`

विद्यमान सङ्कट समाधान राष्ट्रवादी शक्तिले गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिले लिनुपर्ने बताउनुभएको छ ।

यहाँ राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को भेलाको शुभारम्भ गर्दै उहाँले अहिलेको अवस्थामा कांग्रेस र कम्युनिष्ट गठबन्धन सरकारले सुशासन कायम गर्न नसकेकाले उनीहरुप्रति जनतामा वितृष्णा र घृणा रहेको बताउनुभयो ।

मुलुकमा विद्यमान सङ्कट समाधानका लागि राष्ट्रवादी शक्तिहरू अग्रसर हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले उनीहरूबीच एकता अहिलेको आवश्यकता रहेकाले त्यस्तो एकता कायम गर्न अब कति पनि ढिला गर्नु नहुने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको जानकारी दिँदै उहाँले एकता प्रक्रिया चाँडै टुङ्गिने विश्वास व्यक्त गर्नुभयो ।

पशुपतिनाथबाट तलब भत्ता लिन्नँ, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता भगवान् पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गर्नुभएको छ ।

गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि नेपाल वेद विद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारणसहित पदबहाली गर्दै उहाँले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पण गरी स्वयंसेवा गर्ने बताउनुभएको हो ।

“म यहाँबाट कुनै पारिश्रमिक लिन्नँ, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक श्रीको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र संवर्द्धनमा उपयोग गरिने छ”, सदस्य सचिव भुसालले भन्नुभयो ।

उहाँले लोप भएको पशुपतिनाथको सम्पत्ति खोजी गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विश्वभरका दुई अर्बभन्दा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई विकास गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहने सदस्य सचिव भुसालको भनाइ थियो ।

उहाँलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारीले कोषको कार्यालयमा स्वागत गर्नुभएको थियो ।

अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

राँझा (बाँके) – धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहनुभएको छ । उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाउनुभएको छ । त्यसबापत उहाँले राम्रो आम्दानीसमेत गरिरहनुभएको छ । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहनुभएको छ ।

२५ घारबाट सुरु गरिएको उहाँको व्यावसायिक यात्राले हाल उहाँलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ ।

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कार्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कार्तिके मह प्रतिकिलो रु ५०० र जङ्गली मह रु ७५० मा थोक मूल्यमा बिक्री गरिरहेका छौँ ।” यसरी आम्दानी गर्न उहाँको सङ्घर्ष पनि कम छैन । उहाँले मौषमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गर्नुभएको छ ।

जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिनुभयो । “मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ । मह काड्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु एक लाखसम्म सजिलै कमाउन सकिन्छ ।”

यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उहाँले यस व्यवसायलाई थप व्यवस्थिति गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उहाँले सुनाउनुभयो ।

खत्रीले आत्मविश्वासका साथ भन्नुभयो,“मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । हाल दुई सय ५० घार पु¥याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।”

एउटै वडाका ५३८ घरमा खानेपानीको घारा

गलकोट (बागलुङ) – गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् ।

हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको रु दुई करोड लागतमा १८ वटा मुहानको पानी घरघरमा पु¥याएको हो । वडाध्यक्ष मनबहादुर रोकाले वडाको अब वडा क्षेत्रका २२ घरमा मात्रै पानी पु¥याउन बाँकी रहेको बताउनुभयो ।

“विकासको पहिलो आधार शुद्ध खानेपानी हो, वडाभर खानेपानी पु¥याउने लक्ष्य पूरा हुँदैछ, वडाका ५३८ घरमा निजी धारा जडान गरिएका छन्”, उहाँले भन्नुभयो, “सबै घरमा खानेपानी पु¥याउनु हाम्रा लागि सुखद् कुरा हो, गण्डकी प्रदेश सरकारको लगानीमा १८ मुहानलाई एकीकृत प्रणालीबाट एक घर–एक धारा निर्माण गरिएको हो ।”

रोकाका अनुसार वडा नं ५ को करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा धारा जडान गरिएका छन् । खानेपानीको पहुँच पुगेपछि यहाँका स्थानीयको दैनिकी फेरिएको छ भने समयको बचतसमेत भएको छ । खानेपानीको धारा घरमै आएपछि सरसफाइमा समेत सुधार भइरहेको छ ।

विसं २०७५ बाट सुरु भएको एक घर–एक धारा अभियानले सार्थकता पाएकामा स्थानीय खुसी छन् । स्थानीय कुलबहादुर रोकाले घरमै खानेपानीको धारा भएपछि पानीकै लागि टाढा रहेका सामुदायिक धारा, कुँवालगायत स्थानमा जाने बाध्यता अन्त्य भएको बताउनुभयो ।

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

नेपालगञ्ज – बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकाको रहेको उल्लेख गर्दै नाम दर्ताको रेकर्ड जिल्लामा नभएकाले दर्तामा दोहोरोपना देखिएको बताउनुभयो । “हामीले दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको बताउनुभयो । मतदाता नामावलीको दोहोरो नाम हटाउने काम पुस ५ गतेसम्म जारी रहने छ”, शाहीले भन्नुभयो ।

यसैबीच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराएअनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा केही तलमाथि हुन सक्छ, तर अन्तिम निर्णय १२ गतेपछि मात्रै हुन्छ । यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने छ ।”

यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको कार्यालयले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुयैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।

‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् ।

परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया (मतदान प्रक्रिया, नोटा (नो भोट) मतगणना आदि) बारे विषयवस्तु समावेश छन् ।

यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छमा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् ।

तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ – तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले नेपाल ट्रस्टको जग्गा प्रकरणमा उहाँहरू तीन जना र एक कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा भाडामा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो । मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको फैसला चाँडै कार्यान्वयन गरिने बताउनुभएको छ । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उहाँले फेवातालको ६५ मिटरभित्रका अस्थायी÷स्थायी संरचना हटाउन अदालतले दिएको आदेशअनुसार अतिक्रमित संरचना हटाएर खाली गर्ने र सो क्षेत्रमा हरियाली बनाइने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पोखराको फेवातालको क्षेत्र निर्धारण गरिएको छ, तालको टेरिटोरीमा पिल्लर गाडिएको छ । यसपछि अतिक्रमित अवस्थालाई क्रमिक रूपमा खाली गर्नुपर्ने र हरियाली गर्नुपर्नेछ, हामी गर्छौं । तालको सिमादेखि ६५ मिटर खाली गर्नुपर्ने सर्वोच्चको आदेश कार्यान्वयन हुन्छ ।”

उहाँले अतिक्रमित क्षेत्रमा परेका सरकारी संरचना पहिलो चरणमा हटाइने र फेवातालको वरिपरि हेर्न लायक हरियाली बनाउनेसमेत उल्लेख गर्नुभयो । पोखरालाई ब्राडिङ गर्नुपर्छ भनेर प्रदेश सरकार र पोखरा महानगरको संयुक्त पहलमा पोखरालाई पर्यटकीय राजधानी घोषण गरेको हो ।

पोखराको राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा ‘ब्राण्डिङ’ गर्नका लागि प्रदेश सरकार र महानगरको सहकार्य र योजनामा पर्यटन राजधानी घोषणा गरिएको बताउँदै उहाँले घोषणापछि गर्नुपर्ने कामसमेत सहकार्यमा गरिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था, मर्म र भावनाअनुसार प्रदेश सरकार र पोखरा महानगरबीच समन्वय र सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले पोखरालाई प्रदूषणमुक्त सहर बनाउने उद्देश्यले एशियाली विकास बैंकसँगको सहकार्यमा प्रदूषणमुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

महानगर प्रमुख धनराज आर्यालले पोखराको दिगो एवं दीर्घकालीन लक्ष्यका साथ पोखराको शिक्षा, स्वास्थ, कृषि, पर्यटन, पूर्वाधारलगायत समग्र क्षेत्रको विकासमा निरन्तर क्रियाशील हुँदै आएको बताउनुभयो । उहाँले विदेशी दातृ निकाय र विकास साझेदारसँगको सहकार्यमा हाल पोखरामा रु ३३ अर्बको योजना कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

“विकास साझेदारसँगको सहकार्यमा पोखराको विकासका लागि काम गरिरहेका छौँ । हाम्रो नेतृत्वमा पोखराको दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, महानगर प्रमुख आचार्यले भन्न्नुभयो ।

महानगरले स्थापना दिवसका अवसरमा पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका नौ जनालाई नगद रु दुई लाख दुई हजार २०२ सहित पदक, ताम्रपत्र र दोसल्ला ओढाएर ‘पोखरा रत्न’ सम्मानबाट सम्मानित गरिएको छ ।

‘पोखरा रत्न’बाट सम्मानित हुनेमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, सङ्गीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा डा वीरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे रहनुभएको छ ।

यसैगरी, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा डा बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित हुनुभयो । महानगरपालिकाले पोखरा–२८ की १०७ वर्षीया झ्याउरीमाया तिमिल्सिना र पोखरा–३२ का १०४ वर्षीय काशीनाथ पण्डितलाई महानगर मातापिताको सम्मान गरेको छ ।

महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट हेम आचार्य सम्मानित हुनुभयो । महानगरको शिक्षा महाशाखा प्रमुख रहनुभएका आचार्यलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको हो । महानगरले पाँच उत्कृष्ट कर्मचारी र पाँच कर्तव्यनिष्ठ कर्मचारी घोषणा गरी नगदसहित सम्मान गरेको छ ।

महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते तत्कालीन पोखरा नगरपालिका स्थापना भएको दिनलाई यस वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन लागेको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रूपमा मनाएको थियो ।

विसं २०१६ पुस २ गते पाँच हजार सङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको हो । यसरी स्थापनाको ३६४औँ दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो । स्थापना दिवसका अवसरमा बिहान पोखराको चिप्लेढुँगाबाट बृहत् सांस्कृतिक र्‍याली निकालिएको थियो । सो र्‍याली पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोहमा परिणत भएको हो ।

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी, २ पुसः नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट आज दिउँसो ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पठाइएको हो । यसअघि विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार ती हात्ती पठाइएको हो ।

चितवनस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो । सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए ।

कतार सरकारलाई उपहारस्वरूप दिने घोषणा गरिएका दुबै हात्तीलाई आज भैरहवा विमानस्थलमा कतार सरकारलाई हस्तान्तरण गरिएको थियो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरिएको थियो । आज साँझ ५ बजेट हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको थियो ।

वन्यजन्तुसम्बन्धी अन्तरराष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानुन बमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी विमानस्थलबाट विशेष कार्गो विमानबाट कतारको राजधानी दोहा पठाइएको हो । बिहीबार कतारको राष्ट्रिय दिवस पनि हो । यस उपहारले नेपाल र कतारबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ ।

कतार उड्नु अघि विमानस्थल कार्यालयमा नेपाल सरकारका अधिकारी र नेपालस्थित कतार दूतावासका अधिकारीको उपस्थितिमा हात्ती हस्तान्तरण गरिएको थियो । नेपाल सरकार वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कतार दूतावासका डेपुटी चिफ अफ मिसन खालिफा अल्मारीलाई हात्ती हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अवसरमा सचिव मिश्रले नेपालले कतारलाई हात्ती उपहार दिनुले कूटनीतिकसम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गर्नुभयो । कतार दूतावासका डेपुटी चिफ अफ मिसन अल्मारीले नेपालले कतारलाई हात्ती उपहार दिएकोमा खुसी ब्यक्त गर्दै नेपाललाई धन्यवाद दिनुभयो ।

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीको सहजताका लागि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा चौथो पुस्ताको इन्टरनेश सुविधासहितको मोबाइलको टावर स्थापनाको मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

सञ्चार सुविधाको अभावमा समस्यामा परेका पदयात्री र आरोहीको उद्दारमा समस्या भएको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

हुमखोलासम्म मोबाइल फोन सेवा भए पनि आधार शिविर जाने आउने पदयात्री दुईदेखि तीन दिन पूर्ण रूपमा सञ्चार सम्पर्कबाट टाढा हुने गरेका छन् । टोलीसँग सञ्चारमन्त्री खरेलले अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल टेलिकमका इञ्जिनियर जीवराज उपाध्यायलाई जिम्मेवारी दिएको बताउनुभयो ।

मन्त्री खरेलले म्याग्दीमा रहेका टेलिकमका सबै टावरको विवरण सङ्कलन गरी सेवा विस्तार र क्षमता वृद्धिका लागि टेलिकमको नेतृत्वलाई निर्देशन दिनुभयो । गाउँपालिका अध्यक्ष पुन, अभियन्ता गुरुङ, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठ, व्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको टोलीले मङ्गलबार काठमाडौँमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आज म्याग्दी फर्किएका छन् ।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । विद्युत् र टेलिकमको सुविधासँगै गाउँपालिकाले पदमार्ग क्षेत्रमा आवश्यक थप संरचनाका लागि पहल गर्ने जनाएको छ ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुङ्गा र आधार शिविरमा सञ्चारविहीन हँुदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइचो लाग्छ ।

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान गरेको छ ।

हिजो मङ्गलबार र आज दुई दिन बसेको सो पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी निर्वाचनसम्म पार्टीलाई सशक्त बनाउन तथा अन्य विचार मिल्ने शक्तिहरूसँग एकताका लागि ‘निर्वाचन परिचालन तथा वार्ता संवाद समिति’ गठनलगायतका निर्णय गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवले जानकारी दिनुभयो ।

आगामी निर्वाचनसम्म पार्टीलाई सशक्त बनाउन तथा अन्य विचार मिल्ने शक्तिहरूसँग एकताका लागि ‘निर्वाचन परिचालन तथा वार्ता संवाद समिति’ गठन गरेको छ । समितिको संयोजकमा नेता जनार्दन शर्मा रहनुभएको छभने सदस्यहरूमा सन्तोष परियार, ओजस्वी भट्टराई, सत्यनारायण भगत, घनमानसिंह गुरुङ र लक्ष्मी गुरुङ छन् ।

पार्टीले ‘एक प्रदेश एक उत्पादन’ को नीति लिँदै उत्पादनसँग पार्टीलाई जोड्ने, नेपालीहरूलाई त्यहीँबाट मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, १८ वर्ष पुगेकालाई उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने र आगामी निर्वाचनमा ‘नो भोट’ (राइट टु रिजेक्ट) को व्यवस्था तत्काल लागू गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थप गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको र अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने बताउनुभयो । मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस हुनुभएको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा यो क्षेत्रमा राणासहित कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका पूर्व प्रमुख नृपबहादुर ओडको नामसमेत सिफारिस गरिएको छ ।

कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति एवं विघटित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरसहितका आकांक्षी सिफारिस भएका छन् । बलायर डोटीबाटसमेत सिफारिस हुनुभएको छ । कैलाली –४ मा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहितका आकांक्षीको नाम पनि सिफारिस गरिएको छ ।

कञ्चनपुर–२ बाट विघटित प्रतिनिसभा सदस्य एवं कांग्रेसका नेता एनपि साउदसहितका आकांक्षी र कञ्चनपुर–३ बाट केन्द्रीय सदस्य एवं निर्वतमान गृहमन्त्री रमेश लेखकसहितका आकांक्षीको नाम सिफारिस भएको छ । यसैगरी अछाम–२ बाट विघटित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहसहित सिफारिस भएका छन् । विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट एकल रुपमा सिफारिस हुनुभएको छ ।

कांग्रेसको प्रदेश कार्यसमितिले आसन्न प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका साथै समानुपातिक तथा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका आकांक्षी सबैको नाम केन्द्रमा पठाएको प्रवक्ता रावतले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ सबै नौ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका तीन र तत्कालीन नेकपा (एकीकृत समाजवादी) पाटीका तीन र नेकपा (एमाले)का दुई प्रत्यासी विजयी हुनुभएको थियो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर, २ पुसः कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठूला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग ज्ञापनपत्र बुझाएको छ ।

आज जिल्लाका विभिन्न विकास आयोजना अनुगमनका लागि आउनुभएका मन्त्री घिसिङलाई सङ्घले मागपत्र बुझाएको हो । सङ्घका अध्यक्ष पिताम्बर जोशीले सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री घिसिङलाई सो ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो ।

ज्ञापनपत्रमा महाकाली करिडोरको शीघ्र निर्माण, सुख्खा बन्दरगाह निर्माण तथा मझगाउँ विमानस्थल निर्माणमा देखिएका कानुनी अड्चन तत्काल समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ । यस्तै सीमा क्षेत्रका विभिन्न समस्या समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

उद्योगी व्यवसायीले ‘डिमाण्ड लाइन’बापत तिर्नु परिरहेको विद्युत्को चर्को शुल्क तथा आम उपभोक्ताले विद्युत् उपभोग गरेबापत तिर्दै आएको अत्यधिक विलम्ब शुल्क घटाउनुपर्ने माग पनि सङ्घले गरेको छ ।

सङ्घका अध्यक्ष जोशीले कञ्चनपुरका विकास आयोजना समयमा सम्पन्न नहुँदा आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै कानुनी झमेलाका कारण अलपत्र परेका योजनालाई सहज बनाउनमन्त्री घिसिङसँग माग गर्नुभयो । मन्त्री घिसिङले सङ्घका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बैंकिङ कसुर मुद्दामा फरार मनोहरलाल पक्राउ

काठमाडौँ – प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ महानगरपलिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो ।”निज श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ – नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस निर्वाचन र महाधिवेशनमा सँगसँगै जाने उल्लेख गर्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, “पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिमा उठ्नु हुन्न ।”

उहाँले तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद् पुनःस्थापनाको माग उठाउने धारणा राख्नुभयो । उहाँले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई/चार दिन मिति पछि सर्नसक्ने जानकारी दिनुभयो ।

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताउनुभएको छ।

“विशेष सैन्य अभियानको लक्ष्य निश्चित रूपमा प्राप्त हुनेछ,” मस्कोमा रक्षा मन्त्रालयका अधिकारीहरूसँगको बैठकमा पुटिनलाई उद्धृत गर्दै क्रेमलिनले जनाएको छ।

“हामी द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट समाप्त गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “यदि ‘विरोधी देश र यसका विदेशी संरक्षकहरूले ठोस छलफलमा संलग्न हुन अस्वीकार गरेमा’ रूसले ‘सैन्य माध्यमबाट’ कब्जा गरेको युक्रेनी भूमि आफ्नो मुलुकमा गाभ्नेछ।”

बर्लिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिहरूसँग दुई दिनको वार्तापछि युक्रेनले सोमबार किएभको भविष्यको सुरक्षा सुनिश्चितताको प्रश्नमा भएको ‘प्रगति’ को प्रशंसा गरेसँगै रूसी नेता पुटिनको योे कडा टिप्पणी आएको हो।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युक्रेनले कुन क्षेत्र रूसलाई सुम्पनु पर्छ भन्ने प्रश्नमा मतभेद बाँकी छ।

युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिता बिना तयार गरिएको वाशिङ्गटनको प्रारम्भिक प्रस्तावमा किएभलाई आफ्नो पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसको रूपमा मान्यता दिने जनाइएको थियो ।

संशोधित योजनाको वर्तमान विषयवस्तु अस्पष्ट छ ।यसअघि बुधबार क्रेमलिनले रुसले बर्लिनमा भएको वार्ताको परिणामबारे अमेरिकाबाट सूचनाको पर्खाइमा रहेको बताएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “हामी आशा गर्छौं कि हाम्रा अमेरिकी समकक्षीहरूले युक्रेनी र युरोपेलीहरूसँग उनीहरूको कामको परिणामको बारेमा हामीलाई सूचित गर्नेछन्।

सन् २०२२ सेप्टेम्बरमा रूसले आधिकारिक रूपमा जापोरिज्झिया, डोनेट्स्क, लुगान्स्क र खेरसोन क्षेत्रहरू कब्जा गरेको दाबी गरेको थियो, यद्यपि, ती सबैमा उसको पूर्ण सैन्य नियन्त्रण थिएन ।

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ – अध्यक्ष साम्पाङ

धरान (सुनसरी) – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताउनुभएको छ ।

श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले भन्नुभयो, “काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ । श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ ।”

अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने चलनलाई चुनौती दिँदै भन्नुभयो, “देशमा कामलाई सानो भनिएकै कारण विकास भएको छैन । हामीले श्रमिकलाई अपमान गर्न हुन्न र सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ । आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ । विकास र निकास श्रम संस्कृतिले मात्र सम्भव छ ।”

उहाँले थप भन्नुभयो, “श्रमिक भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र होइन । शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै मान्छे श्रमिक हुन् । हामी सबै श्रमिक हौँ र श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अगाडि बढ्छ ।”

कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक सङ्घसंस्था र पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

एमाले महाधिवेशन : मतदान जारी, ८०२ द्वारा मतदान

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ः०० बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।

बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो । उहाँले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गर्नु भएको बताउनुभयो । उहाँका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।

उहाँले साँझ ८ः०० बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ ।

आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली – चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ ।

यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।

त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् ।

“नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भन्नुुभयो, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।”

त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लाग्नुभएका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताउँनुुभयो । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहर जाने गर्छन् ।

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा – यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राज्यको निर्देशन अक्षरशः पालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन तथा नागरिकको जिउधनको रक्षा गर्न दिनरात क्रियाशील रहनुपर्ने उहाँको भनाइ थियो ।

वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले जेनजी आन्दोलनपछिको अवस्थामा सुरक्षाकर्मीको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम राख्दै आगामी निर्वाचनका लागि तयारीमा जुट्न पनि निर्देशन दिनुभयो ।

सीमा सुरक्षा मुख्य प्राथमिकता भएको भन्दै उहाँले अवैध आवतजावत, लागुऔषध, मानव तस्करी तथा चोरी तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गर्नुभयो । “राज्यका सबै सुरक्षा निकायले हातेमालो गरेर अघि बढ्नुपर्छ, जनताले तिरेको करबाट बनेको भवनको सदुपयोग गर्दै अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम राख्नुपर्छ,” सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार ब्यारेक भवन दुई चरणमा निर्माण गरिएको हो । पहिलो चरणमा रु ६१ लाख ७७ हजार र दोस्रो चरणमा रु ५४ लाख ६ हजार लागतमा भवन निर्माण भएको हो । नवनिर्मित भवन आवासीय प्रयोजनका लागि प्रयोग गरिनेछ ।

यसैगरी, आजै नवराजपुर गाउँपालिका–४ नवराजपुरमा सशस्त्र प्रहरी बलको बिओपी कार्यालयको पनि उद्घाटन गरिएको छ । उक्त बिओपी कार्यालय रु ३९ लाख ७० हजार लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले नवनिर्मित संरचनाले सञ्चालनमा आएपछि सीमामा हुने सुरक्षात्मक गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सिरहाको भारतसँग जोडिएको ४६ किलोमिटर सिमानामा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण अन्तर्गत दुई सीमा सुरक्षा गुल्म र पाँच बिओपी गरी सातवटा युनिट सिमानामा रहेका छन् भने पाँच सुरक्षा वेश र जिल्ला सदरमुकाम सुरक्षा वेश एउटा गरी जम्मा १३ वटा कार्यालय रहेका छन् ।

माछा मार्न गएका ३२ वर्षीय बराम खोलामा मृत फेला

गोरखा, २ पुस : माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा आज दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उहाँको भनाइ छ । उहाँको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

काठमाडौँ, २ पुसः ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार”द्वारा सम्मान गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

विपद् व्यवस्थापन तथा उद्धारमा गणले पु¥याएको योगदानको कदरस्वरुप महानगरपालिकाले रु एक लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

पुरुष यू–१९ एशिया कप: नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौँ, २ पुस : १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।दुबईमा आज एसिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफनो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले ६१ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै ओस्मान सादातले २८ रन जोडे भने कप्तान महबूब खान ११ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्माले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमै सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २–२ विकेट हात पारे । यस हारसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल श्रीलङ्का र बङ्गलादेशसङ पराजित भएको थियो ।

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, २ पुस : प्रधानमन्त्री सुशीला कार्कीले जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीलाई सामना गर्न संयुक्त राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले विश्व शान्ति कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न संयुक्त राष्ट्रसङ्घले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको सशक्त र विश्वसनीय साझेदारका रूपमा निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त पालना गर्दै आएको प्रधानमन्त्री कार्कीले स्मरण गराउनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सैनिक योगदान गर्ने देश नेपाल भएको बताउँदै उहाँले शान्तिपूर्ण विश्वप्रति नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गरिने विश्वास दिलाउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको उहाँले जानकारी दिनुभयो ।

साथै उहाँले सन् २०२६ सम्ममा नेपाल ‘अति कम विकसित मुलुक’ को सूचीबाट स्तरोन्नति हुने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई दिगो बनाउन संयुक्त राष्ट्रसङ्घको निरन्तर साझेदारी, लगानी र प्रविधिगत सहयोग आवश्यक हुन्छ भन्नुभयो ।

परस्पर निर्भर विश्वमा बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई नेपालले अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास दिलाउनुभयो ।

एमाले महाधिवेशनः मतदान सुरु, ओली र पोखरेलले गरे विद्युतीय मेसिनबाट मतदान

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती – वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ ।

चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा – लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको सङ्कट झेल्दै आएका छन् । चुरेफेदको विकट क्षेत्र मानिने यस बस्तीमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ ।

करिब ३५ दलित घरपरिवार रहेको यस बस्तीका बासिन्दा वाषिक झण्डै छ महिना टाढाटाढाबाट घण्टौँ लगाएर पानी बोक्न बाध्य छन् । स्थानीयका अनुसार बस्तीको खानेपानी समस्यालाई मध्यनजर गर्दै गाडिएको डिप बोरिङबाट करिब चार वर्षसम्म पानी आएको थियो । तर अघिल्लो वर्षदेखि उक्त बोरिङ पूर्ण रूपमा सुकिसकेको छ ।

बस्तीका मोहन सदायले डिप बोरिङ सुक्दा आफूहरुको जीवन नै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि डिप बोरिङबाट पानी आउन छोड्यो । अहिले घण्टौँ लगाएर बानो गाउँको खोलामा खनिएको कुवाबाट पानी बोकेर खानुपरेको छ । मानिस र वस्तुभाउ दुवैले त्यही पानी प्रयोग गर्दै आएका छौँ ।”

विनिता सदायले विगत चार–पाँच वर्षदेखि चापाकलसमेत सुक्दा खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गर्नुभयो । “पानी नभएकै कारण सरसफाइमा पनि समस्या छ । नुहाउन, कपडा धुन र खान सबैका लागि एउटै कुवाको पानी प्रयोग गर्नुपरेको छ,” उहाँले भन्नुभयो ।

आर्थिक रूपमा कमजोर र सुकुम्वासीले भरिएको यस दलित बस्तीमा आव २०७९÷८० मा ‘विपन्न परिवारका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत घर निर्माण गरिएको थियो । लहान नगरपालिकाबाट रु ४५ लाख ५१ हजार र हिल्टी फाउण्डेसनको सहयोगमा ‘ह्याबिट्याट फर ह्युमानिटी’ नेपालमार्फत रु ४४ लाखको लागतमा २२ वटा जस्तापाताका घर निर्माण गरिएका थिए ।

“घर त बन्यो, तर खानेपानीको व्यवस्था भएन”, ७० वर्षीया जलेश्वरी सदायले दुःखेसो पोख्नुभयो । वडाध्यक्ष तेजनारायण चौधरीले मेनहर्वावासीको खानेपानी समस्या समाधानका लागि नगरपालिकामा पहल भइरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका कुँवा, इनार र खोलाहरू सुक्दै गएकाले यो समस्या स्थानीय तह मात्र नभएर राष्ट्रिय चुनौती बन्दै गएको उहाँको भनाइ छ ।

पछिल्लो समय चुरे क्षेत्रमा पानीको सतह गहिरिँदै जाँदा ठूला डिप बोरिङसमेत असफल भइरहेकाले यसको विकल्पबारे योजना बनाउनुपर्ने विज्ञहरू बताउँछन् ।

वातावरणविद् दिनेश यादव भन्नुहुन्छ, “डिप बोरिङ खानेपानी समस्याको दीर्घकालीन समाधान होइन भन्ने कुरा विभिन्न ठाउँका अभ्यासले प्रमाणित गरिसकेको

स्याउला काट्न गएकी लक्ष्मीको भिरबाट लडेर मृत्यु

बैतडी, २ पुसः स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चीनले ईयूको सुँगुरको मासुमा पाँच वर्षका लागि एन्टी डम्पिङ ड्युटी लगाउने

चीनले युरोपेली सङ्घ (इयू)को सुँगुरको मासुको आयातमा पाँच वर्षका लागि ‘एन्टि–डम्पिङ’ शुल्क लगाउने घोषणा गरेको छ । सेप्टेम्बरदेखि कायम गरिएको अस्थायी शुल्कभन्दा यो शुल्क कम दरमा हुने बेइजिङले मङ्गलबार जनाएको छ।

केही युरोपेली मुलुकहरूको दृष्टिकोणमा यी दुई आर्थिक महाशक्ति इयू र चीन बेङजिङसँगको असन्तुलित आर्थिक सम्बन्धका कारण व्यापार विवादमा फसेका छन् ।

वाणिज्य मन्त्रालयले मङ्गलबार एक विज्ञप्तिमा भनेको छ, “गत वर्ष चीनले सुरु गरेको अनुसन्धानले युरोपेली सुङ्गुरको मासु (पोर्क) थुप्रिएको र यसको परिणामस्वरूप घरेलु उद्योगले ठूलो क्षति बेहोरेको छ।”

‘एन्टि–डम्पिङ’ शुल्क यसपहिलेको ४.९ प्रतिशतबाट बढाएर १९.८ प्रतिशतसम्म हुनेछ भने अस्थायी कर ६२.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशतमा पु¥याइएको छ । यो डिसेम्बर १७ देखि लागू हुनेछ ।

वाणिज्य मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “अहिले घरेलु उद्योगले कठिनाइको सामना गरिरहेको छ र सुरक्षाका लागि कडा माग भइरहेको छ ।”उनीहरूले अनुसन्धानको निष्कर्ष ‘वस्तुनिष्ठ, निष्पक्ष र पषपातरहित’ भएको बताए।

युरोपको सुँगुरको मासुको आयातका लागि प्रमुख राष्ट्र स्पेनका कृषि मन्त्री लुइस प्लानासले भन्नुभयो,“स्पेनका निर्यातकर्ताहरूले घोषणा गरिएको समग्र औसत १९ प्रतिशतभन्दा कम औसत ९.८ प्रतिशतको कर तिर्नुपरेको छ।”

मन्त्री प्लानासले म्याड्रिडमा पत्रकारहरुसँग भन्नुभयो, “यी उपायहरु स्पेनका लागि स्वीकार्य छन् र नतिजालाई न्यूनीकरण गरिएको छ ।”

विश्वको प्रमुख सुँगुरको उपभोक्ता चीनले गत वर्ष स्पेनबाट मात्रै ४.३ अर्ब युआन (६० करोड अमेरिकी डलर) सुँगुरको मासुजन्य पदार्थ आयात गरेको चीनको आधिकारिक भन्सार तथ्याङ्कले देखाएको छ।

फ्रान्सको उद्योग सङ्घ (इनापोर्क) का अनुसार फ्रान्सले २०२४ मा एक लाख १५ हजार टन सुँगुरको मासु चीनमा निर्यात गरेको थियो ।

नयाँ उपायहरू अनुसार, फ्रान्सको प्रमुख पोर्क उत्पादक ग्रुप बिगार्डसँग ९.८ प्रतिशत शुल्क लिइनेछ र डेनिस क्राउनलाई १८.६ प्रतिशत शुल्क लगाइनेछ।

हालको व्यापार विवाद गत गृष्मकालमा इयूले बेइजिङको कर्जा सहुलियतले युरोपेली प्रतिस्पर्धीहरूलाई अनुचित रूपमा प्रभावित गरिरहेको तर्क गर्दै चिनियाँ विद्युतीय सवारी साधनहरूमा भारी कर लगाउने दिशामा अघि बढेपछि सुरु भएको थियो ।

बेइजिङले इयूको उक्त दाबीलाई अस्वीकार गर्दै आयातित युरोपेली सुँगुरको मासु, ब्रान्डी र दुग्धजन्य पदार्थको प्रतिशोधात्मक अनुसन्धानको घोषणा गरेको हो ।

स्पेनी मासु उद्योग सङ्घ (एनिस) का महानिर्देशक जुसेप्पे अलोइसियोले एएफपीसँग भन्नुभयो, “यो कदम ‘अनुचित’ हो र यसले ‘उदाहरणीय उद्योगलाई बिनाकारण दण्डित गर्छ ।”

एलोसियोले भन्नुभयो, “हाम्रो क्षेत्र व्यापार विवादमा सौदाबाजीको साधनको रूपमा प्रयोग गरिएको छ । यो अस्वीकार्य छ । विद्युतीय सवारी साधनको हामीसँग कुनै सम्बन्ध छैन।”

उहाँले भन्नुभयो, “भूराजनीतिक पृष्ठभूमि स्पष्ट छ र हामी विश्वास गर्छौं कि खाद्य श्रृङ्खलामा व्यापार तनाव स्थानान्तरण गर्दा कसैलाई फाइदा हुँदैन।”

युरोपेली उत्पादकहरूले सेप्टेम्बरमा सुँगुरको मासुमा अस्थायी कर लगाएकामो आलोचना गरेका थिए र व्यपक भण्डारण भएको आरोपलाई अस्वीकार गर्नुभयो ।

उहाँले थप्नुभयो, “चिनियाँ उपभोक्ताहरूले युरोपेलीहरूको तुलनामा सुँगुरको कान (ट्रटर) का लागि बढी तिर्छन् जुन उत्पादनहरू युरोपमा प्रायः बेवास्ता गरिन्छ।”

इयूले सन् २०२४ मा आफ्नो प्रमुख व्यापारिक साझेदार चीनसँग ३५० अर्ब डलरभन्दा बढीको व्यापार घाटा भोगेको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै महिना व्यापार असन्तुलनलाई सम्बोधन नगरिएमा युरोपले चीनविरुद्ध करसहितका कडा कदम चाल्ने बताउनुभएको थियो ।

व्यापार विवादकासाथै चीन र इयू युक्रेनमा रूसको सन् २०२२ मा सुरू भएको आक्रमणमा विरोध नजनाएकोजस्ता मुद्दाहरूमा मतभेद छन्।

युरोपेली सङ्घले युद्ध अन्त्यका लागि मस्कोमाथि दबाब दिन चीनलाई आग्रह गरेको छ तर बेइजिङले त्यसलाई खासै महत्त्वका साथ लिएकोजस्तो देखिँदैन ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९०, आलु रातो प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु सेतो प्रतिकिलो रु ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४५, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु १२०, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १३०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १३०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु २५०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १४०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २८०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६) निर्धारण गरिएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहनेछ ।

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौँ – नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ ।

कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त जानकारी दिएको हो । सम्मेलनमा भाग मङ्गलबार भाग लिँदै नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव गोविन्दबहादुर कार्कीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको उद्देश्यसहित नेपालमा अन्तरिम सरकार गठन भएको जानकारी दिँदै सुशासन प्रवर्दनमा वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै सचिव कार्कीले पदको दुरुपयोग, घुसखोरी, सम्पत्ति शुद्धीकरण, अवैध सम्पत्ति आर्जनलाई अपराधका रूपमा घोषणा गरी तिनलाई नियन्त्रण गर्न सरकारले थालेका प्रयासबारे जानकारी दिनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ – यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो ।

चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताउनुभएको छ । साथै उहाँले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा अर्थमन्त्री खनालको जोड

काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिनुभएको छ ।

मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्रीले विदेशी लगानी भित्र्याउन नेपालले अनुकूल वातावरण सृजना गरेकाले नेपाल र चीनले आर्थिक सहकार्यका विभिन्न क्षेत्रहरू पहिचान गरी सहकार्य गर्नु अपरिहार्य छ भन्नुभयो ।

नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताउनुभयो । उहाँले दुई देशबीचको बहुआयामिक सम्बन्धको चर्चा गर्दै औद्योगिक विकास, ऊर्जा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेका बताउनुभयो । साथै उहाँले नेपाललाई आफ्नो मुलुकबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौँ – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएको थियो । समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो ।

साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो ।

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौँ – अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रुपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले संविधान र प्रचलित कानुनको व्यवस्था विपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र सम्बन्धित स्थानीय तहको माग हुँदै मालवस्तुको ढुवानीमा कुनै प्रकारको कर तथा शुल्क असुली गर्न नमिल्ने स्मरण गराएको छ ।

‘नेपालको संविधान, प्रचलित कानुन विपरित कुनै पनि कर,दस्तुर र शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ भनी निर्णय भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

सो निर्णय गत मङ्सिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णय भएकाले आवश्यक कारवाहीका लागि सम्वद्ध सबैलाई पत्राचार गरिएको जनायएको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर, शुल्क तथा शुल्क उठाएको भन्ने जानकारीमा आएपछि अर्थ मन्त्रालयले त्यस्तो निर्णय गरेको हो ।

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

काठमाडौँ – पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज स्मरण गराएको छ ।

“बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो”, केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने उल्लेख गरेको छ ।

कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेमा गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकाले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै

कास्की – पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो ।

महानगर प्रमुख धनराज आचार्यले अभिलेख हेर्दा विसं २०१६ पुस २ गते पाँच हजार जनसङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको बताउनुभयो । यसरी स्थापनाको ३६४औँ दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो ।

महानगरले स्थापना दिवसका अवसरमा भाषा साहित्य, कला (सङ्गीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरू मध्येबाट नौ जनालाई पोखरेली नवरत्नबाट सम्मान गर्ने जनाएको छ ।

नवरत्नहरुलाई जनही नगद रु दुई लाख दुई हजार २०२ र ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार आज बिहान पोखराको चिप्लेढुँगाबाट बृहत सांस्कृतिक झाँकी ¥यालीसहितको प्रभातफेरि पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोह हुनेछ ।

“पोखरा महानगरको स्थापना दिवसलाई भव्य रुपमा मनाउने गरी तयारी गरेका छौँ । यसअघिसमेत सप्ताहव्यापी विविध कार्यक्रम गरेका छौँ । सभागृहमा स्थापना दिवस समारोह हुनेछ, सबै तयारी पूरा भएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

मूल समारोहमा महानगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ट गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ । यसैगरी महानगरपालिकाका ३३ वटै वडाहरू मध्येबाट सरसफाइमा उत्कृष्ट तीन वटा वडाहरू, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

उमेर ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ । मूल समारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरू, मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरू, छिमेकी पालिकाका प्रमुखहरू, पोखरा महानगरपालिकाका पूर्वपदाधिकारीहरू, पूर्वप्रशासकीय अधिकृतलगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिृकत मुक्तिराम अर्यालले जानकारी दिनुभयो ।

स्थापना दिवसका दिनमा महानगर तथा मातहतका कार्यालयहरुको नियमित सेवा प्रवाह बन्द रहने जनाएको छ । विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएकामा त्यसपछि विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषणा भएको थियो । विसं २०७३ फागुन २७ गते पोखरा वरपरका साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो ।

यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७५ साउन २३ गतेको निर्णयले पोखरा महानगरपालिका नाम कायम गरिएको थियो । सो निर्णयको सूचना विसं २०७५ भदौ २५ गते राजपत्रमा प्रकाशित भएपछि औपचारिक रुपमा पोखरा महानगरपालिका कार्यान्वयनमा आएको हो ।