`

कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व सङ्कलन

कर्णाली । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आर्थिक वर्ष ०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

उहाँका अनुसार आव ०८१/८२ मा ४९ हजार ९६४ सवारी कारबाही गरी रु तीन करोड ६७ लाख ४३ हजार राजस्व असुली गरिएको थियो । उनले भने, “कारबाही सङ्ख्या र राजस्व सङ्कलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो । हामी राजस्व सङ्कलन गर्ने होइन, सकेसम्म नियमको पालना र सवारी दुर्घटनामा कमी ल्याउन लागिपरेका छौँ ।” आव ०८१/८२ को तुलनामा आव ०८२/८३ मा सवारी कारबाही २३ प्रतिशत र राजस्व सङ्कलन २० प्रतिशतले कमी आएको छ ।

प्रहरी उपरीक्षक रिजालका अनुसार कर्णालीमा दैनिक सरदर १०१ सवारीसाधन दर्ता हुन्छन् । यस्तै, तीन दशमलव २७ प्रतिशत सवारी दुर्घटना हुन्छ । प्रदेशका सबै जिल्लाको सवारी दुर्घटनाबारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढी ६९० र मुगुमा सबैभन्दा कम १७ सवारी दुर्घटना भएको प्रहरीको विवरण छ ।

प्रदेशभर एक हजार ३८४ किलोमिटर पक्की, एक हजार १९४ किलोमिटर ग्राभेल, सात हजार १०८ किलोमिटर कच्ची गरी कर्णाली जम्मा नौ हजार ६८७ किलोमिटर सडकमा सवारी सञ्चालन हुन्छ ।

कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्याका लागि ट्राफिक प्रहरी अनुपात ७८ दशमलव ८३ जना छ । एक जना प्रहरीले ४५ किलोमिटर सडक हेर्नुपर्दछ । हाल प्रदेशभर २१५ ट्राफिक प्रहरी रहेको उनले जानकारी दिए ।

कर्णालीमा २६ देखि ४० वर्ष उमेर समूहका विशेष गरी दुई पाङ्ग्रे ६२ प्रतिशत सवारीसाधन तीव्र गतिका कारण अपराह्न १२ः०० देखि साँझ ६ः०० बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । उहाँका अनुसार गत आव ०८२/८३ मा ट्राफिक नियम पालनासम्बन्धी आठ हजार २७८ पटक सचेतनामूलक कार्यक्रम गर्दा कर्णाली प्रदेशभर पाँच लाख ६९ हजार २०६ नागरिक लाभान्वित भएका थिए ।

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टस्क फोर्स) ले अन्तरिम प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझ्दै बुधबार उनले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले बाँदरका कारण बाली नष्ट हुने, किसान विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै उक्त समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राखिन ।

मन्त्री चौधरीले टस्क फोर्सलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानुनी तथा व्यावहारिक उपाय समेटिएको स्पष्ट कार्य योजना तयार गर्न निर्देशन दिइन् ।

साथै प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी स्थानीय तह, सरोकारवाला निकाय, विज्ञ तथा समुदायसँग समन्वय गरेर कार्यान्वयनयोग्य समाधान अघि बढाउनुपर्नेमा जोड दिइन् ।

बैठकमा टस्क फोर्सले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम प्रतिवेदन पेस गर्दै बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि तथा दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव प्रस्तुत गरेको थियो ।

इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र छ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन् ।

त्यसैगरी, नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने सात वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ । १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् । पाँच आयोजनाको म्याद थप गरिएको छ भने छ आयोजनालाई जरिवाना गरिएको छ ।

इआइए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन् । मन्त्रालयले एक वर्षको अवधिमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र २७० मेगावाट क्षमताको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको इआइए स्वीकृत गरेको छ ।

यसैगरी, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ९१ दशमलव १५ मेगावाट क्षमताको बूढीगण्डकी नदी जलविद्युत् आयोजना तथा ३५ मेगावाट क्षमताको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ ।

मन्त्रालयका अनुसार ८८ मेगावाट क्षमताको रोल्वालिङ, ३० मेगावाट क्षमताको माथिल्लो दूध खोला जलविद्युत् आयोजना तथा ३४ दशमलव ३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ ।

पूरक इआइए स्वीकृत भएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । तीमध्ये सङ्खुवा खोला जलविद्युत् आयोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना र मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना छन् ।

परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामध्ये पनि जलविद्युत् आयोजनाको सङ्ख्या बढी छ । तीमध्ये सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना रहेका छन् ।

विद्युत् प्रसारण लाइनतर्फ लप्सीफेदी–रातामाटे, रातामाटे–न्यू हेटौंडा, रातामाटे–न्यू दमौली, न्यू दमौली–न्यू बुटवल तथा न्यू बुटवल–नेपाल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइनका साथै रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको छ । यी प्रसारण लाइन र सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसिए–नेपालमार्फत निर्माण भइरहेका छन् ।

त्यस्तै, २०१ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि मन्त्रालयले स्वीकृत गरेको छ ।

वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । त्यसमा रोल्वालिङ खोला, कालिका कालीगण्डकी, तमोर खोला–५, कालीगण्डकी गर्ज र मध्य तादी खोला जलविद्युत् आयोजना छन् ।

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

विभागले जारी गरेको पत्रअनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य सङ्घ–संस्थाले स्वीकृत उद्देश्यअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था छ । यसअघि पटकपटक पत्राचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो ।

भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ । ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफैँ फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

काठमाडौँ। सिटिइभिटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो । विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो ।

अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन गरेको समेत देखिएको छ । सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सिटिइभिटी)लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ । संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ ।

अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले उपलब्ध गराएका कागजातको अध्ययन अनुसन्धान पश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ ।

स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ ।

मन्त्रालयको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन,२०४९ लाई संशोधन गर्न तयार बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न तयार बनेको विधेयक तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न तयार बनेको विधेयकको मस्यौदा सार्वजनिक गरिएको हो ।

मन्त्रालयले इच्छुक व्यक्ति, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालालाई यही साउन १२ गतेभित्र मन्त्रालयको कानुन शाखाको इमेल [email protected] मा तोकिएको ढाँचाअनुसार राय तथा सुझाव पठाउन आग्रह गरेको छ ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) नियन्त्रण ऐन संशोधनको मस्यौदामा स्तनपानको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

स्वास्थ्यकर्मीले निश्चित विशेष अवस्थाबाहेक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सिफारिस गर्न नपाउने, सरकारले स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सक्ने, प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्बद्र्धन समिति गठन गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन, प्रवर्द्धन र क्रस–प्रमोशनमाथि थप नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ऐन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका लागि कैद, जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई समेत थप स्पष्ट बनाइएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधनको मस्यौदामा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने, स्वास्थ्य संस्थामा हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने तथा कार्यरत स्वास्थ्यकर्मीसँगै अध्ययनरत विद्यार्थीमाथि हुने हिंसा वा अवाञ्छित गतिविधिलाई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । साथै ऐन कार्यान्वयनका लागि मन्त्रालयलाई आवश्यक निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने अधिकार दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था गर्नुपर्ने, सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरीमाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

मस्यौदाले प्रसूति बिदा कम्तीमा ९८ दिनबाट छ महिनासम्म पु¥याउने, सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने तथा विपद्को समयमा सुरक्षित मातृत्व, आकस्मिक प्रसूति, नवजात शिशुको अत्यावश्यक सेवा, परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

मन्त्रालयले प्राप्त राय–सुझावका आधारमा तीनै विधेयकका मस्यौदालाई आवश्यक परिमार्जन गरी थप कानुनी प्रक्रियामा अघि बढाइने छ ।

धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार आज साउन ६ गते एकै दिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका प्रतिवादीलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । पक्राउ परेकामध्ये सबैभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् ।

त्यस्तै चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, गाली बेइज्जती र सवारी अङ्गभङ्गलगायत विभिन्न मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेको प्रहरी उपरीक्षक न्यौपाने बताउनुभयो ।

पक्राउ परेका अदालतबाट छ दिनदेखि चार वर्षसम्म कैद सजाय तथा रु ५०० देखि रु एक लाख ५० हजारसम्म जरिवाना तोकिएको थियो । अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीलाई निरन्तर खोजी गरी पक्राउ गर्ने अभियान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।

थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ : सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ भाडा खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२ सम्म खरिद तथा भाडा सम्झौता गरेका स्याटेलाइट ब्याण्डविथ बारे छानबिन गर्न गठित अध्ययन समितिले २०८३ साउन १ गते सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन थप प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालय र अख्तियारमा पठाइएको हो ।

अध्ययन समितिले नेपाल टेलिभिजनले सन् २००२ देखि विदेशी सेवा प्रदायक कम्पनीहरूसँग गर्दै आएको स्याटेलाइट ब्याण्डविथ भाडा सम्झौता, त्यसका विभिन्न पूरक सम्झौता, च्यानल विस्तार, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति तथा उपकरण खरिदसम्बन्धी सम्पूर्ण प्रक्रियाको अध्ययन गरेको थियो । उक्त प्रतिवेदनले विभिन्न अवधिमा भएका खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने प्रकृतिका गम्भीर कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।

मन्त्रालयले स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर गत जेठ २१ गते अध्ययन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्थाको उल्लङ्घन भएको उल्लेख गर्दै त्यसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानी नोक्सानी पुगेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन नगरी पुरानै दररेटमा पटक–पटक सम्झौताको म्याद थपिएको, सेवा सुरु हुनुअघि नै भुक्तानी गरिएको, सेवा सञ्चालनपछि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । त्यसैगरी सन् २०१२ मा प्राविधिक रूपमा अयोग्य ठहरिएको बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनोट गरिएको तथा प्रयोगमा रहेको स्याटेलाइटको आयु समाप्त हुन लाग्दा पनि सोही सेवा प्रदायकसँग थप ब्याण्डविथ खरिद गर्ने निर्णय गरिएको विषयलाई समेत समितिले गम्भीर कमजोरीका रूपमा औँल्याएको छ ।

अध्ययनले भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्णरूपमा पालना नभएको उल्लेख गरेको छ । यसले वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा राजस्व व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ ।

प्रतिवेदनमा सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरिएको छ । उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई आर्थिक तथा संस्थागत हानि पुग्ने गरी निर्णय गरेको भन्दै सम्बन्धित व्यक्तिमाथि कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ ।

नेपाल टेलिभिजनको सञ्चालक समितिको निर्णय प्रक्रियामा देखिएको कमजोरीका कारण सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनका सबै च्यानल करिब आधा घण्टा प्रसारण अवरुद्ध भएको घटनालाई पनि प्रतिवेदनमा समेटेको छ । त्यस्तै, सञ्चालक समितिका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञता र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह नगरेको उल्लेख गरिएको छ । लागत अनुमान तयार गर्ने क्रममा देखिएको लापरबाही तथा अस्वाभाविक निर्णयका कारण संस्थामा अनावश्यक आर्थिक भार परेको निष्कर्ष प्रतिवेदनमा समावेश गरिएको छ ।

नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल विस्तार, प्रसारण प्रविधिको स्तरोन्नति, पूरक सम्झौता तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा पटक–पटक प्रश्न उठ्दै आएका थिए । अध्ययन समितिले प्रतिस्पर्धाविनाको खरिद, प्रक्रियागत अनियमितता, वित्तीय अनुशासन उल्लङ्घन, अनावश्यक आर्थिक भार तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्ष निकाल्दै सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

अब उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेसँगै त्यसका आधारमा थप अध्ययन, छानबिन तथा कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

काठमाडौँ, ६ साउनः नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो ।

शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो

काठमाडाैँ । कङ्गोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ।कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना सङ्क्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन्।

गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएकोमध्ये एक भएको अधिकारीले बताएका छन्। यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ भाइरस विरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन।

स्वास्थ्य अधिकारीका अनुसार यस प्रकोपले विगतका ठूला इबोला प्रकोपको तुलनामा छोटो समयमै ठुलो मानवीय क्षति पुर्‍याएको छ। सन् २०१३–२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, तर मृत्यु सङ्ख्या एक हजार पुग्न करिब आठ महिना लागेको थियो।
इबोला अत्यधिक सङ्क्रामक रोग हो, जुन सङ्क्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थलगायतको सम्पर्कबाट सर्न सक्छ। यो रोग गम्भीर प्रकृतिको हुने र धेरै अवस्थामा ज्यान जोखिममा पार्ने स्वास्थ्य विज्ञले बताएका छन्।

अधिकारीले नयाँ सङ्क्रमितमध्ये करिब ८० प्रतिशतमा सङ्क्रमणको स्रोत अझै पहिचान हुन नसकेको बताएका छन्। यसले सङ्क्रमण नियन्त्रण र निगरानीकार्य थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।

प्रकोपको केन्द्रबिन्दु रहेको इतुरी प्रान्तसहित प्रभावित अन्य क्षेत्रमा स्वास्थ्य टोलीले नियन्त्रण तथा उपचार प्रयास तीव्र बनाएका छन्। तर स्वास्थ्य केन्द्र र प्रतिकार्य टोलीमाथि भएका आक्रमण तथा केही स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको छ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक डा जीन कासेयाले घानामा आयोजित स्वास्थ्य सम्मेलनमा प्रकोप नियन्त्रणका लागि तत्काल थप प्रयास आवश्यक रहेको बताउनुभयो।
‘यदि हामीले अहिले नै यसलाई रोक्न सकेनौँ भने यो विश्वले देखेका सबैभन्दा गम्भीर इबोला प्रकोपमध्ये एक बन्न सक्छ,’ उनले चेतावनी दिए।

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब

सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको प्रमुख युवा आन्दोलनका रूपमा विकसित भएको छ। आफूलाई ‘कक्रोच’(साङ्ला) भन्ने युवाहरूले शिक्षा प्रणालीका कमजोरीविरुद्ध सुरु गरेको आन्दोलनलाई सरकारी जवाफदेहिताको व्यापक अभियानमा रूपान्तरण गरेका छन्। यसलाई प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध हालका वर्षमा देखिएको सबैभन्दा उल्लेखनीय सार्वजनिक चुनौतीका रूपमा हेरिएको छ।

अदालतको टिप्पणीबाट आन्दोलनको सुरुआत
आन्दोलनको पृष्ठभूमिमा चिकित्सा कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षामा प्रश्नपत्र चुहावटका घटनाप्रति बढ्दो जनआक्रोश रहेको छ। बारम्बार परीक्षा रद्द वा पुनः सञ्चालन गर्नुपर्दा लाखौँ विद्यार्थी प्रभावित भएका छन्।

मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले एक सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गर्नुभएपछि त्यसको सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको थियो। त्यसपछि बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दिपकेले ‘कक्रोच पिपुल्स पार्टी (सीजेपी)’ गठन गर्नुभएको थियो ।

धेरै युवाले ‘कक्रोच’लाई दृढता र सङ्घर्षको प्रतीकका रूपमा अपनाए। सामाजिक सञ्जालमार्फत अभियान तीव्र गतिमा फैलिँदै लाखौँ समर्थक जोडिए। समर्थकहरूले बेरोजगारी, सीमित रोजगारीका अवसर र आर्थिक दबाबबारे सरकारको आलोचना गर्दै व्यङ्ग्यात्मक सामग्री सार्वजनिक गर्न थाले।

जुनमा दिपके भारत फर्किएपछि आन्दोलन सडकमा पनि विस्तार भयो। विभिन्न सहर र विश्वविद्यालयमा विरोध प्रदर्शन आयोजना गरियो भने नयाँ दिल्लीको जन्तर–मन्तर आन्दोलनको मुख्य केन्द्र बन्यो।

शिक्षा सुधारदेखि सरकारी जवाफदेहितासम्म
आन्दोलनकारीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनाबाट प्रभावित विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका छन्।

पछिल्ला दिनमा आन्दोलन शिक्षा क्षेत्रका मुद्दाभन्दा बाहिर फैलिँदै सरकारी जवाफदेहिता, युवाको भविष्य, राजनीतिक नेतृत्व, न्यायपालिका र सञ्चारमाध्यमप्रतिको अविश्वासजस्ता विषयसँग जोडिएको छ।

विद्यार्थीसँगै विभिन्न पेसाका व्यक्ति र परिवार पनि आन्दोलनमा सहभागी भएका छन् । आयोजकका अनुसार आन्दोलन स्वयंसेवकको सहयोग र सामाजिक सञ्जालमार्फत परिचालन भइरहेको छ।

सरकारसँग बढ्दो टकराव
सुरुमा सरकारले आन्दोलनकारीसँग वार्ता गर्न अस्वीकार गरेको थियो। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आन्दोलनकारी राष्ट्रहितविपरीत गतिविधिमा लागेको आरोप लगाउँदै परीक्षा पुनः सञ्चालन गरेर समस्या समाधान भइसकेको दाबी गर्नुभएको थियो।

अहिले आन्दोलन चर्किँदै गएपछि सरकारी धारणा परिवर्तन हुन थालेको देखिएको छ। सोमबार संसद्तर्फ मार्च गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो। त्यसपछि सरकारका एक मन्त्रीले आन्दोलनका प्रतिनिधिसँग भेटवार्ता गरे पनि त्यसबाट विवाद समाधान हुन सकेन।

मङ्गलबार विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री निवासबाहिर धर्ना दिएपछि आन्दोलन राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ।

मोदी सरकारका लागि नयाँ चुनौती
विश्लेषकका अनुसार विद्यार्थी आन्दोलनका रूपमा सुरु भएको यो अभियान अहिले भारतका युवामा बढ्दो असन्तुष्टिको प्रतीक बनेको छ । दक्षिण एसियाका अन्य मुलुकमा झैँ भारतमा पनि सरकारविरोधी आन्दोलनमा युवाको भूमिका बढ्दै गएको सङ्केत यसले गरेको छ।

विपक्षी दल र अधिकारकर्मीले आन्दोलनलाई लोकतान्त्रिक जवाफदेहिता र शान्तिपूर्ण विरोधको अधिकारसँग जोडेर समर्थन गरेका छन् । ३५ वर्षमुनिका करोडौँ मतदाता रहेको भारतमा युवाहरूको बढ्दो असन्तुष्टिले आगामी चुनावी राजनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

कांग्रेसले अग्रज, समकालीन र जेन–जी पुस्तालाई समेट्नुपर्छ : आङ्देम्बे

चितवन, ६ साउनः नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस चितवनले ४४ औँ बिपी स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेन–जी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका लागि लड्ने समय आएको छ ।” बिपी विचारलाई सम्मान गर्दै बिपीका मार्गअनुसार अघि बढ्दै जनताको भावनाअनुसार काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । लोकतन्त्रको दीपलाई सबैले जोगाउनुपर्ने भन्दै उहाँले कांग्रेस हुनुको पहिचना गुमेको जस्तो पाटोबाट उठाएर कांग्रेसले पुर्नजीवन दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसी, राष्ट्रियसभा सदस्य गीता देवकोटालगायतले बिपीको विचार अनुसरण गर्न पछि पर्दा कांग्रेसमा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँहरूले कांग्रेस बलियो बनाउन बिपीको मार्ग दर्शलाई अङ्गिकार गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनका सचिव डा केशबराज चालिसेले बिपी कोइरालाको समग्र व्यक्तित्व र वामपन्थी बुद्धिजीवी रमाकान्त सापकोटाले बिपी कोइरालाको राजनीतिक व्यक्तित्वका बारेमा आफ्ना विचार राख्नुभएको थियो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातन्त्र सेनानी सङ्घले सहिद बुद्धिसिंह रानाको छोरी लक्ष्मी आलेलाई नगदसहित सम्मान गरेको थियो ।

पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउन कानुन निर्माण हुँदै : सञ्चारमन्त्री

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताउनुभएको छ ।

अनलाइन पत्रकार सङ्घसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले विभिन्न क्षेत्रका कानुन निर्माणको प्रक्रिया अघि बढाइरहेको उल्लेख गर्दै कानुन निर्माणका क्रममा सरोकारवाला निकायको सुझावलाई प्राथमिकताका साथ समेटिने बताउनुभयो ।

उहाँले आमसञ्चार विधेयकमाथि मन्त्रालयले छलफल सुरु गरिसकेको र आवश्यक परामर्शपछि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । त्यस्तै, मिडिया काउन्सिल विधेयकका सम्बन्धमा पनि सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढाइने उहाँको भनाइ थियो ।

डिजिटल सञ्चारमाध्यमको प्रयोग तीव्र रूपमा बढिरहेका बेला त्यसअनुकूल कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दैसञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालसँग सम्बन्धित कानुनी प्रावधान पनि समयानुकूल बनाउनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल पनि जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँले गलत सूचना (मिसइन्फरमेसन), भ्रामक सूचना (डिसइन्फरमेसन) तथा ‘हेट स्पीच’ जस्ता प्रवृत्ति नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यले नभई थप जिम्मेवार र सुदृढ बनाउने उद्देश्यले नीति तथा कानुन निर्माण गर्न लागेको स्पष्ट पार्नुभयो । पत्रकारिता क्षेत्र बलियो भए मात्र सरकारलाई प्रभावकारी रूपमा प्रश्न गर्न सक्ने वातावरण निर्माण हुने उल्लेख गर्दै उहाँले राज्यले पत्रकारितामाथि हस्तक्षेप गर्ने कुनै नीति नलिने स्पष्ट गर्नुभयो ।

त्यस्तै, सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी कुनै पनि कठोर नीति नल्याउने स्पष्ट पार्दै सञ्चारमन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई कसरी थप बलियो बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत सुझाव दिन सङ्घलाई आग्रह गर्नुभयो ।

छलफलका क्रममा अनलाइन पत्रकार सङ्घका पदाधिकारीहरूले प्रसारण तथा पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि समान रूपमा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । सञ्चारमाध्यमको प्रकृति फरक भएकै आधारमा विभेदपूर्ण व्यवहार गर्न नहुने उहाँहरूको भनाइ थियो ।

सङ्घले पत्रकारको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न, डिजिटल साक्षरता अभिवृद्धि गर्न तथा डिजिटल पत्रकारितासँग सम्बन्धित कानुनी व्यवस्था तयार गर्दा पर्याप्त अध्ययन र गृहकार्य गर्न पनि सरकारलाई सुझाव दिएको छ ।छलफलमा सञ्चार क्षेत्रको नीतिगत सुधार, डिजिटल सञ्चारमाध्यमको व्यवस्थापन, पत्रकारितामा देखिएका विकृति न्यूनीकरण तथा जिम्मेवार सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो ।

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

काठमाडौँ। बैंकिङ्ग कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो ।

दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए ।

अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।

पाकिस्तानद्वारा अमेरिकासँग १० अर्ब डलर सहयोग माग

विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र आर्थिक दबाब कम गर्ने उद्देश्यले पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग १० अर्ब अमेरिकी डलरको विनिमय स्थिरीकरण (एक्सचेन्ज स्टेबिलाइजेसन) सुविधा उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।

रोयटर्सका अनुसार पाकिस्तानले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसमक्ष पाँच वर्षे अवधिको द्विपक्षीय विनिमय स्थिरीकरण सहायता सुविधा उपलब्ध गराइदिन आग्रह गरेको हो । यो प्रस्ताव पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले वासिङ्टनमा बेसेन्टसँग गरेको भेटवार्तापछि अघि बढाइएको बताइएको छ ।

प्रस्ताव स्वीकृत भए पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बलियो हुने, पाकिस्तानी रुपैयाँमाथिको दबाब घट्ने तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) लगायत बहुपक्षीय ऋणदातामाथिको निर्भरता कम हुने अपेक्षा गरिएको छ । पाकिस्तानले हाल आइएमएफको सात अर्ब अमेरिकी डलरको सहायता कार्यक्रमअन्तर्गत वित्तीय तथा मौद्रिक सुधार कार्यान्वयन गरिरहेको छ ।

पाकिस्तानको अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री औरङ्गजेबले अमेरिकी पक्षलाई क्षेत्रीय भूराजनीतिक तनावका कारण पाकिस्तानी अर्थतन्त्रमा परेको नकारात्मक असरबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच विस्तार, विदेशी मुद्रा सञ्चिति वृद्धि तथा सार्वभौम कर्जा मूल्याङ्कन (क्रेडिट रेटिङ) सुधारका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

विज्ञप्तिमा पाकिस्तानले समष्टिगत आर्थिक स्थायित्व, दिगो तथा निर्यातमुखी आर्थिक वृद्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई थप बलियो बनाउन अमेरिकी सहयोग अपेक्षित रहेको जनाइएको छ ।

भेटका क्रममा दुवै पक्षले द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने, अमेरिकी लगानी प्रवद्र्धन गर्ने तथा रणनीतिक परियोजनामा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

पाकिस्तानले सन् २०२३ मा तीन अर्ब अमेरिकी डलरको आइएमएफ स्ट्यान्डबाइ व्यवस्थामार्फत सार्वभौम ऋण सङ्कट टारेको थियो । त्यसपछि उसले सात अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा (इएफएफ) र जलवायु परिवर्तन तथा प्राकृतिक विपद्सँग जुध्न थप एक अर्ब ३० करोड अमेरिकी डलर सहायता प्राप्त गरेको थियो ।

यद्यपि, पाकिस्तानको विदेशी मुद्रा सञ्चिति अझै पनि आइएमएफको किस्ता, द्विपक्षीय सहयोग तथा चीन र साउदी अरेबियालगायत साझेदार राष्ट्रबाट प्राप्त हुने वित्तीय सहयोगमा निर्भर रहेको विश्लेषण गरिएको छ यस्तो अवस्थाले बाह्य वित्तीय सहायता ढिलो भए अर्थतन्त्रमा थप दबाब पर्ने जोखिम कायम रहेको बताइएको छ ।

रोयटर्सका अनुसार अमेरिकी अर्थ मन्त्रालयको विनिमय स्थिरीकरण कोषमार्फत प्रदान गरिने यस्ता सुविधा विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न र सम्बन्धित मुलुकको मुद्रा स्थिर राख्न प्रयोग गरिन्छ । अर्जेन्टिनालाई सन् २०२५ मा उपलब्ध गराइएको सुविधाअघि यस्तै प्रकृतिको प्रमुख सहायता सन् २००२ मा उरुग्वेलाई प्रदान गरिएको थियो ।

सहकारीमार्फत कोदो र फापरको पिठो ब्राण्डिङ, बजारमा बिक्री सुरु

पाेखरा। घरगाउँमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्राण्डिङ र बजारीकरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो ।

किसानले उत्पादन गरेको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले बताए। जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदान सहयोगमा उपकरण पाएपछि सहकारीले ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’को काम सुरु गरेको उनको भनाइ छ ।

स्थानीय उत्पादनको बजारीकरणसँगै किसानलाई आयआर्जनसँग जोड्न पिठोलाई ब्राण्डिङ गरिएको अध्यक्ष पाध्याले बताए। सहकारीले फापरको पिठो प्रतिकिलो रु २६० र कोदोको पिठो प्रतिकिलो रु १६० निर्धारण गरेको छ ।

पहिलो चरणमा ५० किलो कच्चा पदार्थबाट पिठो उत्पादन, प्रशोधन र प्याकेजिङ सुरु गरिएको जनाइएको छ । उक्त काममा सहकारीका दुई कर्मचारीसहित पदाधिकारी र सदस्यसमेत आफैँ खटिने गरेका छन् । कोदो र फापर खेतीको अवस्था र बजार मागलाई हेरेर उत्पादनलाई थप वृद्धि गर्दै लैजाने योजना रहेको अध्यक्ष पाध्याले बताए ।

बजारमा आउने तयारी वस्तुको तुलनामा स्थानीय उत्पादनको लागत बढी हुनाले बजार व्यवस्थापन नै मुख्य चुनौतीका रूपमा रहेको उनको भनाइ छ । स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकाले स्थानीय उत्पादनतिर उपभोक्ताको आकर्षण बढ्ने सहकारीको विश्वास छ।

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् ।

विश्वका अन्य देशबाट उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनीहरुको भनाइ छ।

मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभई समय पनि ठूलो बचत हुने बताए। उनले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटीएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताए।

अध्यक्ष राठीले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका शुल्क घट्ने भएकाले पनि नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिए।आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ । पछिल्लो समय कार्गाे रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखिको सपना पछिल्लो एक दशकदेखि परिणाममुखी प्रयासले हर्षित तुल्याएको उद्योगी व्यवसायिको भनाइ छ। नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग माग गर्दैआएको थियो ।

दुवै देशका सरकारले त्यससम्बन्धी नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको छ।

सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउँदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगी र व्यापारीका लागि पनि लाभदायिक हुने भएको छ।मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारीहरुको यो प्रयासलाई सरकारले स्वीकार गरी समस्या समाधानमा भएको यो प्रगतिप्रति सरकारलाई धन्यवाद दिए।

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ ।

सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ ।

बोलकबोलमा न्यूनतम रु १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ । समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ ।

बैंकले निक्षेप सङ्कलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ । यसमा सङ्कलित रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ । साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि–म्याच्योर) सुविधा नहुने स्पष्ट गरिएको छ ।

मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण

जनकपुरधाम । केही वर्षअघिसम्म वर्षात् लाग्नेबित्तिकै फुसको छानो चुहिने, हुरीबतास चल्दा रातभर निद्रा हराउने र आगलागीको त्रासमा दिन बिताउने सिरहा र सप्तरीका एक हजार २०१ विपन्न परिवारका लागि अहिले जीवन नै फेरिएको छ ।

फुसको अस्थायी टहराबाट पक्की घरमा सरेसँगै ती विपन्न परिवारहरूको दैनिक जीवन सुरक्षित, सम्मानित र आशावादी बनेको छ । मधेस प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास, महेन्द्रनारायण निधि विपन्न आवास र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका गरी एक हजार २०१ परिवारले पक्की घर प्राप्त गरेका छन् । दलित, विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको छ ।

ती जिल्लाका अधिकांश दलित तथा विपन्न परिवार वर्षौँदेखि फुसको छानो भएको झुपडीमा बस्दै आएका थिए । “वर्षा लागेपछि घरभित्रै पानी चुहिन्थ्यो, गर्मीमा अत्यधिक ताप सहनुपथ्र्यो, आगलागीको जोखिम त झन् सधैँको चिन्ता थियो”, सिरहाको सिरहा नगरपालिका–९ निवासी रशमादेवी राम भन्छन्, “तब पक्की घर पाएपछि अहिले सबै चिन्ताबाट मुक्त भएको अनुभूति भइरहेको छ ।” यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भन्ने सपना पनि देख्न सकेका थिइनँ, तर पाएकाले असाध्यै खुसी छु, उनको भनाइ छ ।

सरकारको आवास कार्यक्रमअन्तर्गत पक्की घर पाएपछि लाभग्राही परिवारको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ । पूर्वाधार विकास कार्यालय सिरहाका सबइन्जिनियर जीवछकुमार यादवका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८२–८३ सम्म सिरहामा तीनवटा आवास कार्यक्रममार्फत ६१२ परिवार लाभान्वित भएका छन् ।

यसमध्ये जनता आवास कार्यक्रमबाट ५१२, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ६९ तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट ३१ परिवारले पक्की घर पाएका छन् । सिरहाको औरही गाउँपालिकामा मात्रै जनता आवास कार्यक्रमअन्तर्गत ४४७ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । यसले औरही क्षेत्रका विपन्न समुदायको आवासीय अवस्थामा ठूलो सुधार ल्याएको स्थानीयको भनाइ छ ।

यस्तै सप्तरीमा पनि आवास कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । पूर्वाधार विकास कार्यालय सप्तरीका सबइन्जिनियर रामाकर झाका अनुसार जनता आवास कार्यक्रमबाट ५१५, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ५६ तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट १८ गरी ५८९ परिवारले नयाँ घर पाएका छन् ।

नयाँ घर पाएसँगै धेरै परिवारले असुरक्षित झुपडी छाडेर सम्मानजनक जीवन सुरु गरेको झाको भनाइ छ । यद्यपि, कार्यक्रम पूर्ण रूपमा सम्पन्न भने भइसकेको छैन । सिरहामा जनता आवास कार्यक्रमअन्तर्गत करिब ४० र महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत २७ घर निर्माणाधीन छन् ।

सप्तरीमा जनता आवास कार्यक्रमअन्तर्गत ७९१ घर निर्माणको सम्झौता भए पनि हालसम्म ५१५ वटामात्रै सम्पन्न भएका छन् । दुई सय ८८ वटा निर्माणाधीन छन् भने ८८ वटा घरको निर्माण अझै सुरु हुन नसकेको प्राविधिक झा बताउछन् ।

उनका अनुसार महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत सम्झौता भएका ९२ घरमध्ये ५६ सम्पन्न, ३४ निर्माणाधीन र पाँचवटाको काम सुरु हुन बाँकी छ । आवास केवल एउटा भवन होइन, यो परिवारको सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानसँग जोडिएको आधारभूत आवश्यकता हो ।

पूर्वाधार कार्यालय राजविराज सप्तरीका प्रमुख कृष्णदेव झाले सुरक्षित घर भएपछि बालबालिकाको विद्यालय जाने वातावरण सुधारिएको बताउछन्। उनका अनुसार महिलाहरूले घरभित्र सुरक्षित रूपमा दैनिक काम गर्न पाएका छन भने वृद्धवृद्धा र अशक्त व्यक्तिका लागि पनि पक्की घरले सहज जीवन प्रदान गरेको छ ।

आवास कार्यक्रमले गरिबी न्यूनीकरण, सामाजिक समावेशीकरण र मानव विकास सूचकाङ्क सुधारमा समेत सकारात्मक प्रभाव पारेको प्रमुख झा बताउछन्। प्रमुख झाका अनुसार जग्गा व्यवस्थापनमा कठिनाइ, बजेट अभाव तथा केही प्रशासनिक प्रक्रियाका कारण आवास कार्यक्रम निर्माणकार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

बर्सेनि निर्माण सामग्रीहरूको बजारभाउ अत्यधिक बढे पनि आवास कार्यक्रमहरूको बजेट बढ्न नसक्दा कार्यक्रम सञ्चालन गर्न चुनौती भइरहेको उनको भनाइ छ ।

पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ। अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक पनि अवरुद्ध भएको छ । गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि अवरुद्ध भएको छ।

यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बीपी स्मृति दिवसमा कांग्रेसको घोषणा, १० लाखसहित ‘मानव सहायता कल्याण कोष’ स्थापना

काठमाडौं । सुकुमवासी र बालबालिकाको शिक्षामा सहयोग गर्न नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको सभापति गगन थापाले जानकारी दिए ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति थापाले सुकुमवासी र बालबालिकाको शिक्षामा सहयोग गर्न कोष स्थापना गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार कोषमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा गरिएको छ।

बिर्तामोडमा सडक मिचेका संरचना हटाउन १५ दिने अन्तिम अल्टिमेटम

झापा । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।

नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।

सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको अवधि बितिसक्दा पनि केही घरधनी तथा व्यवसायीहरूले संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले भत्काउने चेतावनी दिएको छ । यसरी संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनीबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन। ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो ।

जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा झरेर रु ४५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ । प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो ।

मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताउनुभयो । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उहाँले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्छ भन्नुभयो ।

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै

बागमती। बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ ।सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

‘प्रविधि र पारदर्शिताः सेवा प्रवाहको नयाँ परिभाषा’लाई आत्मसात् गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उहाँले बताउनुभयो । त्यसका लागि आवश्यक पूर्वाधार विकास, पुराना कागजी फाइल तथा ढड्डाहरूको विद्युतीय अभिलेख सृजना, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा स्तरोन्नतिसहित केन्द्रीय प्रणाली, राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाइएको उहाँको भनाइ छ ।

यातायात सम्बद्ध सेवामा सुशासन अभिवृद्धि गर्नका लागि न्यूनतम सम्पर्क विन्दु कायम गर्ने र फेसलेस सेवा प्रवाहको प्रारुप तयार पार्न सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा अनलाइन गर्ने, प्रयोगात्मक परीक्षालाई स्वचालित वनाउने सरकारको योजना छ । लिखित र प्रयोगात्मक परीक्षाको व्यवस्थापनलाई पृथकीकरण गरी सम्भावित मिलोमतोलाई निस्तेज गर्ने, स्वचालित प्रविधिमा आधारित सवारी परीक्षण सेवा प्रारम्भ गर्न आवश्यक बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ ।

प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरेको छ । सवारी दर्ता प्रमाणपत्रलाई क्युआर कोडयुक्त स्मार्ट कार्डमा रुपान्तरण गर्दै सवारी चालक अनुमतिपत्र र सवारी करसम्बन्धी राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाई सवारी चालक अनुमतिपत्र र सवारीको कर भुक्तानी तथा नवीकरणका लागि कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रबन्ध मिलाइएको मन्त्री तामाङले बताउनुभयो ।

सङ्घीय सरकारसँगको सहकार्यमा यातायात कार्यालयहरूबाट प्रवाह हुने सेवालाई नागरिक एपसँगको आबद्धतामार्फत पँहुचयोग्य, सरल र सेवाग्राहीमैत्री बनाइने उल्लेख गर्दै सरकारले बजेटमा सवारी चालक अनुमतिपत्र, ब्लुबुक र यान्त्रिक परीक्षणसम्बन्धी जानकारी नागरिकले मोबाइल एपबाट हेर्न सक्ने व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको जनाएको छ ।

यातायात व्यवस्था कार्यालयहरूको कार्यस्थल सुधार र सेवाग्राहीमैत्री बनाउन डिजिटल डिस्प्ले, टोकन प्रणाली, शुद्ध पिउने पानी, व्यवस्थित प्रतीक्षालय, सफा शौचालय र आवश्यक फर्निचर आदिको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो ।

सार्वजनिक यातायातमा नियमित यान्त्रिक परीक्षण गर्ने र पुराना सवारीसाधनको पत्रु गर्ने कार्यलाई वैज्ञानिक र आधुनिक बनाउन निजी क्षेत्रको समेत सहकार्यमा स्वचालित प्रविधियुक्त सवारी परीक्षण केन्द्र स्थापना तथा सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५४ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो

९० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, तीते करेला प्रतिकिलो ४० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ४० रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, भिण्डी प्रतिकिलो ६० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो ३०० रुपैयाँ, न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

दोलखामा पहिरोमा परेर एक वृद्ध बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोलामा आएको पहिरोमा परी एक वृद्ध बेपत्ता भएका छन्।

आज बिहान करिब २ः३० बजे सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै गएको पहिरोले बाख्राको गोठ बगाउँदा गोठभित्र रहेका स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन्।

पहिरोका कारण जलविद्युत् आयोजनाका कर्मचारी बस्ने घरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत विपद् मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

रासायनिक मल आपूर्ति तीव्र, युरिया बोकेको तेस्रो जहाज कलकत्ता पुग्यो

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले उक्त मल नेपालका लागि ल्याइएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन प्रभावित हुँदा हिजो नेपाल आइपुग्नुपर्ने एक हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि आइपुग्ने भएको छ। त्यस्तै, दुई हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

युरिया मलको आपूर्तिलाई थप सहज बनाउन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन र भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत ढुवानीका लागि पठाइसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ र आवश्यकताअनुसार देशभर वितरण गरिनेछ। कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइएको मन्त्रालयको भनाइ छ।

काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए ।

“दुर्घटना हुनु आफैँमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ”, उनले भने ।

उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबारको दिन भएको देखिएको छ । “शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन्”, सुवेदीले भने । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

नेपालगन्ज । बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन ।खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा बढेको छ ।

कृषि कर्ममा गोरुको महत्व आफ्नै खालको थियो । तर आजकल न त गोरु देख्न पाइन्छ, न त किसानले गोरु धपाएको नै भेटिन्छ ।
जिल्लाभरका खेतमा अहिले ट्याक्टर र पावर टिलर कुदिरहेका छन् । यसले किसानलाई समय बचत हुनाका साथै रोपाइँको काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ ।

बाँकेको जानकी गाउँपालिका–३, कर्मनाका किसान सुन्दर खटिकले समयसँगै धान रोपाइँ प्रणालीमा पनि परिवर्तन भएको बताउँछन् । आफूले धेरै वर्षदेखि ट्याक्टरको सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आएको उनले जानकारी दिए ।उनले यस वर्ष पनि दुई बिघा जमिन (बटैया) अधियामा खेती गरेका छन् । खेतीका लागि ट्याक्टर प्रयोग गरेर खेत जोतेको बताउँदै उनले प्रतिघण्टा रु दुई हजार पाँचदेखि तीन हजारसम्म शुल्क तिरेको जानकारी दिए ।

“केही किसानले आफ्नै घरमा ट्याक्टर राखेका छन्, तर हामीसँग छैन । त्यसैले पैसा तिरेर जोत्न लगाउँछौँ,” उनले भने ।अहिले धेरै किसानका घरमा खेत जोत्नका लागि गोरु वा राँगा नभएकाले अधिकांश किसानले ट्याक्टर वा पावर टिलरकै सहायताले खेत जोतेर धान रोपाइँ गरिरहेको उनको भनाइ छ ।

“अहिलेसम्म जति पनि रोपाइँ भएको छ, केहीमा पावर टिलर र केहीमा ट्याक्टरको रोटाभेटर प्रयोग गरेर खेत जोतिएको छ,” उनले भने ।किसान खटिकले खेत जोत्नका लागि यान्त्रिकीकरण बढ्दै गएको उल्लेख गर्दै रोपाइँ गर्ने मजदुरले पनि प्रतिदिन रु ५०० देखि ८०० सम्म ज्याला लिने गरेको बताए । उनले भने, “मलखाद, रोपाइँ गर्ने मजदुरको ज्याला र ट्याक्टरलाई तिर्नुपर्ने रकमका कारण धानखेतीको लागत बर्सेनि बढ्दै गएको छ ।”

समयमै रासायनिक मल नपाउँदा धान उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उनले न्यून आय भएका किसानलाई सहुलियत उपलब्ध गराउन आग्रह गरे ।कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले धान रोपाइँ पहिलेभन्दा आधुनिक बन्दै गएको बताए । उपकरणको प्रयोग बढेको छ । उनले भने, “अहिले किसानले गोरु र राँगा पाल्न छाडेका छन् । त्यसैले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा बढिरहेको छ ।”

प्रमुख घिमिरेका अनुसार पछिल्लो समय स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि औजार वितरण गर्दै आएका छन् । जिल्लामा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको उनले जानकारी दिए ।सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसानले अझै रोपाइँ जारी राखेका छन् । विशेषगरी कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षदेखि खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखेको बताए । “अहिले जमाना फेरिएको छ । किसानले ट्याक्टर र पावर टिलरबाट खेत जोतेर लाभ लिइरहेका छन्,” उनले भने ।

उनले यस वर्ष ‘राम’ धानको खेती बढी भएको र ‘हाइब्रिड’ जातका धानको रोपाइँ पनि उल्लेख्य रूपमा बढेको जानकारी दिए । किसान शेखले विगतका वर्षको तुलनामा खेतमा रोपाइँ गर्ने मजदुरको पारिश्रमिक पनि बढेको बताए ।

हाल दिनभर काम गरेबापत रु ६०० देखि रु ९०० सम्म पारिश्रमिक लिन थालेका छन् । “अहिले धेरैले आफ्नै घरमा ट्याक्टर र पावर टिलर राख्न थालेका छन्, तर हामीले भने ट्याक्टरबाट खेत जोताएर भुक्तानी गरेका थियौँ,” उनले भने ।

कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले प्रदेश सरकार स्थापना भएपछि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको जानकारी दिइन् ।

उनले ती उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको उल्लेख गर्दै पछिल्लो समय उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन भइरहेको बताइन् ।

जिल्लाको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते

मस्को। रुसको बेल्गोरोद क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका युक्रेनी ड्रोन आक्रमणमा परी १० जनाको मृत्यु भएको र ७९ जना घाइते भएको क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले मङ्गलबार बताउनुभएको छ ।

क्षेत्रीय परिचालन मुख्यालयका अनुसार, बेल्गोरोद क्षेत्रका तीन जिल्लामा भएका आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।

गभर्नर शुभाएभका अनुसार पछिल्लो एक दिनमा उक्त क्षेत्रमा १८३ वटा ड्रोन खसालिएका छन् । सो अवधिमा युक्रेनले ‘मल्टिपल लन्च रकेट सिस्टम’ (एमएलआरएस) र तोपखानामार्फत सात पटक गोलाबारी गरेको तथा दुई पटक ड्रोनबाट विस्फोटक पदार्थ खसालेको उहाँले बताउनुभयो ।

रुस–युक्रेन द्वन्द्वको पछिल्लो चरणमा बेल्गोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण बढ्दै गएको रुसी अधिकारीले बताएका छन् । स्थानीय अधिकारीको दैनिक विवरणअनुसार, गत साता मात्रै उक्त क्षेत्रमा प्रत्येक दिन ९० भन्दाबढी ड्रोन खसालिएको जनाइएको छ ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले मङ्गलबार बिहान जनाएअनुसार, रातभरि रुसका विभिन्न क्षेत्रमा २०९ वटा युक्रेनी ड्रोन खसालिएका छन् । मन्त्रालयले भने उक्त घटनाबाट भएको सम्भावित क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् ।

प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।

यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्‍का घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् ।

सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक÷एक र भूकम्पका दुई वटा घटना भएका छन् । विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो ।

वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०७ रुपैयाँ १७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ५६ पैसा बिक्रीदर ४०९ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०० रुपैयाँ ७१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ ।

विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

यस्तै, काठमाडौँको जडीबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई रु पाँच हजार जरिवाना गरेको छ । विभागले कुल १२ फर्ममा अनुमगन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

उद्योग, फर्महरूको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवम् कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुमगन गर्दै आएको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

कञ्चनपुर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ ।महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले मंगलबार साँझ महाकाली नदीमा पानीको बहाव ८६ हजार क्युसेक मापन गरिएको जानकारी दिए । “ दिउँसोसम्म नदीमा पानीको बहाव एक लाख २४ हजार क्युसेकसम्म पुगेको थियो,” प्रवक्ता रावतले भने, “महाकालीमा जलस्तर घटेसँगै बनबासा पुलमा सवारीसाधन सञ्चालन भएको छ ।”

पानीको बहाव बढ्दा मङ्गलबार बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारीसाधन रोकिएका थिए । भारतीय पक्षले एक सय वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीका बेला चारपाङ्ग्रे सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ ।

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना तपाईँ हाम्रो सहकारीका ९० जनाले बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।

युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा

काठमाडाैँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल ६९ करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिती र सुधारमा आवाश्यक कार्य गर्न दबाब दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो।

सन् २०२२ को सुरुवातमा रूसले आक्रमण गरेर सुरु भएको दुई देशबिचको युद्ध हाल पाँचौँ वर्ष सम्म पनि चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अधिक चुनौतीपूर्ण बाह्य वातावरण र जोखिमहरूको असाधारण अवस्थाका बाबजुद समष्टि आर्थिक र वित्तीय स्थिरता कायम राखेको जनाउदै आइएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शन समग्रमा सन्तोषजनक भएको बताएको छ ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले कार्यकारी बोर्डको छलफल पछि द्वन्द्वको सामना गर्न युक्रेनले उल्लेखनीय उद्धारता जारी राखेको बताए।

समष्टि आर्थिक स्थिरताको संरक्षणलाई तत्काल प्राथमिकता दिनु पर्ने बताउदै उनले वित्तीय क्षेत्रको उद्धारताको रक्षा गर्ने उपायहरूका साथसाथै विवेकपूर्ण वित्तीय नीति र मौद्रिक नीति तयार गरी अघि बढ्न पनि आग्रह गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे

काठमाडाैँ । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन्।

कांग्रेस पार्टीका नेता गान्धीले मङ्गलबार प्रधानमन्त्री निवास नजिकै अन्य विपक्षी सांसदसँगको प्रदर्शनका क्रममा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताए ।

“सरकार न त जवाफदेहिता लिन चाहन्छ, न त यस विषयमा संसद्‌मा बहस गर्न तयार छ,” तल्लो सदनका विपक्षी दलका नेता गान्धीले उल्लेख गरेका छन्। सोमबार नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा करिब ६० जना प्रदर्शनकारी घाइते भएका थिए। पछिल्लो करिब पाँच वर्षयताकै ठूलो सडक प्रदर्शनका रूपमा हेरिएको उक्त घटनामा प्रहरीतर्फ पनि ११८ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ।

‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

प्रहरीले प्रदर्शन नियन्त्रणका क्रममा अश्रुग्यास र लाठी प्रयोग गरेको जनाएको छ भने प्रदर्शनकारीले ढुङ्गामुढा गरेको आरोप लगाएको छ। सीजेपीले मङ्गलबार पनि जन्तर–मन्तरमा प्रदर्शन जारी राख्दै शिक्षा मन्त्रीलाई पदबाट हटाउनुपर्ने माग दोहोर्‍याएको छ। गत मे महिनामा सुरु भएको उक्त अभियानले सामाजिक सञ्जालमार्फत ठूलो समर्थन जुटाएको बताइएको छ।

सीजेपीका प्रवक्ता आशुतोष राङ्काले आन्दोलन नरोकिने बताउँदै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गरे। प्रदर्शनकारीले प्रहरीको कारबाहीको आलोचना गर्दै लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाएका छन् । सीजेपीका संस्थापक अभिजीत दिपकेले समर्थकलाई धैर्य राख्न आग्रह गर्दै आन्दोलन जारी रहने बताए।

यसैबिच, विपक्षी दलले संसद्माविद्यार्थीमाथि गरिएको दमन बारे छलफलको माग गरेपछि मङ्गलबार संसद् बैठक अवरुद्ध भएको छ। भारतमा परीक्षा प्रणालीप्रतिको विश्वास कमजोर बनाउने गरी भएका प्रश्नपत्र चुहावट र अनियमितताका घटनापछि पछिल्लो आन्दोलन चर्किएको हो । मेडिकल तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा देखिएका अनियमितताले विद्यार्थी र अभिभावकबिच असन्तुष्टि बढाएको विपक्षी दलको भनाइ छ।

यता, संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकारले परीक्षा अनियमितताविरुद्ध तत्काल कदम चालेको र सङ्लग्न व्यक्तिमाथि कारबाही गरिएको बताए। प्रधानमन्त्री मोदीले भने हालसम्म यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। प्रहरीले गान्धी सहितका नेताहरूलाई पक्राउ गरिसकेकाे छ।