एमाले सांसदलाई ओलीको प्रशिक्षण, संसद्मा प्रभावकारी भूमिकामा जोड
काठमाडौं । नेकपा (एमाले)ले संसद्मा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का सांसदहरूका लागि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र प्रस्तुतिका विषयमा प्रशिक्षण दिनेछन्।
पार्टीका संसदीय विभाग प्रमुख एवं सचिव पद्मा अर्यालका अनुसार संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम, कर्तव्य र अधिकारबारे सांसदहरूलाई जानकारी गराउनेछन्। उनले संसदीय समितिको अधिकार क्षेत्र तथा समितिमा उठाउनुपर्ने विषयबारे पनि प्रशिक्षण दिने कार्यक्रम छ।
यस्तै, पार्टी महासचिव शंकर पोखरेलले एमालेको नीति, संसदीय अभ्यास तथा सांसदहरूको कर्तव्यबारे प्रशिक्षण दिनेछन्।
अर्यालका अनुसार सांसदहरूले संसद्मा पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न विभागहरूसँग आवश्यक समन्वय र परामर्श गर्ने विषयमा पनि प्रशिक्षणमा जोड दिइनेछ।
