`

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं, ११ माघ । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह र पानी निकास नहर निर्माण गरिनेछ । आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक नौ सय ३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजारबराबर रहनेछ । प्रतिमेगावाट लागत रु २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भm्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युत्गृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।

आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो । रासस

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

दार्चुला, ११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो ।

छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला संघ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला संघ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।

यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजिअ पौडेलले बताए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ ११ । नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन आज, सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं, ११ माघ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए ।

कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टरार्ईले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

देभर न्यून चापीय प्रणालीको प्रभाव :आज कतै हिमपात, कतै बर्षा र बादल

काठमाडौं, ११ माघ । हाल देभर न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने अनुमान गरिएको छ।

राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किए

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका विभिन्न जिल्लामा पुगेर रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्। शाह शनिबार अपराह्न सुनसरीको इटहरी पुगेका थिए। इटहरीबाट उनी विमानमार्फत काठमाडौं फर्किएको जनाइएको छ।

इटहरीमा केहीबेर उनले आफ्ना समर्थकहरूसँग गाडीभित्रैबाट भेटघाट गरेका थिए। बालेन शाहले गत माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै सोही दिन उनी जनकपुर पुगेका थिए।

माघ ५ गते जनकपुरमा आयोजित सभामा सहभागी भएपछि उनी झापा प्रस्थान गरेका थिए। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका शाह त्यसपछि पूर्वका विभिन्न जिल्लामा पुगेका थिए। उनले इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट तथा संवाद गरेका थिए।

टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै

नयाँदिल्ली। भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भनेको छ, “समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका छन् ।

भारत र श्रीलङ्काको संयुक्त आतिथ्यमा हुने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बङ्गलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिहा गर्न इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज कोलकाता नाइट राइडर्सलाई आदेश दिएपछि नयाँ दिल्ली र ढाकाबीचको विवाद उत्पन्न भएको थियो ।

राष्ट्रवादी भारतीय हिन्दुहरूले मुस्लिम बहुल बङ्गलादेशमा हिन्दु समुदायमाथि कथित आक्रमणको विरोधको आह्वान गरेका थिए ।ढाकाले भारतीय मिडियाले हिंसाको स्तरलाई बढाइचढाइ गरेको दाबी गरेको छ।

विवादपछि बङ्गलादेशले भारतमा आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो र उनीहरूलाई श्रीलङ्कामा खेल्न मिल्ने गरी खेल सार्न आग्रह गरेको थियो, तर आईसीसीले बङ्गलादेशको सुरक्षामा कुनै विश्वसनीय खतरा नभएको भन्दै अपिल अस्वीकार गरेको थियो।

टि–२० विश्वकप छनोटमा बाहिरिएको टि–२० वरियताको अर्को शीर्ष टोली स्कटल्यान्डले बङ्गलादेशको स्थानमा खेल्नका लागि आइसिसीले स्वीकृति दिएपछि स्कटल्याण्डलाई गुमिसकेको अवसर प्राप्त भएको हो ।

सन् २०२४ मा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेश र भारतबीच राजनीतिक सम्बन्धमा तिक्तता आएको छ । हसिना अपदस्थ भएपछि आफ्ना अति निकटस्थ सहयोगीसहित भारतमा शरण लिन पुग्नुभएको थियो ।

आन्दोलनपछि बनेको अन्तरिम सरकारले अपदस्थ हसिनाको स्थानमा नयाँ व्यक्तिको चयन गर्न आन्दोलनपछि पहिलो पटक बङ्गलादेश चुनावको चटारोमा छ ।

अफगानिस्तानमा नेटोको भूमिकाबारे ट्रम्पको टिप्पणी अस्वीकार्य

कोपनहेगन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोका सहयोगीहरू अफगानिस्तानको अग्रमोर्चाबाट टाढा रहेको भनी सार्वजनिक गरेको अमेरिकी भनाइको आलोचना गर्नुभएको छ ।

“डेनिस दिग्गजहरूले यो आरोपले कति पीडा दिन्छ भन्ने कुनै पनि शब्दले वर्णन गर्न नसकिने बताएका छन् र मलाई यो थाहा छ,” उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिले अफगानिस्तानमा सहयोगी सैनिकको प्रतिबद्धतामाथि प्रश्न उठाउनु स्वीकार्न नसकिने बिषय हो।”

‘डेनिस भेट्रान एसोसिएसन’ ले यसअघि ट्रम्पको भनाइलाई आलोचना गर्ने ‘कुनै पनि शब्दले पुग्ने छैन अभाव हुनेछ’।” सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डेनमार्क सधैं अमेरिकाको पक्षमा उभिएको छ र अमेरिकाले आग्रह गर्दा हामी संसारभरका सङ्कटग्रस्त क्षेत्रमा उभिएका छौँ ।”

ट्रम्पको टिप्पणीको विरोधमा डेनमार्कका दिग्गजहरूले जनवरी ३१ मा कोपनहेगनमा मौन जुलुसको आह्वान गरिरहेका छन्। डेनमार्कका प्रधानमन्त्रीले भन्नुभयो, “डेनमार्क नेटो देशमध्ये एक हो जसले प्रतिव्यक्ति सबैभन्दा बढी नोक्सानी बेहोरेको छ ।”

डेनमार्कको जनसंख्या सन् २००३ मा करिब ५४ लाख थियो र डेनिस समाचार एजेन्सी रिजाउका अनुसार पछिल्ला वर्षहरूमा करिब १२ हजार डेनिस सैनिक र नागरिकहरू अफगानिस्तान पठाइएको थियो ।

“प्रिय प्रवुद्ध मित्रहरू, म तपाईंको परिवार र तपाईंका प्रियजनहरूको पक्षमा छु, जो कुनै पनि हिसाबले आलोचनाको योग्य छैनन्,” उहाँले थप्नुभयो ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले नेटोले अफगानिस्तानमा केही सेना पठाएको बताउनुभएको थियो । “उनीहरूले सैनिक पठाए तर तिनीहरू अग्र पङ्तीबाट अलि पछाडि बसे,” उहाँले भन्नुसभयो । यसले अफगानिस्तानमा नेटो मिसनको क्रममा ४५७ सैनिकहरू गुमाएको बेलायतमा आक्रोश निम्त्याएको छ।

द्वन्द्वमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, डेनमार्कलगायतका देशका सैनिकको पनि उल्लेख्य मात्रामा मृत्यु भएको थियो । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले शुक्रबार भन्नुभयो, “म राष्ट्रपति ट्रम्पको टिप्पणीलाई अपमानजनक र स्पष्ट रूपमा चिन्ताजनक ठान्छु । यसले अफगान युद्धमा मारिएका वा घाइते भएकाका प्रियजनहरूलाई मलाई जस्तै चोट पुर्यायो भन्नेमा कुनै शङ्का छैन ।

ह्वाइट हाउसले स्टार्मरको टिप्पणीलाई अस्वीकार गर्दै ट्रम्पको बचाउ गरेको छ।

ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले भन्नुभएको छ, “राष्ट्रपति ट्रम्प बिल्कुल सही हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाले नेटोका लागि गठबन्धनमा रहेका अन्य कुनै पनि देशले गरेको भन्दा बढी गरेको छ ।

ऋषि धमलाको मतदाता रिझाउने नयाँ शैली

आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ ।

विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् । धमलाको प्रचारको सबैभन्दा चर्चित पक्ष मतदातासँगको भावनात्मक मिलन बनेको छ । गाउँका वृद्धवृद्धा र सर्वसाधारणलाई भेट्दा उनी भावुक हुँदै अंकमाल गर्ने र रुने गरेका भिडियोहरू छ्याप्छ्याप्ती देखिएका छन् ।

चुनावी प्रचारका क्रममा उनी कतै खेतमा पुगेर किसानसँगै उखु काटिरहेका देखिन्छन् भने कतै हलुवाई पसलमा बसेर जेरी पकाउन सघाइरहेका भेटिन्छन् । जनताको काममा प्रत्यक्ष सहभागी भएको देखाएर आफूलाई ’भुइँमान्छे’ को रूपमा स्थापित गर्ने उनको प्रयास देखिन्छ ।

मौसम बदली : कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभर नै कायम भएको थियो ।

वर्षा भने आज अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताउनुभयो । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ ।

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।

आज साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ ।

आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तै, आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ ।

निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।

अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ ।

निर्देशक पौडेलले ’पूर्णबहादुरको सारङ्गी’ मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’ को रूपमा स्थापित गरे । उनले एउटा सामान्य गन्धर्व परिवारको कथा, बुबा–छोराको सम्बन्ध र शैक्षिक संघर्षलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरे, जसले देशभरका दर्शकलाई रुवायो र हलसम्म तान्यो ।

यो चलचित्र विजय बरालको करियरको टर्निङ पोइन्ट बन्यो । उनले ‘पूर्णबहादुर’ को केन्द्रीय भूमिका निर्वाह गरेका थिए । अञ्जनाले यस चलचित्रमा विजय बरालको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले निर्देशक पौडेलले त्यही लक्की टिम विजय र अञ्जनालाई लिएर ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेसँगै पुनः एकपटक पर्दामा जादु चलाउने अपेक्षा गरिएको छ ।

हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी। हिमपातका कारण गएरातिदेखि अवरुद्ध रहेका सुदूरपहाडका राजमार्ग सञ्चालनमा आएका छन् ।

बैतडीको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध रहेका थिए ।

राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन सकेको छैन् ।

शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँलगायत हिउँदे बाली सुक्दै गएका थिए ।

हिमपात र वर्षा भएपछि किसान बाली सप्रिने भन्दै किसान खुसी भएका स्थानीय मानबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । यसैबीच, चिसोबाट बच्न आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ। हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो ।

लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए । अहिले पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएका इलका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो ।

हिले लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका लागि छुटेका साना तथा ठूला सवारीसाधान बीचबाटोमै फसेका थिए ।

हिउँमा गाडी फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका थिए । जेसिबीले हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको उहाँको भनाइ छ ।

पातीहाल्नेसहित बागलुङको निसीखोला, ढोरपाटनलगायत माथिल्लो स्थानमा पनि हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली। कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेका बताउनुभयो । उहाँका अनुसार यसरी पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत छन् ।

उहाँका अनुसार यो दर राष्ट्रि«य औसतभन्दा उच्च हो । “छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो”, उहाँले भन्नुभयो, “त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन् ।”

महाशाखाका निर्देशक सिलवालका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर ९१ प्रतिशत छ । समग्रमा उमेर र तह बढ्दै जाँदा विद्यालय÷क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उहाँले बताउनुभयो । यसले कर्णालीको शैक्षिक पहुँच र पूर्वाधारको अवस्था कमजोर छ भन्ने स्पष्ट पार्ने उहाँको भनाइ छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपनिर्देशक एवं तथ्याङ्क अधिकारी डा शरद्कुमार शर्माले राष्ट्रियस्तरमा पाँच दशमवल ११ प्रतिशत बालबालिका कहिल्यै पनि विद्यालय नजाने तथ्याङ्क रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अनुपातका हिसाबले राष्ट्रिय औसतभन्दा तीन गुणा बढी मधेसमा १३ दशमलव ६१ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् ।

त्यस्तै, लुम्बिनीमा तीन दशमलव ५०, कोशीमा दुई दशमलव ८६, कर्णालीमा दुई दशमलव ५६, सुदूरपश्चिममा दुई दशमलव ५१ र बागमतीमा एक दशमलव ६४ प्रतिशत बालबालिका विद्यालय रहेका उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा सबैभन्दा कम एक दशमलव शून्य दुई प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका उपनिर्देशक डा शर्माले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।

निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ९७ मा नाम रहेका सिरहाका चन्दे्रश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ६२ मा नाम रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ३७ मा नाम रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाका बारेमा आयोगमा उजुरी परेको उल्लेख छ ।

समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्णबहादुर राउतले आज जारी गर्नुभएको विज्ञप्तिमा मण्डल आदिवासी तर्फको व्यक्ति भएकाले उहाँको नाम मधेसी समुदायमा राख्न नमिल्ने भनी पिपरा गाउँपालिका–१ महोत्तरीका सन्तोषकुमार साहले उजुरी गरेको जनाइएको छ ।

यस्तै, ललितपुरका लामा अपाङ्गता नभएको व्यक्ति भए पनि अपाङ्ग भनिएको उल्लेख गरिएको भनी तेमाल–२ काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले उजुरी गर्नुभएको हो । धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भनी पाख्रिबास–५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित पक्षले आ–आफ्नो सबुद प्रमाणसाथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको आयोगले जनाएको छ ।आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनले व्यवस्था गरेबमोजिम हुने जनाइएको छ ।

‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौँ’ – विज्ञहरू

काठमाडौँ। सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) ले आज यहाँ आयोजना गरेको ‘मिथ्या सूचनाविरुद्ध काठमाडौँ सम्मेलन’ मा विज्ञहरूले मिथ्या सूचना फैलउन सुरु भएको र त्यसले जनमतलाई पार्न सक्नेतर्फ सचेत रहनुपर्ने औँल्याएका छन् ।

सम्मेलनमा वक्ता तथा अध्येताहरूले मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक रहेको बताएका हुन् ।

मणिपाल एकेडेमी अफ हायर एजुकेसनकी प्रा डा पद्मा रानीले प्रविधि र पहुँचले गर्दा सही सूचना र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको बताउनभुयो । उहाँले सामाजिक सञ्जालका साथै मूलधारका मिडियाबाट समेत मिथ्या सूचना आउने गरेकाले त्यसविरुद्ध सरोकार भएका सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका कार्यवाहक डिन डा वामदेव अधिकारीले सोसल मिडियामार्फत ‘डिजिटल वार’ भइरहेको उल्लेख गर्दै सत्यतथ्य सूचना पहिचान गर्न र आलोचनात्मक ढङ्गले हेर्न जरुरी रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताउनुभयो । उहाँले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको बृहत्तर हित हेर्नुपर्ने धारणा राख्नुभयो ।

सिएमआर–नेपालका अध्यक्ष नवीन खतिवडाले हालको परिवेशमा मिथ्या र सत्य सूचना के हो भन्ने अन्योल भएकाले यस विषयमा हुने छलफल र सम्मेलनले त्यसको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञ डा धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले हरेक क्षेत्रमा चुनौती थपेको बताउनुभयो । उहाँले निर्वाचनका बेला निर्वाचन अभियान र ‘प्रोपागाण्डा’सँगै मिथ्या सूचना आउने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो ।

सञ्चारविज्ञ डा विनोद भट्टराईले मिडियाको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन भएको उल्लेख गर्दै तथ्यमा आधारित जनचाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी सङ्कुचित हुने बताउनुभयो ।

सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यसैगरी जेनजी आन्दोलनमा ‘डिस्कर्ड’को प्रभाव, समाचार कक्षमा ‘एआई’को प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा तथ्य परीक्षण, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेस प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसका असर, नेपालमा ‘फ्याक्ट चेक’को अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरतालगायत विषयमा प्रस्तुतीकरण गरिएका थिए ।

दुईदिने सम्मेलनमा आइतबार मिथ्या सूचनाको प्रतिकार, मिडिया शिक्षाको भूमिका, जलवायुका विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारीलगायत विषयमा छलफल गरिनाका साथै सोसल मिडियामा सामग्री निर्माताबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिने जनाइएको छ ।

अफगानिस्तानमा भारी हिमपात हुँदा ६१ को मृत्यु, ११० घाइते

काबुल। अफगानिस्तानमा बुधबार र बिहीबार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या ११० भन्दा बढी रहेको देखाएको छ ।

“हिमपात र बर्षाका कारण भएको हताहतीको विभिन्न क्षेत्रहरूबाट रिपोर्ट सङ्कलन गर्ने क्रम अझै जारी छ र हताहत हुनेको सङ्ख्या बढ्ने सम्भावना देखिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो तापक्रम र भारी हिमपातको सामना गर्नुपरेको छ, जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरू बीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।

पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान

इस्लामाबाद। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।

“पाकिस्तानको भविष्य युवाहरूसँग जोडिएको उल्लेख गर्दै उहाँले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका रूपमा शिक्षाले युवाहरूमा जिज्ञासा, क्षमता र चरित्रको पोषण गर्ने कुरा सुनिश्चित गर्नु पर्ने अन्तर्राष्ट्रिय शिक्षा दिवस अवसरमा बताउनु भएको जनाइएको छ ।

सरकारको प्रयासलाई प्रष्ट पार्र्दै जर्दारीले उच्च शिक्षामा विस्तारित पहुँच, योग्यतामा आधारित विद्यार्थी सहयोग र प्रविधिमा सुधारिएको पहुँच जस्ता उपायहरूले युवाहरूलाई ज्ञान अर्थव्यवस्थामा अर्थपूर्ण रूपमा संलग्न हुन मद्दत गरिरहेको बताउनु भएको छ ।

“निःशुल्क र अनिवार्य शिक्षाको संवैधानिक ग्यारेन्टीले युवाहरूको मौलिक अधिकारप्रति साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनु भएको छ । द्रुत रूपमा परिवर्तन भइरहेकोे संसारमा, शिक्षाले शैक्षिक उत्कृष्टतालाई व्यावहारिक सीप, डिजिटल साक्षरता र विविधताका मार्ग निर्देश गर्ने उहाँले बताउनु भएको छ ।

उहाँले शैक्षिक पहलहरुले युवाहरूलाई उदीयमान प्रविधिहरूका लागि तयार पारिरहेको उल्लेख गर्दै शिक्षाले रोजगारी, उद्यमशीलता र विश्वव्यापी संलग्नताका लागि मार्गहरू तथ गर्ने कुरामा जोड दिनु भएको छ ।

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल मध्यपहाडको साइकल यात्रामा रहेकी कविता चित्रकारले भन्नुभयो, “क्यान्सरसँग जुध्न हिम्मत बटुलेँ, चुनौती र सङ्घर्षलाई रोजेँ ।”

साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गर्नुभएकी उहाँ आज सुदूरपश्चिम प्रदेशको अछाम पुग्नुभएको छ । साइकलयात्रामा उहाँ एक्ली भने हुनुहुन्न । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकलयात्रीको टोली मध्यपहाडको लामो यात्रामा निस्केको हो ।

गत पुस १७ गते पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साइकलयात्रीको टोली गण्डकी प्रदेशको कास्की, पर्वत, बागलुङ हुँदै केही दिनअघि लुम्बिनी प्रदेश प्रवेश गरेको थियो । क्यान्सर सचेतनाका लागि मध्यपहाडको करिब एक हजार ८०० किलोमिटर लामो साइकलयात्रा तय गरिएको चित्रकारले बताउनुभयो ।

“ठाउँठाउँमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । क्यान्सर रोगबाट प्रभावितलाई प्रेरणा र हौसला दिनु पनि हाम्रो यात्राको अर्को उद्देश्य हो”, उहाँले भन्नुभयो ।

काठमाडौँ निवासी चित्रकारलाई चार वर्षअघि स्तन क्यान्सर भएको थियो । तेस्रो चरणमा पुगेको अवस्थामा क्यान्सर पत्ता लागे पनि नियमित उपचारपछि उहाँले क्यान्सरलाई जित्नुभयो । नेपालमै गरिएको उपचारले आफू निको भएको चित्रकारले सुनाउनुभयो । “अहिले पनि क्यान्सरको नियमित जाँच र परीक्षण गराइरहनुपर्छ”, उहाँले भन्नुभयो, “क्यान्सर लाग्दैमा नआत्तिन सबैलाई आग्रह गर्छु । जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी भएर बाँच्नुपर्छ भन्ने सन्देश दिन यो यात्रामा हिँडेकी छु ।”

सिन्धुपाल्चोकका हर्क लामालाई पनि केही वर्षअघि पिसाब थैलीको क्यान्सर भएको थियो । क्यान्सर विजेता उहाँ हाल क्यान्सर सचेतनासँगै क्यान्सरका बिरामीको उपचार र हेरचाहमा तल्लीन हुनुहुन्छ । क्यान्सर प्रभावितले अस्पतालमा भोगिरहेका समस्या देखेपछि उपचार कोष बनाउने योजनाअनुसार मध्यपहाडी लोकमार्गको साइकलयात्रामा निस्किएको उहाँले बताउनुभयो ।

“समाजमा क्यान्सरलाई जुन खालको भय र त्रासको दृष्टिले हेरिन्छ, त्यसलाई चिर्न पनि यो साइकलयात्राले मद्दत पु¥याउँछ”, लामाले भन्नुभयो, “समयमा निदान र उपचार हुन सकेमा क्यान्सर निको हुन्छ र क्यान्सर विजेताले पनि अरू सरह जीवन बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ ।”

साइकलयात्रामा साइक्लिङ खेलाडी उषा खनाल, धुलिखेल अस्पतालका डा विकास पराजुलीलगायत सहभागी छन् । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा साइकलयात्रा तय गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमन ताम्राकारले बताउनुभयो । आज अछाम हुँदै डोटी पुग्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

२८ दिनको साइकलयात्राले २४ दिन पार गरिसकेको र बैतडीको झुलाघाट पुगेर यात्रा टुङ्गिने प्राडा ताम्राकारले बताउनुभयो । “यस बीचमा ११ जिल्लाका १३ स्थानमा क्यान्सर सेचतनाका कार्यक्रम गरेका छौँ, करिब एक हजार ७०० नागरिक यसबाट लाभान्वित हुनुभएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्थासँग समन्वय गरिरहेका छौँ ।”

साइकलयात्राका क्रममा पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सरलगायत विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको हो । यात्राका माध्यमबाट धुलिखेल अस्पतालमा क्यान्सर उपचार कोष स्थापना गरिने र सङ्कलन भएको रकममा अस्पतालले थप ५० प्रतिशत रकम उपलब्ध गराउने प्राडा ताम्राकारले बताउनुभयो ।

उहाँका अनुसार क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत कोषका लागि सहयोग सङ्कलन भइरहेकामा हालसम्म रु ३० लाखभन्दा बढी सङ्कलन भइसकेको छ । धुलिखेल अस्पतालमा क्यान्सरको उपचारका लागि आउने विपन्न परिवारका सदस्यलाई कोषबाट सहयोग प्रदान हुने प्राडा ताम्राकारले बताउनुभयो ।

साइकलयात्राका क्रममा सङ्कलन भएको रकम आगामी फेबु्रअरी ४ मा हुने विश्व क्यान्सर दिवसका दिन अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको साइकलयात्रालाई जोडेर क्यान्सर विजेताको जीवन–कथालाई वृत्तचित्रमा पनि उतारिने प्राडा ताम्राकारले जानकारी दिनुभयो ।

उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

काठमाडौँ, १० माघः निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत प्रकाशन गरेको उहाँले बताउनुभयो ।

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ ।उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’ मा हेर्न सकिने आयोगले जनाएको छ ।

मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिए: राजु पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए ।शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए ।

उनले भने, ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए, तर जब मुलुकको परिस्थिति बिग्रिदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो । मैले मैदानबाट भाग्नु भन्दा परिस्थितिको सामना गर्न तयार भए । जुन मेरो पहिचान थियो इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन् ।’

यस्तै, उनले जनताले देशमा इमान्दारपूर्वक नियम र कानूनभित्र बसेर राज्यको लागि काम गर्ने र चिल्ला कुरा गरेर जनतालाई ढाँट्नेहरुबीच भिन्नता छुट्याउने बेला आएको बताए ।
उनले भने, ‘देशमा जसले इमान्दारपूर्वक काम गर्न चाहन्छ, नियम, कानूनभित्र बसेर राज्यको लागि काम गर्न चाहन्छ त्यो मान्छे राम्रो हो की चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरु राम्रो हो ? यस्तो कुरा जनताको बुझ्न जरुरी छ । देशमा लामो समयदेखि कुशासन भयो भनेर जेनजीहरुले आन्दोलन गरेर केही घण्टामै यहाँका शासकहरु भाग्न बाध्य भएका थिए । त्यो दिन हेक्का राख्न जरुरी छ ।

ती जेनजस्हरुको रगतले तीनलाई कहिले शान्ति दिने छैन् ।’कुशासन र लामो समयदेखि जनतालाई झुक्काउने, ती पुराना र स्थापित भनिएका राजनीतिक दलहरुलाई जनताले मूल्यांकन गर्ने बेला आएको पनि उनको भनाई छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

किएभ, माघ १० गते । युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

“सन् २०२७ मा हामी औपचारिक रूपमा युनियनको सदस्य नभए पनि ईयू ऊर्जा बजारमा पूर्ण रूपमा एकीकृत हुने छौँ”, युरोपेली र यूरो-एटलान्टिक एकीकरणको पुुष्टि गर्दै तारास काचकाले भन्नु भयो । युक्रेनको संसदले हाल एकीकरणको अन्तिम चरणमा विधेयक तयार गरिरहेको उल्लेख गर्दै अर्को महिना मतदान हुने अपेक्षा गरिएको काचकाले बताउनु भयो ।

सन् २०२५ जुलाई मा, युक्रेनी सांसदले युक्रेन र ईयूबिचको बजारको युग्मन, बिजुली व्यापारका लागि सरलीकृत सर्त, र ईयू ऊर्जा भण्डारमा पहुँच, अन्य उपायबिचको एक आधारको रूपमा मस्यौदा कानून बनाएका छन् ।

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौँ, माघ १० गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।

बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो । “हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उहाँले भन्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो । कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “बैंकको पुँजीको आधार सुदृढ बनाउन तीन खर्ब बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएता पनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।”

कार्यक्रममा दिइएको जानकारी अनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पुँजी १५ अर्ब ६३ करोड भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब सङ्कलन तथा १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।

कुल आचार्यले प्रधानमन्त्रीलाई पठाए ज्ञापन : नागरिकता कार्यान्वयन तथा कार्ड वितरण प्रक्रिया सहज बनाउन माग

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए आइसीसी)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताको कार्यान्वयन तथा एनआरएन कार्ड वितरण प्रक्रिया सहज बनाउन माग गर्दै प्रधानमंत्री सुशीला कार्कीलाई एक ज्ञापनपत्र पठाएका छन्।

लन्डनस्थित नेपाली दूतावासमार्फत पठाइएको उक्त ज्ञापनपत्रमा आचार्यले नेपालको संविधान २०७२ ले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुको योगदानको कदर गर्दै गैर आवासीय नेपाली (एनआरएन)नागरिकताको व्यवस्था गरेको तर एनआरएन नागरिकता वितरण भइसकेर झन्डै अढाई वर्ष हुँदा पनि कानून बन्न नसकेकाले उक्त नागरिकताको अझै कार्यान्वयन हुन नसकेको बताए ।

‘मालपोतले पनि नचिन्ने, अध्यागमनले पनि नचिन्ने उक्त नागरिकता कागजको खोस्टो बन्न पुगेको छ। यसबाट नेपालले प्रति दिन ठूलो नोक्सानी व्यहोर्नु परीरहेको छ,’ उनले भने।

उनले नेपाल सरकारले प्रदान गर्दै आएको गैर आवासीय नेपाली परिचयपत्र (एनआरएन कार्ड)को वितरण प्रक्रियालाई सहज गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयको हालैको निर्देशन पछि उक्त प्रक्रिया थप झन्झटिलो बनेको पनि उल्लेख गरेका छन् ।

‘विदेशस्थित नेपाली दूतावासहरुबाट एनआरएन कार्ड बनाउन आवेदन दिंदा नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने लगायतका वाध्यकारी प्रावधानहरुले उक्त प्रक्रिया विगतको तुलनामा निकै जटिल बन्न पुगेको छ।

विगतमा मैले सजीलैसंग एनआरएन कार्ड लिएको र २८ असोज २०८० मा एनआरएन नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति भएकाले पनि यो झन्झटिलो प्रक्रिया अन्त्य गरी सहज बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनु हुन विनम्र अनुरोध गर्दछु। मुलुक निर्वाचनमा होमिएको बेला एनआरएन नागरिकता र एनआरएन कार्ड प्रदान गर्ने व्यवस्था सहज बनाइ दिनु भएमा यसले संसारभरि रहेका गैर आवासीय नेपाली समुदायमा अत्यन्तै सकारात्मक संदेश दिने व्यहोरा अनुरोध गर्दछु,’ आचार्यले ज्ञापनपत्रमा भनेका छन्।

‘हाम्रा छिमेकी अन्य दक्षिण एसियाली मुलुकहरुले आफ्नो डायस्पोरालाई एउटा श्रोतको रुपमा हेर्ने गरेका छन्। ती मुलुकहरुको डायस्पोरासम्बन्धी नीतिको पनि अध्ययन गरी नेपालको नीति परिमार्जन गर्न आवश्यक भै सकेको छ।

त्यसैले महाभूकम्प जाँदा होस् वा कोभिड महामारीको बेला मातृभूमिको सेवामा सधैं तत्पर लाखौं गैर आवासीय नेपाली समुदायका लागि संविधान प्रदत्त गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको शिघ्र कार्यान्वयन तथा एनआरएन कार्ड बनाउने प्रक्रिया सहज बनाएर नेपालसंग जोडिने अवसर दिनु हुन पनि आग्रह गर्दछु,’ परराष्ट्र मंत्री बालानन्द शर्मालाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले उक्त ज्ञापनपत्र जति सक्दो चाडो नेपाल सरकार समक्ष पठाउने बताए। उनले नेपाल र नेपाली जनताको हितमा एनआरएन समुदायले पुराउंदै आएको सहयोगका लागि धन्यवाद पनि दिए।

काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निस्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताए ।

उनले भने, ‘मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ । म पाँच वर्षको लागि काङ्ग्रेसबाट भर्खरै निकालिएको थिएँ । विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनु भएको भए आज म पार्टीबाट निस्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थें । म आफ्नो लडाई लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे हो । त्यसकारण आफ्नो लडाईं लडेको हो । सजिलो बाटो रोजेर सजिलो ठाँउमा बसेको होइन् ।’

यस्तै, उनले काङ्ग्रेस पार्टीलाई मधेशले नै बनाएको भन्दै यसपाली आँट र जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरेको बताए ।राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुदैँन् त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्ने भन्दै एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेभने बल्ल नेपालको राष्ट्रिय नेता हुने उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन् । त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्छ । काङ्ग्रेस पार्टीलाई मधेशले नै बनाएको हो त्यसकारण यसपाली मैले आँट गरेर, जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरे । एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेभने बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु । त्यसको लागि म जाने हो, मधेश जाने हो, त्यहीको साथीहरुसँग जाने हो, भिज्ने हो ।’

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौँ। प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ ।

विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ ।

पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले प्रकृति र वन्यजन्तु संरक्षणमा प्राप्त सफलतालाई विश्व जगत्ले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएको छ ।

अहिले १२ वटा राष्ट्रिय निकुञ्ज, एक वटा वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा नेपाली सेनाका आठ वटा गण, सात वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयका गरी करिब आठ हजारभन्दा बढी फौज परिचालित हुँदै आएका छन् ।

यसअघि विसं २०१८ मा नेपाली सेनाबाट गैँडा गस्ती कार्य सुरु गरिएको थियो । त्यसो त प्रकृति संरक्षणमा नेपालको औपचारिक प्रयास सन् १८६९ मा श्री ५ सुरेन्द्रको समयमा वन सम्पदा संरक्षणका रूपमा सुरु भएको थियो ।

जुन कुरा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भेटिएको शिलालेखमा समेत उल्लेख छ । यस आधारमा नेपालको प्रकृति संरक्षणको प्रयास अमेरिकामा रहेको विश्वकै सबैभन्दा पुरानो यल्लोस्टोन नेशनल पार्क भन्दा तीन वर्ष अगाडि भएको देखिन्छ । सो पार्कको स्थापना सन् १८७२ मा भएको थियो ।

नेपालको संविधान २०७२ को धारा २६७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र विसं २०६७ असार १६ को मन्त्रिपरिषद्को बैठकबाट पारित भएको संशोधित ‘स्थायी कार्य सञ्चालन विधि–२०६७’ अनुसार नेपाली सेना प्रकृति संरक्षणमा खटिँदै आएको छ ।

त्यसक्रममा संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरू, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षामा सेना प्रत्यक्ष रूपमा संलग्न छ ।

नेपालको कूल क्षेत्रफलको करिब २३ प्रतिशत भू–भाग राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा शिकार आरक्षलगायत संरक्षण क्षेत्रले ओगटेको छ । चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपरी– नागार्जन, सगरपामाथा, बाँके, मकालु बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो निकुञ्ज तथा कोशीटप्पु बन्यजन्तु आरण र ढोरपाटन शिकार आरक्षसहितले हिमाल, पहाड र तराईका ३३ जिल्ला समेटिएको छ ।

विश्वमै दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि समग्र संरक्षण क्षेत्रकै नमूना हुन् । नियमित गस्तीका साथै जिम्मेवारी क्षेत्रमा सुरक्षा पहुँच बढाउन तथा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न ‘अपरेसन संरक्षण’ सञ्चालन गरिएको छ ।

फलस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सि¬ङ्गे गैँडा हाल ७५२ वटा भएको तथ्याङ्क रहेको छ ।

जटिल भौगोलिक बनावट, ४२ डिग्री सेल्सियसदेखि माइनस २० डिग्री सेल्सियससम्मको मौसमी प्रतिकूलता एवं विषम् परिस्थितिका बाबजुत पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्दै आइरहेको छ । प्राकृतिक स्रोत, वनस्पति तथा वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय र भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासमेत नेपाली सेनाले गर्दैआएको छ । प्रकृति संरक्षणमा परिचालित हुँदै गर्दा नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन् ।

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ । संरक्षित क्षेत्रमा प्रविधिको प्रयोगलाई बढी प्रभावकारी र सुरक्षित बनाउन सरोकार निकायसँगको सहकार्यमा सेनाले वास्तविक समय ‘स्मार्ट’ गस्ती र ‘स्मार्ट आई’को आफ्नै मौलिक प्रविधिको विकास गरेको छ ।

जलवायु परिवर्तन, जैविक विविधता तथा पर्यापर्यटनको दृष्टिले नेपालका हिमाली क्षेत्र अतिनै संवेदनशील क्षेत्रमा रहेकाले यसको सौन्दर्यतालाई कायम राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सेनाकै नेतृत्वमा केही वर्षअघिदेखि सफा हिमाल अभियान सञ्चालन गरिएको छ ।

सेनासहितका सबै सरोकारवाला निकायसँगको समन्वयमा सन् २०१९ मा सुरु भएको अभियानबाट सेनाले सन् २०२४ सम्ममा हिमालबाट ११९ टनभन्दा बढी फोहोर सङ्कलन गरिसकेको छ ।

त्यसक्रममा १२ वटा शव र चार वटा अस्थिपञ्जर व्यवस्थापन कार्य गरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी पुरन घलेले बताउनुभयो । सेनाले यस अवधिमा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि, अमदब्लम, मनास्लु, कञ्चनजङ्गा, अन्नपूर्ण, बरुञ्चे र नुप्से हिमालमा उक्त अभियान सञ्चालन गरेको थियो । त्यसले जिम्मेवार पर्वतारोहणको विश्वव्यपापी सन्देश प्रवाह गर्न सफल भएको छ ।

प्रकृतिको अनुपम बरदानमध्ये नेपाललाई सगरमाथाको उचाइले झन समृद्ध बनाएको छ । प्रकृति तथा पर्यावरण संरक्षणमा राष्ट्रलाई योगदान गर्ने नीतिअनुरूप सफा हिमाल अभियान सेनाको प्राथमिकतामा परेको छ ।

उहाँका अनुसार प्रकृति संरक्षण कार्यमा परिचालित भएका फौजको अपरेशनल क्षमता अभिवृद्धि तथा देशका सम्पूर्ण संरक्षणकर्मी साझेदारको साझा शिक्षालयको रूपमा स्थापित गर्ने उद्देश्यले विसं २०७१ असार २८ गते चितवन राष्ट्रिय निकुञ्जको कसरामा श्री प्रकृति संरक्षण शिक्षालयको स्थापना गरिएको छ ।

उक्त शिक्षालयमा सेनाको संरक्षणमा खटिएको फौजको अतिरिक्त निजामतीतर्फका गेम स्काउट तालिमसमेत सञ्चालन गरिएको छ । हालसम्म सैनिकतर्फ दुई हजार ३०४ जना र गैह्र सैनिकतर्फ २३६ जनाले प्रकृति संरक्षणसम्बन्धी तालिम प्राप्त गरिसकेका छन् ।

गैरसैनिकतर्फ निकट भविष्यमा रेन्जर तहसम्मको तालिमसमेत सञ्चालन गर्ने सेनाको योजना छ । प्रकृति र पर्यावरण संरक्षणमा नेपाली सेनाकै पहल र क्रियाशीलताका कारण नेपाल सन् २०११, १३, १५, १६, १८ र १९ मा शून्य शिकारी वर्षको रूपमा मनाउन सफल भयो । त्यसबापत ‘अब्राहम संरक्षण पुरस्कार’बाट नेपाली सेनाका विभिन्न छ वटा युनिटहरू सम्मानित भए । बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भयो ।

सेनाको अगुवाइमा ‘वन र वन्यजन्तु सबैका लागि’, ‘प्रकृति र वन्यजन्तु भावी पुस्ताका लागि’ जस्ता नारा दिइएर संरक्षण अभियान तीव्र पारिएको छ ।

प्रकृति संरक्षणजस्तो पवित्र कार्यको आधा शताब्दी पार गर्दै गर्दा नेपाली सेनाले नेपाल सरकार तथा अन्य साझेदार निकाय एवं जनसमुदायसँग एकीकृत ढङ्गबाट कार्य गर्दै आएको छ ।

फलस्वरूप लोपोन्मुख वन्यजन्तु, वन पैदावार तथा हिमाली क्षेत्रको संरक्षणमार्फत विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुगेको छ । यसबाट नेपालको दिगो पर्यापर्यटनमा समेत टेवा पुग्न गएको छ ।

प्रकृति संरक्षण कार्यमा नेपाली सेनाको क्षमता र योगदान क्रमिक रूपमा विस्तार हुँदै गएको नेपाली सेनाले जनाएको छ । हरियाली प्रवद्र्धनअन्तर्गत ‘फलफूल रोप्न बढाऊ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरियो ।

त्यस क्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा र तेजपातजस्ता बोटबिरुवा रोपियो । वातावरणलाई सन्तुलित तुल्याउन सेनाले ‘एक सैनिक, एक फलफूल बिरुवा’ अभियानसमेत चलाउँदै आएको छ ।

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ ।

गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ ।

मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरेको छ । आवेदकहरूलाई सहज होस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने उनी बताउछन् ।

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो ।

पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।

विरासत, विवेक र विकासको सङ्गम : किरण किशोर घिमिरे

दाङको माटोमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको बौद्धिक अनुभव बटुल्नुभएका किरण किशोर घिमिरे नेपाली कांग्रेसको राजनीतिमा एउटा निष्ठावान् र शालीन नाम हो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मैदानमा उत्रिँदै गर्दा उनले केवल एउटा राजनीतिक पदको प्रतिनिधित्व मात्रै गरेका छैनन्, बरु एउटा ऐतिहासिक विरासत र समृद्धिको सपनालाई पनि सँगै बोकेका छन् ।

उनको राजनीतिक यात्रा कुनै संयोग मात्र होइन, बरु एउटा बलियो पारिवारिक पृष्ठभूमिबाट सिञ्चित सङ्कल्प हो । ऐतिहासिक ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी, पिता स्व. ऋषिराम शर्मा घिमिरे र निरङ्कुश पञ्चायत विरुद्धको लडाइँमा होमिएका दाजु कृष्ण किशोर घिमिरेको पदचाप पछ्याउँदै उनी वि.सं. २०३६ सालदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको संवाहक बने । वि.सं. २०४६ को जनआन्दोलनपश्चात् मजदुरहरूको हकहितका लागि ट्रेड युनियन आन्दोलनमार्फत उनले देखाएको सक्रियता आज पनि उत्तिकै सान्दर्भिक छ।

किरण किशोर घिमिरे राजनीतिज्ञ मात्र हैनन्, एक कुशल प्रशासक र सफल उद्यमी पनि हुन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर र द नेदरल्याण्ड्सको मास्ट्रिच स्कुल अफ म्यानेजमेन्टबाट पोस्ट ग्र्याजुएट डिप्लोमा गरेका छन् । जनकपुर रेलवेको सिइओ र नेपाल यातायात संस्थानको प्रबन्धक लगायत झन्डै १८ वर्ष लामो सरकारी सेवाको उनको अनुभवले उनको प्रशासनिक क्षमतालाई प्रमाणित गरिसकेको छ ।

समाजसेवा र उद्यमशीलताको सेतु उनले समाजलाई केबल नारा मात्र दिएका छैनन्, बरु कर्ममार्फत परिवर्तनको अनुभूति दिलाएका छन् । दाङमा स्वास्थ्य र शिक्षाको ज्योति छर्न दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापना होस् वा वन विकास र उद्योगमार्फत स्थानीयलाई रोजगारी दिने पहल, उनको कर्मशीलता लोभलाग्दो छ । करिब २५ हजार नेपालीलाई सुरक्षित रोजगारीको मार्ग प्रशस्त गरिदिने उनको उद्यमी छविले आर्थिक समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेको छ ।

बहुभाषिक दक्खल, अन्तर्राष्ट्रिय भ्रमणको अनुभव र ग्रास रुटको राजनीतिक बुझाइ भएका घिमिरे नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।

दाङ क्षेत्र नं. २ का मतदाताका लागि उनी एक यस्ता उम्मेदवार हुन्, जसको लागि राजनीति सत्ताको सिँढी होइन, सेवा र विकासको सार्थक माध्यम हो ।

निष्कलङ्क छवि, उच्च शैक्षिक पृष्ठभूमि र स्पष्ट विकासका एजेन्डा बोकेका किरण किशोर घिमिरे फागुन २१ गतेको निर्वाचनमा परिवर्तन र समृद्धिको पर्यायका रूपमा खडा भएका छन् । दाङ – २ का मतदाताले उनको एजेन्डालाई स्पष्ट समर्थन गर्ने उनले विश्वास लिएका छन्।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ७०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ६०, कायम भएको छ ।

Laxmi sunrise bank
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८५, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १२०, स्ट्रबेरी प्रतिकिलो रु ५५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।

निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताए । रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक भएको भए पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको पनि प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैंक खातामार्फत गर्न र उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ ।

राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ ।

कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् ।

सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो ।

सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

जुम्लामा चालु आवको पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव) को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशत मात्र पुँजीगत बजेटको खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको छ । कुल बजेटको पुँजीगततर्फ ९ दशमलव ४ प्रतिशत मात्र बजेटको खर्च भएको बताए ।

चालु आव २०८२–८३ का लागि पुँजीगततर्फ एक अर्ब ११ करोड ८७ लाख १३ हजारको बजेट विनियोजन भएको छ । चालु आवको पाँच महिनासम्म पुँजीगततर्फ १० करोड ११ लाख १५ अर्थात् ९ दशमलव ४ प्रतिशत मात्र विकासे बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलले जानकारी दिए ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय जुम्लाको कुल बजेटको पुँजीगततर्फ ९ करोड ११ लाख ९४३ रुपैयाँ खर्च भएको छ । उक्त कार्यालयको समग्र वित्तीय प्रगति १९ दशमलव ३३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाले जनाएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको कर्णाली प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको मातहतभित्र १२ वटा कार्यालय रहेका छन् ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला। हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो ।

निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।

हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू–भाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामकरण गरेको छ ।

मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गरिएको हो । भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार औपचारिक रूपमा उक्त चोकको नामकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखेको हो । सोही स्थानमा विपिनको सालिक निर्माण गर्ने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार सालिक निर्माणका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।

“कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी सालिक बनाउने निर्णय भएको छ ।” अध्यक्ष धामीले भने, “सोहीअनुरूप विपिन चोक नामकरण गरिएको छ, केही समयपछि सालिक स्थापना कार्यलाई पूर्णता दिइन्छ ।” यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका जनाएका थिए । विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यको उपस्थिति रहेको थियो । भीमदत्त नगर कार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो ।

गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी। नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर सर्वेक्षण गरेर फर्किएको हो ।

सञ्चार र विद्युत् सुविधा विस्तारका लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ लगायतको टोलीले गत महिना काठमाडौँमा सूचना तथा सञ्चार र ऊर्र्जा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

वर्षेनी हजारौँ पर्यटक पुग्ने अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत्को अभावका कारण भोग्नुपरेको समस्यालाई अन्त्य गर्दैै विद्युत्् र फोर जी नेटवर्कसहितको सञ्चार सुविधा विस्तारका लागि पहल गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

गत शरदयाममा करिब २० हजार जनाले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । सञ्चार सुविधा नहुँदा अलपत्र परेका पर्यटकलाई उद्धारसमेत कठिनाइ भइरहेकाले पहिलो प्राथमिकता सञ्चार र विद्युत्् रहेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ ।

गाउँपालिकाले विद्युत्् र सञ्चारको सुविधा विस्तार भएमा पर्यटकलाई बस्न थप सहज हुने संरचना बनाउनसमेत पहल गर्ने जनाएको छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटक तथा आरोहीलाई समस्या हुने गरेको छ ।

हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार विच्छेदको अवस्थामा छ । नेपाल टेलिकमका इन्जिनियर जीवराज उपाध्यायले सर्वेसहितको प्रारम्भिक विवरण आएपछि थप योजना बनाउने बताउनुभयो ।

सन् १९५० जुन ३ मा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुङ्गा र आधार शिविरमा सञ्चारविहीन हुँदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ ।

असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइँचो लाग्छ ।

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा। सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १३९ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ८५ जना स्वतन्त्र छन् भने ५४ जना मात्र दलका उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवकाअनुसार सिरहा–१ मा दलका १४ र स्वतन्त्र १८, सिरहा–२ मा दलका १४ र स्वतन्त्र १५, सिरहा–३ मा दलका १२ र स्वतन्त्र २९ तथा सिरहा–४ मा दलका १४ र स्वतन्त्र २३ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता गरेका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । उम्मेदवारी दर्ता गराउनेमध्ये महिलाको सङ्ख्या आठ जना मात्र छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा अधिकांश ठूला दलका असन्तुष्ट कार्यकर्ता र समर्थकहरू छन् । निर्वाचनको समयमा सवारी साधन प्रयोग गर्न पाइने सुविधा र मतगणनाको समयमा आफ्ना प्रतिनिधि पठाउन सहज हुने भएकाले पनि धेरैले स्वतन्त्र रूपमा नाम दर्ता गराएको अनुमान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले जानकारी दिनुभयो ।