सिंहदरबारमा धर्नारत बिनु यादवलाई मन्त्री सिता बादीले दिइन् आवश्यक पहलको आश्वासन
काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा बिनु यादवले आफ्नो मुद्दासम्बन्धी न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्री बादीलाई जानकारी गराएकी छन्। साथै, सरकारले यसअघि गरेका सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयमा लिखित निवेदनसमेत बुझाएकी छन्।
मन्त्री बादीले बिनु यादवको विषयप्रति मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता जनाइन्।
उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार सहयोग गर्ने विश्वास दिलाइन्।
