`

हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड

काठमाडौँ। जलवायु परिवर्तनबाट उत्पन्न हानि तथा क्षतिका विषयलाई तथ्यमा आधारित र संवेदनशील ढङ्गले सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ।

विपद् पत्रकारिता सञ्जाल डिजेएन तथा प्राक्टिकल एक्सन नेपाल र आइआइइडीको संयोजनमा नेपालमा विपद्ले आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकार अभिमुखीकरणसम्बन्धी एकदिने कार्यशालाका सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन्।

नेपालमा जलवायु परिवर्तन एवं विपद्का कारण समुदायमा भइरहेका आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने सहभागीहरूको भनाइ रहेको छ। विपद् सम्बन्धी समाचार सम्प्रेषण गर्दा क्षति भएका विवरण मात्र नभएर त्यसले समुदायस्तरमा पार्ने प्रभावबारे पनि जानकारी दिन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको सहभागीहरूले औँल्याएका छन्।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (यूएन–एफएओ) को हानि तथा क्षति विज्ञ उज्ज्वल उपाध्यायले विपद् र जलवायु परिवर्तनले पूर्वाधार, कृषि, पशुपालन वा सम्पत्तिमा हुने आर्थिक क्षतिमा मात्र सीमित नभई संस्कृति, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा पहिचानमा पर्ने असरले पनि समाज र समुदायस्तरमा पार्ने दीर्घकालीन असरका बारेमा प्रकाश पारे।

उनले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकमा आर्थिक र गैर–आर्थिक दुवै प्रकारका हानि तथा क्षतिको अभिलेखीकरण, तथ्याङ्क सङ्कलन तथा नीतिगत सम्बोधन आवश्यक रहेको उल्लेख गर्दै विपद्का कारण आर्थिक र गैरआर्थिकबारे क्षति बारे प्रष्ट बुझेर सम्प्रेषण गर्न आवश्यक रहेको बताए।

अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुषालले जलवायु परिवर्तनसम्बन्धी समाचारलाई घटना केन्द्रित मात्र सीमित नगरी समुदायस्तरमा पार्ने दीर्घकालीन सामाजिक, आर्थिक तथा मानवीय प्रभावलाई समेत प्राथमिकताका साथ समेट्न आवश्यक रहेको बताए। डीजेएनकी अध्यक्ष अमिका राजथलाले जलवायु सङ्कटको प्रभाव प्रत्यक्ष रूपमा समुदायमा देखिइरहेको अवस्थामा पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने जोड दिंदै विपद् क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।

जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना

जनकपुरधाम । गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजीकार्य सुरु गरिएको छ ।

भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउन सक्रियता बढाएको हो ।

गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संस्थान हो र गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया संविधानसँग बाझिएको भन्दै अदालतले विसं २०६४ माघ १० गतेको फैसलाबाट रोक लगाएको छ ।

गुठी जग्गा कमाउनेले स्वतः मोहियानी हक नपाउने सर्वोच्च अदालतको फैसलामा उल्लेख छ ।

मठमन्दिर, पोखरी र रैतानी जग्गामा भौतिक संरचना निर्माण गरी बसोबास गरेकालाई जग्गा खाली गर्न गुठी संस्थान जनकपुरधामले सूचना जारी गरेको छ ।

संस्थानका प्रशासन प्रमुख ध्रुव घिमिरेको संयोजकत्वमा गठित कार्यदलले जनकपुरधामस्थित गुठी र गुठी संस्थानका जग्गा सात दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

जनकपुरधाममा गुठी संस्थानका ४९ वटा पोखरी छन् । सात वटा पोखरीको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ भने पाँच वटा पोखरी लोप भइसकेको गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाले जानकारी दिए ।

पोखरी पुरेर बस्ती, होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान र कलेज निर्माण गरिएको उनले बताए । गुठी संस्थानसँग जग्गाको अध्यावधिक अभिलेख नरहेकाले अतिक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन ।

जनकपुरधाममा गुठी संस्थानका करिब २२ देखि २५ बिघा जग्गा अतिक्रमणमा परेको हुनसक्ने अनुमान गरिएको छ । प्रमुख झाका अनुसार रत्न सागरमा करिब नौ बिघा र बेलाकुट्टीमा करिब चार बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको अनुमान छ।

बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ । ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको जानकारी दिए । उनका अनुसार उक्त गुरुयोजना अन्य विद्यमान सहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदैछ ।

उनले भने, “हामी सबै नागरिकको पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दैछौँ । यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जनस्थल बन्नेछन्, तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन ।”

महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुला क्षेत्र सुरक्षित गर्नु हो । अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उनले बताए ।

समितिका कार्यकारी समिति अध्यक्ष डा आनन्द सिंह भाटले बाग्मतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गरिने बताए । उनले भविष्यमा बाग्मती किनारमा हरियाली, खुला खेलमैदान र नागरिकमैत्री वातावरण देख्न पाइने विश्वास व्यक्त गरे ।

बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष (डेब्रिस) हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। हटाइएका डेब्रिस र माटोलाई भू–आकृतिअनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ ।

महर्जनका अनुसार बंशीघाट क्षेत्रमा करिब एक मिटर जमिन पुरी घाँसे मैदान (ग्रासल्यान्ड) निर्माणका लागि तयारी गरिएको छ । त्यहाँ खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण गरिनेछ । आगामी दिनमा फुटबल मैदान, ब्याडमिन्टन कोर्टलगायत खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए ।

विश्व निकेतन विद्यालय नजिक प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्ने योजना रहेको र बंशीघाट क्षेत्रलाई विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको समितिले जनाएको छ ।

बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तारलाई प्राथमिकता दिइने भएको छ । हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र, खुला पार्क तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण गरिने योजना छ ।

शङ्खमूल क्षेत्रमा खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ । गैरीगाउँ र सिनामंगल क्षेत्रमा हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाइनेछ । त्यसपछि बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल, खुला पार्क तथा खेलकुदका संरचना निर्माण गरिने समितिले जनाएको छ ।

थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र करिब ६० मिटर पु-याइनेछ । त्यसपछि करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना रहेको छ । यस क्रममा सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी डिजाइन तयार गरिने समितिले जनाएको छ ।

समितिका अनुसार बल्खुमा रिटेनिङ वाल, नदी किनार व्यवस्थापन र पार्क निर्माणको काम अघि बढाइनेछ । सिनामङ्गल क्षेत्रमा करिडोर सडक, रिभर ट्रेनिङ वाल तथा नदी व्यवस्थापनका आयोजना समानान्तर रूपमा कार्यान्वयन गरिने तयारी छ ।

समितिले गत आर्थिक वर्षमै गुरुयोजनाको प्रस्ताव तयार गरेको थियो। चालु आर्थिक वर्षका लागि नदी व्यवस्थापनका विभिन्न कार्यक्रमअन्तर्गत करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ । सोही बजेटबाट विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ। दशैँअघि ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताए ।

सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय (एमटीएफ) ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना कार्यान्वयन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘भिजन काठमाडौं–२०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवद्र्धनका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।

हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशहरूलाई हर्मुज जलमार्गमा फसेका करिब ६ हजार नाविकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकहरूको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर सङ्कट’ को सामना गरिरहेका टर्कका प्रवक्ता शाबिया मन्तुले बताए।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले जलमार्गमा सयौं जहाजहरूमा कम्तीमा छ हजार नाविकहरू फसेको जनाएको छ । युद्धविरामका बेला पनि उनीहरूको उद्धार गर्न सकिएको थिएन।

“सङ्कटग्रस्त पक्षहरूले फसेका नाविकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न, जहाजबाट ओर्लिन र आवश्यक आपूर्ति पुर्‍याउन तत्काल सुरक्षित मार्ग उपलब्ध गराउनुपर्छ,” मन्तुले जेनेभामा पत्रकार सम्मेलनमा भने।

उनले भने, “गैरसैनिक जहाजहरूमाथि हुने आक्रमण अस्वीकार्य छ र त्यसलाई रोक्नुपर्छ। उनीहरू अन्तर्राष्ट्रिय मानवीय कानुनद्वारा संरक्षित छन्।”

प्रवक्ता मन्तुले थपे, “मानव अधिकार प्रमुख टर्कले राज्यहरू, जहाज मालिक र अन्य सबै सम्बन्धित पक्षहरूलाई ‘फसेका नाविकहरूको संरक्षण सुनिश्चित गर्न’ तत्काल आग्रह गरेका छन्।

यसमा कन्सुलर सहायता, आवश्यक सामग्री उपलब्ध गराउने, उद्धार र स्वदेश फर्काउने कार्य समावेश छ ।”

इरान समर्थित हुथी विद्रोहीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार इरानमाथि नयाँ हवाई हमला गरेको छ। यसले द्वन्द्वलाई थप तीव्र बनाएको छ र कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

युद्धअघि विश्वको इन्धन आवश्यकताको करिब पाँच भागको एक भाग तेल ढुवानी हुने गरेको हर्मुज जलमार्ग यातायातका लागि खुला रहेको अमेरिकी सेनाले बताएको छ। इरानले भने ट्याङ्करहरूलाई सुरक्षित मार्गका लागि भुक्तानी गर्न बाध्य पार्न हर्मुज जलमार्ग हुँदै आवागमन गर्ने ट्याङ्करहरूमाथि आक्रमण जारी राखेको छ।

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका-१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार दिउँसो करिब ३ः२० बजेको समयमा रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको थियो।

सिलिण्डर पड्किँदा त्यहीँ काम गरिरहेका भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेर्वा सुगौली गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए । घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो करिब ४ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको उनले उल्लेख गरे। दुवै जना रोयल फर्मासिटीकल्स उद्योगमा एसीमा ग्यास भर्नका लागि त्यहाँ पुगेका थिए।

जनताको पीडा बुझ्न सीमा क्षेत्रमा पुगेँ गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सिमावर्ती नाकाहरूमा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गरिने अनुगमनबाट सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न सहज हुने र सम्बन्धित निकाय थप जिम्मेवार तथा चनाखो बन्ने बताए।

‘सिमावर्ती नाकामा पूर्वजानकारी नदिई अनुगमन गर्दा त्यहाँको वास्तविक अवस्था थाहा हुन्छ। यसले सुरक्षा निकायलाई अझ जिम्मेवार बनाउँछ,’ गृहमन्त्री गुरुङले भने।

उनका अनुसार अनुगमनका क्रममा मन्त्रालयका निर्देशन कार्यान्वयन भए–नभएको मूल्यांकन गर्नुका साथै तस्करी, लागुऔषध ओसारपसार, अवैध गतिविधि तथा स्थानीय नागरिकले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिने गरिएको छ।

गृहमन्त्री गुरुङले सीमा क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका सुझाव संकलन गर्ने र त्यसका आधारमा मन्त्रालयमा आवश्यक समीक्षा तथा सुधारका काम अघि बढाइने बताए।

उनले सीमा नाकाबाट हुने तस्करी, लागुऔषध ओसारपसार र अन्य सुरक्षा चुनौतीको दीर्घकालीन समाधानका लागि स्थलगत वस्तुस्थिति बुझ्नु अपरिहार्य रहेको उल्लेख गर्दै त्यसअनुसार आवश्यक नीतिगत तथा कार्यान्वयनगत सुधार भइरहेको जानकारी दिए।

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति

संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ ।

अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्कको दायरामा राखिएको छ । अमेरिकी प्रशासनले जबरजस्ती श्रमसम्बन्धी चिन्तालाई आधार बनाएर यो निर्णय गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने स्पष्ट पारे । उनले व्यापार युद्ध वा शुल्क युद्ध कुनै पनि पक्षको हितमा नहुने भन्दै यस्ता कदमले सहकार्यभन्दा द्वन्द्वलाई बढावा दिने चेतावनी दिए ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने संयुक्त राज्य अमेरिकाले लामो समयदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा कडा प्रतिबन्ध लगाउँदै आएको र व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउनुपर्ने समय आएको बताएका छन् ।

नयाँ व्यवस्था यस वर्षको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो । फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको केही शुल्क अधिकार सीमित गरेपछि ट्रम्प प्रशासनले नयाँ कानूनी आधारमा शुल्क नीति पुनः लागू गरेको हो ।

घोषणाअनुसार क्यानाडा, युरोपेली सङ्घ (इयु) र संयुक्त अधिराज्यजस्ता जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका मुलुकलाई १० प्रतिशत शुल्क लगाइएको छ भने चीन, भारत, जापानलगायतका प्रमुख व्यापारिक साझेदारमाथि १२.५ प्रतिशतसम्मको उच्च शुल्क लागू गरिएको छ ।

गत वर्ष लामो व्यापार तनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि दुवै देशबीच व्यापार विवाद केही समयका लागि मत्थर भएको थियो । यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि दुवै पक्षले शुल्क घटाउने दिशामा काम गर्ने सङ्केत दिएका थिए । तर पछिल्लो अमेरिकी निर्णयले दुई देशबीचको व्यापारिक तनाव पुनः चर्किने सम्भावना बढाएको विश्लेषण गरिएको छ ।

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको पक्की पुलसँगै बनेको ड्याम (गाइडबण्ड) पुनःनिर्माण सम्पन्न भएको छ।

यहाँस्थित श्री नम्बर २५ बाहिनी अड्डाको संयोजन र सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दाबढी सेना परिचालन गरी ३५० मिटर ड्याम मर्मत तथा पुनःनिर्माण गरिएको हो।

पुलको उत्तरतर्फको ड्यामको ३५० मिटर भाग पुनःनिर्माण गरी सम्भावित विपद् क्षति न्यूनीकरणमा सहयोग पु¥याएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । पुनःनिर्माणका लागि निर्माण सामग्री र प्राविधिक सहयोग सडक डिभिजनले गरेको थियो।

त्यसैगरी महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि हाल १५० सेना तयारी अवस्थामा रहेको पृतनाले जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले महाकाली नदीमा ड्याम पुनःनिर्माणको सेनालाई दिइएको जिम्मेवारी पूरा गरेको जानकारी दिए।

“नदीमा जलस्तर बढ्नुअघि नै ड्याम पुनःनिर्माणका लागि दिइएको जिम्मेवारी अहिलेलाई पूरा गरिएको छ”, उनले भने,“ बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणमा खटिन सेना अझै त्यहाँ तयारी अवस्थामा राखिएको छ।”

आसन्न मनसुनबाट महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् टार्न गत वर्ष पनि सो ड्याम निर्माणमा काम गरिएको थियो।

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले  शुक्रवार मुलुकका प्रमुख निर्यातजन्य उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।

छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे विचारविमर्श हुने जनाइएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्रलाई चलायमान बनाउन र निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवालासँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएका छन्।

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो— आफ्नै स्वामित्वमा एक टुक्रा जमिन ।आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ ।

बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा उनलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिँदा उहाँका आँखा रसाए । “ढिलै भए पनि पुर्जा पाइयो,” उनले भावुक हुँदै भने । जहरमान मात्रै होइन, अर्जुनधारा–११ लक्ष्मीधापकी सपना सिवा दर्जी र उमादेवी तामाङको खुसी पनि उस्तै थियो ।

जहरमान, सपना र उमादेवीसहित अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बिहीबार जिल्ला भूमि समस्या समाधान समिति झापाबाट जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले आफू पनि अव्यवस्थित बसोबासीको पृष्ठभूमिबाट आएको र भूमिहीनका पीडा बुझेको बताइन् । “यो केवल एउटा कागजको टुक्रा होइन, पुस्तौँदेखि भोगिएको असुरक्षाको अन्त्य हो,” उनले भनिन् ।

प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले १७ जनालाई पुर्जा हस्तान्तरण गर्दै जोखिमयुक्त बस्तीबाहेक कसैलाई पनि विस्थापित नगर्ने सरकारको नीति रहेको बताइन् ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार वडा नं ११ मा यसअघि नै १४४ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन् ।

पालिकाले ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र छ हजार ३५९ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । अभियानलाई छिटो निष्कर्षमा पुर्याउन प्राविधिक तथा प्रशासनिक कर्मचारी सार्वजनिक बिदाका दिनसमेत परिचालन भएका नगरप्रमुख तामाङले जानकारी दिए ।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वास्तविक लाभग्राहीलाई मात्रै पुर्जा वितरण गर्न प्रशासन सजग रहेको बताए ।

नापी कार्यालयका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा पुर्जा वितरणको प्रक्रिया अघि प्रारम्भ भएको छ । आज मेचीनगरका पाँच जना अव्यवस्थित बसोबासीले पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रदान गरिँदै छ

वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै

झापा । वैदेशिक रोजगारीका क्रममा भएका ठगी, घरेलु हिंसा, श्रम स्वीकृतिसम्बन्धी समस्या तथा उद्धारका गुनासा लिएर बिर्तामोड नगरपालिकामा आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार वैदेशिक रोजगारीमा गएका महिलाले विशेषगरी कुवेतलगायत मुलुकमा घरेलु हिंसामा परेको, एजेन्टबाट ठगिएको तथा प्रवेशाज्ञाको वैधानिकताबारे जानकारी लिन नगरपालिकामा आउने गरेका छन् ।

“विसं २०८० यता करिब दुई हजारभन्दा बढीले वैदेशिक रोजगारीसम्बन्धी परामर्श लिएका छन्,” भट्टराईले भने, “वार्षिक चार सयदेखि पाँच सय जना श्रम स्वीकृतिको सहजीकरणका लागि रोजगार सेवा केन्द्रमा आउने गरेका छन् ।”

उनका अनुसार पछिल्लो समय भिजिट भिसामा विदेश गएर काम गर्ने र सामाजिक सञ्जालमा देखिएका आकर्षक विज्ञापनको भरमा प्रक्रिया अघि बढाउने प्रवृत्ति बढेकाले ठगीका घटना पनि बढिरहेका छन् । विशेषगरी युरोप पठाइदिने भन्दै गरिने भ्रामक प्रचारका कारण धेरै युवा आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेका छन् ।

“श्रम स्वीकृति लिएर मात्रै विदेश जानुपर्छ,” उनले भने, “श्रम स्वीकृतिबिना विदेश जाँदा कानुनी समस्या आउनुका साथै बिमा, सामाजिक सुरक्षा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाइने सुविधा पनि प्राप्त हुँदैन ।”

भट्टराईका अनुसार नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन, आवश्यक कागजात तयारी र अनलाइन प्रक्रियामा सहजीकरण गर्दै आएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिक बिरामी पर्दा आवश्यक समन्वय गर्ने तथा श्रमिकका एकाघरका परिवारमा घातक रोग लागेमा वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न सहजीकरण गरिरहेको छ ।

नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ । स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले उनले निर्वाचन क्षेत्रमा निरन्तर भेटघाटलाई प्राथमिकता दिइरहेकी छन् ।

निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामै सीमित हुन्छन् भन्ने जनधारणा नेपालमा नयाँ होइन । चुनावताका गाउँटोलमा बाक्लै देखिने नेताहरू त्यसपछि पाँच वर्षसम्म बिरलै फर्किने अनुभवले नागरिकमा निराशा पनि बढाएको थियो । तर पूर्वउपसभामुखसमेत रहेकी रानामगर यतिबेला फरक अभ्यासमा देखिएकी छन् ।

गाउँबस्तीमा आयोजित भेटघाट तथा अन्तर्क्रियामा स्थानीयवासीले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तुको समस्यालगायत दैनिक जीवनसँग जोडिएका विषय खुलस्त रूपमा राख्ने गरेका छन् । सांसद रानामगरले नागरिकका सुझाव, गुनासा र अपेक्षालाई टिपोट गर्दै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनका अनुसार यस्ता प्रत्यक्ष संवादले स्थानीय आवश्यकता र विकास निर्माणका क्रममा देखिएका चुनौती पहिचान गर्न सहयोग पुग्नेछ ।

सुरुमा उनले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका स्थानीयसँग प्रत्यक्ष भेटघाट गरिन् । भेटघाट तथा अन्तर्क्रियामा स्थानीयले दैनिक जीवनसँग जोडिएका विविध समस्या राखेका थिए ।

अनुगमनकै सिलसिलामा उनले बुद्धशान्ति भागिरथा अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनसँग सेवा प्रवाह, वर्तमान अवस्था र देखिएका समस्याबारे छलफल गरिन् । यस्तै, हेलोचोकदेखि दक्षिणको सडक, भोटेटार चोक, गलानगाउँको अधुरो सडक तथा हात्तीकिल्ले पैनी (बिन्धुलीबाँध) क्षेत्रमा पुगेर पूर्वाधारको अवस्था अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गरिन् ।भेटघाटका क्रममा स्थानीयले कृषि, पूर्वाधार र शान्ति सुरक्षाका विषयमा धेरै समस्या राखेको सांसद रानामगरले बताइन् ।

“बिर्तामोडको कृषि थोकबजार व्यवस्थापन, हात्तीको आतङ्क, पूर्वाधार विकास तथा समयमै मल–बीउ नपाएको गुनासो धेरै आएको छ,” उनले भनिन्, “हामी ती समस्या र गुनासा समाधानका लागि निरन्तर क्रियाशील छौँ । कतिपय अवस्थामा नागरिकमा आक्रोश पनि देखिएको छ, जसलाई हामीले स्वाभाविक र सकारात्मक रूपमा लिएका छौँ ।”

जनप्रतिनिधिको भूमिका संसद्मा नीति निर्माणमा मात्र सीमित नरही नागरिकका दैनिक समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि भएको रानामगरको भनाइ छ । यस्ता प्रत्यक्ष भेटघाट र अन्तर्क्रियालाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताइन् ।

नागरिकका समस्या सुन्दै हिँडिरहेकी सांसद रानामगर बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा सहभागी भइन् । जहाँ वर्षौँदेखि ओत लाग्ने जमिनको कानुनी अधिकार नपाएर उठिबासको त्रासमा रहेका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद रानामगरले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार अनिवार्य रहेको बताइन् । लाभग्राहीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गर्दै उनले खुसी व्यक्त गरिन् ।

“आज यहाँ लालपुर्जा हस्तान्तरण गरिरहँदा तपाईंहरूको खुसी र उत्साहलाई नजिकबाट अनुभूति गर्ने अवसर मिल्यो,” उनले भनिन्, “वर्षौँदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहेका परिवारले लालपुर्जा प्राप्त गर्दा अनुहारमा देखिएको खुसी र सन्तोषले यस अभियानको वास्तविक महत्व र सार्थकता स्पष्ट रूपमा प्रतिविम्बित गरेको छ ।”

नागरिकसँगको प्रत्यक्ष संवादमार्फत विकास निर्माणमा देखिएका सुस्तता र स्थानीय आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

झापामा देखिएको यो जनप्रतिनिधि–नागरिक संवादको लहर इन्दिरा रानामगरमा मात्र सीमित छैन । झापाका अन्य निर्वाचन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित जनप्रतिनिधिहरू गाउँ–बस्ती पुग्ने होडमा देखिन्छन् ।

झापा क्षेत्र नं. १ की सांसद तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी एक सातादेखि क्षेत्रमै सक्रिय छिन् भने क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं. ४ का सांसद शम्भु सुस्केरा पनि स्थानीयका सुखदुःख बुझ्न गाउँमै छन् ।

झापाका पाँचवटै क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएका थिए । तीमध्ये झापा क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वालेन्द्र शाह हाल प्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौँ । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार यहाँ सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताए । उनले नेपाल र अन्तरराष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताए ।

उनले एचसिसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तरराष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । पाँच अर्बभन्दा बढी जनसङ्ख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सृजना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तरराष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झन् बढेको बताए । मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।

कार्यक्रमका मुख्यवक्ता परराष्ट्र मामिला विश्लेषक तथा नेपाली सेनाका पूर्वमेजर जनरल बिनोज बस्न्यातले नेपालले बदलिँदो विश्व राजनीतिक परिवेशलाई अवसरका रूपमा उपयोग गर्दै आर्थिक कूटनीति, संस्थागत सुधार र रणनीतिक विदेश नीतिमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले विश्व शक्ति सन्तुलन, इन्डो–प्यासिफिकको बढ्दो महत्व र भूराजनीतिक प्रतिस्पर्धाबीच नेपालले स्पष्ट रणनीति, राष्ट्रिय आत्मविश्वास र सक्रिय कूटनीति अपनाउनुपर्ने धारणा राखे । बस्न्यातले नेपालको विदेश नीति सक्रिय असंलग्नता, छिमेकीसँग सन्तुलित सम्बन्ध, क्षेत्रीय सहकार्य र ‘स्मार्ट डिप्लोमेसी’मा आधारित हुनुपर्ने उल्लेख गर्दै कूटनीतिलाई लगानी, प्रविधि, ज्ञान र विकास भित्र्याउने प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा राखे ।

उनले नेपालसँग रहेका ४१ दूतावास, तीन स्थायी नियोग, १० महावाणिज्यदूतावास र ६४ अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतको सञ्जाललाई विदेशी लगानी, नवप्रवर्तन, ज्ञान आदानप्रदान र विकास साझेदारी विस्तारका लागि प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

एचसिसीएनका निवर्तमान डिन भोलाविक्रम थापाले एचसिसीएनलाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउने उद्देश्यसहित विदेश मन्त्रालयसमक्ष समझदारीपत्र (एमओयू)को मस्यौदा पेस गरिएको बताए । उनले ६४ देशको सञ्जालमार्फत नेपालमा विदेशी लगानी, प्रविधि हस्तान्तरण, व्यापार, पर्यटन र कनेक्टिभिटी प्रवर्द्धनमा एचसिसीएनले ‘फोर्स मल्टिप्लायर’को भूमिका निर्वाह गर्न सकिने बताए ।

उनले राहदानी विभागसँग सेवाग्राहीको लाइन व्यवस्थापन प्रणाली सुधारका लागि पनि प्रस्ताव पेस गरिएको जानकारी दिँदै आवश्यक औपचारिक स्वीकृतिपछि कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे ।

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव

काठमाडौँ । सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयले कानुनी तथा प्राविधिक आधार तयार पार्ने उद्देश्यले अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश गर्न र हाइड्रोजन प्रविधिमा रुपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकाससम्बन्धी सुझाव आमन्त्रण गरेको छ ।

विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तरराष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालाले सुझाव दिन सक्नेछन् । यस्तै, आफ्नो अनुभव, अध्ययन, अनुसन्धान तथा व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव दिन सकिनेछ ।

मन्त्रालयले हाइड्रोजनमा आधारित सवारीसाधनसम्बन्धी अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाइ प्रस्तुत गर्न आग्रह गरेको छ । नीतिगत, कानुनी तथा नियामक व्यवस्था, उत्पादन भण्डारण, ढुवानी, वितरण, इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड एवं दिशानिर्देशन उपलब्ध गराउन सकिनेछ ।

हाल सञ्चालनमा रहेका सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रुपान्तरण गर्ने सम्भावना, प्रविधिगत आवश्यकता, लागत, सुरक्षा तथा नियामक पक्षसम्बन्धी सुझाव उपलब्ध गराइदिन मन्त्रालयले सरोकारवालाई अनुरोध गरेको छ ।

यस्तै, प्राविधिक जनशक्ति, नियामक निकाय, उद्धार तथा आपत्कालीन सेवासहित आवश्यक क्षमता अभिवृद्धि तथा जनशक्ति विकाससम्बन्धी सुझाव उपलब्ध गराउन सकिनेछ ।

मन्त्रालयमा प्राप्त हुने सुझावलाई आवश्यक अध्ययन तथा विश्लेषणपश्चात् हाइड्रोजनमा आधारित सवारीसाधनसम्बन्धी नीति, कानुनी व्यवस्था, मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रियामा आवश्यकताअनुसार उपयोग गरिने मन्त्रालयले स्पष्ट पारेको छ । पूर्वाधार मन्त्रालयले यही साउन २० गतेसम्म आवश्यक सुझावको अपेक्षा गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८० सालमा नै ग्रीन हाइड्रोजन नीति तयार पारेको थियो । विसं २०७७ बाटै काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन प्रयोगशाला स्थापना गरी त्यसको आवश्यकता र सम्भावनाबारे अध्ययन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं २५७ मा ‘नेपालको इन्धन र ऊर्जा उपभोग एवं यातायात र औद्योगिक क्षेत्रको समग्र विकासमा योगदान गर्न सक्नेगरी हाइड्रोजन ऊर्जाको व्यावसायिक उपयोग गर्न आवश्यक कार्यप्रारम्भ गरिनेछ’ भन्ने उल्लेख थियो ।

सोही बजेट वक्तव्यको बुँदा नं ३६ मा ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डमार्फत कार्य अगाडि बढाउने विषय समावेश थियो । सोही व्यवस्थाका आधारमा ऊर्जा मन्त्रालयले ग्रीन हाइड्रोजन नीति तयार पारेको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५० पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ०२ पैसा बिक्रीदर ४१० रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०२ रुपैयाँ १३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै

काठमाडौँ । पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजना समयमै सम्पन्न गर्न ‘पूर्वाधार न्यायाधीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ।

आयोजनासँग सम्बन्धित मुद्दा–मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको सो प्रस्तावित विधेयकमाथि बिहीबार सरोकारवालापक्षसँग छलफल भएको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको उक्त छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल,कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालगायत सहभागी थिए।

कानुन मन्त्रालयले पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजना समयमै सम्पन्न गर्न तथा मुद्दा–मामिला छिटोछरितो निरूपणका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो।

सोही प्रतिवेदन सिफारिसका आधारमा उक्त विधेयक तयार गरिएको र छलफलपछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्त भएसँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको बताए। उनले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गरे।

विश्वविद्यालयहरुमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिलगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न अनुरोध गरे। उनले अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरुलाई विश्वका विश्वविद्यालयहरूसँग ज्ञान आदानप्रदान गर्न सुझाए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले उच्च शिक्षाको ऐतिहासिक निकाय तथा उच्च शिक्षाको राष्ट्रिय धरोहरका रुपमा परिचित त्रिभुवन विश्वविद्यालयलाई बदलिँदो परिस्थितिअनुरुप थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, विश्वस्तरमा सहकार्यमा जोड दिई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित भई नैतिक तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रुपमा अघि बढाउने बताए। कार्यक्रममा त्रिविको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो।

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौँ । क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजनलगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको हो।

गत साता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको थियो।

निमित्त महानिर्देशक खड्गीका अनुसार विगत ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएका कारण केही औषधिको आपूर्तिमा समस्या देखिएको छ । उनका अनुसार केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढिसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा बजारमा अभाव सिर्जना भएको छ ।

अर्कोतर्फ, केही औषधिको बजार मूल्य घटिसकेको भए पनि सरकारले निर्धारण गरेको मूल्य अझै उच्च रहेकाले ती औषधिको मूल्य घटाउनुपर्ने अवस्था पनि रहेको छ । मूल्य समायोजनसम्बन्धी मूल्य अनुगमन समितिको सिफारिस स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको अध्यक्षतामा बस्ने औषधि परामर्श परिषद्मा पेस गरिने कानुनी व्यवस्था छ । परिषद्बाट स्वीकृत भएपछि प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाइनेछ।

मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि निर्णय नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउनेछ । करिब दुई साताअघि बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन र सिस्प्लाटिनलगायत औषधि तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव देखिएको थियो । यसले उपचाररत बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन चुनौती सिर्जना गरेको थियो।

नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल ‘फार्मास्युटिकल प्राइसिङ अथोरिटी’ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहँदै आएको छ। यसअघिका मूल्य निर्धारण प्रक्रियामा पनि यही आधार अपनाइएको थियो।

खड्गीले मूल्य समायोजनको प्रक्रिया कानुनी रूपमा अघि बढिरहे पनि तत्कालका लागि बजारमा औषधिको अभाव हुन नदिन सरकार औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीसँग निरन्तर संवादमा रहेको बताइन्। उनीहरूका समस्या र अप्ठ्यारा सुनेर आवश्यक सहजीकरण गर्ने कामसमेत जारी रहेको उनको भनाइ छ।

गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति

काठमाडाैँ। जुन महिनामा परेको रेकर्डस्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्यघण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) बराबरको क्षति बेहोरेको नयाँ अध्ययनले देखाएको छ। अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ।

लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) को ग्रान्थम रिसर्च इन्स्टिच्युट र युरो–मेडिटेरेनियन सेन्टर अन क्लाइमेट चेन्ज (सीएमसीसी) ले सार्वजनिक गरेको अध्ययनअनुसार निर्माण र कृषि क्षेत्रका कामदारले अत्यधिक गर्मीका कारण आफ्नो काम गर्ने समय उल्लेखनीय रूपमा घटाएका थिए। तुलनात्मक रूपमा कम शारीरिक श्रम हुने पेशामा कार्यरत व्यक्तिहरूमा यस्तो प्रभाव कम देखिएको अध्ययनले जनाएको छ।

अध्ययनअनुसार जुन २२ परेको सातामा कामदारहरूले औसतमा शून्य दशमलव ४७ घण्टा कम काम गरेका थिए । त्यस्तै, ३.६ प्रतिशत उत्तरदाता अर्थात् करिब १२ लाख ५० हजार कामदार अत्यधिक गर्मीका कारण त्यो साताभर काममा उपस्थित हुन सकेनन्।

अनुसन्धानकर्ताहरूले काम गर्ने समय, निद्राको गुणस्तर तथा कार्यस्थलसम्म पुग्ने क्रममा गर्मीले पारेको प्रभावसमेत अध्ययन गरेका थिए । अधिकांश उत्तरदाताले निद्रामा अवरोध, कामका क्रममा थकान, चक्कर लाग्ने, बेहोस हुने तथा मुटुको धड्कन असामान्य रूपमा बढ्ने जस्ता कम्तीमा एउटा स्वास्थ्य समस्या अनुभव गरेको बताएका छन्।

गत जुनमा बेलायतसँगै फ्रान्स र अन्य युरोपेली मुलुकहरूले पनि असाधारण गर्मीको सामना गरेका थिए । त्यसक्रममा यातायात सेवा, विद्यालय र अस्पतालको नियमित सञ्चालन प्रभावित भएको थियो भने अत्यधिक गर्मीसँग जुध्न पूर्वाधार पर्याप्त रूपमा तयार नरहेको विषयमा पनि चिन्ता व्यक्त गरिएको थियो।

ग्रान्थम रिसर्च इन्स्टिच्युटकी निर्देशक एलिजाबेथ रोबिन्सनले अध्ययनले बेलायत परिवर्तनशील जलवायुसँग पर्याप्त रूपमा अनुकूल हुन नसकेको स्पष्ट देखाएको बताए। उनले सरकारले चरम गर्मीको जोखिमलाई अब पनि बेवास्ता गर्न नसक्ने उल्लेख गर्दै तत्काल प्रभावकारी तयारी र अनुकूलनका उपाय अघि बढाउन आग्रह गरे।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसमीय घटना झन् बारम्बार र तीव्र बन्दै गएको चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा इङ्गल्यान्डले यस वर्षको जुन महिनालाई आफ्नो इतिहासकै सबैभन्दा तातो जुनका रूपमा अभिलेख गरेको छ।

नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको छलफलमा नेपाल–दक्षिण कोरियाबीचको ऐतिहासिक सम्बन्ध, शिक्षा क्षेत्रमा कोरिया सरकारको सहयोग, सूचना प्रविधि तथा प्राविधिक शिक्षामा आगामी सहकार्यका सम्भावनाबारे विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताउँदै आगामी पाँच वर्षभित्र कुल बजेटको १५ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।

 

उहाँले कृत्रिम बौधिकता (एआई)को विकास भए पनि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता कायम रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी विस्तार गरिने बताउनुभयो ।

विद्यालय तथा उच्च शिक्षामा प्राज्ञिक स्वायत्तता सुदृढ गर्ने, विश्वविद्यालयबीच ‘फ्याकल्टी एक्सचेन्ज’ कार्यक्रम सञ्चालन गर्ने तथा कोरियाली र नेपाली कम्पनीबीच सहकार्यमार्फत प्राविधिक शिक्षाको विकास गर्न सकिने धारणा पनि उहाँले राख्नुभयो ।

दक्षिण कोरिया सरकारले नेपालमा विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षाको विकासमा सहयोग गर्दै आएको छ । विभिन्न विश्वविद्यालयसँगको सहकार्यका अतिरिक्त मधेस र गण्डकी प्रदेशमा पोलिटेक्निक संस्थानको पूर्वाधार निर्माणमा पनि कोरियाको सहयोग जारी छ ।

राजदूत पार्क तइ योङले शिक्षा, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा दक्षिण कोरियाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालको शिक्षा सुधार र आर्थिक रूपान्तरणमा आफ्नो सरकार सहकार्यका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएका कारण दक्षिण कोरियाले छोटो समयमै आर्थिक विकास हासिल गरेको उल्लेख गर्दै राजदूत योङले आफ्नो सरकारले कुल बजेटको करिब १५ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिनुभयो ।

दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु

बैङ्कक। पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।

सेनाका अनुसार पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक मध्ये एक मानिएको उक्त घटनामा छ जना सर्वसाधारण पनि घाइते भएका छन्। आक्रमण बुधबार साँझ मुस्लिम बहुल नारथिवाट प्रान्तको बुखे सामी सुरक्षा चौकीमा भएको हो ।

स्थानीय अधिकारीका अनुसार घाइते मध्ये खुट्टामा चोट लागेका १० वर्षीय बालकसमेत रहेका छन्। नारथिवाट प्रान्तका गभर्नर बुनचुए होम्यामिनले अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको जनाइएको छ । नारथिबाट प्रशासनले सार्वजनिक गरेको सिसिटिभी तस्बिरमा साँझ करिब ६:४५ बजे कालो पोसाक लगाएका छ जना शङ्कास्पद व्यक्ति कालो पिकअप ट्रकमा घटनास्थल पुगेको देखिएको छ ।

घटनापछि उनीहरू छिमेकी जिल्लातर्फ फरार भएको र सुरक्षा निकायले व्यापक खोजी अभियान सञ्चालन गर्दै क्षेत्रलाई घेराबन्दी गरेको जनाएको छ । थाई सेनाका अनुसार टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सैनिक स्थानीय बासिन्दाको सुरक्षा गरिरहेका बेला आक्रमणकारीले चौकीमा अन्धाधुन्ध गोली चलाउनुका साथै पाइप बम प्रहार गरेका थिए र यसका कारण पाँच सैनिकको ज्यान गएको हो ।

घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन भने कसैलाई पक्राउ पनि गरिएको छैन । थाइल्यान्डका दक्षिणी नारथिवाट, याला र पट्टानी प्रान्तमा सन् २००४ देखि पृथकतावादी विद्रोह जारी छ । मुस्लिम बहुल यी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै सक्रिय विद्रोही समूहसँगको हिंसात्मक द्वन्द्वमा हालसम्म सात हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसअघि सन् २०१९ मा याला प्रान्तको एक सुरक्षा चौकीमा ग्रेनेड र गोली आक्रमण हुँदा स्थानीय सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको थियो । द्वन्द्व सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था एसीएलइडीका अनुसार त्यस घटनामा बारिसन रिभोलुसी नेसनल (बीआरएन) संलग्न रहेको थाई अधिकारीहरूले बताएका थिए ।

एम्नेस्टी इन्टरनेसनलका मानवअधिकार अनुसन्धान कर्ता चानातिप तातियाकरुनवोङले यस क्षेत्रका अधिकांश आक्रमण सुरक्षाकर्मीलाई लक्षित हुने गरे पनि यसपटक सर्वसाधारण, विशेष गरी बालकसमेत घाइते हुनु र मानवीय क्षति बढी हुनु चिन्ताजनक भएको बताउनुभयो । थाई सेनाले मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानका साथ स्मरण गरिने जनाएको छ ।

विपक्षी नेता नात्थाफोङ रुएङपान्यावुतले पनि घटनाको निन्दा गर्दै सरकारलाई सुरक्षा अवस्था तत्काल नियन्त्रणमा लिन, आक्रमणकारीको पहिचान गरी कानूनी कारबाही अघि बढाउन तथा पीडित र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरु बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।

ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए । उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए ।

आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए । मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युतको राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उनको भनाइ थियो ।

‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ । मन्त्रालयसँग क्लोज कोर्डिनेसनमा काम गर्छौं । यो टिमले निराश पार्दैन,’ उनले भने । आयोगका सदस्यहरुले पनि आफूहरु २०औ वर्ष यही सेक्टरमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री श्रेष्ठले नियामकीय निकायको हिसाबले मन्त्रालयअन्तर्गतको डिओई र एनईएलाई पनि आयोगले सुपरीवेक्षण गर्नुपर्ने बताए । यो टिमबाट आयोगको गरिमा बढ्ने र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । उनले विद्युत प्राधिकरणको खरिद प्रक्रियाको पनि कार्यतालिका बनाएर हेर्न सुझाव दिए ।

 

पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल

काठमाडाैं। पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ती आयोजनासँग सम्बन्धित मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको “पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” लाई अन्तिम रूप दिने विषयमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल सम्पन्न भएको छ।

छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर ढुङ्‍गाना लगायतको सहभागिता रहेको थियो।

यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो।

सोही प्रतिवेदनका सिफारिसका आधारमा “पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” तयार गरिएको हो। छलफलका पछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु

झापा । झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए । उनको टाउको, दुवै हात तथा खुट्टामा गम्भीर चोट लागेको थियो । उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथ प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते

पाकिस्तान आएको मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा विगत २४ घण्टामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडिएमएका अनुसार पूर्वी पन्जाब प्रान्तमा नौ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यसै गरी उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा छ जनाको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख गरिएको छ ।

पछिल्लो घटनासँगै जुन २६ देखि देशव्यापी रुपमा चलेको मनसुनी घटनामा मृत्युको सङ्ख्या बढेर ७२ जना पुग्नुका साथै १८७ जना घाइते भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ३०१ वटा घर र गाईवस्तुमा क्षति पुगेको जनाइएको छ भने देशका विभिन्न भागहरूमा थप वर्षाको पूर्वानुमान गरिएको हुनाले अधिकारीहरूले बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई उनले आज छलफलका लागि बोलाएका थिए ।

सो क्रममा पदाधिकारीहरुले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गर्ने बताए ।

यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक थिए ।

प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए ।

 

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को अन्तिम त्रैमासिक अवधिमा विकास निर्माणका विभिन्न ४४ ओटा प्रक्रियाहरू सम्पन्न गरेको छ । मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार २०८३ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ ओटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र ११ ओटा आयोजनाको क्षेत्र निर्धारण (एसडी÷टिओआर) प्रतिवेदन स्वीकृत भएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार, यस अवधिमा जलविद्युत् आयोजनाहरूको बाहुल्यता देखिएको छ । १६ ओटा स्वीकृत ईआईए प्रतिवेदनहरूमध्ये ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, ३५.१५ मेगावाटको माथिल्लो अप्सुखोला, २२ मेगावाटको रोल्वालिङ खोला, ३०.४० मेगावाटको माथिल्लो दूधखोला र ३४.३९ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत् आयोजना रहेका छन् ।

यस्तै, ईआईए स्वीकृत हुने अन्य भौतिक पूर्वाधारहरूमा बुटवल–पोखरा सडक खण्ड, पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति, कोहलपुर–सुर्खेत–बबई सडक र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन लगायत रहेका छन् । आवासीय क्षेत्रतर्फ काठमाडौंको डिएलएफ ग्रिन अपार्टमेन्ट र स्वास्थ्यतर्फ धनुषाको विनियतरा क्यान्सर अस्पतालको ईआईए स्वीकृत भएको छ ।

क्षेत्र निर्धारण स्वीकृत भएका ११ आयोजनाहरूमा ३२५ मेगावाटको माथिल्लो भेरी अर्धजलाशययुक्त जलविद्युत् र १२४.३२ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना प्रमुख छन् । पूर्वाधारतर्फ पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–चोचा खण्ड, अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल र बेसीशहर–चामे सडकको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस अवधिमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत एमसीए–नेपालले निर्माण गरिरहेको लप्सीफेदी–रातामाटे–न्यू हेटौंडा–न्यू दमौली–न्यू बुटवल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनहरूको परिमार्जित वातावरणीय व्यवस्थापन योजना (च्भ्ःए) पनि स्वीकृत गरेको छ । यसका साथै मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना (१३५ मेगावाट) को पूरक ईआईए स्वीकृत भएको छ ।

वातावरणीय नियम पालना नगरेको भन्दै मन्त्रालयले दुई ओटा ठूला अस्पताललाई जरिवाना समेत गरेको छ । विवरण अनुसार बाँकेको भेरी अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई जरिवाना गरिएको हो ।मन्त्रालयले सोही अवधिमा २ ओटा आयोजनाको म्याद थप गरेको छ भने ५ ओटा आयोजनालाई पूरक ईआईए अध्ययनका लागि सहमति प्रदान गरेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार यस तीन महिनाको अवधिमा जम्मा ४४ ओटा विभिन्न वातावरणीय प्रक्रियाहरू सम्पन्न भएका छन् ।

धनुषामा रासायनिक मलको अभाव हट्दै, थप मल साउन दोस्रो सातासम्म आउने

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ ।

धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।

मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयबमोजिम स्थानीय तहगत रुपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।

उनका अनुसार मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोश्रो सातासम्म थप युरिया र डिएपी मल आउने भएकाले मलको अभाव पूर्ण रुपमा हट्ने उनको भनाइ छ ।

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव एक मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।

कार्यालयका सूचना अधिकारी साहका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डिएपी छ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।

सो कार्यालयलाई आव २०८२–८३ मा युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डिएपी सात हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक र कृषि चुन २३५ मेट्रिक टन रसायनिक मल प्राप्त भएको सूचना अधिकारी साहले बताए । यसबाट अधिकांश प्राप्त मल किसानसम्म पुगिसकेको देखिएको छ ।

धान रोपाइँको मुख्य सिजनमा समेत कार्यालयले आवश्यकताअनुसार मल वितरण गर्दै मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताए ।

धान रोपाइँको यामलाई लक्षित गरी मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको प्रमुख चौधरीको भनाइ छ । किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वय समेत भइरहेको र यस वर्षको थप मल केही दिनभित्रै मल आइपुग्ने प्रमुख चौधरीको भनाइ छ ।

अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित

पेन्टागन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गर्ने सन् २०२७ राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिएए) बुधबार झिनो मतान्तरले पारित गरेको छ । परम्परागत रूपमा दुवै दलको व्यापक समर्थन पाउने रक्षा विधेयक यसपटक २१६–२१२ मतले पारित भएको हो र यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा बढ्दो राजनीतिक ध्रुवीकरणको सङ्केतका रूपमा हेरिएको छ ।

अहिलेसम्म सिनेटबाट अनुमोदन हुन बाँकी रहेको उक्त विधेयकले सन् २०२६ को एनडिएएको तुलनामा करिब दुई खर्ब ५० अर्ब डलर बढी खर्चको व्यवस्था गरेको छ । यसमा अमेरिकी सैनिकहरूको पाँचदेखि सात प्रतिशतसम्म तलब वृद्धि, आणविक प्रतिरोध क्षमता सुदृढ गर्ने योजना तथा ट्रम्प प्रशासनले अघि सारेको ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणाली निर्माणका लागि आवश्यक प्रबन्ध पनि समेटिएको छ । उक्त प्रणाली इजरायलको ‘आइरन डोम’ बाट प्रेरित भएर अमेरिकी मुख्य भूमिको सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रस्ताव गरिएको हो ।

हाउसका सभामुख माइक जोनसनले विधेयकले सैनिकलाई लामो समयदेखि अपेक्षित तलब वृद्धि उपलब्ध गराउनुका साथै आणविक प्रतिरोध क्षमता र मिसाइल प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताए ।

हाउस आम्र्ड सर्भिस कमिटीका रिपब्लिकन सदस्यहरूले इरानसँगको युद्धका क्रममा ठूलो मात्रामा क्षेप्यास्त्र तथा अन्य प्रक्षेप्य सामग्री प्रयोग भएकाले घटेको सैन्य भण्डार पुनः निर्माण गर्न पनि यो बजेट आवश्यक रहेको उल्लेख गरेका छन् ।

यद्यपि डेमोक्रेटिक सांसद जेरी नाडलरले ट्रम्प प्रशासनको नियन्त्रणबाहिर गएको सैन्य खर्च र आफूले गैरजिम्मेवार ठानेका गतिविधिका लागि ११ खर्ब ५० अर्ब डलर छुट्याउने पक्षमा मतदान गर्न नसकिएको बताए । उनले एनडिएएलाई अत्यधिक खर्चिलो, कमजोर रूपमा तयार पारिएको तथा अवैध युद्धलाई आर्थिक सहयोग गर्ने विधेयकको संज्ञा दिए।

यसैबीच, ट्रम्पको प्राथमिकतामा रहेको ‘सेभ अमेरिका एक्ट’ प्रक्रियागत उपायमार्फत यही विधेयकमा समावेश गरिएपछि डेमोक्रेटहरूले कडा विरोध जनाएका छन् । नयाँ राष्ट्रव्यापी मतदान प्रतिबन्धसम्बन्धी प्रावधान समेटिएको उक्त व्यवस्था सिनेटबाट विधेयक पारित हुने प्रक्रियालाई अझ जटिल बनाउन सक्ने विश्लेषण गरिएको छ ।

विधेयकको अर्को विवादास्पद पक्ष अमेरिकी र इजरायली सशस्त्र सेनाबीचको सहकार्य थप विस्तार गर्नुपर्ने प्रावधान बनेको छ, जसलाई लिएर पछिल्ला साताहरूमा अमेरिकी राजनीतिक वृत्तमा तीव्र बहस भइरहेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु १०० र इस्कुस प्रतिकिलो रु ७० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ३००, गान्टेमूला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १८०, आँप (दशहरी) प्रतिकिलो रु १८०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा आज विशेष कार्यक्रम

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनुभएको थियो । उहाँ सहिद गङ्गालालको भाइ हुनुहुन्छ ।

पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो ।

विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो ।

नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नुभएको थियो । उहाँको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीलगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन् ।

दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ ।यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ ।

गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पिपिएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसिओडीको अवस्थाका आधारमा चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बुधबार जलविद्युत् प्रवद्र्धकसँगको छलफलमा सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने होइन, निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले यस्तो निर्णय कुनै व्यक्ति विशेषको इच्छाअनुसार नभई संस्थागत प्रणालीबाट हुने व्यवस्था विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले निजी क्षेत्रको आत्मसम्मान र लगानी सुरक्षाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै प्रवद्र्धकहरूले पनि आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सरकार र निजी क्षेत्रबीच पारस्परिक उत्तरदायित्व कायम हुँदा मात्रै ऊर्जा क्षेत्रको विकासले अपेक्षित गति लिने उहाँको भनाइ थियो ।

प्राधिकरणका अनुसार हाल आठ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणाधीन छन् । तीमध्ये समूह ‘क’ मा चार हजार ४९१ मेगावाट क्षमताका १५० आयोजना छन् । समूह ‘ख’ मा एक हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना समावेश छन् । बाँकी आयोजना समूह ‘ग’ र ‘घ’ मा वर्गीकृत गरिएका छन् ।

छलफलमा ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा सबै आयोजनाको आरसिओडी अन्तिम पटक निश्चित सर्तसहित थप गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले एक वर्षभित्र पिपिए सम्पन्न गर्ने र त्यसपछि छ महिनाभित्र निर्माण सुरु गर्ने प्रतिबद्धताका आधारमा सबै आयोजनालाई समान अवसर दिन आग्रह गर्नुभयो ।

प्राधिकरणले तयार गरेको मापदण्डअनुसार समूह ‘क’ मा आरसिओडी अवधि समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत पिपिएमा उल्लिखित दायित्व पूरा गरेका वा सम्झौताअनुसार पूरा गर्न बाँकी समय रहेका आयोजना पर्नेछन् ।

समूह ‘ख’ मा आरसिओडी सकिए पनि प्राधिकरणतर्फबाट प्रसारण लाइन वा सबस्टेसन निर्माणमा ढिलाइ भएका कारण सञ्चालनमा आउन नसकेका आयोजना समावेश छन् । साथै, काबुबाहिरको परिस्थितिका कारण निर्माण प्रभावित भई आवश्यक प्रमाणसहित आरसिओडी थपको स्वीकृति पाएका तथा आरसिओडी अवधि सकिँदासम्म कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना पनि यही समूहमा राखिएका छन् ।

समूह ‘ग’ मा आरसिओडी नसकिए पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापनजस्ता आधारभूत दायित्व पूरा नगरेका वा आरसिओडी समाप्त हुँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति भएका आयोजना राखिनेछन् ।

समूह ‘घ’ मा आरसिओडी सकिएपछि पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनजस्ता अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र नै खारेज भएका आयोजना पर्नेछन् ।

प्राधिकरणले भौतिक प्रगति मापनका लागि २०७१ को कार्यविधिलाई आधार बनाएको छ । त्यसअनुसार हेडवक्र्स, सुरुङ, पाइपलाइन, पावरहाउसलगायत मुख्य संरचनाको निर्माण सुरु भई उल्लेखनीय प्रगति भएको अवस्थालाई भौतिक प्रगति मानिनेछ ।

सौर्य आयोजनाका हकमा प्यानल खरिद सम्झौता, एलसी खोलिएको, जग्गा व्यवस्थापन सम्पन्न भएको तथा माउन्टिङ स्ट्रक्चर र फाउन्डेसन निर्माण सुरु भएको अवस्थालाई पनि प्रगतिको सूचकका रूपमा स्वीकार गरिनेछ ।

समूह ‘ख’ मा परेका आयोजनाको नियमित अनुगमन गरिनेछ । प्राधिकरणको विद्युत् व्यापार विभागले समयमै निर्माणसम्पन्न गर्न आवश्यक निर्देशन दिनेछ । उक्त निर्देशन कार्यान्वयन भए–नभएको पनि अनुगमन गरिनेछ । आवश्यकताअनुसार बढीमा छ महिनाभित्र आयोजनाको पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, समूह ‘ग’ मा रहेका आयोजनालाई पिपिएअनुसार ‘नोटिस अफ डिफल्ट’ जारी गरिनेछ । त्यसपछि पनि चित्तबुझ्दो सुधार वा जवाफ नआएमा सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

झापा। जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये चार हजार ५३५ वटा मुद्दा फछ्र्योट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ ।

अदालतले उक्त आर्थिक वर्षमा ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले ६० दशमलव ०२ प्रतिशतमा सीमित हुनुपरेको जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार, गत वर्षको जेनजी आन्दोलन, त्यसबाट अदालतको केस म्यानेजमेन्ट प्रणालीमा परेको अवरोध तथा सङ्घीय संसद्को निर्वाचनलगायत कारणले लक्ष्यअनुसार मुद्दा फछ्र्योट गर्न कठिनाइ भएको हो ।

अदालतका अनुसार अघिल्लो आवबाट जिम्मेवारी आएका तीन हजार २३२ र आव २०८२/८३ मा दर्ता भएका चार हजार ३१७ गरी कूल सात हजार ५४९ मुद्दामध्ये तीन हजार १४ वटा मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

आव २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गरेका न्यायाधीश पारसमणि पोखरेललाई सम्मान गरिएको छ । उहाँको इजलासबाट उक्त अवधिमा ६२७ मुद्दाको फैसला भएको थियो । अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईंले बढ्दो मुद्दाको चापका बाबजुद उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै छिटो, निष्पक्ष, पारदर्शी र जवाफदेही ढङ्गले न्याय सम्पादन गरिएको बताउनुभयो ।

उहाँका अनुसार सेवाप्रवाहलाई अझ छिटो, सरल र पारदर्शी बनाउन अदालतले मुद्दाको प्रकृतिअनुसार सरल, सामान्य र विशेष मार्गमा वर्गीकरण, स्वचालित पेशी प्रणाली, इजलास छनोटमा गोलाप्रथा, अनलाइन सुनुवाइ तथा अनलाइन तारेखलगायतका व्यवस्था लागू गरेको छ । साथै, मुद्दाको प्रगति र फैसला अदालतको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला अदालत झापामा हाल नौ जना न्यायाधीशको दरबन्दी रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।

देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुुसार आज राति देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागको केही र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन। पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए ।

पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन ।

सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमूना ल्याएर परीक्षण गर्दैछौँ ।”

विभागको तथ्याङ्क अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो ।

मोरङ्को उर्लाबारी–८ र सुन्दर हरैचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो । दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो । यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको सङ्क्रमण भएको थियो । हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ ।

काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा सङ्क्रमण देखिएको थियो ।

जसमध्ये काठमाडौँमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा सङ्क्रमण देखिएको थियो । काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा सङ्क्रमण देखिएको बिभागले जनाएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो । महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरी सकेको छ ।

देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रुपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुपता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो । अब थप सङ्क्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्याय बताउनुहुन्छ । सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ ।

यससँगै किसानले मूल्य पाउन थालेका छन् । सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए । चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता आएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै

झापा । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिने भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार एक कार्यक्रम आयोजना गरी पुर्जा वितरण गर्ने तयारी गरेको हो।

पुर्जा वितरणको तयारीस्वरूप आज सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्साल, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतको सहभागिता रहेको थियो।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समिति झापाका सदस्य सचिव लम्सालका अनुसार पालिकाले गत आर्थिक वर्षमा जारी गरेको सूचनाका आधारमा प्रक्रिया पूरा गरेका अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न लागिएको हो।

“गत वर्ष वितरण गर्न छुटेका र प्रक्रिया पूरा गरेका १७ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न लागिएको हो”, प्रमुख लम्सालले भने, “भूमिसम्बन्धी समस्या समाधानको प्रक्रियालाई निरन्तरता दिँदै बाँकी रहेका अव्यवस्थित बसोबासीलाई पनि क्रमशः पुर्जा वितरण गरिनेछ।”

गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिका–११ का ९६ अव्यवस्थित बसोबासीलाई असार महिनामा तथा थप २३ जनालाई कात्तिक महिनामा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो।

प्रमुख लम्सालका अनुसार सरकारले तोकेको राजस्व बुझाएका सात सेवाग्राही भने सम्पर्कमा नआएकाले उनीहरू पुनः सम्पर्कमा आएपछि पुर्जा वितरण गरिनेछ। नगरपालिकामा रहेका अन्य अव्यवस्थित बसोबासीको हकमा समेत आवश्यक प्रक्रिया पूरा गरी क्रमशः जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै जाने नगरपालिकाले जनाएको छ।

बजार अनुगमनमा कैफियत भेटिएपछि खाद्य स्टोर कारबाहीमा

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो । त्यसमध्ये ७ वटालाई सुधारात्मक निर्देशन दिएको छ ।विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको छ ।

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, बर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ ।

ठुलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ ।

वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रुपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटा, भिडियो नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को सङ्केत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ ।

यसैगरी, आफ्नो घरवरिपरि रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घरवरपर सफा राख्न, राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्नु आवश्यक छ ।

चट्याङ पर्न लागेमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि, नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न, मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।

अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद्बारेको आधिकारिक सूचना नियमित सुन्न एवम् हेर्न सचेत गराइएको छ । विपद्सम्बन्धी सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ । विपद्का कारण ठुलो जनधनको क्षति हुन नदिन र पूर्वसावधानी अपनाउनका लागि प्राधिकरणले अनुरोध गर्दै आएको छ ।

यसैबिच, पछिल्लो २४ घण्टामा देशभर कुल ४७ वटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार विपद्का कारण रु १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ । विपद्मा परेर तीन जनाको ज्यान जाँदा आठ जना घाइते भएका छन् ।

यही साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंश, आगलागीका आठ/आठ वटा घटना घटेका छन् । यस्तै, बाढीका २, पहिरो १४, अविरल वर्षा ८, जनावर आक्रमण ३ र हावाहुरीको एक घटना घटेका छन् ।