`

कर्णाली नदीले बनघुस्रामा तटबन्ध बगाएपछि आधादर्जन गाउँ जोखिममा

बर्दिया । बर्दिया र कैलालीको विचबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका वडा नं २ बनघुस्रामा तटबन्ध बगाएपछि सो स्थानका गाउँहरू जोखिममा परेका छन् ।कर्णाली नदीको कटानले करिब तीन सय मिटर तटबन्ध बगाएपछि आधादर्जन गाउँहरू जोखिममा परेका हुन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका अनुसार कर्णाली नदीले सो स्थानमा करिब तीन सय मिटर तटबन्ध बगाएको छ । पाँच बर्ष अघि करिब तीन करोडको लागतमा निर्माण भएको छटबन्ध र स्पर नदी बगाएको आयोजनाले जनाएको छ ।

करिब ५ वर्षअघि झण्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो । नदी कटानले लम्बाई करिब तीन सय मिटर र चौडाई ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए । कटानको रोक्नका लागि स्थानीयले रोकथामका उपाय गरिरहेका छन्
नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ ।

अस्थायी रुपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिसहित स्थानीयले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, १६ भदौ: नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । आज यहाँ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्नुभभएको हो ।

बैठकले आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा रामपदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने ‘द फोर्टिन हाइ–लेवल टाक्स कन्फ्रेन्स फर एसियन एन्ड स्पेसिफिक कन्ट्रिज्’ विषयक सम्मेलनमा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेश घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै, यही भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने ‘आइसिआइडीयुएस मेगा इभेन्ट’, चौथो ‘वर्ल्ड इरिगेसन फोम तथा ७६ औँ इनटरनेसनल एक्जुकेटिभ काउन्सिल’ आइसी’ को बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिँचाइ) सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय रहेको छ ।

यसैगरी भदौ २३ देखि २५ गतेसम्म भारतमा आयोजना हुने ‘डाइलग नेक्स्ट’ कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै, नेपालमा सञ्चालन हुने गैर नाफामूलक सङ्घ संस्था (एनपिओ) हरूको एकीकृत विवरण राख्ने प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने ‘एनपिओ पब्लिक पोर्टल सफ्टवेयर’ सञ्चालनका लागि आवश्यक विवरण प्राप्त गर्न उक्त पोर्टललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग ‘एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपिआइ)’ मार्फत आबद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बुमन पोलिटिकल लिडर्स (डब्लुपिओ) ले नेपाललाई प्रदान गर्ने ‘डब्लुपिएल कन्ट्री अवार्ड २०२५’ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त अवार्ड वितरण कार्यक्रममा सहभागी हुन (असोज १२ देखि १४ गते) परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बैठकले राजस्व न्यायाधीकरण नेपालगञ्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेल, झापालाई नियुक्त गर्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि आर्थिक वर्ष २०८२/८३ का लागि अधिकृतस्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णग गरेको छ ।

बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ८७ अधिकृतस्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, विर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, आव २०८२/८३ मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय ‘एन्टिडोपिङ ऐजेन्सी’मा २१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम आव २०८२/८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको गोन्जाउ र साङ्घाईमा भदौ २७ देखि असोज ४ गतेसम्म हुने १२ औँ बेजिङ साङ्घाई फोरममा सहभागी हुन प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई स्वीकृति प्रदान गर्ने, कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ‘ग्लोबल हायर एजुकेसन’ सम्बन्धी ‘रिलाइन्स, भ्यालुस्, इनोभेसन सर्भाविङ एन्ड थ्रिभिङ इन अ भोलाटाइल वर्ल्ड’ विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको छ ।

यसैगरी ललितपुरमा रहेको नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा र छाप्रो निर्माणका लागि १२३५ दशमलव ७४ क्युफिट काठ उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजस्व रोयल्टी रकम रु १० लाख १९ हजार ४६९ मिनाहा गर्ने, ‘कोस्क्याप साउथ एसिया प्रोजेक्ट’ छैटौँ चरणको कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया सरकारबीच ‘एग्रिमेन्ट अन जेनरल वर्कस् रिक्रुट्मेन्ट बिटविन द गर्भमेन्ट अफ नेपाल एन्ड द गर्भमेन्ट अफ द किङडम अफ साउदी अरेविया’ विषयक श्रम सम्झौता गर्ने सरकारले निर्णय गरेको छ ।

यसका साथै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छायाँनाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने, तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२ २०८७) स्वीकृत गर्ने र राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र पहलकदमी आवश्यक रहेको बताएका छन् ।सेन्टर फर पब्लिक पोलिसी रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले पार्टीको मजबुतीका लागि लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको बाटोबाटै जानुपर्छ । यसले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ ।’
पाण्डेले एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने धारणा भ्रमपूर्ण रहेको दाबी गरे । ‘केही साथीहरूलाई अहिलेपनि एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने भ्रम छ । तर, वास्तवमा प्रक्रियाबाट हाम्रो एकता भएको हो । अनौपचारिक लेनदेन र सेटिङजस्ता प्रवृत्तिबाट एकता भएको देखिँदा लोकतान्त्रिक अभ्यास कमजोर बन्यो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’उनले भने ।

कार्यक्रममा उनले अन्य पार्टीबाट आएका व्यक्तिहरूका लागि उमेर हद हटाउने निर्णयबारे पनि चर्चा गरे । ‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौँ। कार्यकालको कुरा पनि उठेको छ । कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’ पाण्डेले भने ।पाण्डेले पार्टीलाई मजबुत बनाउन आन्तरिक लोकतन्त्रको अभ्यास र संस्थागत प्रक्रियामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

पहिराबाट होक्मा गाउँका छ घर उच्च जोखिममा

ताप्लेजुङ, १६ भदौ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिराका कारण विस्थापित भएका छन् ।

गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् । स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घरसमेत जोखिममा रहेका छ ।

चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएको छ ।

प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपतिसुसौलिथ बीच भेटवार्ता

थियानजिन (चीन), १६ भदौ : शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियोे । भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

कृत्रिम गर्भाधानले दूध तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ

गलकोट (बागलुङ), १६ भदौ : पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार चार सय ५२ गाई र एक हजार ९१ भैँसी गरी दुई हजार पाँच सय ४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

खासगरी व्यावसायिक पशुपालन फर्मका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न थालिएको हो । विसं २०७६/७७ मा एक हजार छ सय गाईभैँसीको कृत्रिम गर्भाधान गरेकोमा त्यसको सङ्ख्या क्रमश बढेर अहिले दुई हजार पाँच सय ४३ पुगेको हो ।

आर्थिक वर्ष २०७७÷७८ एक हजार आठ सय, आर्थिक वर्ष २०७८/७९, एक हजार आठ सय, आर्थिक वर्ष २०७९/८० एक हजार सात सय, आर्थिक वर्ष २०८०/ ८१ दुई हजार दुई सय गाईभँैसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।
बागलुङ जिल्लामा हाल आठ वटा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् भने १२ जना कृत्रिम गर्भाधानकर्ता सक्रिय रहेर सेवा दिइरहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अस्पतालमार्फत छ सय ४१ पटक र अन्य स्थानमार्फत एक हजार नौ सय दुई पटक सेवा दिइएको छ ।

पछिल्ला वर्षहरूमा कृत्रिक गर्भाधान सेवाको माग र प्रभावकारिता दुवै बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो । किसानको दूधको उत्पादन वृद्धिसँगै उन्नत जातको गाईभैँसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पु¥याएको सापकोटाको भनाई छ । विर्य खरिद स्वयं किसानको हुन्छ भने ढुवानी र सेवा पशु विज्ञ केन्द्रको हुनेछ ।

कृतिम गर्भाधानले उत्पादन वृद्धि, जात सुधार, रोग नियन्त्रण, खर्च र समयको बचत लगायतको फाइदा पुग्ने पशुपालक किसान नन्दलाल सापकोटाले जानकारी दिनुभयो । गुणस्तरीय जातका गाईभैँसीबाट प्राप्त विर्य प्रयोग गर्ने भएकाले दूध उत्पादन गर्ने क्षमता बढी भएको सन्तान प्राप्त गर्ने गरेको पाइन्छ ।
यस्तै विदेशी वा उच्च उत्पादन दिने जातका पशुको विर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्न गर्दा दूधको उत्पादनमा तीन गुणासम्म वृद्धि भएको पशु प्राविधिकहरु बताउँछन् ।

पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

भद्रपुर (झापा), १६ भदौ-प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु ३७ करोड ९८ लाख ६८ हजार, अलैँची रु ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर रु २६ करोड ८७ लाख, अम्लिसो रु आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु छ करोड १० लाख, बन्दा रु चार करोड सात लाख, मसुरो दाल रु दुई करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी थापाका अनुसार सोही अवधीमा पूर्वी नाकाबाट रु एक अर्व ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ । आयत हुने मुख्य कृषिजन्य बस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषय सम्झौतामा समावेश गरिएको

डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रमुखहरूले समेत सम्झौतामा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सहभागी प्रहरी प्रमुखहरूले प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता जनाउँदै आफ्ना क्षेत्रमा वार्षिक लक्ष्य तय गरी समयमै कार्यान्वयन गर्ने अठोट व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकता नभई प्रहरी सेवामा चुस्तदुरुस्त र आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार ल्याउने महत्वपूर्ण माध्यम भएको बताए। उनले योजनाबद्ध ढंगले कार्यान्वयन गर्न निर्देशन दिँदै सम्झौता सफल हुने विश्वास व्यक्त गरे।

सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायहरूले आफ्नो कामको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा प्रदेश प्रहरी कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ।

हस्ताक्षर कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलसहित कोशी प्रदेश प्रहरी कार्यालयका अन्य अधिकारीहरूको पनि उपस्थिति थियो।

हैजा राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने : गृहमन्त्री लेखक

वीरगन्जं । गृहमन्त्री रमेश लेखकले बारा पर्सामा देखा परेको हैजालाई राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने बताएका छन् । उनले सुरक्षाका तीन वटै अंगमा रहेका चिकित्सक तथा विज्ञहरुलाई परिचालन गर्नु परेर भएपनि हैजाको महामारीलाई यथासिर्घ नियन्त्रणमा ल्याइउने बताए ।

नेपाली काँग्रेस आपूर्ती तथा उपभोग्ता विभागले आइतबार वीरगन्जमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिस्चिता उपभोक्तको अधिकारी हाम्रा चासो विषयक अन्तरकृया कार्यक्रालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वीरगन्ज र यसआसपासका क्षेत्रमा देखा परेको हैजाको संक्रमण केबाट फैलिएको हो त्यसको स्रोत सरकारले पत्ता लगाइ छाड्ने बताएका हुन् ।

महामारिको रुपमा बदलिएको हैजा फैलिनमा कहा चुक भएकोहो, त्यसको खोजि निती सरकारले गर्ने र त्यसकालागि आवश्यक भए विज्ञहरुको टोली समेत सरकारले परिचालन गर्न सकिने उनले जानकारी दिए ।

वीरगंन्जमा देखिएको जलसंकटलाई सम्बोधन गर्न सरकारले डिप वोरिङमार्फत सर्वसाधारलाई पानि वितरण गर्दा भएका कमी कमजोरिको सरकारले समिक्षा गर्ने जानकारी दिँदै मन्त्री लेखकले हैजाको प्रकोप नियन्त्रणमा कुनै कमी सरकारले बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले लोतकतन्त्र र गणतन्त्रको विकल्प अन्य कुनै तन्त्र हुनै नसक्ने र लोकतन्त्र मासिए मुलुकमा समाधान हुनै नसकिने द्वन्दको सुरुवात हुने खतरा रहेको गृहमन्त्री लेखकले चिन्ता व्यक्त गरे ।

कार्यक्रमा कानुन तथा न्याय मन्त्री अजय चौरसियाले संविधान र लोकतन्त्रलाई कमजोर पर्नेलाई कानुनी दायरामा ल्याउन ऐन निर्माण गर्ने तयारीमा सरकार रहेको जानकारीदिए ।उनले हजारौको बलिदानि र सात दशको संर्घषबाट प्राप्त भएको संघीय लोकतान्त्रिक समावेशिता सहितको संविधानलाई जलाउने, त्यसको अपमान गर्नेलाई कारवाही गर्न कानुन निर्माण भइरहेको बताए ।

उद्योगि व्यपारिको प्रतिष्ठालाई जोगाउन र व्यपार मैत्रि वातावरण मुलुकमा निर्माण गर्न सरकारले देवानी मुद्दामा अग्रीम जमानतको प्रावधान कानुनमै राख्ने तयारीमा लागेको कानुन मन्त्री चौसियाले जानकारी दिए ।उनले उद्योगि व्यपारिलाई आफु पक्राउ पर्न सकिने सम्भावन रहेका महसुर भएपछि अदालतबाट पक्राउ पर्नु अगाडी नै अग्रिम जमानत लिन सकिने कानुनमा व्यवस्था गर्न लागिएको र त्यसको मसौदा निर्माणको क्रममा रहेको बताए ।

ढोरपाटन पुग्ने हिलाम्मे सडकले पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ), १६ भदौ : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ ।

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्न हम्मेहम्मे पर्छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा आउने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधन बीचबाटोमै बिग्रिने गरेको छ । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै सडक ढोरपाटन जोडिएको छ । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकवेंसी गर्नै सकस हुने ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सडकका कारण यस क्षेत्रका हजारौँ नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ, निर्माण कम्पनीले समयमै काम गरी दिएको भए अहिलेसम्म सकिने थियो, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह ग¥यौँ तर कार्यान्वन भएन ।”

नवलपुरबाट ढोरपाटन घुम्न आउनुभएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिँदा दुईदिन अलपत्र परेको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उहाँको भनाइ छ ।

“ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खबरा रहेछ, हामीहरु यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ”, उहाँले भन्नुभयो ।

विसं २०७१ मा बागलुङ खण्डमा सडक ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि चार वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । हालसम्म काम हुन नसकेको हो ।

आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)देशभरको मौसम साधारणतया बदली रहनेछ ।महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,आज दिउँसो बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै,आज रातीको समयमा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक– दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच भेटवार्ता

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच भेटवार्ता भएको छ भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौँमा आयोजना गर्ने सहमति भएको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेकाले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताउनुभयो ।

अबदेखि मन्त्रालयमा पुग्ने फाइल सातदिन भित्र टुङ्गो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिनुभएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रमलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय, परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिनुभयो । उहाँले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फाइल अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस् ।”

मुख्यमन्त्री कार्कीले बेरुजु फछ्र्यौटमा पनि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिनुभयो । उहाँले लिखित रूपमा बेरुजु फछ्र्यौटका लागि अनुरोध गर्ने त्यसो नभए कानुनी प्रक्रिया अपनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नीतिगत बेरुजु र असुलउपर गर्नुपर्ने बेरुजु छुट्याएर पुस मसान्तभित्र किनारा लगाउन उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले नीतिगत र प्रशासनिक कामलाई छिटो र छरितो बनाउनुपर्ने बताउनुभयो । उहाँले गुनासो सुनवाई शत्प्रतिशत र प्रशासनिक कामलाई जनताले देखिनेगरी छिटोछरितो ढङ्गले टुङ्ग्याउन निर्देशन दिनुभयो ।

कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलनमार्फत आएका परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेशले अगाडि बढाएका महत्वपूर्ण योजनाहरुलाई प्राथमिकता दिएर काम गर्नुहोस् ।”

कोशी प्रदेश सरकारका प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फछर्यौट र ‘ओएनएम सर्वे’का काम साथै राजस्व कानुनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । नीति तथा कार्यक्रम समीक्षामा प्रदेश सरकारका मन्त्री, सचिव र मन्त्रालयका महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल आइडल सिजन–६ को विजेता सिन्धुपाल्चोककी गङ्गा सोनाम

पाटन (ललितपुर)-गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ । आईतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता हुनुभएको हो । विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचाँै हुनुभयो ।विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गर्नुभयो । “नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँनयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ”, उहाँले भन्नुभयो ।

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुनुहुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँनयाँ प्रतिभाहरुको जन्म भएको उल्लेख गर्नुभयो ।

समारोहमा पूर्वमन्त्री शेरबहादुर तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यलगायतको उपस्थिति थियोे ।

२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल हुनुहुन्थ्यो । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

थियानजिन (चीन), १६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ । आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, १६ भदौ : राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नुहुनेछ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुनेछ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

आजै दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूची अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यक्रम छ । बैठक विहान ११ः३० बजे बस्ने जनाइएको छ ।

पानीको सतह बढेपछि कोशी ब्यारेजको ३१ ढोका खोलियो

धरान (सुनसरी)- सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।

आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताउनुभयो ।

धनधान्यकी देवी महालक्ष्मीको १६ दिन विशेष पूजा आराधना सुरु

काठमाडौँ, १६ भदौ : वैदिक सनातन धर्मावलम्बीले भाद्रशुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यसवर्ष भदौ २९ गते आइतबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगवान् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यो व्रतका प्रभावले मृत्युपछि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने छ ।

देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख छ । बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने विश्वास गरिन्छ ।

‘अनलाइन’ दर्ता र नवीकरण स्थानीय तहबाट गर्न महासङ्घको माग

काठमाडौँ, १५ भदौः नेपाल पत्रकार महासङ्घले ‘अनलाइन’ सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय तहमा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी स्थानीय अधिकारी (प्रजिअ) कार्यालयमा अनलाइन दर्ता तथा नवीकरण गराउने व्यवस्थासँग असहमत भएको उल्लेख गर्दै तत्काल सो प्रावधान संशोधन गर्न माग गरेको हो ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा सरकारले आमसञ्चारसम्बन्धी विधेयकमार्फत अनलाइन दर्ता र नवीकरण स्थानीय तहबाट गराउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । मन्त्रालयका सचिव र महासङ्घका अध्यक्षसहितको प्रतिनिधिमण्डलबीच आज भएको छलफलबाट अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्ने र सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सो अवधिसम्म साविकबमोजिम नै जारी गर्ने सहमति भएको महासङ्घले जनाएको छ ।

कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, १५ भदौः सशस्त्र प्रहरीब बल, नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

एक सशस्त्र प्रहरी उपरीक्षक, एक सशस्त्र प्रहरी नायव उपरीक्षक, सात सशस्त्र प्रहरी निरीक्षक, ५ सशस्त्र प्रहरी नायव निरीक्षक, एक सहायक निरीक्षकसहितलाई कमान्डको जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ ।

यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा वेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्साल, फरवार्ड सुरक्षा वेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेशसुवाल बाटा, सुरक्षा वेश बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भिमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमङ्गलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नविन चन्द, बोर्डर आउट पोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बिओपी फुलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द, बिओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहनराम महर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तसमेतलाई जिम्मेवारीबाट हटाइएको उहाँले जानकारी दिनुभयो ।

सीमा ईलाकामा कार्यरत कमाण्डरमाथि मुख्यालयबाट समेत सुक्ष्म रूपमा निगरानी बढाइएको छ । सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौँ अधिकृत यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारवाहीमा परेका छन् । मुख्यालयले अन्य प्रदेशमा समेत सुक्ष्मरूपमा निगरानी बढाएको छ । गण, गुल्म तथा बिओपि कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

विश्व शान्तिको रक्षा र विश्व विकासका लागि एससीओ महत्वपूर्णः राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्न साङ्घाई सहयोग सङ्गठन (एससीओ) ले ठूलो जिम्मेवारी वहन गरिरहेको बताउनुभएको छ । उहाँले बढ्दो अनिश्चितता र तीव्र परिवर्तनको संसारमा विकासलाई बढावा दिनु महत्वपूर्ण भएको बताउनुभएको छ ।

आइतबार र सोमबार हुने एससीओ शिखर सम्मेलन २०२५ मा भाग लिन चीनको बन्दरगाह शहर थ्यानचिनमा आएका अन्तर्राष्ट्रिय पाहुनालाई स्वागत गर्न आयोजित रात्रिभोजमा सीले सो कुरा बताउनुभएको हो ।

सीले सबै पक्षको संयुक्त प्रयासबाट शिखर सम्मेलन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्दै एससीओले अझ ठूलो भूमिका खेल्ने र थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले सम्मेलन सदस्य राष्ट्रहरूबीच एकता र सहयोग बढाउन, ग्लोबल साउथको शक्ति एकत्रित गर्न र मानव सभ्यताको थप प्रगतिका लागि कोशेढुङ्गा बन्ने बताउनुभयो ।

पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन

मुस्ताङ, १५ भदौः पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पर्यटकीय याम सुरु भएसँगै उडान भर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले आजदेखि उडान भर्न सुरु गरेको छ ।

आज पहिलो दिन समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम दुईवटा उडान भरेको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । सुरुआती उडानको पहिलो दिन ३६ जना यात्रु लिएर जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख पोखरेलले आज मात्रै मुस्ताङमा तीनवटा हेली कम्पनीले आठवटा उडान भरेको जानकारी दिनुभयो ।

तारा एयरलाइन्सको जहाजले पनि एक हप्तापछि यहाँ उडान भर्ने जनाएको छ । तारा एयरलाइन्सका जोमसोम स्टेसन इञ्चार्ज सुजन लालचनले सेप्टेम्बर ७ तारिखमा आफ्नो एयरलाइन्सले उडान सञ्चालन गर्ने बताउनुभयो ।

देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला

वीरगञ्ज (पर्सा), १५ भदौः राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता सिटौलाले हरेक देशको आफ्नो इतिहासलाई सम्झाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“विगतमा चीन र जापानबीच धेरै पटक भयानक खालका युद्ध भएका थिए । ती युद्धको बारेमा अहिले चीनले विश्वका धेरै देशका प्रधानमन्त्रीलाई आफ्नो मुलुकमा बोलाएर जानकारी गराउँदै छ,” उहाँले भन्नुभयो, “हरेक देशको आफ्नो इतिहास गर्विलो हुने भएकाले नेपालले पनि आफ्नो प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई बारम्बार बताउँदै जान आवश्यक भइसकेको छ ।”

कतिपयले ‘इतिहास भजाएर खान पाइन्छ ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै नेता सिटौलाले इतिहास बिर्सेर अघि बढ्न नसकिने बताउनुभयो । “घरको जग बिर्सेर थप तला थप्न सकिन्छ त ?”, उहाँले भन्नुभयो, “त्यसैले नेपाली कांग्रेसले गरेको कामको विषयमा अबका नयाँ पुस्तालाई बुझाउनुपर्ने हुन्छ ।”

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

काठमाडौँ, १५ भदौः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो ।

पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छः दाहाल

लुम्बिनी, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताउनुभएको छ । पार्टी विभाजनले मात्रै अहिले आफ्नो पार्टीको मत घटेको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) सँगको पार्टी एकतापछिको मूल नेतृत्व माओवादी केन्द्रको हुन नसक्दा एकता कायम राख्न नसकिएको बताउनुभयो ।

“नेतृत्व हाम्रो हुन्थ्यो भने म दाबीका साथ भन्छु पार्टी विभाजन पनि हुँदैन थियो”, उहाँले भन्नुभयो, “समाजवादको यात्रातिर हामी गम्भीर ढङ्गले जान सम्भव थियो, तर मूल नेतृत्व हाम्रो भएन । मूल नेतृत्व एमाले भएर फुट्ेको हो ।”

अध्यक्ष दाहालले माओवादी जनयुद्ध सामन्तवादको विरुद्धमा निकै सोच विचार गरेर थालनी गरिएको उल्लेख गर्दै आफूहरुविरुद्ध फेरि विरोधीहरुले अलि धेरै नै प्रचार गरेर जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा हाम्रा केही त्रुटि भए भनेर हामीले भर्खरै स्थायी समितिको बैठकमा समीक्षा गरेर अघि बढेका छौँ ।”

कम्युनिष्ट आन्दोलन र समाज जोडिनेतिर अगाडि बढिरहेको जिकिर गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र जति शक्तिका साथ आक्रमक ढङ्गले आफ्नो विचार अगाडि लैजान्छ अन्य पार्टीमा ध्रुवीकरण पनि त्यही स्तरमा बढ्ने र त्यसको नेतृत्व आफूहरुले गर्नुपर्छ भन्नुभयो ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुन, पार्टीका सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल र स्थायी समितिका सदस्यहरुको उपस्थिति रहेको पार्टीको लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।

रूपन्देही–३ उपनिर्वाचन : रास्वपाबाट डा. लेखजंग थापा बने उम्मेदवार

काठमाडौँ, १५ भदौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिनुभयो ।यसअघि आज नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

विराटनगर । करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुशी बनेको छ । सोही खुशी स्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो ।

गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस कदमले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरे।सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले झाँगड उराँव समुदाय लोपोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षण, संवद्र्धन र पहिचानको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

करम पूजा पर्व हरेक वर्ष भाद्र महिनाको अनन्त चतुर्दशी तथा पूर्णिमाका दिन मनाइन्छ । २०७८ सालको जनगणना अनुसार नेपालमा करिब ४१ हजार झाँगड उराँव समुदायका मानिसहरू रहेका छन्, जसको प्रमुख बसोबास मोरङ, सुनसरी र झापा जिल्लामा छ ।

राजनीतिक दलमा आवद्ध हुनु खराब हो भन्ने गलत भाष्य निर्माण भएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन समारोहमा बोल्दै उनले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताउँदै राजनीतिक दलमा आवद्ध भएको मानिसले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर त्यो भाष्यलाई गलत प्रमाणीत गर्नुपर्ने बताए ।

उनले भने,‘राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने जुन भाष्य जबरजस्त समाजमा निर्माण भएको छ । यो भाष्यलाई गलत सावित गर्ने कुरा हामीले अरुलाई गाली गरेर सम्भव नै छैन । राजनीतिक दलमा आवद्ध भएको मानिसले जहाँ–जहाँ सार्वजनिक जिम्मेवारी पाएको छ ,त्यहाँ यति उत्कृष्ट काम गरेर देखाउनुपर्छ की त्यो कामले त्यो भाष्य गलत हो भन्ने प्रमाणीत हुन्छ ।’

त्यस्तै उनले रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त गरी काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने पनि बताए ।दुई वर्ष भित्रमा रुद्रमति खोलालाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा लिएर जाने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

उनले भने,‘दुई वर्ष भित्रमा हामीले धोवी खोला भन्ने गरेको रुद्रमतिलाई पूर्ण रुपमा ढलमुक्त बनाउने र काठमाडौंको पहिलो सफा नदीको रुपमा यसलाई लिएर जाने छौं । यही अनुसार हामीले काम गर्ने भनेर तयारी गरेको छौं । यसमा सुरुमा हामीले मुहानमा केही काम गर्नुपर्ने छ पहिलो त्यो काम गर्ने छौं । त्यसैगरी समुदाय स्तरमा हामीले सरसफाईको सानो– सानो केन्द्रहरु बनाउनुपर्नेछ । त्यसको लागि पनि हामीलाई जग्गाको आवश्यक पर्छ ।’

सभापति देउवा निवास बुढानिलकण्ठमामा मनाइयो गौरा पर्व

काठमाडौँ, १५ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहनुभएका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गर्नुभएको थियो । साथै उहाँहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गर्नुभएको थियो ।

सो अवसरमा सभापति देउवासँग भेट गरी सङ्घीय मन्त्री, मुख्यमन्त्री, सांसदलगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहनुभएका विभिन्न पेशा र क्षेत्रका व्यक्तित्वले शुभकामना आदानप्रदान गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित शनिबार निवासमा गौरा भित्र्याउनुभएको थियो ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने चलन छ । भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्छन् । गौरा पर्व महिलाले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रही आएको हो ।

 
 

डेनमार्कमा नेपथ्यको ‘सोल्ड आउट कन्सर्ट’

चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले आफ्ना चर्चित गीतहरुबाट मन्त्रमुग्ध बनाएको हो ।

नेपथ्यको कन्सर्ट हेर्नका लागि डेनमार्कका मात्र नभई फिनल्याण्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्याण्ड, स्विडेन र बेल्जियमदेखि दर्शक पुगेका थिए । व्याण्डका मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरी दर्शकको चर्को आवाजमा हुटिङ सुनिएको थियो । दर्शकले २ घन्टासम्म नेपथ्य व्याण्डलाई साथ दिएका थिए । डेनमार्कमा नेपथ्यले नौ वर्षपछि आफूलाई उभ्याएको हो ।

नेपाली राजदुत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव समेत बनेको प्रतिक्रिया दिएकी छिन् । यो कार्यक्रमलाई नेको इभेन्ट्सको व्यवस्थापनमा आयोजना गरिएको हो । व्याण्डका मुख्य गायक अमृत गुरुङले गीत गाउँदै दर्शकसँग संवाद गरेका थिए । अमृतले विदेशमा बसेका नेपाली एकजुट हुनुपर्ने सन्देश समेत कन्सर्टमा दिएका थिए । व्याण्डले आफ्ना चर्चित गीतहरु मार्फत दर्शकलाई झुमाएको थियो ।

‘रातो र चन्द्र सुर्जे’ गीत गाएपछि व्याण्डले दर्शकसँग बिदा मागेको थियो । कन्सर्टमा अमृतलाई ड्रम सेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए । नेको इभेन्ट्का पवन पाण्डेले भय रुपमा कन्सर्ट सम्पन्न भएपछि भने–‘यो लामो समयदेखिको प्रयासमा सफल भएको कार्यक्रम हो । एकातिर सपना पुरा भएको छ भने अर्कोतिर दर्शक रमाएर फर्किएको देख्दा खुशी लागेको छ ।’ नेको इभेन्टस्ले सन् २०१४ देखि डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायका लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

नेको इभेन्ट्सले डेनमार्कमा बसोबास गर्ने नेपालीहरुका लागि सांस्कृतिक र सामाजिक गतिविधिहरु मार्फत एकताको भावना कायम राख्न महत्वपूर्ण योगदान पनि दिदै आइरहेको छ ।

राप्रपा नेता पौडेलको निधन

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका संस्थापक सदस्य तथा हेटौंडा–१९ निवासी ज्ञान प्रसाद पौडेलको असामयिक निधन भएको छ ।उनको निधनको खबरले मकवानपुर राजनीतिक तथा सामाजिक क्षेत्र स्तब्ध बनेको छ । पौडेल लामो समयदेखि राप्रपा संगठन विस्तारमा सक्रिय रहँदै आएका थिए ।

पार्टीको प्रारम्भिक दिनदेखि नेतृत्व र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका उनी समाजसेवीका रूपमा समेत परिचित थिए ।
राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले पौडेलको निधनले जिल्लामा अपूरणीय क्षति पुगेको बताएका छन् ।

उनले पौडेल पार्टीका इमानदार, समर्पित र संघर्षशील व्यक्तित्व भएको स्मरण गर्दै उनको योगदान सधैं सम्झन योग्य रहने बताए ।पौडेलको अन्त्येष्टि सम्बन्धी विवरण परिवारजनले पछि सार्वजनिक गर्ने जनाइएको छ ।

रसुवागढीमा सुख्खा पहिरोः एक घाइते, भवनमा क्षति

रसुवा, १५ साउन: रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिराका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ ।जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका—२ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते हुनुभएकोे हो । टाउको र छातिमा गम्भीर चोट लागेका उहाँको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुख्खा पहिराले गत असार २४ पछि सडक अवरूद्व भएको छ । यसैगरी गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यावसायी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी, मजदूर र पैदलयात्रुले समेत सुख्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन् । यसैगरी सुख्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपाङ्ग्रे सवारीसाधनमा पहिरोले क्षति पु¥याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती, १५ भदौः बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उहाँले बताउनुभयो ।

यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्नुहुने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्नुहुने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताउनुभयो । यसैबीच, प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । आइतबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ ।

त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ÷संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

जुम्ला, १५ भदौः कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिनुभयो । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुङ्गाले गर्दा समस्या भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन ।” आज स्काभेटरको सहायताले ढुङ्गा हटाइने र सडक सञ्चालन गरिने उहाँले बताउनुभयो ।

बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट : नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने

काठमाडौँ, १५ भदौः ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ (७ सेप्टेम्बर २०२५)गते जापानको टोकियो सहरमा सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

‘हिमालयन चितुवा’का नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्याण्ड्स, सेनेगल, ब्राजिल, पोल्याण्ड, आरमेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरले प्रतियोगितामा कडा प्रतिष्पर्धा गर्दैछन् ।

नेपालको किक बक्सिङ खेल इतिहासमा नयाँनयाँ विश्व कीर्तिमान कायम गरिसक्नुभएका बक्सर घिमिरे प्रतियोगिताको पहिलो दिन फ्रान्सका प्रतिद्वन्द्वी आइमेरिक लेजीजीसँग आमनेसामने हुने तालिका के वान क्लबले सार्वजनिक गरेको छ । उसो त घिमिरेले सोही के वान खेलबाट नेपालको प्रतिनिधित्व गर्दै आफ्नो किक बक्सिङको अद्भूत प्रतिभालाई विश्वसामु प्रदर्शन गर्दै आएका छन् । घिमिरेले पहिलो खेल जितेमा पुनः यही कात्तिक २९ (नोभेम्बर १५, २०२५) मा एकैदिन तीन खेल खेल्नुपर्ने हुन्छ । उक्त तीन खेल खेल्दा विजय हासिल गरेमा किकबक्सिङ इतिहासमै विश्वको नम्बर वान खेलाडीको उपाधि हात पार्दै विश्व जगत्मा इतिहास रच्न सक्ने भाग्यमानी नेपाली खेलाडी बन्नेछन् ।

‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’लाई किक बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ । ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’का लागि बक्सर घिमिरेले तयारीलाई तीव्र बनाएका छन् । आफ्नै खर्चमा बक्सर घिमिरेले थाइल्याण्ड्सको फुकेट सहरस्थित टाइगर मोथाई क्लबबाट विशेष प्रशिक्षण लिएर हालैमात्र जापान फर्किएका थिए । जापानमा आफ्ना पिता पूर्वअन्तरराष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरेकै विशेष प्रशिक्षणमा अविरलले सो अन्तरराष्ट्रिय प्रतियोगिताका लागि अभ्यास गरिरहनुभएको जनाइएको छ ।

अहिले प्रतियोगिता हुने टोकियो, सिवुआलगायत सहरका सार्वजनिकस्थलका होडिङबोर्डमा नेपाली झण्डासहित ‘हिमालयन चितुवा’का तस्बिरलाई प्रदर्शन एवं प्रचार प्रसार गरिएका छन् । ती विद्युतीय बोर्डमा घिमिरेले रिङमा भिडेका प्रतिस्पर्धालाई देखाइएको छ ।

राजदूत डा सुवेदीद्वारा शुभकामना

जपानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी युवा किक बक्सर घिमिरेको सफलताका कामना गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै उहाँले ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा नेपाली बक्सर घिमिरेले भाग लिन पाउनु आफैँमा ऐतिहासिक सफलता भएको जनाउनुभएको छ ।

यस्तो छ ‘हिमचितुवा’को इतिहास

बक्सर अबिरलले हालसम्म हिट किकबक्सिङ तीनपटक ‘टाइटल डिफेन्स’ गर्दै चारपटक ‘हिट किकबक्सिङ टाइटल म्याच’, अन्तरराष्ट्रिय किक बक्सिङ एशोसिएसन ‘टाइटल’ र ‘केवान क्रस–१७५ टाइटल’ जित हासिल गरिसकेका अविरलले हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ जित निकाल्ने क्रममा १८ नकआउट गरी जित निकालेका छन् ।

गत जेठ ४ गते जापानको ओसाका सहरमा सम्पन्न ‘के वन क्रस १७५’को उपाधि चुम्दै बक्सर अविरलले पहिलोपटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ उपाधि’ हात पारेर अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका थिए । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै के वान क्रस ‘विश्व च्याम्पियन’बनेका थिए ।

‘च्याम्पियन’ जिन्कलाई रिङमा नकआउट गर्ने किक बक्सर अविरल पहिलो खेलाडी बनेका कोच अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देवले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । ‘इन्टरनेसनल किक बक्सिङ एशोसिएसन’ (इस्का) र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने बक्सर अविरल पहिलो नेपाली खेलाडी हुन् । बक्सर अविरल आफ्ना पिता देवका साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । पूर्व फुलकन्ट्याक्ट कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा अविरलको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, १५ भदौ –  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

काठमाडौँ, १५ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

गौरापर्व, २०८२ को शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार तथा समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्ने उल्लेख गर्नुभएको छ । उहाँले गौरापर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलतः पश्चिमी क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गर्नुभएको छ ।

यस पर्वमा शिव र पार्वती (गौरा) को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कूलदेवता प्रसन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा पाँच वा सोभन्दा बढी प्रकारका गहुँ, धान, केराउ, मास र गहतजस्ता अन्नबाट बनेको ‘बिरुडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरेर मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

“यस पर्वका अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एकअर्काका दुःख, सुख बाँड्ने गर्दछन् । यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने चलन रहिआएको देखिन्छ”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले गौरापर्वको महत्वका बारेमा प्रष्ट पार्दै भन्नुभएको छ, “यस्ता पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।”