`

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, १४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ ।

प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

गौरा पर्वको आज तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

बैतडी। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।

ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उहाँले बताउनुभयो ।

‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउ, अपामार्ग लगायतका वनस्पतीहरूको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरे जस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन ब्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशीएकाहरू पनि घर फर्किने गर्दछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०० पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुयैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह

काठमाडौँ, १४ भदौः नेपालले भँैसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।

चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरूपमा लिएको जनाएको छ । बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुभएको थियो भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गर्नुभएको थियो ।

नेपालवाट थर्मलरूपमा प्रशोधीत भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थ विशेष गरी घ्यु, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । त्यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्धिपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्नतलाजन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । हाल नेपालवाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज पाँच वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।

बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालवाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताउनुभयो । १०० भन्दाबढी देशबाट यस्ता प्रस्ताव आउने गरेको भएपनि छिमेकी मुलुकको रूपमा हामीले नेपाललाई महत्व दिएर प्रयास अघि बढाएको बैठकमा उहाँले जानकारी दिनुभयो । व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह«ो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौँ, उपमन्त्री वाङ्गले भन्नुभयो ।

बैठकमा कृषि मन्त्री अधिकारीले नेपालवाट मासु निर्यातका लागि आधारभुत सर्त खोरेत मुक्त क्षेत्र घोषणालगायतका प्रकृयादेखि चीनको क्वारेन्टाइन मापदण्ड पुरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो ।

द्धिपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ । बैठकमा मन्त्रालयका तर्फवाट सचिवद्वय डा गोविन्दप्रसाद शर्मा, डा दीपककुमार खराल र सहसचिव सहभागी रहनुभएको थियो भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन

मुस्ताङ, १३ भदौ : वर्खायामको समाप्तिसँगै मनाइने यार्तुङ पर्र्व आज उपल्लो मुस्ताङको लोमान्थाङमा सुरु भएको छ । सो पर्वको अवसरमा लोमान्थाङ युवा क्लबको आयोजना तथा एक्याप लोमान्थाङको आर्थिक सहयोगमा परम्परागत घोडा दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

यहाँ दुई विधामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । मुस्ताङ सांस्कृतिक राजपरिवारको समुउपस्थितिमा आयोजना गरिएको कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ–५ का वडाध्यक्ष ढुक्के विष्ट च्याम्पियन बन्नुभएको छ ।

कदम घोडा दौड प्रतियोगितामा सहभागी कूल १२ प्रतियोगीमध्ये वडाध्यक्ष विष्ट च्याम्पियन बन्नुभएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कदम घोडा दौडतर्फ छेडुप गुरुङ दोस्रो र निमा वाङ्दी गुरुङ तेस्रो हुनुभएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो । योसँगै कदम घोडा दौडको च्याम्पियन विष्टले नगद एक लाख रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यसैगरी कदम घोडा दौडको दोस्रो र तेस्रो हुने घोडा मालिकले नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउनुभयो । यसैगरी गरी यार्तुङ पर्वको अवसरमा आयोजित भाक्का (लामो दुरी) घोडा दौड प्रतियोगितामा डब्ला गुरुङ च्याम्पियन हुनुभयो ।

प्रतियोगितामा ल्हाक्पा गुरुङ दोस्रो र ढुक्के विष्ट तेस्रो हुनुभयो । भाक्का घोडा दौडाका विजेताले क्रमश नगद ३०, २० र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगिताका विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, क्लबका अध्यक्ष उमेश पौडेल र क्लबका अध्यक्ष पेमा तेन्जिङ गुरुङले पुरस्कार वितरण गर्नुभयो ।

पुटिन र इरानी राष्ट्रपतिबीच चीनमा भेटवार्ता हुने

युरोपेली शक्तिराष्ट्रद्वारा इरानलाई प्रतिबन्ध लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानको आणविक कार्यक्रमबारे आफ्ना इरानी समकक्षी मसूद पेजेस्कियानसँग सोमबार चीनमा छलफल गर्ने बताउनुभएको छ ।

यूरोृपेली शक्तिराष्ट्र बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ मा भएको आणविक सम्झौताको पालना गर्न असफल भएको भन्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

मस्कोले शुक्रबार आफ्नो प्रमुख सहयोगी इरानलाई समर्थन गर्दै प्रतिबन्धहरू पुनः लागू गर्दा ‘अपूरणीय परिणामहरू’ हुने चेतावनी दिएको छ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी उनीहरूलाई अपूरणीय परिणाम र थप त्रासदी निम्त्याउनुअघि आफ्ना गलत निर्णयहरूमा पुनर्विचार एवं पुनरावलोकन गर्न जोडदार आग्रह गर्दछौं।

इरानको आणविक कार्यक्रमलाई लिएर जारी गतिरोधको शान्तिपूर्ण समाधान खोज्न युरोपेली तीनै देशले कूटनीतिक प्रयासलाई कमजोर बनाएको आरोप उसले लगाएको छ ।

क्रेमलिनले पुटिनले सोमबार चीनको तियानजिन शहरमा हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा पेजेस्कियानसँग भेटवार्ता गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य रुस सन् २०१५ को इरानसँगको संयुक्त बृहत् कार्ययोजना (जेसिपिओए) सम्झौताको एक पक्ष हो र उसले इरानलाई उसको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा प्रतिबन्धमा राहत प्रदान गरेको थियो ।

यी तीन देशले बिहीबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई सूचित गर्दै इरानले सम्झौताअन्तर्गत गरेका प्रतिबद्धता पूरा नगरेको विश्वास व्यक्त गरेका छन् ।

विदेशमन्त्रीहरूले ‘स्न्यापब्याक’ संयन्त्र भनिने प्रक्रियाको आह्वान गरेका थिए । ‘स्न्यापब्याक’ अन्तर्गत उनीहरूले सन् २०१५ को सम्झौताअन्तर्गत निलम्बन गरिएका प्रतिबन्धहरू पुनः लागू गर्न ३० दिनको समयसीमा सुरु गरेका छन् ।

इरानले यस कदमको ‘उचित प्रतिक्रिया’ दिने चेतावनी दिएको छ । यसले इरानी आणविक जोखिमको शान्तिपूर्ण समाधानको लागि सबैभन्दा निरन्तर कूटनीतिक प्रयासलाई रोक्ने खतरा छ।

तेहरान र मस्कोबीच विगत एक दशकदेखि राजनीतिक, सैन्य र आर्थिक सम्बन्ध प्रगाढ बन्दै गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दुई देशबीचको सम्बन्ध झनै प्रगाढ बनेको थियो ।

उद्योगीका समस्यामा सरकार गम्भीर छः मन्त्री भण्डारी

काठमाडौँ, १३ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले उद्योग–व्यवसायहरूले अनेकौ चुनौती सामना गरिरहेकोसमेत बताउनुभयो ।

नेपाल इँटा उद्योग महासङ्घको १७औँ साधारणसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक स्थिति अस्थिर हुँदा लगानीमा जोखिम बढेको र त्यसको समाधान छलफल तथा बहसमार्फत खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तन थप चुनौतीका रूपमा देखिएको छ, जसका कारण उद्योगीहरूले उत्पादनमा अवरोध भोगिरहेका छन् । यस्तो परिस्थितिमा गुणस्तर कायम राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नु अपरिहार्य छ ।”

नेपाल–चीनबीचको व्यापार र औद्योगिक सहकार्य महत्त्वपूर्ण बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले उद्योगहरूले गुणस्तरको प्रमाणपत्र प्राप्त गरी अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले उद्योग व्यवसायीलाई कानुनको पालना गर्दै वातावरणमैत्री ढङ्गले उद्योग सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । “यदि उद्योग व्यवसायीले नियम पालना गरेन भने वातावरणीय समस्या उत्पन्न हुन्छ र वातावरण, खेतीपाती तथा उत्पादनलाई हानि पुर्याउँछ”, मन्त्री भण्डारीले भन्नुभयो, “त्यसैले सरकारले कडाइका साथ अनुगमन गरी समस्या समाधान गर्नेछ ।”

उहाँले घर, भवन तथा निर्माणका सबै क्रियाकलाप इँटामै आधारित हुने भएकाले इँटा व्यवसायीको साथमा सरकार रहेको उल्लेख गर्नुभयो । उद्योगहरू प्रविधियुक्त, गुणस्तरीय र जलवायु परिवर्तनको असर कम गर्ने ढङ्गबाट सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले उद्योगीका मागलाई सहजै सुन्ने, सम्बोधन गर्ने र प्रमुख समस्या समाधान गर्ने मन्त्री भण्डारीको भूमिकाप्रति आभार प्रकट गर्नुभयो ।

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, १३ भदौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उहाँले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरू समेत उपस्थित सो बैठकमा मन्त्री डा राणाले भन्नुयो, “सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरूको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई लगानीका लािग आह्वान गर्दछु ।”

मन्त्री डा राणाले जलस्रोत, उर्वर भूमि र नदीहरू, घना जङ्गल, अद्वितीय जैविक विविधता एवं सांस्कृतिक सम्पदाहरूको घरका रूपमा रहेको यस प्रदेश स्रोत र साधनले सम्पन्न भएपनि बत्तिमुनिको अँध्यारोको अवस्थामा रहेकाले यी सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गरी वैदेशिक लगानीकर्ताहरलाई आकर्षित गर्न सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको आयोजना गर्नु खुसीको कुरा हो भन्नुभयो ।

मन्त्री डा राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटै सयममा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै यो क्षेत्र पनि काठमाडौँलगायत नेपालसँग जोडिन पुगेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार दिगो र स्थायी प्रकृतिको रहेकाले विकासका सम्भावनाहरूलाई पहिलेको तुलतामा थप उजागर गरिरहेको जानकारी दिँदै नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक पर्ने कानुनहरूमा पनि संशोधन गरेको स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले मुलुक सङ्घीयतामा गएसँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारको मुख ताक्ने नभएर आफ्ना सम्भावनाहरूको खोजी आफैँले गरी विकासका मोडलहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य हुदैन: अध्यक्ष नेपाल

काठमाडौँ, १३ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनले गरेको व्यापारिक सम्झौता मुलुकको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताउनुभएको छ ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ७ द्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको उक्त सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको बताउँदै त्यस्तो गतिविधि हुन नदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले विगतमा पठाएको कूटनीतिक नोटहरूले यस्तो सम्झौता रोकिएको बताउँदै उहाँले महाकाली सम्झौतामा कालि नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएकाले त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुन नसक्ने उल्लेख गर्नुभयो ।

देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उहाँले अहिले उनीहरू असन्तुष्ट रहेकाले वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

समाजवादी मोर्चालाई थप सुदृढ गरी विभिन्न रूपमा विभाजित कम्युनिष्ट शक्तिबीच एकताबद्ध गरिने बताउँदै अध्यक्ष नेपालले त्यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने प्रष्ट पार्नुभयो ।

बागमती प्रदेशमासभा सदस्य वसन्त मानन्धरले संवैधानिक निकायमा भागवण्डाले विकृति ल्याउने भएकाले त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकको प्रत्येक क्षेत्रमा बिचौलिया हाबी भएकाले विकास निर्माणका कार्यले गति लिन नसकेको बताउँदै त्यसका असरले युवा श्रमशक्ति पलायन भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य विष्णु अर्याल र पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष लेखराज पौडेलले नेपाली राजनीतिमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले पार्टी नीति, सिद्धान्त कार्यन्वयनमा प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।

राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ : महासचिव गुरुङ

कास्की, १३ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका–१७ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विभिन्न शक्तिहरूले देशमा द्वन्द्व सृजना गरेर सङ्कट निम्त्याउने प्रयास गरेकाले राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिलेको व्यवस्थालाई कमजोर बनाउने प्रयास भएको छ । दलहरूबीचको मजबुत एकताबाट मात्र राष्ट्रिय स्वाधिनता र एकताका लागि बल पुग्दछ । वर्तमान व्यवस्थाको विकल्प छैन”, महासचिव गुरुङले भन्नुभयो ।

नेता गुरुङले देश स्वाधिन बन्नका लागि भ्रष्टाचारको अन्त्य हुनैपर्नेमा जोड दिनुभयो । माओवादीको नेतृत्वमा बनेको अघिल्लो सरकारले सुशासनका लागि काम गरेकाले जनतामा समेत उत्साह छाएको उहाँको भनाइ थियो ।

महासचिव गुरुङले देश विकासमा माओवादी केन्द्रको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही सीमा र कमजोरी भए पनि माओवादीको विकल्प अन्य दल हुन सक्दैनन् । अहिले आकारमा सानो भए पनि व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्छ ।” नेता गुरुङले विभिन्न चाडपर्वहरूले देशमा राष्ट्रिय एकता बलियो बनाउने र नेपाली समाजको एकताको आधार बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य तेजकुमारी पौडेल, दुर्गा विक, गङ्गा पोखरेल, अखिल नेपाल महिला सङ्घ कास्कीका अध्यक्ष सृजना त्रिपाठीलगायतले देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

काठमाडौँ, १३ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्व प्रभावितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था अझै पनि सार्वजनिक हुन नसकेको विषयलाई गम्भीर रूपमा लिएर उक्त प्रकिया निषकर्षमा पुर्‍याउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बेपत्ताविरुद्धको अन्तरराष्ट्रिय दिन (अगस्त ३०)का अवसरमा आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न समेत माग गरेको छ ।

“बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले प्रभावितलाई विश्वासमा लिएर निष्पक्ष, विश्वसनीय र सक्षम रूपमा कार्य गर्न, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न/गराउन, यस आयोगका सिफारिसहरू कार्यान्वयन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “बेपत्ता पार्ने कार्यमा संलग्न भएका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन र पीडितका परिवारलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न आयोग नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई निर्देशन गर्दछ ।”

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा हुनलाग्दा पनि शान्ति सम्झौताबमोजिम बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक नहुनु र प्रभावितहरू लामो समयदेखि न्यायको पर्खाइमा रहिरहनु भनेको चिन्ताको विषय हो । विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भएता पनि हालसम्म स्थिति सार्वजनिक नहुँदा प्रभावित परिवारको सत्यतथ्य जान्न पाउने अधिकार, सांस्कृतिक अधिकार र राहत तथा क्षतिपूर्तिको अधिकारसमेत उल्लङ्घन भएको आयोगको ठहर छ ।

“बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा परेका उजुरीहरूमा आयोगले छानबिन गरी दोषीलाई कारबाही, प्रभावित परिवारलाई क्षतिपूर्ति र बेपत्ता भएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नका लागि सरकारलाई पटकपटक गरी दुई सय २६ वटा सिफारिस गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “आयोगमा अझै पनि उजुरीहरू विचाराधीन छन् । तर आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था भने निराशाजनक हुनुले सरकार बेपत्ता पारिएका व्यक्तिहरूको न्यायका सन्दर्भमा जिम्मेवार हुन नसकेको आयोगको ठहर छ ।”

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू पटकपटक गठन भएता पनि ती आयोगहरूबाट कार्य पूर्ण नहुँदै समयावधि समाप्त हुने अवस्था रहनु चिन्ताको विषय भएको र अहिले बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्दछ भन्नेमा आयोग दृढ रहेको जनाएको छ ।

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

अछाम, १३ भदौः जिल्लामा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ । पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन् ।

जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन् । जिल्लास्थित सरोकार भएका निकायद्वारा मङ्गलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो । आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन् ।

अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गर्नुभयो । छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवासुविधामा रोक लगाइने उहाँको भनाइ छ ।

आजै जिल्लाको पञ्चदेवल विनायक–८ बारलाको सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ३६ वर्षीया रत्ना भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घर नजिकै त्रिपाल टाँगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा टहराभन्दा माथि भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्युु भएको थियो । सोही त्रिपालमा महिनावारी भएर सुतिरहेकी रत्ना गम्भीर घाइते हुनुभयो । रत्ना आफ्नो माइती घर बारला जानुभएको थियो ।

यसैबीच, महिनावारी कानुनले वर्जित गरेको विषय हो । महिनावारीको नाममा कुनै पनि विभेद् गरेको पाइएमा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो । तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने उहाँले जानकारी दिनुभयो ।

यस क्षेत्रमा महिनावारी भएका बेला दूध, दही खान नदिने चलन अझै कायम । गाई र भैँसीको दूध, दही र मोही महिनावारी भएका बेला दिँदा गाईवस्तु बाँझो हुन्छन् भन्ने अन्धविश्वासले महिला तथा किशोरीलाई दूध दिइँदैन ।

जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।

द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ, जसले जापानलाई ठूलो फाइदा पुर्‍याइरहेको छ ।

चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पुर्‍याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताउनुभयो।

जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएको क्योदो समाचार एजेन्सीले जनाएको छ ।

पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थाप्रति दुवै देशले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको क्योदोले जनाएको छ ।

जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।”

यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताउनुभएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा धेरै भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुवै देश प्रभावित भएका छन्।

जापानको महत्वपूर्ण अटो क्षेत्रले अझै पनि २५ प्रतिशत करको सामना गरिरहेको छ । यद्यपि, जुलाईको व्यापार सम्झौताले उनीहरूलाई लगाउने भनी तयारी गरिएको करमा कटौती गरेको छ । घोषित अतिरिक्त करहरू अझै पनि लागू भएको छैनन्।यसैबीच, प्रधानमन्त्री मोदी र इशिबाले शनिबार चिप कारखानाको भ्रमण गर्ने भएका छन् ।

सन् २०४७ मा भारतीय स्वतन्त्रताको शतवार्षिकीसम्म जापानले सात हजार किलोमिटर (चार हजार ३५० माइल) उच्च गतिको रेल सञ्जालमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूले ‘शिन्कानसेन’ बुलेट ट्रेन बनाउने कारखानाको पनि भ्रमण गर्नेछन्।

पश्चिमी भारतीय शहरहरू मुम्बई र अहमदाबादबीच पहिलो उच्च गतिको लिङ्क निर्माण गर्ने उद्देश्यले एक संयुक्त परियोजना वर्षौंदेखि ढिलाइ भएको छ र लागत वृद्धिको कारण ग्रस्त बनेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको साङ्घाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम तय भएको छ । सन् २०१८ पछि मोदीको यो पहिलो चीन भ्रमण हुनेछ ।

सबैभन्दा बढी जनसंख्या भएका यी दुई देशदक्षिण एसियामा प्रभाव जमाउने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच सीमा विवादका कारण कुटनीतिक सम्बन्धमा तनाव सिर्जना भएको थियो ।

ट्रम्पद्वारा कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता

ट्रम्प प्रशासनले पूर्व उपराष्ट्रपति कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता लिएको ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार बताएका छन्।

सीएनएनका अनुसार तत्कालीन राष्ट्रपति जो बाइडनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि निर्वाचित उम्मेदवार ह्यारिसका लागि अनुमोदन गरेको समयावधि जुलाई २१ मा समाप्त भएको थियो ।

ह्यारिसका एक वरिष्ठ सहयोगीले एएफपीलाई बताएअनुसार ह्यारिस ‘अमेरिकी गुप्तचर सेवाको व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटूट प्रतिबद्धताका लागि आभारी हुनुहुन्छ।

ह्यारिसले चुनाव हारेदेखि नै उहाँले आफुलाई कम चर्चामा राख्नुभएको छ । उहाँले आफ्नो असफल राष्ट्रपति पदका लागि आफूले लेखेको पुस्तकको प्रचारका लागि यो शरद ऋतुमा भ्रमण गर्नुहुनेछ। यो यात्राले उहाँलाई अक्सर सार्वजनिक रूपमा उपस्थित हुन बाध्य पार्नेछ।

ह्यारिसले ट्रम्पविरुद्ध आफ्नो छोटो राष्ट्रपतीय दौडको अवधिलाई पुस्तकको शीर्षक ‘१०७ दिन’ दिनुभएको छ।साइमन एण्ड शुस्टरद्वारा प्रकाशित संस्मरण सेप्टेम्बर २३ मा संयुक्त राज्य अमेरिकामा सार्वजनिक हुनेछ ।

संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको रूपमा सेवा गर्ने पहिलो महिला, ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बन्नुभएको थियो । बाइडेनले आफ्नो संज्ञानात्मक स्वास्थ्यको बारेमा चिन्ताको बीच दौडबाट नाम फिर्ता लिनुभएको थियो ।

ह्यारिसले आफूले पुस्तक ‘स्पस्टवादिता र प्रतिविम्व’का साथ लेखेको र अभियानको ‘पर्दा पछाडिको विवरण’ दिने वाचा गर्नुभएको छ ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना कथित शत्रु र राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गरी विभिन्न कदम चाल्नुभएको छ ।

उहाँले अन्य अधिकारी र पूर्व अधिकारीहरूको सुरक्षा स्वीकृति खोस्नुभएको छ, उहाँविरुद्ध विगतका मुद्दाहरूमा संलग्न कानून फर्महरूलाई लक्षित गर्नुभएको छ र विश्वविद्यालयहरूबाट संघीय अनुदान रोक्का गर्नुभएको छ ।

गत हप्ता एफबीआईका प्रतिनिधिहरूले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको घर र कार्यालयमा छापा मारेका थिए।

सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरु समेत उपस्थित सो बैठकमा मन्त्री डा राणाले भनिन्, ‘सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरुको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि आह्वान गर्दछु ।’

मन्त्री डा. राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटै सयममा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै यो क्षेत्र पनि काठमाडौं लगायत नेपालसँग जोडिन पुगेको बताइन् ।

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा

काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामन्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताउनुभएको छ ।

कवि एवं गीतकार बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र’ शीर्षक कविता सङ्ग्रहको आज यहाँ लोकार्पण गर्दै उहाँले कविता लेखन सजिलो कर्म नभई त्यसका लागि गहिरो र गाह्रो साधना आवश्यक पर्ने विचार प्रकट गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “केसीका प्रत्येक कविता प्रश्न जगाउने र मनलाई हलचल गराउँछ । कृतिमा प्रकृति र समाजका विभिन्न परिवेशसँग जोडिएका विषयवस्तु समेटिएको छ ।”

समाजलाई सही दिशातर्फ सचेत गराउन चोटिलो र धारिलो भए पनि सभ्य शब्दको चयन गरेर कविताको ओजलाई कविले अझ खदिलो तुल्याएको उहाँको भनाइ थियो ।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिले देशलाई विश्वमा चिनाउने भएकाले राज्यले यो विधालाई सोही दृष्टिबाट हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य व्यक्तिभन्दा विषयवस्तु हेर्ने र बुझ्नेबारे कविको आँखा फरक हुन्छ । पागल हुने कुनै व्यक्तिको इच्छा नभए पनि कवि केसीले त्यसलाई सटिक ढङ्गबाट इच्छाका रूपमा देखाइदिनुभएको छ । जुन सबैका लागि कौतुहलको विषय बन्न पुगेको छ ।”

साहित्यकार डा नवराज लम्सालले सामान्यभन्दा फरक शाश्वत र यथार्थताको वर्णनले कवि र कविता विधालाई बलशाली तुल्याउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “केसीका सृजना नयाँपन, सफल, शाश्वत र सफल छ । मानवीय चेतनालाई फरक ढङ्गले प्रस्तुत गर्ने कला भएका व्यक्तिमात्र कवि हुनसक्छ भन्ने पुष्टि गरेको छ ।”

साहित्यकार सुशीला पौडेलले स्वतन्त्र, स्वच्छन्दता, स्वाभाविक र हृदयस्पर्शी विषयवस्तु र शब्दको चयन गरिएरको कृतिमा आशावादी चिन्तन रहेको बताउनुभयो । त्यस अवसरमा चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा, शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेल, साहित्यकार वियोगी बुढाथोकीले ‘पागल हुन कहाँ सजिलो छ र’ कृतिमा समाज, जीवन र जगत्लाई सहज रूपले बुझ्न र बुझाउन सक्ने शब्द र विषयवस्तु समेटिएको बताउनुभयो ।

त्यस अवसरमा कवयत्री उपमा केसीलगायत साहित्यकारले कृतिभित्रका विभिन्न कविता वाचन गर्नुभएको थियो । जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश, समय र सन्दर्भ, समाज र सास्ती, आफू र आफन्तहरू, माया र मनहरू तथा अन्तमासहित सात खण्डमा विभाजित उक्त कृतिमा हलुका जिन्दगी, शून्य, सन्ध्या, असल साथी, छाउगोठ, खल्ती, मूर्तिले माया गर्दैन र अलप हुन पाए भन्नेलगायत शीर्षका कविता रहेका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको एक सय ४८ पृष्ठको उक्त कृतिको सफ्ट कभर मूल्य रु चार सय रहेको छ ।

ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी-रसुवागढी खण्ड आजदेखि सञ्चालनमा

रसुवा, १३ भदौः गत असार २४ र गत साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी-रसुवागढी खण्ड आजदेखि सञ्चालनमा आएको छ । अन्तरराष्ट्रिय राजमार्गका रूपमा रहेको उक्त खण्डको स्याफ्रुबेँसीबाट टिमुरेसम्म सडक स्तरोन्नति गरी आजदेखि हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख खड्गलाल श्रेष्ठले स्याफ्रुबेँसीबाट टिमुरेसम्म १४ किलोमिटर राजमार्गमा ट्रयाक खोल्ने काम सम्पन्न भई साना तथा हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार टिमुरेबाट रसुवागढीसम्मको दुई किमी सडक खुलाउने प्रयास भइरहेको छ ।

वर्षा नसकिनुका साथै दैनिक रूपमा नदीले कटान गरिरहेकाले ठूला सवारीसाधन नियमित सञ्चालनमा अझै केही समय लाग्ने बताउँदै उहाँले सडक विभागको स्काभेटरमा जडान गरिएको ब्रेकरको सहायताले पहरा फुटाउने काम भइरहेको जानकारी दिनुभयो ।

टिमुरे र घट्टेखोला बीचको स्याउ पार्किङस्थल छेउ भिरको फेदमा सडकको जग कटान भएकाले त्यस स्थानमा माथिबाट ठूलाठूला पहरा काट्नुपरेको जनाउँदै प्रमुख श्रेष्ठले सो काम सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने प्राविधिक अनुमान गरिएको बताउनुभयो । चीन सरकारले मितेरी पुल तयार गर्नुपुर्व स्याफ्रुबेँसी–रसुवागढीको सडक तयार गर्ने योजनासहित काम गरिरहेको प्राविधिकहरूले बताएका छन् ।

मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले ल्हेन्देखोलामा द्रुतगतिमा पूर्वाधार निर्माण अगाडि बढाइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

आफ्नो भूभागमा नयाँ बन्ने बेलिब्रिजको पिलर निर्माण गरी नेपालतर्फको भागमा पुलको पूर्वाधार बनाउन चिनियाँ प्राविधिकको सहजताका लागि ल्हेन्देखोलामा राखिएको ह्युमपाइप गएरातिको वर्षाले बगाएको उहाँले उल्लेख गर्नुभयो । खोलाको पानीलाई ह्युमपाइपबाट एकतृत गरी निर्माण अगाडि बढिरहेको सीमा सुरक्षा निकायले जानकारी पठाएकाले दसैँ अघि रसुवा–केरुङ सिधा यातायात सम्पर्क हुने विश्वास रहेको प्रजिअ पन्थीले बताउनुभयो ।

स्थानीय प्रशासकको भूमिका निर्वाह गर्न बुधबार रसुवामा बहाली गरेका प्रजिअ पन्थीले बिहीबार सडकको स्थलगत निरीक्षण गरी नेपालतर्फको सडक शीघ्र मर्मत एवं पुनर्निर्माण गर्न निर्देशन दिनुभएको छ ।

पुनर्निर्माणका क्रममा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

मिस पवि कर्णाली यशभिसको टिकटक फेसमा अनुबन्धित

काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि मिस पविलाई अनुबन्ध गरिएको हो ।

कर्णाली यशभिसले टिममा ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरिया अनुबन्ध गरिसकेको छ । उनीहरू केही दिनमै नेपाल आउँदैछन् ।

यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्ने लक्ष्य राखेको छ ।

एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् ।सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशनबाट आफू अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भइसकेकाले फेरि अर्को महाधिवेशन असम्भव भएको उनको भनाइ छ ।

शुक्रबार राजधानीमा भएको विशेष समारोहमा अध्यक्ष श्रेष्ठले अक्टोबरको महाधिवेशन सम्भव नरहेको र रोकिने स्पष्ट पारे । उनले आधिकारिक एनआरएनए आफूहरु नै भएको भन्दै छिट्टै कार्यालयबाटै काम गर्ने समेत दाबी गरे ।

श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबैलाई एकता प्रक्रियामा आउन आह्वान गरे । उनले भने, ‘हामीले कतिपय कठिनाइको बीचमा काम गरेका छौँ। तर, पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई कहिल्यै छोडेनौँ। अबको हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हुनेछ ।’

शुक्रबार नै श्रेष्ठ नेतृत्वको समितिलाई सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराएका शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ ।

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि वीरगञ्ज महानगरद्धारा सचेतना अभियान

वीरगञ्ज (पर्सा), १३ भदौः दुईजनामा जापानिज इन्सेफलाइटिसका सङ्क्रमण देखापरेसँगै वीरगञ्ज महानगरले सचेतनामूलक कार्यक्रम अघि सारेको छ । पछिल्लो समय वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा जापानिज इन्सेफलाइटिसका एक–एक सङ्क्रमित भेटिएका थिए ।

महानगरले यहाँका विभिन्न स्थानमा रहेका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । महानगरको वडा नं १९ बरवा र वडा नं २२ मनियारीका सुँगुर तथा बङ्गुर फार्ममा गरिएको अनुगमनका क्रममा स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधि छर्कने र फार्मस्तरमा सरसफाइलाई जोड दिइरहेको जानकारी दिनुभयो ।

अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन–पर्यावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो । महानगरले सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमूत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पोथी लामखुट्टेले पशुपन्छी घोडा, सुँगुर, बङ्गुर, हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्ने बताउनुभयो । उहाँका अनुसार यो रोगको जीवाणुले मानिसको मस्तिष्कमा असर पुर्याउँछ । यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगेर उपचार गर्नुपर्ने हुन्छ ।

‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’ :अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् ।शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभाइदिने सोच देखिएको भन्दै पार्टीलाई कमजोर बनाउने सोच स्वीकार गर्न नसकिने बताए ।

उनले भने, ‘जो विकासको बाधक हुन्छ त्यही हुन्छ शत्रु हो । एउटा कम्युनिष्ट पार्टीको लागि समस्या कथित कम्युनिष्ट पार्टीको नेता आफैं हुने गरेका छन् । कसै कसैलाई के लागेको छ भने काङ्ग्रेसलाई कसरी शत्रु बनाउने अनि हाम्रो पार्टीलाई टाढा बनाइदिने, माओवादीसँग दोस्ती तोड्ने, हाम्रो पार्टीलाई एक्लै उभाइदिने र पार्टीलाई कमजोर बनाउने सोच गलत छ । पार्टीलाई खतम बनाउने सोचलाई स्वीकार गर्न सकिदैँन् ।’

यस्तै, उनले राजावादीहरुको मनोबल बढिरहेका बेला समाजवादी मोर्चाले एक्लै आँट गरेर एकताबद्ध बाम घटक निर्माण गर्ने अभियानमा जुटेको बताए ।

साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

वीरगञ्ज (पर्सा), १३ भदौः वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज विहान १० बजेसम्म हैजा सङ्क्रमित ६७६ जना अस्पतालमा भर्ना भएका थिए । “अहिले यहाँका विभिन्न अस्पतालमा हैजा सङ्क्रमित ३२ जना विरामी सघन उपचार कक्ष (आइसियू)मा उपचारत हुनुहुन्छ भने सात जना उच्च हेरचाह कक्ष (एचडियू)मा उपचाररत हुुनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँका डेढ दर्जन अस्पतालको जनरल वार्डमा १८९ विरामी छन् ।” साथै वीरगञ्ज आसपासमा २२८ हैजाका बिरामी उपचारत छन् ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार १५२ वटा नमुना आरडिटीमार्फत कोलेरा जाँच गर्दा हैजाका सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये ७६ जना डिस्चार्ज तथा रेफर भएका छन् भने ७४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका ३२ वटा बिरामीको दिसाको नमुना ‘कल्चर’ जाँचका लागि पठाइएका मध्ये २० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

चलचित्र ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे – सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ । राम्रो वर्ड अफ माउथ पाएको चलचित्र शुक्रबार (आज)बाट दोस्रो हप्तामा प्रवेश गर्दैछ ।

आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनाइएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बाबाआमालाई आर्थिक अभावबाट बाहिर निकाल्न छोरोले गर्ने संघर्षको कथा चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले सकारातमक प्रतिक्रिया दिइरहेका छन् ।

‘हाम्रो चलचित्रलाई दशर्कले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । त्यसैले दोस्रो हप्तामा थप राम्रोसँग चलचित्र चल्छ भन्ने हाम्रो विश्वास छ ।निर्देशक हिमाल न्यौपानेले भने,‘वर्ड अफ माउथ राम्रो भएकाले चलचित्र पनि त्यही अनुसार चल्छ भन्ने हाम्रो विश्वास छ ।’चलचित्र हेरेर भावुक हुँदै रोइरहेका भिडियोहरू बाहिर आइरहेका छन् ।

‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई नगद र जिन्सी हस्तान्तरण गर्ने भएको छ। हस्तान्तरण कार्यक्रम शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजना गरिएको छ।

“ एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन गराउँदा बचेको ८० लाख बढी रकम र अन्य जिन्सी सामग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न लागेका छौं,” उच्च स्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन्। उनले यो कार्यक्रमले एनआरएनएको एकता र पारदर्शितालाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गरिन्।

सर्वोच्च अदालतको २० चैत २०८० को फैसलाअनुसार एनआरएनएमा देखिएको लामो समयदेखिको विवाद समाधान गर्न संघका पूर्व अध्यक्ष शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको थियो। सर्वोच्चको निर्देशनअनुसार समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिइएको थियो। समितिको पहिलो बैठकले एकता महाधिवेशन काठमाडौँ आयोजना गर्ने निर्णय गरेको थियो ।

गत बैशाख २०-२१ (मे ३–४, २०२५) मा काठमाडौंको हायात होटेलमा आयोजित एकता महाधिवेशनले सन् २०२५-२०२७ कार्यकालका लागि महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो।

एकता महाधिवेशनको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहभागिता जनाएकी थिइन्। उनले सम्मानित सर्वोच्च अदालत र नेपाल सरकारले एकता महाधिवेशनलाई मान्यता दिएको उल्लेख गर्दै भनेकी थिइन्, “हामी एकमात्र एनआरएनएलाई मान्यता दिन्छौं। यो नै आधिकारिक हो, सबै एकजुट हुनुपर्छ।”

यसैगरी परराष्ट्र मन्त्रालयले गत मे २२, २०२५ मा विश्वभरका नेपाली कूटनीतिक नियोगहरूलाई पत्राचार गरी महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमिति (अन्तरराष्ट्रिय समन्वय परिषद ) नै आधिकारिक भएको जानकारी गराएको थियो।

‘पार्क’ गरिएको बसमा द्रुत गतिको स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौँ, १३भदौःकाठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।

चलपचत्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ ।भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायत कलाकारलाई देखाइएको छ ।

चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।चलचित्र ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी, १३ भदौ : बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले राससलाई जानकारी दिनुभयो । लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए ।

उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १३ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, काउली (तराई) प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ६५, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकिलो रु १८०, चमसुरको साग प्रतिकिलो रु ३००, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ४२०, कुरिलो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ३००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु १३००, पुदिना प्रतिकिलो रु १०००, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३६०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १६०, हरियो धनियाँ प्रतिकिलो रु ३७५, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

काठमाडौँ, १३ भदौः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ ।

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

काठमाडौँ, १३ भदौः बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ ।

आज दिउँसो देशभर बदली हुने छभने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

दमौली (तनहुँ), १३ भदौः मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । सात अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।

भाद्र शुक्ल पञ्चमी : बिरुडा भिजाएर सुरु गरियो गौरा पर्व

काठमाडौँ, १३ भदौ : यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चिजको गेडा भिजाएर राखिएको छ ।

यसरी पाँच चिज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा यसरी भिजाएको पाँच प्रकारको चीज अर्थात् बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमीका नामले चिन्ने गरिएको छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई यस वर्ष भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीले बताउनुभयो ।

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यसलाई गौरा पर्वको मौलिकताका रूपमा लिने गरिएको छ ।

यसरी दुईतीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलासयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरूले मनाउने गरेका छन् । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले यस वर्ष अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने शुक्लपक्षको अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज लागेपछि भने गौरा पर्व मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रीलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिमका मानिसको बसोबास बढेसँगै यो पर्व धुमधामका साथ मनाउन थालिएको छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक जोशीले जानकारी दिनुभयो ।

पञ्चमीका दिन बिरुडा भिजाएर सुरु गरिएको गौरा चार दिनसम्म धुमधामका साथ मनाइन्छ । राजधानीमा पनि गौरासँगै देउडा गायन र नृत्यका साथ सुदूरपश्चिम एवं मध्यपश्चिमवासीले यो पर्व मनाउने गरेका हुन् ।

काभ्रेपलाञ्चोकमा खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा वेपत्ता

काभ्रेपलाञ्चोक, १३ भदौ : पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छभने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् ।

इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो । पहिचान खुल्न नसकेको उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो । दर्जीलाई नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा नदीले बगाएको जनाइएको छ । प्रहरीका अनुसार भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ ।

आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ, १३ भदौः आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।

यो दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ

कर्णाली, १३ भदौः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।

भेरीगङ्गा नगरपालिका–२ सप्तरी समझीङ्गाका ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फरार प्रतिवादी सुनारले २०७२ साल असार २७ गते पीडित परिवर्तित नाम ६४ वीरेन्द्रनगर क ८ लाई विवाह गर्छु भनी विभिन्न किसिमको प्रलोभनमा पारी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा लगी बेचबिखन गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिएकी थिइन् ।

उहाँले भन्नुभयो, “सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएपश्चात प्रतिवादी सुनार फरार भएपछि उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई अन्तरराष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो ।” उनलाई एनसिबी नेपाल र एनसिबी कुवेतको समन्वयमा कुवेतबाट पक्राउ गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (इन्टरपोल महाशाखा) काठमाडौँमार्फत बिहीबार सुर्खेत प्रहरी कार्यालयमा ल्याएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बुढथापाले बताउनुभयो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८७ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ४३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९८ पैसा छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

‘उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्’ – माओवादी केन्द्र

काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उनीहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उखु उत्पादनमा निर्भर किसान वर्गको पसिनाको मूल्य, अधिकार र सम्मान गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । माओवादी केन्द्रले आज एक विज्ञप्ति जारीगरी उखु किसान काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “बक्यौता रकम नपाएर पीडित किसानलाई सरकारले अझ अपमानित गर्नेगरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।”

किसानवर्ग उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधारशिला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढङ्गले पुनःनिर्धारण गर्न तथा किसानले उठाएका सबै जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माओवादी केन्द्रले माग गरेको छ ।

अष्ट्रेलियाको सरकारद्वारा व्यापार प्रोत्साहनका लागि अतिरिक्त शुल्कहरू कम गर्ने निर्णय

अष्ट्रेलियाली सरकारले आर्थिक उत्पादनशीलता बढाउन र स्वतन्त्र व्यापार प्रोत्साहन गर्न ५०० भन्दा बढी ‘अतिरिक्त’ शुल्कहरू हटाउने निर्णय गरेको छ ।

कोषाध्यक्ष जिम चाल्मर्स, व्यापार मन्त्री डोन फ्यारेल र उद्योग तथा नवप्रवर्तन मन्त्री टिम आयर्सले बिहीबार जानकारी दिए अनुसार, टायर, रक्सीका गिलास र टेलिभिजनजस्ता वस्तुहरूमा लाग्ने साना शुल्कहरू आगामी आर्थिक वर्ष १ जुलाई सन् २०२६ देखि हटाइनेछ । यसले व्यवसायहरूलाई नियम पालनामा पर्ने झन्झट कम गर्नेछ ।

कानबरामा सञ्चारकर्मीहरूलाई बोल्दै चाल्मर्सले भन्नुभयो,“यी अतिरिक्त शुल्कहरूले कहिलेकाहीँ लाभभन्दा बढी क्षति पु¥याउँछन् ।” उहाँले टायरमाथि लाग्ने वर्तमान शुल्कबाट वार्षिक ८० हजार अष्ट्रेलियन डलरभन्दा कम राजस्व जुट्ने बताउनुभयो, तर ती शुल्क हटाउँदा व्यवसायहरूले वर्षेनी झन्डै ३२ मिलियन अष्ट्रेलियन डलर खर्च बचत गर्नेछन् ।

फ्यारेलले भन्नुभयो,“हामी हाम्रो कुरामा दायित्व लिएका छौँ । हामी अरु देशहरूलाई पनि व्यापार अवरोध हटाउन आग्रह गर्छौं । यो कुरामा हामी गम्भीर छौं भनी विश्वलाई देखाउँदैछौं ।”

सरकारले सन् २०२४ मा तरकारी, फ्रिज र रबरजस्ता वस्तुहरूमा लाग्ने ४५७ अतिरिक्त शुल्क पहिले नै हटाइसकेको छ ।

यी थप कटौतीहरू आर्थिक सुधारका लागि अगस्त महिनामा आयोजित व्यापारिक समूह, ट्रेड युनियन र अर्थशास्त्रीहरूसँगको छलफलमा प्रस्तावित भएका थिए, जसले अष्ट्रेलियाको मन्द गतिमा रहेको उत्पादनशीलतालाई बढावा दिन सुझावहरू दिएका थिए ।

चाल्मर्सले बताए अनुसार, प्रस्तावित शुल्क कटौतीमा थप छलफल डिसेम्बरसम्म हुनेछ र अन्तिम सूची आगामी संघीय बजेटमा सार्वजनिक गरिनेछ, जुन सायद मे सन् २०२६ मा प्रस्तुत गरिनेछ ।

थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित

थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो र बाढी ल्याउँदा हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मौसम विभागले यस क्षेत्रभर अझै केही दिनसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ ।

काजिकी तुफानले भियतनाम, लाओस, थाईल्यान्ड जस्ता देशहरूमा बाढी, पहिरो र ठूलो क्षति गर्न सक्छ । ‘काजिकी’ भन्ने शब्द जापानी भाषा हो, जसको अर्थ एउटा समुद्री माछा हो ।

यो तुफानले सोमबार भियतनाममा प्रवेश गरेपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि यो लाओस हुँदै थाईल्यान्डको उत्तरतर्फ सरेको थियो, जहाँ यसले ठूलो मात्रामा क्षति पु¥याएको हो ।

थाईल्यान्डको प्रकोप व्यवस्थापन तथा न्यूनीकरण विभागका अनुसार, १२ वटा उत्तरी प्रान्तहरूमा तुफानको असर परेको छ । नान, चिआङ राई र मे हङ सोन जस्ता क्षेत्रमा अचानक बाढीकम कारण धेरै गाउँहरू सम्पर्कविहीन बनेका छन् ।

तुफानका कारण सात जना अझै बेपत्ता छन् भने ६ हजार ३०० भन्दा बढी नागरिक र एक हजार ८०० घरधुरी प्रभावित भएका छन् ।

बुधबार, पर्यटकहरूका लागि लोकप्रिय क्षेत्र चिआङ माईमा आएको पहिरोले दुई जनाको ज्यान लिएको पुष्टि गरिएको छ ।

प्रकोप विभागले भनेको छ,“केही स्थानमा जलस्तर अझै बढ्न सक्छ, सावधानी अपनाउन जरुरी छ ।”

थाई मौसम विभागले उत्तरी, उत्तरपूर्वी र मध्य क्षेत्रहरूमा अर्को हप्ता सम्म निरन्तर वर्षा हुने बताएको छ ।

वर्षा जूनदेखि सेप्टेम्बरसम्म सामान्य भए पनि, विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण चरम मौसमीय घटनाहरू थप खतरनाक र अप्रत्याशित बन्न थालेका छन् ।

सन् २०११ मा आएको विनाशकारी बाढीले थाईल्यान्डभर ५०० भन्दा बढीको मृत्यु गराएको थियो र लाखौं घरहरूमा क्षति पु¥याएको थियो ।