नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
कैलाली । हरेक वर्ष नयाँ योजना घोषणा गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै कैलालीको धनगढी उपमहानगरपालिकाले प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति लिएको छ। स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिकको सहभागितासँग जोड्दै उपमहानगरले विकासलाई दिगो र समृद्धिलाई साझा लक्ष्य बनाउने अभ्यास गरिरहेको छ।
यसै रणनीतिअनुसार यहाँ ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘सन्ध्याकालीन बजार’, ‘महिला उद्यम बजार’ र ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ लगायतका कार्यक्रम सञ्चालनमा रहेका छन्। यी कार्यक्रमलाई सुरुआतदेखि नै प्राथमिकताका साथ अभियानकै रूपमा सञ्चालन गरिएको उपप्रमुख नन्दकला रानाले बताएका छन्।
भौतिक पूर्वाधार विकासका योजनाका साथै नागरिकको स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा र पर्यटन क्षेत्र जागरणका कार्यक्रमलाई जोड दिइएको छ। यसले सबै उमेर समूह, विविध क्षेत्र र आवश्यकता भएका नागरिकलाई अभियानमा जोड्ने काम गरेको छ। गत असारमा सम्पन्न १५औँ नगरसभाले पारित गरेको दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बजेटमा ती अभियानलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बताएका छन्।
घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा
उपमहानगरले सबैभन्दा बढी महत्त्व दिएको क्षेत्र स्वास्थ्य सेवा हो। यसअन्तर्गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा आएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ उपमहानगरको सबैभन्दा चर्चित कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ। यसले विशेषज्ञ चिकित्सकलाई अस्पतालबाट नागरिक तह अर्थात् वडासम्म पुर्याउन योगदान पुर्याएको छ।
स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीका अनुसार उपमहानगरका १९ वटै वडामा नियमित रूपमा सञ्चालन हुने क्लिनिकमा जनरल फिजिसियन, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञबाट सेवा प्रदान गरिन्छ। पाठेघरको मुखको क्यान्सर परीक्षण, इसिजी, भिडियो एक्स-रे, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणसमेत हुँदै आएको छ।
कार्यक्रमका सम्पर्क व्यक्ति कृष्ण बोहराका अनुसार स्थानीय तहको दोस्रो कार्यकालको सुरुआतदेखि नै अगाडि बढाइएको यस अभियानमार्फत असार मसान्तसम्म एक लाख ७२ हजार चार सय २७ जनाले सेवा लिएका छन्। तीमध्ये ३० हजारभन्दा बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन्। हालसम्म प्रयोगशाला सेवा ५९ हजार आठ सय छ जना, इसिजी सेवा १४ हजार एक सय १७ जना, भिडियो एक्स-रे सेवा आठ हजार छ सय ९१ जना र गर्भवतीसम्बन्धी सेवा २२ हजार तीन सय ९३ जनाले लिएका छन्।
आफ्नै वडामा सेवा उपलब्ध हुँदा ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर नागरिकलाई सबैभन्दा बढी सहज भएको छ। क्लिनिकबाट आर्थिक वर्ष २०८०/८१ मा ४६ हजार ५३ जना र २०८१/८२ मा ४१ हजार छ सय २२ जनाले सेवा लिएकामा गत आर्थिक वर्षमा ८० हजार सात सय ९३ जना लाभान्वित भएका छन्। उपमहानगरपालिकाले सरकारले दिएका औषधिबाहेक थप १९ प्रकारका औषधि निःशुल्क रूपमा नागरिकलाई उपलब्ध गराउँदै आएको छ।
सरसफाइलाई अभियान र आम्दानीसँग जोड्ने प्रयास
उपमहानगरले सरसफाइलाई केवल फोहर उठाउने कामका रूपमा मात्र नलिई स्थानीय आम्दानीको स्रोत बनाउने प्रयास गरिरहेको छ। ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत चार सयभन्दा बढी सरसफाइ समिति परिचालन गरिएका छन्। विद्यालय, समुदाय र विभिन्न सरकारी निकायसँग सहकार्य गरेर सरसफाइ गरिँदै आएको छ।
अव्यवस्थित बसोबासका कारण उत्पन्न डुबान समस्या समाधानका लागि सात वटा जेसिबीमार्फत नाली खोल्ने र डुबानमा परेका घरबाट पानी फाल्न पम्प प्रयोग गर्ने काम पनि अभियानकै अङ्गका रूपमा कार्यान्वयन भइरहेको छ।
सहरी तथा पूर्वाधार विकास शाखा प्रमुख दिजराज भट्टका अनुसार सूक्ष्म फोहर वर्गीकरण केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ, २०८१/८२ मा ४२ लाख रुपैयाँ र २०८२/८३ मा करिब ७२ लाख रुपैयाँ आम्दानी हुने अवस्था बनेको छ। हाल दैनिक सङ्कलन हुने करिब ४३ टन फोहरमध्ये झण्डै ७० प्रतिशत पुनः प्रयोगका लागि व्यवस्थापन भइरहेको छ। राम्रो काम गर्ने सरसफाइ समितिलाई पाँच लाख रुपैयाँ र विद्यालयलाई १० लाख रुपैयाँसम्म पुरस्कार दिने गरिएको छ भने फोहरजन्य क्रियाकलाप गर्नेलाई दण्डित पनि गरिन्छ।
उज्यालो धनगढी र सामाजिक सुरक्षाको दायरा विस्तार
‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत मुख्य सडक, वडा केन्द्र, धार्मिकस्थल र व्यापारिक क्षेत्रमा ५७ वटा हाइमास्ट लाइट जडान गरिएका छन्। छ लेन सडकमा स्वचालित सडकबत्ती प्रणाली सञ्चालनमा ल्याइएको छ भने हुलाकी सडक तथा भित्री सडकमा एक हजार नौ सयभन्दा बढी सडकबत्ती जडान भइसकेका छन्। यसले ‘सन्ध्याकालीन बजार’ सञ्चालनको आधार तयार गरेको छ।
सामाजिक सुरक्षातर्फ ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउने गरिएको छ। यसैगरी घरमा हुने सुत्केरी दर घटाई आमा र नवजात शिशुको सुरक्षाका लागि ‘आमा बचाऔँ’ अभियानअन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। लागुऔषध दुर्व्यसन रोकथामका लागि १९ वटै वडाका ६८ सामुदायिक र एक सय २५ संस्थागत विद्यालयमा जनचेतनामूलक कार्यक्रम चलाउनुका साथै वडा नम्बर १४ फूलबारीमा ‘आसरा सुधार केन्द्र’ स्थापना गरिएको छ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानमार्फत प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न थालिएको छ। स्थानीय अर्थतन्त्र र विकासलाई अभियानका रूपमा अघि बढाउने धनगढीको यो अभ्यास देशभरका स्थानीय तहका लागि नागरिककेन्द्रित विकासको राम्रो उदाहरण बन्न सक्छ।
