सङ्गठनको हितलाई सर्वोपरी मानेर काम गर्न प्रहरी नायब महानिरीक्षक खनालको निर्देशन
विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले प्रहरी सङ्ठनको आवश्यकता र हितलाई सर्वोपरी ठानी काम गर्न निर्देशन दिएका छन् ।
आज मात्र जिम्मेवारी सम्हालेका प्रमुख खनालले प्रहरी अधिकृत एवं कर्मचारीलाई निर्देशन दिँदै उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न आदेश दिएका हुन् ।
उनले सङ्गठनको उद्देश्य, लक्ष्य तथा जिम्मेवारी सबै प्रहरी कर्मचारीको आपसी साथ, सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्र प्रभावकारी रूपमा हासिल गर्न सकिने उल्लेख गर्दै सङ्गठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए ।
प्रहरी नायब महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतदेखि नै विषम पूर्ण परिस्थितिमा निरन्तर, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्दै आएको स्मरण गराए । आगामी दिनमा पनि आइपर्ने चुनौतीहरूको संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम क्षतिको सिद्धान्तलाई आत्मसात् गरी सफलतापूर्वक सामना गरी लक्ष हासिल गर्न निर्देशन दिए ।
उनले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्यहरू समयमै सम्पादन गर्न सबै शाखाहरूले योजनाबद्ध, नतिजामुखी, चुस्त, दुरुस्त तथा प्रभावकारी ढङ्गबाट काम गर्नुपर्नेमा विशेष जोड दिँदै सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी, गुणस्तरीय तथा नागरिकको विश्वास अभिवृद्धि हुने गरी दैनिक कार्य गर्न निर्देशन दिए ।
