`

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौँ – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएको थियो । समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो ।

साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो ।

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौँ – अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रुपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले संविधान र प्रचलित कानुनको व्यवस्था विपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र सम्बन्धित स्थानीय तहको माग हुँदै मालवस्तुको ढुवानीमा कुनै प्रकारको कर तथा शुल्क असुली गर्न नमिल्ने स्मरण गराएको छ ।

‘नेपालको संविधान, प्रचलित कानुन विपरित कुनै पनि कर,दस्तुर र शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ भनी निर्णय भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

सो निर्णय गत मङ्सिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णय भएकाले आवश्यक कारवाहीका लागि सम्वद्ध सबैलाई पत्राचार गरिएको जनायएको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर, शुल्क तथा शुल्क उठाएको भन्ने जानकारीमा आएपछि अर्थ मन्त्रालयले त्यस्तो निर्णय गरेको हो ।

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

काठमाडौँ – पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज स्मरण गराएको छ ।

“बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो”, केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने उल्लेख गरेको छ ।

कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेमा गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकाले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।

पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै

कास्की – पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो ।

महानगर प्रमुख धनराज आचार्यले अभिलेख हेर्दा विसं २०१६ पुस २ गते पाँच हजार जनसङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको बताउनुभयो । यसरी स्थापनाको ३६४औँ दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो ।

महानगरले स्थापना दिवसका अवसरमा भाषा साहित्य, कला (सङ्गीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरू मध्येबाट नौ जनालाई पोखरेली नवरत्नबाट सम्मान गर्ने जनाएको छ ।

नवरत्नहरुलाई जनही नगद रु दुई लाख दुई हजार २०२ र ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार आज बिहान पोखराको चिप्लेढुँगाबाट बृहत सांस्कृतिक झाँकी ¥यालीसहितको प्रभातफेरि पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोह हुनेछ ।

“पोखरा महानगरको स्थापना दिवसलाई भव्य रुपमा मनाउने गरी तयारी गरेका छौँ । यसअघिसमेत सप्ताहव्यापी विविध कार्यक्रम गरेका छौँ । सभागृहमा स्थापना दिवस समारोह हुनेछ, सबै तयारी पूरा भएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

मूल समारोहमा महानगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ट गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ । यसैगरी महानगरपालिकाका ३३ वटै वडाहरू मध्येबाट सरसफाइमा उत्कृष्ट तीन वटा वडाहरू, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

उमेर ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ । मूल समारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरू, मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरू, छिमेकी पालिकाका प्रमुखहरू, पोखरा महानगरपालिकाका पूर्वपदाधिकारीहरू, पूर्वप्रशासकीय अधिकृतलगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिृकत मुक्तिराम अर्यालले जानकारी दिनुभयो ।

स्थापना दिवसका दिनमा महानगर तथा मातहतका कार्यालयहरुको नियमित सेवा प्रवाह बन्द रहने जनाएको छ । विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएकामा त्यसपछि विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषणा भएको थियो । विसं २०७३ फागुन २७ गते पोखरा वरपरका साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो ।

यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७५ साउन २३ गतेको निर्णयले पोखरा महानगरपालिका नाम कायम गरिएको थियो । सो निर्णयको सूचना विसं २०७५ भदौ २५ गते राजपत्रमा प्रकाशित भएपछि औपचारिक रुपमा पोखरा महानगरपालिका कार्यान्वयनमा आएको हो ।

बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८७ पैसा र बिक्रीदर २२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एमालेको मतदान आज विहान ८ बजेबाट हुने

काठमाडौं । नेकपा एमालेको मतदान आज हुने भएको छ । मतदान बिहान ८ बजेदेखि सुरू हुनेछ । हिजो ९ बजेलाई मतदानको समय तोकिएको थियो । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । तर, प्राविधिकरण कारण मतदान कार्यक्रम स्थगित गरिएको थियो ।

विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएकोले हिजो मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौँ – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।

आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो ।

आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन × चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ ।

प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ ।

अनलाइन, वेवपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन । तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा पर्ने छैन ।

दलको झण्डाको वा दल एवम् उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन पाइनेछैन । कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा,
ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ ।

सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ – सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुवै तर्फबाट आआफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।”

अभियानका प्रतिनिधि प्रेमदीप लिम्बूले वार्तामा सकारात्मक र सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताउनुभयो । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादका माध्यमबाट महाअभियानले उठाएका मागको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियान लिम्बूको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी हुनुहुन्थ्यो । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गर्नुभएको हो ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहनुभएको छ । राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न उक्त समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सोही समितिले आज अभियानका प्रतिनिधिसँग वार्ता गरेको हो ।

नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको उल्लेख गर्दै नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता तथा भूमिकालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व ध्यान दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, “वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको छ, यस परिवेशमा नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता एवं भूमिकालाई प्रदर्शन गरेर सम्पूर्ण विश्वलाई रोग, तनाव, कलह एवं अशान्तिबाट मुक्त गर्नेजस्तो महत्वपूर्ण र मानवहितको कार्यमा भूमिका निर्वाह गर्न सक्दछ ।”

नेपालमा रहेको हिमालय पर्वत एवम् यहाँका अग्लाअग्ला टाकुरा, वनजङ्गल, नदीनाला, धार्मिक एवं सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थलले नेपाललाई विश्वमै एउटा अद्वितीय आरोग्य भूमिको रुपमा परिचित तथा स्थापित गरेको उहाँले उल्लेख गर्नुभएको छ । नेपाल परापूर्वकालदेखिनै योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना र आयुर्वेद, प्राकृतिक चिकित्सा एवं अन्य विकसित प्रकारका चिकित्सा प्रणालीको उद्गमस्थल रही आएको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “सयुक्त राष्ट्रसङ्घले गत वर्ष डिसेम्बर २१ तारिखलाई अन्तरराष्ट्रिय ध्यान दिवस घोषणा गरिसकेको छ, यस वर्ष दोस्रो ध्यान दिवसको अवसरमा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा जीवन विज्ञान प्रतिष्ठानका श्रद्धेय गुरुद्वारा विशाल एवं भव्य कार्यक्रम गरी नेपालको आध्यात्मिक र चिकित्सकीय सम्पदाको बारेमा विश्वस्तरीय चिन्तन, बहस एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा म अत्यन्त हर्षित भएकी छु ।”

प्रधानमन्त्री कार्कीले जीवन विज्ञान प्रतिष्ठानले विगत डेढ दशकभन्दा बढी समयदेखि प्रत्येक नेपालीको घरघरमा र विश्वका सयभन्दा बढी देशमा आफ्नो सेवा पु¥याउँदै आएको अवगत गराउँदै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन गइरहेको कार्यक्रमले नेपाललाई विश्वको एक महत्वपूर्ण आरोग्य भूमिको रुपमा स्थापित गर्ने कुरामा विश्वस्त रहेको बताउनुभएको छ ।

“जीवन विज्ञानका श्रद्धेय गुरूद्वय एलपी भानु शर्मा र रमेश नेपाललाई कार्यक्रम सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र संयुक्त राष्ट्रसङ्घस्थित नेपालको स्थायी प्रतिनिधिलगायत आयोजकको भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू सबैलाई धन्यवाद व्यक्त गर्दछु”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

रुसको ऊर्जामा अत्यधिक निर्भर हङ्गेरीद्वारा अमेरिकासँग ग्यास सम्झौतामा हस्ताक्षर

हङ्गेरीले मङ्गलबार अमेरिकी कम्पनी शेभ्रोनसँग पाँच वर्षको ग्यास आपूर्ति लागि सम्झौतामा गरिएको घोषणा गरेको छ । हङ्गेरी अझै पनि ऊर्जाको लागि रूसमा धेरै निर्भर हुनेछ।

करिब ९५ लाख जनसङ्ख्या भएको मध्य युरोपेली राष्ट्र हङ्गेरीले २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे पनि युरोपेली सङ्घमा क्रेमलिनको सबैभन्दा नजिकको साझेदार बनेको छ । हङ्गेरीले मस्कोमा आफ्नो ऊर्जा निर्भरता कम गर्न युरोपेली सङ्घ र अमेरिकाको आह्वानको विरोध गरेको छ ।

प्रधानमन्त्री भिक्टर ओर्बानले गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकमा सन् २०२७ को अन्त्यसम्म रुसी ग्यासको सबै आयातमा प्रतिबन्ध लगाउने युरोपेली सङ्घको योजनाको बाबजुद रुसी ‘हाइड्रोकार्बन’ आयात जारी राख्ने वाचा गर्नुभएको थियो ।

“शेभ्रोन र हङ्गेरीको विद्युत कम्पनी एमभीएमबीचको सम्झौताले पाँच वर्षसम्म वार्षिक ४० करोड घनमिटर तरलीकृत प्राकृतिक ग्यासको वितरण गर्ने अनुमान गरेको छ,” विदेश मन्त्री पिटर सिजार्टोले एक मिडिया सम्मेलनमा भन्नुभयो ।

सहमतिपछि अमेरिकी उप ऊर्जा सचिव जेम्स ड्यान्लीसँगै उभिएर हङ्गेरीका उर्जामन्त्रीले ऊर्जा सहयोगमा आधारित दुई नेटो देशबीचको सहयोगको ‘स्वर्ण युग’ को सुरू भएको भन्दै यसको प्रशंसा गरे।

एमभीएमले हालैका महिनाहरूमा बेलायतको शेल अफ ब्रिटेन, फ्रान्सको एन्जी र अजरबैजानको सरोकार एसओसीएआरसँग सम्झौता गरेको छ। शेभ्रोनसँगको सम्झौतासँगै उनीहरूले हङ्गेरीलाई गैर–रूसी स्रोतहरूबाट वार्षिक १.४ अर्ब घनमिटर ग्यास उपलब्ध गराउनेछन् ।

हङ्गेरीको रुसको ग्याजप्रोमसँग १५ वर्षे आपूर्ति सम्झौताले सन् २०३६ सम्म वार्षिक ४.५ अर्ब घनमिटर पानी उत्पादन गर्न अनुमति दिएको छ । हालैका वर्षहरूमा थप आपूर्ति सम्झौताहरू पनि गरिएका छन्।

सिजार्टोले यसअघि नोभेम्बरको अन्त्यसम्म सात अर्ब घनमिटर रुसी ग्यास हङ्गेरीमा आइपुगेको बताउनुभएको थियो । गत वर्ष हङ्गेरीले करिब ८.५ अर्ब घनमिटर ग्यास खपत गरेको थियो ।

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग

काठमाडौँ – निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताउनुभएको छ ।

आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको छ । निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौँ ।”

उहाँले निर्वाचनको लागि संविधान, ऐन÷कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ आएको उल्लेख गर्दै विभिन्न माग राख्दै हरेक दिन दुई÷चार वटा ज्ञापनपत्र आउने गरेको सुनाउनुभयो ।

कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन÷कानुन, नियमलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राख्नुभएको जिज्ञासामा भण्डारीले मितव्ययी ढङ्गले खर्च गर्न आयोग सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक सरकारले खर्च नियन्त्रण गर्न अघि सारेका सवालमा आयोग तयार छ, सरकारी कोषबाट हुने खर्च हामीले अत्यन्त मितव्ययी ढङ्गले गर्छौं, यसअघि २०७९ सालमा भएका दुई वटा निर्वाचन पनि सोही नीतिअनुसार काम गरेर देखाइसकेका छौँ । अब दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कडाइका साथ सीमा तोक्छौँ ।”

उम्मेदवारले गर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको सङ्ख्याको आधारमा खर्च गर्न दिने गरिएको भण्डारीको भनाइ छ ।

वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो

विराटनगर – सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किनुभयो, तर घर फर्केपछि उहाँले चरम सङ्घर्ष गर्नुप¥यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो ।

मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा जानुभयो । कमाइ पनि ठीकै भयो, तर घर फर्केपछि परिवारमा कुरा मिल्न सकेन र समाजमा पुनःस्थापित हुन निक्कै चुनौतीको सामना गर्नुप¥यो ।

सकुन्तला र जीवनकुमारी मात्र होइन वैदेशिक रोजगारबाट फर्केकाहरूले समाजमा पुनःस्थापित हुनका लागि चुनौती खेप्नुपरिरहेको छ । जसले गर्दा उनीहरू मानसिक तनाव मात्र बढेको छैन, उनीहरूले विदेशमा सिकेको सीप र अनुभव पनि खेर गइरहेको छ ।वैदेशिक रोजगारीबाट फर्केकाहरूले पारिवारिक र सामाजिक समस्याका साथै आर्थिक समस्या पनि भोग्न परिरहेको देखिन्छ ।

इलामको सूर्योदय नगरपालिकामा पारिवारिक परामर्शदाताका रूपमा कार्यरत ईश्वरी तामाङले वैदेशिक रोजगारीबाट फर्केकाहरूको समस्याका बारेमा भन्नुभयो, “विदेशमा बस्दा नियमित पैसा आउने, खर्च गर्ने शैली पनि फरक हुने तर यहाँ फर्केपछि नियमित आम्दानी नहुने, काम गर्दा पाउने पारिश्रमिक बचत नहुने र खर्च गर्ने योजना पनि नमिल्ने गरेकाले उहाँहरूमा आर्थिक तथा पारिवारिक समस्या आउँछ ।”

यिनै समस्यालाई मनन गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरणको कामलाई नीतिगत रूपमा प्राथमिकता दिएको छ । यसका लागि सरकारले हरेक स्थानीय तहमा स्थापना गरेको रोजगार सेवा केन्द्रले सङ्घीय सरकारको नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

बोलचालमा ‘रिटर्नी’ भनिने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि सहयोगको प्रारम्भिक विन्दुको रूपमा रोजगार सेवा केन्द्रले काम गर्न थालेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, रोजगार सेवा केन्द्रले उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा समाजमा पुनःएकीकरणका लागि आर्थिक, मनोसामाजिक तथा पारिवारिक परामर्श, रोजगारी र उद्यमशीलता मार्गदर्शन, वैदेशिक रोजगारीबाट ल्याएको सीप, अनुभव र बचतको स्वदेशमा प्रभावकारी उपयोग गर्न मद्दत गर्ने काम गर्छ ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शम्भुप्रसाद साहले वैदेशिक रोजगारबाट फर्कनेहरूलाई समाजमा पुनःएकीकरण गर्नुपर्ने कार्यको गम्भीरतालाई मनन गर्दै मन्त्रालयले इमानदारीपूर्वक कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।

मन्त्रालयकी भगवती ढुङ्गानाका अनुसार मन्त्रालयले प्रदेशका १० वटा स्थानीय तह, मोरङको उर्लाबारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, सुनसरीको रामधुनी नगरपालिका, झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिका, उदयपुरको कटारी नगरपालिका, इलामको सूर्योदय नगरपालिका तथा खोटाङको दिक्तेल बरुवा मजुवागढी गाउँपालिकाका रोजगार सेवा केन्द्रमार्फत यी कामलाई अझ तीव्रताका साथ अगाडि बढाएको छ ।

उक्त स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण (रेमी) परियोजनाअन्तर्गत यस्ता काम भएका हुन् । रेमी परियोजना हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलबाट सञ्चालित छ ।

मन्त्रालयका अनुसार, १० वटा स्थानीय तहका प्रत्येक रोजगार सेवा केन्द्रका चार जना कर्मचारीहरूले विदेशबाट फर्कनेहरूलाई समाजमा पुनःस्थापना गर्न विभिन्न किसिमका सुझाव, सल्लाह, उद्यमशीलता, स्वरोजगार र सीप विकास गर्न मद्दत गर्ने गरेका छन् ।

अर्कोतिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू आफ्नो सञ्जालमा आबद्ध भएर रिटर्नीहरूको पहिचान, परामर्श र पुनः एकीकरणका काममा रोजगार सेवा केन्द्रलाई सहयोग गरिरहेका छन् । यसै क्रममा सञ्जालमार्फत केन्द्रको सम्पर्कमा पुगेर मोरङ केराबारी–१० की जीवनकुमारी राई सामाजिक रूपमा पुनःस्थापना हुनुभएको छ । हाल उहाँ सञ्जालमा आबद्ध भएर आफूजस्तै महिलाहरूलाई सामाजिक पुनःस्थापनमा सहयोग गर्दै आफूले पनि किराना पसल सञ्चालन गर्न थाल्नुभएको छ ।

सुनसरी रामधुनी नपा–१ की सकुन्तला अधिकारीचाहिँ सञ्जालमा जोडिएर नै आफ्नो जीवन जोगिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सञ्जालमार्फत पुनः एकीकरणमा जोडिन सफल भएँ, अझै पनि समाजसँग जुधिरहेकी छु ।”

वैदेशिक रोजगारमा गएका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक नहुँदा रिटर्नी महिलाहरूले अझै पुनःस्थापनामा चुनौती झेल्नुपरिरहेको हो । रिटर्नी महिलाहरूलाई हेर्ने दृष्टिकोणका लागि समाज सकारात्मक नभएकै कारण आजकल धेरै महिलाहरू सञ्जालमा जोडिएर सामाजिक पुनःस्थापनाका लागि सङ्घर्ष गर्न थालेका छन् ।

समाजशास्त्री डा चन्द्र उपाध्याय वैदेशिक रोजगारमा गएर फर्केका महिलाहरूको सामाजिक पुनस्र्थापनामा अझै समस्या रहेकाले सबै तहका सरकारले उनीहरूले सिकेको सीप प्रमाणीकरण गराउने र मनोवैज्ञानिक परामर्श प्रदान गर्ने काममा तीव्रता दिन सके समाजको धारण चाँडै सकारात्मक हुँदै जाने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विदेशमा कमाएको धन, सीप तथा अनुभवलाई सरकारले ग्रहण गरेर सदुपयोग गर्न सके मात्र समाज चाँडै सकारात्मक बन्दै जान्छ । रिटर्नी महिलाहरूका लागि पुनस्र्थापना समस्या समाधानमा पनि योगदान पुग्छ ।”

भुक्तभोगी रिटर्नी महिलाहरूका अनुसार वैदेशिक रोजगारमा गएर राम्रो कमाई ग¥यो भने घरपरिवार र समाजमा पुनःस्थापना सहज हुन्छ, तर बीचैमा फर्कनुप¥यो वा कुनै समस्या आएमा सामाजिक पुनःस्थापनामा निक्कै चुनौती झेल्नुपर्छ । यस्तै, रोजगारमा गएका र फर्केका महिलाहरूलाई समाजले अझै फरक दृष्टिकोणले हेर्ने गरेको उनीहरूको गुनासो छ । वैदेशिक रोजगारमा गएका सबै महिला यौन शोषणमा परेका हुन्छन् र मानसिक र शारीरिक रोग बोकेर आएका हुन्छन् भन्ने गलत धारणा समाजमा अझै व्याप्त छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार विदेशबाट विगत तीन वर्षदेखि कोशी प्रदेशमा फर्कनेको सङ्ख्या एक हजार ९३६ रहेको छ । यो सङ्ख्या खाडीमुलुक साउदी अरेबिया, दुबई, बहराइन, कतार र ओमनबाट फर्केकाहरूको हो, जबकि नेपाली नागरिक खाडी मुलुकबाहेक अन्य मुलुकमा पनि छन् । त्यहाँबाट फर्कनेहरूको सङ्ख्या उल्लेखनीय हुने अनुमान छ । खाडी मुलुकबाट फर्कनेमा शैक्षिक रूपमा स्नातक तहका ४० जना, प्रमाणपत्र तहका १२० भन्दा बढी, एसइईका ४०० भन्दा बढी, कक्षा ६ देखि ९ सम्मका ३०० हाराहारीमा रहेको र अन्य सामान्य लेखपढ गर्नसक्ने मात्र रहेको जनाइएको छ ।

मोरङको उर्लाबारी नगरपालिकाका रोजगार परामर्शदाता सङ्गीता कार्कीले उर्लाबारीमा विगत पाँच वर्षदेखि एक हजार १७७ जना रिटर्नी रहेको जानकारी दिनुभयो । उहाँले रिटर्नीहरूमध्ये कृषि, पशुपालन र सिटी सफारी चलाउने काम गर्छन् भने कतिपयले मजदुरी गर्ने गरेको बताउनुभयो ।

कार्कीले भन्नुभयो, “वैदेशिक रोजगारमा रहेको समयमा घर बनाउने, घडेरी किन्नेजस्ता कार्य गरे पनि आर्थिक बचतको क्षेत्रमा कमै काम गर्ने गरेकाले उहाँहरूमा समस्या देखिएको भन्नुभयो । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरण गर्न तालिम, रोजगारीलगायतका कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।”

स्थानीय तहले स्वरोजगार एवं उद्यमशीलताका लागि दिने तालिमका लागि १८ देखि ४० वर्ष उमेर समूहका लागि मात्र तोक्दिनाले त्यसभन्दा माथिका मानिसलाई तालिम लिन समस्या भइरहेको सामाजिक परिचालकहरूको भनाइ छ ।

विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो

काठमाडौँ – विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने राजकुमार तामाङ लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो । सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि लामालाई पाँचथर पठाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार लामालाई काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो ।

यसअघि लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा विसं २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका व्यक्ति हुन् ।

…अनि मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल

काठमाडौँ – एक हातमा कागजपत्र अर्को हातमा नाति । मलिन अनुहारले नै भनिरहेको थियो, उहाँ कुनै समस्यासँग जुधिरहनुभएको छ । मङ्गलबार सिंहदरबारको गेटमा देखिनुभएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति माग्नुभयो, “मभित्र जानुछ हजुर ! मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन ।”

प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानैपर्ने बाध्यता सुनाउनुभयो । भट्टले जति नम्र भएर कुरा गर्दै हुनुहुन्थ्यो उति नै नम्रतासहित प्रहरीले गृह मन्त्रालयको लेन्डलाइनमा फोन गरेर समस्या सुनाउन र अनुमति माग्न सुझाउनुभयो ।

भट्टले तुरुन्तै फोन गर्नुभयो र उसैगरी समस्या सुनाउँदै भित्र आउने अनुमति माग्नुभयो । टेलिफोनमा कुरा गरेको दुई तीन मिनेट नपुग्दै भट्टले नागरिकता देखाएर प्रवेश अनुमति पाउनुभयो ।

उहाँ पहिलोपटक सिंहदरबार पस्नुभएको भने होइन । भट्टले मङ्गलबार पहिले जसरी सिंहदरबार पस्न जस्तो सङ्घर्ष भने गर्नुपरेन । सहज र सम्मानित ढङ्गले सिंहदरबार प्रवेश पाउनु उहाँका लागि खुसीको क्षण थियो । “विगतमा सिंहदरबार छिर्न सांसद र नेतालाई गुहार गर्नुपर्थ्यो, यसपटक सजिलै प्रवेश पाएँ, अचम्मै पो लाग्यो”, भट्टले खुसी हुँदै भन्नुभयो, “बल्ल जनताको सिंहदरबार भएजस्तै महसुस गरेँ ।”

भित्र प्रवेश गरेपछि भट्टले नातिलाई औँलाले इशारा गर्दै सिंहदरबारको परिवेश सुनाउनुभयो । सम्भव भएसम्म त्यहाँ घुमाउनुभयो । उहाँमा सिंहदरबारमा पस्नुको उत्साह मात्रै थिएन, त्योभन्दा ठूलो यहाँसम्म आउनुको आशा र जिम्मेवारी थियो । बोल्न र सुन्न नसक्ने नातिको अँध्यारो वर्तमानलाई चिर्न र उज्यालो भविष्यका लागि आशाको दियो बाल्नु थियो ।

भट्टले हामीलाई सुनाएअनुसार उहाँ ६३ वर्षको हुनुभयो, यो उमेरमा विगत चार÷पाँच वर्षदेखि नातिको स्वास्थ्य समस्या समाधानका लागि सङ्घर्षरत हुनुहुन्छ । “दैवको खेल भनु कि भाग्यको खेल”, उहाँ आफ्नै नियतिमाथि शङ्का गर्दै भन्नुहुन्छ, “नातिले बोल्न र सुन्नसक्ने भयो भने जीवनमा कुनै गुनासो हुन्थेन ।”

भट्ट बिरामी नातिलाई निको बनाउनकै लागि दार्चुला मार्मा गाउँपालिका–२ बाट काठमाडौँमा आई बस्न थालेको दुई वर्ष भयो । नाति अरुण हुर्किंर्दै गएपछि न बोल्नसके न सुन्न । जिल्ला अस्पतालले विसं २०७८ मा उपचारका लागि कान्तिबाल अस्पताल जान सुझायो । सोहीअनुसार उक्त अस्पताल गए पनि नातिको उपचारमा थप जटिलता देखिएपछि अस्पतालले टिचिङ अस्पताल पठायो ।

बिरामी नातिको उपचारका क्रममा भोगेका दुःख सुनाउँदै भट्टले भन्नुभयो, “टिचिङमा उपचारकै लागि तीन वर्ष अस्पतालको श्ययामा बस्नुप¥यो । घरको आर्थिकस्थिति नाजुक छ । उपचारका क्रममा रु ६९ हजार तिर्न नसक्दा उपचार नै रोकियो ।”

विगतको अवस्था सम्झेर उहाँको मन आत्तिन्छ । जसोतसो गरी रु १७ लाख ५० हजार जुटाएर नातिको उपचार गरे पनि बाँकी उपचारका लागि खर्च जुटाउन नसक्दा सिंहदरबार धाउनुपरेको उहाँले बताउनुभयो ।

हातमा वडाको सिफारिस लिएर गृह मन्त्रालयमा पुग्नुभएका भट्टले दैनिक थेरापी गर्न ३० मिनेटको रु ९०० र एकपटक ‘म्यापिङ’ गर्न चार हजार ५०० खर्च लाग्ने गरेको सुनाउनुभयो । उहाँले सुनाएअनुसार घरमा सबै बिरामी छन् । श्रीमती पत्थरी र किड्नी तथा छोरा मुटुको बिरामी छन् । घरका तिनै जना दीर्घ रोगले थला परेपछि उहाँको बुढो काँधमा बोझिलो जिम्मेवारी आएको छ ।

“आम्दानीको स्रोत छैन, कमाउने छोरो थला प¥यो । कलिलो नातिलाई जसरी पनि बचाउनु छ । धेरै चोटी सहयोगको सिंहदरबार आएको छु । हरेक सरकार आउँदा नाति बचाउन सिंहदरबार धाउँदै आएको छु”, उहाँले भन्नुभयो, “यसपटक नागरिक सरकार बनेको सुने । त्यसले केही सहयोग गर्छ कि भनेर झिनो आशा बोकेर सिंहदरबार पसेको हु ।”

कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार

सिरहा – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले कृषि उत्पादन वृद्धि गर्दै देशमै रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।

सिरहा निर्वाचन क्षेत्र नं २ अन्तर्गत औरही चौकमा आज आयोजित ‘किसानसँग कृषिमन्त्री भेटघाट तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री परियारले युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेकाले गाउँघर युवाविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

“साठी प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर छ, तर युवा रोजगारीको खोजीमा विदेशिँदा गाउँमा उत्पादन घट्दै गएको छ”, मन्त्री डा परियारले भन्नुभयो, “अब आफ्नै ठाउँमा कृषि उत्पादन बढाएर यही रोजगारी सिर्जना गर्नु हाम्रो सबैभन्दा ठूलो चुनौती हो । किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सुरक्षित बनाउने, आधुनिक प्रविधिमा पहुँच बढाउने र कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने नीति सरकारले अघि बढाइरहेको छ ।”

मन्त्री डा परियारले देशको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको भए पनि यो क्षेत्र विभिन्न समस्या र चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै भन्नुभयो, “स्वदेशी उत्पादनलाई संरक्षण नगरी आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुँदैन् । त्यसैले आयात प्रतिस्थापन, उत्पादन लागत घटाउने र किसानले मेहनतको उचित मूल्य पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध छ ।”

कार्यक्रममा सहभागी स्थानीय अगुवा कृषकले भारतीय कृषि उत्पादनले नेपाली बजार ओगट्दा स्वदेशी किसान मारमा परेको गुनासो गरेका थिए । उनीहरूले नेपाली कृषिउपजको बजारीकरण, मूल्य सुनिश्चितता र किसानमैत्री नीति आवश्यक रहेको भन्दै मन्त्रीसमक्ष माग राखेका थिए । जेनजी युवाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

युक्रेनको लागि क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित शीर्ष युरोपेली अधिकारीहरू मङ्गलबार युक्रेनमा रूसी आक्रमणको असरको क्षतिपूर्तिका लागि दसौँ अर्ब युरोको अन्तिम निर्णय गर्न अन्तर्राष्ट्रिय निकाय गठन गर्न सहमत भएका छन्।

युक्रेनका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति दावी आयोग नाम दिइएको उक्त समितिमा रहन ३५ देशहरू हस्ताक्षर गरेका छन् । आयोगले क्षतिपूर्तिको लागि दाबीहरूको मूल्याङ्कन र भुक्तान गरिने कुनै पनि रकमसहितको निर्णय गर्नेछ ।

“मानिसहरूले युद्धबाट भएको कुनै पनि प्रकारको क्षतिको क्षतिपूर्ति गर्न सकिन्छ भन्ने महसुस गर्न सकून् भन्ने उद्देश्यसाथ नयाँ आयोगको गठनसँगै क्षतिपूर्तिको लागि हरेक संयन्त्र सुरु हुनेछ र यसबाट बलियो र पर्याप्त अन्तर्राष्ट्रिय समर्थन प्राप्त हुनेछ ।

“अरू मुलुकले आक्रामकता रोज्न नसिक्न यो युद्ध र यसका लागि रूसको जिम्मेवारी एक स्पष्ट उदाहरण बन्नुपर्छ,” राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो । आयोगको स्थापना तथाकथित ‘क्षतिको दावी’ पछि भएको छ र यसले पहिले नै व्यक्ति वा सङ्गठनहरूबाट क्षतिपूर्तिको लागि ८० हजारभन्दा बढी दावीहरू प्राप्त गरिसकेको छ।

यससँगै तेस्रो चरणको क्षतिपूर्ति कोष स्थापना हुनेछ तर प्रक्रियाको त्यो महत्वपूर्ण भागले व्यवहारमा कसरी काम गर्छ यो स्पष्ट हुनसकेको छैन ।

क्षतिपूर्ति संयन्त्र (आयोग) का लागि स्ट्रासबर्गमा रहेको युरोपेली महाद्वीपमा मानव अधिकारको रक्षा गर्ने ४६ राष्ट्रहरूको समूह युरोपेली परिषद् (काउन्सिल अफ युरोप) को माध्यमबाट समन्वय भइरहेको छ ।

यस परिषद्का महासचिव एलेन बर्सेटले पत्रकारहरूसँग भन्नुभयो, “क्षतिपूर्ति कोषको स्थापना लगभग १२ देखि १८ महिनाको समयसीमाभित्र हुने अपेक्षा गरिएको छ। त्यसपछि कोष स्पष्ट रूपमा सञ्चालन भएपछि र क्षतिपूर्ति दावी गरिसकेपछि पीडितहरूलाई भुक्तानी हुनेछ।”नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले नयाँ आयोग हेगमा रहने घोषणा गर्नुभएको छ।

इयूका विदेश नीति प्रमुख काजा कलासले क्षतिपूर्ति खोज्ने युक्रेनीहरूलाई सन्देश दिँदै भन्नुभयो, “हामीले तपाईहरूले दुःख भोगेका कुरा बिर्सेका छैनौँ । त्यसको सम्भावित सम्बोधनका लागि काम गरिरहेका छौँ र यो पछिल्लो प्रगति यसैको उदाहरण हो ।”

–जवाफदेहिता र परिपूरण–

मुख्य समस्या भनेको क्षतिपूर्तिको लागि नगद कसरी व्यवस्थापन गर्ने भन्ने हो ।युरोपेली सङ्घका नेताहरू बिहीबारदेखि सुरु हुने शिखर सम्मेलनमा अनुमानित २०० अर्ब युरो (२३२ अर्ब डलर) बराबरको रोक्का गरिएको रूसी सम्पत्तिलाई के गर्ने भन्ने विषयमा सहमतिमा पुग्न दबाबमा रहेका छन् ।

उनीहरू किएभलाई ऋण दिने तरिकाहरू खोजिरहेका छन् । यसका लागि रोक्का गरिएको रूसी सम्पत्तिको प्रयोगका लागि इयुका धेरै सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । योजनालाई इयूको शक्तिशाली अर्थतनत्र जर्मनीसहित धेरै सदस्य राष्ट्रहरूको बलियो समर्थन छ तर बेल्जियमले भने यसको कडा विरोध गरेको छ।

यो देश अन्तर्राष्ट्रिय निक्षेप सङ्गठन ‘यूरोक्लियर’को भण्डारण क्षेत्र हो । यसमा अधिकांश रूसी सम्पत्ति छ ।सम्भावित कानुनी परिणामहरूको कारण अहिलेसम्म प्रस्तावलाई अस्वीकार गरेको छ। रुसको केन्द्रीय बैङ्कले गत हप्ता युरोक्लियरविरुद्ध मस्कोमा मुद्दा दायर गर्ने घोषणा गरेको थियो ।

“रोक्का गरिएको सम्पत्तिमाथिको बहस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको साथ आएको हो र यो बिषयमा हामी पहिलेभन्दा अहिले नजिक छौँ,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भन्नुभएको छ।

बर्लिनमा वरिष्ठ अमेरिकी अधिकारीहरूसँग दुई दिनको वार्तापछि जेलेन्स्कीले वार्ता ‘सजिलो नभएको’ तर यसले सुरक्षा सुनिश्चितताको प्रश्नमा ‘वास्तविक प्रगति’ ल्याएको बताउनुभयो ।

युरोपेली नेताहरूले सोमबार सम्भावित शान्ति सम्झौता कार्यान्वयन गर्न अमेरिकी समर्थनमा युरोपेली नेतृत्वको ‘बहुराष्ट्रिय शक्ति’ को प्रस्ताव गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

काठमाडौँ – आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो ।

प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।

“प्रदेश र स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव पेस गनुपर्नेछ”, आयोगले प्रस्ताव माग गर्दै भनेको छ, “प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरणसहितको सिफारिस तथा प्रदेश सरकारको सिफारिस र स्थानीय तहको हकमा कार्यपालिकाबाट सिफारिस चाहिने छ”, आयोगले भनेको छ । समपूरक र विशेष अनुदानका लागि आयोगको विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत मात्रै प्रस्ताव पेस गर्न सकिने पनि आयोगले जनाएको छ ।

त्यस्तै, प्रस्ताव पेस गर्दा समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ को प्रावधानभित्र रही पेस गर्नसमेत आयोगले आग्रह गरेको छ । कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसनसहितको विस्तृत विवरणको लागत अनुमान पेस गर्नुपर्ने हुन्छ ।

त्यस्तै, वातावरणीय अध्ययन प्रतिवेदनलगायत कागजात चाहिन्छन् । अनुदान माग गर्न स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री सिन्हा

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै मिति आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा उहाँले भन्नुभयो, “यदी हामी लोकतन्त्रमाथि विश्वास राख्छौँ भने र यसलाई परिस्कृत गर्दै लिएर जान चाहान्छौँ भने निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, कसैले संविधान संशोधन गर्नुपर्ने, कसैले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने माग गर्दैआएका छन्, यो स्वभाविक हो, तर त्यसका लागि पनि वर्तमान सरकारले निर्वाचनमार्फत परिस्कृत र संविधान मान्ने वा बुझ्ने व्यक्तिलाई प्रतिनिधिसभामा पठाउन चाहेको छ ।”

मन्त्री सिन्हाले अब हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनमार्फत समक्ष तथा जनताको चाहनाअनुसारको नेतृत्व आउने विश्वास व्यक्त गर्नुभयो । जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व हुनुपर्ने सवालमा उहाँले त्यसका लागि कानुनमा आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री सिन्हाले निर्वाचनका लागि राजनीतिक दल तयार हुँदै गएका र समग्रमा निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गर्दै आयोगले अहिलेसम्म गरेको निर्वाचन तयारीका लागि धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले विषम परिस्थितिमा निर्वाचन केन्द्रित हुने वातावरण बनाउँदै गएको छ, यो सकारात्मक छ, यसलाई आफैँ सक्रिय बनाउनु होला, सँगसँगै राजनीतिक संवादलाई पनि निरन्तर अगाडि बढाउन मेरै संयोजकत्वमा समिति पनि गठन भएको छ, हामी त्यहाँ पनि छलफल गर्छौं र कसरी चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भनेर फेरि पनि कार्ययोजना बनाउँदैछौँ ।”

आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई सकेसम्म कम खर्चिलो बनाउँदै सक्षम जनप्रतिनिधि, संविधानको पालक जनप्रतिनिधिलाई सदनमा पठाउनुपर्ने उहाँको भनाइ छ । मन्त्री सिन्हाले भन्नुभयो, “हामीकहाँ केही सिमितता पनि छन्, निर्वाचन आयोग र अर्थ मन्त्रालयबीच आर्थिक व्यवस्थापनबारे संवाद भइरहेको छ, गत निर्वाचनमा आयोगले अर्थ बचाएर फिर्ता गरेको थियो, यो निर्वाचनमा पनि सकेसम्म कम खर्च हुने मलाई विश्वास छ, कम खर्चिलो तर प्रभावकारी बनाउन सरकारले पनि पहल गर्नेछ ।” उहाँले निर्वाचनसँग सम्बन्धित कानुनको अड्चन भए आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष दाहाल भन्छन् – सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदन बोलाउने कुरामा अहिलेसम्म विमति नभएको बताएका छन् । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो बताउका हुन् ।

उनले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको उनले बताउ ।

उनले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौ । अब १० गतेसम्म हल तयार हुन्छ होला । प्रधानमन्त्रीसँग सल्लाह गरेर सदन बोलाउने कुरा गर्नेछौ । सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन्, कार्यान्वयनमा जाँदा के हुन्छ थाहा छैन् ।’

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौँ – चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजना र रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विश्व सम्पदामा सूचीकृत निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकास महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सन् १९९७ देखि निरन्तर आयोजना गरिँदै आएको महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताइएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डले चितवनको पर्यटन प्रवर्द्धनका लागि महोत्सवमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन र वर्तमान सन्दर्भमा आन्तरिक पर्यटन प्रवर्द्धन र गन्तव्य ब्रान्डिङका लागि हात्ती महोत्वसव प्रभावकारी भइरहेको छ । यस महोत्सवले नेपालको पर्यटन उद्योगलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”

महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । हात्तीमाथि कुनै पनि किसिमको व्यवहार निषेध गरिएको छ भने पशु चिकित्सकको नियमित निगरानी, तालिमप्राप्त माहुतेको मात्र सहभागिता र स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । सबै गतिविधि प्रतिस्पर्धाभन्दा पनि मानव–हात्तीबीचको सौहार्दता, संस्कृति र परम्पराको प्रवर्द्धनमा केन्द्रित रहने बताइएको छ ।

महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीयस्तरका खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहनेछन् ।

यसका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ । महोत्सवको अवसरमा पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुराँहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवका कारण प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजकले जनाएको छ ।

इयूको विमान ३५ वर्षपछि पहिलो पटक बगदादमा अवतरण

युरोपेली सङ्घ (इयू) बाट ३५ वर्षपछि पहिलो पटक मङ्गलबार बगदादका लागि सिधा उडान गरिएको छ। सन् १९९० को दशकको सुरुवातमा सद्दाम हुसेनले छिमेकी कुवेतमा आक्रमण गरेपछि करिब ३५ बर्ष पहिले युरोपेली सङ्घ (इयू) बाट बगदादका लागि उडानमा प्रतिबन्ध लगाएपछि त्यहाँ कुनै पनि युरोपेली विमान कम्पनीले उडान भरेका थिएनन् ।

ग्रीसको एजियन एयरलाइन्सले सञ्चालन गरेको विमान मङ्गलबार बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो युरोपेली विमान भएको इराकको यातायात मन्त्रालयले बताएको छ ।

एक विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो आगमनले ‘इराकको युरोपेली उड्डयन नक्सामा फिर्ती’ को सङ्केत हो र ‘इराकको उड्डयन क्षेत्रको लागि सुधारको नयाँ चरण’ को सुरुवातको सङ्केत हो ।”सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि गृहयुद्ध, साम्प्रदायिक हिंसा र सशस्त्र जिहादी गुटको उदयपछि हुसेनलाई सत्ताच्युत गरिएको थियो ।

तर, दशकौँको उथलपुथलपछि इराकले हालसालै स्थिरताको भावना प्राप्त गर्न थालेको छ र सरकारले देशको अर्थतन्त्रलाई उकास्न विदेशी लगानी आकर्षित गर्न प्रयास गरिरहेको छ।

बगदाद–एथेन्स–बगदाद मार्गले हप्तामा दुई उडानहरू सञ्चालन गर्नेछ र मागको आधारमा उडान थप हुने मन्त्रालयले जनाएको छ।
यस वर्षको सुरुमा, ग्रीक क्यारियरले उत्तरी स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा उडान सुरु गरेको थियो । यसले लामो समयसम्मका अस्थिर इराकलाई स्थिरताको सापेक्ष सूचकका रूपमा प्रस्तुत गरेको छ।

काठमाडौँमा ट्याक्सी जाँच गर्ने क्रममा गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका ग्रेसेसको रानीवनस्थित होमस्टेमा भाडामा लिएको घरको कोठा खानतलासीका क्रममा थप ३२ किलो गाँजा बरामद गरिएको प्रवक्ता भट्टराईले राससलाई जानकारी दिनुभयो । पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीले विश्व कीर्तिमान कायम गर्ने हिम्मत र साहस विश्वकै अनुपम रहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद’ (नन–स्टप म्याराथन टिभी टक शो) को उद्घाटन गर्दै उहाँले नेपालीले विभिन्न क्षेत्रमा कायम गरेको विश्व कीर्तिमानले नेपालको पहिचान र स्वाभिमान विश्वभर छाएको बताउनुभयो ।

युवा पत्रकार गौरव पौडेलले गिनिज बुकमा नाम दर्ज गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा लामो संवाद सञ्चालन गर्नुभएको हो । प्राइम टेलिभिजनमार्फत प्रसारण हुने संवाद कार्यक्रमको उद्घाटनसँगै सञ्चारमन्त्री खरेलले पहिलो वक्ताको रूपमा अन्तर्वार्ता दिनुभएको छ । त्यस क्रममा उहाँले पौडेललाई सफलताका लागि शुभकामना दिनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “नेपालीसँग जन्मजातै क्षमता छ, हामी असाध्यै सहनशील छौँ, सहनसक्ने क्षमता पनि छ । नेपालीले कतिपय विश्वविख्यात काम गर्ने हिम्मत र साहस गर्न सक्छन्, त्यसैले त तेञ्जिङ नोर्गे शेर्पा र पासाङल्हामु शेर्पाले सगरमाथा चढेको रेकर्ड छ ।”

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सञ्चारकर्ममा रहँदा ६२ घण्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिजबुक अफ वल्र्ड रेकर्ड बनाउनुभएको थियो ।

पत्रकार ऋषि धमला र अभियान्ता दुर्गा प्रसाईँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । निरन्तर टेलिभिजन संवाद कार्यक्रमका सञ्चालक गौरव पौडेलले युवाहरूको सोच, क्षमता र सिर्जनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्दै नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो यसै सातादेखि

काठमाडौँ – आइओएफटिसी नेपालको आयोजनामा यही पुस ३ देखि ५ गतेसम्म १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ ।

आइओएफटिसी नेपालका संस्थापक तथा निर्देशक दिवाकार महर्जनका अनुसार प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । निर्देशक महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा तय गरेको बताउनुभयो । ‘सन् २००० मा पहिलोपटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो आयोजना गरिएको हो ।

आइओएफटिसी नेपालका अध्यक्ष मीनप्रसाद खनालले १५औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकामा आइओएफटिसीलाई धन्यवाद दिनुभयो । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।

आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिकाबाहिर आयोजना गर्दै आएको छ । हालसम्म आइओएफटिसीको मुख्य कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण तथा भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण आयोजना भइसकेको छ ।

प्रतियोगिताका अन्तरराष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियनसिपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स, बङ्गलादेशलगायत राष्ट्रको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ ।

वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने आइओएफटिसीको १५औँ संस्करणमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन् । सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी १०–१० तौल समूह र क्याडेट वर्गमा १०–१० तौल समूहमा खेल खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टोलीतर्फ प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कूल २२२ स्वर्ण पदक, २२२ रजत र ४४४ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्री नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कूल पुरस्कार राशि रु सात लाख २५ हजार रहेको छ ।

अस्ट्रेलियामा १६औँ संस्करण

नेपाली खेलाडीका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको छनोट पनि हो । यसै प्रतियोगिताबाट अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि खेलाडी चयन गरिनेछ । आइओएफटिसीले १६औँ संस्करण गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकेको छ । सो च्याम्पियनसिपको मिति भने पछि तय गरिनेछ ।

सो प्रतियोगितामा उपस्थिति जनाउन कुकिवनका प्रशिक्षक मिन हाक सिओले नेपाल भ्रमण गर्नुहुनेछ । प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको आयोजना गरिनेछ । प्रशिक्षक सिओले सो सेमिनार सञ्चालन गर्नुहुनेछ ।

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

भजनी (कैलाली), १ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ ।

कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो । “हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा भेटाएका छैनौँ”, उहाँले भन्नुभयो, “जनताको अपेक्षा चुस्तदुरुस्त सेवा प्रवाह, आर्थिक पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार मुक्त समाज छ ।”

मन्त्री घिसिङले जनताका मूलभूत विषयमा वर्तमान सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै विकास निर्माणका काममा पनि योजनाबद्ध रुपमा काम भइरहेको बताउनुभयो । हरेक क्षेत्रका योजना कार्यान्वयनमा जटिलता रहेकाले त्यसलाई सहज बनाउँदै जनताले अनुभूति हुने गरी काम हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“अहिले जनताको अपेक्षा द्रुत विकास होस् भन्ने हो । त्यो अपेक्षाअनुसार छोटो समयमा काम गर्न चुनौती छ”, मन्त्री घिसिङ भन्नुहुन्छ, “बत्तीको उज्यालोले मात्रै देश समृद्ध बन्न सक्दैन । देश समृद्ध बन्न सबै क्षेत्र उज्यालो हुन आवश्यक छ ।”

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन हुने मन्त्री घिसिङले बताउनुभयो । “निर्वाचन हुँदैन कि भन्ने शङ्का कसैले नगरे हुन्छ । निर्वाचन निर्धारित समयमा नै हुन्छ”, उहाँले भन्नुभयो, “बरु निर्वाचन पछिको सरकार कस्तो बनाउने भन्ने जिम्मेवारी जनताको हातमा छ ।”

हिजोको जस्तो परिस्थिति अबका दिनमा जनताले नचाहेको बताउँदै मन्त्री घिसिङले निर्वाचनमा सक्षम उम्मेदवारलाई चुन्न आग्रह गर्नुभयो । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादन भएको विद्युत्को स्वामित्व स्थानीय किसान पाउने उहाँले बताउनुभयो । “जसरी ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइको सुविधा पाउँदै हुनुहुन्छ, त्यसैगरी विद्युत्को केही प्रतिशत स्वामित्व पनि यस क्षेत्रका किसानको हुने छ । त्यसैअनुसार ऐन निर्माणको अन्तिम तयारीमा छ ।”

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, १९ जना घाइते

बागमती, १ पुसः मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोगटीले बताउनुभयो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

काठमाडौँ, १ पुसः वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ ।

मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्र्दभमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उक्त सेल यही पुस ८ गतेदेखि सञ्चालनमा आउने उहाँले प्रष्ट पार्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जाल, फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममा राखिएका भ्रामक सूचनाबाट प्रभावित भई वैदेशिक रोजगारमा ठगिने खतरा बढ्दै गएको उल्लेख गर्दै सचिव डा पुस्करले श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित वातावरण निर्माण गर्न यो प्रणाली सुरु गर्न लागिएको बताउनुभयो ।

सचिव डा पुस्करका अनुसार ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानालगायतका वैदेशीक रोजगारसँग सम्बन्धीत आवश्यक जानकारी समेटिएको हुनेछ ।

सचिव पुस्करका अनुसार सातै प्रदेशका श्रम कार्यालय, ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो ।

“वैदेशिक रोजगारमा जान चाहने जुनसुकै श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार माने धेरै ठगी हुनबाट बच्न सकिन्छ”, उहाँले भन्नुभयो, “डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगाउनु हाम्रो प्रयास हो ।” सामाजिक सञ्जालमार्फत पैसाको लोभ देखाएर विदेश पठाइदिने भ्रामक आधारविहीन प्रचार गर्नेका पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते

फिक्कल (इलाम) – पयटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ निर्मला राईले जितेका छन् ।

इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको निर्धारित ४४.२ किलोमिटर दूरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । महिलातर्फकी निर्मला राईले पाँच घण्टा २० मिनेट ३६ सेकेण्डमा दौड पूरा गरिन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरिन् ।

चार घण्टा १३ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पुरुषतर्फ करण रावल दोस्रो भए । उनले नगद रु एक लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थान प्राप्त कर्णबहादुर रोक्काले चार घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नगद रु ५० हजार प्राप्त गरे भने चौथो स्थान प्राप्त गरी श्रीकास राईले नगद रु ३० हजार पुरस्कार प्राप्त गरे ।

विजेता सबै विभागीय टिम त्रिभुवन आर्मी क्लबको भएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । सुनसरी रोकायले पाँच घण्टा ४० मिनेट ३९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ दोस्रो भइन् । उनले पनि नगद रु १ लाख पुरस्कार प्राप्त गरिन् ।

तेस्रो स्थान प्राप्त गर्दै कल्पना बुढाले नगद रु ५० हजार र चौथो स्थान प्राप्त गरी राज्यलक्ष्मी शाक्यले नगद रु ३० पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी स्थानीय विधातर्फको उपाधि राजेन्द्र म्याङ्बो जितेका छन् । उनले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । विशाल राई दोस्रो भए । उनले नगद रु २० हजार, तेस्रो स्थान प्राप्त रमेश लिम्बूले नगद रु १० हजार र चौथो स्थान प्राप्त टङ्क आले मगरले नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतकासमेत गरी पुरुषतर्फ ६२ जना र महिलातर्फ ११ जना धावकहरु सहभागी थिए । धावकहरुले इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुरडाँडा (३६१० मिटर उचाइ) सम्म दौडेका थिए ।

रेडपाण्डा नेटवर्क, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको सहयोगमा दीपज्योति युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको म्याराथनले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

किमाथाङ्का (सङ्खुवासभा), १ पुस : यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ।

भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताउनुभयो ।

माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलको रुख कटान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राईले जानकारी दिनुभयो । उक्त आयोजनाले २५ बर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ । यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रूत गतमिा अघि बढेको छ । प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रुख काटिसकिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रूख काटिएका छन् ।

एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम

काठमाडौँ, १ पुसः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

एनआरएनएका अध्यक्षद्वय महेश श्रेष्ठ र डा बद्री केसीसहितको टोलीले हाल देखिएका समस्या समाधानका सम्बन्धमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयनको विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।

मन्त्री इङ्नामले एनआरएनएका अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको बताउनुभयो । “एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार गम्भीर छ, यस विषयमा कानुन बनिरहेको छ । कानुन बनेमा अधिकार कार्यान्वयन हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

भेटमा एनआरएनएका प्रतिनिधिले नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक अधिकार अन्तर्गतको सम्पत्ति तथा भूमिसम्बन्धी अधिकारलगायत संवैधानिक र कानुनी अधिकारको तत्काल कार्यान्वयन गर्न माग गरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई कानुनप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारबाट आवश्यक निर्णय तथा परिपत्र जारी गर्न पहल गरिदिनसमेत आग्रह गरिएको जनाइएको छ ।

भेटमा एनआरएनएका उपमहासचिव सोम सापकोटा, राष्ट्रिय समन्वय परिषद् साउथ सुडानका अध्यक्ष रामप्रसाद उपाध्यायलगायतको सहभागीता रहेको थियो ।

बागमती प्रदेशसभा बैठक अनिश्चित

बागमती – बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।

जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो ।

रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताउनुभयो ।

“हामीले बैठकको सबै तयारी गरिसकेका छौँ, तर अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन”, सचिव पौडेलले भन्नुभयो, “बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।” गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको मुख्यमन्त्री सभाहललाई मर्मतसम्भार र रङरोगन गरी तयार पार्यौँ, तर बैठक नै आह्वान हुन सकेन भन्नुभयो ।

अहिलेसम्म प्रदेशसभा बैठकका लागि सरकारबाट कुनै जानकारी नआएकाले बैठक निश्चित नभएको सचिव पौडेलको भनाइ छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिबाट प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको थियो । तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहँुदा सरकारले बैठक नबोलाएको हुनसक्ने सचिव पौडेलको अनुमान छ ।

प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार रहेको सचिव पौडेलले बताउनुभयो ।

सभामुखमा कांग्रेस र एमाले दुवै दलले दाबी गर्दै आएका छन् । कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले बताउनुभयो । “दुई पार्टीबीचमा सरकार बनेको छ, कांग्रेसले मुख्यमन्त्री पाएपछि सभामुख एमालेलाई दिनुपर्छ भन्ने हाम्रो धारणा हो”, श्रेष्ठले भन्नुभयो, “त्यसमा कुनै विवाद नरहेकाले यसलाई अगाडि बढाउनुपर्छ, यस विषयमा कांग्रेस र एमालेबीच कुनै विवाद छैन, केबल अड्कलबाजीमात्र हो”, उहाँले भन्नुभयो ।

यता कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले सत्तारुढ दलहरूबीच सभामुख पदमा आआफ्नै दाबी रहेकाले सहमति हुन नसकेको बताउनुभयो । “एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले अबको केही महिनापछि मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएकाले सभामुख कांग्रेसलाई दिनुपर्ने भनिरहेका छौँ ।” यस विषयमा सत्तारुढ दलबीच छलफल भइरहेकाले अब छिट्टै सहमति भएर प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको उहाँको कथन छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औँ बैठक आज बस्ने भएको छ ।

बैठक मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितीमा दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।

आजको बैठकमा सुदूरपश्चिम प्रदेशको अवलोकन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा तय गरिएको छ ।

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन – नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेका खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो ।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नुहुने छ । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ ।

रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उहाँले बताउनुभयो । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो १२० रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ११० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २५० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

युरोभिजनमा ३५ देश प्रतिस्पर्धामा

युरोभिजन सङ्ग प्रतियोगिताका आयोजकहरूले सोमबार अर्को वर्ष आयोजना हुने प्रतियोगितामा ३५ वटा देश सहभागी हुने अन्तिम सूची सार्वजनिक गरेका छन् । इजरायलको सहभागितालाई लिएर उत्पन्न विवादका कारण पाँच देशले बहिष्कार गर्ने घोषणा गरेपछि सहभागी राष्ट्रहरूको सङ्ख्या घटेको हो ।

यस महिनाको सुरुमा पाँच मुलुक आइसल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्लोभेनिया र स्पेनले प्रतियोगिताबाट बाहिर बस्ने योजना सार्वजनिक गरेपछि आयोजकहरूले मे महिनामा भियनामा आयोजना हुने सन् २०२६ को फाइनलका लागि सहभागी देशहरूको सूची घोषणा गरेका हुन् । ती देशले इजरायलको सहभागितासँग जोडिएको राजनीतिक र नैतिक विवादका कारण आफूहरू प्रतिस्पर्धामा नआउने निर्णय गरेको बताएका छन् ।

यस वर्ष भने कुल ३७ वटा देशले युरोभिजन सङ्ग प्रतियोगितामा भाग लिएका थिए, जसमा अस्ट्रियाका कलाकार जेजे विजयी हुनुभएको थियो । पछिल्ला वर्षहरूमा कलात्मक वा आर्थिक कारण देखाउँदै प्रतियोगिताबाट अलग भएका तीन देश—बुल्गेरिया, मोल्दोभा र रोमानिया—आगामी संस्करणमा पुनः फर्कने भएका छन् । यसले सहभागीहरूको विविधतालाई केही हदसम्म सन्तुलनमा ल्याएको छ ।

प्रतियोगिताका केही सबैभन्दा स्थापित र उच्च–प्रोफाइल सहभागीहरू मध्ये एक मानिने आयरल्यान्डले स्विडेनसँग जितको साझा कीर्तिमान कायम राख्दै आएको छ । तर आयरल्यान्डसहित अन्य देशहरूको बहिष्कारले युरोभिजनलाई घेरेको राजनीतिक विवादलाई केन्द्र मञ्चमा ल्याएको छ, जसका कारण कार्यक्रमको परम्परागत रूपमा उत्सवमय र सकारात्मक अनुभूति दिने चरित्र ओझेलमा परेको टिप्पणी हुन थालेको छ ।

गत हप्ता सन् २०२४ का विजेता स्विट्जरल्यान्डका गैर–बाइनरी गायक नेमोले पनि इजरायललाई प्रतिस्पर्धा गर्न अनुमति दिइएकोमा असन्तुष्टि जनाउँदै आफ्नो विजेता ट्रफी फिर्ता गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । उहाँले पप–अपरेटिक शैलीको गीत ‘द कोड’ मार्फत उपाधि जित्नु भएको थियो र उहाँको यस कदमले विवादलाई अझ चर्काएको छ ।

गाजामा जारी इजरायल–हमास युद्धको सञ्चालनलाई लिएर व्यापक विरोध भइरहेको छ । साथै, इजरायलले आफ्ना प्रतिस्पर्धीहरूको पक्षमा मत परिणाम प्रभावित गरेको आरोप पनि उठेका छन् । यस्ता आरोप र विरोधका बाबजुद आयोजकहरूले यस महिनाको सुरुमा इजरायललाई प्रतियोगितामा भाग लिन दिने निर्णय कायम राखेका थिए ।

छपन्न देशका सार्वजनिक प्रसारण संस्थाहरूको साझा सङ्गठन युरोपियन ब्रोडकास्टिङ युनियन (इबियु) ले मत धाँधलीसम्बन्धी चिन्ता सम्बोधन गर्न विभिन्न सुधारका उपायहरू घोषणा गरेको थियो । तर ती सुधारहरू बहिष्कार गर्ने देशहरूलाई सन्तुष्ट पार्न पर्याप्त नभएको देखिएको छ, जसका कारण उनीहरूको निर्णय यथावत् रहेको छ ।

हरेक वर्ष १० करोडभन्दा बढी दर्शकलाई आकर्षित गर्ने युरोभिजन सङ्ग प्रतियोगिता विश्वकै सबैभन्दा धेरै हेरिने टेलिभिजन कार्यक्रमहरूमध्ये एक मानिन्छ । तर पछिल्ला दुई वर्षदेखि गाजामा भएको युद्धका कारण प्रतियोगिता स्थल वरिपरि विरोध प्रदर्शनहरू भइरहेका छन् र आयोजकहरूले राजनीतिक झण्डा तथा सन्देशहरू नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

विश्लेषकहरूका अनुसार कार्यक्रमको ७०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा देखिएको यो बहिष्कार युरोभिजनले भोग्नुपरेको सबैभन्दा गम्भीर सङ्कटहरूमध्ये एक हो । यस्तो समयमै धेरै सार्वजनिक प्रसारण संस्थाहरू आर्थिक दबाबमा परिरहेका छन् र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूले दर्शकको ध्यान अन्यत्र तानिरहेका छन् ।

यसैबीच, इजरायली अधिकारीहरूले इजरायललाई प्रतिस्पर्धामा सहभागी हुन दिने निर्णयलाई समर्थन गर्ने अधिकांश इबियु सदस्य प्रसारणकर्ताहरूको कदमको स्वागत गरेका छन् । उनीहरूले राजनीतिक विवादमा सङ्गीतकारहरूलाई तानिँदा अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा पर्न सक्ने चेतावनी समेत दिएका छन् ।

जर्मनीको अनलाइन बैङ्क एन–२६ माथि थप प्रतिबन्ध

जर्मनीका वित्तीय नियामकहरूले सोमबार अनलाइन बैङ्क एन–२६ माथि नयाँ प्रतिबन्धहरू लगाएका छन् । यो ऋणदातालाई प्रभावित गर्नसक्ने पछिल्लो हलचल हो ।

“विशेष गरी जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी उक्त संस्थामा गम्भीर कमजोरीहरू थिए,” बित्तिय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले भनेको छ। बाफिनले गत वर्ष एन–२६ विशेष लेखापरीक्षण गरेको थियो।

बाफिनले एन–२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिएको र बैङ्कको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ।“बैङ्कलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट पनि रोकिएको थियो र थप पुँजी राख्न आदेश दिइएको थियो,” नियामक संस्था बाफिनले भनेको छ।

एन–२६ ले एएफपीलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यो ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’सँग निकट र रचनात्मक छलफलमा छ।”

सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको बैङ्कले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ।

यो अनलाइन बैङ्कको लागि पछिल्लोे समस्या हो । बैङ्क सन् २०१८ देखि नियामकको मार्गनिर्देशमा रहेको छ । मिडिया अनुसन्धानले यसमा नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो ।

त्यसपछि बैङ्कलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठूलो जरिवाना लगाइएको थियो।यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि, यो गत वर्ष हटाइएको थियो।

यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन–२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो ।

मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा

मुस्ताङ, १ पुसः यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो ।

वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन् । यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको छ ।

तत्कालीन समयमा यहाँको कागबेनी–मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावात गर्थे । मुक्तिनाथ दर्शन गर्न आएका तीर्थायात्री र विदेशी पर्यटक झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल आएका तीर्थायात्री यहाँको गाउँमा खाजा खाना र बाँस बस्थे । त्यतिबेलाको अवस्थामा झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले झारकोटा गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ ।

कागबेनी–मुक्तिनाथ सडक र यस गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो । कागबेनी–मुक्तिनाथ सडकमार्गमै पर्ने झारकोट मुक्तिनाथ मन्दिरको काखैमा भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको गुरुङको भनाइ छ ।

झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनामजस्तै छ । बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आवतजावत गर्ने भएता पनि झारकोट गाउँमा पर्यटकको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुखेसो छ । “दिनहँु सयौँ तीर्थयात्री हाम्रै गाउँको बाटो ओहोरदोहोर गर्छन्, कति आए कति गए पत्तै हुन्न”, स्थानीय गुरुङले भन्नुभयो, “तीर्थयात्री र पर्यटक सिधै आउँछन् जान्छन्, हामी त हेरेको हेर्यैमात्र ।”

प्राचीन वस्ती झारकोटमा ६० घरपरिवार छन् । पहिला सडक नहुँदा गाउँका अधिकांश युवा गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवती एकपछि अर्को गर्दै गाउँ छाडेर विदेश पलायन हुन थालेको उहाँको भनाइ छ ।

यतिबेला झारकोट गाउँमा युवायुवतीको सङ्ख्या एकदमै कम छ । अधिकांश युवायुवती वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भासिँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको स्थानीयवासी गुरुङले उल्लेख गर्नुभयो । हाम्रो गाउँतिर सडक विकास भयो, केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुला छ, तर विकासलाई समृद्धिमा बदल्ने युवायुवती नै बाहिर पुगिसके, अब गाउँको आर्थिक विकास कसले गरिदेला र ?”, उहाँले भन्नुभयो ।

यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिनुभयो । यहाँ केहीले याक र घोडाको व्यापार गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ । पछिल्लो समय मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाले मुक्तिनाथमा घोडालाई यात्री ओसारपसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङको भनाइ छ । वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको स्थानीय गुरुङले जानकारी दिनुभयो ।

वारागुङ मुक्तिक्षेत्र–१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ । प्राचीनकालमा निर्माण भएको यहाँ अवस्थित साढे तीनतले झारकोट राजाको दरबार यहाँको पुरातात्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । त्यसैगरी झारकोट गाउँमा कुनै व्यक्तिको मृत्यु भएमा उसको शवलाई गाउँभित्र रहेको (केनिल) मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ ।

यहाँ प्राचीनकालमा निर्माण भएका ढुङ्गा र माटोले निर्मित पुराना घर अझै जीवन्त रहेका छन् । गाउँमाथि केहीपर तोराताल अवस्थित छ ।े ताल वरपर प्राकृतिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोराताल भनिएको हो । पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झण्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटक तोराताल अवलोकन गर्न जाने गरेका वडाध्यक्ष गुरुङले बताउनुभयो । पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा संवर्द्धन गर्दै आइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा (बाँके) – भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचविबखनको जोखिममा पर्ने सम्भावना बढेको हो ।

भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो ।

शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उहाँले जानकारी दिनुभयो ।

संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन बढाएको बताउनुभयो । “सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो”, उहाँले भन्नुभयो ।

केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताउनुभयो ।

“भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ”, पुरीले भन्नुभयो, “नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो ।” आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गर्नुभयो । प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन् ।

शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उहाँले बताउनुभयो ।

नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन् । शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो ।

केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको बताउनुभयो । शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला

सिराहा, १ पुस : लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।

झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो । सरकारको निर्णयपछि सिराहा, सप्तरी र उदयपुरका बिरामीले सेवा लिने यस अस्पतालको स्तरोन्नति र सेवा विस्तार सहज हुने भएको छ ।

सरकारले गरिब तथा विपन्न समुदायको उपचार आवश्यकतालाई ध्यानमा राखेर सकारात्मक निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत लामो समयदेखि विभिन्न कारणले रोकिएको प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनको समस्या अन्ततः समाधान भएको छ । स्थानीय जनताको मागबमोजिम सङ्घीय सरकारले लाभकर छुट दिने ऐतिहासिक निर्णय गरेको छ । यस निर्णयले सिङ्गो सिराहासहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आशा र भरोसा दिएको छ । अब अस्पतालको स्वामित्वमा जग्गा आएपछि भौतिक संरचना विस्तार, नयाँ भवन निर्माण र सेवा सुधारका काम तीव्र रूपमा अघि बढ्नेछन् । यस महत्त्वपूर्ण निर्णयका लागि पहल गर्ने सबै पक्षप्रति अस्पताल परिवारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

मन्त्रिपरिषद् निर्णयअनुसार लहान नगरपालिका–७ स्थित कित्ता नं २४८, २४९, ३२७ र ३३० मा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा तथा भवन मधेस प्रदेश सरकारका नाममा हस्तान्तरण गर्दा आयकर ऐन र आर्थिक ऐनबमोजिम लाग्ने लाभकर छुट दिइनेछ । अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा बृजेन्द्र साहका अनुसार जग्गा अस्पतालको स्वामित्वमा आएपछि अब एक सय शय्याको भवन निर्माण, सिटीस्क्यान, एमआरआई तथा विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुलेको छ ।

विसं २०३७ मा लहानका दाता परिवार रामकुमार शारदा र उमाप्रसाद मुरारकाले अस्पतालका लागि उक्त जग्गा उपलब्ध गराउनुभएको थियो । लाभकर कसले तिर्ने भन्ने विषयमा अन्योल हुँदा रजिस्ट्रेसन रोकिएको थियो । पछिल्लो समय युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सक्रियतामा स्थानीय अगुवा, अस्पताल परिवार र युवाहरूको पहलपछि सरकारले लाभकर छुट दिने निर्णय गरेको हो ।
–––

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

उहाँका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ”, उहाँले भन्नुभयो, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।