`

विरासत, विवेक र विकासको सङ्गम : किरण किशोर घिमिरे

दाङको माटोमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको बौद्धिक अनुभव बटुल्नुभएका किरण किशोर घिमिरे नेपाली कांग्रेसको राजनीतिमा एउटा निष्ठावान् र शालीन नाम हो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मैदानमा उत्रिँदै गर्दा उनले केवल एउटा राजनीतिक पदको प्रतिनिधित्व मात्रै गरेका छैनन्, बरु एउटा ऐतिहासिक विरासत र समृद्धिको सपनालाई पनि सँगै बोकेका छन् ।

उनको राजनीतिक यात्रा कुनै संयोग मात्र होइन, बरु एउटा बलियो पारिवारिक पृष्ठभूमिबाट सिञ्चित सङ्कल्प हो । ऐतिहासिक ‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी, पिता स्व. ऋषिराम शर्मा घिमिरे र निरङ्कुश पञ्चायत विरुद्धको लडाइँमा होमिएका दाजु कृष्ण किशोर घिमिरेको पदचाप पछ्याउँदै उनी वि.सं. २०३६ सालदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको संवाहक बने । वि.सं. २०४६ को जनआन्दोलनपश्चात् मजदुरहरूको हकहितका लागि ट्रेड युनियन आन्दोलनमार्फत उनले देखाएको सक्रियता आज पनि उत्तिकै सान्दर्भिक छ।

किरण किशोर घिमिरे राजनीतिज्ञ मात्र हैनन्, एक कुशल प्रशासक र सफल उद्यमी पनि हुन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर र द नेदरल्याण्ड्सको मास्ट्रिच स्कुल अफ म्यानेजमेन्टबाट पोस्ट ग्र्याजुएट डिप्लोमा गरेका छन् । जनकपुर रेलवेको सिइओ र नेपाल यातायात संस्थानको प्रबन्धक लगायत झन्डै १८ वर्ष लामो सरकारी सेवाको उनको अनुभवले उनको प्रशासनिक क्षमतालाई प्रमाणित गरिसकेको छ ।

समाजसेवा र उद्यमशीलताको सेतु उनले समाजलाई केबल नारा मात्र दिएका छैनन्, बरु कर्ममार्फत परिवर्तनको अनुभूति दिलाएका छन् । दाङमा स्वास्थ्य र शिक्षाको ज्योति छर्न दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापना होस् वा वन विकास र उद्योगमार्फत स्थानीयलाई रोजगारी दिने पहल, उनको कर्मशीलता लोभलाग्दो छ । करिब २५ हजार नेपालीलाई सुरक्षित रोजगारीको मार्ग प्रशस्त गरिदिने उनको उद्यमी छविले आर्थिक समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेको छ ।

बहुभाषिक दक्खल, अन्तर्राष्ट्रिय भ्रमणको अनुभव र ग्रास रुटको राजनीतिक बुझाइ भएका घिमिरे नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।

दाङ क्षेत्र नं. २ का मतदाताका लागि उनी एक यस्ता उम्मेदवार हुन्, जसको लागि राजनीति सत्ताको सिँढी होइन, सेवा र विकासको सार्थक माध्यम हो ।

निष्कलङ्क छवि, उच्च शैक्षिक पृष्ठभूमि र स्पष्ट विकासका एजेन्डा बोकेका किरण किशोर घिमिरे फागुन २१ गतेको निर्वाचनमा परिवर्तन र समृद्धिको पर्यायका रूपमा खडा भएका छन् । दाङ – २ का मतदाताले उनको एजेन्डालाई स्पष्ट समर्थन गर्ने उनले विश्वास लिएका छन्।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ७०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ६०, कायम भएको छ ।

Laxmi sunrise bank
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८५, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १२०, स्ट्रबेरी प्रतिकिलो रु ५५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।

निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताए । रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक भएको भए पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको पनि प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैंक खातामार्फत गर्न र उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ ।

राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ ।

कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् ।

सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो ।

सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

जुम्लामा चालु आवको पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव) को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशत मात्र पुँजीगत बजेटको खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको छ । कुल बजेटको पुँजीगततर्फ ९ दशमलव ४ प्रतिशत मात्र बजेटको खर्च भएको बताए ।

चालु आव २०८२–८३ का लागि पुँजीगततर्फ एक अर्ब ११ करोड ८७ लाख १३ हजारको बजेट विनियोजन भएको छ । चालु आवको पाँच महिनासम्म पुँजीगततर्फ १० करोड ११ लाख १५ अर्थात् ९ दशमलव ४ प्रतिशत मात्र विकासे बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलले जानकारी दिए ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय जुम्लाको कुल बजेटको पुँजीगततर्फ ९ करोड ११ लाख ९४३ रुपैयाँ खर्च भएको छ । उक्त कार्यालयको समग्र वित्तीय प्रगति १९ दशमलव ३३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाले जनाएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको कर्णाली प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको मातहतभित्र १२ वटा कार्यालय रहेका छन् ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला। हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो ।

निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।

हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भू–भाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामकरण गरेको छ ।

मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गरिएको हो । भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार औपचारिक रूपमा उक्त चोकको नामकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखेको हो । सोही स्थानमा विपिनको सालिक निर्माण गर्ने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार सालिक निर्माणका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।

“कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी सालिक बनाउने निर्णय भएको छ ।” अध्यक्ष धामीले भने, “सोहीअनुरूप विपिन चोक नामकरण गरिएको छ, केही समयपछि सालिक स्थापना कार्यलाई पूर्णता दिइन्छ ।” यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका जनाएका थिए । विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यको उपस्थिति रहेको थियो । भीमदत्त नगर कार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो ।

गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी। नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर सर्वेक्षण गरेर फर्किएको हो ।

सञ्चार र विद्युत् सुविधा विस्तारका लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ लगायतको टोलीले गत महिना काठमाडौँमा सूचना तथा सञ्चार र ऊर्र्जा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

वर्षेनी हजारौँ पर्यटक पुग्ने अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत्को अभावका कारण भोग्नुपरेको समस्यालाई अन्त्य गर्दैै विद्युत्् र फोर जी नेटवर्कसहितको सञ्चार सुविधा विस्तारका लागि पहल गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

गत शरदयाममा करिब २० हजार जनाले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । सञ्चार सुविधा नहुँदा अलपत्र परेका पर्यटकलाई उद्धारसमेत कठिनाइ भइरहेकाले पहिलो प्राथमिकता सञ्चार र विद्युत्् रहेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ ।

गाउँपालिकाले विद्युत्् र सञ्चारको सुविधा विस्तार भएमा पर्यटकलाई बस्न थप सहज हुने संरचना बनाउनसमेत पहल गर्ने जनाएको छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटक तथा आरोहीलाई समस्या हुने गरेको छ ।

हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार विच्छेदको अवस्थामा छ । नेपाल टेलिकमका इन्जिनियर जीवराज उपाध्यायले सर्वेसहितको प्रारम्भिक विवरण आएपछि थप योजना बनाउने बताउनुभयो ।

सन् १९५० जुन ३ मा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुङ्गा र आधार शिविरमा सञ्चारविहीन हुँदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ ।

असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइँचो लाग्छ ।

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा। सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १३९ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ८५ जना स्वतन्त्र छन् भने ५४ जना मात्र दलका उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवकाअनुसार सिरहा–१ मा दलका १४ र स्वतन्त्र १८, सिरहा–२ मा दलका १४ र स्वतन्त्र १५, सिरहा–३ मा दलका १२ र स्वतन्त्र २९ तथा सिरहा–४ मा दलका १४ र स्वतन्त्र २३ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता गरेका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । उम्मेदवारी दर्ता गराउनेमध्ये महिलाको सङ्ख्या आठ जना मात्र छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा अधिकांश ठूला दलका असन्तुष्ट कार्यकर्ता र समर्थकहरू छन् । निर्वाचनको समयमा सवारी साधन प्रयोग गर्न पाइने सुविधा र मतगणनाको समयमा आफ्ना प्रतिनिधि पठाउन सहज हुने भएकाले पनि धेरैले स्वतन्त्र रूपमा नाम दर्ता गराएको अनुमान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न तथा राजनीतिक दलको घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन नागरिक क्षेत्रबाट आग्रह गरिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज आयोजित छलफल कार्यक्रमका वक्ताहरूद्वारा निर्वाचन अवधिमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सम्बद्ध पक्षले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षालगायत अधिकारका न्यूनतम विषयलाई प्रथमिकतामा दिँदै बालअधिकार सुनिश्चित गर्न आग्रह गरिएको हो ।

वक्ताहरूले बालबालिकासम्बन्धी ऐन, २०७५, निर्वाचन आचारसंहिता, २०८२ लगायत ऐनमा भएका प्रावधानमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका गतिविधि, प्रचारप्रसार, आमसभा, जुलुस, र्‍यालीमा प्रयोग गर्न वा गराउन नहुने स्पष्ट उल्लेख भएकाले सोको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो ।

एनसिई नेपालका अध्यक्ष लवराज वलीले १३ देखि २८ वर्ष उमेर समूहलाई जेनजी समूह भनिने स्थितिमा १८ वर्षभन्दा मुनिका बालबालिकाको उमेर समूहलाई जेनजीका नाममा राजनीतिक गतिविधि र निर्वाचनमा प्रयोग गर्न÷गराउन नहुने बताउनुभयो । उहाँले नागरिक समाज र अधिकारकर्मीबाट यस सम्बन्धमा स्पष्ट धारणा आएकाले विद्यमान कानुन कार्यान्वयनका लागि सम्बन्ध सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष वलीले निर्वाचन हुनुपूर्व, निर्वाचनको दिन र निर्वाचन भएपश्चातका कार्यक्रममा प्रचारप्रसार, जुलुस, विजयोत्सवलगायत गतिविधि हुने भएकाले ती गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था उल्लङ्घन भएको पाइए कानुनी कारबाही हुनुपर्ने विषयमा निर्वाचन आयोग र सम्बद्ध निकायलाई आफूहरूले ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष पुष्पराज कुँवरले संविधानतः निःशुल्क शिक्षालाई कार्यान्वयन गर्न सकिने गरी शिक्षामा कुल बजेटको २० प्रतिशत निर्धारण हुनुपर्ने, शिक्षा सुधारको मार्गचित्रका आधारमा नयाँ शिक्षा ऐन शीघ्र आउनुपर्ने र शिक्षकहरूको ट्रेड युनियन अधिकार कुण्ठित हुन नहुने धारणा राख्नुभयो ।

राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषराज जिसीले लामो समयदेखि रोकिएको शिक्षा ऐनसम्बन्धी विधेयकलाई सर्वपक्षीय सहमतिका आधारमा संसद्बाट पारित गर्नुपर्ने विषय दलहरूको प्रतिबद्धतामा आउनुपर्नेमा जोड दिनुभयो । एनसिई नेपालका महासचिव टीकाराम आचार्यले निजी विद्यालयको व्यापारीकरण रोकिनुपर्ने भन्दै पठनपाठन प्रभावित हुनेगरी शिक्षक राजनीतिक गतिविधिमा संलग्न हुन नहुने विषयमा यसअघि दलबाट भएका प्रतिबद्धतालाई आगामी दिनमा कसरी कार्यान्वयन गर्ने भन्नेमा थप स्पष्टता आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका केन्द्रीय सदस्य केशव आचार्य, एनसिई नेपालका उपाध्यक्ष दिलु बिटाली, बाल संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष मधु गुरुङ, सेभ द चिल्ड्रेनका प्रतिनिधि दिलबहादुर ऐर, एक्सन एड नेपालका कार्यक्रम अधिकृत चोपलाल गिरी, भिएओ नेपालका प्रतिनिधि नारायण सिलवाल, शिक्षा पत्रकार प्रकाश सिलवाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौका जिल्ला अध्यक्ष गणेश गुरागाईँ, अधिकारकर्मी ढालबहादुर विश्वकर्मालगायतले निर्वाचनका समयमा बालअधिकारको दुरुपयोग हुन नहुने र दलहरूले निर्वाचन घोषणापत्रमा शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।

उहाँले आज एक भिडियो सन्देश जारी गर्दै आमकार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएकाले अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

महामन्त्री पौडेलले कांग्रेसभित्र आफूले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरहेको बताउँदै अहिले सोहीअनुसार भएकाले देश परिवर्तनको यात्रामा सहकार्य गर्न आग्रह गर्नुभयो । “हामीले नेतृत्व र नीति परिवर्तनका विषय निरन्तर उठाइरह्यौँ, आज विशेष महाधिवेशनमार्फत पार्टीमा नेतृत्व र नीति दुवै परिवर्तन भएको छ । हामीले कांग्रेसमात्र परिवर्तन गर्न खोजेका होइनौँ, देशलाई विकास गर्दै सकारात्मक परिवर्तन गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो ।

उहाँले आमनेपाली, कांग्रेसका साथीहरू र मतदाताहरूको चाहनाबमोजिम पार्टी सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात् कांग्रेसले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेकाले देश परिवर्तनका निम्ति आफूहरूको निर्णयमा आममतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उहाँको भनाइ छ । देश परिवर्तनका निम्ति कांग्रेसको निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सानो हमिङबर्डको अन्तिम आश्रय

क्विटो (इक्वेडर) । इक्वेडोरियन एन्डिजको दुर्गम क्षेत्रमा रहेको एउटा प्राचीन जङ्गल मानव गतिविधिको बढ्दो अतिक्रमणबिच विलुप्त हुने जोखिममा परिरहेको सानो हमिङबर्डका लागि अन्तिम आश्रय स्थल बनेर उभिएको छ ।

यो यानाकोचा रिजर्भ हो, जुन ब्ल्याक-ब्रेस्टेड पफ्लेग (एरिओक्नेमिस निग्रीभेस्टिस) नामक अत्यन्तै दुर्लभ हमिङबर्डको अन्तिम शरण स्थलका रूपमा चिनिन्छ । क्विटोको प्रतीक मानिने यो सानो चरा केवल करिब ९ सेन्टिमिटर (३.५ इन्च) लम्बाइको हुन्छ । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार यसको विश्वव्यापी सङ्ख्या घटेर अहिले १५० देखि २०० वटामा सीमित भएको छ, जसले यसलाई पृथ्वीको सबैभन्दा खतरामा परेका प्रजाति मध्ये एक बनाएको छ ।

जोकोटो फाउन्डेसनले २५ वर्षअघि स्थापना गरेको यानाकोचा रिजर्भ आज एन्डियन जैविक विविधताको महत्वपूर्ण केन्द्र बनेको छ । संरक्षणकर्मीले यस क्षेत्रलाई एउटा चरा मात्र नभई, सम्पूर्ण इकोसिस्टम जोगाउने उद्देश्यले संरक्षण गरिरहेको बताएका छन् । संरक्षणवादी पाओला भिलाल्बाले भन्नुभयो, “हामीले एउटा प्रजातिको मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीको रक्षा गरिरहेका छौँ भन्ने कुरा हामीले बुझेका छौँ ।”

यो हमिङबर्डलाई यसको खुट्टाको वरिपरि देखिने सेता पखेटा, ट्राउजर जस्तै देखिने विशेष बनावटका कारण सजिलै चिनिन्छ । ती सेता पखेटा यसको गहिरो धातु जस्तो कालो छाती र कांस्य-हरियो पाखासँग तीव्र रूपमा फरक देखिन्छन् । यति आकर्षक स्वरूप हुँदाहुँदै पनि उच्च उचाइका वन क्षेत्र चरन र कृषिका लागि सफा गरिँदा यसको अस्तित्व गम्भीर जोखिममा परेको छ ।

बड्र्स एन्ड कन्जरभेसन फाउन्डेसनकी शर्ली फारिनाङ्गोका अनुसार यो प्रजाति समुद्र सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर (नौ हजार ८०० देखि ११ हजार ४०० फिट) उचाइको साँघुरो पारिस्थितिक क्षेत्रमा मात्र सीमित छ । उहाँका अनुसार यही उचाइको क्षेत्र कृषि भूमिमा रूपान्तरण गरिने प्रमुख क्षेत्र भएकाले दबाब सबैभन्दा बढी यहीँ परेको छ ।

क्विटोबाट करिब ४५ किलोमिटर (२७ माइल) उत्तरपश्चिममा पर्ने पिचिनचा ज्वालामुखीको ढलानमा फैलिएको यो बादलले ढाकिएको जङ्गल जोगाउन संरक्षणकर्मी अहिले तीव्र प्रयासमा जुटेका छन् । उनीहरू वन पुनः स्थापना गर्दै सानो हमिङबर्डको भविष्य सुरक्षित गर्ने दौडमा छन् । एन्डिजका ‘सबैभन्दा साना परी’ भनेर चिनिने यी चराका लागि यी घना र प्राचीन रूख केवल बास स्थान मात्र होइनन्, बरु अस्तित्व जोगाउने अन्तिम आशा पनि हुन् ।

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान, को को छन् प्रतिस्पर्धामा ?

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका ४९ जनाकै उम्मेदवारी कायम भएको छ ।

शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले जानकारी दिनुभयो ।

कास्की–३ मा स्वतन्त्र उम्मेदवार नभएकाले सबै उम्मेदवारले दलको चुनाव चिह्न प्राप्त गरेको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले)बाट दामोदर पौडेल बैरागी, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ उम्मेदवार रहनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका जीवनबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका तीर्थ गुरुङ, नेकपा माओवादीबाट कुशल खड्का र श्रम संस्कति पार्टीबाट हितकाजी गुरुङले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कास्की–१ मा १७ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुुन्छ । उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट तिलकबहादुर रानाभाट, नेकपा (एमाले)बाट वैनबहादुर क्षेत्री अधिकारी, नेपाल कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल उम्मेदवार रहनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापा, नेपाल मानवता पार्टीबाट आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुमार परियार, उज्यालो नेपाल पार्टीका मनिषा द्धा, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपाल पार्टीका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, श्रम संस्कृति पार्टीका विलबहादुर तामाङ लामा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मान थापा, जनता समाजवादी पार्टीबाट रामकाजी चर्माकार र आम जनता पार्टीका हर्कबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

उक्त क्षेत्रका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर राउतलाई त्रिभुज चिन्ह प्रदान गरिएको कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सोनु बानियाँले जानकारी दिनुभयो । कास्की–२ मा पनि १७ जनाकै उम्मेदवारी कायम भएको छ ।

उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट माधवप्रसाद बाँस्तोला, नेकपा (एमाले)बाट रश्मी आचार्य, नेपाल कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेशनबाट ओलबहादुर गुरुङ र उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ उम्मेदवार रहनुभएको छ ।

यस्तै नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेकपा माओवादीबाट प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कास्की–२ को निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दीपक गिरीका अनुसार सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वसन्तराज घिमिरेलाई ट्रफी, विष्णप्रसाद तिवारीलाई त्रिभुज, रामचन्द्र आचार्यलाई हेल्मेट, निर्दोष विक्रम पौडेललाई क्याल्कुलेटर र निरञ्जन कोइरालालाई मसी चुनाव चिन्ह प्रदान गरिएको छ ।

टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँदिल्ली । आगामी महिनामा आयोजना हुने टी-२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो ।

तर बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल भारतबाट सह-आयोजक श्रीलङ्कामा सार्ने बङ्गलादेशको अनुरोध अस्वीकार गरेपछि प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहँदा बङ्गलादेश प्रभावकारी रूपमा बाहिरिन बाध्य भएको छ ।

बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले ‘हाम्रो माग विश्वकप खेल्नु हो, तर भारतमा होइन’ भन्दै स्थल परिवर्तन नभए टोली सहभागी नहुने स्पष्ट पार्नु भएको छ । भारत सन् २०३० को राष्ट्रमण्डल खेल अहमदाबादमा आयोजना गर्ने तयारीमा छ, जसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

तर विशेष गरी क्रिकेट लस एन्जलस २०२८ ओलम्पिकमा पुनः समावेश भएपछि टी-२० विश्वकपको अव्यवस्थित तयारी, तालिका ढिलाइ र बङ्गलादेशको बहिष्कारले ती महत्त्वाकांक्षामाथि प्रश्न उठाएको छ । विश्वकपको तालिका डिसेम्बरसम्म सार्वजनिक हुन सकेको थिएन । अब फेब्रुअरी ७ मा हुने उद्घाटन खेलअघि बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने सम्भावना देखिएको छ ।

बुलबुलका अनुसार करिब २० करोड जनसङ्ख्या भएको क्रिकेट-प्रेमी राष्ट्र बङ्गलादेश बाहिरिएमा आइसिसीले ठूलो दर्शकवर्ग गुमाउने छ । आइसिसीले भने बङ्गलादेशका खेल सार्न कुनै ‘विश्वसनीय वा प्रमाणित खतरा’ नदेखिएको र विश्व क्रिकेटको सामूहिक हितको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । तर विश्व क्रिकेटमा भारतको प्रभाव अत्यन्त बलियो छ ।

दक्षिण एसियामा विश्वका करिब ९० प्रतिशत क्रिकेट समर्थक रहेका छन् र भारतले विश्व क्रिकेट आम्दानीको करिब तीन चौथाइ हिस्सा उत्पादन गर्छ । खेल पत्रकारले बिसिसिआईको विशाल राजस्व र प्रभावका कारण विश्व क्रिकेटमा भारतको प्रभुत्वलाई ‘चुनौती दिने कोही छैन’ भन्ने टिप्पणी गरेका छन् । आइसिसीका अध्यक्ष जय शाह भारतीय गृहमन्त्री अमित शाहका पुत्र हुनु पनि आलोचनाको विषय बनेको छ ।

यस विवादलाई धेरैले राजनीतिक मुद्दाका रूपमा हेरेका छन् । सन् २०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारत-बङ्गलादेश सम्बन्ध चिसिएको छ । यही पृष्ठभूमिमा आइपिएल टोली कोलकाता नाइट राइडर्सबाट बङ्गलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइएको घटनाले ढाकामा थप आक्रोश पैदा गरेको थियो ।

बङ्गलादेशका अन्तरिम खेल सल्लाहकार आसिफ नजरुलले क्रिकेटमा ‘कसैको एकाधिकार हुनु नहुने’ बताउँदै, आइसिसी साँच्चिकै विश्वव्यापी संस्था बन्न चाहन्छ भने बङ्गलादेशलाई श्रीलङ्कामा हुने टी-२० विश्वकपमा खेल्न दिनुपर्ने माग गर्नु भएको छ । यसरी क्रिकेटमा बढ्दो राजनीतिक हस्तक्षेप र कूटनीतिक तनावले टी-२० विश्वकप मात्र नभई, भारतको दीर्घकालीन ओलम्पिक सपनामा समेत छायाँ पारेको विश्लेषकको निष्कर्ष छ ।

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर (झापा) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा सबै धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित अन्तरक्रियामा निर्वाचनका क्रममा समुदायस्तरमा कुनै पनि किसिमको तनाव, द्वन्द्व वा विभाजन हुन नदिने विषयमा सहभागी सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । शान्ति र सामाजिक सद्भाव कायम राख्न आपसी सहयोग र समन्वयलाई प्राथमिकता दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

प्रजिअ गेलालका अनुसार सामाजिक सद्भावलाई संस्थागत गर्न प्रत्येक स्थानीय तहमा शान्ति तथा सद्भाव समिति गठन गर्ने निर्णय गरिएको छ । समितिको संयोजक स्थानीय तहका प्रमुख वा अध्यक्ष रहनेछन् ।

यसैगरी उपप्रमुख वा उपाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, धार्मिक समुदायका प्रतिनिधि तथा स्थानीय स्तरमा रहेका सुरक्षा निकायका प्रतिनिधि समितिका सदस्य रहने व्यवस्था गरिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहनेछन् ।

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबै धर्म र समुदायका नागरिक, बुद्धिजीवी, नागरिक अगुवा तथा धर्मगुरुबीच सहकार्य र समन्वय बढाउने सहमति पनि गरिएको छ । निर्वाचनका क्रममा कुनै पनि अवाञ्छित गतिविधि देखिएमा सबै पक्षको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी वातावरण सहज बनाउने निर्णय गरिएको प्रजिअ गेलालले बताए ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

गृह मन्त्रालयको अधिकृत हुँ भनी नक्कली परिचयपत्र देखाउने व्यक्ति नियन्त्रणमा

काठमाडौँ – गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्याङ्क लिन खोज्ने नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले उक्त व्यक्तिलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको जानकारी दिनुभयो । नक्कली परिचयपत्र देखाउने व्यक्ति तनहुँका कृष जिसी रहेका छन् । आफूलाई सक्कली अधिकृतको परिचय दिन आजको दिन उनी निजामती पोसाकमै आएका थिए । परिचयको क्रममा निजले आफू ब्याट–३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका छन् ।

उहाँका अनुसार विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाइ काठमाडौँको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाइएको बुझिन्छ । एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकाले होटलका बाउन्सरले गृहका तीनै नक्कली अधिकृतसँग पैसा असूली गरिदिन सहयोग मागेका थिए । नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए । विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए ।

उनले निजलाई कालोसूचीमा राखिदिनसमेत अनुरोध गरेका थिए । नक्कली अधिकृतले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्रसमेत लिएको खुलेको छ । अध्यागमन विभागको इन्टेलीजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचयपत्रमा कर्मचारी सङ्केत नं अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको प्रवक्ता ढकालले बताउनुभयो ।

राष्ट्रपतिले भने – सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले २५ औँ सशस्त्र प्रहरी दिवस –२०८२ का अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

उनले यसले उच्च व्यावसयिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताए ।

उनले भने, ‘जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो । वास्तवमा, सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो ।’ उनले आगामी निर्वाचन हाम्रो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए ।

‘राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने ।

उनले संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो सङ्गठनको सबैभन्दा ठूलो शक्ति हो भन्दै नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहने विश्वास व्यक्त गरे ।

सङ्क्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा नेतृत्वदायी भूमिका र त्यसपछिका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस सङ्गठनले मिलाएको सुरक्षा प्रबन्ध र व्यवस्थापनमा खेलेको भूमिका नागरिकले सधैँ स्मरण गर्ने उनको भनाई थियो ।

स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता

स्याङ्जा। स्याङ्जामा चार जनाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारी फिर्ताको समय तोकेकोमा प्रगतिशील लोकतान्त्रिक पार्टीसहित चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये स्याङ्जाको क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज नेपाली दर्जी आफैँले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

स्याङ्जा क्षेत्र नं १ मा १३ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले फिर्ता लिएपछि अब १२ जना चुनावी मैदानमा उत्रिने भएका हुन् ।

क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार टीकाराम रेग्मीले उम्मेदवारी फिर्ता लिनुभएको सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम पाण्डे र दिलीप श्रेष्ठ आफैँले तोकिएको अवधिभित्र उम्मेदवारी फिर्ता लिनुभएका छ ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो – प्रदेश प्रमुख भट्ट

कास्की। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेल क्षेत्रको विकासबाट राष्ट्रको समग्र विकासको महत्त्वपूर्ण आधार हुने बताउनुभएको छ ।

पोखरामा आजदेखि सुरु भएको ‘टाइगर कप’ राष्ट्रिय÷अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभयो ।

“खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्ने छ । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरूलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ”, प्रदेश प्रमुखले भन्नुभयो ।

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उहाँको भनाइ छ ।

सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउनुहुँदै उहाँले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तरराष्ट्रियस्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एसियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु ।”

भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भए पनि यस्ता प्रतियोगिताका कारण खेलाडीलाई फाइदा पुर्याएको उहाँको भनाइ छ । जिल्ला तथा केन्द्रीयस्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताउनुभयो ।

टाइगर ग्रुप अफ पोखराले विगत छ वर्षदेखि भव्य र व्यवस्थित ढङ्गले अन्तरराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत पोखरा र गण्डकी प्रदेशमात्र नभई नेपाललाई नै चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकामा धन्यवाद पनि व्यक्त गर्नुभयो ।

नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो । “नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि सङ्घले पहल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले मुलुकको विषम परिस्थितिमा समेत आफूहरूले यो प्रतियोगितालाई निरन्तरता दिँदै भलिबल खेलमार्फत पोखरालाई विश्वसामु चिनाउन पहल गरेको बताउनुभयो ।

“छैटौँ संस्करणमा आइपुग्दा टाइगर कप ब्राण्ड बनेको छ । यो ब्राण्डको रुपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा म संस्थाको तर्फबाट आभार व्यक्त गर्दछु”, शर्माले भन्नुभयो ।

यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र थाइल्याण्ड क्विन्स थाइल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, पुरुषतर्फ विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा पर्वत जिल्ला भलिबल सङ्घ र माल्दिभस भलिबल एसोसिएसनले उपाधिका लागि भिड्ने छ ।

भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदानका लागि उपकेन्द्र भने थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमख प्रकाश मगरले जानकारी दिनुभयो । उहाँले यसअघि दुई सय २२ वटा मतदान उपकेन्द्र रहेकामा यस वर्ष १३ वटा थप गरी दुई सय ३५ पु¥याइएको बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं १ र २ मा गरी दुई लाख पाँच हजार ४१० जना मतदाता छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ वटा मतदानस्थल र एक सय १९ मतदान केन्द्र निर्धारण गरेको मगरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं २ का लागि ३९ मतदानस्थलमा एक सय १४ मतदान केन्द्र निर्धारण गरेको छ ।

कार्यालय प्रमुख मगरले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पूर्ण परिपालनका लागि उम्मेदवार एवं दलहरूलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ ।

अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मनोनयनपत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइसकिएको पनि उहाँले बताउनुभयो । अन्य तीन प्रति मतदाता नामावली भने आयोग परिसरमा छपाइ भइरहेको आयोगले जनाएको छ ।

कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता चालिसेले जानकारी दिनुभयो । साथै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने पनि निर्णय उहाँले बताउनुभयो ।

प्रवक्ता चालिसेका अनुसार आजकै बैठकले पार्टीका तर्फबाट सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

देश अझै संकटमा छ, बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दुर्घटनामा पर्न सक्छ – प्रचण्ड

काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् ।शुक्रबार नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् । उनले देशमा दुर्घटना अब पूरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए ।

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र द¥हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने उनको भनाई थियो ।

उनले भने, ‘देश अझै पनि संकटमा छ । दुर्घटना अब पूरै टरीसक्यो भन्ने पनि छैन् । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ । यसलाई रोक्ने जिम्मा कसले लिने, देशलाई फेरि अनिष्टतर्फ जान रोक्ने जिम्मा कसले लिने भन्दा त्यो जिम्मेवारी लिन अगाडि बढ्नुपर्छ भनेर एकताको अभियान सुरु गर्यौं ।’

सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेमा प्रेम र वियोगको कथा

काठमाडौँ । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।

गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आँफुलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन् । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो ।

पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । सुवास अधिकारी, मन्जु खड्का र सहदेव गिरीको विशेष सहयोगमा यो भिडियो तयार भएको हो । भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।

अमेरिकामा आप्रवासीमाथि भएका ‘नियमित दुव्र्यवहार’को संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वारा आलोचना

जेनेभा। संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले शुक्रबार अमेरिकी अधिकारीहरूले आप्रवासीमाथि पछिल्लो समय हुने गरेका ‘नियमित दुव्र्यवहार’ प्रति आश्चर्य व्यक्त गर्दै वासिङ्टनलाई ‘परिवारलाई टुक्राउने अभ्यास अन्त्य गर्न’ आग्रह गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘आप्रवासी र शरणार्थीहरूको अमानवीय चित्रण र दुव्र्यवहार संयुक्त राज्य अमेरिकाका लागि नसुहाउने बताउनुभएको छ। उहाँले अमेरिकाको आप्रवासी नीति र प्रवर्तन अभ्यासहरूले मानवीय गरिमा र उचित प्रक्रियाको अधिकारको सम्मान गरेको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “म आप्रवासी र शरणार्थीहरूप्रति अमेरिकाको अहिलेको नियमित दुव्र्यवहार र अपमानबाट चकित छु,” उहाँले एक विज्ञप्तिमा बताउनुभएको छ।”

उहाँले प्रश्न गर्नुभयो, “उनीहरूको आत्मसम्मान र हाम्रो साझा मानवताको चिन्ता कहाँ छ?” राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन प्रशासनले देशभरि लाखौं अवैध आप्रवासीलाई देश निकाला गर्न आफ्नो अभियानलाई दबाब दिइरहेको छ। डेमोक्र्याटिक नेतृत्वको मिनियापोलिसमा हजारौँ आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) सदस्यहरू तैनाथ गरिएको छ ।

डेमोक्र्याटिक र मिनियापोलिसका स्थानीय अधिकारीहरूले विशाल आप्रवासन कारबाहीमा बिहीवार पाँच वर्षीय बालकलाई हिरासतमा लिएकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

जनवरी ७ मा सङ्घीय सुरक्षा अधिकारीहरूले अमेरिकी नागरिक रेनी गुडलाई गोली हानेर हत्या गरेपछि मिनियापोलिस बढ्दो तनावपूर्ण प्रदर्शनले प्रभावित बनेको छ, जबकि ट्रम्प र उहाँका अधिकारीहरूले गोली हान्ने कार्यलाई वैध आत्मरक्षाको रूपमा बचाउ गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तले अमेरिकी आप्रवासन र अन्य सदस्यहरूले ठूलो मात्रामा प्रवर्तन अभियानको प्रयोगको निन्दा गर्दै बारम्बार अनावश्यक वा असङ्गत बल प्रयोग गरिरहेको बताउनुभएको छ।

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले लिए मनोनयन फिर्ता

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । यससम्बन्धी थप जानकारी आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते शनिबार समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने त्यस अवसरमा जानकारी दिइयो ।

प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आज ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमा दलका तर्फबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरवारमा बस्ने सार्वजनिक कार्यसूचीमा जनाइएको छ ।

कार्यसूची अनुसार बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउनेछन् ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’

काभ्रेपलाञ्चोक। जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ ।

“सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ”, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निर्वाध सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी कार्यस्थलनमा परिचालन हुने प्रतिबद्धता व्यक्त गर्दै रासससँग भन्नुभयो ।

जिल्लामा दुई हजार २६९ जना निर्वाचन प्रहरी तथा नेपाल प्रहरीबाट एक हजार ११५ र सशस्त्र प्रहरीबाट ३५० जना परिचालन गर्ने योजना छ ।

काभ्रेपलाञ्चोकमा कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य लिङ्गका छन् ।

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ । माग भएको निवार्चन प्रहरी सङ्ख्यामा दुई हजार ४९३ ले आवेदन दिएकामध्ये परीक्षामा दुई हजार २८३ सामेल जिल्ला प्रहरीले जनाएको छ ।

जिल्लाको दुई प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्र तीन गरी १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् ।

निर्वाचन क्षेत्र नं २ मा १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । उसका अनुसार जसमध्ये क्षेत्र नं २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी तीन जना महिला प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । दलित उम्मेदवार छैनन् तर जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् ।प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्र दरखास्त परेको हो ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ ३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो ।

निर्वाचन प्रहरी भर्नाअन्तर्गत बिहीबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरिएको छ । यही माघ १२ गतेभित्र निर्वाचन प्रहरी छनोटको नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहे पनि त्यसअघि नै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभयो ।

केन्द्रले निर्धारण गरेको कोटाअनुसार खोटाङमा आवश्यक १०९ जना अपुग निर्वाचन प्रहरी छिमेकी जिल्लाबाट ल्याएर पदपूर्ति गरिने जनाइएको छ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन प्रहरीका लागि सरकारले निर्धारण गरेको पारिश्रमिक कम भएकाले युवाको आकर्षण नदेखिएको जनाइएको छ ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, एमालेबाट जिल्ला अध्यक्ष देवविक्रम राई र नेकपाबाट अर्थ तथा वाम राजनीतिक विश्लेषक डा हरि रोकाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।यस्तै, डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ ।

वर्षौँदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो । कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ ।

संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ । स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अबरोध सृजना भएको छ ।

“ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी छ, “बोहराले भन्नुभयो, “स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको छ ।”

तालको पूर्वतर्फको जग्गामा ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन् । अतिक्रमण गरिएको तालको जग्गामा खेतीपातीको कार्य गरिदै आएको छ । विसं २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको श्रृङखला सुरु भएको स्थानीयको भनाइ छ । स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने कार्य तीव्र भएको छ । “पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ”, महराले दुःख व्यक्त गर्नुभयो । तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ ।

प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ । सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको छ । स्थानीय भजनी रानाका अनुसार केही वर्ष अघिसम्म हिउँदको समयमा तालमा देखिने गरेका विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्तीका कारण देखिन छाडेका छन् । पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खल्बलिन पुगेको छ ।

देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो । प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आफ्नो आयस्रोत को माध्यम बनाउन खोजे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन् । सीमा विवाद सुल्झाउन जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिहरूसँग पटक–पटक बैठक बसे पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ ।

“दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर जग्गा नापजाँच गर्ने र विवाद टुङ्ग्याउने सहमति गराएका थियौँ,” प्रमुख बोहराले भन्नुभयो, “तर सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले गडविजुला ताल सङ्कटमा परेको छ ।” कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गाउँ विकास समिति हुदा देखिनै गडविजुला ताल क्षेत्र नगरपालिकाको स्वामित्वमा रहँदै आएको बताउनुभयो ।

“पहिले त्यस क्षेत्रमा वन क्षेत्र थियो, मानविय बसोवास थिएन,” उहाँले भन्नुभयो, “आरक्ष विस्थापीतको बस्ती ताल वरपर बसेपछि लालझाडी गाउँपालिकाले आधा ताल हाम्रो हो भनेर दावी गर्न थालेपछि विवाद देखिएको छ ।” तालमा दुवै पालिकाले दावी रहेपछि नापी विभागबाट नापी टोली बोलाएर सीमा यकिन गरि समस्या समाधान गर्ने सहमती भएको उहाँले बताउनुभयो ।

क्षेत्रफलका हिसाबले ठूलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि यो ठूलो आम्दानीको स्रोत बन्न सक्थ्यो । ताललाई पुनर्जीवन दिन सके कञ्चनपुरको पर्यटनमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ ।

वर्तमान अवस्थामा यो ताल केवल दुई पालिकाको सीमा विवादको शिकार बनेको छ । यदि समयमै प्राविधिक टोलीमार्फत सीमाना रेखाङ्कन गरी अतिक्रमण नहटाउने हो भने केही वर्षभित्रै गडविजुला ताल केवल नक्सामा मात्र सीमित हुने देखिएको छ ।

वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना

काठमाडौँ। गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ । यस्तै, चार सय ४२ जना घाइते हुँदा दुई हजार ९९६ परिवार प्रभावित भएका छन् । त्यसैगरी, पहिरोका मात्रै पाँच सय ७७ घटना घटेको छ । पहिरोमा परेर ७१ जना मृत्यु भएको छभने पाँच बेपत्ता छन् भने ८० जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय २७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ । वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ ।

हिउँ पहिरोको सङ्ख्या पाँच छ । भूकम्प सात, डुङ्गा पल्टेर दुई, असिनापानी, शीतलहर, महामारी र हवाई दुर्घटना एक–एक घटना भएका छन् ।

पछिल्ला दिनमा त झन् आगलागीका घटनामा बढोत्तरी भएको छ । सामान्य सावधानी अपनाउँदासमेत न्यूनीकरण गर्न सकिने आगलागीका घटना न्यूनीकरण गर्न सकिने विभागको प्रष्टोक्ति छ ।

आज दिनभरको मौसम कस्तो रहला ? हेर्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

साथै, महाशाखाका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३५, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु ११०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३८०, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६५, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १२०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना

काठमाडौँ। नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजारबराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले प्रष्ट पारेको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गरिएको विभागले प्रष्ट पारेको छ ।

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ ।

तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो ।

तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावबमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरे । उनीसँगै धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले साहदत प्राप्त गरेका थिए ।

तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी तथा आतङ्कारी गतिविधि नियन्त्रण गर्नेलगायत १३ वटा कार्यादेश सुम्पेको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक र रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी दिँदै आएको छ ।

यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढङ्गले सम्पादन गर्दै सङ्गठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

हालका दिनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सङ्गठनका रूपमा उभ्याएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।

विसं २०६१ मङ्सिर १ गतेको निर्णयानुसार तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ भएको थियो । विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ ।

सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र दुई सय १५ वटा बिओपीमार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापा बताउछन् ।

नेपालको अन्तरराष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम हुँदै आएका छन् ।

सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मङ्सिर २२ गते चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ ।

बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्दै उहाँले आजको यस शुभदिनमा आफ्ना बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहिआएको बताउनुभएको छ । “सङ्गीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ ।

नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र साइत जुराउनुपर्ने शुभकार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, उहाँले भन्नुभएको छ ।

आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि भएको उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले यस पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतासमेतलाई दर्शाउँछ, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।”