सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन – ढुक्क भएर जिम्मेवारी निभाउनुस्
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा रहेको भन्दै सशस्त्र प्रहरी बल (एपीएफ)का कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
शनिबार गोरखास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्ममा आयोजित ब्रिफिङ कार्यक्रममा गृहमन्त्री गुरुङले राष्ट्रको सुरक्षा, शान्ति–सुव्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।
उनले सुरक्षाकर्मीलाई ढुक्क भएर जिम्मेवारी पूरा गर्न आग्रह गर्दै कर्मचारीको मनोबल उच्च राख्न गृह मन्त्रालय आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि सदैव प्रतिबद्ध रहेको बताए।
ब्रिफिङ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
