा रेष्टुरेन्टमा गरेको अनुगमनमा १२ वटामा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु चार लाख २० हजार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, सर्लाहीका २४ होटलमा गरिएको अनुगमनमा १७ वटामा कैफियत भेटिएपछि रु छ लाख ६७ हजार जरिवाना गरिएको थियो । कार्यालयका अनुसार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा अन्य अखाद्य वस्तुहरू जफत गरी सम्बन्धित सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ ।

मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो।

विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, उक्त अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल प्रयोगशाला स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायतका सहकार्यका विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।

साथै, राजदूत झाङ माओमिङले मन्त्रालयले पहिलो १०० दिनमा गरेका कार्यप्रगतिप्रति प्रशंसा गर्दै सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण तथा सुशासन प्रवद्र्धनका क्षेत्रमा मन्त्रालयले अघि सारेका पहलहरू प्रभावकारी रहेको उल्लेख गरे ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ।

कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो।

समितिले स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेको जनाएको छ

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना  

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस र कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशको तराई भू–भागका केही स्थान, कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेश तथा कोशी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले वर्षा हुन क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ

इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्नुहुने जानकारी इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको हो।
नेतन्याहुको यो भ्रमण दुई नेताबीच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो।

नेतन्याहुको कार्यालयले जनाएको छ, “प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनुहुनेछ।”प्रधानमन्त्री नेतन्याहु सोमबार वाशिङ्टन प्रस्थान गर्नुहुनेछ । ट्रम्प गत वर्ष अमेरिकी राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएपछि यी दुई नेताबीच यो छैटौं भेट हुनेछ ।

उनीहरूबीच निकट सम्बन्ध रहेको छ। प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबैभन्दा ठूलो मित्र’ भनेर प्रशंसा गर्नुभएको छन् ।इरान सम्झौताबारेको जटिल वार्ताका क्रममा ट्रम्पले यस वर्ष आफ्ना सहयोगी नेतन्याहुमाथि दवाव बढाएपछि पछिल्ला महिनाहरूमा उनीहरूको यो गठबन्धनमा तनाव देखिएको समाचारहरू आइरहेको समयमा नयाँ कार्यक्रम तय भएको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५४ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण

काठमाडौँ । इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् ।

सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुमबासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपूर्जा वितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुमबासीका लागि लालपूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपूर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको प्रक्रिया पुरा गर्न लाग्ने बताए । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनी प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुमबासी रहेको बताउनुभयो । सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लालपूर्जा वितरण गरिने बताए । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुमबासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सात वटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।

सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु आठ अर्ब ९३ करोड, आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु नौ अर्ब ६१ करोड राजस्व सङ्कलन गरेको थियो ।

तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा आठ दशमलव ७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।

कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेन्जी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए ।

दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजार बढी सवारी साधनलाई कारबाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

जिल्लामा बितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।ती दुर्घटनामा ६६१ सवारी साधन छन् ।

काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित

काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

पाकिस्तानले पहिलो सेट २५–१४ अङ्कले तथा दोस्रो सेट २५–१८ अङ्कले जित्यो । खेलको तेस्रो सेट पनि पाकिस्तानले २५–१० अङ्कले जित्यो । नेपालले अब यही साउन १० गते बङ्गलादेशसँग खेल्ने छ ।उक्त प्रतियोगितामा नेपालसहित छ देश सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा छलफल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय त्रिविका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान  आइओइ का डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता सङ्गठन  एकोन  त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा त्रिविका उपकुलपति प्रा डा भोला थापा, संस्थानका डिन प्रा डा सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि विभागका संयोजक धनप्रसाद पौडेललगायत पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो ।

मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई मुलुकभित्रै अवसर सृजना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकार भएका निकायलाई आग्रह गरे । उनले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवर्द्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध काम गर्ने स्पष्ट पारे ।

त्रिविका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न, इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाएर विद्यार्थीलाई आकर्षण गर्नेगरी गुणस्तरीय शिक्षामा जोड दिन इन्जिनियरिङ अध्यापन गराउने कलेजहरूलाई आग्रह गरे । शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षणका लागि प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्न आग्रह गरे ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोगको मापदण्डअनुसार शैक्षिक गुणस्तरलाई ध्यान दिएर संस्थानअन्तर्गतका इन्जिनियरिङ कलेजमा विद्यार्थी बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र शिक्षामा सबैको पहुँच विस्तार गर्नेगरी काम गरिरहेको उल्लेख गरे ।

छलफलमा एकोन त्रिवि विभागका संयोजक पौडेलले इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन र प्रवेश परीक्षाको उत्तीर्णदर वृद्धि गर्न सक्नेगरी आइओइबाटै पहल गर्न सुझव दिए ।

छलफलमा काठमाडौँ इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियर हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रमुख इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रमुख डा केसर प्रसाईँ, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेसनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पौडेललगायतको सहभागिता थियो ।

निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।

मन्त्रालयले गरेको निर्णयबाट शाखा अधिकृत तारादत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालयले गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त भट्टलाई तत्काल हाजिर गराई नियमित कामकाजमा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जगतबहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराउँदै अबदेखि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्र गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम। जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले आजदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुनेगरी काम सुरु गरिएको प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले जानकारी दिए ।

सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी काम जारी रहने उनले बताए ।

यसैगरी धनगढी उपमहानगरपालिका-६, कैलारी गाउँपालिका-७ र गोदावरी नगरपालिका-८ को वडा कार्यालयबाट यसअघि सञ्चालन गरिएको अभियानका क्रममा विवरण दर्ता गराएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र बुझिलिन अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा गत आर्थिक वर्षमा मात्रै ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो ।

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

बामाको। मालीको अदालतले शुक्रबार मालीको पूर्व गुप्तचर प्रमुखलाई ‘सरकारविरुद्ध षड्यन्त्र’ गरेको आरोपमा १५ वर्षको कैद सजाय सुनाएको छ ।

उहाँले १० दिनसम्म चलेको मुद्दाको सुनुवाईका क्रममा सत्तारूढ जुन्ता नेतृत्वमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको थियो ।

देशका पूर्व गुप्तचर प्रमुख कर्नेल कासुम गोइताविरूद्ध राज्यका सङ्घसंस्थाहरूलाई अस्थिर बनाउने र सत्तापलटको प्रयास गरेको आरोपमा मुद्दा चलाइएको थियो।

उहाँलाई आपराधिक षड्यन्त्रका साथैसरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको छ । मुद्दाको सुनुवाईका क्रममा गोइताले आरोप अस्वीकार गर्दै सत्तारूढ अधिकारीहरूलाई राज्य कोषको दुरुपयोग गरेको र आफूलाई यातना दिएको खुला आरोप लगाउनुभएको थियो ।

गोइता सन् २०२० अगस्टमा निर्वाचित राष्ट्रपति इब्राहिम बुबकार केइतालाई सत्ताच्युत गर्ने सैनिक कूमा संलग्न सेना अधिकारीमध्ये एक हुनुहुन्छ । उक्त कूको नेतृत्व कर्नेल असिमी गोइताले गर्नुभएको थियो ।

दुवैको एउटै थर भए पनि उनीहरूबीच कुनै नाताको सम्बन्ध छैन। कूटनीतिक दबाबपछि सेनाले सत्तालाई नागरिक नेतृत्वको अन्तरिम सरकारलाई हस्तान्तरण गरेको थियो, जसको जिम्मेवारी मालीलाई फेरि नागरिक शासनतर्फ फर्काउने थियो।

कासुम गोइता उक्त अन्तरिम सरकारको पालामा देशको आन्तरिक गुप्तचर प्रमुख बन्नुभएको थियो ।

सन् २०२१ मा असिमी गोइताले दोस्रो पटक सत्तापलट गर्दै अन्तरिम सरकारका नेताहरूलाई हटाएर आफैं अन्तरिम राष्ट्रपति घोषित भएपछि कासुम गोइतालाई पदबाट हटाइएको थियो।
प्रहरी महान्यायाधिवक्ताले गोइता र अन्य पाँच प्रतिवादीका लागि २० वर्ष कैद माग गरेका थिए।

मुद्दामा दोषी ठहर भएका सबै छ जनाले आरोप अस्वीकार गरेपनि उनीहरूलाई ७ देखि १५ वर्षसम्मको कैद सजाय सुनाइएको छ ।

“हामी यो फैसलाबाट आश्चर्यचकित भएका छैनौँ। हामी घरेलु कानुनी विकल्पहरू सबै प्रयोग गर्नेछौँ र त्यसपछि अन्य निकायमा जाने योजना छ,” गोइताका एक वकिलले एएफपीसँग भन्नुभयो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह

सुदूरपश्चिम। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ नागरिक तहबाट गठित सङ्घर्ष समितिले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी दशकौँदेखिको प्रयासपछि विश्वविद्यालय सञ्चालनको प्रक्रियामा रहेकाले त्यसमा अवरोध हुने कुरा स्वीकार्य नभएको उल्लेख गरिएको छ ।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले डा गोविन्द केसीले सुरु गर्नुभएको अनशनबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सुदूरपश्चिम र सिङ्गो देशको गौरवका रुपमा रहेको सो विश्वविद्यालय सञ्चालनमा कुनै अवरोध नगर्न आग्रह गर्नुभयो ।

“यो विश्वविद्यालय सुदूरपश्चिमका २७ लाख नागरिकको साझा पूर्वाधार हो । यसमा सरकार, नागरिक र सरोकार भएकाहरुको दशकौँदेखिको योजना, दबाब, सङ्घर्ष र सपना जोडिएको छ”, संयोजक पाण्डेले भन्नुभयो, “त्यो सपना पूरा हुने अवस्थामा रहेका बेला डा केसी र अन्य कसैले कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन ।”

संयोजक पाण्डेले अनसनरत डा केसीले विश्वविद्यालयसम्बन्धी विषयलाई पहिलो बुँदामा राखेर आन्दोलन गर्नु जायज नभएको भन्दै पदाधिकारी नियुक्तिमा कुनै असहमति भए कानुनी बाटो अपनाउन आग्रह गर्नुभयो ।

“सरकारले करिब रु आठ अर्ब लगानी गरेर यसै वर्षदेखि चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसबाट सुदूरपश्चिमवासी उत्साहित छौँ,” उहाँले भन्नुभयो ।

सङ्घर्ष समितिले कसैले अनसन वा आन्दोलन गरेकै भरमा विश्वविद्यालयका बाँकी काममा अवरोध आउने अवस्था नआउनेतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराएको छ । कुनै कारणले विश्वविद्यालयका काम रोकिए राज्यको अर्बौं लगानी र नागरिकको भरोसा टुट्ने अवस्था आउने भन्दै सरकारलाई बाँकी काम द्रुत गतिमा अगाडि बढाउन आग्रहसमेत गरिएको छ ।

डा केसीले पाँच बुँदे माग राख्दै बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनिश्चितकालीन अनशन सुरु गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा आयोजित पाँचौँ नेपाल ‘फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने“सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री भिसा फ्री टिकट’ नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गरिनेछ ।”

प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलीकरण गरिने मन्त्री यादवले जानकारी दिए । आफ्नो १०० दिने कार्यकालको अनुभव आदानप्रदान गर्दै मन्त्री हुनुअघि यो नीतिको कार्यान्वयनमा समस्या देखेको बताउँदै मन्त्री यादवले अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा आइओएमका तर्फबाट नेपालकी नियोग प्रमुख हेलेन फोर्सले नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताए । उले भने, “नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनामा उतार्दै बलियो नेतृत्व देखाएको छ ।” उहाँले आइओएम नेपाल सरकारको यो यात्रामा सँगै काम गर्ने प्रतिबद्धतासमेत व्यक्त ग ।

कार्यक्रममा फिलीपिन्सको आप्रवासी श्रमिक विभाग (डिएम्डब्लु) का सहायक सचिव जेरोम अल्कान्तराले सन् २०२० को भर्ती शुल्कसम्बन्धी सर्वेक्षणअनुसार फिलिपिनो कामदारहरूले भर्ती एजेन्सीलाई औसतमा एक दशमलव दुई महिनाको तलब बराबर शुल्क तिरेका बताउनुभयो । उहाँले फिलिपिन्सको न्यायोचित भर्ना प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी भएको उल्लेख ग ।

सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ। नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुनुभएका सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नुवाकोट जिल्लाको समग्र विद्युत् आपूर्तिको अवस्था, पूर्वाधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आज नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग छलफल गर्दै जिल्लामा विद्युत् आपूर्तिको अवस्था, वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका थालिएका पहलबारे विस्तृत जानकारी लिएका हुन् ।

छलफलका क्रममा उनले जिल्लावासीबाट पटकपटक विद्युत् ‘झ्यापझ्याप’ जाने ९बारम्बार विद्युत् अवरुद्ध हुने० समस्याबारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिनुभयो । विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका काम तत्काल अघि बढाउन मन्त्रीले सरोकार भएकालाई निर्देशन दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले नागरिकको माग र आवश्यकताअनुसार ट्रान्सफर्मर, विद्युत्का खम्बा, तार तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिँदै जिल्लाको वास्तविक आवश्यकता अनुसार विद्युत् पूर्वाधार पर्याप्त भए÷नभएको मूल्याङ्कन गरी आवश्यक स्थानमा तत्काल विस्तार गर्नुपर्ने बताए ।

उनले पहिरो, प्राकृतिक विपद् वा अन्य कारणले ढलेका विद्युत्का खम्बा तत्काल प्रतिस्थापन गरी अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्नसमेत निर्देशन दिए । साथै जोखिमपूर्ण अवस्थामा रहेका, झुन्डिएका तथा अव्यवस्थित विद्युत्का तारको व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखी काम अघि बढाउनुपर्नेमा जोड दिए ।

जिल्लाका केही स्थानमा नेपाल टेलिकमका टावरसम्म विद्युत् पहुँच नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा मन्त्री तिमिल्सिनाले चासो व्यक्त गरे । दूरसञ्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी टेलिकमका टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरे ।

उनले विद्युत् सेवा केवल बत्ती बाल्ने विषय मात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार, डिजिटल सेवा, व्यापार तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएकाले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन प्राधिकरणले सक्रिय रूपमा काम गर्नुपर्ने बताए ।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख रमणले जिल्लामा विद्युत्को ठूलो प्रकृतिको समस्या नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानमा अझै पुराना नाङ्गा तार प्रयोगमा रहेकाले त्यस्ता क्षेत्रमा क्रमशः कालो ९इन्सुलेटेड० तार प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले परिसर र मातहत दर्ता भएकामध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ ।

गत असार मसान्तसम्म दर्ता भएका कुल ११ हजार ७८ मध्ये छ हजार ८६१ मुद्दाका फाइल स्क्यान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । परिसरका दुई हजार ८७, महाराजगञ्ज वृत्तका ३८८, बौद्धका ७१४, गौशालाका ३९०, बानेश्वरका ३६६, कालिमाटीका ५७५, कीर्तिपुरका ९०, थानकोटका ३९७, स्वयम्भूका ४१०, बालाजुका ४५७, लैनचौरका ३३४, दरबारमार्गका १३५, जनसेवाका २४६, सिंहदरबारका १२९ र वृत्त मालिगाउँका १४३ मुद्दा स्क्यान गरिएका छन् ।

परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भट्टराईले तस्करी, लागुऔषध ओसारपसार, ठगी, चोरी, जबरजस्ती करणीलगायत आपराधिक पृष्ठभूमि भएका एक हजार ८७१ जनाको ‘प्रोफाइल’ तयार पारिएको बताए । परिसरबाट प्रदान हुँदै आएका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै उहाँले पुस महिनादेखि असारसम्म अनलाइनबाट दुई हजार २७६ मुद्दाको म्याद थप गरिएको बताए । गत आवमा ११ हजार ७८ मुद्दा दर्ता भएकामा आठ हजार ५८१ अभियुक्तलाई पक्राउ गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा घटेका मुख्य अपराधको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी रहेको छ । परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरका चार हजार ४७९, अभद्र व्यवहारका एक हजार ७०२, चोरीका एक हजार ८९, लागुऔषधका ६७०, ठगीका ६३८, अपराधिक उपद्रवका १७५, आत्महत्याका ३४९, जबरजस्तीकरणीका २६९, ज्यानमार्ने उद्योगका १२२ र सवारी ज्यानका ९९ वटा घटना भएका थिए ।

लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता बढ्यो

पछिल्लो तीन वर्षमा लागुऔषध कसुरसम्बन्धी मुद्दा दर्ता गर्ने क्रम बढेको छ । गत आवमा सोसम्बन्धी ६७० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ४३१ र आव २०८०/८१ मा ३३३ वटा मुद्दा दर्ता भएका परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए ।

गत आवमा फैसला कार्यान्वयन गर्ने क्रममा दुई हजार ४०७ जना पक्राउ परेका थिए । सोबापत रु २२ करोड ६४ लाख ८६ हजार २४० जरिवाना र ५१९ वर्ष आठ महिना नौ दिन कैद असुल भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो ठगी, नक्कली पैसा छपाइ, हुण्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्नलाई कारबाही गरिएको परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए ।

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

विराटनगर। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।

जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु एक अर्ब सात करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ ।

सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४० हजार, औषधोपचार खर्चवापत ६९ जनालाई रु ११ लाख १२ हजार ३०५, सुत्केरी तथा शिशु स्याहार योजना खर्चवापत एक हजार ६५६ जनालाई रु एक करोड २४ लाख २० हजार र विशेष आर्थिक सुविधा (कल्याणकारी) तर्फ तीन जनालाई रु चार लाख ५० हजार वितरण गरिएको कार्यालय प्रमुख रुकमणि ठकुरीले जानकारी दिए ।

प्रमुख ठकुरीका अनुसार घर सापटीतर्फ धितोमा आधारित सापटी १६५ जनालाई रु ४४ करोड ५५ लाख रकम प्रवाह भएको छ ।

सुनसरी र मोरङ कार्य क्षेत्र रहेको सो शाखाले चालु आर्थिक वर्षदेखि खोटाङ र ओखलुढुङ्गा क्षेत्र विस्तार गरी सोलुखुम्बूलाई कर्जा क्षेत्र विस्तारका लागि कार्यालयबाट सिफारिस भएको उनले बताए।

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

झापा। जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका विभिन्न पालिकाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण कार्यलाई तीव्रता दिएको छ।

सोही क्रममा शुक्रबार कनकाई नगरपालिका–३ का थप पाँच परिवारलाई एक कार्यक्रमबीच जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । पुर्जा प्राप्त गर्नेमध्ये एक परिवार भूमिहीन दलित र चार परिवार अव्यवस्थित बसोबासी रहेका छन्।

पाँचै परिवारलाई झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद ढकालले जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरे। यसअघि बिहीबार अर्जुनधारा नगरपालिका–११ का १७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो।

गत असार २९ गते बुद्धशान्ति गाउँपालिकाका पाँच अव्यवस्थित बसोबासी परिवारले लालपुर्जा प्राप्त गरेका थिए । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बन्ने आधार प्राप्त गरेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित लालपुर्जा वितरण अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष शिवराम गेलालका अनुसार सरकारले निर्धारण गरेको ६०० दिनको कार्ययोजनाभित्र जिल्लाका सबै भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्ने लक्ष्यसहित काम भइरहेको छ।

पुर्जा वितरणका क्रममा देखिएका समस्यालाई वडा, नगरपालिका, जिल्ला हुँदै केन्द्रस्तरसम्म समन्वय गरेर समाधान गर्दै तोकिएकै समय सीमाभित्र सबै वास्तविक लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने योजनाअनुसार अभियान अघि बढाइएको उनले बताए। नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा यो प्रक्रिया तीव्रताका साथ अघि बढेको छ।

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर। समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ।

लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषधसम्बन्धी मुद्दामा २० महिला र तीन सय ८९ पुरुष जनालाई पक्राउ गरिएको छ।

“बितेको एक वर्षमा लागुऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएको थियो।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भने,“दिनहुँजसो लागुऔषधसहित मासिन पक्राउ परेकै छन् । हामीले कारबाही र सचेतनासँगै अघि बढाएका छौँ ।”

उनले कञ्चनपुर कैलालीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेको कारबाही सङ्ख्याबाट स्पष्ट भइसकेको बताए। “प्रहरीलाई अहिलेको मुख्य चुनौती भनेकै लागुऔषध नियन्त्रण गर्नुछ ।” रावतले भने, “कारागारमा पनि ३५ प्रतिशतभन्दा लागुऔषध मुद्दाकै व्यक्तिहरु छन्।”

प्रहरी र स्थानीय प्रशासनको पहलले मात्रै लागुऔषध नियन्त्रण सम्भव नहुने भएकाले समाजका सबै नागरिक र स्थानीय सरकार गम्भीर प्रहरीको भनाइ छ।

कञ्चनपुर प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ वर्ष खैरो हेरोइन ६५८ ग्राम, चरेश साढे ६ किलोग्राम, गाँजा ५२६ ग्राम र ट्याबलेट ७२६ वटा बरामद गरेको थियो । जिल्ला प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनका क्रममा जिल्लाभरबाट ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। कैद सजाय भुक्तानका लागि पक्राउ परेका अभियुक्तलाई अदालत हँुदै कारागार चलान गरेको प्रहरीको भनाइ छ।

जरिवानाबाफत असुलउपर गर्न पर्ने रु दुई करोड ४५ लाख असुल गराएको छ।

हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड

काठमाडौँ। जलवायु परिवर्तनबाट उत्पन्न हानि तथा क्षतिका विषयलाई तथ्यमा आधारित र संवेदनशील ढङ्गले सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ।

विपद् पत्रकारिता सञ्जाल डिजेएन तथा प्राक्टिकल एक्सन नेपाल र आइआइइडीको संयोजनमा नेपालमा विपद्ले आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकार अभिमुखीकरणसम्बन्धी एकदिने कार्यशालाका सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन्।

नेपालमा जलवायु परिवर्तन एवं विपद्का कारण समुदायमा भइरहेका आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने सहभागीहरूको भनाइ रहेको छ। विपद् सम्बन्धी समाचार सम्प्रेषण गर्दा क्षति भएका विवरण मात्र नभएर त्यसले समुदायस्तरमा पार्ने प्रभावबारे पनि जानकारी दिन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको सहभागीहरूले औँल्याएका छन्।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (यूएन–एफएओ) को हानि तथा क्षति विज्ञ उज्ज्वल उपाध्यायले विपद् र जलवायु परिवर्तनले पूर्वाधार, कृषि, पशुपालन वा सम्पत्तिमा हुने आर्थिक क्षतिमा मात्र सीमित नभई संस्कृति, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा पहिचानमा पर्ने असरले पनि समाज र समुदायस्तरमा पार्ने दीर्घकालीन असरका बारेमा प्रकाश पारे।

उनले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकमा आर्थिक र गैर–आर्थिक दुवै प्रकारका हानि तथा क्षतिको अभिलेखीकरण, तथ्याङ्क सङ्कलन तथा नीतिगत सम्बोधन आवश्यक रहेको उल्लेख गर्दै विपद्का कारण आर्थिक र गैरआर्थिकबारे क्षति बारे प्रष्ट बुझेर सम्प्रेषण गर्न आवश्यक रहेको बताए।

अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुषालले जलवायु परिवर्तनसम्बन्धी समाचारलाई घटना केन्द्रित मात्र सीमित नगरी समुदायस्तरमा पार्ने दीर्घकालीन सामाजिक, आर्थिक तथा मानवीय प्रभावलाई समेत प्राथमिकताका साथ समेट्न आवश्यक रहेको बताए। डीजेएनकी अध्यक्ष अमिका राजथलाले जलवायु सङ्कटको प्रभाव प्रत्यक्ष रूपमा समुदायमा देखिइरहेको अवस्थामा पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने जोड दिंदै विपद् क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।

जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना

जनकपुरधाम । गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजीकार्य सुरु गरिएको छ ।

भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउन सक्रियता बढाएको हो ।

गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संस्थान हो र गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया संविधानसँग बाझिएको भन्दै अदालतले विसं २०६४ माघ १० गतेको फैसलाबाट रोक लगाएको छ ।

गुठी जग्गा कमाउनेले स्वतः मोहियानी हक नपाउने सर्वोच्च अदालतको फैसलामा उल्लेख छ ।

मठमन्दिर, पोखरी र रैतानी जग्गामा भौतिक संरचना निर्माण गरी बसोबास गरेकालाई जग्गा खाली गर्न गुठी संस्थान जनकपुरधामले सूचना जारी गरेको छ ।

संस्थानका प्रशासन प्रमुख ध्रुव घिमिरेको संयोजकत्वमा गठित कार्यदलले जनकपुरधामस्थित गुठी र गुठी संस्थानका जग्गा सात दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

जनकपुरधाममा गुठी संस्थानका ४९ वटा पोखरी छन् । सात वटा पोखरीको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ भने पाँच वटा पोखरी लोप भइसकेको गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाले जानकारी दिए ।

पोखरी पुरेर बस्ती, होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान र कलेज निर्माण गरिएको उनले बताए । गुठी संस्थानसँग जग्गाको अध्यावधिक अभिलेख नरहेकाले अतिक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन ।

जनकपुरधाममा गुठी संस्थानका करिब २२ देखि २५ बिघा जग्गा अतिक्रमणमा परेको हुनसक्ने अनुमान गरिएको छ । प्रमुख झाका अनुसार रत्न सागरमा करिब नौ बिघा र बेलाकुट्टीमा करिब चार बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको अनुमान छ।

बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ । ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको जानकारी दिए । उनका अनुसार उक्त गुरुयोजना अन्य विद्यमान सहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदैछ ।

उनले भने, “हामी सबै नागरिकको पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दैछौँ । यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जनस्थल बन्नेछन्, तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन ।”

महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुला क्षेत्र सुरक्षित गर्नु हो । अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उनले बताए ।

समितिका कार्यकारी समिति अध्यक्ष डा आनन्द सिंह भाटले बाग्मतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गरिने बताए । उनले भविष्यमा बाग्मती किनारमा हरियाली, खुला खेलमैदान र नागरिकमैत्री वातावरण देख्न पाइने विश्वास व्यक्त गरे ।

बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष (डेब्रिस) हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। हटाइएका डेब्रिस र माटोलाई भू–आकृतिअनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ ।

महर्जनका अनुसार बंशीघाट क्षेत्रमा करिब एक मिटर जमिन पुरी घाँसे मैदान (ग्रासल्यान्ड) निर्माणका लागि तयारी गरिएको छ । त्यहाँ खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण गरिनेछ । आगामी दिनमा फुटबल मैदान, ब्याडमिन्टन कोर्टलगायत खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए ।

विश्व निकेतन विद्यालय नजिक प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्ने योजना रहेको र बंशीघाट क्षेत्रलाई विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको समितिले जनाएको छ ।

बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तारलाई प्राथमिकता दिइने भएको छ । हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र, खुला पार्क तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण गरिने योजना छ ।

शङ्खमूल क्षेत्रमा खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ । गैरीगाउँ र सिनामंगल क्षेत्रमा हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाइनेछ । त्यसपछि बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल, खुला पार्क तथा खेलकुदका संरचना निर्माण गरिने समितिले जनाएको छ ।

थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र करिब ६० मिटर पु-याइनेछ । त्यसपछि करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना रहेको छ । यस क्रममा सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी डिजाइन तयार गरिने समितिले जनाएको छ ।

समितिका अनुसार बल्खुमा रिटेनिङ वाल, नदी किनार व्यवस्थापन र पार्क निर्माणको काम अघि बढाइनेछ । सिनामङ्गल क्षेत्रमा करिडोर सडक, रिभर ट्रेनिङ वाल तथा नदी व्यवस्थापनका आयोजना समानान्तर रूपमा कार्यान्वयन गरिने तयारी छ ।

समितिले गत आर्थिक वर्षमै गुरुयोजनाको प्रस्ताव तयार गरेको थियो। चालु आर्थिक वर्षका लागि नदी व्यवस्थापनका विभिन्न कार्यक्रमअन्तर्गत करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ । सोही बजेटबाट विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ। दशैँअघि ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताए ।

सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय (एमटीएफ) ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना कार्यान्वयन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘भिजन काठमाडौं–२०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवद्र्धनका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।

हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशहरूलाई हर्मुज जलमार्गमा फसेका करिब ६ हजार नाविकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकहरूको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर सङ्कट’ को सामना गरिरहेका टर्कका प्रवक्ता शाबिया मन्तुले बताए।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले जलमार्गमा सयौं जहाजहरूमा कम्तीमा छ हजार नाविकहरू फसेको जनाएको छ । युद्धविरामका बेला पनि उनीहरूको उद्धार गर्न सकिएको थिएन।

“सङ्कटग्रस्त पक्षहरूले फसेका नाविकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न, जहाजबाट ओर्लिन र आवश्यक आपूर्ति पुर्‍याउन तत्काल सुरक्षित मार्ग उपलब्ध गराउनुपर्छ,” मन्तुले जेनेभामा पत्रकार सम्मेलनमा भने।

उनले भने, “गैरसैनिक जहाजहरूमाथि हुने आक्रमण अस्वीकार्य छ र त्यसलाई रोक्नुपर्छ। उनीहरू अन्तर्राष्ट्रिय मानवीय कानुनद्वारा संरक्षित छन्।”

प्रवक्ता मन्तुले थपे, “मानव अधिकार प्रमुख टर्कले राज्यहरू, जहाज मालिक र अन्य सबै सम्बन्धित पक्षहरूलाई ‘फसेका नाविकहरूको संरक्षण सुनिश्चित गर्न’ तत्काल आग्रह गरेका छन्।

यसमा कन्सुलर सहायता, आवश्यक सामग्री उपलब्ध गराउने, उद्धार र स्वदेश फर्काउने कार्य समावेश छ ।”

इरान समर्थित हुथी विद्रोहीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार इरानमाथि नयाँ हवाई हमला गरेको छ। यसले द्वन्द्वलाई थप तीव्र बनाएको छ र कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

युद्धअघि विश्वको इन्धन आवश्यकताको करिब पाँच भागको एक भाग तेल ढुवानी हुने गरेको हर्मुज जलमार्ग यातायातका लागि खुला रहेको अमेरिकी सेनाले बताएको छ। इरानले भने ट्याङ्करहरूलाई सुरक्षित मार्गका लागि भुक्तानी गर्न बाध्य पार्न हर्मुज जलमार्ग हुँदै आवागमन गर्ने ट्याङ्करहरूमाथि आक्रमण जारी राखेको छ।