पासपोर्ट ठेक्का प्रकरणमा गगनको आरोप: अख्तियारमाथि सरकारी दबाब
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट ठेक्का प्रकरणमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर पंगु बनाउने प्रयास गरेको आरोप लगाएका छन्।
आइतबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले राजनीतिक दबाब र हस्तक्षेपका कारण संवैधानिक निकायहरू निष्क्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
उनले विगतका सरकारले आफ्ना निकट व्यक्तिलाई नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको र वर्तमान सरकारले भने दबाब र त्रास देखाएर आयोगलाई प्रभावहीन बनाउने प्रयास गरिरहेको दाबी गरे।
थापाले राजनीतिक दलको निर्देशन वा कार्यपालिकाको दबाबमा चल्ने अख्तियार प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै आयोगको स्वतन्त्रता र गरिमा जोगाउन नियुक्ति प्रक्रियामै आमूल सुधार आवश्यक रहेको बताए।
उनले भ्रष्टाचार नियन्त्रणका लागि मौसमी रूपमा फाइल खोल्ने प्रवृत्तिको अन्त्य गर्दै कुनै पनि सरकारले प्रभाव पार्न नसक्ने बलियो कानुनी र संस्थागत प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।
सभापति थापाले संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य बनाउन सुशासनको दृष्टिले संविधान संशोधनबारे समेत बहस आवश्यक रहेको धारणा राखे।
लोकतन्त्र, समावेशिता र नागरिकका मौलिक अधिकारमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै उनले संविधानले सुनिश्चित गरेको आवासको हक तथा भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए।
