`

मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा

मुस्ताङ, १ पुसः यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो ।

वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन् । यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको छ ।

तत्कालीन समयमा यहाँको कागबेनी–मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावात गर्थे । मुक्तिनाथ दर्शन गर्न आएका तीर्थायात्री र विदेशी पर्यटक झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल आएका तीर्थायात्री यहाँको गाउँमा खाजा खाना र बाँस बस्थे । त्यतिबेलाको अवस्थामा झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले झारकोटा गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ ।

कागबेनी–मुक्तिनाथ सडक र यस गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो । कागबेनी–मुक्तिनाथ सडकमार्गमै पर्ने झारकोट मुक्तिनाथ मन्दिरको काखैमा भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको गुरुङको भनाइ छ ।

झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनामजस्तै छ । बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आवतजावत गर्ने भएता पनि झारकोट गाउँमा पर्यटकको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुखेसो छ । “दिनहँु सयौँ तीर्थयात्री हाम्रै गाउँको बाटो ओहोरदोहोर गर्छन्, कति आए कति गए पत्तै हुन्न”, स्थानीय गुरुङले भन्नुभयो, “तीर्थयात्री र पर्यटक सिधै आउँछन् जान्छन्, हामी त हेरेको हेर्यैमात्र ।”

प्राचीन वस्ती झारकोटमा ६० घरपरिवार छन् । पहिला सडक नहुँदा गाउँका अधिकांश युवा गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवती एकपछि अर्को गर्दै गाउँ छाडेर विदेश पलायन हुन थालेको उहाँको भनाइ छ ।

यतिबेला झारकोट गाउँमा युवायुवतीको सङ्ख्या एकदमै कम छ । अधिकांश युवायुवती वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भासिँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको स्थानीयवासी गुरुङले उल्लेख गर्नुभयो । हाम्रो गाउँतिर सडक विकास भयो, केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुला छ, तर विकासलाई समृद्धिमा बदल्ने युवायुवती नै बाहिर पुगिसके, अब गाउँको आर्थिक विकास कसले गरिदेला र ?”, उहाँले भन्नुभयो ।

यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिनुभयो । यहाँ केहीले याक र घोडाको व्यापार गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ । पछिल्लो समय मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाले मुक्तिनाथमा घोडालाई यात्री ओसारपसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङको भनाइ छ । वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको स्थानीय गुरुङले जानकारी दिनुभयो ।

वारागुङ मुक्तिक्षेत्र–१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ । प्राचीनकालमा निर्माण भएको यहाँ अवस्थित साढे तीनतले झारकोट राजाको दरबार यहाँको पुरातात्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । त्यसैगरी झारकोट गाउँमा कुनै व्यक्तिको मृत्यु भएमा उसको शवलाई गाउँभित्र रहेको (केनिल) मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ ।

यहाँ प्राचीनकालमा निर्माण भएका ढुङ्गा र माटोले निर्मित पुराना घर अझै जीवन्त रहेका छन् । गाउँमाथि केहीपर तोराताल अवस्थित छ ।े ताल वरपर प्राकृतिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोराताल भनिएको हो । पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झण्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटक तोराताल अवलोकन गर्न जाने गरेका वडाध्यक्ष गुरुङले बताउनुभयो । पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा संवर्द्धन गर्दै आइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा (बाँके) – भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचविबखनको जोखिममा पर्ने सम्भावना बढेको हो ।

भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो ।

शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उहाँले जानकारी दिनुभयो ।

संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन बढाएको बताउनुभयो । “सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो”, उहाँले भन्नुभयो ।

केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताउनुभयो ।

“भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ”, पुरीले भन्नुभयो, “नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो ।” आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उहाँको भनाइ छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गर्नुभयो । प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन् ।

शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उहाँले बताउनुभयो ।

नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन् । शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो ।

केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको बताउनुभयो । शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला

सिराहा, १ पुस : लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।

झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो । सरकारको निर्णयपछि सिराहा, सप्तरी र उदयपुरका बिरामीले सेवा लिने यस अस्पतालको स्तरोन्नति र सेवा विस्तार सहज हुने भएको छ ।

सरकारले गरिब तथा विपन्न समुदायको उपचार आवश्यकतालाई ध्यानमा राखेर सकारात्मक निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत लामो समयदेखि विभिन्न कारणले रोकिएको प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनको समस्या अन्ततः समाधान भएको छ । स्थानीय जनताको मागबमोजिम सङ्घीय सरकारले लाभकर छुट दिने ऐतिहासिक निर्णय गरेको छ । यस निर्णयले सिङ्गो सिराहासहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आशा र भरोसा दिएको छ । अब अस्पतालको स्वामित्वमा जग्गा आएपछि भौतिक संरचना विस्तार, नयाँ भवन निर्माण र सेवा सुधारका काम तीव्र रूपमा अघि बढ्नेछन् । यस महत्त्वपूर्ण निर्णयका लागि पहल गर्ने सबै पक्षप्रति अस्पताल परिवारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

मन्त्रिपरिषद् निर्णयअनुसार लहान नगरपालिका–७ स्थित कित्ता नं २४८, २४९, ३२७ र ३३० मा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा तथा भवन मधेस प्रदेश सरकारका नाममा हस्तान्तरण गर्दा आयकर ऐन र आर्थिक ऐनबमोजिम लाग्ने लाभकर छुट दिइनेछ । अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा बृजेन्द्र साहका अनुसार जग्गा अस्पतालको स्वामित्वमा आएपछि अब एक सय शय्याको भवन निर्माण, सिटीस्क्यान, एमआरआई तथा विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुलेको छ ।

विसं २०३७ मा लहानका दाता परिवार रामकुमार शारदा र उमाप्रसाद मुरारकाले अस्पतालका लागि उक्त जग्गा उपलब्ध गराउनुभएको थियो । लाभकर कसले तिर्ने भन्ने विषयमा अन्योल हुँदा रजिस्ट्रेसन रोकिएको थियो । पछिल्लो समय युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सक्रियतामा स्थानीय अगुवा, अस्पताल परिवार र युवाहरूको पहलपछि सरकारले लाभकर छुट दिने निर्णय गरेको हो ।
–––

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

उहाँका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ”, उहाँले भन्नुभयो, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशुचौपायालाई टोकेपछि रेविज फैलिने त्रास बढेको हो ।

शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना स्थानीय बासिन्दा, एक गाई र १३ वटा कुकुरलाई टोकेको छ । “सोमबार बिहानदेखि बहुलाहा कुकुर अनियन्त्रित रूपमा सामुन्नेमा पर्ने जोकसैलाई टोक्दै हिँडेको थियो”, उहाँले भन्नुभयो, “प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज साँझ अबेर नियन्त्रणमा लिन सफल भयौँ ।”

बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेविज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताउनुभयो । “कुकुरले टोकेका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “टोकिने गाईलाई पनि रेविजविरुद्धको सुई लगाइएको छ ।”

बहुलाहा कुकुरले टोकेका अन्य कुकुरको खोजीका लागि वडा कार्यालयबाट टोली परिचालन गरिएको छ । तर ती कुकुर फेला पार्न कठिनाइ भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । “रेविजविरुद्धको भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “आज बिहानैदेखि वडा कार्यालयमार्फत कुकुरलाई रेविजको सुई लगाइनेछ ।”

स्थानीय बासिन्दाले बहुलाहा कुकुरले टोकेका कुकुरले अन्य कुकुर, पशुचौपाया तथा मानिसलाई टोक्ने जोखिम रहेकाले भयको अवस्था सिर्जना भएको बताएका छन् । बहुलाहा कुकुरलाई नियन्त्रणमा लिएर निगरानीमा राखिएको नगर प्रहरी प्रमुख पदमबहादुर ऐरले बताउनुभयो ।

यसैबीच, वडा कार्यालयले बहुलाहा कुकुरले टोकेको शङ्का भएका कुकुर, गाईबस्तु तथा व्यक्तिका परिवारलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

वालिङ (स्याङ्जा) – यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो ।

विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिनुभयो ।

अर्बकुना सुन्तला समूहमा हाल ३१ सुन्तलाखेती गर्ने किसान आबद्ध हुनुहुन्छ । “समूहमा आबद्ध हुनुभएका सबै किसानले न्यूनतम रु एक लाखदेखि अधिकतम रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो, “केही मात्रामा कोदो, मकै हुने जमिनबाट अहिले प्रत्येक घरले नगदेबालीका रूपमा सुन्तलाखेती गरेसँगै राम्रो आम्दानी हुने गरेको छ ।”

पछिल्लो समय गाउँमा रहेका सबै घरलाई समूहमा आबद्ध गराएर एकापसमा मिलेर सुन्तलाखेतीलाई विस्तार गर्दै गएकाले आगामी वर्षहरूमा सुन्तलाको उत्पादन र आम्दानी वृद्धि हुने दाबी अध्यक्ष सेनको छ । “पुराना बोटबाट सुन्तला उत्पादन भइरहेको छ, नयाँ बोट थप्ने क्रम निरन्तर रूपमा चलिरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षमा मात्रै यस समूहबाट रु एक करोड बढीको सुन्तला बिक्री गर्छौँ, त्यसपछिका वर्षहरूमा त झनै वृद्धि हुँदै जान्छ ।”

यहाँ उत्पादन भएको सुन्तला किसान स्वयं वा समूहमार्फत पनि बिक्री गर्ने गरिएको छ । यहाँका किसानले सुन्तला खरिदका लागि आएका स्थानीय व्यापारीलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन्भने केही किसानले फुटकर रूपमा बिक्री गरेका हुन् ।

किसानले बोटमा भएको उत्पादनका आधारमा व्यापारीसित बोलकबोल गरेर मूल्य निर्धारण गर्छन् । केही किसानले प्रतिकेजी रु ६०–७० का दरले व्यापारीलाई सुन्तला बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको सुन्तला र त्यसको आम्दानीको हिसाबकिताब समयसमयमा समूहमार्फत हुने गरेको छ । सामूहिक रूपमा बैठक बसेर बजारीकरण, मूल्य निर्धारण, आइपरेका समस्या र त्यसको समाधानका विषयमा छलफल गरी समाधान निकाल्ने गरिएको उहाँले बताउनुभयो ।

स्वादिष्ट सुन्तला उत्पादनका दृष्टिले स्याङ्जाको पहिचान छुट्टै किसिमको रहेको छ । जिल्लामा सुन्तला उत्पादनको सम्भावना र यसको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ । विसं २०७३÷७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तलाको बगैँचा विस्तारले तीव्रता पाएको हो ।

सुरक्षा प्रोटोकलजस्तो संवेदनशील विषयमा भ्रम फैलाइनु दुर्भाग्यपूर्ण

काठमाडौँ -‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम पालना गरिएको सुरक्षा प्रोटोकलका विषयमा सामाजिक सञ्जालको दुरुपयोग गरी अतिरञ्जित बनाउन खोजिएको घटनालाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरिएको छ ।

सुरक्षासम्बद्ध अधिकारीले मुलुकको मौजुदा कानुनबमोजिम अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीलाई प्रदान गरिँदै आइएको सुरक्षा व्यवस्था एवं प्रोटोकल कार्यान्वयनका विषयमा अनावश्यक विवाद सिर्जना गर्न खोजिनुलाई दुर्भाग्यपूर्ण कदमका रूपमा टिप्पणी गर्नुभएको हो ।

विशिष्ट पदाधिकारीको सुरक्षा प्रोटोकल कार्यान्वयन जस्तो संवेदनशील विषयलाई अतिरञ्जित गर्न खोजिएकामा आपत्ति व्यक्त गर्दै उहाँहरूले अघिल्ला सरकारका पालामा जस्तै कानुनबमोजिम भएको कामकाजका विषयमा भ्रम सिर्जना नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ ।

उहाँहरूले विशिष्ट पदाधिकारीको सुरक्षा प्रोटोकल यसरी नै कार्यान्वयन भइरहँदा यसअघि कहिल्यै नकारात्मक टीकाटिप्पणीसहित प्रश्न उठ्दैनथ्यो भन्नुभयो । कुनै घटना विशेषलाई जोडेर विवाद सिर्जना हुनेगरी राज्यका विशिष्ट पदाधिकारीको मानमर्दन गर्न खोजिएकामा सुरक्षा अधिकारीले आश्र्चय प्रकट गर्नुभयो ।

प्रसङ्ग सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग सम्बन्धित छ । सुरक्षा प्राटोकल कार्यान्वयनका विषयमा सञ्चारमन्त्री खरेललाई जोडेर सामाजिक सञ्जालमार्फत विवादित बनाउन अधिकतम प्रयास भइरहेकामा सुरक्षा विज्ञहरूले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

जेनजी आन्दोलनको जगमा विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गरी आगामी फागुन २१ गते निर्वाचन गराउने कार्यादेशसहित अहोरात्र खटिएको वर्तमान सरकारका प्रवक्तालाई अनावश्यक विवादमा ल्याउन खोजिएका विषयलाई अहिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

आमजनताको उल्लेखनीय सहभागितासहित तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन नचाहने तत्व यस किसिमको गतिविधिमा सक्रिय भएको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ । सरकारको कामकाजमा प्रभावित तुल्याउने र निर्वाचनको वातावरण बिगारेर देशमा राजनीतिक अस्थिरता चाहने अतिवादी समूहले सामाजिक सञ्जाललाई दुरुपयोग गरेको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।

मुलुकको पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको कदर गर्दै जेनजी आन्दोलनपछि मन्त्री बन्नुभएका सञ्चारमन्त्री खरेलको कामकाजमा कुनै पनि प्रश्न उठाउने विषय नभेटिएपछि सुरक्षा प्रोटोकललाई उछालिएको भन्न सकिन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सङ्घीय सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्ने सिलसिलामा भएको घटनालाई पछिल्ला दिनमा विवादमा ल्याउन खोजिएको छ ।

यसै सन्दर्भमा गत मङ्सिर १९ गते शुक्रबार बालुवाटारमा भएको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा आफ्नो सवारीसाधनबाट बाहिरिन लाग्दै गर्दा सुरक्षाकर्मीले सवारीसाधनको ढोका खोलेको र सलामी दिएको दृश्यलाई लिएर अपव्याख्यासहित भ्रम सिर्जना गर्न खोजिएको छ ।

कतिपयले यस घटनालाई ‘भिआइपी संस्कृति’ वा ‘अहङ्कार’का रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमा फैलाइएको यस किसिमको अफवाहलाई चिर्न सो सन्दर्भमा भएको घटनाक्रम, कानुनी व्यवस्था र अभ्यासका सन्दर्भमा आमजनतालाई सूसुचीत गराउने दायित्व आमसञ्चारमाध्यममाथि थपिएको छ ।

जेनजी आन्दोलन र परिवर्तनकारी जनताको भावनाबमोजिम सरकार र सञ्चारमन्त्रीले जनताका पक्षमा गरेका उदाहरणीय कामको उपेक्षा गर्दै सुरक्षा प्रोटोकलसम्बन्धी कानुन कार्यान्वयनका विषयलाई उछालेर जनतालाई दिग्भ्रमित बनाउन कोसिस भइरहेकामा सुरक्षा अधिकारीबाट दुःख व्यक्त गरिएको छ ।

सामाजिक सञ्जालमा फैलाइएको उक्त दृश्यमा मन्त्री सवारीबाट नओर्लिँदै सुरक्षाकर्मीले ढोका खोलेको र सलामी दिएको देखिन्छ । यो दृश्यलाई कतिपयले व्यक्तिगत विशेषाधिकार वा शासकीय अहङ्कारसँग जोडेर व्याख्या गरेको पाइन्छ ।

सुरक्षा अधिकारीका अनुसार सार्वजनिक पदमा बसेका व्यक्तिको सुरक्षासम्बन्धी अभ्यासलाई केबल दृश्यका आधारमा मूल्याङ्कन गर्नु अधुरो र भ्रामक हुन्छ । सुरक्षा प्रोटोकलको मूल उद्देश्य सुविधा प्रदान गर्नु होइन, जोखिम न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्नु हो ।

सरकारद्वारा जारी गरिएको ‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ ले उच्चपदस्थ सार्वजनिक पदाधिकारीको सुरक्षा स्पष्ट रूपमा वर्गीकरण गरेको छ ।

यस कार्यविधिको ‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिले प्राप्त गर्ने सुरक्षास्तरको वर्गीकरण’ अन्तर्गत दफा १.२.१ (ग) मा विशिष्ट व्यक्ति को सूची उल्लेख गरिएको छ । जहाँ उपदफा १.२.१.४ ले नेपाल सरकारका मन्त्रीलाई स्पष्ट रूपमा विशिष्ट व्यक्ति मानेको छ । मन्त्रीलाई दिइने सुरक्षा व्यक्तिगत निर्णय वा चाहनाको परिणाम होइन, कानुनले तोकेको वर्गीकृत सुरक्षा व्यवस्था हो र राज्यको दायित्वअन्तर्गत लागू गरिने संरचनागत प्रोटोकल हो ।

उक्त कार्यविधिअनुसार सार्वजनिक स्थलमा सवारीसाधन रोकिनेबित्तिकै सुरक्षाकर्मीले वरपरको अवस्था, सम्भावित जोखिम र वातावरणको मूल्याङ्कन गर्नुपर्छ । वातावरण सुरक्षित भएको सुनिश्चित गरेपछि मात्र संरक्षित व्यक्तिलाई सवारीबाट बाहिरिन सङ्केत दिनुपर्छ ।

सवारीमा चढ्ने र ओर्लने प्रक्रिया ‘कन्ट्रोल मुभमेन्ट’ अन्तर्गत सञ्चालन हुन्छ । यस सन्दर्भमा सवारीको ढोका खोल्नु व्यक्तिगत सेवा होइन, व्यक्तिगत सुरक्षा अधिकारीको पेसागत जिम्मेवारी हो । सार्वजनिक रूपमा देखिने यो कार्य सुरक्षाको अन्तिम दृश्यात्मक चरण मात्र हो ।

नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०८१ को मर्मअनुसार सुरक्षा प्रदान गर्दै आएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार नेपाली सेनाले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई प्रदान गर्दै आएको छ । ‘भिआइपी’ सुरक्षाका सन्दर्भमा अहिले जुन किसिमबाट विषय आएको छ, यो कार्यविधिअनुसारै भएको हामीले पाएका छौँ, यसलाई विवादको विषय बनाउन आवश्यक छैन ।”

सुरक्षा प्रोटोकल पालना नगर्नु साहसिकता होइन, जोखिम निम्त्याउनु हो सेनाका सूचना अधिकारी बस्नेतले भन्नुभयो । “यदि कुनै विशिष्ट वा अतिविशिष्ट व्यक्ति सुरक्षाकर्मीको सङ्केतविना आफैँ सवारीबाट बाहिरिनु हुन्छ वा सुरक्षा जाँच पूरा नहुँदै सार्वजनिकस्थलमा प्रवेश गर्नु हुन्छ भने, त्यस अवस्थामा उहाँको सुरक्षामा जोखिम उत्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो ।

यसले सुरक्षाकर्मीको व्यावसायिक कर्तव्य निर्वाहमा बाधा पुग्नुका साथै सम्पूर्ण सुरक्षा संयन्त्रलाई कमजोर बनाउने सम्भावना रहने भएकाले प्रोटोकल पालना गर्नु सुरक्षा दायित्व पनि रहेको सेनाका सूचना अधिकारी बस्नेतले बताउनुभयो ।

यसैगरी, ‘सलामी’का सन्दर्भमा व्यक्तिलाई होइन, पद र संस्थालाई दिइन्छ । सेना र प्रहरीजस्ता अनुशासित संस्थाहरू कडाइका साथ कमाण्ड संरचना अर्थात् ‘चेन अफ कमाण्ड’ मा चल्नेछन् । पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले यस विषयमा नेपाली सेनाको संस्कृति व्याख्या गर्दै भन्नुभयो, “सलामी औपचारिक सङ्केत र आदेशपालन यही संरचनाको अभ्यास हुन्, यी व्यक्तिगत प्रदर्शन होइनन्, संस्थागत अनुशासनका अभिव्यक्ति हुन् ।”

उहाँका अनुसार यो सम्मान जगदीश खरेल व्यक्तिका लागि होइन, सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदका लागि हो । “आज पदमा को छ भन्ने परिवर्तनशील हुनसक्छ, तर पदप्रतिको सम्मान स्थायी हुन्छ, यही नै लोकतान्त्रिक राज्यव्यवस्थाको आधार हो”, उहाँले भन्नुभयो ।

उल्लिखित सन्दर्भका आधारमा ‘सार्वजनिक पदसँग जोडिएका धेरै अभ्यास दृश्यभन्दा गहिरा हुन्छन् । सुरक्षा प्रोटोकल व्यक्तिगत विशेषाधिकार होइन, सलामी व्यक्तिगत प्रशंसा होइन र सम्मान व्यक्तिलाई होइन, पद र संस्थाका लागि दिएको’ स्पष्ट बुझ्न सकिन्छ । सुरक्षा प्रोटोकलजस्तो संवेदनशील विषयमा भएका कानुनी व्यवस्था र कार्यान्वयन, विज्ञबाट प्राप्त सुझाव र हुँदै आएका अभ्यासलाई बेवास्ता गरी अनावश्यक भ्रममा नपर्न सबैसँग अनुरोध गरिएको छ ।

साथै, जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले तोकिएकै समयमा आमजनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा प्रतिनिधिसभा सदस्यको निर्वाचन गरी लोकतान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा सरकारको कामकाजमा सबैबाट सक्दो सहयोग हुन आवश्यक छ ।

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौँ – प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ कुलेश्वरमा लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।” पक्राउ परेका परियारसहितलाई प्रारम्भिक अनुसन्धान गर्दा भारतको रक्सौल हुँदै काठमाडौँसम्म लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गर्दै आएका पाइएको जनाउँदै उहाँले यस कार्यको योजनाकार भारतीय नागरिक यादव रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट डायजेपाम इन्जेक्सन दुई हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन दुई हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन दुई हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम) दुई हजार ७०० थान तथा मोबाइल फोन १० थान बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

चार लेनको मादी पुल अन्तिम चरणमा, २६ प्रतिशतमात्र काम बाँकी

दमौली (तनहुँ) – मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उहाँले भन्नुभयो, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

तीन सय १५ मिटर लामो पुलमा छवटा स्पान रहनेछ । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उहाँका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उहाँले भन्नुभयो, “मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।”

रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । कालोपत्र सबै सकिएको बताउँदै उहाँले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गर्नुभयो । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताउनुभयो ।

निर्माण कम्पनी व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने जानकारी दिनुभयो । उहाँका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक एक सय ५० कामदार खटाइएको छ ।

छवटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको उहाँले जानकारी दिनुभयो । पुलको दायाँबायाँ पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।”

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

काठमाडौँका पाँच वटा फर्मलाई जरिवाना

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास टे«डर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन टे«डर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ ।

शिक्षाका लागि ठूलो रकम विदेशिदै, पढ्नका लागि मात्र बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोडले घाटामा रहेको थियो ।

दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन – पूर्वउपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका उहाँले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताउनुभयो ।

“दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन”, पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, “जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ ।” उहाँले सविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेकामा पूर्वउपराष्ट्रपति पुनले जोड दिनुभयो । “नेपालमा केही हुँदैन, युवाको भविष्य छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “त्यो अन्यन्त गलत र भ्रम हो ।”

अहिलेको प्रयासले मात्र नेपाललाई वैज्ञानिक समाजवादमा पु¥याउन नसिकने पूर्वउपराष्ट्रपति पुनले बताउनुभयो । वामपन्थी शक्तिलाई ध्रुवीकरण नगरी समाजवादमा पुग्न नसकिने भएकाले टुटफुटमा रहेका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नुपर्ने उहाँको धारणा छ । पार्टीले कमजोर आर्थिक अवस्था भएका जनताको जीवनस्तर उकास्दै लगेर समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई ठूलो धक्का दिएको पूर्वउपराष्ट्रपति पुनको भनाइ छ । उहाँले भन्नुभयो, “जेनजीले उठाएका मुद्दा कार्यान्वयनमा हामी सङ्र्घषरत छौँ ।”

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताउनुभयो । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उहाँले भन्नुभयो, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौं ।”

केन्द्रले एक निर्वाचन क्षेत्रबाट तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले धेरै जनाको नाम पठाएकाले प्राप्त भएका सबै नाम केन्द्रमा पठाइने सभापति शर्माले बताउनुभयो । निर्वाचनमा जित्ने सम्भावना भएका, मतदातामाझ लोकप्रिय, पार्टीमा योगदान पु¥याएको र सक्षम व्यक्तिकाबारेमा रायसहित केन्द्रमा नाम सिफारिस गरिने उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ निर्वाचन क्षेत्र छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकीमा कांग्रेसले १० स्थानमा जितेको थियो ।

औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्षसमेत रहनुभएकी कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सोमबार साँझ प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम्पन्न बैठकमा प्रतिष्ठानका महत्त्वपूर्ण नीति, कार्यक्रम र संरचनात्मक विषयमा आवश्यक निर्णय गरिएको छ । प्रधानमन्त्री स्वयं अध्यक्ष रहने प्रतिष्ठानमा कार्यकारी उपाध्यक्ष र सदस्य सचिव नियुक्त हुने व्यवस्था छ । प्रतिष्ठानमा हाल उपाध्यक्ष रेशम गुरुङ र सदस्य सचिव ज्ञानेन्द्र पुन हुनुहुन्छ ।

प्रधानमन्त्रीले लोपोन्मुख, सीमान्तकृत, पिछडिएका तथा पिछडिएका अवस्थामा रहेका सबै आदिवासी जनजातिको उत्थान, संस्कृति संरक्षण तथा प्रवर्द्धनमार्फत देशको विविधता उजागर गर्दै पर्यटन प्रवर्द्धनमा योगदान दिनुपर्नेमा जोड दिनुभयो । उक्त बैठकले प्रतिष्ठानको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का संस्थागत प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि उद्देश्य पूरा हुने कार्यक्रम, योजना तथा नीति तय गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानमा रहेका कर्मचारी दरबन्दीमा संशोधन गर्ने निर्णय पनि गरेको छ । हाल चार सहसचिव, पाँच उपसचिव र १० अधिकृतसहित ५२ जनाको दरबन्दी रहेकामा अब दुई सहसचिव, चार उपसचिवसहित ४२ जनाको दरबन्दी कायम गर्नेगरी कर्मचारी विनियमावली संशोधन गर्ने निर्णय भएको छ ।

त्यस्तै, तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको २२ वटा लोपोन्मुख थर भएका जातिलाई छुट्टै जनजातिमा सूचीकृत गर्ने प्रस्तावका सन्दर्भमा ती थर हाल सूचीकृत ६० जनजातिभित्रकै रहेको बैठकले पुष्टि गरेको छ । बैठकमा प्रतिष्ठानले आव २०८३/८४ का लागि न्यूनतम रु २६ करोड बजेट आवश्यकपर्ने प्रारम्भिक योजना तथा कार्यक्रम प्रस्तुत गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा अर्थमन्त्रीसमेत रहनुभएका रामेश्वर खनाल र प्रधानमन्त्री कार्कीले प्रतिष्ठानको कामको औचित्य पुष्टि भएमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू, अर्थ तथा संस्कृति मन्त्रालयका सचिव, प्रज्ञा–प्रतिष्ठानका कुलपति, विभिन्न जातीय सङ्घ–संस्थाका प्रतिनिधि तथा परिषद् सदस्यको सहभागिता रहेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसअघि वर्षमा एकपटकमात्रै बस्दै आएको सञ्चालक परिषद् बैठक अबदेखि वर्षमा दुईपटक बस्ने निर्णय भएको र यस वर्षदेखि प्रतिष्ठानले आवश्यक बजेट सरकारबाट प्राप्त गर्ने विश्वास रहेको सदस्य सचिव पुनले जानकारी दिनुभयो ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कुन देशको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक दलले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ । संविधान प्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलले सोहीअनुसार उम्मेदवार छनोट गर्ने गरिन्छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिएर समानुपातिकतर्फ सहभागी नभएको देखिएको छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन् । उनीहरूका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ । यस्तै, प्रत्यक्षतर्फ कूल ११४ राजनीतक दल दर्ता भएका छन् ।

आयोगले तोकेको कार्यविधि पूरागरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिन्ह लिइ १२ राजनीतिक दलले दल दर्ता गराएका छन् । आयोगका अनुसार प्रत्यक्ष मात्रै सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी छन् ।

यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी छन् । यी राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने भएका छन् ।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय दलले भने अर्को दलको निर्वाचन चिन्हमा समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन् ।

शितल भइन् मिसेस नेपाल आइडल २०२५

काठमाडौं। यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन्। सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज चुम्न सफल भएकी हुन्।

कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी हुन सफल भएका थिए। हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको नवौं संस्करण हो।

करिव सवा दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्षमता अभिवृद्धि, वौद्धिक विकासलगायतका विषयमा तालिम लिएका थिए।

कोरियोग्राफर सुब्बाले महिलाहरुसँग मिल्दो गीतमा सुरुमै आकर्षक नृत्य गराएकी थिइन् भने क्रमशः परिचयात्मक चरण, वेस्ट ड्रेस चरण, प्रश्नोत्तर र क्राउनिङ चरणहरुमा सम्पूर्ण प्रतियोगीहरुलाई अब्बल गराउन तयारी पारी प्रस्तुत गराएकी थिइन्। व्यक्तिगत र पारिवारिक माहोलबाट बाहिर निस्केर यो प्रतिभा प्रस्फुटनको मञ्चसम्म आइपुगेका विवाहित महिलाहरु निकै प्रफुल्ल देखिन्थेकोरियोग्राफर सुब्बाका अनुसार प्रतियोगीहरुले निकै मेहनत गरेको र आँखै सामु आफूले उनीहरुको परिवर्तित स्वरुप देखेकोमा आफूलाई खुशी लागेको बताइन्।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो। जसमा मोस्ट डिसेन्ट शितल याक्सो लिम्बु, मोस्ट स्मार्ट अन्जु थापा मगर, वेस्ट ट्यालेन्ट नितु सिंह ठकुरी, वेस्ट कम्प्लेक्सन रोजिना वैद्य, मोस्ट कन्फिडेन्ट नुर्साङ तामाङ देउला, मोस्ट एक्टिभ दिनुसा सम्वाहाम्फे लिम्बु, मोस्ट डाइनामिक मनु लिम्बु, मोस्ट ग्रेसफुल ललिताकुमारी खड्का बान्तवा, मोस्ट प्यासाेनेट निता श्रेष्ठ रिमाल, मोस्ट डिलिजेन्ट स्वेता राई, वेस्ट डिसिपिलिन सृजनादेवी श्रेष्ठ, वेस्ट पर्सनालिटी अरुणा विश्वकर्मा, वेस्ट फोटोजेनिक भावना निरौला भट्टराई, मोस्ट डेडिकेटेड सुमित्रा बुढा गुरुङ,मोस्ट पपुलर श्वेता राई, पब्लिक च्वाइस राेजिना वैद्य, वेस्ट भिडियो च्वाइस सुमित्रा बुढा गुरुङ र वेस्ट मल्टिमिडिया विनर नुर्साङ तामाङ देउला हुन सफल भएका थिए।

कार्यक्रममा कलाकारहरुको आकर्षक प्रस्तुतीले माहोल बनाएको कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल २००० उषा खड्गी, अभिनेता तथा मोडल दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस मंगोल नेपाल २०२५ तथा फेसन डिजाइनर टिना आले कवर मगर र फेस अफ नेपाल २०२५ सदीक्षा श्रेष्ठ रहेका थिए।

विवाहित महिलाहरुको क्षमता उजागर गरी आफूभित्रको प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने कार्यक्रमको आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए।

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडाँै, २९ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गर्न आग्रह गर्नुभएको छ ।

आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा मन्त्री अर्यालले भन्नुभयो, “हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले चाहेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।”

जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जनाको भएको उहाँको भनाइ छ ।

अब पनि कुनै बहानामा जेनजीको आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज, अवमूल्यन गर्ने होभने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न नसकिने उहाँले बताउनुभयो । यसै आन्दोलनले गर्दा अब नवपुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो

काठमाडौँ – पुरातत्व विभागले हालसम्म नेपालबाट चोरिएका १९८ पुरातात्विक वस्तु विदेशबाट फिर्ता ल्याइएको जनाएको छ ।विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । युरोप, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट विभिन्न संस्थाबीचको सहकार्यबाट फिर्ता ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ । सोही नियममनुसार ती सम्पदा ल्याइएका हुन् ।

विभिन्न कालखण्डमा नेपालमा निर्मित भएका काष्ठकला, प्रस्तरकला, वास्तुकला, मूर्ति, तोरणलगायत प्राचीन सम्पदा चोरी भएर विदेशमा फेला परेपछि सूचनाका आधारमा दाबी गरिने र प्रमाण पु¥याएर फिर्ता गरिने गरिन्छ । फिर्ता गरिएका कतिपय सामग्री सम्बन्धित स्थानमा विधिपूर्वक प्रतिस्थापन गरिँदै आएको छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेका ती सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएको विभागले जनाएको छ ।

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौँ, २९ मङ्सिरः सरकारसँग वार्ता गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय समिति गठन गरेको छ ।सो अभियानले राखेका सम्बोधन गर्न सकिने मागबारे छलफल गर्न सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेसँगै अभियानले पनि वार्ता टोली गठन गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाभियानले केन्द्रीय सचिव प्रेमदीप लिम्बूलाई वार्ता समितिका संयोजक र सदस्यहरूमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापा मगरलाई राखेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आइतबार मात्रै सरकारले आगामी २ पुसमा वार्ता गर्ने भनी भनेको छ, हामीले पनि छलफलका लागि वार्ता टोलीको नाम टुङ्गो लगाएर पठाएका छौँ ।” अभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेलगायत विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताउनुभयो ।

आज साँझ ८ः३० बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा, २९ मङ्सिरः मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य ललिता दास ‘विद्रोही’ले आफू चढेको स्कुटीलाई एम्बुलेन्सले नियतवश ठक्कर दिएर घाइते बनाएको आरोप लगाउनुभएको छ ।

यही मङ्सिर २२ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते हुनुभएकीले दासले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै ठक्कर दिएर आफूलाई अपहरणको शैलीमा जनकपुर पु¥याइएको आरोप लगाउनुभएको हो ।

घटनामा उहाँको अनुहार, देब्रे आँखा र खुट्टामा चोटपटक लागेको छ । दासले भन्नुभयो, “सायद ज्यानै लिने उद्देश्यले ठक्कर दिइयो । घाइते भएपछि नजिकै रहेको लहानमा रहेका अस्पतालमा उपचार गराउनुपर्नेमा झण्डै १०० किलोमिटर टाढा जनकपुर लगियो ।”

उहाँका अनुसार दुर्घटनापछि एम्बुलेन्स चालकसहित चार जनाले स्कुटीको डिक्की फोडेर ‘ह्याण्डब्याग’मा रहेको करिब एक लाख ८५ हजार रुपैयाँ मूल्यको ‘विभो एक्स–२०० प्रो’ मोबाइल, दस आनाका दुई थान सुनका टप, एक थान घडी, नागरिकतालगायतका सामग्री लुटिएको छ ।

दासले सरकार गठनसम्बन्धी विषयमा चार–पाँच दिन जनकपुर बसेर २२ मङ्सिरमा लहान फर्किएको र सोही दिन अपरान्ह करिब चार बजे सप्तरीको सुरुङ–४ कदमाहा चोकतर्फ स्कुटीमा फर्किँदै गर्दा दुर्घटना भएको बताउनुभयो । “जग्गा किनबेचको विषयमा कुरा गर्न गएका थियौँ । फर्किने क्रममा चहका पुल नजिक दुर्घटना भयो” उहाँले भन्नुभयो ।

घटनाबारे साथीले गस्तीमा रहेको इलाका प्रहरी कार्यालय भेडियाको टोलीलाई जानकारी गराएपछि प्रहरीले ट्रयाकिङ गरी आफूलाई जनकपुर पु¥याइएको पत्ता लगाएको उहाँको भनाइ छ । “यदि प्रहरीको ट्रयाकिङ नभएको भए बाटोमै ज्यान लिने योजना थियो कि भन्ने शंका छ । यस विषयमा सम्बन्धित निकायमा जानकारी गराइसकेकी छु । प्रहरीलाई घटनाको सत्यतथ्य छानबिनका लागि आग्रह गरेकी छु”, प्रदेशसभा सदस्य दासले भन्नुभयो ।

प्रहरीमा दिइएको उजुरीअनुसार प्रदेशसभा सदस्य दाससहित दुई जना सवार प्र २–०३–०२१ प ०२९४ नम्बरको स्कुटीलाई महोत्तरीको बर्दिवास नगरपालिका–१० निवासी करिब ३२ वर्षीय रामजनम राय यादवले चलाएको प्रदेश २–०२–००१ च ०२२७ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो ।

दासले २६ मङ्सिरमा इलाका प्रहरी कार्यालय कडरबोनामा घाउजाँच केस फारमसहित चालक, एम्बुलेन्स धनीलगायतलाई अविलम्ब पक्राउ गरी घटनाको अनुसन्धान, उपचार खर्च, स्कुटी मर्मत खर्च तथा लुटिएको सरसामानको क्षतिपूर्ति दिलाउन माग गर्दै उजुरी दर्ता गराउनुभएको छ । उहाँका अनुसार स्कुटीलाई ठक्कर दिएपछि राति करिब ९ बजे जनकपुरधामको रामानन्द चोकस्थित जानकी हेल्थकेयर प्रालि एण्ड टिचिङ् हस्पिटलमा भर्ना गरिएको थियो, जुन कुरा भोलिपल्ट बिहान होस खुलेपछि मात्र उहाँलाई थाहा भयो ।

एम्बुलेन्सको स्वामित्व रहेको अस्पताल पक्षले स्कुटी आफैँ आएर ठोक्किएको दाबी गरिरहेको प्रहरीको भनाइ छ । कडरबोना प्रहरी प्रमुख प्रहरी निरीक्षक जितेन्द्र रायले भन्नुभयो, “दुवै पक्षका आ–आफ्नै दाबी छन् । सबै पक्षलाई एकै ठाउँमा राखेर बुझिसकेपछि मात्र यथार्थ खुल्नेछ ।”

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौँ – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप उचाइमा पु¥याउने उद्देश्यसहित काठमाडौँमा ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ आयोजना गरिएको छ ।

नेपालस्थित कोरिया गणतन्त्रको दूतावास र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा भएको सेमिनारले दुवै देशबीचको दीर्घकालीन मित्रता, विश्वास र बढ्दो आर्थिक सहकार्यलाई ऊर्जा क्षेत्रमा रणनीतिक साझेदारीमा रूपान्तरण गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) चिरञ्जीवी चटौतले नेपाल र कोरियाबीचको सहकार्य अब परम्परागत विकास सहायताबाट अघि बढेर रणनीतिक लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्र नेतृत्वमा आधारित साझेदारीतर्फ प्रवेश गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कोरियाली लगानी र प्रविधिको उदाहरणका रूपमा २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनालाई उल्लेख गर्नुभयो । कोरियाली कम्पनीहरूको नेतृत्वमा निर्माण भइरहेको यो आयोजना नेपालमा भएका ठूला प्रत्यक्ष वैदेशिक लगानीमध्येको एक हो ।

“अपर त्रिशूली–१ केवल जलविद्युत् आयोजना मात्र होइन, यो विश्वास, साझेदारी र साझा सफलताको प्रतीक हो । यसले नेपालको लगानी सम्भावना र कोरियाको विश्वस्तरीय इन्जिनियरिङ क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ”, सचिव चटौतले भन्नुभयो ।

उहाँले नेपाल सरकारद्वारा घोषणा गरिएको ‘ऊर्जा विकास दशक’ को महत्त्व र लक्ष्यसमेत प्रस्ट पार्नुभयो । सरकारको कार्ययोजनाअनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसमा १३ हजार ५०० मेगावाट स्वदेशी उपभोग र १५ हजार मेगावाट सीमापार व्यापारका लागि हो ।

नेपालको ऊर्जा रूपान्तरणका लागि कोरिया महत्त्वपूर्ण साझेदार भएको उल्लेख गर्दै सचिव चटौतले कोरियाली सहभागिताका मुख्यतः तीन प्राथमिक सम्भावनायुक्त क्षेत्र ठूला जलविद्युत् आयोजना निर्माण, प्रसारण पूर्वाधार तथा ग्रिड आधुनिकीकरण र हरित हाइड्रोजन र भविष्यका ऊर्जा समाधान रहेको औँल्याउनुभयो ।

“छिमेकी देशहरूसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएकाले लगानी दिनप्रतिदिन सुरक्षित बन्दै गएको छ । अपर त्रिशूली–१ को सफलतालाई दोहो¥याउन कोरियाली विकासकर्ता र वित्तीय संस्थालाई नेपालमा आमन्त्रण गर्दछौँ”, उहाँले भन्नुभयो,“नेपालमा प्रतिस्पर्धी लागतमा हरित हाइड्रोजन र हरित अमोनिया उत्पादनको ठूलो सम्भावना छ । हाइड्रोजन प्रविधिमा कोरियाको विश्वव्यापी नेतृत्व र नेपालको नवीकरणीय स्रोतलाई जोडेर विश्व ऊर्जा रूपान्तरणमा संयुक्त योगदान दिन सक्छौँ ।”

कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते–यङ ले कोरिया नेपालमा लगानी गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो । “कोरिया वित्तीय रूपमा मात्र होइन, प्राविधिक रूपमा पनि नेपाललाई सहयोग गर्न तयार छ । हामी अहिले पनि विभिन्न परियोजनामा काम गरिरहेका छौँ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन अझ सहज वातावरण आवश्यक छ”, उहाँले भन्नुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सेमिनार नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको प्रतिविम्ब भएको बताउनुभयो । नेपालको ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । अध्यक्ष कार्कीले भारत र बङ्गलादेशसँग भएका ऊर्जा व्यापार सम्झौताले आगामी १० वर्षमा १५ हजार मेगावाट निर्यातको बाटो खोलेको उल्लेख गर्दै यो लक्ष्य हासिल गर्न निजी क्षेत्र प्रमुख साझेदार रहेको स्पष्ट पार्नुभयो ।

“जलविद्युत् आयोजनाले बिजुली उत्पादन मात्र होइन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा पनि सामाजिक–आर्थिक योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो,“कार्कीले कोइका, कोरिया एक्जिम बैंकलगायत संस्थामार्फत कोरियाली सहयोगले नेपालको ऊर्जा पूर्वाधार र मानव संसाधन विकासमा योगदान दिएको छ ।”

भविष्यमा बी–टु–बी र सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमार्फत सहकार्य विस्तार, स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, हरित वित्त र नवप्रवर्तनमा ठूलो सम्भावना रहेको कार्कीको भनाइ छ ।

सेमिनारमा कोरियाली कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्दा देखिने सम्भावना र चुनौतीबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

नेपाल सरकारका पूर्वसचिव मधुप्रसाद भेटुवालले प्रस्तुतीकरण गर्दै देशका विभिन्न क्षेत्रमा रहेका जलविद्युत सम्भावना, उत्पादनदेखि प्रसारण प्रणाली हुँदै उपभोक्तासम्म विद्युत् पु¥याउने विभिन्न चरणमा वैदेशिक लगानीको ठूलो अवसर रहेको बताउनुभयो। उहाँले जलस्रोत क्षेत्रमा नेपाल सरकारको नीति तथा लगानीमैत्री वातावरणबारे समेत जानकारी गराउनुभयो ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको राष्ट्रसङ्घको भनाइ

यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । सहायता कटौति शरणार्थीहरूका लागि अनावश्यक अपमान भएको र यसका कारण उनीहरूको पीडामा तस्कर र राजनीतिज्ञहरूले खेलिरहेको बताउनुभएको छ।

निवर्तमान संयुक्त राष्ट्रसङ्घ शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले भन्नुभयो, “यो वर्ष विश्वका जबरजस्ती विस्थापितहरूका लागि लगातार सङ्कटहरूको विशेष आँधी थियो । सन् २०२५ को मध्यमा ११ करोड ७० लाख ३० हजार मानिस कुनै न कुनै रूपमा सहायताको आवश्यकतामा रहेको अनुमान गरिएको थियो।

उहाँले सुडान, युक्रेन, गाजा र म्यान्मामा गरिएको ‘व्यापक अत्याचार’ को निन्दा गर्दै सहायताको ‘अचानक, कठोर, गैरजिम्मेवार र अदूरदर्शी कटौति’ प्रति विश्व समुदाय र सङ्घसंस्थाको ध्यानाकर्षण गराउनुभयो । सहायतामा एक्कासी भएको कटौतिले शरणार्थी जीवन विताइरहेका मानिसहरूलाई अत्यधिक अनावश्यक पीडा दिएको पनि उहाँले दावी गर्नुभयो ।

पछिल्लो दशकमा जबर्जस्ती विस्थापितहरूको सङ्ख्या झन्डै दोब्बर भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि अन्तर्राष्ट्रिय सहायताका लागि गरिने रकममा कमी आएको छ ।

जेनेभामा द्विवार्षिक ‘विश्व शरणार्थी मञ्च प्रगति समीक्षा’ कार्यक्रमको उद्घाटन गर्दै ग्रान्डीले घृणाले नश्लवादी विभाजन फैलाउने विश्वव्यापी सन्दर्भको निन्दा गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) का प्रमुख ग्रान्डीले भन्नुभयो, “यो वर्ष शरणार्थीहरूलाई बारम्बार गाली गरियो, धेरै ठाउँहरूमा बलिको बोको बनाइयो, उनीहरूको पीडालाई तस्करहरूले नाफाका लागि प्रयोग गरे र राजनीतिज्ञहरूले उनीहरूको अवस्थालाई भोट प्राप्त गर्न प्रयोग गरे।”

जेनेभामा तीन दिने भेलामा एक हजार ८०० भन्दा बढी सहभागीहरू भेला भएका छन् र यसले विश्वभरका लाखौँ विस्थापित व्यक्तिहरूको लागि समाधान खोज्ने प्रयास गर्नेछ।

जेनेभास्थित यूएनएचसीआर अन्य धेरै संयुक्त राष्ट्रसङ्घीय निकायहरू जस्तै अन्तर्राष्ट्रिय सहायता कटौतीको कारण काम गर्न कठिनाई भोगिरहेको छ । यसले यस वर्ष करीव पाँच हजार रोजगारी गुमाएको छ, जुन यसको कार्यबलको एक चौथाइभन्दा बढी हो।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा परम्परागत रूपमा विश्वको शीर्ष दाता संयुक्त राज्य अमेरिकाले ठूलो मात्रामा विदेशी सहायतामा कटौती गरेको छ। विश्व बढ्दो विस्थापनको समस्यासँग जुधिरहेको छ।

यूएनएचसीआरको आर्थिक सहयोग यस वर्ष ३५ प्रतिशतले कटौती गरिएको छ ।यसअघि वासिङ्टनले युएनएचसिआरको बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । अन्य प्रमुख दातृ राष्ट्रले पनि आफ्नो बजेटमा कडाइ गरिरहेका छन् ।युएनएचसीआरको १० वर्षको नेतृत्वपछि ग्रान्डीले डिसेम्बरको अन्त्यमा पद छोड्दै हुनुहुन्छ ।

सन् २०१८ देखि २०२२ सम्म इराकका राष्ट्रपति रहेका ६५ वर्षीय बरहम सलेह शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको उच्चायुक्तका रूपमा नियुक्त हुनुहुने भएको छ ।

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अन्सारीले आधुनिक कतार र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य तथा जीविकोपार्जनका साथै यहाँको वातावरण संरक्षण र जलवायु परिर्वतनका असर घटाउन कतारले सहयोग गर्दै आएको बताउनुभयो ।

कतार च्यारिटीमार्फत नेपालका १० जिल्लामा विकासका विविध कार्यक्रम सञ्चालन भएका जानकारी दिँदै राजदूत अन्सारीले ती कार्यक्रमबाट १५ लाख नेपाली लाभान्वित भएका बताउनुभयो ।

आधुनिक कतारका संस्थापक शेख जसिम बिन मोहमद अल थानीको सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाइन्छ । यद्यपि विश्वका विभिन्न भागमा अवस्थित कतारी राजदूतावासहरूमा भने यो दिवस स्थानीय अनुकूलताका आधारमा मनाइन्छ ।

सन् १९७८ मा बेलायतबाट कतार स्वतन्त्र भएको हो । सन् २००६ सम्म उसले सेप्टेम्बर ३ मा स्वतन्त्रता दिवस मनाउँदै आएको थियो ।

कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

चितवन – चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । आज सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरुले माला, अबिर लगाएर फलफूल खुवाएर हात्तीको बिदाइ गर्नुभयो । हात्तीलाई आज साँझ भैरहवाका लागि पठाइने छ भने पुस २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने छ ।

विदेश पठाउन लागिएका हात्तीमा सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद रहेका छन् । हात्तीसँगै माउतेहरू रुद्रकलीका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार जाने कार्यक्रम रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तका अनुसार दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरु गएर अध्ययन गरेपछि हात्ती पठाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

यी दुई हात्ती जन्मिएदेखि स्याहारसुसार गर्दै आउनुभएका हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरी अहिले हात्ती विदेश पठाउन भनेपछि नरमाइलो महसुस भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुत्केरी हुँदादेखि स्याहारसुसार गरेर, तालिम गराएर निकुञ्ज पोष्टमा पठाइएको हो । मायाँ लाग्छ । विदेश पठाउँदा नरमाइलो महसुस भइरहेको छ”, उहाँले भन्नुभयो, “माथिको आदेशअनुसार पठाउनुप¥यो । जे होस् राम्रो होस् भन्ने आफ्नो चाहना रहेको छ ।”

रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले पनि विगत चार वर्षदेखि स्याहार हात्ती अर्को देश पठाउन लाग्दा दुःख लागेको बताउनुभयो ।

यहाँबाट बिदाइ गरिएका हात्तीलाई ट्रकमा राखेर भैरहवा विमानस्थल पु¥याइने छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी कतार दुतावासलाई हस्तान्तरण गरिने जनाइएको छ । कतारको दोहास्थित अलखोर पार्ककको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिनुभयो ।
यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । पन्तका अनुसार पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छ वटाको मृत्यु भएको छ ।

नेपालमा हाल सरकारी तवरबाट पालिएका १०५ वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा ५८ वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ । यस्तै, नेपालमा निजी क्षेत्रबाट पालिएका ७३ वटा हात्ती छन् भने जङ्गली हात्ती ४०० भन्दा बढी भएको अनुमान गरिएको छ ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही आधारमा कतार सरकारको कूटनीनिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो ।

आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उहाँको भनाइ छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक ती संस्थाका बारेमा निर्णय हुने आयोगले स्पष्ट पारेको छ ।

यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’

काठमाडौँ – क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन् ।

दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भयो । फाइनलमा लायन्स छ विकेटले विजयी हुँदै च्याम्पियन भयो । रोयल्सले भने दोस्रोपटक पनि उपविजेतामै चित्त बुझायो ।

टस जितेर पहिला ब्याटिङ गरेको रोयल्स १९ दशमलव एक ओभरमा ८५ रनमा अलआउट भयो । जवाफमा लायन्सले नौ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पहिलो संस्करणको फाइनलमा पनि रोयल्स जनकपुर बोल्ट्ससँग पाँच विकेटले स्तब्ध भएको थियो ।

च्याम्पियन बनेसँगै लायन्सले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार पायो । रोयल्सले भने रु ५१ लखमा चित्त बुझायो । यस्तै, प्रतियोगितामा तेस्रो भएको विराटनगर किङ्सले रु २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले रु १५ लाख पुरस्कार पायो ।

लायन्सका कप्तान पौडेलले कार र मोटरसाइकल जिते

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीलाई च्याम्पियन बनाउनुका साथै उत्कृष्ट खेल्दै कार र मोटरसाइकल जितेका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन निर्णायक रह्यो । ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै रोहितले कार पाए । उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । यो नेपालको तर्फबाट सर्वाधिक रन हो । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । उनी उत्कृष्ट ब्याटरसमेत हुँदै प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर बाइक पाए ।

यसका साथै प्रतियोगिताभर १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त (विराटनगरका सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहोरा) शीर्ष स्थानमा रहे, तर कम ‘इकोनोमी’का कारण सन्दीपले सर्वोत्कृष्ट बलर पुरस्कारसहित बाइक पाए । बोहरा ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ भए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन भए । उनले रु पाँच लाख पुरस्कार जिते । लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदा लुम्बिनीकै शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै बाइक हात पारे ।

गत वर्ष सुदूपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका थिए । मोटरसाइकल जनकपुरका ललित राजवंशीले हात पारेका थिए ।

‘ह्याट्रिक’ गर्ने बलरमा रोहित र शाहब

यो सिजनमा दुई बलरले मात्रै ह्याट्रिक गर्न सके । दुवै नेपाली बलर लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेल र काठमाडौँ गोर्खाजका शाहब आलम हुन् ।

रोहितले फाइनलमा सुदूरपश्चिमविरुद्ध ‘ह्याट्रिक’सहित तीन विकेट लिएका थिए । यसअघि काठमाडौँ गोर्खाजका आलमले यो सिजनमा पहिलो ‘ह्याट्रिक’ गरेका थिए । पोखरा एभेन्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले ‘रेकर्ड’ राखेका थिए । शाहब एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

यस सिजनमा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै, एकै खेलमा चार विकेट लिने खेलाडीमा भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगरका कप्तान सन्दीप लामिछाने, पोखरा एभेन्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहे ।

एनपिएलमा ५०० रन कटाउने एकमात्रै खेलाडी रोहित

एनपिएलको दुई सिजन सम्पन्न हुँदा ५०० रन कटाउने एकमात्रै ब्याटर पनि रोहित पौडेल बनेका छन् । दुवै सिजनमा गरेर १७ खेलबाट उनले ५५५ रन बनाएका छन् । उनले ५०० रन कटाउने पहिलो नेपाली खेलाडीको ‘रेकर्ड’ पनि राखे ।

उनलाई सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले ४९९ रन बनाएर पछ्याएका छन् । यसअघि चितवन राइनोजका विदेशी खेलाडी रवि बोपराले ५०० रन पूरा गरेका थिए । उनले १५ खेलमा ५२३ रन बनाएका थिए । यस्तै, सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी १८ खेलमा ३८९ रन बनाएर तेस्रो स्थानमा छन् ।

तीन शतकको कीर्तिमान विदेशी खेलाडीका नाममा

दोस्रो सिजनसम्म तीन शतक बनाउने कीर्तिमान बने । दोस्रोमा दुई र गत संस्करणमा एकमात्रै शतक जोडिएको थियो । एनपिएलमा जोडिएका सबै शतक विदेशी खेलाडीका नाममा छन् ।

दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन र कर्णाली याक्सका मार्क वाटले मात्रै शतक प्रहार गरे । रोसिङ्टनले कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । ५८ बल खेलेका एडम १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । एडम इङ्ग्ल्याण्डका हुन् ।

यस्तै, कर्णाली याक्समा अनुबन्ध स्कटल्याण्डका मार्क वाट दोस्रो संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले नौ विकेटले जितेको थियो । जसमा वाट ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । वाट सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत बने ।

पहिलो संस्करणको एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टोलीमा आवद्ध गोउसले लुम्बिनीविरुद्ध शतक जोडे । गोउसले ५४ बलमा शतक पूरा गरेका हुन् । उनी १०४ रनमा अविजित रहे ।

अर्धशतकमा पनि विदेशीकै दबदबा

यस सिजनमा ३६ अर्धशतक प्रहार भए । जसमा २९ खेलाडी सामेल छन् । २९ खेलाडीमध्ये नौ नेपाली खेलाडीले मात्रै अर्धशतक हिर्काउन सकेका छन् । सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले दुई, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई दुई अर्धशतक जोडेका छन् ।

यस्तै, इशान पाण्डे, विराटनगर किङ्सका लोकेश बम, बसिर अहमद, चितवनका अर्जुन साउँद, काठमाडौंका भीम सार्की,जनकपुरका अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।

विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपराले तीन, पोखराका एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काए ।

यसैगरी सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, विराटनगर किङ्सका साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका डेविड मलान, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकतले एक÷एक अर्धशतक जोडे ।

छिटो अर्धशतकमा भीमको रेकर्ड

काठमाडौँ गोर्खाजका भीम सार्कीले यो सिजनमा छिटो अर्धशतक हिर्काउने रेकर्ड राखे । सार्कीले पोखरा एभेन्जर्सविरूद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए । उनी कम बलमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बने ।

यसका साथै विराटनगर किङ्सका फाफ डु प्लेसिस र सुदूरपश्चिम रोयल्समा आबद्ध खेलाडी हर्मित सिंहले पनि १९ बलमा अर्धशतक जोडेका थिए । गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ ।

सर्वाधिक विकेट लिनेमा नेपाली बलर र रनकर्तामा विदेशी

प्रतियोगिताभर सर्वाधिक विकेट लिने शीर्ष तीन बलरमा सबै नेपाली रहेका छन् । विराटनगरका कप्तान लामिछाने, सुदूरपश्चिमका बोहरा र लुम्बिनी लायन्सका मल्लले समान १७÷१७ विकेट लिएका छन् ।

बलिङ इकोनोमीका हिसाबले सन्दीप पहिलो, अभिनाश दोस्रो र शेर तेस्रो नम्बरमा पुगेका हुन् । सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा विदेशी अटाउदना त्यसपछि दोस्रो र तेस्रो नम्बरमा भने नेपाली ब्याटर छन् ।

पोखराका एडम रोसिङटन ३२३ रन बनाए र सबैभन्दा बढी रन बनाउनेको पहिलो नम्बरमा छन् । उनले सात खेलबाट एक शतक र दुई अर्धशतकको मद्दतमा ३२३ रन बनाएका हुन् ।

दोस्रो नम्बरमा लुम्बिनीका कप्तान रोहित पौडेल छन् । उनले १० खेलबाट २७६ रन जोड्दै दोस्रो नम्बरमा पुगेका हुन् । तेस्रो नम्बरमा सुदूरपश्चिमका विनोद भण्डारी रहेका छन् । भण्डारी नौ खेलबाट दुई अर्धशतकको मद्दतमा २६४ रन जोड्दै तेस्रो नम्बरमा अटाएका हुन् ।

कीर्तिमानी उच्च र खराब स्कोरमा विराटनगर

एनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोलीमा विराटनगर किङ्स अगाडि छ । उसले जारी सिजनमा पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा पोखरा रहेको छ । पोखराले कर्णालीका विरुद्ध २०१ रन जोडेको थियो ।

यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा पनि विराटनगर नै रह्यो । सुदूरपश्चिमविरुद्धको पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । यो स्कोर सबैभन्दा कम रनमा अलआउट हुने रेकर्ड बन्यो ।

सबैभन्दा बढी रनअन्तरले जित्ने सुदूरपश्चिम

दोस्रो संस्करणमा सबैभन्दा ठूलो रनअन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स बनेको छ । सुदूरपश्चिम रोयल्सले विरानटनगर किङ्सलाई ७७ रनको फराकिलो अन्तरले हराएको थियो ।

दोस्रो ठूलो रनअन्तरको जित विरानगटर किङ्सको नाममा रहेको छ । विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

यसैगरी, तेस्रो ठूलो रनअन्तरको जित काठमाडौँको नाममा रह्यो । काठमाडौँले पनि चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । एनपिएलको पहिलो संस्करणमा भने सबैभन्दा ठूलो रनअन्तरको जित सुदूरपश्चिम रोयल्सले हासिल गरेको थियो । सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो ।

एनपिएलको दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई नै सबैभन्दा ठूलो रनअन्तरले हराउँदै कीर्तिमान बनायो । दोस्रो संस्करणमा विकेटका आधारमा सबैभन्दा ठूलो अन्तरको जित कर्णाली याक्सको नाममा रह्यो । कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले हरायो ।
एनपिएलको पहिलो संस्करणमा भने विकेटका आधारमा ठूलो अन्तरको जित पोखरा एभेन्जर्सको नाममा रहेको थियो । पोखराले लुम्बिनी लायन्सलाई नै १० विकेटले हराएको थियो । पहिलो र दोस्रो दुवै संस्करणमा विकेटका अधारमा सबैभन्दा ठूलो अन्तरको हार ब्यहोर्ने टोली लुम्बिनी बन्यो ।
दोस्रो संस्करणमा सबैभन्दा कम रनअन्तरको जित भने कर्णाली याक्सले हासिल ग¥यो । कर्णालीले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई केवल तीन रनले हराएको थियो ।

प्रतियोगितामा पहिलो विकेटका लागि चितवनका अर्जुन साउँद र डेभिड मलानले जनकपुरविरुद्ध ११२ र दोस्रो विकेटका लागि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध १३२ रनको उच्च साझेदारीको रेकर्ड छ ।

यस्तै, यस सिजनमा सबैभन्दा बढी क्याच लिने खेलाडीमा विराटनगरका शमूएल डेली हेजलेट र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी रहे । दुबै खेलाडीले ११÷११ क्याच समाते । यसका साथै सुदूरपश्चिमका विकेटविकर विनोद भण्डारी सात क्याच र तीन स्टाम्पिंग गरेर १० जनालाई आउट गराएका छन् ।

कर्णालीका मार्क वाटले प्रतियोगिताभर सबैभन्दा बढी २१ छक्का हिर्काए । सबैभन्दा बढीपटक शून्यमा अर्थात डकआउट हुनेमा सुदूरपश्चिमका जोश ब्राउन,लुम्बिनीका सुमित महर्जन,जनकपुरका आसिफ शेख, लुम्बिनीकै सन्दीप जोरा रहेका छन् । यी सबै खेलाडी तीन÷तीन पटक डकआउट भएका खराब रेकर्ड छ ।

शेर मल्ल लगातार दोस्रोपटक ट्रफी उचाल्ने खेलाडी बने । गत संस्करणमा जनकपुर खेलेर च्याम्पियन बनेका शेर यसपटक लुम्बिनीबाट खेलेर उपाधि उचाले ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । लुम्बिनी च्याम्पियन बन्दा सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । विराटनगर तेस्रो र काठमाडौँले चौथो स्थानमा चित्त बुझायो ।

गत वर्षको विजेता जनकपुर एक खेल मात्रै जितेर पुछारमा रह्यो । चितवन दुई खेल जितेर सातौँ, समान दुई खेल जितेको कर्णाली याक्स छैटौँ, तीन खेल जितेको पोखरा पाँचौँ स्थानमा पुग्यो ।

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत्रकारलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ।

गत वर्ष हसिनाको निरंकुश सरकार र उहाँको अवामी लिगलाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहपछि पहिलो मतदानअघि भएको यो पक्राउपछि एक प्रमुख अधिकारवादी समूहले चासो व्यक्त गरेको छ।

‘टक शो’ र सामाजिक सञ्जालहरूमा प्रचारबाजी गरेको र अवामी लिगको पुनस्र्थापनाको षड्यन्त्र गरेको आरोपमा अन्य तीन जनासँगै वरिष्ठ पत्रकार अनीस आलमगीरलाई आतंकवाद विरोधी ऐन अन्तर्गत पक्राउ गरिएको हो ।

अन्तरिम सरकारले मे महिनामा हसिनाको अवामी लिगलाई आतङ्कवाद विरोधी ऐनमा संशोधन गर्दै प्रतिबन्ध लगाएको थियो, जसलाई ‘ह्युमन राइट्स वाच’ले ‘कठोर’ भनेर निन्दा गरेको थियो।

राजधानी ढाकास्थित ‘उत्तरा वेस्ट पुलिस पोस्ट’का इन्चार्ज काजी मोहम्मद रफिकले भन्नुभयो, “अनीस आलमगिरलाई राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको हो ।”

आलमगिरसँगै अन्य तीन जनाको नाम प्रहरी कागजातमा उल्लेख गरिएको छ। पक्रउ पर्ने अन्य व्यक्तिमा अभिनेत्री मेहर अफरोज शान पनि रहनुभएको छ। अधिकारवादी सङ्गठन ऐन ओ सलिश केन्द्रले पक्राउको निन्दा गरेको छ ।

वक्तव्यमा भनिएको छ, “आतङ्कवादी गतिविधि रोक्नका लागि मूल रूपमा बनेको कानुनको प्रयोग गर्नु अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता कानुनको विरुद्धमा भएको र यो लोकतान्त्रिक राज्यको आधारभूत सिद्धान्त विपरीत हो।”वक्तव्यमा भनिएको छ, “यो अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो।”

बङ्गलादेशमा लामो समयदेखि प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने काम हुँदै आएको छ। हसिनाको कार्यकाल बङ्गलादेशमा मिडिया स्वतन्त्रताको लागि सबैभन्दा खराब अवधिको रूपमा चिह्नित गरिएको थियो।

‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ का अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रताका लागि १८० देशमध्ये बङ्गलादेश १४९ औँ स्थानमा रहेको थियो । यद्यपि यो सन् २०२४ को १६५औँ स्थानको तुलनामा केही तल झरेको हो ।

आरएसएफले रिपोर्टमा भनेको छ, “सन् २०२५ मा १३० भन्दा बढी पत्रकारहरूलाई ‘निराधार न्यायिक कारबाही’ को अधीनमा राखिएको छ र पाँच जनालाई हिरासतमा लिइएको छ।” यसलाई शेख हसिनाको पतनपछि भएको राजनीतिक प्रतिशोध भनिएको छ ।

पक्राउ परेका केही चर्चित पत्रकारहरूमा एकात्तोर टिभीका फरजाना रुपा, शकिल अहमद र मोजम्मेल बाबु तथा स्वतन्त्र पत्रकार शहरयार कबिर र भोरेर कागोज पत्रिकाका सम्पादक श्यामल दत्ता रहेका छन् ।

सुदूरपश्चिममा फरार ३४२ प्रतिवादी पक्राउ

सुदूरपश्चिम – कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएका हुन् । अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो ‘सर्च तथा स्विप अपरेशन’ सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले विभिन्न ठाउँबाट पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतसमक्ष पेस गरिएको जानकारी दिनुभयो । “यो मङ्सिर महिनाभित्र ३४२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “पक्राउ पर्नेमा फैसला भएर कैद तथा जरिवाना तिर्न बाँकी अदालतमा उपस्थित नहुने प्रतिवादी छन् ।”

फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । पक्राउ पर्नेमा लागुऔषध, बहुविवाह, बैंकिङ कसुरजस्ता मुद्दाका प्रतिवादी छन् ।

‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्छ’ – ऊर्जामन्त्री घिसिङ

धुलिखेल – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उहाँले विकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताउनुभयो ।

मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । “जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ”, उहाँले भनुभयो, “त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरु सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।”

कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धि ल्याउनका लागि आफैँ अनुशासित भएर लाग्न आवश्यक रहेको बताउनुभयो । अर्का केन्द्रीय सदस्य शङ्कर ढकालले पार्टी मध्यमार्गी धारबाट अगाडि बढ्ने र कुलमानको नेतृत्वमा विद्युत्को क्षेत्रमा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाएजस्तै अब देशलाई अगाडि बढाउन भूमिका खेल्ने धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष्य र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश बनाउनका लागि लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो पेसा र धर्म कलाकारिता भए पनि इमान्दार र लगनशील भएर धर्म पछ्याइरहँदा पनि परिवर्तनका लागि कलिला भाइबहिनीले राजनीतिक जागरणको बीउ रोपेकाले आफू पनि राजनीतिमा होमिएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामालगायतले धारणा राख्नुभएको थियो । उज्यालो नेपाल पार्टीको जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ । त्यस्तै युवा हेर्ने कमितिको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मा दिएको र समितिलाई पछि पूर्णताः दिइने पार्टीका केन्द्रीय सदस्य जितराम लामाले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौँ – पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन् ।

पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् । ती घटनामा रु तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।

पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ ।

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार गर्न बढ्दो दबाब आइरहेका बेला युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर र स्पष्ट समर्थन जनाउने अपेक्षा गरिएको छ । युरोपको शान्ति र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ युक्रेन, अमेरिका र युरोपेली पक्षबीच जारी शान्ति प्रयासहरू सोमबार पनि बर्लिनमा जारी रहेका छन् ।

अमेरिकी दूतहरू, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की तथा युक्रेनी र युरोपेली अधिकारीहरूबीचको शान्ति वार्ता बढ्दो रूपमा आक्रामक देखिएको रुसको सन्दर्भमा महादेशीय स्थायित्व सुरक्षित गर्ने प्रयासको अङ्गका रूपमा अघि बढाइएको हो ।

बर्लिनमा भइरहेको वार्ताको दोस्रो दिन स्थानीय समयअनुसार सोमबार दिउँसो सुरु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीच प्रमुख युरोपेली वार्ताकारहरूमध्ये एक मानिनुहुने फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब सोमबार बिहान बर्लिनको सहर क्षेत्रमा देखिनु भएको थियो ।

लगभग चार वर्षदेखि जारी युद्धको अन्त्य गर्ने आशाका साथ राष्ट्रपति जेलेन्स्की आइतबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग जर्मन सङ्घीय चान्सलरको कार्यालयमा भेटवार्तामा सहभागी हुनु भएको थियो ।

राष्ट्रपति ट्रम्प रुस–युक्रेन युद्धको छिटो अन्त्यका लागि दबाब दिँदै आउनुभएको र वार्तामा ढिलाइ हुँदा असन्तुष्टि व्यक्त गर्दै आउनुभएकाले वासिङ्टनले पछिल्ला महिनाहरूमा दुवै पक्षका मागहरूलाई समन्वय गर्ने प्रयास गर्दै आएको छ ।

सम्भावित शान्ति सम्झौताका क्रममा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको नियन्त्रण जस्ता विषयहरू प्रमुख अवरोधका रूपमा देखिएका छन्, जहाँ हाल ठूलो भूभाग रुसी सेनाको नियन्त्रणमा रहेको छ । करिब पाँच घण्टासम्म चलेको बैठकपछि अमेरिकी सरकारले आइतबार राति विशेष दूत विटकफको खाताबाट सामाजिक सञ्जालमा ‘धेरै प्रगति भएको छ’ भन्ने आशयको जानकारी सार्वजनिक गरेको थियो ।

यसअघि, अमेरिका तथा अन्य पश्चिमी राष्ट्रहरूले नाटो सदस्य राष्ट्रहरूलाई प्रस्ताव गरिने जस्तै सुरक्षा ग्यारेन्टी युक्रेनलाई उपलब्ध गराइएमा राष्ट्रपति जेलेन्स्कीले नाटो सदस्यताका लागि आफ्नो देशको प्रयास त्याग्न सक्ने सङ्केत दिनु भएको थियो । तर, युक्रेनले आफ्नो भूभाग रुसलाई सुम्पनुपर्ने अमेरिकी दबाबलाई भने निरन्तर अस्वीकार गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका प्रमुख सर्तहरूमध्ये डोनेट्स्क क्षेत्रको केही भागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राख्दै आउनु भएको छ ।

राष्ट्रपति पुटिनले युक्रेनको नाटो सदस्यताका प्रयासलाई मस्कोको सुरक्षाका लागि गम्भीर खतरा भन्दै सन् २०२२ को फेब्रुअरीमा सुरु गरिएको पूर्ण आक्रमणको मुख्य कारणका रूपमा व्याख्या गर्दै आउनु भएको छ । क्रेमलिनले कुनै पनि सम्भावित शान्ति सम्झौतामा युक्रेनले नाटो सदस्यताका लागि आफ्नो दाबी त्याग्नुपर्ने अडान राखेको छ । यस सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले पश्चिमी सुरक्षा आश्वासनहरू कानूनी रूपमा बाध्यकारी हुनुका साथै अमेरिकी कङ्ग्रेसबाट पनि समर्थित हुन आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

क्रेमलिनले सोमबार बर्लिन वार्ता सम्पन्न भएपछि अमेरिकी पक्षबाट विस्तृत जानकारी प्राप्त हुने अपेक्षा गरिएको जनाएको छ । क्रिसमससम्म शान्ति वार्ता टुङ्गिन सक्छ कि भन्ने प्रश्नमा राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले समयसीमा अनुमान गर्नु ‘धन्यवादहीन कार्य’ भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “म रुसी पक्षका लागि, राष्ट्रपति पुटिनका लागि मात्र बोल्न सक्छु । उहाँ गम्भीर शान्ति र गम्भीर निर्णयका लागि खुला हुनुहुन्छ तर समय तान्ने उद्देश्यका कुनै पनि चालप्रति खुला हुनुहुन्न ।”

यसैबीच, लन्डनमा बेलायतको विदेशी गुप्तचर संस्था एमआई–६ का नयाँ प्रमुखले सोमबार राष्ट्रपति पुटिनको विश्वभर अराजकता फैलाउने दृढ सङ्कल्पका कारण द्वन्द्वका परम्परागत नियमहरू पुनः लेखिँदै गएको र नयाँ सुरक्षा चुनौतीहरू सिर्जना भइरहेकोबारे चेतावनी दिने तयारी गर्नुभएको छ । एमआई–६ की प्रमुख ब्लेज मेट्रेवेलीले आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा बेलायतले ‘आक्रामक र विस्तारवादी’ रुसका कारण बढ्दो रूपमा अप्रत्याशित र आपसमा जोडिएका खतराहरूको सामना गरिरहेको बताउनु हुने अपेक्षा गरिएको छ ।

युद्धक्षेत्रमा ड्रोन आक्रमणहरू भने जारी छन् । युक्रेनी वायु सेनाका अनुसार आइतबारदेखि सोमबारसम्म रुसले विभिन्न प्रकारका १५३ वटा ड्रोन युक्रेनतर्फ प्रहार गरेको थियो । वायु सेनाले सोमबार बिहानसम्म १३३ वटा ड्रोन निष्क्रिय बनाइएको र थप १७ वटा ड्रोनले लक्ष्यमा क्षति पुर्‍याएको जनाएको छ । उता रुसमा, रक्षा मन्त्रालयले रातारात १३० वटा युक्रेनी ड्रोन खसालिएको र सोमबार बिहान ७ देखि ८ बजेको बीचमा थप १६ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएको छ । मस्को क्षेत्रमा मात्र १८ वटा ड्रोन खसालिएको बताइएको छ ।

सुरक्षाका कारण मस्कोका डोमोडेडोभो र झुकोभ्स्की विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकिएको थियो । क्षति र सम्भावित हताहतको विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन ।

युरोपेली राजनीतिक सन्दर्भमा, जर्मन चान्सलर फ्रेडरिक मेर्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरका साथमा युक्रेनलाई समर्थन गर्ने युरोपेली प्रयासहरूको नेतृत्व गर्दै आउनु भएको छ । उहाँले शनिबार भन्नुभयो, “युरोप र जर्मनीका लागि दशकौँदेखि कायम ‘प्याक्स अमेरिकाना’ अब धेरै हदसम्म समाप्त भएको छ ।” ‘प्याक्स अमेरिकाना’ भन्नाले दोस्रो विश्वयुद्धपछिको अमेरिकी प्रभुत्व र त्यसले ल्याएको सापेक्ष विश्व शान्तिलाई जनाउँछ ।

चान्सलर मेर्जले राष्ट्रपति पुटिनको उद्देश्य ‘युरोपको सीमामा मौलिक परिवर्तन ल्याउने र पुरानो सोभियत सङ्घजस्तै प्रभाव क्षेत्र पुनःस्थापना गर्ने’ रहेको चेतावनी दिनुभयो । “यदि युक्रेन ढल्यो भने, उहाँ त्यहीँ रोकिनुहुन्न”, उहाँले म्युनिखमा आयोजित पार्टी सम्मेलनमा चेतावनी दिनुभएको थियो ।

यसै क्रममा, राष्ट्रपति म्याक्रोनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत फ्रान्स ‘युक्रेन र युरोपको दीर्घकालीन सुरक्षा र सार्वभौमिकताको ग्यारेन्टी गर्ने बलियो र दिगो शान्ति निर्माणका लागि युक्रेनको पक्षमा छ र रहनेछ’ भनी प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यद्यपि राष्ट्रपति पुटिनले भने कुनै पनि युरोपेली मुलुकमाथि आक्रमण गर्ने योजना नरहेको दाबी गर्दै आउनुभएको छ ।

जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी

काठमाडौँ – नेपाल राष्ट्र बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारीअनुसार आइएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैङ्कलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको मार्गचित्रको मस्यौदा तयार गरिनेछ । साथै, उक्त रणनीतिलाई चरणबद्ध रूपमा कार्यान्वयनका निम्ति सोसम्बन्धी ढाँचासमेत तयार गरिने जनाइएको छ । “यसअन्तर्गत जलवायु वित्तको रणनीति तर्जुमा र कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैङ्कको र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका निम्ति आइएफसीले तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन हुनेछन्”, राष्ट्र बैङ्कले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । उक्त परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका निम्ति आइएफसी र राष्ट्र बैङ्कबीच विगतदेखि सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले नयाँ समझदारीबाट नेपालमा जलवायु वित्तको नीतिगत विकास र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, आइएफसीका व्यवस्थापक स्मिथले राष्ट्र बैङ्कसँगको साझेदारीबाट नेपालमा जलवायु वित्तको रणनीतिक विकास र कार्यान्वयन दिशामा परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा राख्नुभयो ।

एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीत/सङ्गीतका धुन सुनिन्छ । कार्यक्रम स्थलमा राष्ट्रियगान, लोक, आधुनिक, शास्त्रीय सङ्गीतको सुमधुर ध्वनी गुञ्जिरहेको सुनिन्छ ।

महाधिवेशन स्थल प्रवेश गर्ने बित्तिकै सुन्दर साजसज्जा देखिन्छन् । महाधिवेशन प्रतिनिधि हिँड्ने बाटो छुट्टै निर्माण गरिएको छ । महाधिवेशनस्थलका फूलबारीमा प्रजा परिषद्देखि सम्पूर्ण कम्युनिष्ट पार्टीको संस्थापकका तस्बीर र इतिहास लिखित ‘बोर्ड’ राखिएका छन् । महाधिवेशनस्थलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी गरी तीनै जनाको तस्बीर एकै ठाउँमा राखिएको छ ।

महाधिवेशन प्रतिनिधि हिँड्ने बाटो आसपासमा नेपाल कम्युनिष्ट पार्टीको ७६ वर्षको इतिहास झल्काउने सम्पूर्ण जानकारी राखिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरको तस्बिर पनि राखिएको छ ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि अनिता पाण्डेले महाधिवेशन स्थलको व्यवस्थापनमा स्वयम्सेवकको भूमिका प्रशंसनीय, सूचना प्रविधिको उच्चतम प्रयोग र नेपालको संस्कृति झल्किने सुन्दर सजावट लागेको बताउनुभयो ।

“विगतको महाधिवेशनभन्दा अहिलेको महाधिवेशन फरक छ, महाधिवेशन स्थलमा समग्र नेपालको संस्कृति झल्किने गरी स्टल तयार गरिएको छ,” उहाँले भन्नुभयो, “महाधिवेशनको उद्घाटन स्थलमा नै विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायणको मन्दिरलाई स्टेजमै सजाएको थियो, यहाँ पनि सुन्दर तरिकाले सजाइएको छ ।”

पाण्डेलाई मात्रै होइन झापाबाट प्रतिनिधि आउनुभएका गणेश ढकाललाई पनि महाधिवेशनस्थल अत्यन्तै सुन्दर तरिकाले सजाइएको र व्यवस्थित लाग्यो । “एमालेको महाधिवेशनस्थल सोचेभन्दा राम्रो, व्यवस्थित र भव्य लाग्यो,” उहाँले भन्नुभयो, “बस्न र कुराकानी गर्ने पर्याप्त ठाउँ छ, खाना पनि मिठो र सफा छ ।”

महाधिवेशन स्थलभरी पार्टीका झण्डा फरफराइरहेका छन् । महाधिवेशन प्रतिनिधिलाई स्वास्थ्य उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । महाधिवेशन स्थललाई व्यवस्थित र सभ्य बनाउन स्वयंसेवकहरु जताततै खटिएका छन् । खाजा र खानाका लागि पर्याप्त स्टलहरुको व्यवस्था गरिएको छभने त्यसमा पनि मुस्लिम समुदायका लागि छुट्टै स्टलको व्यवस्था गरिएको छ ।

महाधिवेशनस्थलभित्रको बगैँचामा बस्न, आन्तरिक भेटघाट र छलफलका लागि बस्ने खुल्ला स्थानको व्यवस्था गरिएको छ । महाधिवेशन स्थलमा सूचना प्रविधिको प्रयोग पनि गरिएको छ । विद्युतीय भोटिङ् मेसिन ९० वटा छन् । ‘म भोटिङ् मेसिनबाट मतदान गर्छु’ भनेर एउटा ठूलो कक्ष तयार पारिएको छ ।

महाधिवेशनको हल आकर्षक ढङ्गबाट सजाइएको छ । हल प्रवेश गर्ने स्थानमा स्वागतद्वार बनाइएको छ । प्रवेशद्वारमै प्रतिनिधिको ‘क्युआर’ परीक्षण गरेर मात्र भित्र जान सकिने व्यवस्था छ । जसले गर्दा प्रतिनिधिभन्दा बाहिरको मानिसलाई प्रवेश नदिने व्यवस्था मिलाइएको छ ।

यही मङ्सिर २७ गतेदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा महाधिवेशन स्थलको ठाउँ–ठाउँमा राखिएको छ । एमालेको महाधिवेशन स्थलमा एउटा छुट्टै रौनक छाएको छ ।

‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ – बालेन्द्र शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ ।

यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य रु दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिनुभयो । उहाँले रु ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको बताउनुभयो । दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उहाँले जानकारी दिनुभयो ।

रु पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ – केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड बराबर हो हालको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । गत कात्तिक मसान्तसम्ममा चालु खाता रु दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर रु तीन खर्ब १८ अर्ब ४० करोड बचतमा रहेको छ ।

पहिलो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा
३१ दशमलव ४ प्रतिशतले र अमेरिकी डलरमा २५ दशमलव ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ ।

यही अवधिमा निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर रू ९३ अर्ब ५० करोड बराबर पुगेको छ । त्यस्तै आयात १८ दशमलव ७ प्रतिशतले बढेर रू छ खर्ब नौ अर्ब ४५ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

पहिलो चौमासिकमा नेपाल सरकारको खर्च रु चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय तीन प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब २२ अर्ब ३८ करोडले बढेर रू ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशत अर्थात् रू ६५ अर्ब चार करोडले बढेर रू ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारितऔसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ७४ प्रतिशत र कर्जाको भारितऔसत व्याजदर सात दशमलव ३८ प्रतिशत रहेको छ ।

खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक

काठमाडौँ – गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६० प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः नौ दशमलव १० र तीन दशमलव ६५ प्रतिशत रहेको थियो ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकको औसत मुद्रास्फीति एक दशमलव ५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५९ प्रतिशत रहेको थियो ।

गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव २५, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ६१ र दुग्ध पदार्थ तथा अण्डाको एक दशमलव ९७ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४ दशमलव ४३, मरमसलाको सात दशमलव ८५ र दाल तथा गेडागुडीको पाँच दशमलव ३६ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव १७, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ ।

बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २३ प्रतिशतले घटेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव २६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८०, मधेस प्रदेशको एक दशमलव ७३, बागमतीको शून्य दशमलव ८१, गण्डकीको शून्य दशमलव ३७, लुम्बिनीको एक दशमलव २७, कर्णालीको एक दशमलव ०८ र सुदूरपश्चिमको शून्य दशमलव २६ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव १६, तराईको एक दशमलव २४, पहाडको शून्य दशमलव ८८ र हिमालको एक दशमलव ०६ प्रतिशत रहेको छ ।

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी हुलाक सेवालाई व्यावसायिक कार्ययोजनासहित अगाडि बढाइनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक छ ।” उहाँले ‘स्मार्ट हुलाक’ को कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारका पक्षमा पहल भइरहेको जानकारी दिँदै भन्नुभयो, “स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यसवर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट व्यवस्था भइसकेको छ ।”