`

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी हुलाक सेवालाई व्यावसायिक कार्ययोजनासहित अगाडि बढाइनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक छ ।” उहाँले ‘स्मार्ट हुलाक’ को कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारका पक्षमा पहल भइरहेको जानकारी दिँदै भन्नुभयो, “स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यसवर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट व्यवस्था भइसकेको छ ।”

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ ।

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै रु एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषि मन्त्री परियार

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित ‘नेपाल फुड फोरम–२०२५’ को उद्घाटन सत्रमा उहाँले व्यवसायीकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कृषि लगानी दशक (२०२४–२०३४) को घोषणा मार्फत प्रदर्शित सरकारको प्रतिबद्धतालाई पनि दोहो¥याउन चाहन्छु, जसको उद्देश्य कृषि वित्तपोषण बढाउने र संरचनात्मक आर्थिक रूपान्तरणलाई तीव्र पार्ने हो, यस दशकको दृष्टिकोण र उद्देश्यहरूलाई अगाडि बढाउन सरकार तयार छ ।”

मन्त्रालयले प्रभावकारी स्रोत परिचालन र लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्वमा जोड दिँदै उहाँले कृषि खाद्य प्रणालीमा नवीनता, जलवायु स्मार्ट खेती, उद्यमशीलता, र प्रविधि सञ्चालित रूपान्तरण मार्फत, हामी कृषिलाई नेपालको आर्थिक विकासको मुख्यधारामा दृढतापूर्वक ल्याउन सक्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ – भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।

योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै संयुक्त सुरक्षा गस्ती

मुस्ताङ, २९ मङ्सिरः नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।

हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको प्रवाह नगरी कोरलास्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो । हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र यस्तो अवस्थामा सीमाक्षेत्रमा चोरी सिकारी र तस्करीलगायतका घटना हुनसक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीको कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोमान्थाङको भनाइ छ ।

संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो । उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता भएको छैन । यद्यपि नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ । त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।

हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ । चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन् । सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहदै सीमा सुरक्षाका लागि खटिएका छन् ।

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ, आलु सेतो प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १३० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६५ रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ८० रुपैयाँ, चमसुर प्रतिकिलो ८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो १४० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २७० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १५० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

खोटाङ, २९ मङ्सिर : हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो ।

न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ । बदामखेतीलाई प्रवर्द्धन गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “प्रोत्साहन रकम पाउनका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ । निवेदनका आधारमा कृषि शाखाका कर्मचारी गएर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम दिने गरेका हौँ ।”

पहिलो चरणमा वडा नं ५ दुर्छिम, वडा नं ७ वहादेवस्थान र वडा नं ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर आइतबार दुर्छिमका १३ किसानलाई रु ६२ हजार २००, महादेवस्थानका ४३ किसानलाई रु दुई लाख ३२ हजार ३०० र धितुङका १५८ जना किसानलाई रु सात लाख १० हजार ६०० प्रोत्साहन रकम वितरण गरिएको कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो ।

नगरपालिकाको कार्यालय टाढा पर्ने वडा नं २ डिकुवा र वडा नं ११ राजापानीका किसानलाई वडा कार्यालयमार्फत वितरण गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । वडा नं २ डिकुवाका २४ किसानले २६० मुरी तथा वडा नं ११ राजापानीका २४ किसानले २३१ मुरी बदाम उत्पादन गरेको जनाइएको छ ।

कृषि शाखाले दिएको जानकारीअनुसार डिकुवाकाका किसानले रु एक लाख दुई हजार तथा राजापानीका किसानले रु ९३ हजार ३०० प्राप्त गर्नेछन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा मात्र उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले गत वर्षबाट प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएको हो ।

परम्परागत (रैथाने) बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई मूल्याङ्कनका आधारमा प्रोत्साहन रकम वितरण गर्दै आएको यो नगरपालिकामा यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी उत्पादन गर्नुभएको जनाइएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष ४६ दशमलव ३५ प्रतिशतले बदाम उत्पादनमा वृद्धि भएको हो ।

नगरपालिकाको अधिकांश भूभागमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “बदाम बिक्रीबाट नगरपालिकाका किसानले राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदाम व्यवसायीले ठगेर अन्यत्र लैजाने गरेका छन् । त्यसलाई रोकेर किसानलाई प्रोत्साहन गर्दै ब्रान्डिङ गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । रैथाने बालीका रूपमा उत्पादित बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”

हलेसी तुवाचुङ नगरपालिकाका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गामा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये यो नगरपालिकामा मात्र बदामखेती हुँदै आएको छ ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रूपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा यहाँ उत्पादित बदाम लैजाने गरेको व्यवसायीहरूले बताएका छन् ।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवर्द्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्छन दाङका विनोद हमाल

भजनी (कैलाली), २९ मङ्सिर : परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।

विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभएको छ”, उहाँ भन्नुहुन्छ, “थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ ।”

दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुग्नुभएको छ । उहाँले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राख्नुभएको छ । “आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “तोरीको सिजन सकिएपछि जता फूल फुल्यो माहुरी घार त्यतै पुग्छन् ।”

उहाँका अनुसार कैलालीलगायतका तराईका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ मौरीपालक किसान माहुरीका घार बोकेर आउने गरेका छन् । उहाँहरू कैलाली, बर्दिया, बाँके, दाङका विभिन्न क्षेत्रमा माहुरीका घार बोकेर चराउन जाने गर्छन् । मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ । “दाङको हावापानी माहुरीका लागि राम्रो छ । तोरी अनि मकैखेती राम्रो हुने हुँदा पनि मौरी व्यवसाय राम्रो भएको पाइन्छ”, हमाल भन्नुहुन्छ, “तोरी र मकैको फूल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।”

स्वर्गद्वारी विकन्सर्न प्रालिमार्फत माहुरीपालन गर्दै आउनुभएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छभने अप्रत्यक्ष रूपमा सयौँ व्यवसायसँग जोडिएका छन् । हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो । “आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजी मह उत्पादन गर्छौँ”, उहाँ भन्नुहुन्छ, “त्यो मह न्यूनतम रु पाँच सय प्रतिकेजीभन्दा बढीमा बिक्री गर्दै आएका छौँ ।” महको मूल्य पनि फूलको स्रोतका आधारमा तय गरिने उहाँ बताउनुहुन्छ ।

माहुरीपालक किसानलाई बजारको कुनै समस्या छैन । अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाइ छ । काठमाडौँलगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आउनुभएका उहाँ धेरै उत्पादन कम्पनीमा नपुर्याएरै बिक्री हुने गरेको विनोद बताउनुहुन्छ । उहाँको परिवार नै माहुरी व्यवसायमा लागेको छ ।

पैसा कमाउनका लागि विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । “पैसा विदेशभन्दा स्वदेशमा धेरै छ । हामी जसरी खटिएर विदेशमा आठ घण्टा काम गर्छौैँ, त्यसैगरी स्वदेशमा गरौँ त”, उहाँ भन्नुहुन्छ, “दश घण्टा कुरा गरेर अनि सामाजिक सञ्जाल चलाएर व्यतित गर्दा बाँकी दुईतीन घण्टा काम गरेजस्तो गएर पैसा कमाउन सकिँदैन । आम्दानी हुँदैन । व्यवसायमा दत्तचित्त भएर लाग्यो भने हरेक व्यवसायको स्वदेशमा सम्भावना छ ।”

एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुसार, बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । उक्त समितिमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् ।

यसैगरी, बृहत् एकताको सन्देश प्रवाह गर्न र महाधिवेशनको तयारीस्वरूप विभिन्न क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने निर्णय भएको महासचिव लामाले जानकारी दिए । जस अनुसार डिसेम्बर १९मा मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा, डिसेम्बर २०मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्रमा र डिसेम्बर २१मा अमेरिकाज तथा युरोप क्षेत्रमा कार्यक्रम आयोजना हुने छ ।

त्यसैगरी बैठकले स्टेरिङ कमिटीले अनुशासन र जिम्मेवारीलाई कडाइका साथ लागु गर्ने निर्णय गर्दै कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक बस्नु अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने समय सिमा पनि तोकेको छ । हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागिता जनाउन नदिने निर्णय पनि गरिएको छ । त्यसैगरी सदस्यता समितिमा २ जना सदस्य थप गरी ७ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र तत्काल तयारी थाल्न विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली समुदाय तथा राष्ट्रिय समन्वय परिषदहरूलाई अपिल गरेको छ ।मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका महेशकुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबीच एकता भएको थियो ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशमा कुनै मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाई छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर २९ गते आज बस्ने भएको छ ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ ।

समितिले यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरुको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित गर्दा आउने फरकलाई हेरेर निर्णय गरिने जानकारी दिनुभएको हो । दुई ग्रन्थका आधारमा गरिएको गणितमा आफूले छ घण्टासम्मको फरक पाएको उहाँले सुनाउनुभयो । यसको निर्णयका लागि यसै हप्ता पञ्चाङ्गकारसँग बैठक गरिने समितिले जनाएको छ ।

“सिद्धान्त ज्योतिषका विद्वान् नयराज पन्तले ग्रहण र ग्रहको उदयास्त दृक गणित र पञ्चाङ्ग (पात्रो) सूर्य सिद्धान्तका आधारमा गर्नुपर्ने भन्नुभएको थियो, यो नै सही हो भन्ने मलाई लाग्छ, समितिमा आगामी वर्षका लागि स्वीकृति लिन पेस भएका पञ्चाङ्ग सूर्य सिद्धान्त र केतकी दुवै आधारमा गणना भई आएका छन्”, अध्यक्ष ढकालले भन्नुभयो ।

समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले ग्रह गणितबाहेकका विषय शास्त्रीय आधारमा निर्णय गर्ने गरिएको बताउनुभयो । सूर्यास्तकालमा औँसी भएका दिन लक्ष्मीपूजाको निर्णय गर्दा कुकुर तिहारका दिन पनि पर्ने गरेको बताउनुहुँदै उहाँले शास्त्रले भनेका आधारमा नै यस्तो निर्णय हुने गरेको जानकारी गराउनुभयो ।

अर्का पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सूर्य सिद्धान्तबाट ग्रहण, उदयास्त, ग्रहको वक्री मार्गी अवस्था आदि नमिल्ने गरेको सुनाउनुभयो । भारतीय ज्योतिषीले सूर्य सिद्धान्तबाट नमिल्ने गरेको सुनाएको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो ।

भोजपुरमा आँखा शिविरमा करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया

टक्सार (भोजपुर) – विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।

पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वरा आयोजित हालैसम्पन्न तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनी रमाएका हुन् ।

सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले एक सय १८ जनाको सफल शल्यक्रिया गर्यो । आँखाको शल्यक्रियापछि सेवाग्राहीले खुसी हँुदै भन्नुभयो, “अब आँखा प्रष्ट देख्न पायौँ, हामीलाई खुसी लागेको छ ।”

भोजपुर नगरपालिका–१२ टक्सारको पुरानो डबलीमा सञ्चालन भएको निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा चार सय ९४ जनाको आँखा परीक्षण गरियो । आर्थिक अवस्था र घरायसी समस्याका कारण अन्यत्र उपचारका लागि जान नसक्ने जिल्लाका नागरिकलाई नजिकै तीनदिने शिविर सञ्चालन भएपछि राहत मिलेको नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भोजपुर नगरपालिका–१२ मा भएको शिविरमा आँखा परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया, मासु पलाएको, चश्माको पावर जाँचलगायत सेवा प्रदान गरिएको केन्द्रका प्रमखु विजय तामाङले जानकारी दिनुभयो ।

पहाडी जिल्लाहरुमा सञ्चालन गरिने शिविरमा आँखा अस्पताल विराटनगरले प्राविधिक सहयोग गर्दै आइरहेको छ । आँखा समस्या समाधानका लागि ठूला सहरमा जानुपर्दा बढी खर्च हुने गरेको अवस्थामा आफ्नै स्थानीयस्तरमा सञ्चालन हुने शिविर प्रभावकारी देखिने गरेको नेत्रज्योति सङ्घका सदस्य धर्मराज राईको भनाइ छ ।

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

खोटाङ – राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ ।

यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायत सङ्कलन तथा प्रशोधन गरेर उहाँले बिक्री गर्दै आउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईले विसं २०७६ सालमा रु पाँच हजार लगानीमा २५ केजी मकैको च्याँख्ला र दश प्याकेट गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गर्नुभएको थियो । नेता राईको पसलमा अहिले मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो÷नाङ्लोसम्मका कृषि उपज तथा सामग्री पाइन्छ ।

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसक्नुभएकी नेता राईलाई सुरुमा व्यापारमा हात हाल्न निकै जोखिम थियो । कृषि उपजको व्यवसायमा बजार कत्तिको राम्रो होला भन्ने अनिश्चितता थियो । तर, परम्परागत स्वाद खोज्ने ग्राहकहरुले नेता राईको पसलप्रति चासो देखाए ।

कृषि व्यवसाय विस्तार हुँदै गएपछि नेता राईले हाल धरान, काठमाडौँ, हङकङ, सिङ्गापुर र स्थानीय हाटबजारसमेतमा सामग्री आपूर्ति गर्दै आउनुभएको छ । विदेशमा नेपालीले मन पराउने परम्परागत खाद्यवस्तुको मागले आफ्नो व्यवसाय अझै विस्तार गर्न मद्दत पुगेको नेता राईले जानकारी दिनुभयो ।

हेटौँडा महाधिवेशनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेता तथा कार्यकर्ताले उत्पादन र उद्यममा पनि जोडिनुपर्छ भन्ने नीतिगत निर्णय गरेपछि उद्यमलाई नियमित, दीर्घकालीन र व्यवस्थितरूपमा अघि बढाउने मनस्थिति बनाएको नेता राईले बताउनुभयो । “पहिलाको समयमा मैले सिङ्गै समय पार्टीलाई दिएकी थिएँ । त्यहीँ परिस्थिति पनि थियो । तर, मुलुकमा शान्ति सम्झौता भयो, गणतन्त्र आयो, त्यसपछि पार्टीलाई पूरा समय दिनै नपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “सङ्गठनको काम आंशिक रूपमा गरे पनि पुग्ने वातावरण बनेपछि मैले उत्पादनमूलक क्षेत्रमा हात हालेको हुँ ।”

‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीकै निर्णयले यस कामप्रति आफूलाई प्रेरणा मिलेको नेता राईले बताउनुभयो । “किसानसँग घुलमिल हुन पाउँदा सामाजिक चिन्तन बलियो हुन्छ । उपभोक्ता बुझ्दा हाम्रो व्यवहारिक धरातल अझै मजबुत बन्दो रहेछ,” उहाँले भन्नुभयो, “उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक प्रभाव पारेको छ । राजनीति निःस्वार्थ हुनुपर्छ । राजनीति गर्छु भन्ने सबै नेताले केही न केही आम्दानी हुने व्यवसाय गर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।”

प्रशोधन केन्द्रमा उत्पादनका लागि कच्चा सामग्री पर्याप्त मात्रामा नपाउनु नै प्रमुख चुनौतीको देखिएको उहाँको भनाइ छ । “सिजनमा त किसानले धेरै सामान ल्याउनुहुन्छ । तर, वर्षभरि समानरूपमा कच्चा पदार्थ पाइँदैन । त्यो नै मुख्य चुनौती हो”, उहाँले भन्नुभयो, “पसलमा आउने हरेक सामानको शत प्रतिशत लागतमा २०–२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गर्ने गरेकी छु । उपभोक्ताले सधैँ यथार्थ मूल्यमै सामान पाउने गर्नुभएको छ ।”

स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने जानकारी दिनुहुँदै नेता राईले राजनीति क्षेत्रका अन्य व्यक्तित्वलाई पनि कृषि वा स्थानीय उद्योगमा जोडिन प्रोत्साहन दिनुभएको छ ।

व्यवसायको माध्यमबाट किसान र उपभोक्तासँग सीधा जोडिन पाउँदा सामाजिक तथा राजनीतिक यात्रा नै बलियो भएको नेता राईको बुझाइ छ । सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके देशको समग्र अर्थतन्त्रलाई टेवा पुग्ने नेता उहाँ बताउनुहुन्छ ।

दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएकी राई विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपाल पार्टीबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर – यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

“अहिले सुन्तलाको मुख्य सिजन हो,” उहाँले भन्नुभयो, “गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।”

यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ । सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।

सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ । वडाध्यक्ष राईले भन्नुभयो, “यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।”

कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो ।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौँ – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् ।

कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई ÷दुई स्थानमा आगलागीका घटना घटेका छन् ।

मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन् । हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ ।

प्राधिकरणका अनुसार, काठमाडौँको दक्षिणकाली नगरपालिका–५ पूरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो । पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ । त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ । विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन् । विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९०० बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग

काठमाडौँ – बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९, १ ‘क’ बमोजिम कारवाही गरिएको विभागले जनाएको हो ।

यसैगरी कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको डिएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने केही राय सुझावसहित निर्देशन दिएको छ ।

विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारमा स्वच्छता कायम राख्न, बिल बिजक जारी गराउन र कालोबजारी अन्त्यका लागि क्रियाशिल भएको विभागले स्पष्ट पारेको छ ।

विभागको पछिल्लो विवरणअनुसार यही मङ्सिर २६ गते ११ वटा उद्योग र फर्मको अनुमगन गरेको थियो । मङ्सिर २५ गते २० वटा उद्योग वा फर्ममा अनुमगन गरेको थियो । सो दिन दावा सुज एण्ड फेसन सेन्टरलाई रु ५० हजार जरिवाना तिराएको थियो ।

त्यसैगरी मङ्सिर २४ गते १३ वटा फर्ममा अनुमगन गरेको थियो । सो दिन चार वटा फर्मलाई रु ५० हजार जरिवाना तिराएको थियो । मङ्सिर २३ गते १५ वटा फर्ममा अनुगमन गरेको थियो भने मङ्सिर २२ गते १५ वटा फर्ममा अनुमगन गरी तीन वटा फर्मलाई रु ५० हजार जरिवाना तिराएको थियो ।

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ ।

खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ ।

उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ ।

व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ । आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ ।

आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८२ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…

काठमाडौँ – राजनीतिमा सधँै पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरुमा छ भन्ने भाष्य नेकपा (एमाले) का केही पुराना नेताहरुबाट खण्डित भएको छ । अन्य नेताहरु पद र अवसरका लागि सक्रिय रहेको स्थितिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अधयक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ ।

एमालेकै अधिकांश नेताहरु आफू पुनः पदमा आउन अध्यक्ष केपी शर्मा ओली वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट वा स्वतन्त्ररुपमा उम्मेदवारी हुन तछाडमछाड गरिरहेका बेला एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरु ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरुको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराउनुभयो । यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गर्नुभएको हो । उहाँहरुले पदमा नहरने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीको दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहनुभएका उहाँहरुले पार्टीले विधानमा ती व्यवस्था कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने स्पष्ट गर्नुभएको हो । एमाले केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने भन्दै स्वैच्छिक अवकाश लिने घोषणा गर्नुभएको छ । पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षदेखि बहुदलीय लोकतन्त्र, संविधान निर्माण र सङ्घीय व्यवस्थासम्मको लामो राजनीतिक यात्रा पार गरेर पार्टीको माथिल्लो तहमा पुग्नुभएका उहाँहरु वैचारिक र सादगी नेताहरुमध्येमा पर्नुहुन्छ ।

लामो समय पार्टीको सङ्गठन, सरकार सञ्चालन र वैचारिक बहसमा संलग्न रहँदै आएका नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ । विसं २०२६ देखि कम्युनिष्ट पार्टीमा लाग्नुभएका पूर्वसंविधानसभा सदस्य उपाध्यक्ष ज्ञवाली २०६० सालमा स्थानीय विकासमन्त्री बन्नुभएको थियो । उहाँले पार्टीको केन्द्रीय कमिटीमा लामो समय रहेर सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

पार्टीको सल्लाहकार पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका नेत्री शाक्य एमालेको सङ्गठन निर्माण र महिला नेतृत्व सुदृढीकरणमा अग्रणी नेतृ मानिनुहुन्छ । बागमती प्रदेश सरकारको पूर्वमुख्यमन्त्री शाक्य राष्ट्रपति पदका उम्मेदवार बन्नुभएको थियो । बडाल पूर्वसांसद तथा सहकारी अभियानका अगुवा हुनुहुन्छ । नेपाली राजनीतिमा पुस्तान्तरण केवल उमेरको विषय नभई दृष्टिकोण, कार्यशैली र राजनीतिक संस्कारसँग जोडिएको विषयका रुपमा चर्चाको विषय हुँदै आएको छ ।

एमाले महाधिवेशनको बन्दसत्रअन्तर्गत सोमबार उम्मेदवारीको मनोनयन भएकाले थप कुन कुन नेताले पुनः केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदैनन् भन्ने त्यसपछि थप स्पष्ट हुनेछ । विसं २०७१ असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने प्रबन्ध गरिलगत्तै तत्कालीन स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पार्टीको केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले सक्रिय राजनीति परित्यागको घोषणा गर्नुभएको थियो । एमालेको २०७८ सालमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने व्यवस्था हटाइएको थियो ।

श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता

काठमाडौँ, २८ मङ्सिरः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र जेनजी आन्दोलनका अगुवाबीच भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले प्रधानमन्त्रीले आफूलाई जेनजीको भावना अनुरुप काम गर्न निर्देशन दिएको उल्लेख गर्दै सोहीअनुसार जेनजीकै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले आफू मन्त्री पदमा रहँदासम्म मुलुकमा भएको भ्रष्टाचार अन्त्य गर्दै सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुख्य कुरा युवाको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने मेरो योजना छ, जसमा जेनजीको प्रतिनिधित्व रहोस्, उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्नेछ ।”

खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, २८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।

फैसला पुनरावलोकनका लागि आज सर्वोच्चमा गरिएको पुनरावेदनमा जेनजी सहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ ।

मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दामा थापाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो ।

विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझेकाले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौँ, २८ मङ्सिर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मङ्सिर २९ गते सोमबार बस्ने भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा उपस्थित हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

समृद्धिका पक्षमा पार्टी एक लयमा प्रस्तुत हुनअध्यक्ष ओलीको आग्रह

काठमाडौँ, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताउनुभएको छ ।

सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आजदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उहाँले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरुमा पार्टीका नेताहरु बहकिन नहुने आग्रह गर्नुभयो ।

भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार

भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ । दुई छिमेकी मुलुकबीच कूटनीतिक आदानप्रदान तीव्र भइरहेका बेला भारतको यो प्रतिक्रिया आएको हो ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘१४ डिसेम्बर २०२५ को प्रेस नोटमा बङ्गलादेशको अन्तरिम सरकारले गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गर्दछ’ भनिएको छ । उक्त प्रतिक्रिया बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले विदेशबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएको केही समयपछि आएको हो ।

भारतले आफ्नो दीर्घकालीन अडान दोहोर्‍याउँदै बङ्गलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय चुनाव हुनुपर्नेमा जोड दिएको छ । विदेश मन्त्रालयका अनुसार भारतले कहिल्यै पनि आफ्नो भूभाग बङ्गलादेशका मित्रवत जनताको हितविरुद्ध हुने गतिविधिका लागि प्रयोग गर्न अनुमति दिएको छैन ।

विज्ञप्तिमा भारतले बङ्गलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था कायम राख्दै शान्तिपूर्ण चुनाव सम्पन्न गराउन आवश्यक सबै कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ ।

यसअघि बङ्गलादेशले भारतमा रहेका शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गर्दै उहाँहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पु¥याउने प्रयास गरेको आरोप लगाएको थियो । ढाकाले भारतमा रहेका अवामी लिगका केही सदस्यले बङ्गलादेशविरुद्ध गतिविधि गरिरहेको दाबीसमेत गरेको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिहरूमा चुनावी प्रक्रियामा अवरोध पुर्‍याउन आतङ्कवादी कार्यहरूको योजना, सङ्गठन र सहयोगसमेत रहेको आरोप छ । साथै, बङ्गलादेशी राजनीतिक नेता सरिफ उस्मान हादीको हत्या प्रयासमा संलग्न संदिग्धहरू भारत भाग्न नपाउन् भनी सहयोग मागिएको छ ।

बङ्गलादेशका अनुसार भारतीय उच्चायुक्तले भारत बङ्गलादेशमा शान्तिपूर्ण चुनावका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पार्नुभएको छ ।

हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ : मन्त्री सिन्हा

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गर्नुभएको छ । सो अवसरमा उहाँले मन्त्रालय मातहतका निकाय र विभागमा देखिएका समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ । अन्य क्षेत्र विकास निर्माणभन्दा मन्त्रालय मातहतका निकाएका समस्या समाधान गर्ने पहल गर्छौँ ।मन्त्री सिन्हाले सबै कर्मचारीहरु सङ्घको साथ सहयोगमा मन्त्रालयका काम कारबाही अगाडि बढाउने जानकारी गराउनुभयो ।

एमालेको महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आज साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बेलुका ७ः०० बजे मतदाता नामावली प्रकाशन गर्नेे छ ।

त्यस्तै, सोमबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १०ः०० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने, १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ः०० बजेदेखि १२ः०० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका रहेको आयोगका अध्यक्ष डा सुब्बाले जानकारी दिनुभयो ।

सोमबार दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आगामी पुस १ गते ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान गर्ने रहेको छ । मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आजबिहानदेखि नै बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’ – अभिनेता शिव श्रेष्ठ

काठमाडौँ -नेपाली चलचित्र क्षेत्रमा ठूल्दाइका उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताउनुभएको छ ।

हालै यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल प्राकृतिक, धार्मिक र सम्पदाका दृष्टिले सम्भावना बोकेको मुलुक भएकाले सरोकार भएका निकायले चलचित्र पर्यटन प्रवद्र्धनका क्षेत्रमा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अभिनेता श्रेष्ठले पाकिस्तानी चलचित्रमा काम गर्दाको समयलाई स्मरण गर्दै नेपाली चलचित्र उद्योगले चलचित्र पर्यटनका क्षेत्रमा पाकिस्तानीले अवलम्बन गरेका कदमहरूबाट सिक्नुपर्ने धारणा राख्नुभयो ।

“पाकिस्तानी चलचित्रमा अभिनय गर्न क्रममा बढी समय उतै बित्न थालेपछि नेपालको कानुनअनुसार यहाँ चलचित्र छायाङ्कन गर्नुपर्नेमा जोड दिएँ, तर त्यस्तो केही नियम वा कानुन थिएन । पछि ११ वटा विदेशी चलचित्र नेपालमा छायाङ्कन भए । यसले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

शिक्षाले जीवनका हरेक पक्षलाई सफल बनाउने बताउँदै अभिनेता श्रेष्ठले आफ्नो बाल्यकाल र अध्ययनका पाटालाई स्मरण गर्नुभयो । “मैले शिक्षालाई महत्त्व नदिएर धेरै विद्यालय छाडेँ । अहिले लाग्छ पढाइलाई महत्त्व दिएको भए कलाकारितामा अझ प्रभावकारी काम र नतिजा दिन सक्ने थिएँ । हामीले शिक्षालाई बीचमा छोडेर भविष्य र पेसाको पछि लाग्नु”, उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा अभिनेता दीपकराज गिरीले आफ्नो कलाकारितालाई लेखनशैलीले मद्दत गरेको बताउनुभयो । अभिनयसँगै पात्र निर्माण गर्न सक्नु र उक्त पात्रले बोल्ने संवादमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्ने भएकाले पात्र प्राकृतिक लाग्ने प्रतिक्रिया पाउने गरेका उहाँको अनुभव छ ।

“आज मैले पाउने प्रशंसामा लेखनको ठूलो महत्व छ । त्यो लेखन मेरो अध्ययन र शिक्षाको प्रतिफल हो । म उत्कृष्ट विद्यार्थी थिइन्, तर पढाइको महत्वलाई बुझेको छु । हरेक व्यक्तिको सफलतामा शिक्षाको ठूलो महत्व हुन्छ”, अभिनेता गिरीले भन्नुभयो । उहाँले सफलताका लागि लक्ष्य प्राप्तिमा अग्रसर हुँदै शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली (तनहुँ) – मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गर्नुभयो । मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उहाँले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडाँैसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।” यसैबीच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताउनुभयो । सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्नुहुँदै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गर्नुभयो ।

निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरुको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भन्नुभयो, “कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरुलाई कारबाही गर्छौँ ।”

मन्त्री घिसिङले विभिन्न २०० बढी सडक आयोजना सडक विभागले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । तनहुँको घुमाउने पुल विगत ११ वर्षदेखि अलपत्र रहेको जनाउँदै उहाँले एक महिनाभित्र काम सुरु नगरे त्यो योजना पनि रद्द गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काम समयमा गरेको भए देश विकास भइसक्ने थियो, काम नगर्दा देश विकासमा पछाडि परेको छ ।”

व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विकास निर्माणकास सन्दर्भमा मन्त्री घिसिङ समक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो ।

म्यान्मा चुनावबारे जुन्ताको प्रतिवाद

म्यान्माको सैन्य सरकारले आगामी चुनावलाई अलोकतान्त्रिक भन्दै आएको अन्तर्राष्ट्रिय आलोचनाप्रति आइतबार प्रतिक्रिया जनाएको छ । यस क्रममा जुन्ता प्रमुख मिन आङ ह्लाइङले चुनावपछि बन्ने सरकारमा आफू नेतृत्वको भूमिकामा आउन सक्ने सङ्केत पनि गर्नुभएको छ ।

सन् २०२१ को कूका माध्यमबाट सेनाले सत्ता कब्जा गरेपछि नागरिक सरकार अपदस्थ भएको थियो, नेताहरू जेल परेका थिए र देशभरि हिंसात्मक गृहयुद्ध फैलिएको थियो । सैन्य सरकारले डिसेम्बर २८ देखि चरणबद्ध रूपमा चुनाव गराउँदै लोकतन्त्रमा फर्किने र द्वन्द्व अन्त्य गर्ने अवसर मिल्ने दाबी गर्दै आएको छ ।

तर अन्तर्राष्ट्रिय लोकतन्त्र पर्यवेक्षकहरूले यस मतदानलाई सैन्य शासनलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घ, बेलायत र थाइल्यान्डले समेत यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने ठहर गरिसकेका छन् ।

याङ्गुनमा आयोजित दुर्लभ पत्रकार सम्मेलनमा जुन्ताका प्रवक्ता जाओ मिन टुनले ‘म्यान्माका लागि चुनाव भइरहेको हो, अन्तर्राष्ट्रिय समुदायका लागि होइन’ भन्नुभयो । उहाँले आलोचना गर्न चाहनेहरूले आलोचना गर्न सक्ने भए पनि सेना बहुदलीय लोकतान्त्रिक प्रणालीमा फर्कने आफ्नो उद्देश्यबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

सन् २०२१ फेब्रुअरीको कूपछि मार्सल ल घोषणा गरेर देश शासन गर्दै आउनुभएका मिन आङ ह्लाइङले यस वर्ष आपतकालीन शासन अन्त्य गर्दै राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो र कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।

मतदानपछि उहाँको राजनीतिक आकाङ्क्क्षाबारे सोधिएको प्रश्नमा प्रवक्ता जाओ मिन टुनले उहाँको ‘राज्य कर्तव्यसम्बन्धी अनुभव’ उल्लेख गर्दै राज्यले जिम्मेवारी सुम्पिएमा देशका लागि योगदान गर्न उहाँ सधैँ तयार रहेको अघिल्ला भनाइ स्मरण गराउनुभयो ।

यसैबीच सैन्य शासनविरुद्ध लडिरहेका विद्रोही समूहहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चुनाव रोक्ने घोषणा गरेका छन् । सेनाले चुनावविरुद्ध प्रदर्शन वा अभिव्यक्तिलाई एक दशकसम्मको जेल सजाय दिने कडा कानून लागू गरिरहेको छ । सन् २०२० को चुनाव जितेको नेसनल लिग फर डेमोक्रेसी पार्टी विघटन भइसकेको छ र उक्त पार्टीकी नेता नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी अझै नजरबन्दमै रहनुभएको छ ।

स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्छ – स्वास्थ्यमन्त्री शर्मा

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

देशकै पहिलो छात्रा स्कुल ‘कन्या मन्दिर मावि’को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै स्वास्थ्यमन्त्री डा शर्माले शिक्षाबाट महिला बञ्चित भए घरपरिवार, समाज र देश नै पछि पर्ने भएकाले महिला शिक्षामा जोड दिनुभएको हो ।

मुलुकमा कूल जनसङ्ख्याको आधा हिस्साभन्दा बढी महिला रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “सहरबजारकै बासिन्दासमेत निरक्षर रहेको राणाकालीन समयमा खुलेको कन्या मन्दिर माविले महिलालाई साक्षर र सक्षम बनाउन अतुलनीय भूमिका निर्वाह गरेको छ । विसं २००४ मा स्थापना भई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट उत्पादित विद्यार्थीमध्ये धेरै जना दक्ष चिकित्सक, इञ्जिनीयर, उच्च ओहदाका राष्ट्रसेवका कर्मचारी, प्राध्यापक, उद्यमी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सफल भएका छन् । आफू पनि यसै विद्यालयको विद्यार्थी हुनुका नाताले कन्या मन्दिर माविप्रति सदैव गर्व गर्दछु । राम्रोसँग पढी देश र जनताप्रति समर्पित हुन सबै विद्यार्थीसँग अनुरोध गर्दछु ।

सो अवसरमा मन्त्री डा शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय लिइ अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित रु पाँच लाख प्रदान गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आवश्यक स्रोतसाधनको व्यवस्थासहित शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउँदै गुणस्तरीय शिक्षाका पक्षमा खटिएर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपानेले उत्कृष्ट नतिजासहित प्रवेशिका परीक्षामा निरन्तर बोर्डमा आउन सफल विद्यालयको शैक्षिक गुणस्तर क्रमशः खस्कन थालेकामा सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका अवस्थामा विद्यालय व्यवस्थापन समिति, आमअभिभावक, शिक्षक तथा कर्मचारीको सहयोगमा शतप्रतिशत नतिजासहित देशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीमा रहेको सो विद्यालयमा हाल एक हजार २०० छात्राले अध्ययन गरिरहेको र गत एसइईको परीक्षामा एक विद्यार्थीले चार जिपिएसहित सबै उत्तीर्ण भएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभयो ।

सो विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारी र एसइईलगायत परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

पदक विजेता चन्द्रबहादुर थापा स्वदेश फिर्ता

काठमाडौँ – युएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक प्राप्त गरेका चन्द्रबहादुर थापासहितको टोलीलाई आज भव्य स्वागत गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासङ्घका पदाधिकारी, राष्ट्रिय खेल सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई त्रिवि अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यही डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको उक्त प्रतियोगिताको ५४ किलो तौल समूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कास्य पदक प्राप्त गरेका थिए । कास्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । सेमिफाइनलमा चन्द्र विश्व बरियतामा सातौँ स्थानमा रहेका काजकिस्तानका खेलाडीसँग पराजित भएका थिए ।

विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुन् । चन्द्रसँगै प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी थिए । अठचालीस किलो तौल समूहमा लालप्रसाद उप्रेती, ५१ किलोमा फुङलाङ काम्वाङ, ६० किलोमा खगेन्द्र रोका मगर र ८० किलोमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए । टोलीको प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनमगर थिए ।

कार्यक्रममा सदस्य–सचिव मेहताले ऐतिहासिक उपलब्धि हासिल गरेकामा चन्द्रलाई बधाइ दिँदै उक्त पदकले सारा नेपालीलाई हर्षित बनाएको बताए । सबैको साथ र सहयोगले यो उपलब्धि सम्भव भएको र अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रित गर्ने उनले बताए । नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले चन्द्रको पदकले बक्सिङलाई मात्र नभइ सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्नुभयो ।

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँ – मन्त्री घिसिङ

कास्की – भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् । उनले रङ्गशालाभित्रको अन्तरराष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे ।

मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषद्का सदस्यहरुले रङ्गशालमा स्वागत गरेका थिए । उनले फुटबल मैदानमा फ्लड लाइट (रात्रिकालीन बत्ती) र स्कोरबोर्ड राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तत्काल प्रक्रिया सुरु गरेर यसै वर्ष फ्लडलाइट जडान गर्ने जानकारी दिए ।

“पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ । म पहिलो पटक यहाँ आउँदा खुसी लाग्यो । फुटबल मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग जायज छ । यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउँछौँ । साथै भौतिक मन्त्रालयबाट जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ”, मन्त्री घिसिङले भने ।

पोखरा फुटबल रङ्गशालामा फ्लडलाइट नहुँदा यहाँ अन्तरराष्ट्रियस्तरका फुटबल खेल हुन सकेका छैनन् । यसैगरी रात्रिकालीन खेलकुद भएको छैन । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रङ्गशालाबारे जानकारी गराएका थिए । मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधारको अवलोकन गरेका थिए ।

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन्ः अर्थमन्त्री खनाल

ललितपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर नहुने बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगले आज यहाँ आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले समावेशी लोकतन्त्रको आधार नै नागरिकको अधिकार सुनिश्चित गर्नु रहेको बताउनुभयो । उहाँले आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण अब ढिला नगरी बाँकी समयभित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आदिवासी जनजातिको पहिचान संरक्षणका लागि विशेष नीति र कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले अधिकार सुनिश्चित गर्न विशेष ऐनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । संवैधानिक प्रावधानको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले नेपालको संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्त वा संरक्षित क्षेत्रसम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेको बताउनुभयोे । उहाँले यस किसिमको ज्ञान सम्मेलनले आदिवासी जनजाति समुदायलाई सशक्त बनाउनुका साथै सरकारलाई संविधान कार्यान्वयनतर्फ सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आदिवासी जनजाति आयोगद्वारा सुरु गरिएको ज्ञान सम्मेलन सोमबार सम्पन्न हुनेछ । सम्मेलनमा नेपालको संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्ततासम्बन्धी विषयमा विशेष छलफल हुनुका साथै विषयगत कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजÞी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाउनुभएका प्रहरी सहायक हलवलदार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ ।

गृहमन्त्री अर्यालले आज कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेनजÞी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाउनुभएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा उहाँले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपुक्त प्रबन्धसमेत गर्ने आश्वासन दिनुभयो ।

राज्यले गुरुङको परिवारलाई सबै तरिकाको भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त मन्त्री अर्यालले उहाँप्रति गहिरो शोक प्रकट गर्नुभयो । साथै उहाँले परिवाजनप्रति संवेदना प्रकट गर्नुभयो । भेटका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिनुभएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा सामूहिक नेतृत्व प्रणाली सुदृढ गर्न आवश्यक रहेको र विधि तथा पद्धतिबाट पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रिक अवधारणा व्यवहारत कार्यन्वयन हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले अनुभव र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीले सरकारको नेतृत्व गरिरहँदा जेनजी आन्दोलन हुँदा कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको अवधारणा पत्र प्रतिनिधिहरुलाई बन्द सत्रमा विवरण गरिएको थियो ।

वामपन्थी विचार बोक्नेसँग एकताको पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । पार्टी जीवनमा लोकतन्त्र कमजोर हुने हो भने पार्टी कमजोर हुने उहाँको भनाइ थियो । यही मङ्सिर २७ गतेदेखि सुरु भएको एमालेको ११औँ महाविधेशनअन्तर्गत आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ । यसैबीच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भएको छ र युक्रेनी अधिकारीहरूले त्यसको संशोधित प्रस्ताव हालै वासिङ्टन पठाइसकेको जनाएका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले संशोधित प्रस्तावमा अमेरिकाबाट औपचारिक प्रतिक्रिया नआए पनि आवश्यक सबै सङ्केतहरू प्राप्त भइरहेको बताउनुभयो । “बर्लिनमा हुने शिखर वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । हामी अमेरिकी र युरोपेली दुवै पक्षसँग आज र भोलि बर्लिनमै भेट गर्दैछौँ”, उहाँको भनाइ थियो ।ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्पका दूत स्टिभ विटकफले शान्ति वार्ताको अवस्थाबारे छलफल गर्न यस सप्ताहन्तमा जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गर्नुहुनेछ ।

जेलेन्स्कीले शान्ति योजनाले निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “सबैभन्दा पहिले यो युक्रेनका लागि न्यायोचित हुनुपर्छ, किनकि युद्धको सुरुआत रुसले गरेको हो ।”यसैबीच, सन् २०२२ मा रुसले आक्रमण गरेयता दशौँ हजार मानिसको ज्यान लिएको युद्ध अझै जारी छ ।

पछिल्लो प्रयासका बीच युक्रेनले नयाँ रूसी हवाई आक्रमणको रिपोर्ट गरेको छ । युक्रेनी वायु सेनाका अनुसार रुसले रातारात १३८ वटा ड्रोन र एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । खेरसनमा रहेको एक अस्पतालमा ड्रोन प्रहार हुँदा एक नर्ससहित दुई जना घाइते भएका छन् भने जापोरिझिया क्षेत्रमा भएको आक्रमणमा सात जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपालका परम्परागत खेलहरुको संरक्षण र संवर्द्धन गर्नुपर्छः मन्त्री नेपाल

काठमाडौँ, २८ मङ्सिरः बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरु हाम्रा पहिचान भएकाले यिनको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसन’द्वारा आज यहाँ आयोजित तालिम तथा प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरु पनि नेपालका परम्परागत खेलले विश्वमा नै देशलाई पहिचान दिलाउने भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल र चिनियाँ खेलाडीको संयुक्त प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा मन्त्री नेपालले यो खेलको संयुक्त तालिम तथा प्रस्तुतिका कार्यक्रमले खेल कूटनीतिका माध्यमबाट नेपाल तथा चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङले चीनको युनान प्रान्तका प्राथमिक विद्यालयमा झेन्जी खेलका पाठ्यक्रम मार्फत् खेलको प्रवद्र्धन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले यस खेलको विकासले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा गरिएको उल्लेख गर्दै आगामी दिनमा नेपालसँग पनि आर्चरी खेलको प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहले झेन्जी खेल नेपालकै परम्परागत धनुर्विद्या अर्थात् धनुर्वाण खेलकै विकसित स्वरुप भएकाले यस खेलको विकास र विस्तारमार्फत् दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यसैगरी मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलका माध्यमबाट नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाउन आफ्ना परम्परागत खेलहरुको पनि संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रमा थप लगानीका लागि नेपाल सरकारलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सङ्खुवासभाका परम्परागत आर्चरी खेलका खेलाडीका साथै चीन र नेपालका आर्चरी तथा उसु खेलका खेलाडीहरुले आफ्ना खेलकला पनि प्रस्तुत गर्नुभएको थियो ।